`

बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति

काभ्रेपलाञ्चोक, ११ कात्तिकः गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण रोशी गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ । ‘गौरव’का योजना मानिएका करिब रु १२ करोडका आयोजना निर्माणको अन्तिम चरणमा पुगेका थिए ।

गाउँपालिका–११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ । सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो । गाउँपालिका अध्यक्ष दिनेश लामाले निर्माण सम्पन्न भएको ९ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको बताउनुभयो ।

रु १४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको रु पाँच करोड तथा गाउँपालिकाको रु ३८ लाख ६९ हजार खर्च भएको थियो । करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको छ । सङ्ग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको छ । उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बगेको छ ।

यस्तै, १ नं वडामा निर्माणको अन्तिम चरणका पुगेको १० शय्याको आधारभूत अस्पतालको भवनसमेत बाढीले बगाएको थियो । नेपाल सरकारको रु ६ करोड पाँच लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो ।

रोशी गाउँपालिका–११, कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ । सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रु एक करोड ६८ लाख र रोशी गाउँपालिकाको रु ५४ लाख गरी दुई करोड २२ लाख खर्च भइसकेको छ ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो ।

साफ माहिला च्याम्पियनसिप : पहिलो हाफ नेपाल र भारतले गोलरहित बराबरी खेले

काठमाडौँ, ११ कात्तिक : साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो ।

नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो ।

भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।

‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’

हेटौँडा, ११ कात्तिकः काठमाडौँ–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरसँग सीमा क्षेत्र जोडिएको लतिलपुरको प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा समस्या समाधान भए थप गरिएको समयसीमाभित्र नै द्रुतमार्गको काम सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । प्रवक्ता सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले विविध कारणले समस्या भएर समयसीमासभित्र सम्पन्न हुन नसकेको उक्त आयोजना अब भने थप समयमै सक्नेगरी काम भइरहेको बताउनुभयो ।

उहाँले हाल ११ नं प्याकेज नै मुख्य चुनौती र समस्याका रुपमा रहेको बताउनुभयो । “हामीलाई काम अगाडि बढाउन खोकनाले समस्या भएको छ, समस्या समाधान नभएकाले ठेक्का र खरिद प्रक्रियामा जान सकिएको छैन”, प्रवक्ता केसीले भन्नुभयो,“हुन त समस्या समाधानका लागि मन्त्रीज्यूकै संयोजकत्वमा समिति बनेको छ, यद्यपि स्थानीयदेखि सबैले यसमा सहयोग गरेर हामीलाई काम गर्नसक्ने वातावरण बनाइदिन जरुरी रहेको छ ।”

उहाँले रूख कटान र जग्गा अधिकरणसँग सम्बन्धित समस्या समाधान हुँदै गएको, प्रतिशतको आधारमा भौतिक र वित्तीय प्रगति थोरै देखिए पनि कामको स्थलगत प्रगति भने बढी रहेको उहाँको भनाइ छ । प्रवक्ता केसीले हालसम्म ३६ दशमलव ४२ प्रतिशत काम पूरा भएको र भुक्तानी समस्या समाधान तथा अन्य व्यवस्थापकीय काम भएमा एक वर्षभित्र सबै कार्यसम्पन्न गर्न सकिने बताउनुभयो । उहाँका अनुसार प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनको निर्णय बाँकी रहेकाले खरिद प्रक्रियासमेत हुनसकेको छैन ।
यद्यपि काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८ दशमलब ५५ प्रतिशत रहेको जनाइएको छ । आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

दश दशमलव तीन सय नौ किलोमिटरको छवटा सुरुङमार्ग

आयोजनाअन्तर्गत छ वटा सुरु¬ङमार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरुङमार्गको प्याकेज नं १ अन्तर्गत महादेवटार सुरुङको दायाँ टनेलतर्फ तीन हजार ३५५ मिटर लम्बाइमध्ये दुई हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । बायाँ टनेलतर्फ तीन हजार ३८६ मिटरमध्ये दुई हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सकिएको नेपाली सेनाले जनाएको छ ।

यसैगरी, प्याकेज नं २ अन्तर्गत धेद्रे सुरुङमार्गको बायाँ टनेलको एक हजार छ सय ९१ मिटर लम्बाइमध्ये एक हजार छ सय ४२ अर्थात् ९५ प्रतिशत र निजगढबाट काठमाडौँतर्फ जाने दायाँ टनेलको एक हजार छ सय ५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको थियो ।

प्याकेज नं ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेका लामो जोडी सुरुङमध्ये निजगढबाट काठमाडौँतर्फ रहेको एक हजार छ सय १२ मिटर लामो सुरुङ असारमा र काठमाडौँबाट निजगढतर्फ जाने एक हजार छ सय ३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको बताइएको छ ।

प्याकेज नं ४ अन्तर्गत एक हजार मिटर लामो देवीचौर सुरुङ र प्याकेज नं ५ अन्तर्गतको तीन सय ९० मिटर लामो सिसौटार सुरुङ निर्माणका लागि खरिद सम्झौता सम्पन्न भई डिजाइनका क्रममा रहेको नेपाली सेनाले जनाएको छ । यस्तै, प्याकेज नं छ अन्तर्गतको दुई हजार दुई सय ५० मिटर लामो चन्द्रामभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको बताइएको छ ।

आयोजनाअन्तर्गत ८९ वटा पुल

आयोजनाका ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको नेपाली सेनाका प्रवक्ता केसीले बताउनुभएको छ । हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँचवटा पुलको निर्माण सम्पन्न भएकोे उहाँले जनाउनुभयो । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलको संरचना निर्माण भइरहेको केसीको भनाइ छ ।

हाल निर्माणाधीन दु्रतमार्गको सब—बेस, बायो इन्जिनियरिङ, रोडका साइडामा पर्खाल लगाउने, सर्भिस रोड निर्माणलगायत कार्य जारीरहेको नेपाली सेनाले जनाएको छ । प्रस्थान विन्दु खोकना र अन्तिम विन्दु निजगढ रहेको आयोजनाको कुल लम्बाइ ७० दशमलव नौ सय ७७ किलोमिटर रहेको छ ।

विसं २०७४ मा चार वर्षभित्र कार्यसम्पन्न गर्नेगरी तत्कालीन सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर सो समयमा काम पूरा नभइ २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखियो, यो समयमा पनि कार्यसम्पन्न नहुने अवस्था आएपछि २०८३ सालसम्मको म्याद थपिएको जनाइएको छ ।

सुरुआतमा रु एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि हाल लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको जनाइएको छ । चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ । नेपाली सेनाका प्रवक्ता केसीले अब तोकिएको समयमा कार्यसम्पन्न गर्न सबै पक्षबाट समन्वय र समस्या समाधानको पहल जरुरी रहेकामा जोड दिनुभयो ।

सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार

काठमाडौँ, ११ कात्तिक : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नवलकिशोर सुडीले सय दिनमा गरिएका कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिनुभयो । मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गर्नुभयो । उहाँले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

यस्तै, मन्त्रालयले सय दिनभित्र कार्यसम्पादन गरेका उपलब्धिमध्ये प्राकृतिक प्रकोपको विपतमा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिलाई मानसिक र शारीरिक राहत प्रदान रहेको मन्त्री सुडीले जानकारी दिनुभयो । उहाँले विपत्पीडित एक हजार एक सय ६५ जनालाई पहिलो चरणको मनोसामाजिक परामर्श सेवा प्रदान गरिनाका साथै, बालबालिका, महिला र अशक्तलाई आवश्यक राहत सामग्री प्रदान गरेको बताउनुभयो ।

कुल रु एक अर्ब ६० करोड १३ लाख ४० हजार बजेट रहेको यस मन्त्रालयले नेपालको कुल जनसङ्ख्याको ७७ दशमलव १६ प्रतिशत जनसङ्ख्याको नेतृत्व गर्दै आएको बताउँदै मन्त्री सुडीले ठूलो जिम्मेवारी तर सीमित स्रोतसाधन मन्त्रालयको कार्यसम्पादनको मुख्य चुनौती रहेको बताउनुभयो । दश स्थानीय तहबाट सडक बालबालिकाको तथ्याङ्क माग गरिएकामा ५६ जनाको तथ्याङ्क आएको र उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद्मार्फत उद्धार, पुनस्र्थापनामा प्रक्रिया अघि बढेको, हराएका बालबालिका खोजेर परिवारलाई पुनर्मिलन गराएको, मानव बेचबिखन तथा ओसारपसारपीडित÷प्रभावित ७७ महिलाको उद्धार गरिएको लगायत कार्य मन्त्रालयले उपलब्धिका रुपमा लिएको छ ।

