`

राहत र पुनःस्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रविन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा निकायसहित सबै अङ्गले प्रभावकारी काम गरेका सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

सो अवसमा कोषमा नेपाल आयल निगमबाट रु तीन करोड, युनिलिभर कम्पनीबाट रु ३० लाख (यसअघि रु २० लाख दिइसकेको), माछापुछ«े बैँकबाट रु २५ लाख र पूर्वराष्ट्रसेवक कर्मचारी सङ्गठनबाट रु एक लाख हस्तान्तरण गरिएको थियो ।

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

काठमाडौँ, ४ कात्तिक : गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभएको छ । काठमाडाँै उपत्यका ट्राफिक कार्यालयमा आज आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उहाँले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गरिने बताउनुभयो ।

“कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो । वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उहाँले प्रविधिको प्रयोग गरी पूर्णसुशासनयुक्त मुलुक बनाउने बाटोमा अघि बढ्ने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले सडक नियम उल्लङ्घन गरेको अवस्थामा डिजिटल माध्यमबाट सवारीसाधनका चालकलाई कारबाही र तत्कालै जरिवाना तीर्न सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै ट्राफिक कारबाहीमा नयाँ आयाम थपिएको बताउनुभयो । यो व्यवस्था कार्यान्वयन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आजदेखि प्रारम्भ भएको छ, अब कार्यान्वयन गर्नुपर्छ, यो प्रणालीले सबैलाई सरलता प्रदान गरोस्, सफल प्रणालीका रुपमा प्रयोग गरेर उदाहरणीय काम गर्न सकोस् ।”

बर्सेनि सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति हुँदै आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ढिलै भए पनि डिजिटल सवारी चालक अनुमतिपत्र वितरण र ट्राफिक कारबाहीको क्षेत्रमा महत्वपूर्ण कामको थालनी भएको बताउनुभयो ।

“सवारी चालक अनुमतिपत्र हातहाती दिन सक्नुपर्ने हो, तर अहिले पनि २२ लाख चालकलाई अनुमतिपत्र दिन सकेका छैनाँै, नियमन गर्ने प्रणालीको व्यवस्था ग¥र्यौँ, यो ठूलो काम हो ।”

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारी चालक परिचयपत्र नपाएका नागरिकले नागरिक एपमार्फत अनुमतिपत्र देखाउन सक्ने व्यवस्था भएसँगै सवारी लाइसेन्स वितरणमा ऐतिहासिक सुरुआत भएको बताउनुभयो । क्यूआर कोडसहितको डिजिटल लाइसेन्स ‘रिड’ गर्न र सडक नियम उल्लङ्घनमा कारबाही गर्न बागमती प्रदेश सरकारले ट्राफिक प्रहरीलाई सुरुआती चरणमा एक सय चार मोबाइल उपलब्ध गराएको जानकारी दिँदै उहाँले आवश्यकताअनुसार प्रहरीलाई थप पाँच सय मोबाइल उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले न्यून साधनस्रोतको उपलब्धताकाबीच पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन र यात्रु सुरक्षालाई प्रभावकारी बनाउँदै आएको बताउनुभयो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरत बोहराले अत्याधिक सवारीसाधनको चाप, सीमित सडक सञ्जाल, सडक नियम पालना नगर्ने प्रवृत्तिलगायतले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।

यसरी हुन्छ ट्राफिक कारबाही

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब सवारी चालक नागरिकले ट्राफिक नियम उल्लङ्घनको कसुरमा नागरिक एपमा भएको क्यूआर कोडसहितको चालक अनुमतिपत्र देखाएपछि ट्राफिक प्रहरीले नेपाल प्रहरीको मोबाइल एपमार्फत उक्त कोड स्क्यान गरी कारबाही गर्नेछन् । यसरी कारबाही गर्ने प्रक्रिया नै ‘इ–चलान’ हो ।

उक्त विवरण नागरिक एप र यातायात व्यवस्था विभागको सिस्टममार्फत ट्राफिक प्रहरीको सिस्टममा प्राप्त हुने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी निरीक्षक दिपेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । ट्राफिक कारबाहीका क्रममा सवारी चालकले नागरिक एपमा भएको क्यूआर कोडसहितको सवारी अनुमतिपत्र देखाउनुपर्नेछ ।

यसपछि ट्राफिक प्रहरीले मोबाइल एपमा आफ्नो कम्प्युटर कोड लगइन गरी सवारी चालकको अनुमतिपत्र स्क्यान गर्ने र कुनै पनि काजपत्र नलिइ गन्तव्यमा पठाइदिनेछन् । सवाची चालक अनुमति पत्रको सम्पूर्ण रेकर्ड साथै कसुर, सवारी नम्बरलगायतको विवरण ‘ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम’ (टिभिआएस) मा अद्यावधिक हुनेछ ।

सवारी चालकले प्रयोग गरेको नागरिक एपमा चिट नम्बरसहितको विवरण जानेछ । चालकले उक्त पूर्जी नम्बरका आधारमा डिजिटल पेमेन्ट गरेपछि उक्त कसुरबाट मुक्त भएको जानकारी निजकै एपमा देखाउने प्रहरी निरीक्षक साहले बताउनुभयो । कसुरबापतको जरिवाना नतिरेसम्म वा गम्भीर प्रकृतिका कसुर गरेका अवस्थामा सचेतना कक्षा नलिएसम्म एपमा सूचना आइरहने व्यवस्था गरिएको छ ।

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

काठमाडौँ, ४ कात्तिकः पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ ।

मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गर्नुभएको थियो । मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।

सप्तरीमा बस दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, २६ घाइते

सप्तरी, ४ कात्तिकः कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् ।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

बाजुरामा छेडेदह गोल्डकप सुरु,प्रथम हुने टोलीलाई तीन लाख

बाजुरा, ४ कात्तिकः खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिने छ । खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरमा २०७६ सालदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि पालिकाले हरेक साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो ।

फ्रान्सेली विदेशमन्त्री बारोटले भने- रूसको विजयले अराजकता ल्याउनेछ

रूसले युक्रेनलाई युद्धभूमिमा पराजित गरेमा त्यसले अन्तर्राष्ट्रिय प्रणालीमा ‘अराजकता’ छाउने चेतावनी फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले शनिबार किएभ भ्रमणका क्रममा बताउनुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई परास्त गर्न आफ्नो ‘विजय योजना’ सार्वजनिक गरेको केही दिनपछि उहाँको यो भ्रमण भएको हो ।

युक्रेनी समकक्षी एन्ड्री सिबिगासँग कुरा गर्दै ब्यारोटले भन्नुभयो “रूसको विजयले ‘जसको शक्ति उसको भक्ति’ भन्ने कानूनी आधारलाई प्रवेश गराउने र अन्तर्राष्ट्रिय व्यवस्थालाई अराजकतातर्फ धकेल्नेछ।

न्यायपूर्ण र स्थायी शान्तिका लागि किएभका सिद्धान्तहरूको विवरण दिनुभएका जेलेन्स्कीद्वारा उल्लिखित एक फरक प्रस्तावलाई उद्धृत गर्दै बारोटले थप्नुभयो, “हाम्रो आदानप्रदानले राष्ट्रपति जेलेन्स्कीको शान्ति योजनालाई अगाडि बढाउन हामीलाई सक्षम बनाउनुपर्छ।”

युक्रेनी विदेशमन्त्री सिबिगाले युक्रेनी सेनाको प्रशिक्षणलगायत युक्रेनका लागि गरेको सहयोगका लागि पेरिसलाई धन्यवाद दिँदै दुई देशले ‘विशेष साझेदारी’ गरेको बताउनुभयो ।

उहाँले रुसका लागि लडिरहेका उत्तर कोरियाली सैनिकको संलग्नताले ‘थप तनाव बढ्ने ठूलो खतरा’ रहेको र युद्ध ‘हालको सीमाभन्दा बाहिर जाने’ खतरा रहेको बताउनुभयो ।

सियोलको गुप्तचर निकायले शुक्रबार उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न ‘ठूलो मात्रामा’ सैनिक पठाउने निर्णय गरेको जनाएको छ भने अमेरिकी राष्ट्रपति जो बाइडन र जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले शुक्रबार ‘न्यायपूर्ण र स्थायी शान्ति स्थापनाका लागि युक्रेनको प्रयासमा निरन्तर सहयोग जारी राख्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।

जेलेन्स्कीले यस महिनाको सुरुमा किएभका प्रमुख सहयोगीहरूसँगको कूटनीतिक भेटघाटका क्रममा पेरिसको भ्रमण गर्नुभएको थियो ।

उहाँले आफ्नो ‘विजय योजना’ को विशिष्ट प्रस्तावमा नेटोमा तत्काल सामेल गराउनेलगायत महत्वाकाङ्क्षी प्रस्तावमा समर्थन प्राप्त गर्न सक्नुभएको छैन । प्रस्तावलाई व्यापक अवास्तविक रूपमा चित्रण गरिएको छ ।

जेलेन्स्कीको खाकाले क्षेत्रीय सहुलियतलाई पनि अस्वीकार गर्दछ । उहाँले सहयोगीहरूलाई रूसी सैन्य स्थलहरूमा उसलाई सहयोग दिइएको लामो दूरीको हतियारको प्रयोगमा प्रतिबन्ध हटाउन आह्वान गरेको छ र युक्रेनी क्षेत्रमा ‘गैर–आणविक रणनीतिक प्रतिरोध प्याकेज’ तैनाथ गर्न सुझाव दिएको छ ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

दमौली (तनहुँ), ४ कात्तिकः निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरुा भएको छ ।

आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ ।

पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

गण्डकी, ४ कात्तिकः सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुुभयो ।

मेची भन्सार कार्यालयद्धारा तीन अर्ब ५८ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), ४ कात्तिकः मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।

चालु आव २०८१/८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो । आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा रु १९ करोड १७ लाख ४१ हजारले बढी हो ।

आव २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।

कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

दोधारा चाँदनी (कञ्चनपुर), ४ कात्तिकः कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभयो । नेपाल बुद्धिचाल महासङ्घ, काठमाडौँ स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिातको उद्घाटन गर्दै नेता नेपालले नेपालको नेपालको राजनीति मौसम जसरी परिवर्तन भइरहेको छ । छिटोछिटो हुने सरकार परिर्वतनले जतनाको चाहनाअनुसार काम गर्न नसकिएको उहाँको भनाइ थियो । प्रतियोगितामा हार जित हुने भन्दै उहाँले खेलाडीहरूलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी हुन आग्रहसमेत गर्नुभयो । “तन र मन दुवै ठिक राख्न जरुरी हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि खेलकुद प्रतियोगिता भइराख्नु आवश्यक हुन्छ ।”

प्रतियोगिता संयोजक नारायणदास गमालले तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिनुभयो । “तीनवटा विधामा प्रतियोगिता सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन्छ ।” उहाँका अनुसार तेस्रो नोकोसको क्लासिकल खेल स्वीस सिस्टम लिगमा आधारित ६० मिनेट प्लस ३० सेकेण्ड प्रतिचाल नौ राउण्डको हुनेछ । त्यसैगरी ¥यापिड स्वीस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रतिचालको नौ राउण्ड र ब्लिट्ज स्वीस लिगकै तीन मिनेट प्लस दुई सेकेण्ड प्रतिचालको नौ राउण्डमा हुनेछ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनसिपको प्रथम पुरस्कार रु २५ हजारसहित २० खेलाडीलाई कुल रु ८३ हजार पाँच सय, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनसिपमा प्रथम पुरस्कार रु ३० हजारसहित अन्य २० खेलाडीलाई कुल रु एक लाख ३१ हजार पाँच सय र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार रु ६० हजारसहित २५ खेलाडीलाई रु दुई लाख ५५ हजार नगदका साथै प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ । प्रतियोगिताका संयोजकका अनुसार ६५ खेलाडीलाई कुल रु चार लाख ७० हजार नगद पुरस्कार वितरण गरिने अयोजकले जनाएको छ ।

सरकारकाे उपहार- धारा बन्याे तर पानी आएन…. !

