`

मेची भन्सार कार्यालयबाट चिया निर्यात बढ्यो, अलैँची घट्यो

भद्रपुर (झापा), ५ कात्तिकः मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश. २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालन

बागमती, ५ कात्तिकः हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी, ५ कात्तिकः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो ।

अन्नपूर्ण –४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूतिगृह स्थापना गरेको जानकारी दिनुभयो । “निलगिरिखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसूतिगृह स्थापना गरेको हो”, उहाँले भन्नुभयो, “नारच्याङका महिला सुरक्षित प्रसूति सेवाका लागि गाउँ छाडेर जानुपर्ने समस्या हटाएका छौँ ।”

नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि भुरुङ्ग तातोपानी स्वास्थ्यचौकी, बेनी अस्पताल र पोखराका अस्पतालमा जाने गरेका थिए । प्रसूतिगृह स्थापनाका लागि गाउँपालिकाले नारच्याङमा तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुका साथै पछिल्लो कार्यपालिका बैठकले सूचीकृत गरेको थियो ।

प्रसूति गृहको दुईतले छकोठे भवन निर्माणका लागि निलगिरिखोला जलविद्युत् आयोजनाले रु २८ लाख ४९ हजार सात सय ३० सहयोग गरेको वडाध्यक्ष फगामीले जानकारी दिनुभयो । नारच्याङ स्वास्थ्यचौकी परिसरमा निर्माण भएको भवनको भुइँ तलामा प्रसूतिगृह स्थापना भएको छ । माथिल्लो तलाको तीनवटा कोठामा स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट प्रसूतिगृह सञ्चालनका लागि आवश्यक सामग्री खरिद र जडान गरिएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । आठवटा वडा रहेको अन्नपूर्णको वडा नं १ दोवा र वडा नं ३ दानाबाहेकका स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन अन्नपूर्णलाई ‘होम डेलिभरी’ शून्य बनाइएको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका थिए । घरमै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।

आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ५ कात्तिक : हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
m

स्वर्ण पदक विजेता टोली प्रधानसेनापतिबाट सुशोभित

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा यस वर्ष सञ्चालन भएको अभ्यास क्याम्ब्रियन गस्तीका स्वर्ण पदक विजेता नेपाली सेनाका टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा  आयोजित समारोहमा एक व्यवस्थापकसहित प्रतियोगितामा सहभागी १० सैनिकलाई प्रशंसा पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सेनाले उहाँहरुलाई सम्मान गरेको हो । गत असोज १८ देखि २७ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित अभ्यासमा ३७ राष्ट्रका एक सय २१ टोलीको सहभागिता थियो ।

सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । सेनाले यसअघि सन् २०१७ र सन् २०१९ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

बाढीले क्षति पुर्‍याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौँ- गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ ।

बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित प्रसारण लाइनको सात नं टावर बगाएको थियो । टावर बगेपछि चारवटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको छ । उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन ‘लिङ्क’ टुटेको छ । करिब दुई सय मेगावाट विद्युत् प्रवाह क्षमताको उक्त लाइन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ । सोही लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ, भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको छ, त्यसैले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।” उहाँले हाल इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गर्नुभयो ।
प्रसारण लाइन सञ्चालनमा ल्याउन इआरएस टावर जडान गरिसकिएको छ । यो टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकदेखि इआरएस टावर राख्न सुरु गरिएको थियो । टावर जडान सकेर तार तान्न सुरु गर्न लाग्दा फेरि दोलखाका स्थानीयले अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधिको रोहबरमा आजै सहमति जुटेको हो । प्राधिकरण खिम्ती ग्रिड शाखाका प्रमुख मनोज साहले अब करिब चार दिनमा तार तानेर प्रसारण लाइन सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

बागमती-हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले यही असोज १५ गतेदेखि उत्पादन बन्द गरेको हो ।

उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भइरहेको र तिहारसम्ममा मर्मत सकिएपछि पुनः सिमेन्ट उत्पादको कार्य सुरु गरिने उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको उहाँको भनाइ थियो । अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्र रुपमा भइरहेकाले छिट्टै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताउनुभयो । 

“हामीसँग कच्चापदार्थको अभाव छैन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।” थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उहाँको भनाइ थियो । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । 

यही भदौ महिनाको तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द

काठमाडौँ-नागढुङ्गा–नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द गरिएको छ ।

धार्के–ठूलोखोलामा दोस्रो तहको कालोपत्र आजदेखि सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजदेखि धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ । अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो ।”

उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका–५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इन्चार्ज  रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नौ किलोमिटरको उक्त दोस्रो लेयरको कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तीन/तीन किमीका दरले काम गर्नेछौँ, तिहारसम्म आधा काम सकिन्छ ।”

यस पटकको दसैँमा सवारी जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो । अधिकांश साना सवारी साधन सीतापाइला–धार्के हुँदै गुडेका थिए । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइ र सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।

बागलुङमा उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात

गलकोट (बागलुङ), ५ कात्तिक : पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।

वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु. ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । “दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ”, गौतमले भन्नुभयो ।  

दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट सङ्कलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सङ्घले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा रु सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।

हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी सङ्घमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताउनुभयो । 

कृषकले उत्पादन गर्ने, सहकारीले सङ्कलन गर्ने र सहकारी सङ्घले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत सङ्घले बजारीकरण गर्दै आएको छ ।

मिथिलाञ्चलमा चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाए

जलेश्वर (महोत्तरी), ५ कात्तिक : महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् ।

मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात मिथिलानीहरुले राति पतिको दीर्घायुको कामना गर्दै करबाचौथ पर्व मनाएको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो । 


मिथिलानीहरुले आइतबार दिनभरि उपवास गरेर राति चन्द्रमा उदाएपछि पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना र दर्शन गरी पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरेका हुन् । पतिलाई प्रसाद र पकवानहरु खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गरेको जलेश्वर–८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो ।

यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घ आयुको कामना गर्ने चलन रहेको जलेश्वर–२ की व्रतालु रानी साहले बताउनुभयो । यस पर्वमा मिथिलानीहरु राति रङ्गीचङ्गी नयाँ नयाँ बस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दुरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जालीसहितको आँटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमाको दर्शन गर्छन् । चन्द्रमाको दर्शन गरेपछि पुनः सोही चाल्नामा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन र पूजा अर्चना गर्ने जलेश्वर–२ कै अर्का व्रतालु महिला रुना चौधरीले बतनाउनुभयो । 

करबाचौथ पर्व मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको बिहार राज्यको मधुबनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ  ।

बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै

नेपालगन्ज, ५ कात्तिकः बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना र जानकारी प्रदान गर्न करिब रु ७० लाखमा आगन्तुक सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले त्यसका लागि आवश्यक तयारी गरिएको उल्लेख गर्दै दुई साताभित्र सूचना केन्द्र स्थापना हुने बताउनुभयो । 

सूचना केन्द्रबाट बाँके राष्ट्रिय निकुञ्जसम्बन्धी सम्पूर्ण जानकारी पाउन सकिने निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जको गत आर्थिक वर्षमा चार सय ८० पर्यटकले भ्रमण गरेका थिए ।  निकुञ्ज विशेषगरी जैविक विविधता र बाघ संरक्षणका लागि परिचित छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको सो निकुञ्ज मुलुकको कान्छो राष्ट्रिय निकुञ्जका हो । 

पर्यटकले निकुञ्जमा बाघ, चितुवा, हात्ती, गैँडा, जरायो, बँदेल, नीलगाई र विभिन्न प्रजातिका चरा र सर्पलगायत जीवजन्तु अवलोकन गर्न सक्छन् । निकुञ्जभित्र पर्यटकका लागि हात्ती, जिप र जङ्गल सफारीका साथै पैदल यात्राको प्रबन्ध गरिएको छ ।  निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मचान, घाँसेमैदान, कृत्रिम पोखरी र वनपथजस्ता पूर्वाधारसमेत निर्माण गरिएका छन् । 

