`

शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति

Nepal One HD २७ साउन २०८३ २१:३५
राजनीति

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका हुन्।

राष्ट्रपति पौडेलले भने, “युवा भोलिको मात्र होइन आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । यो कुरा तपाईंहरूले व्यवहारबाटै प्रमाणित गरिसक्नुभएको छ । हामीले युवालाई ‘देशको भविष्य’ भनेर मात्रै पुग्दैन । आजको अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति अहिले नै आवश्यक छ भन्ने म ठान्दछु । नयाँ पुस्तासँग ऊर्जा छ, प्रविधि छ, संसारसँग प्रत्यक्ष सम्पर्क छ । तर त्योभन्दा महत्त्वपूर्ण कुरा–प्रश्न गर्ने साहस छ ।”

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवहरूबाट सिकेर अघि बढ्ने युवा चाहिएको बताए। उनले भने, “अर्थतन्त्रलाई नयाँ विचार दिने युवा, विज्ञानलाई जिज्ञासु युवा चाहिने स्पष्ट पार्नुभयो । समाजलाई विभेद स्वीकार नगर्ने युवा चाहिन्छ।”

राष्ट्रपति पौडेलले प्रविधि प्रयोग गर्न तर विवेकलाई प्रविधिको जिम्मा नछोड्न युवालाई आग्रह गरे। उनले भने, “विश्वसँग प्रतिस्पर्धा गर्नुहोस्, तर आफ्नो समाजसँगको सम्बन्ध कहिल्यै नतोड्नुहोस् । देशलाई तपाईंहरूको प्रतिभा मात्र होइन, तपाईंहरूको इमान्दारी पनि चाहिएको छ।”

देशका गाउँ, सहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो र विदेशका विभिन्न कुनामा हजारौँ नेपाली युवा चुपचाप काम गरिरहेको उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलले पछिल्ला वर्षमा नेपालको सामाजिक र राजनीतिक बहसमा युवापुस्ताको आवाज अझ स्पष्ट र प्रभावशाली रूपमा सुनिन थालेको भन्दै यो उपस्थितिलाई पुस्तान्तरणका रूपममा मात्रै नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा पनि विकास गर्न सक्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *