रास्वपाले बाढीपीडितका लागि ५० लाख सहयोग गर्ने
काठमाडौं – चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ।
रास्वपा सचिवालयको बुधबार बसेको बैठकले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टीका तर्फबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, शुद्ध खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
रास्वपाले आफ्ना केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका समिति, सदस्य र शुभेच्छुकलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएको छ। उद्धार तथा राहतमा पार्टीको र्याट परिचालनको संयोजन पूर्वर्याट संयोजक आशिष थापालाई दिइएको छ।
विपद्का बेला भ्रामक सूचना तथा अफवाह फैलिन सक्ने भन्दै रास्वपाले सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न र सामाजिक सञ्जालमा तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। नदी तटीय तथा पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउनसमेत अपिल गरेको छ।
