`

भोटेकोशी बाढीपीडितका लागि सरकारको सहयोग अपिल, उद्धार कोषमा रकम जम्मा गर्न आग्रह

Nepal One HD १० भदौ २०८३ २०:१७
प्रमुख खबर

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायत तटीय जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बिहान ८:४० बजे नदीमा आएको बाढीले विभिन्न क्षेत्र प्रभावित भएका छन्।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना, बसोबास तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने भन्दै सरकारले दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग जुटाउन थालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपाली नागरिक, संघसंस्था, व्यवसायी तथा दातृ निकायलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ।

सरकारले सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गर्न आग्रह गरेको छ। त्यसका लागि सरकारले सम्बन्धित बैंक खाता विवरणसमेत सार्वजनिक गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *