रास्वपाले घोषणा गर्यो ‘क्यान्डिडेट क्लब’, नेतृत्वमा मेरिटोक्रेसी स्थापित गर्ने दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ। सोमबार पार्टी सभापति रवि लामिछानेले क्लबको लोगो सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन्।
क्लबको अवधारणा सार्वजनिक गर्दै लामिछानेले रास्वपाले राजनीतिक दस्तावेज, नारा र सिद्धान्तमा मात्रै नभई व्यवहारमै फरक राजनीतिक अभ्यास अघि बढाउन खोजेको बताए।
राजनीतिक दलका नीति, सिद्धान्त र आदर्श समाजमा स्थापित हुन समय लाग्ने उल्लेख गर्दै उनले रास्वपाले त्यसका लागि आवश्यक अभ्यास र प्रक्रिया अघि बढाइरहेको बताए।
‘हाम्रो राजनीति दस्तावेज, नारामा र सिद्धान्तमा बढी तर व्यवहारमा अलिकति कमजोर हो कि भन्ने महसुस गरेर फरक राजनीतिक अभ्यासमा प्रवेश गरेका छौँ,’ लामिछानेले भने।
उनका अनुसार कुनै दल सरकारमा पुग्न वा संसद्मा उल्लेख्य उपस्थिति जनाउन सफल भए पनि राजनीतिक दलका रूपमा स्थापित हुन आवश्यक अभ्यास पूरा गर्न समय लाग्छ। दललाई वैचारिक रूपमा स्पष्ट बनाउँदै आफ्ना विचार नागरिकसम्म पुर्याउन पनि समय आवश्यक पर्ने उनको भनाइ छ।
