`

महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी समेत भएको छ ।

कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाउनुभएको थियो ।

सो क्रममा मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुले देशको स्वास्थ्य क्षेत्रमा पुर्याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण रहेको बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरुलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरु चिन्तित रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष स्वाँरले आफूहरुलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत सुविधा उपलब्ध गराउने घोषणा गर्नुभयो ।

मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्र्तगत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ ।

खेतमा धान काट्न हिँडेकी १२ वर्षीया करिनाको करेन्ट लागेर मृत्यु

महोत्तरी, २ कात्तिक : खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पचाइनटोलकी १२ वर्षीया करिना महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान आफ्नो खेत नपुग्दै बाटोमा विद्युतीय नाङ्गो तारको झट्काले उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीले जनाएको हो । बालिकालाई उद्धार गर्न खोज्दा सोही बस्तीका १८ वर्षीया राधा महतो र १४ वर्षीया विभा महतो घाइते भएका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिनुभयो ।

पचाइन बस्ती कै विनोद महतोले आफ्नो खेतको चारैतिर वन्यजन्तुबाट बाली जोगाउन बिछाएका विद्युतीय तारको स्वीच निभाउन (अफ नगर्दा) बिर्सिदा घटना भएको प्रहरीले जनाएको छ । घटनालगत्तै महतो भने फरार छन् ।

शव परीक्षणका लागि बर्दिवास अस्पताल पुर्‍याइएको र घाइते दुई किशोरीको गौशालास्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । दुवै किशोरीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

रवि लामिछानेलाई पक्राउ गरी पोखरा लगिने


गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की ल्याइने भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानुनी प्रकृया अगाडि बढाएको जानकारी दिए ।

‘कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ’, उनले भने ।

लामिछानेलाई प्रहरीले कतिबेला पक्राउ गर्छ भन्ने विषयमा भने प्रवक्ता कार्कीले केही खुलाउन चाहेनन् । कास्की जिल्ला अदालतले आजै लामिछानेमाथि सहकारीको रकम अपचलमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीवी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन छलफल

काठमाडौँ, २ कात्तिक : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुुरु गर्नुभएको छ ।

पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आज आयोजनाका महानिर्देशकसहित सातै प्रदेशका आयोजना प्रमुखसँगको समीक्षात्मक छलफलमा उहाँले कार्य प्रगतिबारे जानकारी लिनुभयो । उपप्रधामनमन्त्री सिंहले आयोजना कार्यान्वयनका समस्या पहिचान गरी कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । “तपाईहरूसँगको छलफलपछि समस्या के छ ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु”, उहाँले भन्नुभयो ।

छलफलमा आयोजनाअन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखले चालु आर्थिक वर्षमा भएका उपलब्धि, भोग्नुपरेका समस्या र भइरहेका कामबारे प्रस्तुतीकरण राख्नुभएको थियो । यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढीपछि भएका कामबारे पनि जानकारी गराइएको थियो । आयोजना प्रमुखहरूले पूर्वतयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिने क्रम जारी रहने, एउटै आयोजनामा पनि दोहोरोपनाको समस्या रहेकाले यस्तो काम रोक्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्रालयका सचिव मणिराम गेलालले छलफलले चालु आवको विनियोजित कार्यक्रमहरू सम्पन्न गर्न देखापरेका समस्या, समाधानका उपाय र आयोजनाका तर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारे धेरै विषय प्रष्ट भएको बताउनुभयो । यसले आगामी दिनमा काम गर्न थप सहज हुने बताउनुभयो ।

इटहरीमा नाङ्लो बुन्दै आएका दश राई परिवारले लोभलाग्दो आम्दानी गर्दै

धरान (सुनसरी) २ कात्तिकः इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।

सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आउनुभएको छ । भोजपुर होम्ताङका उहाँको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उहाँले घरव्यवहार चलाउँदै आउनुभएको छ । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छभने सबैको आम्दानीको स्रोत नै नाङ्लोे बुन्ने र बेच्ने भएको छ । उहाँले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गर्नुभएको छभने केही आफैँले पनि रोप्नुभएको छ । उहाँले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताउनुभयो ।

एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उहाँले बताउनुभयो । एउटा नाङ्लो रु एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।
नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताउनुभयो । उहाँले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताउनुभयो । धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् ।

नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउनुहुन्छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गर्नुभएको छ ।

नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस रु दुई सयसम्म पर्ने गरेको जानकारी दिँदै उहाँले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताउनुभयो । “आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,” नाङ्लो बुनेर घरखर्च चलाउँदै आउनुभएका विक्रमले घरका सबैले नाङ्लो बुन्ने गरेका जानकारी दिँदै भन्नुभयो ।

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर, २ कात्तिकः कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताउनुभयो ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

अमेरिकाविरुद्धको टि–२० मा नेपालले एक सय ६४ रनको योगफल बनायो

काठमाडौँ, २ असोजः अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले एक सय ६४ रनको योगफल बनाएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको हो । यो सँगै अमेरिकाले जितका लागि एक सय ६५ रनको चुनौती पाएको छ ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी (झापा), २ कात्तिकः मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका आठ पुरुष र आठ महिलालाई बिहीबार नै मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ ।

असोज २८ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट चार जना र तेस्रो दिन सुनसरीबाट १२ जना उद्धार गरिएको थियो । उद्धार यात्रामा गायिका आनीछोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी हुनुहुन्छ । उद्धार यात्रा ३२ दिनपछि कात्तिक २६ गते सम्पन्न हुनेछ ।

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ ।

यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक भन्छन्, ‘बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।’दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औंलामा गन्न सकिने मानिस भेट्न कठिन छ ।

गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ ।

भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ ।

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् । विस २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन् । गाउँको जनसङ्ख्या १२० मा झरेको छ ।

गाउँका अगुवा धनबहादुर थापा भन्छन् , ‘पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे, उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो । बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ ।’ यहाँका सबै टोलमा यस्तै समस्या छन् ।

यस्तै गुनासो गर्छन् रावत टोलका ७० वर्षीया दानबहादुर रावत । सत्तरी वर्षमा सहजै हिंडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ । ‘निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै,’ उनले गुनासो गरे ।

दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका-५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि । ‘सुविधा खोज्दै युवा सहर गए, गाउँमा रोजगारी भएन, युवा सहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ । दसैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो, मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?’, उनी प्रश्न गर्छन् ।

सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको बताए ।

कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन् ।

परम्परागत उत्पादनलाई जङ्गली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको उनले बताए ।

जङ्गली जनावरको आतङ्क

ग्रामीण बस्ती खाली हुनुको एक कारण जङ्गली जनावरको आतङ्क पनि हो । केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन् ।

लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जङ्गली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर नागरिक परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न सहर पस्न थालेका हुन् ।

‘केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जङ्गली जनावरका कारण बाँझो पर्न थालेका छन् । केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो ।

अहिले जङ्गली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन् । बाँझो बारीले परिवारलाई खान पुग्दैन । गाउँका नागरिक काम गर्दै बालबच्चा पढाउँदै सहर पस्न थाल’, महावु गाउँपालिका–५ का तुलबहादुर रिजालले भने ।

सिङ्गो गाउँ नै तरकारीखेतीमाः वार्षिक भित्रिन्छ ८० लाख

ढोरपाटन (बागलुङ) – बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।

सुरुमा गाउँका अगुवा किसान कृष्णलाल कँडेलले थालेको तरकारीखेतीमा अहिले गाउँभरि बिस्तार भएको छ । कँडेलले विसं २०६९ देखि नै फाटफुट तरकारीखेती गर्न थाल्नुभएको थियो । छ वर्षपछि सरकारी कृषि ज्ञान केन्द्रसहित विभिन्न सरकारी निकायले अनुदान दिन थालेपछि स्थानीय व्यावसायिक तरकारीखेती गर्न थालेका थिए । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने गाउँमा फलेका तरकारी बजार पु¥याउन त्यति समस्या छैन । नजिकै बुर्तिबाङ बजार हुँदा बिक्रीका लागि टाढा धाउनु पर्दैन ।

गाउँमा तरकारीखेती गर्न थालेपछि न्यून आय भएका परिवारको पनि आर्थिक अवस्था सुधार हुँदै गएको स्थानीय अगुवा किसान कृष्णलाल कँडेलले बताउनुभयो । १२ वर्षअगाडि आफूले गाउँमा टनेलभित्र तरकारीखेतीको सुरुआत गरेपछि अहिले सिङ्गो गाउँ नै यसमा लागेको उहाँको भनाइ छ । तरकारीखेतीमा आबद्ध किसानले वार्षिक न्यूनतम रु दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्दै आएका कँडेल बताउनुहुन्छ । यस वर्ष ढोरपाटन–५ मा मात्रै तरकारी बेचेर रु ८० लाख भित्रिएको उहाँले जानकारी दिनुभयो ।

