`

आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी

Nepal One HD ९ फागुन २०८२ १९:०१
निर्वाचन

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त छन् ।

मत आफ्नो पक्षमा पार्न उनीहरू सबै आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेका छन् । यसले गाउँघरमा चुनावी चहलपहल बढेको छ । उम्मेदवारका प्रचार शैली पनि पृथक छन् ।

प्रत्यक्ष भेट वा चिनजान नै नभएका केही प्रत्याशी मतादाताका खेतबारी जोत्न, मल बोक्न, सागसब्जी केलाउनेदेखि बिरामी बोक्नेसम्मका काममा सक्रिय भएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएका छन् ।

उम्मेदवारहरुले आआफ्नो परिचय दिने क्रममा पहिले पनि भेटेको, ‘फलाना’को नाताको मान्छे हुँ भनेर मत मागिरहेको सामाजिक सञ्जालमा हामी सबैले देखेका छौँ। प्रत्याशीहरूले मुलुकको राजनीतिक अवस्था र आगामी मार्गचित्रबारे जनतालाई बुझाउँदै निर्वाचित आफू निर्वाचित भएमा मतदाताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलगायत उम्मेदवारले मतदाताको विश्वास जित्न अपनाएको फरक शैली र अभिव्यक्तिलाई धेरै राजनीतिक विश्लेषकहरूले बहसको विषय बनाएका छन् ।

विसं २०७९ को निर्वाचनबाट प्रमुख दलका रुपमा उदाएका नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न स्थानमा आमसभा गरिरहेका छन् ।पत्रकार राजेन्द्र दाहाल प्रविधिका कारण उम्मेदवारहरु मतदातामाझ सहजै पुगिरहेका बताउनुहुन्छ ।

“समाजको प्रवृत्तिलाई प्रविधिले विस्तार गरिदिएको मात्रै हो। लक्ष्य उही हो, मतदाताको भोट सङ्कलन गर्ने”, उहाँ भन्नुहुन्छ। यही फागुन २१ गते १६५ स्थानका लागि हुने निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रत्याशी भएका छन् ।

यो निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले भोट हाल्ने अपेक्षा निर्वाचन आयोगले गरेको छ । यसका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण भएका छन् । पूर्वप्रशासक देवकुमारी गुरागाईं सभ्य ढङ्गले प्रचार गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

“लोकप्रिय हुने नाममा अहिले अपनाइएका प्रचारका शैली परिपक्वताको कमी देखिएको समाजले महसुस गरिरहेको छ”, उहाँ भन्नुहुन्छ, “सरल, शान्त र कूटनीतिक शैलीबाट मतदाताको विश्वास जित्न सकिन्छ ।” आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)का महासचिव कृष्णमान प्रधान प्रचार र शैली मतदातालाई स्वच्छ मतदानका लागि नभई ‘अल्मल्याउने’ खालको भएको टिप्पणी गर्नुहुन्छ ।

“मतदातालाई अन्योलमा पार्न हुँदैन, उम्मेदवारले मतदातालाई आफ्नो मार्गचित्र देखाउन सक्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *