`

‘प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ’ – सांसद निधि

जनकपुर, १ कात्तिकः नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिनुभएको छ ।

पूर्वगृहमन्त्री समेत रहनुभएका निधिले जनकपुरधाम विमानस्थलमा आज रासससँग कुरा गर्दै भन्नुभयो, “सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ ।”

सङ्घीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ ।” जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उहाँले उल्लेख गर्नुभयो ।

विपद्मा जनतालाई आशा दिन सक्नुपर्छः सभापति खतिवडा

काठमाडौँ, १ कात्तिकः प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गत असोज दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिको विवरण १५ दिनभित्र सङ्कलन गरी तत्काल पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित हुन तीन तहकै सरकारसँग आग्रह गर्नुभएको छ ।

सरकारले विपद् प्रभावित १६ जिल्लाका ७२ स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा निर्धारित समयभित्रै पुनःनिर्माण र पुनःस्थापना गर्नेगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

सभापति खतिवडाले भन्नुभयो, “विपद्मा जनतालाई आशा दिन सक्नुपर्छ । सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छ ।”

गत असोज १० देखि १२ सम्मको अविरल वर्षाका कारण प्रभावित ओखलढुङ्गा जिल्लामा भएका क्षति, राहत, उद्धार र पुनःनिर्माणसम्बन्धी विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसका नेता एवं ओखलढुङ्गाका सांसद रामहरि खतिवडासँग राससले गरेको कुराकानीको सम्पादित अंशः

गत असोज १० र १२ गते परेको अविरल पानी र यसले पारेको प्रभावका बारेमा सरकार अझ चिन्तित भएर लाग्नुपर्ने देखिन्छ । धेरै ठूलो संरचना ध्वस्त भएका छन् । वर्षौं समय र अर्बौं बजेट खर्च भएका संरचना एकै क्षणमा नष्ट भएका छन् । विपद्बाट जनधनको ठूलो क्षति भएको छ । विद्युत्का पोलहरु घेरै बगाएको छभने बस्ती नै उठिबास बनाएको छ । सङ्कटग्रस्त घोषणा गरेर मात्र हुँदैन, अब सरकारले दु्रततर गतिमा सङ्घले प्रदेश र प्रदेशले स्थानीय तहलाई परिचालित गरेर सम्बन्धित ठाउँमा पुगेर पुनःनिर्माण र पुनःस्थापना गर्नुपर्छ ।

सङ्कटग्रस्त क्षेत्र घोषणा गरेसँगै युद्धस्तरमा काम गर्नुपर्छ । यसका लागि चाहिने बजेट सरकारसँग कति छ, अपुग कति हो, त्यसको तथ्याङ्क यकिन गर्नुपर्छ । स्थानीय तहबाट १५ दिनमा क्षति र प्रभावितको तथ्याङ्क लिएर बाँकी समय पुनःनिर्माण र पुनःस्थापनामा लाग्नुपर्छ । पुनःनिर्माणका नाममा वर्षौंसम्म लाग्ने अवस्थाको अन्त्य हुनुपर्छ । जाजरकोट र रुकुममा भूकम्पबाट क्षतिग्रति संरचना अझै बन्न सकेका छैनन् । पीडितले अझै राहत नपाएको चर्चा छ । अर्कातर्फ ‘गोरखा भूकम्प’बाट पीडितले अझै पहिलो किस्ता पाए पनि दोस्रो, तेस्रो पाएका छैनन्, यस आधारमा हेर्दा अहिले द्रुततर गतिमा काम गर्नुपर्छ, नभए सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको केवल ‘जनताको आँखामा छारो’ हालेको जस्तो मात्रै हुन्छ । विपद्मा जनतालाई आशा दिन सक्नुपर्छ । सरकार प्रमुख र मन्त्रीमा मात्रै आशा होइन, जनतामा पनि आशाको किरण देखिनुप-यो, त्यसका लागि सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहल गर्नुपर्छ ।

मुलुकका बारेमा सिङ्गो सरकारले सोच्नुपर्छ, अहिले पनि थुप्रै सडक अवरुद्ध छन्, तिनलाई तत्काल सञ्चालनमा ल्याउनुपर्छ । एकै वर्षमा नसकिएला तर पूर्वाधारका लागि आवश्यक सामग्री जुटाउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहयोगका लागि आह्वान गर्नुपर्छ ।

ओखलढुङ्गामा पाँच/छवटा झोलुङ्गेपुल ध्वस्त भएका छन् । तत्काल नयाँ पुल निर्माण आवश्यक छ । चम्पादेवी, मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकामा ठूलो क्षति भएको छ । सुनकोशीसँगै दूधकोशी नदी किनारमा पनि केही असर भएको छ । बल्खुमा खेतीयोग्य धेरै जग्गा बाढीले पुरिएको छ । केही स्थानमा बस्ती खतरामा छन्, त्यहाँ बस्न लायक घरहरु छैनन्, स्थानीय विस्थापित भएका छन् ।

विशेषगरी खानीजन्य तथा क्रसर उद्योग व्यवस्थित नगर्नाले पनि त्यसको प्रभाव परेको देखिन्छ । यससँगै योजनाबद्ध विकास र पुनःनिर्माण गर्न कानुन निर्माणमा ध्यान दिनुपर्ने समेत देखियो । प्राकृतिक स्रोतको अत्यधिक दोहन मात्रै गरिँदा यसबाट कस्तो क्षति भोग्नुपर्दो रहेछ भन्ने देखाएको छ । नदी किनारका बस्ती व्यवस्थित गर्नुपर्ने देखिएको छ । यसतर्फ सरकारले समयमै ध्यान दिनुपर्छ । आवश्यक योजना बनाउनुपर्छ ।

आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

काठमाडौँ, १ कात्तिकः निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।

आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो ।

ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ ।

आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कातिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।

गणतन्त्र कोरियाली दूतावासद्वारा ‘के–कल्चर’ कार्यक्रम आयोजना

काठमाडौँ, १ कात्तिक : गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति दिइएको थियो ।

टोलीले गणतन्त्र कोरियाली संस्कृति र तेक्वान्दोलाई प्रवर्द्धन गर्दै नागरिक कूटनीतिज्ञको भूमिकामा विश्वभरका एक सय ५० भन्दा बढी देशको भ्रमण गरिसकेको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ । नेपाल आएका कुक्किवन तेक्वान्दो प्रदर्शन टोलीले सन् १९७४ देखि नै कोरियाको राष्ट्रिय मार्सल आर्ट तथा उन्नत प्रविधि र सीपलाई तेक्वान्दोको कलात्मक प्रदर्शनमार्फत आफ्नो प्रस्तुति दिँदै आएको छ ।

यसअघि काठमाडौँमा रहेका कोरियाली भोजनालय सञ्चालन एशोसिएशनका तर्फबाट केरियाली खानाका कक्षहरू तथा कोरियाली परम्परागत खेलको प्रस्तुति पनि गरिएको थियो । सो अवसरमा नेपालमा सन् २०२४ का के–पप विजेता टोलीले आफ्नो के–पप नृत्य प्रस्तुत गरेको थियो ।

समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले पारस्परिक सहयोगका आधारमा विभिन्न कार्यक्रम गरेर दुई देशबीचको घनिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाल र कोरियाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको स्मरण गर्नुभयो ।

कार्यक्रममा काठमाडौँस्थित कोरियाली समुदाय, उच्चस्तरीय सरकारी अधिकारी, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा ‘कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसीप’ आयोजना हुनेछ । शुक्रबार हुने उद्घाटन समारोहमा दक्षिण कोरियास्थित विश्व तेक्वान्दो मुख्यालयको डेमोस्ट्रेसन टोलीले विशेष कौशल प्रदर्शन गर्ने दूतावासले जनाएको छ ।

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन, १ कात्तिक : चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो । हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उहाँले बताउनुभयो । गोविन्देले गत असोज १७ गते हात्तीसारका एक कर्मचारीलाई आक्रमण गरी मारेको थियो ।

“पछिल्लो समय गोविन्देले दुःख दिन थालेपछि त्यसमा रेडियो कलर जडान तथा दाह्रा काट्ने काम गरिएको हो”, सूचना अधिकारी तिवारीले भन्नुभयो ।

यहाँ जङ्गली हात्ती ध्रुर्वे, गोविन्दे, मकुनालगायतले बर्सेनि निकुञ्ज र त्यस आसपासका क्षेत्रमा दुःख दिँदै आएका छन् । समूहबाट एक्लिएका यी भाले हात्तीहरु उनीहरुलाई अधिक यौन चाहना भएको समयमा बढी आक्रामक बन्ने गरेका निकुञ्जले जनाएको छ ।

विपद् प्रभावित स्थानीय तहलाई राहत उपलब्ध गराइने

काठमाडौँ, १ कात्तिक : विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ । क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपद्बाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ । प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरुप प्रभावित पालिकालाई रकम उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा सिफारिस गर्ने समेत निर्णय गरिएको उहाँले बताउनुभयो ।

दीर्घकालसम्मका लागि पुनःनिर्माण र पुनःस्थापना गर्न उल्लेखित विपद्का कारण भएको विस्तृत क्षति आँकलन यथाशीघ्र गर्ने र सो प्रतिवेदनका आधारमा पुनःनिर्माण र पुनःस्थापनाको कार्य अघि बढाउन सम्बन्धित क्षेत्रगत निकायले आवश्यक व्यवस्था मिलाउने तथा सो कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सहसचिव अधिकारीले बताउनुभयो ।

त्यसैगरी गत वर्ष जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्प पश्चातको क्षति आँकलन तत्काल अघि बढाएर स्थायी निजी आवास पुनःनिर्माण प्रक्रियाको विस्तृत कार्ययोजना तयार गर्न प्राधिकरणलाई निर्देश गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी मनसुन अवधिभर (२०८१ जेठ २८ गतेदखि असोज २६ गतेसम्म) भएका विभिन्न विपद्जन्य घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने र निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने समेत निर्णय गरिएको छ ।

विपद्को घटना पश्चात खोज तथा उद्धार कार्यमा संलग्न विभिन्न निजी क्षेत्रका संघसंस्था एवं गैरसरकारी संस्थाको सहयोग एवं संलग्नताको कदर गर्दै धन्यवाद दिने तथा आवश्यकता अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको छ ।

बैठकमा स्वाथ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको समेत सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपतिद्वारा जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना

बाजुरा, १ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गर्नुभएको छ । यहाँको त्रिवेणी नगरपालिका–७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज म यस पुण्यभूमिमा उभिएर प्रार्थना गर्दछु–सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस् ।”

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको अद्वितीय छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु ।”

बाजुरावासीले आफूलाई ‘विपन्नतामा छौँ’ भन्ने भावना नराख्न आग्रह गर्दै उहाँले यस ठाउँको कृषि, पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहर हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु । ” त्रिवेणीमा अवस्थित बडिमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडिमालिकाको दर्शन र नाट्यश्वरी देवीको दर्शन गर्न पाएकामा उहाँले खुसी प्रकट गर्नुभयो ।

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्र धार्मिक, पर्यटकीय, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको बताउनुभयो । “यहाँका अलौकिक, प्राकृतिक सम्पदा जस्तैः कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, विभिन्न चराचुरुङ्गी, डाँफे, मुनाल साथै अमूल्य जडीबुटीहरूले सु–शोभित पुण्यभूमिको आरक्षण र यस क्षेत्रको विकास जरुरी छ भन्ने मलाई लागेको छ, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

यस दिव्यधामको सानिध्यमा रहेका त्रिवेणी, मौर्या क्षेत्र र नाट्यश्वरी देवीको मन्दिर नेपालको प्रसिद्ध धार्मिकस्थल हो । बडिमालिका दर्शनपछि नाट्यश्वरी मन्दिरमा आएर दर्शन गर्ने मान्यतासमेत रही आएको छ । स्कन्धपुराणको मानस खण्डमा यस स्थलको उल्लेख गरेको पाइन्छ । यसअघि आज बिहान राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नुभएको थियो । सो अवसरमा प्रथम महिला सबिता पौडेल सहभागी हुनुहुन्थ्यो ।

तीन दल बैठकः शान्ति प्रक्रियाको काम तत्काल अघि बढाउने

काठमाडौँ, १ कात्तिकः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

“एक÷दुई दिनभित्र सिफारिस समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छ, सिफारिस समितिले पूर्णता पाएपछि आयोगमा पदाधिकारी सिफारिस हुन्छ”, बैठकपछि उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिको आयोग बनोस् भन्ने सबैको चाहना छ तर कस्तो व्यक्ति पठाउने दुई आयोगमा भन्ने कुरा सिफारिस समितिले गर्नेछ ।”

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्न अघिल्लो सरकारले सिफारिस समिति बनाएको थियो । गत भदौ १३ गते राष्ट्रपतिबाट दुवै आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।

बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बस्नेत र महान्यायाधिवक्ता रमेश वडाल सहभागी हुनुुहुन्थ्यो ।

महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

काठमाडौँ, १ कातिक : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ ।

स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

सो उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐनबमोजिम निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

बाढीबाट प्रभावित काभ्रेको खानेपानी संरचना फाष्ट ट्रयकमा बनाउँछौँ : मन्त्री यादव

काभ्रे (पनौती), १ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेको संरचनाको काम फाष्ट ट्रयकमा निर्माण गरिने बताउनुभएको छ ।

गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिकाअन्तर्गत २ र १२ नं. वडाको खानेपानी मुहानलगायतका संरचनाको आज स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।

खानेपानीमन्त्री यादवले भन्नुभयो, “पनौतीसहित आसपासका क्षेत्रमा खानेपानी मन्त्रालयअन्तर्गत विभागका संरचनामा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । बिग्रेभत्केका ती संरचनाको काम द्रुत प्रक्रियामार्फत सुरु गरी बाढी प्रभावित जनतालाई यथासक्य छिटो खानेपानीको व्यवस्था गछौँ ।”

उहाँले भन्नुभयो, “मन्त्रालय, विभाग, खानेपानी संस्थानसहितको टिमले बाढीपहिरोका कारण भएाकोे क्षतिको यथार्थ विवरण तयार गरी तीन दिनभित्र सूचना प्रकाशित गरी काम अघि बढाइने छ, ढुक्क हुनुहोस् यथासक्य छिटो खानेपानी समस्या हल गर्न सरकार तयार छ ।”
मन्त्री यादवले खानेपानी उपयोग तथा व्यवस्थापनका सन्दर्भमा मुहान क्षेत्रका स्थानीयवासीसँग आवश्यक समन्वय गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मन्त्री यादवलाई पनौतीका स्थानीयवासीले छिटोभन्दा छिटो खानेपानीको व्यवस्था गरिदिन र बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणका साथै प्रभावित क्षेत्रका वस्तीसमेत स्थानान्तरण गरी प्रभावित जनताको जीउधनको सुरक्षाका लागि अनुरोध गर्नभयो ।

अनुगमन टोलीमा बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख, खानेपानी संस्थानका महाप्रबन्धकलगायतका प्रतिनिधि तथा पदाधिकारी सहभागी हुनुहुन्थ्यो

जलवायु न्यायबारे विश्वका नेताको ध्यानाकर्षण गराएको छु : प्रधानमन्त्री

काठमाडौँ, १ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एउटै डिजिटल ‘पे–वाल’ मार्फत अन्तर्राष्ट्रिय ख्याति प्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबीचको सहकार्यबारे अवगत गराइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीलाई न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीलगायतले भेटेर नेपालको डिजिटल मिडिया क्षेत्रमा गरिएको पहिलो प्रयासबारे जानकारी गराउनुुभएको हो । उक्त सहकार्यको बुुधबारदेखि औपचारिक थालनी भएको थियो ।

सो अवसरमा जलवायुु परिर्वतन, शैक्षिक सुधार र आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिकाबारे छलफलसमेत भएको थियो । प्रधानमन्त्री ओलीले गत महिना भएको संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका मञ्चमा आफूूले गरेका सम्बोधनमा नेपालले कार्बन उत्सर्जनमा योगदान नगरे पनि जलवायुु परिवर्तनको असर खेपिरहेकाले जलवायु न्यायका लागि क्षतिपूर्ति पाउनुपर्ने र नेपालका हिमालको सुरक्षामा ध्यान दिन नसकिए समुद्रको तापक्रम वृद्धि हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराउनुुभयो ।

“हामी पृथ्वी र मानिसको सुरक्षाका लागि आवाज मात्रै उठाइरहेका छैनौँ । व्यवहारतः काम पनि गरिरहेका छौँ । यो काम नेपालका लागि मात्रै होइन विश्वकै वातावरणीय सुरक्षामा योगदानका लागि हो’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले हाइड्रोपावर र हाइड्रो इनर्जीका लागि पनि काम गरेका छौँ । सञ्चार जगत्ले यस प्रयासबारे जनतालाई सूूसुचित गर्न मद्दत गर्न सक्छ ।’’

प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गरेको तथा राज्यका सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य सहभागिता सुुनिश्चितता गरेको उल्लेख गर्दै लोकप्रिय सञ्चारमाध्यमले सही सूचना लिएर त्यसलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

हाइड्रो कार्बनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फोसिल फ्युुलका निर्देशक हरजीत सिंहले जलवायु न्यायबारे प्रधानमन्त्री ओलीको सुस्पष्ट बुुझाइ रहेको र यस मामिलामा प्रधानमन्त्री ओली दक्षिण एसियाकै नेता भएको अनुुभूति व्यक्त गर्नुभयो । भेटका अवसरमा नेपाल रिपब्लिक मिडियाका सञ्चालक शोभा ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली र न्युुयोर्क टाइम्सका हेलेना फ्वुुवा पनि सहभागी हुनुुहुुन्थ्यो ।

एयरबसले आफ्नो अन्तरिक्ष विभागमा २५०० सम्म रोजगारी कटौती गर्ने

एयरबसले आफ्नो सङ्घर्षरत उपग्रह विभागमा दुई हजार पाँच सयसम्म रोजगारी कटौती गर्ने योजना बनाएको एक स्रोतले बुधबार जानकारी दिएको छ । यो युरोपेली एयरोस्पेस उद्योगका लागि समस्याको पछिल्लो सङ्केत हो।

व्यवस्थापन र श्रमिक सङ्घहरू बीचको वार्तासँग नजिकको स्रोतका अनुसार विमान निर्माण कम्पनीले बुधबार बिहान कर्मचारी प्रतिनिधिहरूलाई सूचित गर्न थालेको छ । यसले आफ्नो सम्पूर्ण रक्षा र अन्तरिक्ष विभागलाई प्रभावित गर्नेछ ।

एयरबस र त्यहाँका मुख्य फ्रान्सेली श्रमिक सङ्घहरूले कर्मचारी प्रतिनिधिहरूसँग दिउँसोको बैठकअघि टिप्पणी गर्न अस्वीकार गरेका छन् । रोजगारी कटौतीको विवरण तत्काल थाहा हुन नसकेको नाम उल्लेख नगरी स्रोतले भनेको छ ।

विभागमा ३५ हजार कर्मचारी कार्यरत छन् र गत वर्ष एयरबसको ६५ अर्ब ४० करोड अरब युरोको आम्दानीमध्ये लगभग दुई अर्ब युरो (दुई अर्ब २० करोड डलर डलर) यसैबाट आएको थियो ।

एयरबसको खुद मुनाफा वर्षको पहिलो छ महिनामा ४६ प्रतिशतले घटेर ८२ करोड ५० लाख युरो पुगेको छ । यो यसको अन्तरिक्ष व्यवसायमा ९८ करोड ९० लाख युरोको सम्पत्तिको अनुमानित मूल्यमा कमीका कारण तल तानिएको हो ।

“अर्धवार्षिक वित्तीय प्रदर्शनले मुख्यतया हाम्रो अन्तरिक्ष व्यवसायमा महत्त्वपूर्ण शुल्कहरू प्रतिबिम्बित गर्दछ”, एयरबसका प्रमुख कार्यकारी अधिकृत गुइलौम फौरीले जुलाईमा नतिजाहरू घोषणा गर्दा भन्नुभएको थियो, “हामी यी समस्याहरूको मूल कारणहरूलाई सम्बोधन गर्दैछौँ ।”

कम्पनीले २०२३ मा समान विभागमा ६० करोड युरोको शुल्क लिइसकेको थियो ।युरोपेली कम्पनी एयरबस दूरसञ्चार उपग्रहहरूका लागि विश्व नेता हो तर यसले मागमा गिरावटको सामना गरिरहेकाले उद्योगका अन्य खेलाडीहरूलाई पनि प्रभावित गरेको छ ।

फ्रान्सको थालेसले यस वर्षको सुरुमा आफ्नो अन्तरिक्ष विभागमा एक हजार तीन सय पद पुनः तोकेको थियो ।

दूरसञ्चार र नेभिगेसन उपग्रहहरू सबै अर्डरअनुसार बनाइन्छन् । यसले एयरबसको प्रमुख व्यावसायिक विमान व्यवसायमा जस्तै स्केलको अर्थव्यवस्थाबाट फाइदा लिने सम्भावना हटाउँछ ।

विभागले स्पेसएक्स र यसको स्टारलिङ्क कम तह कक्षाका उपग्रहहरूको तारामण्डलबाट बढ्दो प्रतिस्पर्धाको पनि सामना गरिरहेको छ ।

बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

इनरुवा(सुनसरी), १ कात्तिकः हालैको हरिनगर गाउँपालिकामा रु २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ।

हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । एक हजार छ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ ।

त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति क्षति भएको छ । तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेका उक्त कार्यालयले जनाएको छ । बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।

गाजामा मानवीय सहायताका ट्रकहरूलाई अनुमति

ह्वाइट हाउसले युद्धग्रस्त क्षेत्रमा सहायताको प्रवाह नबढाएको खण्डमा सैन्य कारबाही गर्ने धम्की दिएको एक दिनपछि इजरायलले बुधबार एक विज्ञप्तिमार्फत मानवीय सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश गरेको बताएको छ ।

मानवीय सहायता जोर्डनबाट एलेनबी ब्रिजमार्फत र गाजामा पश्चिमी इरेज क्रसिङ हुँदै स्थानान्तरण गरिएको थियो । इजरायल र उत्तरी गाजाबीचको बाटो मानवीय सहायता हस्तान्तरणको लागि मे महिनामा खोलिएको थियो ।

ह्वाइट हाउसले आगामी ३० दिनभित्र गाजामा मानवीय सहायताको प्रवेश नबढाएको खण्डमा इजरायललाई दिँदै आएको सैन्य सहायता रोक्ने चेतावनी दिएको एक दिनपछि इजरायलले यो कदम चालेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अनिकाल फैलिएको उत्तरी गाजामा इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरिरहेको भन्ने चिन्ताका बारेमा पत्र लेखिएको थियो । संयुक्त राष्ट्रसङ्घले गत अक्टोबरदेखि गाजामा खाद्यान्न, पानी, ग्यास, इन्धन र औषधिलगायतका सहायता वितरणमा विशेषगरी उत्तरमा कडा प्रतिबन्ध लगाइएको जनाएको छ ।

‘निकुञ्जबाट विस्थापितलाई पुनःस्थापन गर्छौं’ – पूर्वपरराष्ट्रमन्त्री साउद

कञ्चनपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापनमा परेका परिवारलाई छिट्टै पुनःस्थापन गरिने बताउनुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–९ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा कांग्रेस कञ्चनपुरले आयोजना गरेको जनप्रतिनिधि भेटघाटमा उहाँले पूर्वन्यायाधिशको संयोजकत्वमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जग्गा समस्या समाधान आयोग गठन भई आवश्यक काम अगाडि बढाइएको बताउनुभयो ।

“अधिकार सम्पन्न आयोग गठन गरिएको छ”, उहाँले भन्नुभयो, “वास्तविक निकुञ्ज विस्थापित परिवारलाई पुनःस्थापनाको आयोगले टुङ्गो लगाउनेछ ।” कृषि उत्पादनलाई बढाउनका लागि महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गतको नहर निर्माण गति दिइने बताउनुभयो ।

“देशकै गौरवको योजना भएकाले जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन”, नेता साउदले भन्नुभयो, “निर्धारित समयभित्रै काम पूरा गर्न हरसम्भव प्रयास गर्छौं ।” कांग्रेसका अर्का केन्द्रीय सदस्य नृप ओडले पार्टीको सयदिने अभियानलाई जिल्लाका नौवटै स्थानीय तहका ९२ वटै वडामा पुर्‍याइने बताउनुभयो ।

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

धरान (सुनसरी), १ कात्तिकः इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।”

उहाँको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाका भाडाँकुडा इटहरी लिएर बच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उहाँले सुनाउनुभयो । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जस्तो पायो त्यस्तो माटोले भाडाँ बन्दैन, नजिकै राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको रु १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ, एक गाडी माटोले रु १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर पनि रु ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।”

पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताउनुभयो । “धेरैजसो व्यापारीले कारखानामै आएर सामान लिन्छन्, पसलबाट पनि उति नै बिक्री हुन्छ । धेरैजसो मागका सामान बनाउने भएकाले इटहरी बाहिरका ग्राहकले पनि माग गर्छन्”, उहाँले भन्नुभयो, “पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ ।”

पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ । आफूले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतु्रके, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको उहाँको भनाइ छ । “एक÷दुईवटा सामान बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन, घर खर्चका लागि कमाउन त्यति धेरै गाह्रो हुन्न”, पण्डितले भन्नुभयो ।

हाल एउटा पैनि रु छ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको छभने गमला रु ३० रुपैयाँदेखि रु आठ सयसम्म बिक्री हुने गरेको छ । साना–साना सामान दर्जनका हिसाबले बिक्री हुन्छ । जसमा रु २० रुपैयाँदेखि लिएर रु एक हजारसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । “अन्यत्र मजदुरी गरेर दुःखले कमाउनुभन्दा पुख्र्यौली पेसाबाटै कमाइ राम्रो छ । तीन दशकदेखि भाँडा बनाउँदै आएका छौँ”, पण्डितले भन्नुभयो ।

इटहरी उपमहानगरपालिका–६ का व्यापारी युवराज काफ्ले पछिल्लो समय माटोका भाँडा थोरै स्थानमा मात्रे बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि माटोको भाँडाकँुडा व्यापार सुरु गरेको र सिजनअनुसार आम्दानी राम्रै हुने बताउनुभयो । “माटोका भाँडा भनेको जन्मदेखि मृत्युसम्म नै आवश्यक पर्छ । सिजनअनुसार सबै माटोको सामग्री बिक्री हुन्छ, अहिले दियो, कलश धेरै बिक्री हुने गरेको छ”, काफ्लेले भन्नुभयो,“ इनरुवा, विराटनगर, भारतलगायत ठाउँबाट सामान खरिद गरी बिक्री गर्ने गरेको छु । मासिक रु ३० हजारसम्म भाँडा बिक्रीबाट आम्दानी हुन्छ ।”

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

काठमाडौँ, १ कात्तिकः सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।

कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आएपछि मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले हिजो मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गर्नु भएको छ ।

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन बित्दासमेत कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आउन थालेपछि मन्त्री यादवले आज मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरुमा छड्के जाँच गर्नुभएको हो ।

उक्त जाँचका क्रममा खानेपानी मन्त्रालयमा ११ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुईगरी १३ जनाबिना जानकारी अनुपस्थित भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा १३ जना अनुपस्थित भएको देखिएको छ । अनुपस्थित हुनुका कारण बुझनुपर्ने हुन्छ ।”

उक्त छड्के जाँचका क्रममा मन्त्री यादवले काम गर्दा वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।

मौसम अनुकूल भएपछि छ सय ९० पर्यटक लुक्ला ओर्लिए

सोलुखुम्बु – लुक्ला विमानस्थलमा मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका छ सय ९० पर्यटक ओर्लिएका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौँमा रोकिएका थिए ।

नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार आज मन्थलीमा रोकिएका छ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला आइपुगेका हुन् । हेलिकप्टरमार्फत ७० उडान गर्दा तीन सय ५० र २२ उडान जहाजमार्फत तीन सय ४० पर्यटक लुक्ला ओर्लिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ । गत आइतबार ९० उडानमार्फत आठ सय पर्यटक लुक्ला आएको प्राधिकरणको तथ्याङ्क छ । खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकहरु लुक्लाबाटै पदयात्रा सुरु गर्छन् । लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाइसेवा प्रमुख माध्यम हो ।

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो । यो विमानस्थल समुन्द्र सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ पाँच सय २७ मिटर र चौडाइ २० मिटर छ, जुन अन्य विमानस्थलभन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा, १२ सडकआश्रित मानवको उद्धार

विराटनगर – मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत हिजो १२ जना मानवको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुने आयोकले जनाएको छ ।

उद्धार यात्राका क्रममा उद्धार टोली हिजो सुनसरीको दुहबी, इटहरी, धरानका विभित्र स्थानका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवको उद्धार गरेको हो ।

हिजो सुनसरीको दुहबी नगरपालिका–७ बाट एक जना, इटहरी उपमहानगरपालिकाका विभित्र वडाबाट सात जना र धरान उपमहानगरपालिकाबाट चार गरी १२ जनाको उद्धार भएको मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

यात्राको पहिलो दिन सोमबार झापाका विभित्र क्षेत्रबाट १०, दोस्रो दिन छ जना सडक आश्रित मानवको उद्धार गरिएको थियो । उद्धार गरिएका सडक आश्रित मानवको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा आज नै संरक्षणका लागि पठाइएको छ ।

साथै बिहीबार उदयपुर जिल्ला वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य हुनुभएका मानवको उद्धार गरिने कार्यक्रम रहेको छ ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्री छन् ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनःमिलन गराउँदै विगत १२ वर्षदेखि मानवीयता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

यो पटकको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्रनिर्माण गर्न लिएको सङ्कल्पलाई सघाउने आश्रम विश्वास गरेको छ ।

बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने

भैरहवा (रुपन्देही), १ कात्तिकः बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ ।

एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बङ्गलादेशको टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताउनुभयो ।

प्रतियोगितामा बाङ्गलादेशबाट गुलाज वरियर्स बाङ्गलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ ।

विजयी टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही रु २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ ।

प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घले आधिकारिकता प्रदान गरेको छभने प्राविधिक सहयोग रुपन्देही क्रिकेट सङ्घले गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एकअर्कासँग खेल्ने र अन्तिम चारमा पुगेका बीच सेमीफाइनल हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड २० लाख खर्च हुने आकलन गरिएको छ ।

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

काठमाडौँ, १ कात्तिकः हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

गलकोट (बागलुङ), १ कात्तिकः जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।

सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०÷८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन् ।

यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन् । तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन् । काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताउनुभयो ।

सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन् । दुग्ध किसान मणिभद्र कँडेलले आफूहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टी भएपछि जोडतोडका साथ उत्पादन वृद्धिमा लागेको बताउनुभयो । “विगतमा दूध धेरै उत्पादन भएपछि त्यसै खेर गएको अनुभव हामीसँगै छ । दूधलाई प्रशोधन नगरे टिक्दैन, बजारसम्म पु¥याउन समय लाग्छ, बजार टाढा छ, फेरि दुई–चार लिटर दूध बजार पु¥याउन पनि गाह्रो । त्यसैले सहकारीमार्फत व्यवस्थापनको काम भएपछि हामी ढुक्क भएका छौँ”, उहाँले भन्नुभयो, “अब किसानले दूध उत्पादन बढाउने र सहकारीले बजारीकरण गर्ने भएपछि सदाको चिन्ता अन्त्य भएको छ । त्यसैमा दूध ढुवानी तथा घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रम लागू भएपछि व्यवसाय पनि सुरक्षित भएको छ ।”

चौध सहकारीका शेयर सदस्य किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु सात करोेड ४८ लाख १७ हजारको दूध खरिद गरेको अध्यक्ष दीपक गौतमले बताउनुभयो । यी सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम पाएको उहाँले बताउनुभयो ।

त्यस्तै निःशुल्क दूध ढुवानी, पशुधन सुरक्षण कार्यक्रम, घाँस ढुवानी, बीमा र पशु औषधि वितरणले किसानलाई थप लाभ मिलेको र यसले दूधमा आत्मनिर्भर जिल्ला बनाउन ठूलो सहयोग पुगिरहेको अध्यक्ष गौतमको भनाइ छ । “किसानहरूले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो । दूध भण्डारण, प्रशोधनमा ध्यान नदिँदा दूध बिग्रेर जाने समस्या थियो, जसले गर्दा किसानले यस क्षेत्रमा लगानी गर्न सकिरहेका थिएनन् । हामीले बजारको ग्यारेण्टी गरेपछि समस्या समाधान भएको छ”, उहाँले भन्नुभयो, “किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ । हाल किसानबाट सङ्कलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ ।”

विसं २०५७ मा स्थापना भएको सहकारी सङ्घमा हाल १६ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । दूधलाई सङ्कलन, बिक्री, बचेको दूधको दुग्धजन्य पदार्थ घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम पनि भइरहेको सङ्घका सचिव गोविन्दप्रसाद सापकोटाले जानकारी दिनुभयो । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको उहाँले बताउनुभयो । “यो एक अभियान पनि हो । यसबाट किसानको घरमा सोझै रकम पुग्ने गरेको छ । केहीले गाउँमै रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा सङ्घले रु ८० लाख ६१ हजार खुद बचत गर्न सफल भएको थियो । सो रकमबाट किसानको पशु बीमा, दूध तथा घाँस ढुवानी र पशु प्रवर्द्धनात्मक काममा लगानी गरिरहेका छौँ”, सचिव सापकोटाले भन्नुभयो ।

नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

काठमाडौँ, १ कात्तिकः लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ ।

समुद्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १७ देखि २० सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटका लागि छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियोजस्ता प्रतिष्ठित फिल्म संस्था पनि सहभागी हुनेछन् ।

तस्बिर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रूपमा विकास गरिने बताउनुभयो ।

फिल्म ‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा उहाँले पारालैङ्गिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गर्नुभएको छ । फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्ण ‘ट्रान्सस्टोरी’मा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

धवलागिरिमा अस्ताए यी पाँच रुसी आरोहीहरू

म्याग्दी, १ कात्तिकः “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराउनुभएको थियो ।

संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो । यही असोज २१ गते अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू निराश बने ।

धवलागिरिको चुचुरो चुम्न एक सय ६७ मिटरमात्र बाँकी रहेको अवस्थामा असोज २१ गते दिउँसो ११ बजे आधार शिविरमा रहेको टोलीलाई फर्कन लागेको जानकारी गराएका डसिकासहित पाँचजना आरोही सम्पर्कविहीन भएको दुई दिनपछि असोज २३ गते सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिए ।

अतिरिक्त अक्सिजनको प्रयोगबिना धवलागिरि आरोहण गर्न आएका डसिका, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोइ अन्ततः धवलागिरिमै अस्ताए ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा खसेर ज्यान गुमाएका पाँचै जनाको शव दश दिनपछि बुधबार निकालिएको छ । एयर अल्टिच्युडको हेलिकप्टरबाट रसीमा झुण्डिएर घटनास्थलमा पुगेका सेभेन समिट टे«क्सका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविरमा ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले आधार शिविरबाट शवलाई काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको बताउनुभयो । “मौसमको खराबी र प्रतिकूल भूगोलका कारण घटनास्थलबाट शव सङ्कलन गरेर ल्याउन ढिलाइ भएको हो । यसअघि दैनिकजसो शव ल्याउन गएका हेलिकप्टर रित्तै फर्किएका थिए । उद्धारकर्ताहरूको अथक प्रयासपछि हेलिकप्टरबाट रसीमा झुण्डिएर शव ल्याउनुभयो”, उहाँले भन्नुभयो ।

आइएम टे«किङ एण्ड एक्सिपडिसनमार्फत १४ जना रुसी पुरुष पर्वतारोहीहरू धवलागिरि हिमाल आरोहणका लागि गएका थिए । सो टोलीका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्लीले भने धवलागिरिको सफल आरोहण गरेका आरोहण गराउने कम्पनी एक्सपिडिसनले जनाएको छ ।

कम्पनीका अनुसार छ जना पर्वतारोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएको थियो । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उहाँले आरोहण रद्द गरेका जनाइएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

दमौली (तनहुँ), १ कात्तिक : यहाँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् ।

यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि उहाँका महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालिएको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौँ । कतारलगायत अन्य देशमा पनि पठाउन सकिन्छ कि भनेर समन्वय गरिरहेका छौँ ।”

यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकामा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । यहाँ विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दसैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ । तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो । यहाँ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताउनुभयो । उहाँका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् । अध्यक्ष गुरुङले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका हौँ । घरायसी काममा मात्रै व्यस्त रहने हामीलाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती गरिएकामा हाल राम्रै भइरहेको छ ।”

गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । “धेरै मात्रामा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग भएको छ । यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्याइरहेको छ । त्यसैले स्थानीयस्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो”, अध्यक्ष चुमानले भन्नुभयो, “यसले स्थानीय उत्पादन प्रवर्द्धन र महिलालाई आत्मनिर्भर बनाउन पनि योगदान गरिहरहेको छ । त्यस कारणले यस खेतीलाई थप व्यवस्थित बनाउने गरी पालिका लागिरहेको छ ।”

गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गरिरहेका छौँ, आफ्नै क्षेत्रमा उत्पादित फूललाई प्रयोगमा ल्याउन हामीले जोड दिएका छौँ। यसमा सबैको सहयोग जरूरी छ ।”

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

बेलबारी (मोरङ), १ कात्तिकः अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताउनुभयो । प्रदेशमा सबैभन्दा धेरै खोटाङमा तीन हजार सात सय ३९ दशमलव तीन हेक्टर धान बालीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सुनसरीमा आठ सय २४ हेक्टर, उदयपुरमा तीन सय ९८ दशमलव ७८ हेक्टर, झपामा दुई सय ८७ हेक्टर, मोरङमा दुई सय ४४ हेक्टर, भोजपुरमा एक सय १३ हेक्टर, तेह्रथुममा ३४ दशमलव ७५ हेक्टर र सोलुखुम्बुमा ११ दशमलव दुई हेक्टर जमिनमा क्षति पुगेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

तरकारीतर्फ चार सय १४ दशमलव ८० हेक्टर जमिनमा रु ११ करोड १८ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको छ । आठ सय ७९ दशमलव ७५ हेक्टर जमिनमा लगाइएको रु एक करोड ६२ लाख चार हजार, दुई हजार तीन सय ५७ दशमलव ५० हेक्टर जमिनमा लगाइएको कोदो रु तीन करोड ७१ लाख मूल्य बराबरको क्षति भएको छ । यसैगरी १० दशमलव ५० हेक्टर जमिनमा रु २७ लाख ७३ हजार मूल्य बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा रु ४८ लाख १२ हजार मूल्य बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

हरिनगरमा मात्रै २४ करोड २७ लाखको क्षति

यस्तै सुनसरीको हरिनगर गाउँपालिकामा मात्रै रु २४ करोड २७ लाख बराबरको धनमाल क्षति भएको छ ।

बाढीले हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा गरेर सो परिमाणमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले जनाएको छ । गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायत गरेर रु २४ करोड २७ लाख बराबरको क्षति भएको हो । हरिनगरमा बाढीले सातवटा विद्यालयमा आंशिक क्षति हँुदा रु एक करोड ५० लाख बराबरको क्षति भएको छ ।

यसैगरी छवटा पुल तथा सडक आंशिक रूपमा क्षति हुँदा रु दुई करोड ५० लाख बराबरको क्षति भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो । यसैगरी नौ सय बिघा अन्न बाली पूर्ण रूपले र एक हजार छ बिघामा लगाइएको अन्नबाली आंशिक रूपले क्षति हुँदा रु १० करोड बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी ४० बिघा जमिन पूर्ण रूपले र ५५ बिघा जमिन आंशिक रूपले क्षति हँुदा रु १० करोड बराबरको क्षति भएको छ । यसैगरी तीनवटा हेल्थ पोष्टमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।

बाढीका कारण क्षति भएका भौतिक संरचनाको मर्मतसम्भार कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १ कात्तिकः नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

काठमाडौँ, ३० असोज : नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउनुहुन्छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।

आज देशभरको मौसम अनुकूल रहने

काठमाडौँ, ३० असोजः हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३० असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

त्यसैग्री थाई भाट एकको खरिददर ४ रुपैयाँ २ पैसा र बिक्रीदर चार रुपैयाँ ४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३ १ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददार १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैया ९८ पैसा, र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४७ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ललितपुरको गोदावरी पुगेका मन्त्री यादवले भने – पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ

पाटन (ललितपुर) – खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि उहाँले पन्ध्र दिनभित्र सबै काम पूरा गरेर खानेपानी सेवा सञ्चालन गर्नेगरी तीन दिनभित्र काम सुरु गरिने बताउनुभयो ।

“ हामीले खानेपानी मुहान क्षेत्रको जानकारी लियौँ । वन विभागका महानिर्देशक, केयुकेलका प्रमुख र हाम्रो मन्त्रालयका प्राविधिक समूहसँगै हामी खानेपानी मुहानमा पुग्यौँ । उहाँहरूले लागतसहितको प्रतिवेदन तयार गर्नुहुन्छ । प्रतिवेदन आएपछि तुरुन्तै काम सुरु गछौँ,” मन्त्री यादवले भन्नुभयो ।

बाढीबाट खानेपानी मुहानको क्षतिबारे जानकारी लिन मन्त्री यादवसहित, पूर्वअर्थराज्यमन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), वन विभाग तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरू नल्लु पुग्नुभएको थियो ।

“खानेपानी नागरिकको आधारभूत अधिकार हो । सङ्घीय सरकार, स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुनः स्थापना कार्य सुरु गर्नु होला । जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो । म व्यक्तिगतरूपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिड्दिनँ,” मन्त्री यादवले भन्नुभयो ।

मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्याप्रति सरकार संवेदनशील रहेको स्पष्ट पार्दै भविष्यमा यस्ता विपद्हरू दोहोरिन नदिन दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो रहेको बताउनुभयो । उहाँले अबको समय सङ्कट समाधानमात्र होइन भन्दै दीर्घकालीन सुधारको लागि छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व अर्थराज्यमन्त्री राणाले विपत्तिका कारण चापागाउँ, ठेचो, धापाखेल र सुनाकोठी क्षेत्रमा खानेपानीको हाहाकार भएको बताउनुभयो । उहाँले १० देखि १५ दिनभित्र खानेपानी सञ्चालन हुने आश्वास खानेपानी मन्त्रीबाट प्राप्त भएको बताउँदै जतिसक्दो छिटो खानेपानी सेवा सुरु हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले बाढी पहिरोबाट प्रभावित पालिकालाई क्षतविक्षत भएको खानेपानी सेवा पुनःसञ्चालन गर्न केन्द्रीय सरकारले सिधै केही रकम पठाइदिनु पर्नेमा खानेपानी मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नल्लु र बासुकी क्षेत्रको पानी १५ दिनभित्र ल्याउन सकिने अवस्था भएकाले बजेट नपुग भएको खण्डमा नगरपालिकाबाटै भए पनि व्यवस्था गर्ने बताउनुभयो ।

देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौँ, ३० असोज : देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहुन्छ,“पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।”

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।

डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा पुन भन्नुहुन्छ, “झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौँ, ३० असोज : आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ ।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसँै समापन हुन्छ ।

यस वर्ष अनियमित इयु सीमा पार गर्ने घटनामा ४२ प्रतिशतले गिरावट

सन् २०२४ को पहिलो नौ महिनामा पत्ता लागेको अनियमित युरोपेली सङ्घ (इयु) प्रवेशमा गत वर्षको समान अवधिको तुलनामा ४२ प्रतिशतले कमी आएको छ ।

इयुको सीमा एजेन्सी फ्रन्टेक्सले यो साताको अन्त्यमा ब्रसेल्समा हुने इयुका नेताहरूको शिखर सम्मेलनअघि आफ्नो पछिल्लो आँकडा सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सम्मेलनमा आप्रवासन उच्च प्राथमिकतामा रहेका विषयमध्ये एक हो ।

“यस वर्षको पहिलो नौ महिनामा इयुमा पत्ता लागेका प्रवेशहरू ४२ प्रतिशतले घटेर एक लाख ६६ हजारमा झरेको छ”, फ्रन्टेक्सले भनेको छ । पश्चिमी बाल्कन र मध्य भूमध्यसागरीय मार्गहरूमा सबैभन्दा ठूलो गिरावट आएको छ ।

सत्ताइस सदस्यीय इयुमा पश्चिमी बाल्कल मार्ग हुँदै करिब १७ हजार सम्भावित शरणार्थी प्रवेश गरेका छन् । यो ७९ प्रतिशतले कमी हो । मध्य भूमध्यसागरीय मार्ग हुँदै ४७ हजार सात सयले प्रवेश गरेका छन र यो पनि ६४ प्रतिशतको गिरावट हो ।

यसको विपरित पश्चिमी अफ्रिका हुँदै प्रवेश गर्नेको सङ्ख्या दोब्बर भएको फ्रन्टेक्सले जनाएको छ । यो यस वर्षको पहिलो नौ महिनामा ३० हजार छ सयभन्दा बढी पुगेको छ ।

सबैभन्दा ठूलो वृद्धि पोल्यान्डसहित इयुको पूर्वी भूमि सीमाहरूमा दर्ता गरिएको छ । यो मार्गबाट करिब १३ हजार दुई सय प्रवेश पत्ता लगाइएको छ । यो सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको तुलनामा एक सय ९२ प्रतिशतले बढी हो ।

पोल्यान्ड र यसको मध्य युरोपेली छिमेकी चेक गणतन्त्रले गत साता इयुको नयाँ आप्रवासन तथा शरण सम्झौतामा भएकाभन्दा कडा प्रतिबन्धहरूको आह्वान गरेका थिए । उक्त सम्झौता सन् २०२६ मा लागु हुने अपेक्षा गरिएको छ ।

मे महिनामा अपनाइएको नियमहरूले इयुका २७ मुलुकमा शरणार्थीहरूलाई आश्रय दिने जिम्मेबारी बाँड्ने र बस्न अयोग्य ठानिएकाहरूको निर्वासनलाई तीव्रता दिने लक्ष्य राखेको छन् ।

आर्थिक सङ्कटमा फसेको माल्दिभ्सद्वारा सरकारी नियुक्तिहरू कटौती

माल्दिभ्सका राष्ट्रपतिले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गर्नुभएको उहाँको कार्यालयले मङ्गलबार बताएको छ ।

सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न सङ्घर्षरत रहेको बेला राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष सत्तामा आएपछि नियुक्त गर्नुभएका व्यक्तिहरूलाई हटाउने आदेश दिनुभएको छ ।

“राजनीतिक नियुक्तिहरूमा यो उल्लेखनीय कटौतीले राष्ट्रपतिको सरकारी कार्यप्रणालीलाई सुव्यवस्थित गर्ने र सार्वजनिक कोषको अझ प्रभावकारी प्रयोग सुनिश्चित गर्ने व्यापक प्रयासहरूसँग मेल खान्छ”, मुइज्जुको कार्यालयले वक्तव्यमा भनेको छ ।

बर्खास्त गरिएकाहरूमा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ राजनीतिक निर्देशकहरू समावेश छन् । करिब पाँच लाख जनसङ्ख्या भएको यो सानो मुलुकमा तिनीहरूले के काम गर्थे भन्ने स्पष्ट थिएन ।

वक्तव्यमा प्रशासनमा कति थप राजनीतिक नियुक्तिहरू बाँकी छन् भन्ने उल्लेख नगरिएको भए पनि कर्मचारीहरूको यो व्यापक कटौतीले मुलुकलाई मासिक करिब तीन लाख ७० हजार डलर बचत हुने बताइएको छ ।

माल्दिभ्सले सेप्टेम्बरमा उसको आर्थिक समस्याहरू ‘अस्थायी’ हुन् र सम्भावित सार्वभौम बेलआउटको चेतावनीका बाबजुद अन्तर्राष्ट्रिय मुद्राकोषको सहयोग माग्ने कुनै योजना नभएको बताएको थियो ।

निर्मल सेतो बालुवाको सामुद्रिक किनार र एकान्त रिसोर्टहरूका लागि प्रसिद्ध विलासी बिदा गन्तव्यका रूपमा परिचित माल्दिभ्स भू–राजनीतिक केन्द्रविन्दु पनि बनेको छ ।

भूमध्य रेखामा छरिएर रहेका एक हजार एक सय ९२ प्रवाल टापूहरूले बनेको माल्दिभ्सका चीन र भारत दुवै सबैभन्दा ठूला द्विपक्षीय ऋणदाताहरू हुन् ।

गत वर्ष मुइज्जुको विजयपछि चीनले थप वित्तीय सहयोगका लागि प्रतिबद्धता जनाएको छ । मुइज्जुले विकास कोषमा बेइजिङलाई ‘निःस्वार्थ सहयोग’ का लागि धन्यवाद दिनुभयो ।

यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुइज्जुलाई नयाँदिल्लीमा स्वागत गर्नुभएको थियो । मोदीले मालेको सङ्घर्षरत अर्थतन्त्रलाई बलियो बनाउन आर्थिक सहयोग प्रदान गर्नुभयो ।

आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको पहिलो त्रैमासिकमा माल्दिभ्सको विदेशी ऋण तीन अर्ब ३७ करोड डलर देखिएको छ । यो कूल गार्हस्थ्य उत्पादनको करिब ४५ प्रतिशत बराबर हो ।

बाह्य ऋणको करिब २० प्रतिशत चीनको हिस्सा थियो भने भारतको हिस्सा १८ प्रतिशतभन्दा केही कम थियो ।

साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ

श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताउनुभएको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो ।

विदेशमन्त्री विजिता हेराथले गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको बताउनुभयो । उहाँले कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।

“उनीहरूले विशेषगरी विदेशी बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरेका छन्”, हेराथले छापामा लक्षित गिरोहहरूका बारेमा भन्नुभयो । कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलङ्काली प्रहरीसँग ‘विशेष अभियान’ सञ्चालन गर्न सुरक्षा अधिकारीहरूको एउटा ‘कार्य समूह’ पठाएको थियो ।

“ठूलो सङ्ख्यामा आपराधिक संदिग्धहरू पक्राउ परेका छन्”, दूतावासले वक्तव्यमार्फत भनेको छ, “स्वदेश फिर्ता र अन्य कामहरू जारी छन् ।”

सबैभन्दा ठूलो शनिबार भएको छापामा प्रहरीले एक सय २६ चिनियाँ पुरुषका साथै दुई भियतनामी, एक थाई र एक फिलिपिनोलाई पक्राउ गरिएको थियो ।

श्रीकङ्कासँग बलियो दूरसञ्चार पूर्वाधार छ । मुलुकको आर्थिक पतन हुनुभन्दा तीन वर्षअघि सन् २०१९ को जुन–अप्रिलमा श्रीलङ्का दक्षिण एसियामा फाइभ जी नेटवर्क सुरु गर्ने पहिलो मुलुक थियो ।

दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । “चीन श्रीलङ्कासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ”, विज्ञप्तिमा भनिएको छ ।

जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी सञ्चालन गरेको आरोप लगाइएको थियो ।

अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति

पाल्हीनन्दन (नवलपरासी ब सु प) – यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ ।

जिल्लाको पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल गाउँपालिका ५, ६ र ७ नं वडा क्षेत्रमा साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्रनाथ चौवेले जानकारी दिनुुभयो । कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले सरावल गाउँपालिकाको सो क्षेत्रमा मात्रै रु आठ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको बताउनुभयो ।

सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले वर्षापछि धनेवा र झरही खोलाको बाढी धानखेतमा पसेपछि बाली नष्ट भएएको बताउनुभयो । उहाँले यी दुवै खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरिरहेकाले तटबन्धका लागि तीने तहका सरकारलाई आग्रह गर्नुभयो ।

पाल्हीनन्दन‐१ का वडाध्यक्ष चुुल्हाईप्रसाद यादवले आफ्नो वडाको शङ्करपुरमा मात्रै ढाई सय विघा धानबाली बाढी तथा डुबानमा परेर नष्ट भएको बताउनुुभयो । स्थानीय किसान सलाउदिन अलि अन्सारीले बाढीका कारण आफ्नो एक विघा जग्गामा लगाएको धान बालीमा क्षति पुगेकाले निकै समस्या भएको गुनासो गर्नुभयो ।

जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ – अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकङ्ग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच भेट भएको हो ।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने स्पष्ट पार्नुभयो । दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको उहाँको भनाइ थियो ।

सन् २०२२ मा चिनियाँ जनकङ्ग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसदको सहकार्यले एक अर्काका अनुभव आदान प्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताउनुभयो ।

भेटमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष सुइजनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस र नेपालको संसद्सँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताउनुभयो । दुई देशका संसद्बीचको सहकार्य, भ्रमण आदानप्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताउनुभयो ।

चीनले आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी नराख्दै भन्दै उपाध्यक्ष सुइजनले बिआरआईमार्फत् सडक, रेल्वेलगायतका पूर्वाधार विकासका योजनामा सहयोग गर्न चीन इच्छुक रहेको बताउनुभयो । भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय बनाइने

धनुषा, ३० असोज : नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको सङ्ग्रहालय बनाउन पहल गरिने भएको छ ।

नेपालको एक मात्र नेपाल रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं दुर्लभ वाष्प इन्जिनहरू संरक्षणको पर्खाइमा रहेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र) मा खिया लागेर समाप्त हुने क्रममा रहेका इन्जिनहरूको संरक्षण गर्नुपर्ने आवाज उठ्ने गरे पनि तिनको संरक्षण भने हुन सकेको छैन ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ऐतिहासिक एवं दुर्लभ रहेका वाष्प इन्जिनहरू भएको धनुषाको खजुरीस्थित रेल्वे कारखानाको हालै निरीक्षण गर्नुभयो । दुर्लभ इन्जिनहरुलाई सङ्ग्रहालयमा राख्ने विषयमा सङ्घीइ सरकारसँग छलफल गर्ने बताउनुभयो । रेल्वेको इतिहास तथा वर्तमानका विषयमा अध्ययन गर्न चाहनेका लागि नेपाल रेल्वेसँग रहेको दुर्लभ इन्जिन महत्वपूर्ण हुनुका साथै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“दुर्लभ कोइला इन्जिनहरू बेलायती सरकारको पालादेखिका हुन् । ती इन्जिनहरूलाई प्रदर्शनीमा राख्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।

पूर्व प्राध्यापक एवं अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार मिथिलामा आउने पर्यटकहरू र यहाँका भावी सन्ततीहरूका लागि पुराना कोइला तथा डिजेल इन्जिनहरूको संरक्षण आवश्यक छ । जनकपुर रेल्वेको आफ्नै इतिहास रहेकाले नयाँ पुस्तालाई जानकारी गराउन यसको संरक्षण आवश्यक रहेको उहाँको भनाइ छ । “विगतमा कुन रूपमा नेपालको रेलको विकास भएको हो । त्यसको अध्ययनमा समेत सघाउ पुग्छ”, उहाँले भन्नुभयो ।

तत्कालीन समयमा भारतमा आफ्नो प्रत्यक्ष शासन गरेको बेलायतले निर्माण गरेको रेल्वे २०६९ सालदेखि पूर्ण रुपमा बन्द रहेको थियो । जयनगर जनकपुरदेखि विजलपुरासम्म चलेको नेरोगेज रेलको इन्जिनलगायतको अन्य भौतिक संरचनालाई सङ्ग्रहालय बनाउन आवश्यक भएको डा लाभले बताउनुभयो । नेपाल रेल्वेको कारखानामा थन्काइएका ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरलगायतका नाम दिइएका ईन्जिनहरु संरक्षणको पर्खाईमा छन् ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सङ्घीय सरकारसँग नेपाल रेल्वे कम्पनीले रु ४५ करोड माग गरेकामा रु २१ करोड मात्र दिन तयार भएको तर त्यति खर्चमा संङ्ग्रहालय बनाउन नसकिने भएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षण गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।