`

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ: नेता कोइराला

काठमाडौँ, १० कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौँ, १० कात्तिक : नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएको छ ।

इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उहाँ फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल हुनुभएको हो । बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिनुभएको थियो । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल हुनुभएको हो ।

इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्नुहुने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिनुभएको छ । आगामी दिनमा पनि नेपाली दर्शकहरूले यसैगरी नै हौसला दिनुहुने उहाँको विश्वास छ ।

‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध हुनुभएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुनुहुन्छ । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउण्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेशनल किक बक्सिङ’को उपाधि चुम्नुभयो ।

हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चार पटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल हुनुभएको थियो ।

उहाँले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुई वटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नक आउट गर्न सफल हुनुभएको थियो । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ ।

जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ ।

कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश

काठमाडौँ, १० कात्तिक : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रको खोज र अध्ययन गर्न सकियो भने समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिने बताउनुभएको छ ।

सर्वाेच्च अदालतको सम्पादन तथा प्रकाशन शाखाको आयोजनामा आज काठमाडौँमा आयोजना भएको ‘नेपालको कानुनी तथा न्यायिक इतिहाससम्बन्धी कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले खोज र अनुसन्धानले नेपालको कानुनी प्रणालीमा आएको विधिशास्त्रीय विकासक्रमको तुलना गर्न सहयोग पुग्ने बताउनुभयो ।

सर्वाेच्च अदालतले पनि कानुन र न्यायिक इतिहासको खोज तथा अनुसन्धानलाई अघि बढाइएको जानकारी दिँदै उहाँले कुनै पनि विषयमा सुक्ष्म अध्ययन, खोज र अनुसन्धाान नगरी अन्तरयमा पुग्न नसकिने जिकिर गर्नुभयो । उहाँले कानुन तथा न्यायिक इतिहासका बारेमा नागरिकलाई जानकारी गराई मौलिक विधिशास्त्र उजागर गर्दै कानुनी ज्ञानको प्रवर्द्धन गर्नेतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

सर्वाेच्च अदालतले प्रधानन्यायालयबाट भएका केही फैसलालाई नेपाली भाषामा उतारेर सर्वाेच्चको वेबसाइटमा प्रविष्ट गर्ने कार्यको सुरुआत गरी यसलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश राउतले यसले प्रधानन्यायालयबाट भएको फैसला सबैका लागि पहुँचयोग्य भएको र यो न्यायिक इतिहासमा कोसेढुङ्गा सावित भएको उल्लेख गर्नुभयो । नेपालको इतिहासमा न्याय प्रणाली धर्ममा आधारित रहेको उल्लेख गर्दै उहाँले यी कानुनी दस्ताबेज हालका कानुनका आधार भएको स्मरण गर्नुभयो ।

नेपालमा संहिताबद्ध कानुनको विकास हेर्दा विसं १९१० मा पहिलो पटक जङ्गबहादुरको पालामा एकीकृत कानुनकारुपमा आएको उल्लेख गर्दै उहाँले हाल प्रचलनमा रहेको कानुन ती कानुनको निरन्तरताको रुपमा रहेको जानकारी गराउनुभयो ।

कानुन र न्याय प्रणाली समय, काल, परिस्थिति र सामाजिक परिभेषअनुसार परिमार्जन हुँदै जाने बताउँदै प्रन्या रावतले यो क्रममा ऐतिहासिक र राम्रा कानुनको अनुसरण गरिने पनि बताउनुभयो ।

आजको कार्यक्रमले कानुन र न्यायिक इतिहास बुझ्न सहयोग गर्ने जानकारी गराउँदै उहाँले नेपालको कानुन र न्याय प्रणालीलाई परिस्कृत र मौलिक बनाउन यस कार्यक्रमले सहयोग गर्न विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले नेपालको कानुनको विकासक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अर्का इतिहासकार दिनेशराज पन्तले पनि कानुनको विकासक्रमका बारेमा धारणा राख्नुभएको थियो ।

गरिब जनतामा स्वास्थ्य सेवा पुर्‍याउनेगरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ, १० कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताउनुभएको छ । उहाँले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्नेगरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पार्नुभयो ।

लमजुङ बेँसीसहर नगरपालिका–२ काफलडाँडा चिसापानीमा गाउँसहर स्वाथ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले नेपालमै किड्नी फेर्नेदेखि कलेजोको उपचार हुने गरे पनि धेरै महँगो भएको बताउनुभयो । उहाँले किड्नी र कलेजोजस्ता उपचारमा जनताको पहुँच पुर्‍याउन सरकारले लागिपरेको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “सरकार नागरिकको स्वाथ्यप्रति गम्भीर भएकाले गाउँगाउँमा सेवा पु¥याउन प्रतिबद्ध छ । उपचार सेवा कसरी सस्तो बनाउन सकिन्छ, शुल्क घटाएर वा सरकार आफैँले बेहोरेर भन्ने विषयमा छलफल भइरहेको छ ।”

जनताको जीवन बचाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता राखिएको स्पष्ट पार्नुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेतर्फ सरकार लागिरहेको जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रमा सरकारको ठूलो लगानी भए पनि यस क्षेत्र व्यवस्थित हुन नसकेको भन्दै मन्त्री गुरुङले बसाइँ सराइलगायतका कारण गाउँगाउँका विद्यालयमा विद्यार्थी टिकाउन समस्या भइरहेकाले त्यसका लागि सरकारले आकर्षक योजना ल्याउने उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले नवनिर्मित स्वाथ्यचौकी भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अभिभावकले आफ्ना छोराछोरीका लागि पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यमा ध्यानदिनुपर्ने बताउनुभयो ।

स्थानीय सुनसरी गुरुङले निःशुल्क जग्गादान गरेको सात रोपनी सात आनामा स्वाथ्यचौकी भवन निर्माण भएको स्वाथ्यचौकी प्रमुख राजेश दुलालले जानकारी दिनुभयो । उहाँको अनुसार सङ्घीय सरकारको एक करोड ८० लाख रुपैयाँमा करिब तीन वर्ष लगाएर निर्माण भएको छ ।

यस स्वाथ्य चौकी भवनबाट गर्भवती सेवा, सुत्केरी सेवा, खोप, थेरापी उपचार, मलेरिया रोगको निदान, परिवार नियोजन सेवालगायतको रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री र जर्मन चान्सलरद्वारा युक्रेनबारे गहिरो चिन्ता व्यक्त, स्थायी शान्तिको आवश्यकतामा जोड

प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर ओलाफ सोल्सले युक्रेनमा बढ्दो द्वन्द्व र यसको दुखद मानवीय परिणामहरूमाथि गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानून अनुरूप न्यायपूर्ण र स्थायी शान्तीको आवश्यकतामा जोड दिनुभएको छ ।

युक्रेन द्वन्द्वमा आमनागरिकको ज्यान गएकोमा चिन्ता व्यक्त गर्दै दुबै नेताले गाजामा रहेका सबै बन्धकहरूलाई तत्काल रिहा गर्न पनि आह्वान गर्नुभएको छ ।

शुक्रबार आयोजित सातौँ भारत–जर्मनी अन्तरसरकारी परामर्शपछि यो संयुक्त वक्तव्य जारी गरिएको हो ।

संयुक्त वक्तव्यमा, प्रधानमन्त्री मोदी र ओलाफ सोल्सले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानसहित संयुक्त राष्ट्र बडापत्रका उद्देश्य र सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त अनुरूप व्यापक, न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकतालाई दोहोरÞ्याउनुभयो ।

विशेष गरी विकासशील र अल्पविकसित देशमा विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षाको सन्दर्भमा युक्रेन युद्धले निम्त्याएको नकारात्मक प्रभावबारे पनि दुई नेताहरूले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री मोदी र चान्सलर सोल्सले विज्ञप्तीमार्फत मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्ने आफ्नो साझा चासो व्यक्त गर्दै गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको निन्दा गर्नुभएको छ ।

दुई नेताले लेबनानमा द्रुत रूपमा बिग्रँदै गएको अवस्था बारे गहिरो चिन्ता व्यक्त गर्नुभयो ।

उहाँहरुले विश्वभर देखिएको बढ्दो द्वन्द्वको समयमा सबै पक्षलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आग्रह गर्नुभएको छ ।

नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो

अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन् ।

चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो ।

चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यू डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्याण्डर ग्रेबेन्किन रहेका छन् ।

यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौं व्यावसायिक ‘क्रु रोटेशन मिशन’ हो ।

पाकिस्तानमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको आक्रमणमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको सरकारी स्रोतले जनाएको छ ।

आदिवासीहरूको बसोबास रहेको उत्तरी वजिरिस्तानमा भएको घटनामा आतङ्कवादीहरूले सेना र प्रहरीको संयुक्त जाँच चौकीमा आक्रमण गरेपछि भएको भिडन्तका क्रममा यो हताहत भएको हो ।

मृत्यु हुनेमा चार प्रहरी, एक सैनिक जवान र दुई सर्वसाधारण रहेको स्रोतले जनाएको छ । आक्रमणमा दुई प्रहरी र एक सैनिक घाइते भएका थिए ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ । समाचार तयार पार्दासम्म उक्त आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

‘सरकार विधिको शासनमा अगाडि बढ्छ’ – देउवा

काठमाडौँ, १० कात्तिक : नेपाली कांग्रेस काठमाडौँ महानगरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिनुहुँदै सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका लागि सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

कांग्रेस नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको १०० दिनका क्रममा लक्ष्य तोकेअनुसार सबै काम सबै मन्त्रालयले पूरा गरेको बताउनुभयो । विपक्षीले उठाएका कुरा कति सत्य छभन्ने समयक्रमले देखाउने उल्लेख गर्नुहुँदै उहाँले विधिको शासनको वकालत गर्छु भन्ने दलले नै विधि एवं प्रक्रियाको उपहास गरिरहेको बताउनुभयो ।

शुक्रबार बसेको सत्तारुढ सात दलको बैठकको निर्णयअनुसार नै सरकार विधिको शासनको मार्गमा अघि बढ्ने उपप्रधानमन्त्री सिंहको भनाइ छ । संविधान संशोधन आवश्यकताका आधारमा सबै दलको विचार बुझेर प्रक्रियासम्मत रुपमा हुने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता, कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक एवं बुद्धिजीवीको समेत उपस्थिति रहेको महानगर समिति सभापति नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।

भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्नेः मुख्यमन्त्री आचार्य

लुम्बिनी, १० कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्व तहबाट पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ ।

भ्रष्ट्राचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का बारेमा आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभयो । उहाँले वडा तहमा हुने भ्रष्ट्राचारका उजुरीलाई समेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ, हामी सबै पारदर्शी बन्यौँ भने भ्रष्ट्राचार आफैँ न्यूनीकरण भएर जान्छ ।”

लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको उहाँले जानकारी दिनुभयो । भ्रष्ट्राचारलाई शून्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँचवर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।

“सुशासन कायम नभइराख्दा भ्रष्टाचार बढेर जान्छ, तपाईं जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो”, उहाँले भन्नुभयो, “भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ, प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चलाई कटौती गरेर अगाडि बढीरहेका छौँ ।”

उहाँले भ्रष्टाचार शुन्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तहलगायत जिम्मेवारीमा रहेकाहरूमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको धारणा राख्नुभयो । मुख्यमन्त्री आचार्यले जिम्मेवारीमा रहेका सबैमा नैतिक आचारचरण हुने हो भने भ्रष्टाचार शून्यमा झार्न सकिने बताउनुभयो ।

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणबारे आयोजना गरिएको छलफलमा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धी कार्यान्वयन गर्ने सन्दर्भमा सो राष्ट्रिय रणनीनि तथा कार्ययोजना निर्माण गर्न थालिएको छ ।

तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्ने

काठमाडौँ, १० कात्तिकः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) मा जलवायु वित्तका विषयमा विशेष छलफल हुने बताउनुभएको छ ।

कोप–२९ लाई अर्थपूर्ण बनाउन आज आयोजित ‘राष्ट्रिय जलवायु सम्मेलन’ कार्यक्रममा मन्त्री ठकुरीले कोपमा जलवायु वित्तको एजेन्डालाई महत्वका साथ उठान गरिने उल्लेख गर्नुभयो । “कोपमा सबै देशहरू जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कट र समस्या समाधान गर्न एकजुट हुनेछन् । जलवायु सङ्कटसँगै समाधानमा नेपालले गरेको उपलब्धिबारे प्रचार गरी थप सहयोग र सहकार्यका माध्यमबाट हाम्रा आवश्यकता पूर्ति गर्नेबारे अघि बढ्ने छौँ”, उहाँले भन्नुभयो ।

वित्तीय सहयोगबिना विकशील देशलाई जलवायु परिवर्तनले निम्ताएका चुनौतीसँग लड्न असहज हुने भएकाले वित्तसम्बन्धी विषयमाथि छलफल गरिने मन्त्री ठकुरीले बताउनुभयो । “तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनु जरुरी छ । यसलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो ऊर्जा स्रोत अवलम्बन गरी कार्बन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ ।”

जलवायु परिवर्तनका कारण केही समयअघि थामेमा भएको हिमताल विस्फोट र काठमाडौँलगायत क्षेत्रमा आएको बाढीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइँने मन्त्री ठकुरीले जानकारी दिनुभयो ।

“जलवायु परिवर्तनले निम्तिाएका सङ्कट आज समग्र विश्वका लागि गम्भीर चुनौतीका रुपमा देखिएको छ । यससँग जुध्न कुनै एक देश वा समुदाय मात्र नभई विश्व जगत एकजुट हुनु जरुरी छ । नेपालले विश्व मञ्चमा जलवायु परिवर्तनको समस्या समाधान गर्न नेतृत्वदायी भूमिका लिइरहेको छ र आगामी दिनमा पनि समन्वय र सहकार्य गर्नेछ”, उहाँले भन्नुभयो ।

सन् १९९२ को जलवायु परिवर्तन महासन्धी र सन् २०१५ को पेरिस सम्झौता अनुमोदन गर्नुका साथै नेपालले आफ्नो प्रतिबद्धता पूरा गर्दै आएको भन्दै मन्त्री ठकुरीले नेपालले विसं २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार पारी कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । विद्युतीय सवारी प्रवर्द्धन तथा स्थानीयस्तरमा जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई विश्वले प्रशंसा गरेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्नेक्रम घटेको, बाढीपहिरोलगायत जलवायुजन्य विपत्तिहरुले निरन्तर पु¥याइरहेको क्षतिकाबारेमा सम्बन्धित जिल्लाका जनप्रतिनिधि, स्थानीय, विज्ञ तथा सञ्चारकर्मीले जानकारी गराइरहनुभएको बताउनुभयो ।

“खेतीपाती र खाद्यसुरक्षा, पानीको स्रोत, पर्यटन, स्वास्थ्यलगायत समग्र अर्थतन्त्रमा यसका दुष्परिणाम देखिन थालेका छन् । त्यसैले, जलवायु परिवर्तनको समाधानका लागि एकजुट भएर सबैले सहकार्य गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

सन् २०१५ मा भएको पेरिस सम्झौतासँगै विश्वले जलवायु परिवर्तनका विरुद्ध एकत्रित प्रयास गर्न एक साझा प्रतिबद्घताका साथ अघि बढेको बताउँदै मन्त्री ठकुरीले यो सम्झौताले विकासशील र विकसित देशबीच सहकार्य गर्दै समस्या समधान गर्न प्रोत्साहित गर्ने उल्लेख गर्नुभयो । हाम्राजस्ता देशका लागि जलवायु परिवर्तनका प्रभाव गम्भीर बनेका बताउँदै सीमित स्रोत र साधनले यो समस्यासँग जुध्न नसकिने भएकाले बहुपक्षीय प्रक्रियामा सहभागी हुनु अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

“जलवायु परिवर्तनको प्रभावसँग जुध्नका लागि अन्तर्राष्ट्रियस्तरको सहयोग र सहकार्य अनिवार्य छ”, मन्त्री शाहीले भन्नुभयो, “विकसित देशले वित्तीय र प्रविधिसम्बन्धी सहयोग गरेर विकासशील देशमा जलवायुमैत्री योजना कार्यान्वयन गर्न मद्दत गर्नुपर्छ ।”

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा समस्याका साथै सामाधानका लागि तयार पारेको जलवायुमैत्री योजना र हासिल भएका उपलब्धिका बारेमा प्रचार गरी अन्तर्राष्ट्रिय सहयोगका लागि विश्व जगतलाई अनुरोध गर्ने मन्त्री ठकुरीले उल्लेख गर्नुभयो ।

वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जलवायु वित्तका लागि कोपमा पहल गर्न आवश्यक रहेकामा जोड दिनुभयो । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधानले कोपमा जलवायु न्याय विषयमा छलफल गर्नु जरुरी रहेको बताउनुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनका कारण मधेसमा कृषि क्षेत्र बढी प्रभावित भएको भन्दै समस्या समाधान गर्न विश्व समुदायसँग सहकार्य गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्रालयका सचिव डा दीपककुमार खरालले जलवायु वित्त जुटाउन नसके जलवायुका नीति कार्यन्वयनमा चुनौती थपिने बताउनुभयो । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले जलवायु परिवर्तन न्यूनीकरणका लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछः प्रधानमन्त्री

काठमाडौँ, १० कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गर्नुभएको छ ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीबाट तड्पिन दिँदैनौँ । जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो ।”

जाडो बढे पनि पर्वतमा डेङ्गीका बिरामी घटेनन्

पर्वत, १० कात्तिकः जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेङ्गीका बिरामी घटेका छैनन् । आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९ ले बढेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष साढे पाँच सय प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ । गत वर्ष दुई सय २५ मा सङ्क्रमण देखिएकामा यस वर्षको हालसम्म एक हजार पाँच सय १४ जना सङ्क्रमित भइसकेको उहाँले जानकारी दिनुभयो ।

अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीमा सङ्क्रमण पुष्टि भइरहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्ने प्रमुख शर्माले बताउनुभयो । जाडो मौसम भए पनि बिरामीको सङ्ख्या बढिरहेको भन्दै डेङ्गी र मौसमी फ्लूका बिरामीले अहिले अस्पताल भरिभराउ बनेका उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख शर्माका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक हजार एक सय ७१ जना छन् । यो कूल सङ्क्रमितको ८२.८१ प्रतिशत हो । त्यस्तै फलेवास नगरपालिकामा ७५, मोदी गाउँपालिकामा ४८, जलजला गाउँपालिकामा २३ जना, पँैयु गाउँपालिकामा सात, विहादी गाउँपालिकामा सात, महाशीला गाउँपालिकामा चार र बाँकी अन्य जिल्लाबाट आएकामा सङ्क्रमणको पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

लामखुट्टेको टोकाइ बढ्दै जाँदा डेङ्गीको जोखिम पनि बढ्दै जाने भएकाले सचेत हुन स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्नेगरी लुगा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

अस्पतालमा परीक्षण गरिएको तथ्याङ्कबाहेक निजी अस्पताल र क्लिनिकहरुमा पनि उल्लेख्य सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी प्राप्त भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताउनुभयो । डेङ्गीसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको दैनिक चाप बढ्दै गएको भन्दै जटिल प्रकृतिका बिरामीको मात्र परीक्षण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

डा बास्तोलाका अनुसार दैनिक २० देखि ३० जना सङ्क्रमित भेटिएका छन् । सरकारले उपलब्ध गराएको डेङ्गी परीक्षण किट सकिएर अहिले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएकाले जटिल लक्षण देखिएका बिरामीको मात्रै परीक्षण गर्न थालिएको उहाँले बताउनुभयो । बिरामी बढेकाले अस्पताललाई आर्थिक भार बढेको उहाँले बताउनुभयो ।

अधिकांश बिरामीले निजी मेडिकलबाट औषधि किनेर खाने गरेका औषधि व्यवसायीहरुले बताएका छन् । लक्षण देखिएका सबै बिरामी अस्पताल जाने सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’ – उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), १० कात्तिकः उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

राष्ट्र निर्माणका लागि समाजलाई रुपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने बताउनुभएको छ ।

गणेशमान सिंह प्रतिष्ठानद्वारा आज यहाँ आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उहाँले खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुग्नाका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिनुभयो ।

प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

नेपाल टेनिस सङ्घका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने

लमजुङ, १० कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने बताउनुभएको छ । उहाँले आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको विकासका लागि सरकारी तहमा हरसम्भव प्रयास भएको बताउनुभयो ।

बेँसीसहर नगरपालिका–२ चिसापानी घरबासको आज यहाँ उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले घरबासका माध्यमबाट पनि पर्यटन प्रवद्र्धनमा योगदान हुने भएकाले पर्यटकलाई यहाँका मौलिक उत्पादन र सम्पदाबारे जानकारी दिनुपर्छ भन्नुभयो । रोजगारीका अवसर सिर्जनाका साथै त्यसबाट गरिबी घटाउन पनि योगदान पुग्ने उहाँले बताउनुभयो । उहाँले पर्यटकको आगमनबाट विदेशी मुद्रा आर्जन हुने र त्यसले स्थानीयको आर्थिक स्तर उकास्न मद्दत मिल्ने बताउनुभयो ।

सञ्चारमन्त्री मन्त्री गुरुङले भन्नुभयो, “स्थानीयले होमस्टे चलाउनुपर्छ । बिजुली, सडक, खानेपानीलगायत संरचना निर्माणमा सरकारले सक्दो सहयोग गर्नेछ ।”

फरक प्रसङ्गमा उहाँले पुरानो कृषि प्रणालीले उत्पादकत्व वृद्धि नहुने, कृषिको यान्त्रिकीकरणका साथै व्यावसायिकीकरणमा जोड दिँदै किसान समृद्ध भए मात्र गाउँको समृद्धि सुनिश्चित हुने बताउनुभयो । खेतबारी बाँझो नराख्न पनि उहाँले सबैलाई अनुरोध गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले ग्रामीण पर्यटन विकासका लागि घरबास उपयोगी भएका आफूले पाएको बताउनुभयो ।

घरबास सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष मिनमाया गुरुङले ४९ घर रहेको चिसापानी गाउँमा १० घरमा घरबास सञ्चालन भएका जानकारी दिनुभयो ।

‘अनियमितता गर्ने छुट कसैले पाउँदैन’ – ईश्वर पोखरेल

गण्डकी, १० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता गर्ने जो कोहीलाई छुट नहुने बताउनुुभएको छ ।

एमाले कास्कीद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अनियमिततामा संलग्न जो कोहीलाई कानुनअनुसार कारबाही हुने बताउनुुभयो ।

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुने स्पष्ट पार्दै उहाँले देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताउनुुभयो ।

राष्ट्रको आवश्यकताअनुुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उहाँले आफूहरू कानुुनका पक्षमा रहेको उल्लेख गर्नुुभयो । हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै नेता पोखरेलले यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने बताउनुुभयो ।

एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले लोकतन्त्रको विकल्प अरु हुन नसक्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न निशारालाई चिर्दै अघि बढ्नुुपर्नेमा जोड दिनुुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको अभियानमा लाग्नुुपर्नेमा जोेड दिनुुभयो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले देश र जनताका पक्षमा एकाकार भएर लाग्नुपर्ने बताउँदै अदालतमा प्रवेश भइसकेका विषयलाई सडकबाट प्रभावित गराउन खोज्न नहुने बताउनुुभयो ।

‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ – प्रधानमन्त्री ओली

काठमाडौँ, १० कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।

विश्व नेपाली साहित्य महासङ्घद्वारा आज यहाँ आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्व अधिक रहेको बताउनुभयो ।

उहाँले देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने बताउँदै कोभिड–१९ का बेला ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मिलिनमा सहभागिताका लागि स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारहरुलाई सम्मान पनि गर्नुुभयो ।

प्रचण्डको दाबी – आगामी निर्वाचनमा माओवादी एक्लै जान्छ, पहिलो पार्टी भएर देखाउछ

काठमाडौँ, १० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताउनुभएको छ ।

माओवादी केन्द्रको वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्ववर्ती सरकारले विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उहाँले पहिलो पार्टी भएर देखाउने दाबी गर्नुभयो । विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टीबीच पनि चाँडै एकता हुने उहाँले बताउनुभयो ।

उत्पादन अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने र युवालाई रोजगारी प्रदान गर्ने बताउँदै अध्यक्ष दाहालले निर्वाचन प्रणालीका कारण अनियमितता बढेको हो भन्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै मुलुकका लागि ग्राह्य भएको बताउनुभयो । सहकारी र लघुवित्त पीडितले न्याय पाउनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्नेमा उहाँको जोड थियो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको महान् अभियान पूरा भएकाले आर्थिक विकासको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मजदुर र किसान वर्गको हितका खातिर नयाँ विशेषतासहितको समाजवादको आधार तयार पार्न पार्टीले विशेष प्रयास थालेको बताउनुभयो । आफ्नो पार्टी नेतृत्वको पूर्ववर्ती सरकारले देश र जनताका पक्षमा दूरगामी महत्वका काम गरेको विवरण पनि उहाँले सार्वजनिक गर्नुभयो ।

केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितमान शाक्य, यशोदा सुवेदी, दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत सिर्पाली, पूर्वमन्त्री रामेश्वर राययादव, परशुराम तामाङलगायत वक्ताले माओवादी केन्द्र सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो ।

आमसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसअघि राजधानीको विभिन्न स्थानबाट निस्केको जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको थियो ।

खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव

पर्सा, १० कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ ।

रेडियो सिमाञ्चलको आज वीरगञ्जमा एक कार्यक्रमबीचको उद्घाटन गर्नुहुँदै उहाँले खानेपानी समस्याको दीघकालीन समाधान गर्न सुनकोशी मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पुर्‍याउने योजनामा सरकार रहेको बताउनुभयो ।

मन्त्री यादवले पहिलेदेखि निर्माण भएका तर सञ्चालनमा नआएका ओभर योजना सञ्चालनमा ल्याउनुका साथै डिपटुवेल जडान जस्ता कार्यक्रमलाई सरकारले अगाडि बढाइरहेको बताउनुभयो ।

यसैगरी उहाँले काठमाडौँवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा रु २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो । सो कार्य पूरा भएपछि काठमाडौँवासीलाई सातै दिन २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने मन्त्री यादवको भनाइ थियो । “सुन्दरीजलबाट काठमाडौँमा ल्याएको पानीमा समस्या भए खानेपानी आपूर्तीलाई सहज बनाई राख्न सिस्नेरीस्थित कुलेखानीको पानी काठमाडाँै लैजाने योजना बनाएका छौँ । त्यसका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाइसकेको छ, चाँडै परियोजनालाई मूर्त रूप दिनेगरी काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा रेडियो सञ्चालक नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेल, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतले पत्रकारितामा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गरेका थिए ।

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी

वीरगञ्ज (पर्सा) – वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा कमी भएको छ ।

चालु आवको असोज मसान्तसम्म रु ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ६६ दशमलव ०९ प्रतिशतले घटेको हो । राजस्व सङ्कलनका आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले कमी भएको हो ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताउनुभयो । ‘‘व्यवसायीले जुनसुकै नाकाबाट सवारीसाधन भित्र्याए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’’ उहाँले भन्नुभयो, ‘‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमा वृद्धि भएको छ ।’’

गत आवको तीन महिनामा रु ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यान आयात गरिएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधन मात्र नभएर गत आवको तीन महिनामा चालु आवको सोही अवधिमा विद्युतीय कार, जीप र भ्यानको आयातमा कमी आएको हो ।

चालु आवको तीन महिनामा वीरगञ्ज नाकाहुँदै रु नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले विद्युतीय सवारीसाधन वीरगञ्ज नाकाको तुलनामा उत्तरी नाकाबाट धेरै भित्रिने गरेको बताउनुभयो ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले घटेको हो । सोही अवधिमा विद्युतीय सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । गत आवको सोही अवधिमा रु ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा विद्युतीय सवारीसाधन आयात भएको थियो ।

चालु आवको तीन महिनामा रु सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक र मिनि ट्रक आयात भएको छ । गत आवको तुलनामा ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको हो । गत आवको सोही अवधिमा ट्रक र मिनि ट्रक रु २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । चालु आवको तीन महिनामा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि घटेको छ । चालु आवको तीन महिनामा रु नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा रु १४ करोड १५ लाख मूल्यपर्ने एक सय ३२ वटा पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो ।

नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौँ : विजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको सुरुआत खेलकुदबाट गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष विजुक्छेँले शारीरिक रूपमा स्वस्थ व्यक्तिले समाजका लागि धेरै काम गर्न सक्ने भन्नुहुँदै त्यस्ता व्यक्ति विद्यालयबाटै तयार पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद महोत्सवको रूपमा सुरु गरेको प्रतियोगिता देशलाई आवश्यक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले आयोजना गरेको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतले खेलकुद देशका लागि हुनुपर्नेमा जोड दिनुभयो । कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा खेलकुदका विभिन्न १५ विधाका खेलका लागि ८४ वटा विद्यालयका दुई हजार ८४६ खेलाडीले भाग लिने भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाललगायत खेल हुनेछन् ।

कृषिमा १० वर्षे लगानी नीतिको तयारी, निजी क्षेत्रसँग अन्तरक्रिया

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० वर्षे लगानी नीति सम्बन्धमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहित सरोकारवाला निकायसँग बृहत् अन्तरक्रिया गरेको छ ।

चेम्बर अफ कमर्सको जडीबुटी तथा वनजन्य समितिद्वारा यहाँ आयोजित कार्यक्रममा नेपालको कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति, आत्मनिर्भर कृषिको सम्भावना र चुनौतीबारे निजी क्षेत्रका प्रतिनिधिसहित छलफल भएको थियो ।