पूर्वी युक्रेनमा नयाँ अग्रगति हासिल गरेको रुसी सेनाको दाबी

रुसले आइतबार आफ्नो सेनाले पूर्वी युक्रेनमा थप अग्रगति हासिल गरेको र एक महत्त्वपूर्ण युक्रेनी–नियन्त्रित औद्योगिक केन्द्रबाट केही किलोमिटर उत्तरमा रहेको सीमावर्ती गाउँ कब्जा गरेको बताएको छ ।

थकित र कम सैनिक भएका युक्रेनी सेनाविरुद्ध आफ्नो फाइदा प्रयोग गर्दै मस्कोले महिनौँदेखि युद्धभूमिमा निरन्तर सफलता हासिल गरिरहेको छ,।

“रुसी सेनाका एकाइहरूले इज्माइलोभ्का बस्तीलाई मुक्त गरेका छन्”, रुसी रक्षा मन्त्रालयले दैनिक ब्रिफिङमा भनेको छ ।

द्वन्द्व सुरु हुनुअघि इज्माइलिभ्कामा दुई सयभन्दा कम जनसङ्ख्या थियो । यो महत्त्वपूर्ण औद्योगिक केन्द्र कुराखोभेबाट आठ किलोमिटर उत्तरमा र कुराखिभ्काको केही किलोमिटर उत्तरमा अवस्थित छ । यहाँ मस्कोले घेराबन्दी गर्ने प्रयास गरिरहेको छ ।

रुसले सीमा नजिकसमेत गरी आफ्ना विभिन्न क्षेत्रमाथि ५१ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको केही घन्टापछि यो घोषणा आएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार पश्चिमले युक्रेनलाई उहाँको भूमिमाथि लामो दूरीका हतियारहरू प्रयोग गर्न दिए भने मस्कोले ‘जवाफ’ चेतावनी दिनुभयो ।

“अहिले नै भन्न धेरै छिटो हुन्छ तर निश्चय नै हाम्रो सैन्य विभागले यसबारे सोचिरहेको छ र विभिन्न प्रतिक्रियाहरू प्रस्ताव गर्नेछ”, उहाँले सरकारी टेलिभिजनका एक पत्रकारलाई आइतबार प्रसारित टिप्पणीमा भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले महिनौँदेखि आफ्ना पश्चिमी सहयोगीहरूसँग रुसी भूमिभित्र गहिरो क्षेत्रमा लक्षित गर्न लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति मागिरहनुभएको छ । उहाँले यस कदमले मस्कोलाई शान्ति खोज्न ‘प्रेरित’ गर्ने तर्क गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले गत महिना यस विषयमा निर्णय आसन्न रहेको सङ्केत गरेका थिए तर पछि पुटिनले नाटोलाई मस्कोसँग ‘युद्धमा’ पार्ने जोखिम रहेको चेतावनी दिनुभएपछि यो कदम स्थगित गरेका थिए ।

पुटिनले आइतबार पश्चिमले त्यो चेतावनी सुनेको आशा व्यक्त गर्नुभयो । “उनीहरूले मलाई यसबारे केही भनेनन् तर मलाई आशा छ उनीहरूले सुने”, पुटिनले भन्नुभयो ।

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ : मन्त्री गुरुङ

काठमाडौँ, ११ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुृरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा राजधानीमा आजदेखि सुरु भएको एआई र रोबोेट प्रविधिसम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशको आर्थिक, औद्योगिक विकासका साथै अनुसन्धान र शिक्षाको उन्नयनमा एआईको असीमित भूमिका हुने समेत बताउनुभयो । एआई र रोबोर्ट प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग गर्न सके औद्योगिक क्षेत्रमा उत्पादनको सङ्ख्या, गुणस्तर मात्र बढ्ने नभई नवप्रवर्तनलाई प्रोत्साहन मिल्ने भएकाले सरकारले सार्वजनिक निजी साझेदारीअन्तर्गत अघि बढ्न चाहेको पनि मन्त्री गुरुङले बताउनुभयो ।

नेपालले योजनाबद्ध रूपमा सूचना प्रविधिसम्बन्धी विशेष आर्थिक क्षेत्र अघि बढाउँदै सूचना प्रविधिमा क्रान्ति गर्नाका साथै वैदेशिक सूचना प्रविधि कम्पनीहरुलाई उनीहरुको उत्पादनका लागि ‘आउट सोर्सिङ’ गन्तव्यका रूपमा आकर्षित गर्न खोजेको मन्त्री गुरुङले बताउनुयो । “यसमार्फत हामीले सूचना प्रविधिमा दक्ष जनशक्तिलाई देशभित्रै आकर्षक रोजगारीको सुनिश्चितता गर्न खोजेका हौँ”, उहाँले भन्नुभयो ।

साथै नेपाललाई सूचना प्रविधिसम्बन्धी लगानीका लागि एउटा आकर्षक गन्तव्यका रुपमा विकास गर्न खोजिएको मन्त्री गुरुङले बताउनुभयो । एआईसहित उच्चस्तरको आइसिटी इकोसिस्टमसम्बन्धी लक्ष्य प्राप्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा एआईको प्रयोगसम्बन्धी अवधारणपत्रसमेत तयार पारिसकेको उहाँले उल्लेख गर्नुभयो । सरकारले डिजिटल नेपाल फ्रेम वर्कसम्बन्धी नीतिको परिमार्जन आइटी एवं साइबर सुरक्षा ऐनको तयारीका साथ आवश्यक कानुन नीतिहरुसमेत बनाइरहेको उहाँले बताउनुभयो । राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना तथा सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन निर्देशिका लागू हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले डिजिटल नेपाल फ्रेम वर्कको प्रभावकारी कार्यान्वयन गर्दै डिजिटल प्रविधिको सार्वजनिक प्रयोगलाई बढावा दिन खोजिरहेको मन्त्री गुरुङले बताउनुभयो । दिगो विकास लक्ष्य, २०३० को प्राप्तिका लागि सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन आवश्यक भएको उहाँको धारणा थियो । नेपाललाई सूचनाप्रविधि मैत्री तथा एआई मैत्री देश बनाउनका लागि निजीलगायत सबै क्षेत्रलाई मन, वचन र कर्मका साथ सहकार्य गर्न मन्त्री गुरुङले आह्वान गर्नुभयो ।

कार्यक्रममा युरोपेली देशमा रोबर्ट प्रविधि प्रवद्र्धन गरिरहेको संस्था इयू रोबोटिक्सका उपाध्यक्ष प्राध्यापक जुवा रोनिङले एआईको प्रयोग मानव हितका साथै मानवीय मर्यादा कायम रहनेगरी गर्नुपर्नेमा जोड दिँदै नीतिनियमबाट निर्देशित एआई प्रयोग हुनुपर्ने बताउनुभयो । “आजको समग्र चिन्ता नै एआईको प्रभावकारी, सर्वस्वीकार्य तथा सुरक्षित प्रयोग कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो”, उहाँले भन्नुभयो ।

अबुधावीस्थित खलिफा विश्वद्यालयका प्राध्यापक डा जे एम मनिन्द्र दियासले कृषि, स्वास्थ्यसहितका विकासका विभिन्न विधामा एआईको प्रयोगले चामत्कारिक नतिजा दिएको उदाहरणहरु प्रस्तुत गर्नुभएको थियो । सोमबारसम्म चल्ने सेमिनारमा एआई र रोबोर्ट यन्त्रको विकासमा विभिन्न क्षेत्रका भूमिका तथा आगामी बाटोबारे छलफल हुने आयोजक संस्था राष्ट्रिय युवा सङ्घ नेपालले जानकारी दिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र

पाटन (ललितपुर), ११ कात्तिकः सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका अवसरमा आज सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा डा हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीका अध्यक्ष डा ओ बोङ याङबीच हस्ताक्षर भएको हो । हस्ताक्षरसँगै पाँचबुँदे समझदारीपत्र आदानप्रदान गरिएको छ ।

शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा पन्तले जानकारी दिनुभयो । जसमझदारीमा विश्वविद्यालयको विषयगत सङ्काय, प्राध्यापक र अनुसन्धानकर्ताहरु आदानप्रदान गर्ने कुरा उल्लेख गरिएको सम्मेलनका संयोजक सहायक प्राध्यापक टङ्क मुखियाले जानकारी गराउनुभयो । सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थी, दुवै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान, संयुक्त रुपमा अनुसन्धान सञ्चालन, प्राज्ञिक बैठक तथा सेमिनारहरु आयोजना गर्ने समझदारी भएको हो ।

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्रा डा ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारीधिका लागि सुपरभाइज गर्नुभएको छ । उहाँले नेपाली विद्यार्थीहरुको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकका रुपमा रहेको छ ।

यही कात्तिक २१ गतेदेखि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुने

काठमाडौँ, ११ कात्तिकः देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अरिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ र आधुनिक विज्ञान दोस्रो महासम्मेलन आयोजना हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनले यही कात्तिक २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा महायज्ञ आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलहरुमार्फत प्रतिदिन भइरहेको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूलसमितिले जनाएको छ । महायज्ञमा भावातीत ध्यान र सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट हुने पहिलो अतिरुद्र विश्वकल्याण विराट महायज्ञ भएको आयोजकको दाबी छ ।

पत्रकार सम्मेलनमा पूर्वगृहराज्यमन्त्री एवम् महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रुपमा अगाडि सारिएको छ । यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

फाउन्डेसनले विगत १२ वर्षदेखि महायज्ञ गर्दै आइरहेको छ । यस पटकको महायज्ञमा स्वयं कर्ता बन्ने र कर्ताहरुको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको समृद्धि दिगो शान्ति र विश्वकल्याणको पहिलो महायज्ञ भएको महायज्ञका सञ्चार विभाग प्रमुख समीक्षा बास्कोटाले बताउनुभयो । उहाँले महायज्ञ आफ्नो परिवार, समाज र राष्ट्रको पुण्य प्राप्तिका साथै राष्ट्रको समृद्धिका लागि अपरिहार्य छ भन्नुभयो ।  

यही कात्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बिहान १०ः३० देखि भद्रकाली, सहिहदगेट रत्नपार्क हुँदै शोभायात्रा हुनेछ ।

विज्ञान महासम्मेलन हुने

महायज्ञकै दौरानमा कात्तिक २२ देखि २४ गतेसम्म तीन दिन वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन गरिनेछ । युरोप अमेरिकालगायत देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसैगरी, कात्तिक २१ देखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिनेछ । अग्र्यानिक एसोसिएसन नेपाल र कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर आयोजक रहेको उक्त मेलामा ५० भन्दा बढी अग्र्यानिक तथा प्राकृतिक उत्पादनहरुका स्टल रहनेछन् ।

मेलाका संयोजक शान्ता बास्कोटा कोइरालाले नेपालको अग्र्यानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्‍याउने उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा करिब रु ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ । मेला सञ्चालनका लागि महर्षि वैदिक फाउन्डेसनको सहयोग रहेको छ ।

गाजाका बन्धकहरूलाई मुक्त गर्न इजरायले रिहाइका सर्तहरू मान्नुपर्छ– इजरायली रक्षामन्त्री

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले आइतबार गाजामा रहेका बन्धकहरूको रिहाइका लागि ‘पीडादायी रिहाइका सर्तहरू’ स्वीकार्नुपर्ने बताउनुभएको छ । उहाँले सैन्य कारबाहीले मात्रै युद्धका उद्देश्यहरू प्राप्त गर्न पर्याप्त नहुने बताउनुभयो ।

“सबै उद्देश्य सैन्य कारबाहीबाट मात्र हासिल गर्न सकिँदैन... हाम्रा बन्धकहरूलाई घर फर्काउने नैतिक कर्तव्य पूरा गर्न हामीले पीडादायी रिहाइका सर्तहरू स्वीकार्नु पर्नेछ”, उहाँले गत वर्ष अक्टोबर ७ मा भएको हमासको आक्रमणको हिब्रु पात्रो वार्षिकीको अवसरमा भन्नुभयो ।

ग्यालेन्टले एक वर्षभन्दा बढीको लडाइँमा देशका सैन्य उपलब्धिहरूको नाम लिनुभयो । “दक्षिणमा हमास सैन्य संरचनाको रूपमा काम गर्न बन्द भएको छ, उत्तरमा हिजबुल्लाहले लगातार क्षति भोगिरहेको छ र यसको नेतृत्व समाप्त भएको छ, यसको रकेट भण्डारको अधिकांश नष्ट भएको छ र यसका सेनाहरू सीमा रेखाबाट पछि हटेका छन्”, उहाँले भन्नुभयो ।

आधिकारिक इजरायली आँकडाहरूको एएफपी गणनाअनुसार हमासको अक्टोबर ७ को आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय छ जनाको १,२०६ जनाको मृत्यु भएको थियो । 

हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ४२ हजार नौ सय २४ प्यालेस्टिनी मारिएका छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मान्छ ।

युद्धले विशेषगरी लेबनानमा हिजबुल्लाहसहित क्षेत्रभरका इरान समर्थित समूहहरूलाई पनि तानेको छ । लेबनानमा इजरायलले सेप्टेम्बर अन्त्यदेखि ठूलो हवाई अभियान र स्थल कारबाहीहरू सञ्चालन गरेको छ ।

तिहार नजिकिएसँगै भक्तपुरका कुमाल समुदायलाई पाला बनाउन भ्याइनभ्याइ

भक्तपुर, ११ कात्तिकः नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै माटोका भाँडा बनाउँदै आएका कुमाल समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ । तिहारमा माटोका भाँडा र पालाको माग धेरै भएकाले कुमाल समुदायका परिवारलाई यतिखेर पाला बनाउन भ्याइनभ्याइ भएको हो ।

आकर्षक माटोको भाँडा बनाउने भक्तपुर नगरपालिका–४ बोलाछेंँ तालाक्वो अर्थात् पोर्टरी स्क्वायरका प्रजापति समुदायका अधिकांश परिवार तिहारका लागि आवश्यक पाला, धुपौरो, घैँटोलगायत अन्य सामग्री बनाउन व्यस्त देखिन्छन् ।

“तिहार आइसक्यो माटोका पाला, भिउँट, धुपौरोको माग बढी आएको छ, तिहारमा सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ”, पुर्खाले वर्षौंदेखि गर्दै आएको पेसालाई १७ वर्षदेखि अँगाल्दै आउनुभएका स्थानीय ३९ वर्षीय विनोदकुमार प्रजापतिले भन्नुभयो ।

माटोका भाँडा बनाउने आधुनिक मेसिनले सहज बनाएको बताउँदै उहँले यस वर्ष एक लाख पाला बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो । पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटोखुत्रुके, गमला बनाउन व्यस्त उहाँले यसवर्ष साना र ठूला दुवै प्रकारका पालाको माग आएको उल्लेख गर्नुभयो ।

माटोका भाँडा बनाउने पेसा गर्दै आएका ९९ प्रजापति परिवारको बसोबास रहेको यहाँ भूकम्प पछि कतिपयले भत्किएका घर छाडेर अन्यत्र बसाइँ सरेका छन् । अहिले करिब ४० घरमा यो समूदाय समिति भएको उहाँले जानकारी दिनुभयो ।

भारतबाट आउने प्लाष्टिक तथा विद्युतीय पालाले माटोको पालाको माग पहिलाको तुलनामा घटेको बताउँदै विनोदकुमारले भक्तपुरमा माटो पाउन छोडेपछि अहिले साँखुबाट ल्याउनु परेको बताउनुभयो ।

यतिबेला पोटरी स्क्वायरका ४० परिवारमा कोही माटोका भाडा बनाइ रहेका, कोही सुकाई रहेका, कोही आधुनिक भट्टीमा भाडा पोखिरहेका, कोही झिक्दै बाकसमा राख्दै गरेका देखिन्छन् ।

स्थानीय विवेक प्रजापतिले १६ वर्षदेखि पुर्खाको पेसालाई अँगाल्दै आएको बताउँदै तिहारका लागि माग बढी भएकाले फुर्सद नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बजारमा माटाका सामग्रीको माग बढी छ । मानिस जन्मेदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण माटाको भाँडा बनाउँछाैँ, यस वर्ष पनि तिहारका लागि एक लाख पालाको माग भएकाले सोही बनाउन व्यस्त छौँ ।”

यहाँ बनेका पाला र भाँडा भक्तपुरका साथै अन्य जिल्ला र विदेशमा समेत माग हुने गरेको विवेकले जानकारी दिनुभयो । “नेपालबाट मात्रै नभई विदेशका लागि पनि सामानको माग आउने गर्दछ”, उहाँले भन्नुभयो ।

सँगै माटोको भाँडा बनाइरहनुभएका साजन प्रजापतिले पछिल्ला केही वर्षयता भारतबाट आयातीत पाला र विद्युतीय बत्तीले माटोका सामग्रीको माग विगतको तुलनामा घटेको बताउनुभयो । बीस वर्षदेखि माटोको भाँडा बनाउँदै आउनुभएका उहाँले यस वर्ष आफूले पाला नबनाएर तिहारका लागि अन्य आवश्यक सामगी मात्र बनाएको सुनाउनुभयो ।

विगत ३५ वर्षदेखि पुर्खाको पेसालाई निरन्तरता दिँदै आउनुभएका रोशन प्रजापतिले बजारमा अहिले पहिलाको जस्तो माटोका भाँडा र पालाको माग नभएको गुनासो गर्नुभयो । उहाँले कोरोना महामारीदेखि व्यापार घटेको भन्दै आर्थिक मन्दीले यो पेसालाई निरन्तरता दिन समस्या भइरहेको उल्लेख गर्नुभयो । उहाँले यस वर्ष ६० हजार पालाको मात्रै माग आएको बताउनुभयो ।

यहाँ उत्पादन भएका पाला भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायत ठाउँबाट माग भएकाले माग अनुसार पठाउने गरिएको स्थानीय दयाराम प्रजापतिले बताउनुभयो ।

तीन वर्ष अघिसम्म तिहारमा एकसय पालाको रु ९० देखि रु एक सय १० सम्म बिक्री हुने भन्दै मेहनत, माटोको व्यवस्थापनलगायत कारणले ती सामग्रीको मूल्य पनि बढेको उहाँले जानकारी दिनुभयो । यसवर्ष व्यापारीलाई होलसेलमा प्रतिपाला रु दुईमा र खुद्रा रु चारमामा बिक्री गरिने उहाँले बताउनुभयो ।

विनोद प्रजापतिले माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुनेधारणा राख्नुभयो । यस वर्ष एउटा पाला होलसेलमा रु दुईमा र खुद्रा रु चारमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

“माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको नौ वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि माग अनुसार आउँदैन, माटोको अभावले पेसा सङ्कटमा पर्ने अवस्थामा आएको छ । एक मिनिट्रक माटोको व्यापारीले रु १२ हजार लिन्छन्”, उहाँले भन्नुभयो ।

अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिञ्चालगायत सामानको माग बढेकाले बनाउन व्यस्त रहेको बताएका छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा बाहिरबाट पनि माग हुने भएकाले रु एक लाखभन्दा बढी आम्दानी हुने स्थानीय प्रजापति बताउँछन् ।

बाढीका कारण नदी आसपास क्षेत्रमा भएको फोहर सफा गर्यो ललितपुर महानगरले

ललितपुर -ललितपुर महानगरपालिकाले बाढीका कारण नदी आसपास क्षेत्रमा भएको फोहर सफाइ गरेको छ । महानगर प्रहरी, सुरक्षा निकाय र स्वयंसेवक परिचालन गरी महानगरले शनिबार नदी किनार सरसफाइ गरेको हो । असोज दोस्रो साता आएको बाढीले खोलाहरूमा प्लास्टिक, कपडा र कागजजन्य फोहोर थुपारेको थियो ।

बाढीका कारण बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्ने काम निरन्तर जारी रहने महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।
बिभिन्न क्षेत्रको सरसफाइमा महानगरका ज्यापु समाज लगाएत संस्थाहरुले पनि साथ दिएको महार्जनले बताउनुभयो ।

वर्तमान सरकारको सय दिनमा उपलव्धीपूर्ण काम भएको प्रकाशमान सिंहको दाबी

काठमाडौं- उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको सय दिनमा उपलव्धीपूर्ण काम भएको दावी गर्नुभएको छ । शनिबार काठमाडौंमा कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सवै मन्त्रालयले आफ्नो दायित्वभित्रको काम गरेको र उपलव्धीपूर्ण काम भएको दावी गर्नुभएको हो ।

सरकारले गरेको कामको मूल्याङ्कन जनताले गर्ने भन्दै उहाले विपक्षी दललाई सरकारमाथि टिप्पणी गर्ने अधिकार भएको जिकिर गर्नुभयो । सिंहले विधि र कानून अनुसार राज्यले काम कारवाही गरेकाले कसैलाई अनुसन्धानका लागि पक्राउ गर्दा विरोध गर्नुपर्ने कारण नभएको बताउनुभयो ।

उहाले सरकारलाई प्रभावकारी रुपमा अढि बढाउनका लागि सरकारमा रहेका दलहरुबीच समन्वय गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो ।

देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

वासिङ्टन, डिसी । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहेका मन्त्री पौडेलले यहाँस्थित नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गरेका हुन् ।

मन्त्री पौडेलले भने, ‘वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका छौँ ।’

उनले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाव दिए ।

साथै उनले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्रीले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पुँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको बताए ।

छलफलका सहभागीहरूले नेपालको कर प्रणाली, लगानीमैत्री वातावरण, कर्मचारी संयन्त्रको कार्यसम्पादन र प्रविधिबारे जिज्ञासा राखेका थिए ।

खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक पाँच लाख आम्दानी

जुम्ला, ११ कात्तिकः खेतबारीलाई प्रमुख कार्यस्थल बनाउनुभएका तिला गाउँपालिका–८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाउनुभएको छैन लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ । जिल्लामा उहाँ उदाहरणीय उद्यमीका रूपमा चिनिनु भएको छ ।

उद्यमी रावतले व्यावसायिक ढङ्गले फलफूल नर्सरी मात्र सञ्चालन गर्नुभएको छैन स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फलाउनुभएको छ । उहाँको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिपर बोटमा लटरम्म ओखर र स्याउ फल्छन् । यस वर्ष उहाँले स्याउ बेचेर रु ४० हजार कमाएको बताउनुभयो । विरुवा बेचेर अधिक लाभ हुने बताउँदै उहाँले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिनुभयो ।

कृषिकर्ममा केन्द्रित उहाँले हाल दुई सयवटा ओखरका बिरुवा हुर्काउनुभएको छ । “कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भई कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा रु तीन लाख लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफुलखेतीबाट वार्षिक रु तीनदेखि पाँच लाखसम्मको आम्दानी हुने गरेको छ,” भविष्यमा स्याउ ओखर तथा फुलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उहाँले भन्नुभयो । वार्षिक रु १० लाख कमाउने लक्ष्यका साथ बोटबिरुवा बाढाएको उहाँले बताउनुभयो ।
अठार महिना कनिष्ठ प्राविधिक सहायक (जेटिए) का रूपमा काम गर्नुभएका तथा वनस्पति र बाली विज्ञान (आइएसएजी) पनि अध्ययन गर्नुभएका उहाँलाई कृषि क्षेत्रमा काम गर्न असहज छैंन । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ ।

आफ्नो कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलङ्गा बजारसम्म पुग्ने गरेको छन् ।स्याउ र ओखरका बिरुवा मुगु र कालिकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उहाँ बताउनुहुन्छ । माअनुसार आपूर्ति गर्न नसकेको बताउँदै उहाँले राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको अनुभव सुनाउनुभयो ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा दैनिक तीन सय पर्यटक ओहोरदोहोर गर्न थाले

गलेश्वर (म्याग्दी), ११ कात्तिकः तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको हो ।

पछिल्लो समय अत्यधिक स्वदेशी पर्यटक पुग्ने गन्तव्य प्रथम अन्नपूर्ण हिमालको शिविर बन्दै गएको छ । तीन वर्षअघिसम्म करिब सुनसानजस्तै हुने पदमार्गमा अहिले दैनिक तीन सयका हाराहारीमा पर्यटक पुग्ने गरेका पर्यटन अभियन्ता तेज गुरुङले बताउनुभयो ।

“अन्नपूर्ण आधार शिविर पदमार्गमा खचाखच पर्यटक देखेर नारच्याङवासीसमेत दङ्ग छन् । पर्यटकको चहलपहल बढेको छ । त्यहाँ बनाइएका संरचनामा बस्ने ठाउँ पनि हुँदैन । टेन्टसहित पुगेकालाई सहज हुन्छ, अरुले कष्ट सहेरै भए पनि पदयात्रा पूरा गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । खान र बस्ने होटलसहितको सुविधा भए अन्नपूर्ण बेसक्याम्प जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने पर्यटन व्यवसायी बताउँछन् ।

“म्याग्दीको पहिलो गन्तव्य भनेकै अन्नपूर्ण बेसक्याम्प हुन्छ । अब स्वदेशी पर्यटक हिमालको काखमा गएर रमाउनेलाई यो नेपालकै एक उत्कृष्ट गन्तव्य हो”, केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्किनुभएका बेनीका छवि आचार्यले बताउनुभयो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृष्यावलोकन गर्न पाइन्छ । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गर्छ । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो । गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्या छ गुणा बढेको छ । पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, सञ्चारको सुविधा र बीच बाटोमा टीहाउसलगायत पूर्वाधार बनाउन बजेटसहितको तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

बेनीबाट दुई दिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीयस्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनमा ध्यान दिएमा एकै वर्ष हजारौँ पर्यटक पुग्ने धवलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो । नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारीसाधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुई दिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

वीरगञ्ज (पर्सा), ११ कात्तिकः वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।

चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ ।

चालु आवको तीन महिनामा वीरगञ्जबाट रु सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए ।

तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

बागमती, ११ कात्तिकः ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।

इरानमाथि इजरायलको आक्रमणपछि ‘पूर्ण संयम’ अपनाउन इयूको आग्रह

इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान गरेको छ ।

यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।
“आक्रमण र प्रतिशोधको खतरनाक चक्रले क्षेत्रीय द्वन्द्वलाई थप विस्तार गर्ने जोखिम देखिन्छ,,” इयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, “इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार गर्दै, इयूले सबै पक्षहरूलाई द्वन्द्वको अनियन्त्रित वृद्धिबाट बच्न अत्यधिक संयम अपनाउन आह्वान गर्दछ । द्वन्द्व कसैको हितमा छैन।”

इजरायली सेनाले इरानको क्षेप्यास्त्र कारखाना र विभिन्न क्षेत्रमा रहेका सैन्य शिविरमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु भएपछि इरानले आफ्नो प्रतिरक्षा गर्ने चेतावनी दिएको छ ।अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले गरेको आक्रमणको प्रतिक्रियामा पुनः आक्रमण गरेमा इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी इजरायलले दिएको छ ।

इयूले ’गम्भीर र बढ्दो क्षेत्रीय तनाव’ का बीच आक्रमण भएको भन्दै शान्त रहन आग्रह गरेको छ ।
‘ईयू तनाव कम गर्न वा तनाव कम गर्ने उपायबारे योगदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छ र यसका लागि सबै सम्बन्धित पक्षहरूसँग घनिष्ठ सम्पर्कमा रहेको छ,” २७ राष्ट्र संलग्न सङ्गठनले भनेको छ।

बाढीबाट गण्डक नहरमा आठ करोडको क्षति, तत्काल निमार्ण नगरे गहुँखेती सिँचाइमा समस्या हुने

जनकपुरधाम- गत असोज ११, १२ र १३ गते अविरल वर्षासँगैको बाढीले गण्डक सिँचाइ प्रणालीमा रु आठ करोड बराबरको संरचनामा क्षति भएको छ ।नहर संरचनामा भएको क्षतिका कारण सिँचाइकार्यमा समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले जनाएको छ ।

पर्सा, बारा तथा रौतहटका ३७ हजार ४०० हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको गण्डक सिँचाइ प्रणालीमा क्षति भएपछि नहर पूर्ण रूपमा सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको कार्यालय प्रमुख मनोज पटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले रौतहटको राजपुर भेडरहियाको १२ नं ब्लकमा रु दुई करोड, बाराको फेटामा रु तीन करोड तथा पर्साको बहुदरमाई नगरपालिकामा पुलको साइफनसहित नहर भत्किँदा रु तीन करोडको क्षति भएको छ । सिँचाइ प्रणालीअन्तर्गत नहरको डिल, कल्भर्ट, पुल तथा सहायक नहरलगायत संरचना पुनःनिर्माण तथा मर्मतका लागि रु आठ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको कार्यालयका सूचना अधिकारी सुरेश साहको भनाइ छ ।

नहर छिटो मर्मतसम्भार नगरे गहँुको सिजनमा किसानको खेतसम्म सिँचाइ सुविधा पुर््याउन कठिनाई हुुने जनाइएको छ । भत्केको नहरलाई सञ्चालन गर्न कार्यालयसँग प्रयाप्त बजेट नरहेकाले माथिल्ला निकायमा सोहीअनुसार जानकारी गराइएको सूचना अधिकारी साहले बताउनुभयो ।

नवलपरासीस्थित नेपाल भारत सीमामा निर्मित गण्डक ब्यारेजबाट उक्त नहरमा सिँचाइका लागि पानी आउने गरेको छ । उक्त ब्यारेजबाट दोन, त्रिवेणी तथा तिरहुत गरी तीनवटा नहर निमार्ण गरिएका छन् । दोन नहर भारतमै ९२ किमी पार गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलबाट नेपालमा प्रवेश गरेको छ ।

नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरले चिनिन्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित नहरको लम्बाइ नेपालतर्फ ८१ किमी रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ ।

सन् १९७५ तथा १९७६ मा दुई चरणमा निर्माण गरी भारत सरकारले नेपाल सरकारलाई नहर हस्तान्तरण गरेको थियो । नहरबाट तीन जिल्लाका ३७ हजार चार सय हेक्टर जग्गामा सिचित गर्ने लक्ष्य भए पनि रौतहटमा लक्षित सिँचाइ सुविधा नहरले दिन नसकेको जनाइएको छ ।

विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, ११ कात्तिक: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा हालै आयोजित कार्यक्रममा उहाँल नेपालका प्राकृतिक साधन, स्रोत र सम्पदाको अधिकतम उपयोग गरेर ‘समेद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

महासङ्घका अनुसार अध्यक्ष ढकालले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो ।

अमेरिकामा विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा, को-को समेटिए ?

काठमाडौँ, ११ कात्तिक : अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् ।

देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । लिग–२ मा नेपालले अमेरिका र स्कटल्याण्डसँग दुई दुई खेल खेल्ने छ । नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्नेछ । उक्त खेल राति ९ः१५ बजे सुरु हुने छ । नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । 

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अङ्क जोडेको छ । एउटा खेल वर्षाका कारण हुनसकेको थिएन । 

यस्तै अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अङ्क जोडेदै दोस्रो स्थानमा छ । स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ । स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अङ्कतालिकामा चौथो स्थानमा रहेको छ । 

चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार

भेरीगङ्गा (सुर्खेत), ११ कात्तिक : कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो ।

निर्देशनालयले अहिले प्रदेशका चिकित्सा शिक्षा पढ्दै गरेका १० विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरिरहेको छ । प्रति विद्यार्थी वार्षिक रु चार लाखका दरले छात्रवृत्ती प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷८० मा रु चार लाखका दरले रु ४० लाख र आर्थिक वर्ष २०८०÷८१ मा पनि रु ४० लाख रकम चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ती प्रदान गरिएको छ ।

छात्रवृत्ति पाउनेमा कालिकोटका निहान शाही, जाजरकोटका लक्सन शाही, जुम्लाका बिनोद रोकाय, डोल्पाका कमल विष्ट, दैलेखका आदित्य गौतम, रुकुम पश्चिमका विशाल केसी, सल्यानका आकाश अधिकारी र सुर्खेतका राज पोख्रेल रहेका छन् । यसैगरी, हुम्लाका भुवन बुढा र अंग्मु लामालाई पनि प्रदेश सरकारले छात्रवृत्ती प्रदान गरेको छ । कर्णालीमा चिकित्सक अभाव हुन नदिने गरी प्रदेश सरकारले योजना बनाएको निमित्त निर्देशक हमालले बताउनुभयो । सरकारको मापदण्ड पुरा गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ती प्रदान गरेको उहाँको भनाइ छ ।

कर्णालीमा पछिल्लो समय चिकित्सा शिक्षा पढ्ने पनि बढेका छन् । यसका साथै सरकारले इन्जिनियर, सूचना प्रसिधि, भेटेरेनरी, नर्सिङ, कृषि लगायतका प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ती प्रदान गर्दै आएको छ । प्रदेश सरकारले रकम अभावले प्राविधिक शिक्षा लिन नपाएका कर्णालीका महिलालाई अध्ययन गर्न ‘छोरी बुहारी छात्रवृत्ती’मार्फत सहज बनाएपछि अहिले प्राविधिक शिक्षा पढ्ने महिलाको सङ्ख्या बढेको निमित्त निर्देशक हमालले बताउनुभयो ।

“पछिल्लो समय प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिएको छ, चिकित्सा शिक्षासँगै प्राविधिक शिक्षा पढ्ने गरिब जेहेन्दार विद्यार्थीलाई कार्यविधिअनुसार छात्रवृत्ती मार्फत अध्ययन गर्न सहज बनाएका छौँ, यसबाट कर्णालीमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

आजदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ, ११ कात्तिक : ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आइसक्नुभएको र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन् ।

आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै महासचिव जोशीले गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्तामा अनुरोध गर्नुभयो ।

बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई

बेलबारी (मोरङ), ११ कात्तिक : मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।

शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा–११ ले रु आठ लाख नगदसहित ट्रफी जितेको छ । यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले रु चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।

झापा–११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ तथा सलहेशका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए । सलहेशका समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले गोल हुनबाट बचाएका थिए ।

फाइनल खेलमा मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा सलहेश फुटबल क्लबका अजयी मार्टिनले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएका थिए । यस्तै खेलको ७१औँं मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि जित हारको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

फाइनल खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरे । झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले रु १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही रु सात हजार नगद तथा ट्रफी प्राप्त गरे ।

यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिभर पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै रु सात हजार नगद र ट्रफी प्राप्त गरे ।

विजयी खेलाडीलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगिता यही कात्तिक २ गतेदेखि सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

पाटन (ललितपुर), ११ कात्तिक : शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ । सम्मेलनको दोस्रो दिन शनिबार ऊर्जा, वातावरण र बायोमेडिकलबारे भएका पछिल्ला अनुसन्धान, अन्वेषणबाट पत्ता लागेका कुरा तथा अनुसन्धानबाट हासिल उपलब्धिको उपयोगिताको सम्भावनाका बारेमा समेत छलफल भएको छ ।

‘नेपाल मटेरियल्स साइन्स सोसाइटी’को आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा जारी ‘एड्भान्स फङ्सनल मटेरियल्स’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन सुरुआतमा चीनको साङ्घाइस्थित दोङ्वा विश्वविद्यालयका प्राध्यापक बिन दिङले ऊर्जाका क्षेत्रमा गरिएको आफ्नो अनुसन्धान र विश्वमा पछिल्लो समय भइरहेका अन्वेषणबारे आफ्नो धारणा राख्नुभयो । उहाँले नयाँ प्रविधिको प्रयोग गरेर न्यानो फाइबरको उत्पादन र यसको उपयोगिताबारे जानकारी गराउनुभयो ।

न्यानो फाइबरलाई ऊर्जा भण्डारण, ब्याट्री बनाउन, मानव स्वास्थ्यका लागि हानिकारक ग्यास सोस्नेलगायत विषयमा उपयोग गर्न सकिने प्राध्यापक दिङले जानकारी दिनुभयो । उहाँले न्यानो फाइबरलाई मानव स्वास्थ्यको उपचारका लागि पनि प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यसैगरी जापानस्थित नेशनल इन्स्टिच्युट फर मटेरियल्स साइन्स (निम्स)का प्राध्यापक डा लोककुमार श्रेष्ठले ऊर्जा, वातावरण र नानो मटेरियल्स’सम्बन्धी शीर्षकमा धारणा राख्दै ऊर्जा भण्डारण गर्ने उपकरण कसरी निर्माण गर्न सकिन्छ र यसको कार्यक्षमता के हुन्छ भन्ने विषयमा सहभागीलाई अवगत गराउनुभयो ।

हेल्थकेयर, बायोमेडिकल शीर्षकमा मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्रा डा पारसना यादवले नेपालमा क्यान्सरको उपचारका सम्बन्धमा भए–गरेका अनुसन्धानबारे जानकारी गराउनुभयो । त्यस्तै सोही विषयमा धारणा राख्दै डा कृष्ण कट्टेलले क्यान्सरको उपचारमा विश्वमा चलिरहेको नयाँ पद्धतिको अनुसन्धान र उपचार विधिका बारेमा व्याख्या गर्नुभएको थियो ।

यसैगरी आइआइटी रुड्की भारतका प्रा डा विमल श्रीवास्तवले वायुमण्डलमा उत्सर्जन भएको कार्बनडाइक्साइडलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभयो । उहाँले वायुमण्डलमा कार्बन उत्सर्जनलाई कम गर्ने मात्र नभएर उत्सर्जित कार्बनडाइक्साइडबाट अल्कोहल बनाउन सकिने विषयमा आफ्नो धारणा राख्नुभयो ।

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रा डा टिस्टा प्रसाईँ जोशीले पिउने पानीमा देखिने आर्सनिकको मात्रा कसरी घटाउने र त्यो झिकिएको आर्सनिकको बहुउपयोगिता कसरी गर्न सकिन्छ भन्नेबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।

सम्मेलनको दोस्रो दिन विभिन्न मुलुकका ३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताले ऊर्जा, वातावरण र बायोमेडिकलबारे विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नुभयो । भारत, चीन, मलेसिया, इण्डोनेसिया, दक्षिण कोरिया, जापान, संयुक्त राज्य अमेरिकालगायत १६ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी उक्त सम्मेलन आजसम्म चल्नेछ ।

मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी गरिँदै

जलेश्वर (महोत्तरी), ११ कात्तिक : छठपर्व नजिकिँदै गर्दा महोत्तरीसहित मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी तीव्र भइरहेको छ । तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम मन्दिर निर्माण, घाट निर्माण र शृङ्गारका विभिन्न तयारी भइरहेका छन् ।

मिथिलाञ्चलभरिको एउटै पोखरी तथा नदी तलाउमा एक सय, दुई सय र पाँच जना र सोभन्दा बढी व्यक्तिले छठपर्व मनाउने चलन रहेका कारण त्यसका लागि १५÷२० दिन पहिलेदेखि नै छठ घाटमा विभिन्न तयारी गर्नुपर्ने हुन्छ । मिथिलाको प्रमुख पर्वका रूपमा मानिएको छठपर्व यस क्षेत्रमा निकै धुमधामका साथ मनाउने भएकाले यहाँका पोखरी, नदी, तलाउजस्ता जलासयमा अहिले छठपर्वको तयारी तीव्रताका साथ भइरहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् धु्रव रायले बताउनुभयो ।

सूर्य भगवान् तथा छठी माताको पूजा पानीमै हुने भएकाले मिथिलाञ्चलका जलासयमा अहिले छठपर्वका लागि सरसफाइ, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने काम, सडक, बाटो बनाउने काम तीव्रताका साथ भइरहेको जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंहले बताउनुभयो । छठपर्व मिथिलावासीले धुमधामका साथ मनाउँदै आएका छन् । यस पर्वका लागि जलासयमा एक महिना पहिलेदेखि नै सरसफाइ, मर्मतसम्भार, मन्दिर निर्मण र शृङ्गार्नेजस्ता तयारी गर्नुपर्ने जलेश्वर नगरपालिकाका प्रमख सुरेश साह सोनारले बताउनुभयो ।

यसैबीच परापूर्वकालदेखि नै सूर्य पूजा तथा छठीमाताको पूजाका लागि महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीमा बीच पानीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै बाँसको तैरिने बाटो निर्माण गरिन्छ । त्यस्तै करिब आधा किलोमिटरसम्म गुफाबाला पंडाल र विभिन्न खालको सजीसजाउ र बिजुली बत्ती जडान गर्ने चलन छ । अहिले पनि त्यहाँ धमाधम ती काम भइरहेको स्थानीय प्रदीप पाठकले बताउनुभयो ।

त्यस्तै जलेश्वर नगरपालिका–१ स्थित बरुण सरोवरमा पनि छठपर्वका लागि चारैतिर ठूल्ठूला पंडाल, रङ्गीचङ्गी सजीसजाउ र बिजुली बत्ती जडानजस्ता कार्य भइरहेका छन् । जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायत स्थानमा नदीमा छठपर्व मनाउने चलन रहेका कारण ती स्थानका नदीमा अहिले बाटो निर्माण, घाट निर्माण, पंडाल निर्माण र रङ्गीचङ्गी बिजुली बत्ती सजाउने कार्य धमाधम भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताउनुभयो ।

गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

गोदावरी (ललितपुर) ११ कात्तिक : ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ ।

प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा रु ५० लाख बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।

उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको सङ्केत गरेको संयोजक तामाङ बताउनुहुन्छ । नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छ : मुख्यमन्त्री लामा

बागमती, १० कात्तिकख : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामाजिक सङ्घसंस्थासँग हातेमालो गरेर प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

‘जेसीज सप्ताह–२०२४’ को समापनका अवसरमा हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले विकासमा सामाजिक सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण रहेकाले प्रदेश सरकार सामाजिक सङ्घसंस्थालाई साथमा लिएर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।

युवाहरू जेसीजमार्फत एकताबद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकाससमेत गर्दै सामाजिक सेवामा लागेकोप्रति खुसी व्यक्त गर्नुहुँदै मुख्यमन्त्री लामाले जेसीजको कर्मबाट सिङ्गो समाजले प्रेरणा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । जेसीजले समाजमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै उहाँले जेसीजका नेतृत्व अझै क्रियाशिल भएर सामाजिक क्षेत्रमा लाग्नु आवश्यक रहेको बताउनुभयो ।

हेटौँडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई मुख्यमन्त्री लामाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

हेटौँडा जेसीजद्वारा यही कात्तिक ६ गतेदेखि ९ गतेसम्म आयोजित ‘जेसीज सप्ताह २०२४’ अन्तर्गत साइकल रेस, स्लो मोटरसाइकल रेस, रक्तदान, लागुऔषध दुव्र्यसनि न्यूनीकरणसम्बन्धि अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गरेको थियो ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु, २०० घाइते

मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरूले जनाएका छन् ।

गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, “शुक्रबार बिहान, आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी गरेका छन्।”

समितिले भनेको छ, “अलसेरिहा गाउँका ५३ भन्दा बढी सर्वसाधारण मारिएका छन भने २०० भन्दा बढी अन्य घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।”

शुक्रबार बिहानैदेखि आरएसएफ लडाकूले गेजिरा राज्यको उत्तरमा रहेको अल कमलिन इलाकाको अलसेरिहा गाउँमा आक्रमण गरेको थियो । लडाकूहरूले हतियार र तोपमार्फत् अग्लो भवनबाट निहत्था नागरिकहरूमा गोली हान्न थालेको एक गैर–सरकारी समूहले जनाएको छ ।

सुडानको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत गेजिरा राज्यका गाउँ र शहरविरुद्ध आरएसएफको प्रतिशोधात्मक अभियानको निन्दा गरेको छ ।

आरएसएफले जनजाति र क्षेत्रीय आधार इलाकाहरूमा अभियानहरू सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

सन् २०२३ मध्य अप्रिलदेखि सुडानमा सशस्त्र सेना र आरएसएफ बीचको द्वन्द्वले सुडानमा व्यापक आर्थिक तथा भौतिक क्षति पुगेको छ । सशस्त्र द्वन्द्वका कारण यहाँ हालसम्म २४ हजार ८५० भन्दा बढीको ज्यान गएको छ ।

सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

रसुवा, १० कातिकः अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले आज टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठुलो सहयोग मिलेको प्रजिअ पौडेलले बताउनुभयो । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो ।

सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ ।

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

काठमाडौँ, १० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिनुभयो । देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उहाँले बताउनुभयो ।

साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय सङ्गठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्याङ्कन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।

कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी हुनुहुन्छ । नेताहरूको क्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा सङ्गठनिक कार्यविभाजनको गृहकार्य तथा परामर्श गरिरहेको सचिव पाण्डेयले बताउनुभयो ।

कार्यविभाजन गर्नुअघि पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरिने जनाइएको छ । समान विचारधारा भएका, कम्युनिष्ट पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिनुभयो ।

कम्युनिष्ट नेता वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादी पार्टीबीच एकीकरणको गृहकार्य भइरहेको, नेता गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख जस्ता विषयमा लिखित प्रतिबद्धता माग गर्नुभएपछि थप छलफल गरी निष्कर्षमा पुग्ने गौतमले बताउनुभयो ।

इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी

इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको शनिबार रूसले बताएको छ ।

जवाफी आक्रमणको बदलामा पुनः तनाव बढाउनेतर्फ कदम अघि बढाएमा तेहरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायलले चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिका र बेलायत दुवैले इरानलाई द्वन्द्वलाई थप नबढाउन माग गरेका छन्।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले यस क्षेत्रमा जारी विष्फोटक पदार्थको वृद्धिप्रति आफू चिन्तित रहेको बताउनुभएको छ ।

“हामी सबै पक्षलाई संयमित हुन, हिंसा रोक्न र घटनाहरूलाई विनाशकारी परिदृश्यमा परिणत हुनबाट रोक्न आग्रह गर्दछौं,” उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उहाँले भन्नुभएको छ, “इरानलाई प्रतिशोधी कदम चाल्न उक्साउने काम बन्द गर्न र अनियन्त्रित तनावको चक्रव्यूहबाट बाहिर निस्कन आवश्यक छ ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता उदीयमान राष्ट्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा दुई क्षेत्रीय शक्तिराष्ट्रबीचको तनावले मध्यपूर्वमा पूर्ण युद्ध निम्त्याउने खतरा रहेको बताउनुभएको थियो ।

“इजरायल र इरानबीच द्वन्द्वको स्तर ह्वात्तै बढेको छ। यो सबै श्रृंखलाबद्ध प्रतिक्रियाको सम्झना दिलाउँछ र यसले सम्पूर्ण मध्यपूर्वलाई पूर्ण युद्धको सङ्घारमा पुर्याउँछ,” रूसी राष्ट्रपति पुटिनले आफ्नो सम्बोधनमा भन्नुभएको थियो ।

मस्कोको इरानसँग घनिष्ठ सम्बन्ध छ र यस क्षेत्रमासुरक्षा र आर्थिक हित र व्यापक द्वन्द्वको बारेमा रूसले व्यापक चिन्ता व्यक्त गरेको छ।

लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा भट्टराई

काठमाडौँ, १० कात्तिक : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोेजक डा बाबुराम भट्टराईले लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सङ्घीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र सम्वर्द्धन गर्दै लैजानपर्ने आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा दुःख, कष्ट भोगेका राजनीतिक नेतृत्वले जनताका एजेण्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको उदय भयो तर उनीहरु पनि व्यवस्थित हुन सकिरहेको देखिन्न ।”

लोकतन्त्रका लागि योगदान पुर्‍याएका पुराना शक्तिलाई सुधार्ने तथा नयाँ शक्तिलाई व्यवस्थित तुल्याएर आम सहमतिका आधारमा अघि बढनुपर्ने आवश्यकता रहेको बताउँदै संयोजक भट्टराईले लोकतान्त्रिक गणतन्त्रभित्रै नयाँ शक्ति निर्माण गर्न सकिने तर्क गर्नुभयो । संयोजक भट्टराईले भन्नुभयो, “वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ, पुराना वादबाट अब मुलुक चल्दैन । सङ्घीयतालाई पनि परिस्कृत गर्दे लैजानुपर्छ ।”

केही दिनअघि विधान अधिवेशन सम्पन्न गरेको नयाँ शक्तिले आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा राष्ट्रिय अधिवेशन गर्दैछ । पार्टीका सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुनुपर्छ भन्ने मान्यता राख्ने उक्त राजनीति शक्तिले पालिकामा प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुने संरचना तयार गरेको छ । पदाधिकारीसहित सबै समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व रहने सुनिश्चित गरेको उक्त राजनीतिक शक्तिले समिति निर्वाचितमा समानुपातिक समावेशी प्रणाालीको नीतिअनुसार हुने जनाएको छ ।

पाटन प्रिमियर लिग : सुपर सिक्समा आयोजकको शानदार सुरुआत

बैतडी, १० कात्तिक : बैतडीको पाटनमा जारी चौथौँ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले शानदार सुरुआत गरेको छ ।