बाँकेमा सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जन बढी तारे होटलको सुविधा भएका कारण निकुञ्ज अवलोकनका लागि यहाँ पुग्ने पर्यटकले बाघलगायत वन्यजन्तु अवलोकन गर्ने गर्छन् । निकुञ्ज बाँके, दाङ र सल्यान गरी तीन जिल्लाको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ, ५ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैँया १ पैसा र बिक्रीदर ९० रुपैँया ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया २५ पैसा र बिक्रीदर ९७ रुपैँया ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैँया ४२ पैसा र बिक्रीदर एक सय २ रुपैँया ८८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर खाठ रुपैँया ९८ पैसा र बिक्रीदर नौ रुपैँया २ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ९० पैसा र बिक्रीदर १८ रुपैँया ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८१ पैसा र बिक्रीदर ३६ रुपैँया ९७ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ५ पैसा र बिक्रीदर चार रुपैँया ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५४ पैसा र बिक्रीदर ३६ रुपैँया ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १८ पैसा र बिक्रीदर ३१ रुपैँया ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ८० पैसा र बिक्रीदर ९ रुपैँया ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ७६ पैसा र बिक्रीदर १२ रुपँैया ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ५५ पैसा र बिक्रीदर १९ रुपैँया ६४ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २७ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैँया ९२ पैसा र बिक्रीदर चार सय ३९ रुपँैया ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ७९ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

इजरायली सेनाले उक्त आक्रमणमा हेजबुल्लाहका प्रमुख व्यक्तित्वहरु एहाग अब्बास सलामेह, रचा अब्बास इचा र अहमद अली हसिनको मृत्यु भएको जनाएको छ ।

लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कारबाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
यसैबीच इजरायलले हिजबुल्लाहले इजरायली नागरिकमाथि आतङ्क मच्चाइरहेको र आईडीएफले ३७८ दिनसम्म निरन्तर आक्रमण गरिरहेको जनाएको छ ।

इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु

इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

“इजरायली सेनाले दक्षिणमा ऐन एबेल–हानेन सडकमा सेनाको एउटा गाडीलाई निशाना बनाएको र आक्रमणबाट तीन लेबनानी सैनिकको मृत्यु भएको छ,” लेबनानी सैन्य कमाण्डले भनेको छ।

लेबनानी सैन्य स्रोतले नाम नबताउने शर्तमा दिएको जानकारीअनुसार इजरायली सेनाले उक्त गाडीमा सिधा रकेट प्रहार गरेको थियो ।

लेबनानी सैन्य स्रोतले बताएको छ, “इजरायली लडाकु विमानले दक्षिणी लेबनानका गाउँ, शहर र खुला क्षेत्रमा करिब ४३ वटा हवाई आक्रमण गरेका छन् भने पूर्वी लेबनानमा छोटो दुरीमा हान्ने हतियारको प्रयोग गरी १५ वटा आक्रमण गरेका छन् ।”

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इजरायलको फिलन बेस, उत्तरी इजरायलमा २१० औं डिभिजनको मुख्यालय र लेबनानका विभिन्न गाउँहरूको बाहिरी भागमा इजरायली सेनाको जमघटलाई तोप र क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ।इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाहसँगको बढ्दो तनावबीच आक्रमणलाई सघन बनाइरहेको छ ।

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौँ, ४ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले भवन निर्माणका सन्र्दभमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामोसमय पार्टीको नीतिसँग असहमति राखेर आफ्नो विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएकामा के कति करणले त्यसप्रकारका गतिविधि गर्नुभएको हो भनेर सोध्ने निर्णय भएको छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि छामिछानेका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उहाँले नेपाल सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको र संसद्को सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढेकाले छानबिन प्रक्रियामा आएको कुरालाई सहयोग पुर्याउनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, “पार्टीको दृष्टिकोण स्पष्ट छ, छानबिनले जे देख्छ, त्यहीअनुसार निर्णय हुनुपर्छ ।”

यस्तै, अर्को जिज्ञासामा उहाँले पार्टीको भवन निर्माणका लागि जग्गा दानमा प्राप्त भएको विषयलाई कानुनी प्रक्रियाद्वारा समाधान र त्यसमा स्वार्थ बाझिनुपर्ने कुनै आधार नभएको बताउनुभयो । “भूकम्पपछि पुनःनिर्माण कार्य भयो, पार्टीले धेरै बस्ती निर्माण गर्ने अभियान नै सञ्चालन गर्यो, पुरातात्विक एतिहासिक संरचनाको निर्माण गर्यो”, महासचिव पोखरेलले भन्नुभयो, “भूकम्पमै एमाले पार्टी कार्यालय पनि भत्कियो, सङ्कटमा परेको बेलामा गरेको सहयोगलाई स्वाभाविक रूपमा लिनुपर्छ ।”

अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा : वायुसेवा निगम

काठमाडौँ, ४ कात्तिकः नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन् । एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर आज बेलुकीबाट उडानमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

“शनिबार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी विमान नियमित उडानमा रहेका छन् । एउटा वाइडबडी विमान पनि मर्मतपछि आजैबाट उडानमा आएको छ । आज बेलुका दोहाका लागि उडान भरेर भोलि सोमबार विमान जापान उडान भर्ने तालिका रहेको छ”, प्रवक्ता पौडेलले भन्नुभयो ।

निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप निगमका विमान नियमित मर्मतसम्भार गर्ने गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । “यसका बाबजुत कहिलेकाहीँ विमानमा आकस्मिक प्राविधिक समस्या आउन सक्ने हँुदा तोकिएको मापदण्डभित्र रही मर्मतसम्भारपश्चात् नियमित उडान सञ्चालन गर्नु अन्तर्राष्ट्रिय अभ्यास रहिआएको छ । समस्याको प्रकृति र उपलब्ध साधनस्रोतको आधारमा सामान्यतः विमान केही समयभित्र नै मर्मतसम्भार सकेर उडानयोग्य हुन्छ भने कहिलेकाहीँ धेरै समय लाग्नसक्छ”, विज्ञप्तिमा भनिएको छ ।

प्राविधिक कारणले तीनवटा विमानका यात्रु दुईवटा विमानबाट ओसारपसार गर्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचनासमेत गरेको छ ।

पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री

काठमाडौँ, ४ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको बताउनुभएको छ । मिश्रप्रति अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट पुग्नुभएका मन्त्री पाण्डेले व्यवसायी मिश्रले पर्यटन क्षेत्रमा पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहिरहने बताउनुभयो ।

“करिब पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न नेपालका वरिष्ठ पर्यटन व्यवसायी मिश्रको निधन भएको खबरले म मर्माहत भएको छु”, मन्त्री पाण्डेले भन्नुभयो, “उहाँले नेपाल पर्यटन बोर्ड स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साथै नेपालको पर्यटकीयस्थलहरुलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन उहाँको महत्वपूर्ण योगदान रहेको छ ।”

मन्त्री पाण्डेले मिश्रको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । पर्यटन व्यवसायी मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको थियो । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो ।  

मिश्रलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, विभिन्न राजनीतिक दलका नेता, पर्यटन व्यवसायीलगायत आर्यघाट पुग्नुभएको थियो । मुलुकको पर्यटन विकासको क्षेत्रमा ‘टेम्पल टाइगर ग्रुप’का अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान दिनुभएको थियो । स्व मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।

जनताको सन्तुष्टि र विश्वासले नै स्वास्थ्य संस्थालाई अब्बल बनाउँछ : मुख्यमन्त्री सिँह

महेन्द्रनगर (धनुषा), ४ कात्तिक : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशमा स्वास्थ्यसेवाका सूचक प्रगतिउन्मुख भए पनि पूर्ण सन्तोषजनक नरहेको बताउनुभएको छ । उहाँले सरकारी अस्पतालहरूमा औषधि उपचारलगायत सेवाप्रति जनतामा सन्तुष्टि र विश्वास उत्पन्न नहुँदासम्म उत्कृष्ट सेवा भएको ठहर गर्न नसकिने बताउनुभयो ।

जनकपुरधाममा स्वास्थ्य निर्देशनालय मधेस प्रदेशद्वारा आज आयोजित आर्थिक वर्ष २०८१÷८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको तीनदिने प्रदेशस्तरीय समीक्षा गोष्ठीको समापन समारोहमा मुख्यमन्त्री सिँहले अस्पताल र पालिकाका स्वास्थ्य संस्थातर्फ कार्यसम्पादनतर्फ पहिलो, दोस्रो र तृतीय हुनेलाई आवश्यकताका आधारमा स्वास्थ्य उपकरणलगायत सामग्री दिएर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले पहिलोलाई रु ५० लाख, दोस्रोलाई रु ३५ लाख र तेस्रोलाई रु २५ लाखको स्वास्थ्य उपकरण दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री सिँहले कार्यसम्पादन मूल्याङ्कनमा अब्बल ठहरिएका स्वास्थ्य संस्थाका चिकित्सकलाई प्रोत्साहनस्वरूप रकम दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रोत्साहन रकमका कारण स्वास्थ्य संस्थाहरूबीच पहिलो, दोस्रो र तेस्रो हुन प्रतिस्पर्धा हुनेछ । यसबाट अपेक्षित र राम्रो परिणाम प्राप्त हुनेछ ।” पुछारबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई समेत कुरियरबाट सम्मानपत्र पठाउनुपर्ने उहाँले बताउनुभयो । यसबाट ती संस्थाहरूमाथि समेत असल काम गर्न दबाब सिर्जना हुनेछ ।

