`

इयुद्वारा लेबनानमा ‘तत्काल युद्धविराम’ का लागि पुनः आह्वान

युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार लेबनानमा ‘तत्काल युद्धविराम’ को लागि पुनः आह्वान गर्दै हिजबुल्लाह विरुद्धको युद्धमा इजरायलको ‘अस्वीकार्य आक्रमण’ को निन्दा गर्नुभएको छ ।

इरान समर्थित मिलिसिया विरुद्धको आक्रमणले मध्यपूर्वमा बढ्दो द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घको युनिफिल शान्ति सेना मिसनलाई अगाडि ल्याएको छ ।

सन् १९७८ देखि दक्षिणी लेबनानमा तैनाथ युनिफिलले सेप्टेम्बरको अन्त्यमा इजरायलले आफ्नो स्थल आक्रमण सुरु गरेदेखि धेरै घाइते भएको र आफ्ना सुविधाहरूमा क्षति भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले युनिफिल शान्ति सेनालाई ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको बताउँदै शान्ति सेनालाई फिर्ता हुन आह्वान गर्नुभयो ।

इयुका विदेश नीति प्रमुख बोरेलले बार्सिलोनामा आयोजित एक मञ्चमा भन्नुभयो, “इयुले युनिफिल निगरानी र सम्बन्धित संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको सम्मान गर्दै नीलो रेखामा तत्काल युद्धविरामको आह्वान गरेको छ ।”

सन् २००६ को इजरायल–हिजबुल्लाह युद्धपछि सोही वर्ष सहमत भएको सुरक्षा परिषद्को प्रस्तावअनुसार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिक र लेबनानी सेना मात्र तैनाथ हुनुपर्ने थियो ।

बोरेलले युनिफिलका संरचना र कर्मचारीहरू विरुद्ध इजरायली सेनाको ‘अस्वीकार्य आक्रमण’ को निन्दासमेत गर्नुभयो ।

गाजाको मानवीय सङ्कट दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब भएको संयुक्त राष्ट्रसङ्घको चेतावनीलाई उल्लेख गर्दै बोरेलले भूमध्य क्षेत्रका नेताहरू भेला भएको मञ्चले ‘केवल चिन्ता व्यक्त गर्नु’ भन्दा बढी गर्नुपर्ने बताउनुभयो ।

“जसरी यो युद्धमा नागरिकहरूविद्ध कारवाही भइरहेको छ, त्यसले गम्भीर चिन्ता उत्पन्न भएको छ र धेरै अनुत्तरित प्रश्नहरू छोडेको छ”, उहाँले भन्नुभयो ।

गत वर्ष अक्टोबर ७ मा हमासको इजरायल विरुद्धको अभूतपूर्व आक्रमणले गाजा युद्ध शुरु भयो । यसबाट लेबनान–इजरायल सीमामा शत्रुता बढायो र इजरायल र इरान बीच पहिलो प्रत्यक्ष आक्रमणहरू भए ।

ट्युनिसिया समुद्री तटमा १५ आप्रवासीको शव फेला

ट्युनिसियाली समुद्री रक्षकहरूले पूर्वी तटीय प्रान्त महदियामा १५ जना आप्रवासीहरूको शव फेला पारेका छन् ।

यीमध्ये आठ शव सलाक्तामा, छ वटा चेब्बामा र एउटा मेलौलेकको तटमा फेला परेको महदिया र मोनास्टिर अदालतका प्रवक्ता फरीद बेन झाले बताउनुभयो । मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

कुहिएको अवस्थामा फेला परेका यी शवलाई पहिचानका लागि आवश्यक प्रक्रियाका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

भूमध्य सागरमा अवस्थित ट्युनिसिया युरोपमा अवैध आप्रवासनका लागि सबैभन्दा लोकप्रिय ट्रान्जिट पोइन्टहरू मध्ये एक हो ।

पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन

काठमाडौँ, १२ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उहाँले भन्नुभयो, “पुँजीगत खर्च बढाउनुपर्छ । मन्त्रालयको ५० प्रतिशत पनि कट्न नसक्नु राम्रो हैन ।”

मातहतका कार्यालयमा रहेको बजेरु घटाउन दिर्नेशन दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “जहाँ सुशासन र पारदर्शिता हुँदैन, त्यहाँ सेटिङ हुन्छ, नीतिगत भ्रष्टाचार हुन्छ, त्यहाँ बेरुजु अत्यधिक हुन्छ । आगामी बैठकमा आउँदा बेरुजु फर्छ्योटको स्थितिमा सुधार गर्नुहोस् ।”

चालु आव २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा मन्त्रालयअन्तर्गत रु एक अर्ब ६४ करोड ९८ लाख बजेटमा ५१ दशमलव ९३ प्रतिशत खर्च भएको छ । यस अवधिमा ४१ दशमलव ६ प्रतिशत पुँजीगत खर्च र चालुतर्फ ५२ दशमलव ९२ प्रतिशत खर्च भएको छ ।

मन्त्रालयको प्रमुख छ वटा कार्य क्षेत्रका १९ निकायहरूमार्फत भएका कामका सम्बन्धमा बसेको बैठकमा मन्त्री गुरुङले कर्मचारीलाई परम्परागत कार्यशैली परिवर्तन गर्न सुझाव दिनुभयो । “सबै काम पारदर्शी हुनुपर्छ । अनेक बहानाबाजी गरेर काम अड्काउनु हुँदैन । कर्मचारीतन्त्रमा भएका समस्या अब सुधार हुनुपर्छ, नयाँ ढङ्गले काम गरौँ”, उहाँले भन्नुभयो ।

सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले कार्यसम्पादन सम्झौता कार्यान्वयनमा जोड दिनुभयो । उहाँले कर्मचारीलाई कम्तीमा एक वर्षसम्म तोकिएको कार्यक्षेत्रबाट सरुवा नगर्न र नगराउन आग्रह गर्नुभयो । छोटोछोटो समयमा सरुवा गर्ने प्रवृतिले गर्दा कार्यसम्पादनमा प्रभाव पर्नेतर्फ सचेत गराउनुभयो । उहाँले अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यकता औँल्याउँदै विकास समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा चालु आवको प्रथम त्रैमासिकसम्मको प्रगति विवतरणअनुसार कार्यान्वयन गर्नुपर्ने ३४ वटा ‘माइलस्टोन’ मध्ये २१ वटाको कार्य सम्पन्न भएको छ । काम हुन नसकेका ‘माइलस्टोन’ १० वटा छन् भने सम्पन्न हुने प्रक्रियामा रहेका तीन वटा रहेका छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले समस्या र सहजीकरणका विषयमा आयोग सहयोग र सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । सचिव राधिका अर्यालले पुँजीगत खर्च बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले मन्त्रालयको ‘माइलस्टोन’ मा राम्रो प्रगति भएको बताउनुभयो । उहाँले आगामी बैठकमा उपलब्धि र प्रभावलाई आलोचनात्मक समीक्षाका हुनुपर्ने रायसमेत राख्नुभयो ।

खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण

ओखलढुङ्गा, १२ कात्तिक : यहाँको खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल ह्युमन फाउण्डेशनले दुई वटा एम्बुलेन्स सहयोग गरेको छ । कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होङ गिलको नामबाट स्थापित उक्त संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको छ ।

आज काठमाडौँमा एक कार्यक्रमबीच फाउण्डेशनका प्रमुख क्याप्टेन अम होङ गिलले खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गर्नुभयो । एम्बुलेन्स केही महिना अघि पालिकाले प्राप्त गरिसकेको भएपनि औपचारिक रुपमा हस्तान्तरण आज गरिएको हो ।

नेपाल विश्वकै सुन्दर देश भएपनि शिक्षा र स्वास्थ्यमा समस्या देखेपछि आफुले सहयोगका कार्यक्रम ल्याएको प्रमुख गिलको भनाई छ । उहाँले सगरमाथासहित नेपालका दर्जनौं हिमाल आरोहण गरिसक्नुभएको छ ।

एम्बुलेन्स दाता गिललाई खिजीदेम्बावासीले सम्मान गरेका छन् । एम्बुलेन्स सुविधा नहुँदा भौतिक पूर्वाधारमा जिल्लाकै दुर्गम खिजीदेम्बा गाउँपालिकाबाट सामान्य उपचारका लागि समेत महङ्गो भाडा तिरेर निजी सवारी वा हेलिकप्टर चार्टर गरेर अस्पताल जानुपर्ने बाध्यता थियो ।

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्योः उद्योगमन्त्री भण्डारी

काठमाडौँ, १२ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक्स कन्फरेन्समा आज उहाँले एआईसम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकासमार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्नेगरी सरकार लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी यसका लागि नीतिगत र कानुनी संरचना निर्माण र पूर्वाधार विकासमा लागेका छौँ । डिजिटल पूर्वाधार विस्तार र सुदृढीकरण, औद्योगिक क्लस्टर र टेक्नोलोजी पार्क स्थापना, इन्टरनेट कनेक्टिभिटी र नेटवर्क विस्तार, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ सेवा, एआई अनुसन्धान र विकास, क्षमता विकास, उद्योग–शिक्षा साझेदारी, अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान हस्तान्तरण, स्टार्टअप इन्क्युबेसन र एक्सेलेरेसन, लगानी प्रवर्द्धनजस्ता क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।”

मन्त्री भण्डारीले आफू नेतृत्वको मन्त्रालयले डिजिटल नेपाल औद्योगिक रूपान्तरण कार्यक्रम, एआई इनोभेसन हब स्थापना र युवा उद्यमी डिजिटल सशक्तीकरण कार्यक्रमहरू अघि बढाउने योजना बनाएको बताउनुभयो । “यी सबै प्रयासहरूको मुख्य लक्ष्य भनेको नेपालको औद्योगिक क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान पु¥याउनु हो । नेपाली युवाको जीवनका लागि एआई भन्ने यस सम्मेलनको नाराले पनि हाम्रो युवा पुस्तालाई डिजिटल युगको अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । आजको छलफलले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा एआई र रोबोटिक्स प्रविधिको भूमिका र सम्भावनाहरूबारे गहन छलफल गरिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका विकास र प्रगतिहरूले मुलुकको औद्योगिक रूपान्तरणका लागि नयाँ दिशा र सम्भावनाहरू प्रस्तुत गरेको बताउनुभयो ।

एआईको प्रयोग र प्रभावले स्मार्ट म्यानुफ्याक्चरिङ, आपूर्ति शृङ्खला व्यवस्थापन र ग्राहक सेवा तथा बजार विश्लेषण गरी स्वचालित ग्राहक सेवा र समर्थन, बजारको प्रवृत्ति विश्लेषण, ग्राहक व्यवहार अध्ययन, व्यक्तिगत सिफारिस प्रणाली, सामाजिक सञ्जाल अनुगमन र विश्लेषण जस्ता आयाममा उल्लेखनीय योगदान र सहजीकरण गर्दै आएको भन्त्री भण्डारीस्को भनाइ थियो ।

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

काठमाडौँ, १२ कात्तिकः यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो ।

एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताउनुभयो । नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ । यद्यपि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ ।

यस वर्षको तिहारको लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकामा २५ लाख मालाका लागि मात्र नेपालमा उत्पादन हुने गरेको बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको सोसिएसनले जनाएको छ ।

हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको एसोसिएसनका अध्यक्ष बादेले बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ । गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो ।

यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूलखेतीमा ठूलो नोक्सानी बेहोर्नु परेको छ । वर्षाको कारण रु १५ करोड बराबरको नोक्सान भएको सोसिएसनले जनाएको थियो ।

नेपालमा व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएका एसोसिएसनको तथ्याङ्क छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गर्ने गरेका छन् ।

अख्तियार विकासको बाधक हुँदैनः प्रमुख आयुक्त राई

काठमाडौँ, १२ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा सांसदले राख्नुभएको जिज्ञासाको जवाफमा उहाँले कानुन कार्यान्वयन गर्ने निकाय र पदाधिकारीले इमान्दार काम गरेमात्रै पनि मुलुकमा सुशासन कायम हुने बताउनुभयो ।

“भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार मात्रै हो कि भन्ने जनमानसमा परिरहेको छ । त्यो होइन, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न विभिन्न क्षेत्रगत ऐन जारी भएका छन् । त्यसको पालना भएमात्रै अख्तियारको आवश्यकता नै नपर्ने थ्यो”, उहाँले भन्नुभयो ।

अख्तियार विकासको बाधक भयो कि भनेर कहिलेकाहीँ प्रश्न उठ्ने गरेको सन्दर्भ सुनाउँदै उहाँले यससम्बन्धमा स्पष्ट हुन आयोगले सरकारलाई २२ वटा लिखित सुझाव दिएको बताउनुभयो । “ती २२ बुँदामा कानुनको परिपालना गर्नुस्, प्रथाका रुपमा अघि नबढ्नुस् भनेको हो”, उहाँले स्पष्ट पार्नुभयो, “आयोगले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्नुस् मात्रै भनेको हो ।”

कानुनको उल्लङ्घन गर्ने विषय बानी परिसकेकाले अख्तियारको निर्देशनलाई नयाँ कानुनका रुपमा अथ्र्याएको सन्दर्भ सुनाउँदै प्रमुख आयुक्त राईले दाताले दिएको सहयोगको कार्यान्वयनमा पनि आन्तरिक कानुन आकर्षित हुनुपर्ने बताउनुभयो ।

‘सरकार र अख्तियारले कार्यशैली सुधार्नुपर्छ’
विधेयकमाथिको छलफलका क्रममा सांसद हितराज पाण्डेले भ्रष्टाचारका मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्न ऐन समयानुकूल बनाइनुपर्ने बताउनुभयो । सांसद दीलेन्द्रप्रसाद बडूले अख्तियारको कार्यक्षेत्र र कार्यबोझ बढेको अवस्थामा निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरामा ल्याउने विषयलाई गम्भीर ढङ्गबाट सोच्नुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रप्रसाद पाण्डले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुन नसक्नुमा राज्य संयन्त्रकै असफलता हो कि ? भन्ने प्रश्न उभिएको बताउनुभयो । सांसद रघुजी पन्तले भ्रष्टाचारका घटनामा निजी क्षेत्रको संलग्नता भएका अवस्थामा के गर्ने भन्ने बारेमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

सांसद अशोककुमार राईले भ्रष्टाचार वृद्धि भएको तथा सुशासन कमजोर भएको अवस्थामा सुधार गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनलाई बलियो बनाइनुपर्ने बताउनुभयो । सांसद प्रकाश अधिकारीले सुशासन कायम गर्न भ्रष्टाचारलाई पूर्णरुपमा निरुत्साहित गर्ने प्रावधान समेटेर ऐन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अम्बिका बस्नेतले मुलुकको समृद्धि र सुशासनको बाधकका रुपमा भ्रष्टाचार अगाडि आएको उल्लेख गर्दै जिम्मेवार ओहदामा रहेका पदाधिकारीले इमान्दारिता र नैतिकता प्रस्तुत गर्न सक्नुपर्ने बताउनुभयो । सांसद मेनुकाकुमारी पोखरेलले भ्रष्टाचार नियन्त्रण गर्न कानुन बनाएर मात्रै नपुग्ने तथा कानुन कार्यान्वयनमा बलियो प्रतिबद्धताको खाँचो औँल्याउनुभयो ।

सांसद हृदयराम थानीले मुलुकमा सुशासन नभएको भन्ने जनगुनासालाई सरकार र अख्तियारले गहिरोसँग मनन गरे कार्यशैली सुधार्नुपर्ने बताउनुभयो ।

सांसद सरिता प्रसाईले सरकारको नेतृत्व गर्नेले भ्रष्टाचार नियन्त्रणमा पहलकमदमी लिनुपर्ने बताउनुभयो । सांसद दुर्गा राईले भ्रष्टाचार नियन्त्रण नारामै मात्र सीमित भएकाले मुलुकमा सुशासन कायम हुन नसकेको बताउनुभयो ।

कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ, १२ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

हर्कुलस बस्नेतको ‘मेरो अन्तिम माया’

काठमाडौं । स्थापित संगीतकार तथा गायक हर्कुलस बस्नेत र ‘दि कुज’ ब्याण्डको संयुक्त प्रस्तुतिमा गीत ‘मेरो अन्तिम माया’ सार्वजनिक भएको छ । हालै युट्यूवबाट वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमभाव प्रस्तुत गर्छ ।

प्रेम प्राप्तिको लागि गरिएको त्याग र प्रतिक्षालाई गीतको शब्दमार्फत वर्णन गरिएको छ । गीतको संगीत हृदयस्पर्शी छ । गीतमा स्वर तथा संगीत हर्कुलस एण्ड ब्याण्डको छ । शब्द रचनाकार उर्मिला गुरुङ हुन् ।

झण्डै एक दशक लामो सांगितिक करियरमा थुप्रै फिल्ममा संगीत भरिसकेका हर्कुलस युवा पुस्तामा रुचाइएका सर्जकमा पर्छन् । उनले गीतमा जोड्ने मेलोडियस संगीतले मन्त्रमुग्ध पार्छ । ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’ लगायतका फिल्ममा उनको गायन र संगीत जोडिएका थुप्रै गीत करोडौंले हेरेका छन् ।

पछिल्लो रिलिज यो गीतमा मिक्सिङ तथा मास्टरिङ निश्चल भण्डारीको छ । गौरव बिष्टले छायांकन तथा सम्पादन गरेका हुन् । ‘मेरो अन्तिम माया’लाई अमेरिका रहँदै आएकी दिलाशा बस्नेतले निर्माण गरेकी हुन् ।संगीतको कुनै वर्ग र सिमा नहुने भन्दै युवा पुस्तादेखि वयस्कसम्मका संगीत पारखीहरूलाई लक्षित गरेर यो गीत तयार गरिएको हर्कुलस बताउँछन् ।

तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनको उद्घाटनमा जे देखियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनको उद्घाटन गर्नुभएको छ । शनिबारदेखि काठमाडौंमा आरम्भ भएको विश्व नेपाली साहित्यक सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्व अधिक रहेको बताउनुभयो । उक्त अवसरमा उहाँले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पद चिहृन छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको थियो ।

उहाँले देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने बताउँदै कोभिड-१९ का बेला ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मिलिनमा सहभागिताका लागि स्रष्टाहरूलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारहरूलाई सम्मान पनि गर्नभएको थियो । सो अवसरमा एकै साथ १४ वटा पुस्तकहरूको लोकार्पण गरिएको थियो ।

‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा–प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका बौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारलगायतको उपस्थिति थियो । महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’ले कार्यक्रमलाई पाँच सत्रमा विभाजन गरिएको जानकारी गराउनुभयो ।

शनिबारको कार्यक्रममा केही सिर्जना वाचन र विशिष्ट मन्तव्यहरू रहेका थिए । चौथो सत्र आज (आइतबार) बिहान सात बजेदेखि सुरु हुने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । शनिबारको सत्रमा शाखाहरूले गरेको कार्य र भावी योजनाहरूका बारेमा रिपोर्टिङ हुने उहाँले बताउनुभयो ।

भावुक मुद्रामा देखिइन् पूर्णिमा लामा, भनिन् पुरानो घाउ बल्झियो

काठमाडौँ । गायिका पुर्णिमा लामाको स्वरमा पुरानो घाउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन् । आँफुलाई भन्दा बढी माया गरेको प्रेमीले धोका दिएपछि प्रेमीकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पुर्णिमा लामा स्वयम फिचर्ड छिन् ।

भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका छन् । प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

सङ्खुवासभामा मादलको व्यापार घट्दो

खाँदबारी, १२ कात्तिक : सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री सुरु भए पनि व्यापार भने घट्दो छ ।

एउटा मादलको मूल्य रु तीन हजारदेखि १५ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरकफरक पर्दछ । मादल व्यवसाय गर्दै आउनुभएका भोजपुर षडानन्द नगरपालिका–६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरुमा व्यवसायमा निरासा आएको बताउनुभयो ।

केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो । तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको हो । डिजिटल गीतसङ्गीतको कारण मादल नै सङ्कटमा पर्न थालेको छ । जसले गर्दा यो व्यवसायमा लागेकालाई भने झनै समस्या पर्दै गएको भोजपुर दिङ्लाकै अर्का मादल व्यवसायी बलबहादुर बयलकोटीले बताउनुभयो । पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप हुँदै गएको बयलकोटीले बताउनुभयो ।

विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्रीमा कमी हुँदा मादल बजाउनेकै सङ्ख्या पनि कम हुँदै गएको छ । पछिल्लो समय मादल बिक्री हुन छोडेपछि इलेक्ट्रोनिक्स साउण्ड सिस्टमको माग बढी रहेको व्यापारी बताउँछन् ।

ठूला–ठूला मेला महोत्सवका लागि मात्र प्रयोग हुने विद्युतीय बाजा हिजोआज तिहारमा भैलो खेल्नका लागि पनि प्रयोग हुन थालेका कारण मादल बनाउने पेसा अँगालेका व्यक्तिको व्यवसाय नै सङ्कटमा पर्दै गएको छ ।

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

काभ्रेपलाञ्चोक, १२ कात्तिक : गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा रु एक अर्ब बराबरको क्षति पु¥याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ । आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब रु एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपदपछि पुनःनिर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताउनुभयो । उहाँका अनुसार ध्यानाकर्षणपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन््रसमेतको पुनःनिर्माणका लागि ध्यानाकर्षण गराइएको छ ।

नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँले गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब रु एक अर्ब बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाइएको नगर प्रमुख ब्याञ्जूले बताउनुभएको छ । नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्सातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा र पाँच सय ७२ घर आंशिक क्षति भएका छन् । धिताल खोलाहुँदै बहने सिँचाइमा रु ५० लाख बराबरको क्षति पुगेको छ भने साढे आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा एक सय १० किमी कच्ची सडक पूर्ण क्षति पुगेको कार्यालयले जनाएको छ । यस्तै पशुधनमा रु १८ लाख बराबरको पशुधन क्षति भएको, ११ वटा विद्यालयमा रु पाँच करोड २५ लाख, बराबरको क्षति भएको जनाइएको छ ।

यसैगरी नगरको आफ्नै फाइबर केबुल पाँच हजार मिटर, टिफिन बक्स, क्यामेरालगायतका विभिन्न उपकरणमा क्षति पुगेको छ । यस्तै एक हजार दुई सय रोपनीको मकै, दुई हजार पाँच सय रोपनीको धान, दुई हजार रोपनीमा लगाएको तरकारी र १५ वटा तरकारी टनेलमा क्षति पुगेको जनाइएको छ । नगरले निजी आवासबाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।

जिल्ला सदरमुकाम धुलिखेलमा रहेका नेपाली सेनाको काली जङ्ग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याब, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, सञ्जीवनी स्कुल, होटल तथा अन्य संरचनामा समेत क्षति पुगेको बताएको छ ।

यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणको लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरले नेपालका लागि जर्मनी राजदूत शनिबार डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरले जनाएको छ ।

भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको नगरप्रमुख ब्यान्जूले बताउनुभयो । उहाँका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन् ।

उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा रु दुई करोड चार लाख क्षति भएको जनाइएको छ । बाढीपहिरोबाट नगरको दश वटा वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपंक्षी तथा केही वडामा मानीवय क्षति पुगेको थियो । उक्त घटनामा दुई जनाले ज्यान गुमाएका थिए एक महिला अझै बेपत्ता अवस्थामा हुनुहुन्छ ।

सिस्नेटारमा सयपत्री फूल बिक्री गरेर दुई लाख आम्दानी

दैलेख, १२ कात्तिक : सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् ।

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाउनुभएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उहाँले वर्षदेखि फूलखेती गर्नुभएको हो । उहाँले भन्नुभयो “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।”

उहाँले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाउनुभएको थियो । उहाँले भन्नुभयो, “गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रु दुई लाख आम्दानी हुने अनुमान उहाँले गर्नुभएको छ ।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताउनुभयो । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उहाँले तीन जनालाई रोजगारसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, “ तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । ”

यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख राजस्व सङ्कलन

बागमती, १२ कात्तिक : यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट रु दुई करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट रु सात करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट रु १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो÷ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय,व्यापारीलाई बिक्री गर्न र उत्पादन गर्न भ्याइनभ्याइ

रामपुर (पाल्पा), १२ कात्तिक : पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उहाँहरुको व्यस्त बढेको छ ।

तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउनुहुन्छ । उहाँ रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुनुहुन्छ । हाल नौजना कामदार झिनिया उत्पादनमा खटिनुभएको छ । “चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ”, उहाँले भन्नुभयो । उहाँले विगत एक दशकदेखि झिनिया व्यवसाय चलाइरहनुभएको छ । विशेष गरी दशैँ तिहार लक्षित गरेर उत्पादन गर्दै आउनुभएको छ । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दशैँ तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व अउनु एक÷दुई महिनाअघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको उहाँबताउनुहुन्छ ।

रामपुर उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका रुद्रनारायण आजभन्दा एक दशकअघि रामपुरमा यो व्यवसाय थालनी गर्ने एक्लो व्यवसायी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँले थालनी गरेको व्यवसाय सिको गरेर केहीले सानोरुपमा भए पनि व्यवसाय थालनी गरेको देख्दा खुसी लागेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सहर बजारमा जाने क्रममा पसलमा झिनिया रोटीको व्यापार देखेको हो, यो बनाउने तरिका खासै थाहा थिएन, बिक्री राम्रै हुने रहेछ भन्ने लाग्यो, यसो आफैँले जानी नजानिकन हाते मेसिनबाट गर्न थालेको राम्रै हुँदै गएपछि व्यवसायको रुपमा थालनी गरेको हुँ ।”

हाल खुद्रा मूल्य रु एक सय र थोक मूल्य रु ९० मा धमाधम घरबाटै बिक्री भइरहेको छ । यस वर्ष यहाँ उत्पादन भएको झिनिया भैरहवामा समेत खपत भएको रुद्रनारायण बताउनुहुन्छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा राम्रो व्यापार हुने गरेको छ । व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् । यहाँको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा–टाढाबाट आएर लैजाने गर्छन् ।

हाते मेसिनबाट सुरु गरिएको व्यवसाय अहिले भने ठूलै उद्योगको रुपमा स्थापित भएको छ । हाल दैनिक दुईवटा विद्युतीय मेसिनबाट बिहानदेखि साँझ अबेरसम्म झिनिया तयार पार्ने गरिएको व्यवसायी लक्ष्मी बताउनुहुन्छ । “दुईवटा मेसिनबाट एक दिनमा एक हजार झिनिया उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “यस व्यवसायबाट दशैँ तिहारमा मात्रै करिब रु पाँच लाखदेखि सात लाख बराबरको कारोबार हुने गरेको छ ।”

महिलाका लागि यो व्यवसाय आयआर्जनको बलियो माध्यमको रुपमा रहेको लक्ष्मीको अनुभव छ । यस व्यवसायमा आबद्ध भएपछि आफू परनिर्भर हुनु नपरेको उहाँले बताउनुभयो । महिलाले बिहान साँझको घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सकिने र ठूलो लगानी नगरिकन सानो लगानीमा व्यवसाय गर्न लक्ष्मीको सुझाव छ ।

विद्युतीय मेसिन जडान गरेपछि यहाँ उत्पादन बढाइएको छ । यस मेसिनबाट उत्पादन गर्न धेरै सजिलो छ । छोटो समयमा धेरै उत्पादन हुने भएपछि व्यवसाय क्रमशः बढाउँदै लगिएको छ । दुई दिनको पूरा घाममा सुकाइएको झिनिया खानयोग्य हुन्छ । साथै रुद्रनारायणले कालिका सिन्के चाउचाउ उद्योगसमेत चलाउँदै आउनुभएको छ । आफ्नै घरमा उहाँले विसं २०६३ देखि चाउचाउ उद्योग सञ्चालन गरिरहनुभएको छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ । हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

पहिला बजारमा झिनिया अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनिया बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनिया बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनिया खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।

झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरुको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनिया भण्डारण गरेर बजारमा पठाउन सकिन्छ ।

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनिया बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनिया उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ ।

चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनिया बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनिया हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ

दक्षिण लेबनानको लडाइँमा पाँच इजरायली सैनिकको मृत्यु

इजरायली सेनाले आइतबार दक्षिण लेबनानमा पाँच सैनिक मारिएको बताएको छ । योसँगै सेप्टेम्बर ३० मा स्थल अभियान सुरु भएयता त्यहाँ लड्ने सैनिकहरूको मृत्यु सङ्ख्या ३७ पुगेको छ । “सैनिकहरू दक्षिण लेबनानमा लडाइँका क्रममा मारिए”, उनीहरू शनिबार मारिएको उल्लेख गर्दै सेनाले एक विज्ञप्तिमा भनेको छ ।

हिजबुल्लाहले हमासले अघिल्लो दिन इजरायलमा गरेको अभूतपूर्व आक्रमणपछि प्यालेस्टिनी लडाकू समूहको समर्थनमा सन् २०२३  अक्टोबर ८ देखि इजरायलमाथि रकेट प्रहार गर्न थालेको थियो ।    इजरायलले गत महिनाको अन्त्यमा लेबनानमाथि आफ्ना हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाउनुअघि दक्षिण लेबनानमा स्थल अभियानहरू सुरु गरेको थियो ।

आधिकारिक आँकडाहरूमा आधारित एएफपीको गणनाअनुसार सेप्टेम्बर २३ देखि युद्धमा लेबनानमा कम्तीमा एक हजार छ सय १५ मानिस मारिएका छन् । यद्यपि तथ्याङ्कमा रहेको कमीका कारण वास्तविक सङ्ख्या योभन्दा बढी हुन सक्छ ।

पाकिस्तानमा वायु प्रदूषणको स्तर बढेकोमा गम्भीर चिन्ता

पाकिस्तानका एक वरिष्ठ विशेषज्ञले कराँचीमा वायु प्रदूषणको स्तर बढेकामा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले शुक्रबार आगा खान विश्वविद्यालय (एकेयु) मा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको पाकिस्तानी पत्रिका ‘द डन’ ले बताएको छ । यसले पाकिस्तानको कराँची जिल्लामा मानिसहरूको श्वासप्रश्वासको स्वास्थ्यलाई असर गरिरहेको छ ।

‘द डन’ का अनुसार विज्ञले पाकिस्तानको एक मेगा सिटीमा श्वासप्रश्वासको स्वास्थ्यमा कण प्रदूषणको प्रभाव शीर्षकको अध्ययनको निष्कर्ष साझा गर्नुभयो । कणात्मक पदार्थ (पिएम २.५) ले पाकिस्तानको कराँची जिल्लामा श्वासप्रश्वासमा समस्या निम्त्याइरहेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार कालो कार्बन, सल्फेट, अमोनियम र नाइट्रेटको उच्च मात्राले हावाको गुणस्तर खराब हुने र जनस्वास्थ्यमा असर पार्ने गरेको छ ।

“हामीले दैनिक आधारमा एक वर्षमुनिका बालबालिकामा अस्पताल भर्ना २५ देखि ३० प्रतिशतले वृद्धि भएको देखेका छौँ”, वातावरण, व्यावसायिक स्वास्थ्य तथा जलवायु परिवर्तन सामुदायिक स्वास्थ्य विज्ञान सेक्शन प्रमुख प्रोफेसर जफर फात्मी एकुले भन्नुभयो, “यहाँ हामी अस्पताल भर्नाको बारेमा कुरा गर्दैछौँ तर खराब हावाको गुणस्तरले बलियो रोग प्रतिरोधात्मक क्षमता भएकाहरू लगायत सबैलाई असर गर्छ । हामीले जहिले पनि सास फेर्ने हानिकारक कणहरूले हाम्रो शारीरिक कार्यलाई बिस्तारै असर गरिरहेको छ ।”

प्राध्यापकले गम्भीर वायु प्रदुषणका कारण अस्पतालमा भर्ना भएका बिरामीको अवस्था नाजुक रहेको उल्लेख गर्नुभएको डनले बताएको छ । श्वासप्रश्वासको समस्यामा भएको वृद्धिले अस्पताल भर्नामा उल्लेखनीय वृद्धि भएको अध्ययनको निष्कर्षले देखाएको छ ।

प्रतिवेदनअनुसार सडक यातायात र उद्योगबाट निस्कने प्रदूषण नै प्रदूषणको प्रमुख कारण हो । खराब हावा गुणस्तरको मुद्दा खराब व्यवस्थापनका कारण हो ।    पिएम २.५ विभिन्न अस्वस्थकर रसायनहरूको मिश्रण हो । यसले अकाल मृत्यु, हृदय रोग, फोक्सोको सङ्क्रमण, दमको आक्रमण र क्रोनिक ब्रोन्काइटिस निम्त्याउन सक्छ । यस्ता अस्वस्थकर कणले सास फेर्दा मानिसको ज्यान जोखिममा पर्न सक्छ ।

आइसिसी पुरुष क्रिकेट विश्वकप : नेपाल अमेरिकासँग तीन विकेटले पराजित

काठमाडौँ, १२ कात्तिक : आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।

अमेरिकाको लागि शयान जहाजिंगरले सर्वाधिक एक सय चार रनको योगदान दिए । उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका हुन् । त्यसैगरी कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौकासहित ६२ रनमा बनाए । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । शाड्ली भानले शाक्ली २७, जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन बनाए भने मिलिन्द कुमारले पाँच रन जोडे ।

नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको योगफल बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।

