`

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौँ, ९ कात्तिक : राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार उक्त दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको छ । नेता महतो नेतृत्वमा दल दर्ताका लागि आज आयोगमा निवेदन दिइएको सो दलका नेता केशव झाले बताउनुभयो । नयाँ पार्टीमा अध्यक्षसहित एकसय ७३ केन्द्रीय सदस्य रहेको उहाँले जानकारी दिनुभयो ।

“राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने प्रयोजनका निम्ति कानुनअनुसार आवश्यक सबै कागजातहरु यसै पत्रसाथ संलग्न गरी पठाइएको छ”, सो दलले आयोगमा पेस गरेको निवेदनमा भनिएको छ ।

पूर्वमन्त्री महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी केही समयदेखि राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्दै आउनुभएको थियो ।

माओवादी निकट एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौँ, ९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रवास सङ्गठन अखिल भारत नेपाली एकता मञ्चले बाढीपहिरो पीडितका लागि रु आठ लाख सहयोग गरेको छ ।

मञ्चका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचिव नगेन्द्र ढकाललगायतको प्रतिनिधिमण्डलले आज अध्यक्ष दाहाल निवास खुमलटार पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

अध्यक्ष दाहालले बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले उद्धार, राहत सहयोग तथा पुनःस्थापनाका काममा गरिरहेको र यसमा अखिल भारत नेपाली एकता मञ्चलगायत प्रवासका पार्टी कमिटीको योगदानका लागि धन्यवाद दिनुभयो ।

काठमाडौँमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

काठमाडौँ, ९ कात्तिक : ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन हुने भएको छ ।
यही कात्तिक ११ र १२ गते आयोजना हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सात वटा प्लेनरी सत्र रहने परिषद्ले जनाएको छ । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुने कार्यतालिका छ । यस्तै दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहने छन् ।

साथै विगतमा असन्तुष्ट समूहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै वार्षिक साधारणसभालाई एकताको सभा बनाइने विषयमा छलफल भइरहेको एनआरएनए (केसी समूह) का अध्यक्ष डा बन्द्री केसीले बताउनुभयो ।

एनआरएनए केसी समूहका उपाध्याक्ष रामशरण सिंखडाले पनि एनआरएनएमा देखिएका कमीकमजोरीलाई सच्याउँदै सबैलाई एकतामा ल्याउने प्रयास गरिने बताउनुभएको छ । अर्का उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनले एनआरएनका लक्ष्य कार्यान्वयनका लागि मार्गदर्शन दिने बताउनुभएको छ । सोही पक्षका उपाध्यक्ष रोजिना प्रधान राईले जलवायु परिवर्तनका कारण महिला तथा बालबालिकामा परेको असरका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभएको छ ।

परिषद्का महासचिव गौरीराज जोशीले एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीज्यूलगायत सरोकारवालासँग छलफल हुने जानकारी दिनुभएको छ । उहाँका अनुसार कात्तिक १२ गते गैरआवासीय नेपाली सङ्घको विधानअनुसार नियमित वार्षिक साधारणसभा आयोजना गरिने छ । सङ्घका ६० भन्दा बढी देशका प्रतिनिधिहरूले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउने उहाँले बताउनुभयो ।

साधारणसभामा सहभागी हुन गैरआवासीय नेपाली सङ्घका अधिकांश पदाधिकारीहरू तथा साधारणसभा प्रतिनिधिहरू काठमाडौँ आइसक्नुभएको छ ।

‘कांग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि हो’ – कांग्रेस उपसभापति खड्का

महोत्तरी, ९ कात्तिक : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थापनाकालदेखि कांग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि भएको बताउनुभएको छ ।

आज नेपाली कांग्रेस महोत्तरीको आयोजनामा सदरमुकाम जलेश्वरमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले समयकालमा सङ्घर्षका स्वरुप फरक भए पनि सबैको निचोड समुन्नत लोकतन्त्र भएको स्पष्ट पार्नुभएको हो ।

“नेपाली कांग्रेसको जन्म नै जहानियाँ राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका लागि भएको इतिहास छ”, उहाँले भन्नुभयो, “कांग्रेसले झण्डै आठ दशक जनताका प्रजातान्त्रिक अधिकार र तिनको संस्थागत विकासमा खर्चेको छ ।” पछिल्लो दशकमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिको संस्थागत विकासका लागि आफ्नो दलले सम्पूर्ण ध्येय केन्द्रित गरेको उहाँको भनाइ छ ।

दुई दिने प्रशिक्षणमा जिल्ला कार्य समिति र स्थानीय तहमा रहेका समितिका पदाधिकारी तथा सदस्य सहभागी छन् । प्रशिक्षण कार्यक्रममा डा कृष्णप्रसाद पौडेल, डा सुरेश आचार्य, नेत्री नानु बास्तोला र डा अच्युत वाग्ले प्रशिक्षकको रुपमा रहनुभएको कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिनुभयो ।

‘देशको रक्षाका निम्ति सबै दल एकजुट हुनुपर्नेछ’ – महासचिव गुरुङ

लमजुङ, ९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय एकता बलियो बनाई देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आज लमजुङ सुन्दरबजार नगरपालिका–१ कुन्छामा माओवादी केन्द्र जिल्ला समन्वय समितिद्वारा आयोजित जनयुद्धका सहिद एकबहादुर सुनारको २६ औँ स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नेपालीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

सत्तापक्ष र विपक्ष, एक दल र अर्को दल नभनी एकले अर्कोलाई दबाउने खेल भइरहेकाले यसलाई रोक्न सके मात्रै मुलुक समृद्ध बन्ने र बाहिरी शक्तिको चलखेल नहुने उहाँको भनाइ छ ।

उहाँले आफ्नो पार्टीले परम्परागत भन्दा पनि विचार, नीति र लाइनको आधारमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी यतिबेला रचनात्मक ढङ्गले सरकारको विरोध, समर्थन गर्दै राष्ट्रियताको केन्द्र, प्रजातन्त्र र सुशासन कायम गर्न प्रतिबद्ध छ ।”

सो कार्यक्रममा सहिद एकबहादुरकी श्रीमती तथा संविधानसभा सदस्य हिमकुमारी सुनार, केन्द्रीय सदस्य सतिमाया तामाङ, गण्डकी प्रदेशका सहसचिव हरिराज अधिकारी, लमजुङ इञ्चार्ज पारसमणि पौडेल, सुन्दर बजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, निवर्तमान नगर प्रमुख जनकराज मिश्रलगायतले फूलमाला अर्पण गर्दै सहिद सुनारको सम्झना गरेका थिए । सुनारलाई लमजुङ सुन्दरबजार नगरपालिका–३ स्थित चन्द्रेश्वर देउतेपानीमा आफन्तको घरमा बसेको बेला विसं २०५५ कात्तिक ९ गते नेपाल प्रहरीले गिरफ्तार गरी हत्या गरेको थियो ।

बाल खेलाडी पुरिएर मृत्यु भएको घटना छानबिनका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ, ९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको सिस्नेरीमा छ जना बाल खेलाडी पुरिएको घटनाको निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

अध्यक्ष दाहालले देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका बाल खेलाडीको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको उल्लेख गर्नुहुँदै पीडित परिवारको मागअनुसार यस्तो मानवीय क्षति कसरी हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानविन गर्न प्रतिपक्षी दलहरुको तर्फबाट पहल गर्ने बताउनुभयो । “ मृतक खेलाडीहरूको स्मरणका लागि कोष स्थापना गरेर एकेडेमी वा स्मरणयोग्य संरचना र उनीहरूकै नामबाट नियमति प्रशिक्षण, खेलकूद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीको प्रतिमा राख्ने र परिवारलाई उचित राहतको आवश्यकता छ । यसका लागि मैले र पार्टीले पनि आवश्यक पहल गर्छ”, उहाँले भन्नुभयो ।
बाढीपहिरोका घटनाको विषय समेटेर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, पार्टीले अन्य गतिविधिसमेत गरिरहेको उहाँको भनाइ थियो ।

पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष दाहाललाई संयुक्त रूपमा ध्यानाकर्षण–पत्र बुझाउनुभएको थियो । उहाँहरुले सो घटनाको उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।

लेबनानमा पाँच इजरायली सैनिकको मृत्यु

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले राति दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।

आईडीएफका अनुसार मारिनेहरूमा दुई अधिकारी सहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू थिए ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार सैनिकहरूले गाउँमा आपूर्ति गरिरहेका बेला लेबनानी गाउँको एउटा घर अगाडि हिजबुल्लाहद्वारा रकेटले आक्रमण गरेको थियो ।

उक्त घटनामा सात इजरायली सैनिकलाई सामान्य चोट लागेको र अन्य १० जना सामान्य घाइते भएको बताएको छ ।

यस घटनाले बुधबार र बिहीबार दक्षिणी लेबनानमा मारिएका इजरायली सैनिकको सङ्ख्या १० पुगेको छ, जबकि ११ गम्भीर घाइते भएका छन् ।

साथै, इजरायली वायुसेनाले बिहीबार दक्षिणी लेबनानमा हिजबुल्लाहको रडवान एलिट इकाईका कमाण्डर अब्बास अदनान मोस्लेमलाई मारेको छ ।

इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा दुई सय भन्दा बढी हिजबुल्लाह लक्ष्यहरू आक्रमण गरका विज्ञप्तिमा भनिएको छ ।

सत्ता साझेदार दलको साझा धारणा : सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन

काठमाडौँ, ९ कात्तिक : सत्ता समीकरणमा रहेका दलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश भएको उल्लेख छ । संयुक्त वक्तव्यमा भनिएको छ, “त्योभन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यताविपरित हुने कुरा स्पष्ट छ । यसप्रति सचेत र सजग रहन हामी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछौँ ।”

संयुक्त वक्तव्यमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

‘शीर्ष नेताबाट सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे संयुक्त वक्तव्य’ नाम दिइएको उक्त साझा अवधारणामा सरकारको काम कारबाही तथा एक सय दिनको काम समेटिएको छ ।

वर्तमान सरकार गठनका समयमा मुलुक चरम आर्थिक सङ्कटको अवस्थामा रहेको, उद्योगी–व्यवसायीहरुको मनोबल गिरेको, वैदेशिक रोजगारी र अध्ययनका नाममा ठूलो सङ्ख्यामा युवा पलायन भइरहेको, बजेटको अभावमा राज्यबाट सञ्चालित विकासका आयोजनाको भुक्तानी हुन नसकेको तथा विकास निर्माण अवरुद्ध रहेको स्मरण गरिएको छ ।

“संवैधानिक, कानुनी र संरचनागत सुधारसमेतका माध्यमबाट राजनीतिक स्थायित्वको आधार तयार गरी मुलुकको लोकतान्त्रिक भविष्यलाई सुदृढ गर्दै सुशासन, विकास र समृद्धिको दिशामा अघि बढ्ने सङ्कल्पका साथ गठन भएको वर्तमान सरकारले सय दिन पूरा गरेको छ”, वक्तव्यमा भनिएको छ ।

सरकारको नीति, कार्यक्रम र बजेट पूर्ववर्ती सरकारको पालामा पारित भइसकेको अवस्थामा बनेको वर्तमान सरकारले राजनीतिक र प्रशासनिक पहलकदमीका माध्यमबाट मुलुकलाई आर्थिक सङ्कटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको उल्लेख छ ।

मुलुकमा विद्यमान सङ्कट र चुनौती सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित गठन भएको सरकारलाई थप प्रभावकारी बनाउने संयुक्त धारणामा उल्लेख गरिएको छ ।

“सरकार साझेदार दलहरु सम्पन्न भएका र थालनी भएका राम्रा कामको स्वागत गर्दछौँ र बाँकी अवधिका लागि सरकारले तय गरेका कामका योजना प्रभावकारी ढङ्गले सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ”, संयुक्त वक्तव्यमा भनिएको छ ।

सङ्क्रमणकालीन न्यायका सन्दर्भमा रहेका कानुनी जटिलतालाई वर्तमान सरकार गठन भएको छोटो समयमा सहमतिका आधारमा समाधान गरिएको, कानुनी प्रबन्धको पूर्णताका साथै दुवै आयोग गठन गर्ने प्रक्रिया प्रारम्भ भएको उल्लेख गर्दै भनिएको छ, “आगामी दिनमा सङ्क्रमणकालीन न्यायको काम प्रभावकारी ढङ्गले अघि बढाउने कुरामा सबै पक्षको सहयोग अपेक्षित छ ।”

वर्तमान सरकार गठन भएपश्चात् कानुनी सुधारका माध्यमबाट लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रयास गरिएको, निजी क्षेत्र आर्थिक सुधारको प्रक्रियाबाट आशावादी बनेको, बक्यौता भुक्तानी, पुँजीगत खर्चमा वृद्धि तथा राजस्व वृद्धिमा भइरहेको सुधारले अर्थतन्त्रमा सकारात्मक लक्षणहरु देखिएको स्पष्ट पारिएको छ । मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न थप सुधारको आवश्यकता महसुस गरी आर्थिक सुधार कार्यदल बनाई अघि बढ्ने काम भएको साझा धारणामा उल्लेख छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, २०८१ ले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाही प्रक्रिया सुरु भएको संयुक्त वक्तव्यमा भनिएको छ । “निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चितताका लागि अनुसन्धान, अभियोजन र न्याय निरुपण प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्दछ”, साझा वक्तव्यमा भनिएको छ, “तर पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन् । भीड जम्मा गरेर अनुसन्धान प्रक्रियालाई प्रभावित गर्ने र न्यायलयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासनविपरीत हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ ।”

कानुन निर्माणमा भएको विलम्बका कारण सङ्घीयता कार्यान्वयन र शासकीय सुधारमा समस्या आइरहेकोतर्फ ध्यान जानु आवश्यक रहेको स्पष्ट पार्दै सत्ता साझेदार दलले प्रस्तावित कानुनहरुमा सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफलको प्रक्रिया अघि बढाएको जनाएको छ । निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐनजस्ता आधारभूत कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिने संयुक्त वक्तव्यमा उल्लेख छ ।

विकास निर्माण र सुशासनको प्रक्रियामा उत्पन्न कानुनी जटिलतालाई पहिचान गरी सुधार गर्न सातबुँदे सहमति र न्यूनतम साझा सहमतिका आधारमा लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीतालाई थप सुदृढ गर्दै आगामी दिनमा सरकारको कामलाई तीव्रता दिने उल्लेख गरिएको छ ।

विपद् प्रभावित क्षेत्रका ग्रामीण सडकसमेत अवरुद्ध भएका कारण राहत र उद्धारमा प्रतिकूलता हुनु स्वाभाविक रहेको ठहर गर्दै उद्धार र राहत तथा अवरुद्ध सडक खुलाउने काममा सुरक्षा निकाय, प्रशासन तथा नागरिक तहबाट प्राप्त सहयोग अत्यन्त महत्वपूर्ण रहेको संयुक्त वक्तव्यमा जनाइएको छ । उद्धार र राहतमा जुट्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै भूकम्प, बाढीपहिरो र डुबानका कारण पुनःस्थापनाको पर्खाइमा रहेका पीडितका लागि राहत र पुनःनिर्माण प्रभावकारी ढङ्गले अघि बढाउन सरोकारवाला सबै निकायलाई अनुरोध गरिएको छ ।

“जनप्रतिनिधिहरुले आफ्नो संविधान आफैँ बनाएर कार्यान्वयन गरिरहेको अवस्थामा उत्पन्न समस्याको समाधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट खोज्न सकिन्छ र खोज्नुपर्दछ भन्ने मान्यतामा हामी दृढ छौँ”, वक्तव्यमा भनिएको छ ।

राजनीतिक स्थायित्वको आधार तयार गर्न सहमतिका आधारमा संवैधानिक, कानुनी र संरचनागत सुधारमा जोड दिँदै आएको र यस्तो अवस्थामा अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पु-याउने तथा सुशासन र विकासमा नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने कुनै प्रकारका अवाञ्छित गतिविधिहरु उचित नभएको स्पष्ट पारिएको छ ।

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी, ९ कात्तिक : मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताउनुभयो ।

मृतक दुवैको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलसेर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर र लगडे लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सरकार सही दिशातर्फ उन्मुख छ : मन्त्री गुरुङ

काठमाडौँ, ९ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठनको सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले सरकार सही दिशातर्फ अघि बढेको बताउनुभयो ।

सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले आज मन्त्रालयमा यही कात्तिक ८ गते बसेको मन्त्रिपरिष्दको बैठकको निर्णय सार्वजनिक गर्दै भन्नुभयो, “सत्ता गठबन्धनले सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले ‘मर्निङ सोज द डे’भन्ने सङ्केत गर्छ ।”

पुँजीगत खर्च वृद्धि हुँदै जानु, आर्थिक विकासमा सुधार आउनु, सहकारी ठगीमाथि छानबिन गर्नु, दुग्ध किसानलाई रकम भुक्तानी गर्नु, निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्नु, बाढीपीडितलाई पर्याप्त राहत प्रदान गर्नु लगायतका महत्वपूर्ण कार्य सरकारले समयमै सम्पन्न गरेको बताउनुभयो ।

मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र राहदानी स्टिकर छपाइ गर्न स्वीकृति दिएको बताउनुभयो । यस्तै बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, यही कात्तिक २१ गतेदेखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुन कृषि तथा पशुपन्क्षी विकासमन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्री गुरुङले बताउनुभयो ।

त्यस्तै, पाँचथरको फालेलुङ गाउँपालिका–५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई प्रतिपरिवार बिल बमोजिम बढीमा रु पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने, स्लोभानियासमेतका विभिन्न ११ स्थानका अवैतनिक वाणिज्यदूत÷महावाणिज्यदूतको पदावधि एक अवधि (चार वर्ष) का लागि थप गर्ने, कात्तिक ३१ गतेदेखि १५ सम्म कतारमा आयोजना हुने ‘फेमली एण्ड कन्टेम्प्रअरी मेगाट्रेन्डस’ विषयक सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, ठूलो खोला जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि म्याग्दीको रघुगङ्गा गाउँपालिकामा रहेको राष्ट्रिय वनको कूल ६.०६ हेक्टर जग्गा प्रयोग गनृ स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय रहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत आव २०८१÷८२ का लागि अधिकृतस्तरका तीन अस्थायी दरबन्दी स्वीकृत गर्ने, सीमा प्रशासन कार्यालय व्यास छाङरु, दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर, इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्ने, साथै अध्यागमन कार्यालय कोरोला, मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय तिङ्कर, दार्चुला र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर, इलामको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा सभ्यता गौतम, काठमाडौँ र विष्णुप्रसाद कँडेल, बागलुङलाई मनोनयन गर्ने सरकारले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप

काठमाडौँ, ९ कात्तिक : नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहनुभएको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इञ्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौँ), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इञ्जिनियर धर्मनारायण शाह (सप्तरी), इञ्जिनियर प्रमोद दवाडी (काठमाडौँ), इञ्जिनियर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

बलेवा (बागलुङ), ९ कात्तिकः प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । बागलुङ र पर्वत दुई जिल्ला प्रभावित हुने गरी डिजाइन गरिएको आयोजनाको प्रारम्भिक प्रतिवेदन विद्युत् विकास विभागले सार्वजनिक गरेको हो । यो आयोजनाको प्रारम्भिक अध्ययनकै क्रममा टिप्पणी र आलोचना सुरु भएको छ ।

हाल अध्ययन गरिएको प्रतिवेदनअनुसार बागलुङको जैमिनी नगरपालिका–८ र गुल्मीको कालीगण्डकी गाउँपालिका–६ को मध्यभागमा आयोजना स्थल निर्माण हुनेछ । छ सय ४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको जलाशय बनाउँदा बागलुङ र पर्वतका अधिकांश स्थान डुबानमा पर्ने बताइएको छ । विद्युत् विकास विभाग र कन्सल्ट्यान्ट कम्पनी स्मेक इन्टरनेशनल प्रालि अस्ट्रेलिया, जेड कन्सल्ट्यान्ट प्रालिले प्रारम्भिक सर्वेक्षण गरेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनिक सुनुवाइमार्फत प्रतिवेदन सार्वजनिक गरेपछि आम नागरिकको धारणा बुझेर काम अगाडि बढाउने विद्युत विकास विभागका सिनियर डिभिजन इन्जिनियर प्रतिभा मानन्धरले बताउनुभयो । “हामीले जलाशययुक्त जलविद्युत् आयोजनाको योजना बनाएका हौंँ,” उहाँले भन्नुभयो, “रन अफ दि रिभरका आयोजना धेरै छन्, हिउँदका लागि नभएकाले जलाशययुक्त बनाउने गरी अध्ययन भएको हो ।” अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि मात्र कस्तो बन्ने भन्ने टुङ्गो लाग्ने विभागले जनाएको छ ।