“गरे के नहुने रैछ र ?, मैले तरकारीखेती सुरु गर्दा गाउँलेले तरकारी पनि बिक्री हुन्छ भन्दै गिज्याउँथे, अहिले गाउँमा टनेलमा तरकारीखेती नगर्ने कोही छैन, तरकारीबाट आम्दानी राम्रो हुन थालेपछि पहिले हुँदा खानेहरु अहिले हुने खाने भए”, उहाँले भन्नुभयो, “पोहोर परार साल वार्षिक ५० लाखको तरकारी बिक्री हुन्थ्यो, यस वर्ष थप ३० लाख बढीको खायन आलुसमेत बिक्री ग¥यौँ ।”

बारीमा काम गर्न थालेपछि धेरै युवा विदेश जानबाट रोकिएका छन् । जिल्लाको अन्य गाउँमा युवा विदेश पलायन हुँदा ढोरपाटनमा भने गाउँ जनशक्तिको अभाव छैन । व्यवसायिक तरकारीखेतीले गाउँलेको जीवनशैली नै बदलिएको स्थानीय किसान विष्णुकुमारी घर्तीले बताउनुभयो । बजारमा तरकारीको भाउमा एक रुपता नहुँदा कहिलेकाहीँ मूल्य नपाउने उहाँको भनाइ छ । तरकारीखेतीबाटै घर खर्च चलाउने र छोराछोरी पढाउने गरेको घर्ती बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तरकारीखेतीबाट आत्मसन्तुष्टि मिलेको छ, पहिले एक मुरी धान फल्ने खेतमा अहिले लाखौँको तरकारी फल्छ, मैले मात्रै होइन गाउँका धेरैले यो पेसा अङ्गालेका छन्, तरकारीमा रोग लागेन भने वर्षमा दुई÷चार लाख रुपैयाँ कमाउन समस्या छैन ।”

तरकारीखेतीतर्फ किसानलाई आर्षित गर्न कृषि ज्ञान केन्द्र बागलुङले पनि सहयोग गर्दै आएको छ । यस क्षेत्रमा तरकारीखेती र खायन आलु उत्पादनका लागि करिब ८० लाख लगानी गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिनुभयो । किसानलाई आवश्यक अनुदानसहित प्राविधिक सहयोग र उपकरणसमेत उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर (म्याग्दी), २ कात्तिकः पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् ।

मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु १८ करोड लागतमा छवटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो ।

स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१÷८२ मा रु एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०÷८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।

कोजाग्रत उत्सवको पाहुर परम्परा थेग्दै महोत्तरीको ठाकुर परिवार

महोत्तरी, २ कात्तिकः जनकपुरधामस्थित जानकी मन्दिरमा हिजो बिहीबार सम्पन्न कोेजाग्रत उत्सवमा रामसीताको ‘चुमाउन’ का लागि महोत्तरीको रतौली गाउँको ठाकुर परिवारले पाहुर दिने परम्परालाई निरन्तरता दिएको छ ।

कोजाग्रत पूर्णिमाका दिन मनाइने कोजाग्रत उत्सवको मैथिल परम्परामा वरवधु पूजन विधिको ‘चुमाउन’ रतौलीका महेन्द्रप्रसाद ठाकुरले बसाल्नु भएको पाहुर पु¥याउने परम्परा उहाँका सन्तानले यो वर्ष पनि निरन्तरता दिएका हुन् । यसै परम्पराअनुसार हिजो साँझ ठाकुर परिवारबाट १०१ वटा पाहुरका भार जानकी मन्दिर पुर्‍ याइएको थियो ।

पाहुरमा रामजानकीका लागि वस्त्र,आभूषण, खाद्यान्न, विविध परिकार, पान र मखानसहितका छुट्टाछुट्टै भार (सोली, मधेसमा चङेरामा यी सामान राखिन्छन्) राखिने चलन छ । जानकी मन्दिरमा प्रत्येक असोज पूर्णिमाका दिन मनाइने कोजाग्रत उत्सवमा रामजानकीको ‘चुमाउन’ का लागि १०१ पाहुर (कोसेलीका सोली) ठाकुर परिवारले जनकपुर पु¥याएको हो । यो उत्सवमा श्रीराम र सीतालाई वस्त्रआभूषणसहित मिष्टान्न अर्पण गरिन्छ । यसलाई ‘चुमाउन’ भनिन्छ । यसै उत्सवका लागि महेन्द्रप्रसाद ठाकुरका पछिल्लो पुस्ताका नवीन ठाकुरले यसपालिको ‘चुमाउन’ सामग्रीका भार जानकी मन्दिर पुर्‍ याउनु भएको हो ।

ठाकुर परिवारले यो थिति १४१ वर्षदेखि थेग्दै आएको छ । मिथिलाको यो विशिष्ट संस्कृतिमा आफ्नो परिवारको संलग्नताको अवसरलाई ईश्वर कृपाका रुपमा नविन ठाकुर अथ्र्याउनु हुन्छ । “भगवान् श्रीराम र माता जानकीको कृपा छ, हामीले यो परम्परा बोक्न पाएका छौं” नवीन भन्नुहुन्छ, “यसलाई सधैसधैं निरन्तरता दिने हाम्रो प्रयत्न रहने छ ।”

कोेजाग्रत उत्सवमा जानकी मन्दिरले सांस्कृतिक उत्सवका कार्यक्रम आयोजन गर्दै आएको छ । यस समारोहमा सीताराम सङ्कीर्तनसहित वरवधु पक्षबीच (यहाँ वरपक्ष जनकपुरधामस्थित श्रीराम मन्दिर र दुलहीपक्ष जानकी मन्दिर हुने परम्परा छ ।) दुवैपक्षबीच हुने ठट्यौलीले अघि त्रेता युगमा अयोध्याका राजा दशरथ र मिथिलाका राजा शिरध्वज जनकबीच भएका ख्यालठट्टाको झल्को दिने गरेको मिथिलाक्षेत्रका साहित्यकार राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

मिथिलामा कोजाग्रत पूर्णिमाका दिन नव वरवधुको ‘चुमाउन’ गर्ने परम्परा रामायणकालदेखिकै मानिन्छ । मिथिलाका मैथिल ब्राह्मण र कायस्थ जातिमा यो चलन आजपर्यन्त जारी छ । पछिल्लो एक वर्षमा विवाह गरेका वरलाई ‘चुमाउन’ दिन दुलहीपक्ष भार लिएर दुलाहाको घर पुग्ने गरेका छन् ।

गाजामा हमास प्रमुख सिनवार मारिएको हो वा होइन भन्नेबारे जाँच भइरहेको इजरायलको भनाइ

इजरायलले गाजा अभियानमा हमास प्रमुख याह्या सिनवार मारिएका हुन् वा होइनन् भन्नेबारे जाँच गरिरहेको बताएको छ । सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ । यदि सिनवार मारिएको भए समूहलाई यो ठूलो झट्का हुनेछ ।

इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाएको छ । इजरायलले गाजा युद्धको सुरुआतदेखि नै सिनवारलाई खोजिरहेको छ ।

इरान समर्थित प्यालेस्टिनी लडाकू समूह हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार समूहको नयाँ नेता बनेका छन् ।

हमास र इरानले हानियाको हत्याका लािग तेहरानमा भएको आक्रमणमा इजरायललाई दोष दिएका छन् तर इजरायलले यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

सिनवारबारे इजरायलको घोषणा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको लेबनानमा भएको ठूलो आक्रमणमा हत्या गरेको केही सातापछि आएको हो । लेबनानमा इजरायलले सेप्टेम्बरको अन्त्यदेखि युद्धलाई तीव्र पारेको छ ।

हालैका महिनाहरूमा इरान समर्थित अन्य कमान्डरहरूको पनि हत्या गरिएको छ । इजरायलले यसै वर्षको सुरुमा उसले हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई आक्रमणमा मारेको बताएको थियो । यद्यपि हमासले यसको पुष्टि गरेको छैन । देइफमाथि सिनवारसँग मिलेर अक्टोबर ७ को आक्रमणमा योजना बनाएको आरोप लगाइएको थियो ।

गाजा युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयमा हमास अत्यन्तै कमजोर भएको छ र सिनवारको मृत्यु पुष्टि भयो भने हमासलाई ठूलो धक्का लाग्नेछ ।

सेनाले एउटा संक्षिप्त वक्तव्यमा ‘गाजा पट्टीमा सञ्चालनका क्रममा तीन लडाकू मारिएको’ बताएको छ । इजरायली रक्षा एजेन्सीहरूले ‘एक जना याह्या सिनवार हुनसक्ने सम्भावनाबारे जाँच गरिरहेको’ भन्दै ‘यस चरणमा लडाकूहरूको पहिचान पुष्टि गर्न नसकिने’ बताएको छ ।

