राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन
कास्की। पोखरामा आज सम्पन्न भएको पहिलो संस्करणको ‘पिसिएम कप’ खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शास्वत बज्राचार्य र सुरेन्द्र विक च्याम्पियन बनेका छन् ।
गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा आधारभूत तहदेखि टेनिस खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरा रङ्गशालामा यही भदौ ५ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा १८ वर्षमूनिको ‘ब्वाइज सिङ्गल्स’ को फाइनलमा शास्वतले सन्दीप विकलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए । उत्कृष्ट प्रदर्शन गरेका शास्वतले प्रतियोगिता भर आफ्नो प्रभावशाली खेललाई फाइनलसम्म निरन्तरता दिएका थिए ।
यसैगरी १६ वर्षमुनिको ‘ब्वाइज सिङ्गल्स’ तर्फ सुरेन्द्र विक च्याम्पियन बनेका छन् । फाइनलमा उनले आर्यषराज पौडेललाई ६-३ र ६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफलल भएका हुन् । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।
चौध वर्षमुनिको ‘ब्वाइज सिङ्गल्स’ को उपाधि भने आर्यषराज पौडेलले जितेका छन् । उनले फाइनलमा अभिषेक बयलकोटीलाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उपाधि पोल्टामा पार्न सफल भएका हुन् ।
‘गल्र्सतर्फ’ निम्ती कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै दुई उपाधि आफ्नो नाममा लेखाइन् । उनी यु-१२ र यु-१० ‘गल्र्स सिङ्गल्स’ दुवै विधामा च्याम्पियन बन्न सफल भइन् । यसैगरी आठ वर्षमुनिको ‘गल्र्स सिङ्गल्स’ मा वाणी राजभण्डारी प्रथम हुँदा निवेदी सुनार द्वितीय भइन् ।
‘ब्वाइज’तर्फ यु-१२ ‘सिङ्गल्स’ मा सहंश बस्नेत प्रथम भए । उनले इभान भट्टराईलाई पराजित गर्दै उपाधि जितेका हुन् । यु-९ ब्वाइज सिङ्गल्समा सर्वज्ञजङ्ग खत्री प्रथम र सोनम टीघले द्वितीय बने ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजक पोखरा कलेज अफ म्यानेजमेन्टकी प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस सङ्घका पूर्वअध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले आकर्षक उपहार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले सङ्घले आफ्नो स्थापना भएदेखि हालसम्म आधारभूत तहमा टेनिसका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमका माध्यमबाट विपन्न वर्गका बालबालिकाबाट अभियान सुरु गर्दै आएको बताउँदै बालबालिकाको क्षमता विकास गर्न र खेलप्रति आकर्षित गराउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशमा जुनियर टेनिस खेलाडीको प्रतिभा पहिचान र विकासमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको गण्डकी प्रदेश टेनिस सङ्घका महासचिव नवीन श्रेष्ठले बताउनुभयो । पोखरा रङ्गशालाभित्रको टेनिस हलमा यही भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न उमेर समूहसँगै खुलातर्फका खेलमा ६० भन्दा बढी खेलाडीको सहभागिता थियो ।
