`

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताउनुभएको छ ।

दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको जानकारी दिएलगत्तै उहाँले सो कुरा बताउनुभएको हो ।

रोम भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अस्टिनले वासिङ्टन पोस्टले पोस्ट गरेको भिडियोअनुसार भन्नुभयो, “उनीहरूले ठ्याक्कै के गरिरहेका छन् ? त्यो हेर्न बाँकी छ । यी कुराहरू हामीले पत्ता लगाउनु पर्ने विषय हुन् ।”

“यदि ती सैनिकहरूले रुसको पक्षमा युक्रेन युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा’ हुनेछ”, यसले युरोप र इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने उल्लेख गर्दै उहाँले भन्नुभयो ।

दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताउनुभएको थियो ।

अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिक रूपमा पुष्टि गरेका थिएनन् तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् ।

दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक चो ताए–योङले बुधबार सांसदहरूलाई अर्को एक हजार पाँच सय उत्तर कोरियाली सैनिक रुस प्रवेश गरेको जानकारी दिनुभएको ब्रिफिङमा सहभागी सांसद पार्क सनवानले बताउनुभयो ।

चोले सांसदहरूलाई उहाँको एजेन्सीले उत्तर कोरियाले डिसेम्बरसम्ममा रुसमा कूल १० हजार सैनिक तैनाथ गर्ने लक्ष्य राखेको मूल्याङ्कन गरेको जानकारी दिनुभएको पार्कले पत्रकारहरूलाई बताउनुभयो ।

पार्कले चोलाई उद्धृत गर्दै भन्नुभयो, “रुस पठाइएका तीन हजार उत्तर कोरियाली सैनिकलाई विभिन्न सैन्य आधारमा विभाजन गरिएको छ र तालिममा छन् ।” उहाँका अनुसार चोले सांसदहरूलाई ती सैनिकलाई अझै युद्धमा तैनाथ नगरिएको एनआइएसको विश्वास रहेको बताउनुभयो ।

एनआइएस ब्रिफिङबारे पार्कसँगै बोल्दै सांसद ली सियोङ क्वेउनले एनआइएसले रुसी सेनाले अहिले ती उत्तर कोरियाली सैनिकहरूलाई ड्रोन जस्ता सैन्य उपकरण प्रयोग गर्न सिकाइरहेको पत्ता लगाएको बताउनुभयो ।

लीले एनआइएस प्रमुखलाई उद्धृत गर्दै भन्नुभयो, “रुसी प्रशिक्षकहरूले उत्तर कोरियाली सैनिकहरूको मनोबल र शारीरिक क्षमताबारे उच्च धारणा राखेका छन् तर आधुनिक युद्धको बुझाइको कमीले गर्दा उनीहरूले अन्ततः भारी क्षति बेहोर्नेछन् भन्ने सोच्छन् ।” रुसले ठूलो सङख्यामा दोभाषेहरू भर्ती गरिरहेको चोलाई उद्धृत गर्दै लीले भन्नुभयो ।

एनआइएस प्रमुखले सांसदहरूलाई उत्तर कोरियाले आफ्ना जनतालाई सैनिक प्रेषणबारे खुलासा नगरेको बताउनुभयो ।

युक्रेनी सैन्य गुप्तचर निर्देशनालयका प्रमुख किरिलो बुदानोभले युक्रेनी घुसपैठको सामना गरिरहेका रुसी सैनिकहरूलाई सहयोग गर्न उत्तर कोरियाली सैनिकहरू आज रुसको कुर्स्क क्षेत्रमा आइपुग्ने अनलाइन सैन्य समाचार आउटलेट द वार जोनलाई जानकारी दिनुभयो ।

पश्चिमसँग छुट्टाछुट्टै द्वन्द्वमा फसेका उत्तर कोरिया र रुसले विगत दुई वर्षमा आफ्नो सहकार्य तीव्र रूपमा बढाउँदै आएका छन् । जुनमा उनीहरूले एक प्रमुख रक्षा सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार कुनै एक देशमाथि आक्रमण भएमा तत्काल सैन्य सहायता प्रदान गर्न सबै उपलब्ध माध्यमहरू प्रयोग गर्न दुवै देशलाई आवश्यक बनाउँछ ।

उत्तर कोरियाले सन् २०२३ अगस्टदेखि रुसको घट्दो हतियार भण्डार पुनःपूर्ति गर्न १३ हजारभन्दा बढी कन्टेनर तोपखाना, क्षेप्यास्त्र र अन्य परम्परागत हतियारहरू रुसमा पठाएको एनआइएसले गत हप्ता बताएको थियो ।

उत्तरले रुसमा सैनिक पठाइरहेको रिपोर्टले दक्षिण कोरियामा सुरक्षा चिन्ता बढाएको छ । रुसले उत्तर कोरियालाई परिष्कृत हतियार प्रविधिहरू दिएर पुरस्कृत गरेर दक्षिण कोरियालाई लक्षित गर्ने उत्तरको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूलाई बढावा दिन सक्ने दक्षिण कोरियालीहरूले चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण कोरियाले मङ्गलबार उत्तरको कथित सैनिक प्रेषणको जवाफमा युक्रेनलाई हतियार आपूर्ति गर्ने विचार गर्ने बताएको छ । दक्षिण कोरियाले युक्रेनलाई मानवीय र वित्तीय सहयोग पठाएको छ तर सक्रिय रूपमा द्वन्द्वमा संलग्न देशहरूलाई हतियार नदिने आफ्नो नीति अनुरूप अहिलेसम्म युक्रेनलाई सिधै हतियार आपूर्ति गरेको छैन ।

उत्तर कोरियासँग १२ लाख सैनिक छन् । यो विश्वकै सबैभन्दा ठूला स्थायी सेनाहरूमध्ये एक हो । यद्यपि १९५०–५३ को कोरियाली युद्धपछि यसले ठूलो स्तरको द्वन्द्व लडेको छैन ।

धेरै विशेषज्ञहरूले युद्ध अनुभवको कमीलाई औंल्याउँदै उत्तर कोरियाली सैनिकहरूले रुसलाई कति मद्दत गर्नेछन् भन्ने प्रश्न गरेका छन् । उनीहरूका अनुसार उत्तर कोरिया रुसी आर्थिक सहयोग र आफ्ना पुराना परम्परागत हतियार प्रणालीहरूको आधुनिकीकरणमा मद्दतका साथै उच्च प्रविधियुक्त हतियार प्रविधि हस्तान्तरण चाहन्छ ।

फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

काठमाडौँ, ७ कात्तिक : काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ ।

गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । हाल ३५ व्यावसायिक भवन (मल) को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो । त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको कामपाले जनाएको छ । “आगामी कात्तिक १४, १५, १६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने छन्”, प्रमुख पाण्डेले भन्नुभयो ।

फूल बिक्री स्थलमा नगर प्रहरीले समन्वय गर्ने कामपाले जनाएको छ । यस वर्षको तिहारका लागि बजारमा ४० लाख सयपत्री फूलको मालाको माग रहेको पुष्प व्यवसायीको भनाइ छ । फ्लोरिकल्चर एसोसिएसनकाअनुसार यस वर्ष स्वदेशी उत्पादन २५ लाख माला मात्र छ । बाँकी माला भारतबाट आयात गर्न लागिएको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन् ।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजार बढी व्यक्तिले लाभ लिएका छन् । मुलुकभित्र दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

विपी राजमार्ग पूर्णरूपमा यातायात सञ्चालन अनुमति

काभ्रेपलाञ्चोक, ७ कात्तिक : सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा (दश घण्टा) यातायात सञ्चालनमा रोक लगाएको थियो ।

असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बिपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबँेसी–बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो । कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल–चौकीडाँडा–बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत–सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको हो ।

बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी–चौकीडाँडा–बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर सो रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् ।

राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।

सरकारको प्राथमिकता : थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने

काठमाडौँ, ७ कात्तिक : थालेका काम समयमा पूरा नहुने र नयाँनयाँ आयोजना थपिने क्रमलाई अन्त्य गर्न सरकारले विशेष ध्यान दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिने कार्यअवधिमा भएका प्रगति सार्वजनिक गर्ने क्रममा आज आफूले जनताको विश्वास र भरोसाका आधारमा जनताका नाममा खाएको शपथलाई जनताकै लागि समर्पित गर्ने अठोट पनि अभिव्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले गत साउन ६ प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा सरकारका पाँचवटा प्राथमिकता प्रस्तुत गर्दा ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको सुनाउनुभएको थियो । आज सिंहदरबारबाट सम्बोधन गर्दै सय दिनेको उपलब्धि सार्वजनिक गर्दा उहाँले आफ्ना ती भनाइलाई पुनःस्मरण गराउँदै संसद्मा गरिएको प्रतिबद्धताबाट अविचतिल रहने स्पष्ट गर्नुभयो ।

सरकारको पहिलो सय दिनभित्र गर्ने कामको सङ्ख्या दुई सय ७४ वटा पुगेका छन् । तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्ने थियो भन्ने प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश रहेको छ ।

गत असोज १० देखि १३ गते अकल्पनीय बाढीपहिरोको चपेटामा मुलुक पर्न गयो । यसै अवधिमा देशभर सात हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटना भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्‍यो । कृषिबाली, पशुचौपाया एवं सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युत्लगायत भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो ।

विपत्तिबाट प्रभावित नागरिकको परिवारलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर सरकारले काम अघि बढायो । पीडित परिवारको राहत, घाइतेको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनमा सरकारलाई केन्द्रित गर्‍यो । बाढीपहिरोका कारण मृत्यु भएका तीन सय ९१ जनाको परिवारले रु दुई लाखका दरले राहत पाए । बाढीपहिरोबाट प्रभावित दुई हजार पाँच सय ५५ परिवारलाई रु चार करोड ५० लाख तत्काल राहत प्रदान गरिएको छ । सङ्कटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा रु ४३ करोड विनियोजन गरिएको छ ।

सरकारले बाढीपहिरोले क्षति पुर्‍याएका भौतिक संरचनाको निर्माणका कार्ययोजनासहित काम गरिरहेको छ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चारलगायतका अत्यावश्यक सेवा १५ दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेको छ ।

“ठाउँ–ठाउँमा बाटाहरू भत्किएका थिए, सडकहरू पहिरोले पुरिएका थिए, र पुलहरू बाढीले बगाएका थिए । राजधानी आउने/जाने सबै बाटा बन्द थिए । प्राकृतिक प्रकोपका कारण चारैतिर एक किसिमको अत्यासलाग्दो अवस्था सिर्जना भएको थियो, जसले जनतामा त्रास छाएको थियो । पहिले त मानिसहरू डराएका थिए–सडक नबन्दा वा जोखिमका कारण कतै घर फर्कन नपाउने हो कि भन्ने डर थियो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर, सरकारले ती चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यो । परिणामस्वरूप, राजधानी आउने बाटाहरू चालु अवस्थामा पु¥याए, अब बन्दै बन्दैन भनिएको राजमार्ग हुँदै सवारी साधन चल्न सुरु गरे । यस वर्षको दशैँमा पनि काठमाडौँ छोडेर घर फर्कनेको सङ्ख्या अघिल्लो वर्षजस्तै करिब आठ लाख १४ हजार दुई सय ४६ पुग्यो । दशैँमा एक लाख ११ हजार एक सय ५४ सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिए ।”

प्रधानमन्त्री ओलीले एक वर्षअघि जाजरकोट, पश्चिम रुकुम, बझाङ, बाजुरा र डोटीमा भूकम्पले अस्थायी बासको लागि दिइने २५ हजार राहतमै पुनःनिर्माण कार्य अल्झिएकामा नयाँ सरकारले कामलाई गति दिएको छ ।

विपद्का समस्यालाई समेत सम्बोधन गर्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट क्षतिको विस्तृत आकलन पूरा गर्दै, ती ठाउँमा स्थायी निजी आवास पुनःनिर्माणको काम अघि बढाउन सरकारले आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

अब, एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घरहरू र यस वर्षको बाढी र पहिरोले पीडित नागरिकको आवास पुनःनिर्माण सँगसँगै अघि बढ्ने प्रधानमन्त्री ओलीको उद्घोष थियो ।

उपप्रधानमन्त्री, मन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिवसहित उच्चपदस्थ अधिकारी सहभागी सम्बोधन कार्यक्रममा प्रधानमन्त्री ओलीले लामो समयदेखि ३५ जिल्लाका ३० लाखभन्दा बढी किसानहरू दूधको भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको अवगत गराउनुभयो ।

त्यसैगरी, करिब ७५ हजार उखु किसानहरूले आफ्नो अनुदानबापतको भुक्तानी पाइसकेका छन् । कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहतको श्वास फेरेका छन् । बितेका एक सय दिनमा, तिनीहरूको बीमाबापतको भुक्तानी गर्न रु ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको छ । हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको छ ।

निर्माण सम्पन्न गरेर भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूलाई सङ्घीय मन्त्रालयहरूबाट रु छ अर्ब ७५ करोड यस अवधिमा भुक्तानी दिइसकिएको छ । सुरुआती दिनदेखि नै सरकारले उद्यमशीलताको प्रवद्र्धन गरिरहेको छ । “काम गर्ने युवालाई देशमा केही अवसर छैन, विदेश नै भासिनुपर्छ भन्ने समाजमा जबर्जस्त भाष्य छ । उद्योग मन्त्रालयले एक सय ६५ जना युवालाई खुला आवेदनको माध्यमबाट बिना धितो रु २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेका थियो । ती युवाले आफ्नो व्यवसाय सञ्चालन गरेर कर्जाको सावा/ब्याजको किस्ता भुक्तानीसमेत सुरु गरेका छन् ।” प्रधनमन्त्रीको सम्बोधनमा भनिएको छ ।
यस वर्ष पाँच हजार एक सय ५८ जना उद्यमीले स्टार्टअप कर्जाका लागि प्रस्ताव पेस गरेका छन् । प्राप्त प्रस्तावमध्येबाट स्टार्टअप उद्यमी छनोट गरी पुस मसान्तभित्र कर्जा प्रवाह गर्ने तयारी गरिएको छ ।

“कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीउपर कानुनी कारबाही अघि बढाउँछौँ । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौँ ।” भनी संसद्मा गरिएको प्रतिबद्धताबमोजिम काम सुरु भएको पनि प्रधानमन्त्री ओलीले देशवासीलाई अवगत गराउनुभयो ।

सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट र नागरिक सेवलाई मध्यनजर गरी सरकारले थालनी गरेका मुख्य कामहरू :

– अब सवारी चालकले ट्रायल पास गर्नासाथ नागरिक एपमा नै लाइसेन्स पाउने छन् ।

– सवारी नियम उल्लंघनको जरिवाना तिर्दा अब जहाँ नियम उल्लङ्घन भएको हो, सोही स्थानमा जरिवाना भुक्तानी गर्न सकिने सजिलो व्यवस्था सरकारले गरेको छ ।

– कुनै पनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने, कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सबै सेवा लिन सक्ने व्यवस्था गर्दैछौँ । यसले सेवा प्रवाहमा हुँदै आएको झन्झट अन्त्य हुने र सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।

– सरकारी कार्यालयमा कामका फाइलहरु अड्काउने, कामको समयावधी लम्याउने र यसबाट सेवाग्राहीले दुःख पाउने स्थितीबाट मुक्त गर्न क्युआर कोडमार्फत फाइल ‘मुभमेन्ट ट्र्याकिङ’ गर्ने प्रणाली परीक्षणका रुपमा सुरुवात गरेका छौँ । अब तपाईले सरकारी अफिसमा हुने तपाइँको आफ्नो कामको जानकारी मोबाइलबाटै पाउनुहुनेछ ।

– लगानीकर्ताको भौतिक उपस्थितबिना कूल पुँजी रु ५० करोडसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्नसक्ने गरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको छ ।

– नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम लागू भएका ५८ नापी कार्यालयमा अनलाइनमार्फत सेवा ‘ट्रयाकिङ’ प्रणाली लागू भएको छ ।

– नेपालभरका २६७ वटा मालपोत कार्यालयमा ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त नागरिकले लाइनमा नबसी सेवा प्राप्त गर्ने गरी व्यवस्था गरिएको छ ।

– वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम रु सात लाखबाट रु १० लाख पु¥याइएको छ । बिरामी उपचार खर्च पाएर मृत्यु भएकाले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरूका परिवारलाई पनि रु १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ । विदेशमा रोजगारी अनुमतिपत्र नभएका र यस वर्षको सेप्टेम्बरभित्र विदेशमा रहेकाले नेपाली नियोगमा आवदेन दिएमा उनीहरूलाई ‘वर्क परमिट’ उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

‘सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुने’ – मुख्यमन्त्री आर्चाय

नेपालगञ्ज (बाँके), ७ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुँदै जाने बताउनुभएको छ । प्रदेश सरकारद्वारा आज यहाँ ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’ मस्यौदाका सम्बन्धमा आयोजित छलफलमा उहाँले सुशासन कायम नहुँदा भ्रष्टाचार बढ्दै गएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आर्चायले भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीति योजना ल्याइएको बताउँदै यसलाई मन्त्रिपरिषद्बाट पास गरी कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन अभिवृद्धि गर्ने, जनता केन्द्रित विकास, निर्माणमा सक्रिय रुपमा लागेको उल्लेख गर्नुभयो ।

नेतृत्व तहमा बसेकाहरुको कमजोरीका कारण जनता निराश भएको उल्लेख गर्दै मुख्यमन्त्री आर्चायले सबै तहमा भ्रष्टाचार न्यस्नीकरण गर्दै सुशासन कायम गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले आचारसंहिता निर्माण गरेर लागू गर्न खोजेको बताउँदै विवाह, भोज वा पर्वमा सरकारी गाडीको दुरुपयोग नगर्न आग्रहसमेत गर्नुभयो ।

“सरकारले केही नयाँ ढङ्गले काम गर्न खोजिरहेको छ”, मुख्यमन्त्री आर्चायले भन्नुभयो, “सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनामा सार्वजनिक निकायको प्रदेमा आवश्यक्ता, नगारिकको अपेक्षा, आर्थिक स्रोतको उपलब्धता, दिगोपनालगायत आधारमा काम गर्ने विषयलाई प्राथमिकता दिएको छ ”

मस्यौदामा नैतिकता तथा सदचारिता प्रवर्द्धन, व्यावसायिक अभिवृद्धी, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक पदाधिकारीको नेतृत्व क्षमता विकास, वित्तीय अनुशासन, आयोजना कार्यान्वनयन, कानुन तर्जुमा तथा कार्यान्वयन, पारदर्शीता, सामाजिक जवाफदेहीता तथा उत्तरदायित्वलगायत विषयलाई उल्लेख गरिएको छ । 

प्रदेशका सचिव कृष्ण पौडेलले प्रस्तुत गर्नुभएको मस्यौदामाथिको छलफलमा सहभागी हुँदै राजनीतिक दल, सामाजिक अभियन्ताले मस्यौदालाई प्रभावकारी कार्यान्वन गर्न आग्रह गर्नुभएको थियो ।

बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

काठमाडौँ, ७ कात्तिकः नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान गरेको छ । सङ्गठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापत्को चेक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज हस्तान्तरण गर्नुभएको हो ।

नेपाल बुद्धिजीवी सङ्गठनका तर्फबाट सङ्कलित रकम बुझ्दै उहाँले राष्ट्र र राष्ट्रियताको संवद्र्धनमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पाँच विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको जनाउँदै सो ज्ञापनपत्रमार्फत राष्ट्र र राष्ट्रियताको संवद्र्धनबारे जानकारी गराइएको बताउनुभयो ।

गाजा र लेबनानमा ‘युद्ध अन्त्य’ गर्न पेजेश्कियानको ब्रिक्स सदस्यहरूलाई आग्रह

इरानका राष्ट्रपति मसुद पेजेश्किअनले बुधबार ब्रिक्स समूहका सदस्यहरूलाई गाजा र लेबनानमा ‘युद्ध अन्त्य’ गर्न मद्दत गर्न आग्रह गर्नुभएको छ ।

“म प्रभावशाली ब्रिक्स समूहका सबै सदस्यलाई गाजा र लेबनानमा युद्ध अन्त्य गर्न आफ्ना सामूहिक र व्यक्तिगत क्षमताहरू प्रयोग गर्न आह्वान गर्दछु”, रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सम्बोधन गर्दै उहाँले भन्नुभयो ।

आफ्नो भाषणमा उहाँले इजरायलविरुद्ध गाजा र लेबनानमा भइरहेका सङ्घर्षहरूलाई ‘सबैभन्दा क्रूर र पीडादायी’ भनेर वर्णन गर्नुभयो ।

इरान यस वर्ष औपचारिक रूपमा ब्रिक्स समूहमा सामेल भएको छ । ब्रिक्सको नाम २००९ मा सामेल भएका पाँच सदस्यहरू – ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको प्रारम्भिक अक्षरहरूबाट लिइएको हो ।

पेजेश्कियाननको टिप्पणी लेबनान र गाजामा युद्धविराम र सङ्घर्षहरूलाई नियन्त्रण गर्ने तरिकाहरूका लागि इरानले कूटनीतिक प्रयासहरू तीव्र पारेको बेला आएको हो ।

इरान आफैँ अक्टोबर १ मा इजरायलमाथि करिब दुई सय वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलको प्रतिशोधात्मक आक्रमणको प्रतीक्षामा छ ।

उक्त आक्रमण विभिन्न इरान समर्थित लडाकू नेताहरू र एक रिभोल्युसनरी गार्ड्स कमान्डरको हत्याको प्रतिशोधमा थियो ।

चक्रवात दानाको सामनाको लागि पुर्व तयारीमा भारत

ओडिशा र पश्चिम बङ्गालको तटमा चक्रवात दानाको सम्भावित अवतरण अघि तयारीको लागि भारतीय वायु सेना (आईएएफ) का दुई विमानहरूले बुधबार राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारी तथा राहत सामग्री भुवनेश्वरमा लगेका छन् ।

एनडीआरएफका अधिकारकर्मी तथा राहत सामग्री बोकेका जहाज आईएल–७६ र एएन–३२ भटिङ्डाबाट बुधबार भुवनेश्वर आइपुगेका हुन ।

भारतीय मौसम विज्ञान विभागका अनुसार, ’चक्रवात दाना’ ले भितरकनिका र ओडिसाको तटमा भद्रक वा बालासोरको बिचमा अवतरण गर्ने अनुमान गरिएको छ ।

ओडिसा सरकारले बालासोर, भद्रक, केन्द्रपाडा, मयूरभन्ज, जगतसिंहपुर र पुरी जिल्लाहरूमा अधिकतम प्रभाव पर्ने अनुमान गरेको छ ।

चक्रपात बङ्गालको पूर्वी मध्य खाडीमा दबाव छोडी पश्चिम–उत्तरपश्चिमतर्फ १८ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढ्ने जनाएको छ ।

चक्रपत अक्टोबर–२४ को बिहानसम्म उत्तर–पश्चिम बङ्गालको खाडीमा गम्भीर चक्रवाती आँधीमा परिणत हुने र अक्टोबर –२४ को राति तथा अक्टोबर–२५ को बिहानमा पुरी र सागर टापुको बिचमा ओडिशा र पश्चिम बङ्गालको तट पार गर्ने सम्भावना रहेको जनाइएको छ ।

अक्टोबर–२२ मा, ओडिसाका शिक्षा मन्त्री नित्यानन्द गोन्डले विद्यार्थीको सुरक्षालाई ध्यान दिदै अक्टोबर २३–२५ सम्म प्रभावित हुन सक्ने क्षेत्रमा विद्यालय तथा कलेजहरु बन्द रहने घोषणा गर्नु भएको थियो ।

चक्रवात दानाले निम्त्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै आइएमडीको पूर्वानुमानले अनुसार अक्टोबर २३–२६ सम्म ओडिसा र गाङ्गेय पश्चिम बङ्गालमा भारी वर्षा हुने जनएको छ ।

पश्चिम बङ्गाालको ओडिसामा एनडीआरएफ टोलीहरू चक्रवातको सामना गर्न तयार छन् भने जहाज सहित सेना, नौसेना र तट रक्षकको अतिरिक्त उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको छ ।

बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ

उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियानको अन्तिम चरण स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार बताएको छ ।

घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको मध्य र दक्षिणी भागहरूमा पहिले नै सम्पन्न भइसकेको खोप अभियानअन्तर्गत दोस्रो चरणको खोप बुधबार गाजा पट्टीको उत्तरमा सुरु हुने अपेक्षा गरिएको थियो ।

तर डब्ल्यूएचओले उत्तरी गाजामा १ लाख १९ हजार २७९ बालबालिकालाई खोप लगाउने अभियान स्थगित गर्न बाध्य भएको बताएको छ ।

इजरायलले यस महिना हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्ने वाचा गर्दै उत्तरी गाजामा भयानक हवाई र भूमि आक्रमण सुरु गरेको हो ।

“बढ्दो हिंसा, तीव्र बमबारी, सामूहिक विस्थापन आदेश, र उत्तरी गाजाको अधिकांश भागमा सुनिश्चित मानवीय विरामको अभावका कारण यो खोप अभियान स्थगित गरिएको थियो”, डब्लुएचओले भन्यो ।

“नागरिक पूर्वाधारमा चलिरहेको आक्रमणले उत्तरी गाजामा जनताको सुरक्षा र आवागमनलाई खतरामा पार्दै आएको छ, जसले परिवारहरूलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन साथै स्वास्थ्य कार्यकर्ताहरू सञ्चालन गर्न असम्भव बनाएको छ”, यसले बताएको छ ।

गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो घटना पुष्टि गरेपछि खोप अभियान सुरु भएको हो ।

युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड

चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गरे । सम्मेलनमा रुसी समकक्षी भ्लादिमिर पुटिन पनि उपस्थित हुनुहुन्थ्यो ।

करिब विश्वका २० नेता मध्य शहर कजानमा भेला भएका छन् । ब्रिक्स सम्मेलन पुटिनले २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

बेइजिङले द्वन्द्वमा तटस्थ पक्ष भएको दाबी गर्दै आएको भए पनि तर पश्चिमी शक्तिहरूले मस्कोलाई कूटनीतिक र आर्थिक समर्थन प्रदान गरेको भन्दै कडा आलोचना गरेका छन् । मस्को चीनको लामो समयदेखिको सहयोगी रहीआएको छ ।

“युक्रेन सङ्कट लम्बिँदै गएको छ… स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले तीन सिद्धान्तहरूको पालना गर्नुपर्छ – ‘युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने’”, सीले बुधबार भन्नुभयो ।

यसैबीच, चीन परम्परागत रूपमा प्यालेस्टिनी पक्षप्रति सहानुभूतिशील रहेको भन्दै राष्ट्रपति सीले गाजामा सकेसम्म चाँडो ‘युद्धविराम’ का लागि बेइजिङको धारणा दोहोर्याउनुभयो ।

“सम्बन्धित पक्षहरूबीचको सङ्घर्ष थप बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “हामीले… हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायोचित र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।”

रवि लामिछानेका समर्थकहरुले गरिरहेको हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः कांग्रेस

काठमाडौँ, ७ कात्तिकः नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हूलहुज्जत र सडक प्रदर्शनले अनुसन्धानलाई प्रभावित गर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले आज विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सो पार्टीका सभापति लामिछानेका समर्थकहरुले राज्यका तटस्थ निकायहरुलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गरिरहेको उल्लेख गरेको छ ।

राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्तिसुरक्षामा समेत खलल पु¥याउने गतिविधिप्रति कांग्रेसले विरोध जनाएको छ ।

संसदीय छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकाले सोही बमोजिम केही सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जिबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेलाई उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

“कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पु-याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनु पर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “तर रास्वपाका नाममा भइरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ ।”

प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरुमाथि समान ढङ्गले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता सुरू

काठमाडौँ, ७ कात्तिक : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आजदेखि आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्नेजस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र सङ्गठनको शिर उच्च बनाएको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा खेलकुद प्रतियोगितालाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिता सञ्चालनसहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगितासम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।

स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह

काठमाडौँ, ७ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ ।

बिमा सुधार सम्बन्धमा सुझाव दिन विश्व स्वास्थ्य सङ्गठनका पूर्ववरिष्ठ अधिकारी शम्भुप्रसाद आचार्यको नेतृत्वमा बनेको समितिसँग मन्त्री पौडेलले बिमामा देखिएका स्रोत अभाव तथा गलत दाबी जस्ता समस्या समाधान गर्न व्यावहारिक ठोस सुझावको अपेक्षा गरेको बताउनुभयो ।

हामीलाई व्यावहारिक र ठोस सुझाव दिनुहोला, उहाँले भन्नुभयो, “जुन स्वास्थ्य बिमाको समस्या समाधानमा पथ प्रदर्शक बनोस् ।” मन्त्री पौडेलले समितिले दिएको सुझाव कार्यान्वयनमा मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “स्रोतको अभाव मुख्य समस्या छ”, उहाँले भन्नुभयो, “तर स्रोत बढाउने केही विकल्प छन् । यहाँहरुले उपयुक्त विकल्प दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।

मन्त्री पौडेलले नसक्नेका लागि रु एक लाख बिमा रकम ठूलो सहायता भए पनि त्यसले मात्र समस्या समाधान नहुने भएकाले उक्त रकम वृद्धि गरी पाँच लाख पु-याउनुपर्ने योजना बनाएको बताउनुभयो । “हामीले दायरा बढाउँदा स्रोत अभावको चुनौती देखापर्न सक्छ, तपाईंहरुले थप समिति बनाउन नपर्ने गरी सुझाव दिनुहोला”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले सरकारकै फरकफरक स्वास्थ्य बिमा कार्यक्रम अस्तित्वमा रहेकाले सेना प्रहरीलगायत सबैलाई कसरी एकीकृत बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी सुझाव दिन आग्रह गर्नुभयो । बैठकमा समिति संयोजक आचार्य तथा सदस्य डा भगवान् कोइरालाले ठोस सुझाव दिने गरी काम भइरहेको जानकारी दिनुभयो ।

सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

विराटनगर, ७ कात्तिक : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकारमा जानेभन्दा सङ्गठन बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आमनागरिकको हितमा काम गर्न सरकारलाई सुझाव दिँदै भन्नुभयो, “दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारलाई निरङ्कुश बन्न छुट छैन, संसदीय पद्धति र परम्परालाई पालनागरी सुशासनसहित जनतालाई राहत सुविधा दिनेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।”

उहाँले भ्रष्टाचारमा संलग्न दोषीलाई कुनै हालतमा छाड्न नहुने धारणा व्यक्त गर्दै गत असारमा आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

एक प्रश्नको जवाफमा वर्तमान सरकारको सय दिनको समीक्षा हामी प्रतिपक्ष राजनीतिक दललेभन्दा आमनागरिकले गर्ने छन् भन्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “विद्यमान अवस्थामा कुनै पनि किसिमका ऐन, कानुन अध्यादेशबाट ल्याउनुभन्दा जनताको सर्वाेच्च निकाय संसद्मा छलफल गराई आउनुपर्दछ, संसद्लाई उपेक्षागरी कानुन ल्याउन खोजिए प्रमुख प्रतिपक्ष दलका हैसियतले माओवादी पार्टी संसद् र सडकबाट विरोधमा उत्रन्छ ।”

उहाँले हाम्रो ध्यान सरकारभन्दा पनि सङ्गठन विस्तार, सुदृढीकरण, पार्टी एकता एवं एकीकरण अभियानमा लागेको स्पष्ट गर्नुभयो ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै विपक्षी दलले गराए राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका हुन् ।

प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिएका थिए ।

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै उनीहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेताहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

जावफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे ।

उनले भने, ‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

संसदमा प्रतिपक्षमा नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टी छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौँ, ७ कात्तिकः उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । हर्नियाको शल्यक्रियाका निम्ति उहाँ मङ्गलबार साँझ भर्ना हुनुभएको हो ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उहाँको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नुहुने छ ।

आइएमएफद्वारा सन् २०२४ र २०२५ मा केही सुस्त विश्व आर्थिक वृद्धिको पूर्वानुमान

यस वर्ष विश्वको आर्थिक वृद्धि केही घटेर तीन दशमलव दुई प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अनुमान गरिएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार घोषणा गरेको छ ।

साथै कोषले स्थिर आँकडाहरूले क्षेत्रीय र क्षेत्रगत ‘महत्त्वपूर्ण’ परिवर्तनहरूलाई लुकाएको चेतावनी दिएको छ ।

आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्लुइओ) प्रतिवेदनमा कोषले विश्वव्यापी मुद्रास्फीति घट्दै गई यस वर्ष पाँच दशमलव आठ प्रतिशत हुने र सन् २०२५ मा चार दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

“हामीले आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दी बिना नै मुद्रास्फीति सही दिशातर्फ जाँदै गरेको देखिरहेका छौँ”, प्रतिवेदन प्रकाशनअघि एएफपीसँगको अन्तर्वार्तामा आइएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चासले भन्नुभयो, “हाम्रो आधारभूत विश्लेषणमा विकसित अर्थतन्त्रहरूमा (मुद्रास्फीति) सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किनेछ र उदीयमान बजारहरूका लागि ‘केही लामो समय’ लाग्नेछ ।”

कोषको डब्लुइओ प्रतिवेदनले सन् २०२९ सम्ममा कमजोर विश्व वृद्धि तीन दशमलव एक प्रतिशतमा झर्ने अपेक्षा गर्दै त्यस मापनमा बढ्दो जोखिमहरूको चेतावनी दिएको छ ।

पछिल्लो छ महिनामा भइरहेका ‘महत्त्वपूर्ण क्षेत्रगत र क्षेत्रीय परिवर्तनहरू’ को चेतावनी दिँदै कोषले सन् २०२५ सम्मको वृद्धिको तुलनात्मक रूपमा शान्त दृष्टिकोणअन्तर्गत तस्विर एकरूप नभएको बतायो ।

डब्लुइओको प्रकाशन विश्व अर्थतन्त्रको स्वास्थ्यबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आइएमएफ र विश्व बैंकको वार्षिक बैठक वासिङ्टनमा सुरु भएको एक दिनपछि आएको हो ।

अमेरिकामा बलियो वृद्धि

युरो क्षेत्रको विस्तार सुस्त रहेको तथ्यसँग ठीक विपरीत प्रतिवेदनले संयुक्त राज्य अमेरिका विश्व वृद्धिको इन्जिनको रूपमा रहेको पाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र यस वर्ष दुई दशमलत आठ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । यो सन् २०२३ को दुई दशमलव नौ प्रतिशतबाट सामान्य घटेको हो । यद्यपि अझै पनि जुलाईको कोषको अघिल्लो अनुमानभन्दा केही राम्रो छ ।

त्यसपछि सन् २०२५ मा यो केही घटेर दुई दशमलव दुई प्रतिशत हुने अपेक्षा गरिएको छ । “अमेरिकी अर्थतन्त्रले धेरै राम्रो गरिरहेको छ”, बलियो उत्पादकत्व वृद्धि र आर्थिक वृद्धिमा आप्रवासनको वृद्धिको सकारात्मक प्रभावतर्फ सङ्केत गर्दै गौरिन्चासले भन्नुभयो ।

युरोपमा वृद्धि अझै माथि जाँदै गए पनि ऐतिहासिक मापदण्डअनुसार कम छ । यस वर्ष शून्य दशमलव आठ प्रतिशतमा सीमित हुने र सन् २०२५ मा केही बढेर एक दशमलव दुई प्रतिशत पुग्ने देखिन्छ ।

फ्रान्स र स्पेनले सन् २०२४ को आफ्नो दृष्टिकोणमा सुधार देखेका छन् । ‘निर्माणमा लगातार कमजोरी’ उल्लेख गर्दै आइएमएफले जर्मनीको वृद्धि अनुमान यस वर्ष शून्य दशमलव दुई प्रतिशत विन्दु र अर्को वर्ष आधा प्रतिशत विन्दुले घटायो ।

बेलायतमा केही राम्रो समाचार देखिएको छ । यहाँ ‘घट्दो मुद्रास्फीति र ब्याजदरले आन्तरिक मागलाई उत्प्रेरित’ गर्ने भएकाले सन् २०२४ र २०२५ दुवैमा वृद्धि बढ्ने अनुमान गरिएको छ ।

चीन र भारत सुस्त

आइएमएफका अनुसार जापानको वृद्धि यस वर्ष तीव्र रूपमा घटेर शून्य दशमलव तीन प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । ‘वास्तविक ज्याला वृद्धि बलियो हुँदै जाँदा निजी उपभोगले बढावा दिने’ भएकाले त्यसपछि अर्को वर्ष १.१ प्रतिशतमा बढ्नेछ ।

कोषले चीनको आर्थिक उत्पादन वृद्धि निरन्तर खुम्चिने अपेक्षा गरेको छ । कोषले गत वर्षको पाँच दशमलव दुई प्रतिशतबाट यस वर्ष चार दशमलव आठ प्रतिशतमा झर्ने र त्यसपछि सन् २०२५ मा अझै घटेर चार दशमवल पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ ।

भारतमा गिरावट अझ स्पष्ट देखिने छ । भारतमा आइएमएफले सन् २०२३ को आठ दशमलव दुई प्रतिशतबाट घटेर यस वर्ष सात प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ‘महामारीको समयमा जम्मा भएको दबाइएको माग’ सकिँदै जाँने हुनाले त्यसपछि यो अझै घटेर छ दशमलव पाँच प्रतिशतमा झर्नेछ ।

आइएमएफले मध्यपूर्व र मध्य एसियामा वृद्धि यस वर्ष केही बढेर दुई दशमलव चार प्रतिशत पुग्ने तथा तेल र जहाज यातायातमा भएका अस्थायी अवरोधहरू घट्दै जाँदा सन् २०२५ मा तीन दशमलव नौ प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ ।

उप–सहारा अफ्रिकामा आइएमएफले यस वर्ष वृद्धि तीन दशमलव छ प्रतिशतमै अपरिवर्तित रहने र मौसमी झड्काहरू कम हुँदै जाँदा र आपूर्ति अवरोधहरू घट्दै जाँदा सन् २०२५ मा चार दशमलव दुई प्रतिशत पुग्ने पूर्वानुमान गरेको छ ।

इजरायलको इरानमाथि आक्रमण गर्ने योजनाबारे गोप्य कागजात चुहावटको जाँच गर्दै अमेरिका

एफबीआई र पेन्टागनले इरानमाथि जवाफी आक्रमणको इजरायली योजनाबारे अमेरिकी गुप्तचर जानकारी चुहावटको जाँच गरिरहेका छन् ।

“एफबीआईले गोप्य कागजातहरूको कथित चुहावटको अनुसन्धान गरिरहेको छ तथा रक्षा मन्त्रालय र खुफिया समुदायका हाम्रा साझेदारहरूसँग नजिकको समन्वयमा काम गरिरहेको छ”, एफबीआईले मङ्गलबार एक वक्तव्यमा भनेको छ, “यो एक जारी अनुसन्धान भएकाले हामीसँग थप टिप्पणी छैन ।”

प्रेस रिपोर्टहरूका अनुसार गोप्य कागजातहरूमा अमेरिकी राष्ट्रिय जिओस्पाटियल–इन्टेलिजेन्स एजेन्सी र अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको उपग्रह छवि विश्लेषण समावेश छ ।

तिनीहरूले इजरायलमाथि अक्टोबर १ को मिसाइल आक्रमणको जवाफमा इरानमाथि जवाफी आक्रमणको इजरायली तयारीको वर्णन गरेको बताइएको छ । यद्यपि कुनै वास्तविक लक्ष्यहरू पहिचान गरेको छैन । ती कागजातहरू गत हप्ता मिडल इस्ट स्पेक्टेटर नामक एक खाताद्वारा टेलिग्राम एपमा प्रसारित गरिएका थिए ।

“अमेरिकी अधिकारीहरूलाई यो यस समयमा चुहावट थियो वा ह्याक थियो भन्ने थाहा छैन”, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “यी कागजातहरू कसरी सार्वजनिक डोमेनमा पुगे भन्ने बारेमा हामी पक्का छैनौँ ।”

“मलाई थाहा छ रक्षा मन्त्रालयले यसको जाँच गरिरहेको छ र म निश्चित छु कि उनीहरूले त्यसमा काम गर्दै जाँदा ती कसरी सार्वजनिक भए भन्ने निर्धारण गर्ने प्रयास गर्नेछन्”, उहाँले भन्नुभयो, “राष्ट्रपति जो बाइडेन सार्वजनिक डोमेनमा गोप्य जानकारीको कुनै पनि चुहावटबारे गहिरो रूपमा चिन्तित हुनुहुन्छ, यो हुनु हुँदैन थियो र यो हुँदा यो अस्वीकार्य छ ।”

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

काठमाडौँ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ ।

यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्त्व दिएको छ ।

वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा दिवसका अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ ।

डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकार्पण र डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएको जङ्गली याकको फोटो फ्रेम अनावरण गरिने विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिए । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्‍याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएको उनले बताए । बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको महानिर्देशक डा.कँडेलले बताए ।

“हिउँ चितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डीकरण हुँदै गएको छ”, उनले भने, “यसबाहेक द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती पनि छन् ।”

हिउँ चितुवा संरक्षणमा लागि तीनै तहका सरकारबीच सहयोग र समन्वयको आवश्यकता औँल्याउँदै महानिर्देशक डा कँडेलले विभागले स्थानीय समुदायमा चेतना फैलाउने, अनुगमन गर्ने तथा यसको अवस्था, स्थिति, चुनौती र समाधान उपायका बारेमा थाहा पाउन सर्वेक्षण गर्ने गरेको बताए ।

“यसले गर्दा चोरी निकासीमा अलिकति भए पनि कमी आएको छ”, उनले भने । विभागले हिउँ चितुवाबाट स्थानीयका भेडा, बाख्रा र च्याङ्ग्रा जोगाउन सुरक्षित खोर बनाउन सहयोग गर्दै आएको छ । हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँ चितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ ।

हिउँ चितुवाको सङ्ख्या तीन सयदेखि पाँच सय रहेको अनुमान

हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ ।

विभागका सिनियर इकोलोजिष्ट हरिभद्र आचार्यले उच्च हिमाली र कठिन भौगोलिकताका कारण हिउँ चितुवाको राष्ट्रियस्तरमा एकसाथ गणना गर्न सम्भव नभएकाले भूगोललाई विभिन्न क्षेत्रमा विभाजन गरी गणना गर्न सुरु गरिएको बताए। पूर्वको कञ्चनजङ्घाबाट गणेश हिमालसम्म, मनास्लुबाट धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीबाट अपीनपा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार डोल्पा क्षेत्रमा ९० हिउँ चितुवाको सङ्ख्या रहेको छ । यसको गणना ‘क्यामेरा ट्रयाप’बाट गर्ने गरिएको छ ।

“तराईमा स्वस्थ पारिस्थितिक प्रणालीको सूचक बाघ भएजस्तै उच्च हिमाली क्षेत्रको स्वस्थ पारिस्थितिक प्रणालीको सूचक हिउँ चितुवा हो”, सिनियर इकोलोजिष्ट आचार्यले भने, “त्यसैले यसको ठूलो महत्त्व छ । यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँ चितुवा लजालु प्रकृतिको हुन्छ । त्यसैले यसलाई भेट्न गाह्रो पनि हुन्छ ।”

लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखनलाई सरोकारवाला सबै मिलेर प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए । मन्त्रालयले हिउँ चितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँ चितुवा संरक्षण र कार्य योजना ९२०२४–२०३००’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।

कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ । योजनामा अनुसन्धान र अनुगमनमार्फत हिउँ चितुवाको पर्यावरणीय स्थिति, सिकार, बासस्थानबारे ज्ञान बढाउने उद्देश्य लिएको छ ।

कार्ययोजनामा हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तर्राष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।

छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँ चितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।

जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी गर्दै सङ्खुवासभाकी फुपु पोङ्सुवा

धरान (सुनसरी), ७ कात्तिक : सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नुभयो ।

लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गर्नुभएको छ । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आउनुभएको छ ।

“पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उहाँले सुनाउनुभयो ।

सुरुआती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्नुहुन्थ्यो । “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उहाँले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसक्नुभएको छ ।

उहाँले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउनुहुन्छ । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उहाँले बताउनुभयो ।

उहाँको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राख्नुभएको छ । जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उहाँको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उहाँले बताउनुभयो ।

शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिनुभयो । उहाँ पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उहाँले सुनाउनुभयो ।

पुख्र्यौली घर सङ्खुसभा भएका उहाँ जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाउनुभयो । “सुरुआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उहाँको भनाइ छ ।

उहाँले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाउनुभयो । “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”

इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनुभएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।” उहाँले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाउनुभयो ।

रिचार्ज पोखरी बनाइएका ‘काङ्साहोल ताल’मा डुङ्गा सयरसँगै माछापालन

खोटाङ, ७ कात्तिक : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भङ्गेटारका २४ घरले चन्दा सङ्कलन तथा श्रमदान गरी साढे छ रोपनी जग्गामा निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको हो ।

रिचार्ज पोखरी बनाउने उद्देश्यले रु आठ लाख लगानीमा निर्माण गरिएको तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि काठको डुङ्गा निर्माण गरेर व्यावसायिकरुपमा सञ्चालन गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताउनुभयो ।

“खार्मीको काङ्साहोप, बाँझोबारी, रमितेडाँडा, निङ्गालेडाँडा लगायतका ठाउँहरु आफैमा पर्यटकीय क्षेत्र हो । यसको पर्यटन प्रवद्र्धन गर्न सकेमा वडाको मात्र नभइ नगरपालिकाको समेत आम्दानीको स्रोत वृद्धि हुन्छ”, उहाँले भन्नुभयो, “कृत्रिम तालमा जम्मा भएको पानीमा माछापालन व्यवसायसमेत उपयुक्त हुने भएकाले ग्रासकार्प प्रजातिका १९ किलो माछाका भुरा ल्याएर हालेका छौँ ।”

जमिन रिचार्ज गर्नुका साथै तल्लो क्षेत्रका स्थानीयको खेतबारीमा सिँचाइ गर्न मिल्नेगरी निर्माण गरिएको ‘एल’ आकारको ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि डुङ्गा सयर गर्ने स्थलकोरुपमा विकास हुँदै गएको छ ।

तालमा दुईवटा काठको गुङ्गा निर्माण गरेर सञ्चालन गरिएको छ भने, सयर गर्ने आन्तरिक तथा बाह्य पर्यटकबाट रु एक सय लिने गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई गुङ्गा सयर गराउने तालिम प्राप्त व्यक्तिलाई रु ५० र समितिमारु ५० रकम जम्मा गर्ने गरिएको सञ्चालक समितिले जनाएको छ । गुङ्गा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट सङ्कलन भएको रकम ताल सरसफाइ तथा व्यवस्थापनमा खर्च गर्ने गरिएको छ ।

तालमा ढुङ्गा सयर गर्ने र हेर्नेको भीड लाग्न थालेपछि तालसम्म पुग्नका लागि कच्ची सडकसमेत निर्माण गरिएको सचिव तामाङले बताउनुभयो । “तामाङ भाषामा मट्याङ्ग्रा तथा मूर्ति बनाउने माटोलाई ‘काङ्सा’ र खाल्डोलाई ‘होप’ भन्ने गरिन्छ ।

मट्याङ्ग्रा तथा मूर्ति बनाउने माटो भएको ठाउँमा ताल निर्माण गरिएकाले तालको नाम ‘काङ्साहोप ताल’ राखेका छौँ”, उहाँले भन्नुभयो, “कच्ची सडकसमेत निर्माण गरेर सञ्चालनमा आएपछि तालमा गुङ्गा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।”

नियमित पानी पलाउने ठोट्नेखोल्सा मुहान भएको सानो खाल्डोलाई स्काभेटरले फराकिलो बनाएर निर्माण गरिएको काङ्साहोप तालमा व्यावसायिकरुपमा पालिएका माछाको हेरचाह स्थानीयबासी आफैले गर्दै आएका छन् ।

टाढाबाट झट्ट हेर्दा पानको पातजस्तो आकृति देखिने काङ्साहोप तालमा हिउँद्को समयमा समेत पानी कम हुन नदिन नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हाल्ने गरिएको जनाइएको छ । काङ्साहोप तालबाट दुई मिनेट पैदल यात्रा गर्दा पुगिने पश्चिम दिशामा रहेको रमितेडाँडा वा रमितेढुङ्गा घुमफिरका लागि चर्चित छ ।

समुन्द्री सतहदेखि करिब एक हजार सात सय मिटर उचाईमा रहेको काङ्साहोप तालबाट उच्च हिमशृङ्खला तथा टाढा–टाढाका मनोरम दृश्याहरुको सजिलै अवलोकन गर्न सकिन्छ । स्थानीयबासीकै सक्रियतामा बाँझोबारीबाट सिधै काङ्साहोप ताल पुग्ने छोटो दूरीको सडक निर्माण गरेपछि आवतजावतमा समेत सहज भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारबाट आवश्यक बजेट प्राप्त भएको खण्डमा काङ्साहोप तालको क्षेत्रफल थप बढाउन सकिनेगरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत निर्माण गरिएको ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बाह्रै महिना पानी पलाउने खाल्डोलाई स्थानीय बासिन्दाले कृत्रिम तालको रुपमा विकास गरेपछि वडा कार्यालय खार्मीले तीन वर्षअघि उपलब्ध गराएको रु दुई लाख ५० हजार बजेटबाट ड्याम निर्माण गरिएको छ ।

चार वर्षअघि निर्माण गरिएको काङ्साहोप तालभन्दा तल्लो भेगमा यसअघि सुकिसकेका पानीको मुहानमासमेत पुनः मुल फुटेको स्थानीयबासीले बताएका छन् । काङ्साहोप तालभन्दा करिब एक सय मिटर तल नयाँ मुल फुटेपछि ताल निर्माण उपभोक्ता समितिका सचिव तामाङले व्यक्तिगत लगानीमा यसै वर्षबाट माछापालन सुरु गर्नुभएको छ ।

बेनीमा बाटो खुलेको २५ वर्षपछि कालोपत्र

म्याग्दी, ७ कात्तिकः बेनी नगरपालिका–६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो । बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो ।

सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड ३४ लाख ६६ हजार नौ सय २९ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर पानीका निकाका लागि नाली र छ सय मिटर पर्खाल निर्माण भएको छ ।

यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ । साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले रु १० करोड १६ लाख एक हजार तीन सय ६४ को लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग

काभ्रेपलाञ्चोक, ७ कात्तिक : जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्नेे भएको छ । समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा रु १५ देखि २० हजारसम्म प्रदान गर्ने निर्णय गरेको छ ।

समितिको मङ्गलबारको बैठकले जिल्ला विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । विपद्बाट घर, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा–जमिन वा पसल–व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्म सदस्य भएको परिवार भए रु १५ हजार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई रु २० हजार प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । धुलिखेल र बनेपा नगरपालिकालाई विपद् सङ्कटग्रस्त घोषणा गर्न गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष अनुरोध गर्ने निर्णय भएको छ । यसअघि सरकारले काभ्रेपलाञ्चोकको १३ मध्ये ११ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ ।

जिल्लाका १० हजार घरमा क्षति पुगेको अनुमान छ । जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० स्थानीय तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन्भने पाँच जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ७५ जना घाइते भएका र ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।

सुडानमा दुई दिनको लडाइँमा ५० भन्दा बढीको मृत्यु

एक अर्धसैनिक कमान्डर सेनामा भागेपछि आइतबारदेखि अल–जजिरा राज्यमा भएको झडपमा ५० भन्दा बढी मानिसको मृत्यु भएको मध्य सुडानका स्थानीय कार्यकर्ताहरूले बताएका छन् । राज्यको राजधानी वाद मदानीमा एक मस्जिदमा भएको सैन्य हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको युद्धग्रस्त देशभर सहायता समन्वय गर्ने सयौँ स्वयंसेवी समूहमध्ये एक स्थानीय प्रतिरोध समितिले मङ्गलबार बताएको छ ।

समितिले सेनामाथि ‘ब्यारल बम’ प्रयोग गरेको आरोप लगाउँदै उद्धारकर्ताहरूले ‘दर्जनौँ जलेका र विकृत शरीरहरू’ को अवशेष खोज्दै गर्दा मृतकहरूमध्ये आधाभन्दा बढीको पहिचान हुन नसकेको बतायो ।

राज्यको युद्धग्रस्त पूर्वी भागमा कार्यकर्ताहरूले आइतबारदेखि अर्धसैनिक आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बताएका छन् ।

सन् २०२३ अप्रिलदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध चलिरहेको छ । युद्धमा हजारौँ मानिसको मृत्यु भएको छ र विश्वकै सबैभन्दा ठूलो विस्थापन र मानवीय सङ्कट सिर्जना भएको छ ।

दुवै सेना हाल मध्य सुडानको कृषि प्रधान अल–जजिरा राज्यमाथि नियन्त्रणका लागि क्रूर युद्धमा छन् । उक्त राज्य गत वर्षको अन्त्यदेखि अर्धसैनिक नियन्त्रणमा छ ।

आइतबार, सेनाले आइतबार आरएसएफको अल–जजिरा कमान्डर अबु अक्ला काइकलले अर्धसैनिक बल छोडेर ‘ठूलो सङ्ख्यामा आफ्ना सेनाहरू’ लिएर ‘हाम्रो सेनासँग लड्न’ आएको घोषणा गरेको छ । यसलाई उनीहरूले सैन्य पक्षमा पहिलो उच्च–प्रोफाइल भगौडाको रूपमा बताएका छन् ।
सेना प्रमुख अब्देल फत्ताह अल–बुरहानका प्रवक्ताले काइकल र अन्य भगौडाहरूले ‘माफी’ पाउने बताउनुभयो ।

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

वीरगञ्ज (पर्सा), ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ ।

भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उहाँको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गर्नुभयो । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उहाँको विश्वास छ ।

चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा रु छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।

सङ्घीय निजामती सेवा सञ्चालन गर्न बनेको विधेयक छिट्टै पारित हुन्छ : मन्त्री गुप्ता

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक छिट्टै पारित हुने बताउनुभएको छ ।

मन्त्री गुप्ताले पदबहाली गरेको एक सय दिनका अवसरमा   आयोजित पत्रकार सम्मेलनमा २५ बुँदे उपलब्धि सार्वजनिक गर्दै उहाँले उक्त विधेयक आगामी अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तीव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक तथा अनौपचारिक संवादलाई अगाडि बढाइएको बताउनुभयो । विधेयक सङ्घीय संसद्मा प्रस्तुत भई प्रारम्भिक छलफलपश्चात् राज्यव्यवस्था समितिमा दफावार छलफल सुरु गरिएको उहाँको भनाइ थियो ।

मन्त्री गुप्ताले स्थानीय तहको विकास व्यवस्थापनमा सहयोग र सहजीकरण गर्नेगरी १३ वटा स्थानीय तहमा जग्गाप्राप्ति र सात वटा स्थानीय तहलाई सरकारी जग्गा उपयोग तथा लिजमा उपलब्ध गराउनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको बताउँदै स्थानीय सेवा प्रवाह, योजना तथा बजेट निर्माण, स्थानीय समस्या समाधानमा सहयोग पुग्नेगरी चार वटा स्थानीय तहको सहजीकरण गरिएको जानकारी दिनुभयो ।  

मन्त्रालयले स्थानीय तहमा लामो समयदेखि रहेको वडाको केन्द्र तथा सिमाना हेरफेरलाई सहज तरिकाले सहजीकरण गर्नेगरी कार्यविधिको मस्यौदा तयार गरेको छ । निजामती सेवाभित्र राम्रो कार्यसम्पादन भएका ४० कर्मचारीलाई उत्कृष्ट निजामती पुरस्कार प्रदान गरेको मन्त्रालयले उच्च व्यवसथापन तहमा नेतृत्व विकास गर्न सहयोग पु¥याउनेगरी २५ जना राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई तालिम प्रदान, व्यवस्थापन तहमा जनशक्ति कमी हुन नदिनेगरी राजपत्राङ्कित प्रथम र दोस्रो श्रेणीका चार सय १५ पदमा पदपूर्तिका लोकसेवा आयोगमा माग गरेको छ ।

स्थानीय तहको क्षमता अभिवृद्धि गर्नेगरी स्थानीय तहको वित्तीय जोखिम, संस्थागत क्षमता विकास र आर्थिक विकास क्षेत्र समावेश गरी एकीकृत मूल्याङ्कन कार्यविधिको ढाँचा तयार गरेको मन्त्रालयले जिल्ला समन्वय समितिको भूमिकालाई थप प्रभावकारी बनाउने गरी ५५ वटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति (इञ्जनियर) को व्यवस्था गरेको छ ।  

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएका जिल्लाका स्थानीय तहमा पूर्वाधार निर्माण तथा वस्तुगत सहायता गर्नेगरी हिमाली क्षेत्र आयोजना सहायता कार्यक्रम सञ्चालनको कार्यविधि तयार गरेको छ । 

मितेरी सहकारी प्रकरण : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

काठमाडौँ-मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रकम अपचलन भएको भन्दै सहकारी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सिआइबीमा जाहेरी दिनुभएको थियो ।

सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सहकारीको रु १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।

एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा हुने

भद्रपुर (झापा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियन राजमार्ग निर्माणले गति लिएको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक एसियन राजमार्गमा स्तरोन्नति गर्ने कार्य अगाडि बढेको हो ।

स्तरोन्नतिपछि काँकरभिट्टा–लौकही सडकखण्ड अन्तर्गत सहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुनेछ । यस्तै अर्धसहरी क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक रहने जनाइएको छ ।  

उक्त आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहने छ । काँकरभिट्टा–लौकही सडक खण्डको लम्बाई एक सय २० किलोमिटरमध्ये ९५ दशमलव ७६ किलोमिटरमा विभिन्न प्याकेजमा ठेक्का लागेको छ । 

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ । 

काँकरभिट्टा–केर्खा सडक

पूर्वी खण्डको काकरभिट्टा–केर्खा सडक रु १० अर्ब छ करोडमा लागतमा सम्पन्न गर्नेगरी इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि काम प्रारम्भ गरेको इञ्जिनियर आश्रय महतले जानकारी दिनुभयो । उहाँका अनुसार काम सुरु भएदेखि हालसम्मको भौतिक प्रगति पाँच दशमलव ७० प्रतिशत रहेको छ । 

इञ्जिनियर महतका अनुसार यस सडकखण्डको सीमाभित्र परेका चार हजार सात सय २६ वटा रुख काट्ने काम सम्पन्न भई दुई हजार एक सय रुख डिभिजन वनलाई हस्तान्तरण गरिएको छ । विद्युत् प्राधिकरणबाट यस क्षेत्रमा पर्ने दुई हजार दुई सय खम्बामध्ये चार सय खम्बा सारिसकेको र अन्य सार्ने क्रममा छन् । 

यसैगरी यस सडक खण्डमा पर्ने एक सय ४३ कल्भर्टमध्ये ७२ वटा कल्भर्टको निर्माण भइरहेको छ । पूर्वी खण्डअन्तर्गत चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुने इञ्जिनियर महतले बताउनुभयो । 

उहाँका अनुसार चारअली जङ्गलमा हात्तीका लागि अण्डरपास र छ वटा पैदलयात्री क्रसिङ बन्नेछन् । तीन सय मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुनेछन् । 

तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का लगाइएको थियो । हालसम्म उक्त पुलको भौतिक प्रगति चार दशमलव २० प्रतिशत रहेको इञ्जिनियर महतले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जगमा तीन सय ५० वटा पाइल हाल्ने काम सम्पन्न भएको छ । 

केर्खा–इटहरी खण्ड

पश्चिम खण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्का रहेका छन् । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर रहेको छ । उक्त ठेक्का रु नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता भएको इञ्जिनियर पल्लव श्रेष्ठले जानकारी दिनुभयो । रुख कटान, माटो फिलिङलगायत काम भइरहेको उक्त सडकखण्डको हालसम्ममा सात दशमलव पाँच प्रतिशत भौतिक प्रगति रहेको छ । 

यस्तै प्याकेज नं ३  मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १० दशमलव ७६ किलोमिटर रहेको छ । उक्त प्याकेजको ठेक्का सम्झौता रु चार अर्ब सात करोड ३५ लाखमा गरिएको हो । इञ्जिनियर श्रेष्ठका अनुसार हालसम्म यस प्याकेजको भौतिक प्रगति तीन प्रतिशत मात्रै छ । प्याकेज नं २ र ३ को कूल लम्बाइ ५० दशमलव ७६ किलोमिटरमा २८ वटा तीन सय मिटरभन्दा साना पुल छन् । जुन सम्बन्धित प्याकेजको ठेक्का पाउनेले नै निर्माण गर्नेछ । हालसम्म सडक सीमाक्षेत्रभित्रका दुवै प्याकेजका छ हजार छ सय २९ रुख काट्ने काम सम्पन्न भएको इञ्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी यस खण्डमा तीन सय मिटरभन्दा लामा रतुवा, बक्रा र लोहेन्द्रा पुल निर्माणका लागि रु पाँच अर्ब ६५ करोड २६ लाख सम्झौता गरिएको थियो । पुलको पाइलिङ गर्ने काम भइरहेको यस ठेक्काका हालसम्म आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ । 

काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गतका सवै प्याकेजका योजनाको निर्माण सम्पन्न अवधि तीन वर्ष रहेको इञ्जिनियर महतले बताउनुभयो । बर्खाको समयमा निर्माण रोकिए पनि अब राजमार्ग स्तरोन्नतिको कामले गति लिने उहाँको भनाइ छ । 

स्थानीय उत्साहित

एशियन राजमार्ग बन्ने भएपछि यस क्षेत्रका स्थानीय तथा व्यावसायी उत्साहित भएका छन् । यसरी चार लेनको राजमार्ग पूवीक्षेत्रमा बन्ने भएपछि भारतलगायत अन्य देशबाट पर्यटक स्थलमार्ग हुँदै नेपाल आवागमनमा सहज हुने पर्यटन व्यावसायी नेत्र कार्की बताउनुहुन्छ । 

पछिल्लो समय विर्तामोड, चारआली, चारपानेलगायत क्षेत्रमा सवारी चाप अत्यधिक हुँदै गइरहेको छ । एसियान राजमार्ग बन्ने भएपछि सवारी चाप घटने स्थानीय निर्मल पोखरेल बताउनुहुन्छ । अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग बन्न लागेसँगै यसले गर्दा अन्य विकास निर्माणका कामका लागि ढोका खुल्ने व्यवसायी गणेशप्रसाद मैनालीको भनाइ छ । 

सुदूरपश्चिममा ‘सुटिङ खेल’को साख जोगाइरहेका दिलबहादुर

घोडाघोडी (कैलाली)- विसं २०४१ तिर टीकापुरका दिलबहादुर ठकुल्लाको घर नजिकै ३०, ४० जना मानिसको भीड लागिरहेको हुन्थ्यो । के रहेछ भनेर हेर्न जाँदा ‘सुटिङ खेल’ भइरहेको हुन्थ्यो । दिलबहादुरको पनि यसैमा मन बस्यो, पछि त लतै लाग्यो । उहाँको लगाव देखेर तत्कालीन प्रशिक्षक रामराज खरेलले खेलमा प्रवेश गराउनुभयो । ‘त्यसपछि नै हो मेरो व्यावसायिक सुटिङ खेलजीवन सुरु भएको । सुदूरपश्चिममा पनि त्यति बेलादेखि नै खेल भित्रिएको हो”, दिलबहादुर ठकुल्लाले भन्नुभयो ।

विसं २०४१ देखि निरन्तर यो खेलमा लागिरहनुभएका उहाँले पछि प्रशिक्षककै जिम्मेवारी पाउनुभयो । “लहलहैमा यस खेलमा लागियो, करिब १७ वर्षपछि आफैँले खेल सिकाउने जिम्मेवारी पो आयो । विसं २०५८ देखि प्रशिक्षकका रूपमा रहेर खेल सिकाइरहेको छु”, उहाँ भन्नुहुन्छ,“ सुदूरपश्चिममा हामी दुई जनामात्र प्रशिक्षक छौँ, एउटा म र अर्को महेन्द्रनगरका जनक चन्द ।”

२३ वर्षदेखि दिलबहादुरले सुदूरपश्चिममा सुटिङ खेललाई जोगाई रहनुभएको छ तर यस खेलप्रतिको मोह हराउँदै गएकामा उहाँ खिन्न हुनुहुन्छ । “हालसम्म त हामीले धानिरहेका छौँ तर अब सुटिङ खेल जोगाउनै समस्या छ । पहिले खेलाडी आफैँ आउँथे अहिले खोजेर जबरजस्ती ल्याउनुपर्छ । खेलबारे धेरै मान्छे जानकार पनि छैनन् । सुटिङ सिकाउँछुभन्दा फिल्मको सुटिङ हो कि भनेर बुझ्ने गर्छन्”, उहाँले सुनाउनुभयो,“यो महँगो खेल हो । खेलका लागि छुट्टै ड्रेस, बन्दुक, राईफल, पेस्तोल गोलीलगायतका सामग्री आवश्यक पर्छन् । खेलाडीले सामग्री किन्न लाखौँ लाग्ने गर्छ । त्यसैले पनि यसप्रतिको मोह हराउँदै गएको हो ।”

ठकुल्ला सरकारले पनि यो खेललाई बेवास्ता र उपेक्षा गर्दा थप समस्या भइरहेको बताउनुहुन्छ । खेलाडीलाई प्रोत्साहन, लगानी, पूर्वाधार नभएको र आफ्नै लगानीमा खेल्नुपर्ने बाध्यताका कारण खेलमा आकर्षण घट्दै गएको उहाँको भनाइ छ । “सुरुआतदेखि नै निःशुल्क रूपमा नै खेल जोगाउनका लागि लागिपरेको छु”, उहाँले भन्नुभयो, “आत्मसम्मान र खुसीका लागि लागेको छु । सामग्री र राम्रो पूर्वाधारको मात्रै व्यवस्था भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।”

गत जेठ २१ गते भएको राष्ट्रिय सुटिङ खेलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेर गएका सुनिल चन्द राइफलमा प्रथम र टीकापुरका महेन्द्रविक्रम रावल पेस्तोलमा तेस्रो हुनुभयो । त्यसबेला मुख्य प्रशिक्षकका रूपमा ढकुल्लाले नै भूमिका खेल्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “हामीसँग केही नहँुदा त यहाँसम्म पुग्यौँ, खेल पूर्वाधार, लगानी र सामग्री भइदिएको भए यस खेलमार्फत सुदूरपश्चिमलाई धेरैमाथि उठाउन सकिन्थ्यो ।”

यस खेलमा सम्भावना नभएको पनि होइन, राम्रो गर्न सके राष्ट्रिय खेलमा सहभागी भएका खेलाडी विभागीय टोलीले लिने गर्छन् । प्रथमदेखि सातौँ आठौँ स्थान हासिल गरेकासम्मलाई समेत विभागीय टोलीले टिमले लिने गरेको ठकुल्लाले बताउनुभयो । गत जेठ २१ म प्रथम भएका सुनिल र महेन्द्र एपिएफमा आबद्ध भइसकेका र सातौँ भएकी टीकापुरकै पूजा घर्तीलाई पनि सोही टोलीले लिने गरी कुरा भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रशिक्षक ठकुल्लाले सरकारले सहयोग गरेमा सुदूपश्चिमबाट धेरै खेलाडी उत्पादन र राष्ट्रियस्तरमा राम्रो नतिजा हासिल गर्न सकिने बताउनुभयो । “अब केही समयमा राष्ट्रिय खेल हुँदैछ, १४ जनालाई प्रशिक्षण दिने तयारी गरिरहेको छु तर हामीसँग आवश्यक सामग्री र पूर्वाधार छैनन् । खेल सिकाउनका लागि टीकापुरमा १० मिटरको ‘सुटिङ रेञ्ज’ स्थापना गरिएको छ । त्यो पनि काम चलाउ अवस्थामा मात्रै छ । यदी स्थानीय र अन्य सरकारले सहयोग गरेको भए त सुदूरपश्चिमकै नाम रोशन हुन्थ्यो, त्यो गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ”, उहाँले भन्नुभयो ।

हाल टीकापुरमा सशस्त्र प्रहरी बलको तालिम केन्द्र छ । त्यहाँ पनि प्रशिक्षणका लागि जङ्गलमा जाने गरिएको छ । प्रशिक्षक ठकुल्ला भन्नुहुन्छ,“यदि यही सुटिङ रेन्जलाई व्यवस्थित गरेको भए त प्रहरीलाई पनि सहज हुने थियो, खेलाडी उत्पादनलाई पनि सहयोग पुग्ने थियो ।”

न्यूरो उपचारसम्बन्धी सरकारी केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गर्नुभएको छ ।मन्त्री पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । गठित समितिको संयोजकमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका सह प्रा डा गोपाल सेढाईं हुनुहुन्छ ।

यसैगरी, वीर अस्पतालका डा विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डा राजीव ओझा, नेप्लिज एशोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि समितिको सदस्य रहने छन् । 

समितिमा अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साइन्सका सह प्रा डा अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा पुष्पराज पौडेललाई सदस्य सचिव तोकिएको छ । समितिलाई देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त स्थानमा जग्गा खोजीको सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको छ ।

अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात् स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेस गर्न समितिलाई भनिएको छ । हाल न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेकाले केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो । “यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर मन्त्रीज्यूबाट मन्त्रिस्तरीय निर्णयमार्फत अध्ययन समिति गठन भएको हो”, उहाँले भन्नुभयो ।    बिरामीको चाप बढिरहेको न्युरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भइरहेको मन्त्रालयले जनाएको छ ।

उद्योगमन्त्री भण्डारीका एक सय दिन, यस्ता छन् उपलब्धि

काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्षेत्र भित्रपर्ने चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजनामा समावेश भएकामध्ये एक सय दिनको अवधिमा सम्पन्न भएका कामको प्रगति विवरण सार्वजनिक गरिएको छ । यस अवधिमा मन्त्रालयले एक दर्जनबढी काम सम्पन्न गरेको जनाएको छ ।

मन्त्रालयले सञ्चालन गरेको न्यून ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रम, कार्यालयमा स्वचालित सेवा अनलाइन प्रणालीको सुरुआत, वैदेशिक लगानी सहजीकरणलगायत महत्वपूर्ण कार्यसम्पन्न भएका मन्त्रालयले जनाएको छ । 

सरकारले सन् २०३० सम्ममा १० हजार स्टार्टअप सञ्चालन गरी एक लाख व्यक्तिलाई रोजगारी प्रदान गर्ने योजनाअन्तर्गत चालु आवमा उत्साहजनक रूपले काम भइरहेको र यस वर्ष छ सय बढी फर्मलाई स्टार्टअप कर्जाका रूपमा रु पाँच लाखदेखि २५ लाख रकमसम्म प्रदान गरिने योजना छ । उक्त कार्यक्रमबाट स्टार्टअप उद्यमीको वित्तीय पहुँच बढाउन सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेगरी सूचना प्रकाशन गर्दा पाँच हजार एक सय ५८ जना उद्यमीले प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावबाट स्टार्टअप उद्यमी छनोटगरी पुस मसान्तभित्र कर्जा प्रवाह गरिने मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

“मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग बढाउने विषयमा जोड दिएको छ । स्वदेशी वस्तुको उपयोग गर्दा १५ प्रतिशत लागत बढ्नसक्ने भए पनि स्वदेशी व्यवसाय प्रवर्द्धनका लागि उद्योग तथा व्यवसाय सहजीकरण नीति स्वीकृतिका लागि मन्त्रिपरिषद् पेस गरिएको छ । मन्त्रालयअन्तर्गत रहेको कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता कार्य पूर्ण रूपमा स्वचालित सेवा÷अनलाइन प्रणालीमार्फत सञ्चालन गरिएको छ भने उद्योग विभागलगायत निकायमा स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउने कार्य चालु अवस्थामा रहेको छ”, विवरणमा भनिएको छ । 

यस्तै, कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा प्रयोग र रुख कटानसम्बन्धी निर्णय विसं २०८१÷०६÷०२ मा मन्त्रिपरिषद्बाट स्वीकृत भई निर्माण प्रक्रिया अगाडि बढेको छ । एक सय दिने कार्यक्रमअन्तर्गत रहेको चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू सञ्चालन गरिएका छन् । दसैँ, तिहार, छठ लगायतका राष्ट्रिय चाडपर्वहरूलाई मध्यनजर गर्दै यस समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरी उपभोक्तालाई गुणस्तरीय उपभोग्य सामग्री सस्तो मूल्यमा उपलब्ध गरिएको छ । जसका कारण आमनेपाली बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य न्यूनीकरण भएको मन्त्रालयको दाबी छ । 

मन्त्रालयको कार्ययोजनाअनुसार लघु, घरेलु तथा साना उद्योग नीति निर्माण गरिएको छ भने उद्योग विभागमा एक सय ९९ वटा नयाँ उद्योग दर्ता भई ३३ अर्ब ६८ करोड लगानीको प्रतिबद्धता गरिएको छ । यसैगरी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबिच गत असोज १७ मा  सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन विस्तार र १८ हजार नौ सय किलोलिटर क्षमताको पेट्रोलियम भण्डारण ट्याङ्की भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिनेछ । अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने र ९१ हजार नौ सय किलोलिटर क्षमताको पेट्रोलियम भण्डारण ट्याङ्की भारत सरकारको प्राविधिक सहयोगमा निर्माण गरिने छ । 

लामो समयसम्म बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध विभिन्न नौ वटा सार्वजनिक संस्थानहरुको अद्यावधिक स्थिति तयार गरी निजीकरण समितिमा पेस गरिएको छ । विश्वव्यापार सङ्गठनका विज्ञ र नेपालको व्यापार सम्बद्ध मन्त्रालयको सहभागितामा नेपालको राष्ट्रिय व्यापार नीतिको समीक्षा प्रारम्भ भएको छ ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा निर्यात उद्योग स्थानान्तरणलगायत विषयमा संशोधनपश्चात् भैरहवा विशेष आर्थिक क्षेत्रमा १० वटा उद्योग स्थापना गर्न प्लट (जग्गा) अनुमति प्रदान गरिएको छ । उक्त उद्योगबाट कूल रु तीन सय ४४ करोड लगानी र ३५ सय २३ जना रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।

यस अवधिमा थप दुई वटा उद्योगबाट उत्पादन सुरु गरिएको छ । प्लट अनुमति प्रदान गरिएका उद्योगमध्ये तीन वटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको छ । सिमरा विशेष आर्थिक क्षेत्रमा १५ वटा उद्योग स्थापना गर्न प्लट अनुमति प्रदान गरिएकामा उक्त उद्योगबाट कूल रु छ सय ८४ करोड लगानी र १२ सय ८७ जना रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ । प्लट अनुमति प्रदान गरिएका उद्योगमध्ये सात वटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौतासमेत गरिएको छ । दैलेख जिल्लामा पेट्रोलियम उत्खननको कार्य प्रगति राखेकोलगायत काम अगाडि बढाएको मन्त्रालयले आगामी छ महिनाभित्र गर्नुपर्ने काम द्रुतगतिमा अघि बढाएकाले शतप्रतिशत नतिजा निकाल्ने मन्त्रालयले अपेक्षा छ ।

लेबल नलगाई सामान बेच्ने नेपाल डेरी, हात्तीवनलाई ५० हजार जरिवाना

काठमाडौँ-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले रु ५० हजार कारबाही गरेको छ ।

विभागले नेपाल डेरीमा जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकालाई समेत साथमा लिएर संयुक्त रुपमा अनुगमन गर्दा कैफियत पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार रु ५० हजार कारबाही गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले राससलाई जानकारी दिनुभयो । सरसफाइमा ध्यान दिइलेबल लगाएर मात्र सामान बेच्न पनि विभागले नेपाल डेरीलाई निर्देशन दिएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित कालुस्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको पनि प्रवक्ता महर्जनले बताउनुभयो । प्रयोग गर्ने गरेका जुसका दुई वटा नमुना चेकजाँच गर्दा कैफियत नपाइएको उहाँले सुनाउनुभयो । निरीक्षणका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न विभागले सो स्टोरलाई निर्देशन दिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ९ सिनामङ्गलस्थित अरबिका पिजेरिया प्रालिमा काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेको पाइएको थियो । उपोभग्य मिति समाप्त भएको खाद्य पदार्थ पनि सो प्रालिमा देखिएको विभागले जनाएको छ । पेस्ट कन्ट्रोल प्रभावकारी नरहेको र सरसफाइ पनि सन्तोषजनक थिएन । 

सो प्रालिमा उपभोग्य मिति समाप्त भएका तोफु एक प्याकेट, अपर क्रस्त ब्रान्डको वन दुई प्याकेट, टेस्टी पिक्सेल ब्रान्डको स्ट्रबेरी सिरप १ दशमलव ३ केजीको चार डब्बा नष्ट गरिएको थियो । भान्सामा खाना तयारी तत्काल बन्द गरी निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गरेर सोको प्रमाण विभागमा जानकारी गराउन पनि सो प्रालिलाई निर्देशन दिइएको छ । यो प्रक्रिया पूरा गरेर पुनःनिरीक्षणपश्चात् मात्र सेवा प्रदान गर्नेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सो पसललाई कारबाही अघि बढाइएको छ ।

अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित दाउरा थकाली प्रालि र सोही महानगरपालिकाको वडा नं ३५ स्थित रामेश्वर स्वीटस् एण्ड स्न्याक्समा अनुगमनका क्रममा भने कुनै कैफियत नपाइएको विभागले जनाइएको छ । चाडपर्वका अवसरमा विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेसपाको राष्ट्रिय महाधिवेशन माघ अन्तिम साता काठमाडौँमा हुने

कास्की- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)को राष्ट्रिय महाधिवेशन आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

पोखरामा सम्पन्न पार्टीको प्रथम विधान अधिवेशनले माघ २५ गतेदेखि महाधिवेशन गर्ने पार्टी सचिवालय बैठकको निर्णय पारित गरेको नेसपा गण्डकीका अध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

यसैगरी अधिवेशनले पार्टीको नाम परिर्वतनगरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बनाएको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको थापाले बताउनुभयो । 

अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्सीय र ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरेको छ । पदाधिकारीहरूमा एक अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेसी, एक खसआर्य र एक दलित),  एक महासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहनेछन् । पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

पार्टीमा युवाको नेतृत्व स्थापित गर्न स्थानीय तहमा ४०, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको रहेने व्यवस्था पनि गरिएको नेसपाले जनाएको छ । अधिवेशनमा अधिवेशनमा ७१ जिल्ला र विदेशबाट गरी कूल पाँच सय प्रतिनिधि सहभागी रहेका थिए । अधिवेशन कात्तिक ५ गतेदेखि पोखरा सभागृहमा सुरु भएको थियो । 

अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तुत घोषणापत्र र विधानबारे सहभागीबीच समूह बनाएर समूहगत छलफल गरी पारित गरिएको हो ।

विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी ‘नयाँ शक्ति’ नामक अभियान सञ्चालन गर्नुभएको थियो । त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभएका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै नेपाल समाजवादी पार्टी बनेको थियो । 

बेनी-पोखरा चल्ने ट्याक्सीमा मनपरी, एकतर्फी यात्राको ६ हजार भाडा

म्याग्दी, ७ कात्तिकः पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले रु छ हजार भाडा मागेको मागेको गुनासो गर्नुभयो ।

“काउन्टरमा पालो कुरेर बस्ने ट्याक्सीले तोकिएभन्दा बढी भाडा नदिने जान मान्दैनन”, शर्माले भन्नुभयो, “काउन्टरमा ट्याक्सी नराख्ने र यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउँदा हामीलाई मर्का परेको छ ।”

बेनी–पोखरा सडकमा सञ्चालन हुने ट्याक्सीका चालकले चाडपर्वका अवसरमा आफूखुसी भाडा तोक्ने गरेको अन्य यात्रुहरुले पनि गुनासो गर्ने गरेका छन् । 

सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु रु आठ सय ५० का दरले भाडादर निर्धारण गरेको छ । चार जना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम रु तीन हजार चार सय भाडा तिर्नुपर्छ ।

    तर ट्याक्सी चालकले भने रिजर्भमा गर्दा रु चार हजारदेखि छ हजार र रिजर्भ नहुँदा प्रतियात्रु रु एक हजार दुई सय ५० देखि रु दुई हजार भाडा लिने गरेको बेनीका कृष्ण खत्रीले गुनासो गर्नुभयो । दसैँ तिहारको समयमा यात्रुको चाप र सवारी साधनको अभावको मौका छोपेर बेनी–पोखरा सडकमा जिप र ट्याक्सीले बढी भाडा असुल गरेको उहाँले दाबी गर्नुभयो । 

कूल ८३ किलोमिटर दुरीको बेनी–पोखरा सडकमा सेवा दिने दुई सयभन्दा बढी ट्याक्सी छन् । उपचारका लागि अस्पताल, सरकारी कार्यालय, व्यक्तिगत र व्यावसायिक कामले पोखरा जान आउनका लागि म्याग्दीबासीले ट्याक्सी प्रयोग गर्छन् । 

गण्डकी प्रदेशमा कास्कीपछि म्याग्दीमा धेरै ट्याक्सीको चल्छन् । मुस्ताङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थल घुम्न आउने र फर्कने यात्रुहरुको चाप पनि बढेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेर बढी भाडा असुल गर्ने, यात्रुलाई दुख दिने र सवारी साधन नपाएर अलपत्र परेका सर्वसाधारणलाई सहयोग गर्दै आएको बताउनुभयो । तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही पनि भइरहेको केसीले बताउनुभयो । तोकिएभन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई रु पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना तिराउने व्यवस्था रहेको उहाँको भनाइ छ । 

बेनी–पोखरा सडकमा ट्याक्सी सेवा दिँदै आएको बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापा (कुमार)ले तोकिएभन्दा बढी भाडा नलिन सचेत बनाएको र त्यस्तो पाइए कारबाहीका लागि प्रहरीलाई सघाउने प्रतिबद्धता जनाउनुभयो । 

गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले चाडपर्वको समयमा बजार अनुगमन, यातायात भाडादरमा हुने ठगी र कालोबजारी नियन्त्रणका लागि सांसद गणेश गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको छ । 

उपसमितिका सदस्य रहेका म्याग्दीबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चाडपर्वको समयमा सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटनाको जोखिमका साथै तोकिएको भन्दा बढी भाडा असुल हुँदा यात्रुहरु मर्कामा परेको पाइएको बताउनुभयो । उहाँले 

यातायात व्यावसायी, प्रशासन र प्रहरीलाई गुनासोबारेमा जानकारी गराएर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

काठमाडौँ, ७ कात्तिक: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ ।

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ । 

राष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा

कास्की, ७ कात्तिकः नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मङ्गलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत हुनुहुन्छ । वाई वाई अण्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखि सुरु हुँदैछ ।

प्रादेशिक टोलीको छनोटका लागि सङ्घले गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रङ्गशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । तर सो प्रतियोगिता प्रतिकूल मौसमका कारण पूरा सञ्चालन हुन सकेको थिएन ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी  प्रशिक्षकहरुको रायका आधारमा पहिलो चरणमा ३७ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षणपछि अन्तिम टोलीका खेलाडी चयन गरिएको हो ।

टोलीमा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अश्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहनुभएको छ ।

वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार हुनुहुन्छ । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेषक ढकाल रहनुभएको छ । 

गण्डकीको टोली सन्तुलित रहेकाले उपाधिको दावेदार रहेको अध्यक्ष सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकीको टिममा नयाँ र अनुभवी दुवै खेलाडी छन् । टोली सन्तुलित छ । उपाधिको आस गरेका छौँ ।” गण्डकीले प्रतियोगिताको आफ्नो पहिलो खेल कात्तिक ११ गते मधेस प्रदेशसँग खेल्नेछ । 

बागलुङ कालिका मन्दिरमा बडादसैँमा ४५ लाख भेटी सङ्कलन

गलकोट (बागलुङ), ७ कात्तिकः बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ ।

बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत सङ्कलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।  

असोजमा भेटीमार्फत रु २२ लाख ८० हजार, परेवा बिक्रीबाट रु ११ लाख ३६ हजार दुई सय ५०, सटर भाडा रु तीन लाख ८५ हजार, बोकाको बली शुल्कबाट रु चार लाख चार हजार, चामल बिक्रीबाट रु ९६ हजार सङ्कलन भएको छ । साथै कुखुरा बली शुल्कबाट रु ३० हजार आठ, राँगा बलीबाट रु १८ हजार चार सय, विवाह शुल्क रु १० हजार पाँच सय, आर्थिक सहयोग रु एक लाख ४७ हजार आठ सय ७१, पण्डितबाट प्राप्त शुल्क रु १६ हजार चार सय र व्रतबन्धबाट रु तीन सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।     

साथै असोजमा विभिन्न शीर्षकमा रु १३ लाख ९० हजार खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत्लगायत उक्त रकम खर्च भएको छ । 

चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्याङ्क रहेको छ । गत चैते दसैँमा पनि रु ४० लाख भेटी सङ्कलन भएको थियो । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

वासिङ्टन, डिसी, ७ कात्तिकःअर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुग्नु भएको छ ।
उहाँलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गर्नु भएको थियो ।

मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उहाँले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

‘यो मायालाई फकाउन’ बोलको म्युजिक भिडियो सार्वजनिक

‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा निर्माणमा आइतबार सार्वजनिक गरिएको हो ।

गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् ।

विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यस गीत सिडनीस्थित नेपमेलोको स्टूडियोमा रेकर्ड गरिएको हो ।लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिडनीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन्। गायक सम्राटको यो पहिलो गीत हो ।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ ।
गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन् ।

नेपाली सांगीतिक आकाशमा थोरै भएपनि चम्किने ठाउँ खोज्दै हिँडेका गायक सम्राटको यो पहिलो गीत तपाईँहरूलाई कस्तो लाग्छ गीत हेरेर सुनेर प्रतिक्रिया दिनुहोला ।गायक सम्राट र गायीका प्रीतीको यो कोशेलीले दर्शक तथा श्रोताहरुको मन जीत्ने आशा सहीत नेपमेलो परीवारको तर्फबाट शुभकामना ब्यक्त्त गर्न चाहन्छौ। ।

गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ।