`

बनेपामा अमूर्त सांस्कृतिक सम्पदाका रूपमा जोगाइँदै १२४ वर्ष पुरानो ‘कन्या-पूजा’

Nepal One HD ८ भदौ २०८३ ८:१७
समाचार

बनेपा । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपामा १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ। रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या-पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या-पूजा प्रबन्ध समितिले तयारी थालिसकेको छ।

‘अमूर्त सांस्कृतिक-सम्पदा’ नामकरण गरी वर्षौँदेखि बनेपालीहरू उक्त पूजामा जुट्दै आएका छन्। विक्रम संवत् १९५९ देखि सांस्कृतिक सम्पदा जोगाउँदै आएकामा बनेपालीहरू गर्व गर्छन्। यस वर्ष यही भदौ १९ गते पूजाको आयोजना गरिएको छ। परम्पराअनुसार बनेपाको पुरानो बजारमा वर्षैँपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दुई दिन पूजा गरिँदै आइएको छ।

नेवाः कन्या-पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका-८ दक्षुटोलमा उक्त पूजा आयोजना गरिन्छ। नेवाः कन्या-पूजामा बर्सेनि करिब दुई हजारदेखि दुई हजार ५०० कन्या सहभागी हुने गर्छन्। पछिल्ला वर्षमा यो सङ्ख्या बढ्दै गएको छ। मुख्य पूजा भने सनातन कन्या-पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाई ‘सवा-शताब्दी’देखि पुज्दै आइएको हो।

नेपालको काभ्रेपलाञ्चोक जिल्लाबाहेक अन्य स्थानमा यस्तो पूजा गरिएको पाइँदैन। रजस्वला नभएका तथा ‘वेल-विवाह’ नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ। यसै मान्यताका साथ पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका विभिन्न बजार तथा बस्तीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा कन्या पुज्ने प्रचलन विस्तार भएको छ।

समितिका अनुसार उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार पारिएको छ। कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्तिको तय भइसकेको समितिका सचिव प्रकाश कायस्थले जानकारी दिए। उनका अनुसार बनेपा आसपास ‘सात गाउँ’का कन्यालाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरी निरन्तरता दिइएको हो।

कृष्ण जन्माष्टमीको दिनमा गरिने मुख्य कन्या-पूजामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्लाबाट बर्सेनि करिब आठदेखि १० हजार हाराहारीमा कन्या सहभागी हुने गर्छन्। बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन्। जनविश्वासका कारण कन्यालाई पुज्नेको ठूलो भीड लाग्ने गर्छ।

त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन्। कन्या-पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्छन्। पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ।

बनेपामा हुने कन्या-पूजामा प्रतिकन्या ५०० रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइन्छ। गत वर्ष पनि करिब आठ हजार कन्याका लागि तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए। उनका अनुसार दाताको सहयोगबाहेकको खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन्।

किंवदन्तीअनुसार रजस्वला नभएका र वेलविवाह नगरिएका कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्या मानवकन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने विश्वास छ। बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ नै भएकाले कन्यालाई पुज्दै आएको बताइन्छ।

कन्याको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन्। भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ। बनेपा नगरपालिका-३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या-पूजा सुरु हुने गर्छ।

बनेपाको ऐतिहासिक लेखनअनुसार कुनै समय बनेपाका एक नेवार समुदाय (वैद्य)का व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर कन्यालाई पूजा गरेका थिए। सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्यामात्रै पुजिँदै आएको र केही वर्षपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराइएको स्थानीयहरू बताउँछन्।पछिल्ला केही वर्षदेखि बनेपाका विभिन्न वडा तथा विभिन्न सङ्घसंस्थाले धुलिखेल, पनौती, पाँचखाल, दोलालघाटलगायतका स्थानमा समेत कन्या-पूजा आयोजना गर्दै आएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *