`

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र उम्मदेवारलाई आफ्ना चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन आह्वान गरेको छ । सोसाइटीले विज्ञप्ति जारी गरी चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकसँग सम्बन्धित स्वास्थ्य, सामाजिक अधिकार, संरक्षण र सशक्तीकरणसम्बन्धी १४ वटा विषय अनिवार्य रूपमा समावेश गर्न माग गरेको हो ।

जनगणना, २०७८ अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या १०।२१ प्रतिशत अर्थात् करिब ३० लाखभन्दा बढी रहेको छ । सोसाइटीका अध्यक्ष डा उमेश बोगटीले देशको विकास, लोकतन्त्र र सामाजिक रूपान्तरणमा दीर्घकालीन योगदान दिएका ज्येष्ठ नागरिकको सम्मानजनक जीवन, स्वास्थ्य, सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्व मात्र नभई राजनीतिक प्रतिबद्धताको मापन सूचकसमेत भएको बताए ।

विद्यमान ऐन, नीति र रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको सोसाइटीले जनाएको छ ।

सोसाइटीले दलको संगठनमा ज्येष्ठ नागरिक विभाग स्थापना, ज्येष्ठ नागरिक ऐनको पूर्ण कार्यान्वयन, ज्येष्ठ नागरिकमैत्री भौतिक पूर्वाधार र यातायात, निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा, जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरण, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक पार्क, ग्राम र आरोग्य आश्रम निर्माण, स्वारोजगारका लागि सहुलियतपूर्ण ऋण तथा सीप र अनुभवलाई उत्पादनसँग जोड्ने व्यवस्था घोषणापत्रमा समेट्न माग गरेको छ ।

‘पारिस्थितिक प्रणाली जोगाउन नेपालको संरक्षणमुखी नीति सफल’ – मन्त्री चौलागाई

काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीनरुपमा पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न सफल भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संरक्षण नीतिका कारण विकासका आकाङ्क्षा पछाडि धकेलिरहेको भन्ने ‘भाष्य’ गलत भएको बताए ।

“यथार्थमा त्यस्तो होइन, नीतिलाई सुधार गर्दै गएका अवस्थामा निकास निस्कन्छ, केही विषय अतिरञ्जित भएर आउने गरेका छन्”, मन्त्री चौलागाईले भने, “नीतिगत निर्णयका क्रममा आउन सक्ने जटिलटालाई वन नियमावली संशोधनका क्रममा सहज गरिएको छ ।” उनले विकास र संरक्षणको सुन्तुलनका लागि संसदीय समितिको प्रतिवेदनले औँल्याएका विषय सरकारका लागि महत्वपूर्ण रहेको बताए ।

त्यसअघि सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति शर्माले विकास र संरक्षणबीच देखिँदै आएको विरोधाभास चिर्ने उद्देश्यका साथ अध्ययन गरिएको बताए । उनका अनुसार विकास र संरक्षणलाई एक–अर्काको विकल्पका रूपमा नभई कसरी सँगसँगै अघि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर प्रतिवेदन तयार पारिएको छ ।

उक्त अध्ययनका क्रममा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रचलित कानून, अदालतका फैसलाहरू, विज्ञ तथा जानकारसँग भएका छलफल, सरोकारवाला निकायका सुझाव तथा स्थलगत अवलोकनलाई आधार बनाइएको सभापति शर्माले जानकारी दिए । संरक्षणलाई केन्द्रमा राख्दै विकासका गतिविधि अघि बढाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन तयार पारिएको उनको भनाइ छ ।
सभापति शर्माले मानव, वन्यजन्तु तथा पर्यावरणसँग जोडिएका सबै पक्षको हित सुनिश्चित हुने गरी संरक्षणसहितको विकास आवश्यक रहेको उल्लेख गरे । उनले राष्ट्रिय निकुञ्ज, वन र वन्यजन्तुको उचित व्यवस्थापनमार्फत पर्यापर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराए । साथै, मध्यवर्ती क्षेत्रका स्थानीय समुदायले निकुञ्जबाट प्रत्यक्ष लाभ लिन सक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरू मदनकुमारी शाह, डा। अञ्जान शाक्य, विष्णुकुमारी सापकोटा, सुमित्रा बिसी, डा बेदुराम भुसाल, नारायणदत्त मिश्र, सुरेशकुमार आले मगर, सोनाम गेल्जेन शेर्पा, जयन्तीदेवी राई, गङ्गाकुमारी बेलबासे, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, राजेन्द्र लक्ष्मी गैरे, नरबहादुर विष्ट, श्रीकृष्णप्रसाद अधिकारीलगायतले प्रतिवेदन कार्यान्वयनमा विशेष जोड दिए ।
उनीहरूले प्रतिवेदनलाई कागजमै सीमित नराखी नीतिगत, कानूनी तथा संरचनागत प्रबन्धमार्फत प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । सांसदहरूले अन्तरमन्त्रालय समन्वय र संघ, प्रदेश तथा स्थानीय तहबीचको सहकार्यलाई मजबुत बनाएर प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्नेमा समेत जोड दिए ।

जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने

टोकियो, २३ माघ । जापानले विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र अर्को हप्ता पुनः सञ्चालनमा ल्याउने भएको छ । सन् २०११ को फुकुसिमा आणविक प्रकोपपछि पहिलो पटक पुनः सुरु गर्ने प्रयास अलार्मसँग सम्बन्धित गडबडीका कारण अस्थायी रूपमा निलम्बन गर्नुपरेको थियो ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) द्वारा सञ्चालित काशीवाजाकी–कारिवा आणविक संयन्त्रका प्रमुख ताकेयुकी इनागाकीले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ९ मा रिएक्टर सुरु गर्ने योजना रहेको जानकारी दिए ।

टेप्कोले जनवरी २१ मा रिएक्टर पुनः सञ्चालनमा ल्याएको थियो । तर अनुगमन प्रणालीबाट अलार्म बजेसँगै भोलिपल्ट रिएक्टर बन्द गरिएको थियो ।

इनागाकीका अनुसार कन्फिगरेसनमा भएको त्रुटिका कारण अलार्मले एउटा केबलमा विद्युतीय प्रवाहमा सानो परिवर्तन देखाएको थियो । ती परिवर्तनहरू अझै पनि सुरक्षित दायरा भित्र नै रहेकाले सुरक्षा जोखिम नभएको उनले स्पष्ट पारे ।

रिएक्टर सञ्चालन गर्न सुरक्षित रहेको निष्कर्षपछि कम्पनीले अब अलार्मको सेटिङ परिवर्तन गरेको इनागाकीले बताए । उनका अनुसार अर्को चरणमा व्यापक निरीक्षण गरिनेछ र मार्च १८ मा वा त्यसपछि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ ।

काशीवाजाकी–कारिवा संयन्त्र सम्भावित उत्पादन क्षमताका आधारमा विश्वकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र मानिन्छ । यद्यपि, यसका सात रिएक्टरमध्ये हाल एउटा मात्र रिएक्टर पुनः सुरु गरिँदैछ ।

सन् २०११ मा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण फुकुसिमा आणविक संयन्त्रका तीन रिएक्टर पग्लिएपछि जापानले अधिकांश आणविक ऊर्जा केन्द्रहरू बन्द गरेको थियो । त्यसयता काशीवाजाकी–कारिवा पनि लामो समयदेखि बन्द अवस्थामा थियो ।

ऊर्जा स्रोतमा सीमितता भएको जापानले जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने र कृत्रिम बौद्धिकता (एआई) को विस्तारसँगै बढ्दो ऊर्जा माग पूरा गर्ने लक्ष्यसहित आणविक ऊर्जालाई पुनर्जीवित गर्न चाहेको छ ।

काशीवाजाकी–कारिवा सन् २०११ पछि टेप्कोद्वारा सञ्चालनमा ल्याइने पहिलो आणविक एकाइ हो । टेप्कोले फुकुसिमा दाइची संयन्त्र पनि सञ्चालन गरेको थियो, जुन हाल चरणबद्ध रूपमा बन्द गर्ने प्रक्रियामा छ ।

संयन्त्र वरपरको क्षेत्रमा जनमत भने गहिरो रूपमा विभाजित देखिन्छ । निगाता प्रान्तले सेप्टेम्बरमा गरेको सर्वेक्षणअनुसार करिब ६० प्रतिशत बासिन्दाले पुनः सञ्चालनको विरोध गरेका छन् भने ३७ प्रतिशतले समर्थन जनाएका छन् ।

जनवरीमा पुनः सुरुको विरोध गर्ने सात समूहले करिब ४० हजारको हस्ताक्षर सङ्कलन गरी टेप्को र जापानको आणविक नियमन प्राधिकरणसमक्ष निवेदन पेस गरेका थिए । उनीहरूले संयन्त्र सक्रिय भूकम्पीय फल्ट जोनमा अवस्थित रहेको र सन् २००७ मा शक्तिशाली भूकम्पको प्रभावमा परेको तथ्य औँल्याउँदै सुरक्षा चिन्ता व्यक्त गरेका थिए ।

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।बैठक बिहान ११ बजे सिंहदरबारस्थित समिति सभाकक्षमा बस्ने छ ।

बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल हुने कार्यसूची रहेको छ ।

आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा ८० करोड आठ लाख राजस्व सङ्कलन

बागमती। हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ।

चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले बढी हो

यसैगरी चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ रु एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ रु ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ रु २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ रु तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ रु ८१ लाख २६ हजार राजस्व सङ्कलन उक्त कार्यालयले जनाएको छ ।

गत आवको सोही अवधिमा रु तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको थियो ।

उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन् ।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी रु १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताउनुभयो ।

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

सङ्खुवासभा। चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो ।

आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे ।

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज (शुक्रबार)राष्ट्रिय सभाको बैठक बस्दैछ।बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ विधेयकहरूमाथि छलफल गर्ने तयारी गरिएको छ।

बैठकको सुरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ’सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन्।
साथै, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको हैसियतमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ’राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछिन्।

झापामा ‘सिरिन्ज’ प्रहारबाट एक जनाको मृत्यु, सिरहाका २६ वर्षीय सिंह पक्राउ

बिर्तामोड। भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा पर्नुभएको हो । आक्रमणबाट गम्भीर घाइते हुनुभएका उहाँको अस्पताल पु¥याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उहाँले बताउनुभयो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ४०, बन्दा (नरिबल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ४५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २२, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु २२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३५, पालुङ्गो प्रतिकेजी रु ५०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २०, मेथी प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ८०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २२०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ७५, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३२०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४४०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १३०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ११०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ।

अनुमगनका क्रममा कैफियत देखिएपछि दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागले नियमित अनुमगनका क्रममा कैफियत देखिएपछि श्रेष्ठ खाद्य स्टोर काठमाडौँ महानगरपालिका–३० मैतीदेवीलाई रु १० हजार जरिवाना गरेको छ भने घिमिरे रिजन किनारा स्टोर्स टोखा नगरपालिका–७ लाई पनि रु १० हजार नै जरिवाना गरेको छ ।

ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको जनाएको छ ।

बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त भई ठूलो मानवीय क्षति भएको घटनाप्रतिे गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उक्त दुःखद खबरले आफू अत्यन्तै मर्माहत बनेको उल्लेख गरेका छन् ।जिल्ला प्रशासनसँग सम्पर्क गर्दा मृतक तथा घाइतेहरूको संख्या अझै यकिन हुन नसकेको जानकारी प्राप्त भएको पनि उनले बताउनुभएको छ।

संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा आवश्यक समन्वयका लागि सम्बन्धित पार्टी समितिहरूलाई आवश्यक पहल लिन निर्देशन दिए ।

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा। तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’ अमिरिका चौधरी केही बोल्न खोज्छिन्, तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उनको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर ।

बाहिर देशभर चुनावी र्याली र माइकिङको चर्को आवाज गुञ्जिरहेको छ, चोकचोकमा नारा लागिरहेका छन् । तर लहान–१५ को यो सानो घरभित्र, त्यही कोलाहलले सन्नाटालाई चिर्नुको साटो उल्टै बिझाउने बनाइदिएको छ । मानौँ, बाहिरको उत्सवले यहाँको शून्यतालाई झनै गिज्याइरहेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा गाउँबस्ती चलायमान छ । टोलटोलमा भेला छन्, घरघरमा उम्मेदवारका प्रतिबद्धता । तर अमिरिकाका लागि यी दृश्यहरू उत्सव होइनन्, बरु एउटा पीडादायी पुनरावृत्ति हुन् । हुलमुल र नारा देख्नासाथ उनका मन त्यही दिनतिर फर्किन्छ, जहाँबाट उनको सिउँदोको सिन्दूर र छोरीको भविष्य सधैँका लागि धुमिल भयो ।

लहान–१५ सिमलटोलका २७ वर्षीय विजय चौधरी गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा ‘जेनजी’ आन्दोलनमा सहभागी थिए । सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका विजयको छातीमा प्रहरीको गोली लाग्यो । आन्दोलनको पहिलो दिन नै प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । साथीहरूले उहाँलाई तत्काल सिभिल अस्पताल पुर्याए, तर त्यतिन्जेल उहाँको प्राण गइसकेको थियो ।

घरको कान्छो छोरो, जसको काँधमा आमाबुबाको औषधि र छोरीको भविष्य टिकेको थियो, ऊ कहिल्यै नफर्कने गरी अस्तायो । विजय पाँच वर्षदेखि काठमाडौँमा ‘हाउस वायरिङ’को काम गर्थे । उनको कमाइले घर चल्थ्यो । आमाबुबाको औषधि, घरखर्च, छोरीको भविष्य । शान्त स्वभावका विजय कसैसँग झगडा नगर्ने बानी थियो । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे । तर अन्याय र अत्याचारविरुद्ध भने चुप नबस्ने बानी थियो । त्यही विद्रोही चेतले उहाँलाई सडकको आन्दोलनमा पुर्यायो ।

विजयको मृत्युको खबर सुन्नासाथ दाइ अजय चौधरी वैदेशिक रोजगारीबाट फर्किए । तर परिवारले छोराको जिउँदो मुख देख्न पाएन । घटना भएको नौ दिनपछि मात्र सेनाको हेलिकप्टरमार्फत विजयको शव लहान ल्याइयो । घरव्यवहार टार्ने मुख्य सदस्यको शव बुझ्नुको पीडा यो परिवारले अझै भुल्न सकेको छैन ।

विजयकी आमा जलेश्वरी देवी अचेल टोलाएर बस्छिन् । मोबाइलमा छोराको फोटो हेरेर चित्त बुझाउने प्रयास गर्छिन् । काखमा सानी नातिनी लिएर टोलाउँछिन् । कहिलेकाहीँ त्यही नातिनीले मन बहलाउँछिन्– सहिद विजयले छाडेर गएको अन्तिम चिनो ।

छोरी दिवान्सीले बाबाको नाम लिएर खोज्दा अमिरिका चौधरीको मन बेस्सरी पोल्छ । अवोध बालिकालाई कसरी सम्झाउने भन्ने शब्द उनीसँग छैन । त्यही पनि उनी भनिदिन्छन्, “बाबा काठमाडौँ जानुभएको छ, छिट्टै आउनुहुन्छ ।” तर त्यो झुटो आश्वासनले उहाँको मन अझ भारी बनाउँछ ।”

मम्मीभन्दा बढी बाबासँग लुटपुटिएर बस्ने दिवान्सी अचेल हरेक भीडमा, हरेक आवाजमा बाबालाई खोजिरहेकी हुन्छिन् । चुनावी र्यालीका चर्का नाराले, भीडका दृश्यले विजयकी आमालाई पनि पुरानो पीडा झनै ताजा बनाइदिन्छ । “छोरो बाँचेको भए ऊ पनि अरु जस्तै चुनावमा लाग्थ्यो”, विजयकी आमा जलेश्वरीदेवी भन्छिन्, “उनीहरूलाई देख्दा छोराको झल्को आउँछ, सम्हाल्न गाह्रो हुन्छ ।”

चुनावी अभियान सुरु भएदेखि अमिरिका चौधरीलाई उकुसमुकुस भएको छ । बाहिर राजनीति चलिरहँदा, उनी भित्रभित्रै आफ्नो जीवन सम्हाल्न सङ्घर्ष गरिरहेकी छिन् । उनी भन्छिन्, “जे माग राखेर सहिद भए, ती माग पूरा होउन् । जसले मेरो श्रीमान्लाई मार्यो, उसलाई कानुनी कारबाही होस् । नेपाली जनताले फेरि दुःख नपाऊन् । फेरि आन्दोलन नहोस् । कोही सहिद बन्न नपरोस् ।”

नगरपालिकाले उनलाई वडा कार्यालयमा करारको जागिर दिएको छ । त्यसले केही राहत दिएको छ, तर त्यो राहतले विजयको अभाव भरिँदैन । बाहिर चुनावी राजनीति चलिरहेछ, तर यो सहिद परिवार आफ्नै शोकसँग जुधिरहेको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा, महावीर पुनसँग को को भीड्दैछन् ?

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुख्यौली थलोमा चुनाव लड्न आएका पुनको सक्रियताले यहाँको राजनीतिमा तरङ्ग ल्याएको छ । राष्ट्रिय राजनीतिमा सृजना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिहरूको उदय, प्रतिस्पर्धी उम्मेदवारको प्रभाव तथा सम्बद्ध राजनीतिक दल तथा उम्मेदवारहरूको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति चासो बढेको बेनीका धनञ्जयकुमार श्रेष्ठ बताउँछन् ।

“विगतका चुनावमा राष्ट्रियस्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको उम्मेदवारीले चर्चामा ल्याएको छ”, उनले भने, “राजनीतिक दलहरूको साङ्गठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यसपालि म्याग्दीको चुनावलाई रोचक बनाएको हो ।”

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रव)लाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन् ।

सार्वजनिक रूपमा स्वतन्त्र उम्मेदवार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी कायमै छ । एमालेका श्रेष्ठ दोस्रोपटक उम्मेदवार बन्नुभएको हो भने बाँकी सबै पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । विसं २०७४ यता यसपालि दलहरूबीच एक्लाएक्लै गठबन्धन नगरी प्रतिस्पर्धा हुनलागेको हो ।

विसं २०७९ मा प्रतिनिधिसभामा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी भएका थिए । प्रदेशसभाको १ (१) र (२) मा गठबन्धनबाट माओवादीका हरि भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित भएका थिए।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी हुँदा प्रदेशसभाको १ (१) मा माओवादीका विनोद केसी र (२) मा एमालेका नरदेवी पुन विजयी भएकी थिइन् । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा विजयी भएका थिए ।

विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेकै निल पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले नौ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन हजार ५७९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हजार २५३ र नेकपा एकीकृत समाजवादीले २८५ मत पाएका थिए ।

विसं २०७९ मा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासहितका दलहरूको सर्मथन पाएका नेपाली कांग्रेसका गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले २० हजार १८९ मत पाएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकवटा निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताए ।

उम्मेदवारहरू मतदाता, कार्यकर्ता घेटघाट र घरदैलोका लागि गाउँ पसेका छन् । राजनीतिक गतिविधिले ग्रामीण क्षेत्रमा चहलपहल बढाएको छ । धवलागिरि गाउँपालिका–७ धारापानीका कर्णबहादुर थापा सबै दल र उम्मेदवारका कुरा सुनेर निर्णय लिने बताउँछन् ।

“भोट माग्न आउने सबै उम्मेदवारलाई स्वागत, सम्मान गर्ने र उनीहरूका योजना सुन्ने हो”, उनले भने, “हामी जनताको मन र विश्वास जित्ने उम्मेदवारले मत पाउँछ ।” अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका खगवीर पाइजा मतदाताहरू सबैका विचार र योजना सुनेर निर्णय लिने मनस्थितिमा रहेका बताउँछन् ।

म्याग्दीका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने, कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।

धाप्लाङघाट पुल निर्माणले लियो गति, स्ल्याब ढलान सुरु

खोटाङ। खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए ।

विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेकाे धाप्लाङघाट मोटरेबल पक्की पुलका लागि स्ल्याब ढलानको काम सुरु गरिएको छ । विसं २०७६ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी धाप्लाङघाटको माटरेबल पक्की पुलका लागि सम्झौता गरिए पनि निर्माण कम्पनीमा आवद्ध ठेकेदारको लापारवाहीका कारण निर्माणको काम अलपत्र परेको हो ।

ठेकेदारको लापरवाहीले अलपत्र परेको धाप्लाङघाट पुल निर्माणका लागि खोटाङ प्रदेशसभा (२)का सदस्य एवं कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास र स्वास्थ्यमन्त्री भूपेन्द्र राईले निरन्तर खबरदारी गरेपछि अहिले पुल निर्माणले तीव्रता लिएको स्थानीयवासीले बताएका छन् । सङ्घीय सरकारको रु २१ करोड ६५ लाख लागतमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले निर्माणको जिम्मा लिएको पुल अलपत्र परेपछि लिड पार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालोसूचीमा राखेर धरौटी तानेपछि ज्वाइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माणको काम थालेको हो ।

विभिन्न कठिनाइका बीच पुल निर्माणको कामलाई पुनः सुरु गराउन सफल भएको निवर्तमानमन्त्री राईले बताए । “धाप्लाङघाट पुलमा पाँचवटा स्ल्याब रहन्छ । एउटा भर्खरै ढलान भएको छ । यस वर्ष कम्तीमा तीनवटा ढलान सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ”, उहाँले भन्नुभयो, “धाप्लाङघाट पुल सञ्चालनमा आएपछि खोटाङको समृद्धिको यात्रा सुरु हुन्छ । यसतर्फ निर्वाचित जनप्रतिनिधिले ध्यान दिन जरुरी छ ।”

पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्छ । विसं २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वारपार गराउनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको काम ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो ।

त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुईवटा स्ल्याब ढलान सकिन्छ । पुल निर्माणका लागि छवटा पिलर निर्माण गर्नुपर्नेमा चारवटा मात्र सकिएको छ । तर निर्माण भएको एउटा पिलर गर्त वर्षको बाढीले बङ्ग्याएकाले पुनर्निर्माण गर्नुपर्ने भएपछि अझै तीनवटा पिलर बनाउन बाँकी छ ।

धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौँअघि कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको छ । तर सुनकोसीमा पक्की पुल नहुँदा ठूला सवारीसाधन वारपार गर्ने अवस्था छैन । मोटरसाइकल भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरिएको स्थानीयवासीले बताएका छन् ।

धाप्लाङघाटमा पुल नहुँदा पालिकामा बाहिरबाट ल्याउने सामान ढुवानी महँगो हुनुका साथै स्थानीय उत्पादनलाई निकासी गर्न कठिन भएको बराहपोखरी गाउँपालिकाका प्रमुख सालिकराम बञ्जराले बताए । “धाप्लाङघाट पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएका छौँ । पछिल्लो समय पुल निर्माणको कामले गति लिएसँगै केही आशा जगाएको छ, निरन्तर खबरदारी आवश्यक छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ”, उनले भने ।

धाप्लाङघाटमा पुल निर्माणपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको छ । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्न अस्थायी बेलिब्रिज जडानको कामसमेत थालिएको छ ।

प्रेस काउन्सिलले सातवटै प्रदेशमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने

काठमाडौं। प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ ।

काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र आगामी वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिए ।

पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने एवं पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्डलाई पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ एवं समयानुकूल बनाउन आवश्यक कार्य गरिने काउन्सिलले जनाएको छ ।
यस्तै, काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गरिनेछ । पत्रपत्रिकासहित सञ्चारमाध्यमको अभिलेख अद्यावधिक गर्ने र अद्यावधिक गर्ने सन्दर्भमा देखिएका समस्या एवं चुनौतीलाई समाधान गर्न, अभिलेखसम्बन्धी अवधारणापत्रसहित कार्ययोजना तयार गर्ने काउन्सिलले निर्णय गरेको छ ।

बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन सम्बन्धित सबैमा अपिल गरेको छ ।

बैठकले त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरू त्रिपुरासुन्दरी माई भगवती मन्दिर, फटिक खम्बा, नरसिंहधाम तथा नीलकण्ठ नगरपालिकामा अवस्थित भैरवी माई मन्दिरलगायत स्थलको संरक्षण, प्रवर्द्धन तथा व्यवस्थित विकासका लागि प्राथमिकता साथ यसको प्रचारप्रसार गर्न धादिङका सञ्चारमाध्यमहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।

बैतडी जन्ती बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडबाट दुई सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा ३४ जना घाइते भएका छन् । दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, केशवराज भट्ट र सुशिल जोशीको मृत्यु भएको हो ।

दुर्घटना भएको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस हो । बस जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै थियो ।

खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा

काठमाडौँ। नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन((युनेस्को)को अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ ।

काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीचको छलफलमा यस्तो प्रक्रिया अघि बढाइएको समितिका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो ।

“हरेक शुभकार्यसँग जोडिएको यमरीको महत्त्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तरराष्ट्रियकरणको प्रक्रिया हो । यसले नेपालकै पहिचान वृद्धि हुन्छ”, छलफलमा समितिका संयोजक आशामान सङ्गतले भन्नुभयो, “यमरी बनाउने परम्परा खाद्य परिकारमात्र होइन । प्रकृति, कृषि पेसा, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो सम्बन्ध राख्छ ।”

यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ । समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्द्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको उहाँको भनाइ थियो ।

त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, सूचीकृत हुने प्रक्रियालाई निर्धारित समयभित्रै सक्नुपर्नेमा जोड दिनुभयो । “कामपाका पुराना सहरी क्षेत्रका चोकचोकमा, गुठीगुठीमा, हरेक संस्कार र परम्परामा अमूर्त सम्पदा छन् ।” उहाँले, यस्ता सम्पदाको गरिमा प्रवर्द्धनमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

यमरीको गरिमालाई स्थानीयस्तरमा पनि प्रवर्द्धन गर्न अभिमुखीकरण र प्रशिक्षण सञ्चालन गरिनुपर्ने महर्जनले बताउनुभयो । छलफल र अन्तक्र्रियालाई नियमितता दिइने, त्यस्ता कार्यक्रममा समुदायका अगुवाहरूको सुझाव र प्रतिक्रियालाई ग्रहण गरिने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ ।

छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लब, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर सङ्घ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास सङ्घ, द्योला समाज सङ्घ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरूले धारणा राख्नुभएको थियो ।

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो । यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरूको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवर्द्धन तथा परम्परालाई निरन्तरता दिनु महत्त्वपूर्ण कामहरू हुन् ।

भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु

खोटाङ। भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।

मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराउनुभएको हो ।

दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिनुभयो । “दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु । यहाँ कोही चिनेजानेका मानिस छैनन् । चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु”, उहाँले भन्नुभयो, “घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको छ । उनीहरूको पनि अवस्था चिन्ताजनक छ । यसप्रति सम्बन्धित निकायको ध्यान जाओस् ।”

दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको छिमेकी क्षेष्ठले जानकारी दिनुभयो । मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन् ।

रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्तको डेढ महिना नपुग्दै दुर्घटनामा परेर मृत्यु भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् । खोटाङका विभिन्न ठाउँका स्थानीय युवा दिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन् ।

भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै ज्यान गुमाउनेको परिवारलाई रु दुई लाखका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । घाइतेहरूलाई रु ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताउनुभएको छ ।

बैतडीमा २८७ बन्दुक फिर्ता

बैतडी। बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै २८७ भरुवा बन्दुक फिर्ता गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको र सोहीबमोजिम बन्दुक फिर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता बलदेब बडूले जानकारी दिनुभयो ।

यसअघि जिल्ला सुरक्षा समितिले हातहतियार बुझाउन उर्दी जारी गरेको थियो । जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक सङ्कलन गरेको हो । बुझाइएका बन्दुक चैत २० गतेपश्चात फिर्ता गरिने जनाएको छ ।

आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको हो । निर्वाचनको संवेदनशील समयमा लाइसेन्सप्राप्त हतियार पनि सुरक्षा जोखिमका कारण बन्न सक्ने आकलनका आधारमा यस्तो कदम चालिएको प्रशासनको भनाइ छ ।

प्रशासनले प्रत्येक निर्वाचनको समयमा यस्तै प्रकृतिका सावधानीमूलक व्यवस्था गर्दै आएको र यसलाई नियमित सुरक्षात्मक अभ्यासका रूपमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पैसा र बिक्रीदर १०५ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ २८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ७५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ७९ पैसा र बिक्रीदर २० रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५५ पैसा र बिक्रीदर चार रूपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८४ पैसा र बिक्रीदर नौ रूपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६ रूपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७८ पैसा र बिक्रीदर २२ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ७८ र बिक्रीदर ३७६ रूपैयाँ ३४ पैसा रहेको छ ।

यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

काठमाडौँ – निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ ।

आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ ।

यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ । साठी जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको छ तर, प्याकिङको काम भने बाँकी छ ।

आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । प्याकिङको काम पनि क्रमशः भइरहेको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी, प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । यही माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको थियो । यस्तै, १० लाख ९८ हजार २०० बराबरको नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।

देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।

कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

नेपाली काङ्ग्रेसले युवाहरुको महत्व बुझेको छ – डा. कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेसले युवाहरुको महत्व बुझेको बताएका छन् । मोरङ क्षेत्र नम्बर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले काङ्ग्रेसले युवाहरुको महत्व बुझेको भन्दै युवाहरुलाई निर्वाचनमा प्रोत्साहन गरिरहेको बताए ।

उनले भने, ‘युवाहरुलाई लोकल चुनावमा प्रोत्साहित दिनुपर्छ, ४० प्रतिशत युवाहरुलाई स्थान दिनुपर्छ भनिरहेको छु । प्रदेशको चुनावमा ३० प्रतिशतलाई दिनुपर्छ भनेको छु र केन्द्रमा अथवा संघीय चुनावमा २० प्रतिशत युवाहरुलाई दिनुपर्छ भनिरहेको छु । युवाहरुको महत्व नेपाली काङ्ग्रेसले नबुझेको होईन्, बुझेको छ ।’

उनले काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताए ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बैतडी। बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुच्र्यौँडी नगरपालिका–७ बडगाउँ मोडमा आज दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।

पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

काठमाडौँ ९ उज्यालोका रामेश्वर, काँग्रेसकी नानु र रास्वपाका डिपीबिच महाभिडन्त हुने

उज्यालो नेपाल पार्टीबाट काठमाडौँ ९ मा निर्वाचन लड्न लागेका नेता हुन् रामेश्वर श्रेष्ठ । श्रेष्ठ आँफैमा एक कुशल समाजसेवी पनि हुन् । उनको प्रतिस्पर्धा काठमाडौँ ९ बाट रास्वपाका डिपी अर्याल, नेपाली काँग्रेसका नानु बास्तोलासँग प्रतिस्पर्धा हुनेछ ।

श्रेष्ठ काठमाडौँ १ लागि विशुद्ध नयाँ अनुहार हुन् भने काँग्रेस नेतृ बास्तोला गगन निकट नेतृ हुन् । डिपी रास्वपाका उपसभापति तथा यस अघिका समानुपातिक सांसद पनि हुन् ।

कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

काठमाडौँ । नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७ को पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने बताएका छन् ।

कश्मीर एकता दिवसका अवसरमा आज यहाँस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूत हाश्मीले उक्त प्रस्तावले समस्या समाधानका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरेको उल्लेख गरे । प्रस्तावमा भारत र पाकिस्तानबिच युद्धविराम, कश्मिरबाट सैन्य बल फिर्ता तथा जम्मु–कश्मीरका जनतालाई आफ्नो भविष्य स्वयं निर्धारण गर्न स्वतन्त्र तथा निष्पक्ष जनमतसङ्ग्रहको व्यवस्था गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सुनिश्चित गरेको कश्मीरी जनताको आत्मनिर्णयको अधिकारसम्बन्धी प्रस्ताव पारित भएको सात दशक बितिसक्दा पनि अझै पूरा हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे । कश्मीरसम्बन्धी संयुक्त राष्ट्रका प्रस्तावहरूको कार्यान्वयन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा राजदूत हाश्मीले जोड दिए ।

कश्मीर एकता दिवस कश्मीरी जनताप्रति ऐक्यबद्धता प्रकट गर्न तथा कश्मीर विवाद अझै समाधान हुन नसकेको अवस्थालाई उजागर गर्न प्रत्येक वर्ष मनाइने गरिन्छ ।

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता

गाईघाट। महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताउनुभयो ।

गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय महिला च्याम्पियनसीप लिगको तयारी गरिएको बताउनुभयो ।

उक्त लिगमा १० ‘ए’ डिभिजन तहका महिला टोलीले सहभागिता जनाउने महासचिव राईले बताउनुभयो । आयोजकका अनुसार प्रतियोगितामा न्युरोड महिला फुटबल टोली काठमाडौँ, गाईघाट महिला फुबटल टोली उदयपुर, त्रिभुवन आर्मी महिला टोली, नेपाल पुलिस, क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, आरएस रिसोर्ट, क्लब चर्च युनियन, छहारी युथ क्लब, सङ्कटा युथ क्लब, रिले युथ क्लबलगायतले भाग लिने छन् ।

प्रथम हुने टोलीलाई रु सात लाख ५० हजार पुरस्कार र ट्रफी तथा दोस्रो हुनेलाई रु पाँच लाख नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन् : अस्ट्रेलियाली अध्ययन

मेलवर्न। सामान्यतया ठूला दाजुभाइ र दिदीबहिनीको तुलनामा उनीहरूका साना भाइबहिनीहरूले स्क्रिनमा बढी समय बिताउने र शैक्षिक गतिविधिहरूमा कम समय बिताउने अस्ट्रेलियामा गरिएकोे एक नयाँ अनुसन्धानले देखाएको छ।

‘मोनास बिजनेस स्कूलको सेन्टर फर हेल्थ इकोनोमिक्स’ले अस्ट्रेलियामा गरेको एक अध्ययनका अनुसार पहिलो जन्मेका सन्तानको तुलनामा दोस्रो र तेस्रो जन्मेका बालबालिकाले प्रतिदिन क्रमशः नौ मिनेट र १४ मिनेट बढी स्क्रिनमा समय बिताउँछन् ।

“यो झट्ट सुन्दा सामान्य देखिए पनि पहिलो जन्मेका बच्चाको औसत दैनिक स्क्रिन समयको तुलनामा यो सात देखि १० प्रतिशतले बढी रहनेगरेको पाइएको छ।,” अनुसन्धानकर्ता दानुष जयवर्धनले भन्नुभयो ।

“एक हप्तामा उनीहरूले लगभग एक र १.५ अतिरिक्त घण्टा बढी स्क्रिन प्रयोग गर्दछन्,” उहाँले भन्नुभयो ।

“यो अतिरिक्त स्क्रिन समय अन्य गतिविधिहरूको लागतमा पनि आउँछ । विशेषगरी, पछि जन्मेका बच्चाहरूले समृद्ध गतिविधिहरूमा प्रतिदिन ११ देखि १८ मिनेट कम खर्च गर्छन् भने यो ठूला दाजुभाई र दिदीबहिनीहरूको तुलनामा ११–२० प्रतिशत कम हुन्छ,” जयवर्धनले भन्नुभयो। उहाँले समृद्ध गतिविधिहरू भनी पढ्ने, गृहकार्य गर्ने, बोर्ड गेम खेल्ने वा सङ्गीत वाद्ययन्त्र सिक्ने कुरालाई समावेश गर्नुभएको छ।

अध्ययनले दुई देखि १५ वर्ष उमेरका लगभग पाँच हजार ५०० अष्ट्रेलियाली बच्चाहरूको सर्वेक्षण तथ्याङुकलाई आधार बनाएर गरेको अध्ययनमा बच्चाहरूले उठ्नेदेखि सुत्ने समयसम्म आफ्नो समय कसरी बिताउँछन् भन्ने खोजी गरिएको थियो । अध्ययनमा गतिविधिहरू आमाबाबुसँग वा एक्लै गरिएका थिए कि थिएनन् भनेर पनि हेरिएको थियो ।

अध्ययनको निष्कर्षहरूले आमाबाबुको समय र ध्यान परिवार बढ्दै जाँदा बच्चाहरूको विकासलाई बढावा दिन घट्छ, र पछि जन्मेका बच्चाहरूले अधिक उदार अभिभावकत्वको अनुभव गर्छन् भन्ने देखाएको छ। उनीहरू (बछि जन्मेका सन्तति) लाई स्क्रिन प्रयोगको वरिपरि रहन बढी स्वतन्त्रता दिने गरिएको पाइएको अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले आमाबाबुलाई साना भाइबहिनीहरूसँग गुणस्तरीय समय बिताउन, सक्रिय रूपमा संवर्धन गतिविधिहरूलाई प्रोत्साहित गर्न र स्वस्थ विकासलाई समर्थन गर्न बच्चाहरूमा ‘स्क्रिन’ समयको वरिपरि लगातार नियमहरू कायम गर्न सुझाव दिएका छन् ।

जर्मनीका चान्सलर मर्जद्वारा इरानलाई अमेरिकासँग इमान्दारीपूर्वक वार्तामा सहभागी हुन आग्रह

दोहा। जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी प्रतिनिधिहरूसँग उनीहरूको योजनाबद्ध वार्ताको पूर्वसन्ध्यामा बिहीबार इरानको नेतृत्वलाई ‘साँच्चिकै वार्तामा प्रवेश गर्न’ आग्रह गर्नुभएको छ।

कतारको राजधानी दोहामा पत्रकारहरूसँग कुरा गर्दै मर्जले इरानले ‘आफ्नो परमाणु कार्यक्रम रोक्नुपर्दा’ र इजरायल र यस क्षेत्रका अन्य देशहरूलाई ‘थप सैन्य खतरा’ हुनबाट जोगिनुपर्ने बताउनुभयो ।

जर्मनीले अमेरिकासँग ‘नजिकबाट समन्वय’ गरिरहेको भन्दै मर्जले भन्नुभयो, “आगामी घण्टामा वार्तालाई तीव्रता दिइनेछ ।”

मर्ज हाल यस क्षेत्रको तीन दिने भ्रमणमा हुनुहुन्छ, जहाँ उहाँले साउदी राजकुमार मोहम्मद बिन सलमान र कतारी अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गर्नुभएको छ । उहाँ यो भेटपछि संयुक्त अरब इमिरेट्स जाँदै हुनुहुन्छ ।

अराघचीले सामाजिक सञ्जाल एक्समा जारी एक पोस्टमा जर्मनीलाई ‘प्रतिगमनको सहयोगी’ भन्नुभएको छ।

जवाफमा जर्मन चान्सलर मर्जले भन्नुभयो, “मैले यो ट्वीट हेरेको छु र केवल भन्न सक्छु कि यो ठूलो अस्तव्यस्तता र असुरक्षाको सङ्केत हो।“

काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौँ। “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र स्वास्थ्यसम्बन्धी सुविधा सहज र सरल हुनुपर्छ”, काठमाडौँ क्षेत्र नं ४ का मतदाता स्नेहा दाहालले कुराकानीका क्रममा भन्नुभयो, “हामीले जिताउने जनप्रतिनिधिले यी विषयमा काम गर्नसक्ने हुनुपर्छ ।”दाहालका यी अपेक्षा अधिकांश मतदाताका अपेक्षासँग मिल्न सक्छन् । उम्मेदवारहरुले निर्धारण गर्दै गरेका कार्यसूचीमा पनि यी विषय पर्न थालेका छन् ।

मतदाताका अपेक्षा र उम्मेदवारका प्रतिबद्धतासँगै क्रमिक रुपमा चुनावी वातावरण बढ्दो छ । विगतदेखि नै राजनीतिक चर्चाकै केन्द्रमा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं ४ काठमाडौँ महानगरपालिकाका चार वटा र बूढानीलकण्ठ नगरपालिकाको १२ वटा वडा समेटिएको छ । यस क्षेत्रमा अन्य क्षेत्रमा झैँ पुराना, नयाँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच यस क्षेत्रमा हुने प्रतिस्पर्धा बहुआयामिक देखिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट १८ राजनीतिक दल र १० स्वतन्त्र गरी २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । गत दुई निर्वाचनमा नेपाली कांग्रेसका वर्तमान सभापति गगन थापाले विजय हासिल गरेको यो क्षेत्र यसपटक उहाँले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएकाले पनि चर्चाकै केन्द्रमा रहेको हो ।

त्यसो त परम्परागत ठूला दलकैबीचमा आफ्नै खालको प्रतिस्पर्धा छँदैछ । यस क्षेत्रमा यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत निर्वाचनका प्रत्यासी डा राजन भट्टराईलाई नै उम्मेदवार खडा गरेको छ, भने नेपाली कांग्रेसले सभापति थापाको बिँडो थमाउने सोचका साथ नयाँ उम्मेदवार सचिन तिमल्सेनालाई उठाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई टिकट दिएको छ । उहाँ यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ र १ बाट चुनाव लड्नुभएको थियो ।

त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीका इन्द्रकुमार भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका डा सुरेन्द्रराज भण्डारी, राष्ट्रिय जनमोर्चाका छविबहादुर खनाल, नेपाल मजदुर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले, मङ्गोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, मितेरी पार्टी नेपालका प्रेमकुमार राई, नेपालका लागि नेपाली पार्टीका श्यामकुमार भट्टराई खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीका दत्त बुढा, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टीका मुस्कान पौडेल, जय मातृभूमि पार्टीका राजन पुरी, श्रम संस्कृति पार्टीका बरुण अमात्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का करिष्मा खरेल, उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह) केम्शसिंह उम्मेदवार हुनुहुन्छ ।

यस्तै, स्वतन्त्रबाट मदनदेव आचार्य, पुजन गजुरेल, अर्चनशमशेर राणा, विनोदबाबु प्रधान, डा दीपेन्द्रकुमार काफ्ले, केदारबहादुर कार्की, मनोज अधिकारी, आशिष श्रेष्ठ, सञ्जीव दर्जी, देवराज पौडेल उम्मेदवार रहनुभएको छ । यहाँ कूल उम्मेदवारमध्ये दुई जना मात्र महिला रहेका छन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं १ ७, ८ र ३० वडा तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्ने यस क्षेत्रमा कूल ७६ हजार १४१ मतदाता रहेका छन् । जातजातिगत आधारमा यस क्षेत्रमा मिश्रित जनसङ्ख्या रहेको छ ।

पेसागत रुपमा यस क्षेत्रमा मध्यम तथा बौद्धिक वर्ग, कर्मचारी, व्यवसायी र मजदुर वर्गको बसोबास रहेको छ । यस क्षेत्रमा नक्साल भगवती, कुमारीगाल, गौशाला, डिल्लीबजार, ज्ञानेश्वर, चपली, मण्डिखाटार, कपन, पैयाटारलगायत क्षेत्र पर्दछन् । यस क्षेत्रमा निर्वाचन आयोगबाट खटिनुभएका निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार यस क्षेत्रमा कूल ३३ मतदानस्थल र ८८ मतदान केन्द्र रहेका छन् ।

उहाँले उम्मेदवारी मनोनयनअघि निर्वाचनका लागि भाग लिन दर्ता कायम रहेका र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको र आफूहरुले सबै मतदानस्थलको अवलोकन गरी स्थानीय तह÷सुरक्षा निकायसँग आवश्यक समन्वय गरेको बताउनुभयो । निर्वाचन प्रचारप्रसारको घोषित समय (फागुन ४ देखि १८) सम्म आउन बाँकी रहेकाले हाल क्षेत्रमा चुनावी सरगर्मी तीव्र भइनसकेको उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यकाका सहरी निर्वाचन क्षेत्रमा प्रायः उस्तैउस्तै चुनावी मुद्दा र मतदाताका अपेक्षा देखिन्छन् । क्षेत्र नं ४ मा पनि एकीकृत सहरी विकास, सहरी व्यवस्थापन, सुुकुम्बासी समस्या, नदी र सम्पदा सफाइ तथा संरक्षण, पार्किङ, ढल तथा खानेपानी व्यवस्थापन आदि यस क्षेत्रका मुख्य मुद्दा देखिन्छन् । कपनको बाढी नियन्त्रण, कालोपुल–गौरीघाट टनेल निर्माणका लागि सम्भाव्यता अध्ययन, गुह्ेश्वरी–तिलगङ्गाको अवरुद्ध बाटो खोली यातायातलाई सहज बनाउने पनि उम्मेदवारका प्राथमिकता देखिन्छन् ।

प्रजातन्त्र पुनःस्थापनापछिको अवस्थालाई हेर्दा यस क्षेत्रमा सङ्घीय संसद्मा २०४८ सालमा एमालेका साहना प्रधान, २०५१ र २०५४ मा पद्मरत्न तुलाधार, २०५६ मा कांग्रेसका प्रेमलाल सिंह र २०६४ मा कांग्रेसकै सुप्रभा घिमिरे निर्वाचित हुनुभएको थियो ।

संवत् २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका गगनकुमार थापा विजय हासिल गर्नुभयो । पछिल्ला दुई प्रदेशसभा सदस्य निर्वाचनमा दुई÷दुई स्थान कांग्रेस र एमालेका उम्मेदवारले जितेका थिए । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता थापाले २१ हजार ३०२ मतसहित एमालेका डा भट्टराईलाई पराजित गर्नुभएको थियो ।

समानुपातिकतर्फ गत २०७९ को निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसको ११ हजार ८०८, एमालेको १० हजार ५६० मत रहेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले नौ हजार ४०१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ८८१, तत्कालीन नेकपा (एकीकृत समाजवादी) ले एक हजार ७१३ मत र तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एक हजार ५६४ मत ल्याएको थियो ।

एमालेका डा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको थियो । त्यसबेला तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कांग्रेससँग तालमेल गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका थिएनन् ।

विगतमा कांग्रेसले जितेको यसक्षेत्रमा हाल उक्त पार्टीबाट ठूला नेता नभए पनि युवा नेता उम्मेदवार रहेको र गगन थापाकै उत्तराधिकारीका रुपमा प्रस्तुत भएकाले आफूले पुनःजित्ने अपेक्षा लिएको छ । एमालेले विगतकै उम्मेदवारलाई पुनःप्रस्तुत गरेको, साङ्गठनिक स्थिरता र जनतामा परिवर्तनका चाहना हुने भएकाले आफ्नो पक्षमा परिणाम आउने विश्वास गरेको छ । सङ्गठनात्मक पकड बलियो नभए पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आफूलाई सशक्त प्रतिस्पर्धीका रुपमा उभ्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले युवा उम्मेदवार अघि सारेको र राष्ट्रिय रुपमा आफ्नो पक्षमा माहोल देखिएकाले आफू बलियो भएको जिकिर गरेको छ ।

अहिलेसम्मको निर्वाचन परिणामको स्थितिलाई हेर्दा यिनै चार÷पाँच उम्मेदवारले जनताको मत बढी पाउने देखिएको छ । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले ठूला दलका कुन उम्मेदवारको कति मत काटछन् भन्ने अहिले नै भन्न सकिने स्थिति छैन । समग्रमा यसपटक यहाँ मुख्य नेतृत्व परिवर्तन, नयाँ दलको उदय र स्वतन्त्र उम्मेदवारको सङ्ख्याले चुनावी समीकरण फरक हुनसक्ने सङ्केत देखिएको छ । स्थानीय मुद्दा, उम्मेदवारको व्यक्तिगत छवि र मतदातासँगको प्रत्यक्ष सम्पर्क नै जितको मुख्य आधार बन्ने ठानिएको छ ।

यस क्षेत्रका एमालेका उम्मेदवार एवं सो पार्टीका सचिव डा भट्टराईले राष्ट्रिय स्वाधीनता र समद्धिको नीति, नेतृत्व र परिणामका आधारमा युवाको रोजाइमा आफ्नो पार्टी रहेको बताउनुभयो ।

उहाँले यसपटक मतदाता तहबाटै आफूलाई उम्मेदवार बन्न आग्रह आएकाले प्रतिस्पर्धामा उत्रिएकाले बताउँदै सङ्गठनात्मक आधारका कारण आफूहरुले विजय हासिल गर्ने बताउनुभयो । एमालेले यही माघ १० गते काठमाडौँ उपत्यकाकै निर्वाचन परिचालन कमिटी एकैसाथ घोषणा गरी प्रचार सुरु गरेको थियो । यस्तै अन्य दल र उम्मेदवारले पनि आफ्नो तयारीलाई अघि बढाएका छन् ।

कांग्रेसले यस क्षेत्रमा यही माघ १७ गते सभापति थापाकै उपस्थितिमा निर्वाचन परिचालनसम्बन्धी भेला आयोजना गरेर निर्वाचन प्रचारको थालनी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार तिमल्सेनाले ‘युथ फर चेन्ज’ को नारा अघि सार्दै सभापति थापा सर्लाहीबाट उठेको सन्दर्भलाई थापाकै उत्तराधिकारीका रुपमा आफू आएको जिकिर गर्दै निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो कार्यशैली र नतिजा फेर्ने अवसर भएकाले सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणाली आफ्ना मुख्य प्राथमिकता भएको बताउनुभयो ।

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ – प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन् ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्येक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताइन् ।

“मतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो, मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो, निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ । प्रेसका कर्मचरीहरुले एकदमै राम्रो काम गर्नु भएको रहेछ”, प्रधानमन्त्री कार्कीले भने । निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उहाँले देशभर निर्वाचनको माहोल बनेको बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईहरु निश्चिन्त मान्नुस्, चुनाव आयो, फरक पर्दैन, चुनाव एउटै र एकैदिनमा हुन्छ, दुई चोटी हुने वाला कहीँ छैन, एकै दिनमा हुन्छ, कहीँ कतै केही हुनेवाला छैन, तोकिएकै मितिमा चुनाव हुन्छ ।”

निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकुल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै तिर राम्रो भएर आएको बताइन् । हामी सबैले मतदान गर्न पाउँछौँ भन्दै उनले मतदानको सबै नतिजा आएपछि नयाँ सरकार बन्ने र आफूहरु आफ्नो घर फर्कने बताइन्।

“अब राम्रो हुन्छ, हामी सबैले मतदान गर्न पाउँछौँ, त्यसको परिणाम आउँछ, त्यसपछि सरकार बन्छ र हामी थपक्क सरकार हस्तान्तरण गर्छौँ र आ–आफ्ना घरतिर जान्छौँ”, प्रधानमन्त्री कार्कीले भनिन्।

मतपत्र छपाइ अनुगमनपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर चुनावी माहोल बन्दै गएको बताए। उनले भने, “भदौ २३ गते मानवता र २४ गते मुलुक गम्भीर सङ्कटमा पुगेको थियो । अहिले मुलुकमा राजनीतिक हिंसा र द्वन्द्व विस्तारै कम हुँदै गएको छ । देशभर चुनावी वातावरण बन्दै गएको छ । तोकिएकै मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।”

वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले आउँदो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताए।

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ ।

आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ । तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जिसीले बताए।

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी कारबाही गर्ने भएको छ ।

थापाथलीस्थित काठमाडौँ महानगरपालिका–११ मा भएको बागमती सफाइ अभियानकर्मीहरुको बैठकमा वडाध्यक्ष हीरालाल तण्डुकारले सो जानकारी दिनुभएको हो ।

विगत १३ वर्षदेखि बागमती तथा उपत्यकाका अन्य नदी एवं खोला तथा सार्वजनिक स्थान, चक्रपथ, नेपालका पूर्वदेखि पश्चिम, हिमाल, पहाड, तराईका स्थानमा सरसफाइ अभियान चलिरहेको छ । उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताउनुभयो ।

फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ । फोहर व्यवस्थापनसम्बन्धी नियम कानुन बने पनि त्यसको कार्यान्वयन गर्ने निकायले बेवास्ता गरेकाले यसतर्फ ध्यान दिनुपर्ने सफाइ महाअभियान एवं उपत्यकाका सरसफाइ अभियानकर्मीको भनाइ छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यसतर्फ आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।

पचास वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ गरिने

काठमाडौँ। प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने भएको छ ।

धादिङको सल्यानटारमा बसेको काउन्सिल बोर्ड बैठकले ‘निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने’ निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी र प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार÷परिमार्जन गर्ने समेत उक्त बैठकले निर्णय गरेको छ ।

बैठकमा चालु आर्थिक वर्षको हालसम्मको कार्यक्रम, प्रगति तथा थप कार्यक्रमसहित निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट सुरु गर्ने बैठकले निर्णय गरेको छ । पहिलोचरणमा सात प्रदेशका प्रमुख सहरमा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक कार्यक्रम सञ्चालन गर्ने तथा अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय भएको काउन्सिलले जनाएको छ ।

बोर्ड बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्न÷गराउन सम्बन्धित सबैमा अपिल गर्ने निर्णय गरेको छ ।

बैठकपश्चात् काउन्सिलले धादिङबेँसीमा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, शैक्षिक एवं सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीरूको सहभागितामा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सिंगो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो देशले पाएको दुखको अगाडि आफ्नो कुनै हिसाब नभएको बताएका छन् । बिहीबार चितवन आइपुगेका उनले यस्तो बताएका हुन् ।

उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए । उनले यो मुलुकलाई समृद्धि र स्थायी शान्तिको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘सिंगो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन । सिंगो देशले दुख पाएको छ । आजबाट कहिले काँही धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिन्, देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि हामी कसरी जानुपर्छ त्यसको लागि जानेछौँ । म कुनै राजनीतिक दल वा अरु नेतालाई गाली गर्ने पक्षमा छैन ।’

आचारसंहिताको पालना गर्दै निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार आयोगले आज निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमन÷पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा गरेको छलफलमा सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

आयोगको अनुगमनबाट राजनीतिक दलका केही नेताहरू र उम्मेदवारहरुले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको, अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरूलाई कुन दल÷नेतालाई भोट दिने ? भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो÷अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरको पाइएको छ ।

आयोगमा मानव अधिकार अनुगमनबाट निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लङ्घन भएको भनी प्रश्न उठेको, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्छ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाएको छ ।

केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको, यसअघि आयोगले राजनीतिक दलका प्रतिनिधिहरु र सञ्चाकर्मीहरुसँग छुट्टाछुट्टै गरेको छलफलमा उल्लिखित विषयहरुलाई उठाइएको अनुगमनबाट पाइएको छ ।

कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु मानव अधिकारको विषय बनेपनि नौतिकताको विषय चाँही नभएको बताएका हुन् ।

उनले भने,‘चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु मानव अधिकारको विषय त बन्ला र नौतिकताको विषय चाँही होइन् । त्यो नुहुनुपर्ने थियो भयो तर,स्वतन्त्र,निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने नागरिक र पार्टीको हक त्यो कर्तव्य सरकारको हो । सरकार त्यसमा लाग्नुपर्छ ।’

त्यस्तै उनले कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने प्रस्ट पारे । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् ।

उनले भने, ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’

मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार

गण्डकी। सहर नै रोजगारी र सम्वृद्धीको एकमात्र गन्तव्य हो भन्ने आम बुझाइलाई कास्कीका एक मौरीपालक किसानले गलत सावित गरिदिएका छन् ।

कास्कीको मादी गाउँपालिका-११ तोगीका पृतिराज लामिछानेले मौरीपालन व्यावसायमार्फत प्रति वर्ष रु ६० लाख भन्दा बढी आम्दानी गरी अनुकरणीय काम गरी गाउँमा सम्भावना रहेको पुष्टी गरेका हुन् ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइमा अवस्थित विकट तोगी गाउँमा रहेर आकर्षक कमाइसहित उदाहरणीय किसान बन्दै सकारात्मक सन्देश दिन किसान लामिछाने सफल भएका हुन् । तोगी गाउँ पुग्न आज पनि सहज छैन, भौगोलिक विकटता सीमित पूर्वाधार र बजारको पहुँचको अभावको बाबजुद पनि लामिछानेले गाउँमै सम्भावना देखेका छन् । परम्परागत कृषिमा सीमित नरही गाउँमै मौरीपालनलाई व्यावसायिकरुप दिन थालेपछि उनको जीवनशैली मात्र फेरिनुका साथ गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास पनि बलियो बनेको छ ।

उनका अनुसार २०४८ सालमा ‘तालबेँसी-किसानदेखि किसान’ सम्म संस्थामा दश वर्षको अनुभवबाट गाउँमै रहेर मौरीघार निर्माण र मह उत्पादनको मुख्य प्रेरणाको स्रोत बनेको हो । घर वरिपरिको बारीमा अहिले पनि १०० भन्दा बढी आधुनिक घारमा मौरी घुमिरहेका देखिन्छन् ।

गाउँमा कमाएको रकमले पोखरा १७ सीतापाइलामा घरजग्गाको व्यवस्था गर्नुका साथै ४ छोराछोरीलाई बजारमा राखेर पढाउन सफल भएको उनकी श्रीमती लक्ष्मी लामिछानेले बताइन् । “चार फ्रेम मौरीसहितको आधुनिक घारलाई रु १५ हजार, खाली घारलाई रु ५ हजार ५०० र प्रति केजी मह रु १ हजार ५०० मा बिक्री गर्दै आएको छु” किसान लामिछानेले भने, “उत्पादित मौरीका घार र मह बिक्री हुँदैन कि भन्नुपर्दैन, बजारको माग धान्नसमेत हम्यहम्ये परेको छ ।”

अघिल्लो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई मात्र करिब ३८ लाख मूल्य बराबरको मौरीसहितको घार र मह बिक्री गरेको बताउँदै उनले थपे स्थानीय वनस्पति, जैविक वातावरण र स्वच्छ हावापानीका कारण यस क्षेत्रमा उत्पादित मह गुणस्तरीय अर्गानिक भएको हुँदा बजारमा सहजै बिक्री हुने गरेको छ । उनको घारमा ‘सेरेना’ जातका मौरी रहेका छन् ।

मौरीपालनले उनलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुगेको छ । यसले वैदेशिक रोजगारीका लागि पलायन हुने युवालाई गाउँमै रोक्न सकिने प्रचुर सम्भावनाको सङ्केत गरेको छ । मौरीपालन तथा घार उद्योगमा एकजना स्थानीय र अर्को एक जना विदेशी नागरिकलाई दैनिक रोजगारी दिन उनी सफल भएको छ ।

ञमौरी फर्ममा उत्पादन भएको मह पोखराको बजार र घार भने कास्की, गोरखा, स्याङजा र म्याग्दी जिल्लामा बढी माग रहेको छ । मौरीले बढी मन पराउने ‘टुनी’ को काठबाट घार निर्माण गर्दै आएको र काठ भने बागलुङ र पर्वत जिल्लाबाट खरिद गरेर ल्याउने गरेको लामिछाने बताउँछन् । सो गाउँभन्दामाथि कुनै पनि बस्ती नरहेको उक्त उद्योगमा भारतका सेख अवतार विगत १० वर्षदेखि काम गर्दै आएका छन् । उनलाई खान बस्न सुविधासहित मासिक रु ४५ हजार पारिश्रमिक दिने गरेको लामिछाने बताउँछन् । स्थानीय एकजनाले भने मासिक रु ३५ हजार तलब पाउने गरेका छन् ।

किसान लामिछानेको सफलताले तोगी मात्र होइन सम्पूर्ण पहाडी गाउँको लागि सम्भावनाको ढोका खोलेको छ । भौगोलिक अवस्था, सही योजना, निरन्तरता मेहनत र स्थानीय स्रोतको सदुपयोग गर्न सके गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने भनाइ पुष्ट गर्न उनी सफल भएका छन् । लामिछाने मात्र नभइ सो गाउँका अर्का विनोद ढकालले पनि मह र घार बिक्रीबाट मनग्ये आम्दानी गर्दै आएका छन् । पाँच घार मौरी भएका उनले घार र मह बिक्रीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनको परम्परागत खरले छाएको घुमाउने घर छ, जहाँ मौरीका घारले ढाकेको छ ।

उक्त क्षेत्रका घरमा मात्र होइन जङ्गलका धोत्रारुखमा समेत मौरी घार रहेका हुन्छन् । गाउँलेहरुले त्यस्ता जङ्गलका मौरीलाई आधुनिक घारमा राखेर विस्तार गर्दै आएका छन् । वार्षिक १ लाख पचास हजार मुल्य बराबरका १० देखि १५ घार जङ्गलबाट छोपेर ल्याउने गरेको मौरी किसान विनोद बताउँछन् । तोगी गाउँका प्रत्येक घरमा धेरै–थोरै मौरीका घार रहेका छन् । मह र पोलासहितको घार बिक्रीबाट २ करोडभन्दा बढी रकम बजारबाट गाउँ भित्रिने गरेको वडाअध्यक्ष चलचित्र गुरुङले जानकारी दिए ।

मादी गाउँपालिकालाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ पालिकाले प्रत्येक वर्ष तोगीका किसानसँग खरिद गरेर अन्य वडाका किसानालाई वितरण गर्ने अभियान समेत सञ्चालन गर्दै आएको छ ।

कास्कीका मौरिपालक किसान मुलुकका घर–गाउँका बस्ती खाली हुनेक्रम बढिरहेको विद्यमान समयमा स्थानीय भूगोल तथा मौसम सुहाउँदो कृषि व्यवसाय सञ्चालन गरी गाउँमै आयआर्जन गर्न सकिने सम्भावना रहको भन्ने सन्देश दिन सफल भएका छन् ।

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौँ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रजाति र सङ्ख्या घट्दो देखिन्छ । गत वर्ष सन् २०२५ को जलपक्षी गणनाबाट प्राप्त तथ्याङ्कअनुसार नेपालमा ९४ प्रजातिका ९६ हजार ५६५ जलपछी अभिलेखिकरण भएको थियो । सन् २०२६ को गणनाबाट ८९ प्रजातिका ९० हजार ६८८ वटा जलपक्षी अभिलेख भएका छन् । त्यस भन्दा पनि अघिका गणनामा एक लाख बढी नै प्रजाति अभिलेख भएका थिए ।

वाटरल्याण्ड इन्टरनेशनलको सहकार्यमा भारतीय महाद्विपमा एसियास्तरीय जलपक्षी गणना सन् १९८७ देखि सुरु गरिएको हो । गणनालाई सहयोग पुर्याउन नेपालले सन् १९८७ देखि जलपक्षी गणनामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।

अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपक्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् । चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किँदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् ।

जलपक्षी गणनाको मुख्य उद्देश्य बसाइँ सराई गर्ने र पानीमा बस्ने चराको प्रजनन् नहुने समयमा गणना तथा अनुगमन गरी सङ्ख्यासहित सिमसार क्षेत्रको अवस्थाबारे थाहा पाउनु, पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्व, तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी तथा जानकारी गराउनु रहेको छ ।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा नेपाल पक्षीविद् सङ्घको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सो अन्तर्गतका ७८ वटा साना क्षेत्रमा जलपक्षी गणना गरिएको नेपाल पन्छिविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए । गणनामा ४११ स्वयंसेवक गणक (कर्मचारी, चराविद, प्रकृतिप्रेमी, स्वयंसेवी, नागरिक वैज्ञानिक)बाट पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन गरी विश्व सिमसार दिवस (२ फेब्रुअरी)मा सार्वजनिक गरिएको थियो ।

सिमसार अतिक्रमणले जलपक्षीको आहारामा कमी

कार्यकारी निर्देशक पौडेलले भने, “जलपक्षीको सङ्ख्या विश्वमै कम देखिएको छ, नेपालमा पनि सिमसार क्षेत्रमा मानवीय गतिविधि बढेको, पूर्वाधार निर्माण बढेको, मिचाहा प्रजातिले ताल ढाकेको, कृषिमा रसायनिक मल र विषादीको प्रयोग बढेका कारण पनि जलपक्षी यहाँ कम समय व्यतित गर्ने गरेका हुन सक्छन् ।”

विगतका वर्षमाझैँ यस वर्ष पनि कोशीटप्पु वन्यजन्तु आरक्ष र यस वरीपरी, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज र सो वरपर, धनुषाधामका तालतलैया र कमला नदी, हेटौँडा, काठमाडौँ उपत्यका, पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, बिसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, जगदीशपुर रिजभ्र्वायरलगायतका क्षेत्रमा जलपक्षी गणना गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । जलपक्षी गणनामा विभिन्न राष्ट्रिय निकुञ्ज÷वन्यजन्तु आरक्ष÷संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय तथा सङ्घ संस्थाको सक्रिय सहभागिता थियो ।

निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले नदीनाला, तालतलैया र सिमसार क्षेत्रमा बढ्दो मानवीय गतिविधि तथा बढ्दो विषादी प्रयोगका कारण जलपक्षीको आहारमा कमी आएको बताए । “सुरक्षित बासस्थान र आहाराको खोजी जलपक्षीले नयाँ स्थान खोज्ने गरेको हुन सक्छ” उनले भने । वरिष्ठ इकोलोजिष्ट आचार्यका अनुसार नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले सिमसार क्षेत्रको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो ।

सिमसार क्षेत्रमा अव्यवस्थित रूपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, बढ्दो प्रदुषण, फोहरमैला सोझै नदी र सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृत्तिलगायत चुनौती थपिएको छ । यसले जलपक्षीको बासस्थानको विनाश हुने गरेको पक्षी संरक्षणकर्मी हिरुलाल डगौराले बताए । “कृषि बालीनाली अत्यधिक रसायनिक मल र विषादीको प्रयोग तथा माछा मार्न हुने विषादीको प्रयोगले जलपक्षीका आहार कमी आएको छ । आहाराको खोजीमा जलपक्षी अन्यत्र जान सक्छन्,” उनले भने ।

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोजजस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका पक्षी संरक्षणकर्मी डगौराको भनाइ छ ।

चराविद्का अनुसार यी जलपक्षी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर क-याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ । चैतसम्म भने प्रायःचरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाइँसरी आउने पानी चरामा हाँस, जलेवा, गङ्गा चील आदि प्रजाति पर्छन् ।

सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौँ महानगरको सूचना

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, “काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयमध्ये सहकारीले बहालमा लिएका घर कोठा खाली गर्नेसम्बन्धी मिति २०८२÷१०÷१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ ।”

कामपा सहकारी विभागका प्रमुख महेशकुमार काफ्लेकाअनुसार सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कामपाका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने जनाइएको छ । “उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामान सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ”, सूचनामा उल्लेख छ ।

नाम सार्वजनिक गरिएका सहकारीहरुमा वडा नं ३१ स्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं ६ स्थित नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, सोही वडामा रहेको सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नं १७ मा सञ्चालित युनिफाइड बचत तथा ऋण सहकारी संस्था छन् । त्यसैगरी वडा नं २२ मा सञ्चालित महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं ३२ मा रहेको ग्रेट गङ्गासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, वडा नं १० मा सञ्चालित प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।

लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालक फरार भएपछि घरधनीबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन् । यसरी आएका निवेदन फछ्र्यौट गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर सो प्रक्रिया अगाडि बढाएको हो ।