सिनवार हुन् कि होइनन् भन्नेबारे पुष्टि गर्न एक लडाकूको शरीरको डिएनए परीक्षाण गरिरहेको एक इजरायली सुरक्षा अधिकारीले बताए ।

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला – जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ।

कर्णालीलाई पूर्ण विद्युत्ीकरण गर्ने प्राधिकरणको कार्ययोजनाअनुसार यहाँका गाउँ गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्ररुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिनुभयो । जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ ।

प्रमुख साहका अनुसार तिला गाउँपालिका–६ घोडेमा विद्युत्को लाइन विस्तार गरिएको छ । यस्तै तातोपानी गाउँपालिका–७ सुर्कीमा पनि विद्युत्को लाइन जोडिएको छ । एक सय ४५ परिवारको बसोबास रहेको सुर्कीमा दसैँ अगाडि नै बत्ती बालिएको हो । पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न वडामा पनि विद्युत् लाइन पु¥याउने योजना छ ।

यस्तै सिञ्जा गाउँपालिकाका ६ वडामध्ये तीन र पाँच नम्बर वडामा बत्ती पुगेको वितरण केन्द्रले जनाएको छ । गुठीचौर र कनकासुन्दरी गाउँपालिकाका सबै वडामा प्रसारण लाइन विस्तारको काम भइरहेको छ ।

रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै– युक्रेन

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको बताउनुभएको छ ।

उहाँले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको आरोप लगाउनुभएको थियो तर उहाँले दिनुभएको यति ठूलो सङ्ख्या यो पहिलो पटक हो ।

जेलेन्स्कीले ‘हाम्रो खुफिया निकायबाट प्राप्त जानकारी’ का आधारमा अनिर्दिष्ट सङ्ख्यामा उत्तर कोरियाली सैनिक यसअघि नै ‘रुसी शत्रुहरूको तर्फबाट कब्जा गरिएको युक्रेनी भूमिमा’ थिए भन्नुभयो ।

“उत्तर कोरियाका करिब १० हजार सैनिकलाई हामीविरुद्ध लड्न पठाउन तयारी गरिरहेको हामीलाई थाहा छ”, उहाँले युरोपेली सङ्घ (इयु) का नेताहरूसँगको वार्तापछि ब्रसेल्समा पत्रकारहरूलाई भन्नुभयो ।

जेलेन्स्की रुस विरुद्धको युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’ का लागि समर्थन माग्दै ब्रसेल्समा इयुका नेताहरूको शिखर सम्मेलन र नाटो रक्षामन्त्रीहरूको बैठक दुवैमा सहभागी हुनुभएको थियो ।

उहाँका अनुसार उत्तर कोरियाली सैनिकहरूमा ‘स्थल सेना’ र ‘अन्य रणनीतिक कर्मचारीहरू’ समावेश छन् ।

“यो विश्वयुद्धको पहिलो कदम हो”, इरानले पनि रुसलाई ‘ड्रोन र क्षेप्यास्त्रहरू’ सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले चेतावनी दिनुभयो । उक्त दाबीलाई तेहरानले बारम्बार अस्वीकार गर्दै आएको छ ।

परिचालनसँग डराउने भएकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली सैनिकहरूमा भर परिरहनुभएको उहाँले बताउनुभयो ।

जेलेन्स्कीले आफ्नो पहलको प्रचार गर्न यसै महिनाको प्रारम्भमा वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनसहित पश्चिमी राजधानीहरूको तीव्र दौडाहा गर्नुभएको थियो ।

रुसी सेनाले युक्रेनमा उत्तर कोरियाली क्षेप्यास्त्रहरू तैनाथ गरिरहेको विशेषज्ञहरूले लामो समयदेखि भन्दै आएका छन् तर मस्को र प्योङयाङले अस्वीकार गरेका छन् ।

पुटिनले जुनमा प्योङयाङको दुर्लभ भ्रमण गर्दा उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

मस्को र प्योङयाङ दोस्रो विश्वयुद्धपछि उत्तर कोरियाको स्थापनादेखि नै सहयोगी रहेका छन् र सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अझ नजिक भएका छन् ।

इराकमा पाँच लाख क्याप्टागन गोली जफत

प्रतिबन्धित उत्तेजक पदार्थको बढ्दो व्यापारसँग जुधिरहेको इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफत गरिएको इराकी अधिकारीहरूले घोषणा गरेका छन् ।

इराक एम्फेटामाइन प्रकारको लागूपदार्थको प्रमुख मार्गका रूपमा रहेको छ र मुलुकका अधिकारीहरूले नियमित रूपमा क्याप्टागनको ठूलो मात्रा जफत गरेको घोषणा गर्छन् । यसमा अधिकांश तस्करी युद्धग्रस्त सिरियासँगको छ सय किलोमिटर खुला सीमा पार गरेर गरिन्छ ।

“छिमेकी मुलुकबाट आएको तरकारीको खेपमा ढुवानी गरिएका पाँच लाखभन्दा बढी क्याप्टागन गोली जफत गरिएको छ”, इराकको राष्ट्रिय सुरक्षा सेवाले विज्ञप्तिमा भनेको छ, “इराकको पश्चिमी अनबर प्रान्तमा केही दिनसम्म ढुकेर बसेपछि सिरियासँग जोडिएको क्षेत्रबाट यो खेप जफत गरिएको हो ।”

मूल रूपमा ‘ट्रान्जिट’ मुलुक भए पनि विशेषगरी क्याप्टागन र क्रिस्टल मेथाम्फेटामाइन जस्ता लागूपदार्थको प्रयोगमा इराकले हालैका वर्षहरूमा ठूलो तस्करीको सामना गरिरहेको छ ।

इराकी अधिकारीहरूले सन् २०२३ मा मात्र हालसम्मकै सबैभन्दा बढी दुई करोड ४० लाख क्याप्टागन गोली जफत गरेको संयुक्त राष्ट्रसङ्घको जुलाईको प्रतिवेदनमा उल्लेख छ । यो करिब चार दशमलव एक टन बराबर हो र यसको अनुमानित खुद्रा मूल्य आठ करोड ४० लाख डलरदेखि १४ करोड४० लाख डलरको बीचमा रहेको छ ।

क्याप्टागनका मुख्य बजारहरू रहेका यस क्षेत्रका सरकारहरूले तेल समृद्ध खाडी मुलुकहरूको दबाबमा तस्करीलाई नियन्त्रण गर्न आफ्ना प्रयासहरूलाई तीव्रता दिएका छन् ।

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न बाइडेन जर्मनी जाँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता गर्न जर्मनीको द्रुत बिदाइ यात्रामा निस्कनुभएको छ ।

इजरायलले हमास प्रमुख याह्या सिनवारलाई गाजामा सैन्य कारबाहीमा मारिए कि भनेर अनुसन्धान गरिरहेको बताएपछि बाइडेनले मध्यपूर्वमा बढ्दो सङ्कटबारे पनि छलफल गर्नुहुने अपेक्षा गरिएको थियो ।बर्लिनको २४ घन्टे छोटो भ्रमणमा बाइडेनले जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्नुहुनेछ । त्यसपछि उहाँहरू दुवैजना फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग वार्तामा सामेल हुनुहुनेछ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग बैठक र किएभका सहयोगीहरूको प्रमुख शिखर सम्मेलनमा सहभागी हुन बाइडेन मूल रूपमा गता साता जर्मनीको बहुदिने भ्रमणमा जान लाग्नुभएको थियो तर फ्लोरिडातर्फ मिल्टन आँधी अघि बढेपछि उहाँले भ्रमणलाई स्थगित गर्नुभएको थियो ।

ह्वाइट हाउसले भनेको छ, “प्रमुख नाटो सहयोगी जर्मनीको छोटो पुनः तालिकाबद्ध भ्रमणले अमेरिका र जर्मनीले सहयोगी र मित्रका रूपमा साझा गरेको नजिकको सम्बन्धलाई थप बलियो बनाउनेछ र रुसी आक्रमणविरुद्ध युक्रेनको रक्षा तथा मध्यपूर्वका घटनाहरू समावेश भएका भू–राजनीतिक प्राथमिकताहरूमा समन्वय गर्नेछ ।”

यस वर्षको प्रारम्भमा रुससँग कैदी आदानप्रदान सम्झौता सहज बनाउन सहयोग गरेकामा सोल्सलाई धन्यवाद दिन पनि भ्रमण गर्न बाइडेन उत्सुक हुनुभएको अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त सम्झौताअन्तर्गत अमेरिकी पत्रकार इभान गेर्शकोभिच मुक्त हुनुभएको थियो ।

यद्यपि बाइडेनको ध्यान युक्रेनमा केन्द्रीत हुनेछ । सन् २०२४ जुलाईमा ह्वाइट हाउसको दौडबाट बाहिरिनुभएका बाइडेन कार्यालयको अन्तिम तीन महिनामा किएभका लागि पश्चिमी सैन्य सहायता एकीकृत गर्न उत्सुक हुनुहुन्छ ।

युद्ध सुरु भएको साढे दुई वर्षभन्दा बढी भइसक्दा किएभ विस्तारै स्थिर रूपमा आफ्नो पूर्वी डोनबास क्षेत्रमा भूमि गुमाइरहेको छ र बाहिर निस्कने रणनीति बनाउने बढ्दो दबाबमा छ । युक्रेनले पश्चिमी समर्थन बढाएर रणनीति सुरु हुनुपर्ने बताएको छ ।

बाइडेनले बुधबार युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको फोन वार्तामा युक्रेनका लागि हवाई सुरक्षामा बख्तरबन्द वाहनहरूसहित चार अर्ब ४२ करोड ४५ लाख डलरको नयाँ हतियार प्याकेजको घोषणा गर्नुभएको थियो ।

सन् २०२२ को रुसी आक्रमणविरुद्धको युक्रेनको लडाइँमा अमेरिका सबैभन्दा ठूलो सैन्य सहायता प्रदायक हो । त्यसपछि दोस्रोमा जर्मनी रहेको छ ।

‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

वीरगञ्ज (पर्सा) – मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो । यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२÷७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो ।

भन्सार विभागको आव २०७२÷७३ को तथ्याङ्कअनुसार कुल सात खर्ब ७४ अर्ब ७१ करोड मूल्य बराबरको वस्तु तथा सामान आयात भएर नेपाल भित्रिएको थियो । सो वर्ष असोजदेखि माघसम्म चलेको मधेस आन्दोलन र अघोषित नाकाबन्दीको कारणले कुल आयातमा वीरगञ्ज भन्सार कार्यालयको हिस्सा २३ दशमलव ५० र यहाँकै अर्काे सुक्खा बन्दरगाह भन्सार कार्यालयको हिस्सा भने १२ दशमलव २३ प्रतिशत रह्यो ।

आन्दोलनका कारणले नाका बन्द भएसँगै यहाँबाट हुने आयात मात्रै खुम्चिएन, यहाँबाट हुने आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको थियो । सोही वर्ष भैरहवा भन्सार कार्यालयबाट कुल आयातको २४ दशमलव ०७ अर्थात रु एक खर्ब ८६ अर्ब ४८ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।

संविधान जारी भएको नौ वर्षपछि भने वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने कुल आयातको सामानमा भने फेरि पहिलाकै जस्तै गुल्जार देखिएको छ । अहिले वीरगञ्जका दुई ठूला भन्सार नाकाबाट कुल आयातको झन्डै ५० प्रतिशतको हाराहारीमा वस्तु तथा सामान आयात हुँदै आइरहेको छ ।

मधेस आन्दोलन र नाकाबन्दीले आयातमा खुम्चिएको वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह भन्सारबाट आव २०८०÷८१ मा आइपुग्दा कुल रु १५ खर्ब ९२ अर्ब आठ करोडको आयातमध्ये वीरगञ्ज भन्सारको योगदान ३४ दशमलव ३० प्रतिशत र सुक्खा बन्दरगाहको योगदान १२ दशमलव ७८ रहेको छ । कुल आयातमा भैरहवा भन्सार कार्यालयको योगदान भने १५ दशमलव २३ प्रतिशत रहेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले संविधान जारी भएसँगै भएको मधेस आन्दोलन र अघोषित नाकाबन्दीपछि आयात पुरानै लयमा फर्किए पनि उद्योग र व्यापार व्यवसायमा सुधार नआएको बताउनुभयो । “वीरगञ्जमा सुविधासम्पन्न सुक्खा बन्दरगाहा र एकीकृत जाँचचौकीलगायत पूर्वाधारका कारणले यहाँबाट हुने आयात पुरानै अवस्थामा फर्किसकेको छ,” उहाँले भन्नुभयो, “संविधान जारी भएसँगै भएको आन्दोलनको कारणले विस्थापित भएका उद्योगी, व्यवसायी र बजार भने अझै फर्किन सकेको छैन ।”

वरिष्ठ उपाध्यक्ष गौतम मधेस आन्दोलनपछि वीरगञ्ज केन्द्रित रहेका उद्योगधन्दा विस्तारै बारा र हेटौँडातर्फ विस्तारै सर्ने क्रम बढेको पनि गुनासो व्यक्त गर्नुहुन्छ । “वीरगञ्ज भन्सार कार्यालयबाट हुने सवारीसाधनको आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको देखिन्छ,” उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व र उद्योगमैत्री वातावरणले पनि ठूलो अर्थ राख्ने रहेछ ।”

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले कुल आयातमध्ये एक तिहाइभन्दा धेरै आयात वीरगञ्ज भन्सार कार्यालय हुने बताउनुहुन्छ । “कुल आयातमध्ये वीरगञ्जबाट हुने आयातको योगदान सन्तोषजनक नै देखिन्छ,” उहाँले भन्नुभयो, “कुन वस्तु तथा सामान कहाँबाट आयात गर्ने भन्ने कुरा नितान्त व्यापारी तथा व्यवसायीमा निर्भर हुने गर्छ ।” उहाँका अनुसार वीरगञ्ज भन्सार कार्यालय हुँदै मुख्यगरी पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ र सवारीसाधन आयात धेरै हुने गर्छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७३÷७४ सालदेखि नै वीरगञ्जका दुवै भन्सार कार्यालयबाट हुने आयातमा उल्लेखनीय सुधार भएको देखिन्छ । सो आवमा रु नौ खर्ब ८४ अर्ब ३० करोड आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव १२ प्रतिशत रह्यो भने सुक्खा बन्दरगाह कार्यालयको भने ११ दशमलव ७६ प्रतिशत रह्यो । सोही आवमा भैरहवा भन्सारको भने १८ दशमलव ५५ प्रतिशत रह्यो ।

यस्तै, आव २०७४÷७५ मा पनि नेपालमा १२ खर्ब ४५ अर्ब १० करोड मूल्य पर्ने सामान आयात भएको देखिन्छ । यसमा वीरगञ्ज भन्सार र सुक्खा बन्दगाहको हिस्सा क्रमशः ३३ दशमलव ८९ र १० दशमलव ४९ प्रतिशत रह्यो । जसमा भैरहवा भन्सारको योगदान भने १७ दशमलव ९९ प्रतिशत थियो ।

विभागका अनुसार आव २०७५÷७६ मा रु १४ खर्ब १८ अर्ब ५३ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकबाट भित्रियो । जसमा वीरगञ्ज भन्सारको योगदान ३४ दशमलव ७३ प्रतिशत, भैरहवा भन्सारको योगदान १६ दशमलव ९२ र सुक्खा बन्दरगाहको योगदान भने १० दशमलव ९२ प्रतिशत रह्यो ।

विसं २०७६ चैतको पहिलो सातादेखि कोभिड– १९ को महामारी नियन्त्रण गर्न भन्दै गरिएको बन्दाबन्दीको कारणले पनि अघिल्लो वर्षको तुलनामा मुलुकभरिको समग्र आयातमा नै सङ्कुचन आयो । सो आवमा रु ११ खर्ब ९६ अर्ब ७९ करोड मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार नाका हुँदै ३४ दशमलव ३७ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह हुँदै भने १३ दशमलव ८४ प्रतिशत र भैरहवा हुँदै भने १६ दशमलव ६१ प्रतिशत आयात भएको देखिन्छ ।

कोभिड–१९ को महामारीको कारणले सङ्कुचित आयात आव २०७७÷७८ मा भने उल्लेखनीय सुधार हुँदै रु १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार बराबरको वस्तु तथा सामान आयात भयो । कुल आयातमध्ये वीरगञ्ज भन्सार नाका हँुदै एक तिहाइ अर्थात् ३३ दशमलव २३ प्रतिशत रह्यो । सुक्खा बन्दरगाह हुँदै भने कुल आयातको १२ दशमलव ३० प्रतिशत र भैरहवा भन्सार नाकाबाट कुल आयातको १८ दशमलव २९ प्रतिशत आयात भएको देखिन्छ ।

कोभिड–१९ को असर र प्रभाव कम भएसँगै आव २०७८÷७९ मा रु १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार बराबरको आयात भयो । जसमा वीरगञ्ज भन्सार कार्यालय हुँदै ३६ दशमलव ७८ प्रतिशत अर्थात् रु सात खर्ब छ अर्ब ३८ करोड ७९ लाख ६७ हजार बराबरको आयात भयो । त्यस्तै, सुक्खा बन्दगाह हुँदै कुल आयातको ११ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई खर्ब १७ अर्ब ९८ करोड ३४ लाख ३० हजारको आयात भयो । त्यस्तै, भैरहवा भन्सार कार्यालयबाट भने कुल आयातको १५ दशमलव ४० प्रतिशत अर्थात् रु दुई खर्ब ९५ अर्ब ६७ करोड १० लाख ५१ हजार बराबरको आयात भएको थियो ।

विभागको तथ्याङ्कअनुसार आव २०७९÷८० मा रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार कुल आयात भएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार हुँदै ३६ दशमलव ८२ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालय हुँदै कुल आयातको १२ दशमलव ५५ प्रतिशत र भैरहवा भन्सारबाट भने कुल आयातको १५ दशमलव १९ प्रतिशत आयात भएको देखिन्छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष कुमार टेमानीले कोभिड–१९ महामारीपछि सरकारले अँगालेको नीतिको कारणले अर्थतन्त्रमा ठूलो खालको समस्या निम्तिएकाले पनि उद्योग र व्यापार क्षेत्रको गुल्जार अझै नफर्किएको बताउनुभयो । “कोभिड–१९ पछि राष्ट्र बैङ्कले अघि सारेका नीतिकै कारणले अर्थतन्त्रमा निकै ठूला खालका समस्या ल्याउने काम ग¥यो”, उहाँले भन्नुभयो, “जुन नीतिको कारणले उद्योगधन्दा अझैसम्म लयमा फर्किन सकेको छैन ।”

वीरगञ्ज वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम पनि कोभिड–१९ महामारी सकिएपछि पनि उद्योगधन्दा मुस्किलले ३० देखि ४० प्रतिशतको हाराहारीमा मात्रै चल्दै आएको गुनासो गर्नुहुन्छ । “कोभिड–१९ को महामारीपछि ठूला उद्योग ३० देखि ४० प्रतिशत मात्रै उत्पादन गर्दै आइरहेका छन्,” उहाँले भन्नुभयो, “उद्योग÷कलकारखानालाई खर्च धान्न पनि समस्या हँुदै आइरहेको छ । कोभिड–१९ पछि बारा–पर्सामा नगण्य मात्रामा मात्रै उद्योगधन्दा थपिएका छन् ।”

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

खोटाङ – यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पु¥याई बुबाको शव परीक्षण गराउनुभयो ।

जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी १३ किलोमिटर छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा रु नौ हजारमा ‘रिजर्भ’ गर्न पाइने ट्याक्टरले शव बोक्न दोब्बर भाडा लियो ।

सोही प्रकृतिबाट मृत्यु भएकी खोटेहाङ गाउँपालिका–४ बडकादियालेकी ५५ वर्षीया गङ्गामाया विश्वकर्माको शव परीक्षणका लागि पनि ट्याक्टर नै रिजर्भ गर्नुप¥यो । कमजोर आर्थिक अवस्था भएका मृतकका आफन्तले चन्दा सङ्कलन गरी रु ४५ हजारमा रिजर्भ गरी शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याए ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी तथा आधारभूत अस्पताल इन्द्रेणीपोखरीमा कार्यरत डाक्टरहरु दसैँ बिदामा गएकाले ट्याक्टर रिजर्भ गरेर विश्वकर्माको शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याउनुपरेको सो वडाका वडाध्यक्ष तिलकबहादुर बस्नेतले बताउनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा एउटा पनि शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाउने मृतकका आफन्तले चर्को मूल्यमा ट्याक्टर रिजर्भ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ । स्थानीय तहले करोडौँ मूल्यका सवारीसाधन खरिद गरे पनि शव वाहन खरिद गरेका छैनन् । जसले गर्दा शव परीक्षण गर्नुपर्ने प्रकृतिका मृतकका आफन्तले ट्याक्टर रिजर्भ गर्नुपर्ने बाध्यता छ ।

शव परीक्षण गराउँदासमेत कार्यालय सहयोगीले रु दुई हजार मागेर लगेको वडाअध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निःशुल्क गरेको शव परीक्षणमा डाक्टरलाई सहयोग गर्ने कार्यालय सहयोगीले पैसा मागेर हैरान पार्दो रहेछ ।”

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा जिल्लाका विभिन्न ठाउँमा १३ जनाले आत्महत्या गरेका छन् । ती सबैका परिवारले ट्याक्टरमै महङ्गो भाडा तिरेर शव बोकाउनुपरेको गुनासो मृतक परिवारका आफन्तले गरेका छन् । वर्षभरि हुने यस्ता प्रकृतिका घटनामा सयौँ सर्वसाधारण आर्थिक भारमा पर्दै आएका छन् ।

भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गरिने

काठमाडौँ – नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल थालेको हो ।

भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताउनुभयो । मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादकलगायत व्यवसायीबाट गहुँ, पिठो र मैदा सहजरुपमा आपूर्तिको माग आएपछि गहुँ आयातको पहल थालिएका र यसप्रति भारत सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो ।

मैदा व्यवसायीले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयले आग्रह गरेको प्रवक्ता अधिकारीले बताउनुभयो । बजारमा कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए पनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक सङ्घ सहमत भएको सङ्घका उपाध्यक्ष दिनेश अग्रवालले बताउनुभयो । नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेकाले उहाँले सरकारलाई सहज गरिदिन आग्रह गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने तथा अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताउनुभयो ।

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । “मनसुन सिजनमा हेलिकप्टरको हिमाल नजिक गएर साइड सिन देखाउने (माउन्टेन फ्लाइट), हेलिकप्टरको तल सामान भुण्ड्याएर गर्ने ‘सिलिङ फ्लाइट’, ‘पुष्पवृष्टि फ्लाइट’उडानको प्रतिबन्ध हटाइएको छ ।”

प्राधिकरणले वर्षात्को समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुन समयमा यस्तो प्रकृतिको हेलिकप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ । मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिन्छ । यो वर्ष जुन १० बाट सुरु भएको मनसुन १२ अक्टोबरदेखि नेपालबाट बाहिरिएको थियो ।

मनसुनको समयमा जतिबेला पनि मौसम परिवर्तन हुनसक्ने र हेलिकप्टर उडानमा जोखिम हुने भएकाले प्राधिकरणले हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको सूचना अधिकारी भुलको भनाइ छ ।

यसैबीच हेलिकप्टर उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाटै दिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी भुलले मनसुन हटेसँगै ‘नर्मल कार्गो’ तथा प्यासेन्जर उडान र उपत्यकाभित्र हुने उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिने व्यवस्था गरिएको बताउनुभयो ।

यसअघि १३ जुलाई २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि हेलिकप्टर उडानका लागि लिनुपर्ने सबै उडानको अनुमति प्राधिकरण प्रधान कार्यालयबाटै दिने व्यवस्था गरिएको थियो ।

काठमाडौँ उपत्यका बाहिरको हकमा मात्रै केन्द्रीय कार्यालयले हेलिकप्टर उडानको अनुमति दिने प्राधिकरणले जनाएको छ । अब पाइलटको चेक, नन कमर्सियल, सिलिङ र अन्य विमानस्थलबाट सुरु हुने उडानमात्रै अनुमतिका लागि प्राधिकरण प्रधान कार्यालय जानुपर्ने व्यवस्था गरिएको छ ।

“अघिल्लो वर्ष मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि देशभरको सम्पूर्ण हेलिकप्टर उडानको अनुमति प्रधान कार्यालयबाट दिने व्यवस्था गरेका थियौँ, अहिले काठमाडौँ विमानस्थल र उपत्यकाबाट सञ्चालन हुने हेलिकप्टरको हकमा उडान अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिनेगरी प्राधिकरणले विमानस्थललाई अधिकार फिर्ता गरेको छ । असोज २४ गतेदेखि अनुमति पहिला जसरी दिइन्थ्यो त्यसैगरी हुने व्यवस्था गरिएको छ”, प्राधिकरणका सूचना अधिकारी भुलले भन्नुभयो ।

राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण

राजविराज (सप्तरी), २ कात्तिक : राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो ।

कारागार आसपासका स्थानीयले जग्गामा घरटहरा बनाएका कारण जग्गा अतिक्रमणमा परेको जेलर प्रवीणकुमार अधिकारीले बताउनुभयो । अतिक्रमित जग्गामा पक्की र फुसका गरी ८० वटा घर निर्माण भइसकेका छन् । अतिक्रमित जग्गा खाली गराउन कारागार प्रशासनले विभिन्न समयमा राजविराज नगरपालिका, कारागार विभाग र स्थानीय प्रशासनले विगत १० वर्षदेखि ‘अतिक्रमित जग्गा खाली गर्ने’ सम्बन्धी ३५ र १५ दिने सूचना पटकपटक जारी गरे पनि कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

विसं २००८ मा निर्माण भएको राजविराज कारागार सरकारी उपेक्षाका कारण जीर्ण, लथालिङ्ग र असुरक्षित बन्दै गएको छ । एक सय २५ जना कैदी राख्ने क्षमताको सो कारागारमा हाल १४ महिलासहित चार सय ७६ कैदीबन्दी राखिएको जेलर अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “एकातिर जीर्ण भवन अर्कातिर क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी राख्नुपर्दा जोखिमसँगै निगरानी र व्यवस्थापन गर्न समस्या भएको छ ।” उहाँका अनुसार पुरानो, जीर्ण र साँघुरो कारागारमा चौब्बर कैदीबन्दी कोचिएर राखिएको छभने अर्कातिर अतिक्रमण, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी, जेनरेटर, इन्भर्टरलगायत भौतिक सामानसमेत अभाव छ ।

कारागारमा दम, श्वासप्रश्वास, प्यारालाइसिस, उच्च रक्तचाप, मधुमेहलगायत रोगले पीडित कैदीबन्दीको सङ्ख्या ठूलै रहे पनि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको उहाँको भनाइ छ । कैदीबन्दी अहिलेसम्मकै उच्च सङ्ख्या भएको भए पनि दरबन्दीअनुसारको पदपूर्ति हुनसकेको छैन ।

क्षमताभन्दा धेरै कैदीबन्दी राख्दा समस्या भएपछि सङ्ख्या घटाउन अन्यत्रको कारागारमा सरुवाको प्रयास गरे पनि घरपायक मोहका कारण कैदीबन्दी अन्यत्रका कारागारमा जान नमानेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा चौब्बर कैदीबन्दी भएपछि शौच र नुहाउनेदेखि खाना पकाउन र खान पनि लाइन लाग्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको भनाइ छ ।

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

तम्घास (गुल्मी), २ कात्तिक : बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिएका छन् । गुल्मीका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुँदै आएको छ । रोजगारीका सिलसिलामा देशका विभिन्न स्थान एवं विदेशमा रहेकाहरू दसैँ मान्न घर आएका हुन्छन् । जसले गर्दा पनि गुल्मीका शक्तिपीठमा भीड बढेको थियो ।

धुर्कोट गाउँपालिका–४ जैसीथोकको सम्भीर कुँवरका अनुसार पछिल्लो समय सराँय व्यवस्थित हुँदै गएको छ । जैसीथोकको बाहुनगाउँमा त्रयोदशीका दिनमा सराँय हुने गर्दछ । दुई वर्ष कोरोना एवं एक वर्ष र त्यसपछिका तीन वर्ष खासै राम्रो सराँय बाहुनगाउँमा भएको थिएन । तर यसपालि भने गत वर्षभन्दा निकै राम्रो भएको छ ।

गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा सराँय नाच निकै पुरानो तथा ऐतिहासिक नाच हो । यस वर्ष अष्टमी र नवमी एकैदिन परेकाले बलि दिने बेला मन्दिरमा कम मात्रै उपस्थिति भयो । तर सराँयमा भने उल्लेख्य सहभागिता देखियो । एकादेशीदेखि पूर्णिमासम्म गुल्मीका सयभन्दा बढी शक्तिपीठमा सराँय हुने गर्दछ ।

पूर्णिमाका दिन धुर्कोट कोटलगायत कोतहरूमा हुने सराँय झनै महत्त्वपूर्ण मानिन्छ । “सराँयका लागि धुर्कोट कोटमा प्रत्येक वर्ष उल्लेख्य मात्रामा नागरिकको उपस्थिति रहने गर्दछ, पछिल्लो समय स्थानीय सरकारले समेत केही संरचना निर्माण गरेर सराँयाका लागि सहज बनाइ दिएको छ”, धुर्कोट–६ का युवा हरिबहादुर केसीले भन्नुभयो, “गाउँमा रौनक बढेको छ, पूर्णिमा सकिएलगत्तै गाउँ आएका मानिस सहर फर्कन्छन् ।”

हतियार प्रदर्शनमा रोक, संस्कृति लोप

मन्दिरमा भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरबार, खुँडा, खड्ग आदि हतियार एकापसमा ठोक्याउँदै ‘वाख्खै वा’ को भाषामा सराँय खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरुन्’, ‘बाँचे आइसल’ जस्ता भाका सराँय नाचमा प्रयोग हुन्छन् । केही समय पहिले हतियार नै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो सयम त्यो छैन । हतियार प्रदर्शन गर्दा दुर्घटना हुने डर बढी हुने भएकाले यो पछिल्लो समय छाडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ । पहिलेपहिले राति अबेरसम्म हुने सराँय नाच पनि अहिले बेलुका बढीमा पाँच या छ बजेसम्म मात्रै हुन्छ । यो कुराले बूढापाका भने सन्तुष्ट छैनन् । “हतियारबिना त सराँय नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने”, इस्मा गाउँपालिका मैदानमा सराँय खेल्न पुगेका नारायण कुँवरले भन्नुभयो, “यस्ता कुराले मनमा नरमाइलो लाग्दोरहेछ ।”

सोही ठाउँकै गोविन्द महतले पनि सुरक्षा व्यवस्थामा ध्यान दिँदै सराँयका आधारभूत हतियारलाई प्रदर्शन गर्न दिइनुपर्ने बताउनुभयो । “हतियार वर्षमा एकदिन देखाउने हो, यो हाम्रो संस्कृति हो, निश्चित मापदण्ड बनाएर भए पनि प्रदर्शन गर्दा राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

राष्ट्रकै गहना, पर्यटन प्रवर्द्धनमा सहयोग

सराँय नाच नेपालका पश्चिमी जिल्लामा मात्र नाच्ने गरिन्छ । सराँय हेर्नकै लागि बसाइँ सरेकासमेत केही दिनको लागि आफ्नो घर फर्कन्छन् । सराँय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्दमात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसरसमेत पाउँछन् ।

सराँय नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । त्यस्तै चनाचटपटे, अम्बा, किराना, बालबालिकाका खेलाउनालगायत सामग्रीको राम्रो व्यापार हुन्छ । दसैँमा पाइने यस्ता खानेकुरा र शक्तिपीठको महत्त्व अरुलाई पनि बुझाउनसके पर्यटक प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने रेसु्ङ्गा बहुमुखी क्याम्पसका उपप्रध्यापक रामप्रसाद खनाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सराँय र शक्तिपीठको महत्व विभिन्न माध्यमबाट प्रचार गर्नु जरुरी छ, यसबाट ठूलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।” सराँयले गर्दा पर्यटक भित्र्याउन सके रोजगारीसमेत सिर्जना हुने र आम्दानीको स्रोत बढ्ने उपप्रध्यापक खनालले बताउनुभयो ।

यसरी सुरु भयो सराँय

पौराणिक भनाइअनुसार घटस्थापनादेखि नौ दिनसम्म देवीको पूजा गर्दा महाकाली उत्पत्ति भइन् । पछि महाकाली ठूली हुँदै गइन् र राक्षसलाई मारिन् पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टीका लगाउने प्रचलन बस्यो भने राउण्डेलाई मारेको उत्सवमा हजारौँ वर्षअघि द्वापरयुगमा सराँय खेल्न थालिएको पौराणिक इतिहास छ ।

एकादशीका दिन गुल्मीको इश्मा मैदान र धुर्कोट वस्तुमा सराँय नाच्ने गरिन्छ । द्वादशीका दिन बुल्म, त्रयोदशीको दिन जैसीथोकको बाहुनगाउँ, चतुर्दशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघालगायत क्षेत्रमा सराँय नाच्ने गरिन्छ ।

संरक्षण गर्ने प्रयासमा स्थानीय तह

अहिले गाउँगाउँमा स्थानीय सरकार छन् । त्यसैले पनि सराँयजस्ता मौलिक धर्म संस्कृतिलाई जोगाउने दायित्व अब सरकारले पनि बहन गर्नुपर्छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूहरूले धुर्कोट कोटलगायत मन्दिरमा संरचना थप, मर्मत गर्नेलगायत काम गरेर सराँय नाचलाई व्यवस्थित गर्न लागिपरेको बताउनुभयो । “बसाइँसराइले गर्दा गाउँमा नागरिकको सङ्ख्या कम छ”, उहाँले भन्नुभयो, ‘दसैँमा घर आउने भएकाले सराँयमा उल्लेख्य सहभागिता देखिन्छ ।”

यस्तै इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले गाउँपालिकाभित्रका विभिन्न कला, संस्कृति र परम्परा जोगाउन आफूहरू योजनाबद्ध रूपमा लागेको बताउनुभयो । उहाँले अहिले तीज गीत प्रतियोगिता, पञ्चेबाजा संरक्षण, मठ मन्दिरको संरक्षणलगायत काम भइरहेकाले अब विस्तारै ऐतिहासिक कला संस्कृतिको प्रचारप्रसार र जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौँ, २ कात्तिक : काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ ।

उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो ।

अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु एक लाख जरिवाना गराइएको कामपाले जनाएको छ ।

अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भयो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसो भएपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो ।

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो । निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन । कामपाले पटकपटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई कामपाले रु १५ हजार जरिवाना गरेको थियो ।

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

दमौली (तनहुँ), २ कात्तिकः बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ ।

बुद्धसिंह मार्गका दजैनाँै ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर नाल्दीघाटको पहिरा अझैसम्म हटाइएको छैन । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो । नाल्दीको पहिरा हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापाको गुनासो छ ।
नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइए पनि प्रगति नभएको थापा बताउनुहुन्छ ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट सँुढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

दमौलीबाट सुडेसम्म करिब दश किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्डको कालोपत्र २०८२ जेठ ३० गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ ।

जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान : मन्त्री अधिकारी

काठमाडौँ, २ कात्तिक : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको टोली सहभागी भएको हो ।

मञ्चको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रुपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गर्नुभयो ।

नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्त्वपूर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुनसक्ने बताउनुभयो ।

बैठकमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी हुनुभएको कृषिमन्त्री अधिकारीका प्रेस संयोजक प्रवीण पोखरेलले बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २ कात्तिकः नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ एक पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

कञ्चनपुर, २ कात्तिक : औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको कार्य सुरु गरिएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा अनुसन्धान सुरु गरेको हो । डेल्टामेथ्रिन, अल्फासाइपरमेथ्रिन र लैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हँुदै आएको छ । तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो ।

“माउथ एस्पिरेटरको माध्यबाट औलो प्रभावित क्षेत्रबाट लामखुट्टे सङ्कलनको कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलन गरिएका लामखुट्टेलाई ल्याबमा लगेर परीक्षण हुन्छ, एकपटकमा एक सय ५० लामखुट्टेमा अध्ययनको कार्य हुन्छ, यो प्रक्रियामा २६ घण्टा लगाएर ल्याब परीक्षणको कार्य पूरा हुन्छ ।”

अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उहाँको भनाइ छ । विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विष्लेशण गरी विषादीले काम गरे÷नगरेको निक्र्योल गरिने अधिकृत जोशीले राससलाई बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन सुरु गरिएको छ । एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ । दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ ।

भारतमा नौ प्रजातिका लामखुट्टेले औलो सार्ने भए पनि नेपालमा गरिएको अध्ययनमा एनोफिलिस फ्युवियाटिलिस, एनोफिलिस म्याकुलाटस कम्पलेक्स र एनोफिलिस एन्युलरिस नामक तीन प्रजातिका लामखुट्टेले औलो सार्ने गरेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने औलो रोगबाट कैलाली र कञ्चनपुर उच्च जोखिममा छन् ।

आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्म औलोका बिरामीको सङ्ख्या सुदूरपश्चिम प्रदेशमा दुई सय ४७ रहेकामा आयातित बिरामीको सङ्ख्या दुई सय २९ रहेको थियो ।

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ ।

समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो ।

कात्तिक १ गतेदेखि १५ दिनभित्र पनि दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एकाघरका परिवारका सदस्यको श्रीसम्पत्ति बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको श्रीसम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) र सहकारी नियमावली, २०७५ बमोजिम असुलउपर गरिने पनि सूचनामा उल्लेख गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन, २०७४ को उपदफा १०४ बमोजिम सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको उनले बताए ।

समस्याग्रस्त घोषित भई सहकारी ऐन, २०७४ को उपदफा १०५ बमोजिम सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि मन्त्रालयले समितिसमक्ष लेखी पठाएअनुसारको प्रक्रियामा काम भइरहेको पनि समितिले जनाएको छ । सरकारले करिब दुई दर्जन सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा (सुनसरी), २ कात्तिक : दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हँुदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा परेका छन् भने रु ५१ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दसैँका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।

देशभरको तापक्रम क्रमशः घट्दो

काठमाडौँ, २ कात्तिकः हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ ।

विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त

काठमाडौँ, १ कात्तिक : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरेको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यही कात्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने त्रिकोणात्मक शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त शृङ्खलाका लागि पूर्वप्रशिक्षक दासानायकेलाई मेन्टरको भूमिका निर्वाह गर्ने गरी मनोनयन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

पूर्वप्रशिक्षक दासानायकेले उक्त प्रतियोगिता अवधिभर नेपाली टोलीको मेन्टरको भूमिका निर्वाह गर्नुहुनेछ । उक्त शङ्खलामा नेपालले पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग खेल्नेछ भने तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । चौथो तथा अन्तिम खेलमा नेपालले कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली जनकपुर बोल्ट्सले दासानायकेलाई केही दिनअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । लिग–२ को उक्त शृङ्खला सकिएपछि दासानायके नेपाल प्रिमियर लिगका लागि नेपाल आउनुहुने बताइएको छ ।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ, १ कात्तिक : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।

उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी दिनुभयो ।

त्यसैगरी, वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने प्रवक्ता सापकोटाले बताउनुभयो ।

बार अध्यक्षसँग सात दिनभित्र लिखित जवाफ माग

काठमाडौँ, १ कात्तिक : सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै म्याद सूचना पाएको मितिले सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटोका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखितजवाफ पेस गर्नु ।”

नेपाल बार एशोसिएशनका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी घिमिरले अदालतको अवहेलनासम्बन्धी पेश गरेको प्रतिवेदन फिर्ता लिने घोषणा गर्नुभएको थियो । तर आज उक्त प्रतिवेदनमाथि सुनुवाइ हुँदै उक्त आदेश जारी भएको हो ।

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

काठमाडौँ, १ कात्तिक : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म रु एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ ।

गत असोज २३ गतेसम्म रु एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट टे«डिङ कर्पोरेशनबाट रु ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट रु १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट रु पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट रु नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट रु तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो ।

त्यस्तै, सोही दिन स्वर्ग पवित्रा सत्य सुन्दर समाजबाट रु तीन लाख, सिमोनबाट रु एक लाख ९३ हजार, सोनापुर टोल विकास संस्थाबाट रु १३ हजार तीन सय १५ सहयोग प्राप्त भएको सचिवालयले जनाएको छ ।

चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत

जनकपुरधाम, १ कात्तिकः गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०/८१मा चार सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ ।

सो कार्यालयले दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्र्ने एक हजार सात सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताउनुभयो ।

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापगरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारवाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा रु ४० लाख ६७ हजार दुई सय ४२ राजस्व सङ्कलन गरेको जनाएको छ ।

भारतमा विक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट

फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।नोकियाले तेस्रो त्रैमासिकमा ४.३ अर्ब युरो (४.७ अर्ब डलर) को बिक्री को घोषणा गरेको छ । यो एक वर्ष पहिलेको तुलनामा आठ प्रतिशत कम हो र ब्लूमबर्गद्वारा सर्वेक्षण गरिएको विश्लेषकहरूले अनुमान गरेको भन्दा कम हो।

कम्पनीले भनेको छ, “मुख्यतया भारतमा मोबाइल नेटवर्कमा आएको गिरावटका साथै क्लाउड र नेटवर्क सेवाहरूमा भएको विनिवेशले बिक्रीलाई प्रभावित गरेको छ।”

नोकियाका प्रमुख कार्यकारी पेक्का लुन्डमार्कले भन्नुभयो, “सुधारिएको उत्पादन मिश्रण, क्षेत्रीय मिश्रण र उत्पादन लागत कम गर्ने कार्यहरूको संयोजनबाट प्रेरित मुनाफा ३२ प्रतिशतले बढेर १७ करोड ५० लाख युरो पुगेको छ।

लुन्डमार्कले भन्नुभयो, “नोकियाले अहिले हाम्रो व्यवसायलाई धेरै क्षेत्रमा पछि पारिरहेको छ, यद्यपि केही क्षेत्रले बजार कमजोरीको अनुभव गरिरहेका छन्।”

लुन्डमार्कले भन्नुभयो, “कम्पनीले आफ्नो सञ्चालन मुनाफा २.३ अर्बदेखि २.९ अर्ब यूरोको बीचमा राखेको छ। यद्यपि शुद्ध बिक्रीको रिकभरी ‘हामीले अपेक्षा गरेभन्दा ढिलो भइरहेको छ’ ।”

फिनल्यान्डको बजार अनुसन्धान फर्म टेन्डर्सका विश्लेषक अट्टे रिकोलाले एएफपीलाई बताएअनुसार नोकियाको आम्दानीको विकास केही अपवादबाहेक अपेक्षाअनुरूप नै भएको छ ।

रिकोलाले भन्नुभयो, “नोकियाको खुद बिक्री एक वर्षदेखि घट्दै गएपनि अहिले भने सामान्य सुधारको अपेक्षा गरिएको छ । खूद् बिक्री अझै घटेको छ किनभने बजारमा सुधार अपेक्षित रूपमा छिटो हुन सकेको छैन ।”

रिकोलाले नेटवर्क व्यवसायमा चुनौती रहेको भन्दै नोकियाका लागि अर्को एक वर्ष कठिन हुने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले एक अर्को वर्ष आम्दानी नबढ्ने अनुमान गरिएको छ ।”

नोकिया, स्वीडेनको एरिक्सन र चीनको हुवावेजस्ता प्रमुख दूरसञ्चार उपकरण निर्माताहरूले आफ्ना ग्राहकहरू अर्थात् टेलिकम अपरेटरहरूको लगानीमा मन्दी र भारतमा सुस्त वृद्धिको सामना गरेका छन्।

रिकोलाले भन्नुभयो, “अझै धेरै वर्षसम्म बजार वृद्धि कायम राख्न कठिन हुनेछ।”एरिक्सन र नोकियाले फाइभजी उपकरणको माग कम हुँदै गएपछि लागत र रोजगारी कटौती गरिरहेका छन् ।
गत वर्ष अक्टोबरमा ८६ हजार कर्मचारीमध्ये १४ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।एरिक्सनले यस साताको तेस्रो त्रैमासिकमा बिक्रीमा चार प्रतिशतले गिरावट आएको जनाएको छ ।

निर्वाचन नजिकिँदै गर्दा बाइडेनद्वारा ४४ अर्ब ५० करोड डलर विद्यार्थी ऋण राहत स्वीकृत

राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गर्नुभएको छ ।

पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्र्ने ह्वाइट हाउसले बताएको छ ।

ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार हुनुहुन्छ । उहाँले रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ।

यो घोषणा कोभिड–१९ महामारीपछि घरपरिवारहरूले उच्च जीवनयापन लागतको भार महसुस गरिरहेको र मतदाताहरूले सर्वेक्षणहरूमा अर्थतन्त्रलाई महत्त्वपूर्ण चिन्ताका रूपमा उल्लेख गरेको बेलामा आएको छ ।

पछिल्लो कदमसँगै सार्वजनिक सेवा ऋण माफीअन्तर्गत १० लाखभन्दा बढी मानिसको ऋण रद्द गरिएको राष्ट्रपति बाइडेनले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

शिक्षक, नर्स र अन्य व्यक्तिहरूलाई समर्थन गर्ने कार्यक्रमको प्रतिबद्धतामा १० वर्षको सार्वजनिक सेवा र १० वर्षको भुक्तानीपछि विद्यार्थी ऋण माफी समावेश थियो ।

“धेरै लामो समयसम्म सरकारले आफ्नो प्रतिबद्धताहरू पूरा गर्न असफल भयो र केवल सात हजार मानिसले मात्र माफी पाएका थिए”, बाइडेनले भन्नुभयो, “म उच्च शिक्षालाई किफायती बनाउन कहिल्यै काम गर्न रोक्ने छैन ।”

उपराष्ट्रपति ह्यारिसले उच्च शिक्षा जीवनभरको ऋण नभई आर्थिक अवसरको मार्ग हुनुपर्ने बताउनुभयो । उहाँले पनि लागत कम गर्न, उच्च शिक्षालाई अझ किफायती बनाउन र विद्यार्थी ऋणको भार कम गर्न काम जारी राख्ने प्रतिज्ञा गर्नुभयो ।

कोरोना भाइरस महामारीको समयमा पूर्वराष्ट्रपति ट्रम्पले लागू गर्नुभएको विद्यार्थी ऋण भुक्तानीको रोक्कापछि बाइडेनले लाखौँ अमेरिकीका लागि विद्यार्थी ऋण रद्द गर्ने प्रयासहरू सुरु गर्नुभएको छ ।

अमेरिकीहरूसँग चार सय ११ खर्ब डलर विद्यार्थी ऋण छ र केहीले जागिर र परिवार सुरु गर्दा दशकौँसम्म तिर्नुपर्ने हुन्छ ।

यस हिउँदमा ३ लाख ४५ हजार गाजाबासीले ‘विनाशकारी’ भोकमरीको सामना गर्ने

सहायता वितरणमा कमी आएकाले यस हिउँदमा करिब तीन लाख ४५ हजार गाजाबासीले ‘विनाशकारी’ स्तरको भोकमरीको सामना गर्ने संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले बुधबार बताएका छन् । साथै उनीहरूले प्यालेस्टिनी क्षेत्रभर अनिकालको निरन्तर जोखिमबारे चेतावनी दिएका छन् ।

राष्ट्रसङ्घीय एजेन्सी र गैरसरकारी संस्थाहरूले सङ्कलन गरेको वर्गीकरणअनुसार यो सङ्ख्या हाल ‘विनाशकारी खाद्य असुक्षा’ अनुभव गरिरहेका एक लाख ३३ हजार मानिसबाट बढेको हो ।

यस गर्मीमा मानवीय सहायतामा वृद्धिले गाजाबासीहरूलाई केही राहत दिएको भए पनि मार्च यताकै सबैभन्दा कम मात्रामा व्यापारिक एवं मानवीय आपूर्तिहरू सेप्टेम्बरमा प्रवेश गरेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) प्रतिवेदनमा उल्लेख छ ।

यसबाट सन् २०२४ नोभेम्बर र सन् २०२५ अप्रिलबीच विनाशकारी खाद्य असुरक्षा– आइपिसी चरण ५– अनुभव गर्नेहरूको सङ्ख्या सम्भवतः तीन लाख ४५ हजार पुग्नेछ र यो कूल जनसङ्ख्याको १६ प्रतिशत हो ।

“हालैको सहायतामा तीव्र गिरावटलाई उल्टाइएन भने आगामी महिनाहरूमा परिवारहरूले आफूलाई खुवाउने र आवश्यक वस्तु तथा सेवाहरूमा पहुँच प्राप्त गर्ने क्षमतालाई गम्भीर रूपमा सीमित गर्नेछ”, प्रतिवेदनमा उल्लेख छ ।

“व्यापारिक आपूर्तिहरू घटेका छन्, ठूलो मात्रामा विस्थापन भएको छ, पूर्वाधार नष्ट भएको छ, कृषि क्षेत्र तहसनहस भएको छ र मानिसहरूसँग पैसा छैन”, राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसेनले भन्नुभयो, “यी सबै कुरा नोभेम्बरदेखि अवस्था झन् खराब हुनेछन् भन्ने आइपिसीको अनुमानमा प्रतिबिम्बित छन् ।”

अमेरिकाले मङ्गलबार इजरायललाई ३० दिनभित्र गाजा पट्टीमा सहायता वितरणमा सुधार नगरे अर्बौं डलरको सैन्य सहायताको केही भाग रोक्न सकिने चेतावनी दिएको थियो ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले बुधबार गाजा क्षेत्रमा अनिकालको जोखिमबारे चेतावनी दिनुभएको थियो ।

गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले गाजाको विशाल क्षेत्रहरू तहसनहस भएका छन् ।

“द्वन्द्व जारी रहेसम्म र मानवीय पहुँच सीमित रहेसम्म सन् २०२४ नोभेम्बर र सन् २०२५ अप्रिलबीच अनिकालको जोखिम कायमै रहन्छ”, आइपिसी प्रतिवेदनले भनेको छ, “लगातार खुम्चिँदै गएको क्षेत्रमा जनसङ्ख्याको अत्यधिक सघनताले अस्थायी आश्रयस्थलहरूमा बस्ने, मानवीय आपूर्ति र सेवाहरूमा अनियमित पहुँच, महामारी फैलने र अभूतपूर्व मात्राको विपत्तिमा परिणत हुने जोखिमलाई बढाउँछ ।”

नोभेम्बर र अप्रिलबीच छ महिनादेखि चार वर्ष उमेरका अनुमानित ६० हजार बालबालिकालाई कुपोषण हुने अपेक्षा गरिएको छ ।

“तीव्र भोक र कुपोषणलाई रोक्न हामीले अहिले नै काम गर्नुपर्छ”, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका उपमहानिर्देशक बेथ बेचडोलले भन्नुभयो, “तुरुन्तै शत्रुता रोक्न, आगामी हिउँदे बाली लगाउने मौसमका लागि समयमै वितरण गर्न महत्त्वपूर्ण र आवश्यक खाद्य सहायता र कृषि सामग्रीहरूमा मानवीय पहुँच पुनःस्थापना गर्न उनीहरूलाई खाद्यान्न उत्पादन गर्न अनुमति दिन आवश्यक छ ।”

नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

काठमाडौँ, १ कात्तिकः नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको विज्ञप्ति जारी गरी जनाएको हो । निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।