कार्यक्रममा मन्त्री रामनाथ अधिकारीले पहिलो चरणमा कम्तीमा जीविकोपार्जन हुनेगरी कृषिखेती गर्नका लागि सरकारले सहजीकरण गर्ने बताउनुभयो । कृषिमा आत्मनिर्भर हुनेगरी अर्थतन्त्रको विकास र मुलुकलाई गरिबीबाट मुक्त गर्न सरकार प्रयासरत रहेको उहाँ बताउनुभयो । कृषि क्षेत्रमा आश्रित नागरिकको सङ्ख्या बढाएर बाँझो जमिनलाई खेतीयोग्य बनाउन आफूले प्रयास गरिरहेको मन्त्री अधिकारीको भनाइ थियो ।

कृषि क्षेत्रमा सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक कृषकले पाउनेगरी व्यवस्था मिलाउन आफू प्रयासरत रहेको उल्लेख गर्दै उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो जमिन बाँझो राखेर झन्डै तीन खर्ब रुपैयाँ हाराहारीमा कृषिजन्य वस्तुहरु आयात हुनु मुलुकका लागि दुर्भाग्यपुर्ण भएको बताउनुभयो । उहाँले कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान र वृद्धिदर घट्नु भनेको आयात बढ्नु हो भन्नुभयो ।

बजेटको अभाव र विनियोजित बजेट पनि प्रभावकारी ढंगले खर्च हुन नसक्ने परिपाटीका कारण कृषिमा अपेक्षा अनुसारको उपलब्धि हासिल हुन नसकेको अध्यक्ष अग्रवालको भनाइ थियो । सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा कृषि मल कारखानाको स्थापना गर्न नेपाल चेम्बर अफ कमर्स तयार रहेको अध्यक्ष अग्रवालले बताउनुभयो ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जग्गाको हदबन्दीका कारण व्यावसायिक कृषि गर्न नसकिएको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि लगानी गर्न निजी क्षेत्र तयार रहेको तर सरकारको नीति झन्झटिलो रहेको टिप्पणी गर्नुभयो ।

चेम्बर अफ कमर्सको जडीबुटी तथा वनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठले कृषिमा सरकारको नीति तथा कार्यक्रम र आम कृषकको वास्तविक समस्याबीच तालमेल हुन नसकेको बताउनुभयो । कृषिसँग सम्बन्धित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले कृषि क्षेत्रको समस्याबारे मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा चेम्बरले कृषिमन्त्री अधिकारीसमक्ष कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति सम्बन्धमा ३८ बुँदे सुझावसमेत पेस गरेको छ ।

पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’, तीनवटै तहका सरकारको करोडौँ लगानी

खोटाङ, १० कात्तिक : साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।

प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ ।

शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा राजधानी काठमाडौँलगायत सहरमा बस्दै आएका जिल्लावासी तथा बाह्य पर्यटकहरु मुन्दुम ट्रेल घुम्न र अध्ययन गर्न आउने गरेको केपिलासगढी गाउँपालिका–१ फेदीका भेडापालक लक्ष्मण राई ‘समीप’ले बताउनुभयो । “असोज लागेसँगै हूलका हूल पर्यटकहरू घुम्न आउने गर्छन् । मुन्दुम ट्रेलका सबै ठाउँमा पर्यटकका लागि बास बस्ने तथा खाना खाने ठाउँ छैन । भेडीचोक तथा चौँरी गोठमा बस्न दिने गरेका छौँ”, मैयुङको लेकमा व्यावसायिक रुपमा भेडापालन गर्दै आउनुभएका समीपले भन्नुभयो, “राज्यले यसप्रति ध्यान दिन जरुरी छ । भर्खरै पहिचान गरिएको मुन्दुम ट्रेललाई प्रवर्द्धन गर्न सकेमा स्थानीय बासिन्दाका लागि मात्र नभई राज्यलाई समेत आर्थिक रुपमा ठूलो टेवा पुग्ने सम्भावना छ ।”

पूर्वीपहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । नेपालका लागि यो नयाँ (भर्जिन) पर्यटकीय गन्तव्यस्थल मुन्दुम ट्रेलको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गरेको हो । खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ ।

हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत हुँदैन । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरू रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लिखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनुभयो । “छ वर्षअघिदेखि सुरु गरिएको मुन्दुम ट्रेल स्तरोन्नतिको काम करिब ६५ प्रतिशत पूरा भएको छ । आगामी चार वर्षभित्र सम्पूर्ण काम पूरा गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरु सजिलै देख्न सकिन्छ । उच्च हिमाली शृङ्खला तथा सबैभन्दा होचो स्थानमा रहेको अरुण उपत्यकाका साथै तराईका फाँटहरू अवलोकन गर्न सकिने यो पदमार्गमा पर्यटकका लागि स्थानीयवासीले होमस्टे (घरबास) समेत विस्तार गरिरहेका छन् ।”

ठूल्ठूला घाँसेमैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घनाजङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गर्नुभएको जनाइएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डसँग जोडिएकाले यो ‘मुन्दुम ट्रेल’ पदमार्ग बाह्य पर्यटकलाई समेत आवागमनमा सहज छ । यो ‘मुन्दुम ट्रेल’ पदमार्गको पूर्वाधार तयारी तथा अन्य विकासका लागि सङ्घीय सरकारले रु ५० लाख, पर्यटन बोर्डले रु २० लाख र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले रु १० लाख गरी रु ८० लाख बजेटले स्तरोन्नति गरिएको छ ।

स्विस सरकारकोसमेत लगानी रहेको यो पदमार्ग अवलोकन गर्न नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापलर १३ अप्रिल २०२१ मा खोटाङ आउनुभएको थियो । खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई ‘मुन्दुम ट्रेल’को स्टार्टिङ प्वइन्ट (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आउनुभएको हो ।

साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने पदमार्गमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्विस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार दुई सय ५२ मा ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताका आधारमा निर्माण सुरु गरिएको ‘मुन्दुम ट्रेल’को अवधारणा विसं २०७५ पुस २१ गते औपचारिक रुपमा अघि सारिएको हो ।

‘मुन्दुम ट्रेल’ पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत पूर्वाधारको काम भएको छ । खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन तथा विकासमा ‘मुन्दुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताउनुभयो ।

प्रारम्भिक चरणमा पदमार्गका रुपमा विकास गरिएको क्षेत्रमा सूचना पार्टी, विभिन्न सङ्केत चिह्न राख्ने तथा पदमार्ग निर्माण गर्नेजस्ता कामहरू गरिएको छ । त्यस्तै, मैयुङस्थित हाँसपोखरी नजिकैको नागीमा पाहुनाघर निर्माण गरिएको छ । मानव बस्ती कम पाइने पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर ‘गोठ स्टे’ गोठ बासको व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।

पशुपालन गर्ने किसानले खर्क (पशुचौपाया चराउने ठाउँ) को रुपमा मात्र प्रयोग गर्दै आएको यो ठाउँ पर्यटकीय क्षेत्र बनेपछि स्थानीय बासिन्दासमेत हर्षित बनेका छन् । स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व लगायतले ‘मुन्दुम ट्रेल’ पदमार्गको विकास गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेतीमा नोक्सान

काठमाडौँ, १० कात्तिक : गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पु¥याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।

फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो ।

गत वर्ष रु ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा रु ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उहाँले बताउनुभयो । अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो ।

अध्यक्ष बादेका अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ ।

यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले यस वर्षको तिहारमा १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो ।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे

सोलुखुम्बु, १० कात्तिक : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा रु तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रु ३२ लाख ३६ हजार छ सय ९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताउनुभयो ।

“यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भन्नुभयो ।

सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।

सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।

सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक

काठमाडौँ, १० कात्तिक : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्बिर लिनुभएको जङ्गली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो । चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ ।

यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात् निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहकार्यमा सम्पन्न भएको थियो । विगतमा तथ्याङ्क अभाव तथा स्थानीय समुदायका अनुसार जङ्गली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो । जङ्गली याक प्रायः समुद्री सतहबाट चार हजार आठ सय २५ मिटरको उचाइमा पाइन्छ ।

यस अध्ययनका क्रममा स्थानीयका साथै युवा वैज्ञानिकहरू सोनाम वाङ्दी र उर्गेन गुरुङको महत्त्वपूर्ण योगदान रहेको डब्लुडब्लुएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो जङ्गली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्काे जङ्गली याक देखिएको स्थानीयले जानकारी दिएका छन् । उहाँले भन्नुभयो, “तर यही हो वा अर्काे जङ्गली याक हो विस्तृत अध्ययन विना भन्न सकिने अवस्था छैन । चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जङ्गली याकको नेपालमा खासै तथ्याङ्क छैन ।” नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जङ्गली याक देखेका र पहिलो आधिकारिक तस्बिर पनि सोही समयमा सार्वजनिक गरिएको थियो ।

नेपालमा वन चौँरी पनि भनेर चिनिने जङ्गली याक विश्वव्यापी रूपमा चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो । जङ्गली याक खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रहरूमा पाइन्छ । जाडोमा तल्लो उपत्यकाहरूमा झर्दै, मौसमी रूपमा सर्ने गर्छ । यद्यपि, यस प्रजातिको हालको वितरण दायरा राम्रोसँग थाहा छैन । जङ्गली याक प्रायः उत्तरी सिमाना छिमेकी चीनको तिब्बतसँग जोडिएका हिमाली क्षेत्रमा बढी रहने गरेको अनुमान गरिन्छ ।

नेपालमा यस प्रजातिको जनसङ्ख्याको आकारका बारेमा कुनै जानकारी उपलब्ध छैन । हुम्ला जिल्लाको लिमी उपत्यकामा सन् २०१४ मा पुनः पत्ता नलागेसम्म जङ्गली याक लोप भइसकेको मानिन्थ्यो । विश्वव्यापी रूपमा जङ्गली याकलाई आइयुसिएनले ‘रेड लिस्ट’ले जोखिममा राखेको छ । नेपालमा राष्ट्रिय रूपमा यसलाई तथ्याङ्क अभावका रूपमा वर्गीकृत गरिएको छ । नेपालमा यस प्रजातिको कानुनी स्थिति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित (परिशिष्ट १) छ ।

त्यसैगरी, साइटिसले परिशिष्ट १ प्रजातिमा जङ्गली याकलाई सूचीकृत गरेको निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गली याक गाई प्रजातिको जन्तु हो । तराई क्षेत्रमा गौरी गाई पाइएजस्तै उपल्लो हिमाली क्षेत्रमा चौँरी र जङ्गली याक पाइन्छ । “जङ्गली याक दुर्लभ छ । कठिन भौगोलिक क्षेत्र र हिमाली क्षेत्रमा पाइने भएकाले यसको अध्ययन र अनुसन्धान पर्याप्त हुन सकेको छैन,” वरिष्ठ इकोलोजिष्ट आचार्यले भन्नुभयो, “अहिले बिस्तारै हवाई यातायात, सडकको पँहुच, प्रविधिको विकासले गर्दा हिमाली वन्यजन्तुसँगै जङ्गली याकको पनि अध्ययन सुरु हुन थालेको छ ।” हिउँ चितुवाको र यसको बासस्थान प्रायः एकै क्षेत्रमा हुन्छ । जङ्गली याकको बासस्थान र चरन क्षेत्र हिउँचितुवाको तुलनामा भने सीमित हुन्छ । घरपालुवा चौँरीभन्दा यो शारीरिक बनावटले फरक हुन्छ । “घरपालुवा चौँरीको तुलनामा यसको आकार ठूलोे हुन्छ, सिङ र रौँ फरक हुन्छ । विभागले सार्वजनिक गरेको उक्त तस्बिरसँगै जङ्गली याकको अध्ययन गर्न अनुसन्धानकर्ताको चासो बढ्छ । त्यसमा हामी प्रोेत्साहन गर्छौं”, उहाँले भन्नुभयो ।

कोप–२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्‍याउन ‘लभिङ’को तयारी, यी हुन् मुख्य एजेन्डा

काठमाडौँ, १० कात्तिक : आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा प्रस्तुत गरिने एजेन्डामाथि नेपालले छलफल गरिरहेको छ । कोप तयारीको मुख्य जिम्मेवार मन्त्रालय, वन तथा वातावरण मन्त्रालयले विभिन्न अन्तरसरकारी निकाय, तथा अन्य सरोकारवालाहरुसँग आगामी कोपका लागि उठान गरिने ‘एजेन्डा’ माथि छलफल गरिरहेको छ ।

विगतमा भन्दा अझै कोपलाई उपलब्धिमूलक बनाउन सबै सरोकारवालासँग समन्वय गरेर छलफल भइरहेको मन्त्रालयले जानकारी गराएको छ । वन तथा वातावरण मन्त्रालयले विज्ञ तथा सरोकारवालाको आगामी कोपमा प्रस्तुत गर्ने एजेन्डा र भूमिकालगायत विषयमा आयोजित तीनदिने गोष्ठी शुक्रबार मात्रै सकिएको छ । आज नै कोपलाई अर्थपूर्ण बनाउन ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुन लागेको छ । मन्त्रालयले कोपलाई थप प्रभावकारी बनाउन व्यापक रुपमा छलफल चलाइरहेको छ ।

जलवायु परिवर्तन गराउन नगन्य भूमिका खलेको नेपाल लगायतका विकासोन्मख राष्ट्रहरुलाई जलवायु परिवर्तनका कार्यक्रम सञ्चालनका लागि आवश्यक लगानीका लागि धनी राष्ट्रहरुले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने भन्दै विगतका कोपमा पनि नेपालले यस पटक पनि आवाज उठाउने तयारी गरेको छ । यससँगै उक्त वित्तमा सहज पहुँच हुनुपर्ने भन्दै नेपालले अडान लिँदै आएको छ ।

यस पटक पनि धनी तथा विकसित मुलुकहरूले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने, नेपालजस्ता मुलुकहरूका लागि उक्त वित्त प्राप्ति गर्न पहुँच सहज हुनुपर्ने एजेन्डालाई कोपमा निरन्तरता दिँदैछ । नेपालजस्ता मुलुकहरूका लागि जलवायु वित्तमा सहज पहुँचको व्यवस्था नहुँदा वैदेशिक आर्थिक सहयोग प्राप्त गर्न झन्झटिलो प्रावधान व्यहोर्नुपरेको बताउनुहुन्छ, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गाना ।

“जलवायु वित्तमा नेपालजस्ता मुलुकको पहुँच पुग्न कठिन छ, अन्तर्राष्ट्रियविज्ञ नभई ‘प्रपोजल’ नै तयार हुँदैन, रकम ल्याउन पनि उत्तिकै झन्झटिलो छ,” उहाँले भन्नुभयो, “विगतको कोपहरुमा झैँ यस पटकको कोपमा पनि जलवायु वित्तमा सहज पहुँच हुनुपर्छ भनेर एजेन्डा लैजाने छौँ ।” ढुङ्गानाले कोप–२९ मा जलवायुजन्य हानि–नोक्सानीको विषयलाई पनि प्राथमिकता दिएर एजेन्डा लैजाने विषयमा व्यापक छलफल भइरहेको बताउनुभयो ।

“यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण नसोचिएको बाढी आयो, ठाउँठाउँमा पहिरोहरु गए । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा अचानक आएको बाढीले अर्बौंको क्षति गरायो, मुस्ताङमा अचानक पहिलोपटक बाढी आयो । केही वर्षअघि मेलम्ची नदीमा आएको बाढीका कारण आयोजानालाई नै क्षति गरायो । जलवायुजन्य परिस्थितिले हानि–नोक्सानी धेरै बढेको छ,” डा ढुङ्गानाले भन्नुभयो, “हाम्रो हिमाल पग्लेका कारण पनि नेपालले विपद्को समाना गर्नुपर्नेछ । हिउँ पहिरोको समस्या हामीले भोग्नुपर्छ, तसर्थ जलवायु परिवर्तन गराउन मुख्य भूमिका खेल्ने मुलुकहरुबाट हामीलाई आवश्यक पर्ने जलवायु वित्त चाहिन्छ भनेर माग गर्नेछौँ ।”

सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयन गर्नका लागि अन्तराष्ट्रि««य जलवायु वित्त, क्षमता र प्रविधिको आवश्यकता भएकाले यसपटकको कोपमा पनि जलवायु वित्तलाई नै बढी प्रथामिकता दिइएको डा ढुङ्गानाको भनाइ छ । “हामी जलवायुको क्षेत्रमा अधिकार मात्रै खोज्दैनौँ, हाम्रो प्रतिबद्धता पनि पूरा गर्छौं । परियोजना आएर पनि कार्यान्वयन हुन समय लाग्ने गरेको छ । यो सुधार गर्नेछौँ,” उहाँले भन्नुभयो ।

जलवायुविद् डा धर्मराज उप्रेतीले पनि जलवायु परिवर्तन व्यवस्थापनका लागि आगामी कोप–२९ मा जलवायु वित्तका नयाँ आयामहरुमाथि जोडदार रुपमा ‘लबिङ’ गर्नुपर्ने बताउनुभयो । “वायुमण्डलमा तापक्रम वृद्धि भएर ‘रेकर्ड ब्रेक’ भइरहेको छ, बाढीपहिरो, डुबान, हिउँ पहिरोजस्ता रेकर्ड ब्रेक गर्ने किसिमका विपद्का घटना हामीले समाना गर्नुपरेको छ । अझै बढी समाना गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “तसर्थ जलवायु परिवर्तनले निम्ताएका असर व्यवस्थापनका लागि नयाँ वित्तको आवश्यकता छ । विकासित मुलुकहरुले एक सय अर्ब अमेरिकी डलर वार्षिक रुपमा जलवायु वित्त जम्मा गर्ने भन्ने छ, अब यसले पुग्दैन ।” उहाँका अनुसार अब खर्ब डलरको कुरा गर्नुपर्छ । विश्व समुदायले नै जलवायु वित्तलाई कसरी सम्बोधन गर्ने ? नयाँ लक्ष्य निर्धारण कसरी गर्ने ? भन्नेमा केन्द्रित भई यसपटकको कोपमा बुलन्द रुपमा आवाज उठाउनुपर्छ ।

उप्रेतीले कोपमा उठाउने जलवायुका मुद्दा सम्बोधन गराउन टापु मुलुकको पनि ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो । “जलवायु परिवर्तनको असर तीव्र गतिमा बढिरहेकाले जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न प्रत्येक क्षेत्रगत रुपमा कुरा उठाउनुपर्छ, जस्तै जलवायु परिवर्तनका कारण कृषि, पर्यटन, वातावरण, पूर्वाधार, स्वास्थ्य, मानवीय लगायतका क्षेत्रमा पर्ने असर सम्बोधन गर्न क्षतिपूर्तिको व्यवस्था होस् भन्ने आवाज उठाउनुपर्छ,” उहाँले भन्नुभयो, “क्षेत्रअनुसार जलवायु परिर्वतन व्यवस्थापनमा ठूला लगानीको खोजिनुपर्छ ।”

जलवायु विज्ञहरूले पनि नेपालले आगामी कोपमा जलवायु वित्तीय दायित्व बढाउन दाबाब दिइनेगरी आफ्नो एजेन्डा तय गर्नुपर्ने सुझाव दिएका छन् ।

अनुकूलन कोषका लागि आकार बढाउन जोड

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन प्रमुख डा सिन्धु ढुङ्गानाले जलवायु अनुकूलन कोषका लागि आकार बढाउनुपर्नेमा जोड दिनुभयो । “जलवायु अनुकूलन वित्त कुन देशलाई कति आवश्यकता हो ? भन्ने स्पष्ट हुनुपर्छ र यसको आकार बढाए मात्रै जलवायु अनुकूलनसम्बन्धी नीति कार्यान्वयनमा सहज हुनेछ,” उहाँले भन्नुभयो, “अहिले अनुकूलन कोषको वित्त अपुग देखिएको छ, अब कसले कसले योगदान गर्ने भन्ने प्रश्न पनि छ । सबैले गर्नुपर्छ कोषमा योगदान भन्ने भयो भने फेरि हामीलाई असहज हुनेछ भन्ने कुरा पनि छ ।”

