`

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

धरान (सुनसरी), ३० असोज : सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआउनुभएको छ ।

उहाँले भन्नुभयो, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआउनुभएको छ । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उहाँले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआउनुभएको छ । उहाँले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ ।

“विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भन्नुभयो ।

सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आउनुभएको छ । “कहिले चार÷पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हँुदैन”, उहाँले भन्नुभयो । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गर्नुभएको छ । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिनुभयो । उहाँले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाउनुभएको छ । छोराले पनि उहाँलाई साथ दिँदै आउनुभएको छ । “पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उहाँले भन्नुभयो ।

सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गर्नुभएको छ । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उहाँले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दैआउनुभएको छ । एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दैआउनुभएको छ । पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो ।

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

राजविराज (सप्तरी), ३० असोज : यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो ।

बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । यसबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौँ रुपैयाँको घाटा भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवाका विलक्षण खंग १० कट्ठामा लगाएको केराखेती कोसी नदीको बाढीले नष्ट गरेपछि लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “मैले १० कट्ठा जमिनमा करिब दुई सयजति केराका बोट लगाएको थिए, बाढीका कारण त्यो अहिले खेतमै सुकिरहेको छ ।” खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आउनुभएको थियो । केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

खंगले दसैँ, तिहार तथा छठ पर्वमा गत वर्ष झैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनग्य आम्दानी गर्ने योजना बनाउनुभएको थियो । “बाढीले योजना भताभुङ्ग बनाइदियो”, उहाँले भन्नुभयो । फलेको केराको बोट खेतमै ढलेपछि पानीमै कुहिएको उहाँले बताउनुभयो ।

सोही ठाउँका किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाउनुभएको थियो । उहाँको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन् । उहाँ भन्नुहुन्छ, “सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान पलायन हुनुपर्ने अवस्था छ ।” बैंकबाट ऋण काढेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उहाँको भनाइ छ ।

हनुमाननगर कङ्कालिनी–१ कोसी पलारमा लगाएको केराखेती बाढीले सखाप भएको छ । यहाँ एक सय पाँच किसानले जग्गा भाडामा लिएर केराखेती गर्दैआएका थिए । हनुमाननगर कङ्कालिनी–२ सकरदहीका दिनेशकुमार राउतले मात्रै कोसी नदीको किनारमा १० बिघामा केराखेती गर्नुभएको थियो । सबै नष्ट भएपछि उहाँ अहिले चिन्तामा हुनुहुन्छ ।

“दसैँ, तिहार र छठमा केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोचमा थिए, दसैँ सुरु हुनु अगाडि नै दसा लाग्यो”, राउतले भन्नुभयो– “केराखेतीकै आम्दानीले छोराछोरी पढाउने तथा घरखर्च चलाउने योजना थियो, बाढीले सब चौपट बनायो ।” केराखेतीमा पसेको बाढी सुकेपनि केराका घरी यत्रतत्र छरिएर खेतमै रहेका छन् ।

भारदह–१ की आशाकुमारी मण्डलले १५ कट्ठामा केराखेती गर्नुभएको थियो । बाढीले त्यो सब नष्ट पारिदिएको छ । उहाँका सात दिदीबहिनी मिलेर केराखेती गर्नुभएको थियो । केराखेती नष्ट भएपछि लगानी डुबेको उहाँले बताउनुभयो । केराखेतीकै आम्दानीले गुजारा गर्दै आएकाले बाढीले केरा नष्ट गरेपछि परिवार पाल्न समस्या भएको मण्डल बताउनुहुन्छ ।

“खेत रु ३० हजारका दरले भाडामा लिएर केरा लगायौँ । केरा नष्ट भएपछि भाडा तिर्ने अवस्थासमेत रहेन”, उहाँले भन्नुभयो । घरछेउमै दसँैमा कङ्कालिनी भगवती मन्दिरमा लाग्ने मेलामा केरा बेचेर आम्दानी गर्ने मण्डलको इच्छा बाढीका कारण पूरा हुन पाएन ।

बाढीका कारण भारदह–१ भलुवाका रामदेव मण्डलले ५० कट्ठा जग्गामा लगाउनुभएको केराखेती नष्ट भएको छ । केराखेती सबै कोसीको बाढीले बगाइदिएपछि उहाँ साहुँको ऋण कसरी तिर्ने भन्ने चिन्तामा हुनुहुुन्छ । भगवतीप्रसाद मण्डलको अवस्था पनि रामदेवको जस्तै भएको छ । “दश कट्ठामा लगाएको केराखेती सब सखाप भयो, यो वर्ष दसैँ जस्तै तिहार र छठ पर्व पनि राम्रोसँग मनाउन नसकिने भयो, घरखर्च टार्नै मुश्किल भयो”, उहाँले पीडा सुनाउनुभयो ।

केरा बिक्री गरेर मनग्य आम्दानी गर्दैआउनुभएका इनर्देव लोगी वैकल्पिक उपायको खोजीमा हुनुहुन्छ । लगाएको केराखेती नष्ट हुँदा घर खर्च चलाउन समस्या भएको भलुवाका रामचन्द्र ठाकुर बताउनुहुन्छ । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ ।

बाढीले लाखौँको क्षति भएपछि यहाँका किसानको केराखेतीतर्फ आकर्षण घट्ने भएको छ । किसानले हालसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् । यसअघि गत वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो ।

६९औँ प्रहरी दिवसका अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौँ, २९ असोजः ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन—२०८१ मा प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई पुरस्कार प्रदान गरिएको छ ।

नेपाल प्रहरी अन्तरप्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवराज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिलराज बोहरा, काठमाडौँ उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरलाई पनि सम्मान गरिएको छ ।

यस्तै प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्तराम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरीप्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नवीन चुदालीलाई पनि सम्मान गरिएको छ ।

सोही विधामा प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायब निरीक्षक जोखबहादुर विक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोविन्दबहादुर महतो, प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायब उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायब निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायब निरीक्षक जीवनकुमार कार्की र प्रहरी नायब निरीक्षक सुवाष यादवलाई पनि महानिरीक्षक कुँवरले प्रशंसापत्र प्रदान गर्नुभयो ।

समारोहमा उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायब उपरीक्षक पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक विजय महतलाई सम्मान गरिएको छ ।

म्हिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायब निरीक्षक स¬ङ्गीता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई पनि सम्मान गरिएको छ ।

उत्कृष्ट विपद् व्यवस्थापन कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधनकुमार महतो, प्रहरी हवल्दार दीपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दीपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान विमला चौधरीलाई पनि सम्मान गरिएको छ ।

उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेशकुमार बिष्टलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरियो । साथै नेपाल प्रहरी स्मारक गुठिका सात जना आजीवन सदस्यलाई कदरपत्र प्रदान गरियो ।

यस्तै महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने संखुवासभाका विमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रूकुम पूर्वका दिनेश किशोर पुन, विनसरा पुन, मणिभक्त पुन, मीनबहादुर घर्ती र रूपन्देहीका शैलेन्द्रकुमार चौधरीलाई कदरपत्र प्रदान गर्नुभयो । अन्य विधाका उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । साथै नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयबाट कदरपत्र प्रदान गरिने जनाइएको छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै महानिरीक्षक कुँवरले प्रहरी संगठनप्रति आमनागरिकको विश्वास ऊर्जा र शक्तिको स्रोत भएको चर्चा गर्नुहुँदै जनविश्वासअनुरूप कार्यसम्पादन गर्न अझ बढी जवाफदेही र व्यावसायिक हुनुपर्ने बताउनुभयो ।

पोखरामा विद्युतीय तार भूमिगत आयोजना सुस्त गतिमा

गण्डकी, २९ असोज : पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना सुस्त भएको बताउनुभयो ।

“अनेक अड्को र कारण देखाउँदै निर्माण कम्पनीले समयमा काम गर्न सकेको छैन”, उहाँले भन्नुभयो, “गत वर्ष माघमा थपिएको ठेक्का म्याद पनि सकिन लागेपछि पुनः म्याद थपका लागि प्रकृया अगाडि बढेको छ ।” इन्जिनियर सुवेदीले अहिलेकै गतिमा काम भएमा आयोजनालाई पूर्णता दिन वर्षौँ लाग्ने बताउनुभयो । उहाँका अनुसार गत कात्तिकमा आयोजनाको प्रगति २५ प्रतिशत पुगेकामा त्यसयता वर्षदिनमा जम्मा २५ प्रतिशत प्रगति थपिएको हो ।

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि २०८० वैशाखको अन्तिमतिर पोखरामा तार बिछ्याउने काम सुरु गरिएको थियो । इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना सुस्ताएको इन्जिनियर सुवेदीले बताउनुभयो ।

“चित्तबुझ्दो ढङ्गले आयोजनाको काम हुन सकेको छैन, केही समयदेखि काम नै रोकिएको छ, दसैँलगत्तै काम सुरु गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ”, उहाँले भन्नुभयो । पोखरा महानगरपालिका–१० कुँडहरचोकदेखि बुद्धचोकसम्म र लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इन्जिनियर सुवेदीले बताउनुभयो । आयोजनाअन्तर्गत पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिँहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो ।

मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना कार्यालयले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छाइनेछ । “विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”, इन्जिनियर सुवेदीले भन्नुभयो, “पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।”

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इन्जिनियर सुवेदीले बताउनुभयो ।

तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइने प्राधिकरणले जनाएको छ । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन् । तार बिछ्याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहरूको भनाइ छ ।

पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । काठमाडौँ उपत्यकापछि भरतपुर र पोखरामा उक्त आयोजना अघि बढेको हो । प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।

इजरायलमा गोली चल्दा एक प्रहरीको मृत्यु, तीन सर्वसाधारण घाइते

मङ्गलबार दक्षिणी इजरायलमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु हुनुका साथै तीन सर्वसाधारण घाइते भएको स्थानीय प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्ति अनुसार आक्रमणकारीले रुट चार मा याभने इन्टरचेन्ज नजिकैबाट गुज्रिरहेको कारमा गोली चलाएको थियो ।

प्रत्यक्षदर्शी ट्रक चालकले बन्दुकधारीमाथि गोली चलाएको र उनको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मेवारी हाल सम्म कुनै समूहले लिएका छैन् ।

इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु

इराकी प्रान्त किर्कुकमा आईएस लडाकू लुकेको ठाउँमा सेनाले गरिएको हवाई आक्रमणमा एक वरिष्ठ सदस्य सहित चार इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले मङ्गलबार जनाएको छ ।

इराकी एफ–१६ जेट लडाकूहरूले राति ११ः३० बजे दुईवटा हवाई आक्रमण गरे । सोमबार बगदादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी किर्कुकको दक्षिणपूर्वमा ल्यान क्षेत्रमा रहेको आइएसको लुकेको ठाउँलाई सेनाले निशाना बनाएको हो ।

सुरक्षा बलहरूलाई मङ्गलबार बिहान बम विष्फोट भएको ठाउँमा पठाइएको थियो । यहाँ उनीहरूले चारवटा शव फेला पारेका थिए, जसमध्ये एक जना वरिष्ठ आईएस सदस्य भएको विश्वास गरिन्छ ।

हवाई हमलामा हतियार, सञ्चार उपकरण र अन्य उपकरण पनि नष्ट भएको बताइएको छ ।सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार आएको छ । यद्यपि, आईएसका अवशेषहरू शहरी केन्द्र, मरुभूमि र असभ्य भूभागहरूमा प्रवेश गरेका र सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार छापामार आक्रमणहरू गरिरहेका छन् ।

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार

विराटनगर, २९ असोजः मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आज छजना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ हिजोदेखि सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । यसक्रममा आज उद्धार टोलीले झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवको उद्धार गरिएको हो ।

उद्धार टोली सदस्य रामजी अधिकारीले झापाको दमक नगरपालिकाबाट दुई, मोरङको बेलबारीबाट दुई, ग्रामथान गाउँपालिकाबाट एक र विराटनगर महानगरपालिका– १५, रामजानकी मार्गबाट एक जनाको उद्धार गरिएको जानकारी दिनुभयो । यात्राको पहिलो दिन सोमबार १० जना सडकआश्रित मानवको उद्धार गरिएको उहाँले बताउनुभयो ।

उद्धार गरिएकाहरूलाई आजै मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ ।

भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी

काठमाडौँ, २९ असोज : चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमवलव ०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव १९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमश ९ दशमलव ७७ प्रतिशत ७ दशमलव १९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ८० प्रतिगत, तरकारीको ९ दशमलव ८४ प्रतिशत, खाद्य पदार्थको ९ दशमलव ३० प्रतिशत र फलफूलको ४ दशमलव ९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २ दशमलव ६९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी गैर–खाय तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८ दशमलव ७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६ दशमलव ७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव ०८ प्रतिशत र घरायसी उपकरणको ४ दशमलव ८८ प्रतिशतले बढेको छ भने बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मून्य सूचकाङ्क ४ दशमलव ०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ७८ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६६ प्रतिशत, मधेश प्रदेशको ३ दशमलव ८२ प्रतिशत, बागमती प्रदेशको ३ दशमलव २९ प्रतिशत, गण्डकी प्रदेशको ३ दशमलव ५० प्रतिशत, लुम्बिनी प्रदेशको ३ दशलव ५३ प्रतिशत, कर्णाली प्रदेशको ३ दशमलव ५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५ दशमलव ९० प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत, तराईको ४ दशमलव ०९ प्रतिशत, पहाडको ३ दशमलव ६१ प्रतिशत र हिमालको ४ दशमलव १९ प्रतिशत रहेको छ । गत वर्षको भदौमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ९ दशमलव ८३ प्रतिशत, ७ लशमलव ०३ प्रतिशत, ८ दशमलव ०९ प्रतिशत र ११ दशमलव ३२ प्रतिशत रहेको थियो ।

यस वर्षको भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २ दशमलव ७५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १ दशमलव ३९ प्रतिशत ३ दशमलव ५६ प्रतिशत २ दशमलव ७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४ दशमलव २२ प्रतिशतले घटेको छ ।

युद्ध सुरु भएयता गाजामा सहायताको ‘सबैभन्दा खराब प्रतिबन्ध’ को राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घले मङ्गलबार द्वन्द्वग्रस्त गाजाले इजरायल–हमास युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयदेखि सहयातामा सबैभन्दा खराब प्रतिबन्धको सामना गरिहेको देखेको र यसले बालबालिकाहरूमा विशेष रूपमा विनाशकारी प्रभाव पारेको बताएको छ ।

“दैनिक बालबालिकाहरूको अवस्था अघिल्लो दिनभन्दा खराब हुँदै गएको छ”, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रवक्ता जेम्स एल्डरले भन्नुभयो ।

गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणले युद्ध सुरु गरेपछि इजरायलले जवाफी आक्रमणले गाजाका विशाल क्षेत्रहरू तहसनहस भएका छन् । इजरायलले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा कारबाहीलाई तीव्र पारेको छ । त्यहाँ राष्ट्रसङ्घले लाखौँ मानिस फसेको चेतावनी दिएको छ ।

एल्डरले भित्र जाने सहायताको मात्रा बढाउनुपर्ने तत्काल आवश्यक भए पनि सहायता पहुँच खराब हुँदै गएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

“अगस्ट महिनामा युद्ध सुरु भएयता कुनै पनि पूर्ण महिनाको तुलनामा गाजा पट्टीमा सबैभन्दा कम मानवीय सहायता आएको थियो”, उहाँले भन्नुभयो, “गत साता केही दिन कुनै पनि व्यावसायिक ट्रकहरूलाई भित्र आउन अनुमति दिइएको थिएन, अहिले हामीले मानवीय सहायतामा सम्भवतः अहिलेसम्मकै सबैभन्दा खराब प्रतिबन्धहरू देखिरहेका छौँ ।”

यस वर्षको सुरुमा राष्ट्रसङ्घले गाजामा पूर्ण अनिकालको घोषणा गर्नसक्ने चेनतावी दिएपछि एल्डरले ‘नयाँ मार्गहरू र प्रवेश विन्दुहरू खोल्न वास्तविक दबाब’ थियो भन्नुभयो ।

“तर अहिले हामीले त्यसको पूर्ण विपरीत देखेका छौँ, मे महिनादेखि हामीले निरन्तर प्रवेश विन्दुहरू अवरुद्ध भएको देखको छौँ”, उहाँले चेतावनी दिँदै भन्नुभयो, “उत्तरी गाजामा अक्टोबर महिनाभर नै कुनै पनि खाद्य सहायता आएको छैन ।”

सहायताको चरम अभाव, निरन्तर आक्रमण र गाजा पट्टीको करिब ८५ प्रतिशत भागमा कुनै न कुनै रूपमा खाली गर्ने आदेश जारी गरिएको तथ्यले यस क्षेत्रलाई ‘अनिवार्य रूपमा बस्न नसकिने’ बनाएको एल्डरले बताउनुभयो ।

– पोलियो खोप अभियान –

केही क्षेत्रमा इजरायली सैन्य कारबाही बढ्दै गरेको भए पनि सोमबारदेखि लाखौँ बालबालिकाका लागि पोलियो खोप अभियानको दोस्रो चरण सुरु भएको छ । गाजा पट्टीमा २५ वर्षपछि पहिलो पटक पोलियोको पुष्टि भएपछि खोप अभियान सुरु भएको हो ।

प्रारम्भिक चरण जस्तै दोस्रो चरण पनि तीन चरणमा विभाजित हुनेछ । यसमा लडाइँमा स्थानीय ‘मानवीय विराम’ को सहयोग लिएर पहिले मध्य गाजामा त्यसपछि दक्षिणमा र अन्त्यमा क्षेत्रको सबैभन्दा पहुँच गर्न कठिन उत्तरी भागमा अभियान सुरु गरिनेछ ।

गत साता राष्ट्रसङ्घले गत महिना पहिलो डोज दिइएको भन्दा दोस्रो चरण ‘बढी जटिल’ हुने स्वीकार गरेको थियो । दश वर्षमुनिका पाँच लाख ९० हजारभन्दा बढी बालबालिकालाई दोस्रो डोज दिने लक्ष्य रहेको छ र सोमबार मात्र मध्य गाजामा करिब ९३ हजार डोज वितरण गरिएको थियो ।

तीन राउण्ड गोली र पेस्तोलसहित एक जना पक्राउ

भक्तपुर, २९ असोजः जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । म्याद थप गरी आजै तामाङमाथि थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु, असोज २९ः प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ । मौसममा आएको परिवर्तनका कारण सोमबारबाट कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका ‘एटिसी अफिसर’ विवस दाहालका अनुसार आइतबार ९० वटा उडानमार्फत करिब आठ सय पर्यटक भित्रिएको लुक्लामा त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । निरन्तर हुस्सुका कारण उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटक समस्यामा परेका छन् । “रामेछापको मन्थलीमा पनि लुक्ला आउने पर्यटकहरू रोकिएका छन्, कतिपय काठमाडौँमा पनि रोकिएको खबर छ । मौसम प्रतिकूल हुनसाथ उडान प्रभावित हुँदा पर्यटक रोकिएका हुन्”, उहाँले भन्नुभयो ।

उडान प्रभावित भएसँगै पर्यटक लिएर आएका हेलिकप्टर लुक्लाभन्दा केही तल सुर्केमा अवतरण भइरहेको बताइएको छ ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले लुक्ला जान मन्थली पुगेका करिब एक हजार तीन सय जना विदेशी पर्यटक दुई दिनदेखि सोही स्थानमा रोकिएको जानकारी दिनुभयो । उडान प्रभावित हुँदा रोकिएका पर्यटक सडक मार्गबाट सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खुम्बु जाने योजनाका साथ अघि र केही भने हेलिकप्टरमार्फत सुर्के गइरहेको उहाँले बताउनुभयो ।

मन्थली विमानस्थलमा पर्यटकीययाममा दैनिक ५५ देखि ६० उडान हुने गरेको प्राधिकरणले जनाएको छ । शरद ऋतुमा सगरमाथा आधार शिविर पदयात्राका लागि पर्यटकले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थल हुँदै त्यहाँ जाने गरेका छन् ।

हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं, २९ असोजः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गर्नुभएको छ ।

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ रहनुभएका उहाँले डब्लुएचओका महानिर्देशक डा टेड्रोस गिब्रिएसस्सँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो । मन्त्री पौडेलले नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गरी लाभ लिन सकिने भन्नुहुँदै यसका लागि गर्नुपर्ने सहजीकरणका लागि नेपाल सधैँ तयार रहेको बताउनुभयो ।

जवाफमा महानिर्देशक टेड्रोसले नेपालले सङ्गठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुहुँदै मन्त्री पौडेलले राखेको प्रस्तावमा आफू सकारात्मक रहेको बताउनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले जानकारी दिनुभयो ।

सम्मेलनका क्रममा मन्त्री पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँले बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि नेपालले प्रयास गरिरहेको र यस कार्यमा आवश्यक खोप सहयोगका लागि आग्रह गर्नुभयो । मन्त्री पौडेलले डेङ्गीलगायत छ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन उहाँमार्फत विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी उहाँले जर्मनीका सङ्घीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँगको भेटवार्ताका क्रममा नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार कार्यलाई अगाडि बढाउने बताउनुभयो । जर्मन स्वास्थ्यमन्त्री कार्लले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो ।

नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा

विश्व स्वास्थ्य क्षेत्रका सरोकार भएकाहरूले नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा सुधार भइरहेको भन्दै प्रशंसा गरेका छन् । विश्व स्वास्थ्य शिखर सम्मेलनको एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको दूरदराजमा क्रियाशील ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र मातृशिशु स्वास्थ्य सुधारका लागि उदाहरणीय काम गरेको बताउनुभयो । उहाँहरूकै प्रभावकारी भूमिका र योगदानका कारण मातृशिशु मृत्युदर कम गर्न सकिएको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले नर्वेका स्वास्थ्यमन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का शीर्ष अधिकारीसँगसमेत भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा युनिसेफका उप कार्यक्रम निर्देशक ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित बनाउन र उहाँहरूको सशक्तीकरणका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

जवाफमा अब्दीले महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय रहेको भन्नुहुँदै यस कार्यमा सहयोग गर्न आफूले पहल गर्ने विश्वास दिलाउनुभएको जनाइएको छ ।

उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’– रुस

क्रेमलिनले मङ्गलबार उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ ।

प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर कोरियाले मङ्गलबार अत्यन्त प्रतीकात्मक सडकहरूमा खण्डहरू नष्ट गरेको थियो । यसको जवाफमा सोलले ‘प्रति–आक्रमण’ अभियान सञ्चालन गरेको थियो ।

जुन महिनामा रुस र उत्तर कोरियाबीच हस्ताक्षर गरिएको सम्झौताका बारेमा सोधिएको प्रश्नमा क्रेमलिनले शब्दावली ‘स्पष्ट पार्न आवश्यक छैन’ भनेको छ । उक्त सम्झौताले कुनै पनि मुलुकले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहायता’ प्रदान गर्ने व्यवस्था गरेको छ ।

“यो पूर्णतया स्पष्ट छ, मुख्य कुरा भनेको सन्धिले सुरक्षासहित सबै क्षेत्रमा रणनीतिक, गहन सहयोगको परिकल्पना गर्दछ”, प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङको भ्रमणमा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ उनलाई पुटिनले उत्तर कोरियाको ‘सबैभन्दा प्रिय मित्र’ भनेर प्रशंसा गर्नुभएको थियो ।

उत्तर कोरियाले मस्कोलाई युक्रेनमा प्रयोग गर्न हतियार दिइरहेको पश्चिमी मुलुकहरूको विश्वास छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता प्योङयाङलाई आफ्नो मुलुकमा सैनिक पठाएको आरोप लगाउनुभएको थियो ।

पुटिनले उत्तर कोरियासँगको सम्झौता अनुमोदन गर्न विधायकहरूलाई एउटा विधेयक पठाउनुभएको छ तर धेरै विवरण अझै अस्पष्ट छन् । विधेयकमा प्योङयाङ रुसको आणविक छाताअन्तर्गत पर्नेछ कि छैन भन्ने कुरा पनि समावेश छ ।

चाडपर्वसँगै हराउँदै मौलिकता, पिङहरु गायव

काठमाडौँ, २९ असोज – हाम्रा चाडपर्वहरु बदलिएका छन् । यद्यपि यसको मानक बदलिएको छैन । दसैँ, तिहार, छठलगायत पर्वहरुले देशव्यापी आकार लिइरहँदा पर्वका खास महत्व र गरिमा पर्वसँग जोडिएका मौलिकता भने हराउँदै गएका छन्, मेटिँदै गएका छन् । यसले हाम्रा चाडपर्व कर्मकाण्डीमा सीमित हुन थालेको देखिन्छ । चाडपर्व खागरी दसैँ, तिहार आउँदा परिपाटी नै बनेको छ गाउँ जाने–फर्किने । बिस्तारै पर्वहरुको मानक यस्तैमा सीमित भइरहँदा पर्वका अर्थहरु पनि हराउँदै जाने अवस्था बनेको छ । पर्वको रौनक नै मेटिने सङ्केत गर्दैछ । एकातिर दसैँ, तिहारजस्ता पर्वहरुमा जति प्रहार भइरहेका छन्, त्यसको खण्डन पनि भइरहको छैन भने अर्कातिर पर्व मनाउने नाममा मानकहरु किन महत्वपूर्ण छन्, यो हाम्रो सभ्यता र सम्पदा पनि हो भनेर नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिरहेका छैनौँ । यसैले दसैँ, तिहार विस्तारै सङ्क्रान्ति, मसान्तजस्तो सामान्य तिथिमा सीमित हुने अवस्था बन्दैछ ।

दसैँबारे नकारात्मक हिसाबले चर्चा र आलोचना हुने गरेको छ । जस्तो, निम्छरालाई खाने चामल छैन, टीका लगाएर करोडको चामल खेर फालिएको छ, अनावश्यक बली देखाउने गरिएको छ । यसलाई नयाँ पुस्तामा पनि नेपालीको पहिलो चाडका रुपमा स्थापित गरिनुपर्छ भनेर चिन्तन् पनि हुन छाडेको छ । चाडपर्वका केही मौलिकताहरु विस्तारै हराउँदै गएका छन् ।

फूलपातीको हर्षबढाइँ

बडादसैँमा घटस्थापनादेखि १५ दिन नै दैनिकजसो नयाँ देवीको पूजाआराधना गरिन्छ । जमराको महत्वलाई हामीले युवा पुस्तामा लगेका छैनौँ । बरु अनेक फूल शिरमा सिउरेर भए पनि आशीष दिएर दसैँको औपचारिकता पूरा गरिरहेका छौँ । जौको जमराको महत्वबारे चर्चा गर्न छाडेका छौँ । हरेक दिन पुजिने देवीदेउताबारे पनि नयाँ पुस्तालाई रुचि र ज्ञान छैन । हामीले पनि यसको महिमा नयाँ पुस्तालाई बुझाउन चाहेका छैनौँ । क्रमशः दसैँको सातौँ दिन फूलपाती भित्र्याउने हर्कबढाइँ बडादसैँभित्र हराउँदै गएको एउटा महत्वपूर्ण कडी बन्ने गरेको छ । फूलपातीका दिन साँझ पूजापाठसहित फूलपाती भित्र्याउने दसैँको रौनक घट्दो छ । यसको पहिलो कारण अचेल फूलपातीका दिनसम्म कामकाजी युवा कार्यालयको काम सकेर बल्ल घर आउने चटारोमा हुन्छन् । घरमा छोरा, नाति नभएपछि एक्ला अभिभावकले फूलपातीको रौनक थेग्न सक्दैनन्, भित्र्याउन पनि सक्दैनन् । सन्तान नआएसम्म दसैँ नलाग्ने हाम्रो गाउँघरमा फूलपातीका दिनसम्म घर नपुग्ने क्रम बढ्न थालेको धेरै भयो ।

पहिलाजस्तो षष्ठीकै दिन छोरा, नाति बाहिरबाट घर आइपुग्थे र फूलपातीका दिन भब्यसँग हर्कबढाइँ हुन्थ्यो । अब त सन्तान नै महाअष्टमीका दिन पुग्न थाले । त्यसैले हर्कबढाइँका साथ फूलपाती भित्र्याउने पुस्ता गाउँमा छैन । गरिखाने वर्गजति सहर केन्द्रित हुनु परेकाले जमरा राख्ने काम त हुन्छ तर यसका सातौँ दिनको फूलपाती भित्र्याउने संस्कार लोप हुँदैछ । बन्दुक पड्काएर जुन हर्कबढाइँ हुन्थ्यो, अचेल यस्तो हुँदैन । महाअष्टमीमा बडाघरमा हुने पूजा पनि हराउन थालेको छ । गाउँमा जम्मा भएकाहरु हतारमा टीकाका दिन साइतको टीका थापेर मावल र ससुराल जाने चटारो हुने गरेको यो वर्ष गाडी उस्तै अभाव थियो । गाउँका गाडी भरिभराउ थिए । टाढाको यात्राका लागि सहज थिएन । त्यसैले पनि गाउँ आएकाले साथीभाइ भेटघाट र खुशी साटासाट अनुभूत गर्न पाएनन् ।

पिङहरु गायव

बडादसैँ, तिहारमा गाउँमा रोटेपिङ हाल्ने, लिङ्गेपिङ हाल्ने संस्कार पनि विस्तारै हराउँदै गएको छ । गाउँका युवा व्यस्त हुँदा र गाउँमा युवा नहुँदाको परिणाम यस्ता कुराहरुमा देखिन थालेको छ । देश बाहिर गएका युवा पनि छोटो समयलाई आउने भएकाले गाउँमा चाडपर्वका कैयौँ मौलिकता विस्तारै हराउँदै जान थालेका छन् । सबै भेला हुने, गाउँमा पिङ हाल्ने, नाचगान गर्ने, रातभर रोधी बस्नेजस्ता कार्यक्रम चाडपर्वको नियमितताभित्र पर्न छाडेका छन् । डिजिटल पुस्तालाई संस्कृतिबारे बताउने समय पनि नहुने गरी अभ्यस्त बनेका नेपालीले चाडपर्वको कैयौँ मौलिकता मनाउन छाडेका छन् भन्दा पनि हुन्छ ।

पहिलापहिला गाउँमा युवा क्लबले खर (बाबियो) काट्ने, सार्वजनिक चौरमा भेला भएर पयो हालेर पिङ बाट्ने, काठ काठेर पिङ हाल्ने काम गर्थे । अचेल गाउँ पुगेका युवा पुस्ताबीच चिनजानसमेत हुन छाडेको छ । गाउँको सामाजिक काममा धेरैको संलग्नता नै हुन छाडेको छ । बाटो सरसफाइ गर्ने, चौडा बनाउने काम गर्ने युवा अचेल गाउँमा छैनन् । सबै घरघरमा व्यस्त हुने गर्छन् । विस्तारै डिजिटल प्रणालीले युवा पुस्तालाई एक्ल्याएर सामाजिक कार्यमा समेत सामूहिकताबाट अलग गराउन थालेको छ । यसको असर चाडपर्वहरुमा पिङ हराउन थालेको छ । गाउँका चौरमा रोटेपिङ, लिङ्गेपिङ मच्चिन छाडेका छन् । केही भूगोलमा हालिएका पिङहरु सामाजिक सञ्जालमा भाइरल पो भइरहेका छन् ।

बिर्सन थालियो मठमन्दिरका महिमा

पछिल्लो समय चाडपर्वमा घर आउने पुस्तालाई गाउँघरका धार्मिक मठमन्दिरमा किन पूजापाठ हुन्छ भन्ने चासो पनि हुन छाडेको छ । चाडपर्वका बेला विभिन्न शक्तिपीठमा पूजाआराधना हुने गरेका छन् । तिनको आफ्नै धार्मिक महत्व छ । तर धर्मप्रति घट्दो रुचि र पुरानो पुस्ताले पनि यस्ता शक्तिपीठप्रति कम चासो जगाउने गरेकाले नयाँ पुस्तालाई आफ्नै आसपासका धार्मिक मठमन्दिरप्रति कुनै रुचि छैन । मठमन्दिर पछिल्लो समय वश पर्यटकीय केन्द्रका रुपमा परिचित हुँदै गएका छन् ।

मन्दिरमा दर्शन भन्दा प्रदर्शन गर्ने होड चलेको देखिन्छ । जुन मन्दिरमा गएका छन्, त्यो मन्दिरको महत्व भन्दा बढी त्यहाँ घुमघाम र फोटो खिच्नमै युवा पुस्ता रमाउने गरेका छन् । यसैले मठमन्दिरको महिमा पनि चाडपर्वको दैनिकीबाट विस्तारै हराउँदै गएको छ । हामी बदलिने नाममा मौलिकता बिर्सिरहेका छौँ । सभ्यता भुलिरहेका छौँ । चाडपर्वलाई हामीले फरक बनाउने नाममा योसँग जोडिएका मौलिकता सकाउँदै गइरहेका छौँ ।

हराएको चङ्गा

शारदीय वायुमा चङ्गा उडाउन सहज हुन्छ । चङ्गा उडाउनु रमाइलो वा मनोरञ्जन मात्र होइन । विजय र वर्चश्वको बोध गरेर उड्ने चङ्गा जीवन दर्शन पनि हो । उमङ्गको प्रतीक हो । चङ्गाको आविष्कार चीनमा इशापूर्व तेस्रो शताब्दीमा भएको हो । विश्वमै पहिलो चिनियाँ दार्शनिक हुआङ थेगले चङ्गा बनाएका थिए । यस हिसाबले हेर्दा चङ्गाको इतिहास दुई हजार तीन सय वर्ष पुरानो छ ।

नेपालमा भने ‘वर्षा र सहकालका देवता ईन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो’ भन्ने सन्देश पु¥याउन चङ्गा उडाउने प्रचलन शुरु भएको भन्ने छ । धागोले बाँधिएर लट्टाईबाट नियन्त्रण गरिने चङ्गा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार हो । चाडपर्वमा चङ्गा उडाउने चलन छ । दुःख, पीडा भुल्दै रमाउने माध्यम पनि हो चङ्गा । चङ्गा चेट प्रतियोगिता पनि हुन्थे । अचेल डिजिटल पुस्ता आयो । हातमा मोबाइल आयो । मोबाइलमा धेरै कुरा आए । हामीलाई यसले निहुरिने बनायो । यसैले आकाशतिर फर्केर चङ्गा उढाउने कार्यहरु हराउँदै गए । चाडपर्वमा चङ्गा उडाउने चलन पनि लगभग लोपोन्मुख छ ।

भेटघाट महोत्सव

यसरी नेपालीको पहिलो र महान पर्व बडादसैँ अचेल वश पुख्र्यौली घर पुग्ने, ठूलाबडाबाट आशिष थाप्नेमा सीमित हुँदै गएको छ । मठमन्दिरमा लाग्ने मेला पनि पर्यटकीय प्रवद्र्धनमा सीमित हुन थालेका छन् । बडादसैँमा धार्मिक मठमन्दिरमा हुने मेला, बलीबारे नयाँ पुस्तालाई हामीले सुनाउन छाडेका छौँ । उनीहरु सुन्न र बुझ्न छाडेका छन् । बडादसैँ परिस्कृत हुन जरुरी छ । अनावश्यक बलीप्रथालाई हामीले हटाउँदै जानु पर्छ । चाडपर्व सभ्यताको मानक र सांस्कृतिक पाटो भने विस्तारै लोप हुँदैछ । हामी चाडपर्वलाई फगत आफन्त भेटघाट महोत्सवमा सीमित पारिरहेका छौँ । चाडपर्वमा दिइने दक्षिणालाई पनि हामीले फेरेका छौँ । दसैँमा छोरा, नातिलाई हामीले दक्षिणा दिन गर्थेनौँ । तर अचेल सबै बराबरी भनेर दक्षिणा दिने गरेका छौँ ।

