रास्वपा सरकारलाई बीचमै अस्थिर बनाउन नहुने गगनको धारणा, ‘पाँच वर्ष चल्नुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई निर्वाध रूपमा पाँच वर्ष चल्न दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेस अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको भन्दै प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । लोकतन्त्रमा प्रतिपक्षले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्न नसके लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने उनको भनाइ थियो ।
उनले भने,‘ वर्तमान सरकारले हाम्रो दृष्टिकोणलाई बुझ्ने प्रयास गर्छ । हामी अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौं । प्रमुख प्रतिपक्ष दलको आफ्नै जिम्मेवारी हुन्छ । डेमोक्रेसीमा पोजिसनले आफ्नो भूमिका ठीक ढंगले गर्न सकेन भने डेमोक्रेसी ठीक ढंगले अगाडि बढ्दैन भन्ने मान्यता हामी राख्छौं । हाम्रा विगतका अनुभवहरूले पनि पाठ सिकाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार निर्वाध रूपमा पाँच वर्ष चल्नुपर्छ ।’
थापाले आगामी निर्वाचन वर्तमान सरकारले नै गराउनुपर्ने धारणा राख्दै कांग्रेसले आगामी निर्वाचनमा वर्तमान सरकारभन्दा बढी काम गर्न सक्ने क्षमता प्रस्तुत गरेर नागरिकको विश्वास जित्ने बताए । उनले अन्य दलभित्रको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
उनले भने, ‘अर्को चुनाव यो सरकारले गराउनुपर्छ । त्यो निर्वाचनमा हामी अहिलेको सरकारभन्दा पनि बढी गर्न सक्ने क्षमता राखेर, नागरिकहरूलाई विश्वास दिलाएर, त्यो जिम्मेवारी लिने कुरामा विश्वास गर्छौं । हामी कुनै पनि पार्टीहरूको आन्तरिक विमेलमा कहीँकतै खेल्न चाहँदैनौं र खेल्दैनौं ।’
