`

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ

म्याग्दी, ६ कात्तिक : मालिका गाउँपालिका–३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो । करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएको छ ।

“काँधको छाला खुइलिने गरी पोल बोकेर १० वर्षअघि लद्यु जलविद्युत् परियोजना बनाएर दैनिकी सहज बनाउने उद्देश्यले बिजुली बालेका हौँ”, मालिका–३ लुम्पीपारका हेमबहादुर पुनले भन्नुभयो, “केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि भनेको समयमा सस्तोमा बिजुली बाल्न पाएका छौँ ।”

मालिका–३ पात्लेमा सोमबार भएको विद्युतीकरण योजनाको उद्घाटन कार्यक्रममा सहभागी हेमबहादुर जस्तै अधिकांश गाउँलेहरु खुसी देखिन्थ्यो । “टुकीको ढिपदिपे उज्यालोमा पढ्नुपर्ने अवस्थाको अन्त्य भएको छ”, शिक्षकसमेत रहनुभएका पात्लेका भूमिराज रोकाले भन्नुभयो, “सडक र विद्युत् सुविधासँगै कुनै समय जिल्लाकै दुर्गम मानिएको बस्ती पात्ले र लुप्सीपार अब सुगम भएका छन् ।” 

साँझ, बिहान घरायसी काम गर्न सहज हुनुका साथै उद्यम÷व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर पनि सिर्जना भएको पात्लेकी बालकुमारी रोकाले बताउनुभयो ।  

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीलाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रममार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका एक सय २० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली पु¥याएको हो । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघु जलविद्युत् परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए । 

मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय लाइनका विद्युत् बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताउनुभयो । “हाम्रो वडामा रहेका तीन सय २५ मध्य सबै घरमा विद्युतीकरण भएको छ”, उहाँले भन्नुभयो, “विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न तथा अन्य व्यवसायको अवसर सिर्जना भएको छ ।” 

योसँगै मालिका–३ को सबै बस्तीमा सडक सुविधा पुगेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । विद्युत् र सडक सुविधा विस्तार भएपछि चालु आर्थिक वर्षमा ‘एक घर एक धारा’ सहितको खानेपानी आयोजना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

विद्युतीकरण योजनाको उद्घाटन गर्न यहाँ पुग्नुभएका गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तारको काम भइरहेको जानकारी दिनुभयो । 

“जिल्लाका १४ स्थानका दुई हजार एक ८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि रु २२ करोड बजेट विनियोजन भई योजना सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “यो योजनामार्फत धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा विद्युत् सेवा पुग्नेछ ।”

प्रदेश सांसदसमेत रहनुभएका जुग्जालीले मालिका–३ मा पर्ने अदिभाराबाट डाडागाउँ हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि रु १० करोडको आयोजना सुरु भएको बताउनुभयो । सडकको प्रवेशबिन्दुमा पर्ने अदिभाराको दाजुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो ।

पात्लेका भीमबहादुर रोकाले आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेको सुनाउनुभयो । “यातायात, विद्युत र सञ्चार सुविधाले गाउँ सुगम बन्न थालेको महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दैनिकी सहज बन्दै गएको छ ।” खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताउनुभयो । 

आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य वस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताउनुभयो । “पैदल हिडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्थ्यो”, उहाँले भन्नुभयो, “गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औँलको छोटो बाटो प्रयोग गर्दा करिब डेढ घण्टामा दरवाङ पुगिन्छ ।”

पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडक र विद्युत् सुविधाले दुर्गम गाउँका बासिन्दाको दैनिकी सहज हुनाका साथै व्यापार, व्यवसाय वृद्धि भई आयआर्यन पनि वृद्धि हुन थालेको यहाँका स्थानीय बताउँछन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा आठ वर्षअघि सडक यातायातको सुविधा थिएन् ।

मालिका–३ का पूर्ववडाध्यक्ष हेमबहादुर पुनले पछिल्लो आठ वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको र विद्युतीकरण भएको बताउनुभयो । उहाँका अनुसार किटेनीमा वडा कार्यालय र डाडागाउँमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । 

ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने

पाटन (ललितपुर-ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म ललितपुरस्थित होटेल हिमालयमा उक्त सम्मेलन हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्ने सम्मेलनका सहसंयोजक डा देवलप्रसाद भट्टराईले जानकारी गराउनुभयो ।  “सम्मेलनले वैज्ञानिकलाई भेला पारेर आआफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको हो, यो सम्मेलनमा चीन, भारत, मलेसिया, इण्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् । चीनबाट मात्रै १६ जना वैज्ञानिकहरु सहभागी हुनेछन्”, उहाँले भन्नुभयो । 

वातावरण र ऊर्जा क्षेत्रको विषयमा केन्द्रित रहेर छलफल हुने सम्मेलनमा विश्वका अन्य मुलकले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा अपनाइरहेका वैज्ञानिक पद्धतिका बारेमा छलफल हुने उहाँले जानकारी गराउनुभयो । इन्जिनियरिङ र विज्ञानका क्षेत्रमा सन् २००८ पछि हरेक वर्ष यस्ता कार्यक्रम भइरहेको जानकारी गराउनुहुँदै भट्टराईले स्वास्थ्यका क्षेत्रमा क्यान्सर र मधुमेहको उपचारका विषयमा अध्ययन अनुसन्धानबाट पत्ता लागेका कुरा आदानप्रदान हुने जानकारी गराउनुभयो ।

एक सय ३६ जनाको उपस्थिति रहने सम्मेलनमा ४० जना विदेशी सहभागी रहने जनाइएको छ । सम्मेलनमा अध्ययन अनुसन्धानलाई कसरी दैनिक जीवनमा लागू गर्ने भन्ने विषयमामा छलफल हुने जनाइएको छ । 

सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास

काठमाडौँ, ६ कात्तिकः देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्‍याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् ।

ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख आधारमा रुपमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । वर्तमान सरकार गठन भएको एकसय दिन पूरा भएको सन्दर्भमा मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी केही सकारात्मक प्रयास भएका छन् ।

गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण क्षति भएका आयोजनाको पुनः निर्माणलाई पनि उत्तिकै महत्व दिइएको छ । विपद्का कारण सरकारी र निजी क्षेत्रका गरी तीन दर्जन बढी आयोजनामा क्षति पुगेको थियो । 

सरकारले मुलुकको सबैभन्दा ठूलो जलविद्युत् उत्पादन केन्द्रका रुपमा परिचित माथिल्लो तामाकोशीको पुनः निर्माणलाई पनि प्रमुख प्राथमिकतामा राखेको छ । कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजना गत महिनाको बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको छ । 

उक्त आयोजना स्थलमा पुगेर ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालगायतको उच्च पदस्थ टोलीले स्थलगत निरीक्षण गर्दै शिघ्र पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । सो आयोजनाको बिजुली उत्पादन बन्द हुँदा राष्ट्रिय प्रणालीमा समस्या पैदा भएको छ । आन्तरिक बिजुली व्यवस्थापनका लागि पनि आयोजना महत्वपूर्ण कडीका रुपमा स्थापित भएको छ । 

यस्तै, लामो समयदेखि स्थानीयवासीको मागका कारण अगाडि बढ्न नसकेको सिन्धुपाल्चोकमा अवस्थित मध्यभोटेकोशीको पनि समस्या समाधान भएको छ । सो आयोजनालाई सम्पन्न गराउन पनि मन्त्रालयले विशेष चासोका साथ पहल गरेको थियो । 

आयोजना सम्पन्न भएर पनि प्रसारण लाइनको अभावमा बिजुली उत्पादन हुन सकेको थिएन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेको सो आयोजनाको प्रसारण लाइन निर्माणमा भएको व्यवधान पनि यसैबीचमा भएको छ । यस्तै, चिलिमे त्रिशुली प्रसारण लाइन तथा सवस्टेशन निर्माणको कामलाई पनि गति दिइएको छ । 

यसबीचमा नेपाल र बङ्गलादेशबीच ४० मेगावाट बिजुली बिक्रीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले गत असोज १७ गते हस्ताक्षर गर्नुभएको थियो । सो सम्झौतापछि नेपालको बिजुली भारतपछि अर्को छिमेकी मुलुकमा पुग्ने सुनिश्चित भएको हो । 

सम्झौता अनुसार प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बङ्गलादेश पु¥याउनेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो ।

कूल चार सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिनेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर– भेडामारा चार सय केभी) बिजुली बङ्गलादेश पुग्नेछ । प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ । ती दुवै आयोजनाको बिजुली भारत निर्यातका लागि स्वीकृति पाइसकेकाले पनि सहज हुने जनाइएको छ । केही दिनभित्र विद्युत् निर्यात समेत सुरु हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बङ्गलादेशलाई बिजुली निर्यात गर्नेछ । पूर्ववत् समझदारी अनुसार पाँच महिनामा एक लाख ४४ हजार मेगावाट घण्टा बिजुली निर्यात हुनेछ । प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बिक्री गरिने जनाएको छ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर भएको हो । ‘टोकन’ का रुपमा भएपनि नेपालको बिजुली बङ्गलादेश पुग्नु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । 

यस्तै, दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजना (नेपाल, बङ्गलादेश र भारतबीच) सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठक अगावै टुङ्गो लगाउने सहमति भएको छ ।

नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन हुने भएको छ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गरिनेछ । त्यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गरिनेछ ।

साङ्केतिक रूपमा भए पनि बङ्गलादेशमा बिजुली बिक्री हुनु नेपालको सफलताका रुपमा लिइएको छ । भारतपछि उपक्षेत्रीय रूपमा नेपालको बिजुली अन्यत्र पुग्नु आफैँमा महत्वपूर्ण हुने सरकारको बुझाइ छ । 

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । सम्झौता अनुसार प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ । 

त्यस्तै यसबीचमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बराबरको ऊर्जा उत्पादनका लागि तयार पारिएको ऊर्जा विकास मार्गचित्रलाई गति दिने प्रयास थालिएको छ । त्यसका लागि सरकारले निजी क्षेत्र र अन्य दातृ निकायसँग पनि छलफललाई तीव्र पारेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकार भएका निकायको बैठक राखेर ऊर्जा क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित अगाडि बढ्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशन लगत्तै ऊर्जामन्त्रालयले पनि आवश्यक गृहकार्य गरिरहेको छ । ठूला आयोजना निर्माणलाई गति दिने, निर्माणमा रहेका आयोजना सम्पन्न गर्ने कामलाई पनि प्राथमिकतामा राखिएको छ । बाढी पहिरो प्रभावित आयोजनाको पुनः निर्माण एवम् सञ्चालनमा तदारुकता दिइएको छ ।

यसैबीचमा रसुवाको गोसाइकुण्ड र सुस्तामा समेत केन्द्रीय प्रणालीको बिजुली लाइन पुगेको छ । मुलुकको झण्डै ९९ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । बाँकी रहेको स्थान तथा क्षेत्रमा पनि बिजुली पु¥याउन प्राधिकरण सक्रियताका साथ लागिपरेको छ । बक्यौता उठाउने, चुहावट नियन्त्रण गर्ने कामलाई तीव्र पारेको प्राधिकरण गुणस्तरीय बिजुली उपलब्ध गराउनका लागि सरकारको निर्देशन बमोजिम लागिपरेको छ । 

लामो समयदेखि विवादको घेरामा परेको ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुलसम्बन्धी विवाद समाधानका लागि पनि मन्त्रालयले उत्तिकै गम्भीरताका साथ प्रयास गरिरहेको छ । 

चालु आर्थिक वर्ष दुई महिनामा मात्रै रु सात अर्ब ५४ करोड ६१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । प्राधिकरणले गत साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो । प्राधिकरणले गत साउनमा रु तीन अर्ब ९९ करोड ५६ लाख बराबरको विद्युत् निर्यात गरेको छ भने भदौमा रु तीन अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको जनाएको छ । 

गत साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । गत भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । गत साउनको प्रतियुनिट औसत दर आठ रुपैयाँ ११ पैसा थियो भने भदौमा छ रुपैयाँ ६२ पैसा रहेको छ । 

गत भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी रु ९९ करोड ५५ लाखको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा रु ६९ करोड आठ लाख बराबरको विद्युत् निर्यात गरिएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारु बराबरको विद्युत् बिक्री भएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको जानकारी दिनुभयो । वर्तमान सरकार गठन भएपछि ऊर्जा मन्त्रालयको नेतृत्व सम्हाल्नु भएका मन्त्री खड्काले विभिन्न देशका राजदूतका अलावा, बहुपक्षीय दातृ निकायका प्रतिनिधिसँग निरन्तर छलफल गरी नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभएको छ । यसबाट क्रमशः ऊर्जा क्षेत्रको विकासका सकारात्मक वातावरण बन्दै गएको छ । 

राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

तुलसीपुर (दाङ), ६ कात्तिकः तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् । कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन् ।

“कोरोना पछि सबैतिरको व्यापार ठप्प छ । होटेल व्यवसायी थप मारका बेला विस्तारै चलायमान बन्दै गएको छ”, कुमाख क्याफेका सञ्चालक तुफान केसीले भन्नुभयो, “यस्तो बेला होटेललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”

जिल्ला प्रशासन कार्यालयले ११ बजेसम्म सञ्चालन गर्न पाउने भनी पत्र दिएको भए पनि प्रहरीले ९ बजे बन्द गराउँदै आएको भन्दै यसले व्यवसायी थप मारमा परेका केसीले उल्लेख गर्नुभयो । “प्रहरीले जबर्जस्ती ९ बजे बन्द गराउँदै हिँडिरहेको छ”, उहाँले भन्नुभयो, “यसले हामीलाई निकै मार परेको छ ।” 

राति गाडीमा बाहिरबाट आउनेहरुलाई पनि मध्येनजर गर्नुपर्ने भन्दै केसीले राति ११÷१२ बजेसम्म होटल सञ्चालनको अनुमति पाए व्यवसायीलाई सहज हुने बताउनुभयो । बाहिरबाट आउने आगन्तुकलाई बस्ने, खाने व्यवस्थाप्रति स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले राति ९ बजे बन्द गर्ने त्यस्तो कुनै निर्णय नभएको बताउनुभयो । भट्टी पसललाई मात्रै ९ बजे बन्द गर्न लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताउनुभयो । “हामीले राम्रो तरिकाले चलिरहेका होटेललाई केही गरेका छैनौँ”, उहाँले भन्नुभयो, “रातिसम्म भट्टी चलाउनेलाई बन्द गराउने गरेका हौँ ।” चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधिलाई मध्येनजर गरेर यस्तो काम गरिएको उहाँले बताउनुभयो ।  

होटेल कतिबेलासम्म सञ्चालन गर्ने भन्ने कुरा कुनै निर्णय नभएको भए पनि स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजरगरी निर्णय गर्नसक्ने दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । “हामीले यतिबेलासम्म चलाउने भन्ने छुट्टै निर्णय गरेका छैनौँ”, उहाँले भन्नुभयो, “स्थानीय प्रशासनले आवश्यकताअनुसार सञ्चालन गर्नसक्छ । तुलसीपुरमा पाँच सय बढी होटेल व्यवसायी छन् ।” 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ६ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

पाटन (ललितपुर), ६ कात्तिकः ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ । महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।

“शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौँ, बाढीले छरपष्ट रुपमा रहेका प्लास्टिक, कागज र कपडा सङ्कलन गरेर सफा गर्नेछौँ, नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौं”, महर्जनले भन्नुभयो । उहाँले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताउनुभयो ।

“नख्खु र बागमती नदीको किनारालाई प्लास्टिकले छपक्कै छोप्दा असरल्ल देखिएको छ, यसले नगरको सौन्दर्य हराउँदै गएको छ । नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेका छौँ”, महानगरप्रमुख महर्जनले भन्नुभयो ।

फोहर सङ्कलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय सङ्घ ललितपुर, सहकारी सङ्घ ललितपुरलगायत विभिन्न सङ्घसंस्था, सामाजिक सङ्घसंस्थाले आफ्ना प्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुने जानकारी दिइएको थियो । साथै महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै सहरी सौन्दर्य कायम राख्नुका साथै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताउनुभयो । “बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता छ, कसले गर्छ भनेर हेर्ने अहिलेको समय हैन, हामी सबैले मिलेर गर्नुपर्छ । स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्नेछ”, उहाँले भन्नुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गर्नुभयो । “प्रभावित स्थलको निरीक्षणमा जाँदा सहरको सौन्दर्य हराउँदै गएको पायौँ । साथै फोहरले विभिन्न सङ्क्रमण फैलिन सक्ने भएकाले अभियानमार्फत सरसफाइ थालेका हौँ । जिल्ला सुरक्षा समितिमार्फत सुरक्षाकर्मीहरुलाई परिचालित गर्नेछौँ । भएको जनशक्ति र स्रोतको परिचालन गरेर काम गर्ने, अवरुद्ध बाटो खुलाउने, राहत वितरण गर्ने काम भइरहको छ”, उहाँले भन्नुभयो ।

प्रजिअ श्रेष्ठले क्षतिको यकीन विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढङ्गले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गर्नुभयो ।

महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनले विभिन्न स्थानमा समूह विभाजन गरेर स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् । बाढीले बगाएर ल्याएर नख्खु र बागमती नदीको किनारामा थुपारेको फोहर हटाउनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक खटिने उहाँले जानकारी दिनुभयो ।

बिपी मेमोरियल क्रिकेट : बङ्गलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी

भैरहवा (रुपन्देही), ५ कात्तिक : भैरहवामा जारी बिपी मेमोरियल कप टि–२० क्रिकेट प्रतियोगिता आज तेस्रो दिन भएका खेलमा बङ्गलादेशको साइक क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही–११ नेपाल भैरहवामा जारी विजयी भएका छन् ।

साइक क्रिकेट एकेडेमीले श्रीलङ्का राज्य सेवा क्रिकेट सङ्घ श्रीलङ्कालाई ८ विकेटले पराजित गरेको हो । साइकको यो लगातार दोस्रो जित हो । श्रीलङ्कन टिमको लगातार दोस्रो हार । नेक्सस रुपन्देहीले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । प्रतियोगितामा नेक्ससको यो दोस्रो जित हो भने पाकिस्तानी टिम जावेद इन्टरनेशनल क्रिकेट एकेडेमीको लगातार तेस्रो हार हो ।

आज भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि श्रीलङ्कन टिमबाट पाएको एक सय १३ रनको लक्ष्य बङ्गलादेशको साइक क्रिकेट एकेडेमीले ११ ओभरमै २ विकेट गुमाएर एक सय १८ रन बनाउँदै सहजै भेटाइयो । उसको जितमा ३० बलमा २ छक्का र ७ चौकाको मद्दतमा मुनिम सानरिअरले ५१ रनको अर्धशतकी यइनिङ खेल्नुभयोे । यस्तै, सादइन्व मोशरफले २५, फैजलले नटआउट २२ र रकिब अहम्मदले अविजित १२ रनको योगदान गर्नुभयो । बलिङमा श्रीलङ्का राज्य सेवा क्रिकेट सङ्घका रवि किरण र वाहिदले १–१ विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको श्रीलङ्कन टिमले निर्धारित खेलमा ६ विकेटको नोक्सानीमा एक सय १२ रनको सामान्य योगफल प्रस्तुत गरेको थियो । उसका लागि नानीवासु पल्लीले अविजित ५४ रन बनाए जितका लागि पर्याप्त भएन । त्यस्तै, राजविरले ३२ रन बनाए भने दुई खेलाडी शून्य रनमा पेभेलियन फर्किंदा चार खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । बलिङमा साइक क्रिकेट एकेडेमीका मोहम्मद रफी र सहदाज रहमानले २–२ तथा रकिब अहमदले १ विकेट हात पारे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानको जावेद ईन्टरनेशन लक्रिकेट ऐकेडेमी १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेक्सस रुपन्देहीका शाहब आलमले ३ ओभर १ बलमा १० रन खर्चेर ४ विकेट लिनुभयो । यस्तै, बसिर अहम्मदले ३, दिपेश कँडेलले २ तथा कृष्ण कार्कीले १ विकेट लिनुभयो । जावेद इन्टरनेशनल क्रिकेट एकेडेमीका सामोनले सर्वाधिक १६ रन बनाउँदा इमराननाजिरले १२ र अली हुसेनले १० रन जोड्नुभयो । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कूल ८१ रनको झिनो लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो । उसका लागि सुमित महर्जनले अविजित २८ र मिर्नाल गुरुङले नटआउट २० रन बनाउनुभयो । नेक्ससले २१ रन त अतिरिक्त नै पायो । बलिङमा जावेद इन्टरनेशनल क्रिकेट एकेडेमीका जेम खानले ३ विकेट लिनुभयो । 

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट सङ्घको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ ।

पाटन प्रिमियर लिगः गुरुखोला र पञ्चेश्वरको विजयी सुरुवात

बैतडी, ५ कात्तिकः यहाँको पाटनमा जारी पाटन प्रिमियर लिग चौथो संस्करणको छैटौँ दिन आज दुई खेल सम्पन्न भएका छन् । जसमा टिम कोइनोडा गुरुखोला लायन्स र पञ्चेश्वर गाउँपालिका विजयी भए ।

पहिलो खेलमा गुरुखोलाले सागर स्पोर्टस क्लब मेलौलीलाई आठ विकेटले हरायो । जितका लागि पाएको ६९ रनको लक्ष्य गुरुखोलाले चार दशमलव पाँच ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो । जसमा लोकेश चन्दले अविजित ४९ रनको योगदान गरे । सागर स्पोर्टसका लागि आकाश विष्टले एक विकेट लिए ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सागर स्पोर्टस १३ दशमलब चार ओभरमा ६८ रनमा समेटियो । जसमा धु्रव नायकले १५ रन बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

गुरुखोलाका लागि विकास आग्रीले तीन विकेट लिए । म्यान अफ द म्याचसमेत चुनिएका विकासले तीन ओभर बलिङ गर्दै दुई मेडन राखेर चार रन खर्चिँदै तीन विकेट हात पारेका हुन् ।

आजै सम्पन्न अर्को खेलमा पञ्चेश्वरले पाटन स्टार क्रिकेट क्लबलाई ८६ रनले हरायो । टस हारेर पहिला ब्याटिङ्ग गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा २३३ रन बनायो । जसमा कप्तान अभिषेक पालले १४२ रन जोडे । स्टारका लागि धिरेन्द्र ऐरीले तीन तथा पंकज चन्दले दुई विकेट लिए ।

जितका लागि २३४ रनको विशाल लक्ष्य पछ्याएको स्टारले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४७ रन मात्रै बनायो । जसमा सुदर्शन भट्टले ४४, दिनेश जोशी ३० र आयुश ठगुन्नाले २७ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । पञ्चेश्वरका जयराम भट्टले तीन र विरेन्द्र नाथले दुई विकेट हात पारे ।

अभिषेक प्लेयर अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि शुरू प्रतियोगितामा १७ टोलीको सहभागिता छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान रहेको आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो । द्वितिय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

म्यान अफ द सिरिज बापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ, ५ कात्तिकः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बदलिँदो परिवेशमा प्रहरीमाथि चुनौती, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएकाले सोही अनुसार अघि बढ्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘पोष्ट ग्य्राजुएट डिप्लोमा ईन पोलिन साइन्स’, कार्यक्रममा समावेश प्रहरी निरीक्षक आधारभूत तालिम १८३औँ समूहको आज उहाँले उद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै उहाँले सङ्गठित अपराधको वृद्धि एवम् प्रगतिशिल विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै पुलिसिङमा धेरै परिवर्तन भएको जानकारी गराउनुभयो । सोही अनुरूप विगत र वर्तमान मात्र नभई भविष्यसमेतमा सक्षम र दक्ष ठहरिने गरी यस्ता प्रशिक्षण सञ्चालन आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल प्रहरी सङ्गठनको आधुनिकीकरण एवम् सुदृढिकरण सम्बोधन गर्न तथा सक्षम नेतृत्व तयार गर्न राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न उक्त कोर्स सहयोगसिद्ध हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित असाहय, पीडित र अन्यायमा परेका नागरिकको आड भरोसाको केन्द्र रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थरूपमा सेवा प्रदान गर्ने सङ्गठन भएकाले आफ्नो कमी कमजोरीलाई सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त तालिममा खुला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका ६५ प्रहरी निरीक्षक र तीन नवनियुक्त प्रहरी निरीक्षक गरी ६८ जनाको सहभागिता रहेको थियो ।

माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित

काठमाडौँ ५ कात्तिक : नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् । यसैगरी सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक–एक गोल गरे ।

जितसँगै चार अङ्क बटुलेको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो पहिलो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो । 

समान चार अङ्क नै बटुलेको भुटान अङ्क तालिकाको दोस्रो स्थानमा छ । अब भुटानले माल्दिभ्स र नेपालले श्रीलङ्कासँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । यसै खेलले समूहका विजेताको टुङ्गो लाग्नेछ । उक्त खेल यही कात्तिक ८ गते हुनेछ । 

आज खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो । त्यसपछि खेलको २९ औँ मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ३२ औँ मिनेटमा रेखाले नेपाललाई ३–० गोलको अग्रता बनाइन । खेलको ४२ औँ मिनेटमा रेखाले अर्को गोल थपिन् ।

यसैगरी खेलको दोस्रो हाफको दुई मिनेट पनि बित्न नपाउँदै रेखाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ६३ औँ मिनेटमा रेखाले व्यक्तिगत चौथो गोल गरिन् । लगत्तै प्रितीले नेपालको लागि सातौँ गोल थपिन् । नेपालले त्यसपछि तीन खेलाडीलाई परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो । अनिता केसीले मैदान छिरेको पहिलो ‘टच’ मै नेपालको लागि आठौँ गोल गरिन् ।

खेलको ७८ औँ मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र समग्रमा नवौँ गोल गरिन् । यसैगरी खेलको ८६ औँ मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । प्रितीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १०–० को अग्रता दिलाइन् । त्यसको एक मिनेट पनि बित्न नपाउँदै अमिषा कार्कीले अर्को गोल गरिन् ।  साफ च्याम्पियनसिपअन्तर्गत यही कात्तिक ७ गते भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

काठमाडौँ, ५ कात्तिक : नेपाल संवत् न्हूँ दँ राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको एक प्रतिनिधिमण्डलले आज सोमबार प्रधानमन्त्री के पी शर्मा ओलीलाई भेटी न्हूदँको अवसरमा बसन्तपुरमा कात्तिक १७ गते शनिबार आयोजना हुने शुभकामना सभामा प्रमुख अतिथिको रुपमा सहभागी भइदिन निमन्त्रणा गरेको छ ।

साथै, प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष नेपाल संवत््का विषयहरु समेटिएको सात बूँदे ध्यानाकर्षणपत्र प्रति बुझाएको छ ।

यस ध्यानाकर्षणपत्रमा नेपालको नोटमा नेपाल संवत् उल्लेख गर्नुपर्ने, नेपाल संवत्लाई सरकारी दस्तावेजमा प्रयोग गर्ने निर्णय कार्यान्वयनका लागि सरकारबाट परिपत्र जारी गरिनुपर्ने, राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्नुपर्ने लगायतका विषयहरु उल्लेख छन् ।

न्हूदँ समारोह समितिका संरक्षक हितकरवीर सिं कंसकारले नेपाल सरकारबाट नेपाल भाषामा नेपाल टेलिभिजनबाट समाचार प्रसारण र राससमा नेपाल भाषामा समाचार बुलेटिन प्रकाशनको थालनी भएकामा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसैगरी, अर्का संरक्षक मल्ल के स्ुन्दरले सरकारबाट नोटमा नेपाल संवत्को प्रयोग र नेपाल संवत्लाई सबै निकायमा प्रयोगमा ल्याउन परिपत्र जारी गर्न आग्रह गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, पूर्व रायमन्त्री दिलीप महर्जन, प्रा डा नेरेशमान बज्राचार्यलगायतका हुनुहुन्थ्यो ।

यसैगरी, आजै राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानका अध्यक्ष तथा अन्य पदाधिकारीहरु सम्मिलित अर्को प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटी कात्तिक १७ गते थिमीको शंखधर चौकमा आयोजना हुने सार्वजनिक समारोह प्रमुख अतिथिको रुपमा सहभागिता जनाउन आमन्त्रण ग¥यो ।

सोलद्वारा रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको ‘तत्काल फिर्ती’ को माग

दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ ।

सोलको गुप्तचर निकायका अनुसार करिब एक हजार पाँच सय उत्तर कोरियाली विशेष बलका सैनिकहरू पहिले नै रुसमा पुगेर अभ्यस्त हुँदैछन् र मोर्चामा जाने सम्भावना छ । साथै थप सैनिकहरू चाँडै प्रस्थान गर्ने तयारी छ । यो प्योङयाङको पहिलो यस्तो विदेशी तैनाथी हो ।

दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसलाई हतियार आपूर्ति गरिरहेको दाबी गर्दै आएको छ । साथै उसले सैनिक तैनाथीप्रति चिन्ता व्यक्त गरेको छ । यो कदम उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा सैन्य सम्झौतामा हस्ताक्षर गरेपछि आएको हो ।

“सोलले रुसमा उत्तर कोरियाको हालैको सैनिक प्रेषणबारे गम्भीर चिन्ता व्यक्त ग¥यो र उत्तर कोरियाली सेनाको तत्काल फिर्तीको जोडदार आग्रह ग¥यो”, उपविदेशमन्त्री किम होङ–क्युनले रुसी राजदूत जर्जी जिनोभिएभलाई भन्नुभयो ।

सोलको गुप्तचर निकायले विस्तृत उपग्रह तस्वीरहरू सार्वजनिक गरेको छ । तस्बिरहरूले विशिष्ट ‘स्टर्म कोर’ का पहिलो एक हजार पाँच सय उत्तर कोरियाली विशेष बल रुसी सैन्य जहाजहरूमा भ्लाडिभोस्टकमा पुगेको देखाएको छ ।

दुई देशबीचको कुनै पनि सैन्य सहयोगले धेरै सुरक्षा परिषद् प्रस्तावहरूको उल्लङ्घन गर्ने उपविदेशमन्त्री किमले बताउनुभयो ।

रुसी राजदूत जिनोभिएभले ‘रुस र उत्तर कोरियाबीचको सहयोग… दक्षिण कोरियाको सुरक्षाको हितविरुद्ध निर्देशित छैन’ भनी जोड दिनुभएको दूतावासले एक वक्तव्यमा भनेको छ ।

सोमबार नै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले नाटो प्रमुख मार्क रुट्टेसँग कुरा गर्नुभयो र बढ्दो रुस–उत्तर कोरिया सहयोगविरुद्ध ‘ठोस प्रतिकार्य’ गर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।

रुट्टेले सामाजिक सञ्जाल एक्समा यसले द्वन्द्वमा ‘महत्त्वपूर्ण वृद्धि’ गर्ने बताउनुभयो । नाटोले अहिलेसम्म उत्तर कोरियाली सैनिक तैनाथीको पुष्टि गरेको छैन ।

राष्ट्रपति युनका अनुसार सोमबार सोलमा रहनुभएका बेलायती विदेशमन्त्री डेभिड लामीले रुसको कार्यलाई ‘लापरवाह र गैरकानूनी’ भन्दै लन्डनले सोलसँग मिलेर जवाफ दिने बताउनुभयो ।

एकता प्रदर्शन भ्रमणका लागि अमेरिकी रक्षामन्त्री किएभमा

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सोमबार किएभ आइपुग्नुभएको छ । यो भ्रमण रुससँगको युद्धमा युक्रेनका लागि महत्त्वपूर्ण क्षण र अमेरिकी चुनावअघिको केही हप्तामा समर्थनको प्रदर्शन हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई लामो दूरीका हतियारहरूको प्रयोगमा प्रतिबन्ध हटाउन र नाटोमा तत्काल सामेल हुन निमन्त्रणाका लागि दबाब दिइरहनुभएको बेला अस्टिन किएभ आइपुग्नुभएको हो ।

तथापि युक्रेनलाई अर्को महिना डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा निर्वाचित हुनुभए अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाको डर छ ।

“म रक्षामन्त्रीका रूपमा चौथो पटक युक्रेनमा फर्केको छु”, किएभ रेलवे स्टेसनमा आफ्नो तस्बिर पोस्ट गर्दै अस्टिनले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो, “मेरो पूर्व घोषणा नगरिएको भ्रमणले संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय समुदायसँगै निरन्तर युक्रेनको साथमा रहेको देखाउँछ ।”

अस्टिनले युक्रेनी नेताहरूसँग भेट गर्नुहुने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । “युद्ध क्षेत्रमा रुसी आक्रमणबाट आफ्नो रक्षा गर्न आवश्यक सुरक्षा सहायता युक्रेनलाई प्रदान गर्ने अमेरिकी प्रतिबद्धतालाई अस्टिनले रेखाङ्कित गर्नुहुनेछ”, मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार अस्टिनले सम्बोधनसमेत गर्नुहुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जर्मनी, फ्रान्स र बेलायतका नेताहरूसँगै युक्रेनलाई समर्थन जारी राख्ने प्रतिज्ञा गर्दै ‘रुसको निरन्तर आक्रामक युद्धको’ निन्दा गर्नुभयो ।

युक्रेनी राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीका अनुसार अस्टिनको भ्रमण सम्भवतः गत हप्ता जेलेन्स्कीले सहयोगीहरूसामु प्रस्तुत गर्नुभएको तथाकथित ‘विजय योजना’ मा केन्द्रित हुनेछ ।

“विशेषगरी उत्तर कोरियाका सन्दर्भमा हामीले युक्रेनका लागि सैन्य समर्थन बलियो बनाउनु आवश्यक छ भन्नेबारे थप दृढता र बुझाइ हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ”, नाम उल्लेख नगरी ती अधिकारीले भने ।

सोलको गुप्तचर निकायका अनुसार करिब एक हजार पाँच सय उत्तर कोरियाली विशेष बलका सैनिकहरू पहिले नै रुसमा पुगेर अभ्यस्त हुँदैछन् र मोर्चामा जाने सम्भावना छ । साथै थप सैनिकहरू चाँडै प्रस्थान गर्ने तयारी छ ।

रुसले युक्रेनमा थप हवाई बमबारी गरेको छ । जापोरिझ्झिया क्षेत्रका गभर्नरले कम्तीमा एक जनाको मृत्यु भएको र १४ जना घाइते भएको बताउनुभयो । आक्रमणमा एउटा बाल विद्यालयमा क्षति पुगेको थियो ।

“जापोरिझ्झियामा भग्नावशेषबाट एक व्यक्तिको शव निकालिएको छ”, ३० वटा भवन क्षतिग्रस्त भएको उल्लेख गर्दै गभर्नर इभान फेडोरोभले सामाजिक सञ्जालमा भन्नुभयो ।

क्रेमलिनले सन् २०२२ मा अन्य तीनसँगै यो दक्षिणी अग्रपङ्क्ति क्षेत्रलाई पनि आफूमा गाभेको दाबी गरेको थियो । यद्यपि त्यो क्षेत्रमाथि पूर्ण सैन्य नियन्त्रण नभएको अवस्था छ ।

भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की, ५ कात्तिक : नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताउनुभएको छ । नेसपाको आजदेखि पोखरामा सुरु भएको प्रथम विधान अधिवेशनको उद्घाटन गर्दै उहाँले भ्रष्टाचारको निष्पक्ष छानबिन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फरक पार्टीकालाई भ्रष्टाचारको मुद्दा लगाउने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । यसरी देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न बलियो संस्था आवश्यक छ ।”

संयोजक भट्टराईले राष्ट्रिय एकता बलियो बनाउनका लागि देशभित्र रोजगारी सिर्जना गरेर युवाहरुलाई देशभित्र नै राख्नुपर्नेमा जोड दिनुभयो ।  “देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ, देशलाई एकताबद्ध राख्न देशभित्र रोजगारी सिर्जना गर्ने र युवाहरुलाई  देशभित्रनै राख्नुपर्दछ । हिमाल, पहाड र तराईमा बस्नेहरुबीच एकता कायम गरेर मात्र राष्ट्रिय बलियो बन्दछ ।” भट्टराईले भन्नुभयो । 

नेसपाको वैचारिक राजनीतिक विश्लेषणा सही रहेको बताउँदै केही समय लागे पनि आफूहरुको विचार स्थापित भएरै छाड्ने उहाँले स्पष्ट पार्नुभयो । “पाँच  सिद्धान्तका आधारमा नयाँ नेपाल बनाउने परिकल्पना हाम्रो रहेको छ । केही समय लाग्ला तर वैकिल्पक राजनीतिक शक्ति र विचार स्थापित हुनेछ,” उहाँले भन्नुभयो । 

नेता भट्टराईले बाहिरी शक्तिहरुले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेको जिकिर गर्नुभयो । उहाँले सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाएर हिमाल, पहाड र तराईकाबीच  बलियो एकता निर्माण गर्नु आवश्यक छ भन्नुभयो ।

अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तुत घोषणापत्र र विधानका बारेमा सहभागीहरुबीच समूह बनाएर समूहगत छलफल भइरहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्नेछ । 

अधिवेशनले पार्टीको सङ्गठनात्मक संरचना, नेतृत्व प्रणाली र  सिद्धान्त लगायतका विषयहरु टुङ्गो लगाउने छ । अधिवेशनले पार्टीको महाधिवेशन, मिति र स्थानको घोषणा गर्ने बताइन्छ । 

विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा (माओवादी) परित्याग गरी नयाँ शक्ति नामक अभियान सञ्चालन गर्नुभएको थियो । 
त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभएका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै हाल नेपाल समाजवादी पार्टी बनेको हो । 

आज राति अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै

काठमाडौँ, ५ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

वासिङटन  डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ । उहाँ कात्तिक दोस्रो साता स्वेदश फर्किनुहुने कार्यक्रम छ । 

श्रम मन्त्रालयको एक सय दिन : सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापन सम्म

काठमाडौँ, ५ कात्तिकः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको एक सय दिन पुरा हुँदैछ । यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार व्यवस्थापनमा प्रगति भएको जनाएको छ ।

प्रगति विवरणअनुसार गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भैरहवा र क्षेत्रीय विमानस्थल, पोखरा सञ्चालनमा सहजीकरणका लागि सोही स्थानबाट श्रम स्वीकृतिलगायत सुरु गर्ने तयारी छ । “श्रम स्वीकृतिलगायतका कार्य गर्न सबै सरोकारवालासँग छलफल गरी प्रतिबद्धता प्राप्त भई यी विमानस्थलबाट सेवा प्रवाहको तयारी पुरा गरिएको छ”, प्रगति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगतका आयोजनामा खटिने श्रमिक र रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीसमेत गरी ६२ हजार दुई सय ५९ लाई सामूहिक सुरक्षा बिमामा आवद्ध गरिएको मन्त्रालयले जनाएको छ । साविक ४४ जिल्लाका अतिरिक्त चार जिल्ला धनकुटा, सोलुखुम्बु, मुस्ताङ र तेह्रथुममा सेवा बिस्तार गरी ४८ जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको छ । सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताको थप सूचीकरण गर्ने काम सम्पन्न भएको छ । यस अवधिमा थप चार सय ६६ रोजगारदाता सूचीकरण गरी जम्मा रोजगारदाताको सङ्ख्या १९ हजार छ सय ७६ पुगेको छ ।

प्युठान, ओखलढुङ्गा, सङ्खुवासभा, रुकुम (पूर्व), रूकुम (पश्चिम), हुम्ला, कञ्चनपुर, डोटी, दार्चुला र बैतडी गरी थप ११ जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना तथा सञ्चालनका लागि कर्मचारी विज्ञापन भई छनोट प्रक्रियामा रहेको प्रगति विवरणमा उल्लेख छ ।  

मन्त्रालयकाअनुसार दक्षिण कोरिया (इपीएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण र ओमानसँग द्विपक्षीय श्रम सम्झौताको तयारी छ । कोरिया इपीएस नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनाई काम भइरहेको जनाइएको छ । 

नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिमरुप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकार समक्ष पठाइएको जवाफ प्राप्त हुन बाँकी छ । ओमनसँगको द्धिपक्षीय श्रम सम्झौताका लागि नेपालमा उच्चस्तरीय छलफलपछि प्रारम्भिक सहमति भई ओमान पठाइएको र ओमान सरकारकोतर्फबाट कानुनी प्रक्रिया पुरा गरी नेपालमा प्राप्त भएपछि मन्त्रिपरिषद् पठाउने तयारी छ ।

प्रगति विवरणमा मधेस प्रदेशमा निर्माण हुने व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको तालिम केन्द्र निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको उल्लेख छ ।

मन्त्री भण्डारीकाअनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधिको अन्तिम मस्यौदा तयार भई स्वीकृतिको चरणमा छ । उहाँले श्रम स्वीकृत नभएका वा श्रम स्वीकृत नवीकरण नभएका नेपाली नागरिकलाई श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।  

यस्तै ओमान र संयुक्त अरब इमिरेट्सँगको द्विपक्षीय समझदारीपत्रलाई अन्तिम रुप दिइ परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको छ । दक्षिण कोरीयाको श्रम सम्झौताको पुनरावलोकनका लागि संयुक्त कार्यदल छलफलमा छ । मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रुप दिई परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको छ ।

प्रगति विवरणमा स्पेनसँगको श्रम समझदारी पत्रलाई अन्तिम रुप दिइएको जनाइएको छ । रोमानिया र जापानसँगको द्विपक्षीय समझदारी पत्र कार्यान्वयन गर्न संयुक्त प्राविधिक कार्यदलबाट प्रोटोकल डकुमेन्ट निर्माण गर्ने समझदारी भएको छ । 

कार्यप्रगति विवतरणमा वैदेशिक रोजगारीका क्रममा वा नेपाल फर्किएको एक वर्षभित्र मृत्यु भएमा दश लाख क्षतिपूर्ति दिने गरी नियमावली संशोधन भएको उल्लेख छ ।

वैदेशिक रोजगार ऐन समय सापेक्ष संशोधनको प्रक्रियामा रहेको जनाइएको छ । श्रम आप्रवासन नीतिको मस्यौदा प्राप्त गरी विभिन्न सरोकारवाला संस्था तथा नागरिकबाट प्राप्त सुझावको अध्ययन भइरहेको छ । आन्तरिक रोजगार प्रवर्द्धन दशक सञ्चालनको तयारीका लागि रणनीतिक योजना उपर छलफल भइरहेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विपद् व्यवस्थापनसमेतमा परिचालन गर्न सकिने गरी कार्यविधिमा थप व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा कोषको पुनःसंरचना र कोषबाट प्रवाह हुने सेवा सुविधामा सुधार गर्न पूर्वसचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र कार्यदलले विभिन्न सरोकारवालासँग छलफल गरीरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार वैदेशिक रोजगार बोर्डको भूमिका र संरचनालगायत आप्रवासनका सबै चरणमा कल्याणकारीकार्यका सम्बन्धमा सुझाव दिन पूर्वसचिव प्रताप पाठकको संयोजकत्वमा कार्यदल गठन भइ प्रतिवेदन तयारी गरिरहेको जनाएको छ ।

श्रमिकको स्वास्थ्य परीक्षण तथा प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा अध्ययन कार्यदल गठन भएको छ । नेपाली श्रमिकको हकहितका लागि श्रम सम्झौतामा राख्नुपर्ने विषयका सम्बन्धमा बृहत छलफल भइ रणनीतिक सुझाव प्राप्त भएको छ । १६औँ योजनाका लक्ष्य प्राप्तिका लागि मन्त्रालयले लिनुपर्ने नीति र रणनीतिका सम्बन्धमा प्रदेश र स्थानीय तहसँग छलफल गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकाद्धारा कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ

काठमाडौँ, ५ कात्तिक : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको शुभारम्भ गर्नुभएको हो । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो । पशुधनबाट यसको सुरुआत गरिएको छ ।

 बीमाको रियल टाइम सफ्टवेयरको शुभारम्भ गर्नुहुँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा बीमाका लागि रु दुई अर्ब छ करोड बजेट रहेको उल्लेख गर्नुहुँदै बीमाको माग बढी भएमा मन्त्रालयको अन्य शीर्षकको बजेटबाट पनि व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभयो । बीमा गर्न चाहने सबै किसानलाई यसमा आबद्ध हुन पनि उहाँले आह्वान गर्नुभएको छ ।

आफूले कार्यभार सम्हालेको सय दिनमा भएका उपलब्धिका बारेमा जानकारी गराउनुहुँदै मन्त्री अधिकारीले दूध किसानले जेठ मसान्तसम्मको दूधको भुक्तानी पाएको जानकारी दिनुभयो । बाँकी चार महिनाको भुक्तानी पनि छिटो दिने गरी पहल भइरहेको उहाँले सुनाउनुभयो । रासायनिक मलको समस्या कम गर्न सफल भएको, उखु किसानको भुक्तानी गरिएको जस्ता उपलब्धि यस अवधिमा मन्त्रालयले हासिल गरेको छ ।

 “असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षा र त्यसबाट आएको बाढीपहिरोका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा रु छ अर्बको क्षति भएको छ, धान, माछापालन, पशुपन्छी, खोर, सिँचाइ प्रणाली, भण्डारण गरिएको दानामा क्षति भएको छ, यो वर्ष धान उत्पादन बढ्ने पूर्वअनुमान गरिएकामा बाढी पहिरोले धान उत्पादन घट्ने देखिएको छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

 कृषि अनुदान सार्वजनिक गरिने सरकारबाट किसानले पाएको अनुदानको विवरण सार्वजनिक गर्न पनि मन्त्रालय लागिपरेको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । यसका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । यो समितिले किसानलाई दिएको अनुदानको अध्ययन गरेर पुस्तिका बनाई सार्वजनिक गर्ने तयारी गरिरहेको मन्त्री अधिकारीले बताउनुभयो । यसअघि प्रतिबद्धता गरिएको समयमा कृषि अनुदानको विवरण सार्वजनिक गर्न नसकिएको स्वीकार गर्नुहुँदै उहाँले यसबाट पछि हट्ने पक्षमा मन्त्रालय नरहेको मन्त्री अधिकारीको भनाइ थियो ।

आफू मन्त्री भएपछि नै बीउविजन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गराएको उल्लेख गर्नुहुँदै उहाँले नफल्ने बीउविजनको बिक्री वितरण गर्नेलाई अब कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । आफ्नो खेत अधियामा दिएपछि खेत कमाउनेले ल्याएर रोपेको बीउमा बाला नलागेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यस्तो बीउविजन बिक्री वितरण गर्नेलाई कारबाही गरिने बताउनुभयो । 

 थाक्रे गाउँपालिकाले वितरण गरेको मकैको बीउबाट मकै नफलेकाले यस्तो बीउबिजन बिक्री गर्नेले अबै कारबाहीबाट बच्न नसक्ने उहाँको प्रतिबद्धता थियो । बाँदरबाट किसानले पाएको दुःखको समस्या समाधान गर्न कृषि र वन मन्त्रालयका कर्मचारीलाई तालिम विदेश पठाइएको उल्लेख गर्दै मन्त्री अधिकारीले बाँदरबाट कृषि क्षेत्रमा परेको प्रभाव अन्त्य गर्न पनि मन्त्रालय लागिपरेको जानकारी गराउनुभयो ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बीमाप्रति विश्वास बढेकाले डिजीटल प्रविधिबाट पनि आवेदन गर्न सकिने गरी आजदेखि शुभारम्भ गरिएको बताउनुभयो । गत वर्ष रु एक अर्ब ७३ करोड बीमाको भुक्तानीका लागि दावी भएको उहाँले सुनाउनुभयो । प्राधिकरणका निर्देशक निर्मल अधिकारीले कृषि बीमाका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

पूर्वाधार विकाससम्बन्धी योजना तर्जुमा नै अव्यवस्थित : यातायातमन्त्री दाहाल

काठमाडौँ, ५ कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकाससम्बन्धी योजना तर्जुमा नै अव्यवस्थित रहेको बताउनुभएको छ । आज राष्ट्रियसभाअन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको नेपालमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकास बारे छलफलमा बोल्दै उहाँले योजना अनुसार वित्तीय स्रोत नहुँदा योजना तर्जुमा अव्यवस्थित भएको बताउनुभएको हो ।

“योजना बन्छ तर कार्यान्वयनका लागि प्राप्त बजेट नै हुँदैन”, उहाँले भन्नुभयो, “हाम्रो क्षमताअनुसार योजना बन्ने गरेको छैन, तसर्थ योजना बने पनि कार्यान्वयनमा समस्या देखिएको छ ।”

मन्त्री दाहालले योजना तर्जुमा गर्दा बाढीपहिरो जस्ता प्राकृतिक विपद्लाई ख्याल गर्दै जलवायुमैत्री पूर्वाधार विकासका गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “पूर्वाधार निर्माणका क्रममा अध्ययन र डिजाइनमा चुनौती छ । अब विपद्लाई पूर्वानुमान गर्दै पूर्वाधार निर्माण हुन नसके विपद्बाट अझै क्षति ब्यहोर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न अन्तरसरकारी निकायबीच समन्वय जरुरी छ ।” 

पूर्वाधार विकासका गतिविधि अगाडि बढाउँदा मुआब्जा वितरण, वनको जग्गा प्राप्ति, आवश्यकताअनुसारको बजेट अभावलगायतका समस्या रहेको उहाँको भनाइ छ । मन्त्री दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लक्ष्यअनुसार प्रगति गरिरहेको जानकारी दिनुभयो । 

समितिकीे सभापति कमला पन्तले विपद्मैत्री पूर्वाधार निर्माण नीति कार्यान्वयन गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुलाई सुझाव दिनुभयो । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आन्तरिक बसाँइसराइका कारण सहरी विकासमा समस्या थपिएको बताउनुभयो । निर्माण व्यवसायीले समयमा भुक्तानी पाउन नसक्दा पूर्वाधार निर्माणमा ढिलाइ हुने चुनौती रहेको उहाँको भनाइ छ । 

ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा राणा

पाटन (ललितपुर), ५ कात्तिक : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओल्गा डेविस मरी एक असाधारण सामाजसेवी रहेको बताउनुभएको छ । नेपाल युथ फाउण्डेशनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय मरीको सालिक अनावरण गर्दै मन्त्री डा राणाले ओल्गाले जीवनमा आफूलाई हजारौँ बालबालिकाहरुको भविष्य निर्माणमा निस्वार्थ रूपमा समर्पित गरी असाधारण काम गरेको बताउनुभयो ।

“ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उहाँले गर्नुभएको कामले हामीलाई छोएको छ, जब मैले ओल्गाको सालिक अनावरण गरें, तब मैले उहाँले सृजना गरेको विरासत र उहाँले भविष्य निर्माण गरिदिनुभएको हजारौँ मानिसको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महसुस गरेको छु”, डा राणाले भन्नुभयो ।

ओल्गा डेविस मरी नेपाल युथ फाउण्डेशनको संस्थापक हुन् ।  अमेरिकी नागरिक मरीले फाउण्डेशनमार्फत विगत ४० वर्षदेखि नेपाल र नेपाली बालबालिकाहरुका लागि जीवन समर्पित गर्दै आउनुभएको थियोे । अवसरविहिन बालबालिका र युवाको भविष्य निर्माण गर्न सहयोग पु¥याउने हेतुले सञ्चालित ओल्गापुरी भिलेज बालबालिका र युवाका लागि मरीको अमूल्य उपहार भएको संस्थाका कार्यकारी निर्देशक राजु धमलाले बताउनुभयो । 

मरीले पु-याउनुभएको योगदानको कदर गर्दै सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मानित गरेको थियो । सरकारले उनलाई नेपालका लागि आजीवन आवासीय भिषा प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फ्रेब्रुअरी २०२४ मा देहान्त भएको थियो । फाउण्डेशनले ओल्गापुरी भिलेज हाताभित्र मरीको सालिक स्थापना गरेको हो ।

सालिक अनावरण कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सन, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य,  ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’को नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक

काठमाडौं । दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’ नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन् । गीतले तीन कलाकारको यात्रालाई चित्रण गरेको छ । भिडियोमा जितु र नितीको रोमान्टिक भावलाई पनि देखाइएको छ ।फिल्मले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरिसकेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेनमेन्टले वितरण गरेको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।


सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

काठमाडौँ, ५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ । यस अवधिमा सरकारका विभिन्न उपलब्धिसँगै परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न मुलुकसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भएका छन् ।

परराष्ट्र मन्त्रालयले सरकार गठन भएको पहिलो सय दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा तथा एसियन कोअपरेशन डाइलगको शिखर सम्मेलनमा उच्चस्तरीय प्रतिनिधित्व गर्ने काम भएको र ती मञ्चहरूमा नेपालको प्रभावकारी उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सन् २०२४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको, २–३ अक्टोबर २०२४ मा कतारमा सम्पन्न एसिया कोअपरेशन डायलगको शिखर सम्मेलनमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ भएको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्री डा देउवाले गत भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उहाँको द्विपक्षीय भेटवार्ता भएको थियो ।

यस अवधिमा ओमानका परराष्ट्रमन्त्री सयीद बद्र विन हमद विन हमद अल्बुसैनीले गत भदौ १० र ११ गते नेपालको भ्रमण गर्नुभएको थियो । परराष्ट्र मन्त्री डा देउवाले गत असोज ५ देखि १७ गतेसम्म क्यानडा, संयुक्त राज्य अमेरिका र कतारको उच्चस्तरीय भ्रमण गर्नुभएको थियो ।

सरकार गठनको यस अवधिमा पोर्चुगलमा नेपाली राजदूत नियुक्तिको सिफारिस तथा संसदीय सुनुवाइ सम्पन्न भई सम्बन्धित मुलुकको सहमति प्राप्त हुने प्रक्रियामा रहेको छ । साथै मन्त्रालय तथा नियोगहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएको छ ।   यसै अवधिमा नेपाल ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक गत साउन २३ गते परराष्ट्र सचिवस्तरमा ओमानको मस्कटमा सम्पन्न भएको थियो । त्यस्तै राहदानी खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारी अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

मोल्दोभामा ईयूको सदस्यताबारे भएको जनमत सङ्ग्रहमा पक्षमा झिनो बहुमत, राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान हुने

मोल्दोभा युरोपेली सङ्घमा सामेल हुने विषयमा भएको जनमत सङ्ग्रहलाई विदेशी हस्तक्षेपका कारण झिनो बहुमतले पारित गरेको ब्रसेल्स समर्थक राष्ट्रपति माया सान्दुले सोमबार बताउनुभएको छ ।

उहाँले रूसलाई परोक्ष रूपमा सङ्केत गर्दै विदेशी हस्तक्षेपका कारण परिणाम अपेक्षा गरे अनुसार नआएको बताउनुभएको छ । मोल्दोभाको पश्चिममा रोमानिया रहेको छ भने दक्षिण, उत्तर र पूर्वमा युक्रेन रहेको छ ।

युद्धग्रस्त युक्रेनसँग सीमा जोडिएको पूर्व सोभियत गणतन्त्र मोल्दोभामा चुनावी अभियानमा हस्तक्षेप र मतगणना ‘विसङ्गत’ भएको आरोप लागेपछि सान्दुलाई चुनावी हस्तक्षेप ‘प्रमाणित’ गर्न क्रेमलिनले चेतावनी दिएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि सान्दुले २६ लाख जनसङ्ख्या भएको आफ्नो देशलाई युरोपेली सङ्घमा सामेल हुनका लागि आवेदन दिनुभएको थियो ।

कुल ९९ प्रतिशतभन्दा बढी मत गणना हुँदासम्म इयूमा सामेल ‘हुनुपर्छ’ भन्ने पक्षमा मत ५०.२८ प्रतिशत अर्थात् इयू विरोधी खेमाभन्दा आठ हजार मत बढी हो ।

मोल्दोभाका राष्ट्रपति सान्दुले ‘देशको स्वतन्त्रता र लोकतन्त्रमाथि अभूतपूर्व आक्रमण भएको’ भन्दै ‘आपराधिक समूह, आफ्नो राष्ट्रिय हितविरोधी विदेशी शक्तिसँग मिलेर काम गरिरहेको’ आरोप लगाउनुभएको छ ।

जनमत सङ्ग्रहसँगै आइतबार भएको भएको पहिलो चरणको राष्ट्रपतीय चुनावमा सान्दु शीर्ष स्थानमा रहन सफल भए पनि दोस्रो चरणमा रूस समर्थक समाजवादी समूहले समर्थन गरेका पूर्व अभियोजक अलेक्जेन्डर स्टोयानोग्लोसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

राष्ट्रपति चुनावमा सान्दुले ४२ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने स्टोआनोग्लोले अपेक्षा गरेभन्दा निकै नै बढी मत प्राप्त गर्नुभएको छ । दोस्रो चरणको मतदान नोभेम्बर ३ मा हुनेछ ।

भारत र चीनबीच विवादित सीमा गस्तीसम्बन्धी सम्झौता– भारतीय विदेश मन्त्रालय

भारतले सोमबार छिमेकी चीनसँग अत्यन्त विवादित सीमा क्षेत्रहरूमा सैन्य गस्तीका लागि सम्झौता गरेको बताएको छ । यसले सन् २०२० मा दुवै मुलुकका प्रतिद्वन्द्वी सेनाहरू भिडेका बेला उत्पन्न भएका समस्याहरूको समाधान गर्ने लक्ष्य राखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको एक दिनअघि यो घोषणा आएको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पनि उपस्थिति हुने अपेक्षा गरिएको छ ।

विश्वका दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू चीन र भारत गहन प्रतिद्वन्द्वी हुन् र दुवैले नियमित रूपमा एकअर्कालाई वास्तविक नियन्त्रण रेखा भनिने अनौपचारिक विभाजन रेखा वरिपरि क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।

कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको सन् २०२० को सीमा झडपपछि दुवै पक्षले दशौँ हजार सैनिक फिर्ता गरेका थिए र वास्तविक नियन्त्रण रेखा भनिने साँघुरो विभाजन पट्टीमा गस्ती नपठाउने सहमति गरेका थिए ।

“पछिल्ला केही हप्तादेखि भारतीय र चिनियाँ कूटनीतिक र सैन्य वार्ताकारहरू एकअर्कासँग निकट सम्पर्कमा रहेका छन्”, भारतका विदेश मन्त्रालयका शीर्ष अधिकारी विक्रम मिश्रीले पत्रकारहरूलाई भन्नुभयो, “यी छलफलहरूको परिणामस्वरूप भारत–चीन सीमा क्षेत्रहरूमा वास्तविक नियन्त्रण रेखामा गस्ती व्यवस्थाबारे सम्झौता भएको छ, जसले २०२० मा यी क्षेत्रहरूमा उत्पन्न भएका समस्याहरूको अन्ततः समाधान र पृथकीकरणतर्फ डोर्याउनेछ ।”

भारत आफ्नो उत्तरी छिमेकीप्रति सतर्क छ । दुवै मुलुकको तीन हजार पाँच सय किलोमिटर लामो सीमानामा विवादहरू स्थायी तनावका स्रोत हुन् ।

चीनले भारतको उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशलाई तिब्बतको अंश मान्दै सम्पूर्ण दाबी गर्छ । दुई देशबीच सन् १९६२ मा सीमा युद्ध भएको थियो । दुवै मुलुकले दक्षिण एशियाभर व्यापक रणनीतिक प्रभावका लागि पनि कडा प्रतिस्पर्धा गर्छन् ।

प्रचण्डको दाबी – ओली नेतृत्वको सरकारप्रति जनविश्वास छैन

जुम्ला, ५ कात्तिक : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाको गोरुचौर आइपुग्नुभएका दाहालले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउनुभयो ।

प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दैछ । तपाईहरुले सबै देखिरहनुभएको छ ।” उहाँले आफ्नो नेतृत्वको सरकारले राज्यको जमिन जबरजस्ती व्यक्तिका नाममा दर्ता गर्नेलाई गिरफ्तार गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले नै अदालतमा मुद्दा चलिहरको व्यवसायीबाट जग्गा दान लिएर भ्रष्टाचारीको संरक्षण गरेको उहाँको आरोप थियो ।

उहाँले सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी विपक्ष दलहरुका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।”

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसद्को पहिलो र दोस्रो दलले आफूलाई हटाएको बताउनुभयो ।

उहाँले आफूले सरकारको नेतृत्व गरेको बेला दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको उल्लेख गर्नुभयो । “संयुक्त राष्ट्रसङ्घको महासभा, विश्व खाद्य सम्मेलन, कोप–२८ सम्ममा लिएको हस्तक्षेप पूर्ण पहलकदमीले विश्वको ध्यान आकर्षित भएको थियो । महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो, “गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँ र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौँ । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो र नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको थियो ।”

अध्यक्ष दाहालले सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने बताउनुभयो । उहाँले आफू पछिल्लोपटक प्रधानमन्त्री भएको बेलामा सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै यसलाई चाँडै मन्त्रिपरिषद्बाट पारित गरी संसद्बाट ऐन बनाउने प्रक्रिया थालनी गर्नुपर्ने बताउनुभयो ।

भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्रमा २५ उद्योग स्थापना गर्न अनुमति

काठमाडौँ, ५ कात्तिक : सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ । ती उद्योगबाट रु तीन सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

वर्तमान सरकार गठन भएको एक सय दिनका अवधिमा थप दुई वटा उद्योगले उत्पादन सुरु गरेका छन् । प्लट प्राप्त गरेका ३ वटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सिमरा विशेष आर्थिक क्षेत्र(सेज)मा १५ वटा उद्योगलाई उद्योग स्थापना गर्न जग्गा प्रदान गरिएको उक्त उद्योगहरूबाट कूल रु छ सय ८४ करोड लगानी र एक हजार दुई सय ८७ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता प्राप्त भएको छ । ती उद्योगमध्ये सात वटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

भारतीय सहयोगमा निर्माणाधीन भैरहवास्थित कन्टेनर डिपो निर्माणको अनुगमन/समीक्षा गरी तोकिएको समयमै निर्माण सम्पन्न गर्नेगरी सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच मिति गत असोज १७ मा सम्झौता भएको छ । नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन विस्तार र १८ हजार नौ सय किलो लिटर क्षमताको पेट्रोलियम भण्डारण ट्याङ्की भारत सरकारको अनुदान सहयोगमा निर्माण गर्नेसमेत सम्झौता भएको छ ।

त्यसैगरी अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन भारत सरकारको अनुदान सहयोगमा विस्तार गर्ने र ९१ हजार नौ सय किलो लिटर क्षमताको पेट्रोलियम भण्डारण ट्याङ्की भारत सरकारको प्राविधिक सहयोगमा नेपाल सरकारले निर्माण गर्ने सहमति भएको छ ।

कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा प्रयोग र रुख कटानसम्बन्धी मन्त्रिपरिषद्बाट स्वीकृत प्राप्त भइ निर्माण प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

यसबीचमा उद्योग विभागमा एक सय ९९ वटा नयाँ उद्योग दर्ता भई रु ३३ अर्ब ६८ करोड लगानीको प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । चालु आवमा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न रु एक अर्व विनियोजन गरिएकामा उक्त कार्यक्रमबाट स्टार्टअप उद्यमीको वित्तीय पहुँच बढाउन पुस मसान्तभित्र कर्जा प्रवाह गर्ने कार्य सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

लामो अवधिसम्म बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध विभिन्न नौ वटा सार्वजनिक संस्थानको अद्यावधिक स्थिति तयार गरी निजीकरण समितिमा पेस गरिएको छ । विश्व व्यापार सङ्गठनका विज्ञ र नेपालको व्यापार सम्बद्ध मन्त्रालयको सहभागितामा नेपालको राष्ट्रिय व्यापार नीतिको समीक्षा कार्य प्रारम्भ भएको छ ।

पर्यटन मन्त्रालयको एक सय दिन : आगामी यात्राको आधारशिला तयार

काठमाडौँ, ५ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ ।

वर्तमान सरकार गठन भएको एक सय दिनमा पर्यटन मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशिला तयार गरेको हो । मन्त्रालयद्वारा निर्धारण गरिएका कार्यक्रम अनुरुप नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा अलग गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस भएको छ ।

पर्यटन ऐन र क्यासिनो नियमावली मस्यौदा मन्त्रिपरिषद्मा पेश भएको छ । संस्कृति नीतिको मस्यौदा पनि मन्त्रिपरिषद्मा पेश भएको छ । पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको छ । ग्रेट हिमालयन ट्रेलको पाँच किलोमिटर निर्माण भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । भूकम्पबाट क्षतिग्रस्त नौ सय २० पुरातात्विक महत्वका सम्पदाहरुमध्ये गत आवमा आठ सय सम्पदाको पुनःनिर्माण सम्पन्न भएकामा थप पाँच वटा सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

थप ५७ हिमालको आरोहण खुला गरिएको छ । मन्त्रिपरिषद् बैठकले छ हजार पाँच सय मिटरभन्दा तलका उक्त हिमाल आरोहण खुला गरेको हो । मन्त्रालय र मातहत निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि अर्थमन्त्रालयमा पेस गरिएको छ ।

पर्वतीय अनुमति प्रणालीलाई स्वचालित बनाइएको छ । सङ्घीय भाषा ऐनको मस्यौदा तर्जुमाको प्रक्रिया अगाडि बढाइएको छ । राष्ट्रिय महत्वका अभिलेखहरुको सङ्कलन सुचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन गरिएको छ ।

लुम्बिनी विश्वसम्पदा संरक्षण कार्ययोजना कार्यान्वयनमा छ । अविरल वर्षा, बाढीपहिरोका कारण गोरखाको सामागाउँमा विचल्लीमा परेका एक सय ६३ जना विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको, विमानस्थलमा अधिकतम क्षमतामा उडान सञ्चालन गरिएको जनाइएको छ ।

कांग्रेसको नीति प्रतिष्ठानमा १८ सदस्य मनोनित

काठमाडौँ, ५ कात्तिक : नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विभिन्न १८ व्यक्तिलाई नियुक्त गर्नुभएको छ ।

उहाँले प्रतिष्ठानको सदस्यमा आज कविराज पण्डित, जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला वर्मा, केदारनरसिंह केसी, रिना उप्रेती (केसी), वीरेन्द्र यादव, कृष्णप्रसाद पौडेल, भरत प्रसाईं, कमल कार्की, बलदेव तिमिल्सिना, डोलराज भुसाल, प्रताप पौडेल, हजारी नेपाली (वादी), विश्वदीप लामिछाने, नाहिदा परविन, भवानी पन्त, अनार बस्नेतलाई नियुक्त गर्नुभएको हो ।

सृष्टि श्रेष्ठ र नाजिर हुसेन अभिनित ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर आज सार्वजनिक भएको छ। यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा प्रेमका उतारचढाव पनि देखाइएको छ। पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटेको छ।

दोस्रो टिजरमा नाजिर र सृष्टिको सम्बन्धले अगाडि बढ्ने क्रममा उनीहरूको प्रेममा थप संघर्ष र पेचिलो मोडहरू प्रस्तुत गरिएको छ। टिजरको अन्त्यमा दर्शकले नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न पाउँछन्। यो दृश्यले पहिलो टिजरको विपरीत परिणाम प्रस्तुत गर्दछ, जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो ।

चलचित्रको अनौठो र रहस्यमय कथावस्तुले दर्शकलाई झन् उत्साहित बनाएको छ, जसले यसलाई प्रतिक्षित चलचित्रमध्ये एक बनाएको छ। नाजिर हुसेन र सृष्टि श्रेष्ठको दमदार अभिनयले दर्शकहरूलाई नयाँ र रोमाञ्चक कथा अनुभव गराउनेछ।‘मिसिङः केटी हराएको सूचना’ ले रहस्य र प्रेमको कथा मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । यो चलचित्र कात्तिक ३० मा प्रदर्शन हुँदैछ ।

चलचित्र निर्माण पक्षले दशैंअघि चलचित्रको पोस्टर सार्वजनिक गरेको थियो । चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

https://www.youtube.com/watch?v=F5a7T3RTlDU

अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता हुँदै

काठमाडौँ, ५ कात्तिक : पर्यटन प्रवद्र्धनार्थ तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ । हिमालयन टुरिजम फोरमले यही कात्तिक २४ गते दौड प्रतियोगिता आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘रन फर कमन प्रोस्पेरिटी’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडीहरूले सहभागीता जनाउनेछन् । प्रतियोगिताले पर्यटन प्रवद्र्धनका साथै पोखरा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पु¥याउने र नेपाल–चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास लिइएको छ ।

 दौड तालिकाअनुसार कात्तिक २२ गते खेलाडीको आगमन, कात्तिक २३ गते खेलाडीका दर्ता र आवश्यक सामग्रीहरू वितरण तथा कात्तिक २४ गते प्रतियोगिताको उद्घाटन गरिनेछ ।

 हिमालयन टुरिजम फोरमका मिडिया संयोजक ई प्रतिक राज पहारीले चिनियाँ खेलाडीहरूका लागि सात नोभेम्बरमा चीनको कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिनेछ । उहाँका अनुसार प्रतियोगितामा टिम समूह ३० मिश्रित टिममा ९० खेलाडीहरू हुनेछन् । जसमा १० चिनियाँ टाली र २० नेपाली टोली हुनेछन् । खेलाडीहरूले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्नेछ । दौडका क्रममा खेलाडीले कुल दुई हजार २५८ मिटर उचाई पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति टिम रु २२ हजार नौ सय २० तोकिएको छ ।

 च्यालेन्ज इन्डिभिजुअल समूह प्रतियोगितामा करिब दुई सय खेलाडी (जसमा ८० चिनियाँ खेलाडीहरू र एक सय २० नेपाली खेलाडीहरू) ५० किलोमिटरको ट्रेलमा दुई हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क प्रतिव्यक्ति रु नौ हजार पाँच सय ५० तोकिएको छ । यस्तै विद्यार्थी दौडमा पाँच किलोमिटरको दौडमा पाँचसय खेलाडीहरूले सहभागिता जनाउनेछन् ।

 ह्याप्पी रन समूह प्रतियोगितामा दुई किलोमिटर दौडमा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने संस्थाले विज्ञप्तिमार्फत जनाएको छ । टिम समूहमा शीर्ष पाँच टोलीले नागद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम हुनेलाई रु चार लाख ५८ हजार चार सय, दोस्रो हुनेलाई तीन लाख ४३ हजार आठ सय, तेस्रो हुनेलाई दुई लाख २९ हजार दुई सय, चौथोलाई एक लाख ५२ हजार आठ सय र पाँचौँ लाई ९५ हजार पाँचसय नगद पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।

 अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र हिमालयन टुरिजम फोरम आयोजक रहनेछन् । 

न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधान न्यायाधीश राउत

काठमाडौँ, ५ कात्तिक : प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधान न्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने बताउनुभयो ।

  “न्यायपालिकाको सुधारका क्रम रोकिने छैन, मेरो पहिलो प्राथमिकता न्यायापालिकाको सुधार हुनेछ”, प्रधान न्यायाधीश राउतले भन्नुभयो, “न्यायपालिकालाई पारदर्शी र जवाफदेही बनाउन सदा प्रतिबद्ध छु, त्यो मेरो संवैधानिक जिम्मेवारी र दायित्व हो, म निष्ठापूर्वक काम गर्नेछु ।”

  न्यायालयप्रति जनताको जनआस्था र विश्वास फर्काउने प्रयत्न गर्ने र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनको प्रावधान कार्यान्वयन हुन बाँकी रहेका विषयमा पनि कार्यान्वयनका लागि आफूले ध्यान दिने स्पष्ट पार्नुभयो ।

  प्रधान न्यायाधीश राउतले नागरिककको अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रही समग्र देश, जनता र संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक काम गर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त रहेकाप्रति उहाँले भन्नुभयो, “न्यायाधीश बिना न्यायालय चल्न सक्दैन, त्यो प्राथमिकतामा रहनुपर्ने विषय हो, त्यो छिट्टै हुनेछ ।”

  नवनियुक्त प्रधान न्यायाधीश राउतलाई मञ्चका अध्यक्ष कालिका खड्कासहितको पदाधिकारी तथा कानुन रिपोटिङ गर्ने सम्पूर्ण पत्रकारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल रेडक्रस केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग

काठमाडौँ, ५ कात्तिकः नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्कीसहित अन्य सदस्य मनोनयन गरेको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यसअघि नेपाल रेडक्रसमा ३५ सदस्यीय कार्यसमिति थियो ।

बैठकले आगामी मङ्सिर २६ र २७ गते विधान महाधिवेशन आह्वानसमेत गरेको छ । नेपाल रेडक्रसलाई थप एकताबद्ध बनाउन गरिएका प्रयासलाई विधान अधिवेशनबाट व्यवस्थित गरिने महामन्त्री श्रेष्ठको भनाइ छ । विधान महाधिवेशनबाट निर्वाचन गरी अहिले देखिएका मतभेदलाई अन्त्य गर्ने दुवै पक्षबीच सहमति भएको उहाँले बताउनुभयो ।

संस्थाको सुदृढीकरण, संस्थामा लामो समयदेखिको विवादलाई अन्त्य गर्नका लागि र सामूहिक प्रतिबद्धतासहितका सुधारका कार्यहरू अगाडि बढाउने बैठकको निर्णय छ । अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले सबै सरोकारवालासँगको निरन्तर संवाद, छलफल, सहमतिलाई निरन्तरता दिँदै वैधानिक र दीर्घकालीन रूपमा समस्या समाधान गर्न वर्तमान कार्यसमिति समिति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

वर्तमान कार्यसमितिको विपक्षमा रहेका पक्षले केन्द्रीय कार्यसमितिको गठन, निर्वाचन तथा यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो । संस्थाको मौजुदा विधानमा मुलुकको सङ्घीयतासँग अनुकूलन, समावेशीकरण, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको मापदण्डसँग सामञ्जस्यतालगायत आधारमा समसामयिक सुधारका लागि एक समिति गठन गरिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

उहाँले संसारका अधिकांश मुलुकमा छुट्टै कानुनद्वारा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी सञ्चालन भइरहेका सन्दर्भमा नेपालमा हालसम्म पनि रेडक्रस ऐन जारी हुन नसकाले सरकारसँग समन्वय र सहयोगका लागि सो समिति गठन गरिएको बताउनुभयो ।

पर्साका विभिन्न स्थानबाट भन्सार छलेर भित्र्याइएका १८ लाखका सामान बरामद

वीरगञ्ज (पर्सा), ५ कात्तिकः सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको रु १४ लाख ६० हजार मूल्य पर्ने किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस्, मोबाइल एसेसोरिज, इलेक्ट्रोनिक्स तथा मेडिकलका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै भन्सार छली गरेर ल्याएका सामान पक्राउ पर्ने क्रम बढेको बताउनुभयो । उहाँले भन्सार छली गरेर बरामद भएको सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पुर्याएर बुझाएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले आइतबार नै ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित चण्डालबाट भन्सार छली गरेर ल्याएको रु एक लाख ६९ हजार मूल्य पर्ने जुत्ता, कपडा र किराना सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

यसैगरी गत शनिबार प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित रु दुई लाख २८ हजार मूल्य पर्ने किनाराका सामान, इलेक्ट्रिक सामान, मोटर पार्टस्, कपडा तथा खेलौनाका सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको छ ।

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

घोडाघोडी (कैलाली), ५ कात्तिक : गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो ।

विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प-यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो । 

कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

पछिल्लो छ वर्षमा पासोमा परेर कैलालीमा दुई वटा पाटे बाघ र पाँच वटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, आव २०८०/८१ मा  एक पाटे बाघ र एक चितुवाको मृत्यु भएको छ भने चालु आवमा एक चितुवाको मृत्यु भएको छ ।

कैलालीमा भारतको दुधुवा नेशनल पार्क जोड्ने वसन्ता जैविकमार्ग र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने कर्णाली जैविकमार्ग छन् । यी मार्गबाट बाघ, चितुवा, हात्तीलगायतका जङ्गली जनावर ओहोरदोहोर गर्ने गर्दछन् । यी जैविक मार्गका वरिपरि बाक्लो मानव बस्ती छ । यसका कारण पनि यी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेको डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताउनुभयो । 

जिल्लामा वन्यजन्तु उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीलाई बोलाइने गरिन्छ । समन्वय गरेर उद्धार टोली आइपुग्दा घण्टौँ बितिसकेको हुन्छ । कठायतले भन्नुभयो, “यो अवस्थामा कतिपय मरिसकेका हुन्छन् र कतिपय उद्धार भएपछि मर्छन् । यदि हाम्रै ठाउँमा उद्धार टोली भएको भए समयमा उद्धार गरी बचाउन सकिन्थ्यो । 

उद्धार टोलीसँगै उद्धार गरिसकेपछि राख्ने ठाउँ यहाँ छैन । तत्काल उद्धार गरेर ‘साइकोलोजीकल थेरापी’सँगै पालनपोषणका लागि उद्धार केन्द्र आवश्यक पर्ने सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताउनुभयो ।

विष्टकाअनुसार विविधकारणले उद्धार गरिएका वन्यजन्तु निकुञ्जले राख्न मान्दैन । सुदूरपश्चिममा उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता रहेको बताउँदै उहाले भन्नुभयो, “त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।” पहिले निकुञ्ज क्षेत्रमा धेरै जसो वन्यजन्तुको द्वन्द्व हुने गथ्र्यो । त्यसैले निकुञ्जमा उद्धार केन्द्रहरू राखिएका छन् । अहिले निकुञ्ज बाहिर उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता महसुस भएको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताउनुभयो । 

सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरालगायतमा यस्ता समस्या रहेको उहाँले बताउनुभयो । उद्धार टोलीका लागि नयाँ दरबन्दी राख्नुपर्छ । भेटनरी डाक्टरलगायतका कर्मचारीको आवश्यक पर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “सरकारलाई यसका लागि प्रस्ताव गरेका छौँ ।  स्वीकृत भएपछि अगाडि बढ्ने छौँ ।” 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बनाइ रहेको उद्धार केन्द्रमा यो वर्ष बजेट विनियोजन गरेको बताउँदै उहाँले पहाडी जिल्लाका लागि डडेलधुरामा सेन्टर राख्ने योजना बनाएको जानकारी दिनुभयो ।

सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ

काठमाडौँ, ५ कात्तिकः रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबान प्रभावितलाई आवश्यकताका आधारमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी रहेको जनाएको छ । आइएफआरसीले नेपाल रेडक्रसमार्फत हालसम्म यस वर्षको बाढीपहिरो तथा डुबानबाट प्रभावित करिब पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा खाद्यान्न वितरणमा सहयोग गरेको जनाएको छ ।

साथै बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत वितरण गर्नेगरी नेपाल रेडक्रसका विभिन्न गोदामघरबाट हालसम्ममा रु तीन करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्री (कम्बल, त्रिपाल, म्याट्रेस, सरसफाइ कीट ब्ल्याङ्केट, स्लिपिङ ब्याग आदि) जिल्ला शाखामा पठाइएको जनाइएको छ ।

नेपाल रेडक्रद्वारा जारी विज्ञप्तिका अनुसार हालसम्म तीन आठ सय १७ परिवारलाई रु दुई करोड २७ लाख बराबरको नगद र गैरखाद्य राहत सामग्री वितरण गरिसकिएको छभने आठ सय ७४ जना स्वयंसेवक तथा कर्मचारी खोज तथा उद्धारकार्यमा परिचालित भएका छन् । आइएफआरसीका महासचिव जगन चापागाईँले गत असोज १०, ११ र १२ गतेको बाढीपहिरो तथा डुबान प्रभावितका लागि तत्काल आइएफआरसीको आपत्कालीन सहयोग कोषमार्फत रु नौ करोडको सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

‘मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल’

उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको छ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे दुई वर्षको आक्रमणलाई लिएर मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल भएको देखाउन पुटिनले यो शिखर सम्मेलनलाई रूसमा आयोजना गर्न लागेको अमेरिकालगायतका उसका पश्चिमा सहयोगीको बुझाई रहेको छ ।

युक्रेन युद्ध भएपछि रूसमा हुन लागेको यो सबैभन्दा ठूलो शिखर सम्मेलन हुनेछ ।सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस, चिनियाँ नेता सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भा र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान अक्टोबर २२ देखि २४ सम्म कजान शहरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

रूसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरेको बताएको छ ।

मस्कोले ब्राजील, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका मुख्य सदस्यराष्ट्रहरूको संक्षिप्त नाम ब्रिक्स समूहलाई आफ्नो विदेश नीतिको आधारस्तम्भ बनाएको छ ।

सम्मेलनको कार्यसूचीका मुख्य मुद्दाहरूमा पुटिनको क्षमतालाई टक्कर दिन ब्रिक्सको नेतृत्वमा भुक्तानी प्रणालीको विचार, सन् २०२२ मा रूसी बैंकहरूबाट काटिएको अन्तर्राष्ट्रिय वित्तीय नेटवर्क साथै मध्य पूर्वमा बढ्दो द्वन्द्व पनि गरिएको छ ।

क्रेमलिनले यस भेलालाई कूटनीतिक विजयको रूपमा व्याख्या गरेको छ जसले पश्चिमी ‘आधिपत्य’ लाई चुनौती दिन सक्षम गठबन्धन निर्माण गर्न मद्दत गर्नेछ।

संयुक्त राज्य अमेरिकाले ब्रिक्स “भूराजनीतिक प्रतिद्वन्द्वी“ बन्न सक्ने विचारलाई अस्वीकार गरेको छ तर युक्रेन द्वन्द्व चर्किंदै जाँदा मस्कोले आफ्नो कूटनीतिक शक्ति प्रदर्शन गरेकोमा चिन्ता व्यक्त गरेको छ।

मस्कोले यस वर्ष पूर्वी युक्रेनको युद्धभूमिमा निरन्तर प्रगति गरिरहेको छ भने चीन, इरान र उत्तर कोरियासँग आफ्नो सम्बन्ध लाई मजबुत बनाएको छ ।

मस्कोस्थित राजनीतिक विश्लेषक कोन्स्टान्टिन कालाचेभले एएफपीसँग भन्नुभयो,“कजानमा ब्रिक्सलाई भेला गरेर क्रेमलिनले ‘रुस एक्लो नभएको मात्र होइन, उसका साझेदार र सहयोगीहरू पनि छन् भन्ने देखाउने उद्देश्य राखेको छ।”

सन् २०२३ मा युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पुटिनलाई ‘खोजीको सूचीमा’ राखेको घोषणा गरेको थियो ।

“यस पटक क्रेमलिनले बहुध्रुवीय विश्व एक वास्तविकता हो भन्ने प्रमाणित गर्दै ‘पश्चिमी दबाबको विकल्प’ देखाउन चाहेको छे,” मस्कोले पश्चिमबाट अन्य क्षेत्रहरूमा शक्ति स्थानान्तरण गर्ने प्रयासको उल्लेख गर्दै कलाचेवले भन्नुभयो । मस्कोले युक्रेनका चार वटा क्षेत्र कब्जा गरेको छ र त्यसलाई आफ्नो भएको दाबी गरे पनि पश्चिमा मुलुकले युक्रेनमा सेना पठाउन रूसलाई उक्साएको पुटिनले आरोप लगाउँदै आउनुभएको छ ।

क्रेमलिनले भनेको छ, “रूसले विश्वव्यापी मामिला संयुक्त राज्य अमेरिका वा कुनै एक राज्यद्वारा निर्धारित नियमहरूमा नभई अन्तर्राष्ट्रिय कानूनद्वारा निर्देशित होस् भन्ने चाहेको छ।”

मेची भन्सार कार्यालयबाट चिया निर्यात बढ्यो, अलैँची घट्यो

भद्रपुर (झापा), ५ कात्तिकः मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश. २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालन

बागमती, ५ कात्तिकः हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी, ५ कात्तिकः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो ।

अन्नपूर्ण –४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूतिगृह स्थापना गरेको जानकारी दिनुभयो । “निलगिरिखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसूतिगृह स्थापना गरेको हो”, उहाँले भन्नुभयो, “नारच्याङका महिला सुरक्षित प्रसूति सेवाका लागि गाउँ छाडेर जानुपर्ने समस्या हटाएका छौँ ।”

नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि भुरुङ्ग तातोपानी स्वास्थ्यचौकी, बेनी अस्पताल र पोखराका अस्पतालमा जाने गरेका थिए । प्रसूतिगृह स्थापनाका लागि गाउँपालिकाले नारच्याङमा तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुका साथै पछिल्लो कार्यपालिका बैठकले सूचीकृत गरेको थियो ।

प्रसूति गृहको दुईतले छकोठे भवन निर्माणका लागि निलगिरिखोला जलविद्युत् आयोजनाले रु २८ लाख ४९ हजार सात सय ३० सहयोग गरेको वडाध्यक्ष फगामीले जानकारी दिनुभयो । नारच्याङ स्वास्थ्यचौकी परिसरमा निर्माण भएको भवनको भुइँ तलामा प्रसूतिगृह स्थापना भएको छ । माथिल्लो तलाको तीनवटा कोठामा स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट प्रसूतिगृह सञ्चालनका लागि आवश्यक सामग्री खरिद र जडान गरिएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । आठवटा वडा रहेको अन्नपूर्णको वडा नं १ दोवा र वडा नं ३ दानाबाहेकका स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन अन्नपूर्णलाई ‘होम डेलिभरी’ शून्य बनाइएको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका थिए । घरमै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।

आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ५ कात्तिक : हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
m

स्वर्ण पदक विजेता टोली प्रधानसेनापतिबाट सुशोभित

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा यस वर्ष सञ्चालन भएको अभ्यास क्याम्ब्रियन गस्तीका स्वर्ण पदक विजेता नेपाली सेनाका टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा  आयोजित समारोहमा एक व्यवस्थापकसहित प्रतियोगितामा सहभागी १० सैनिकलाई प्रशंसा पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सेनाले उहाँहरुलाई सम्मान गरेको हो । गत असोज १८ देखि २७ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित अभ्यासमा ३७ राष्ट्रका एक सय २१ टोलीको सहभागिता थियो ।

सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । सेनाले यसअघि सन् २०१७ र सन् २०१९ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।