त्यस्तै ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए । त्यसैगरी आरिफ शेख ३७, कुशल भुर्तेल ११, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए । अमेरिका नोष्थुश केन्जिगेले ४ विकेट लिए भने हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान १–१ विकेट लिए । नेपालले अब मङ्गलबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अङ्कविहीन हुँदै ३ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका १० खेलमा ७ मा जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरले दुर्घटना बढाउँदै

इलाम, १२ कात्तिक : यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् ।

कात्तिक सुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्याङ्क जिल्ला अस्पतालसँग छ । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिनुभयो । गत आव २०८०÷८१ मा भने सात सय ३५ जनालाई कुकुरले टोकेर भ्याक्सिन लगाएको उहाँले बताउनुभयो ।

फिक्कलबाट आइतबार सदरमुकाम आइपुग्नुभएका सन्देश खड्काको मोटरसाइकल  कुकुरमा अल्झिएर लड्यो । “कुकुर जोगाउने हुँदा बाइक हुत्तिएर नालिमा लड्यो र बचेँ, गाडीमा ठोक्किएको भए ज्यान जाने थियो”,’ उहाँले भन्नुभयो, “स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायत सबै सरकारी निकाय यहीँ छन् । छाडा कुकुर व्यवस्थापन गर्नु उनीहरुको दायित्त्व हो ।”

छाडा कुकुरको व्यवस्थापन इलाम नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको स्थानीयले बताए ।

नगरपालिकाले कुकुर व्यवस्थापनका लागि बजेट विनियोजन गरेर योजना अघि बढाएको जनाएको छ । छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापनको पहल थालेको जनाएको हो ।

इलाम बजारका छाडा कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न कुकुरको बन्ध्याकरण शिविर चलाउन लागिएको नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । “छाडा कुकुरका कारण इलाम बजार अव्यवस्थित तथा दुर्घटनाको जोखिमसमेत बढेकाले कुकुरहरुको यथोचित व्यवस्थापनका लागि बन्ध्याकरण उपयुक्त विकल्प भएको निष्कर्षसहित तयारीमा लागेका छौँ”, नगर प्रमुख थापाले भन्नुभयो, “छाडा कुकुरले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि कुकरलाई रेबिज विरुद्धको खोप दिने र बन्ध्याकरण गरिनेछ । योजना कार्यन्वयनसँगै सडकमा हिँडडुल गर्ने नागरिक कुकुरबाट सुरक्षित हुनेछन्, रेबिज रोगको जोखिम कम हुनेछ ।”

कुकुरको टोकाइबाट रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुन्छ । विभिन्न जिल्लामा ‘नो बेबी, नो रेबिज’ भन्ने नाराका साथ रेबिजविरुद्धको खोप लगाउने गरिएको छ । अरु जिल्लामा व्यवस्थापनसहित विभिन्न अभियान चलिरहेको भए पनि इलाममा छाडा कुकुर व्यवस्थापन गर्न नसकिएको पशु प्राविधिक प्रदीप गुरुङले बताउनुभयो । बजार क्षेत्रमा मात्र दुई सय हाराहारीमा छाडा कुकुर रहेको अनुमान छ ।

तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्दो

धरान (सुनसरी), १२ कात्तिक : तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।

पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ । धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आउनुभएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्रि बढेको बताउनुहुन्छ ।

विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आउनुभएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ ।” 

उहाँकाअनुसार लक्ष्मी पुजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उहाँले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आउनुभएको छ ।

धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउनुहुन्छ । विगत २० वर्षदेखि उहाँले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आउनुभएको छ ।

 उहाँले भन्नुभयो, “आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत सङ्गीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउण्ड सिस्टम प्रयोग गर्नेहरु पनि अहिले मादल किन्न खोजी गर्दै आउने गरेका छन् ।” तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उहाँको भनाइ छ । तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु समयमा महिनामा २÷४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र रु एक लाख बढीको बिक्री हुने गरेको छ ।”

 भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उहाँले पसलमा रु तीन हजारदेखि रु आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताउनुभयो ।  

विगत नौ वर्षदेखि मादलसँगै खुकुरी बेच्दै आउनुभएका इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारील तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउनुभयो । उहाँकाअनुसार विशेषगरी सुनसरी र पूर्वी पहाड पाँचथर, तेह्रथुमलगायतका विभिन्न सहर र गाउँमा मादलको धेरै माग हुने गरेको छ ।

उपत्यकावासीका लागि बाह्रै महिना स्वच्छ पानी उपलब्ध गराउन मन्त्री यादव प्रतिबद्ध

काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादव सम्मानित हुनुभएको छ । उहाँ मन्त्री भएपश्चात उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले सम्मान गरेको हो ।

मन्त्री यादवले सम्मान कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यकावासीका लागि बाह्रै महिना स्वच्छ पानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानिसलाई पानी नभइ नहुने कुरा हो, पानीविना बाँच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कदम चालिनेछ ।”

यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरु सम्बोधन गर्न सधैँ तत्पर रहेको बताउनुभयो । कोटेश्वर क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माणका लागि त्यहाँका स्थानीयवासी एवं सङ्घर्ष समितिले राखेका मागका विषयमा उहाँले ओभरहेड ट्याङ्की निर्माण गर्न बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न सिस्नेरीबाट पानी ल्याउने पहल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानीको आवश्यक छ, अहिले जम्मा १७ करोड लिटर पानी वितरण गरिरहेका छौँ, हामीले थुप्रै योजना अघि सारेर पानीको समस्या समाधान गर्ने छौँ ।”


सोही कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुनिल केसीले यसवर्ष समयमै मेलम्ची लगायतका क्षेत्रबाट पानी ल्याएर नागरिकलाई सुविधा दिएको भन्दै मन्त्री यादवको प्रशंसा गर्नुभयो ।

ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना मजदुर अलपत्र

राजविराज (सप्तरी)-यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् ।

भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुरहरु अलपत्र परेका हुन् । भारतको उत्तरप्रदेश जिल्ला सम्भल थाना हजरनगरगढीका सोनु सागरले १२ दिन जसोतसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसे पनि ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र परेको बताउनुभयो । उहाँले भारतबाटै मो. जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको बताउनुभयो । 

सोही ठाउँका अर्का मजदुर बोहरा सिँहले इँटा उद्योगमा १२ दिन बसेको तर मालिकले खाना दिन छाडेपछि तीन दिनदेखि राजविराजमा भोकै बसेको बताउनुभयो । “हामीसँग पैसा छैन, घर जाने पैसा पनि छैन । कसरी घर फर्किने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो । 

जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगबाट ११ बालबालिका, १५ महिलासहित ४४ भारतीय मजदुरको उद्धार गरेको जनाएको छ । प्रहरीले उद्धार गरी सदरमुकाम राजविराज ल्याएपछि इँटा व्यवसायीले खाना खुवाइरहेका छन् । 

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मजदुरहरु ल्याउने फरार ठेकेदारको खोजी भइरहेको र उनीहरुलाई भारत पठाउने प्रयाससमेत भइरहेको जानकारी दिनुभयो ।  

गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार

ललितपुर (गोदावरी)- जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने रु एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले पुष्प व्यवसाय प्रदर्शनी गरिएको थियो । मेलाको पहिलो दिनमा रु २५ लाख, दोस्रो दिनमा रु २५ लाख, तेस्रो दिनमा रु ५० लाख र अन्तिम दिनमा रु २८ लाखको कारोबार भएको थियो ।

यस वर्षको मेलामा बहुवर्षे फूल र इन हाउस ग्रिन प्लान्टप्रति अवलोकनकर्ता बढी आकर्षित देखिएका छन् । मेलामा ७५ वटा प्रदर्शनी कक्ष, ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र एक सेल्फी स्टल आयोजकले जनाएको छ ।

अण्डाको मूल्य वृद्धिपछि किसानलाई राहत

चितवन- गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार सोमबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ । यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा रु तीन सय ६०, मध्यम रु तीन सय र एक्सएल रु तीन सय ७५ मा झरेको थियो ।

विगत दुई सातायता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताउनुभयो । लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो । भदौ पहिलो साता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २२ लाख हाराहारीमा झरेको छ । उहाँको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएका छन् ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेल किसानले पालेका अण्डा उत्पादन हुने कुखुराहरु बिक्री भएको र नयाँ चल्ला हुर्किन नसक्दा उत्पादन घटेको बताउनुहुन्छ । कँडेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएको बताउनुभयो । लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अवस्था आएमा बाँकी किसान पनि विस्थापित हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अण्डाको मूल्य बढ्दै गएपछि हामी जस्ता किसानमा केही आशा पलाएको छ ।”

