`

पश्चिमी देशहरूसँग आणविक हतियार नमागेको युक्रेनको स्पष्टीकरण

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसविरुद्ध आफ्नो मुलुकको रक्षाका लागि पश्चिमी साझेदारहरूसँग आणविक हतियार माग नगरेको बताउनुभएको छ ।

“हामीले आणविक हतियार दिनुपर्छ भनेर माग गरिरहेका छैनौँ”, उहाँले केही दिनअघि किएभले या त नाटो सदस्यता वा आणविक हतियार खोज्ने सङ्केत गर्नुभएपछि पत्रकारहरूलाई भन्नुभयो ।  

सन् १९९१ मा सोभियत सङ्घ विघटन हुँदा युक्रेनले विश्वको तेस्रो ठूलो आणविक हतियार भण्डार प्राप्त गरेको थियो । रुस र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा ग्यारेन्टी प्राप्त गरेपछि तीन वर्षपछि उसले ती हतियारहरू समर्पण गरेको थियो ।

बुडापेस्ट मेमोरेन्डम नामक सुरक्षा ग्यारेन्टीले हस्ताक्षरकर्ताहरूलाई युक्रेन र अन्य पूर्व–सोभियत गणराज्यहरूको क्षेत्रीय अखण्डता र स्वतन्त्रताको सम्मान गर्न आवश्यक थियो ।

“हामीले आणविक हतियार त्यागेका थियौँ, हामीले नाटो पाएनौँ”, सोमबार राति पत्रकारहरूलाई दिएको र प्रतिबन्धित रूपमा जारी गरिएको टिप्पणीमा जेलेन्स्कीले भन्नुभयो, “हामीले पाएका सबै पूर्णस्तरको युद्ध र धेरै पीडितहरू थिए, त्यसैले आज हामीसँग एउटा मात्र बाटो छ, हामीलाई नाटो चाहिन्छ, किनभने पुटिनलाई रोक्नसक्ने हतियार हामीसँग छैन ।”

गत साता युरोपेली सङ्घको शिखर सम्मेलनमा आफूले गरेको टिप्पणीको स्पष्टीकरण दिँदै उहाँले भन्नुभएको थियो, “या त युक्रेनसँग आणविक हतियार हुनेछ, जसले हाम्रो रक्षा गर्नेछ, वा हामीसँग कुनै प्रकारको गठबन्धन हुनुपर्छ ।”

यी टिप्पणीहरूले मस्कोमा आक्रोश बढाएको थियो । “यो एक खतरनाक उत्तेजना हो”, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कजानमा ब्रिक्स शिखर सम्मेलनअघि चेतावनी दिँदै भन्नुभयो, “यस दिशामा कुनै पनि कदमको सामना सम्बन्धित प्रतिक्रियाले गरिनेछ ।”

मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार रूसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युक्रेन द्वन्द्व शान्तिपूर्ण र ‘छिटो’ समाधान होस् भन्ने चाहेको बताउनुभएको छ ।

कजान शहरमा कडा सुरक्षाबीच आयोजित तीन दिने सम्मेलन २०२२ मा युक्रेन द्वन्द्व सुरु भएयता रूसमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । सम्मेलनमा पुटिनले पश्चिमको ‘प्रभुत्व’ लाई चुनौती दिने उद्देश्यले गठबन्धन निर्माण गर्न खोजिरहनुभएको छ ।

“रूस र युक्रेनबीचको द्वन्द्वबारे हामी निरन्तर सम्पर्कमा छौँ”, हात मिलाएर अङ्कमाल गरेपछि मोदीले पुटिनलाई भन्नुभयो, “विवादहरू शान्तिपूर्ण रूपमा मात्र समाधान हुनुपर्छ भन्ने हाम्रो विश्वास छ, हामी शान्ति र स्थिरता छिटो बहाली गर्ने प्रयासहरूलाई पूर्ण समर्थन गर्छौँ ।”

पुटिनले रूस र भारतबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को प्रशंसा गर्दै सम्बन्धलाई थप विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

युक्रेन द्वन्द्व सुरु भएदेखि नयाँदिल्लीले कूटनीतिक सन्तुलन कायम राख्दै किएभलाई मानवीय सहायताको प्रतिबद्धता जनाए पनि रूसको आक्रमणको स्पष्ट निन्दा गर्नबाट बचेको छ ।

भारतले आफूलाई सम्भावित मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्दै मोदीले वार्तालाई प्रोत्साहन गर्ने प्रयासमा अगस्टमा किएभ र जुलाईमा मस्कोको भ्रमण गर्नुभयो ।   चिनियाँ राष्ट्रपपति सी जिनपिङ, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित करिब दुई दर्जन अन्य नेताहरू शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ ।

एजेन्डाका मुख्य मुद्दाहरूमा स्विफ्टको विकल्पका रूपमा ब्रिक्स नेतृत्वको भुक्तानी प्रणालीको पुटिनको विचार र मध्यपूर्वमा बढ्दो द्वन्द्व समावेश छन् । अन्तर्राष्ट्रिय वित्तीय नेटवर्क स्विफ्टबाट रूसी बैंकहरूलाई २०२२ मा निकालिएको थियो ।

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्दै

काठमाडौँ, ६ कात्तिक : दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।

फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।

 फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई ल्याएर काठमाडौँमा एक घण्टा रोकेर दुबई उड्नेगरी प्राधिकरणबाट अनुमति पाएको छ । टिकट र थप जानकारीलाई फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्नसकिने जनाइएको छ ।

यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ताको सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ ।

यसैबीच फलाइ दुबईको उडान सञ्चालन टीमले पनि हालै विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक तिवारीले बताउनुभयो ।  यस उपलब्धिमा प्रधानमन्त्रीको विशेष निर्देशन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सहयोग, मुख्यसचिवको पहल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्व र फ्लाई दुबईको नेपाल प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल प्रालिको समन्वयमा सम्भव भएको उहाँले बताउनुभयो ।

 यस्तै जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनःउडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनःसोही विमानस्थलमा उडान सुरु गर्न लागेको जनाइएको छ । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने गरी अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै १० महिनापछि उडान स्थगित गरिएको थियो ।

त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले हालै गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । “सरकारको कार्ययोजनाअनुरूप विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ”, उहाँले भन्नुभयो,“अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको छ ।”

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् ।

जनअपेक्षाअनुसार धेरै काम भएका छन्, भरपर्दो सेवा दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ, ६ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले जनअपेक्षाअनुसार मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मेलम्ची आयोजना सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रको पुनःस्थापनासम्मका कार्यलाई विशेष ध्यान दिइएको बताउनुभयो ।

मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको मन्त्री यादवको दाबी छ । उहाँले बडादसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने आफ्नो अठोटअनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको बताउनुभयो ।

“उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको छ”, मन्त्री यादवले भन्नुभयो, “मेलम्ची आयोजनाको पुनःसञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिए ।” 

मेलम्चीको खानेपानी काठमाडौँ आएसँगै यहाँको खानेपानी सङ्कट कम गर्न महत्त्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै मन्त्री यादवले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरागरी काममा तीव्रता दिनसमेत निर्देशन दिएको बताउनुभयो । 

“स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो”, मन्त्री यादवले भन्नुभयो, “निरीक्षणका क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजना अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ ।”

पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको मन्त्री यादवले जानकारी दिनुभयो । “स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ । हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौँ”, मन्त्री यादवले भन्नुभयो । त्यसैगरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रमा नियमित आपूर्ति सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको दाबी गर्दै मन्त्री यादवले असोज महिनामा गएको अविरल वर्षाका कारण धोवीघाट फोहर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरण अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँले तत्काल मर्मत थाल्न निर्देशन दिइएको र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन । हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौँ ।” 

मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गतिदिन चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौतागरी निर्माण कार्य अघि बढाइसकेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ । मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।

यस्तै मन्त्रालयले देशभरिका विभिन्न जिल्लामा २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनमा ल्याएको छ । पुराना योजना मर्मतदेखि नयाँ आयोजना निर्माणसम्मका काम समावेश छन् । मन्त्रालयले यी परियोजनालाई छिटो सम्पन्न गर्नका लागि अतिरिक्त बजेटको व्यवस्थापनका लागि प्रयास गरिरहेको मन्त्री यादवले बताउनुभयो । 

गत असोजमा आएको अविरल वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले पाँच सय २५ वटा खानेपानी आयोजनामा क्षति पुर्‍याएको मन्त्री यादवले जानकारी दिनुभयो । मन्त्रालयले ती आयोजनाको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुनःस्थापना प्रक्रिया सुरु गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा अस्थायी पाइपलाइनमार्फत पानी आपूर्ति गरिएको छ भने क्लोरिन वितरण गरेर स्वच्छ पानी सुनिश्चितता गराइएको छ ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा पनि शीघ्र सुधारको काम थालेको छ । काभ्रेपलाञ्चोक र ललितपुरमा नयाँ पाइप बिछ्याउने र मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ । मन्त्री यादवले भन्नुभयो, “स्थानीय सरकारसँग सहकार्य गरी समस्या समाधान गर्न हामी पूर्ण प्रतिबद्ध छौँ ।” उहाँले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन अगाडि बढाएको र भविष्यमा यस्ता समस्या नदोहोरिने गरी पुनःस्थापना गर्ने योजनामा मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।

मन्त्रालयले देशभरिका विभिन्न क्षेत्रमा आयोजना सञ्चालन गरी स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउँदै आएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा खानेपानी सुधार आयोजनामार्फत ४८ हजार पाँच सय जनसङ्ख्यालाई, विराटनगरमा ४५ हजार नौ सय ८७ जनसङ्ख्यालाई, र झापाको बेलडाँगीमा २३ हजार सात सय ४३ जनसङ्ख्यालाई स्वच्छ खानेपानी आपूर्ति गरिँदै छ । यस्तै, वीरगञ्जमा १४ वटा नयाँ खानेपानी आयोजनाको निर्माणकार्य सुरु भइसकेको छ ।”

मन्त्री यादवको सय दिने कार्याकालमा देखिएको परिवर्तनले जनताको जीवनमा सकारात्मक प्रभाव पारेको र मन्त्रालयको कामलाई सजगता, पारदर्शिता र गतिका साथ अघि बढाएकाले  जनताले खुलेर प्रशंसा गरेको मन्त्री यादवले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयको प्राथमिकता भनेको नागरिकलाई गुणस्तरीय र भरपर्दो सेवा दिने हो । हामी जनअपेक्षाअनुसार काम गरिरहेका छौँ ।” 

जनतालाई भरपर्दो सेवा दिन निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले भन्नुभयो, “मुलुकका सबै नागरिकले स्वच्छ पानी पाउने सुनिश्चितता गर्न कुनै कसर बाँकी राख्दैनौँ । खानेपानी सुधारमा आएको यो परिवर्तन स्थायी बनाउनेछौँ ।”

मन्त्री यादवले मन्त्रालयदेखि खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र प्रतिनिधिहरूसँगै सचिवालयले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको कार्यसम्पादन सम्झौताअनुरूप एक सय दिनभित्र गरिनुपर्ने कामहरूमध्ये अधिकांश गर्न सफल भएको बताउनुभयो ।

उक्त पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यले मन्त्री यादवको सक्रिय अनुगमन र समन्वयले सेवा प्रभावकारी बनाएको एवं मन्त्रालयको कार्यसम्पादनमा गति आएको बताउनुभयो । उहाँले मन्त्रालयले आधुनिक प्रविधिको प्रयोग र जनसमुदायसँगको संवादबाट नीतिहरूको प्रभावकारिता बढाएको जानकारी दिनुभयो ।

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

काठमाडौं, ६ कात्तिक- काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल माया समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

बाँके, राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका-६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं, ६ कात्तिक- सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ४६ हजार ५ सय ५ रूपैयाँ सहित भोजपुर हतुवागडी गाउँपालिका-७ बस्ने २३ वर्षीय समुथल राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ आउँदै गरेको को.१ ह ९३३० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय २० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय हेमनारायण यादव र सोही उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय विजय लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय दुहबी समेतबाट खटिएको प्रहरीले विराटनगरबाट दुहवीतर्फ आउँदै गरेको को.१८ प २२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देही, मायादेवी गाउँपालिका-८ सुनारटोलस्थित सरस्वती घर्ती मगरको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका बस्ने १९ वर्षीय सागर कोईरी समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१६ दरैया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-१२ मनहेरा सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय नरेश राना र २८ वर्षीय सेवाराम राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सलोनको फिल्म ‘रंगी’ को सुटिङ सुरु

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ सुटिङ सुरु भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको मङ्गलबारबाट सुटिङ सुरु भएको हो ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्ममा फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ ।
निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।

गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा

गुल्मी, ६ कात्तिक- विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।

टिकट काटेर पनि पटकपटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै सास्ती पाइएको यात्रुहरूले बताउने गरेका छन् । चाडपर्वको समयमा समेत लगातार उडान अवरुद्ध भइरहेका छन्, जसले नागरिक आक्रोसित छन् । 

बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो । साताको दुई पटक नियमित उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान गर्न नसकेको उहाँले जानकारी दिनुभयो । “मौसम खराबीकै कारण गत असारको दोस्रो सातादेखि जिल्लामा जम्मा पाँच वटा मात्र हवाई उडान भएका छन् । मौसम ठिक होला भन्ने अपेक्षासहित रेसुङ्गा‐काठमाडाँै र काठमाडौँ‐रेसुङ्गा आवतजावतका लागि टिकट काटे पनि अन्तिममा स्थगन हुँदाको समस्या हामीले महुसस गरेका छौँ तर मौसमको अवस्था हाम्रो नियन्त्रणमा हुँदैन”, स्टेशन प्रमुख थापाले भन्नुभयो । 

गुल्मी‐काठमाडाँैका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनेटर जहाजले उडान गर्दै आइरहेको छ । यात्रुको चापका कारण साताको चार पटकसम्म यहाँ उडान हुँदै आएको थियो ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट रु सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेकोे छ । जिल्लामा गत एक वर्षअघिदेखि व्यावसायिक रुपमा नियमित रुपमा हवाई उडान सुरु गरिएको हो ।

भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।

उक्त विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताए ।

‘विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच भयो । शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको हो’, सूचना अधिकारी भूलले भने, ‘अहिले विमानस्थलको सबै उडान सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् । व्यागेज सम्बन्धित यात्रुलाई हस्तान्तरण गर्ने काम भइरहेको छ । उक्त विमानले नियमित उडानमा काठमाडौँबाट यात्रु लिएर नयाँदिल्ली उड्ने तयारीमा रहेको छ ।’

भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा मंगलबार अपरान्ह ४ः३० बजे अवतरण गरेको भिस्ताराकोे उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले ४ः३० बजेदेखि साँझ ७ बजेसम्म विमानको जाँच गरेको थियो ।

अज्ञात समूहले भिस्ताराको एयरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि  काठमाडौँ विमानस्थलमा उक्त विमानलाई पार्किङवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो । विमानका यात्रुहरुलाई विशेष रुपमा शरीर खानतलासी गरेर उच्च निगरानीका साथ अध्यागमनबाट बाहिर पठाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि सेनाको विस्फोटक पदार्थ निष्क्रय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो । विमानमा सवार एक सय ५७ यात्रुलाई खानतलासी गर्दा कुनै शङ्कास्पद वस्तु फेला नपरेको उनले बताए । बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान गरिएको हो ।

कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी

चितवन, ६ कात्तिक : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा लागेकाहरू रोजगारी सिलसिलामा विदेश जानुपर्ने बाध्यता हट्नेगरी मन्त्रालयले काम गरेको बताउनुभएको छ ।

नेपाल किसान महासङ्घ जिल्ला समिति चितवनले आज यहाँ आयोजना गरेको किसानसँग अन्तरक्रियामा अधिकारीले कृषकको समस्या समाधान गर्दै विदेश पलायन हुने समस्या रोक्नेगरी काम गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसान कर्म गर्नेहरू बाहिर जाने स्थिति र खाडीमा जानुपर्ने अवस्था नहोस् भनेर खाली जमिनको उपभोग गर्ने नीति सरकारले ल्याएको छ ।” खाली जमिनमा माटो सुहाउँदा खेती गर्नेगरी मन्त्रालयले काम अघि बढाएको उहाँले बताउनुभयो ।

मन्त्री अधिकारीले किसानका समस्याहरू समाधान गर्न सरकार लागिपरेको स्पष्ट पार्दै कुनै पनि मन्त्रालय वा क्षेत्रमा कमजोरी गर्ने छुट यो सरकारलाई नभएको बताउनुभयो । उहाँले दूधको आयात खोल्ने प्रक्रियामा सरकार नरहेको जानकारी दिँदै अहिले दुई ठूला दल सरकारमा रहेकाले कमजोरी गर्ने छुट कसैमा पनि नरहेको बताउनुभयो ।

सङ्घका जिल्ला अध्यक्ष नीलकण्ठ रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषक विष्णु अर्याल, गीता देवकोटा, किशोर बगाले, भरत घिमिरे, शिव शर्मा पौडेल, शालिग्राम पौडेल, परमजीवी ढकाल, विष्णुहरि पन्तलगायतले अहिले किसानले पाएका समस्या समाधान गर्न मन्त्रालय लाग्नुपर्ने जोड दिनुभयो । उहाँहरूले किसानलाई दिइएको अनुदान बास्तविक किसानसम्म पुग्न नसकेको, विषादी नियन्त्रण गर्न नसकिएको, स्थानीय तहले जग्गा वर्गीकरण गर्दा जग्गाको उयोगिता र आवश्यकतालाई ध्यान दिन नसकेको, नेपाली उत्पादनले बजार पाउन नसकेको जस्ता समस्या राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका कार्यवाहाक सभापति राजीप न्यौपाने, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीलगायतले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि आग्रह गर्नुभएको थियो । उत्पादन हेरेर अनुदान दिनसके वास्तविक किसान लाभान्वित हुने उहाँहरुको भनाइ थियो ।

पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी

चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरू मङ्गलबार रूसको कजान शहरमा विकासशील अर्थतन्त्रहरूको ब्रिक्स गुटको शिखर सम्मेलनका लागि आइपुग्नुभएको छ । सम्मेलनलाई क्रेमलिनले पश्चिमी उदार व्यवस्थाको विरोध गर्ने केन्द्रविन्दु बनाउन खोजेको छ ।

रूसी राष्ट्रपति पुटिनका लागि तीन दिने यो सम्मेलनले युक्रेनमा रूसको कारबाहीका कारण रूसलाई एक्ल्याउने अमेरिका नेतृत्वको प्रयासहरूको असफलता देखाउने शक्तिशाली माध्यम पनि प्रदान गर्नेछ ।

क्रेमलिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले ३६ देशको सहभागिता र २० भन्दा बढी देशका राष्ट्र प्रमुखहरूको प्रतिनिधित्वसहित यस शिखर सम्मेलनलाई ‘रूसद्वारा आयोजित सबैभन्दा ठूलो विदेश नीति कार्यक्रम’ भन्दै प्रशंसा गर्नुभयो ।

सुरुमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका समावेश भएको यो गठबन्धनले द्रुत गतिमा विस्तार गरी इरान, इजिप्ट, इथियोपिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालाई समावेश गरेको छ । टर्की, अजरबैजान र मलेसियाले औपचारिक रूपमा सदस्यता लिन आवेदन दिएका छन् र केही अन्यले सदस्य बन्न चासो व्यक्त गरेका छन् ।

पर्यवेक्षकहरूले ब्रिक्स शिखर सम्मेलनलाई पश्चिमसँगको बढ्दो तनावबीच ग्लोबल साउथको समर्थन प्रदर्शन गर्ने र आर्थिक तथा वित्तीय सम्बन्धहरू विस्तार गर्न मद्दत गर्ने क्रेमलिनको प्रयासको रूपमा हेरेका छन् ।

प्रस्तावित परियोजनाहरूमा विश्वव्यापी बैंक मेसेजिङ नेटवर्क स्विफ्टको विकल्प प्रदान गर्ने र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न र साझेदारहरूसँग व्यापार गर्न अनुमति दिने नयाँ भुक्तानी प्रणालीको सिर्जना समावेश छ ।

पुटिनले शिखर सम्मेलनको साइडलाइनमा करिब २० वटा द्विपक्षीय बैठक गर्नुहुने तय छ । यसमा चीनका सी, भारतका मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँगको मङ्गलबारको भेटवार्ता समावेश छ ।

शिखर सम्मेलनले सी र पुटिनबीचको नजिकको सम्बन्धलाई रेखाङ्कित गरेको छ । उहाँहरूले रूसले २०२२ मा युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गर्नुभएको थियो । मेमा बेइजिङमा र जुलाईमा काजाकिस्तानमा साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा गरी उहाँहरूबीच यस वर्ष कम्तीमा दुई पटक भेट भइसकेको छ ।

भारतको मुख्य प्रतिद्वन्द्वी चीनसँग रूसको नजिकको सम्बन्ध हुँदाहुँदै पनि शीत युद्धको समयदेखि नै भारतले मस्कोलाई परीक्षित साझेदारका रूपमा लिएका कारण रूससँग भारतको सहकार्य पनि फस्टाएको छ ।

पश्चिमी सहयोगीहरूले भारतलाई युक्रेनमा युद्ध अन्त्य गर्न मस्कोलाई मनाउन अझ सक्रिय हुन चाहेका छन् तर मोदीले रूसको निन्दा गर्नबाट बच्दै शान्तिपूर्ण समाधानमा जोड दिनुभएको छ ।

जुलाईमा रूसको भ्रमण गर्नुभएका मोदीले यो भ्रमणले दुई देशबीचको घनिष्ठ मित्रतालाई प्रतिबिम्बित गर्ने बताउनुभयो । पुटिनसँगको बैठकको सुरुमा बोल्दै उहाँले युक्रेनमा शान्तिका लागि नयाँदिल्लीको प्रयासलाई पनि पुनः पुष्टि गर्नुभयो ।

पुटिनले रूस र भारतबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को प्रशंसा गर्नुभयो ।

बिहीबार पुटिनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नुहुने कार्यक्रम छ । गुटेरेस दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक रूसको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले युक्रेनमा रूसको कारबाहीको पटक–पटक आलोचना गर्नुभएको छ ।

सञ्चार मन्त्रालयको शतप्रतिशत उपलब्धि

काठमाडौँ, ६ कात्तिक : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको सय दिनको कार्ययोजना शतप्रतिशत पूरा गरेको छ ।

मन्त्रालयलाई तोकिएको लक्ष्य र जिम्मेवारी पूरा हुनमा सरकारका प्रवक्ता एवं मन्त्री पृथ्वी सुब्बा गुरुङ र सचिव राधिका अर्यालको तदारुकता र कर्मचारीको उच्चस्तरको कार्यसम्पादन रहेको मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

राष्ट्रिय समाचार समिति(रासस) सँग आज संवाद गर्ने क्रममा उहाँले मन्त्रालयलाई दिइएका १५ वटा कार्य समयमै पूरा गरेको जानकारी दिनुभयो । राससको सेवा २४ सै घण्टा सञ्चालन हुनु, रासस सङ्ग्रहालय खोल्नु, मैथिली र नेपाल भाषामा समाचार सेवा सञ्चालन गर्नु पनि मन्त्रालयको सय दिने कार्ययोजना अनुसार नै सम्पन्न भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताउनुभयो ।

त्यस्तै मन्त्रालयले सय दिने कार्ययोजनामा गोरखापत्रमा ४३ भाषामा एक राना थारु भाषा थप गरेर ४४ भाषामा समाचार सम्प्रेषण गर्नु, रेडियो नेपालमा दनुवार भाषा थप गरेर २५ वटा मातृभाषामा समाचार सेवा सञ्चालन गर्नु, हुम्लामा फाइवर टु द होम (एफटिटिएच) विस्तार गर्नु, तालिम सञ्चालन, सुरक्षा अडिट सम्पन्न, फिक्सड फाइबर विस्तार, मोबाइल सेवा विस्तार, फोरजी (एलटिइ) प्रयोगकर्ता २ प्रतिशत थपगरी ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार गर्नेलगायत काम पूरा गरेको छ ।

प्रवक्ता ठाकुरले सीमित स्रोतसाधानमा महत्त्वपूर्ण काम सम्पादन पूरा गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । “भौगोलिक चुनौती र सीमित स्रोतसाधनमा काम सम्पादन गर्नु सजिलो थिएन”, उहाँले भन्नुभयो, “यसमा मन्त्रालय मातहतका कर्मचारी, प्रमुखको कडा परिश्रम र मन्त्री एवं सचिवको प्रोत्साहनले समयमै लक्ष्य पूरा गर्न सम्भव भएको हो ।” उहाँका अनुसार मन्त्रालयले पूरा गरेको काम एकल नभई सामूहिक सहकार्यको प्रतिफल रहेको बताउनुभयो । आगामी त्रैमासिक कार्ययोजना अझै गुणस्तर र प्रभावकारी ढङ्गले सफल बनाउन जुझारु रहेको उहाँले सुनाउनुभयो ।

यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू

काठमाडौं ।  रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगतरकानुनी, प्रशासनिक, विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना र द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोग आदानप्रदानका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको जनाएको छ।

वर्तमान सरकार गठन भएको सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यसअवधिमा विभिन्न नौ क्षेत्रमा ५६ भन्दाबढी काम सम्पादन भएको जानकारी दिए।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणलाई थप गति दिइएको र सय दिनको अवधिमा १ दशमलव ०४ प्रतिशत थप भौतिक प्रगति भई हालसम्म उक्त आयोजनाको समष्टिगत भौतिक प्रगति ३६ दशमलव ४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ। आयोजनाको कुल वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत रहेको छ।

द्रुतमार्गअन्तर्गत प्याकेज नं २ मा पर्ने धेद्रे सुरुङ गत साउन २१ गते छिचोल्नेकार्य सम्पन्न भएको, खोकना–बुङ्गमती क्षेत्रमा आवश्यक भई अधिग्रहण गरिएका जग्गाको मुआब्जामा पूँजीगत लाभकर छुट दिन मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशन गरिएको छ।

द्रुतमार्गको सुरु बिन्दु निर्धारण तथा सवारी आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गतबाट विस्तृत सम्भाव्यता अध्ययन पूरा भई प्रतिवेदन प्राप्त भएकामा अध्ययनको चरणमा रहेको मन्त्रालयले जनाएको छ।

द्रुतमार्गअन्तर्गत मौरीभीर खण्डको निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) हेरफेर गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

आयोजनाअन्तर्गत रहेका जम्मा ८९ पुलमध्ये ८५ स्थानका पुल निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको, हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँच वटा पुलहरुको निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

यस्तै, कर्णाली कोरिडोर (लालिबगर–दुलिकुन्ना र घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला खण्ड) सडक आयोजनामा शून्य दशमलव २९ प्रतिशत थप प्रगति हासिल भई २०८१ असोज मसान्तसम्मको समष्टिगत प्रगति १३ दशमलव ७९ किमी पुगेको छ।

कोसी कोरिडोर (च्याम्ताङ–घोङघप्पा खण्ड) मा शून्य दशलव ४१ किमी, महाकाली कोरिडोर दार्चुला–टिङ्कर (तुसारपानी–टिङ्कर खण्ड) सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव २ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव ३२ किमी सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको छ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृत भई विभिन्न प्याकेजमा काम भइरहेको र चालु आवको असोज मसान्तसम्म आयोजनाको भौतिक प्रगति २४ दशमलव २१ र वित्तीय प्रगति १७ दशमलव २२ प्रतिशत रहेको छ।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच भएको कार्यसम्पादन सम्झौताका आधारमा मन्त्री र सचिव तथा सचिव र प्रधान सेनापतिबीच कार्यसम्पमादन सम्झौता गरी तदनुसार कार्य भइरहेको, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट दैनिक, साप्ताहिक तथा पाक्षिक रूपमा राष्ट्रिय सुरक्षा विश्लेषण प्रतिवेदन तयार गरी सम्बन्धित पदाधिकारीसमक्ष नियमित रूपमा सम्प्रेषण गरिएको मन्त्रालयले जनाएको छ।

यसअवधिमा राष्ट्रिय सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत कार्ययोजनामा रक्षा मन्त्रालय र नेपाली सेनालाई जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिएको छ। राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ कार्यान्वयनको लागि नेतृत्व, अन्तर–निकाय समन्वय र सहजीकरण गरिएको छ।

राष्ट्रिय सेवा दलको नयाँ विधेयकको मस्यौदा तर्जुमा, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयकको मस्यौदा माथि विभिन्न मन्त्रालयबाट प्राप्त राय/सुझावलाई सम्बोधन गरी मस्यौदा पुनरावलोकन/परिमार्जन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८१ को मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा राय/सहमतिको लागि पठाइएको, सैनिक प्राविधिक सेवा नियमावली, सैनिक विविध सेवा नियमावली, सैनिक हवाई सेवा नियमावली र सैनिक प्राड सेवा नियमावलीको संशोधन मस्यौदा तयार गरिएको छ।

यस्तै नेपाली सेना भर्ना छनोट कार्यविधिको मस्यौदा तथा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको प्रवक्ता आचार्यले जानकारी दिए।

गत असोज ११ र १२ गते परेको मुसलधारे वर्षापछि आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा नेपाली सेना तत्काल परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

उद्धार कार्यमा नेपालभरी तीन सय ८३ स्थानमा प्रत्यक्षरूपमा सात हजार चार सय ८७ सैनिक फौज खटिएको, सात स्थानमा हवाई उडानमार्फत खाद्यान्न ढुवानी गरिएको, १६ वटा शव हवाई उडानमार्फत व्यवस्थापन गरिएको र उक्त बाढीको समयमा सिस्नेरी खोलामा आएको बाढीमा फसेका ३२ जना फुटबल खेलाडीको सकुशल उद्धार गरिएको छ।

यस अवधिमा सुत्केरी ४५, घाइते तथा बिरामी ३१, मनसुनजन्य विपद्मा परेका नौ सय ५९ गरी एक हजार ३५ जनाको नेपाली सेनाद्वारा सकुशल हवाई उद्धार गरिएको प्रवक्ता आचार्यले जानकारी दिए। बाढी पीडितलाई वितरणको लागि करिब २३ हजार नौ सय ६४ केजी राहत सामग्री र चार हजार चार सय ५० लिटर डिजेल हवाई ढुवानी गरिएको छ।

बाढीले बगाएको सिन्धुलीको खुर्कोटस्थित पुलको ठाउँमा नेपाली सेनाद्वारा ‘बेलिब्रिज’ जडान गरी अवरुद्ध सवारी आवागमन सुचारु गरिएको तथा विभिन्न ४७ स्थानमा पहिरो पन्छाउने तथा सात स्थानमा तटबन्ध निर्माण गर्ने कार्य सम्पन्न भएको छ।

जलवायु परिवर्तनको असरबाट सोलुखुम्बुमा हिमताल विस्फोट भई थामे क्षेत्रमा आएको बाढीमा फसेका मानिसको उद्धारमा एक सय ७९ सेनाका जवान खटाइएको प्रवक्ता आचार्यले जानकारी दिए।

मुलुकका विभिन्न २३ उपचार केन्द्रबाट एक हजार २६ जना सर्पदंशबाट पीडितको उपचार, २४ जनाबाट रक्तदान, वीरेन्द्र अस्पतालबाट असोज मसान्तसम्म दुई लाख ८३ हजार तीन सय ८२ जनालाई स्वास्थ्योपचार सेवा प्रदान तथा छ हजार पाँच सय ३७ जनालाई सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गरिएको छ।

अमेरिकाको होनोलुलु हवाइमा गत भदौ तेस्रो साता नेपाली सेनाका उपरथी कृष्णदेव भट्टको नेतृत्वमा रक्षा तथा पराराष्ट्र मन्त्रालयका एक/एक जना प्रतिनिधिसहितको १३ सदस्यीय टोली सहभागी भई नेपाल र संयुक्त राज्य अमेरिकाबीचको पाचौँ संस्करणको ‘ल्याण्ड फोर्स टक’ को बैठक सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यका लागि सहयोग पुर्‍याउने सन्दर्भमा नेपाली सेनाबाट छनोट भई सिफारिस भएका एक हजार नौ सय छ जना विभिन्न दर्जाको मनोनयन, शान्ति सेनासम्बन्धी विभिन्न तालिममा २३ जनाको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

भरपर्दो र विश्वासिलो संस्था भएकाले सेनालाई थप जिम्मेवारी: मन्त्री राई

रक्षामन्त्री मानवीर राईले मुलुकलाई आर्थिकरूपमा समृद्ध, सबल र सक्षम बनाउन वर्तमान सरकार केन्द्रित रहेको स्पष्ट पारे।

वर्तमान सरकार गठन भएपछिको पहिलो सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएको प्रगति विवरण सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले समृद्ध नेपाल निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताए।

नेपाली सेना मुलुकको भरपर्दो, विश्वासिलो र तोकिएको जिम्मेवारी पूरा गर्ने संस्था भएकाले सेनालाई राष्ट्रिय सुरक्षाका अतिरिक्त थप जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै मन्त्री राईले सरकारले दिएको जिम्मेवारीबाट सैनिक सङ्गठनलाई अप्ठ्यारो नपर्ने बताए।

“आधुनिक नेपाल निर्माणदेखि हालसम्म नेपाली सेनाले सम्पादन गरेका जिम्मेवारी ऐतिहासिक छन्”, उनले भने।

अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्ण: राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ, ६ कात्तिक – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाका बारेमा विश्वसमुदायलाई जानकारी दिन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल भएको बताउनुभएको छ ।

    अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को एक सय ४९औँ महासभामा सहभागी भई स्वदेश फर्केपछि आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधान खोज्नका लागि सहकार्य र साझेदारी गर्न आइपियुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

औपचारिक सम्बोधनका साथै विभिन्न बैठकमा आइपीयूका अध्यक्ष र महासचिव, स्वीट्जरल्याण्डको सङ्घीयसभा नेसनल काउन्सिलका अध्यक्ष तथा अन्य राष्ट्रका समकक्षीसँगका भेटघाट विश्वसमुदायमा नेपालको सम्बन्ध विस्तार र उपस्थितिका लागि महत्वपूर्ण रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

महासभाका क्रममा एसिया–प्यासिफिक समूहको बैठक र दिगो विकाससम्बन्धी छलफलमा सांसद कृष्णप्रसाद पौडेल र तारामान स्वार तथा महिला तथा युवा सांसदको फोरममा सुनिता बराल र निशा डाँगी सहभागी भई आफ्ना विषयवस्तु राख्नुभएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

महासचिवहरूको फोरममा महासचिव पद्मप्रसाद पाण्डेले संसद् र नागरिकको सहभागिता, संसद्मा समाचार र नवप्रवर्तन, संसदीय समितिबीच प्रतिस्पर्धात्मक व्यवस्थापनलगायत छलफलमा सहभागिता जनाउनुभएको थियो । एक सय ८१ राष्ट्र सदस्य रहेको आइपियुको महासभामा एक सय ३० भन्दाबढी राष्ट्रका करिब एक हजार पाँच सय प्रतिनिधि र कतिपय देशका पर्यवेक्षकको सहभागिता रहेको थियो ।

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

काठमाडौँ, ६ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि रु आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्नुहुँदै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिनुभयो । उहाँले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।

शेन्झाउ–१९ क्रू स्पेसक्राफ्ट प्रक्षेपण गर्ने तयारीमा चीन

चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सिएमएसए) ले शेन्झाउ–१९ क्रु अन्तरिक्ष यान र लङ मार्च–२ एफ क्यारियर रकेटको संयोजन प्रक्षेपण क्षेत्रमा सारिएको बताएको छ ।

सिएमएसएका अनुसार प्रक्षेपण स्थलमा सुविधा र उपकरणहरू राम्रो अवस्थामा छन् । यहाँ विभिन्न पूर्व प्रक्षेपण समारोह जाँच र संयुक्त परीक्षण योजना अनुसार गरिनेछ ।  निकट भविष्यमा उपयुक्त समयमा स्पेससिप प्रक्षेपण गरिने सिएमएसएले जनाइएको छ ।

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताउनुभएको छ ।

अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उहाँले बताउनुभयो ।

द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै उहाँले भन्नुभयो, “एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ । दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ ।”

जयशङ्करले भारतको प्रतिभा र सीपबारे प्रकाश पार्दै यो करिब दिन प्रतिदिन बढिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार युरोप र उत्तर अमेरिकाले भारतबाट प्रतिभा र सीपको सहज प्रवाह चाहन्छन् ।

“मलाई लाग्छ कि त्यहाँ अन्य तरिकाहरू छन्, जुन अझ प्रभावकारी हुन सक्छ । यदि प्रविधि, एआई र सेमीकन्डक्टरहरूमा ठूला बहसहरू हेर्नुहुन्छ भने भारतीय प्रतिभा र सीपको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ”, उहाँले भन्नुभयो । 

सुनिल थापा अभिनित एक्सनप्रधान फिल्म ‘देववाणी’को टिजर सार्वजनिक

काठमाडौं । आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्मको टिजर मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
टिजरमा फिल्मका नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ । टिजरमा एक्सन, रोमान्स र थ्रिलर समेटिएको छ ।टिजरमा फिल्मका कुन्दनसँगै नायिका अनुजा लेप्चा, कलाकार सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलको अभिनय छ ।

फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतमा छायांकन गरिएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, टिजर र ट्रेलर प्रविण ढकालको कलर, सत्यम रानाको भीएफएक्स, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।

मानव सेवा फाउण्डेसनले गर्यो नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई सम्मान

काठमाडौँ । धार्मिक तथा सामाजिक सस्था मानव सेवा फाउण्डेसनले आज एक कार्यक्रमको आयोजना गरि नेपाल कल्याण समाज जापानका पदाधिकाहरुलाई स्वागत,सम्मान तथा अभिनन्दन गरेको छ । विदेशी भूमिमा रहेर पनि नेपाल तथा जापान लगायका विभिन्न क्षेत्रमा पुगेर सामाजिक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय सहयोगको उच्च मूल्याङ्गकन गर्दै मानव सेवा फाउण्डेसनले नेपाल कल्याण समाजका पधादिकारीलाई स्वागत तथा सम्मान गरेको फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।

सन् २०२२ मा स्थापना भएको उक्त सस्थाले अहिले नियमित रुपमा देशमा सरसफाइका कार्यक्रम,ब्लड डोनेसनका कार्यक्रम मार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै टर्किमा गएको भुकम्पको बेलामा पनि पदाधिकारीले सेवा गरिसकेका छन । त्यस्तै धार्मिक चेतना जागृर्त तथा सनातन हिन्दु धर्मको उजागरणको लागि आगामी सन् २०२५ मा जापानमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने योजनाममा रहेको पनि नेपाल कल्याण समाज जापानका अध्यक्ष सूवर्ण भट्टले बताएका छन् ।
त्यस्तै मानव सेवा फाउण्डेसन अन्तर्गत सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको लागि लत्ताकपडा पनि नेपाल कल्याण समाज जापानको तर्फबाट हस्तान्तरण गरिएको छ ।

स्वागत सम्मान तथा अभिनन्दन कार्यक्रममा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोख्रेलको प्रमुख आथिथ्यता, नेपाल कल्याण समाज जापानका अध्यक्ष सूवर्ण भट्ट ,उपाध्यक्ष कासीराम भण्डारी ,मानव सेवा फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराज, युवा व्यबसायि तथा समाजसेवी तीर्थराज भण्डारी,बिनोद कर्मचार्य,फाउण्डेसनका व्यबस्थापक बिष्णुराज गीरी लगायतको सहभागीता रहेको थियो ।

बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका पीडितलाई पाँच करोड आर्थिक सहयोग

काठमाडौँ, ६ कात्तिकः सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । 

बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ ।

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान

काठमाडौँ, ६ कात्तिकः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गर्नुभएको छ ।

 गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा दु्रतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई एक समारोहबीच मन्त्री दाहालले सम्मान गर्नुभएको हो ।

आज बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्काेट पुग्नुभएका यातायातमन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताउनुभयो ।

सो अवसरमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लीलजन खनालसहित टोलीको उपस्थिति थियो ।

बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएकामा आजदेखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भारबहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइयो ।

सम्मान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, सरकारी अधिकारीसहित स्थानीय जनताको उपस्थिति थियो ।

‘संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न सकेन’: मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली), ६ कात्तिक : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले आज धनगढीमा आयोजना गरेको महासचिव÷सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा उहाँले सोही कारण शिक्षकका समस्या सम्बोधन गर्ने सम्बन्धमा पनि प्रदेश सरकारलाई समस्या भइरहेको बताउनुभयो । 

“उच्च  शिक्षा प्रदेश सरकारअन्तर्गत भनिएको छ तर त्यो अधिकार प्रयोग गर्ने कुनै आधार छैन्, संरचना छैन्, विश्वविद्यालय छैन्”, उहाँले भन्नुभयो, “शिक्षकका हकहितका सन्दर्भमा धेरै कुरा उठेका छन् । सङ्घीयतामा कार्यान्वयनको चरणमा मुलुक अगाडि बढिसके पनि संविधानतः धेरै संरचनागत अधिकारहरू हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ ।”

सङ्घीयतालाई बलियो बनाउन, जनविश्वास र भरोसा बढाउन प्रदेशलाई प्रदत्त अधिकार तत्काल हस्तान्तरण गर्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड थियो ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी (अमेरिका), ६ कात्तिक : नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।

स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र शोषणको लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी हुनुहुन्थ्यो । अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुनुहुन्छ । गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गर्नुभएको थियो ।

दीपावली पर्व केराखेती गर्ने किसानलाई आम्दानीको अवसर बन्दै

महोत्तरी, ६ कात्तिकः दीपावली पर्व केराखेतीका किसानलाई अतिरिक्त आम्दानीको अवसर बन्दै आएको छ । दीपावली र छठका लागि केही दिन पहिलेदेखि नै केराका घरीको बिक्री सघन बन्नसँगै केराका थामकै पनि राम्रो मूल्य पाउने भएपछि मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रका किसानका लागि यो अतिरिक्त आम्दानीको अवसर बन्ने गरेको हो । खासमा दीपावली पर्वमा लक्ष्मीपूजनमा केराका थामको स्वागतद्वार बनाइने यहाँकोे परम्पराले यस बेलालाई किसानले केराको गोडमेलको अवसर बनाउने गरेका छन् ।

“छिप्पिएका केराका घरी यसबेला राम्रो मूल्यमा एक साता पहिलेदेखि नै कुराकानी पक्का हुन्छ, यसैबेला सानाठूला सबैजसो व्यापारीले केराका थामको स्वागतद्वार बनाउने चलनले हामी झ्याङमा धेरै बढेका कोथा यसैबेला छ्यास्ने गर्छौँ”, बर्दिबास–९ पशुपतिनगरका किसान भोला महतो भन्नुहुन्छ, “दीपावलीको अवसर गोडमेलमा उखेलेर फाल्नुपर्ने कोथाबाट पनि नगद पाइन्छ ।”

केरा गोडमेलसँगै निकै झ्याङ्गिएका कोथा पहिले नै निकाल्ने बेला भए पनि किसान यसका लागि दीपावलीको मुख पर्खने गर्छन् । “भन्नुस् न, अरुबेला यी कोथाको के काम ! यतिखेर त घरघरै कोथा खोज्न व्यापारी घरघरै आउँछन्, त्यसैले हामी केराको गोडमेललाई दीपावली पर्खने गर्छौैँ” भोलाकै छिमेकका अर्का किसान रामविनोद महतो भन्नुहुन्छ, “यसबेलाको गोडमेलले श्रमिकलाई दिइने ज्याला र थपमा आफ्नो पर्व खर्चमा पनि कोथा बिक्रीले सघाउँछ ।”

स्वागतद्वार बनाउन नयाँ कोथा (केराका थाम) प्रयोग गरिने परम्पराले दीपावलीको एक साता पहिलेदेखि नै किसानका खेतबारीका कोथाको बिक्री हुने पक्का हुने गरेको छ । “मेरो बारीका ५० जोर कोथाको त पेश्की नै पाइसकेको छु”, भङ्गाहा–४ रामनगरका युवा किसान ३० वर्षीय रामईश्वर ठाकुर भन्नुहुन्छ, “थाम बिक्रीले गोडमेलमा जनको बनी (श्रमिकको मजदुरी, ज्याला) मात्र नभई आफ्नै अन्य खर्चको जोहो पनि हुन्छ ।” त्यसैले आपूmहरु केरा गोडमेललाई दीपावलीको बेला पर्खने गरेका ठाकुर बताउनुहुन्छ । अन्यबेला गोड्दा उखेलेर फाल्नुपर्ने कोथाबाट यसबेला आम्दानी हुने भएपछि पर्वका बेला कामको धपेडी बढे पनि आपूmहरूले यस कामलाई दीपावली पर्खनुपरेको किसान बताउँछन् ।

वर्षभरिमा एउटा केराका झ्याङमा पाँच÷सातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसानको भनाइ छ । केराको एक÷एक झ्याङमा हुर्केका (ठूला) तीनवटा बोटमात्र राखिनुपर्ने हुँदा यसभन्दा बढीका कोथा उखेलेर फाल्नुपर्ने हुन्छ । दीपावलीमा त्यही फालिने कोथा बिक्री हुने भएपछि यो आपूmहरूको खेती खर्चमा सहयोगी बन्ने किसान बताउँछन् ।

“अरुबेला केरा गोडमेल गरिँदा छ्यासिने (उखालिने) कोथा मलको भकारोसम्म पुर्याउन लाग्ने श्रम बराबरको पारिश्रमिक दिनुपर्ने हुन्छ”, भङ्गाहा–६ हतिसर्वाको मदनपट्टिका किसान जयराम यादव भन्नुहुन्छ, “दीपावलीमा भने कोथा किन्न आउने आफैँले पनि उखेलेर लाने गर्छन्, यसले मजदुरलाई दिनुपर्ने रकमसहित कोथा बेचेर प्राप्त हुने रकम अतिरिक्त आम्दानी हुने गरेको छ ।” त्यसैले केरा गोडमेल र बढी निस्केका कोथा उखेल्न दीपावली पर्खने गरिएको किसानको भनाइ छ । पछिल्ला तीन वर्षयता बर्सेनि थाम (कोथा) बाट रु ३० हजारसम्म आम्दानी हुने गरेको यादवले बताउनुभयो । यादवको १५ कठ्ठाजतिमा केराखेती छ ।

दीपावली आउन एकसाता बाँकी छँदै सुुरु भएको थामको बिक्री लक्ष्मीपूजाको दिन बिहानसम्म चल्ने गरेको छ । अहिले मूल्य बोलकवोल गरिएका थामभने लक्ष्मीपूजाको एक दिनअघि उखेलेर ग्राहकले लाने किसान बताउँछन् । धेरै गाँजिएपछि बोट छ्यास्नैपर्ने ठाउँमा तिहार पर्खेर बसेका किसानले अन्यबेला फाल्नुपर्ने थामबाटै अहिले आम्दानी भएपछि दीपावली पर्व आपूmहरूका लागि पर्खने अवसर बनेको किसानको भनाइ छ ।

दीपावलीभरिमा जिल्लामा रु २० लाख हाराहारीको थामको बिक्री कारोबार हुने गरेको जिल्लाका उद्योग वाणिज्य सङ्घहरूको अड्कल छ । खासमा थाम जलेश्वर, गौशाला, मटिहानी, मनरा, रामगोपालपुर, सीतापुर र लोहारपट्टीसहितका बजारमा बढी प्रयोग हुने गरेको महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र चौधरी बताउनुहुन्छ ।

मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृहप्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखिकै यो परम्परा मिथिला लोकसंस्कृतिको हिस्सा नै बनेको जलेश्वर–५ पतैलीका ध्रुव रायले बताउनुभयो ।

असिनाले पाकेको धानबाली नष्टहुँदा कृषक चिन्तित

पर्वत, ६ कात्तिकः जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् । जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्याएको हो ।

कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गर्नुभयो । उहाँका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो । एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उहाँको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ ।

महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताउनुभयो । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्याएपछि निराश बनेको उहाँको गुनासो छ ।

पर्वतका गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्याएको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ । अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने बताउनुभयो । किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताउनुभयो ।

यो बेलामा कतिपय जातका धानमा परागसेचनको काम हुने तर यही बेलामा हावा र वर्षाले फूल नै झारेपछि उत्पादनमा ह्रास आउन सक्ने कार्यालय प्रमुख अधिकारीको भनाइ छ । ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि त्यसले बालीलाई पूर्ण सुरक्षित भने नबनाउने उहाँको भनाइ छ ।

राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन

भद्रपुर (झापा), ६ कात्तिकः आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०/८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०/८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन गरेको थियो । अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । “चालु आवको पहिलो त्रैमासिकमा रु ८१ करोड ४० लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८५ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन भयो”, उहाँले भन्नुभयो, “चालु आवको पहिलो त्रैमासिकमा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकाले सोअनुसार सङ्कलन हुन सकेन ।”

कार्यालयले पहिलो त्रैमासिकमा आयकरबाट रु २४ करोड पाँच लाख ४९ हजार, ब्याजबापत रु दुई करोड ८८ लाख ७६ हजार, मूल्य अभिवृद्धि करबापत रु २६ करोड ४२ लाख ३५ हजार, अन्तःशुल्कबापत रु १५ करोड आठ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको प्रमुख कर अधिकृत काफ्लेले बताउनुभयो । उहाँका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । भारतसितको खुला सिमानाका कारण अवैध रूपमा हुने गरेको निकासी पैठारीले राजस्व सङ्कलनमा असर परिरहेको उहाँको भनाइ थियो ।

चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी

इनरुवा (सुनसरी), ६ कात्तिकः सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उहाँले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिनुहुन्छ । वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उहाँले फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आम्दानी हुने गरेको बताउनुहुन्छ ।

उहाँले दुहबीमा रहेको फलाम उद्योगबाट फलाम ल्याएर आफ्नो हस्तकलाको प्रयोग गर्दै विभिन्न सामग्री निर्माण गरेर बिक्री गर्दै आउनुभएको छ । उहाँले चुलेसी, कचिया, खुर्पी, दबिया, सुपारी काट्ने मेसिनलगायत विभिन्न सामग्री बनाउनुहुन्छ ।

उहाँले भन्नुभयो, “फलामको सामग्री निर्माण गरेर मासिक रु ४० देखि ५० हजारसम्म आम्दनी हुन्छ । रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत र सीपको प्रयोग गर्यो भने राम्रै आम्दानी गर्न सकिन्छ ”

उहाँजस्तै बिहीबारे हाटमा रहेका ४० भन्दा बढी शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री बनाउनेमै बित्ने गरेको छ । त्यस ठाउँमा रहेका शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री निर्माण गरेर त्यसबाट आएको आम्दनीले घरपरिवार चलाउनुका साथै बालबालिकालाई राम्रो शिक्षादीक्षा दिँदै आउनुभएको स्थानीय सन्तोष शर्माको भनाइ छ ।

लोहारसमुदायका मानिसले फलामबाट निर्माण गरेको सामग्री स्थानीय हाटबजारमा बिक्री गर्नुका साथै पूर्वी नेपालको विभिन्न जिल्लामा बिक्री गर्दै आएको स्थानीय राजा शर्माको भनाइ छ ।

पुख्र्यौली पेशालाई संरक्षण गर्दै सोचे जतिको आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । आधुनिकताको विकास भए पनि सो समुदायका अधिकांश मानिसले पुरानै शैली र उपकरणको प्रयोग गरेर फलामको सामग्री बनाउँदै आएका छन् ।

कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक,कुन खण्डमा कति प्रगति ?

म्याग्दी, ६ कात्तिक ः भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो ।

भारतको सिमाना त्रिवेणीबाट चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गाबाट जोमसोमसम्मको सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्न सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७४ मा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

योजना प्रमुख धु्रवकुमार झाले मालढुङ्गाबाट जोमसोमसम्म ८९ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि आठवटा खण्डमा ठेक्का सम्झौता भएकामा बेनी–गलेश्वर तीन किलोमिटर, गलेश्वर एक किलोमिटर र कैकुखोला–खन्ती १२ किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्ने कार्यले पूर्णता पाएको बताउनुभयो ।

“मालढुुङ्गा–बेनी, गलेश्वर–तातोपानी, नागढुङ्गा–कैकुुखोला र खन्ती–जोमसोम खण्डमा कालोपत्र गर्ने कार्यले अझै पूूर्णता पाएको छैन”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई समन्वय, कारबाहीको चेतावनी र समन्वय गरेर काममा फर्काउन ताकेता गरे पनि निर्माणले गति लिन सकेको छैन ।”

ठेक्का सम्झौता गरेको निर्माण कम्पनी आफैँले काम नगरेर दोस्रो, तेस्रो पक्षलाई काममा लगाउनु, ठेकेदारले कार्ययोजनाअनुुसार उपकरण, मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्नु, सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा भत्काउन ढिलाइ हुुनु, पूर्वस्वीकृति नलिई जथाभावी शाखा सडक निर्माण गरिनु, कमजोर भूबनोट, नदी कटान र बाढीपहिरो, सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित बनेको सरोकारवालाले बताएका छन् ।

कालोपत्र र ढलान भएको सडकमा पहिरो, बाढी र कटानका कारण क्षति पुगेको छ । हिउँदभरि निर्माण गरेको सडक बर्खामा क्षतविक्षत हुने र बीमा भुक्तानी पाउन ढिलाइ हुँदा काम प्रभावित हुुने गरेको नागढुङ्गा–कैकु खण्डको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो । सम्झौताअनुसारको परिणामको काम गरे पनि विपद्का कारण क्षति पुगेको उहाँको भनाइ छ । पहिरो, कटान र बाढीको जोखिम न्यूनीकरणका लागि थप बजेट र योजना आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

कुन खण्डमा कति प्रगति ?

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का लिएको थियो । सार्वजनिक खरिद ऐनको १३औँ संशोधनअनुुसार अन्तिमपटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएको यस खण्डको भौतिक प्रगति ६२ प्रतिशत छ । ठेक्का अवधि सकिएपछि निर्माण व्यवसायी जरिवानामा परेको छ ।

रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा शर्मा युनाइटेड जेभीले ठेक्का लिएको थियो । विसं २०७७ मा सम्पन्न हुनुपर्ने यो खण्डको ९० प्रतिशत भौतिक प्रगति भएको छ । यो खण्डको विभिन्न ठाउँमा नौ किलोमिटर कालोपत्र भएको छ ।

विसं २०७४ मा शर्मा–गजुरमुखी जेभीले ठेक्का लिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी नागढुङ्गाबाट मुस्ताङको घाँसासम्मको १७ किलोमिटर खण्डको ९० प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत रु ६३ करोड पुगेको हो । घाँसा खण्डमा दुई किलोमिटर कालोपत्र र बादरजुङ क्षेत्रमा एक किलोमिटर छ सय मिटर ढलान भएको यो खण्डमा थप आठ दशमलव पाँच किलोमिटर कालोपत्रको तयारी भएको छ । पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा दुई दशमलव पाँच किलोमिटर सडकलाई कालोपत्रबाट हटाइएको छ ।

पप्पु–गौरी–पार्वती–कोशी एण्ड न्यौपानेले २०७४ सालमा रु ७० करोड ५२ लाखमा ठेक्का सम्झौता गरेको मुस्ताङको खन्तीबाट टुकुचे, मार्फा, स्याङ हुँदै जोमसोमसम्मको १६ किलोमिटर सडकको हालसम्म ९६ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताउनुभयो । खन्ती–टुकुचे र मार्फा क्षेत्रमा कालोपत्र र जोमसोम बजारभित्र ढलान सकिएको यो खण्डको बाँकी ठाउँमा कालोपत्र गराउन निर्माण व्यवसायीलाई ताकेता गरेको उहाँले बताउनुभयो ।

सकसपूूर्ण यात्रा

सडक स्तरोन्नतिमा भएको ढिलाइले स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बेनीका प्रकाश पौडेलले बताउनुभयो । पौडेलको अगुवाइमा बेनी र जलजलाका सरोकारवालाले सडक निर्माणलाई गति दिन दबाबमूलक अभियान थालेका छन् । यात्रुहरू समयमा गन्तव्यमा पुग्न नसक्ने, दुर्घटनाको जोखिम, ढुवानी र यात्रुुको भाडादर महँगो भएको छ । “जोमसोमबाट कोरलासम्मको सडक सहज भए पनि मालढुङ्गाबाट बेनी हुँदै (कैकु–खन्ती) खण्डबाहेक जोमसोमसम्म सडक निर्माणले पूर्णता नपाएको, पहिरो, हिलो र धुलोले सास्ती बनाएको छ”, उहाँले भन्नुभयो, “धार्मिक हिसाबले मुक्ति पाउन र प्रकृतिसँग रमाउन मुस्ताङको यात्रा गर्नेहरूलाई म्याग्दी खण्डमा भएको सकसले नराम्रो सन्देश प्रवाह भएको छ ।”

आठ वर्षमा ८४ प्रतिशत प्रगति

दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति २०७३ सालमा सुरु भएको आयोजनाको आठ वर्षमा ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२÷८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी चापागार्इँले बताउनुभयो । चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ । मालढुङ्गाबाट कागबेनीसम्म आठवटा खण्डमा कालोपत्र गर्ने ठेक्का सम्झौता भएकामा चारवटा सकिएको र चारवटा जारी रहेको छ । बेनी, तातोपानी र रुप्सेमा तीनवटा अस्थायी बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिएको छ ।

अधुरो सडक निर्माणलाई पूूर्णता दिन म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाले दबाब सिर्जना गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा गत हप्ता आयोजना, निर्माण व्यवसायी, जनप्रतिनिधि, प्रशासन, सुरक्षा अधिकारी र दबाब अभियानका अगुुवाहरू बीच सडक निर्माणमा देखिएका समस्या समाधान गरी स्तरोन्नतिको कामलाई तीव्रता दिने विषयमा छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ठेकेदार र आयोजना पक्षले निर्माणलाई गति दिने, जनप्रतिनिधिले नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा सहज वातावरण बनाउने र निर्माणस्थलमा उत्पन्न हुने सामाजिक समस्या समाधानका लागि सबैले सहजीकरण गर्ने सहमति भएको बताउनुभयो ।

चाडपर्वका कारण पोखरामा रगत अभाव

कास्की, ६ कात्तिकः चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो ।

केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत सङ्कलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । 

“दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेङ्गुको सङ्क्रमण बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा अभाव देखिएपछि सबैलाई रक्तदान गर्न आह्वान गरेका छौँ”, ज्ञवालीले भन्नुभयो । 

आकस्मिक कार्यक्रम गर्न गरिएको आह्वानपछि विभिन्न सङ्घसंस्थाले कार्यक्रम राखेका उहाँले जानकारी दिनुभयो । “हामीले अभाव महसुुस गरेपछि आह्वान गर्छौं र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको छौँ”, ज्ञवालीले भन्नुभयो । डेङ्गु सङ्क्रमण  बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 

लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । प्रदेशको राजधानी रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ । प्रदेशका अन्य अस्पतालहरुबाट पनि यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग रगतको बढी हुने गर्दछ । 

सयपत्रीको माग बढ्न थालेपछि ४० रोपनी जग्गामा सयपत्री फूलखेती

दमौली (तनहुँ), ६ कात्तिकः किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ ।

म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गर्नुभएको हो ।

म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताउनुभयो । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ । उहाँले भन्नुभयो, “तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भनेर हामी तीन जना युवा मिलेर पहिलोपटक सयपत्री फूलखेती गरेका हौँ ।”

यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ । उहाँका अनुसार दुई हजार पाँच सय फूल लगाइएको थियो । उहाँले भन्नुभयो, “तिहारका बेला स्थानीयस्तरमै फूलको माग हुन्छ । पोखरामा पनि सम्पर्क भइरहेको छ ।”

शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले पनि विगत दुई वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । गत वर्ष कलकत्ते प्रजातिका फूल लगाउनुभएका उहाँले यस वर्ष टिटी जातको फूलखेती गरिएको जानकारी दिनुभयो ।

उहाँले गत वर्षको तिहार र एकादशीमा रु एक लाख बराबरको सयपत्री बिक्री गर्नुभएको थियो । दुई वर्षदेखि फूलखेतीमा आबद्ध उहाँले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिन, तिहारका बेला फूलको धेरै माग हुन्छ”, व्यवसायी मञ्जुले दुई रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएको छ । 

विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो । नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।”

गाउँघरमा जग्गा बाँझै रहेकाले त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ प्रोत्साहन गर्न सरकारले सघाउनुपर्ने उहाँको भनाइ छ । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै आएको उहाँले सुनाउनुभयो ।

यस्तै आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा लघुउद्यम महिला सङ्घले ४० रोपनी जग्गामा सयपत्री फूलखेती गरेको छ । अघिल्लो वर्ष २२ रोपनी क्षेत्रफलमा फूलखेती गरिएकामा स्थानीयस्तरमै फूलको माग बढी भएपछि यसपटक क्षेत्रफल विस्तार गरिएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिनुभयो ।

यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् । महिलाहरू फूलखेतीमा आकर्षित रहेको बताउँदै उहाँले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छाँै । पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।” घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उहाँको भनाइ छ ।

कोहलपुरमा र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध

नेपालगञ्ज (बाँके) ६ कात्तिकः बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।

तिहार, छठ लगायतका चाडपर्वमा प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले आग्रह गुर्नभएको छ ।

प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले स्थानीय किसानबाट उत्पादन भएको फूलले समेत बजार नपाउने तथा रकम बाहिरिनेजस्ता समस्या देखिने गरेको उहाँले उल्लेख गर्नुभएको छ । प्रशासकीय अधिकृत गिरीले कोहलपुर नगरपालिकासहितका स्थानीय किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न अनुरोध गर्दै कोहलपुर बजारमा व्यापारीलाई समेत प्लाष्टिकका फूलगुच्छा तथा मालाको बेचबिखन गर्न रोक लगाइएको बताउनुभएको छ । तिहारमा अधिकांशले यस क्षेत्रमा भारतबाट ल्याएका प्लाष्टिकका फूलका माला प्रयोग गर्ने गर्छन् ।

कोेहलपुर नगरपालिकाका विभिन्न स्थानमा स्थानीय किसानले उत्पादन गरेको सयपत्री, गोदावरी, मखमलीलगायत फूल उत्पादन भएकाले त्यसको प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोगगरी नेपालभर प्लाष्टिकजन्य उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने सरकारले निर्णय गरेको थियो ।

प्लाष्टिकजन्य फूलमाला प्रयोग गर्न रोक

कैलालीको टीकापुर नगरपालिकाले तिहारका समयमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न अनुरोध गरेको छ । सूचना जारी गर्दै नगरपालिकाले स्वदेशी फूलका मालालाई प्रोत्साहन गर्न भन्दै प्लाष्टिकजन्य फूलमाला प्रयोग निधेष गरेको हो । प्लाष्टिकका मालाले स्थानीय पुष्प व्यवसायी घाटामा गएका र वातावरणका हिसाबले पनि उपयुक्त नहुने जनाउँदै प्लाष्टिकका माला निषेध गरेको हो ।

सूचनामा पालिकाभित्र प्लाष्टिकजन्य फूलका माला प्रयोगमा रोक लगाएकाले त्यसको प्रयोग नगर्न तथा नगराउन आग्रह गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत दमनसिंह चौधरीले आउँदै गरेको दिपावली तथा छठपर्वमा टीकापुरभित्र कसैले प्लाष्टिकजन्य फूलका माला बिक्री बितरण गरेको पाइएमा कारबाही गर्ने जानकारी दिनुभयो ।

नगरपालिकाले प्लाष्टिकका माला बिक्रीमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी भने खुसी भएका छन् । कैलालीमा दर्जन बढी किसान पुष्प व्यवसायमा लागेका छन् । गत वर्ष कैलालीका बजार प्लाष्टिकका मालाले ढाकेपछि पुष्प व्यवसायीका पूmल बारीमै सडेका थिए । कतिपय व्यवसायीले पालिकाले नसघाएको भन्दै बजार क्षेत्रमा पूmलका माला छरेका थिए । “गत वर्ष हामीले धेरै घाटा बेहोर्यौँ, तयार भएमा माला बिक्री भएनन्”, पुष्प व्यवसायी छत्र मल्लले भन्नुभयो, ‘‘पालिकाले निर्णय गरेको छ । कार्यान्वयन पनि गर्नुपर्छ । देशैभरि प्लाष्टिकका माला निषेध गरेमा पुष्प व्यवसायी मर्कामा पर्दैनन् ।’’

उपभोक्ता रविना विष्ट बजार प्लाष्टिकका मालाले ढाक्दा व्यवसायीलाई घाटा भइरहेको बताउनुहुन्छ । ‘‘मानिसले झिलीमिली देख्छन्, त्यही किन्छन्’’, उहाँ भन्नुहुन्छ, ‘‘प्लाष्टिकका माला रोकेमा हरेक पसल अगाडि स्थानीय पूmलका माला झुण्ड्याएमा त्यही बिक्री हुन्छ ।’’ व्यापारी पनि स्थानीय पूmलका माला खपत भएमा स्वदेशमै व्यापार र स्वदेशमै अर्थ रहने बताउँछन् । ब्यापारी रेश्मा धामी पनि प्लाष्टिकका माला निधेष गरेपछि खुसी हुनुभएको छ । ‘‘अब हामीलाई पनि सहज हुन्छ, स्थानीय उत्पादित पूmल बिक्री गर्न पाइन्छ’’, उहाँले भन्नुभयो, ‘‘स्थानीय सरकारले यस्तै काम गर्नुपर्छ । स्थानीय किसान पनि जोगिने, व्यापारमा पनि असर नपर्ने कार्य राम्रो हो ।’’

एयरलाइन बम धम्कीको अफवाहपछि कानून सुदृढ गर्न खोज्दै भारत

भारतका उड्डयनमन्त्री राममोहन नायडूले सोमबार गत हप्ता भारतीय एयरलाइनहरूविरुद्ध ९० भन्दा बढी नक्कली बम धम्कीका कारण यात्रा अव्यवस्था र त्रास फैलिएपछि कानून कडा बनाउन चाहेको बताउनुभएको छ ।

उहाँले ‘सुरक्षा र संरक्षण’ प्राथमिकता हो भन्दै विमानस्थलमा जाँचहरू बढाइएको जानकारी दिनुभयो ।

केही धम्कीका कारण विमानहरू क्यानाडा र जर्मनीतिर मोडिएका थिए भने बेलायत र सिङ्गापुरको आकाशमाथि विमानहरूलाई एस्कर्ट गर्न लडाकू जेटहरू उडाइएका थिए ।

धेरैजसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएका सन्देशहरूका कारण नागरिक उड्डयन अधिकारीहरूले धम्की दिइएका प्रत्येक उडान जाँच्नु परेको छ ।

मन्त्री नायडूले उड्डयन र विमान सुरक्षा कानूनहरूलाई परिमार्जन गर्न र त्यस्ता धम्की दिनेहरूलाई गम्भीर वा ‘स्पष्ट रूपमा पहिचानयोग्य’ अपराधको दोषी बनाउन सम्भावित लामो सजायसहित ‘कानूनी कारबाही’ का लागि छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी उनीहरूविरुद्ध कडा कारबाही गर्न सक्षम हुन र यसलाई स्पष्ट रूपमा पहिचानयोग्य अपराध बनाउन यो गर्न चाहन्छौँ ।”

भारतमा कम्तीमा एक नाबालिग पक्राउ परे पनि धम्कीहरू जारी छन् । सोमबार कुनै धम्कीको रिपोर्ट आएको छैन । मन्त्री नायडूले अनुसन्धान अझै जारी रहेको उल्लेख गर्दै धम्कीहरू एकल स्रोतबाट आइरहेको हो कि भन्ने बारे टिप्पणी गर्न अस्वीकार गर्नुभयो । “यो एकदम संवेदनशील स्थिति हो”, उहाँले भन्नुभयो ।

बङ्गलादेशमा डेङ्गुका बिरामी ५० हजार नजिक

बङ्गलादेशमा अक्टोबरमा ८४ डेङ्गुसम्बन्धी मृत्यु रेकर्ड गरिएको छ । यो यस वर्ष डेङ्गुका कारण सबैभन्दा बढी मासिक मृत्युको सङ्ख्या हो । स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा एक हजार दुई सय ९८ नयाँ डेङ्गुको मामिला पुष्टि भएका घटनाहरू रिपोर्ट गरेको छ । यो सङ्ख्यासँगै यस महिनाको कूल सङ्ख्या १८ हजार नौ सय ४२ पुगेको छ ।

डिजिएचएसले आइतबार थप छ जनाको मृत्युको पुष्टि गरेको छ । यस वर्ष बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको कूल सङ्ख्या दुई सय ४७ पुगेको छ ।

डेङ्गुको थप फैलावट रोक्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र एन्टी–लार्भाल अपरेशनहरू सञ्चालन गर्ने उपायहरूलाई बलियो बनाएका छन् ।

बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार सात सय तीन जनाको मृत्यु भएको थियो । जुन सबैभन्दा बढी वार्षिक मृत्युको सङ्ख्या हो । त्यसको तुलनामा सन् २०२२ मा दुई सय ८१ र सन् २०१९ मा एक सय ७९ जनको डेङ्गुका कारण मृत्यु भएको रिपोर्ट गरिएको थियो ।

रुसमा पुटिन र राष्ट्र्सङ्घका महासचिवबीच बिहीबार भेट हुने

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुने क्रेमलिनले बताएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो ।

केन्द्रीय रूसी शहर कजानमा आयोजना हुने ब्रिक्स सम्मेलनको सन्दर्भमा उहाँहरूबीच भेट हुनेछ । पश्चिमले रूसलाई युक्रेन आक्रमणका कारण अलग गर्न प्रयास गरेको छैन भन्ने देखाउन मस्कोले मञ्चको उपयोग गर्न चाहन्छ ।

पुटिनले अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नुहुने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले सोमबार पत्रकारहरूलाई बताउनुभयो । यद्यपि उहाँले छलफलको विवरण भने दिनुभएन ।

महासचिव गुटेरेसले रूसको सैन्य आक्रमणप्रति बारम्बार आलोचना गर्दै यसले ‘वैश्विक स्तरमा खतरनाक उदाहरण’ तयार पारेको बताउनुभएको छ । उहाँले ‘अन्तर्राष्ट्रिय कानूनको आदर र युक्रेनको क्षेत्रीय अखण्डता’ को सम्मान गर्ने ‘उचित शान्ति’ का लागि आह्वान गर्नुभएको छ ।    सन् २०२२ अप्रिलको भ्रमणमा रूसले आफ्नो आक्रमण सुरू गरेको दुई महिनापछि गुटेरेसले सङ्घर्ष क्षेत्रहरूबाट नागरिकहरूको मानवीय सहायता र सुरक्षित निकासीका प्रस्तावहरूबारे छलफल गर्नुभएको थियो । 

साढे दुई वर्षको सङ्घर्षलाई अन्त्य गर्न व्यापक वार्ताका लागि न किएभ न त मस्को अझै खुला देखिएका छन् । पुटिनले युक्रेनलाई दक्षिण र पूर्वमा अधिक भू–भाग त्याग गर्ने आदेश गर्दै शान्ति सम्झौताको पूर्व–शर्तका रूपमा माग गर्नुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जमिन त्यागेर शान्ति सम्झौता गर्न अस्वीकार गर्नुभएको छ र पुटिनसँग सीधा वार्ता गर्ने बाटो बन्द गरिदिनुभएको  छ ।    गत महिना संयुक्त राष्ट्रसङ्घमा बोल्दै जेलेन्स्कीले स्थायी सदस्य रहेको सुरक्षा परिषद्मा मस्कोलाई शान्तिका लागि विवश बनाइनुपर्ने बताउनुभएको थियो ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

वीरगञ्ज (पर्सा), ६ कात्तिकः मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो । उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिनुभयो ।

“मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस प्रदेशमा सकाएका छौँ । कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “मङ्गलबारदेखि भने बागमती प्रदेशमा रहेकाहरूको उद्धारकार्य अघि बढाइनेछ ।”

अध्यक्ष अधिकारीले कोशी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिनुभयो । “अभियानको आठौँ दिन सोमबार वीरगञ्ज र सर्लाहीको हरिवनबाट तीन–तीनजना सडकमा आश्रितहरूको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “रौतहटको चपुरबाट भने चार जनाको उद्धार गरिएको छ ।”

मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका सहसंयोजक प्रकाश थारूले उद्धार यात्राअन्तर्गत सोमबार वीरगञ्जबाट सडकमा आश्रित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो । “वीरगञ्जको सडकमा बेवारिसे अवस्थामा आश्रित रहनुभएका तीन जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडकमै बसोबास गर्नुभएकाले अहिले राम्रो आश्रमस्थल पाउनुभएको छ, यो निकै सुखद् कुरा हो ।”

मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतमले मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५४ जनाले आश्रयस्थल पाउँदै आएको जानकारी दिनुभयो । “आश्रममा बसोबास गर्नेलाई ठाउँ अभावले गर्दा नयाँ भवन निर्माणको काम अघि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन निर्माण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग प्राप्त भए पनि आश्रम व्यवस्थापन र सञ्चालनमा रकमको अभाव भएको छ ।”

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा एक हजार सात सय ९७ जनाले आश्रय लिँदै आइरहेका छन् । आश्रमले विगत १२ वर्षको अवधिमा १० हजार चार सय ९७ जनाको सडकबाट उद्धार गरेको जनाएको छ । जसमध्ये चार हजार एक सय ४६ जनाको पारिवारिक पुनःमिलन गराएको छ । त्यस्तै एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पनि पारिवारिक पुनःमिलन गराएर घर पठाएको छ । त्यस्तै पाँच जना बङ्गलादेशी नागरिकलाई पनि पारिवारिक मिलन गराइसकेको छ ।

आश्रममा रहेका एक हजार तीन सय ३७ जनाको भने मृत्यु भइसकेको छ । आश्रमका अध्यक्ष अधिकारीले सडकबाट उद्धार गरिएकामा ६० प्रतिशत मानसिक समस्या देखिएकाले पनि औषधोउपचार र अन्य व्यवस्थापन गर्न आर्थिक चुनौती कायमै रहेको गुनासो गर्नुभयो । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित अभियान अघि सारेको हो । ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता छ । यो अभियान यही कात्तिक २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने जनाइएको छ ।

पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

पर्वत, ६ कात्तिकः स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको कूल जनसङ्ख्याको ३५ दशमलव पाँच प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका सातै वटा पालिकाका ४६ हजार तीन सय ९६ जनाले स्वास्थ्य बिमा गरेका हुन् ।

स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत असोज मसान्तसम्म १६ हजार पाँच सय ७० परिवारका ४६ हजार तीन सय ९६ जना नागरिकले स्वास्थ्य बिमा गरेर उपचार सेवा लिँदै आएका छन् । 

कार्यालयकी संयोजक एवं दर्ता अधिकारी सिया गुरुङले जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका १६ हजार पाँच सय ६६ जनाले स्वास्थ्य बिमा गराएका छन् । सबैभन्दा कम महाशिला गाउँपालिकाका एक हजार आठ सय तीन जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा रहेका उहाँले जानकारी दिनुभयो । 

फलेबास नगरपालिकाका छ हजार आठ सय ५९, मोदी गाउँपालिकामा छ हजार आठ सय एक, जलजला गाउँपलिकामा आठ हजार चार सय ४४ जनाले स्वास्थ्य बिमा गरेका छन् । 

दर्ता अधिकारी गुरुङका अनुसार विहादी गाउँपालिकामा दुई हजार दुई सय २२ र पैयुँ गाउँपालिकामा तीन हजार सात सय एक जनाले बिमा गरेका हुन् । विसं २०८० असोज १ गतेदेखि गत भदौ मसान्तसम्म १० हजार तीन सय ७९ जना बिमामा आबद्ध भएका छन् । 

विसं २०८० भदौ मसान्तसम्म ३६ हजार १७ जना नागरिक आबद्ध भएका थिए । स्वास्थ्य बिमाका लागि जिल्लाका ६१ वटा वडामा प्रतिनिधि खटाइएको भन्दै दर्ता अधिकारी गुरुङ सबै नागरिकलाई बिमातर्फ आकर्षित गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको कूल जनसङ्ख्या मध्ये ८४ हजार चार सय ९१ जना बिमाको पहुँचभन्दा बाहिर छन् । 

नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकताअनुसार सूचीत गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाका क्षेत्रमा काम गर्ने कर्मचारीहरु बताउँछन् । वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीलाई तालिमको अभावका कारण सेवाग्राहीले बिमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा बीमितहरुले (उपचार सेवा र औषधि) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति नहुनु, वडामा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगी नियमित बिमकसँग नपुग्नुले समस्या भइरहेको कर्मचारीको भनाइ छ । 

अधिकांश नागरिक बसाइँसराइ गरेर अन्यत्र गइरहेको, गाउँमा शिक्षित नागरिक र युवापुस्ता नभएकाले पनि बिमा जिल्लाको जनसङ्ख्याअनुसार बिमा गराउने नागरिकको सङ्ख्या बढ्न नसकेको दर्ता सहयोगी आशङ्का श्रेष्ठले बताउनुभयो । 

जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको छ । सामान्य बिरामी हुँदा पनि अस्पताल आएर उपचार गराउन थालेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो । उपचार गर्न र सिफारिस बनाउनका लागि दैनिक सयौँ बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।  

व्यास नगरपालिका फोहरजन्य वस्तु बिक्री गरी दुई लाख बढी आम्दानी गर्दै

दमौली (तनहुँ), ६ कात्तिकः जिल्ला सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी रु दुई लाख बढी आम्दानी गरेको छ । फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले रु दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको हो ।

नगरपालिकाले पानीका बोतल, आल्मुनियम, टीन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरी रु दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । नगरले गत भदौ ८ गतेदेखि फोहरको सुक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन सुरु गरेको थियो । 

करिब रु एक लाख बराबरका एलडी, एचएम, पिपी, गुडियालगायत सामानहरु बिक्रीका लागि तयारी अवस्थामा राखिएको गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ती सामग्रीहरु बिक्रीका लागि तयारी अवस्थामा छन् । तिहार अघि बिक्री गर्नेछौँ ।”

नगरले दुई हजार चार सय ५९ किलो पानीका बोतल तथा अन्य बोतलबाट रु ५६ हजार पाँच सय ६८, एक सय तीन आल्मुनियमबाट रु छ हजार एक सय ८०, पाँच सय ६२ किलो टीनबाट रु १४ हजार ६२, एक सय ७९ किलो फलामबाट रु छ हजार दुई सय ६५, तीन सय २६ किलो कपीबाट रु पाँच दुई सय १६, पाँच सय ६० किलो किताबबाट रु सात हजार आठ सय ४०, तीन हजार दुई सय १० किलो गत्ताबाट रु ३५ हजार तीन सय १० र सिसाबाट रु ८४ हजार छ सय ७७ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत गैरेले जानकारी दिनुभयो ।

फोहरमैला व्यवस्थापनको चुनौती भइरहेकाले नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको हो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहरबाट आम्दानी गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन गरिरहेका छौँ ।” 

फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले एकजना सरसफाइ विज्ञलाई छ महिना अघि नियुक्त गरेको थियो । सरसफाइ विज्ञ कृष्ण भण्डारीको सल्लाह अनुसार अहिले कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडी बढाइएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

“भण्डारीले धनगढी, वालिङलगायत क्षेत्रमा सफलतापूर्वक फोहर व्यवस्थापनको काम उदाहरणीय रुपमा सम्पन्न गरिसक्नुभएको छ । उहाँको सहयोगमा हामीले  फोहर उठाउँदा नै कुहिने र नकुहिने छुट्याउने गरिरहेका छौँ ।”

सरसफाइ विज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहनुभएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य वस्तु छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेले उल्लेख गर्नुभयो । फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि व्यास–१३ मा जग्गा खरिदको प्रक्रिया अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो ।  

नगरवासीलाई कुहिने र नकुहिने फोहरलाई छुट्टै गाडीमा राखी सरसफाइ तथा फोहर व्यवस्थापन अभियानमा सघाउन नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभयो । करिब ३२ वर्षसम्म फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो, “विगतमा फोहर व्यवस्थामा समस्या आएकाले अहिले जग्गा खरिद प्रक्रिया अगाडी बढाएका छौँ ।”

नगरपालिकाले कुहिने फोहरलाई दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ । नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा ११ टन फोहर सङ्कलन गर्दै आइएको जनाएको छ ।  

‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’

काठमाडौँ, ६ कात्तिकः मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः खुला आकाशमुनि रात बिताउनुहुन्छ । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउनुहुन्छ ।

शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अध्यारो खोज्न सुरसार गर्दै हुुनुहुन्थ्यो तामाङ । बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुग्नुभएका उहाँलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउनुहुन्छ । “चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उहाँ भन्नुहुन्छ, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।” 

घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उहाँलाई । परिवार र आफन्तीको लेखाजोखा उहाँले कहिल्यै गर्नुभएन् । दिनमा भारी बोक्न पाए दुई÷चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उहाँको दैनिकी हो । उहाँ भन्नुहुन्छ, “न्यायो ओछ्यान बिर्सिएको वर्षौं भयो । आफ्नो विगतको तीतोपल सम्झिन चाहन्न ।” जाडो याममा अत्यन्त कठिन हुनेहुँदा कसरी चिसो कटाउने भन्ने चिन्ताले लाग्ने उहाँ बताउनुहुन्छ ।

सडकमा रात बिताउन पनि घरवारविहीन सडक मानवलाई सजिलो छैन । गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्दछ । “गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिदैनन्”, उहाँ भन्नुहुन्छ । उहाँ कहिले आफ्नै साथीहरुबाट लखेटिनुहुन्छ भने कहिले सर्वसाधारण र व्यापारीबाट । सडक पेटी कब्जा गरेर बस्ने उहाँकै समूहबीच हातथाप हुन्छ । अलि सुकिलो र पानी ओत लाग्ने भुइँ रोज्ने टाठाबाठा हुन्छन् । 

साठी वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुइँ पनि रोजेर पाउनुहुन्न । भुइँमा पनि बास बस्न पनि ठूलो सङ्घर्ष गर्नुपर्ने उहाँको गुनासो छ । “आफूमाथिको दुव्र्यवहार कसलाई सुनाउने ? कुनै निकाय छैन । त्यसैले चुपचाप भई दुव्र्यवहार सहन बाध्य हुन्छ”, उहाँ भन्नुहुन्छ । सडक पेटीमा रात बिताउने पुरुषको सङ्घर्ष जति छ त्योभन्दा बढी महिलाका व्यथा छन् । 

सडकमा कुनै पनि मानव अलपत्र र बेवारिसे नभेटिउन् भन्ने सेवा भावका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेदेखि मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरेको छ । जसको आफन्ती कोही छैन, बेवारिसे छ उसको उद्धार गरी आश्रय दिनु आश्रमको जिम्मेवारी हो । आश्रमका अध्यक्ष रामजी अधिकारी मेचीमहाकालीको उद्धार यात्रामा कोसी प्रदेशबाट तीन दिनमा ४४ जनाको उद्धार गरिएको जानकारी दिनुहुन्छ । 

उहाँका अनुसार मधेश प्रदेशको लहानमा १३ र जनकपुरमा ११ जनाको उद्धार गरिएको छ । कात्तिक २८ गतेसम्म देशभरका सडक मानवको उद्धार गर्ने उहाँ बताउनुहुन्छ । जतिसुकै उद्धार कार्य सक्रिय गरि पनि सडकमा जाँडरक्सी खाएर स्वतन्त्र जीवन जिउन चाहने र माग्ने पेसा अपनाउने मानव आश्रमको उद्धार क्षेत्रअन्तर्गत नपर्ने उहाँको धारणा छ । 

“सडकमा वास्तविक सडक मानव भए उद्धार गरेका छौँ”, अध्यक्ष अधिकारी भन्नुहुन्छ, “जाँडरक्सी खाने र माग्ने व्यक्तिलाई सम्हाल्नु हाम्रो चुनौती बनेको छ ।” सडकमा वास्तविक बेवारिसे मानव हुन कि होइनन् भनी पहिचान गर्न एउटा ‘सडक मानव स्क्रिनिङ सेन्टर’ जरुरी रहेको उहाँ बताउनुहुन्छ । 

सबै सडकका मानवलाई त्यहाँ राखेर वास्तविक पीडित पहिचान गर्न सजिलो हुने अध्यक्ष अधिकारीको बुझाइ छ । उहाँका अनुसार आश्रमले हालसम्म १२ वर्षको अवधिमा ११ हजार सडक मानवको प्रत्यक्ष उद्धार गरेको छ । तीमध्ये एक सय ५० बालबालिका छन् । ज्येष्ठ नागरिक तीन सय छन् भने एक हजार सडक मानव मानसिक सन्तुलन गुमाएका छन् । आश्रमले सात प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारी अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको बताउनुहुन्छ । सडकमा जथाभावी डुल्ने, भौतारिने गर्दा कुलतमा पसेको, दुर्घटनामा पर्न सक्ने, शान्ति सुव्यवस्थामा खलल पुग्नेजस्ता गतिविधि हुने गरेको उहाँ बताउनुहुन्छ ।  

“प्रहरीले सडक मानव देख्नेबित्तिकै तत्काल खबर गर्ने संयन्त्रको अभाव छ”, प्रहरी उपरीक्षक अधिकारी भन्नुहुन्छ, “स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने अवस्थामा यसप्रति खासै चासो  दिएको देखिँदैन ।” सडक मानव अपराधी नभएकाले अलपत्र परेका बेला भेटिएमा प्रहरीले थुनामा राख्न नमिल्ने उहाँ उल्लेख गर्नुहुन्छ । 

“तत्काल उद्धार गर्ने स्रोतसाधन प्रहरीसमक्ष छैन । केही संस्था सहयोगी भए पनि पर्याप्त उद्धार संयन्त्र छैन”, प्रहरी उपरीक्षक अधिकारी भन्नुहुन्छ । स्थानीय सरकारले सहयोगी सङ्संस्थासँग समन्वय गरी सडक मानव उद्धारको पहल गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ

म्याग्दी, ६ कात्तिक : मालिका गाउँपालिका–३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो । करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएको छ ।

“काँधको छाला खुइलिने गरी पोल बोकेर १० वर्षअघि लद्यु जलविद्युत् परियोजना बनाएर दैनिकी सहज बनाउने उद्देश्यले बिजुली बालेका हौँ”, मालिका–३ लुम्पीपारका हेमबहादुर पुनले भन्नुभयो, “केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि भनेको समयमा सस्तोमा बिजुली बाल्न पाएका छौँ ।”

मालिका–३ पात्लेमा सोमबार भएको विद्युतीकरण योजनाको उद्घाटन कार्यक्रममा सहभागी हेमबहादुर जस्तै अधिकांश गाउँलेहरु खुसी देखिन्थ्यो । “टुकीको ढिपदिपे उज्यालोमा पढ्नुपर्ने अवस्थाको अन्त्य भएको छ”, शिक्षकसमेत रहनुभएका पात्लेका भूमिराज रोकाले भन्नुभयो, “सडक र विद्युत् सुविधासँगै कुनै समय जिल्लाकै दुर्गम मानिएको बस्ती पात्ले र लुप्सीपार अब सुगम भएका छन् ।” 

साँझ, बिहान घरायसी काम गर्न सहज हुनुका साथै उद्यम÷व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर पनि सिर्जना भएको पात्लेकी बालकुमारी रोकाले बताउनुभयो ।  

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीलाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रममार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका एक सय २० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली पु¥याएको हो । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघु जलविद्युत् परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए । 

मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय लाइनका विद्युत् बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताउनुभयो । “हाम्रो वडामा रहेका तीन सय २५ मध्य सबै घरमा विद्युतीकरण भएको छ”, उहाँले भन्नुभयो, “विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न तथा अन्य व्यवसायको अवसर सिर्जना भएको छ ।” 

योसँगै मालिका–३ को सबै बस्तीमा सडक सुविधा पुगेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । विद्युत् र सडक सुविधा विस्तार भएपछि चालु आर्थिक वर्षमा ‘एक घर एक धारा’ सहितको खानेपानी आयोजना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

विद्युतीकरण योजनाको उद्घाटन गर्न यहाँ पुग्नुभएका गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तारको काम भइरहेको जानकारी दिनुभयो । 

“जिल्लाका १४ स्थानका दुई हजार एक ८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि रु २२ करोड बजेट विनियोजन भई योजना सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “यो योजनामार्फत धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा विद्युत् सेवा पुग्नेछ ।”

प्रदेश सांसदसमेत रहनुभएका जुग्जालीले मालिका–३ मा पर्ने अदिभाराबाट डाडागाउँ हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि रु १० करोडको आयोजना सुरु भएको बताउनुभयो । सडकको प्रवेशबिन्दुमा पर्ने अदिभाराको दाजुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो ।

पात्लेका भीमबहादुर रोकाले आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेको सुनाउनुभयो । “यातायात, विद्युत र सञ्चार सुविधाले गाउँ सुगम बन्न थालेको महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दैनिकी सहज बन्दै गएको छ ।” खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताउनुभयो । 

आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य वस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताउनुभयो । “पैदल हिडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्थ्यो”, उहाँले भन्नुभयो, “गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औँलको छोटो बाटो प्रयोग गर्दा करिब डेढ घण्टामा दरवाङ पुगिन्छ ।”

पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडक र विद्युत् सुविधाले दुर्गम गाउँका बासिन्दाको दैनिकी सहज हुनाका साथै व्यापार, व्यवसाय वृद्धि भई आयआर्यन पनि वृद्धि हुन थालेको यहाँका स्थानीय बताउँछन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा आठ वर्षअघि सडक यातायातको सुविधा थिएन् ।

मालिका–३ का पूर्ववडाध्यक्ष हेमबहादुर पुनले पछिल्लो आठ वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको र विद्युतीकरण भएको बताउनुभयो । उहाँका अनुसार किटेनीमा वडा कार्यालय र डाडागाउँमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । 

ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने

पाटन (ललितपुर-ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म ललितपुरस्थित होटेल हिमालयमा उक्त सम्मेलन हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्ने सम्मेलनका सहसंयोजक डा देवलप्रसाद भट्टराईले जानकारी गराउनुभयो ।  “सम्मेलनले वैज्ञानिकलाई भेला पारेर आआफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको हो, यो सम्मेलनमा चीन, भारत, मलेसिया, इण्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् । चीनबाट मात्रै १६ जना वैज्ञानिकहरु सहभागी हुनेछन्”, उहाँले भन्नुभयो । 

वातावरण र ऊर्जा क्षेत्रको विषयमा केन्द्रित रहेर छलफल हुने सम्मेलनमा विश्वका अन्य मुलकले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा अपनाइरहेका वैज्ञानिक पद्धतिका बारेमा छलफल हुने उहाँले जानकारी गराउनुभयो । इन्जिनियरिङ र विज्ञानका क्षेत्रमा सन् २००८ पछि हरेक वर्ष यस्ता कार्यक्रम भइरहेको जानकारी गराउनुहुँदै भट्टराईले स्वास्थ्यका क्षेत्रमा क्यान्सर र मधुमेहको उपचारका विषयमा अध्ययन अनुसन्धानबाट पत्ता लागेका कुरा आदानप्रदान हुने जानकारी गराउनुभयो ।

एक सय ३६ जनाको उपस्थिति रहने सम्मेलनमा ४० जना विदेशी सहभागी रहने जनाइएको छ । सम्मेलनमा अध्ययन अनुसन्धानलाई कसरी दैनिक जीवनमा लागू गर्ने भन्ने विषयमामा छलफल हुने जनाइएको छ ।