हाल सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार सो आयोजना निर्माण गर्दा बागलुङको जैमिनी–१, ५, ६, ७ र ८ तथा बागलुङ नगरपालिका–१, ४, १०, १२, १३ र १४ को भूभाग डुबानमा पर्छ । पर्वतको कुश्मा नगरपालिका–१, २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा पनि डुबान हुने उल्लेख छ । जलजला गाउँपालिका–८, कालीगण्डकी नगरपालिका–६, पर्वतकै फलेवास नगरपालिका–४, ५, ६, ७, १० र ११ तथा बिहादी गाउँपालिका– १ र २ मा पनि डुबान हुनेछ । 

आयोजनाको जलाशयले जैमिनी धाम, मोदीवेणीधाम, बेलबगर, मालढुङ्गा र फोर्से बजारसमेत डुबानमा पर्छ । हाल सञ्चालनमा रहेको विश्वकै दोस्रो अग्लो भनिएको बञ्जीजम्प र जिपलाइन पनि सञ्चालन गर्न नमिल्ने गरी डुबान हुने प्रतिवेदनमा उल्लेख छ । निर्माणाधीन कालीगण्डकी करिडोरको २० किमी सडक खण्ड, पोखरा बागलुङ सडकको केही भाग, मालढुङ्गास्थित पक्की पुलसमेत डुबानमा पर्ने भएको हो । झोलुङ्गे र पक्की गरी कालीगण्डकीमा बनेका २७ बढी पुल अन्यत्र सार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

लागत रु दुई खर्ब २४ अर्ब ६५ करोड अनुमान गरिएको छ । आयोजनालाई कम्पनी वा अन्य मोडलमा निर्माण गर्ने भन्ने यकिन भइसकेको छैन । सम्भाव्यताका चरण पूरा गरेपछि कुन मोडलमा जाने, कसको सहयोग जुटाउने भन्ने सरकारले निर्धारण गर्ने जनाइएको छ । आयोजना निर्माण गर्दा एक हजार आठ सय ९० हेक्टर जमिन आवश्यक पर्ने, त्यसमा आठ सय तीन हेक्टर निजी, एक हजार ६२ हेक्टर वन क्षेत्र र चार सय ७३ हेक्टर जमिन राजमार्ग तथा दुई हेक्टर अन्य जमिन पर्ने छ ।

नेपाल विद्युत् प्राधिकरणले हाल निर्माण गरेको दाना, खुर्कोट, कालीगण्डकी प्रसारण लाइनकोसमेत दुई दर्जन बढी हाइटेन्सन पोल सार्नुपर्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । यो आयोजनाबाट दुई हजार पाँच सय ५२ घरधुरीमध्ये ११ हजार नौ सय २९ जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुनेछन् । उनीहरुलाई मुआब्जा दिएर अन्यत्र सार्नुपर्ने देखिएको हो । आयोजनाको क्षतिलाई आधार मानी यदि धेरै नै क्षति गर्ने हो भने जलाशययुक्त नबनाउन अधिकांशको सुझाव आएको जैमिनी–७ का विष्णुराज पौडेलले बताउनुभयो । 

“महत्वपूर्ण गन्तव्य र धाम पुरिने हो भने बनाउनैपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो, “अन्य आयोजना पूरा गरेर आवश्यकता पूरा गर्न सकिन्छ ।” सार्वजनिक सुनुवाईमा सहभागी अधिकांशले लागत बढी भएकाले यो आयोजना बनाउने क्रममा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् ।

रामजानकी विवाह महोत्सव आयोजना गर्न पाँच सदस्यीय समिति गठन

जनकपुर, ९ कात्तिकः मधेश प्रदेश सरकारले आगामी मङ्सिर २१ गते जनकपुरधाममा आयोजना गरिने रामजानकी विवाह महोत्सवलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकोे हो । उक्त समितिले महोत्सव अन्तर्गत गरिने कार्यक्रम, अयोध्याबाट आउने जन्ती र मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि बास प्रबन्ध आदिका विषयमा गर्नुपर्ने कामका सूची सरकारलाई बुझाउनुपर्ने गरी समिति गठन गरिएको बताइएको छ ।

गठित सो समितिमा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवाल, ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ सदस्य रहनुभएको छ । त्रेतायुगमा अयोध्या नरेश दशरथका पुत्र रामचन्द्र र मिथिला नरेश जनक नन्दिनी जानकीबीच विवाह भएको स्मरणमा जनकपुरधाममा मङ्सिर शुक्ल पञ्चमीका दिन रामजानकी विवाहोत्सव मनाइँदै आएको छ । रामजानकी विवाहोत्सवका अवसरमा जनकपुरधाममा साताव्यापी कार्यक्रम गर्ने गरिन्छ । 

नगर दर्शनबाट सुरु हुने विवाह महोत्सवका क्रममा  फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा आदि गरिन्छ । महोत्सवमा सहभागी हुन देश विदेशका लाखौँ श्रद्धालु भक्तजन तथा साधुसन्त जनकपुरधाम आउने गर्छन् । प्रदेश सरकारले गठन गरेको समितिले विवाह महोत्सवलाई व्यवस्थित, सहज र आकर्षक बनाउन आवास, भोजन, खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्यसेवा, यातायात, सुरक्षा आदिका लागि गर्नुपर्ने कामको विस्तृत विवरण तयार पार्ने जनाइएको छ ।

—फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मुस्ताङको घरपझोङ चक्रपथ कालोपत्र सुरु

म्याग्दी, ९ कात्तिकः मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ ।गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम– ठिनी– ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो ।

कार्यालयका प्रमुख अजय श्रेष्ठका अनुसार निर्माण व्यवसायीले बिहीबारदेखि जोमसोमतर्फबाट प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालेका हुन् । पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ । जोमसोम–ठिनी–ढुम्बा–छैरो खण्डको १२ किलोमिटरमध्ये पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र गरिने छ ।

छ किलोमिटर कालोपत्र र छ किलोमिटर ग्राभेल गर्न २०७६ साल असार २६ गते निर्माण कम्पनीसँग रु २१ करोड ४३ लाख १३ हजारमा निर्माण कम्पनीसँग सम्झौता भएको जनाउँदै उक्त कार्यालयले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ ।

घरपझोङ चक्रपथ सडकले जोमसोम–ठिनी–ढुम्बा–चिमाङ, छैरो, मार्फा र स्याङ गाउँ जोडिन्छन् । चक्रपथको मार्फा–स्याङ–जोमसोम खण्ड सङ्घीय सरकारको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनामार्फत स्तरोन्नतिको चरणमा छ । जोमसोम–ठिनी–ढुम्बा–चिमाङ–छैरो खण्डको स्तरोन्नति प्रदेश सरकारले गर्न लागेको हो ।

मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको ठिनीगाउँ र ढुम्बाताल आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । सडक कालोपत्र र ग्राभेल भएपछि स्थानीयवासी, पर्यटकलाई आवतजावतका साथै कृषि उपजको बजारीकरणमा सहज हुनेछ ।

घरपझोङ चक्रपथअन्तर्गत ठिनीखोलामा प्रदेश सरकारमार्फत मोटरेबल पुल निर्माण सुरु भएको र छैरो–मार्फा जोड्ने बेलीब्रिज निर्माणका लागि सङ्घीय सरकारसँगको साझेदारीमा घरपझोङ गाउँपालिकाले ठेक्का आह्वान गरिसकेको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो ।

ढुम्बाखोलामा मोटेरबल पुल बनाउन पूर्वाधार विकास कार्यालयमार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोत सुनिश्चितताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । ठिनीखोलामा ३५ मिटर लामो प्रिस्टे«स प्रविधिको मोटरेबल पुल निर्माणका लागि छनोट भएको निर्माण कम्पनीले काम थालेको छ ।

मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयसूचना अधिकारी घनश्याम रोकाले रु चार करोड ४६ लाख ७० हजार तीन सय को लागतमा ठिनीखोलामा पुल बनाइने बताउनुभयो ।

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौँ, ९ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो ।

प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको छ ।

उहाँले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिनुभएको छ । “नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु”, सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

इनरुवा (सुनसरी), ९ कात्तिकः जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताउनुभयो ।

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल

वासिङ्गटन डिसी (अमेरिका), ९ कात्तिक : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताउनुभयो ।

विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जलसम्पदा र प्राकृतिक विविधता संरक्षणमा चुनौती थपिएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि जलवायुजन्य समस्याबाट आफ्नो देश प्रभावित भएकाले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायलाई आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले जलवायु परिवर्तनका प्रभाव कम गर्ने उद्देश्यले स्थापित स्रोत साधनका संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नयाँ मितव्ययी कदमअन्तर्गत माल्दिभ्समा ५० प्रतिशत तलब कटौती हुने

आर्थिक सङ्कटमा परेको माल्दिभ्समा सार्वजनिक क्षेत्रका तलबहरूमा ५० प्रतिशत कटौती हुने भएको छ ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ऋण सङ्कट रोक्न सार्वजनिक क्षेत्रका तलबहरू घटाउने मितव्ययी अभियानको एक भागका रूपमा ५० प्रतिशत तलब कटौती गर्ने उहाँको कार्यालयले बिहीबार जनाएको छ ।

उहाँले अधिकांश सार्वजनिक क्षेत्रका रोजगारीमा १० प्रतिशत अनिवार्य तलब कटौती लागू गर्दैहुनुहुन्छ र आफैँले सबैभन्दा ठूलो तलब कटौतीको नेतृत्व गर्दै हुनुहुन्छ ।

मुइज्जुको वार्षिक तलब आगामी वर्षदेखि १२ लाख रुफियाँबाट घटेर छ लाख रुफियाँ (३९, हजार ८७ अमेरिकी डलर) हुने एक सरकारी स्रोतले बताएको छ । यो सन् २०१६ को जनगणनाअनुसार वार्षिक तीन लाख १६ हजार सात सय ४० रुफियाँको औसत घरायसी आम्दानीको लगभग दोब्बर हो ।

न्यायाधीश र सांसदहरू यी कटौतीबाट मुक्त हुनेछन् । यद्यपि मुइज्जुको कार्यालयले उनीहरूले स्वेच्छाले १० प्रतिशत कटौतीमा सहमत भएर यो भार बाँड्ने अपेक्षा गरेको छ ।

दुई साताअघि राष्ट्रपति मुइज्जुले यस सानो टापू राष्ट्रको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गर्नुभएको थियो ।

बर्खास्त गरिएकाहरूमा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ राजनीतिक निर्देशक थिए । यो कदमले देशलाई मासिक करिब तीन लाख ७० हजार डलर बचत गर्ने अपेक्षा गरिएको छ ।

माल्दिभ्सले सेप्टेम्बरमा उसको आर्थिक समस्याहरू ‘अस्थायी’ भएको र सम्भावित सार्वभौम डिफल्टको चेतावनीका बाबजुद अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग खोज्ने कुनै योजना नभएको बताएको थियो ।

सेतो बालुवाका किनार र एकान्त रिसोर्टहरूका लागि विलासी बिदा गन्तव्यका रूपमा चिनिने माल्दिभ्स भू–राजनीतिक केन्द्र पनि बनेको छ ।

भूमध्य रेखामा छरिएका एक हजार एक सय ९२ प्रवाल द्वीपहरूको समूह माल्दिभ्सका चीन र भारत दुई सबैभन्दा ठूला द्विपक्षीय ऋणदाता हुन् ।

मुइज्जुको गत वर्षको विजयपछि चीनले थप वित्तीय सहयोगको प्रतिबद्धता जनाएको छ । मुइज्जुले विकास कोष प्रदान गर्न ‘निःस्वार्थ सहायता’ का लागि बेइजिङलाई धन्यवाद दिनुभएको छ ।

यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुइज्जुलाई नयाँदिल्लीमा स्वागत गर्नुभयो । उहाँले मालेको सङ्घर्षरत अर्थतन्त्रलाई बलियो बनाउन वित्तीय सहयोग प्रदान गर्नुभयो ।

आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको पहिलो त्रैमासिकमा माल्दिभ्सको विदेशी ऋण तीन अर्ब ३७ करोड डलर रहेको रहेको थियो । यो उसको कूल गार्हस्थ्य उत्पादनको करिब ४५ प्रतिशत हो ।

बाह्य ऋणको करिब २० प्रतिशत चीनको हिस्सा रहेको छ भने भारतको हिस्सा १८ प्रतिशतभन्दा केही कम रहेको छ ।

सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार : समुद्री विज्ञहरू

पूर्वचेतावनी प्रणालीहरूका कारण विश्व विनाशकारी सुनामीका लागि पहिलेभन्दा बढी तयार रहेको समुद्री विज्ञान विशेषज्ञहरूले बिहीबार बताएका छन् । यद्यपि उनीहरूले अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न सकेका छैनन् ।

एक लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको सन् २००४ डिसेम्बरको एसियाली सुनामीको २०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा संयुक्त राष्ट्रसङ्घ समर्थित विशेषज्ञहरूले सुनामी तयारीका सन्देशहरू दोहो¥याएका छन् ।

दुई दशकअघि विपत्ति आउँदा वैज्ञानिकहरूसँग हिन्द महासागरमा सुनामी चेतावनी प्रणाली थिएन । तर अहिले विश्वव्यापी एक हजार चार सय स्टेशनले सुनामी तरङ्ग बन्ने बित्तिकै चेतावनी समयलाई केवल केही मिनेटमा घटाएका छन् ।

“हामी सन् २००४ मा भन्दा धेरै तयार छौँ । विश्वव्यापी पूर्वचेतावनी प्रणालीले जीवन बचाइरहेको छ”, युनेस्कोका सुनामी लचिलोपन प्रमुख बर्नार्डो अलियागाले पत्रकार सम्मेलनमा भन्नुभयो, “के हामी सुरक्षित छौँ ? हो शायद । के हामी विश्वका सबै ठाउँमा सुरक्षित छौँ ? शायद होइन । हामीलाई वास्तवमै तपाईंको सहयोग चाहिन्छ किनभने हामीलाई राम्रोसँग तयार हुन सन्देश पास गर्न आवश्यक छ ।”

युनेस्कोका विशेषज्ञहरूले जोखिममा रहेका क्षेत्रका नागरिकहरूलाई सुनामी रेडी नामक कार्यक्रममार्फत तटीय समुदायहरूको जागरूकता र तयारीमा सहयोग गर्ने कार्यक्रममार्फत घातक, अप्रत्याशित जोखिमहरूबाट जोगिन सक्षम बनाउने आशा गरेका छन् ।

“हाम्रो लक्ष्य सन् २०३० सम्ममा यी जोखिममा रहेका सतप्रतिशत समुदायहरू सुनामीका लागि तयार र लचिलो हुनेछन भन्ने हो”, युनेस्कोको हिन्द महासागर सुनामी सूचना केन्द्रका प्रमुख अर्दितो कोडिजतले भन्नुभयो ।

यस्ता रोकथामका उपायहरूमा निकासी नक्साहरू, नियमित सुनामी अभ्यासहरू र मानिसहरूलाई सुनामीका सङ्केतहरू हेर्न सूचित गर्ने, उच्च स्थानमा भाग्नुअघि यसको गर्जने आवाज सुन्ने जस्ता कुराहरू समावेश छन् ।

यी उपायहरू प्रमुख फल्ट लाइनहरू नजिक तैनाथ गरिएका बोयहरू जस्ता ठोस चेतावनीहरूसँगै रहन्छन् । यसले तरङ्ग बन्नसक्ने सम्भावना पत्ता लगाउँछन् र चेतावनी केन्द्रहरूमा सूचना पठाउँछन् ।

सन् २००४ मा हिन्द महासागर भूकम्प–सुनामीबाट प्रभावित देशका साथै जापान जस्ता फल्ट लाइनहरू नजिक रहेका देशहरू पनि विशेषगरी जोखिममा रहेका छन् ।

सन् २०११ मा जापानको उत्तरपूर्वी तटमा गएको विशाल नौ म्याग्निच्युडको समुद्रमुनिको भूकम्पले सुनामी आउँदा करिब १८ हजार पाँच सय मानिसको मृत्यु वा बेपत्ता भएका थिए ।

समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव मात्र कम गर्न सकिने चेतावनी दिएका छन् ।

“सन् २००४ यस्तो त्रासदी थियो किनभने हामीलाई घटना भएको थाहा हुन सक्थ्यो तर हामीसँग कसैलाई भन्ने तरिका थिएन”, होनोलुलुस्थित अन्तर्राष्ट्रिय सुनामी सूचना केन्द्रकी लौरा कोङले भन्नुभयो, “हामीलाई थाहा छैन अर्को ठूलो कहिले आउनेछ, तर हामीलाई थाहा छ कि हामी जति सक्दो तयार हुन सक्छौँ ।”

अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने

अर्घाखाँची, ९ कात्तिकः यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।

नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य सङ्घलाई अनुरोध गरेको नगरप्रमुख छविलाल पौडेलले राससलाई बताउनुभयो ।

उहाँले उक्त निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर), ९ कात्तिक : कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गर्नुभएको छ ।

विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लाग्नुभएका वडायकले खेतीबाटै आम्दानी गरेर रु एक करोड बढीको कृषियन्त्र जोडेका छन्भने खेती गरेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ । वडयकले आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा उखु, तोरी, मसुरो र धानखेती गरेर वार्षिक रु ३० लाख बराबरको उत्पादन गरिरहेको बताउनुभयो । उहाँले खेती गर्न अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको बताउनुभयो ।

“अहिलेसम्म खेतीबाट आएको आम्दानीले रु एक करोड बढीका कृषियन्त्र खरिद गरेको छु”, उहाँले भन्नुभयो, “ड्रोन प्रविधिबाट खेती गर्न सहज हुने भएकाले गत वर्षमात्र रु १० लाखमा ड्रोन ल्याएकोे छु ।” उहाँले ड्रोन प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको बताउनुभयो ।

भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिएर व्यावसायिक रूपमा खेतीमा लागेको उहाँको भनाइ छ । “दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, भारतकै महाराष्ट्रको साङलीमा व्यावसायिक खेतीको तालिम लिएर यहाँ आएपछि आफ्नो र जग्गा भाडामा लिएर खेतीमा लागेको हुँ”, वडायकले भन्नुभयो, “२०७१ सालमा भारतको पन्तनगर विश्वविद्यालयमा तरकारीखेतीसम्बन्धी तालिम लिएको छु ।” उहाँले भारतमा सिकेको सीपले खेती गर्न धेरै सहज भएको बताउनुभयो ।

ड्रोन प्रविधिबाट खेती सुरु गरेपछि उत्पादन राम्रो हुन थालेको वडायकको भनाइ छ । “ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ, यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधिसमेत छर्कन सकिन्छ,” उहाँले भन्नुभयो, “ड्रोनको प्रयोगले विषादी छर्किँदा मानिसले भन्दा राम्रोसँग छर्किन सकियो अर्को किसानको स्वास्थ्यमा हुनसक्ने समस्या पनि हुँदैन ।” उहाँले पछिल्लो समय विषादी छर्किँदा किसानको स्वास्थ्यमा समस्या हुने गरेको उल्लेख गर्दै ड्रोन प्रविधिले किसानको स्वास्थ्यमा हुने समस्यासमेत नहुने बताउनुभयो ।

ड्रोन प्रविधिले बीउबिजन र विषादी छर्किँदा थोरै लागतमा धेरै काम गर्न सकिने वडायकले उल्लेख गर्नुभयो । उहाँले खेतीमा परिवारका सदस्यले समेत सघाउने गरेको बताउनुभयो । “मेरो भतिजा र छोरी आइएससी एजी अध्ययन गरिरहेका छन्”, वडायकले भन्नुभयो, “उहाँहरूले पनि मलाई प्राविधिक कुरामा सघाउनुहुन्छ, त्यसले पनि मलाई खेतीमा सजिलो भएको छ”, उहाँले छोरी सुस्मिता र भतिजा व्यावसायिक रूपमा कृषि गर्ने उद्देश्यले नै आइएससी एजी अध्ययन गर्न गएको बताउनुभयो । “अहिले प्रविधिले हामीलाई धेरै नै सहज बनाएको छ घरका सबै सदस्य मिलेर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “परम्परागतभन्दा प्रविधिले उत्पादन र लागत दुवैमा फाइदा भएको छ ।” उहाँले खेतीको सिजनका बेला ३०÷४० जनालाई रोजगारीसमेत दिने गरेको बताउनुभयो ।

“सामान्य किसानले एक बिघा जग्गामा रु दुईदेखि तीन लाखसम्मको उत्पादन गर्छ, मैले एक बिघामा करिब रु १४ लाखसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु”, वडायकले भन्नुभयो, “प्राविधिक कुरामा मात्र ध्यान दिनसके राम्रो उत्पादन हुन्छ ।” उहाँले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताउनुभयो ।

“अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन”, वडायकले भन्नुभयो, “स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपर्दैन ।” उहाँले व्यावसायिक रूपमा कृषि गरे विदेशकै जति कमाइ स्वदेशमा गर्न सकिने बताउनुभयो । वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट सुदूरपश्चिमभरि सर्वोत्कृष्ट किसानका रूपमा सम्मानति हुनुभएको छ । त्यसैगरी भीमदत्त उत्कृष्ट किसानबाट समेत उहाँ सम्मानित भइसक्नुभएको छ ।

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रूपमा गोरु र राँगाहरूले जोत्ने ठाउँमा ट्रयाक्टर, मिनीटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छभने बाली काट्न र पिस्न पनि प्रविधिको प्रयोग भइरहेको छ । काट्नलाई रिपर, बस कटर, कम्बाइन हार्भेस्टरलगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ ।

अहिले किसानले ड्रोनलगायत नयाँनयाँ बीउबिजन, रोग–कीरा नियन्त्रणसम्बन्धी प्रविधिको प्रयोग गरिरहेका छन् । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकीकरणतर्फ किसानको आकर्षण बढेको छ ।

म्याग्दीमा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु

म्याग्दी, ९ कात्तिक : जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ ।

कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु गरिसकेका जानकारी दिनुभयो । “दुईवटा सडक र दुई मोटरेबल पुलका निर्माण व्यवसायीले तिहारलगत्तै काम सुरु गर्ने तयारीमा छन्”, उहाँले भन्नुभयो, “एक सडक आयोजनामा ठेक्का प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीसँग सम्झौताको तयारीमा छौँ ।”

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा बहुवर्षीय ठेक्का लगाउनका लागि छनोट गरेका ती आयोजनाका लागि आर्थिक मामिला मन्त्रालयले रु एक अर्ब २० करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो ।

पूर्वमन्त्रीसमेत रहेका म्याग्दी (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले धेरै जनघनत्व भएका बस्तीमा रणनीतिक महत्वका सडक आयोजना भित्रिएको बताउनुभयो । “सडक पूर्वाधारको क्षेत्रमा म्याग्दीमा गत आर्थिक वर्षमा इतिहासमै धेरै बजेट र बहुवर्षीय योजना भित्रिएको थियो”, उहाँले भन्नुभयो, “ठेक्का लागिसकेका आयोजनाका लागि यसपालि न्यून बजेट विनियोजन भएकाले थप बजेट व्यवस्था गर्न सरकारलाई दबाब दिएका छौँ ।”

छवटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाबाहेकका बस्तीमा सडक यातायातको सुविधा पुगेको छ । गत वर्ष कालोपत्र भएको ३७ दशमलव पाँच किलोमिटरसहित म्याग्दी जिल्लाभर ८७ किलोमिटरमात्र पक्की सडक छ ।

रघुगङ्गा करिडोरको रणनीतिक बेनी–पाखापानी सडक

म्याग्दीको मध्यभागमा अवस्थित रघुगङ्गा करिडोरमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि ठेक्का लिएका निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालित भएका छन् ।

विसं २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको प्राथमिकताप्राप्त सडक आयोजना हो । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा चार किलोमिटर कालोपत्र गर्ने आयोजना सुरु भएको म्याग्दी (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

विसं २०८१ जेठ २० गते रु ११ करोड ७६ लाख १२ हजारमा ठेक्का सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने कामलाई तीव्रता दिएको छ । हाल तीनदेखि तीन दशमलव पाँच मिटर चौडाइ रहेको सडक विस्तार गरेर कम्तीमा सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गर्ने योजना रहेको छ । बेनी–पाखापानी सडक बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दा बेनी आवतजावत गर्न प्रयोग गर्छन्् ।

मध्यपहाडीको विकल्पक बेनी–ढोरपाटन सडक

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

यो धवलागिरि गाउँपालिकाको पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । चार किलोमिटर दूरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धवलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । हाल चारदेखि पाँच मिटर फराकिलो आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ ।

यो सडक आयोजनाअन्तर्गत झिनडाँडाबाट मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षमा ठेक्का आह्वानको तयारी भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दरवाङबाट धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो ।

१६ वर्षपछि स्तरोन्नति हँुदै बेनी–भकिम्ली सडक

बेनी नगरपालिकाको २, ३, ४ र मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–भकिम्ली सडक स्तरोन्नतिका लागि २०८१ साल जेठ २९ गते रु पाँच करोड ५९ लाख एक सय ४४ मा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभीले प्रारम्भिक चरणको काम थालेको छ ।

आगामी १८ महिनाभित्र बगरफाँटबाट दूधेखोलासम्मको सडकलाई ग्रेड तथा घुम्ती सुधार, सात मिटर फराकिलो बनाउने, नाली निर्माण गरी तीन किलोमिटर ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर ढलान गर्ने लक्ष्य रहेको छ । विसं २०६५ मा मार्ग खुलेको सो सडक हाल चार मिटरको हाराहारीमा फराकिलो छ । मार्ग खुलेपछि हालसम्मकै धेरै बजेट विनियोजन भएर योजना सञ्चालन भएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

बागलुङ र म्याग्दी जोड्ने अदिभारा–डाडागाँउ सडक

म्याग्दी र बागलुुङ जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान– बुर्तिवाङ सडकअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका–३ अदिभाराबाट औला हुँदै डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नतिको काम सुरु भएको छ । यो सडक स्तरोन्नतिका लागि गत असारमा एपिसी/आरआरसी/पिएनएस जेभीले रु पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको थियो ।

पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुुढाले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्त्वपूर्ण छ । विसं २०७५ मा मालिका गाउँपालिकाले अदिभाराबाट डाडागाउँ हुँदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो । सडकको प्रवेशबिन्दुमा पर्ने अदिभारास्थित दाजुङखोलामा कार्यालयमार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधीन रहेको छ । बागलुुङको बुर्तिवाङबाट तमानखोलातर्फ पनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

थप तीन सडकमा निर्माण व्यवसायी परिचालन हुँदै

मालिका गाउँपालिकाको दरवाङ–बिम–दिच्याम र मङ्गला गाउँपालिकाको पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–घापुङ–ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले तिहारलगत्तै काम थाल्ने तयारी गरेका पूर्वाधार विकास कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले बताउनुभयो ।

दरवाङ–बिम–दिच्याम सडक आयोजनाको सर्वशक्ति महामाया प्रालिले गत असारमा रु ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको थियो । पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–घापुङ–ताराखोला गाउँपालिका जोड्ने सडक आयोजनाको रु पाँच करोड ८६ लाख तीन हजारमा एनके युनाइटेड जेभीले ठेक्का पाएको छ । अन्नपूर्ण गाउँपालिका–६ चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने तीन किलोमिटर सडक स्तरोन्नतिका लागि रु दुई करोड २३ लाख ९६ हजार कबोलेको विकास–जयदुप्चे जेभीसँग ठेक्का सम्झौताको चरणमा छ ।

दुईवटा मोटरेबल पुलको ठेक्का

बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ शिवरात्रिखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि बिएन कन्ट्रक्सनले रु पाँच करोड ९६ लाख ६४ हजारमा ठेक्का सम्झौता गरेको छ । यसैगरी धवलागिरि गाउँपालिकाको लुलाङ–गुर्जा सडकअन्तर्गत लमसुङस्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि बिएमए निर्माण सेवाले रु चार करोड १३ लाख ४८ हजारमा ठेक्का पाएको छ । दुईवटै निर्माण कम्पनी तिहारलगत्तै परिचालन हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ

उपप्रधानमन्त्रीसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट

वासिङ्टन डिसी (अमेरिका), ९ कात्तिकः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।

उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री पौडेल र निर्देशक लीबीच भेटवार्ता

अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि आजै भेटवार्ता गर्नुभएको छ । त्यस असरमा उहाँहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो ।

उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउनुभएको थियो । अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलको हुनुहुन्थ्यो ।

मङ्सिर २८ देखि भक्तपुर नगरपालिकाले पाँचदिने भक्तपुर महोत्सव गर्ने

भक्तपुर- भक्तपुर नगरपालिकाले आउँदो मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ को आयोजना गर्ने भएको छ । आज नगरपालिकाले आयोजना गरेको भक्तपुर महोत्सव मूल समितिको छलफलमा समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सवको तयारी सुरु भइसकेको बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख प्रजापतिले भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिङ्गो भक्तपुरका जनताको महोत्सव भएको बताउनुभयो । प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ देखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव आयाजना गर्दैछौँ, भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगत्मा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना गर्न लागेका हौँ ।”

उहाँले महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीलाई सहयोग हुने अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीलगायतले भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

रामजानकी विवाह महोत्सवको तयारीमा जुट्यो मधेस सरकार

महोत्तरी-मधेसको मिथिलाक्षेत्रको सांस्कृतिक महोत्सव मानिने विवाहपञ्चमीको भव्यताका लागि प्रदेश सरकारले तयारी थालेको छ ।सप्ताहव्यापी मनाइने रामजानकी विवाह महोत्सवमा गरिनुपर्ने व्यवस्थापकीय कामको सूची तयार गरी सोअनुरुप अघि बढ्न मधेस प्रदेश सरकारले आज कार्यदल नै बनाएर तयारी थालेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको नेतृत्वमा कार्यदल (समिति) बनाएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।

“रामजानकी विवाह महोत्सव मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव हो, हामीले यसको काम सुव्यवस्थित तवरले अघि बढोस् भनेर शिक्षा तथा संस्कृतिमन्त्रीकै अध्यक्षतामा तयारी समिति बनाएका छौँ”, मन्त्री लेखीले भन्नुभयो, “महोत्सव सम्झनायोग्य बनाउन मधेस प्रदेश सरकारले प्रयत्न केन्द्रित गर्नेछ ।” मन्त्री तिवारीको नेतृत्वमा गठित समितिमा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलअलि मिञाँ, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव सदस्य रहनुभएको लेखीले जानकारी दिनुभयो ।

यो समितिले महोत्सवका कार्यक्रमको रुपरेखा तयार गर्नसँगै अयोध्याबाट आउने जन्तीको स्वागत, खानपान तथा बसोबास व्यवस्थापन र आम श्रद्धालु बस्न सक्ने ठाउँको व्यवस्थापनबारे पूर्वयोजना बनाउने छ । त्रेतायुगमा अयोध्याका राजा दशरथका श्रीरामसहितका चार पुत्र र विदेहराज (मिथिला नरेश) शिरध्वज जनक र उहाँका भाइ कुशध्वजका छोरीहरू सीताजीसहित चार दिदीबहिनीको विवाह भएको मङ्सिर शुक्ल पञ्चमी तिथिका अवसरमा विवाहपञ्चमी महोत्सव मनाइने पुरानो मैथिल परम्परा हो । यसपालि यो सांस्कृतिक पर्व आगामी मङ्सिर २१ गते शुक्रबार परेको छ ।

महोत्सवमा विवाहअघि र पछिका विधि मिथिलाका स्थापित परम्परा र प्रचलित कर्मकाण्डीय विधानअनुसार गरिने चलन छ । यसका लागि प्रत्येक दिनका विधिअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिन्छन् । जसमा राम, लक्ष्मण जनकपुर आइपुगेका दिनलाई नगर दर्शन, सीताजीसँग फूलबारीमा आमनेसामने भएको कथा प्रसङ्गलाई फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर (विवाहका लागि यज्ञवेदी बनाउने), स्वयम्वर, विवाह र रामकलेवा (जन्ती बिदाइ)का कार्यक्रम आयोजना गरिन्छन् ।

यो महोत्सवमा जनकपुरधामस्थित राममन्दिरका महन्त र जानकी मन्दिरका महन्थ क्रमशः दुलहा÷दुलहीका पिताको भूमिकामा हुन्छन् । पूरै महोत्सवभरि सम्धीसम्धीबीच हुने हाँसख्याल ठट्टा र मनोविनोद एवं यससँग जोडिएका सम्पूर्ण विधिले साँच्चै नै रामसीताको विवाहको झल्को दिने गरेको संस्कृतिविद् तथा साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

प्राचीनकालदेखि चल्दै आएको यो परम्परालाई उच्चतम महत्व दिएर मधेस सरकारले एक महिनाभन्दा पहिलेदेखि नै तयारी थाल्नुलाई यहाँका बुद्धिजीवीहरूले सकारात्मक रूपमा लिएका छन् । प्रदेश सरकारले पहिलेदेखि नै तयारीका काम थालेर महोत्सव व्यवस्थित बनाउन पहलकदमी लिनु सकारात्मक भएको महोत्तरीको जलेश्वर–५ पतैलीका बासिन्दा संस्कृतिविद तथा मिथिला माहात्म्यका नेपाली अनुवादक ध्रुव रायको प्रतिक्रिया छ ।

समितिले महोत्सव व्यवस्थित र सुसज्जित बनाउन आवश्यक प्रबन्ध जुटाउनसँगै यससँगै जोडेर सुरक्षा, आबास, भोजन, खानेपानी, विद्युत्, यातायात, स्वास्थोपचार र शौचालयको समुचित प्रबन्धको तयारी गर्ने जनाइएको छ ।

कमल थापालाई चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा दुई उपाधि

काठमाडौँ- कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जितेका हुन् ।

कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिङ्गल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे ।

महिला सिङ्गल्सको उपाधिका लागि अभिलाशा विष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा अभिलाषाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन् ।

अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका विष्टमाथि ६–० र ६–१ को जित निकालिन् । पुरुष सिङ्गल्समा राजवीर प्रधान र ऋतिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा ऋतिकले आयुष्मान हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन् ।

पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जङ्गबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराएका हुन् ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हराए । यु–१२ उमेरसमूहको गल्र्स सिङ्गल्समा अनुश्री धोजु र ब्वाइज सिङ्गल्समा विश्व डल्लाकोटी च्याम्पियन भए । अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन् । यु–९ गल्र्स सिङ्गल्समा नैरा घलेले फाइनलमा रजिशा जोशीलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्र्स सिङ्गल्समा शिभाली गुरुङ च्याम्पियन भइन् ।

उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराएकी हुन् । गल्र्सकै यु–१० उमेरसमूहको सिङ्गल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जिते । ब्वाइज यु–९ उमेरसमूहको सिङ्गल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए ।

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

कञ्चनपुर, ९ कात्तिक : शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए÷नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।

धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् ।

राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन् । साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन् । थारू समुदायले मुसा मारेर त्यसबाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खाने गर्दछन् ।

पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो । “खान्कीमा मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन”, बुधरामले भने, “त्यहीँ भएर मुसा मार्न साथीभाइसँग जाने गर्दै आएका छौँ, मुसा मार्ने परम्परा पुर्खौदेखि चल्दै आएको छ, त्यसलाई निरन्तरता दिएका छौँ ।” धान काटेर खाली भएका खेतमा मुसा पाइने गरेका छन् । दिनमा २० देखि ३० वटा मुसा मारेर ल्याउने गरेको उनी बताउँछन् । “मुसा धेरै मिले बाँडेर घरमै लैजान्छौँ”, भागिरामले भने, “थोरै भए खेतमै आगोमा पोलेर पकुवा बनाएर खाएर फर्कन्छौँ ।”

बुबाबाजेसँग अण्डैया पटैयामा मुसा मारेर ल्याएको सम्झना अङ्गनु चौधरीसँग छ । अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रपर्ने अण्डैया पटैया पहिला निकै ठूलो गाउँ थियो । निकुञ्ज विस्तारका क्रममा त्यो गाउँ अहिले निकुञ्जभित्र पर्यो । मुसा पाइने क्षेत्रका रूपमा परिचित थियो । समूह बनाएर मुसा मार्न खेत खन्न जानेको सङ्ख्या निकै बढी हुन्थ्यो । “एक जनाको हिस्सामा ५० देखि ६० वटासम्म मुसा आउने गर्दथे”, उनी भन्छन्, “अहिले मुसाको सङ्ख्या निकै कम छ, दिनभर खन्दा पनि मुस्किलले थोरै मुसा पाइन्छन् ।”

अङ्गनुका अनुसार पहिला मुसा मार्नका लागि ओद्रा, खप्का, छन्नक्या लगाउने परम्परागत चलन थियो । समुहमा मुसा मार्न गए फरुवाले मुसाको दुलो खनेर र दुलोमा पानी खन्याएर मार्ने गरिन्छ । यी मुसा मार्ने विधि भने अहिले पनि चलनचल्तीमा छन् ।

थारू समुदायमा मुसा सिकार (मार्ने) गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ । “पहिले मुसाको सिकार गर्न गाउँगाँउबाट हुलकाहुल जाने गर्दथे”, रामबहादुर चौधरीले भने, “हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके ।” थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन् ।

थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्ने गर्छन् । यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ । पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए ।

हाल वन क्षेत्रमा मुसालगायत अन्य जीवजन्तुको सिकार गर्न प्रतिबन्ध लागेपछि खेतमै मुसा मार्ने कार्य गर्दै आएका छन् । शिकार गरिएको मुसालाई अचार बनाएर, मासुका रूपमा, लौकाको तरकारीसँग मिसाएर, पोलेर नुन खुर्सानी दलेर खाने गरिन्छ । थारू समुदायले सबैभन्दा बढी लौकाको तरकारीसँग पोलेको मुसाको मासु मिसाएर खान रुचाउने गरेको रामप्रसाद चौधरी बताउँछन् ।

थारू समुदायले विल खोदुवा, छपर, गोर्नी, खरकट्टी, चिड्डीलगायत जातका मुसाको सिकार गर्ने गर्दछन् । सिकार गरिएका मुसामा भाले (मुसण्डा), पोथी (मुसण्डी), वयस्क हुन लागेको बोर्टु, आँखा नखुलेको लाललाल बच्चा रहने गर्दछन् । विल (दुलो) खन्ने क्रममा मुसाले धान, गहुँका बाला दुलोमै थुपारेर राख्ने गरेकाले दिनभरमा एक बोरा जति धान, गहुँका बाला पनि सङ्कलन हुने गरेको थारू समुदायका बूढापाका बताउँछन् ।

पहिला थारू समुदायले मात्र मुसाको सिकार गरीखाने गर्दै आएकामा हाल गैर थारूहरूले पनि मुसाका परिकारको माग गर्ने गरेका छन् । मेला, उत्सव र सामुदायिक घरबासमा मुसाको मासु बिक्री हुने गर्छ । पहिलाजस्तो मुसा नपाइने गरेकामा थारू बूढापाका असन्तुष्ट छन् ।

दुःख गरी आर्जेको रकम सहकारीमा डुबेपछि रित्तो थाल बोकेर सहकारी पीडित सडकमा

गण्डकी, ९ कात्तिक : दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए ।

सूर्यदर्शन बचतपीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको बताउनुभयो । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ । उहाँका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ । “एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित रु एक अर्ब १२ करोड बिगो दाबी गरिएको छ”, संयोजक श्रेष्ठले भन्नुभयो ।

प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट रु एक अर्ब ३५ करोड अपचलन भएको खुलेको उहाँले जानकारी दिनुभयो । त्यसमध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

यही कात्तिक २ गते पक्राउ पर्नुभएका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गत असोज ६ गते पक्राउ पर्नुभएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरीपाउँ भन्दै २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।

राईसहित उहाँका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली

भेरीगङ्गा (सुर्खेत), ९ कात्तिक : कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आम्दानी लिनेगरी रणनीति तयार गर्नुपर्ने उनीहरूको सुझाव छ ।

कर्णाली प्रदेश सरकारसँगको समन्वयमा अमेरिकी सहयोग नियोग ( युएसएआइडी) को जलजङ्गल परियोजना र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले प्रदेश राजधानी सुर्खेतमा आयोजना गरिएको खर्क व्यवस्थापन रणनीति र कार्ययोजना विषयक गोष्ठीमा वक्ताहरूले रणनीतिक सुझाव दिएका हुन् । इसिमोडका प्रतिनिधि डा सिर्जना जोशी र ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसी प्लिनरी स्टडिजका निर्देशक डा उत्तमबाबु श्रेष्ठको प्रस्तुतिमाथि छलफल गर्दै सरोकारवालाले प्रदेशको खर्कमा नै अमूल्य स्रोत रहेकाले त्यसको यथोचित परिचालन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।

मध्यपश्चिम विश्वविद्यालय विज्ञान सङ्कायका डिन डा सुदीप ठकुरीले नेपालको बहुमूल्य स्रोतसाधन खर्कमा पाइने भए पनि उचित परिचालन हुन नसक्दा भनेअनुसारको आम्दानी लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खर्कमा बहुमूल्य जडीबुटी, चरिचरन क्षेत्र छन्, ती स्रोतसाधनको हामीले उचित परिचालन गर्न सकेका छैनौँ, जसले गर्दा हामी अगाडि बढ्न सकेनौँ ।”

कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा खर्क धेरै रहेको भन्दै विगतमा हिमाली क्षेत्रमा पशुपालन व्यवसाय धेरै भए पनि अहिले घट्दो क्रममा रहेको बताउनुभयो । खर्कलाई संरक्षण गर्दै कसरी उत्पादनमुखी बनाउने, त्यहाँबाट कसरी नाफा लिने भन्ने विषयमा खोज, अनुसन्धान गरेर रणनीति बनाउन आवश्यक रहेको ठकुरीले औँल्याउनुभयो । जलवायु परिवर्तनको असर हिमाली खर्कमा परिरहेको भन्दै उहाँले त्यहाँ पाइने बहुमूल्य जडीबुटीसमेत लोप हुन थालेकाले त्यतातर्फ पनि सोच्नुपर्ने उहाँको सुझाव छ ।

पशु विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक कृष्ण पङ्गेनीले पनि खर्कबाट पशुपालन व्यवसाय सञ्चालन गरेर आम्दानीका स्रोत बढाउन सकिने भन्दै ती खर्कमा पाइने चरिचरनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले जलवायु परिवर्तनको असर हाम्रा हिमाली खर्कमा परिरहेको छ, सबैभन्दा धेरै आम्दानी लिन सकिने ती खर्कको चरिचरन सङ्कटमा पर्न थालेकोतर्फ हामीले योजना बनाएर कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।”

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा प्रमुख शेरबहादुर श्रेष्ठले खर्क व्यवस्थापनसम्बन्धी अब बन्ने रणनीतिको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा व्यापक छलफल गरेर रणनीतिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले वनसँग मात्र नभएर हरेक निकायसँग जोडिएको विषय भएकाले त्यहीअनुसारको मोडालिटी तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

डोल्पाका डिभिजन वन कार्यालय प्रमुख मुनबहादुर रावतले कानुनी समस्या फुकाउने गरी अब बन्ने खर्क व्यवस्थापन समितिले काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले कुनै पनि काम गर्दा पहिलो जग कानुन हुने भन्दै तीन तहका सरकारको प्रतिनिधित्व हुनेगरी समिति बन्नुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसी प्लिनरी स्टडिजका निर्देशक डा उत्तमबाबु श्रेष्ठले कर्णालीका सात जिल्लामा खर्कको सङ्ख्या धेरै रहेको भन्दै ती खर्कमा पछिल्लो समय जलवायु परिवर्तनले असर गरिरहेको जानकारी गराउनुभयो ।

“कर्णालीका खर्कमा गरिएको अध्ययनमा जलवायु परिवर्तनका कारण कहिले पानी धेरै आउने, कहिले पानी कम आउनेलगायत समस्या बढिरहेकाले त्यहाँको जडीबुटीसँगै चरिचरनमा समस्या हुँदा समग्र इको सिस्टममा समस्या आउने चिन्ता छ । अर्कातर्फ जथाभावी सडक निर्माण हुँदा पनि खर्क जोखिममा परेका छन् । यसैका आधारमा नीति बनाउनुपर्ने आवश्यकता देखिन्छ”, उहाँले भन्नुभयो ।

कर्णालीमा रहेका खर्कमध्ये पाँच जिल्लामा मात्र ७६ प्रतिशत खर्क रहेको भन्दै त्यसमा पनि १० स्थानीय तहमा ४० प्रतिशत खर्क रहेकाले त्यस क्षेत्रमा ‘फोकस’ गरेर कार्यक्रम बनाउनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । उहाँले भन्नुभयो, “खर्क आम्दानीका मुख्य स्रोत हुन्, अझै भनौँ विदेशी मुद्रा आर्जन गर्ने उत्पादन हुने क्षेत्र हुन्, त्यहाँ पर्यटन व्यवसायसँगै पशुपालन, जडीबुटी उत्पादन र अन्य स्रोत छन्, तिनको संरक्षण गर्दै परिचालन गर्नसके समृद्धि खोज्न हामी कतै जानुपर्दैन ।”

इसिमोडका प्रतिनिधि डा सिर्जना जोशी रिजालले पनि सन् २०१३ देखि खर्क व्यवस्थापन गर्नेगरी आफूहरूले काम गरिरहेको बताउँदै जलवायु परिवर्तन न्यूनीकरण गरेर खर्क व्यवस्थापन गर्ने योजना बन्न आवश्यक रहेको औँल्याउनुभयो । “जैविक विविधता बढ्दै छ”, उहाँले भन्नुभयो, “पानीका स्रोत पनि घट्दै छन्, जडीबुटीको सङ्ख्या पनि घट्दै छ, चरिचरन क्षेत्रमा समस्या परिरहेको अवस्थामा अब हामीले कस्तो रणनीति बनाउने सबैले सोच्नुपर्ने विषय बनेको छ ।” खर्क व्यवस्थापनका लागि अनुसन्धान धेरै हुनुपर्ने उहाँको भनाइ छ ।

युएसएआइडीका जलजङ्गल परियोजनाका प्रतिनिधि भूपेन्द्र शाहीले खर्कको बहुआयामिक फाइदा भएकाले उक्त परियोजनाले खर्क केन्द्रित कार्यक्रममा कर्णाली प्रदेश सरकारसँग मिलेर काम गरिरहेको बताउनुभयो ।

यता कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले यस विषयमा नीति बनाउन प्रदेश सरकारले चासो देखाएकाले साझेदार निकायसँग मिलेर काम गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेशको आन्तरिक आम्दानी कमजोर भइरहेका बेला आम्दानीको मुख्य स्रोत खर्कमा पाइने स्रोतसाधन हुनसक्ने भन्दै त्यहीअनुसार नीति र योजना बनाएर अगाडि बढ्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले पनि खर्क व्यवस्थापन गर्नेगरी नीति निर्माण गर्ने आफ्नो वार्षिक कार्यक्रममा समेत राखेको छ ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय विज्ञान सङ्कायका उपप्रध्यापक शिवराज घिमिरेलगायत प्रदशेका १० वटै जिल्लाका डिभिजन वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता थियो ।

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

पाटन (ललितपुर), ९ कात्तिक : ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजेसम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको हो ।

वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो । “यो मेलामा हस्तकला महासङ्घ, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ, महानगरपालिकाको दीर्घकालीन योजनालाई सहयोग पुर्याउने उद्देश्यअनुसार यो कदम चालिएको हो । महिलाले घरघरमा उत्पादन गरेका हस्तकलालगायत सामग्री बिक्री गरेर आर्थिकोपार्जन गर्न सक्ने अवसर मिल्ने छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष शाक्यले यसबाट स्थानीय श्रम, सीप र क्षमताको बजारीकरण हुनुका साथै समुदायको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाका समयमा साङ्गीतिक कार्यक्रमसमेत गरिने उहाँले जानकारी गराउनुभयो ।

मेलामा स्थानीय हस्तकलाका सामग्री, स्थानीय नेवारी खानाका परिकार समावेश हुने आयोजकले जनाएको छ । जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको यो कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताउनुभयो । आगामी वर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत् रूपमा तालिका बनाएर सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो ।

रात्रिकालीन व्यापार र बजारलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै हस्तकलाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिका संयोजक बबिता श्रेष्ठले जानकारी गराउनुभयो ।

“स्थानीय व्यापार वृद्धि गरी महिलाको आयआर्जन वृद्धि गर्न सानो प्रयास हो, पाटनलाई चौबीसै घण्टा जागृत गराउने उद्देश्यले यो क्षेत्रलाई उकास्न दीर्घकालीन योजनाअनुसार काम गर्ने लक्ष्यका साथ यो मेला गर्न लागिएको हो । नुनदेखि सुनसम्म पाइने व्यवस्था मिलाइनेछ, ८० वटा स्टलको व्यवस्था गरिनेछ, हरेक स्थलमा फरकफरक सामान राख्ने व्यवस्था मिलाइनेछ, तिहारलाई चाहिने खाद्यान्नसहित अन्य सामग्री राख्नेछौँ”, उहाँले भन्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई ‘स्मार्ट सिटी’ बनाउने अभियानभित्रै ‘पाटन डज नट स्लीप’ योजनालाई पनि समेट्ने र त्यसका लागि आवश्यक पूर्वाधारसहित विपद् व्यवस्थापनलगायत काम गरेरमात्र घोषणा गर्ने बताउँदै आउनुभएको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ९ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

वासिङ्टन डिसी (अमेरिका), ९ कात्तिकः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो ।

अमेरिकी उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको छलफलमा उहाँले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको आग्रह

काठमाडौँ, ८ कात्तिकः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकअन्तर्गत संयुक्त राज्य अमेरिकामा आज आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय बैठकमा उहाँले जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुभएको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपाल विश्वमै अद्वितीय जैविक विविधतायुक्त मुलुक रहेको भएता पनि पछिल्लो समय मानव सिर्जित कारणहरुले प्राकृतिक विपत्तिको सामना गर्नु परिरहेको र यसका लागि थप वित्तीय स्रोत व्यवस्थापनको चुनौती रहेको धारणा राख्नुभएको अर्थसचिव डा रामप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।

अर्थमन्त्रीले जलवायु परिवर्तका क्षेत्रमा नेपालको योगदान नगण्य रहेको भएतापनि जलवायु परिवर्तनको प्रतिकूल प्रभावको अंश ठूलो रहेको बताउनुभयो । उहाँले जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोपलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत विश्व समुदायलाई आग्रह गर्नुभयो ।

सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः उपमहासचिव ज्ञवाली

झापा, ८ कात्तिकः नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्वपूर्ण काम एक सय दिनमै जनपेक्षाअनुसार पूरा गरेको बताउनुभयो ।

नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले एक सय दिनमै सकारात्मक काम गरेर जनताको मन जितेको दाबी गर्नुभयो ।

वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उहाँले व्यवस्थाकैविरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेस मिलेर सरकार बनाएको धारणा राख्नुभयो । उहाँले यो सरकारले अस्थिरताको अन्त्य गर्नेसमेत कार्यकर्तालाई आश्वासन दिनुभयो ।

नेता ज्ञवालीले सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ, कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुँदैन ।”

उहाँले कार्यकर्तालाई पार्टी र सरकारबारेमा धारणा बनाउँदा बुझेर मात्र बनाउन सुझाव समेत दिनुभएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले नेता ज्ञवालीलाई जिल्लाको समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गरेका छन् । 


बिहीबार  एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्न आह्वान गरेका हुन् ।  


‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि हार्दिक अपील गर्दछु’, उनले भनेका छन् ।


नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ ।


‘नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ । स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ’, सन्देशमा भनिएको छ ।

समसामयिक राजनीतिक विषयमा माओवादी केन्द्रले जनपरिचालन गर्ने

काठमाडौँ, ८ कात्तिकः प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयलाई लिएर जनपरिचालन गर्ने घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समसामयिक राजनीतिक विषयका अलावा, विपद् प्रभावित नागरिकलाई शीघ्र राहत तथा पुनःस्थापनाका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ जनपरिचालनको कार्यक्रम घोषणा गरिएको जानकारी दिनुभयो ।

यस्तै, सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विपद्मा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनःनिर्माण र पुनःस्थापना कार्यान्वयन गराउन दबाब दिन लागिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले यही कात्तिक १० गते हुने राजधानी काठमाडौँमा जनपरिचालनको कार्यक्रम घोषणा गरेको उहाँको भनाइ छ । माओवादी केन्द्रले यसअघि विपक्षी दलकोतर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । 

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा जनदबाब सृष्टि गर्न आफूहरुले प्रदर्शन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । संविधान र लोकतन्त्रको रक्षा एवं समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका थप विस्तार गर्ने उद्देश्यका साथ पार्टीले केही कार्यक्रम घोषणा गरेको प्रवक्ता सापकोटाको भनाइ छ ।  सो अवसरमा माओवादी केन्द्रका वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रमबारे जानकारी दिनुभएको थियो । 

अमेरिका र कतारद्वारा गाजा वार्ताको नयाँ घोषणा, ब्लिङ्केनद्वारा नयाँ विकल्पहरूको खोजी

अमेरिका र कतारले बिहीबार गाजा युद्धविरामको वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भने अमेरिका नेतृत्वको योजना महिनौँसम्म असफल भएपछि मध्यस्थकर्ताहरूले नयाँ विकल्पहरू खोजिरहेको बताउनुभएको छ ।

अमेरिकी निर्वाचन हुन दुई साता बाँकी रहँदा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणयता ब्लिङ्केन यस क्षेत्रको ११औँ भ्रमणमा हुनुहुन्छ । इजरायलले गत साता लडाकू समूहका नेता याह्या सिनवारको हत्या गरेको थियो ।

ब्लिङ्केनले वार्ताकारहरूले ‘आगामी दिनहरूमा’ एक वर्षे गाजा युद्ध अन्त्य गर्ने र अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने उपायहरूबारे वार्ता पुनः सुरु गर्ने बताउनुभयो ।

“हामीले यस क्षणको फाइदा उठाउने र प्रक्रियालाई अगाडि बढाउने अर्को कदमहरूबारे विकल्पहरूमा छलफल ग¥यौँ”, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीसँगको वार्तापछि ब्लिङ्केनले भन्नुभयो ।

उहाँले दुई साझेदारले ‘इजरायल फिर्ता हुनसक्ने, हमास पुनर्गठन हुन नसक्ने र प्यालेस्टिनी जनताले आफ्नो जीवन र भविष्य पुनर्निर्माण गर्नसक्ने’ योजना खोजिरहेको बताउनुभयो । “यो युद्ध अन्त्य गर्न, सबै बन्धकलाई घर फर्काउन र गाजाका मानिसहरूका लागि राम्रो भविष्य निर्माण गर्न काम गर्ने क्षण हो”, उहाँले भन्नुभयो ।

कतारी प्रधानमन्त्रीले इजरायली र अमेरिकी प्रतिनिधिमण्डलहरू युद्धविरामका लागि दोहामा भेट्ने जानकारी दिनुभयो । ब्लिङ्केनले वार्ताबारे थप विवरण दिन अस्वीकार गर्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे ३१ मा एउटा योजना प्रस्तुत गर्नुभएको थियो । उक्त योजनामा अस्थायी रूपमा लडाइँ रोक्ने र गाजामा हमास लडाकूहरूले राखेका बन्धकहरूको रिहाइको प्रयास गर्ने थियो ।

तथापि वार्ता अल्झियो । यसमा एउटा प्रमुख अड्चन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा–इजिप्ट सीमामा इजरायली सैनिकको उपस्थितिमा जोड दिने अडान थियो ।

इजरायल र साउदी अरेबियाको भ्रमणपछि तेस्रो चरणमा रहनुभएका ब्लिङ्केनले सिनवार मुख्य बाधक रहेको र उनको मृत्युले एउटा अवसर प्रदान गरेको आफ्नो भनाइ दोहो¥याउनुभयो ।

कतारी प्रधानमन्त्री शेख मोहम्मदले हमासबाट ‘अगाडिको बाटो के हुनेछ’ भन्ने बारेमा अहिलेसम्म ‘कुनै स्पष्टता नभएको’ तर कतारी मध्यस्थकर्ताहरू सिनवारको मृत्युपछि समूहसँग ‘पुनः संलग्न’ भएको बताउनुभयो । “दोहामा राजनीतिक कार्यालयका प्रतिनिधिहरूसँग संलग्नता भएको छ । हामीले विगत केही दिनमा उनीहरूसँग केही बैठकहरू गरेका छौँ”, इजिप्टको हमाससँग ‘निरन्तर’ छलफल भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो ।

अमेरिकी अधिकारीहरूले सिनवारलाई गाजाबाट बन्धकहरूको रिहाइसँगै युद्धविराममा अमेरिका, कतार र इजिप्टले मध्यस्थता गरेको वार्तामा अडान लिने व्यक्तिको रूपमा वर्णन गरेका थिए ।

आलोचकहरूले यो समस्या हमास मात्र नभई बाइडेन प्रशासनको इजरायलको समर्थन हासिल गर्न नसक्नु रहेको बताउँछन् । इजरायलले अमेरिकाबाट करिब निरन्तर अर्बौं डलर मूल्य बराबरको हतियार प्राप्त गरिरहेको छ ।

– विभिन्न विकल्प –

हमासले अझै सिनवारको उत्तराधिकारी छनोट गरेको छैन । हमासका दुई स्रोतका अनुसार समूहले एक व्यक्तिगत नेताको सट्टा दोहा–आधारित नेतृत्व समिति नियुक्त गर्नेतर्फ झुकाव राखेको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले अमेरिका गाजाबारे ‘नयाँ ढाँचाहरू’ खोज्न तयार रहेको बताउनुभयो । “हामी विभिन्न विकल्पहरू हेरिरहेका छौँ तर प्रधानमन्त्रीले भने जस्तै हमास संलग्न हुन तयार छ कि छैन भन्ने हामीले अझै वास्तवमै निर्धारण गरेका छैनौँ”, उहाँले भन्नुभयो, “यद्यपि अर्को कदम वार्ताकारहरूलाई एकसाथ ल्याउने हो… हामी निश्चय नै आउने दिनहरूमा थप जान्नेछौँ ।”

उहाँले युद्ध अन्त्य गर्ने प्रयासको महत्त्वपूर्ण घटकका रूपमा हेर्दै गाजाको पुनर्निर्माण र युद्धपछिको शासनको योजनाबारे थप स्पष्टता पनि खोजिरहनुभएको छ ।

उहाँले प्यालेस्टिनीहरूका लागि थप १३ करोड ५० लाख डलरको सहायताको घोषणा गर्नुभयो । यसले युद्ध सुरु भएयताको कूल रकम करिब एक अर्ब २० करोड डलर पु¥याएको छ ।

महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ

काठमाडौँ, ८ कात्तिकः काठमाडौँको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।

बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम नगरेको पक्राउ गरेकाहरुको आरोप रहेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।
उनीहरुलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।

चिनियाँ मिडिया ग्रुप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी

काठमाडौँ, ८ कात्तिकः नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा चिनियाँ मिडिया गु्रप नेपाली विभागले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी वृत्तचित्र प्रदर्शनी गरेको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही अवसरमा वृत्तचित्र प्रदर्शनीमा राखिएको चिनियाँ मिडिया गु्रपका विदेशी विशेषज्ञ चेतनाथ आचार्यले जानकारी दिनुभयो । दुई देशबीचको कूटनीतिक सम्बन्ध एवं सहकार्यले नेपालको समाजिक–आर्थिक विकासका अलवा पूर्वाधार निर्माण, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको आचार्यको भनाइ थियो ।

नयाँ बानेश्वरको एम्बिसन एकेडेमीमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षकलगायतको समेत उपस्थिती थियो ।

बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल

काठमाडौँ, ८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा आफू सक्रिय रहेको बताउनुभयो । “स्वास्थ्य बिमा र औषधि समायोजन जसरी पनि पूरा गर्छु”, उहाँले भन्नुभयो, “यसका लागि प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हामीले छलफलको प्रक्रिया सुरु गरेका छौँ ।”

प्राकृतिक विपद् र डेङ्गी महामारीले ल्याएको जटिलताका बावजुत विगतमा भन्दा स्वास्थ्य क्षेत्रमा सुधार आएको मन्त्री पौडेलको भनाइ थियो । क्यान्सर र मिर्गौलाको उपचारका लागि बिरामी पत्ता लगाउन देशभर स्क्रीनिङ सेवा प्रारम्भ गर्ने उहाँले बताउनुभयो । तीन महिनाभित्र स्क्रीनिङको व्यवस्था पूरा गर्न मोबाइलमा रिङ्टोन सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

सय दिनको उपलब्धिअन्तर्गत विषयत समितिको बैठक, जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षता उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विस्तार र विकास, उपचारात्मक सेवा विस्तार, चिकित्सा शिक्षा अध्ययन, जलन उपचारलाई निःशुल्क, जनस्वास्थ्यका समसामयिक समस्या सम्बोधन, महिला स्वास्थ्य स्वयमसेविकालाई सार्वजनिक यातायातमा शुल्क नलाग्ने सेवा सम्मान, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम, नीतिगत, कानुनी सुधार र पुनरावलोकन, औजार उपकरण मर्मत र अभिलेखीकरण, सिंहदरबार वैद्यखानाबाट औषधि उत्पादनमा वृद्धि, औषधिको मूल्य नीति सुझाव समिति गठन गरी कार्य प्रारम्भ, विकास साझेदारीसँगको सहकार्यलगायत विषय सम्पन्न भएको मन्त्री पौडेलले सो अवसरमा जानकारी गराउनुभयो ।