`

क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने :मन्त्री खड्का

काठमाडौँ, ३ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताउनुभएको छ ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उहाँले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहो¥याउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको बताउनुभयो ।

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

भक्तपुर । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन्।

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे।

उनले भने, ‘कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ।’

गत महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाडौँ ल्याउँदा प्रतिकेजी रु छ सय ६६ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौँको स्याउ कुहिने बताए।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडाैँको स्याउ बिग्रने अवस्थामा पुगेको बताए।

उनले यहाँको स्याउलाई मनास्लु स्याउ नामकरण गरेको बताए। उहाँले कृषि र पर्यटनलाई जाड्नेगरी छिटो सडकको पहुँच पुर्‍याए स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादनगरी ब्राण्ड बनाउन सकिने धारणा राखे।

बाह्र हजार पाँच सय स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुड्डु लामाले आफूले स्याउको बिरुवा रोप्दा तीन वर्षसम्ममा गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरे पनि सडक नपुग्दा नोक्सानी ब्यहोर्नु परेको बताए।

उनले भने, ‘गत वर्षभन्दा यस वर्ष दोब्बर स्याउको उत्पादन बढेको छ, एउटा बोटमा कम्तीमा ४५ वटा स्याउ फल्छ, मेरोमा मात्रै पाँच लाख दाना छ, केही स्याउको दाना, सुकुटी, वाइनलगायत बनाएर बिक्री गरौँला, करिब तीन लाखभन्दा बढी स्याउ कुहिने अवस्थामा पुगेको छ, अरु किसानको पनि अवस्था उस्तै छ।’

गोरखाकै धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो पालिकामा आलु, किबी, ड्रागन फ्रुटको प्रशस्त खेती रहे पनि बजार नपाएको बताए। उनले भने, ‘किबी र ड्रागन फ्रुटको उत्पादन राम्रो छ, तर सडक नपुग्दा बजार नपाएको अवस्था छ।’

ब्रिक्सले विश्वव्यापी आर्थिक वृद्धिलाई अगाडि बढाउँछ : पुटिन

ब्रिक्स समूहका देशहरूको कूल गार्हस्थ्य उत्पादनको संयुक्त अंश छ सय खर्ब अमेरिकी डलरभन्दा बढी छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मस्कोमा आयोजित ब्रिक्स व्यापार मञ्चमा ब्रिक्सले आज विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने मात्र नभई भविष्यमा पनि यसको भूमिका बढ्दै जाने कुरा स्पष्ट पार्नुभयो ।

उहाँले ब्रिक्सका सदस्य राष्ट्रहरू नै वास्तवमा विश्व आर्थिक वृद्धिका चालक भएको बताउनुभयो ।   पुटिनको टिप्पणी काजानमा अक्टोबर २२–२४ मा हुने ब्रिक्स शिखर सम्मेलन अघि आएको हो ।

पुटिनलाई उद्धृत गर्दै तास प्रतिवेदनले सन् १९९२ मा विश्वको कूल गार्हस्थ्य उत्पादनमा जि–७ देशको हिस्सा ४५ दशमलव पाँच प्रतिशत रहेको र ब्रिक्स राष्ट्रको हिस्सा १६ दशमलव सात प्रतिशत रहेको उल्लेख गर्नुभयो ।    “सन् २०२३ मा ब्रिक्सको हिस्सा ३७ दशमलव चार प्रतिशत र जि–७ को हिस्सा २९ दशमलव तीन प्रतिशत रहेको छ”, पुटिनले भन्नुभयोे ,“अन्तर बढ्दै गइरहेको छ र यो बढ्दै जानेछ, यो अपरिहार्य छ ।”

पुटिनले ब्रिक्सले आज मात्र नभई विश्व अर्थतन्त्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।

रुसी अध्यक्षतामा काजानमा हुने १६औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २२ देखि २३ सम्म रुसको भ्रमण गर्दै हुनुहुन्छ ।

रूस, भारत र चीनका नेताहरू सन् २००६ मा जी–८ आउटरिच शिखर सम्मेलनमा सेन्ट पिटर्सबर्गमा भेटिएपछि ब्रिक औपचारिक समूहका रूपमा सुरु भयो । ब्रिक विदेशमन्त्रीहरूको पहिलो बैठकमा समूहलाई औपचारिकता दिइएको थियो ।

सन् २०१० मा न्युयोर्कमा ब्रिक विदेशमन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरिएको थियो । सन् २०२४ म ब्रिक्सको विस्तार इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्सलाई समावेश गर्न गरिएको हो ।    हालसम्म जम्मा १५ वटा ब्रिक्स शिखर सम्मेलन भइसकेका छन् ।

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबारमा बढ्न थाले पर्यटक,पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट

ढोरपाटन (बागलुङ), ३ कात्तिकः बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ ।

एक सय दुई वर्ष पहिले निर्माण भएको दरबारलाई करिब रु ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताउनुभयो । दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानोलगायत भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्वार सुरु गरेको उहाँले बताउनुभयो । दरबार वरपर बगैँचा, पिङलगायत मनोरञ्जन गर्ने पार्क निर्माण गरिरहेको उहाँले बताउनुभयो । 

हमालका अनुसार दैनिक एक सय ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । बिदाको दिन झण्डै पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पहिलेदेखि नै आन्तरिक पर्यटक आउने गरे पनि अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुमलगायत स्थानमा जाने बाह्य पर्यटकसमेत आउने गरेको अध्यक्ष हमालले जानकारी दिनुभयो । 

दरबारलाई सङ्ग्रहालयका रुपमा विकास गर्न थालिएको हमालले बताउनुभयो । दरबारभित्र राजाहरुले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायतका सामग्री सङ्ग्रहित गर्न थालिएको छ । उहाँले भन्नुभयो, “दरबार जीर्ण बनेको थियो, यो दरबारसँग इतिहास जोडिएको हुँदा यसलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबले अहिले जीर्णोद्वार गरेका छौँ, इतिहाससँगै दरबार पर्यटकका लागि आकर्षक गन्तव्य पनि बनेको छ, यहाँ बाह्रै महिना पर्यटक आउने गर्छन्, जीर्णोद्वार गर्दा पुरानो शैली र कलालाई बिगारेका छैनौँ, अहिले निकै सुन्दर बनेको छ, दिनदिनै दरबारमा आएर रमाउने, घुम्ने पर्यटक बढेका छन्, अहिले विदेशीको पनि चहलपहल हुन थालेको छ ।”

सामाजिक सञ्जालमार्फत दरबारको प्रचारप्रसार भएपछि देशका विभिन्न जिल्लाबाट पर्यटक घुम्न आउने गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हटिया बजारदेखि १० गाडीमा १० मिनेटमा दरबार पुग्न सकिने हुँदा रोल्पा, रुकुम र ढोरपाटन जाने पर्यटक यहाँ आउने गरेका छन् ।

रुपन्देहीको देवदहबाट घुम्न आउनुभएका प्रेरणा शर्माले एक सय वर्ष पुरानो दरबार निकै आकर्षक रहेको बताउनुभयो । सामाजिक सञ्जालमा दरबारको तस्बिर तथा भिडियो देखेको हुँदा बागलुङ कालिका दर्शन गर्न आएका बेला दरबारमा आएको शर्माले बताउनुभयो ।

“दरबार पुरानो होला, भत्किएको होला भन्ने लागेको थियो”, तर यहाँ आउँदा चिटिक्क परेको देखेँ, स्थानीयले संरक्षण गरेर राख्नुभएको रहेछ”, शर्माले भन्नुभयो, “यहाँको हावापानी पनि राम्रो, ठाउँ पनि सुन्दर लाग्यो, हामीहरु पारिवारिक घुमघाममा आएका थियौँ, दरबारमा आएपछि हजुरबुबा, हजुरआमा, बाबा, ममी सबै खुसी हुनुभयो ।”

पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट

दरबारमा आउने पर्यटकको सहजताका लागि गलकोट दरबार प्रालिले तीन महिनादेखि रेस्टुरेन्ट सञ्चालन गरेको छ । टाढा–टाढाबाट घुम्न आउने र दरबारमा बस्न चाहने पर्यटकका खाना र बस्नको सुविधा रहेको गलकोट दरबार प्रालिका सदस्य विजय मल्लले बताउनुभयो । प्रालिले दरबारसँग जोडिएको घरमा करिब ५० लाख लगानीमा रेस्टुरेन्ट सञ्चालन गरेको हो । रेस्टुरेन्टमा एकैसाथ २० जना पाहुना राख्न सकिने उहाँले बताउनुभयो । 

घुम्न आउने धेरै पर्यटकले दरबारमा बास बस्ने चाहना देखाएपछि आफूहरुले रेस्टुरेन्ट सञ्चालन गरेको उहाँले बताउनुभयो । दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरतबम मल्ल तत्कालीन राजा हुनुहुन्थ्यो । यहीँबाट गलकोटको राजकाज चल्थ्यो । त्यस बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । 

पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लाने गलकोटे राजा भरतबम मल्ल हुनुहुन्थ्यो । उहाँ २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत हुनुभएको थियो ।

दरबार मल्लकी नातिनी बुहारी सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधव बममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आउनुभएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो । 

मखानखेतीका लागि उर्वर भूमि महोत्तरीमा मखानखेती लोप हुँदै

जलेश्वर (महोत्तरी), ३ कात्तिक : मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताउनुभयो । किसानहरुले आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोप हुन थालेको उहाँको भनाइ छ ।

जिल्लामा चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य होस् या मृत्यु र श्राद्ध कर्ममा समेत मिथिलामा मखानको प्रयोग हुने गर्दछ । मखान आयआर्जनको माध्यमसँगै मिथिलाको संस्कृति जोगाउने उपक्रम र परम्परागत पुख्र्यौली पेसा पनि रहेको जलेश्वर नगरपालिका–५ का सांस्कृतिविद् धु्रव राय बताउनुहुन्छ । 

मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयात हुने गर्छ । मखानखेती घटेसँगै खासगरी मलाह जातिको रोजगारी घट्दै गएको मलाह जातिका अगुवा राम विशेष मुखिया बताउनुहुन्छ ।   

केही वर्ष अघिसम्म मखानको बजार राम्रो भएपछि उनीहरुले मखानखेती गरी आम्दानी लिन थालेका थिए । तर किसानहरुले पोखरीमा माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेको स्थानीय जोगी मुखियाले बताउनुभयो ।  विशेषगरी पोखरी र तलाउमा गरिने मखानखेती सुरुमा मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मेहनतमा आय आर्जन गर्न सकिने खेती हो । मलाह जातिहरु मखानखेतीतर्फ बढी आकर्षित थिए । पोखरीभित्र मखान तयार भएपछि उनीहरु बाहिर निकाली घाममा सुकाई आगोमा भँटेर लावा तयार गरी बेच्ने चलन थियो । 

जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकाका दर्जनौँ गाउँमा दुई सय ५० बढी पोखरीमा मखानखेती गरिन्थ्यो । हाल आएर थोरै सङ्ख्यामा मात्रै हुने गरेको स्थानीयवासी बताउँछन् । मिथिलामा कोजाग्रत पूर्णिमाका दिन ठूलो परिमाणमा मखान बिक्री हुने गर्दछ भने दीपावली र छठ पर्वलगायत मखानको विशेष महत्व हुने गर्दछ ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः सप्तरीबाट १३ सडक आश्रितको उद्धार

राजविराज (सप्तरी), ३ कातिकः मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचाँै दिन सप्तरीबाट शुक्रबार १३ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । सोही क्रममा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत राजविराज नगरपालिका– ७ बाट चार, वडा नं ६ बाट तीन र वडा नं १ बाट ए गरी आठजना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट पाँच गरी १३ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

उद्धार गरिएका ११ पुरुष र दुई महिलालाई शुक्रबार नै मानवसेवा आश्रम सर्लाही सेवा केन्द्रमा पठाइएको छ । यसअघि मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार टोलीलाई सप्तरीको राजविराजमा स्वागत गरिएको थियो ।

राष्ट्रिय उद्वार यात्राको टोली तथा स्थानीय जनप्रतिनिधिहरूले शुक्रबार राजविराजमा संयुक्त रूपमा सचेतनामूलक ¥याली प्रदर्शनसहित राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरी नगरपालिकाको प्राङ्गणमा अभियानको उद्देश्यबारे जानकारी गराइएको थियो । 

उक्त अवसरमा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साहलगायत उपस्थित हुनुहुन्थ्यो ।   

राष्ट्रिय उद्धार यात्रीहरूले कोशी प्रदेशमा ४३ को उद्धार गरेका छन् । जसमध्ये झापाबाट १२ जना, सुनसरीबाट १२ मोरङबाट चार र उदयपुरबाट १६ को उद्धार गरिएको हो । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । उद्धार भएकामध्ये १० जनालाई मानवसेवा आश्रम झापा सेवा केन्द्रमा र ३० जनालाई मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा पठाइएको छ । एक जनालाई थप उपचारका लागि मानव सेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडा पठाइएको छ ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको समुद्घाटन गर्दै यात्रीहरूलाई बिदाइ गर्नुभएको थियो । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको थियो ।   उद्धार टोली आज लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहनुभएका मानवहरूको उद्धारमा रहने जनाइएको छ ।  

खुर्कोटको पुल निर्माणमा तीव्रता, छिट्टै जोडिँदै रामेछाप-सिन्धुलीको बाटो

मन्थली (रामेछाप), ३ कात्तिकः रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो ।

यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछापतर्फको) बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौँसम्मकोे छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो । 

अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री पूर्णबहादुर तामाङले विशेष पहल गरिहनुभएको भएको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले बताउनुभयो ।  

उक्त पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । हाल पुलको पाता विछ्याउने र लेवल मिलाउनेलगायत अन्य काम भइरहेका छन् ।

पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रुपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था छैन । एकतर्फी रुपमा भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताउनुभयो । 

खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्नका र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोगगरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि उक्त बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महङ्गिएको थियो । 

यसअघि विपी राजमार्ग सञ्चालन हुनुपूर्व रामेछापको सदरमुकाम मन्थलीलगायत आसपासका क्षेत्रबाट मानिसले काठमाडौँ आवतजावत गर्न मन्थलीबाट चरिकोट–मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्दै आइरहेका थिए । नेपाली सेनाका अनुसार अबको तीनदेखि पाँच दिनभित्रबाट मात्र पुलबाट सवारी अवागमन गराउन सकिन्छ ।  

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी

काठमाडौँ, ३ कात्तिकः मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो ।

आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । यस यामको सिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो । सो कम्पनीमार्फत अष्टे«लियन नागरिकले यस याममा पहिलो नाउरको सिकार गर्नुभएको छ । नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारको अनुमति लिएका बाँकी तीन कम्पनी आरक्षमा जाने क्रममा छन् ।

निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् । विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । हाल नाउरको रु एक लाख ५० हजार र झारलको रु ७५ हजार र बँदेलको रु १० हजार न्यूनतम राजस्व तोकिएको छ ।

न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी रु १२ लाख ३० हजार बोलपत्र कबोल गरिएको छ । त्यस्तै झारलको रु सात लाख २५ हजार कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिनुभयो ।

एक करोड ४५ लाख बढी राजस्व आम्दानी

“नाउरको सिकार गर्न बँदेलको पनि अनुमति लिनैपर्छ, तर विदेशी सिकारीहरु बँदेलको सिकार गर्न भने खासै इच्छुक देखिदैनन्”, अधिकृत शेर्पाले भन्नुभयो, “बँदेलको सिकारका लागि न्यूनतम् राजस्व रु १० हजार भने तिर्नैपर्छ । सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल रु एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ ।”

सिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको सिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ । विभागले यस वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।

विगत २० वर्षदेखि यस पेसामा संलग्न नेपाल ट्राभल एक्सपिडिसनका सञ्चालक अमृत थापाले सिकारका लागि विश्वमै प्रसिद्ध यस आरक्षमा आउने सिकारीले भौगोलिक कठिनाइका बाबजुद प्राप्त गर्ने आनन्द अनुपम रहेको बताउनुभयो । साथै उहाँले हतियारको अनुमति तथा सिकारका लागि कानुनीलगायतका प्रक्रियामा विवरण मिलाउने कार्यलाई आधुनिक र सरलीकरण गर्नुपर्ने सुझाव दिनुभयो । सिकारका लागि कम्पनीले निकुञ्ज विभाग, वन मन्त्रालय, गृह मन्त्रालयलगायत निकायमा काम गरी सिकारीले आखेटोपहार आफूसँगै विदेश लैजान झण्डै छ महिनासम्म समय लाग्ने गरेको छ ।

स्थलगत रुपमा आफूले भोगेका विषयबारे जानकारी दिँदै सञ्चालक थापाले भन्नुभयो, “आरक्षमा सिकार कोटा सीमित भएकाले नयाँ गन्तव्य वृद्धि, चोरी–सिकारी नियन्त्रण, स्थानीयमा जनचेतना जगाई अपनत्व बढाउने, गणनामा स्थानीयको सहभागिता वृद्धि, अनुगमनका लागि सरकारी जनशक्तिलाई प्रभावकारी रुपमा खटाउनुपर्छ ।”

यो आरक्ष पेसेवर विदेशी सिकारीका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल र बँदेलको सिकार गर्न पाइन्छ । सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । विदेशी सिकारीले अनुमति प्राप्त बन्दुक र गोली आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन् । सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ ।

प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च

हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जनभन्दा बढी व्यक्तिको सहयोगी समूह आवश्यकपर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुन्छ । कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरिएको छ । सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् ।

सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (टाउको, सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै रहँदा खाने र अन्य फोहर गाड्ने गरिन्छ ।

आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आरक्षमा घोरल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन । उहाँले भन्नुभयो, “आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।”

आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरी–सिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन–अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका अधिकृत कँडेलले बताउनुभयो । “यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पु¥यायाउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न हुँदैन”, उहाँले भन्नुभयो ।

बुढो भाले प्रजातिको मात्र सिकार गर्ने प्रावधान

यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार दुई सय ९० र झारलको सङ्ख्या सात सय ४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले सिकारका लागि निश्चित सङ्ख्या निर्धारण गरिन्छ । बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ । गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरेर प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरिन्छ ।

विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुमपूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो ।

अघिल्लो आर्थिक वर्षमा १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कूल चार करोड २६ लाख ८८ हजार सात  सय राजस्व आम्दानी भएको विभागको तथ्याङ्क छ ।

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ३ कात्तिकः हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ भने कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।  

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीलगायत पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

थप्रेक दौड प्रतियोगितामा मगर प्रथम

दमौली (तनहुँ-यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन् । दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४ मिनेट ११ सेकेण्डमा पार गर्दै मगरले उपाधि जितेका हुन् ।

उक्त दूरी ३७ मिनेट १८ सेकेण्डमा पार गर्दै स्थानीय अनमोल गुरुङ द्वितीय र ३८ मिनेट १८ सेकेण्डमा पार गर्दै आरोह गुरुङ तृतीय भए । ओखल्दीबाट सुरु भएको दौड ठाँटी, थप्रेक, काठीपिपल, राम्दी हुँदै गैरीस्वारा पुगेर टुङ्गिएको थियो । प्रतियोगितामा ३० जनाले प्रतिस्पर्धा गरेका थिए । क्लबका अध्यक्ष लोकबहादुर गुरुङकाअनुसार विजेताले क्रमशः रु १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

सरकारले विपद् प्रभावित स्थानीय तहहरुलाई वर्गीकरण गरी राहत उपलब्ध गराउने

काठमाडौँ-विपद् प्रभावित स्थानीय तहहरुलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।असोज १० देखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन असोज २१ गते घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई क्षतिका आधारमा सिफारिस भई आए बमोजिम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषबाट क्रमशः अति प्रभावितलाई रु एक करोड, प्रभावितलाई रु ७५ लाख र सामान्य प्रभावितलाई रु ५० लाख विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराउने निर्णय गरिएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

अति प्रभावित पालिकामा काभ्रेपलाञ्चोकको रोशी, तेमाल र बेथानचोक गाउँपालिका, पनौति र एवं नमो बुद्ध नगरपालिकालाई रु एक करोड दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसैगरी ललितपुर जिल्लाको अति प्रभावित महांकाल, कोञ्ज्योस्योम, वाग्मती गाउँपालिका र गोदावरी नगरपालिकालाई रु एक करोड दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

त्यसैगरी रु ७५ लाख प्राप्त गर्ने प्रभावित गाउँपालिकामा पाँचथरको फिदिम, धादिङको धुनीबेशी नगरपालिका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौँरी देउराली, खानीखोला र महाभारत गाउँपालिका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, सिन्धुलीको गोलञ्जोर र सुनकोशी गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र उदयपुरको बेलका नगरपालिकालाई पनि रु ७५ लाख दिइने भएको छ ।

सामान्य प्रभावित पालिकामा इलामको सन्दकपुर गाउँपालिका, ओखलढुँगाको चम्पादेवी, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका, माडी नगरपालिका, भरतपुर महानगरपालिका, दोलखाको बिगु र शैलुङ गाउँपालिकाले पनि रु ५० लाख राहत पाउने निर्णय भएको छ । यसैगरी दोलखाको गौरीशङ्कर, धादिङको बेनीघाट रोराङ, बेत्रावती दोब्जाङ, गजुरी र खनियाबास गाउँपालिकाले पनि रु ५० लाख राहत पाउने निर्णय भएको छ ।

यसैगरी पाँचथरको फाल्गुनन्द र फालेलुङ गाउँपालिका, मकवानपुरको भीमफेदी र बकैया गाउँपालिका, महोत्तरीको बर्दिवास र गौशाला नगरपालिका, रामेछापको रामेछाप नगरपालिका, दोरम्बा शैलुङ, खाँडादेवी, गोकुलगङ्गा, उमाकुण्ड, लिखु तामाकोशी, सुनापाथी गाउँपालिका र मन्थली नगरपालिकाले पनि रु ५० लाख राहत पाउने भएका छन् ।

रौतहटको राजपुर र गढीमाइ नगरपालिका, दुर्गाभगवती गाउँपालिका, परोरा नगरपालिका, राजदेवी नगरपालिकालाई पनि रु ५० लाख राहत दिने निर्णय भएको छ । सप्तरीको बलान केबुल गाउँपालिका, बलरा नगरपालिका, सर्लाहीको वाग्मती नगरपालिका, सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिका, बाह्रविसे नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पनि रु ५० लाख राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

सिन्धुलीको फिक्कल र हरिहरपुर गढी गाउँपालिका, सिराहाको लाहान नगरपालिका र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, सोलु दुधकुण्ड नगरपालिका, माप्य दुधकोशी गाउँपालिकालाई रु ५० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को सोही निर्णय अनुसार बेपत्ता पारिएका नागरिकको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिश गर्न सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । 

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी

दोलखा- दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी र  पहिरोले बाँध क्षेत्रका संरचना हेडवर्क्समा क्षति पु¥याएपछि बन्द भएको उक्त आयोजना मर्मत सम्भार गरेर आंशिकरुपमा सञ्चालनको तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिनुभयो । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध नजिकैको भवन पहिरोले पुरिँदा चार जनाको मृत्युसमेत भएको थियो  । पहिरो हटाउने काम थालिएको उहाँले बताउनुभयो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार प्रवेशमार्ग काभ्रेभीर सडकमा क्षति पुगेका  कारण बाँधस्थलमा उपकरण लैजान कठिनाइ भएको छ । यसबाट मर्मत गर्न समय लागेको उहाँको भनाइ छ । बाँधमा थुप्रिएको ढुङ्गा, बालुवा, गिट्टीलगायत सामग्री सफा गर्ने काम सकिएपछि बाँध मर्मत कार्य अघि बढाइने छ । 

“तिहार लगत्तै विद्युुत् उत्पादन थाल्छौँ”, उहाँले भन्नुभयो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी, नहरलगायत संरचनामा क्षति पुगेको छ । पहिरोले विभिन्न संरचनामा अत्यधिक क्षति पु¥याएपछि विद्युत् पुरै उत्पादनमा समय लाग्ने आयोजनाले जनाएको छ । 

विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण आवतजावत गर्न समस्या भएको आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत गौतमले बताउनुभयो । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ । बाढी पहिरोबाट रु दुई अर्बको क्षति भएको बताइएको छ । विद्युत् उत्पादन बन्द हुँदा दैनिक रु चार करोड आम्दानी गुमाउनु परेको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण मर्मत कार्य सम्पन्न गर्न कम्तीमा ६ महिना लाग्ने अनुमाान गरिएको छ ।

रवि लामिछानेलाई ३ बजे पोखरा ल्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण

गण्डकी, ३ कात्तिकः सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ पर्नुुभएका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

म्याग्दी, ३ कात्तिकः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिएपनि करिब दुुई तिहाई मात्र भौतिक प्रगति भएको छ ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । 