आजको खेलमा पाटनले कुलगडे क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्यो । कुलगडेले दिएको ५६ रनको झिनो लक्ष्य पाटनले ४ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा सचिन साउदले २४ र सुमित बुडालले १४ रनको योगदान गरे ।

कुलगडेका सुरज ठगुन्नाले १ विकेट लिए । यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको कुलगडे ११ दशमलव १ ओभरमा ५५ रनमा अलआउट भयो । पञ्कज लुहारले १७ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कुलगडेको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच भएको पञ्कज पन्तले ३, शुभाष विष्ट र सुशील भाटले २/२ विकेट हात पारेको स्कोरर तिलक बोहराले बताए ।

यो जितले पाटनको सेमिफाइनल पुग्ने सम्भावना निकै रहेको छ । यसअघि आजै सम्पन्न अर्काे सुपर सिक्सको खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले स्तब्ध पार्दै कोइनोडा गुरूखोला लायन्सले फराकिलो जित दर्ता गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आइतबार पनि सुपर सिक्सका दुई खेल हुनेछन् । पहिलो खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर गाउँपालिका खेल्दा दोस्रोमा पाटन भ्याली क्रिकेट क्लब र निङलाशैनी क्रिकेट क्लबबीच भीडन्त हुनेछ ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता छ । तियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो ।

रोक्का गरिएको रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी७ को अन्तिम निर्णय

संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी७ का नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तीमार्फत शुक्रबार घोषणा गरेका छन् ।

सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन् ।

“युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ”, जी७ नेताहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो ।

“युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौँ”, समूहले प्रतिबद्धता जनाएको छ ।

उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन् ।

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १० कात्तिकः नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।

प्रजातान्त्रिक विचार समाजद्वारा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान कार्यक्रमसहित संविधान संशोधन’ विषयक छलफलका अवसरमा वक्ताहरूले प्रजातान्त्रिक मूल्यमान्यता र समावेशी सिद्धान्तलाई आत्मसात् गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) जस्ता दुई ठूला राजनीतिक दल सम्मिलित सरकार गठन भएको विद्यमान सन्दर्भमा बौद्धिकजगत्सहित आमनागरिकबाट ठोस राय–सुझावको अपेक्षा गरिएको उहाँहरूले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, समाजसेवालगायत अधिकांश क्षेत्रमा अस्वस्थ, गैरजिम्मेवार एवं विवेकहीन राजनीति हाबी भएको चर्चा गर्दै वक्ताहरूले समयसापेक्ष एवं जनमुखी संविधानका पक्षमा वकालत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अहिले शिक्षा, स्वास्थ्य, बैङ्क तथा वित्तीय संस्थाजस्ता सेवामूलक क्षेत्रमा समेत राजनीतिक गतिविधिले प्रश्रय पाउनु दुःखद भएको धारणा व्यक्त गर्दै वक्ताहरूले पेसा–व्यवसायका रुपमा भन्दा सेवाभावसहितको संस्कारयुक्त राजनीतिक प्रणाली स्थापनाका पक्षमा उभिन समग्र देशवासीसँग अनुरोध गर्नुभयो ।

सो अवसरमा दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत प्राध्यापक कपिल श्रेष्ठले प्रजातन्त्र र मानवअधिकारलाई सदैव आत्मसात् गरी आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै देश र जनताको पक्षमा पदीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले मुलुकको न्याय, प्रशासन, धर्म, संस्कृति, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा देखिएका विकृति, विसङ्गति, ढिलासुस्तीको न्यूनीकरण एवं अन्त्यसहित राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि संविधान संशोधन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संविधानसभा सदस्य जनदीशनरसिंह केसीले विद्यमान संविधानका कारण देशमा समस्या सिर्जना भएको हो भने संशोधनका लागि बौद्धिकजगत्बाट नेतृत्वदायी भूमिका निर्वाह हुनुपर्ने धारणा व्यक्त गर्दै व्यावहारिक एवं वस्तुनिष्ट ढङ्गबाट सुझाव दिन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले र निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले केही संवैधानिक प्रावधान, शासकीय स्वरुप र शासन सञ्चालन विधि, कानुनी राज्य, शक्ति बाँडफाँटलगायतका मुद्दामा विभिन्न कोणबाट प्रश्न उठ्न थालेको यथार्थलाई मध्यनजर गरी संविधान संशोधनका पक्षमा आवश्यक बहस पैरवी गर्नुपर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका सल्लाहकार प्रा श्रेष्ठ दक्षिण अफ्रिकाका लागि राजदूत पदमा नियुक्त हुनुभएकामा बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो ।

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ: नेता कोइराला

काठमाडौँ, १० कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौँ, १० कात्तिक : नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएको छ ।

इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उहाँ फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल हुनुभएको हो । बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिनुभएको थियो । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल हुनुभएको हो ।

इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्नुहुने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिनुभएको छ । आगामी दिनमा पनि नेपाली दर्शकहरूले यसैगरी नै हौसला दिनुहुने उहाँको विश्वास छ ।

‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध हुनुभएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुनुहुन्छ । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउण्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेशनल किक बक्सिङ’को उपाधि चुम्नुभयो ।

हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चार पटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल हुनुभएको थियो ।

उहाँले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुई वटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नक आउट गर्न सफल हुनुभएको थियो । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ ।

जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ ।

कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश

काठमाडौँ, १० कात्तिक : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रको खोज र अध्ययन गर्न सकियो भने समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिने बताउनुभएको छ ।

सर्वाेच्च अदालतको सम्पादन तथा प्रकाशन शाखाको आयोजनामा आज काठमाडौँमा आयोजना भएको ‘नेपालको कानुनी तथा न्यायिक इतिहाससम्बन्धी कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले खोज र अनुसन्धानले नेपालको कानुनी प्रणालीमा आएको विधिशास्त्रीय विकासक्रमको तुलना गर्न सहयोग पुग्ने बताउनुभयो ।

सर्वाेच्च अदालतले पनि कानुन र न्यायिक इतिहासको खोज तथा अनुसन्धानलाई अघि बढाइएको जानकारी दिँदै उहाँले कुनै पनि विषयमा सुक्ष्म अध्ययन, खोज र अनुसन्धाान नगरी अन्तरयमा पुग्न नसकिने जिकिर गर्नुभयो । उहाँले कानुन तथा न्यायिक इतिहासका बारेमा नागरिकलाई जानकारी गराई मौलिक विधिशास्त्र उजागर गर्दै कानुनी ज्ञानको प्रवर्द्धन गर्नेतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

सर्वाेच्च अदालतले प्रधानन्यायालयबाट भएका केही फैसलालाई नेपाली भाषामा उतारेर सर्वाेच्चको वेबसाइटमा प्रविष्ट गर्ने कार्यको सुरुआत गरी यसलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश राउतले यसले प्रधानन्यायालयबाट भएको फैसला सबैका लागि पहुँचयोग्य भएको र यो न्यायिक इतिहासमा कोसेढुङ्गा सावित भएको उल्लेख गर्नुभयो । नेपालको इतिहासमा न्याय प्रणाली धर्ममा आधारित रहेको उल्लेख गर्दै उहाँले यी कानुनी दस्ताबेज हालका कानुनका आधार भएको स्मरण गर्नुभयो ।

नेपालमा संहिताबद्ध कानुनको विकास हेर्दा विसं १९१० मा पहिलो पटक जङ्गबहादुरको पालामा एकीकृत कानुनकारुपमा आएको उल्लेख गर्दै उहाँले हाल प्रचलनमा रहेको कानुन ती कानुनको निरन्तरताको रुपमा रहेको जानकारी गराउनुभयो ।

कानुन र न्याय प्रणाली समय, काल, परिस्थिति र सामाजिक परिभेषअनुसार परिमार्जन हुँदै जाने बताउँदै प्रन्या रावतले यो क्रममा ऐतिहासिक र राम्रा कानुनको अनुसरण गरिने पनि बताउनुभयो ।

आजको कार्यक्रमले कानुन र न्यायिक इतिहास बुझ्न सहयोग गर्ने जानकारी गराउँदै उहाँले नेपालको कानुन र न्याय प्रणालीलाई परिस्कृत र मौलिक बनाउन यस कार्यक्रमले सहयोग गर्न विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले नेपालको कानुनको विकासक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अर्का इतिहासकार दिनेशराज पन्तले पनि कानुनको विकासक्रमका बारेमा धारणा राख्नुभएको थियो ।