प्रादेशिक अस्पतालहरूको शय्या स्वीकृत भई दरबन्दी पूर्ति हुनुपर्ने मुख्यमन्त्री सिँहले औँल्याए । उहाँले अहिले २५ प्रतिशत दरबन्दी पूर्ति भएकाबाट ५० देखि ७० प्रतिशत दरबन्दी पूरा भए सेवाको स्तर वृद्धि हुने जानकारी दिनुभयो । उहाँले पालिकास्थित बर्थिङ सेन्टरमा जनशक्ति बढाएर प्रसूतिसेवाको गुणस्तर बढाउन प्रदेश सरकारले पालिकासँग समन्वय गर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री सिँहले मधेस प्रदेशमा स्वास्थ्य बीमामा न्यून सङ्ख्यामा जनताको पहुँच रहेको उल्लेख गर्दै सेवाग्राहीले न्यून लगानीमा अत्यधिक प्रतिफल लिनसक्ने बनाउन स्वास्थ्य बीमाका लागि व्यापक जनचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यसंस्थामा औषधि उपलब्ध गराउन तत्काल खरिद प्रक्रिया सुरु गर्न आफूले स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको भन्दै सरकारको मापदण्डअनुसार औषधिको गुणस्तर कायम राख्न कुनै पनि सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रभाव नभएका औषधि खरिद नहोस् भन्नेमा गम्भीर ध्यान पुग्नुपर्छ ।”

प्रदेशका एक सय ३६ पालिकामा सञ्चालन भइरहेका स्वास्थ्य प्रयोगशालामध्ये कतिपय मापदण्डविपरीतका घरमा सञ्चालन भइरहेको भन्दै प्रयोगशालाजस्तो संवेदनशील ठाउँमा मापदण्डअनुसारका पूर्वाधार विकसित गर्न पालिकासँग समन्वय गर्नुपर्ने मुख्यमन्त्री सिँहले बताउनुभयो । उहाँले प्रयोगशालामा कार्यरत जनशक्तिको दरबन्दी शीघ्र स्वीकृत गराउन पनि निर्देशन दिनुभयो ।

निजी अस्पताल, नर्सिङ होम र क्लिनिकहरूको अनुगमन आवश्यक भएको मुख्यमन्त्री सिँहले बताउनुभयो । उहाँले स्वीकृत शय्या सङ्ख्या र सञ्चालनमा रहेका शय्या, नवीकरण र कानुनअनुसार १० प्रतिशत शय्या छुटजस्ता विषयबारे अनुगमन गर्न निर्देशन दिनुभयो । उहाँले निजी अस्पतालमा बिरामी बन्धक भएका कुरा सामाजिक सञ्जालमा आउने गरेको सन्दर्भ कोट्याउँदै १० प्रतिशत शय्या छुटमा तिनको उपचार भए त्यस्तो नहुने र त्यसका लागि स्वास्थ्य संस्थाको वर्षभरिको कारोबार तथा छुटका बारेमा अनुगमन गरिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री सिँहले आयुर्वेदको सुगन्ध दिन आयुर्वेद अस्पतालले आफ्नो परिसरमा विवरण बुझिने गरी जडीबुटी उत्पादन गर्नुपर्ने र त्यसको उपयोग हुने रोग तथा प्रयोग विधिबारे स्थानीयलाई जानकारी दिनुपर्ने बताउनुभयो । “यसबाट आफ्नै घर वरपर चिकित्सकीय गुण भएका बोट रहेको स्थानीयले भेउ पाउनेछन् र, तिनको प्रयोगप्रति आकर्षित हुनेछन्,” उहाँले भन्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहलगायतले प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्थाबारे आ–आफ्ना धारणा राखेका थिए ।

बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ, ४ कात्तिक : साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत आज बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो । यस खेलसँगै भारत भने समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले हराउँदै तीन अङ्क जोडेको थियो । बङ्गलादेश र पाकिस्तानको समान एक÷एक अङ्क रहेको छ ।

खेलको पहिलो हाफमा पाकिस्तानले पहिलो अग्रता लियो । खेलको ३२औँ मिनेटमा पाकिस्तानकी जाहमेना मालिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाइन् ।

त्यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बङ्गलादेशले गोल फर्कायो । बङ्गलादेशकी सम्सुनाहर जुनियरले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याइन् । समूह ‘बी’ अन्तर्गत सोमबार दिउँसो १ः३० बजे हुने पहिलो खेलमा भूटान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने छ भने साझ ५ः३० बजे हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स आमनेसामने हुनेछन् ।

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनिः उपाध्यक्ष घिमिरे

काठमाडौँ, ४ कात्तिकः राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं सिङ्हाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज यहाँ आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत बताउनुभयो । “नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध छ, यसमा सधैँ स्पष्ट र अटल पनि छ”, उपाध्यक्ष घिमिरे भन्नुभयो,“हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता हो । यो प्रतिबद्धतामा हामी अडिग छौँ ।”

व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधिमा चीनले हाँसिल गरेका उपलब्धिबाट नेपाल पनि प्रत्यक्ष वा परोक्ष रूपमा लाभान्वित हुँदै आएको चर्चा गर्नुहुँदै उपाध्यक्ष घिमिरेले नेपालका लागि चीनका बन्दरगाहसम्म पुग्ने वातावरण बनेको र कोभिडका समयमा बन्द भएका सबै नाका सञ्चालन भएकाले दुई देशबीचको व्यापार तथा सीमा क्षेत्रका नागरिकले आवतजावत गर्न सहज भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गाङ्गले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्नेछन् भन्नेमा आफू विस्वस्त रहेको बताउनुभयो । उहाँले दुई देशबीच विस्तार हुँदै गएको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउँदै अगाडि जानुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीचको मैत्रीसम्बन्ध जनस्तरमा विस्तारित हुँदै गएको र एक अर्का देशको समान चासोसमेत सम्बोधन हुँदै आएको बताउनुभयो । कार्यक्रममा सिङ्हाई प्रान्तको बारेमा जानकारी दिने तस्विर तथा श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएका थिए ।

छ वर्षपछि फाल्गुनन्द गोल्डकपको तयारी

पाँचथर, ४ कात्तिक : छ वर्षपछि प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुनः आयोजना हुने भएको छ । फिदिम स्पोर्टिङ क्लबले आउँदो पुस ६ देखि १५ गतेसम्म पाँचथरको फिदिममा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सञ्चालन हुने फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालदेखि यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । दशवटा संस्करण पूरा गरिसकेको प्रतियोगिताको ११औँ संस्करण आयोजनाका लागि तयारी थालिएको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

‘ए’ डिभिजनका न्यूनतम चार टोलीसहित १० फुटबल टोलीलाई आगामी प्रतियोगितामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ । यस्तै, मधेस, बागमती र कर्णाली प्रदेशका एक÷एक, भारतको एक र आयोजकसहित पूर्वका अन्य फुटबल टोली प्रतियोगितामा सहभागी हुने अध्यक्ष थापा मगरले बताउनुभयो । प्रतियोगिताको विजेताले रु पाँच लाख २५ हजार पाँच सय ५५ तथा उपविजेताले रु दुई लाख २५ हजार पाँच सय ५५ रकमसहित ट्रफी र मेडल प्राप्त गर्ने तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ । 

प्रतियोगिता सम्पन्न गर्न रु ७३ लाख ७५ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक खर्च व्यवस्थापनका लागि प्रायोजकहरुको खोजी, तीनै तहका सरकारसँग सहयोग माग गर्नेलगायत कार्य भइरहेको आयोजकले जनाएको छ । “पुराना प्रवद्र्धक र प्रायोजकसँग टुटेको सम्पर्क र सम्बन्ध पुनःस्थापित गर्न लागिपरेका छौँ”, अध्यक्ष थापा मगरले भन्नुभयो । 

विसं २०४४ मा स्थापित उक्त क्लबले तत्कालीन राजा वीरेन्द्र शाहको जन्मोत्सव तथा फिदिममा आयोजना हुने युवा मेलाको अवसर पारेर शुभजन्मोत्सव फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको थियो । विसं २०६५ पछि भने १६औँ राष्ट्रिय विभूति किरात महागुरु फाल्गुनन्द लिङ्देनका नाममा प्रतियोगिता आयोजना हुने गरेको थियो । खेलमैदानको पूर्वतर्फको पर्खाल भत्किएपछि २०७६ सालदेखि अवरुद्ध प्रतियोगिता अर्को वर्ष कोभिड–१९ महामारीका कारण सञ्चालन हुन नसकेको अध्यक्ष थापाले बताउनुभयो । विसं २०७७ देखि फिदिम खेलमैदानको स्तरोन्नतिको काम सुरु भएपछि प्रतियोगिता स्थगन भएको थियो । 

प्रतियोगितको पहिलो संस्करणका विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजार पुरस्कार प्राप्त गरेका थिए । यसपश्चात् आयोजकले बर्सेनि पुरस्कारमा वृद्धि गर्दै लगेको थियो । विसं २०५७ मा फिदिम स्पोर्टिङ क्लब अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आबद्ध भएको थियो भने फाल्गुनन्द गोल्डकप एन्फा क्यालेन्डरमा समावेश भइसकेको प्रतियोगिता हो । 

यस्तो छ स्वास्थ्य मन्त्रालयको सय दिनको उपलब्धि

काठमाडौँ, ४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ । वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी कुर्नु नपर्ने व्यवस्था गरिएको छ ।

यस अवधिमा मन्त्रालयले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय ग¥यो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबहालीको दिन पहिलो निर्णयको रुपमा क्यान्सर नियन्त्रण रणनीति, २०३० स्वीकृत गर्नुभएको थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल, सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा र भक्तपुर क्यान्सर अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल र मधेश प्रदेशको नारायणी अस्पतालबाट सेवा विस्तार गरी सातै प्रदेशमा क्यान्सर सेवा विस्तार भएको छ ।

वर्तमान सरकार गठन भएको दिनदेखि आजसम्मको प्रगति विवरण हेर्दा हरेक प्रदेशमा कम्तीमा एक अस्पतालबाट मुटु रोग उपचारको सेवा सुरु गरिने निर्णय भएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा सातै प्रदेशमा मुटुरोग सेवा विस्तार गर्ने क्रममा मधेश प्रदेश र गण्डकी प्रदेशमा सेवा सुरु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

सबै सङ्घीय अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, डडेल्धुरा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, मानसिक अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, आयुर्वेद चिकित्सालय नरदेवी र सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको पहलमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा गर्भवती तथा सुत्केरी महिलाका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र नवजात शिशुमा वङ्शाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु भएको छ ।

त्यसैगरी सरकारले उपचार खर्च बेहोर्न नसक्नेको ज्वलनको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत ज्वलनको उपचारको व्यवस्था गरिने जनाएको छ । वीर अस्पतालमा पनि १५ शैयाको सुविधा सम्पन्न ज्वलन उपचार वार्ड सञ्चालनमा ल्याइएको छ ।

हाल सम्ममा १३ किसिमको औषधि उत्पादन गरी वितरण भएको सिंहदरबार वैद्यखानालाई थप स्तरोन्नति गरी कम्तीमा २० किसिमका आधारभूत आयुर्वेद औषधिको उत्पादन गर्ने सरकारको लक्ष्य छ । साथै थप सातवटा औषधि उत्पादन गर्न कच्चा पदार्थ प्राप्तीका लागि कार्यादेश भएको प्रगति विवरणमा उल्लेख छ ।

सबै सङ्घीय अस्पताल फार्मेसीमा आवश्यक सबै किसिमका औषधिको उपलब्धता सुनिश्चित गर्ने भनिएको छ । विगतमा औषत ६० प्रतिशत औषधि उपलब्ध हुने गरेकामा हाल ९० प्रतिशत औषधि उपलब्ध भएको र बिरामीको चापलाई कम गर्न विभिन्न अस्पतालमा ६ वटा थप फार्मेसी काउन्टरको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कैलालीको गेटा अस्पतालमा ३५ शय्या क्षमताको अन्तरङ्ग सेवा सुरु भएको भएको छ ।  क्रमशः उक्त अस्पताललाई पूर्णक्षमतामा सञ्चालन गरिनेछ । साथै सबै सङ्घीय अस्पतालमा बिरामीलाई समयमै उपचार दिन टोकन प्रणाली लागु गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीकाअनुसार स्वास्थ्य जनशक्तिको समुचित व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगबीच त्रिपक्षीय सम्झौता गरिएको छ । देशभरका १४ सङ्घीय, ६ प्रादेशिक र ६० जिल्ला अस्पतालको औजार उपकरणको सर्वेक्षण गरी एकीकृत सूची तयार गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तारसहितको पुनःसंरचनाको प्रारुप तयार पार्न उच्चस्तरीय कार्यदल गठन भइ कार्य भइरहेको प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।

त्यसैगरी मन्त्रालयको पहलमा अबदेखि महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । निरोगी नेपालः अगामी पुस्ता निरोगी पुस्ता अभियानलाई साकार पार्न, स्वस्थ्य जीवनशैली प्रवरधन, क्यान्सर र नसर्ने रोगको स्क्रिनिङ एवं सडक दुर्घटना न्यूनीकरणजस्ता विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

देशभरमा तीन सय सिनेमा हलमा क्यान्सरसम्बन्धि जनचेनतामूलक श्रव्यदृश्य सन्देश प्रसारण गरिएको, तीन सय चार स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको, आठ हजार ६ सय ७८ महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गरिएको, मुख स्वास्थ्य रणनीतिमा मुख क्यान्सरको स्क्रिनिङ समावेश गरिएको, स्तर क्यान्सरसम्बन्धी १५ भाषामा सामग्री उत्पादन गरी एक सय ८९ पटक रेडियोमा र ७० पटक टेलिभिजनमा प्रसारण गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने

काठमाडौँ, ४ कात्तिकः सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।

निर्देशक समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धिकरणसम्बन्धी नियमनकारी निकायले अनुसन्धान र अभियोजनका विषयलाई तीव्र पार्ने निर्णय गरेको हो । बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारीकार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार अनुसन्धान र अभियोजन कार्यलाई अघि बढाउने उल्लेख गर्नुभयो । उहाँले नेपाल ‘ग्रे–जोन’मा नजाने गरी कार्य गर्न निर्देशन दिनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई थप व्यवपस्थित र प्रभावकारी बनाउन आवश्यक कानुन बनाउन र भएका कानुनमा सुधार गर्न मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।

बैठकमा महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, मन्त्रालयका सचिव, नियमनकारी निकायका प्रतिनिधिलगायत सहभागी हुनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

लेखनाथ (कास्की), ४ कात्तिकः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित समृद्धिको आधारः बाटो र उद्योग–व्यापारसम्बन्धी परिसंवाद कार्यक्रममा उहाँले राज्य र बजारको सम्बन्ध राम्रो हुन सक्योभने अर्थतन्त्र केही वर्षमा नै उकालो लाग्ने तर्क गर्नुभयो । “जलस्रोतको धनी देश नेपालमामा विद्युत्, कृषि, उद्योग, पर्यटन र पूर्वाधार क्षेत्रको विकास गर्दै आर्थिक क्रान्ति गर्न आवश्यक छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “जबसमम हामीले प्राविधिक शिक्षालाई प्रमुख प्राथामिकताको विषय बनाउँदैनौँ तबसम्म नेपालको विकास हुन सक्दैन ।” रोजगारीकै लागि नेपाली युवा विदेश जाने क्रम दिनप्रतिदिन बढ्दो सङ्ख्यामा रहेकाले युवालाई नेपालमा नै रोक्न सरकारले स्वरोजगारमूलक कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले नेपालको समृद्धि हुन नसक्नुमा भौगोलिक कारण पनि एक भएको उल्लेख गर्नुहुँै सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउँदै विकासलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नेपालको आर्थिक समृद्धिका लागि राजनीतिक अस्थिरता पनि बाधक रहेको र पछिल्लो समय दुई ठूला दल मिलेर त्यसलाई रोक्ने काम भएको बताउनुभयो । उहाँले प्रदेश सरकार सडक सञ्जाल, कृषि उत्पादन र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिँदै अगाडि बढेको उल्लेख गर्नुभयो । “भारतीय धार्मिक पर्यटकका लागि मुस्ताङको मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड जाने सडक सहज बनाउनुपर्नेछ । पोखरालाई पर्यटन र व्यापारिक केन्द्रका रूपमा विकास गर्न पोखरादेखि त्रिवेणी र पोखरादेखि मुस्ताङको कोरला नाकासम्म सडक निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ”, मन्त्री गुरुङले भन्नुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आर्थिक समृद्धिका लागि पुँजीको विकास र लगानीको क्षेत्र खोजी गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रम पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छ : सञ्चार मन्त्री गुरुङ

काठमाडौँ, ४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिकरुपमा सुरु गरेको मैथिली र नेपाल भाषा समाचारको शुभारम्भ गर्दै मन्त्री गुरुङले सरकारले भाषा संरक्षण अभियान सरकारी मातहतका सञ्चार माध्यमबाट थालनी गरेको बताउनुभयो । सबै क्षेत्रका जनतालाई साझा र समान अधिकार बाँडफाँड गर्दै राष्ट्रियतालाई प्रवर्धन गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।”

राज्यका स्रोत र साधनमा समान पहुँच भएन भने मुलुक अप्ठ्यारोमा पर्न सक्ने भन्दै मन्त्री गुरुङले प्रत्येक जातिय समुदायले आफ्ना भाषा र संस्कृति जोगाउने अवसरलाई ठूलो उपलब्धिका रुपमा लिन सकिने बताउनुभयो । 

सभ्य, शान्त, समृद्ध, विशाल र अखण्ड समाज निर्माण गर्ने अभियानमा यस्ता कार्य पहिलो पाइलो भएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता गुरुङले यस्ता प्रयास निरन्तर जारी रहन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सरकारको सय दिने कार्य सम्पादनको पहिलो कार्य योजनामा राससलाई २४सै घन्टा सेवा प्रवाह गर्ने, रासस सङ्ग्रालय बनाउने र दुईवटा भाषामा समाचार सम्प्रेषण गर्ने जिम्मेवारी दिएकामा त्यसमा राससले सफलता प्राप्त गरेको भन्दै मन्त्री गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो ।

रासससँगै रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजनसमेतमा थप मातृभाषा समावेश हुनुले सङ्घीय समावेशी अवधारणा बलियो भएको उहाँको भनाइ थियो । स्थानीय सरकारसमेतले लोपोन्मुख भाषा संरक्षण अभियान चलाउनुपर्ने मन्त्री गुरुङले सुझाव दिनुभयो ।

“भाषा र संस्कृति संरक्षणमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारले अभियान थाल्नुपर्छ”, उहाँले भन्नुभयो, “भाषा र संस्कृति बलियो भए मात्र राज्य बलियो हुन्छ ।”

मन्त्रालयका सचिव राधिका अर्यालले मातृभाषा समुदाय विशेषको आत्मसम्मान र गौरव गर्ने विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विविधतालाई जोड्ने र सबै भाषालाई मूल प्रवाहिकरणमा ल्याउने काम राससलगायतका सञ्चारमाध्यमले गरेका छन् । यसले समावेशीताको प्रवर्धन गर्छ ।”

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले प्रारम्भ गरेको मातृभाषाको समाचार सेवालाई दीगो बनाउन सबैसँग सहयोगका लागि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “भाषा बचेन भने मिडिया बच्न सक्दैन, मिडिया बचेन भने भाषा बच्न सक्दैन । भाषा र मिडिया एक अर्काका पुरक हुन् । राष्ट्रको विस्तृत हित सोच्दै गर्दा सङ्क्रिर्ण सोच आफँै हराउँदै जान्छ ।”

राससका महाप्रबन्धक सिद्धराज राईले नागरिकको सूचनाको हक स्थापित गर्ने सिलसिलामा राससले सरकार र जनताबीच पुलको काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्ला दिनमा राससले २४ सै घण्टा समाचार सेवासँगै संविधानको मर्म र भावनाअनुरुप विभिन्न मातृभाषामा समाचार सेवालाई स्थान प्रदान गर्दै अघि बढिरहेको छ ।”भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चारमाध्यमले बहुभाषामा समाचार सम्प्रेषण गर्नु देशका विभिन्न भाषाभाषि र जातजाती समुदायका लागि गौरवको विषय हो ।”प्रा डा योगेन्द्रप्रसाद यादवले भाषाको विकास र सम्वर्धन गर्न त्यसको प्रयोग आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “मातृभाषाको प्रयोग गर्न पाउनु मौलिक अधिकार हो । पछिल्लो समय मातृभाषाको प्रयोग बढ्दै गएको छ ।”

नोम्भर १६ बाट डिसेम्बर २१ मा गोल्डेन नेपाली फिल्म अवार्ड

काठमाडौं-प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । पहिला नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण एक महिना पछि सारिएको अवार्डका नेपाल संयोजक सुनील कटुवालद्वारा शनिबार जारी बिज्ञप्तीमा उल्लेख छ ।

‘अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको’ बिज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरुको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरि अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको जनाईको छ ।

अवार्ड मुल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम,४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुने छ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कलासंस्कृति,भेषभेषा झल्कने झाँकीसहित–प्रभातफेरि नेपाल डे परेड आयोजना गरिने छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीहरुसँग मिट एण्ड ग्रिट क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्तीमा उल्लेख छ ।

०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरु समाबेश गरिएको अवार्डमा झण्डै डेढ दर्जन बिधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक बिशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइदैछ अवार्डमा सहभागी हुनका लागि नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्ने छन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

अवार्डको जुरीमा नेपालबाट बरिष्ट अभिनेता शिब श्रेष्ठ,बरिष्ट अभिनेता सुनील थापा,चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,बरिष्ट छायाँकार गौरीशंकर धूजु श्रेष्ठ,अभिनेता सुनील कटुवाल र बरिष्ट चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् । अवार्ड समारोह चर्चित होस्ट नरेश भट्टराईले संचालन गर्ने छन् ।
अवार्ड निकै भब्य र ऐतिहासिक रुपमा आयोजना गर्ने तयारी अमेरिकास्थित मुल आयोजक हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया,लाइटे ल अफिस,सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट),राजपुत ग्रुप एलएलसी,पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हवले गरेका छन् । नेपाली कलाकार,चलचित्र तथा नेपाली कलासंस्कृतिको प्रवद्र्धनमा यो अवार्डले अमूल्य टेवा पुर्याउने बिश्वास लिइएको बिज्ञप्तीमा उल्लेख छ ।

‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले दर्शकको मन यसरी जित्यो

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ ।तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ ।

यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ साथै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ, माथि उठ्ने प्रयास गर्दा समाजका नवधनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन्, समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्दर्भ समुदायका अभिभावक पुग्छन् भन्ने कथा ‘पूर्णबहादुरको सारङ्गी’ले भन्ने संकेत ट्रेलरले देखाएको छ ।

हजुरबाबाट बाबुमा सरेको सारङ्गीको जिम्मेवारी छोराले धान्छ या धान्दैन मूल कथा यसैको वरिपरि देखिन्छ । छोराले सारङ्गीको जिम्मेवारी लियोस् भन्ने चाहने अनि पढेर आफ्नो छोरा सारङ्गीसँगै आउने आर्थिक जर्जरताबाट मुक्त होस् भन्ने चाहने अर्को पुस्ताबीचको सोचको भिन्नता समेत ट्रेलरमा देखिन्छ ।

नेपाली चलचित्र क्षेत्रका उम्दा कलाकारहरूको अभिनय रहेको ट्रेलरमा कलाकारहरूको जुन गेटअप देखिएको छ त्यसले यो चलचित्र वर्तमान समयको कथा हैन कि भन्ने देखाएको छ ।

निर्देशक सरोज पौडेलले यी कलाकारको माध्यमबाट इमान्दारितापूर्वक कथा भन्ने प्रयास सिनेमाले गरेको देखिँदा यसले दर्शकको ध्यान खिच्न सफल भएको हो । दर्शकको ध्यान यसका कन्टेन टिजर, ट्रेलर, गीत र त्यसअघि यसको मोसन पोस्टरले नै खिचिसकेको थियो ।

यसका गीत र ट्रेलरमा आएको दर्शकको प्रतिक्रिया युट्युबमा हेर्दा पनि यसले राम्रो ब्यापार गर्ने पूर्वानुमान लगाउन सकिन्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।

सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।यो चलचित्रलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

कर्णालीमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन

भेरिगङ्गा (सुर्खेत), ४ कात्तिकः कर्णाली प्रदेश राजधानी सुर्खेतमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि प्रयोगशालाको सहयोगमा स्थापित प्रयोगशालाको आज प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा उहाँले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुग्नुका साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले चालु आर्थिक वर्षमा योसहित पाँच वटा प्रयोगशाला स्थापना भएको जानकारी दिनुभयो । देशभर विषादी प्रयोगशालाको सङ्ख्या १२ पुगेको छ । यो प्रयोगशाला स्थापनासँगै कर्णालीका जनताले स्वास्थ्यमा असर पर्न सक्नेगरी विषादीयुक्त तरकारी फलफूल खानबाट जोगिन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

वीरेन्द्रनगरको बुलबुले हाटबजारमा स्थापित प्रयोगशालाबाट गत साउनदेखि नै परीक्षण सुरु गरिए पनि औपचारिक उद्घाटन भने आज गरिएको हो । प्रयोगशालामा हालसम्म विभिन्न फलफूल र तरकारीका ४९ वटा नमूनामा विषादीको मात्राको अवस्था परीक्षण गरिएको थियो । जसमा भारतबाट आएका फलफूल र तरकारीमध्ये पाँच र चीनबाट आएका वस्तुको एउटा नमूना परीक्षण गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख रोकायले जानकारी दिनुभयो ।

यस्तै, सल्यान र सुर्खेतबाट आएका पाँच÷पाँच, दैलेखका २०, जुम्लाका पाँच, दाङका ६ र कैलालीबाट आएको एउटा तरकारी र फलफूलजन्य वस्तुको परीक्षण गरिएको त्यसअवसरमा जानकारी दिइयो ।

अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने

अमेरिकाले इरानविरुद्ध सम्भावित जवाबी आक्रमणको लागि इजरायलको उच्च वर्गीकृत गोप्य योजना चुहावटबारे अनुसन्धान गरिरहेको परिस्थितिसँग परिचित तीन जना व्यक्तिबाट प्राप्त जानकारी अनुसार सिएनएनले जनाएको छ।

यी स्रोतहरू मध्ये एकले उक्त दस्तावेजको प्रामाणिकतालाई पुष्टि गरेको छ । एक अमेरिकी अधिकारीले उक्त गोप्य सुचना चुहावटलाई गम्भिर चिन्ताको विषयको रुपमा वर्णन गर्नुभएको अमेरिकी समाचार माध्यमले जनाएको छ ।

टेलिग्राममा “मिडल इस्ट स्पेक्टेटर“ नामक खाताद्वारा पोस्ट गरिसकेपछि अक्टोबर १५ र १६ का कागजातहरू शुक्रबार अनलाइन प्रसारित हुन थाले। अत्यन्तै गोप्य रूपमा चिह्नित उक्त कागजात केवल अमेरिका र यसको “फाइभ आइज“ साझेदारः अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्यका लागि लक्षित थिए ।

यी कागजातले इरानविरुद्ध सैन्य आक्रमणका लागि इजरायलको स्पष्ट तयारीको रूपरेखा प्रस्तुत गर्दछ । ’नेसनल जियोस्पाटियल–इन्टेलिजेन्स’ विभागबाट प्राप्त एउटा दस्तावेजले यी तयारीको एक हिस्साको रूपमा इजरायलले हतियारबारे विवरण दिएको छ । राष्ट्रिय सुरक्षा विभाग (एनएसए) लाई श्रेय दिइएको अर्को दस्तावेजले आक्रमणको तयारीमा रहेको इजरायली वायु सेनाको अभ्यासलाई समावेश गरेको छ ।

एक अमेरिकी अधिकारीले पेन्टागनको संवेदनशील सामग्रीमा कसलाई पहुँच थियो भन्ने पहिचानमा अनुसन्धान केन्द्रित रहेको सङ्केत गर्नुभयो । यस्तो चुहावटले स्वचालित रूपमा एफबिआई, पेन्टागन र अमेरिकी गुप्तचर विभागद्वारा संयुक्त अनुसन्धानलाई प्रेरित गर्दछ । एफबिआईले यस अवस्थाबारे टिप्पणी गर्न अस्वीकार गरेको सिएनएनले जनाएको छ ।

त्यसैगरी एउटा दस्तावेजले इजरायलले कहिल्यै सार्वजनिक रूपमा पुष्टि नगरेको आणविक हतियारहरूको अस्तित्वबारे वर्णन गरेको छ । तर, उक्त दस्तावेजमा अमेरिकाले इजरायलले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै प्रमाण नदेखेको उल्लेख गरेको छ ।

कागजातहरू कसरी बाहिरियो , तिनीहरू ह्याक गरिएको थियो वा जानाजानी सार्वजनिक गरिएको थियो भन्ने स्पष्ट छैन । अगस्टमा अमेरिकी गुप्तचर विभागहरूले इरानले डोनाल्ड ट्रम्पको अभियानसँग सम्बन्धित कागजातहरू ह्याक गरेको रिपोर्ट गरेसँगै अमेरिकाले इरानी साइबर अभियानहरूबारे उच्च सतर्कतामा अपनाएको सिएनएनले जनाएको छ।

रूसी राष्ट्रपति पुटिन र सर्बियाका राष्ट्रपति बुसिकबीच साढे दुई वर्षपछि फोनवार्ता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर वुसिकबीच साढे दुई वर्षमा पहिलो पटक आइतबार फोनमावार्ता भएको छ ।

अर्को हप्ता हुने ब्रिक्स शिखर सम्मेलनमा वुसिकको सहभागिता सुनिश्चित गर्न दुई नेताबीच फोनवार्ता भएको हो ।

युरोपेली युनियनको उम्मेदवार सर्बियाले युक्रेनको क्षेत्रीय अखण्डताको उल्लङ्घनको निन्दा गरेको भएपनि युक्रेन आक्रमणलाई लिएर रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । यो सर्वियाको रूससँग निकट र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने रणनीति हो ।

आइतबार टेलिफोनमार्फत् भएको वुसिक र पुटिनबीचको वार्ता संक्षिप्त थियो ।

“रुसले यो जाडोमा सर्बियाका लागि पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउने सुनिश्चित गरेकोमा मैले राष्ट्रपति पुटिनलाई विशेष धन्यवाद दिएँ,” वुसिकले सामाजिक सञ्जालमार्फत् सार्वजनिक भिडियो सन्देशमा भन्नुभएको छ ।

सन् २०२२ को मे पछि पुटिनसँगको पहिलो प्रत्यक्ष वार्तामा वुसिकले युक्रेन द्वन्द्वका कारण रूसमाथि प्रतिबन्ध नलगाउने आफ्नो अडान सर्बियाले नबदल्ने बताउनुभएको थियो ।

“सर्बियाले रूसी महासङ्घमाथि प्रतिबन्ध लगाउने छैन। यो परिवर्तन हुनेछैन,” वुसिकले भन्नुभयो ।

अक्टोबर २२ देखि २४ सम्म कजानमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन पुटिनले वुसिकलाई सेप्टेम्बरमा दिएको निमन्त्रणाको आधिकारिक प्रतिक्रियाको पर्खाइमा रहेका बेला सर्वियाले रूससँग यो वार्ता गरेको हो ।

“यदि मैले म कजान जाँदैछु भने, यसले सर्बियाको युरोपेली मार्गको अन्त्यको सङ्केत गर्नेछ। यदि मैले अरु केही भनेँ भने उनीहरूले मैले रुसीहरूलाई धोका दिएको दाबी गर्नेछन्,” वुसिकले यसै साताको सुरुमा भन्नुभएको थियो ।

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलरको क्षति

बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड अमेरिकी डलर गुमाएको उद्योग सम्वद्ध अधिकारीहरूले आइतबार बताएका छन्।

दक्षिण एसियाली मुलुकका तीन हजार ५०० गार्मेन्ट फ्याक्ट्रीले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको करिब ८५ प्रतिशत हिस्सा ओगटेका छन्, तर अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो व्यवधान उत्पन्न भएको छ ।

महिनौँ लामो विरोध प्रदर्शनपछि आवामी लीगका नेता शेख हसिना गत अगस्ट ५ मा हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो भने उहाँले प्रधानमन्त्री पदबाट राजिनामा दिएको सेना प्रमुखले घोषणा गरेका थिए ।

बङ्गलादेशमा भएको आन्दोलनका कारण भारत पलायन भएकी आवामी लीगकी नेतृ शेख हसिना वाजेदको प्रधानमन्त्री पदबाट राजिनामापछि प्रधानमन्त्री नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ तर गार्मेन्ट फ्याक्ट्रीमा मजदुरहरूले रोजगारी र राम्रो तलबको माग गर्दै प्रदर्शन जारी राखेका छन्।

यस्ता प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुने गर्दथे। गत सेप्टेम्बर ३० मा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एक गार्मेन्ट कामदारको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

बंगलादेश गार्मेन्ट्स एण्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनकी अध्यक्ष कल्पना अख्तरले आइतबार कारखाना मालिक र सरकारको दृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

अख्तरले एएफपीसँग भन्नुभयो, “ज्याला वृद्धिको बारेमा छलफल तब मात्र हुन्छ जब कामदारहरू सडकमा उत्रन्छन्।”

उहाँले यस क्षेत्रमा स्थिरता सुनिश्चित गर्नका लागि परिवर्तन आवश्यक रहेको बताउँदै अन्यथा श्रमिकहरू चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

बङ्गलादेश चीनपछि कपडाको दोस्रो ठूलो निर्यातकर्ता हो र लेभिज, जारा र एच एन्ड एमलगायत विश्वका धेरै शीर्ष ब्रान्डहरू आपूर्ति गर्दछ।

बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष खान्देकर रफिकुल इस्लामले चुनौतीपूर्ण समयबाट गुज्रेपछि उद्योग अहिले स्थिर रहेको बताउनुभयो ।

इस्लामले शनिबार पत्रकारहरूसँग कुरा गर्दै अगस्टयता करिब ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गर्दै भन्नुभयो, “सेनाले कारखानाहरूको सुरक्षाका लागि एक कार्यदल गठन गरेको छ, र उनीहरूले गार्मेन्ट क्षेत्रहरूमा सुरक्षा सुनिश्चित गर्न नियमित गस्ती गरिरहेका छन् ।”

“क्रेताहरूले बङ्गलादेशी पहिरनमा आफ्नो विश्वास पुनः प्राप्त गरेका छन्, तर स्थिरता कायम गर्न निर्बाध कानून र व्यवस्था आवश्यक छ,” उहाँले भन्नुभयो ।

रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौँ, ४ कात्तिकः मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ ।

वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’को संयुक्त आयोजनामा भएको कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले केही गल्ती नै नगरी अन्याय भोग्नु परेकाले क्षतिपूर्तिका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा जलवायु कोषको रकम क्षतिपूर्तिस्वरुप पाउनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
मन्त्री शाहीले जलवायु न्यायका क्षेत्रमा कम बजेट विनियोजन गरिएकाले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा यस विषयमा ध्यान दिइने बताउनुभयो । जलवायु परिवर्तनको असरले कर्णालीका जनतालाई परेको असरसहित कर्णालीको अवाजलाई यसपटक कोप–२९ मा पुर्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले राराको सुन्दरता, छायाँनाथ हिमाललगायतको हिमालको आकर्षण जलवायु परिवर्तनले घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । कर्णालीमा जनजीवन, जलवायु परिवर्तनले पारेको असर बुझ्न र कर्णालीका आवाज विश्वमाझ पु¥याउनका लागि पहल गर्न आएको उहाँले बताउनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेल, जलवायु विज्ञ डा मञ्जित ढकाल मन्त्रलालयका सल्लाहकार डा माधव कार्की, वन तथा वातावरण मन्त्रालयका उपसचिव दीपा वली, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवदी, नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठ, यौनिक अल्पसङ्ख्यक अभियन्ता भूमिका श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पा, खुम्बु पासाङ्ग गाउँपालिका उपप्रमुख टासी लामालगायतले जलवायु परिवर्तनसम्बन्धी विभिन्न प्रस्तुति राख्नुभएको थियो ।

सो अवसरमा स्थानीय तथा जलवायु परिवर्तनको असर भोगेका विभिन्न पालिकाका जनप्रतिनिधि, संरक्षणविद्सँग समूहगत छलफल गरिएको आयोजक संस्था साथसाथैले जनाएको छ ।

कार्यशालाले जलवायु परिवर्तनका कारण समग्र नेपाल उच्च जोखिममा रहेको र त्यसमा पनि कर्णाली प्रदेश अझ बढी जोखिममा रहेको निष्कर्ष निकालेको छ ।

के छ पाँच बुँदे घोषणा पत्रमा ?
घोषणपत्रमा कर्णाली प्रदेशमा जलवायु परिवर्तनका जोखिमसँग जुध्ने क्षमता अत्यन्त कम रहेको उल्लेख गरिएको छ । साथै तीनै तहका सरकारले कार्यान्वयन गर्ने विकास निमार्णका कार्यक्रममा जलवायु परिर्वतनसम्बन्धी जोखिम व्यवस्थापन र जलवायुमैत्री क्रियाकलाप कार्यान्वयन गर्न विशेष प्राथमिकता साथ उठान गर्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै जलवायु परिर्वनका कारण महिला, बालबालिका, युवा सिमान्तकृत समुदायलगायतमा परेको प्रभाव, जोखिमता र जलवायु न्यायसम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा विशेष प्राथमिकता साथ उठान गर्नुपर्ने घोषणपत्रमा उल्लेख छ ।

घोषणपत्रमा नेपालमा जलवायु परिर्वतनले पारेको प्रभावसँग जुध्न साथै जलवायुमैत्री विकासका अवसर प्राप्त गर्न अन्तर्राष्ट्रिय समुदायको सहकार्यलाई विशेष जोड दिनुपर्ने उल्लेख छ ।
“जलवायु परिर्वतनले स्थानीय जनजीविकामा पारेको असर र प्राकृतिक विपद्को वैज्ञानिक लेखाजोखा गर्दै जोखिम व्यवस्थापन र असर कम गर्दै तीन वटै तहका सरकारको क्षमता अभिवृद्धि गर्नु आवश्यक छ”, घोषणा पत्रमा उल्लेख छ, “आसन्न कोप–२९ सम्मेलनमा नेपालमा जलवायु परिवर्तनले पारेका असर र प्राप्त हुनसक्ने अवसरका साथै जलवायुमैत्री कार्यक्रम कार्यान्वयन गर्न जलवायु वित्तको आवश्यकताबारे विशेष पहल गर्नुपर्छ ।”

समाजमा एकरुपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्यः सञ्चारमन्त्री गुरुङ

काठमाडाैँ, ४ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले विविधतायुक्त समाजमा एकरुपता ल्याउन समावेशी अभ्यास अपरिहार्य रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्ताका क्रममा उहाँले समावेशी अभ्यास बलियो हुँदा समाजमा सबै वर्गले अपनत्व महसुस गर्न पाउने बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुुरुङले शान्त, समृद्ध, सुसभ्य, र विवादरहित समाज निर्माण गर्न समावेशीता जरुरी रहेको उल्लेख गर्नुभयो । राससले समावेशी अभ्यासअन्तर्गत मैथिली र नेपालभाषा समाचार सेवा थप गरेको सन्दर्भ जोड्दै उहाँले भाषामा सबै समुदायको पहुँच विस्तार गर्नु लोकतन्त्र सुदृढ हुनुको सङ्केत भएको बताउनुभयो ।

“राज्यको सत्ता र स्रोतमा सबैको पहुँच पुग्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “संसारमा भएका अभ्यासमध्ये नेपालमा लोकतान्त्रिक अभ्यास भइरहेको छ, यसले सबै भाषा, धर्म, समुदाय, वर्गलाई समेटेको छ । आजको दिनसम्म सबैभन्दा व्यवस्थित खालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र नै हो ।”

मन्त्री गुरुङले मुलुक समावेशी लोकतन्त्रको अभ्यासमा रहेको जनाउँदै यसैको अभ्यासस्वरुप राससले थप भाषामा सेवा सुरु गरी भाषा संरक्षण र प्रवर्द्धनमा नयाँ आयाम थपेको उल्लेख गर्नुभयो । राससले विभिन्न भाषामा समाचार दिँदा भूँइमान्छेले पनि अपनत्व महसुस गर्न थालेको उहाँको भनाइ थियो ।

“राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, गोरखापत्र संस्थानलगायत संस्थाले अहिलेको समावेशी लोकतन्त्रको भावनालाई पछ्याउन खोजेको देखिन्छ । यो आफैँमा खुसीको कुरा हो”, मन्त्री गुरुङले भन्नुभयो ।

यसअघि नेपाली र अङ्ग्रेजीमा मात्र समाचार सम्प्रेषण गर्दै आएको राससले हाल पाँच वटा भाषामा समाचार सेवा प्रदान गरिरहेको छ । उहाँले आगामी दिनमा राससले अन्य भाषालाई पनि स्थान दिँदै जानुपर्नेमा जोड दिनुभयो ।

“अहिले गोरखापत्रले ४४, रेडियो नेपालले २५ र नेपाल टेलिभिजनले विभिन्न भाषामा समाचार दिँदै आएको छ”, मन्त्री गुरुङले भन्नुभयो, “नेपालमा दनुवार भाषी कम भए पनि रेडियो नेपालले हालै दनुवार भाषामा समाचार प्रसारण गर्न थालेको छ, यसले दनुवार सुमदायले नेपालमा लोकतन्त्र आएको महसुस गर्न थालेका छन् ।”

सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

काठमाडौँ, ४ कात्तिकः सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्को २०८० साल चैत ३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य, मानवअधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद् विधि विज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्यहरू पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ रहनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्नका लागि दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न सिफारिस समिति पुनर्गठन गरिएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्र्णय गरेको छ ।

साथै सरकारले विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ । विपद्जन्य घटनालाई सम्बोधन गर्नेगरी राहत तथा पुनःनिर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालवस्तुमा भन्सार महसुल छुट दिने समेत निर्णय मन्त्री गुरुङले जानकारी दिनुभयो ।

सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशीष गजुरेललाई पुनःनियुक्त र यही कात्तिक १८ देखि २१ सम्म भारतको नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौँ बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने समेत निर्णय गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका क्वारेन्टिन कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी हालैको बाढीपहिरोबाट प्रभावित भई नेपाल सरकारबाट विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहमध्ये अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहहरूको सेवा सञ्चालन गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काललाई क्रमशः रु एक करोड, रु ७५ लाख र रु ५० लाखका दरले रकम उपलब्ध गराउने गर्ने निर्णय भएको छ ।

बैठकले मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर–आबद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र मातहतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

यही कात्तिक १७ देखि १९ गतेसम्म साउदी अरेबियाको राजधानी रियादमा आयोजना हुन लागेको ‘रोड सेफ्टी एण्ड सेस्टनेबिलिटी कन्फरेन्सः इनोभेटिङ फर टुमरो’ विषयक कार्यक्रममा सहभागी हुनका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

मध्य मेवा जलविद्युत् आयोजना निर्माणका लागि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको राष्ट्रिय वनको चार दशमलव सात हेक्टर जग्गा प्रयोग गर्न दिने, मध्य मेवा–ढुङ्गेसाँगु १३२ केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणका लागि ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कूल जम्मा पाँच दशमल ०११७ हेक्टर जग्गा प्रयोग गर्न दिने पनि बैठकले निर्णय गरेको छ ।

त्यस्तै, सिवा खोला जलविद्युत् आयोजना निर्माणका लागि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिकामा रहेको राष्ट्रिय वनको चार दशमलव ०५१ हेक्टर जग्गा प्रयोग गर्न दिने र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम नेपाल सरकारकोतर्फबाट कतार सरकारलाई उपहारस्वरूप चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एकजोडी हात्ती उपहार दिने निर्णय पनि बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । साथै, सदर चिडियाखानाको व्यवस्थापन जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्नेसमेत निर्णय पनि गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्तर्गत निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । समितिको सदस्यहरुमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहसचिव रहनेछन् ।

बैठकले कारागार कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय छ ।

मन्त्री गुरुङले दूरसञ्चार ऐन, २०५३ को दफा ४५ को उपदफा (३) बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

कोशी प्रदेशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत उपचार खर्च बेहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलन उपचार व्यवस्था निःशुल्क गर्ने निर्णय भएको छ ।

बैठकले पशुबधशाला र मासु जाँच (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने समेत निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

हेटौँडा, ४ कात्तिक : बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो ।

त्रिवेणी गाउँपालिका–१ नवलपरासी निवासी श्रेष्ठ लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलबीच सहमति हुन नसक्दा सात महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो ।

राहत र पुनःस्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रविन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा निकायसहित सबै अङ्गले प्रभावकारी काम गरेका सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

सो अवसमा कोषमा नेपाल आयल निगमबाट रु तीन करोड, युनिलिभर कम्पनीबाट रु ३० लाख (यसअघि रु २० लाख दिइसकेको), माछापुछ«े बैँकबाट रु २५ लाख र पूर्वराष्ट्रसेवक कर्मचारी सङ्गठनबाट रु एक लाख हस्तान्तरण गरिएको थियो ।

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

काठमाडौँ, ४ कात्तिक : गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभएको छ । काठमाडाँै उपत्यका ट्राफिक कार्यालयमा आज आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उहाँले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गरिने बताउनुभयो ।

“कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो । वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उहाँले प्रविधिको प्रयोग गरी पूर्णसुशासनयुक्त मुलुक बनाउने बाटोमा अघि बढ्ने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले सडक नियम उल्लङ्घन गरेको अवस्थामा डिजिटल माध्यमबाट सवारीसाधनका चालकलाई कारबाही र तत्कालै जरिवाना तीर्न सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै ट्राफिक कारबाहीमा नयाँ आयाम थपिएको बताउनुभयो । यो व्यवस्था कार्यान्वयन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आजदेखि प्रारम्भ भएको छ, अब कार्यान्वयन गर्नुपर्छ, यो प्रणालीले सबैलाई सरलता प्रदान गरोस्, सफल प्रणालीका रुपमा प्रयोग गरेर उदाहरणीय काम गर्न सकोस् ।”

बर्सेनि सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति हुँदै आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ढिलै भए पनि डिजिटल सवारी चालक अनुमतिपत्र वितरण र ट्राफिक कारबाहीको क्षेत्रमा महत्वपूर्ण कामको थालनी भएको बताउनुभयो ।

“सवारी चालक अनुमतिपत्र हातहाती दिन सक्नुपर्ने हो, तर अहिले पनि २२ लाख चालकलाई अनुमतिपत्र दिन सकेका छैनाँै, नियमन गर्ने प्रणालीको व्यवस्था ग¥र्यौँ, यो ठूलो काम हो ।”

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारी चालक परिचयपत्र नपाएका नागरिकले नागरिक एपमार्फत अनुमतिपत्र देखाउन सक्ने व्यवस्था भएसँगै सवारी लाइसेन्स वितरणमा ऐतिहासिक सुरुआत भएको बताउनुभयो । क्यूआर कोडसहितको डिजिटल लाइसेन्स ‘रिड’ गर्न र सडक नियम उल्लङ्घनमा कारबाही गर्न बागमती प्रदेश सरकारले ट्राफिक प्रहरीलाई सुरुआती चरणमा एक सय चार मोबाइल उपलब्ध गराएको जानकारी दिँदै उहाँले आवश्यकताअनुसार प्रहरीलाई थप पाँच सय मोबाइल उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले न्यून साधनस्रोतको उपलब्धताकाबीच पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन र यात्रु सुरक्षालाई प्रभावकारी बनाउँदै आएको बताउनुभयो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरत बोहराले अत्याधिक सवारीसाधनको चाप, सीमित सडक सञ्जाल, सडक नियम पालना नगर्ने प्रवृत्तिलगायतले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।

यसरी हुन्छ ट्राफिक कारबाही

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब सवारी चालक नागरिकले ट्राफिक नियम उल्लङ्घनको कसुरमा नागरिक एपमा भएको क्यूआर कोडसहितको चालक अनुमतिपत्र देखाएपछि ट्राफिक प्रहरीले नेपाल प्रहरीको मोबाइल एपमार्फत उक्त कोड स्क्यान गरी कारबाही गर्नेछन् । यसरी कारबाही गर्ने प्रक्रिया नै ‘इ–चलान’ हो ।

उक्त विवरण नागरिक एप र यातायात व्यवस्था विभागको सिस्टममार्फत ट्राफिक प्रहरीको सिस्टममा प्राप्त हुने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी निरीक्षक दिपेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । ट्राफिक कारबाहीका क्रममा सवारी चालकले नागरिक एपमा भएको क्यूआर कोडसहितको सवारी अनुमतिपत्र देखाउनुपर्नेछ ।

यसपछि ट्राफिक प्रहरीले मोबाइल एपमा आफ्नो कम्प्युटर कोड लगइन गरी सवारी चालकको अनुमतिपत्र स्क्यान गर्ने र कुनै पनि काजपत्र नलिइ गन्तव्यमा पठाइदिनेछन् । सवाची चालक अनुमति पत्रको सम्पूर्ण रेकर्ड साथै कसुर, सवारी नम्बरलगायतको विवरण ‘ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम’ (टिभिआएस) मा अद्यावधिक हुनेछ ।

सवारी चालकले प्रयोग गरेको नागरिक एपमा चिट नम्बरसहितको विवरण जानेछ । चालकले उक्त पूर्जी नम्बरका आधारमा डिजिटल पेमेन्ट गरेपछि उक्त कसुरबाट मुक्त भएको जानकारी निजकै एपमा देखाउने प्रहरी निरीक्षक साहले बताउनुभयो । कसुरबापतको जरिवाना नतिरेसम्म वा गम्भीर प्रकृतिका कसुर गरेका अवस्थामा सचेतना कक्षा नलिएसम्म एपमा सूचना आइरहने व्यवस्था गरिएको छ ।

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

काठमाडौँ, ४ कात्तिकः पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ ।

मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गर्नुभएको थियो । मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।

सप्तरीमा बस दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, २६ घाइते

सप्तरी, ४ कात्तिकः कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् ।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

बाजुरामा छेडेदह गोल्डकप सुरु,प्रथम हुने टोलीलाई तीन लाख

बाजुरा, ४ कात्तिकः खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिने छ । खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरमा २०७६ सालदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि पालिकाले हरेक साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो ।