`

सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि

काठमाडौँ, ८ कात्तिकः कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन र सिफारिस समिति गठन हुने विषयलाई महत्वपूर्ण कामका रुपमा लिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारको एक सय दिन पुगेको अवसरमा मन्त्रालयले गरेको कामको प्रगति सार्वजनिक गर्दै मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अघि बढ्नुलाई महत्वपूर्ण कामका रुपमा राखेको छ ।

लामो सयमदेखि सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पु¥याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधनका क्रममा रोकिएको थियो । उक्त विधेयकलाई प्रमुख राजनीतिक दलहरुबीच सहमति कायम गरी पारित गराउन मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरेको मन्त्रालयको प्रगति विवरणमा छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१ सङ्घीय संसद्बाट पारित भई विसं २०८१ भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएर काम अघि बढिसकेको छ । दुवै आयोगको पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्न विसं २०८० चैत ३० मा सिफारिस समिति गठन भएकामा सो समितिले पूर्णता पाई कार्य प्रारम्भ गर्नुअगावै २०८१ कात्तिक २ गते सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य मनोज दुवाडी, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ रहनेगरी उक्त सिफारिस समिति पुनःगठन गरिएको छ ।

उक्त सिफारिस समिति गठन भएको मितिले बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नेगरी भएको व्यवस्था ऐनमा रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कार्यान्वयनका लागि पदाधिकारीको छनोट प्रक्रियाका लागि काम सुरु भइसकेको र दुवै आयोगको ऐन कार्यान्वयनका लागि यस मन्त्रालय तथा दुवै आयोगहरुले आवश्यकपर्ने नियामवली, कार्यविधि, कार्ययोजना तर्जुमा गर्नेलगायत अन्य आवश्यक प्रशासनिक व्यवस्थापनका कार्यहरु गरिरहेको बताउनुभयो ।

यस अवधिका सङ्घीय संसद्मा चार विधेयक पेस गरिएको छ । त्यसमा नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ साई संशोधन गर्न बनेको विधेयक, धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ रहेको छ ।

व्यावहारिक विज्ञान प्रविधि तथा उद्योमदय कोपसम्बन्धी विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति भएको छ । तर्जुमा सहमति प्रदान गरिएको विधेयक सात वटा रहेका छन् ।

जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक, २०८१, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१, सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ छन् ।

त्यस्तै, ख्वप विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ र नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ रहेको छ ।

मन्त्रालयले तर्जुमा सहमति प्रदान गरिएको नियमावलीमा आठ वटा रहेको छ । त्यसमा भन्सार महशुल नियमावली २०८१, बीउबिजन नियमावली २०८१, विश्वविद्यालय अनुदान आयोग कार्यविधि नियमावली २०८१, क्यासिनो (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०८१, वैदेशिक रोजगार (छैटाँै संशोधन) नियमावली २०८१, भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१, दूरसञ्चार (दशौँ संशोधन) नियमावली, २०८१ र पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ रहेका छन् ।

त्यस्तै, तर्जुमा सहमति प्रदान गरिएको गठन आदेश तीन वटा रहेका छन् । त्यसमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (दोस्रो संशोधन) आदेश २०८१, भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ र विशिष्ट संरचना तथा सम्मेलन केन्द्र (सञ्चालन तथा व्यवस्थापन) विकास समिति गठन आदेश, २०८१ रहेका छन् ।

तर्जुमा सहमति प्रदान गरिएको निर्देशिका पाँच वटा रहेका छन् । सहरी विकास मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१, नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापालक र राष्ट्रिय पुरस्कारसम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१, राजदूत नियुक्तिसम्बन्धी (तेस्रो संशोधन) निर्देशिका २०८१, अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८१ सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ छन् ।

मन्त्रालयले तर्जुमा सहमति प्रदान गरिएको मापदण्ड दुई वटा छन् । त्यसमा विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ र सार्वजनिक निकायमा स्वदेशी बस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ रहेका छन् ।

त्यस्तै, तर्जुमा सहमति प्रदान गरिएका दुई मापदण्डमा विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड २०८१ र आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ रहेका छन् ।

‘डाना’ को प्रभावले कोशी र मधेसमा वर्षाको सम्भावना

काठमाडौँ, ८ कात्तिक : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । “समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बङ्गालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बङ्गालमा पनि यसको प्रभाव परेको छ”, उहाँले भन्नुभयो ।

रुस भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा युक्रेनमा शान्तिको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको ब्रिक्स नेताहरूको बैठकमा युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को आह्वान गर्नुभएको छ ।

उहाँ पुटिनले किएभमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभएको केही हप्तापछि सन् २०२२ अप्रिलयता पहिलो पटक रुसमा हुनुहुन्थ्यो ।

“हामीलाई युक्रेनमा शान्ति चाहिन्छ । संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, अन्तर्राष्ट्रिय कानून र महासभाका प्रस्तावहरू अनुरूप न्यायपूर्ण शान्ति”, गुटेरेसले ब्रिक्स नेताहरूको गोलमेच बैठकमा भन्नुभयो ।

उहाँले मध्यपूर्वमा पनि शान्तिको आह्वान गर्दै गाजामा ‘तत्काल युद्धविराम’ र लेबनानमा ‘तत्काल शत्रुताको अन्त्य’ हुनुपर्ने बताउनुभयो ।

“विश्वव्यापी चुनौतीहरूको सामना गर्न विश्व परिवारका रूपमा काम गर्ने राष्ट्रहरूको समुदाय चाहिन्छ” महासचिव गुटेरेसले आफ्नो प्रारम्भिक टिप्पणीमा भन्नुभयो ।

उहाँले आफ्नो कुरा सकेपछि पुटिनले कठोर जवाफ दिनुभयो । “महासचिव महोदयले हामी सबै एउटै ठूलो परिवारका रूपमा बस्नुपर्छ भन्नुभयो, परिवारमा दुर्भाग्यवश प्रायः झगडा, स्क्यान्डल, सम्पत्तिको बाँडफाँट र कहिलेकाहीँ लडाइँ पनि हुन्छन्”, उहाँले मुस्कुराउँदै भन्नुभयो, “ब्रिक्सको लक्ष्य आवश्यक अन्तरक्रियाका संयन्त्रहरू सिर्जना गर्नु र साझा घरमा अनुकूल वातावरण सिर्जना गर्नु हो ।”

युक्रेनले पुटिनलाई ‘अपराधी’ भन्दै गुटेरेसको रुस भ्रमणको निर्णयको निन्दा गरेको थियो ।

महासचिव गुटेरेसले बिहीबार पुटिनसँग द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ । वार्तामा उहाँले युक्रेनबारे आफ्नो अडान दोहो¥याउनुहुने उहाँका प्रवक्ताले बताएका छन् ।

प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले

धुलिखेल (काभ्रेपलाञ्चोक), ८ कात्तिकः नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले ग्रीनसिफ्ट अभियान नेपालको प्रत्येक स्थानीय तह र विद्यालयहरुमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

इयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको आज यहाँ सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

राजदूत लोरेन्जोले ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाले चाहे हरेक परिवर्तन सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, “युवा परिवर्तनका संवाहक हुन्, उनीहरुले चाहेमा जे कार्य पनि सम्मभव हुन्छ । यसको ज्वलन्त उदाहरण यही परियोजनाले एक वर्षमा प्राप्त गरेको उपलब्धि नै एक मानक हो ।”

राजदूत लोरेन्जोले फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्य लागू गरिनुपर्नेमा जोड दिनुभयो । नेपालका लागि चक्रीय अर्थतन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यसबाट नेपालले फाइदा लिनुपर्ने खाँचो औँल्याउनुभयो । यदि नेपालले हरित ऊर्जाको क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकलाई इङ्कित गर्दै भन्नुभयो, “तपाईंहरु परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु ।”

त्यस्तै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले ग्रीनसिफ्ट केबल एक परियोजनामात्र नभई एक बृहत् अभियान भएको बताउनुभयो । उहाँले सामूहिक नेतृत्व र साझा दृष्टिकोण मूल नाराका साथ तीनै तहको सरकार, विद्यालय, विद्यार्थी र शिक्षक, त्यसैगरी समुदायमा काम गर्ने युवासमूह, निजी फोहरमैला उद्यमी, फोहरमैला सफाइकर्मीलाई एकै ठाउँमा साझा उद्देश्य प्राप्तिका लागि सहमत गराउनु नै यो अभियानको सफलता हो भन्नुभयो ।

त्यसैगरी युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले डाटामा आधारित पैरवी आवश्यक भएको हुनाले वेस्टस्मार्ट फेलोहरुले डाटामा आधारित नीतिनिर्माण गर्न खेलेको योगदान सराहनीय रहेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख अञ्जली बज्राचार्यले महानगरभित्र परियोजना सञ्चालन गरेकामा इयू, क्रिएसन नेपाललगायत संस्थालाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानहरु अझै बृहत् रुपमा सञ्चालन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

इयूको सहयोगमा सञ्चालित चारवर्षे ग्रीनसिफ्ट नेपाल परियोजनाले बाग्मती, लुम्बिनी र मधेस प्रदेशगरी जम्मा नौ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो वर्षमा नेपालगञ्ज उपमहानगरपालिका, बर्दिवास नगरपालिका र ललितपुर महानगरपालिकामा सफलतापूर्वक गतिविधि सञ्चालन गरिसकेको छ भने परियोजनाको दोस्रो वर्ष जनकपुर उपमहानगरपालिका, भरतपुर महानगरपालिका र कोहलपुर नगरपालिकामा अभियान सञ्चालन गर्न गइरहेको परियोजनाका प्रमुख युनिश घिमिरेले बताउनुभयो ।

परियोजनाअन्तर्गत विद्यालयम वेष्टस्मार्ट स्कुल, युवा समूहहरुसँग सहकार्य, युवा परिचालनका लागि युवाको संस्थासँग सहकार्य, स्थानीय तहको फोहरमैला व्यवस्थापन नीति निर्माण, फोहरमैला उद्यमलाई सवलीकरण गर्न अनुदान, फोहरमैला सफाइकर्मीलाई स्वास्थ्य सुरक्षासम्बन्धी सशक्तीकरण तालिम, सफाइकर्मीहरुलाई सङ्गठित गर्न बनेका नागरिक समाज संस्थालाई सङ्गठानात्मक क्षमता अभिवृद्धि गर्न अनुदान तथा प्रशिक्षणलगायत क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण

काठमाडौँ, ८ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गर्नुभएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि

काठमाडौँ, ८ कात्तिकः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको एक सय दिनमा ५५ वटा उपलब्धि हासिल भएको विवरण सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये आठ वटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको बताउनुभयो ।

“पुनःनिर्माणको जिम्मेवारीबाट सरकार पछि हट्दैन वर्षात् र बाढीको प्रकोपका कारण सिर्जित आपत्कालीन सडक तथा यातायात व्यवस्थापनको काममा लाग्नु परेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको छ”, मन्त्री दाहालले भन्नुभयो, “वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि थप रु १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ती संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायसँग छलफल भइरहेको छ ।” तर दातृ निकायको मात्र नपरी मन्त्रालयले आफ्नै स्रोतबाट भए पनि पुनःनिर्माणलाई अघि बढाउने उहाँको भनाइ छ ।

नीतिगत र कानुनी काम प्राथमिकतामा मन्त्रालयले यस एक सय दिनको अवधिमा सरकारले नीतिगत र कानुनी कार्यलाई प्राथमिकतामा राखेको मन्त्री दाहालले बताउनुभयो । नीतिगत, सुशासन र कानुनी सुधारतर्फ एक सय दिनको अवधिमा सात उपलब्धि प्राप्त भएका छन् ।

राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने, डिप्लोमा इञ्जिनियरिङ परिषद् गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थमन्त्रालयमा पठाउनेलगायत काम यस अवधिमा भएका छन् । यस्तै मन्त्रालयले गठन गरेको कार्यदलले तीन ३नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नुपर्नेगरी पहिचानसमेत गरेको छ ।

नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे

नारायणगढ (चितवन), ८ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाउने विषयमा अध्ययन सुरु गरिएको बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पाण्डेले नेपालको आकाशमा देखिने समस्याको कारण पत्ता लगाउन अध्ययन सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकाशलाई कसरी सुरक्षित गर्ने र गतिशील बनाउने भन्ने सन्दर्भमा अध्ययन भइरहेको छ । अध्ययनपछि बन्ने नीति र नीतिपछि बन्ने कानुन, कानुनले निर्धारण गर्ने विभिन्न संरचना के हुन सक्छन भन्ने विषयले महत्व राख्छ ।”

आकाशलाई सुरक्षित र गतिशील बनाउन मन्त्रालयले काम अघि बढाइसकेको र चाँडै यसको परिणाम मन्त्रालयले प्राप्त गर्ने मन्त्री पाण्डेको भनाइ थियोे । भरतपुर विमानस्थल विस्तारको कामका लागि नागरिक उड्डयन प्राधिकरणले काम गरिरहेको उहाँले बताउनुभयो । विमानस्थल विस्तारको विषयमा आफूले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिररहेको उहाँले बताउनुभयो ।

मन्त्री पाण्डेले मन्त्रालयका छुट्टाछुट्टै तीन विभागमा नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि के गर्न सकिन्छ भन्ने विषयमा जोड दिइएको बताउनुभयो ।

१४० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसियामा

पश्चिमी इन्डोनेसियामा बिहीबार कम्तिमा १४६ रोहिंग्या शरणार्थीहरू आइपुगेको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीका अनुसार समुद्रको अवस्था शान्त भएपछि उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू आगमन पुनः बढेको छ ।

मुस्लिम समुदायका रोहिंग्याहरूलाई म्यानमामा असमानता र आफ्ना अधिकारहरु बाट वञ्चित भई हरेक वर्ष मलेसिया, इन्डोनेसियालगायतका देशमा पुग्न लामो र खतरापूर्ण समुद्री यात्रा गर्ने गर्छन् ।

उत्तरी सुमात्रा प्रान्तको पान्ताई लाबु सहरमा अवतरण गरेको डङ्गामा ६४ जना पुरुष, ६२ जना महिला र २० जना बालबालिका शरणार्थीहरू रहेको स्थानीय अधिकारी मुहम्मद फैसल नसुसनले बताउनु भएको छ ।

उहाँका अनुसार शरणार्थीहरूलाई स्थानीय जिल्ला कार्यालय स्थित अस्थायी आश्रयमा लगिएको जहाँ उनीहरू स्थानान्तरणको प्रतीक्षामा छन् ।

नासुसनले भोका नाङ्गा तथा तकित अवस्थामा रहेका शरणार्थीहरूलाई स्थानीयहरूले कपडा तथा खाद्यान्न उपलब्ध गराएको बताउनु भएको छ ।

उनीहरू संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को स्थानान्तरणको थप निर्देशनको प्रतिक्षामा रहेको र शरणार्थीहरूलाई सहयोगार्थ एउटा टोली घटनास्थलमा रहेको इन्डोनेसियामा युएनएचसीआरका लागि सुरक्षा सहयोगी फैसल रहमानले बताउनु भएको छ ।

उत्तरी सुमात्राको सिमानामा रहेको दक्षिणी आचेहको तटबाट एक माइल टाढा एक सय भन्दा बढी शरणार्थीको अर्को समूह रहेको उल्लेख गर्दै युएनएचसीआरले बिहीबार उनीहरूको उद्धारको योजना बनाएको जनाएको छ ।

कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने

काठमाडौैँ, ८ कात्तिकः जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ ।

आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री ठकुरीेले भन्नुभयो, “राष्ट्रपतिज्यूको नेतृत्वमा कोप–२९ सम्मेलनमा उच्चस्तरीय र प्रभावकारी सहभागिता जनाउनका लागि सोहीअनुसारको तयारी गरिरहेका छौँ ।” 

यसअघि सन् २००९ डेनमार्कको कोपहेगनमा भएको  १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा सम्पन्न २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सन् २०२३ मा संयुक्त अरब इमिरट्सको दुवईमा सम्पन्न २८औँ सम्मेलनमा नेपालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा उच्चस्तरीय सहभागिता जनाएको थियो ।

उच्चस्तरीय प्रतिनिधित्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीररुपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठूलो महत्व राख्ने यस क्षेत्रका जानकारको भनाइ छ ।
मन्त्री ठकुरीले कोप–२९ को तयारीका लागि पूर्वाधार, समिति तथा राष्ट्रिय मार्गदर्शन तयारी गरी सोहीआधारमा प्रभावकारी कार्यान्वयन थालनी भएको जानकारी दिनुभयो ।

यसका साथै जैविक विविधता महासन्धीमा यस वर्ष माउन्टेन, विपद् व्यवस्थापन र जलवायु वित्तको मुद्दासहित कोप–२९ मा सहभागी हुने तय गरेको उहाँले बताउनुभयो । जलवायु अनुकुलन कोषका लागि वन मन्त्रालयलाई राष्ट्रिय आधिकारिक सम्पर्क तोकिएको छ ।  

मन्त्री ठकुरीले वन तथा वनजन्य स्रोतको परिचालन गरी जनताको आय वृद्धि गर्न मन्त्रालयले विभिन्न नीतिगत र संरचनागत कार्यको थालनी गरेको बताउनुभएको छ । वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख कार्यहरुको प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस अवधिमा आठ दीर्घकालीन प्रभाव राख्ने नीतिगत कानुनी दस्तावेजहरु तयार भएको जानकारी दिनुभयो ।

मन्त्री ठकुरी भन्नुभयो, “यसले नेपालको वन, जैविक विविधता तथा वातावरण क्षेत्रमा ठूलो फड्को मार्नेछ । मुलतः वनको दिगो व्यवस्थापनका लागि सङ्घीयता तथा समुदाय अनुकुल हुने गरी दिगो वन व्यवस्थापनको मापदण्ड र राष्ट्रीय वनको रणनीतिक योजना तयार भएको छ ।”

मन्त्रालयका सचिव डा दीपककुमार खरालले यस अवधिमा कार्बन व्यापारमा निजी क्षेत्रको संलग्नता सुनिश्चत गर्न कानुनमा संशोधन गर्नुका साथै कार्बन बिक्रीको ८० प्रतिशत लाभ समुदाय समक्ष पुने गरी लाभ बाँडफाँट योजना स्वीकृत गरिएको जानकारी दिनुभयो । 

वन विकास कोषमा रु छ करोड ५९ करोड रकम सङ्कलन गर्नुका साथै सो रकम परिचालन गर्ने नीति तयार गरिएको उहाँको भनाइ थियो ।

मन्त्रालयले वैदेशिक ऋणबाट चालु कार्यक्रम सञ्चालन गर्ने विषय निरुत्साहित गर्दै समृद्धिका लागि वन कार्यक्रम अनुदान सहायतावाट सञ्चालन गर्ने गरी रु एक अर्ब ६० करोड अनुदान सहायताको व्यवस्था मिलाएको छ । यसले समृद्धिका लागि वन कार्यक्रम ऋणबाट सञ्चालन भएको भन्ने विषय अन्त्य भएको मन्त्रालयले जनाएको छ ।

यसै अवधिमा हिमाली तथा पहाडी क्षेत्रका जलवायु परिवर्तनबाट प्रभावित तथा संवेदनशील जलाधारमा रहेका समुदाय र प्राकृतिक स्रोतको व्यवस्थापनका लागि भू–परिधिमा आधारित जलवायु उत्थानशिलता विकास गर्न करिब रु २९ अर्बको कार्यक्रम सञ्चालन हुने भएको सचिव खरालले बताउनुभयो ।

तराईका १३ जिल्लाका वन कार्बन बिक्रीवाट रु एक अर्ब ६० करोड प्राप्त हुने सुनिश्चित भइ कार्यान्वयनको खाका तयार गरिएको मन्त्रालयका रेड कार्यान्वयन केन्द्रका प्रमुख तथा सहसचिव नवराज पुडासैनीले जानकारी दिनुभयो । साथै भविष्यमा विकसित राष्ट्र, अन्तर्राष्ट्रिय कम्पनीलाई विशेष गरी निजी क्षेत्रलाई कार्बन व्यापारमा संलग्न गराउने नीति रहेको उहाँले बताउनुभयो ।

बीस आयोजनालाई वातावरणीय अध्ययनमा सहजीकरण
मन्त्री ठकुरीले तीनै तहका सरकरको अविभावकत्वमा समुदायको सक्रियतामा सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत रहेको वन क्षेत्र वृद्धि भई हाल ४६ दशमलव ०८ प्रतिशत पुगेको बताउनुभयो ।

“तराई तथा सहरी क्षेत्रका नागरिकका लागि काठ तथा दाउरा वितरणको मुख्य माग रहेको चौकस नै वन निगममार्फत उपलव्ध गराउने व्यवस्था मिलाएको छु”, उहाँले भन्नुभयो, “हालसम्म आठ हजार चिरान काठ वितरण गरिएको छ । सात वटै प्रदेश र ७५३ वटै स्थानीय तहको वन क्षेत्रका किसिमअनुसार नक्सा तयार गरिएको छ ।”

यस अवधिमा मन्त्रालयले काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग, बुटवल सडकखण्डको जग्गा तथा रुख कटानको अवरोध हटाइएको जनाएको छ । हालसम्म १८ वटा राष्ट्रिय प्राथामिकता प्राप्त आयोजनालाई करिब १३० हेक्टर वन क्षेत्रमा ४४ हजार रुख कटानका लागि अनुमति दिइएको उहाँले बताउनुभयो । यस अवधिमा  २० वटा  विकास आयोजनालाई वातावरणीय अध्ययन कार्यमा  सहजिकरण गरिएको छ ।

जलवायु परिवर्तनका मञ्चमा प्रभावकारी उपस्थिति
वन तथा वातावरण क्षेत्रका अन्तर्राष्ट्रिय सम्बन्ध तथा अभिसन्धिको कार्यान्वयनका लागि लामो समयदेखि अगाडि नबढेको मोन्ट्रियल प्रोटोकलअन्तर्गत किगाली संशोधन अनुमोदन प्रस्ताव संसदमा पेस गरेको मन्त्रालयले जनाएको छ ।

“यस अवधिमा जैविक विविधता महासन्धिका लागि राष्ट्रिय अवधारणा पत्र तयार गरेका छाँै । नेपाल सरकारको तर्फबाट उपहार स्वरुप कतार सरकारलाई  चितवन राष्ट्रिय निकुञ्जमा रहेका एक जोडी हात्ती उपलब्ध गराउने निर्णय गरिएको छ, राष्ट्रिय वनस्पति उद्यान गोदावरीको विकास लागि मित्र राष्ट्र चीनको कुनमिङ वनस्पति उद्यानसँग भगिनी सम्झौता सम्पन्न भएको छ”, मन्त्री ठकुरी भन्नुभयो ।

जैविक विविधता संरक्षणमा उपलब्धि
मन्त्रालयले पछिल्लो तीन महिनामा जैविक विविधता तथा वन्यजन्तु संरक्षणका लागि थप प्रगति हासिल गरेको जनाएको छ । वन्यजन्तु अपराध नियन्त्रणका लागि दक्षिण एसियाका सबै मुलुकको सहभागितामा साधारणसभा नेपालमा गर्ने निर्णय भएको छ ।

“स्वच्छ हिमाली पर्यावरणको सूचक (हिमालकी रानी) हिँउ चितुवाको गणना सम्पन्न भएको छ । बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको साथै रातो बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने अध्ययन सम्पन्न गरी निर्णय प्रकृयामा छौँ”, मन्त्री ठकुरीले भन्नुभयो ।

समृद्धिका लागि वन्यजन्तुको व्यावसायिक रुपमा वन्यजन्तु पालना प्रजननका लागि अनुमति दिने कार्य थालनी गरिएको छ । सदर चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई थप ३० वर्षका लागि दिने निर्णय गरिएको छ । 

जडीबुटी प्रशोधन केन्द्रको सेवा विस्तारका लागि  जाजरकोटमा टिमुरको सङ्कलन तथा प्रशोधन परीक्षण सफल भएको र गोरखामा उद्योगका लागि जग्गा प्राप्ती अगाडि बढाउनुका साथै सिराहामा खेती विस्तार गर्ने कार्य भएको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले सञ्चोलगायत हर्बलकेयरको करिब छ लाख ४७ हजार थान उत्पादन गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम

मुग्लिन (चितवन), ८ कात्तिकः सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ ।

नागढुङ्गा–नौबिसे मुग्लिन सडकखण्डमा अवस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका निम्ति सञ्चालित तालिमको समापन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव नहुने बताउनुभयो ।

उहाँले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएकाले जीवन जोखिममा परेका हजारौँको रक्षा गरेका तथा देशमा विपत्तिका बेला परिचालन हुने स्वयम्सेवक दस्ता पनि नागरिकस्तरमा गठन गर्न अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।

तालिममा गजुरी अस्पताल, मलेखु अस्पताल, आदमघाट अस्पताल, मुग्लिन हाइेव अस्पताल र इच्छाकामना गाउँपालिकाद्वारा सञ्चालित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा कार्यरत २६ जनाको सहभागिता थियो ।

नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला, अमेरिका गएका वडाध्यक्ष अझै फर्किएनन्

खोटाङ, ८ कात्तिक: अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उहाँ नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उहाँले राससलाई बताउनुभयो ।

वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुनुहुन्छ ।

पाँच वर्षपछि मोदी र सीबीच पहिलो द्विपक्षीय वार्ता

भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबीच भएको झडपपछि छिमेकी राष्ट्रहरूबीच सम्भावित सुधारको सङ्केत गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसमा आयोजित ब्रिक्स बैठकको अवसरमा भेटवार्ता गर्नुभएको छ । यो पाँच वर्षपछि दुई नेताबीचको पहिलो औपचारिक भेट हो ।

सीले मोदीलाई चीन र भारतले सहकार्य बढाउनुपर्ने बताउनुभएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।

“चीन र भारतले इतिहासको प्रवृत्ति र द्विपक्षीय सम्बन्धको विकासको दिशालाई सही ढङ्गले बुझ्नु दुवै देश र जनताको मौलिक हितमा छ”, सरकारी प्रसारक सिसिटिभीले सीलाई उद्धृत गर्दै भनेको छ, “दुवै पक्षले सञ्चार र सहकार्य बढाउनुपर्छ, मतभेद र भिन्नताहरूलाई उचित ढङ्गले सम्हाल्नुपर्छ र एक अर्काको विकासका सपनाहरूलाई साकार पार्नुपर्छ ।”

सीले मोदीलाई दुवै देशले ‘अन्तर्राष्ट्रिय जिम्मेवारीहरू बहन गर्नुपर्ने, एकतामार्फत शक्ति खोज्ने विकासशील देशहरूका लागि उदाहरण बन्नुपर्ने र बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धहरूको लोकतान्त्रीकरणमा योगदान पु¥याउनुपर्ने’ बताउनुभएको सिसिटिभीले जनाएको छ ।

–– पारस्परिक विश्वास ––

मोदीले चीनसँगको सम्बन्धमा ‘पारस्परिक विश्वास’ ले मार्गदर्शन गर्ने बताउँदै सीमा विवादमा भएको ‘सहमति’ लाई स्वागत गर्नुभएको छ ।“भारत–चीन सम्बन्ध हाम्रा देशका जनताका लागि र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण छ”, मोदीले एक्समा लेख्नुभएको छ, “पारस्परिक विश्वास, पारस्परिक सम्मान र पारस्परिक संवेदनशीलताले द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गर्नेछ ।”

विश्वका दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रका नेताहरूले विगत केही वर्षमा अन्तर्राष्ट्रिय शिखर सम्मेलनहरूको अवसरमा छोटो भेटघाट गर्नुभएको थियो । सन् २०१९ अक्टोबरमा सी भारतको महाबलीपुरम शहरमा मोदीसँग भेट्न आएको बेला पछिल्लो पटक आमने–सामने औपचारिक वार्ता भएको थियो ।

केही महिनापछि सन् २०२० मा उच्च हिमाली क्षेत्र लद्दाखमा रहेको विवादित सीमामा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि सम्बन्ध बिग्रिएको थियो ।चीन र भारत कट्टर प्रतिद्वन्द्वी हुन् र दुवैले एक अर्कालाई वास्तविक नियन्त्रण रेखा (एलएसी) भनिने अनौपचारिक विभाजन रेखा वरिपरिको क्षेत्र कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

त्यसयता दुवै पक्षले दशौँ हजार सैनिक फिर्ता गरेका छन् र साँघुरो विभाजन पट्टीमा गस्ती नपठाउने सहमति गरेका छन् । तर भारतले सोमबार चीनसँग ‘गस्ती व्यवस्थाबारे सहमति’ भएको जनाएको छ । यसले सैन्य गतिरोधलाई कम गरेको छ ।

ब्रिक्स शिखर सम्मेलनमा शान्तिको आह्वान सुन्न बाध्य पुटिन

रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बुधबार विश्व नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरेको बताउनुभयो ।

पुटिनले सम्मेलनलाई मस्कोलाई एक्ल्याउने पश्चिमी प्रयासहरू असफल भएको सङ्केतका रूपमा प्रस्तुत गरिरहनुभएको छ, तर उहाँले आफ्ना केही निकटतम र महत्त्वपूर्ण साझेदारहरूबाट युक्रेन द्वन्द्व अन्त्य गर्न प्रत्यक्ष आह्वानको सामना गर्नुप¥यो ।

केन्द्रीय शहर कजानमा भएको विश्वका करिब २० नेताहरूको यो भेला पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीन – बाट सुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरान जस्ता अन्य उदीयमान राष्ट्रहरू समावेश गर्दै विस्तार भएको छ ।

संयुक्त वक्तव्यमा समूहले ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा जारी द्वन्द्व र अस्थिरताबारे गहिरो चिन्ता’ व्यक्त गरेको छ । साथै समूहले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूमाथि इजरायली आक्रमणको आलोचना गर्दै लेबनानको ‘क्षेत्रीय अखण्डता’ ‘संरक्षित’ गर्न आग्रह गरेको छ ।

बुधबार नै एउटा पूर्ण सत्रमा नेताहरूले मध्यपूर्व र युक्रेन दुवैमा शान्तिको आह्वान गरेका थिए ।इरानका राष्ट्रपति मसुद पेजेश्कियानले ब्रिक्स सदस्यहरूलाई ‘गाजा र लेबनानमा युद्ध अन्त्य गर्न आफ्ना सबै सामूहिक र व्यक्तिगत क्षमताहरू प्रयोग गर्न’ आग्रह गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले युद्धविराम गर्न आफ्नो आह्वान दोहो¥याउँदै भन्नुभयो, “हामीले… हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायपूर्ण र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।”

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि मध्यपूर्व र युक्रेन दुवैमा तनाव बढ्न नदिन आह्वान गर्नुभयो । “हामीले विश्वव्यापी हुनसक्ने दुई युद्धको सामना गरिरहेका छौँ, साझा लक्ष्यहरूका लागि एकसाथ काम गर्ने हाम्रो क्षमता पुनःस्थापित गर्न आवश्यक छ”, शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ।

– मध्यस्थताका प्रस्तावहरू –

युरोपेली सङ्घ (इयु) ले बुधबार ब्रिक्स सदस्यहरूलाई पुटिनलाई युक्रेनमाथिको आक्रमण ‘तत्काल’ रोक्न दबाब दिन मञ्चको प्रयोग गर्न आग्रह ग¥यो ।

द्विपक्षीय वार्तामा पुटिनले केही ब्रिक्स नेताहरूको युक्रेनमा मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गर्नुभयो । यद्यपि उहाँका प्रवक्ताका अनुसार उहाँले ती नेताहरूलाई आफ्ना सेनाहरू युद्धक्षेत्रमा अघि बढिरहेको जानकारी दिनुभयो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई पुटिनले बैठकहरूमा ‘रुसी सशस्त्र बलहरूको मोर्चामा धेरै सकारात्मक गतिशीलता’ को प्रचार पनि गरेको बताउनुभयो ।

रुसी सेनाहरू सन् २०२४ को धेरैजसो समय पूर्वी युक्रेनमा बिस्तारै अघि बढिरहेका छन्, यद्यपि कुनै पनि पक्षले निर्णायक सफलता हासिल गर्न सकेको छैन ।

पुटिनका प्रमुख सहयोगी सीले शिखर सम्मेलनमा युक्रेनमा ‘लडाइँ बढ्न नहुने’ बताउनुभयो । “स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कुनै विशेष द्वन्द्वको उल्लेख नगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शान्तिको आह्वान गर्नुभयो । “हामी युद्ध होइन, संवाद र कूटनीतिको समर्थन गर्छौँ”, उहाँले भन्नुभयो ।

ब्राजिलका लुलाले मस्को र किएभबीच शान्ति वार्ता सुरु गर्न ‘महत्त्वपूर्ण’ भएको बताउनुभयो ।

– बहुध्रुवीय व्यवस्था –

सी र मोदीले पहिले नै युक्रेनका लागि आफ्नै शान्ति पहलहरूको प्रचार गर्नुभएको छ । यद्यपि त्यसमा थोरै प्रगति भएको देखिएको छ ।

पुटिनले युद्धविराम वार्ताको पूर्वशर्तका रूपमा युक्रेनलाई पूर्व र दक्षिणमा थप भूभाग छोड्न प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गर्नुभएको छ ।

किएभले शान्तिको बदलामा भूमि छोड्न अस्वीकार गरेको छ र हाल एक साहसिक सीमापार आक्रमणपछि रुसी भूभागको केही भाग कब्जा गरेको छ ।

आफूलाई सम्भावित शान्तिदूतका रूपमा प्रस्तुत गरिरहनुभएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार पछि पुटिनसँग वार्ता गर्दै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक दिनपछि पुटिनसँग भेट गर्नुहुनेछ ।

मस्कोले ब्रिक्स मञ्चलाई जि७ जस्ता पश्चिमी नेतृत्वको अन्तर्राष्ट्रिय सङ्गठनहरूको विकल्पका रूपमा हेरेको छ ।

शिखर सम्मेलनको उद्घाटन भाषणमा पुटिनले भन्नुभयो, “बहुध्रुवीय विश्व व्यवस्था निर्माणको प्रक्रिया जारी छ, यो एक गतिशील र अपरिवर्तनीय प्रक्रिया हो ।”

सी र मोदीले दुई देशको विवादित सीमामा सम्झौता भएको केही दिनपछि शिखर सम्मेलनमा पाँच वर्षपछि पहिलो औपचारिक बैठक गर्नुभयो । सीले दुवै पक्षले ‘सञ्चार र सहयोग बलियो बनाउनु’ दुवै मुलुकको ‘मौलिक हित’ भएको बताउनुभयो ।

ब्रिक्स समूहले विश्व मञ्चमा दक्षिणी गोलार्धलाई ठूलो भूमिका दिन र अन्तर्राष्ट्रिय ‘निर्णय–निर्माण’ मञ्चहरूमा गहिरो एकीकरण गर्न पनि आह्वान गरेको छ ।

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा रमाउदै, मनग्य आम्दानी गर्दै

रामपुर (पाल्पा), ८ कात्तिकः उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बन्नुभएको छ ।

उहाँको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गर्नुभएको छ । “गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु”, उहाँले भन्नुभयो, “यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।” उहाँ विगत सात वर्षदेखि उहाँ यो व्यवसायमा आबद्ध हुनुुहुन्छ ।

पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उहाँले कुखुरापालन गर्नुभएको छ । उहाँको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पाल्नुभएका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गर्नुभएको छ । उहाँको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताउनुभयो । उहाँले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आउनुभएको छ ।

उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थाल्नुभएको हो । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उहाँले बताउनुभयो । व्यवसाय धान्न एक जनालाई रोजगार दिनुभएको छ । टिक्ने खालको संरचना बनाएर व्यवसाय गर्नुभएको छ ।

गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आउनुभएको छ । कुखुरापालनसँगै उहाँले माछापालन पनि गर्नुभएको छ । व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यो व्यवसायले दाम मात्र नभई समाजमा नाम पनि दिएको छ ।

व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उहाँको अनुभव छ ।

विश्व बैंकले रोजगारी सृजनामा सघाउने

वासिङ्टन, डिसी, ८ कात्तिकः विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका (दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको छ ।

वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।

यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

सन् २०२६ विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिने

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा हुने सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने मङ्गलबार पुष्टि गर्नुभएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबामा मङ्गलबार अफ्रिकी फुटबलको ४६औँ कन्फेडेरेसन (सिएएफ) को साधारणसभामा बोल्ने क्रममा उहाँले भन्नुभयो, “सन् २०२६ मा हुने विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिनेछन् ।” ।

उहाँले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गरिने जानकारी दिनुभयो ।

उहाँले अफ्रिकी देशहरूलाई महादेशका युवा फुटबल खेलाडीहरूको क्षमतामा थप लगानी गर्न र बाहिर निकाल्न आग्रह गर्नुभयो । “म तपाइँ सबैलाई युवा फुटबलमा लगानी जारी राख्न प्रोत्साहित गर्दछु किनभने ती युवायुवतीहरू भोलिका ताराहरू हुन्” उहाँले भन्नुभयो ।

फिफाले महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको सङ्ख्या छ पु¥याउनेबारे पनि विचार गरिरहेको उहाँले बताउनुभयो ।

मोरक्कोले सन् २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको छ । मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी मुलुक बन्नेछ ।

सम्मेलनको उद्घाटन सत्रमा इथियोपियाका अध्यक्ष तायेओन सेलासीले सिएएफलाई सन् २०२९ अफ्रिका कप अफ नेसन्स प्रतियोगिता आयोजना गर्न इथियोपियालाई समर्थन गर्न अपिल गर्नुभयो ।

पूर्व अफ्रिकी फुटबल स्टारहरू स्यामुएल इटो, जे–जे ओकोचा, एल–हदजी डिउफ ४६औं सिएएफ साधारण साधारणसभामा सहभागी हुनुहुन्थ्यो ।

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ ।

याओगन–४३ ०३ समूहका उपग्रहहरूलाई बिहान ९ः०९ बजे (बेइजिङ समय) दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको र पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको थियो ।

तिनीहरू मुख्यतया कम–कक्षा तारामण्डलहरूका लागि नयाँ प्रविधिहरूमा परीक्षणहरूको लागि प्रयोग गरिनेछ । यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५४२ औँ उडान अभियान थियो ।

काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक, ८ कात्तिक: मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ ।

बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले दुई वर्षदेखि रोकिएको हो ।

योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छन्भने बनेका घरहरुको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो ।

बाँकी काम पूरा गर्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो । सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो ।

नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फछ्र्याेट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आउनुभएको छ । यसअघि नगरले रु १० लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो ।

केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्राधिकरणबाट रु दुई करोड ८० लाख रकम निकासा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो । तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक रु १३ लाख लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए । स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएका बताउनुभयो । स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खट्नुभएको थियो ।
“गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको दुई वर्ष भैसक्यो”, पञ्चकुमारीले भन्नुभयो । उहाँले आफुलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गर्नुभएको थियो । त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख निकासा हुँदा ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए । बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि खर्चिइएको हो । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो ।

नमूना बस्तीमा रु ४० लाखमा एक सामुदायिक भवन निर्माण भएको छ । उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो ।

छ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन् ।

बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव

काठमाडौँ – अपराधको अनुसन्धान तथा अभियोजना गर्दा घटनामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै बिगो कायम गर्नुपर्ने कानुनविज्ञले सुझाव दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले यहाँ आयोजना गरेको बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१ को प्रारम्भिक मस्यौदामाथिको छलफलमा सहभागी कानुनविज्ञ, वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्तालगायतले बिगो निर्धारण गर्दा बाहिरको हल्लाका आधारमा नभइ वास्तविकता र तथ्यका आधारमा हुनुपर्नेमा जोड दिएका हुन् ।

निर्देशिका २०८१ को प्रारम्भिक मस्यौदामाथिको छलफलमा भाग लिनुहुँदै पूर्वमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता अग्नी खरेलले अनुसन्धान र अभियोजनमा बिगो तोक्दा वास्तविकतामा जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बाहिर के भन्छन्, मिडियाले के लेख्छ, त्यो हामी सुन्छौँ र ठूलो बिगो लगाइहाल्छौँ, त्यसो गर्दा त त्यो व्यक्तिलाई अन्याय हुन्छ । त्यसैले जति बिगोको आधार छ, त्यति मात्रै लेखौँ, अन्याय नगरौँ, राज्य अन्याय गर्ने संस्था होइन ।”

मस्यौदा फौजदारी न्यायप्रणालीका लागि पनि अति महत्वपूर्ण रहेको भन्नुहुँदै खरेलले अझै छलफल गरेर मस्यौदालाई थप समृद्ध बनाउन अर्को चरणमा न्यायाधीश, अदालतका स्रेस्तेदार, तहसिलदार, जिल्ला सरकारी वकिल तथा जिल्ला प्रहरीसमेतसँग छलफल जरूरी रहेको बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आधा काम भइसकेको अवस्थामा त्यसको मूल्याङ्कन नै नगरी पूरै रकमको बिगो कायम गर्दा आरोपीमाथि अन्याय भइरहेकाले यसतर्फ ख्याल गर्नुपर्ने सुझाव दिनुभयो । “कारोबार अङ्क सबै बिगो बनाउनुहुन्न, निर्माणसम्बन्धी काम गर्ने कुनै कम्पनीका सम्बन्धमा भन्दा काम गरेको र नगरेको सम्पूर्ण बिगो बनेर आएको छ, उसले काम गरेर धेरै रकम खर्च गरिसकेको हुन्छ, त्यसैले त्यो कारोबार रकम कटाएर पो बिगो कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो,

वरिष्ठ अधिवक्ता शम्भु थापाले जसले जति खाएको छ वा जसको जति दायित्व हुने हो त्यो पहिचान गरेर बिगो निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कानुनविज्ञ राधेश्याम अधिकारीले अझै सरोकार भएकाहरूसँग पनि बसेर छलफल गर्न जरूरी रहेको उल्लेख गर्नुभयो ।

महान्यायाधिवक्ता रमेश बडालले छलफलमा महत्वपूर्ण सुझाव आएको र अझै सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेर मस्यौदालाई समृद्ध बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले अहिले फौजदारी संहिता संशोधनको चरणमा रहेकाले त्यसअघि नै निर्देशिका जारी गर्न संहितामामै केही कुरा समावेश गर्न सजिलो हुने धारणा राख्नुभयो । निर्देशिका अनुसन्धान र अभियोजनका लागि मात्रै बन्न लागेकाले केही भाग ऐनमै समावेश हुनसक्यो भने न्याय निरुपणमै योगदान पुग्ने उहाँको भनाइ थियो ।

छलफलमा प्रहरीका अनुसन्धान अधिकृत, सरकारी वकिल, कानुन व्यवसायी, वरिष्ठ अधिवक्ता, नेपाल बारका पदाधिकारी, पूर्वमहान्यायाधिवक्ता, बारका पूर्वअध्यक्ष तथा कानुन मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सरकार सुशासनको पक्षमा निरन्तर लागिरहेको छ : मुख्यमन्त्री आचार्य

नेपालगन्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार निरन्तर लागिपरेको बताउनुभएको छ ।

सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदासम्बन्धी छलफलमा उहाँले भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनालाई कडाईपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सुशासन कायम गर्न आँट चाहिन्छ । हामीले त्यसको सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यागको भावना बोकेर यो सरकार अगाडि आएको छ । जनताबाट उठाएको करबाट सेवासुविधा लिन्न भनेर निर्णय गरेका छौँ ।”

प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडि बढेको बताउँदै उहाँले मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेर नयाँ सुशासन सुरुआत गरिएको स्पष्ट पार्नुभयो ।

पाँचवर्षे रणनीतिक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै भ्रष्टाचार नियन्त्रणका लागि नैतिकता तथा सदाचारिता प्रवर्द्धनलाई पनि जोड दिइएको छ ।

व्यावसायिकता अभिवृद्धि, सार्वजनिक सेवाप्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुनतर्जुमा तथा कार्यान्वयन, पारदर्शिता, सामाजिक जवाफदेहीता तथा उत्तरदायित्व प्रवर्द्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समन्वय, सहकार्य तथा साझेदारीलाई विषयगत क्षेत्रका रुपमा तोकिएको छ । यी विषयगत क्षेत्रलाई आधार मानेर रणनीति र कार्यनीति प्रस्ताव गरिएको छ । सार्वजनिक प्रशासनका सबै क्षेत्रमा नैतिकता प्रवर्द्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी रुपमा शासकीय क्रियाकलाप सञ्चालन गर्ने योजना बनाइएको छ ।

प्रमुख सचिव महादेव पन्थको अध्यक्षता भएको कार्यक्रममा दाङ, बाँके र बर्दिया जिल्लाका प्रदेशसभा सदस्य, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो । कार्यक्रममा प्रदेश सचिव कृष्ण पौडेलले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको प्रस्तुत गर्नुभयो ।

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’ – विप्लव

तुलसीपुर – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले क्रान्तिकारी र प्रगतिशिल शक्तिहरुले हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको छ ।

दाङको देउखुरीमा आयोजित अखिल नेपाल शिक्षक सङ्गठनको तेस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उहाँले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलन नजिकिँदै गएकाले प्रगतिशील शक्तिहरूबीच हातेमालो जरुरी रहेको बताउनुभयो ।

जनपक्षीय र प्रगतिशील आन्दोलनमा शिक्षकको भूमिका विशिष्ट रहेको बताउँदै महासचिव विप्लवले जनवादी आन्दोलनमा शिक्षकले खेलेको भूमिकाको उच्च रहेको उल्लेख गर्नुभयो । शिक्षकले नै वास्तविक समाजको धरातल बुझ्ने भन्दै उहाँले देशभर शिक्षकले विद्यार्थीमार्फत समाजवादी अभियानको बहस चलाउनुपर्ने बताउनुभयो ।

ललितपुर महानगरले छ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने

पाटन (ललितपुर) – गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ ।

महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तहलाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई एक करोड रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको महानगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । “ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिका, बागमती, महाङ्काल र कोन्ज्योसोम गाउँपालिकालाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरलाई रु एक करोड दिने निर्णय भएको छ”, उहाँले भन्नुभयो,“विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ । समस्या परेका बेला छिमेकी पालिकालाई सहयोग गर्नु हाम्रो धर्म हो, यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनःनिर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

ललितपुरको दक्षिण भेगमा रहेका गोदावरी, महाङ्काल, कोन्ज्योसोम र बागमतीलाई सङ्घीय सरकार र प्रदेश सरकारले विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेका छन् ।

बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

दमौली (तनहुँ), ८ कात्तिक: बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त भएकाले अब धमाधम काम हुन्छ । ”

बेलभन्ज्याङ– बानियाँटार सडकमा रु एक करोड, रिमाल्नी– भुडाटार जाने सडकमा रु ५० लाख, बन्दीपुर– ढाडखोला मोटरमार्गअन्तर्गत भुमर्से– हल्थुम्कासम्म तीन किमि सडक कालोपत्र, वडा २ कै सिमलटारमा रु ५० लाख, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा रु दुई करोड, वडा नम्बर ३ को कार्यालयदेखि रामकोटसम्म जाने सडकमा रु ५० लाखको कालोपत्रको योजना सुरु भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यसैगरी, वडा नम्बर ४ को बन्दीपुर रिङरोडमा कालोपत्र तथा प्रहरी बिटबाट टँुडिखेल जाने बाटो कालोपत्र भएको छ । अध्यक्ष थापाले शहरी आयोजना मार्फत शिखरडाँडाबाट तल्लो डुम्रे जाने बाटो कालोपत्र भएको जानकारी दिनुभयो ।

वडा नम्बर ५ को याम्पा र थुम्काको बीचमा पाँच सय मिटर ढलान, तीनधाराबाट वडा नम्बर ५ को कार्यालय बाहुनभन्ज्याङ जाने सडकमा रु दुई करोडको कालोपत्रको काम यथाशीघ्र सुरु गरिने थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ६ को साँधभन्ज्याङबाट घमलछापसम्म रु दुई करोडको बजेटमा कालोपत्र, वडा नम्बर ६ कै सराङघाटबाट भुतखोलासम्म रु एक करोडको लागतमा बाटो स्तरोन्नति भइरहेको छ ।

सङ्घीय र गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ रु २० करोड बजेट प्राप्त भएको र उक्त बजेटबाट गाउँपालिकाका मुख्य सबै सडकमा कालोपत्र गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

आमा सम्झाउने ‘मातृचक्र’

म्याग्दी, ८ कात्तिकः सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् ।

मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा आमाको सम्मान र स्मृतिमा शब्द खर्चन, भावना व्यक्त गर्न पाइन्छ । त्यो स्थान हो, मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित ‘मातृचक्र’ पर्खाल । “म कसरी हार मानौँ, मेरो अगाडि दुःखको पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन्, मेरी प्यारी आमा”, आमाको सम्मानमा मातृचक्र पर्खालको एउटा ढुङ्गामा म्याग्दीकी स्मृति मगरले लेख्नुभएको छ ।

सेतो रङ्ग लगाइएको गोलो चक्र आकारको पर्खालका ढुङ्गामा रातो अक्षरमा आमाप्रति सर्मपित भएर लेखिएका यी र यस्तै भावका शब्दावली देखिन्छन् । यस स्थललाई घरपझोङ गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न काम थालेको छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ‘मातृचक्र’को अवधारणा नेपालमै नयाँ र अनौँठो भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो । “जीवनका विभिन्न कालखण्ड र आमाका सङ्घर्षको कल्पना गर्दै पर्खालभित्र फन्को लगाइने भएकाले यसलाई मातृचक्र नामाकरण गरिएको हो”, उहाँले भन्नुभयो,“आमाको गर्भभित्र हुँदाको कल्पना गरेर पर्खाल वरपर फन्को लगाउन सकिन्छ ।”

यस्तो छ मातृचक्र

कोशी प्रदेशको धरानमा बाँसको रूखमा प्रेमका शब्द लेख्ने चलन छ । आमाको सम्मान र सम्झना गर्ने ठाउँ जोमसोमबाहेक कतै नभएको अध्यक्ष लालचनले बताउनुभयो । आठ वटा ढुङ्गे पर्खालको चक्र भएको यस ठाउँमा फन्को लगाउन करिब २० मिनेट लाग्छ । टाढाबाट हेर्दा मातृचक्रको पर्खाल विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम जस्तो पनि देखिन्छ ।

बीच भागमा हिड्न मिल्ने बाटो छाडेर बनाइएको मातृचक्र गोलो आकारको छ । नकुदेका ढुङ्गा चिनेर पर्खाल बनाइएको छ । पर्खालभित्र छिर्ने र निस्कने एउटै प्रवेशद्वार छ । एकठाउँबाट छिरेपछि सबै भाग घुमेर सोही ठाउँमा आई बाहिर निस्कन सकिन्छ । फन्को लगाउने क्रममा आमालाई दिएका दुःखको क्षमा माग्न, आमालाई धन्यवाद दिन र पुकार गर्न पाइन्छ । फन्को लगाएपछि फर्कने बेलामा ढुङ्गामा शब्द लेख्न पाईन्छ ।

“आमाप्रति सधैँ कृतज्ञ छु”, सचिन नाम गरेका झापाका व्यक्तिले ढुङ्गामा लेख्नुभएको छ । म्याग्दीका बिष्णु शर्माले अनौठो र आश्चार्य लागेर आमाको सम्मान र सम्झनाका लागि मातृचक्रमा पुगेको बताउनुभयो ।

करिब २० वर्षअघि एक जर्मन नागरिकले बनाएको गोलो आकारको पर्खाल यसअघि उपयोग र संरक्षण भएको थिएन । गाउँपालिकाले हालै पर्खालको भित्री भागमा रातो र बाहिरी भागमा सेतो रङ लगाएको छ । रङ्गरोगन गरेपछि मातृचक्र आकर्षक देखिएको छ । घरपझोङ गाउँपालिकाको कार्यालयदेखि पाँच मिनेट पैदलयात्रापछि जोमसोम बजारको छेउमा रहेको मातृचत्र पुगिन्छ । बेनी–जोमसोम–कोरला सडकबाट पनि मातृचक्र देखिन्छ ।

कृषि पर्यटनका लागि उद्यान

घरपझोङ गाउँपालिकाको नाममा रहेको जग्गामा अवस्थित मातृचक्र र वरपरको क्षेत्रमा पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनको कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ । मातृचक्र नजिकै मुस्ताङमा पाइने सबै प्रजातिका स्याउको बगैँचा स्थापनाको तयारी भइरहेको अध्यक्ष लालचनले बताउनुभयो ।

कृषि पर्यटनको अवधारणाअनुसार घरपझोङले स्याउ खेतीलाई पर्यटनसँग जोड्ने प्रयासमा विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘मिनी मुस्ताङ’को अवधारणाअनुसार उद्यान बनाउने उद्देश्यले अघिल्लो कार्यकालमा सो ठाउँमा पर्खाल लगाएर घेराबार गरिएको थियो । पछिल्लो कार्यकालका जनप्रतिनिधिले मिनि मुस्ताङको योजना सफल नभएकाले त्यस ठाउँमा स्याउ उद्यान बनाउने तयारी गरिएको जनाएका छन् ।
–––सन्तोष गौतम

बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

इनरुवा (सुनसरी), ८ कात्तिक: वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्रीत हुन्छ ।

वर्षायाममा पानी र बाढीले भरीभराउ हुने सप्तकोसी नदीमा सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छन् । धेरै ठाउँमा त बालुवाका टापु नै देखिन्छन् । यी टापु देख्नेले भन्छन्, “नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षात्मा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो ।”

सप्तकोसी नदीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्य्रान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ तर यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ । नेपाली काँग्रेस इनरुवाका उपसभापति प्रदिप ढकाल धेरै वर्षदेखि यो समस्या समाधान नभएको र यसतर्फ सरोकार भएका निकायको समेत ध्यान नगएको बताउनुहुन्छ । “पूर्वमा कञ्चनगङ्घादेखि पश्चिममा लामटाङ हिमाल (गोसाईकुण्ड) सम्मको ठूलो भू–भागमा फैलिएको सप्तकोशी नेपालको सबैभन्दा ठूलो नदी हो । तिब्बत र नेपालका हिमाल, पहाड, तराई हुँदै भारतको गङ्गा नदीमा गएर मिसिने यस नदीले निम्त्याउने विपद्ले यी सबै क्षेत्र नराम्ररी प्रभावित भइरहेका छन् । त्यसैले यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सुनकोसी, दूधकोसी, इन्द्रावती, तामाकोसी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोसी नदीमा बालुवा थुप्रिदै गएपछि नदीको गहिराई कम हुँदै गई सतह पुरिदै जाँदा हरेक वर्ष जोखिम थपिँदै गएको छ ।

सुनसरीको कोसी गाउँपालिका–६ का देवचन्द्र झाले कोसी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताउनुभयो ।

नदीको भूइँसतह माथि उठ्दै गएपछि नदीको बाढी तटबन्ध छेउसम्म आउने गरेको र बस्ती क्षेत्रमा पसेर हरेक वर्ष डुबान हुने गरेको कोसी क्षेत्रका जानकार तथा पत्रकार बाबुराम कार्कीको भनाइ छ । “हिमाली र पहाडी क्षेत्रमा हुने भूक्ष्यका कारण समथर क्षेत्रमा फैलिएको कोसी नदी क्षेत्रको सतह वृद्धि भएको छ । थोरै मात्र पानीको मात्रा बढ्दा पनि बाढीले ठूलो रूप लिने गरेको छ”, उहाँले भन्नुभयो ।

बराहक्षेत्र–९ का भिम कार्की विगत वर्षमा पहाडबाट ठूलो पानी र बाढी उर्लेर आउँदा पनि खासै असर नपर्ने यस नदीमा पछिल्ला दिनमा सामान्य बाढी आउँदा पनि उग्र रूप देखिने गरेको बताउनुहुन्छ । “पहाडी भूभागमा सामान्य वर्षा हुनासाथ सप्तकोसीमा पानीको मात्रा बढ्ने गरेको छ । नदीले वर्षाका चार महिना (जेठ, असार, साउन, भदौ) आफ्नो रौद्र रूप देखाउँदै आएको छ । बाढीसँगै बगेर आउने बालुवाजन्य सामग्रीले नदी उच्च हँुदै जादा यहाँ बालुवाका टापु बनेका छन् । पहाडी क्षेत्रबाट आएको नदीको पानी बगेर जाने तर पानीसँगै बगेर आउने माटो, बालुवा यही थुप्रिने गर्दा समस्या छ तर सरकारले सफाइमा ध्यान दिएको छैन”, उहाँले भन्नुभयो ।

इनरुवाका वरिष्ठ पत्रकार शशि कोइराला बाढीमा आउने बालुवाजन्य सामग्री थुप्रेर नदी निर्बाध बग्न नपाएकै कारण समस्या सिर्जना भइरहेको सुनाउनुहुन्छ । कोसी ब्यारेजको ढोकाले पूर्वीपहाडी जिल्लाबाट ल्याउने बालुवा, रुख, माटो, गेग्य्रान निर्वाध रूपमा बग्ने अवस्था नरहेको र त्यसरी थुप्रेका सामग्रीको उचित व्यवस्थापनमा ध्यान दिनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोसी ब्यारेजका ढोका भारतले आवश्यकतानुसार मात्र खोल्ने गरेको छ ।

सप्तकोसी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्याक्ष लालबहादुर लिम्बुले कोसी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै सतह उच्च हुँदै गएपछि नदीले धार परिवर्तन गर्दै गएको बताउनुभयो । नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेवित्तिकै निकै समस्या हुने गरेको स्थानीय नेत्र घिमिरेले बताउनुभयो ।

कोसी योजना विराटनगरका सम्पर्क तथा सह भू–आर्जन अधिकृत प्रमोद पौडेल पनि सप्तकोसी नदीमा गेग्य्रान जम्मा हुँदा वर्षायाममा जोखिम बढेको बताउनुहुन्छ । समस्या बढ्दै गए पनि स्थानीयस्तरमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ । “विसं २०११ वैशाखमा नेपाल र भारत सरकारबीच भएको कोसी योजनासम्बन्धी सम्झौतामा नेपालको अधिकार परामर्श दिने र अनुगमन गर्ने मात्र रहेकाले यहाँको समस्या समाधानका लागि सरकारकै तहबाट पहल गर्नुपर्ने हुन्छ”, पौडेलले भन्नुभयो ।

सप्तकोसी नदीमा गत भदौ २४ गते राति छ लाख ५५ हजार ३७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव हुँदा कोसी ब्यारेजमाथि रोड भएर बगेको थियो । यसलाई भारतको गङ्गा नदीले भन्दा बढी बालुवा थुपार्ने नदीको रूपमा चिन्ने गरिन्छ ।

जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता, राहदानी बनाउनेको सङ्ख्या बढ्दो

जुम्ला, ८ कात्तिक : जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिनुभयो ।

यस्तै चालु आवको असोज मसान्तसम्म एक हजार आठ सयभन्दा बढीले नागरिकता लिइसकेको उहाँले बताउनुभयो । कम्युटर अपरेटर पुलामीले भन्नुभयो, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक हजार आठ सय ६३ जनालाई नागरिकताको प्रमाणपत्र दिएका छौँ । १६ जनाले नाबालक प्रमाणपत्र लिएकाछन् ।” यस्तै यस अवधिमा तीन सय ३१ जनाले राहदानी र एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी कार्यालयमा सो अवधिमा ५१ वटा गुनासो वा ठाडो उजुरी परेका छन् । गत आवमा दुई सय २५ वटा गुनासो वा ठाडो उजुरी परेका थिए ।

राहदानी बनाउनेको सङ्ख्या बढ्दो

जिल्लामा राहदानी बनाउनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आव २०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म कूल तीन हजार सात सय ५६ जनाले राहदानी लिएका छन् ।

राहदानी लिनेमध्ये धेरैजसो वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । बाँकी कर्मचारी, उच्चपदस्थ व्यक्तिहरूले वैदेशिक भ्रमणका लागि राहदानी लिने गरेको कार्यालयका राहदानी फाँटका खरिदार नरबहादुर बुढाले बताउनुभयो ।

प्रशासन शाखाका अनुसार चालू आव २०८१/८२ को असोज मसान्तसम्म मात्रै छ सय ३२ जनाले राहदानी लिइसकेका छन् । तीमध्ये एक सय ५७ महिला र चार सय ७५ पुरूष छन् । आव २०८०/८१ मा सात सय ८३ जनाले राहदानी बनाएका थिए । तीमध्ये एक सय ४२ जना महिला र छ सय ४१ जना पुरूष रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी

पर्वत, ८ कात्तिकः छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा जेभि स्मिक इन्टरनेशनल प्रालि अस्ट्रेलिया र जेड कन्सल्ट प्रालि नेपाल काठमाडौँले इआइएको काम गरिरहेको छ ।

पर्वतको विहादी गाउँपालिकामा निर्माण हुने परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका बारेमा बुधवार पर्वत सदरमुकाम कुश्माबजारमा भएको सार्वजनिक सुनुवाइमा आयोजनाको कुल लागत, यसले ओगट्ने क्षेत्रफल, प्रभावित क्षेत्रलगायतका बारेमा संक्षिप्त प्रतिवेदन सार्वजनिक गरिएको छ । जसमा आयोजनाका कारण चार जिल्लाका ३२ वडा प्रभावित हुने उल्लेख छ । पर्वत, बागलुङ, स्याङ्जा र गल्मीका सात पालिका यसका प्रभावित क्षेत्र हुन् ।

आयोजनामा चार वटा फ्रान्सिस टबाईन हुनेछन् भने दुईवटा टेलरेश निर्माण गरिने छन् । समुद्री सतहदेखि पाँच सय ७० मिटरको उचाइमा निर्माण हुने आयोजनामा डाइभर्सन टनेल दुईवटा, बाँधको उचाइ दुई सय ४४ मिटर र सात सय ६० मिटर चौडाइ हुने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणपछि पर्वतको विहादीदेखि जलजला गाउँपालिकाको खनियाँघाटसम्म करिब २९ किलोमिटर लामो जलाशय निर्माण हुने जनाइएको छ ।

प्रतिवेदन लेखनमा सङ्लग्न वातावरणविज्ञ खडक महताले यस आयोजनाबाट वार्षिक एक सय ६३ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको र जसबाट वार्षिक रु १५ अर्ब आम्दानी गर्न सकिने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आयोजना प्राविधिक, आर्थिक र वातावरणीय हिसावले सम्भव देखिएको छ । सुरुमा आठ सय ४४ मेगावाट निर्माण हुने सर्वेक्षण गरिए पनि पछिल्लो प्रतिवेदनले छ सय ४४ दशमलव ३९ मेगाबाट उत्पादन हुने देखाएको हो ।
महताले भन्नुभयो,“आयोजना निर्माणपछि प्रभावित क्षेत्रका चार सय ३६ घरपरिवार विस्थापित हुने छन् । यो आयोजनाको बाँध, पावरहाउस, टेलरेस, टनेल, डाइभर्सन, आउटलेटलगायतका संरचना निर्माणका लागि एक हजार आठ सय ९० हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये आठ सय तीन हेक्टर निजी र एक हजार ८२ हेक्टर वन क्षेत्र पर्नेछ भने अन्य राजमार्ग र महत्वपूर्ण सडक पर्नेछन् ।”

बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढेको यो आयोजना सुरु भएपछि यस क्षेत्रका दुई हजार पाँच सय स्थानीयले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ । स्थानीय श्रोतको उपयोग, विद्युतीकरण, रोयल्टी तथा शेयरको उपलब्धता, पर्यटन, मनोरञ्जन, विकास तथा भौतिक पूर्वाधार निर्माणजस्ता सकारात्मक प्रभाव र वायु, ध्वनी र पानी प्रदूषण, सामुदायिक स्वास्थ्य र सुरक्षाको जोखिम, हरितगृह ग्यास उत्सर्जनजस्ता केही नकारात्मक असर पर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

कालीगण्डकी धार्मिक एवम् पौराणिक हिसाबले समेत महत्वपूर्ण रहेकाले नदी किनारमा रहेका मोदीवेणी, जैमिनीलगायतका प्रसिद्ध धाम तथा विभिन्न घाटसमेत डुबानमा पर्नेछन् । प्रतिवेदनमा तिनको उचित स्थानान्तरण तथा व्यवस्थापन गरिने उल्लेख छ । त्यसैगरी १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजना, एक दशमलव पाँच मेगावाटको ठेउलेखोला र तल्लो ठेउलेखोला, बञ्जिजम्प, जिपलाइन, तथा पुष्पलाल मध्यहाडी र कालीगण्डकी करिडोरको केही भागमा समेत प्रभाव पर्ने जनाइएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागी यस क्षेत्रका नागरिकले कालीगण्डकीको सभ्यतालाई असर नपर्ने गरी र यहाँ रहेका पौराणिक र ऐतिहासिकस्थललाई प्रभावित नगर्ने गरी निर्माण गर्न सुझाव दिएका छन् । कुश्मा नगरपालिकाका ११, फलेवास नगरपालिकाका छ, विहादी गाउँपालिकाका २, जलजला गाउँपालिकाको एक, बागलुङको बागलुङ नगरपालिकाका छ, जैमिनि नगरपालिकाका चार र गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ र ६ का बासिन्दाबीच सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

विद्युत् विकास विभागका इन्जिनियर सुनिल पौडेलका अनुसार विसं २०७६ चैत ५ गतेदेखि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको थियो । प्रतिवेदनअनुसार उक्त लगानी नेपालले मात्र गर्न सक्ने अवस्था देखिएको छैन । जसका लागि नागरिक र वैदेशिक लगानीकर्ताको समेत सहभागिता जुटाउनुपर्ने उहाँको भनाइ छ । यहाँ उत्पादित विद्युत् २२० केभी क्षमताको कुश्मा–बुटवल प्रसारण लाइनमा जोडिने छ ।

नेपालकै अन्य जलाशययुक्त जलविद्युत्् आयोजनाभन्दा सस्तो र कम क्षति पु¥याउने उक्त आयोजना देशकै नमूना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिइएको फलेवास नगरपालिकाका पूर्वप्रमुख पदमपाणि शर्माले बताउनुभयो ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ८ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यक्तानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात

गलेश्वर (म्याग्दी), ८ कात्तिकः स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् ।

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भन्नुभयो, “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भीक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन् ।”

विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।

गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत वर्ष रु ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब रु २९ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

यसैगरी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार मुस्ताङमा स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ । स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकामा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन् । जसको कुल मूल्य रु ६६ करोड ८६ लाख ७२ हजार चार सय रहेको जनाइएको छ ।

स्थानीय जातका स्याउ प्रतिकेजी एक सय १० रुपैयाँ र हाईब्रिट स्याउ प्रतिकेजी रु दुई सयमा निकासी हुँदा मुस्ताङमा करिब रु ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेव रेग्मीले यसपटक करिब रु ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकामा अनुमान गरेभन्दा छ करोड बढी मूल्यको स्याउ विक्री भएको बताउनुभयो ।

उहाँका अनुसार मुस्ताङमा स्थानीय जातभन्दा आयातित उच्च घनत्व स्याउको उत्पादन राम्रो हुँदै गएको देखिएको छ । केही कृषकले लगाएको विदेशी जातको स्याउको बोटबाट छोटो समयमा धेरै परिमाणमा उत्पादन हुँदा व्यावसायिकरूपमा स्याउ उत्पादनको सम्भावना झनै बलियो बन्दै गइरहेको महानिर्देशक रेग्मीको भनाइ छ ।

मुस्ताङमा हाल ६० हेक्टर क्षेत्रफलमा मात्रै उच्च घनत्व जातका स्याउको खेती गरिएकोमा ५० हेक्टर क्षेत्रफलका बोटले उत्पादन दिन सुरु गरिसकेका छन् । उक्त क्षेत्रफलबाट एक हजार दुई सय ५० मेट्रिकटन स्याउ फलेको छ । जसको विक्री दर औसतमा दुई सय रुपैयाँ प्रतिकिलो रहेको छ । यसको कुल मूल्य रु २५ करोड रुपैयाँ रहेको छ ।

यहाँ उत्पादन भएकामध्ये १० प्रतिशत जिल्लामा नै खपत तथा भण्डारण हुने गरेको र बाँकी ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ, काठमाडौँलगायतका ठाउँमा भण्डारण र निर्यात हुने गरेको निर्देशनालयले जनाएको छ ।

मुस्ताङमा एक हजार चार सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको र पाँच सय ८५ हेक्टर जमिनमा लगाइएको स्याउका बोटमा मात्रै स्याउ फलेका कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । यहाँ ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाईब्रिड स्याउको खेती गरिएको छ ।

‘दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाइने’ – मन्त्री भण्डारी

कञ्चनपुर, ७ कात्तिक : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम सरकारी, निजी र दातृनिकायसँग सहकार्य गरी अगाडि बढाइने बताउनुभएको छ ।

आज महेन्द्रनगरमा दैजी–छेला औद्योगिक क्षेत्रका बारेमा आयोजित छलफलमा बोल्दै उहाँले औद्योगिक क्षेत्रका नीतिगत, प्रक्रियागत समस्या हल गर्न वनमन्त्रालय र उद्योग मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल भई समस्या समाधान गर्ने सहमति भएको जानकारी दिनुभयो ।

औद्योगिक क्षेत्रका काम अगाडि बढाउन स्थापना भएको कार्यालयमा अधिकृतस्तरको कर्मचारी खटाउने तयारी भएको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रका लगत सङ्कलन गरिएका रुख काट्ने काम अगाडि बढाइने उहाँको भनाइ छ ।

राजस्व चुहावट रोक्न र दायरा बढाउन मन्त्री भण्डारीले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । लागुऔषधको सीमापार क्षेत्रबाट हुने ओसारपसार रोक्न निगरानी बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

कार्यक्रममा सहभागी पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले दैजी–छेला औद्योगिक क्षेत्रका काम तत्काल सञ्चालन गर्न माग गर्नुभयो । “कुनै पनि बहानामा विलम्ब गरिनु हुँदैन”, उहाँले भन्नुभयो, “काम सुरुगरी उद्योग स्थापनाको वातावरण सिर्जना गर्नुपर्छ ।”

पाटन प्रिमियर लिग : निङ्गलाशैनी र पाटन स्टार विजयी

बैतडी, ७ कात्तिक : यहाँको पाटनमा जारी चौथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) मा आज पनि दुई खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा पाटन स्टारले सिगासलाई सात विकेटले हराएको हो भने दोस्रो खेलमा निङ्गलासैनीले सप्रालिलाई ६९ रनले पराजित गरेको हो । पाटन स्टारकाविरुद्ध सिगासले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको समाप्तीमा छ विकेट गुमाउँदै एक सय २८ रन बनाएको थियो ।

सिगासका विपिन बोहराले ३५, सिर्जनसिंह ऐरीले २३ तथा नवराज धामीले १७ रनको योगदान गरेका थिए । पाटन स्टारका आयुष ठगुन्नाले दुई विकेट लिए । एक सय २९ रनको विजय लक्ष्य पछ्याएको पाटन स्टारले १५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । पाटनका सुदर्शन भट्टले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विष्णु विष्टले ४१ रनको योगदान दिए । सिगासका अनिल ऐरीले तीन विकेट लिए । पाटनका सुदर्शन म्यान अफ दि म्याच चुनिए ।

आजै भएको दोस्रो खेलमा सप्रालिका विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९४ रन बनायो । निङ्गलाशैनीका विक्रम बोहराले ५७ रनको अर्धशतकीय इनिङ खेले । दीपक बोहराले ३६ रनको योगदान गरे । सप्रालिका प्रकाश भाटले दुई विकेट हात पारे । एक सय ९५ रनको विजयी लक्ष्य पछ्याएको सप्रालिले १६ दशमलव २ ओभरमा अलआउट हुँदै एक सय २५ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु भाटले ३६ रनको योगदान गरे । निङ्गलाशैनीका ऋषिकेश बोहराले तीन तथा बसन्त बोहराले दुई विकेट लिए ।

निङ्गलाशैनीका विक्रम बोहरा म्यान अफ द म्याच चुनिए । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागिता छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो । द्वितीय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरिजबापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपीआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ – वनमन्त्री ठकुरी

काठमाडौँ, ७ कात्तिक : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण हुने बताउनुभएको छ ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाद्वारा आज यहाँ आयोजित तालिमको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तन सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन प्रयास गर्ने उल्लेख गर्नुभयो ।

उक्त सम्मेलन नेपालजस्ता जलवायु परिवर्तनले गम्भीर असर पारिरहेको देशहरुका लागि अझ महत्वपूर्ण हुने उहाँको भनाइ छ । मन्त्री ठकुरीले यसपटकको कोप सम्मेलनमा छलफल हुने जलवायु वित्तको विषय नेपालका लागि विशेष रहने उल्लेख गर्नुभयो । वित्तीय सहयोगबिना विकासशील देशहरुलाई जलवायु सङ्कटसँग लडन सहज छैन ।

उक्त कार्यशालाका सहभागीले जलवायु परिवर्तनका कारण अन्न उब्जनीमा ह्रास, पानीका मुहान सुक्दै गएको, हिँउ कम पर्न थालेकोजस्ता विषय उठान गरेका थिए ।

कार्यक्रममा वनराज्यमन्त्री रुपा विकले जलवायु परिर्वतनको असर मुलुकले बढी सामना गरिरहेको बताउनुभयो । साथै उहाँले विकसित देशले वित्तिय र प्रविधि सहयोग गरेरमात्र विकासशील देशहरुको जलवायुमैत्री योजना कार्यान्वयन गर्नमा मद्दत पुग्ने बताउनुभयो । मन्त्रालयका सचिव विभिन्न सङ्घसस्थाका प्रतिनिधिलगायत सहभागी उक्त कार्यशाला तीन दिनसम्म सञ्चालन हुने महाशाखाले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट

पाटन (ललितपुर), ७ कात्तिक : बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ । यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा आज स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भइ प्रमाणपत्र प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भुवन पौडेलले जानकारी दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख पौडेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

“आव २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरणसमेतको मूल्याङ्कनका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेको हो”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले पुनःनिर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर, ७ कात्तिक : कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड जम्मा गर्ने भएको छ ।गत असोज ११, १२ र १३ गतेको अविरल वर्षाका कारण भएको क्षतिको पुनःनिर्माण र मर्मतसम्भार गर्न उक्त कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरुको १० दिनको तलब जम्मा गर्ने, सांसदहरुलाई सम्बन्धित दलमार्फत सहयोगको आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई सहयोगको आह्वान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोका कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर रु चार अर्ब बढीको क्षति भएको छ । क्षतिग्रस्त संरचनालाई दीर्घकालीन र तत्काल दुई वर्गमा वर्गीकरण गरी पुनःनिर्माण र मर्मतसम्भार गर्ने सरकारको तयारी छ ।

त्यस्तै प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययीतासम्बन्धी दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित

बेलायत । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस’ बाट सम्मानित भएका छन् ।

सोमबार साँझ बेलायतको राजधानी लण्डनस्थित ग्रोसभेनर हाउसमा आयोजित एक भव्य समारोहमा पूर्वगोर्खा सैनिक बुढामगरले अवार्ड थापेका हुन् ।

डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा हरिले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका छन् । अवार्ड हस्तान्तरण कार्यक्रममा अफगानिस्तान युद्धमासँगै लडेका सहकर्मीसँगै पुगेका थापामगर भाव विह्वल भएका थिए ।

अफगानिस्तानमा खुट्टा गुुमाउनेगरी भएको विष्फोटका क्रममा आफू पछाडि रहेका सहकर्मीसहित अवार्ड समारोहमा सहभागी हुँदा त्यो घटना सम्झिएर भक्कानिएको बताए ।

“बेलायतलाई १५ वर्ष सैन्य सेवा दिए, अनि मेरा दुई खुट्टा पनि गयो”, उनले भने, “आज बेलायतले यो प्राइड अफ ब्रिटेन अवार्ड दिएको छ, धेरै खुसी छु ।” उनले आफ्नो सम्मान विश्वका सम्पूर्ण अपाङ्गता भएकाहरुको सम्मान भएको बताए ।

सन् १९९९ देखि आयोजना गर्न थालिएको यो अवार्ड समारोहमा आफ्नो असाधारण क्षमताबाट अरूको जीवनमा वास्तविक भिन्नता ल्याउने पात्रहरूलाई सम्मान गर्ने गरिन्छ ।

मगरले बेलायती सेनामा कार्यरत रहेका बेला सन् २०१० मा अफगानिस्तामा विद्युतीय धरापमा दुुवै खुुट्टा गुमाएका हुन् । उनले गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै, दुवै घुँडामाथि खुट्टा नभएको पहिलो आरोहीको विश्व रेकर्ड राखेका छन् ।

प्राइड अफ ब्रिटेन अवार्डस् २०२४ कार्यक्रममा बेलायती प्रधानमन्त्री किर स्टर्मर पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु, ख्यातिप्राप्त कलाकार सहभागी थिए । सेनाका बहालवाला र पूर्वअधिकृतको उपस्थिति थियो ।

गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु

रसुवा, ७ कात्तिक : गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् ।

हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताउनुभयो ।

चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रूघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिनुभयो । हिउँद सुरु हुनेबित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदेबाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताउनुभयो ।

अमेरिकी चेतावनीपछि श्रीलङ्काद्वारा यहुदी सामुदायिक केन्द्रमा सेना परिचालन

श्रीलङ्काले बुधबार अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि लोकप्रिय सर्फिङ शहरमा रहेको यहुदी सामुदायिक केन्द्र वरिपरि सेना परिचालन गरेको छ र प्रहरी गस्ती बढाएको छ ।

पूर्वी अरुगम बेमा इजरायली स्वामित्वका व्यवसायहरूको बहिष्कारका लागि सामाजिक सञ्जालमा आह्वान गरिएपछि सुरक्षा र चेतावनी बढाइएको हो ।

“इजरायलीहरूले सञ्चालन गरेको ‘चाबाद हाउस’ नामक स्थान लक्षित हुन सक्ने जानकारी थियो र हामीले सुरक्षा बलियो बनाउने उपायहरू अपनाएका छौँ”, प्रहरी प्रवक्ता निहाल थल्दुवाले भन्नुभयो ।

उहाँले चाबाद हाउस भ्रमण गर्ने यहुदी पर्यटक र बेको मुस्लिम बहुल जनसङ्ख्याबीच हालैका दिनहरूमा तनाव रहेको बताउनुभयो ।

सेना र नौसेनाका साथै प्रहरी कमान्डोहरूलाई क्षेत्रमा गस्ती बढाउन र चेकपोइन्टहरू सम्हाल्न परिचालन गरिएको छ ।

गाजा र लेबनानमा इजरायलले इरान समर्थित हमास र हिजबुल्लाहविरुद्ध गरेको लडाइँको विरोधमा स्थानीय मुस्लिम समूहहरूले गरेका प्रदर्शनहरूले मुख्यतया बौद्ध धर्मावलम्बी रहेको यस दक्षिण एसियाली राष्ट्रको व्यापक समुदायको समर्थन पाएको छ ।

यस वर्षको पहिलो नौ महिनामा श्रीलङ्कामा भ्रमण गर्ने १५ लाख पर्यटकमध्ये इजरायलीहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतभन्दा कम अर्थात करिब २० हजार थियो ।

तर कोलम्बोबाट सडक मार्ग हुँदै चार सय किलोमिटर पूर्वमा अवस्थित सर्फिङको हटस्पट अरुगम बे इजरायली पर्यटकहरूको लोकप्रिय गन्तव्य हो ।

तत्काल खतराको दुर्लभ सूचनामा अमेरिकी दूतावासले बुधबार ‘पूर्वी अरुगम बेमा लोकप्रिय पर्यटकीय स्थलहरूलाई लक्षित गरी आक्रमण हुने चेतावनी दिने विश्वसनीय जानकारी प्राप्त गरेको’ बताएको छ ।

बेलायत र क्यानाडाले आफ्ना वेबसाइटहरूमा अमेरिकी चेतावनी साझा गरेका छन् भने रुसी दूतावासले आफ्ना नागरिकहरूलाई श्रीलङ्का भ्रमण गर्दा भीडभाड भएका ठाउँहरूबाट टाढा रहन सल्लाह दिएको छ ।

यसैबीच इजरायलको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) ले ‘पर्यटकीय र तटीय क्षेत्रहरूमा विश्वसनीय आतङ्कवादी खतराहरूका कारण श्रीलङ्काका लागि यात्रा चेतावनी स्तर बढाएको छ’ ।

इजरायलले अरुगम बे र अन्य समुद्री तटहरूमा रहेका आफ्ना नागरिकहरूलाई ‘देश छोड्न वा कम्तीमा स्थानीय सुरक्षा बलहरूको उच्च उपस्थिति भएको राजधानी कोलम्बोमा जान’ आग्रह गरेको छ ।

– नयाँ हटलाइन –

पैँतालिस विदेशी नागरिक सहित दुई सय ७९ जनाको ज्यान लिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटपछि श्रीलङ्कामा कुनै आक्रमण भएको छैन ।

तीन वटा विलासी होटल र तीन वटा चर्चविरुद्ध भएको समन्वित आक्रमण इस्लामिक स्टेट समूहप्रति वफादारी जनाएको एक स्थानीय जिहादी समूहको काम भएको आरोप लगाइएको थियो ।

त्यसपछि पर्यटक सङ्ख्यामा तीव्र गिरावट आएको थियो र सन् २०२२ को आर्थिक मन्दीले व्यापक नागरिक अशान्ति निम्त्याएपछि अझै प्रभावित भएको थियो ।

तर गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेजले अर्थतन्त्र स्थिर पार्न मद्दत गरेपछि विदेशी पर्यटकहरूको सङ्ख्या बढेको छ ।

अमेरिकी दूतावासको चेतावनीपछि प्रहरीले मुलुकभर पर्यटकहरूको सुरक्षाका लागि नयाँ सुरक्षा योजना सार्वजनिक गर्ने बताएको छ ।

“मध्यपूर्व र पूर्वी युरोपको युद्ध परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी गुप्तचर निकायहरूसँग मिलेर पर्यटक र रिसोर्टहरूको सुरक्षाका लागि एउटा योजनामा काम गरिरहेको छ”, श्रीलङ्का प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिले विस्तृत विवरण दिएको छैन तर पर्यटकहरूले कुनै पनि सुरक्षासम्बन्धी चिन्ताहरूका बारेमा अधिकारीहरूलाई सचेत गराउन एउटा हटलाइन स्थापना गरिएको जनाएको छ ।

ब्रिक्स नेताहरूले पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न भन्नुपर्छ : इयु

युरोपेली सङ्घ (इयु) ले बुधबार रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी नेताहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘तुरुन्त युद्ध अन्त्य गर्न’ भन्न आग्रह गरेको छ ।

पुटिनले चीन, भारत, टर्की र इरान लगायतका देशका २० जना विश्व नेता र संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसलाई रुसमा स्वागत गरिरहनुभएको छ ।

मध्य शहर कजानमा भएको यो बैठक पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक भेला हो र यसले मस्कोले पश्चिमी एक्ल्याउने प्रयासहरूलाई पार गरेको देखाउने लक्ष्य राखेको छ ।

“कजान शिखर सम्मेलनका सबै सहभागीहरूले यो अवसरको उपयोग पुटिनलाई फेरि एकपटक युक्रेनी जनताविरुद्धको युद्ध तुरुन्त अन्त्य गर्न आह्वान गर्न गर्नेछन् भन्ने हामी विश्वास गर्छौँ”, इयुका प्रवक्ता पिटर स्टानोले भन्नुभयो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारेन्टको सामना गरिरहनुभएका पुटिनले शिखर सम्मेलनमा ‘बहुध्रुवीय विश्व व्यवस्था’ बन्दै गरेको बताउनुभयो ।

पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थता गर्न ब्रिक्स नेताहरूको प्रस्तावलाई स्वागत गर्नुभएको र उनीहरूलाई मस्कोका सेनाहरू युद्धक्षेत्रमा अघि बढिरहेको जानकारी दिनुभएको उहाँका प्रवक्ताले बताउनुभयो ।

इयुका प्रवक्ता स्टानोले पत्रकार सम्मेलनमा भने कि सबै नेताहरू ‘जहाँ चाहन्छन् त्यहाँ यात्रा गर्न स्वतन्त्र छन्’ भन्नुभयो ।

यद्यपि उहाँले इयुमा प्रवेशको प्रयास रोकिएको भए पनि उम्मेदवारका रूपमा रहेको टर्कीलाई इयुको अवस्था ‘रुसलाई अन्तर्राष्ट्रिय रूपमा सकेसम्म अलगथलग’ रहेको स्मरण गराउनुभयो ।

बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनल प्रवेश

बेलबारी (मोरङ), ७ कात्तिक : भारतको पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहलेस फुटबल क्लबले कात्तिक ९ गते हुने चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सहलेश फुटबल क्लबका अजयी मार्टिनले खेल सुरु भएको चौथो मिनेटमै गोल गरे । समीर तामाङले दिएको पासलाई मार्टिनले गोलमा बदले । लगतै ८ औँ मिनेटमा मार्टिनको पासमा समीर तामाङले गोल गरे । अण्डर ट्वान्टीको राष्ट्रिय टिमका खेलाडी समीर तामाङले २६औँ मिनेटमा सहलेसको जितका लागि वान भर्सेस वानमा उत्कृष्ट गोल गर्न सफल भए ।

दलसिंहपारा फुटबल एकेडेमीले मध्यान्तर अघिको अतिरिक्त समयमा १ गोल फर्कायो । दलसिंहपाराका लागि रोहन थापाले गोल गरे । मध्यान्तर अघि ३–१ गोलको अग्रता बनाएको सलहेसविरुद्ध भारतीय टिमले ४६औँ मिनेटमा सुन्दर गोल गर्दै गोल अन्तर घटाएको थियो । दलसिंहपाराका लागि दोस्रो गोल रोहन थापाले गर्नुभयो । दुई गोल गरेर खेलमा फर्किएको भारतीय टिमले मध्यान्तरपछि थप गोल गर्न नसक्दा हार बेहार्नुपरेको थियो ।

आजको खेलमा सलहेस फुटबल क्लबका समीर तामाङ म्यान अफ द म्याच घोषित भए । तामाङलाई प्रदेश खेलकुद विकास समिति कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरे । बिहीबार पहिलो सेमिफाइनलमा झापा ११ ले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।

पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ

म्याग्दी, ७ कात्तिक : विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाईमा रहेको थोराङमा सरसफाइ गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवत्ता प्रमेश गुरुङले मुक्तिनाथदेखि थोराङ फेदीदेखि थोराङ पाससम्म पदयात्रीहरूले फालेका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

“पदयात्रीहरूको आकर्षण बढेको थोराङको आश्रयस्थलहरूमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको हो”, उहाँले भन्नुभयो, “कुहिने फोहरलाई खाडल खनेर गाडेका छौँ । पलास्टिक जन्य फोहरलाई जलाएर नष्ट गरेका छौँ । सिसा र धातुजन्य नकुहिने फोहर बोकेर मुक्तिनाथ ल्याएर व्यवस्थापन गरिएको छ ।” करिब २५ देखि ३० बोरा फोहर व्यवस्थापन गरिएको प्रवक्ता गुरुङले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीलगायत ४५ जना जनप्रतिनिधि, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले सरसफाइका लागि मङ्गलबार थोराङ पुगेर आज फर्किएको हो ।

सरसफाइ टोलीले पदयात्री र पथप्रर्दशकसँग फोहरको सुरक्षित व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम गरेको थियो । अन्नपूर्ण संरक्षण आयोजनाले थोराङमा बनाएको फोहर राख्ने घर भरिएको छ ।

गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङलाई साहासिक गन्तव्य मानिन्छ । मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउनु थोराङपासको विशेषता हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए । चालु आवको साउनदेखि असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई हजारभन्दा बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।