गलकोट (बागलुङ), ४ कात्तिक : बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ।

बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो ।

एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु ३० लाख खर्च भइसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् ।

आयोजनाको पूर्वाधार निर्माणपछि एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताउनुभयो । उहाँले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको बताउनुभयो ।

विसं २०४८ मा बागलुङ–पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेलमैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्षअघिमात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।

त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । सत्र घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारामात्रै रहेको छ । उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिलीको भनाइ छ ।

नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्याङ्की र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताउनुभयो । सत्र घरको बाहिर धारा बने पनि उक्त धारा अहिले प्रयोगविहीन बनेका छन् ।

“घरअघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारामा पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दोरैनछ, एक पटक कालीगण्डकीको लेदोसहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन”, लक्ष्मीले भन्नुभयो, “अहिले वैकल्पिक रुपमा नाङ्लीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ ।”

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु ३० लाख खर्च भइसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् ।

कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएकोे बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मतसम्भार गरेर आयोजनामार्फत पानी सञ्चालन गर्ने बताउनुभयो । उहाँले माझी समुदालये लिफ्टमार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताउनुभयो ।

दाङको घोरदौरामा जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घ्यूको जोहो गर्दै

देउखुरी (दाङ), ४ कात्तिक : गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ । सोही गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताउनुभयो ।

घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उहाँले सुनाउनुभयो । “प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ, यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ”, गिरीले भन्नुभयो । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताउनुभयो । तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उहाँले बताउनुभयो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताउनुभयो । गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेको गिरीले बताउनुभयो ।

सोही ठाउँका खडकबहादुर महरा पनि चिउरी पेल्न आएकाले पालो कुरेर बसेको बताउनुभयो । पैसा तिर्नु नपर्ने जङ्गलमा त्यसै खेर गइरहेको चिउरीको दानाबाट अग्र्यानिक खाना खान पाएको उहाँले बताउनुभयो । “बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, उहाँले भन्नुभयो । आफूलाई पुगेर बचेको घ्यू बिक्री गरेर आम्दानी गर्ने गरेको महराले बताउनुभयो । चिउरीको घ्यू स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चिउरीको घ्यूमा कुनै मिसावट हँुदैन आफैँले टिप्ने र पेल्ने गरेकाले शुद्ध हुने उहाँको भनाइ छ । 

चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । महराले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै तीन मुरी चिउरी टिप्ने गरेको वर्षभरिलाई पुग्ने गरेको उहाँले बताउनुभयो । “यसलाई बजारमा बिक्री गर्न नलैजाने गाउँघरमै बित्रली हुने गरेको छ । घ्यू किन्न आउनेलाई रु आठ सय धार्नीमा बिक्री गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । त्यहाँका सबैजसोले चिउरी टिप्ने गरेको महराले बताउभयो । एक महिना दुःख गर्यो भने वर्षभरि खान पुग्ने चिउरी घ्यू हुन्छ, त्यसैले गाउँले सबै मिलेर बिजुला टिप्ने गरेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरत अर्यालले चिउरीको घ्यू पेल्ने कोल र ढिकीलाई संरक्षण गरेको बताउनुभयो । खुला आकाशमुनि रहेको परम्परगत कोलको संरक्षण गर्न वडा कार्यालयले रु एक लाख उपलब्ध गराएको उहाँले बताउनुभयो ।

तिहार र छठपर्वलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई

इनरुवा (सुनसरी), ४ कात्तिक : इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्नुहुन्छ । उहाँ दिनभर भाँडा बनाउने काममा व्यस्त रहनुहुन्छ । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थाल्नुभएको हो ।

पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने रहेको छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् । स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकँुडा बनाउने काममा व्यस्त छ ।

भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरुले माटोको जाहो गर्ने गरेका छन् । एक महिना अगाडिसम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताउनुभयो ।

“नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर रु १० हजारदेखि रु २० हजारसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ । चाडपर्वका बेलामा एउटा परिवारले रु एक लाखदेखि रु पाँच लाखसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् । चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताउनुभयो । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताउनुभयो । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।
ट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताउनुभयो । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताउनुभयो । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।

यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा

बैतडी, ४ कात्तिकः नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् ।डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताउनुभयो ।

प्रतियोगिता कात्तिक १० गतेदेखि विराटनगरमा हुँदैछ । कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ ।

प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । प्रतियोगिताको अन्तिम खेल कात्तिक २१ गते हुनेछ ।

सिँचाइमन्त्री खड्काबाट बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी आयोजनाको अनुगमन

दोलखा, ४ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

अनुगमन गर्दै मन्त्री खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताउनुभयो । हेलिकप्टरबाट आयोजनास्थल पुग्नुभएका जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि मन्त्री खड्काले क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेकाले यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता गर्नुभयो ।

मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको बताउनुभयो ।

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, ४ कात्तिक : हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ४ कात्तिक : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएका े छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुर्ई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।

नेपाल–अमेरिका टी–२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल

काठमाडौँ, ४ कात्तिक : नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।

तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने आजको खेलमा भने समावेश हुने बताइएको छ । 

यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिए । 

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए । यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक एक विकेट लिए ।  

‘प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध भएर लागिरहेको छ’ : कृष्णप्रसाद पाठक

लमजुङ, ३ कात्तिकः गण्डकी प्रदेशका स्वाथ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध भएर लागिरहेको बताउनुभएको छ ।

बँेसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उहाँले प्रदेशमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी सरकारले नीति, कानुन र संरचना सुधारमा जोड दिएको बताउनुभयो । मन्त्री पाठकले भन्नुभयो,“हामीले स्वास्थ्य क्षेत्रको अवस्था सुदृढ गर्न गण्डकी प्रदेश स्वास्थ्य सुधार कार्यक्रम अगाडि सारेका छौँ । त्यसका लागि कार्ययोजना बनाएर एक सय काम पूरा गर्ने लक्ष्य राखेर क्रियाशील भइरहेको छु ।” यद्दपि सङ्घीय सरकारले अझै प्रदेश सरकारलाई अधिकार नदिँदा काम गर्न समस्या रहेको उहाँको भनाइ थियो ।

मन्त्री पाठकले लमजुङ अस्पतालमा आधुनिक भवन निर्माणका लागि केही दिनमा बोलपत्र आहृवान गर्ने तयारी रहेको जानकारी दिनुभयो । प्रदेशभित्रका अस्पतालमा कतै उपकरण, कतै दक्ष जनशक्ति, स्वास्थ्य पूर्वाधारको अभाव रहेकाले यसको व्यवस्थापनका लागि आफू लागिरहेको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, बँेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरूले लमजुङ अस्पतालको विकासका लागि सबै एकजुट हुँदै अघि बढ्नुपर्ने धारणा राखेका थिए । 

‘अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ’ : मन्त्री शाही

मुगु, ३ कात्तिकः वन तथा वातवरणमन्त्री ऐनबहादुर शाहीले अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ । यसका लागि नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको राजधानी बाकुमा हुने कोप २९औँ बैठकमा आवाज उठाउने उहाँले बताउनुभयो ।

कोप–२९ को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनमा काम गर्दै आएको साथसाथै फाउन्डेसनको संयुुक्त आयोजना आज यहाँ भएको  कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “जलवायु परिवर्तनका असरले नेपाले ठूलो नोक्सानी बेहोरिरहेको छ । त्यसैले हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ । यस विषयमा कोप २९ औँ बैठकमा आवाज उठाउछु”, मन्त्री शाहीले भन्नुभयो । 

कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका साथै सिन्धुपाल्चोक, सोलुखुम्बुका जनप्रतिनिधि तथा अन्य सरोकार भएका निकायको समेत सहभागिता र कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो ।

छायाँनाथ रारा नगरपालिका—९ का स्थानीय बिर्ख रोकायाले विश्व जलवायु परिवर्तनको असर विशेष गरी उच्च हिमाली क्षेत्रका बासिन्दाले धेरै भोग्नु परेको सुनाउनुभयो ।  “आठ–दश वर्षअगाडि मानिसको घुँडासम्म पर्ने हिउँ अहिले पैतालसम्म पनि पर्दैन । गाउँ नजिकका पानीका मूल सक्दै गएका छन् । वर्षा हुने समयमा वर्षा हुँदैन,  खेतीपातीमा राम्रो उत्पादन हुनै छाड्यो । सबैभन्दा बढी कर्णालीका बासिन्दाले जलवायु परिवर्तनको असर खेप्नु परेको छ”, उहाँले भन्नुभयो । 

खुम्बु पासङल्हामु गाउँपालिका सोलुखुम्वुका उपाध्यक्ष टासी लामा शेर्पाले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा सबैभन्दा बढी कृषि, पर्यटन र स्वास्थ्यमा असर पारेको बताउनुभयो । यही असरकार कारण केही महिनाअघि थामेमा हिमताल फुटेर आएको बाढीले सिङ्गो बस्तीलाई क्षति गरेको उहाँले उल्लेख गर्नुभयो ।

हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्याल्जन शेर्पाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारले स्थानीय सरकारलाई रु एक–एक करोड ससर्त अनुदानमा बजेट विनियोजित गर्नाका सङ्घीय जलवायु परिवर्तन ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो ।

हिउँ चितुवाविज्ञ रिक्जिन फुम्जन लामाले जलवायु परिवर्तनका असरले पृथ्वीको तापक्रम बढ्दै जाँदा उच्च हिमाली क्षेत्रमा पाइने वन्यजन्तु अनुकूलनका लागि बासस्थान खोज्दै अन्यत्र जान थालेको बताउनुभयो । उहाँले जनावरलाई आवश्यक आहारासमेत नभेटिने र मिचाहा प्रजातिका घाँस तथा झारपात फैलिँदै जानेलगायत समस्याले वन्यजन्तु लोप हुने खतरा बढ्दै गएको बताउनुभयो । 

असोज महिनामा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे

गण्डकी, ३ कात्तिक : गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक भित्रिएका हुन् । असोजयता पर्यटकको आउजाउ बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले बताउनुभयो ।

उहाँका अनुसार गत भदौमा ‘सार्क’ क्षेत्रका सात हजार तीन सय ६९ र अन्य देशका पाँच हजार नौ सय एकजना गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका थिए । असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीययाम रहेकाले यस अवधिमा पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा कडरियाको भनाइ छ । पदयात्राका लागि पनि यो याम उत्तम मानिने हुँदा अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिएको उहाँले बताउनुभयो । 

‘एक्याप’ले सडकमार्ग र पदयात्रामार्फत अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्दै आएको छ । ‘एक्याप’ भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । दसैँ, तिहार जस्ता ठूला पर्वका बिदा छोपेर नेपालीहरु पनि यही याममा बढी घुमफिरमा निस्कने गरेका छन् । 

ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले दसैँलगत्तै पर्यटकीयस्थलहरुमा चहलपहल ह्वात्तै बढेको बताउनुभयो । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि विश्वमै परिचित रहेको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले देशविदेशका पर्यटकमाझ उक्त क्षेत्र लोकप्रिय छ । 

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत ठाउँबाट यस क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । 

मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठ) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको चर्चित पर्यटकीय गाउँ घान्दु्रकका होटलमा हिजोआज ७५ प्रतिशत पाहुना रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । “केही दिनयता पर्यटकको चहलपहल बढेको छ, व्यवसायीहरु पनि उत्साहित छन्”, उहाँले भन्नुभयो । 

पर्यटन क्षेत्र कोभिड–१९ अघिकै अवस्थामा भने अझै नफर्केको उहाँको भनाइ छ ।  गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना पर्यटक थिए । 

गढीमाई मेला भर्न आउने भक्तजनका लागि खानेपानी अभाव हुँदैनः मन्त्री यादव

बारा, ३ कात्तिकः खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पार्नुभएको छ । गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताउनुभयो ।

मन्त्री यादवले ‘ओभरहेड ट्याङ्की’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत गर्दै ठाउँठाउँमा डिप बोरिङको समेत प्रबन्ध गर्ने र यसै साताभित्र केही थान घुम्ती शौचालय मेला व्यवस्थापन समितिलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  “कुनै प्रकारले शुद्ध खानेपानीको कमी हुन नदिनका लागि प्रदेश सरकार, दातृ तथा सहयोगी संस्थाहरूसँग मेलामा छलफल भइरहेको छ । पानीको निकासका लागि ढल निकास तथा नाला निर्माण, पाइप जडानको काम पनि चाँडै नै सुरु गर्छौं”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले मेलाका लागि सरकारको पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो,“सहयोग गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेला समितिका पदाधिकारी तथा गढीमाई नगरपालिका प्रमुखलाई सन्देश दिन मलाई निर्देशन दिइसक्नुभएको छ ।”  

मन्त्री यादवले मेलाको सफलताका लागि स्थानीय नागरिकले विगत वर्षदेखि नै सम्पूर्ण रूपमा सहयोग गर्दै आएकामा प्रशंसा गर्नुभयो । 

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले मेला सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले हिन्दूहरूको आस्थामाथि खेलबाड गर्ने, मेलालाई कुनै प्रकारले भाँड्न खोज्नेहरूलाई कानुनको दायरामा ल्याउन शान्ति सुव्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, मेला व्यवस्थापन समितिका उपाध्यक्ष रामचन्द्र साह, महासचिव वीरेन्द्र यादवलगायत उपस्थित हुनुहुन्थ्यो । 

यसैबीच, मन्त्री यादवले कलैयास्थित करणराज पार्टी प्यालेसमा जनता समाजवादी पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्नुभयो । पार्टीका उपमहासचिवसमेत रहनुभएका मन्त्री यादवले साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूसहित सिङ्गो पार्टी पङ्क्ति जुटेको बताउनुभयो । “साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूहरू जुटेका छौँ”, उहाँले भन्नुभयो, “जनताको सेवामा निरन्तर क्रियाशील रहँदै मधेससँगै समग्र देशकै समृद्धि र विकासलाई अगाडि बढाउन आफ्नो पार्टी प्रतिबद्ध छ ।”

कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले मधेसको विकास र अधिकारका लागि अझै धेरै सङ्घर्ष गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मधेसवासीको अधिकारका लागि हाम्रो सङ्घर्ष जारी छ र अब जसपाले नै परिवर्तनको नेतृत्व गर्नेछ ।”

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह

अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ।

सैफ अल–अदेलका ससुरा अबु वालिद अल–मसरीका नामले समेत चिनिने मुस्तफा हमिदले शुक्रबार उक्त कुरा बताउनुभएको हो । इजरायली बन्धकहरूलाई जीवित र मृत अवस्थामा फर्काउनेतर्फ दिइएको ध्यानका कारण इजरायलले कब्जामा राखेका प्यालेस्टिनी कैदीहरूको भाग्यलाई ओझेलमा पारिरहेको हमिदले दाबी गर्नुभएको छ ।

उहाँले इजरायलले बिहीबार नै मारेको घोषणा गरेका हमासका नेता याह्या सिनवारको प्रशंसा गर्नुभयो । सन् २०२३ को अक्टोबर ७ मा इजरायलविरूद्ध गरिएको आक्रमणका मुख्य योजनाकार सिनवार थिए ।वक्तव्यमा भनिएको छ, “हमासले अब ‘तत्काल’ बन्धक र उनीहरूका शवहरू फिर्ता गर्नुपर्छ र ‘लडाईँको यो अध्याय बन्द गर्नुपर्छ र फेरि खोल्नु हुँदैन, किनकि हामीलाई यसको परिणाम थाहा छ।”

“प्यालेस्टाइनी कैदीहरूको बारेमा मिडिया, छलफल वा वार्ता र प्रदर्शनमा कहीँ कसैले वास्ता गर्नेछैन,” विज्ञप्तिमा भनिएको छ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा गरेको आक्रमणमा २५१ जनालाई बन्धक बनाएको थियो । त्यसयता कैयौँको मृत्यु भइसकेको छ भने केहीलाई डिसेम्बरको युद्धविराममा रिहा गरिएको छ भने ९७ जना अझै पनि इस्लामिक प्यालेिस्टनी लडाकू समूहको नियन्त्रणमा जीवित नै रहेको विश्वास गरिएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणका लागि जिम्मेवार ठहरिएको अलकायदा अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएको आक्रमणको निशानामा परेको थियो ।

सन् २०११ मा ओसामा बिन लादेनलाई अमेरिकी विशेष फौजले छिमेकी मुलुक पाकिस्तानमा मारेको थियो । बिन लादेनका उत्तराधिकारी अयमान अल जवाहिरी सन् २०२२ को जुलाईमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए ।नेताहरूको आक्रमणमा मृत्यु भएपनि अल–कायदाको इस्लामिक देशहरूमा छिटफुट प्रभाव छ । पूर्व इजिप्टियाली विशेष बलका लेफ्टिनेन्ट–कर्नेल रहेका नेता सैफ अल–अदेल इरानमा रहेको रिपोर्ट गरिएको छ।

एएफपीसँग परामर्श लिएका केही विज्ञका अनुसार हमिद अल–कायदाको मुख्य संगठनका उच्च पदस्थ व्यक्तिहरूसँग नजिक छन् ।सिरिया, यमन, सोमालिया र मालीमा क्षेत्रीय सहयोगीहरू खडा गरेको यस समूहको इरानसमर्थित हमासमाथि खासै प्रभाव छैन।

हमासले शुक्रबार गाजा युद्धको अन्त्यमा कुनै पनि बन्धकलाई रिहा नगर्ने प्रतिबद्धता जनाएको छ ।विश्लेषकहरूका अनुसार सिनवारको कुनै उत्तराधिकारी तत्काल घोषणा नभएको र हमासको नेतृत्वमा शून्यता रहेकाले उनीहरूको रिहाईका लागि वार्ता गर्न कोही भेट्टाउन कठिन हुनेछ।

इजरायली सेनाद्वारा दक्षिण बेरुतका बासिन्दालाई गाउँ छोड्न निर्देशन

इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न शनिबार आह्वान गरेको छ ।

दक्षिणी उपनगर दाहियाह र विशेष गरी हेरेट हरेइक र वरपरका बासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र छोड्न निर्देशन दिँदै इजरायली सैन्य प्रवक्ता अविचय अद्राईले एक्समा अरबी भाषामा लेखेकोे सन्देशमा भन्नुभएकोे छ, “तपाईं हिजबुल्लाहसँग सम्बन्धित क्षेत्र र यसको वरपर रहनुभएको छ । इजरायली सेना (आईडीएफ ) ले निकट भविष्यमा त्यस क्षेत्रमा कारबाही गर्न लागेको छ ।

यसैबीच लेबनानको पूर्वी बेका उपत्यका क्षेत्रको एक सहरमा इजरायली आक्रमणमा परी शनिबार एक मेयरसहित चार जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार बालौल शहरको एक आवासीय भवनमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको र उक्त आक्रमणमा नजिकैको सोहमोर शहरका मेयर हैदर शाहला पनि रहेको जनाइएको छ ।

यसैबीच, उद्धारकर्ताहरूलाई उद्धृत गर्दै गाजाबाट प्राप्त समाचारमा गाजाको उत्तरी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी विगत दुई हप्तामा ४०० भन्दा बढीको मृत्यु भएको उद्धारकर्ताले बताएका छन् ।

पाटन प्रिमियर लिग : कुलगडे सुपर सिक्समा, पाटनको विजयी सुरुआत

बैतडी, ३ कात्तिक : कुलगडे क्रिकेट क्लब, बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ । कुलगडे समूह ‘डी’ बाट सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि समूह ‘ए’ बाट पाटन भ्याली क्रिकेट क्लबले सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ ।

आज भएको खेलमा दीपचन क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै दोस्रो जितका साथ कुलगडे सुपर सिक्समा प्रवेश गरेको हो । कुलगडेले दिएको २०१ को रनको लक्ष्य पछ्याएको दीपचनले १९ दशमलव १ ओभरमा १२५ रनमा सीमित भयो । आकाश भट्टराईले २१ तथा अमन रावलले २० रन जोड्नबाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कुलगडेका केशव बोहरा र पङ्कज लुहारले समान तीन–तीन विकेट लिए ।

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कुलगडेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० सय रन बनाएको थियो । कुलगडेका पङ्कज लुहारले ५२, नवीन ठगुन्नाले ४० रन बनाएका बनाए ।

दीपचनका प्रकाश चन्द र शङ्कर टेलरले समान दुई–दुई विकेट लिए । कुलगडेका पङ्कज ‘म्यान अफ द म्याच’ भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

यस्तै, आजै भएको दोस्रो खेलमा आयोजक पाटन क्रिकेट क्लबले नवजागृति क्रिकेट क्लबलाई हराएको छ । पहिला ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२० रन बनायो । जसमा सुमित बुडालले ६६ र दीपक बोहराले ४७ रनको योगदान गरे । नवजागृतिका सचिन विक र मोहन ठगुन्नाले दुई÷दुई विकेट झारे ।

जवाफी ब्याटिङमा नवजागृति ३६ रनमा ‘अलआउट’ भयो । उसका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पाटनका सुभाष विष्टले पाँच विकेट हात पारे । सुभाष ‘प्लेयर अफ द म्याच’ पनि चुनिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो । द्वितीय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी, ‘म्यान अफ दी सिरज’ बापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘बेस्ट बलर’ र ‘ब्याट्सम्यान’लाई पनि समान ६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसअघि, पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआई) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

मेची–महाकाली राष्ट्रिय उद्धार : सिरहाबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार

सिरहा, ३ कात्तिकः मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट एक पुरुष गरी आठजनाको उद्धार गरिएको मानवसेवा आश्रमका महासचिव सुमन बर्तौलले जानकारी दिनुभयो ।

‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्दै मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । टोलीमा सहभागी आश्रमका महासचिव बर्तौलाका अनुसार सडकपेटीबाट उद्धार गरिएका व्यक्तिहरूलाई सर्लाही सेवा केन्द्रमा पठाइएको छ ।

महासचिव बर्तौलाले उद्धार टोलीले कोशी प्रदेशमा झापाबाट १२, सुनसरीबाट १२, मोरङबाट चार र उदयपुरबाट १६ गरी ४३ को उद्धार गरिएको बताउनुभयोे । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । यसैगरी, सप्तरीबाट दुई महिला र ११ पुरुष गरी १३ जनाको उद्धार गरिएको छ । 

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्नुभएको  थियो । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ ।

वर्तमान सरकार ढल्ने सम्भावना छैन : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेकोे बताएका छन् । उनले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिए । 

शनिबार मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पारे ।

आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै नेता कोइरालाले भने, “यो सरकार ढल्दैन, चल्छ, यद्यपी  मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।” 

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे । उनले भने, “यो सरकार बनेको धेरै भएको छैन, त्यसैले काम गर्न दिनुपर्छ।”

सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । 

“संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ,” उनले भने । नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशनबाट प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन

ताप्लेजुङ, ३ कात्तिकः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो ।

यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए । दसैँअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो । पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ । पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारीहरू समेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभएको छ ।

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौँ ३ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सन् २०१९ मा चीनबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले सीमा नाका प्रभावकारी रूपमा सञ्चालन, रेलमार्ग निर्माण प्रक्रिया अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्यका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताउनुभयो ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर यहाँ आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । पहिलोपटक नेपाल भ्रमणमा आउनुभएका उहाँले चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएकाले सोहीअनुसार सरकार र पार्टीहरूबीचको सम्बन्धलाई महत्व दिने गरेको उल्लेख गर्नुभयो ।

भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट सेक्रेटरी छेन्, नेपालस्थित चिनियाँ राजदूत छेन् सोङ्गलगायतको उपस्थिति रहेको थियो ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

मान्म (कालीकोट), ३ कात्तिकः कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

आज जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताउनुभयो । ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ । चालकको घटनास्थलमै मृत्यु भए पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।

‘भूमिसम्बन्धी समस्या समाधान गर्न कात्तिकभित्रै आयोग गठन हुन्छ’ : मन्त्री अधिकारी

त्रिशूली (नुवाकोट), ३ कात्तिकः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटले आज विदुरमा आयोजना गरेको अन्तरक्रिया तथा भेटघाटमा उहाँले आयोगलाई अधिकारसम्पन्न बनाई कात्तिकभित्रै गठन गर्ने तयारी भइरहेको बताउनुभयो ।

“विगतका आयोगले काम नगरेको गुनासो धेरै छन् । त्यसमा केही यथार्थ पनि छ । भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार आयोग बनाउन अझै केही कानुनी समस्या छन् तर दलीय र सरकारको सहमतिमा सकेसम्म सबै समस्या समाधान गर्नसक्ने गरेर अधिकार सम्पन्न आयोग गठन हुनेछ । आयोगले गर्ने काममा कानुनी प्रश्न उठ्न नदिन भूमि ऐन, नापी ऐनसहित यससँग सम्बन्धित कानुन निर्माण तथा सुधारमा मन्त्रालय लागिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

अब बन्ने आयोगले विगतका आयोगले गरेका कार्यको दायित्व ग्रहण भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानमा केन्द्रित हुने उल्लेख गर्नुहुँदै उहाँले बिर्ता र गुठी समस्या समाधानका लागि क्रमशः कानुन निर्माण गरेर अगाडि बढ्ने सरकारेको लक्ष्य रहेको बताउनुभयो ।

‘रबी लामिछानेलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउछौँ’ – प्रमुख सचेतक परियार

त्रिवेणी (रुकुम पश्चिम), ३ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने बताउनुभएको छ ।

पार्र्टीको जिल्ला भेलामा सहभागी हुन आज रुकुम पश्चिम आईपुग्नुभएका परियारले पत्रकारसँग भन्नुभयो, “कानुनी प्रक्रियालाई सघाउन तयार छौँ । कुनै व्यक्ति तथा संस्थाउपर रिस भने साँध्न हुन्न ।”

पार्टीका मुख्यमुख्य गतिविधि सञ्चालन भइरहने र तोकिएका जिल्ला भेला र महाधिवेशनका कार्यक्रमहरू भने अर्को सूचना नहुन्जेल स्थगित गरिएको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।

तीनकुने क्षेत्रको बागमतीबाट एक ‘मेट्रिक टन’ फोहर व्यवस्थापन

काठमाडौँ, ३ कात्तिक : बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

‘हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ भएको सफाइमा पूर्वमन्त्री अग्नि खरेललगायत अभियानकर्मीको सक्रियता थियो । विसं २०६० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार दुई घण्टा नदी किनारमा गर्ने गरिएको छ । त्यस क्रममा आज तीनकुनेस्थित पुलमुनिको पाँच सय मिटर तलसम्म सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिनुभयो । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । 

सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको आज निरन्तर चलिरहेको छ । यो महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी पनि सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी एवं सहरमा पनि सफाइ भइरहेको छ । महाअभिायनबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा आज उहाँले ‘पोष्ट’ गर्नुभएको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गर्नुभएको छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ । 

“यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रुपमा यो व्यवस्था सुरु हुनेछ”, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उहाँले बताउनुभयो । नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

काठमाडौँ, ३ कात्तिक : ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ ।

प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब सवारी चालकले चालक अनुमतिपत्र बोक्नु नपर्ने र ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत चालक अनुमतिपत्र देखाउन सक्नेछन् । नागरिक एपमा चालक अनुमतिपत्र रहेको क्युआर कोड देखाउने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ । यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन् ।

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

पाटन (ललितपुर) । ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा शनिबार अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उनले जानकारी दिए ।

बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।

इजरायलले इरानलाई ‘कानुनी कदम चाल्न’ दबाब दिएको टर्कीको भनाइ

लेबनान र गाजामा इजरायलले गरेको आक्रमणले इरानलाई ‘कानुनी कदम’ चाल्न प्रेरित गरिरहेको टर्कीका विदेशमन्त्रीले शनिबार इस्तानबुलमा आफ्ना इरानी समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

“इजरायलको आक्रामक अडानले इरानलाई कानुनी कदम चाल्न बाध्य पारिरहेको छ,” टर्कीका हाकान फिदानले इरानी विदेशमन्त्री अब्बास अरागचीसँग भन्नुभयो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस क्षेत्रमा निरन्तर नयाँ मोर्चा खोलिरहेको र इरानलाई यस युद्धमा तान्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “युद्ध पूरै क्षेत्रमा फैलिने खतरालाई कम आँक्नु हुँदैन ।”शुक्रबार इस्तानबुलमा पूर्वी यूरोप र पश्चिमी एशियाली क्षेत्रका मुलुकहरूको एक बैठकमा भाग लिएका अरागचीले लेबनानमा बढ्दो तनाव ‘निकै चिन्ताको’ बिषय भएको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रमा युद्धको सम्भावना जहिले पनि गम्भीर हुन्छ, र यहूदी शासकबाहेक अरू कोही पनि त्यस्तो नहोस् भन्ने चाहन्छन्। हामी तनाव कम गर्न चाहन्छौं, तर यसको अर्थ हामी जस्तोसुकै परिस्थितिका लागि पनि तयार छौं भन्ने पनि हो।”

इरानले गाजामा हमास र लेबनानमा हिजबुल्लाहजस्ता इस्लामी समूहलाई समर्थन गर्दै आएको छ, यी सशस्त्र लडाकू समूहका शीर्ष नेताहरूलाई इजरायलले मध्यपूर्वको बढ्दो सङ्कटमा मारेको छ।

इरानले यमनमा हुथी विद्रोही, इराकमा शिया मिलिसिया र सिरियाको सशस्त्र बललाई पनि समर्थन गर्दै आएको छ । तेहरानले सामूहिक रूपमा उनीहरूका आक्रमण र मिलिशियाहरूलाई इजरायलविरुद्ध ‘प्रतिरोधको चुली’ भनेको छ।

गत सेप्टेम्बर २७ मा बेरुतमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको हत्या र जुलाई ३१ मा तेहरानमा हमासका नेता इस्माइल हनियाहको हत्याको बदलामा इरानले करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणका मुख्य योजनाकार हमासका नेता याह्या सिनवारको बुधबार इजरायली आक्रमणमा मृत्यु भएको थियो ।
इरानको रिभोल्युसनरी गार्ड्सले इजरायलले इरानी लक्षमा आक्रमण गरेमा इजरायलको बिरूद्ध ‘कडा’ प्रहार गर्ने चेतावनी दिएको छ ।

छरिएर रहेका माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छः अध्यक्ष दाहाल

भरतपुर, ३ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उहाँले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गर्नुभयो । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौँ । त्यसैले एकताबद्ध भएर अगाडि बढौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले पछिल्ला उपलब्धिको रक्षा गर्न आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, योद्धाहरूको स्मरणमा जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनेलगायत काम गरिएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधानसभाको जस्तै अवस्था आउने बताउनुभयो । जनताको जीवन बदल्ने अभिभारा पूरा गर्न एकता आवश्यक रहेको धारणा राख्नुभयो । 

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र सङ्घीयतालाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो । त्यसका लागि माओवादी र वामपन्थी एकता जरुरी रहेको उहाँको भनाइ थियो । 

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्ने बेला आएको बताउनुभयो । उहाँले सबै कम्युनिष्ट नेताहरूसँग छलफल भइरहेको र माओवादी शक्ति सङ्गठित भएर समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो ।

क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने :मन्त्री खड्का

काठमाडौँ, ३ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताउनुभएको छ ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उहाँले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहो¥याउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको बताउनुभयो ।

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

भक्तपुर । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन्।

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे।

उनले भने, ‘कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ।’

गत महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाडौँ ल्याउँदा प्रतिकेजी रु छ सय ६६ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौँको स्याउ कुहिने बताए।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडाैँको स्याउ बिग्रने अवस्थामा पुगेको बताए।

उनले यहाँको स्याउलाई मनास्लु स्याउ नामकरण गरेको बताए। उहाँले कृषि र पर्यटनलाई जाड्नेगरी छिटो सडकको पहुँच पुर्‍याए स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादनगरी ब्राण्ड बनाउन सकिने धारणा राखे।

बाह्र हजार पाँच सय स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुड्डु लामाले आफूले स्याउको बिरुवा रोप्दा तीन वर्षसम्ममा गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरे पनि सडक नपुग्दा नोक्सानी ब्यहोर्नु परेको बताए।

उनले भने, ‘गत वर्षभन्दा यस वर्ष दोब्बर स्याउको उत्पादन बढेको छ, एउटा बोटमा कम्तीमा ४५ वटा स्याउ फल्छ, मेरोमा मात्रै पाँच लाख दाना छ, केही स्याउको दाना, सुकुटी, वाइनलगायत बनाएर बिक्री गरौँला, करिब तीन लाखभन्दा बढी स्याउ कुहिने अवस्थामा पुगेको छ, अरु किसानको पनि अवस्था उस्तै छ।’

गोरखाकै धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो पालिकामा आलु, किबी, ड्रागन फ्रुटको प्रशस्त खेती रहे पनि बजार नपाएको बताए। उनले भने, ‘किबी र ड्रागन फ्रुटको उत्पादन राम्रो छ, तर सडक नपुग्दा बजार नपाएको अवस्था छ।’