महाशाखाअन्तर्गत अनुकूलन शाखा प्रमुख सुमन सुवेदीले पनि नेपालजस्ता मुलुकका लागि जलवायु परिवर्तनसम्बन्धी न्यूनीकरणका कार्यक्रमभन्दा अनुकूलनका कार्यक्रम उपयोगी हुने भन्दै अनुकूलनको क्षेत्रमा आवश्यकताअनुसार लगानी जुटाउन प्रयास आवश्यक रहेको बताउनुभयो ।

जलवायु विज्ञहरुले पनि नेपालले आगामी कोपमा जलवायु वित्तीय दायित्व बढाउन दाबाब दिइनेगरी आफ्नो एजेन्डा तय गर्नुपर्ने सुझाव दिएका छन् ।

यी हुन् मुख्य एजेन्डा

जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि सरकारले मुख्य छओटा एजेन्डालाई उच्च प्राथमिकता दिएर तयारी थालिरहेको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले जलवायु वित्त, जलवायुजन्य हानि–नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताको छओटा विषयगत कार्यपत्र तयार भएको जानकारी दिनुभयो ।

“नेपालको राष्ट्रिय स्थितिपत्र पनि तयार भएको छ, यसमा राष्ट्रिय अवधारणापत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा सङ्क्रमण र दक्षता, पानी र जलवायुजन्य कार्यजलवायुका लागि प्रकृति लगायतका विषयवस्तु समावेश गरिएको छ,” उहाँले भन्नुभयो, “आगामी कोपलाई थप उपलब्धिमूलक बनाउन राम्रो तयारी भइरहेको छ, विभिन्न सरोकारवालाको धारणा पनि समावेश गरेर हामीले कोपको एजेन्डा तर्जुमा गरेका छाँै ।”

गत वर्ष युएइको दुबईमा भएको कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि पनि दबाब दिने पौडेलले जानकारी दिनुभयो । “नेपालले जलवायु परिवर्तनसम्बन्धी पहिलो द्विवर्षीय पारदर्शिता प्रतिवेदन (बिटिआर) प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “ नेपालको तेस्रो राष्ट्रिय निर्धारीत योगदान तयारीका लागि बहुपक्षीय प्राविधिक समिति गठन भई कार्य अगाडि बढेको छ ।”

कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

काठमाडौँ, १० कात्तिक : आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

“आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउनका लागि सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो, “बिहान प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने छ, मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप–२९ का बारेमा प्रस्तुतीकरण गर्नुहुने छ, त्यसपछि जलवायु वित्त, हानि–नोक्सानी, पर्वतीय क्षेत्र, जलवायु लैङ्गिक मुद्दालगायत सातओटा क्षेत्रगत विषयमा छलफल हुनेछ ।” उहाँले कोप–२९ मा लैजाने एजेन्डालाई अझै बढी प्रभावकारी बनाउन छलफल भएको सम्मेलनले सहयोग गर्ने बताउनुभएको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १० कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सरकारको सय दिन : ‘नीतिगत सुधार र श्रम कूटनीति विस्तारमा श्रम मन्त्रालयको फड्को’

काठमाडौँ, १० कात्तिक : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन र श्रम कूटनीतिका क्षेत्रमा फड्को मारेको दाबी गरेको छ ।

श्रममन्त्री शरत्सिंह भण्डारीले आफूले जिम्मेवारी सम्हालेको सय दिनका अवधिमा सेवा प्रवाहमा विकेन्द्रीकरण र सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार, व्यावसायिक सीप विकास तथा तालिम एवं श्रम सम्बन्ध र व्यवासयजन्य सुरक्षाका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल भएको बताउनुभयो ।

सेवा प्रवाहका क्रममा देखिएका जटिलता अन्त्य गर्न विभिन्न ऐन कानुन संशोधन गर्न लागिएको जानकारी दिँदै मन्त्री भण्डारीले यस अवधिमा नीतिगत सुधारको पक्षलाई बढ्ता जोड दिइएको बताउनुभयो । “मन्त्रालयले प्रवाह गर्दै आएको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न समिति गठन गरेर अध्ययन थालिएको छ”, उहाँले भन्नुभयो, “सेवा प्रवाहमा देखिएका जटिलता समाधानको बाटोमा अघि बढिरहेका छौँ ।”

नीतिगत र कानुनी सुधार

मन्त्रालयले श्रम स्वीकृति नभएका नेपाली श्रमिकको श्रम स्वीकृति र महिला श्रमिकको पुनःश्रम स्वीकृतिमा सहजीकरण गर्न नीतिगत निर्णय गरिएको जनाएको छ । यसअवघिमा स्थानीय तहबाट तालिम सञ्चालन गर्न युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१ स्वीकृत, अभिमुखीकरण तालिममा देखापरेका समस्या न्यूनीकरण गर्न अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा संशोधन तथा स्थानीय तहबाट महिलालाई श्रम बजारमा पहुँच बढाउन महिला लक्षित क्लब सञ्चाल गर्ने मापदण्ड, २०८१ स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क तालिम सञ्चालन गर्ने संस्थाका लागि आवश्यक न्यूनतम मापदण्ड (पहिलो संशोधन), २०८० संशोधन, प्रधानमन्त्री रोजगार कार्यक्रम पुनःसंरचना तथा आगामी कार्यदिशासम्बन्धी नयाँ निर्देशि र कार्यस्थलमा आधारित तालिम सञ्चालनसम्बन्धी निर्देशिकाको मस्यौदा तयार भएको छ । उच्चस्तरमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानबाट श्रम कूटनीतिका क्षेत्रमा ठूलो फड्को मारिएको मन्त्रालयले जनाएको छ ।

प्रम रोजगार कार्यक्रम र आन्तरिक रोजगार प्रवद्र्धन

मुलुकमा आन्तरिक रोजगारी प्रवद्र्धन गरी बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको मन्त्रालयले यसअवधिमा आन्तरिक रोजगार महाशाखा स्थापनाको तयारी गरेको छ । न्यूनतम रोजगारीका लागि सूचीकृत बेरोजगार व्यक्तिका लागि ६२ हजार दुई सय ५९ जनाको कार्यस्थल सामूहिक बीमा गरिएको छ ।

सूचीकृत बेरोजगार व्यक्तिलाई कार्यस्थलमा आधारित ज्यालासहितको सीपमूलक तालिम सञ्चालनका लागि कार्यविधि संशोधन गरी स्थानीय तहमा पठाइएको तथा स्थानीय तहले ‘कामका लागि पारिश्रमिकमा आधारित आयोजना’बाट विभिन्न विपद्मा तत्काल पुनःनिर्माण र राहत उपलब्ध गराउन सक्नेगरी कार्यविधिमा संशोधन गरिएको मन्त्रालयले जनाएको छ । आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा सञ्चालन गर्न आवश्यक रणनीति तयार भइरहेको छ ।

वैदेशिक रोजगार व्यवस्थापन

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम स्वीकृतिको व्यवस्था मिलाइएको छ । वैदेशिक रोजगार विभाग र इजाजतपत्रवाला संस्थालाई सातै प्रदेशमा शाखा विस्तार गर्न सहजीकरण गरिएको छ ।

दक्षिण कोरियाको श्रम सम्झौताको पुनरवलोकनका लागि संयुक्त कार्यदलले अन्तिम रुप दिएको छ । मलेसिया र स्पेनसँगको श्रम सम्झौतालाई अन्तिम रुप दिई सम्बन्धित सरकारलाई पठाइएको, संयुक्त अरब इमिरेट्स (युएई) सँग घरेलु कामदार व्यवस्थापनका लागि नमूना आयोजना सञ्चालन गर्नेसम्बन्धी द्विपक्षीय श्रम समझदारीको अन्तिम मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ ।

यसबीचमा ओमानसँगको द्विपक्षीय श्रम सम्झौताका लागि उच्चस्तरीय छलफल भई प्रारम्भिक मस्यौदा ओमान पठाइएको तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कर्जा उपलब्ध गराउने सम्बन्धमा कार्यविधिको अन्तिम मस्यौदा तयार भएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु भएमा उपलब्ध हुने क्षतिपूर्ति रकमलाई रु सात लाखबाट वृद्धि गरेर रु १० लाख पुर्‍याएको छ । यस्तै, वैदेशिक रोजगारीका क्रममा वा नेपाल फर्किएको एक वर्षसम्म मृत्यु भएमा पनि सोही बराबर क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको छ ।

आकर्षक सामाजिक सुरक्षा ‘स्किम’

योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकको आकर्षण बढाउन विभिन्न ‘स्किम’ थप गरिएको छ । सामाजिक सुरक्षा योगदानकर्ता र योगदाकर्ताको श्रीमान/श्रीमती (वैदेशिक रोजगारमा रहेका श्रमिक तथा अनौपचारिक र स्वरोजगार श्रमिकको हकमा १८ वर्षका सन्ततिसम्मको पनि) वार्षिक रुपमा रु एक लाख २५ हजारसम्मको औषधि उपचार खर्च दिने गरी विस्तार गरेको छ ।

यस अवधिमा कोषमा एक लाख ५० हजार श्रमिक र तीन सय रोजगारदाता आबद्ध गर्ने लक्ष्य राखिएकामा एक लाख ९८ हजार श्रमिक र चार सय ६६ रोजगारदाता सूचीकृत भएका मन्त्रालयले जनाएको छ ।

नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी

वासिङटन डिसी (अमेरिका), १० कात्तिकः नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनुभएको छ ।

शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई यहाँ सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राख्नुभएको हो । गभर्नर अधिकारीले भन्नुभयो, “नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ । नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ ।”

उक्त फोरममा सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको थियो ।
सार्क फाइनान्स गभर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छललफल भएको जनाइएको छ ।

