`

‘डिम्पल सुहाउने’ भन्दै आइन् ममता नेपाली

काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ गीतमा ।

विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भन्नुभयो । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उहाँले बताउनुभयो ।
गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिनुभएकी ममता सानैदेखि गीत संगीतमा रुची राख्नुहुन्थ्यो । उहाँ यतिवेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आउनुभएको छ । ‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बाढी आमाको र स्वर्गीय मामाको सपना थियो जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु’, ममता भन्नुहुन्छ ।

बाढीपहिराले जनधनको ठूलो क्षति पुर्याएको एक महिना: अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

काभ्रेपलाञ्चोक, १३ कात्तिकः बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।

घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अतिप्रभावित क्षेत्रमा पर्छन् । बनेपा र धुलिखेल नगर सङ्कटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्याङ्कनका आधारमा जनधनको क्षतिसहित रु एक अर्बभन्दा बढीको क्षति हुने तहमा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नगरका बैठकमार्फत सरकारलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्दै आएका छन् ।

प्रारम्भिक विवरणहरू आइरहेको र पूर्ण विवरण भने केही हप्तामै आउने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार पीडितलाई थप आर्थिक सहयोग तथा राहतका लागि गत हप्तादेखि नै स्थानीयस्तरमा क्षतिको यकिन विवरण सङ्कलनकार्य सुरु गरिएको छ । धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूसहित जनप्रतिनिधिको टोलीले उपप्रधान एवं सहरी विकासमन्त्री तथा गृहमन्त्रीसमेतलाई भेटेर सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्न ध्यानाकर्षण गराएका छन्भने धुलिखेल खानेपानीको क्षतिमा सहयोग पुर्याउन जर्मन सरकारसँग राजदूतमार्फत सहयोगका लागि अनुरोध गरिएको छ । हालैको विपद्ले नगरभित्र पुर्याएको सम्पूर्ण क्षतिको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने नगरप्रमुख ब्याञ्जूले बताउनुभयो ।

काभ्रेपमा गत असोजको बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो । छ जना अझै बेपत्ताको अवस्थामा रहेका छभने ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोका कारण आठ सय ६७ जनालाई हेलिकप्टरबाट तथा तीन हजार दुई सय ९९ जनाको अन्य माध्यमबाट उद्धार गरिएको थियो । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणानुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छभने सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।

यस्तै बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको विभिन्न सडकखण्डमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएपछि अस्थायी डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको छभने १९ प्रमुख ग्रामीण सडकको अधिकांश खण्डमा पहिरो गई करिब छ सय ५५ किमी सडक अवरुद्ध भएको जनाइएको छ । हाल खानीखोला गाउँपालिकाबाहेक सबै सडक सञ्चालनमा आएको छ ।

यसैगरी ४८ पुलमा क्षति पुगेमध्ये सात पूर्ण रूपमा र तीन आंशिक क्षति भएको छभने ३८ वटाको सामान्य मर्मत गरिएको छ । सिँचाइका ९६ वटा आयोजनामा रु २१ करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छभने ३६ तटबन्धको योजनामा रु २० करोडको क्षति भएको छ ।

यस्तै खानेपानी तथा सरसफाइका आयोजनामा सबैभन्दा बढी क्षति भएको पाइएको छ । प्रारम्भिक क्षतिको विवरणानुसार तीन नगर समेटिएका काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको दुई किलोमिटर पाइप बगाएको छ । यस अयोजनामा रु १० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । धुलिखेल खानेपानी उपभोक्ता समितिको तीन किमी पाइप बगेको तथा अन्य संरचनामा क्षतिसमेत गरी रु चार करोड बराबरको क्षति भएको छ । तेमाल बृहत् खानेपानी आयोजनामा रु आठ करोडको क्षति तथा जिल्लामा सञ्चालित करिब एक सय खानेपानी आयोजना गरी करिब रु एक अर्बको क्षति पुगेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

चार स्वास्थ्य संस्था, नेपाल टेलिकमका करिब दुई दर्जन टावर तथा अप्टिकल फाइबर, टेलिफोन पोल, तारमा क्षति भएको छ । दश तहमा सात सय ७४ विद्युत्का एचटी लाइनका ११ मिटर अग्ला पोल र नौ मिटर अग्ला एमटी लाइन भएको एक हजार एक सय ४९ पोल पूर्ण रूपमा क्षति भएका छन् । ४४ मध्ये २२ ट्रान्सफर्मरमा पूर्ण क्षति पुगेको जनाइएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार बाढीपहिराले सात हजार एक सय ३० परिवार प्रभावित भएका छन् । दुई हजार नौ मेट्रिक टन धान, ८४ मेट्रिक टन मकै, चार हजार दुई ७८ मेट्रिक टन तरकारी तथा अन्य बाली गरी छ हजार तीन सय ७१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ । कुल उत्पादनमा रु ४२ करोड ६३ लाख क्षति पुगेको जनाइएको छ । रु १२ करोड ८४ लाख ५१ हजार बराबरको पशुपक्षी क्षति भएको अनुमान गरिएको छ । एक सय ७० वटा विद्यालयमा क्षति भएको जनाइएको छ ।

नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

नेपालगञ्ज (बाँके), १३ कात्तिकः सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन कपडाजन्य मालाको बिक्री वितरण भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष स्थानीय प्रशासनले प्लाष्टिकका माला जलाएका कारण अहिले उपभोक्ता पनि त्यस्ता माला खोज्न आएका छैनन् ।” प्लाष्टिकजन्य माला बेच्न हुँदैन भन्ने विषयमा आफूलाई जानकारी रहेको उल्लेख गर्दै लखेटले केही उपभोक्ताले लुगाका माला पनि प्रयोगमा ल्याएको बताउनुभयो ।

अर्का स्थानीय व्यवसायी अकबर अलीले स्थानीय सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको प्रयोगमा रोक लगाएपछि मौज्दात रहेको कपडाका माला र पुष्पगुच्छाको सामान्य बेचबिखन भएको बताउनुभयो । मौज्दात रहेको करिब २० दर्जन कपडाजन्य माला बेचबिखनका लागि राखिएको जानकारी दिँदै उहाँले तिहारका लागि भाइ मसलाको खपत बढेको बताउनुभयो ।

“हामीले कोहलपुरबाट उत्पादन भएको भाइ मसला नेपालगञ्ज ल्याएर बेचेका छौँ”, उहाँले भन्नुभयो । तिहार नजिकिँदै जाँदा नेपालगञ्जको सदरलाइन, एकलैनी, त्रिवेणीमोड, बागीश्वरी टोल, घरबारीटोल, न्यूरोड, त्रिभुवन चोकलगायत क्षेत्रमा भाइमसला, टीका, माला, फलफूललगायत विभिन्न स्थानमा सामान किन्नेहरूको भीड लागेको छ ।

बागीश्वरी मन्दिर छेउका पसल, सदरलाइन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्यूरोड र धम्बोझीलगायत स्थानमा कपडाले बनेका रङ्गीबिरङ्गी मालाले झकिझकाउ देखिएको छ । उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटले प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छा प्रतिबन्धित भन्ने विषयमा व्यापारीलाई कुनै जानकारी नआएको जिकिर गर्दै सरकारी पक्षबाट यसको अनुगमन नभएको गुनासो गर्नुभयो । उहाँले निर्वाध रूपमा व्यवसायीले आफ्नो व्यापार गर्न पाउनुपर्ने जिकिर गर्नुभयो ।

नेपालगञ्जमा तिहारकै अवसरमा रु ८० हजारदेखि रु एक लाख बढीको माला बेचबिखन हुने गरेको स्थानीय व्यवसायीको भनाइ छ । बाँकको कोहलपुर नगरपालिकालगायतले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाउँदै स्थानीय किसानले उत्पादन गरेका फूलका माला र फूल तिहारलगायत पर्वमा उपभोग गर्न आग्रह गरेको थियो ।

सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो

अर्घाखाँची, १३ कात्तिकः अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । आज बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् ।

अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताउनुभएको छ । उनीहरू सबैको अवस्था सामान्य छ । आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिनुभयो ।

बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छभने एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताउनुभयो । दुई जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

काठमाडौँ, १३ कात्तिक : टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौँको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो ।

टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पर्यटक पथप्रदर्शकको नलिई घुमाउने एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताउनुभयो ।

टुर्गानले पर्यटक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकाको पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्रमा विभिन्न समयमा नक्कली पथप्रदर्शकको जाँच गर्दै आएको छ । उक्त टोलीले अनुमतिपत्र नलिएका तथा नवीकरण नगरेका पर्यटक पथप्रदर्शकलाई दुई घण्टा ‘होल्ड’ गर्ने र सचेत गराउने गरेको छ ।

हाल देशभर चार हजार नौ सय ९० व्यक्तिले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शककोे रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण पथप्रदर्शकलाई अनुरोधसमेत गरेको छ ।

तिहार नजिकिँदै गर्दा पाल्पामा सयपत्री फूलमालाको माग उच्च

रामपुर (पाल्पा), १३ कात्तिकः ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी हुनुहुन्छ । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन गर्न उहाँको व्यस्तता बढ्न थालेको छ ।

यस व्यवसायबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । करिब चार रोपनी क्षेत्रफलमा फूलखेती गरिहनुभएको छ । तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको उहाँ बताउनुहुन्छ । यसपटकको तिहारमा रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने उहाँको अनुमान छ ।

“तिहारमा सधैँ फूलको अभाव हुने भएपछि व्यावसायिक रूपमा खेती सुरु गरेको हो, सुरुमा फूल व्यवसाय गर्दा छिमेकी, आफन्त यस व्यवसायले बजार लिन्छ भनेर पत्याएका थिएनन्”, उहाँले भन्नुभयो, “चुनौतीका बाबजुद पनि व्यवसाय सुरु गरियो, पहिलो वर्षमा नै नसोचेको आम्दानी भएपछि व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाइएको छ ।”

यहाँ उत्पादन भएको फूल प्रतिकिलो रु पाँच सय खुद्रा, होलसेल रु चार सय, प्रतिमाला रु एक सय ५० खुद्रा, होलसेल रु एक सय २० कायम गरिएको छ । बुटवल, नेपालगञ्ज, तानसेनलगायत विभिन्न बजारबाट फूलमालाको माग धेरै आएको लालबहादुर थापा बताउनुहुन्छ । रामपुरमा फूलमालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्री गर्दै आएको लालबहादुरले जानकारी दिनुभयो ।

“तिहार सुरु नहुँदैदेखि नै फूलमालाको माग धेरै आएको छ, हामीले बाहिर बजारमा पठाउँदैनाँै, स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्री गर्ने गरेका छौँ, स्थानीय ग्राहकलाई पुर्याउन हामीलाई हम्मेहम्मे पर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

उहाँहरूले बिगत पाँच÷छ वर्षदेखि निरन्तर रूपमा व्यवसाय गरिरहनुभएको छ । यहाँ कर्मा ५५५ जातको सयपत्री फूल लगाइएको छ । यस जातबाट उत्पादन राम्रो हुने भएपछि कर्मा ५५५ लाई रोजाइमा पार्नुभएको छ । दिलबहादुर र लालबहादुरले जग्गा भाडामा लिएर फूलखेतीसँगै तरकारी खेती पनि गरिरहनुभएको छ । तरकारीको तुलनामा फूलबाट छोटो समयमा दोब्बर बढी आम्दानी लिन सकिने, मेहनत र लगानी धेरै नपर्ने व्यवसायीको अनुभव छ ।

रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ । यस वर्षको तिहारलाई लक्षित गर्दै नगरपालिकाले अग्रिम सूचना जारी गरी प्लाष्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सम्बद्ध व्यवसायीमाझ अनुरोध गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि यस वर्ष सयपत्री फूलमालाको माग रामपुर बजारमा बढेको छ ।

रामपुरका दिलबहादुर र लालबहादुरले थालनी गरेको पुष्प व्यवसाय देखेर पछिल्लो समय घर तथा विद्यालय, विभिन्न सङ्घसंस्थामा फूल लगाउन थालिएको छ । यहाँबाट बिरुवा खरिद गरेर लगाउने कार्य भइरहेको छ । यतिबेला ढकमक्क फुलेको फूलमा रमाउँदै तस्बिर खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने, अवलोकन गर्न जाने, फूलखेतीबारे जानकारी लिन जानेको चहलपहल छ ।

रामपुर नगरपालिकाले यहाँ थालनी गरिएको व्यवसायमा हौसला प्रदान गर्न सहयोग गर्दै आएको छ । नगरपालिकाको सहयोगमा एकहप्ते पुष्प व्यवसाय तालिम लिएर व्यवसाय थालनी गरिएको व्यवसायीले बताएका छन् । यहाँ तिहारमा मात्र नभई अन्य समय पनि सयपत्री फूलखेती हुने गरेको छ । नगरपालिकाभित्र हुने विभिन्न सङ्घसंस्थाको सभासमारोह, कार्यक्रम, विवाह, व्रतबन्ध, शुभकार्यलगायतमा राम्रो खपत हुने गरेको छ ।

‘फाष्टट्रयाक’मा विपद् प्रभावितको राहत, पुनःस्थापन

काठमाडौँ, १३ कात्तिकः सरकारले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनको काम तीव्र रूपमा अघि बढाएको छ । गत असोज १० देखि १२ गतेसम्म आएको भारी वर्षापछिको विपद्बाट प्रभावित भएकाको पहिचान, राहत तथा पुनःस्थापनका लागि आवश्यक बजेट व्यवस्थापनलगायत कामलाई ‘फाष्टट्रयाक’मा अघि बढाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

विपद् प्रभावित ७१ पालिका तोकेर सङ्कटग्रस्त क्षेत्र घोषणा गरी तीन तहमा वर्गीकरण गरेर यसपालि पहिलोपटक राहत प्याकेज नै घोषणा गरी पालिकालाई राहत प्रदान गरिएको हो । यसमा क्षतिका हिसाबले पहिलो वर्गमा पर्ने पालिकालाई रु एक करोड, दोस्रो तहमा पर्ने पालिकालाई रु ७५ लाख र तेस्रो तहमा पर्ने पालिकालाई रु ५० लाखका दरले रकम निकासा गरिसकेको छ ।

यसका लागि रु ४३ करोड निकासा गरेर विपद् पुनःस्थापनका काम गरिने र तत्काल प्रणाली व्यवस्थापन, खोज उद्धार, बिजुली, पानी, नेट, बाटो सहज बनाउन उक्त रकम परिचालन हुने जनाइएको छ ।

यसअघि यसरी छुट्टै प्याकेजका रूपमा पठाइएको थिएन । विपद् व्यवस्थापन कार्यकारी समिति, परिषद्बाट निर्णय गरेर मन्त्रिपरिषद्कै निर्णयमा यो काम गरिएको होे । त्यसका अलावा प्रदेश सरकारबाट पनि ती पालिकालाई रु २०, १५ र १० लाख पठाइसकिएको प्राधिकरणले जनाएको छ । मृतकका परिवारले पाउने रु दुई लाख पनि पठाइसकिएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले नेपाल रेडक्रससंगको समन्वयमा सङ्कटासन्न विपद् प्रभावित समुदायलाई नगद मानवीय सहयोग जारी राखेको जनाएको छ । साथै बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत वितरण गर्नेगरी नेपाल रेडक्रसका विभिन्न गोदामघरबाट रु तीन करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्री (कम्बल, त्रिपाल, म्याट्रेस, सरसफाइ कीट ब्ल्याङ्केट, स्लिपिङ ब्याग आदि) जिल्ला शाखामा पठाइएको जनाइएको छ । यसैगरी तीन आठ सय १७ परिवारलाई रु दुई करोड २७ लाख बराबरको नगद र गैरखाद्य राहत सामग्री वितरण गरिसकिएको बताइएको छ

असोज दोस्रो साता आएको उक्त विपद्बाट दुई सय ५० जनाको मृत्यु भएको छभने १८ जना अझै बेपत्ता छन् । कुल १२ हजार बढी घर क्षति भएको र थप आठ हजार घर जोखिममा रहेको प्रारम्भिक आकलन छ । उक्त विपद्बाट रु ४६ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

निजी अस्थायी अवास निर्माणका लागि पनि सरकारी निर्णयानुसार रु ५० हजारका दरले रकम पठाउने प्रक्रिया अघि बढाइसकिएको प्राधिकरणले जनाएको छ । यसका लागि लाभग्राही पहिचान गरी पुनःनिर्माणको काम गरिने र यो सबै काम फाष्टट्रयाकबाटै हुने प्राधिकरणले जनाएको छ । यसपालि घर पुनःनिर्माणका लागि पहाडमा रु पाँच र तराईमा रु छ लाख दिनेगरी प्रक्रिया अघि बढाइएको छ । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले विपद् राहत पुनःस्थापनका कार्यमा ढिला नहोस् भन्नेमा मन्त्रालय सचेत रहेको र सोहीअनुसार कार्य भइरहेको जानकारी दिनुभयो ।

थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’ सुरु

यात्रुहरूलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना छ वटा प्रमुख विमानस्थलहरूमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्ने तयारी गरेको थाइल्यान्ड एयरपोर्ट्स (एओटी) ले सोमबार जनाएको छ ।

आन्तरिक यात्रुहरूले नोभेम्बरदेखि स्वचालित बायोमेट्रिक पहिचान प्रणालीमा नामाङ्कन गर्न सक्नेछन् । यसले यात्रु पहिचान गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्दछ । यो प्रणाली डिसेम्बरदेखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि पूर्ण रूपमा सञ्चालन हुने एओटी अध्यक्ष किराती कितमानवतले बताउनुभयो ।

सन् २०२४ सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्षमा बैङ्ककको सुवर्णभूमि र डन मुआङ विमानस्थलसहित छ वटा अन्तर्राष्ट्रिय गेटवेमा ११ करोड ९२ लाख ९० हजारभन्दा बढी यात्रुहरूलाई सेवा दिइएको थियो । मुलुकको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक एओटीका अनुसार यो गत वर्षको समान अवधिको तुलनामा १९ दशमलव २२ प्रतिशतले बढेको छ ।

विशेषगरी अन्तर्राष्ट्रिय रुटहरूमा उडान कनेक्टिभिटी बढेकाले चालु आर्थिक वर्षमा १२ करोड ९९ लाख ७० हजार ९७ यात्रुको प्रक्षेपणका साथ विमानस्थल सञ्चालकले उच्च यात्रु सङ्ख्या समायोजन गर्ने अपेक्षा गरेको छ ।

इजरायलले ‘आइरन बिम’ लेजर सुरक्षा प्रणालीमा ५३ करोड डलर खर्च गर्ने

इजरायलको रक्षा मन्त्रालयले सोमबार ‘आइरन बिम’ नामक लेजर वायु सुरक्षा प्रणालीको विकास तीव्र पार्न ५३ करोड डलर छुट्याएको जनाएको छ ।
“रक्षा मन्त्रालयले लेजर अवरोधक प्रणाली ‘आइरन बिम’ को खरिद उल्लेखनीय रूपमा बढाउन लगभग दुई अर्ब अरब शेकेल (इजरायली मुद्रा) बराबरको ठूलो सम्झौतामा हस्ताक्षर गरेको छ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यो प्रणाली लेबनानको हिजबुल्लाहले गाजामा युद्ध सुरु भएयता आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा इजरायलमाथि प्रहार गरिरहेको ड्रोन र अन्य प्रक्षेप्यास्त्रहरूको अवरोध सुधार गर्न लक्षित छ ।    आइरन बिम अधिक परिचित आइरन डोम जस्ता अन्य हवाई सुरक्षा क्षमताहरूको पूरक हुनेछ । यी प्रणालीहरूले लेबनानी सशस्त्र समूहद्वारा प्रक्षेपण गरिएका सबै प्रक्षेप्यास्त्रहरूलाई रोक्न नसक्दा नागरिक र सैन्य क्षति भएको छ ।

विज्ञप्तिअनुसार रक्षा मन्त्रालयले रक्षा कम्पनीहरू राफेल र एल्बिटसँग काम गर्नेछ ।मन्त्रालयका महानिर्देशक एयाल जमिरले नयाँ प्रणाली ‘एक वर्षभित्र सञ्चालनमा आउने’ आशा गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्स इजरायलको राष्ट्रिय रक्षा अनुसन्धान तथा विकास निकाय हो । 

रक्षा कम्पनी एल्बिटले अर्को छुट्टै विज्ञप्तिमा मन्त्रालयले आइरन बिम विकास गर्न विशेष रूपमा करिब २० करोड डलरको सम्झौता प्रदान गरेको जनाएको छ । इजरायलले सेप्टेम्बरको अन्त्यमा गाजामा हमास र लेबनानमा हिजबुल्लाहसँग युद्धरत रहेको बेला आठ अर्ब ७० करोड डलर बराबरको नयाँ अमेरिकी सैन्य सहायता प्याकेज प्राप्त गरेको घोषणा गरेको थियो ।

मन्त्रालयले उक्त सहायताको पाँच अर्ब २० करोड डलर वायु सुरक्षा प्रणालीहरूका लागि छुट्याइएको बताएको छ  । यसमा ‘विकासको अन्तिम चरणमा रहेको उन्नत उच्च–शक्ति लेजर सुरक्षा प्रणालीको निरन्तर विकासलाई समर्थन’ समावेश छ ।

सन् २०२१ को एउटा परीक्षणपछि रक्षा मन्त्रालयले एउटा सानो विमानमा रहेको लेजर प्रणालीले एउटा ड्रोनमाथि ऊर्जा किरण प्रहार गर्दा यसले प्वाल पारेर आगो लगाएको देखिने भिडियो प्रकाशित गरेको थियो ।

इजरायलको वर्तमान वायु सुरक्षामा बहुस्तरीय कवच छ । यसले अक्टोबर १ मा इरानद्वारा प्रक्षेपण गरिएका करिब दुई सय मिसाइलमध्ये ठूलो सङ्ख्या अवरोध गर्न मद्दत गरेको थियो ।  आइरन डोमले गाजा र लेबनानबाट प्रक्षेपण गरिएका प्रक्षेप्यास्त्र र रकेटहरू जस्ता छोटो दूरीका प्रक्षेप्यास्त्रहरूविरुद्ध सुरक्षा प्रदान गर्छ ।

डेभिड्स स्लिङ्ग र एरो मिसाइलका क्रमिक पुस्ताहरू ब्यालिस्टिक मिसाइलहरू खसाल्न अमेरिकी सहायताद्वारा भुक्तानी गरिएको र निर्माण गरिएको इजरायली–अमेरिकी प्रविधि हुन् ।

मस्कको १० लाख डलर उपहार रोक्न पेन्सिलभेनियामा मुद्दा दायर

फिलाडेल्फियाका मुख्य अभियोजकले दर्ता भएका मतदाताहरूलाई दिइने अर्बपति इलोन मस्कको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उहाँको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छन् ।

स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको अमेरिका पिएसीविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गर्नुभएको हो ।

“फिलाडेल्फिया जिल्ला अटर्नीलाई सार्वजनिक उपद्रव र अवैध चिठ्ठासहित अनुचित व्यापार अभ्यासहरूबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी दिइएको छ”, क्रासनरले विज्ञप्तिमा भन्नुभयो, “जिल्ला अटर्नीलाई निर्वाचनको अखण्डतामा हस्तक्षेपबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी पनि दिइएको छ ।”

गत हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पिएसीलाई एक पत्र पठाउँदै उसको १० लाख डलरको उपहारले सङ्घीय कानून उल्लङ्घन गर्नसक्ने चेतावनी दिएको थियो । उक्त कानूनले मतदान दर्ताका लागि मानिसहरूलाई भुक्तानी गर्न प्रतिबन्ध लगाउँछ ।

एक्सका मालिकसमेत रहेका ५३ वर्षीय मस्कले जुलाईमा समर्थन गरेपछि रिपब्लिकन राष्ट्रपती उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्न आफ्नो लाखौँ डलर, समय र उल्लेखनीय प्रभाव लगाउनुभएको छ ।

मस्कले निर्वाचनका लागि कोष सङ्कलन गर्ने संस्था, आफ्नो व्यक्तिगत ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई ११ करोड ८० लाख डलर दान गरेको बताइएको छ ।

उहाँ पेन्सिलभेनियामा ट्रम्पको चुनावी र्यालीमा मञ्चमा देखा पर्नुभको छ र नोभेम्बर चुनावमा महत्त्वपूर्ण मानिएको यस स्विङ स्टेटमा आफ्नै टाउन हल शृङ्खला आयोजना गर्नुभएको छ ।

पहिले बाराक ओबामालाई समर्थन गरेका तर पछिल्ला वर्षहरूमा क्रमशः कन्जरभेटिभ हुँदै गएका मस्कले एक्समा आफ्ना २० करोड २० लाख फलोअर्सहरूलाई दैनिक रूपमा ट्रम्पको प्रशंसा र उहाँका प्रतिद्वन्द्वी डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसको निन्दा गर्ने सन्देशहरू दिइरहनुभएको छ ।

नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढ्दो

त्रिवेणी (नवलपरासी), १३ कात्तिकः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ ।

आलुको माग धेरै हुने र स्थानीय उत्पादन कम हुने हुँदा धेरै मात्रामा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यसको उत्पादन वृद्धि गरी आयातमा कमी ल्याउन गण्डकी प्रदेश सरकारले आलुखेती प्रवर्द्धन कार्यक्रम गत वर्षबाट सञ्चालनमा ल्याएको थियो । पहिलो वर्षमा नै नवलपुरमा यो कार्यक्रम सफल भएको तथ्याङ्कले पुष्टि गरेको कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

जिल्लाका विभिन्न पालिकामा गरेर गत वर्ष समूह÷सहकारीमार्फत ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा एक हजार नौ सय ९२ मेट्रिक टन आलु उत्पादन भएको थियो । उक्त आलु बिक्रीबाट किसानले रु सात करोड ८९ लाख २४ हजार आम्दानी लिन सफल भएको केन्द्रका प्रमुख तिवारीले जानकारी दिनुभयो ।

यस वर्ष २१ हेक्टर क्षेत्रफलमा आलुखेती थप विस्तार भएर एक सय ११ हेक्टरमा आलुखेती गर्न लागिएको छ । गत वर्ष ३१ वटा किसान समूहले यस कार्यक्रममा सहभागिता जनाएकामा अहिले सातवटा समूह थप भएर ३८ वटा समूह आबद्ध भएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।

गत वर्ष कृषि ज्ञान केन्द्र नवलपुरले आलुखेती प्रवर्द्धनका लागि रु तीन करोड ९२ लाख विनियोजन गरेको थियो । तर अहिले भने बजेटमा कटौती भएको छ । अहिले रु एक करोड ८४ लाख ३० हजारमात्र विनियोजन भएको छ । बजेटको कमीका कारण विगत चार वर्षदेखि अनुदान पाउँदै आएका किसानलाई कार्यक्रममा समेट्न नसकेको तिवारीले बताउनुभयो । यस वर्ष बजेट कम भएकाले अनुदानमा केही कटौती भएको छ ।

“जिल्लामा आलु प्रवर्द्धन कार्यक्रमप्रति किसानको आकर्षण बढेको छ, तर बजेट अभावका कारण कार्यक्रममा जोडिन चाहेका किसानलाई समेट्न सकेका छैनौँ”, कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले भन्नुभयो ।

आलुखेतीको अनुदानका लागि समूह÷सहकारीमा कम्तीमा १० घरपरिवार संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा आलुखेती गर्नुपर्ने हुन्छ । यसरी खेती गर्न चाहनेलाई गत वर्ष ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको थियो । तर अहिले अनुदानमा केही कटौती गरेर क्षेत्र विस्तारलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले आलु प्रवर्द्धन कार्यक्रमबाट आयआर्जनमा वृद्धि गर्ने लक्ष्य लिएअनुसार नै आलुको बजारीकरणको व्यवस्था सुरुमै सुनिश्चित गरेको हुँदा पनि किसान यसतर्फ थप आकर्षित बनेको केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । जिल्लामा उत्पादन हुने आलुको चिप्स उत्पादन गर्ने कम्पनीले खरिद गर्नेगरी व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।

कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा मलेसियन नागरिकसहित चार जना पक्राउ

गोलबजार (सिरहा), १३ कात्तिकः रोेजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् ।पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताउनुभयो । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

छठ पर्वका लागि महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ

जलेश्वर (महोत्तरी), १३ कात्तिकः छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।

गाँस, बास र कपासका लागि बाँसका भाँडाकुँडा बनाउने पेसा पुर्खादेखि हस्तान्तरण हुँदै आएकाले यसलाई निरन्तरता दिएको जलेश्वर नगरपालिका–२ का भोगिन्द्र डोमले बताउनुभयो । छठमा माग बढी हुने भएकाले कात्तिकभरिको कमाइबाट चाडपर्व मनाउने अवसर प्राप्त हुने उहाँको भनाइ छ ।

जिल्लाको जलेश्वर, मटिहानी, पिपरा, औरही, गौशाला, सम्सी, सोनमा, रामगोपालपुर, एकडारा, मनरालगायत स्थानमा बसोबास गर्ने डोम समुदाय छठ पर्वका लागि बाँस र बेतबाट डालो, नाङ्ग्लो, टालु, टपरीलगायत भाँडाकुँडा बनाउन व्यस्त भएका हुन् ।

बाँसको चोयाबाट डालो, नाङ्ग्लो बुन्दै गरेकी मनरासिस्वा नगरपालिका–१ की ७० वर्षीया बेचनी डोमिनले भन्नुभयो, “कात्तिक लाग्नेबित्तिक्कै घरका सबैले बिहानदेखि बेलुकासम्म डालो, नाङ्ग्लो र टालु टपरी बनाउने काम पाएका छौँ । छठमा यी सामग्री बेच्दा मनग्य आम्दानी हुने भएकाले यसलाई अवसरका रुपमा लिएका छौँ ।”

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकँुडाहरु किन्नुपर्दछ ।

छठको आगमनसँगै डोम समुदायका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने विश्वास रहेको पिपरा–१ का बिकाउ डोमले बताउनुभयो । सोही कारण दिनरात व्रतालुहरुका निम्ति बाँसका भाँडाकुँडा बनाउने गरेको उहाँका भनाइ छ ।

सम्सी गाउँपालिका–४ का मनोज डोमले डालो, नाङ्ग्लो र टालु टपरी बेचेर कात्तिक भएको आम्दानीले वर्षभरिको खर्चको जोहो गर्ने बताउनुभयो । सोनमा गाउँपालिका–३ का विजय डोमले घरका बालकदेखि बुढासम्मले डालो, नाङ्ग्लो बेचेर प्रतिव्यक्ति रु २० हजार देखि रु २५ हजार र प्रत्येक परिवारले रु एक लाखसम्म आम्दानी गर्ने गरेका जानकारी दिनुभयो । पछिल्लो समय छठ पर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बजार माग पनि बढी भएको उहाँको भनाइ छ ।

तिहार नजिकिँदै गर्दा माटाको पाला बनाउन व्यस्त कुमाल समुदाय

झापा, १३ कात्तिक : बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ आसपास हो ।

कुमाल समुदायसँग पुख्र्यौली रुपमा माटाका भाँडाकुँडा बनाउने सीप हुन्छ । तिहारअघि बिहानदेखि साँझसम्म परिवारका सबै सदस्य यही काममा व्यस्त हुन्छन् । युवाभन्दा वृद्धवृद्धा पाला बनाउने माटो मुछ्ने र चक्रमा आकार दिने काम गर्छन् ।

स्थानीय चम्पादेवी पण्डितले झापामा उत्पादित पाला, धुपौरो र गाग्री कोसी प्रदेशका १४ वटै जिल्लामा पु¥याइने बताउनुभयो । “दिनरात मेहनत गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तराई र पहाडका सबैजसो बजारमा पु¥याउँछौँ ।”

बाह्रदशीमा कुमाल समुदायका ६० परिवारले यस वर्ष रु एक करोडभन्दा बढी मूल्यको माटाका सामग्री बिक्री गर्ने लक्ष्य लिएका छन् । खेतीपातीले मात्र जीविका नचल्ने भएकाले छोराछोरीको पढाई र अन्य खर्च धान्न माटाका भाडावर्तन बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिइएको चम्पादेवीले बताउनुभयो । यसले पेसा संरक्षण हुनुका साथै पुस्तान्तरण पनि हुँदै जाने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय आयातीत विद्युतीय सामग्रीका कारण माटाका सामग्रीको असर बजारमा परेको बताउनुभयो । यहाँ हरेक परिवारले दुई लाखका दरले पालालगायत माटाका सामान बनाउने गरेका छन् । कुमाल समुदायले उत्पादन गरेका सामग्री व्यवसायीले घरैबाट खरिद गरेर लैजाने गरेका छन् । 

अमितकुमार पण्डितले भदौदेखि तिहारलाई लक्षित गरेर पाला, कलश र धुपौराहरु बनाउन थालेको बताउनुभयो । उहाँले झापाका अन्य पालिकामा कुमाल समुदायको पातलो बसोबास रहेको भन्दै बाह्रदशीमा सबैभन्दा बढी ६० परिवार रहेका जानकारी दिनुभयो ।

कुमाल गाउँका हरेक आँगनमा यतिबेला माटोबाट बनाइएका पाला घाममा सुकाइएको दृश्य मनमोहक देखिन्छ । दीपावलीदेखि छठ पर्वसम्म उनीहरुले बनाएको पाला बिक्री हुने गर्दछ । कुमाल केही वर्षअघिसम्म लाठीले घुमाउने चक्रबाट माटाका भाडावर्तन बनाउने गर्दथे । तर हाल मोटरबाट चल्ने विद्युतीय चक्रबाट सामग्री बनाउने गरिएको छ । 

पाला बनाउने माटो आफैँले किनेर ल्याउनुपर्ने भन्दै माटो महँगिएका कारण उत्पादित सामग्रीबाट धेरै मुनाफा उहाँको गुनासो छ । एक टिपर माटो खरिद गर्न रु १० देखि १२ हजार तिर्नुपर्ने पण्डितको भनाइ छ ।

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

म्याग्दी (बेनी), १३ कात्तिकः मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् ।

मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको आँैशीमा हजारौँको सङ्ख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिनुभयो । यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन् । 

“बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ”, पुजारी सुवेदीले भन्नुभयो । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ ।

परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ ।

कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुग्नीभएका शालिकराम रिजालले बताउनुभयो । 

विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवान्का रुपमा भक्तजनले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले  बताउनुभयो । उहाँका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवान्को अवतारका रुपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन् । 

कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ । दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् ।

एउटै नदीमा पाँच जलविद्युत् आयोजना, तुदी पावरका दुई आयोजना

म्याग्दी, १३ कात्तिक : जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।

तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ । 

“८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, अध्यक्ष भडारीले भन्नुभयो, “४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।”

राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने 

नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । गत साउनमा छ दशमलव दुई सय ७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युत्गृहको अधिकांश संरचना निर्माण सकिएका उहाँले जानकारी दिनुभयो ।  

तुदी पावरका दुई आयोजना 

अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राहुघाटको बाँधदेखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युत्गृह छ । 

रु १४ अर्ब लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताउनुभयो । 

प्रसारण लाइनको पर्खाइमा ठूलोखोला 

संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१ दशमलव दुई मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सकेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत् आयोजनाको २२० केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माणका लागि छ दशमलव शूल्य छ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो । 

उक्त आयोजनाले प्रसारण लाइन र सवस्टेशनको प्रतिक्षा गरिरहेको आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बताउनुभयो । २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको भन्दै विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।   

माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ । 

राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन् । 

प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन 

नेपाल विद्युत प्राधिकरणमार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माणाधीन छन् । 

मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । 

निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिनुभयो । 

“तीस महिनाको अवधिमा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ”, उहाँले भन्नुभयो, “राहुघाटमा कमजोर भू–बनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माण स्थलमा समुदायको विवादले आयोजना निर्माण अवधी लम्बिएको हो ।” 

एक सय ३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो । 

दुई २०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तीव्रता दिइएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताउनुभयो । 

अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ टावरमध्ये हालसम्म करिब ४० वटा निर्माण सकिएको छ । 

रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नं १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन् । 

मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी गर्दै जैदी धुल्लुका ७४ वर्षीय मोहराज

ढोरपाटन (बागलुङ), १३ कात्तिकः जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहनुभएको छ ।

घर्कंदो उमेरमा पनि उहाँ हट्टाकट्टा देखिनुहुन्छ । काम गर्ने जोस जाँगर पनि उहाँमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ । 

उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उहाँले विसं २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थाल्नुभएको हो । 

तीन दशक मौरीपालन गर्नुभएका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताउनुभयो । उहाँको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उहाँले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाउनुभएको छ । ती बिरुवाले विस्तारै फल दिन थालेको उहाँले बताउनुभयो । 

जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आउनुभएको छ । उहाँ अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुनुहुन्छ । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पु¥याउँदा उनीहरुलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गर्नुभयो । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उहाँले सबै खर्च कटाएर रु १२ देखि रु १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो ।

“विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ”, उपाध्यायले भन्नुभयो, “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।” मह प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । 

महको माग निकै बढेको हुँदा पु¥याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उहाँको भोगाइ छ । मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उहाँले पहाडी क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राख्नुभयो । 

उपाध्यायले भन्नुभयो, “विसं २०४८ तिर मौरीपालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रुपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पु¥याउन सकिरहेका छैनौँ ।” युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । 

पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताउनुभयो । 

वीरगञ्ज महानगरलाई सरसफाइसम्बन्धी सम्झौता अघि बढाउने बाटो खुल्यो

वीरगञ्ज (पर्सा), १३ कात्तिकः वीरगञ्ज महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत ३२ वटै वडाको सरसफाइको काम निजी क्षेत्रबाट गराउने सम्झौता कार्यान्वयनको बाटो खुलेको छ ।

महानगर र एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालीबीच भएको सम्झौता कार्यान्वयन नगर्न÷नगराउन भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा गत असोज १५ गते रिट परेको थियो । सम्झौताविरुद्ध परेको रिटमा अस्थायी इजलासका न्यायाधीसद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश (स्टे अर्डर) जारी नहुने निर्णय गरेसँगै सरसफाइको सम्झौता अघि बढाउने बाटो खुलेको हो ।

सम्झौता कार्यान्वयन नगर्न माग गर्दै रामचन्द्रप्रसाद कानुसहितले गत असोज १५ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेका थिए । अदालतले गत असोज १६ गते सम्झौता अहिले कार्यान्वयन नगर्नु भन्दै अदालतका न्यायाधीशको एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।  

वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै न्यायाधीसद्वय शाक्य र लम्सालको संयुक्त इजलाशबाट अन्तरिम आदेश जारी भएसँगै महानगरलाई सरसफाइ व्यवस्थापनका लागि गरिएको सम्झौता कार्यान्वयनमा सहज वातावरण बनेको प्रतिक्रिया दिनुभयो । 

सोमबार भएको बहसमा महानगरका तर्फबाट अधिवक्ता वीरेन्द्रप्रसाद यादव, प्रमोदप्रसाद साह, कमलमोहन पोखरेल र ईश्वर बराल तथा एनके इन्टरनेशनलका तर्पmबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईंले बहस गर्नुभएको थियो । 

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिपकराज भण्डारी, नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुधीर कर्ण र अधिवक्ता नेजामुद्दिन राउत गद्दीले बहस गर्नुभएको थियो । महानगरले एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालीसँग सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्जका ३२ वटै वडा सरसफाइका लागि सम्झौता गरेको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ, १३ कात्तिक : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२ रुपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

कार्तिक कृष्णपक्षः दोस्रो चाड तिहार आजदेखि सुरु

काठमाडौँ, १३ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।

बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उहाँले भन्नुभयो ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिनुभयो । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । 

कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन । 

गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।   

भाइटीका कात्तिक १८ गते ११ः३७ बजे

कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।

बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बनेको छ । झिलीमिलीमा देउसी, भैलोको रमाइलोसँगै तिहारमा जुवा खेल्नैपर्छ भन्ने मान्यताले पनि कतिपयलाई आकर्षण गर्दछ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । कतिले भने विभिन्न सामाजिक कामको सहयोगका लागि तिहार अर्थात् यमपञ्चक लागेदेखि नै देउसी, भैलो खेल्ने गरेका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिन देखि नै देउसी भैलो खेल्ने परम्परा पनि रही आएको छ ।

कौडा, लङ्गुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । यसबाट कतिले जीतको आनन्दका साथै कतिले हारको नरमाइलो अनुभव पनि सँगाल्ने गर्छन् । धेरै पैसा राखेर जीत, हारका रुपमा जुवा खेल्दा कतिले भने धन सम्पत्ति नै सिध्याउने पनि गर्छन् । संस्कृतिका नाममा यस्ता विकृतिको भने अन्त्य हुनुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

दीपावली अर्थात् तिहार पर्वका अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्क्न भने छोडेको छैन । प्रत्येक वर्ष प्रहरीले एक साताअघिदेखि नै पटाका नपड्काई सभ्य रुपमा दोस्रो चाड तिहार मनाउन आह्वान गर्ने गरेको छ ।

अनिवार्य अवकाशसम्बन्धी व्यवस्था ऐनमा समावेश गर्न परमादेश

काठमाडौँ, १२ कात्तिक : सर्वोच्च अदालतले यसै आर्थिक वर्षभित्र सशस्त्र प्रहरी बल नेपालको ऐनमा अनिवार्य अवकाशसम्बन्धी व्यवस्था समावेश गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गत असोज १० गते गरेको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै उक्त परमादेश गरेको हो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, “यसै विषयलाई लिएर यस अदालतबाट पटक पटक निर्देशनात्मक आदेश जारी हुनुका साथै ध्यानाकर्षण आदेशसमेत जारी भएकोमा पनि हालसम्म अदालतको आदेश बमोजिम अनिवार्य अवकाशलगायतका सारभूत व्यवस्था ऐनमा समावेश गरिएको नदेखिएको हुँदा यसै आर्थिक वर्षभित्र अनिवार्य अवकाशसम्बन्धी व्यवस्था ऐनमा समावेश गर्ने व्यवस्था गर्नुगराउनु भनी विपक्षीको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।”

सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वय अभीकुमार खत्री, दुर्गाप्रसाद भट्टराईसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त परमादेश जारी गरेको हो ।

रिट निवेदनमा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ६५ मा अवकाशको व्यवस्था भएको, जसअनुसार ३० वर्ष सेवा अवधि पूरा भएपछि अवकाशको व्यवस्था रहेको र सशस्त्र प्रहरी नियमावली २०६० मा भने सेवा अवधिका कारण अवकाश हुने व्यवस्था नरहेकोतर्फ ध्यानाकर्षण गराएको थियो ।

रिट निवेदनमा नेपाल प्रहरी सेवाबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुँदा पनि सो व्यवस्था नभएको र २०६६ सालमा नियमावली संशोधन गरी सो व्यवस्था काम गरिएको उल्लेख गर्दै नेपालको सरकारी सेवा निजामती, स्वास्थ्य, सङ्घीय संसद्, नेपाली सेना, विश्वविद्यालय सेवामा ३० वर्ष सेवा अवधिका आधारमा अवकाश हुने व्यवस्था नभएको उल्लेख थियो ।

अदालतले सशस्त्र प्रहरी नियमावली सशस्त्र प्रहरी ऐन २०५८ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको उल्लेख गर्दै मुलुकको सशस्त्र प्रहरी प्रशासन सञ्चालनका लागि कानुन बनाउने र यसरी कानुन बनाउँदा सेवाका पदमा कसरी नियुक्ति गर्ने, कुन उमेर समूहसम्मका व्यक्तिलाई सेवामा प्रवेश दिने, कति अवधिसम्म सेवामा राख्ने तथा सेवाका अन्य शर्त के हुने भन्ने विषय नीतिगत विषय हुन् भनेको छ ।

“यस्ता नीतिगत विषयको निर्धारण गर्ने अधिकार विषयको प्रकृतिअनुसार विधायिका वा कार्यपालिकालाई हुने कुरामा विवाद हुन सक्दैन, निवेदकले उठाएको सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ६५(१) (क) मा भएको व्यवस्था पनि सशस्त्र प्रहरी ऐन, २०५८ को दफा ३६ ले दिएको अधिकारको प्रयोग गरी नेपाल सरकारले बनाएको देखिएकामा उक्त नियमावलीको व्यवस्था अनधिकृत निकायले बनाएको वा नियमावली बनाउने अधिकार नै नभएको भन्ने आधारमा अमान्य हुन मागदाबी लिइएको पनि देखिँदैन”, फैसलाको पूर्णपाठमा उल्लेख छ ।

विशेष अदालतमा पहिलो पटक अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ

काठमाडौँ, १२ कात्तिक : विशेष अदालतमा पहिलो पटक आज अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्व मुख्य सचिव डा बैकुण्ठ अर्याल समेत प्रतिवादी भएको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भष्ट्राचार गरेको आरोपको मुद्दामा संयुक्त राज्य अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले भर्चुअल माध्यमबाट बहस गर्नुभएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, सदस्यद्वय न्यायाधीश डा खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासमा उक्त सुनुवाइ भएको हो । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २०८० साल चैत १५ गते भर्चुअल सुनवाइ पद्धतिको शुभारम्भ गर्नुभएको थियो । सो पश्चात अदालतबाट साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी सेवा प्रदान गरिँदै आएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयान समेत भर्चुअल माध्यमबाट लिएर अभिलेख गर्न सकिने उल्लेख छ । 

विशेष अदालतले गत आव २०८०/०८१ मा ८८ प्रतिशत मुद्दाको फर्छ्यौट गरी कानुनले तोकेको म्याद छ महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न सफल भएको जनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका लागि प्रविधिको प्रयोग गर्दै आएको छ ।

स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरुलाई अदालत प्रशासनले आग्रह समेत गरेको छ ।

इरानको तेल संरचनामा इजरायलले आक्रमण नगरेपछि तेलको मूल्यमा गिरावट

इजरायलले शनिबार इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि सोमबार एसियाली कारोबारको सुरुआतमै तेलको मूल्यमा गिरावट आएको छ । इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको हो ।

डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ । 

इजरायलले सप्ताहन्तमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको बताएको छ ।

“इजरायलको आक्रमणले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै इरानसँगको पूर्ण युद्धको डरलाई कम गरेको छ”, एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इन्नेसले भन्नुभयो, “अझ धेरै स्पष्ट प्रतिक्रिया इरानको छ । आफ्ना चेतावनीहरूले इजरायलको कुनै पनि आक्रामक कारबाहीलाई रोक्न सक्छ भन्दै इरानले आक्रमणको प्रभावलाई कम आँकलन गरेको छ । यसले आगामी दिनहरूमा तेलको जोखिम प्रिमियममा सम्भावित निरन्तर घटाउने अवस्था सिर्जना गर्दछ ।”

उहाँका अनुसार तनाव थप कम भएमा मूल्यमा गिरावट जारी रहन सक्छ । व्यापारीहरूले सन् २०२५ को आपूर्ति बढीको सम्भावनामा ध्यान केन्द्रित गरिरहेकाले सम्भवतः प्रतिब्यारेल चार सय ६० डलरसम्म झर्न सक्छ ।

उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको ‘निराशा’ को सङ्केत

नाटोका प्रमुख मार्क रुटेले सोमबार युक्रेनमा रुसको युद्ध प्रयासलाई बलियो बनाउन उत्तर कोरियाली सैनिकको तैनाथीलाई द्वन्द्वको खतरनाक विस्तार भन्नुभएको छ । उहाँले यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बढ्दो निराशा’ लाई सङ्केत गरेको बताउनुभयो ।

दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उहाँले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा पठाइएको पुष्टि गर्न सकिने बताउनुभयो ।“रुस र उत्तर कोरियाबीचको बढ्दो सैन्य सहयोग इन्डो–प्यासिफिक र युरो–एटलान्टिक दुवै सुरक्षाका लागि खतरा हो”, रुटेले पत्रकार सम्मेलनमा भन्नुभयो, “कुर्स्कमा उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको बढ्दो निराशाको संकेत पनि हो ।”

युक्रेनी सेनाले अगस्टदेखि कुर्स्कमा स्थल आक्रमण गरिरहेको छ र रुसी भू–भागको केही सय वर्गकिलोमिटर नियन्त्रणमा लिएको छ ।
रुटेका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।

पुटिनले पश्चिम विरोधी गठबन्धन निर्माण गर्ने प्रयास जारी राख्नुभएकाले मस्को र प्योङयाङबीच बढ्दो सैन्य सम्बन्ध अमेरिका र युरोपेली सङ्घ (इयु) का लागि ठूलो चिन्ताको विषय हो । गत हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले केही दिनभित्रै उत्तर कोरियाली सैनिकहरूलाई युद्धमा पठाउने योजना बनाएको चेतावनी दिनुभएको थियो । उहाँले उत्तर कोरियाले रुसलाई समर्थन गर्न १० हजार सैनिक तालिम दिइरहेको दाबी गर्नुभएको छ ।

दक्षिण कोरिया, नाटो र संयुक्त राज्य अमेरिकाले पनि हजारौँ उत्तर कोरियाली सैनिक रुसमा तालिम लिइरहेको दाबी गरेका छन् । यसै महिना नाटोको नेतृत्व सम्हाल्नुभएका पूर्व डच प्रधानमन्त्री रुटेले मस्को र प्योङयाङलाई ‘यी कार्यहरू तत्काल रोक्न’ आह्वान गर्नुभयो । अस्ट्रेलिया, जापान, न्युजिल्यान्डलगायत नाटोका इन्डो–प्यासिफिक साझेदारहरूलाई पनि स्थितिबारे जानकारी गराइएको उहाँले बताउनुभयो ।

बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : अध्यक्ष नेपाल

कास्की, १२ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले, “दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दोशी कोही पनि नफसुन् । राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ ।”

एकीकृत समाजवादी पार्टीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको अध्यक्ष नेपालले बताउनुभयो । विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान आफूहरू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । “विषयवस्तुमा सहकार्यमा गरेर अघि बढ्न तयार छौँ । अरु पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन,” नेपालले भन्नुभयो ।

सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी

अर्घाखाँची, १३ कात्तिक- अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् ।सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग निवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

बिरामीहरूमा झाडापखाला, बान्ता , ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनुभयो ।
उनीहरु सबैको अवस्था सामान्य रहेको छ । गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ ।

बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौँ, १२ कात्तिक : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही कात्तिक १४ गते हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शक रङ्गशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवं दर्शकको सुरक्षाको लागि तत्कालको लागि टिकट बिक्री गर्न स्थगन गरेको एन्फाको भनाइ छ ।

साफको टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतत्य बुझेर मात्र टिकेटिङको व्यवस्था गरिने एन्फाले जनाएको छ ।

“नेपाल र भारतबीचको खेलमा सङ्घसँगको सम्झौता विपरीत रङ्गशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ । त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ,’ एन्फाद्वारा आज जारी प्रेस विज्ञपप्तिमा उल्लेख छ ।

यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जबाफदेही नहुनेसमेत एन्फाले जनाएको छ ।
नेपाल र बङ्गलादेशबीचको फाइनल खेल यही कात्तिक १४ गते साँझ ६ः३० बजे हुने तय भएको छ ।

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते

दाङ । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए ।

दुर्घटनामा १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।

घाइते भएका सबैलाई अहिले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागेको प्रहरीले जनाएको छ । घाइते भएका केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।उनकाअनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ, १२ कात्तिक : आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ । आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि हात पारेको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियलहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

साथै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, सहभागी टिमलाई मायाको चिनो, निर्णायकहरु एवं प्रतियोगितामा सहयोग पु¥याएकाहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विधामा प्राप्त ख्याती तथा प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाइ हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमश ः नगद रु एक लाख एक हजार र रु ५१ हजार एवं ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । सर्वोत्कृष्ट हुने खेलाडीलाई रु १० हजार पाँच सय ५५ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु सात हजार पाँच सय ५५ प्रदान गरिएको छ । उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्यालाई

किमाथाङ्का (सङ्खुवासभा), १२ कात्तिक : यहाँको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सङ्खुवासभाको पञ्चकन्या युथ क्लबले जितेको छ ।

महेन्द्र माविको खेलमैदानमा आज भएको प्रतियोगिताको फाइनल खेलमा पञ्चकन्याले धनकुटाको चुलाचुली युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफसम्म ०–१ गोल अन्तरमा खेलेको पञ्चकन्याले दोस्रो हाफपछि लगातार दुई गोल गर्दै उपाधि कब्जा गरेको हो । चुलाचुली युवा क्लब धनकुटाले उपविजेतामा चित्त बुझाएको छ । फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले यस्ता प्रतियोगिताले कोशी प्रदेशको खेल क्षेत्रमा सहयोग पुग्ने बताउनुभयो ।

एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा ‘सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रतियोगिता यही कात्तिक ७ गतेदेखि सुरु भएको थियो ।

प्रतियोगितामा कोशी प्रदेश प्रहरी टिमसहित विभिन्न जिल्लाका १२ क्लबको सहभागिता रहेको थियो । विजयी टिमलाई नगद रु दुई लाख, कप र मेडलले सम्मान गरिएको छ । उपविजेताले नगद रु एक लाखसहित कप र मेडल प्राप्त गरे । त्यस्तैगरी सेमी फाइनलमा पुगेका दुई टिमलाई नगद रु २५/२५ हजार प्रदान गरिएको आयोजक एड्भान्स क्लबले जनाएको छ ।

उत्कृष्ट गोलरक्षक चुलाचुली युवा क्लब धनकुटाका निकेश सुन्दास, सर्वोत्कृट खेलाडी पञ्चकन्याका जीवन मगर, सर्वाधिक गोलकर्ता पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी र सभापोखरी फुटबल क्लबका जोन जोरी घोषित भए । उनीहरुले नगद र ट्रफी प्राप्त गरे ।

आयोजक एड्भान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर प्रतियोगिता गर्दै आएको छ ।

एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न आदेश

काठमाडौँ, १२ कात्तिक : सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज एमाले पार्टी कार्यालयल निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दाबी बमोजिम विपक्षीहरूबीच निवेदनमा उल्लेखित मिति २०८१ आसोज २५ मा दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा दान लिइ हक हस्तान्तरणलगायत काम कारबाही नगर्नु नगराउनु ।”

आदेशमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ (३) र ३८ (६) को व्यवस्था अनुकूल नदेखिनुका साथै सोही ऐनको दफा ३८(५) मा भएको आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न हुँदैन भन्ने कानुनी व्यवस्था तथा सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचन लगायत प्रक्रियाहरू प्रभावित हुने उल्लेख छ ।

व्यवसायी गुरुङले एमालेलाई जग्गा दान दिने निर्णय बदर गर्न माग गर्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो । अदालतले यही कात्तिक २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

एमालेले भाटभटेनी डिपार्टमेन्ट कम्पनी प्रालिका सञ्चालक मीनबहादुर गुरुङबाट काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं २ मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान प्राप्त गरेको भन्ने कार्य प्रथम दृष्टिमा नै गलत भएको ठहर गरेको छ ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पत्ति र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास समेत गरिसक्नुभएको थियो । अदालतको आदेशसँगै एमालेको पार्टी कार्यालय निर्माणको काम तत्कालका लागि रोकिएको छ ।

इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद

अमेरिका, १२ कात्तिक : अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा अमेरिकाका सांसदहरुले नेपालीहरुसँगै तिहार उत्सव मनाएका छन् । सस्कीहाना टाउनसिप मिडल स्कूलको अडिटोरियम हलमा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी सङ्घीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरी र उहाँको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरु डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिश्नर टम कनोलीसहितले नेपाली मूलका बालबालिकाहरु र तिनका अभिभावकसँगै देउसी भैलीमा रमाइलो गरेका हुन् ।

सो कार्यक्रममा पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यान्कास्टर, स्क्रान्टन र पिट्सवर्ग सहरको इन्ट्रा म्युजिक स्कूलका बालबालिकाले नेपाली सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न फाउण्डेशनले अमेरिकाका विभिन्न शहरमा सांस्कृतिक नृत्य तथा गायनका निःशुल्क कक्षाहरु सञ्चालन गरेको जानकारी दिनुभयो । ती कक्षामा नेपाली मूलका एक हजार एक सय बढी बालबालिका एवं किशोर किशोरीले नृत्य र गायन सिकिरहेको उहाँले बताउनुभयो । 

अमेरिकी सङ्घीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरीले आआफ्नो संस्कृति स्वतन्त्र र सुरक्षित रुपमा मनाउन पाउनुपर्नेमा जोड दिनुभयो । आफ्ना पुर्वज कोलम्बियाबाट आएको, आफ्ना ‘चिफ अफ स्टाफ’का पूर्वज इटलीबाट आएको बताउनुहुँदै नेपाल र भुटानबाट आएका नेपालीको सांस्कृतिक उत्सवमा भाग लिन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । पेन्सिलभिनिया राज्यका सांसद डेभ म्याडसनले नेपाली मूलका बालबालिकाले प्रस्तुत गरेको आफ्नो सांस्कृतिक नृत्यले आफू प्रभावित भएको बताउनुभयो ।   नेपाली सांस्कृतिक नृत्य र शास्त्रीय गायन कक्षामा सम्मिलित पहिलो वर्षको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

बङ्गलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन् ।

‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित हुनुभएको थियो ।

यो पद संवैधानिक भएपनि उहाँको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको छ ।

“राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुनेछ,” हसिनाको भारत पलायनसँगै घोषणा भएको राजिनामापछि बनेको अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले सोमबार भन्नुभयो ।

अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले ‘मुख्य सल्लाहकार’का रूपमा गरिरहनुभएको छ ।

सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।

हसनले आइतबार पत्रकारहरूसँग भन्नुभयो, “क्रान्तिपछि बनेको सरकारले फासीवादी सरकारले छानेको राष्ट्रपतिलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा विचार गर्नुपर्छ।”

“उहाँलाई हटाउनुपर्ने माग आन्दोलनको भावनासँग मेल नखाने दाबीका आधारमा आएको हो,” उहाँले भन्नुभयो।

यसै महिनाको सुरुमा शहाबुद्दीनले हसिनाको राजीनामा पत्र आफूले कहिल्यै नदेखेको बताएपछि चर्को विरोध भएको थियो ।

त्यसको केही समयपछि युनुसको सरकारमा कार्यरत विद्यार्थी नेता आसिफ नजरुलले उक्त टिप्पणी ‘उहाँ (राष्ट्रपति) को शपथको उल्लङ्घन’ भएको आरोप लगाउनुभएको थियो ।

गत हप्ता राष्ट्रपति भवनपरिसरमा आक्रमण गर्न खोज्ने सयौंको भीडसँग प्रहरीबीच झडप हुँदा ३० जना अधिकारी र प्रदर्शनकारी घाइते भएका थिए ।

सन् २०३० को लक्ष्यहासिल गर्न विश्वका देशहरुको योजना ‘धेरै टाढा’ – राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा पृथ्वीको तापक्रम वृद्धिबाट हुने उत्सर्जनमा २.६ प्रतिशतले मात्र कमी आउने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसको सुरक्षित सीमासम्म सीमित गर्न यस दशकमा आवश्यक ४३ प्रतिशत कटौतीको नजिक विद्यमान प्रतिबद्धताले कहीँ पनि काम नगरेको बताउनुभएको छ ।

स्टिएलले भन्नुभयो, “प्रतिवेदनको निष्कर्ष स्पष्ट छ तर आश्चर्यजनक छैन। हालको राष्ट्रिय जलवायु योजनाहरू विश्वव्यापी तापलाई हरेक अर्थव्यवस्थालाई समस्याग्रस्त बनाउन र अर्बौंको सङ्ख्यामा रहेको वैश्विक जीवन र जीविकोपार्जनलाई बर्बाद गर्नबाट रोक्न आवश्यकभन्दा हजारौँ माइल टाढा छन्।”

अजरबैजानमा संयुक्त राष्ट्रसङ्घको कोप–२९ जलवायु शिखर सम्मेलन सुरु हुनुभन्दा केही हप्ताअघि र सन् २०२५ को सुरुमा सदस्य राष्ट्रहरूले आफ्नो अद्यावधिक चरणको राष्ट्रिय जलवायु योजना प्रस्तुत गर्ने तयारी गरिरहेका बेला यो निष्कर्ष आएको हो ।

स्टिएलले भन्नुभयो, “तापमान वृद्धिलाई बढावा दिने कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्याँसहरूको उत्सर्जनलाई तत्काल कम गर्न ‘साहसी’ योजनाहरू प्रस्तुत गर्नुपर्दछ।”

विद्यमान प्रतिज्ञाअनुसार सन् २०३० सम्ममा ५१.५ अर्ब टन कार्बन डाइअक्साइड र त्यसको बराबर पृथ्वीलाई उष्ण बनाउने अन्य ग्याँसमा छोड्नेछ ।

“यी स्तरहरूमा ग्रीनहाउस ग्याँस प्रदूषणले अपवाद बिना हरेक देशका लागि मानव र आर्थिक क्षतिको ग्यारेन्टी गर्नेछ,” उहाँले भन्नुभयो ।

यो प्रतिवेदन ‘अर्को वर्ष हरेक देशबाट धेरै साहसी नयाँ राष्ट्रिय जलवायु योजनाहरूको साथ अपर्याप्तताको युगको अन्त्य गर्दै अघि बढ्नुपर्छ,” उहाँले थप्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनईपी) ले पनि बिहीबार सदस्य राष्ट्रहरूले के प्रतिज्ञा गरेका छन् र के हासिल गर्नैपर्छ भन्ने बीच खाडल सिर्जना हुने चेतावनी दिएको छ ।

सन् २०१५ मा करिब २०० राष्ट्रले हस्ताक्षर गरेको पेरिस सम्झौतामा विश्वव्यापी तापमान वृद्धिलाई पूर्व औद्योगिक स्तरको तुलनामा २ डिग्री सेल्सियसभन्दा तल राख्ने र सम्भव भएमा १.५ डिग्री सेल्सियसको सुरक्षित सीमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले गठन गरेको विज्ञका अनुसार तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियससम्म नियन्त्रण गर्ने ५० प्रतिशत सम्भावना हासिल गर्न सन् २०१९ को तुलनामा सन् २०३० सम्ममा विश्वव्यापी उत्सर्जन४३ प्रतिशतले घट्नुपर्छ ।

विवादित भिडियो सार्वजनिक भएपछि बेलायती लेबर पार्टीका सांसद निलम्बित

बेलायतको सत्तारूढ लेबर पार्टीले विवादित भिडियो सार्वजनिक भएपछि आफ्ना एक सांसदलाई निलम्बन गरेको छ । भिडियो फुटेजमा सांसदले एक व्यक्तिलाई मुक्का हानी आक्रमण गरेको देखाइएको थियो ।

मेल अनलाइनले हिंसात्मक घटनाको भिडियो प्रकाशित गरेपछि सांसद माइक एमेसबरीलाई ‘अनुसन्धानका लागि’ निलम्बन गरिएको पार्टीले जनाएको छ । विवादमा तानिएका सांसदले उत्तरपश्चिम इङ्ल्यान्डको संसदीय सिटको प्रतिनिधित्व गरिरहेको पार्टीले जनाएको छ । शनिबार बिहान भएको घटनाको सम्बन्धमा सावधानीका साथ विवादित सांसदसँग स्वतन्त्र रूपमा सोधपुछ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

चेशायर प्रहरीले फ्रडसाम सहरमा भएको आक्रमणको रिपोर्टमा अधिकारीहरूलाई बोलाइ ‘थप सोधपुछ’ जारी रहेको जनाएको छ ।

जुलाईमा बेलायतमा सत्तामा गएकोे लेबर पार्टीका प्रवक्ताले सांसद माइक एमेसबरीले घटनापछि चेशायर प्रहरीलाई सोधपुछमा सहयोग गर्दै आएको जनाउनु भएको छ । उहाँका अनुसार हाल सोधपुछ चलिरहेकाले लेबर पार्टीले प्रशासनिक रूपमा एमेसबरीको लेबर पार्टीको सदस्यता निलम्बन गरेको हो ।“

एमेसबरीले बयानमा सोधपुछमा सहयोग गर्दै समुदायका लागि खुला र पहुँच योग्य सांसद रहन कटिबद्ध रहने बताउँदै साथीहरूसँग साँझमा बाहिर निस्किँदा सडकमा खतरा महसुस गरेपछि उक्त घटना भएको उल्लेख गर्नुभएको छ ।

इयुद्वारा लेबनानमा ‘तत्काल युद्धविराम’ का लागि पुनः आह्वान

युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार लेबनानमा ‘तत्काल युद्धविराम’ को लागि पुनः आह्वान गर्दै हिजबुल्लाह विरुद्धको युद्धमा इजरायलको ‘अस्वीकार्य आक्रमण’ को निन्दा गर्नुभएको छ ।

इरान समर्थित मिलिसिया विरुद्धको आक्रमणले मध्यपूर्वमा बढ्दो द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घको युनिफिल शान्ति सेना मिसनलाई अगाडि ल्याएको छ ।

सन् १९७८ देखि दक्षिणी लेबनानमा तैनाथ युनिफिलले सेप्टेम्बरको अन्त्यमा इजरायलले आफ्नो स्थल आक्रमण सुरु गरेदेखि धेरै घाइते भएको र आफ्ना सुविधाहरूमा क्षति भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले युनिफिल शान्ति सेनालाई ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको बताउँदै शान्ति सेनालाई फिर्ता हुन आह्वान गर्नुभयो ।

इयुका विदेश नीति प्रमुख बोरेलले बार्सिलोनामा आयोजित एक मञ्चमा भन्नुभयो, “इयुले युनिफिल निगरानी र सम्बन्धित संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको सम्मान गर्दै नीलो रेखामा तत्काल युद्धविरामको आह्वान गरेको छ ।”

सन् २००६ को इजरायल–हिजबुल्लाह युद्धपछि सोही वर्ष सहमत भएको सुरक्षा परिषद्को प्रस्तावअनुसार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिक र लेबनानी सेना मात्र तैनाथ हुनुपर्ने थियो ।

बोरेलले युनिफिलका संरचना र कर्मचारीहरू विरुद्ध इजरायली सेनाको ‘अस्वीकार्य आक्रमण’ को निन्दासमेत गर्नुभयो ।

गाजाको मानवीय सङ्कट दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब भएको संयुक्त राष्ट्रसङ्घको चेतावनीलाई उल्लेख गर्दै बोरेलले भूमध्य क्षेत्रका नेताहरू भेला भएको मञ्चले ‘केवल चिन्ता व्यक्त गर्नु’ भन्दा बढी गर्नुपर्ने बताउनुभयो ।

“जसरी यो युद्धमा नागरिकहरूविद्ध कारवाही भइरहेको छ, त्यसले गम्भीर चिन्ता उत्पन्न भएको छ र धेरै अनुत्तरित प्रश्नहरू छोडेको छ”, उहाँले भन्नुभयो ।

गत वर्ष अक्टोबर ७ मा हमासको इजरायल विरुद्धको अभूतपूर्व आक्रमणले गाजा युद्ध शुरु भयो । यसबाट लेबनान–इजरायल सीमामा शत्रुता बढायो र इजरायल र इरान बीच पहिलो प्रत्यक्ष आक्रमणहरू भए ।

ट्युनिसिया समुद्री तटमा १५ आप्रवासीको शव फेला

ट्युनिसियाली समुद्री रक्षकहरूले पूर्वी तटीय प्रान्त महदियामा १५ जना आप्रवासीहरूको शव फेला पारेका छन् ।

यीमध्ये आठ शव सलाक्तामा, छ वटा चेब्बामा र एउटा मेलौलेकको तटमा फेला परेको महदिया र मोनास्टिर अदालतका प्रवक्ता फरीद बेन झाले बताउनुभयो । मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

कुहिएको अवस्थामा फेला परेका यी शवलाई पहिचानका लागि आवश्यक प्रक्रियाका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

भूमध्य सागरमा अवस्थित ट्युनिसिया युरोपमा अवैध आप्रवासनका लागि सबैभन्दा लोकप्रिय ट्रान्जिट पोइन्टहरू मध्ये एक हो ।

पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन

काठमाडौँ, १२ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उहाँले भन्नुभयो, “पुँजीगत खर्च बढाउनुपर्छ । मन्त्रालयको ५० प्रतिशत पनि कट्न नसक्नु राम्रो हैन ।”

मातहतका कार्यालयमा रहेको बजेरु घटाउन दिर्नेशन दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “जहाँ सुशासन र पारदर्शिता हुँदैन, त्यहाँ सेटिङ हुन्छ, नीतिगत भ्रष्टाचार हुन्छ, त्यहाँ बेरुजु अत्यधिक हुन्छ । आगामी बैठकमा आउँदा बेरुजु फर्छ्योटको स्थितिमा सुधार गर्नुहोस् ।”

चालु आव २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा मन्त्रालयअन्तर्गत रु एक अर्ब ६४ करोड ९८ लाख बजेटमा ५१ दशमलव ९३ प्रतिशत खर्च भएको छ । यस अवधिमा ४१ दशमलव ६ प्रतिशत पुँजीगत खर्च र चालुतर्फ ५२ दशमलव ९२ प्रतिशत खर्च भएको छ ।

मन्त्रालयको प्रमुख छ वटा कार्य क्षेत्रका १९ निकायहरूमार्फत भएका कामका सम्बन्धमा बसेको बैठकमा मन्त्री गुरुङले कर्मचारीलाई परम्परागत कार्यशैली परिवर्तन गर्न सुझाव दिनुभयो । “सबै काम पारदर्शी हुनुपर्छ । अनेक बहानाबाजी गरेर काम अड्काउनु हुँदैन । कर्मचारीतन्त्रमा भएका समस्या अब सुधार हुनुपर्छ, नयाँ ढङ्गले काम गरौँ”, उहाँले भन्नुभयो ।

सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले कार्यसम्पादन सम्झौता कार्यान्वयनमा जोड दिनुभयो । उहाँले कर्मचारीलाई कम्तीमा एक वर्षसम्म तोकिएको कार्यक्षेत्रबाट सरुवा नगर्न र नगराउन आग्रह गर्नुभयो । छोटोछोटो समयमा सरुवा गर्ने प्रवृतिले गर्दा कार्यसम्पादनमा प्रभाव पर्नेतर्फ सचेत गराउनुभयो । उहाँले अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यकता औँल्याउँदै विकास समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा चालु आवको प्रथम त्रैमासिकसम्मको प्रगति विवतरणअनुसार कार्यान्वयन गर्नुपर्ने ३४ वटा ‘माइलस्टोन’ मध्ये २१ वटाको कार्य सम्पन्न भएको छ । काम हुन नसकेका ‘माइलस्टोन’ १० वटा छन् भने सम्पन्न हुने प्रक्रियामा रहेका तीन वटा रहेका छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले समस्या र सहजीकरणका विषयमा आयोग सहयोग र सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । सचिव राधिका अर्यालले पुँजीगत खर्च बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले मन्त्रालयको ‘माइलस्टोन’ मा राम्रो प्रगति भएको बताउनुभयो । उहाँले आगामी बैठकमा उपलब्धि र प्रभावलाई आलोचनात्मक समीक्षाका हुनुपर्ने रायसमेत राख्नुभयो ।

खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण

ओखलढुङ्गा, १२ कात्तिक : यहाँको खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल ह्युमन फाउण्डेशनले दुई वटा एम्बुलेन्स सहयोग गरेको छ । कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होङ गिलको नामबाट स्थापित उक्त संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको छ ।

आज काठमाडौँमा एक कार्यक्रमबीच फाउण्डेशनका प्रमुख क्याप्टेन अम होङ गिलले खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गर्नुभयो । एम्बुलेन्स केही महिना अघि पालिकाले प्राप्त गरिसकेको भएपनि औपचारिक रुपमा हस्तान्तरण आज गरिएको हो ।

नेपाल विश्वकै सुन्दर देश भएपनि शिक्षा र स्वास्थ्यमा समस्या देखेपछि आफुले सहयोगका कार्यक्रम ल्याएको प्रमुख गिलको भनाई छ । उहाँले सगरमाथासहित नेपालका दर्जनौं हिमाल आरोहण गरिसक्नुभएको छ ।

एम्बुलेन्स दाता गिललाई खिजीदेम्बावासीले सम्मान गरेका छन् । एम्बुलेन्स सुविधा नहुँदा भौतिक पूर्वाधारमा जिल्लाकै दुर्गम खिजीदेम्बा गाउँपालिकाबाट सामान्य उपचारका लागि समेत महङ्गो भाडा तिरेर निजी सवारी वा हेलिकप्टर चार्टर गरेर अस्पताल जानुपर्ने बाध्यता थियो ।

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्योः उद्योगमन्त्री भण्डारी

काठमाडौँ, १२ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक्स कन्फरेन्समा आज उहाँले एआईसम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकासमार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्नेगरी सरकार लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी यसका लागि नीतिगत र कानुनी संरचना निर्माण र पूर्वाधार विकासमा लागेका छौँ । डिजिटल पूर्वाधार विस्तार र सुदृढीकरण, औद्योगिक क्लस्टर र टेक्नोलोजी पार्क स्थापना, इन्टरनेट कनेक्टिभिटी र नेटवर्क विस्तार, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ सेवा, एआई अनुसन्धान र विकास, क्षमता विकास, उद्योग–शिक्षा साझेदारी, अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान हस्तान्तरण, स्टार्टअप इन्क्युबेसन र एक्सेलेरेसन, लगानी प्रवर्द्धनजस्ता क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।”

मन्त्री भण्डारीले आफू नेतृत्वको मन्त्रालयले डिजिटल नेपाल औद्योगिक रूपान्तरण कार्यक्रम, एआई इनोभेसन हब स्थापना र युवा उद्यमी डिजिटल सशक्तीकरण कार्यक्रमहरू अघि बढाउने योजना बनाएको बताउनुभयो । “यी सबै प्रयासहरूको मुख्य लक्ष्य भनेको नेपालको औद्योगिक क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान पु¥याउनु हो । नेपाली युवाको जीवनका लागि एआई भन्ने यस सम्मेलनको नाराले पनि हाम्रो युवा पुस्तालाई डिजिटल युगको अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । आजको छलफलले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा एआई र रोबोटिक्स प्रविधिको भूमिका र सम्भावनाहरूबारे गहन छलफल गरिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका विकास र प्रगतिहरूले मुलुकको औद्योगिक रूपान्तरणका लागि नयाँ दिशा र सम्भावनाहरू प्रस्तुत गरेको बताउनुभयो ।

एआईको प्रयोग र प्रभावले स्मार्ट म्यानुफ्याक्चरिङ, आपूर्ति शृङ्खला व्यवस्थापन र ग्राहक सेवा तथा बजार विश्लेषण गरी स्वचालित ग्राहक सेवा र समर्थन, बजारको प्रवृत्ति विश्लेषण, ग्राहक व्यवहार अध्ययन, व्यक्तिगत सिफारिस प्रणाली, सामाजिक सञ्जाल अनुगमन र विश्लेषण जस्ता आयाममा उल्लेखनीय योगदान र सहजीकरण गर्दै आएको भन्त्री भण्डारीस्को भनाइ थियो ।