दमौली बजारमा सडक विस्तारले गति लिँदै

दमौली (तनहुँ), १२ कात्तिक : निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।

दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ । 

पाण्डेले भन्नुभयो, “केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ ।” पाण्डेकाअनुसार सडकविन्दुबाट १२ दशमलव २५ मा नाला निर्माण हुनेछ । बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उहाँले जानकारी दिनुभयो । 

पाण्डेले भन्नुभयो, “दसैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दसैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ । मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन ।”

सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन् । केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताउनुभयो । 

पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ । 

पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उहाँले बताउनुभयो । 

उहाँकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको छ । त्यस्तै पहिरोजन्य समस्याले पनि काममा अवरोध पुगेको थियो । त्यस वर्षका लागि आयोजनाका लागि पुँजीगततर्फ रु दुई अर्ब ९९ करोड बजेट विनियोजन भएकामा रु दुई अर्ब १४ करोड खर्च भएको जनाइएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, १२ कात्तिकः नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया  १० र बिक्रीदर एक सय ७४ रुपैँया  ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपँैया ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैँया ५९ पैसा र बिक्रीदर एक सय २ रुपैँया ४ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैँया ८१ पैसा र बिक्रीदर आठ रुपैँया ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८५ पैसा र बिक्रीदर १८ रुपैँया ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८२ पैसा र बिक्रीदर ३६ रुपैँया ९८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैँया ९९ पैसा र बिक्रीदर चार रुपैँया, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५५ पैसा र बिक्रीदर ३६ रुपैँया ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैँया ९३ पैसा र बिक्रीदर ३१ रुपैँया ७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ६७ पैसा र बिक्रीदर ९ रुपैँया  ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ६४ पैसा र बिक्रीदर १२ रुपैँया  ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ४२ पैसा र बिक्रीदर १९ रुपैँया ५१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २८ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया १२ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैँया ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ६४ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग

जुम्ला, १२ कात्तिक : यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ । उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गर्नुभएको थियो ।

निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको छ । बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पु¥याउने नीति अनुरूप प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले जानकारी दिनुभयो ।

“स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रहरूमा सहयोग पु¥याउनु नै हाम्रो सामाजिक उत्तरदायित्वको प्रमुख उद्देश्य हो”, उहाँले भन्नुभयो । संस्थागत सामाजिक उत्तरदायित्व भन्नाले कुनै पनि संस्थाले आफ्नो नाफाबाहेक समाजमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले गरिने प्रयासलाई जनाउने निर्देशक टन्डनको भनाइ छ ।

संस्थाहरूलाई समाजप्रतिको जिम्मेवारी वहन गर्न वातावरणीय, सामाजिक, आर्थिक क्षेत्रहरूमा दीर्घकालीन र दिगो विकासका लक्ष्य लिने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत् प्रतिष्ठानलाई महत्वपूर्ण सहयोग प्राप्त भएको प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीले जानकारी दिनुभयो ।

“बैंकको यस किसिमको सकारात्मक कदम सदैव स्वीकार्य छ । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणमा निरन्तर योगदान दिनु एउटा उदाहरणीय कार्य हो”, उहाँले भन्नुभयो ।

प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बैंकको सामाजिक उत्तरदायित्वको अभ्यासले प्रतिष्ठानलाई संस्थागत रुपमा खुसी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले स्वास्थ्य सेवामा गुणस्तर सुधार्न सहयोग गरेको छ । बैंकको स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।”

सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै बैंकले यस प्रकारको सहयोगलाई निरन्तरता दिनुपर्ने रजिस्ट्रार महतले बताउनुभयो । कृषि विकास बैंकले देशभरका दुई सय ८५ शाखाबाट सेवा प्रवाह गरेको सो बैंकको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

काठमाडौँ, १२ कात्तिक – न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।

परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौँको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।  

मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति

काठमाडौँ, ११ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र र संविधानको संरक्षण गर्न मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लागिरहने बताउनुभएको छ ।

राष्ट्रपतिभवन शीतल निवासमा आत्रेय गोत्रीय पौडेल कुल पूजा व्यवस्थापना समितिले आज गरेको अभिनन्दन कार्यक्रममा उहाँले आफूले पदभन्दा निष्ठा, आदर्श र नैतिकतालाई सधैँ ठूलो मानेकाले राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “मलाई पदभन्दा पनि ठूलो निष्ठा आदर्श र नैतिकता लाग्छ । लामो राजनीतिक जीवनकालमा कुलको इज्जत जोगाएर राखेको छु । खोट लगाउने कुनै काम गरेको छैन र गर्ने पनि छैन ।”

उहाँले लोकतन्त्र र संविधानको संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन र राष्ट्रहितमा सधैँ काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मलाई मुलुकले दिएको अभिभावकीय जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नेछैन । जीवनभर निष्ठा, आदर्श र नैतिकता जोगाएर कुलको मात्र नभई नेपालीकै इज्जत राख्नेछु”, राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेललाई कुल वंशीय जेष्ठ सदस्य पुन्यप्रसाद पौडेलले अभिनन्दन पत्र अर्पण गर्नुभएको थियो । समारोहमा संयोजक साहित्यकार मुकुन्द पौडेलले कुलवंशको परम्पराबारे प्रकाश पार्दै आमन्त्रित सबैमा स्वागत गर्नुभएको थियो । कवि तथा कलाकार रमेश पौडेलले राष्ट्रपति पौडेलले आस्था र निष्ठाको आदर्शमार्गबाटै कुलदीपकको ज्योति छरेको बताउनुभयो । अभिनन्दन तथा सम्मान समारोहमा तनहुँ, चितवन र काठमाडौँका आत्रेय गोत्रीयलगाय क्षेत्र बन्धुहरूको सहभागिता रहेको थियो ।

मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार

लुम्बिनी, ११ कात्तिकः मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियानका क्रममा एक सय २८ सडकआश्रित मानवको उद्धार गरिएको छ । अभियानकै क्रममा लुम्बिनी प्रदेशका जिल्लाहरुबाट भने हाल सम्म २८ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् ।

झापाको मेची पुलबाट सुरु भएको उद्धार अभियानको टोली १३औँ दिनमा आज लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आइपुगेको हो । लुम्बिनी प्रदेशको राजधानी पुगेको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत तथा सम्मान गर्नुभयो । 

त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिनुहुँदै उहाँले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडकआश्रित मानवमुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताउनुभयो ।  

मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसाबले बाँच्न पाउने अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । “यहाँहरुले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ । मानव भएर मानवको हिसाबले बाँच्न पाउनुपर्छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार यस अभियानमा साझेदारी गर्न चाहन्छ । हामी आउने वर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहने गरी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौँ ।” 

मुख्यमन्त्री आचार्यले टोलीमा सहभागी आनीछोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायिका आनीछोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सम्मान गर्नुभयो ।

सडकपेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मीहरु रहेका छन् । मानवसेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । उद्धार यात्राको खर्च आनीछोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने सङ्कल्प गरेको छ ।

बार अध्यक्षद्वारा लिखित जवाफ पेस : ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’

काठमाडौँ, ११ कात्तिक : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै आफ्नो अभिव्यक्तिबाट अदालतको अवहेलना गर्ने मनसाय नभएको बताउनुभएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासल यही कात्तिक १ गते अध्यक्ष घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सूचना पाएको मितिले सात दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।  नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो ।

“बारका अध्यक्षले अदालतको जनआस्था अभिवृद्धिमा र स्वतन्त्र न्यायपालिकाको रक्षार्थ रक्षाकवचकै रूपमा अग्रपङ्क्तिमा रही सदा कार्य गर्दै आएको अवस्थामा अदालतको अवहेलना गर्ने कार्य गरेको भन्ने परिकल्पनासम्म पनि गर्न सकिदैँन”, लिखित जवाफमा भनिएको छ, “न्याय परिषद्बाट हुने निर्णयले संविधानको भावना र आत्मा नमरोस् र न्यायिक जवाफदेहिताको सिद्धान्तलाई शिरोपर गरोस् भन्ने मेरो अभिप्राय हो, मेरो अभिव्यक्तिलाई गलत अर्थ नलगाइयोस् भन्ने मेरो आग्रह छ ।”

नेपाल बार एसोसिएसन हरहमेशा न्यायपालिकाको रक्षाकवच बनेर आफ्नो भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै बार–बेन्च एकै रथका दुई पाङ्ग्रा भएको र एकले अर्काको अहित चिताई काम गर्छन् भन्ने कल्पना गर्न नसकिने लिखित जवाफमा उल्लेख छ । लिखित जवाफमा भनिएको छ, “न्यायाधीश नियुक्ति स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्छ, यसले अदालतप्रति सारा नेपालीको जनआस्था अभिवृद्धि गर्नमा सहयोगी हुनुपर्दछ भन्ने मेरो सदाशयता रहेको छ ।”

बारको जायज सरोकारको बेवास्ता गर्दै सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीशमध्ये दुई  न्यायाधीश मात्र नियुक्ति सिफारिस गरेको विषयमा व्यापक जनसरोकार रहेकामा काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको एक कार्यक्रममा बारको अध्यक्षको हैसियतले प्रमुख अतिथिका रूपमा राखेको धारणा र व्यक्त गरेको अभिव्यक्तिमा लेनदेन तथा हिसाबकिताब मिलाउन भनिएको विषय न्यायाधीश नियुक्तिमा विगत देखिका विभिन्न खालका प्रभावको हिसाब किताब र लेनदेनको सन्दर्भमा रहेको जनसरोकारको विषय उल्लेख गर्न खोजेको स्पष्ट पार्न चाहेको समेत उल्लेख छ ।

साफ माहिला च्याम्पियनसिप : रेखालाई रातो कार्ड, नेपाल १० खेलाडीमा सीमित

काठमाडौँ, ११ कात्तिक : साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । नेपाल अहिले १० खेलाडीमा सीमित बनेको छ ।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । तनावका कारण अहिले खेल रोकिएको छ । यसअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । 

निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेन । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।  

नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।  

दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ । 

‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न उद्योग वाणिज्य महासंघको माग

काठमाडौँ, ११ कात्तिक ː नेपाल उद्योग बाणिज्य सङ्घ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ ।

हाल चाडपर्वको समयमा ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि लाइन काटिएको घटनामा सङ्घको गम्भीर रूपमा ध्यानाकर्षणसमेत भएको सङ्घले जनाएको छ । सङ्घद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, “यस किसिमको निणर्यले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पु¥याउनाका साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिन्छ ।”

उद्योगको विद्युत् आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध हुँदा लगानीमा प्रतिकूल असर परेको स्पष्ट भएको र त्यसले उद्योगीहरूलाई असहज स्थिति सृजना गरेको सङ्घको भनाइ छ । “नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा यस किसिमको समस्या उत्पन्न भएको हो, यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने सङ्घको विश्वास छ”, विज्ञप्तीमा भनिएको छ । 

सहकारी क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन दुईदिने नीति संवाद

काठमाडौँ, ११ कात्तिकः सहकारीका सवालसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन दुईदिने नीति संवाद सुरु भएको छ ।

राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा सुरु भएको कार्यक्रमको आज यहाँ उद्घाटन गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सिद्धान्त, कानुनअनुसार सहकारी चले कि चलेनन् भनी दुईदिने कार्यक्रममा छलफलसहित समीक्षा गर्न सुझाव दिनुभयो । उहाँले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले कर्जा सूचना केन्द्रको स्थापना, स्थिरीकरण कोषको व्यवस्था र ऋण असुली न्यायाधीकरण स्थापनाको तयारी गरिएको जानकारीसमेत दिनुभयो ।

सहकारी प्रवर्द्धन कोषमा करिब रु पाँच करोड जम्मा भएको उल्लेख गर्नुहुँदै मन्त्री अधिकारीले हाल कोषमा आउने पैसा रोकिनु ठीक नभएको बताउनुभयो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि बैङ्कमा राखिएको धितोको विषयमा सकारात्मक तरिकाले सहयोग गरिनुपर्ने उहाँको भनाइ थियो ।

पूर्वसचिव एवं नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव सुधार समितिका अध्यक्ष रामेश्वर खनालले सहकारी र निजी क्षेत्रमा ठूलो फरक भएकाले सहकारीले निजी क्षेत्र जसरी काम गर्न नहुने बताउनुभयो । धेरै सहकारीमा लामो समयसम्म एकै व्यक्तिले नेतृत्व गर्दा पनि समस्या आएको उहाँले सुनाउनुभयो । एउटा व्यक्ति कतिपटक सहकारीको अध्यक्ष हुन पाउने भनी कानुनी व्यवस्था गरिनुपर्ने पूर्वअर्थ सचिवसमेत रहनुभएका खनालको भनाइ थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमले सरकारले समस्या छ भनी घोषणा गरेका सहकारीमध्ये तीनवटाका पीडितले बचत फिर्ता पाएको बताउनुभयो । बाँकी रहेका १९ वटा सहकारीको गरी करिब रु ४० अर्ब माग दाबी भएकामा रु २६ अर्ब ऋण लगेको देखिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा १० वटासम्म समस्याग्रस्त सहकारीका पीडितको बचत फिर्ता गरिसक्ने लक्ष्य लिएर काम गरिएको समितिले जनाएको छ ।

महासङ्घका अध्यक्ष ओमदेवी मल्लले देशभरबाट जम्मा भएका सहकारी अभियानकर्मीको भेलाले दुई दिन छलफल गरी आएका सुझाव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागलगायत सरोकार भएका निकायमा बुझाएर समस्या समाधानका लागि नीतिगत र कानुनी सुधारमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

जर्जियाको मतदानमा मतदातामाथि ‘दबाब’– अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले आइतबार जर्जियाको संसदीय चुनावमा मतदातामाथि दबाब र ‘असमान खेल मैदान’ रहेको बताएका छन् । सत्तारूढ दलले प्रभावशाली जीत घोषणा गरेपछि उनीहरूको यस्तो टिप्पणी आएको हो ।

आधिकारिक नतिजाले वर्तमान जर्जियन ड्रिम पार्टी बहुमत सिट जित्ने मार्गमा रहेको देखाएको छ । यसलाई विपक्षी समूहहरूले ‘धाँधलीपूर्ण’ भन्दै आलोचना गरेका छन् ।

ब्रसेल्सले ककेसस मुलुक जर्जियामा लोकतन्त्रको महत्त्वपूर्ण परीक्षणको रूपमा हेरिएको शनिबारको मतदानले युरोपेली सङ्घ (इयु) उम्मेदवार टिबिलिसीको इयुमा सामेल हुने सम्भावना तय गर्ने चेतावनी दिएको थियो ।

युरोपेली सुरक्षा तथा सहयोग सङगठन, युरोप परिषद्, युरोपेली संसद् र नाटोको संयुक्त पर्यवेक्षण मिसनले मतदान ‘असमान खेल मैदान, दबाब र तनावले’ कलङ्कित भएको एक विज्ञप्तिमा बताएको थियो ।

पर्यवेक्षकहरूले मतदानको दिन सामान्यतया राम्रोसँग व्यवस्थित भए पनि यो ‘तनावपूर्ण वातावरणले’ भरिएको भएको बताए । “असमान खेल मैदानले… नतिजाप्रतिको विश्वासलाई कमजोर बनाउँछ”, पर्यवेक्षकहरूले विज्ञप्तिमा भनेका छन्, “मतदाताहरूलाई दिइएको व्यापक विकल्प चुनावलाई अन्तर्राष्ट्रिय लोकतान्त्रिक सिद्धान्तहरू अनुरूप बनाउन पर्याप्त छैन ।”

विपक्षी दलहरूले मतदानका क्रममा मतपेटिका भर्ने र धम्की दिने घटनाहरू भएको आरोप लगाउँदै नतिजाहरूलाई ‘धाँधलीपूर्ण’ भनेका छन् ।

चुनावको नतिजाले राजनीतिक टकरावको मञ्च तयार गरेको विश्लेषकहरूले चेतावनी दिएका छन् । उनीहरूका अनुसार नतिजाले जर्जियाको युरोपेली आकांक्षाहरूलाई लिकबाट उतार्न सक्छ ।

सन् २०१२ देखि सत्तामा रहेको जर्जियन ड्रिमले सुरुमा उदार पश्चिम–समर्थक नीति एजेन्डा अपनाएको थियो तर पछिल्लो दुई वर्षमा यसले आफ्नो दिशा परिवर्तन गरेको छ ।

जर्जिया यस वर्षको सुरुमा व्यापक विरोध प्रदर्शनको चपेटामा परेको थियो । विपक्षीले सरकारले लोकतान्त्रिक स्वतन्त्रताहरू कम गर्न र ४० लाख जनसङ्ख्या भएको मुलुकलाई पश्चिम–समर्थक मार्गबाट हटाएर रुसको कक्षमा धकेल्ने प्रयास गरेको आरोप लगाएको थियो ।

बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति

काभ्रेपलाञ्चोक, ११ कात्तिकः गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण रोशी गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ । ‘गौरव’का योजना मानिएका करिब रु १२ करोडका आयोजना निर्माणको अन्तिम चरणमा पुगेका थिए ।

गाउँपालिका–११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ । सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो । गाउँपालिका अध्यक्ष दिनेश लामाले निर्माण सम्पन्न भएको ९ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको बताउनुभयो ।

रु १४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको रु पाँच करोड तथा गाउँपालिकाको रु ३८ लाख ६९ हजार खर्च भएको थियो । करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको छ । सङ्ग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको छ । उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बगेको छ ।

यस्तै, १ नं वडामा निर्माणको अन्तिम चरणका पुगेको १० शय्याको आधारभूत अस्पतालको भवनसमेत बाढीले बगाएको थियो । नेपाल सरकारको रु ६ करोड पाँच लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो ।

रोशी गाउँपालिका–११, कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ । सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रु एक करोड ६८ लाख र रोशी गाउँपालिकाको रु ५४ लाख गरी दुई करोड २२ लाख खर्च भइसकेको छ ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो ।

साफ माहिला च्याम्पियनसिप : पहिलो हाफ नेपाल र भारतले गोलरहित बराबरी खेले

काठमाडौँ, ११ कात्तिक : साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो ।

नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो ।

भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।

‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’

हेटौँडा, ११ कात्तिकः काठमाडौँ–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरसँग सीमा क्षेत्र जोडिएको लतिलपुरको प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा समस्या समाधान भए थप गरिएको समयसीमाभित्र नै द्रुतमार्गको काम सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । प्रवक्ता सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले विविध कारणले समस्या भएर समयसीमासभित्र सम्पन्न हुन नसकेको उक्त आयोजना अब भने थप समयमै सक्नेगरी काम भइरहेको बताउनुभयो ।

उहाँले हाल ११ नं प्याकेज नै मुख्य चुनौती र समस्याका रुपमा रहेको बताउनुभयो । “हामीलाई काम अगाडि बढाउन खोकनाले समस्या भएको छ, समस्या समाधान नभएकाले ठेक्का र खरिद प्रक्रियामा जान सकिएको छैन”, प्रवक्ता केसीले भन्नुभयो,“हुन त समस्या समाधानका लागि मन्त्रीज्यूकै संयोजकत्वमा समिति बनेको छ, यद्यपि स्थानीयदेखि सबैले यसमा सहयोग गरेर हामीलाई काम गर्नसक्ने वातावरण बनाइदिन जरुरी रहेको छ ।”

उहाँले रूख कटान र जग्गा अधिकरणसँग सम्बन्धित समस्या समाधान हुँदै गएको, प्रतिशतको आधारमा भौतिक र वित्तीय प्रगति थोरै देखिए पनि कामको स्थलगत प्रगति भने बढी रहेको उहाँको भनाइ छ । प्रवक्ता केसीले हालसम्म ३६ दशमलव ४२ प्रतिशत काम पूरा भएको र भुक्तानी समस्या समाधान तथा अन्य व्यवस्थापकीय काम भएमा एक वर्षभित्र सबै कार्यसम्पन्न गर्न सकिने बताउनुभयो । उहाँका अनुसार प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनको निर्णय बाँकी रहेकाले खरिद प्रक्रियासमेत हुनसकेको छैन ।
यद्यपि काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८ दशमलब ५५ प्रतिशत रहेको जनाइएको छ । आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

दश दशमलव तीन सय नौ किलोमिटरको छवटा सुरुङमार्ग

आयोजनाअन्तर्गत छ वटा सुरु¬ङमार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरुङमार्गको प्याकेज नं १ अन्तर्गत महादेवटार सुरुङको दायाँ टनेलतर्फ तीन हजार ३५५ मिटर लम्बाइमध्ये दुई हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । बायाँ टनेलतर्फ तीन हजार ३८६ मिटरमध्ये दुई हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सकिएको नेपाली सेनाले जनाएको छ ।

यसैगरी, प्याकेज नं २ अन्तर्गत धेद्रे सुरुङमार्गको बायाँ टनेलको एक हजार छ सय ९१ मिटर लम्बाइमध्ये एक हजार छ सय ४२ अर्थात् ९५ प्रतिशत र निजगढबाट काठमाडौँतर्फ जाने दायाँ टनेलको एक हजार छ सय ५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको थियो ।

प्याकेज नं ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेका लामो जोडी सुरुङमध्ये निजगढबाट काठमाडौँतर्फ रहेको एक हजार छ सय १२ मिटर लामो सुरुङ असारमा र काठमाडौँबाट निजगढतर्फ जाने एक हजार छ सय ३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको बताइएको छ ।

प्याकेज नं ४ अन्तर्गत एक हजार मिटर लामो देवीचौर सुरुङ र प्याकेज नं ५ अन्तर्गतको तीन सय ९० मिटर लामो सिसौटार सुरुङ निर्माणका लागि खरिद सम्झौता सम्पन्न भई डिजाइनका क्रममा रहेको नेपाली सेनाले जनाएको छ । यस्तै, प्याकेज नं छ अन्तर्गतको दुई हजार दुई सय ५० मिटर लामो चन्द्रामभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको बताइएको छ ।

आयोजनाअन्तर्गत ८९ वटा पुल

आयोजनाका ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको नेपाली सेनाका प्रवक्ता केसीले बताउनुभएको छ । हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँचवटा पुलको निर्माण सम्पन्न भएकोे उहाँले जनाउनुभयो । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलको संरचना निर्माण भइरहेको केसीको भनाइ छ ।

हाल निर्माणाधीन दु्रतमार्गको सब—बेस, बायो इन्जिनियरिङ, रोडका साइडामा पर्खाल लगाउने, सर्भिस रोड निर्माणलगायत कार्य जारीरहेको नेपाली सेनाले जनाएको छ । प्रस्थान विन्दु खोकना र अन्तिम विन्दु निजगढ रहेको आयोजनाको कुल लम्बाइ ७० दशमलव नौ सय ७७ किलोमिटर रहेको छ ।

विसं २०७४ मा चार वर्षभित्र कार्यसम्पन्न गर्नेगरी तत्कालीन सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर सो समयमा काम पूरा नभइ २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखियो, यो समयमा पनि कार्यसम्पन्न नहुने अवस्था आएपछि २०८३ सालसम्मको म्याद थपिएको जनाइएको छ ।

सुरुआतमा रु एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि हाल लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको जनाइएको छ । चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ । नेपाली सेनाका प्रवक्ता केसीले अब तोकिएको समयमा कार्यसम्पन्न गर्न सबै पक्षबाट समन्वय र समस्या समाधानको पहल जरुरी रहेकामा जोड दिनुभयो ।

सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार

काठमाडौँ, ११ कात्तिक : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नवलकिशोर सुडीले सय दिनमा गरिएका कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिनुभयो । मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गर्नुभयो । उहाँले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

यस्तै, मन्त्रालयले सय दिनभित्र कार्यसम्पादन गरेका उपलब्धिमध्ये प्राकृतिक प्रकोपको विपतमा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिलाई मानसिक र शारीरिक राहत प्रदान रहेको मन्त्री सुडीले जानकारी दिनुभयो । उहाँले विपत्पीडित एक हजार एक सय ६५ जनालाई पहिलो चरणको मनोसामाजिक परामर्श सेवा प्रदान गरिनाका साथै, बालबालिका, महिला र अशक्तलाई आवश्यक राहत सामग्री प्रदान गरेको बताउनुभयो ।

कुल रु एक अर्ब ६० करोड १३ लाख ४० हजार बजेट रहेको यस मन्त्रालयले नेपालको कुल जनसङ्ख्याको ७७ दशमलव १६ प्रतिशत जनसङ्ख्याको नेतृत्व गर्दै आएको बताउँदै मन्त्री सुडीले ठूलो जिम्मेवारी तर सीमित स्रोतसाधन मन्त्रालयको कार्यसम्पादनको मुख्य चुनौती रहेको बताउनुभयो । दश स्थानीय तहबाट सडक बालबालिकाको तथ्याङ्क माग गरिएकामा ५६ जनाको तथ्याङ्क आएको र उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद्मार्फत उद्धार, पुनस्र्थापनामा प्रक्रिया अघि बढेको, हराएका बालबालिका खोजेर परिवारलाई पुनर्मिलन गराएको, मानव बेचबिखन तथा ओसारपसारपीडित÷प्रभावित ७७ महिलाको उद्धार गरिएको लगायत कार्य मन्त्रालयले उपलब्धिका रुपमा लिएको छ ।