गभर्नर अधिकारी अर्थमन्त्री विष्णु पौडेलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहभागी भएर विश्व बैङ्कको विभिन्न बैठकमा सहभागिता जनाउँदै आउनुभएको छ । यसैगरी, ‘साइडलाइन’ बैठकअन्तर्गत शुक्रबार नै गभर्नर अधिकारीले पाकिस्तानका गभर्नर जमेल अहम्मदसँग भेटवार्ता गर्नुभएको थियो ।

कृषि क्रान्तिको युग सकियोः अध्यक्ष नेपाल

भक्तपुर, ९ कात्तिक : नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब कृषि क्रान्तिको युग सकिएको बताउनुभएको छ ।

आजबाट भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको दिपल कम्पनीको इलेक्ट्रोनिक कारको स्वरुमको उद्घाटन गर्नुहुँदै उहाँले अब सूचना प्रविधि (आइटी) को युग सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग हो । उद्योग, औद्योगिक क्रान्ति, विश्वलाई परिवर्तन गर्ने आइटी, नयाँ खोज र अनुसन्धानको युग हो । यसर्थ नयाँ ज्ञान र सीप हासिल गर्नु आजको आवश्यकता हो ।”

अध्यक्ष नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सवारी प्रदूषण कटौती गर्न जरूरी रहेको र त्यसका लागि इलेक्ट्रोनिक गाडीको प्रयोग बढाउने गरी सरकारले सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अब डिजेल पेट्रोलको प्रयोग नगर्ने, यसको खपत घटाउन आवश्यक छ । हाम्रो देश जलस्रोतको धनी भएकाले विद्युत् उत्पादन गरेर गाडीलगायत सवारी साधनको प्रयोग र प्रत्येक उद्योग कलकारखाना विद्युत्बाटै सञ्चालन गर्न सरकारले नीति ल्याउनुपर्छ ।”

कार्यक्रममा इलेक्ट्रोनिक कार दिपल कम्पनीको अध्यक्ष विष्णु अग्रवालले पछिल्लो समय इलेक्ट्रोनिक कारको माग उच्च रहेको र हाल दैनिक सयवटा गाडी बिक्री हुँदा ८० वटा इलेक्ट्रोनिक गाडी रोज्ने गरिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा अर्घाखाँची प्रहरी उत्कृष्ट

अर्घाखाँची, ९ कात्तिक : जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशका अन्य जिल्ला प्रहरीको तुलनामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयबीच भएको कार्यसम्पादन मूल्याङ्कनमा तोकिएका नतिजा सूचकहरु उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो । ‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको रहर’ अभियानमा उत्कृष्ट कार्य गरेबापत् लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी अर्घाखाँचीलाई प्रशंसापत्र प्रदान गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।

लुम्बिनी प्रदेश प्रहरीले प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयसँग प्रत्येक वर्ष कार्य सम्पादन सम्झौता गर्दै आएको छ । गत वर्षको मूल्याङ्कनमा पनि अर्घाखाँची प्रहरी नै प्रथम भएको थियो ।

राष्ट्रिय टेनिस प्रतियोगिता: शिभाली र असभसम्राट बने च्याम्पियन

काठमाडौँ, ९ कात्तिक : असभसम्राट हाडा र शिभाली गुरुङले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा आज भएको प्रतियोगिताको यु–१४ उमेरसमूहतर्पm सिंगल्समा असभसम्राट ब्वाइजतर्फ र शिभाली गल्र्सतर्फ च्याम्पियन भएका हुन् । असभले फाइनलमा साङ्ग्य रोकायालाई ७–६, र ६–१ ले र शिभालीले फाइनलमा मेरिशा थापालाई समान ६–० ले पराजित गरिन् । यु–९ उमेर समूहको सिंगल्समा भिराल अग्रवालले सफलता पाए । उनले फाइनलमा कायन चालिसेमाथि ४–१ र ४–२ को सेटमा जित निकाले । ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री च्याम्पियन भए । उनले फाइनलमा जितेन्द्र परियारमाथि ७–५, ३–६, १०–७ को जित रचे ।

यसै उमेर समूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यातको जोडी च्याम्पियन भयो । यस जोडीले फाइनलमा जितेन्द्र र इलम दीक्षितको जोडीलाई हराउँदै सफलता प्राप्त गरेका हो । ५५ वर्षमाथि उमेर समूहको पुरुष डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडीले सफलता पायो । यस जोडीले फाइनलमा मनोज शम्शेर राणा र डिगेन्द्र श्रेष्ठको जोडीबाट वाक ओभर पाएको हो ।

पुरुष ६५ वर्षमाथि डबल्समा विदुर विष्ट र भिक्टोर राणाको जोडी च्याम्पियन भयो । यस जोडीले फाइनलमा मनोज राणा र प्रकाश बोगटीको जोडीबाट वाक ओभर पाएपछि सहजै उपाधि जितेको हो ।

यस्तै ४५ वर्षमाथि उमेर समूहको पुरुष सिंगल्समा छेवाङ लामा र कमल भण्डारी फाइनलमा पुगेका छन् । सेमिफाइनलमा छेवाङले ६–२ र ६–३ ले सहजै हराउँदै उपाधि यात्रा तय गरेका हुन् ।

जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै , बजेट घट्दै

डुम्रे (तनहुँ), ९ कात्तिक : दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै गएको छ । जसरी समस्या बढ्दै गएको छ, यसलाई सम्बोधनका लागि सोहीअनुसारको योजना र बजेट हुनुपर्ने हो तर यस क्षेत्रमा बजेटसमेत कम हुँदै गएको छ । यसले आवश्यकताअनुसार सुरु गरिएका खानेपानी योजनासमेत पूरा नहुने समस्या देखिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन तनहुँका प्रमुख शम्भुराज खनालले भूकम्प, बाढीपहिरो तथा जलवायु परिवर्तनका कारण खानेपानी योजनाका मुहानमा पानी घट्ने समस्या देखिएको बताउनुभयो । उहाँले विसं २०७२ मा आएको भूकम्प र जलवायु परिवर्तनले पानीको मुहान नै फेरिने क्रम बढ्दो रहेको सुनाउनुभयो । “पानीको मुहान नै फेरिएपछि कतिपय स्थानका संरचनासमेत प्रयोगविहीन हुने अवस्था छ । थप व्यवस्थापन गर्न यस्ता योजनाका लागि बजेट माग हुने गरेका छ तर सोअनुसार बजेट विनियोजन नहुँदा समस्या ज्युँका त्युँ छन्”, डिभिजन प्रमुख खनालले भन्नुभयो ।

समस्या समाधानका लागि आवश्यक पहलकदमी, बजेट व्यवस्थापन र अध्ययन गर्नुपर्नेमा उहाँको जोड छ । डिभिजन प्रमुख खनाल भन्नुहुन्छ, “देशकै लगानीमा त खासै अध्ययन भएको पाइँदैन तर विदेशी सहयोगमा अध्ययन हुन्छ, यस्तो अवस्थामा कार्यालयसम्म यकिन तथ्याङ्क नै आइपुग्दैन, जसले गर्दा समस्याको पहिचान, समाधनको उपयुक्त उपाय निर्धारण र व्यवस्थापनजस्ता समस्या देखिने गरेका छन् ।”

उहाँले गाउँघरसम्म पानीका ल्याउनका लागि योजना कार्यान्वयनकै चरणमा रहेका बेला मुहानमा पानी घट्दा समस्या हुने गरेको दुःखेसो गर्नुहुँदै मुहान तथा पानीको स्रोत तल्लो क्षेत्रमा सर्दा ग्रामीण क्षेत्रमा पानी पु¥याउनै समस्या हुनथालेको बताउनुभयो ।

ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरै पनि पहिलेको स्थानभन्दा अन्य स्थानमा पानीको स्रोत सर्ने समस्याले खानेपानी आपूर्तिमा कठिनाइ भएको बताउनुहुन्छ । उहाँले सङ्घ तथा प्रदेश सरकारबाट बनेका खानेपानी योजनाको मुहान फेरिँदा व्यवस्थापनका लागि धेरै रकम खर्च गर्नुपर्ने अवस्था रहेको सुनाउनुभयो । “पानीको अभाव पूर्तिका लागि केही योजनामा पालिकाबाट बजेटको व्यवस्थापन गर्दै आइरहेका छौँ तर हाम्रो स्रोतले पुग्दैन । त्यसैले रकम व्यवस्थापनका लागि प्रदेश र सङ्घ सरकारसमक्ष प्रस्ताव पेस गर्ने कार्यसमेत गरिरहेको छौँ ।”

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँमाथि तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा खानेपानी व्यवस्थापनको जिम्मेवारी छ । समस्या बढ्दै जाँदा सो कार्यालयको बजेट भने घट्दै गएको जनाइएको छ । बजेट अभावकै कारण कार्यालयले अध्ययन तथा अनुसन्धान गर्न नसकेको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

चालु आवमा दुई जिल्लामा गरी एक सय २५ वटा खानेपानी योजना सञ्चालनमा छन् । ती आयोजनाका लागि रु ३३ करोड विनियोजन गरिएको र जसमध्ये तनहुँका लागि रु १५ करोड र नवलपुरका लासग रु १८ करोेड विनियोजन भएको डिभिजन प्रमुख खनालले जानकारी दिनुभयो । लिफ्टिङ र पाइपलाइन प्रणालीबाट ती खानेपानी योजना सञ्चालन गरिने उहाँले बताउनुभयो ।

लिफ्टिङ र पाइपलाइनको माध्यमबाट तनहुँका ९१ प्रतिशत नागरिकमा आधारभूत रूपमा पानी पहुँच पुगेको कार्यालयले जनाएको छ । बजेट अभावले नौ प्रतिशत तनहुँवासीलाई आधारभूत खानेपानीको पहुँचमा पु¥याउन आवश्यक योजना अगाडि बढाउन नसकिएको खनालको भनाइ छ ।

केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर आज सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ । यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक मुडमा देखाइएको छ । पोस्टरमा नाजिर र सृष्टि सामान्य पहिरनमा छन् ।

पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा ‘बजारमा अनौठो परिवेशको नयाँ चलचित्र’को शीर्षकको समाचार शीर्षक छ । जसमा चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम देख्न सकिन्छ । यो समाचार बाहेक पोस्टरमा ‘देशमा हतियार तस्करी फस्टाउँदै’सहित अन्य शीर्षकका समाचार पनि छन् ।
यही कार्तिक ३० गते रिलिज हुने चलचित्रको यसअघि सार्वजनिक गीत, टिजर र पोस्टरले बजारमा छुट्टै हाइप बनाइसकेको छ । चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।

चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

गाजा अस्पतालमा सयौँ बिरामी र कर्मचारी इजरायली सेनाको हिरासतमा

गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली सेनाले उत्तरी गाजाको अन्तिम कार्य अस्पतालमा सयौँ बिरामी र कर्मचारीलाई हिरासतमा लिएको बताएको छ ।

“इजरायली सेनाले जबलिया सहरको कमल अड्वान अस्पतालमा आक्रमण गरेको छ,” मन्त्रालयले एक विज्ञप्ति भनेको छ, “उनीहरूले लगातार बमबारीबाट अस्पतालमा शरण खोज्ने छिमेकी क्षेत्रका सयौं बिरामी, चिकित्सा कर्मचारी र केही विस्थापित व्यक्तिलाई हिरासतमा राखेका छन् ।”

इजरायली सेनाले कमल एडवान क्षेत्रलाई निशाना बनाएका थिए ।

“सेना र इजरायली सुरक्षा एजेन्सीहरू आतङ्कवादी पूर्वाधारको बारेमा गुप्तचरको आधारमा जबलियाको कमल अदवान अस्पतालको क्षेत्रमा अभियान सञ्चालन गरिरहेका छन्”, विज्ञप्तिमा उल्लेख छ ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले इजरायली सेनाले जबलियाको शरणार्थी शिविरमा रहेको अस्पताललाई परिसरमा प्रवेश गर्नुअघि घेरेको जनाएको छ ।

“उत्तरी गाजा पट्टीको जबलिया शिविरमा रहेको कमल अडवान अस्पतालभित्र चिकित्सा र नर्सिङ टोलीसहित एक सय ५० भन्दा बढी बिरामी र कर्मचारीलाई इजरायली सेनाले घेरेका छन्”, फर्स्ट रेस्पोन्डर एजेन्सीका प्रवक्ता महमुद बस्सलले बताउनुभयो ।

‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन

काठमाडौँ, ९ कात्तिक : गत असोज ११ र १२ को अविरल वर्षाका कारण तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली( इआरएस) प्रयोग गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले आज दिउँसादेखि सो प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

तामाकोसी नदीको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको सात नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट गत १३ असोजबाट विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन टुटेको थियो । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने गरेको छ । खिम्ती–लामोसाँघु काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति हुने महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनको विद्युत् लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी नदी जलाधार क्षेत्रमा निर्माण गरिएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि विद्युत् निर्यातसमेत प्रभावित भइरहेको थियो ।

हाल इआरएसमार्फत लाइन सञ्चालन गरी बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण प्रक्रिया सुरु भइसकेको जनाइएको छ । प्राधिकरणले आफैैँसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर इआरएस टावर राखिएको प्राधिकरणले जनाएको छ ।

‘राजनीतिक सहमतिका साथ संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ’ – गृहमन्त्री लेखक

काठमाडौँ, ९ कात्तिक ः गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार राजनीतिक दलहरूको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधानले प्रत्याभूत गरेको व्यवस्थालाई थप सुदृढ गर्न र जनजीविकाका सवालमा जनतालाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिको पीडालाई सम्बोधन गर्न सरकार सचेतनापूर्वक अगाडि बढ्नुपर्छ भन्ने विषयमा सत्ता साझेदार दलहरूको बैठकले पनि दृढताका साथ प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

सरकारको फेरबदल हुन्छ भन्ने निरर्थक र भ्रमपूर्ण हल्लाको पछाडि कुनै तर्क र अर्थ नरहेको भन्नुहुँदै उहाँले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले सत्ता साझेदार दलहरूबीच आगामी दिनमा निरन्तर बैठक बसी जनजीविकालगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको आधारभूत मान्यता छ, त्यसलाई हामीले अङ्गीकार गरेका छौँ, ती व्यवस्थालाई थप सुदृढ गर्न, थप जीवन्त र सबल बनाउने उद्देश्यका साथ संविधान संशोधन गर्ने भनेका हौँ”, उहाँले भन्नुभयो,“संविधानको अभ्यासबाट देखिएका सबल पक्षहरूको समीक्षा गर्दै सबैका बीचमा राजनीतिक सहमति निर्माण गरेर संशोधनको प्रक्रियामा जाने छौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारमा रहेका र समर्थन गर्ने सात राजनीतिक दलले साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारको सय दिनको समीक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल गरी निष्कर्ष निकालेका छौँ । सरकारले गरेका राम्रा कामहरूको समर्थन गर्दै आगामी दिनमा गर्न खोजेका कामहरूलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ ।”

बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउने विषयमा देखापरेका कानुनी अड्चनलाई हटाउने सन्दर्भमा सफलता प्राप्त गरेको भनी सन्तोष प्रकट गरेको जानकारी दिनुहुँदै महासचिव पोखरेलले सङ्क्रमणकालीन न्यायलाई अविलम्ब टुङ्ग्याउनका लागि सम्बन्धित सरोकारवाला पक्षको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । “वर्तमान सरकार गठनपछि कानुनी सुधारका पक्षमा अनुकूल वातावरण बन्दै गइरहेको छ । औद्योगिक वातावरण तयार गर्ने सन्दर्भमा कानुनी सुधार गरी उद्योगी व्यवसायीलाई आशावादी तुल्याउने काम सरकारले गरेको छ”, उहाँले अगाडि भन्नुभयो ।

सुधारको प्रक्रियाबाट निजी क्षेत्र आशावादी बनेको र यसबीचमा पुँजीगत खर्चमा वृद्धि हुनाका साथै राजस्व वृद्धिमा भइरहेको सुधारले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको बैठकको निष्कष रहेको महासचिव पोखरेलको भनाइ थियो ।

उहाँले सहकारी बचत रकम दुरुपयोगको सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदनका आधारमा छानबिनको प्रक्रिया अगाडि बढिरहेको छ भन्नुभयो । “यस प्रक्रियालाई अनुचित ढङ्गले प्रभावित पार्ने कुनै प्रकारका गतिविधिहरू नगर्न बैठकले सामूहिक रूपमा अनुरोध गरेको छ । न्यायिक निरूपणको प्रक्रियामा निर्दोष कोही नफस्ने र दोषी उम्कन नसक्ने हिसाबले निष्पक्ष र पारदर्शी तरिकाले छानबिनको प्रक्रिया अगाडि बढिरहेकाप्रति आश्वस्त हुन अनुरोध गरिएको छ”, उहाँले सञ्चारकर्मी माझ भन्नुभयो ।

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुग्यो

फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेका छन् । बाढी र पहिरोका कारण अन्य २० जना अझै बेपत्ता छन् ।

प्रहरीले मनिलाको दक्षिणी भागमा रहेको बाटाङ्गस प्रान्तमा ४७ र मनिलाको दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा २८ जनाको मृत्यु भएको बताएको छ ।

फिलिपिन्स कोस्ट गार्डले शुक्रबार दिउँसो आफ्ना कर्मचारीहरूले नौ वर्षीय बालक र एक महिनाको शिशुलाई फेला पारेको बताएको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले दक्षिणपूर्वी एसियाली देशका कम्तीमा १५ क्षेत्रका २६ लाखभन्दा बढी मानिसलाई आँधीले असर गरेको बताएको छ ।

चोरीमा संलग्न आरोपमा नौ जना पक्राउ

बागमती, ९ कात्तिक : नेपाल प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट रु ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन र लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा अन्य छ गरी नौ जनालाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोप–वेदेखि क्रसरसम्म जाने छ इञ्च र चार इञ्चको तामाका तार काटी चोरी गरेको आरोपमा हेटौँडा–१३ का मनिराम थोकर, सन्त तितुङ र भारतीय नागरिक दिल खुस कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

चोरीमा संलग्न भएको आशङ्कामा थोकरलाई नियन्त्रणमा लिई घटनाबारे सोधपुछ गर्दा हेटौँडा–१३ बस्ने २८ वर्षीय सन्त तितुङलगायत अन्य पाँच÷सात जना मिलेर तार चोरी गरी तार छिलेर हेटौँडा–४ स्थित कवाडी पसल सञ्चालक भारतको मोतिहारी जिल्ला चिरैया थाना–७ का दिल खुशकुमार साहलाई बिक्री गरेको भनी खुल्न आएपछि उनीहरुलाई पनि नियन्त्रणमा लिइएको उपरीक्षक खड्काले बताउनुभयो ।

प्रहरीले एक सय पाँच किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डको रजैया जाने जङ्गल छेउमा रोकेर राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडी र गाडीमा सवार हेटौँडा–३ बसामाडीका २४ वर्षीय पञ्चलाल थिङलाई गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै हेटाँैडा–८ कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तार चोरी भएको घटना अनुसन्धानका क्रममा चोरी भएको उक्त सामानसहित हेटौँडा–८ कमाने बस्ने २६ वर्षीय सुमन राई, २५ वर्षीय समिर घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडा–८ क्याम्पास्थित हेटौँडा फन भिल्लाबाट साउण्ड सिस्टम एक थान र नगद रु २० हजार तथा हेटौँडा–२ स्थित शान्तिटोल बस्ने राजेश थापा क्षेत्रीको ना३प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा चोरी गरेको आरोपमा हेटौँडा–८ कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीस्थित कान्तिलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेक गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका–३ घर भई फास्ट ट्रयाकमा वेल्डिङको काम गर्ने २४ वर्षीय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई ३७ किलो बिजुलीको तार चोरी गरी हेटौँडातर्फ लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।