तेह्र किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रबिधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विस २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजना प्रमुख धुु्रवकुुमार झाले सार्वजनिक खरिद ऐनको १३औँ संशोधन अनुुसार अन्तिम पटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएको बताउनुभयो । “विसं २०८० असोजमा म्याद सकिएको यो सडक योजनाको २०८१ असोज महिनासम्मका लागि ठेक्काको पछिल्लो पटक थपिएको म्याद पनि गत असोजमा सकिएको छ”, उहाँले भन्नुभयो, “ठेक्का अवधि सकिदा भौतिक प्रगति भने ६२ प्रतिशत मात्र छ ।”

सडक निर्माणमा ढिलाई हुँदा यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । साँघुरो सडकको खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको बेनीका प्रकाश पौडेलले बताउनुभयो । 

“बेनी–मालढुङ्गा सडकको दुरावस्थाका कारण म्याग्दी र मुस्ताङ आवतजावत गर्ने यातायातका साधनले सात किलोमिटर बढी घुमाउरो मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गर्न बाध्य भएका छन”, उहाँले भन्नुभयो, “समयमा सडक स्तरोन्नति नहुँदा महँगो ढुवानी र यातायात भाडादरको मारमा सर्वसाधारण परेका छन् ।” पौडेलको अगुवाइमा सडक निर्माणलाई गति दिन समुदाय स्तरमा दबाब अभियान सञ्चालन गरेका छन् । 

सडक फराकिलो, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको मालढुङ्गादेखि फर्सेसम्मको पाँच किलोमिटर दूरिमा कालोपत्रका लागि सब बेस बिछ्याएको छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेदेखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माण सुस्त रहेको जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।

एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर विंस २०७९ कात्तिक देखि सडक निर्माणलाई सुस्त बनाएका थियो । 

ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न विंस २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो । सडकमा रहेका विद्युतको पोल स्थानान्तरण नभएको, सडकको क्षेत्राधिकारको घरटहराको क्षतिपूर्ति वितरण र भत्काउन ढिलाइ भएको तथा नदीजन्य निर्माण सामग्रीको अभावलाई निर्माण व्यवसायीले कारण देखाएका छन् ।

म्याद सकिएपछि कार्यक्षेत्रमा आएका निर्माण कम्पनीका प्रतिनिधीले शुुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा भएको छलफलमा निर्माणलाई गति दिने प्रतिबद्धता जनाएका प्रजिअ गुरुदत्त ढकालले बताउनुभयो । विद्युतका पोल सार्ने र घरटहराको क्षतिपुर्ति वितरणको काम अन्तिम चरणमा पुुगेको आयोजनाले जनाएको छ । 

बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले कालीगण्डकीको नदीजन्य पदार्थ प्रयोग गर्न नपाए म्याग्दी नदीबाट लगेर भएपनि काम गर्न आग्रह गर्नुभएको छ । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो । 

प्रेम सम्बन्धमा परेर सानै उमेरमा घर छाडेर भारत जाने क्रम बढ्दै

राँझा (बाँके), ३ कात्तिकः गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे । भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो ।

जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । “दुई बालबालिकालाई हामीले नाकाबाट फिर्ता गरायाँै, दुई जनाको खोजतलास गर्दा गाउँमै लुकेर बसेको भेटियो”, प्रहरी निरीक्षक बुढाथोकीले भन्नुभयो, “प्रेम सम्बन्धमा परेर सानै उमेरमा बालबालिकाले घर छाडेर भारत जाने क्रम बढेको छ ।”

अधिकांश भारत जान लागेको महिला तथा बालबालिका प्रेमजालमा परेको बताउने प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । उहाँले दसैँमा सुर्खेत, सल्यानलगायत जिल्लाबाट उमेरै नपुगेका बालबालिका घरबाट भागेर भारत जाने क्रममा नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको बताउनुभयो ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था माइती नेपाल नेपालगन्ज कार्यालयमा दसैँ अवधिमा महिला तथा बालबालिका हराएको भनी ४९ जनाको खोजतलासको निवेदन दर्ता भएको छ । हराउने ४९ मध्ये ३२ जना १८ वर्षमाथिका महिला, १२ जना १८ वर्षमुनिका बालिका र पाँचजना बालक रहेको माइती नेपाल नेपालगञ्ज कार्यालयका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । हराएकामध्ये आठजना फेला पारेको समेत माइती नेपालले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट चिनाजानी भएकै आधारमा विश्वास मानी भारत जाने महिला तथा बालिका मानव बेचबिखनको उच्च जोखिममा रहेको अधिकारकर्मी बताउँछन् ।

माइती नेपालले बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकाबाट दसैँ अवधिमा ४५ महिला तथा बालबालिकाको उद्धार गरेको छ । गत असोज १ देखि ३० गतेसम्म जमुनाह नाका हुँदै भारत जाने क्रममा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई माइती नेपाल नेपालगन्जले सीमा नाकाबाट उद्धार गरेको हो । तीन बालक १८ वर्षमुनिका, १७ र १८ वर्षमाथिका २५ महिला तथा बालबालिकालाई जमुनाह नाकाबाट उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताउनुभयो ।  

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

देउखुरी (दाङ), ३ कात्तिकः वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।

भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लाग्नुभएको छ  ।  कृषि प्राविधिक पढेर कृषिमा लाग्नु भएका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्नुहुन्छ । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लाग्नुभएका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गर्नुभएको हो । 

घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडामा लिएर उहाँहरुले फूलखेती गरिरहनुभएको छ । गत वर्ष तिहारमा मात्रै रु १३ लाखको फूल बिक्री गरेको साउदले बताउनुभयो । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उहाँहरुको छ । 

उहाँहरुले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गर्नुभएको थियो । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोप्नुभएको छ । दाङमा रु ८०  हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताउनुभयो । 

“यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ”, उहाँले भन्नुभयो, “यसपालि रु दुई लाखको बेर्ना बिक्री भइसक्यो ।  बिरुवाको जात हेरेर प्रतिगोटा रु दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।” 

स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउनुहुन्छ । उहाँले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राख्नुभएको छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहँुदा लामो समयसम्म राख्न समस्या भएको उहाँले बताउनुभयो । 

राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उहाँले बताउनुभयो । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ । 

सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) ३ कात्तिकः वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन  रु २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताउनुभयो ।

“गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ”, उहाँले भन्नुभयो, “चालु आवको दसैँमा पनि अपेक्षाकृत आयात बढ्न सकेन । जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन ।” 

कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन ग¥यो । त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन ग¥यो । 
त्यस्तै चालु आवको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन ग¥यो । 

सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा रु १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व सङ्कलन भएको थियो ।

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

गलेश्वर (म्याग्दी), ३ कात्तिकः यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किनुभएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताउनुभयो ।

केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो । यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण चहलपहल बढेको हो ।

गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा छ गुणाले वृद्धि भएको बताइएको छ । भारतीय, चिनियाँ, ताइवानी र इटालियन पर्यटकको सङ्ख्या पनि गत वर्षभन्दा वृद्धि भएकामा स्थानीय होटल व्यवसायी उत्साहित छन् ।

पर्यटकको सङ्ख्या वृद्धि भएसँगै आधार शिविरमा फोहर बढेको छभने शौचालयसहितका अन्य संरचनामा सम्बन्धित निकायको ध्यान नपुगेको पर्यटकले गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर क्षेत्र पुग्न सकिन्छ ।

सडक विभागका उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुल निरीक्षण

खोटाङ, ३ कात्तिकः सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, सडक विभागका महाशाखा प्रमुख ललिजन खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा राजन सुवाल र डा भरत मण्डलसहितको टोली फोक्सिङटार पुग्नुभएको थियो । नदीमा हाल पानीको सतह घटेको र बगाउन बाँकी रहेको २० मिटर भाग सुरक्षित रहेको निष्कर्ष निकालेको छ । 

बाढीले बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यसमाथि ८० मिटर लम्बाइको बेलिबृज लगाउने या पुल बगाएको स्थानभन्दा केही माथि एक सय २० मिटरको बेलिबृज हालेर यातायात सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिनुभयो । सडक विभागले ८० मिटर बढी लम्बाइको बेलिबृज भारत सरकारसँग माग गरेको र आउने बित्तिकै जडान गरिने महाशाखा प्रमुख खनालले बताउनुभयो । 

बाढीले फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले फोक्सिङटार पुल बगाएपछि जिल्लाका विभिन्न नाका जोड्ने झोलुङ्गेपुलको मर्मत सम्बन्धित स्थानीय तहले तीव्रता दिएका छन् । 

गत असोज ३० गते प्रतिनिधिसभा सदस्य रामकुमार राई नेतृत्वको जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढीपहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचना तत्काल पुनः निर्माणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

बाढीपहिरोले अवरुद्ध जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडक भने, पहिरो पन्छाएर सञ्चालन गरिएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३ कात्तिकः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७  रुपैयाँ ९४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ  ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ब्राजिलमा हुने जि–२० शिखर सम्मेलनमा पुटिनले भाग नलिने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नोभेम्बरमा ब्राजिलमा हुने जि–२० शिखर सम्मेलनमा भाग नलिने बताउनुभएको छ । उहाँका अनुसार उहाँको आगमनले सम्मेलनलाई ‘बिगार्नेछ’ ।

आफ्नो गिरफ्तारीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) को पक्राउ पुर्जी कुनै कारक होइन भन्दै उहाँले यस प्रकारका निर्णयहरूलाई धेरै सजिलैसँग छल्न सकिने बताउनुभयो ।

रुसमा हुने ब्रिक्स शिखर सम्मेलनअघि मस्कोमा एक पत्रकारले सोधेको प्रश्नमा उहाँले जि–२० शिखर सम्मेलनमा भाग नलिने पुष्टि गर्नुभयो ।

“त्यसोभए के म यो मञ्चको सामान्य कामलाई बाधा पु¥याउन विशेष रूपमा त्यहाँ जानेछु ?”, पुटिनले भन्नुभयो, “यदि म आइपुगेँ भने कुराकानीहरू यसबारे मात्र हुनेछन् ।”

“हामी वस्तुतः जि–२० को काम बिगार्नेछौँ, किन ?”, उहाँले भन्नुभयो, “हामी वयस्क हौँ, त्यसैले ब्राजिलमा हाम्रो देशको हितलाई योग्य रूपमा प्रस्तुत गर्नेलाई हामी रुसमा भेट्नेछौँ ।”

मस्कोले सन् २०२२ मा आफ्नो आक्रमण सुरु गरेपछि युक्रेनी बालबालिकाहरूको कथित गैरकानूनी निर्वासनका कारण आइसीसीले गत वर्ष पुटिनको गिरफ्तारीको लागि पक्राउ पुर्जी जारी गरेको थियो ।

तर पुटिनले ब्राजिल गए भने आफ्नो गिरफ्तारीको जोखिमलाई खारेज गरे।

“रुस र ब्राजिलबीच ‘धेरै न्यानो, राम्रो सम्बन्ध’ छ”, उहाँले भन्नुभयो, “त्यसैले जब यो कुरामा आउँछ, एक अन्तरसरकारी सम्झौता लेख्न पर्याप्त हुन्छ र कोही पनि कठिन स्थितिमा पर्दैन ।”

मङ्गोलिया आइसीसीको सदस्य भएर अदालतले खोजेका व्यक्तिहरूलाई पक्राउ गर्नुपर्ने दायित्व भए पनि कुनै समस्या बिना पुटिन सेप्टेम्बरमा मङ्गोलिया जानुभयो ।  यद्यपि उहाँले दक्षिण अफ्रिकामा ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) समूहको बैठकमा भाग लिनुभएन ।

युक्रेनमा रुसी सेनासँग लड्दा मारिएका ५०१ युक्रेनी सैनिकको शव फिर्ता पाएको किएभको भनाइ

किएभले शुक्रबार विशेषगरी पूर्वी युक्रेनमा रुसी सेनासँग लड्दा मारिएका पाँच सय एक सैनिकको शव प्राप्त गरेको बताएको छ ।
सन् २०२२ मा रुसले आक्रमण गरेयता मस्को र किएभबीचको सहकार्यका केही क्षेत्रमध्ये कैदी र मारिएका सैन्यकर्मीहरूको शवहरूको आदानप्रदान एक रहेको छ ।

“स्वदेश फिर्ती उपायहरूको परिणामस्वरूप पाँच सय एक युक्रेनी रक्षकका शवहरू युक्रेनमा फिर्ता गरिएको छ”, युद्धबन्दीहरूको व्यवहारका लागि समन्वय मुख्यालयले विज्ञप्तिमा भनेको छ । 

यो घोषणा युद्धका सुरुआतदेखि मारिएका युक्रेनी सैनिकहरूको सबैभन्दा ठूलो स्वदेश फिर्ती मध्येको एक हो । 

मुख्यालयले अधिकांश अवशेषहरू पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गरिएको बताएको छ । फेब्रुअरीमा औद्योगिक केन्द्र अभ्दिभ्किाको कब्जापछि रुसी सेनाले त्यहाँ लगातार अग्रता लिइरहेको छ । 

    रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सहयोगलाई स्वीकार गर्दै रक्षा बलसहित धेरै राज्य निकायले फिर्तीलाई समन्वय गर्न मद्दत गरेको मुख्यालयले बताएको छ । 

“कानून कार्यान्वयन निकायका प्रतिनिधि र फरेन्सिक विशेषज्ञहरूले पीडितहरूको पहिचान गर्नेछन्”, समन्वय केन्द्रले आफ्नो विज्ञप्तिमा भनेको छ, “पहिचानपछि हाम्रा रक्षकहरूका शवहरू उचित अन्त्येष्टिका लागि उनीहरूका परिवारलाई हस्तान्तरण गरिनेछ ।”

स्थानीय तहले सङ्कलन गरेको करको अधिकतम हिस्सा उपयोग गर्न पाउनुपर्छ: उपसभामुख रानामगर

सिन्धुपाल्चोक, २ कात्तिक : उपसभामुख इन्दिरा रानामगरले स्थानीय सरकारले सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीय तहले नै उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ ।

आज सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको पाँचपोखरी महिला ट्रेल रेस प्रतियोगिताको समापन कार्यक्रममा उहाँले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको प्राकृतिक स्रोतसाधनको उपभोग र सोबाट सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीयस्तरमै विकास निर्माणलगायत नागरिकको जीवनस्तर उकास्न प्रयोग गर्न पाउनुपर्ने धारणा राख्नुभएको हो ।

उपसभामुख रानामगरले ग्रामीण क्षेत्रमा किसानले उत्पादन गर्ने तरकारी, अन्नबालीलगायत खाद्यान्नलाई स्थानीय सरकारको समन्वयमा बजारीकरण गर्नसके किसानले आफ्नो पसिनाको मूल्य र आमउपभोक्ताले पनि स्वस्थ्यकर खाने कुरा उपभोग गर्न पाउने हुँदा स्थानीय तहले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले पर्यटकीयस्थल पाँचपोखरीलाई खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यमा प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रतियोगितामार्फत पाँचपोखरीको परिचय देश विदेशमा प्रख्यात हुँदै गएको र अब पर्यटकको आवागमनमा वृद्धि भई स्थानीयको जीवनस्तरमा टेवा पुग्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा चार हजार एक सय मिटर उचाइको पाँचपोखरीदेखि एक हजार सात मिटर उचाइमा रहेको रैथाने पोखरीसम्मको २८ किलोमिटर दौडको उपाधि खोटाङकी निर्मला राईले जित्नुभएको छ । ५० जना महिला सहभागी २८ किलोमिटर लामो उक्त दौड उहाँले दुई घण्टा २८ मिनेट २९ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

यस्तै दुई घण्टा ४९ मिनेटमा दौड पार गर्दै नेपाल पुलिस क्लबमा आबद्ध ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा दोस्रो र दुई घण्टा ५८ मिनेटमा दूरी पार गर्दै सिन्धुपाल्चोक हेलम्बू गाउँपालिकाकी नितु तामाङ तेस्रो हुनुभएको छ । मेलम्ची नगरपालिका–८ कि अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा दौड पूरा गर्दै चौथो र रोल्पाकी आस्मा विकले तीन घण्टा १८ मिनेटमा दौड पूरा गरी पाँचाँै हुन सफल हुनुभयो ।

यसअघि सोही रुटमा सम्पन्न पाँचपोखरी हाफ म्याराथन प्रतियोगिताको महिलातर्फ धादिङकी रसिला तामाङले दुई घण्टा ४४ मिनेट ४३ सेकेण्डमा उक्त दूरी पार गर्नुभएको थियो । आज सम्पन्न प्रतियोगितामा प्रथम राईले उक्त रेकर्ड तोड्नुभएको छ । प्रतियोगिताका विजेताले क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

महिलाको क्षमता विकाससँगै आत्मनिर्भरतामा जोड दिनका लागि ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाका संस्थापक अध्यक्ष माया गुरुङले बताउनुभयो । उहाँले प्रतियोगितालाई आगामी वर्षहरूमा थप स्तरवृद्धि गर्दै निरन्तरता दिइने जानकारी दिनुभयो ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं, २ कात्तिक- सुनसरी, धरान उपमहानगरपालिका-१ बस्ने मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ५१ वर्षीय कुमार बहादुर बिश्वकर्मा समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ६ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित ५३ वर्षीय योगेनद्र शेरचनको लेते थकाली भान्छा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ नयाँबजार बस्ने ६८ वर्षीय बिनोद शेरचन समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६९ हजार ६० रूपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईड बस्ने ४६ वर्षीय प्रताप गुरूङको फाईनल स्कोर स्पोर्ट्स बारमा जुवातास खेलिरहेको अवस्थामा प्रताप समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय ५० रूपैयाँ र २ सय २४ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड बरदुबईमा डिसेम्बर १ मा हुने

काठमाडौँ । आगामी डिसेम्बर १ मा युएईको बरदुबईमा छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड तथा साँस्कृतिक साँझ २०८१ आयोजना हुने भएको छ । रोयल मुभिज प्रा.ली र राष्ट्रिय संगीतकर्मि संघ युएईको आयोजनामा हुने अवार्ड समारोह तथा साँस्कृतिक साँझ बरदुबईको अस्टोरिया होटलमा हुने बताइएको छ ।

आयोजक रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठका अनुसार कार्यक्रममा नेपालबाट दुईदर्जन कलाकारको टिम जानेछन् । साथै दुबईमै रहेका केहि कलाकारहरुको प्रस्तुती पनि रहने बताइएको छ । अवार्डको उत्कृष्ट पाँच मनोनयन एकसाता अघि सार्वजनिक भइसकेको छ ।

बेलबारी गोल्डकप फुटबल : उद्घाटन खेलमा झापा विजयी

बेलबारी (मोरङ), २ कात्तिक : मोरङमा आजदेखि सुरु भएको सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उद्घाटन खेलमा झापा–११ फुटबल क्लब विजयी भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको उक्त खेलमा झापा–११ ले भारतको कञ्चनजङ्गा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको नवौँ मिनेटमा भारतको सिलिगुडीले गोल गरेको थियो । उसका लागि प्रनेश प्रधानले सान्त्वना गोल गरेका थिए । खेलको पहिलो हाफको ३५आँै मिनेटमा झापाका निरज कार्कीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु¥याएका थिए । 

यसैगरी खेलको दोस्रो हाफमा झापा–११ ले थप चार गोल गरेको थियो । खेलको ५५औँ मिनेटमा झापा–११ का अभिषेक गुरुङले गोल गरेका थिए । लगत्तै ५९औँ मिनेटमा झापा–११ का  उत्सव राईले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पु¥याए । उनले नै खेलको ७०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ४–१ को अग्रता दिलाए । 

यस्तै खेलको ७७औँ मिनेटमा झापा–११ का निकेश श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । आजको खेलको म्यान अफ दी म्याच झापा–११ का उत्सव राई घोषित भए । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा आजदेखि सुरु भएको सो प्रतियोगिता कात्तिक १० गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजकसहित १० टोली सहभागी रहेका आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए । शनिबार आयोजक एलएक्स सिटी फुटबल क्लब र चित्लाङ फुटबल क्लब काठमाडौँबीच खेल हुनेछ । 

बेलबारी नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र आरजु राइस मिलले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले रु आठ लाख र उपविजेताले रु चार लाख पुरस्कार प्राप्त गर्ने छन् । 

विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने

काठमाडौँ, २ कात्तिक : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकले विसं २०८० कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यकारी समितिले बिहीबार गरेका निर्णय पनि अनुमोदन गरेको छ । बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विपद् प्रभावित ७१ स्थानीय तहलाई तीन वर्गमा विभाजन गर्ने निर्णय गरेको थियो । 

सोअनुसार अतिप्रभावित स्थानीय सरकारलाई रु एक करोड, प्रभावितलाई रु ७५ लाख र सामान्य प्रभावितलाई रु ५० लाख सहयोग दिने कार्यकारी समितिको सिफारिसलाई आजको राष्ट्रिय परिषद्को बैठकले अनुमोदन गरेको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । 

गत वर्ष कात्तिकमा बसेको परिषद्को १३औँ बैठकले त्यसअघिका विपद्जन्य घटनाका पीडितलाई राहत दिएको जनाइएको छ । बैठकले विपद्जन्य घटनामा परी मृत भएका सबैलाई श्रद्धाञ्जलि अर्पण पनि गरेको छ । यसैगरी बैठकले भारी वर्षालगायत वर्षभरका विपद्ले गरेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने निर्णय पनि गरेको छ । यस्तो विवरण जतिसक्दो छिटो सङ्कलन गर्न बैठकले सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिएको छ । 

यसैगरी बैठकले विसं २०८० कात्तिकपछि भएका विपद्का सबै घटनालाई समेटेर राहत दिने निर्णय गरेको सहसचिव अधिकारीले सुनाउनुभयो । पुनःनिर्माण, पुनःस्थापना र अस्थायी आवास निर्माणका लागि पनि गत वर्षदेखिका सबै पीडित समेटिने गरी परिषद् बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले खोज, उद्धार र राहतमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पुनःनिर्माण, पुनःस्थापना एवं अस्थायी आवास निर्माणका कार्यक्रम समयसीमा तोकेर सक्दो छिटो गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवा १५ दिनभित्र सञ्चालनमा ल्याइने गरी काम थाल्ने पनि निर्णय गरिएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र सातै प्रदेशका मुख्यमन्त्रीलगायत उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । तीनै तहका सरकारले प्राधिकरणसँग समन्वय गरेर विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि काम गर्ने निर्णय भएको प्राधिकरणका सहसचिव अधिकारीले बताउनुभयो ।

आजदेखि तीन हप्ता हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

मकवानपुर (हेटौँडा)- हेटाँैडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ ।

बडादसैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले आजदेखि  उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिनुभयो । उपकरण मर्मत सकिएलगत्तै उत्पादन सुरु गरिने उहाँले बताउनुभयो । “उद्योगलाई आवश्यकपर्ने करिब चार सय मेट्रिक टन कच्चापदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौँ, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्छौं”, महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

उक्त उद्योग करिब साढे दुई महिनाअघि आर्थिक अभावले बन्द भएकामा भदौ तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डार गरिएको, अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ सरकारले रु एक अर्ब ५० करोडको लगानीमा उद्योग स्थापना गरी विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको थियो । हाल यस उद्योगमा प्रशासन, भण्डारण, बजार व्यवस्थापन, चुनढुङ्गा खानी र मजदुर कर्मचारीलगायत एक सय ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । 

उद्योगसँग दैनिक क्षमता १८ हजार बोरा उत्पादन गर्ने क्षमता भए पनि पछिल्लो समय १० हजार बोरामात्र उत्पादन हुने गरेको जनाइएको छ । 

सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन

गण्डकी, २ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले आज पक्राउ गरेको छ ।

उहाँलाई जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले पक्राउ गरेको हो । सभापति लामिछानेलाई अनुसन्धानका लागि कास्की ल्याइने नेपाल प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो । 

सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा हुनुहुन्छ । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार हुनुहुन्छ । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।

राईसहित उहाँका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । 

सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान हुने

लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुुसन्धान हुने जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई गर्नुुभएको पत्राचारमा कृष्णप्रसाद जैसीसमेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूूर्यदर्शन बचत तथा ऋण सहकमारी संस्था लि पोखराका पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुुद्दा अनुसन्धानका सिलसिलामा सम्मानित कास्की जिल्ला अदालतबाट आजै पक्राउ अनुुमति जारी भएको उल्लेख गर्दै लामिछानेलाई पक्राउ गरी यस कार्यालयमा पठाइदिन अनुरोध गरिएको थियो ।

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला

काठमाडौँ, २ कात्तिक : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

विराटनगरस्थित कोइराला निवासमा आज मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भन्नुभयो, “अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनुहोस् ।”

नेता कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहँले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पार्नुभयो ।

विसं २०८२ मङ्सिर भित्रै पार्टीको महाअधिवेशन हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले समयमै महाधिवेशन हुन नसके सिङ्गो कांग्रेस पार्टी नै धरासयी बन्ने भएकाले समयमै महाधिवेशन गराउने कुरामा लाग्न जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिनुभयो ।

साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरी

काठमाडौँ, २ असोज : राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । 

 खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एक÷एक अङ्कका साथ दोस्रो स्थानमा छन् । 

दक्षिणी लेबनानमा ‘व्यापक विनाश’ भएको राष्ट्रसङ्घीय शान्ति सेनाको भनाइ

हिजबुल्लाह विरुद्धको इजरायलको बढ्दो युद्धले दक्षिणी लेबनानका सहर र गाउँहरूमा व्यापक विनाश गरेको त्यस क्षेत्रको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शुक्रबार बताएको छ ।

इजरायली सेनाले आफ्नो पोस्टमा बारम्बार आक्रमण गरे पनि शान्ति सेनाका सैनिकहरू त्यहाँ रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको युनिफिलका प्रवक्ताले बताएका छन् । 

“ब्लु लाइन वरपरको तनावले दक्षिणी लेबनानका सहर र गाउँहरूमा व्यापक विनाश गरिरहेको छ, इजरायलतर्फ नागरिक क्षेत्रसहित रकेट प्रहार जारी छ”, लेबनानमा युनिफिलका प्रवक्ता आन्द्रेया टेनेन्टीले बेरुतबाट भिडियो लिङ्कमार्फत जेनेभामा आयोजित मिडिया ब्रिफिङमा भन्नुभयो, “ब्लु लाइन र त्यसभन्दा परका धेरै गाउँको विनाश र तहसनहस चकित पार्ने खालको छ ।”

ब्लु लाइन इजरायल र लेबनानबीचको सीमाङ्कन रेखा हो । “अहिलेको समयमा युनिफिलको भूमिका पहिलेभन्दा बढी महत्त्वपूर्ण छ, हामी यहाँ रहनुपर्छ, हामीले यस क्षेत्रमा स्थिरता र शान्ति फिर्ता ल्याउने प्रयास गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

राष्ट्रसङ्घीय शान्ति सैनिकहरूलाई इजरायली सेनाका कारण मानिएका केही पटक ‘जानाजान आक्रमण’ मा लक्षित गरिएको छ । यी आक्रमणको अन्तर्राष्ट्रिय आलोचना बढेका छन् तर इजरायली सेनाले राष्ट्रसङ्घीय शान्ति सैनिकहरू वा उनीहरूको पोस्टलाई लक्षित नगरिएको बताएको छ ।

सन् १९७८ मा इजरायली सेनाले लेबनानमा आक्रमण गरेपछि उनीहरूको फिर्तीको निगरानी गर्न र लेबनानी सरकारलाई सीमा क्षेत्रमा अधिकार पुनःस्थापित गर्न सहयोग गर्न युनिफिलको स्थापना गरिएको थियो । 

मिसनमा हाल ५२ योगदानकर्ता मुलुकबाट १० हजारभन्दा बढी शान्ति सैनिक रहेको टेनेन्टीले जानकारी दिनुभयो । यसले ‘पछिल्लो १२ महिनादेखि द्वन्द्वले ध्वस्त भएको यस क्षेत्रमा स्थिरता फिर्ता ल्याउन’ अन्तर्राष्ट्रिय प्रतिबद्धता देखाउँछ । 

हिजबुल्लाहले एक वर्षभन्दा बढी समयदेखि इजरायलसँग सीमापार गोलीबारी गर्दै आएको छ । उसले गाजामा इजरायलको विनाशकारी स्थल र हवाई आक्रमणको जवाफमा काम गरिरहेको बताएको छ । 

प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले सन् २०२३ अक्टोबर ७ मा गाजाबाट इजरायलमा अचानक आक्रमण गरेपछि गाजा युद्ध सुरु भएको थियो । 

इजरायल–लेबनान सीमामा करिब दैनिक गोलाबारीका कारण गत महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहरूलाई कुल्चने प्रतिज्ञा गरेपछि नाटकीय रूपमा तनाव बढ्नुअघि नै दुवैतर्फका दशौँ हजार मानिस विस्थापित भएका थिए ।    युद्धमा लेबनानमा कम्तीमा एक हजार चार सय १८ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भक्तपुरका गाउँगाउँमा ढकमक्क मखमली र सयपत्री

भक्तपुर, २ कात्तिक : भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देखिएका छन् भने यसले नजिकिँदो तिहारको झल्को दिइरहेको छ ।

व्यावसायिक फूलखेती गरिएको भक्तपुरका बस्तीमात्रै हैन, अधिकांश गाउँघर एवं टोलटोलका आँगनमा समेत मखमली र सयपत्री फूल लहरै झुलेका छन् । तिहार नजिकिँदै गरेपछि व्यावसायिक फूलखेती गर्नेलाई भने यतिखेर फूल टिपेर माला उन्न र व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । काठमाडौँ उपत्यकामै सबैभन्दा बढी व्यावसायिक फूलखेती गर्ने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरघर, टोलटोल यतिखेर राताम्मे बनेका छन् भने फूल टिप्न र माला गाँसेर बजार पु¥याउनसमेत भ्याइनभ्याइ हुन थालेको छ ।

मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानमात्रै होइन फूलखेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बस्ती सरेर आउनेहरू पनि उत्तिकै रहेका सूर्यविनायक नगरपालिका नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा बताउनुहुन्छ । नगरपालिकाले केही वर्षयता स्थानीयलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । “यस वर्ष मात्रै सयपत्रीका ५५ हजार बिरुवा वितरण गरेका थियौँ । राम्रो आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली तथा डिलमा फूल लगाउने प्रचलन बढ्दैछ । हाल जताततै फूलले ढकमक्क बनेको देखिन्छ । एकैपटक दोहोरो आम्दानी हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो”, नगरपालिकाका प्रवक्ता सापकोटाले भन्नुभयो । 

स्थानीय कृषक मीना नगरकोटी जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्म टिप्न सकिने र फूल सप्रेमा एक सिजनमा एक रोपनी जग्गाको उत्पादनबाट रु एक लाखसम्म आम्दानी गर्न सकिने बताउनुहुन्छ । स्थानीय फूल उत्पादक कृषक एवं पुष्प व्यवसायी अनिता बस्नेतले यतिखेर किसानलाई फूल टिप्न भ्याइनभ्याइ भएको बताउनुभयो । “एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला उन्न सकिने र एउटा मालाको यसवर्ष रु २५ मा बिक्री हुँदा पनि एक लाखको कारोबार हुने छ”, उहाँले भन्नुभयो,“मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेपछि किसानलाई सजिलो भएको छ ।”

सयपत्री फूल एक मुठाको रु १० देखि १५ मा बिक्री हुने गरेको छ भने तिहारमा चारपाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु छ सयमा बिक्री हँुदै आएको व्यवसायीले बताएका छन् । भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा अहिले व्यावसायिक फूलखेती भइरहेको छ ।

पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २ कात्तिक : उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

काठमाडौँ महानगरपालिकाको धर्मशाला हटाउने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै मारवाडी सेवा समितिकातर्फबाट पशुपतिक्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट निवेदन दायर भएको थियो । दुवै पक्षबीच छलफल गरेर उक्त विवादमा निर्णय गर्ने अदालतको आदेशमा उल्लेख छ ।

आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष दाहाल

काठमाडौँ, २ कात्तिक : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आत्मसमीक्षासहित सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ ।

‘वल्र्ड हिन्दू इकोनोमिक फोरम नेपाल च्याप्टर’ले आज यहाँ आयोजना गरेको ‘विजिनेस मिट २०२४’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसकिने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रुपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको बताउनुभयो ।

नेपाल लामो समयसम्म राजनीतिक परिवर्तनको आन्दोलनमा केन्द्रित भएकाले आर्थिक समृद्धितर्फ ध्यान जान नसक्नु अस्वाभाविक नभए पनि राजनीतिक परिवर्तन भएको धेरै वर्षसम्म पनि जनअपेक्षित प्रगति नहुनु चिन्ताको विषय भएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । उहाँले अब कुनै पनि बहानामा आर्थिक समृद्धि र विकासलाई पछाडि पार्न नहुने बताउनुभयो ।

“अहिलेसम्मका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्दै नयाँ सङ्कल्पका साथ देश निर्माणमा होमिनै पर्छ”, उहाँले भन्नुभयो । मुलुक परिवर्तनका लागि राजनीति र विचारधारा आवश्यक भए पनि हरेक क्षेत्रमा हुने अति राजनीतिकरण नेपालको आर्थिक विकासका लागि बाधक रहेको आँैल्याउँदै उहाँले राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिएर आर्थिक समृद्धि तथा जनताको जीवनस्तर रुपान्तरणमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो ।

अतिराजनीतिकरणबाट सीमित नेता कार्यकर्ता वा उनीहरुका नजिक रहेकाहरुले फाइदा लिए पनि जनता पछि पर्दारहेछन् भन्ने तथ्य भोगाइबाटै पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामीसँग साधन स्रोत, जनशक्ति, उद्योग व्यापारको अनुभवको कमी भएर होइन, अतिराजनीतिकरण र त्यसले सिर्जना गरेको अस्थिरताका कारण समृद्धि हासिल हुनु नसकेको हो भन्ने तथ्य स्वीकार गर्न अब हिच्किचाउनुपर्दैन । जबसम्म यो स्थितिको अन्त्य गर्न सकिँदैन, तबसम्म राम्रो साधन स्रोतको सही सदुपयोग गर्ने वातावरण बनाउन सकिँदैन ।”

    निजी क्षेत्रलाई हेर्ने राजनीतिक र प्रशासनिक क्षेत्रको धारणा सही नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रको पनि एउटा पक्षले राज्यका नियम कानुन पालनाभन्दा उल्लङ्घनतिर नै जोड गर्ने गरेको औँल्याउनुभयो । जनयुद्ध र विभिन्न लोकतान्त्रिक आन्दोलनमा हजारौँ सहिदहरूको बलिदानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको उल्लेख गर्दै उहाँले अब आफूहरुको ध्यान प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित रहेको बताउनुभयो ।

पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले पूर्वाधार विकासलाई प्राथमिकता दिएर मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण करिडोरलयायत सडक, सिँचाइ र जलविद्युत् विकासमा राष्ट्रिय गौरवका परियोजनाको कार्यान्वयन सुरु गरेको र अहिले कतिपय आयोजना पूरा हुने क्रममा रहेको उहाँले बताउनुभयो । जलस्रोत क्षेत्रमा आशालाग्दो उपलब्धि हासिल हुनु समृद्ध नेपाल निर्माणको महत्वपूर्ण आधार भएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो ।

चीन र भारतसँग साझेदारी गरेर नै अघि बढ्न सकिने उल्लेख गर्दै उहाँले जनताको मौलिक अधिकारका रुपमा स्थापित शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता र हरेक क्षेत्रमा समावेशीकरण तथा समन्यायिक वितरणका माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिने आधार पैदा भएको बताउनुभयो ।

    वल्र्ड हिन्दू इकोनोमी फोरमका संस्थापक स्वामी विज्ञानन्दले मुलुकको अर्थव्यवस्था सुदृढ गर्न राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र शासक वर्गको दृढ इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो । फोरम नेपाल च्याप्टरका अध्यक्ष प्रदीपमान वैद्यले नेपालको अर्थव्यवस्थालाई समृद्ध बनाउन फोरमले राजनीतिज्ञ तथा व्यावसायिक समुदायसँग नीतिगत बहस गर्दै आइरहेको बताउनुभयो ।

रास्वपाले भन्योः नयाँ पुस्ताको राजनीति सिध्याउन लामिछानेलाई पक्राउ गरियो

काठमाडौँ, २ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको घटनालाई ‘नयाँ पुस्ताको राजनीतिक अभ्यास’ लाई सिध्याउनका लागि चालिएको परिपञ्चका रुपमा लिएको प्रतिक्रिया दिएको छ ।

    पार्टी सभापति पक्राउ परेपछि राससलाई प्रतिक्रिया दिँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति पक्राउ परेको घटनालाई जोडेर जनतालाई अप्ठ्यारो पर्ने तथा अर्थतन्त्रलाई हानी नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रहरी, अदालत र कानुनप्रति हाम्रो कुनै द्वेष छैन, सहज रुपमा प्रक्रिया स्वीकार गरेका छौँ, न्यायिक प्रक्रियालाई सघाउँछौँ, यस घटनालाई भद्ररुपमा राजनीतिक परितर्वनको लडाइँ सुरुआतका रुपमा लिएका छौँ ।”

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको थियो ।

    सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा बिजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन भन्नुभयो । उहाँले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टैगरी पुनःनिर्माणमा अपुग हुने रकम जुटाउन दातृनिकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न पनि निर्देशन गर्नुभयो । 

उहाँले किसानको बालीनालीको नोक्सानी भएको स्थितिमा उनीहरुलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिँदै भत्किएका कुलोहरुको मर्मत आगामी जेठ १५ भित्र गरिसक्न आग्रह गर्नुभयो ।

राष्ट्रिय परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपाल भूकम्पीय, पहिरो र जलवायु परिवर्तनजन्य विपद्को जोखिममा रहेकाले त्यसको पूर्वतयारी तथा सुरक्षित एकीकृत बस्ती विकासको नीतिगत तर्जुमा गर्न आग्रह गर्दै अन्यत्र आवास नभई जोखिमयुक्त स्थानमा बसेकाहरुलाई बस्ती स्थानान्तरण गर्न र अन्यत्र घर भई जोखिमयुक्त स्थानमा रहेकाहरुलाई त्यहाँबाट हटाउनुपर्ने स्पष्ट गर्नुभयो । देश र जनताको सुरक्षाका लागि पारदर्शी रुपमा पहिराको जोखिम भएका स्थानमा वनक्षेत्र विस्तार गर्न र कतिपय वनक्षेत्रमा सुरक्षित बस्ती विकासको योजना पनि अघि बढाउन सकिने उहाँको भनाइ राख्नुभयो ।

पाटन प्रिमियर लिग : कुलगडे क्लब विजयी

बैतडी, २ कात्तिक : बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा कुलगडे क्रिकेट क्लब विजयी भएको छ । कुलगडेले रिभर साइड युवा क्लबलाई ६ विकेटले पराजित गरेको हो ।

रिभर साइडले दिएको एक सय ५९ रनको लक्ष्य कुलगडेले १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि पङ्कज लुहारले ४७ रनको योगदान दिए । त्यसअघि पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको रिभर साइडले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५८ रन बनायो । उसका लागि आयुष विष्टले सर्वाधिक ३८ रन बनाए ।

बलिङतर्फ कुलगडेका लागि पङ्कज लुहार र राजेन्द्र ठगुन्नाले दुई दुई विकेट लिए । पङ्कज खेलको म्यान अफ दी म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको सो प्रतियोगितामा १७ टोली सहभागी छन् । प्रतियोगिताको विजेतालाई रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो ।

दोस्रो हुने टोलीले रु ५६ हजार सात सय ८९ प्राप्त गर्नेछ । म्यान अफ दी सिरजलाई रु १२ हजार तीन सय ४५ तथा उत्कृष्ट बलर र ब्याटरलाई रु ६ हजार सात सय ८९ प्रदान गरिने छ । यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिगको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय र तेस्रो संस्करणको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।

गजुर उल्टो पारिने : ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ हेर्न घुइँचो

काठमाडौँ, २ कात्तिक : काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राले त्यस क्षेत्रमा रौनकता छाएको छ । जात्रा हेर्न धेरै मानिस हाँडीगाउँ क्षेत्रमा जम्मा भएका छन् ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमा पछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । यो जात्रालाई तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । 

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ । 

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले राससलाई जानकारी दिनुभयो ।

जात्रा सुरु भएका सम्बन्धमा एउटा किम्बदन्दी प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरुपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदी बहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् । 

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा प्राप्त भयो । गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमे बाजा बजाइ रङ्गीविरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए । 

मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण (तीननारायण) मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि शुरुवात भयो । 

मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाउनुभयो । 

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पूजा गरिन्छ । यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेको छ ।

हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक

काठमाडौँ। हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ। पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो। आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ। आइटम गीत ‘टिमिक्कै चोली’ मा मोडल अलिशा शर्माले नृत्य गरेकी छन्। नबिन भट्टको डेब्यु निर्देशन रहेको चलचित्रको गत साता शिर्ष गीत सार्वजनिक गरिएको थियो ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यस अघि चलचित्र ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण संगै अभिनय पनि गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन्। छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माता अधिकारी बिस्वस्त छन् ।

चलचित्र ‘फिरफिरे फिरिरी’ मा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।