भोटेकोशी बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूली–काठमाडौंबाट तीन जनाको उद्धार गरेको छ।
त्यसैगरी, निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिक हेलिकप्टरले रसुवाबाट तीन जना, अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा चार जना, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा दुई जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा दुई जना र प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा दुई जनाको उद्धार गरेका छन्।
