संविधान संशोधनका लागि सरकारले बनाएको समितिप्रति कांग्रेसको असहमति
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधन गरेर आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहितका विषय समेटिनुपर्ने बताएका छन् ।
बत्तीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालयद्वारा आज काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले संविधान संशोधनका लागि सरकारले बनाएको समितिप्रति भने कांग्रेसको असहमति रहेको जानकारी दिए । विभिन्न जातजातिका नाच, झाँकी नेपालका मौलिक संस्कृति भएकाले यसलाई बचाइराख्नुपर्ने उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा भएकाले त्यसलाई सहिष्णुता र सामाजिक सद्भावका रुपमा बचाइराख्नुपर्ने बताए । नेपालको मौलिक पहिचानका रुपमा रहेको भाषिक, धार्मिक र सांस्कृतिक विविधतालाई विभिन्न जातका फूलबारीका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले आदिवासी जनजातिलाई सामुदायिक विकासका रुपमा अघि बढाउनुपर्ने बताइन्। आदिवासी जनजातिको मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा काम गरिनुपर्ने उनको भनाइ थियो ।