विस्तारै हामी राष्ट्रिय पर्व बडादसैँका केही मौलिकता मेट्दै गइरहेका छौँ । दसैँ गरिमा र महिमा अनि मौलिक पाटोमा नयाँ पुस्तालाई जोड्न सकिरहेका छैनौँ । केही वर्षपछिका दसैँ कस्ता होलान् ? घरमा जमरा राख्ने चलन हट्नेछ । फूलपाती भित्र्याउन छाडिसक्यौँ । आँगनमा बोको, खसी काटिने छैन । धार्मिक शक्तिपीठहरु घुमामस्थलमा सीमित हुनेछ । अनि मौलिकता गुगलमा सीमित हुनेछ । पृथ्वीनारायण शाहले गोरखाबाटै फूलपाती ल्याएर काठमाडौमा भित्र्याउने चलन अहिले पनि कायम छ तर यसको अर्थ धेरैलाई जानकारी हुन छाडेको छ ।

देउसीभैलो र भजनकीर्तन

चाडपर्वकै कुरा गर्दा तिहारका बेला लक्ष्मीपूजाका दिनसम्म भैली खेल्ने र त्यसपछि देउसिरे खेल्ने प्रचलन थियो । अझ यसमा भजनकीर्तन पनि गर्ने सभ्यता थियो । अचेल देउसीभैलोको महिमा पनि बालबालिकाको मनोरञ्जनमा सीमित भएको छ । धार्मिक कथनहरुलाई भजनमा ढालेर गाउने प्रचल हट्दो छ । तिहारका बेला भैलोलाई पनि हामीले संरक्षण गर्न सकिरहेका छैनौँ । देउसी रेलाई पनि विस्तार बिर्सँदै गएका छौँ । ‘कात्तिके दान’को महिमा जोडेर एकादशीसम्म कतैकतै भजनकीर्तनसहित देउसिरे खेल्ने चलन पनि हराउन थालेको छ । चाडपर्वका नाममा बिदामा रमाउने, मोबाइलमा रत्तिने र डिजिटल पुस्ताको अभ्यस्तपनले हाम्रा चाडपर्वहरु मौलिकताविहीन हुँदै जान थालेका छन् । यसले चाडपर्वलाई इतिहासको गर्वतिर धकेलिरहेको छ भने हामी विश्वव्यापी गाउँको सदस्य हुने होडमा आफ्नो रीतिरिवाजलाई भुल्दैछौँ ।

युवारहित गाउँ

हामीसँग अब सहरलाई पठाउने युवा पुस्ता उत्पादन हुन छाडेको छ । अहिले मात्रै फाट्टफुट्ट युवा गाउँ आएर चाडपर्वको रौनक देखिएको हो । अब विस्तारै गाउँ खाली हुँदैछ । चाडपर्वमा युवापुस्ता गाउँ आउने होइन, गाउँमा भएका अभिभावक चाहीँ सहर झर्ने क्रम शुरु भएको छ । सन्तानहरुले गाउँमा भएका आफ्ना अभिभावकलाई सहर बोलाउन शुरु गरेका छन् । जहाँ आफ्ना सन्तान, त्यहीँ चाडपर्व । चाडपर्वको भाष्य पनि बदलिँदैछ । पहिला अभिभावक भन्थे, ‘सन्तान आएपछि चाडपर्व आएजस्तो लाग्छ ।’ अचेल भन्न थालेका छन्, ‘छोराछोरी सहरमै छन्, हामी पनि गएपछि चाडपर्व शुरु हुन्छ ।’ हो, अब सहरमै चाडपर्वको रौनक देखिनेछ । गाउँ आउने झन्झटभन्दा अभिभावकलाई सहर बोलाउने क्रम शुरु भएको छ । यो क्रम नेपालमा मात्र होइन, विदेशिएका सन्तानले पनि अब आफ्ना आमाबाबु उतै लैजान थालेका छन् । बसाइँ सरेरै युग बितिरहेको नेपाली पुस्ता पछिल्लो समय चाडपर्व लिएर गाउँ आइरहेका छैनन्, विस्तारै गाउँबाट चाडपर्वको रौनक पनि सहर र विदेशतिरै लगिरहेका छन् । यो क्रम हामीले रोक्न सकेनौँ भने अब गाउँ युवारहित हुँदा हामी चाडपर्वको मौलिकता हराइरहेको भन्दै चिन्तन त गरिरहेका छौँ, विस्तारै चाडपर्व नै मासिने अर्को खतरा पनि देखिन शुरु भएको छ । (लेखक पत्रकार हुनुहुन्छ)

दुर्लभ भ्रमणका क्रममा भारतीय विदेशमन्त्री पाकिस्तानमा

भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका लागि पाकिस्तान पुग्नुभएको छ । करिब एक दशकमा आफ्नो प्रतिद्वन्द्वी छिमेकी मुलुकको भ्रमण गर्ने उहाँ दिल्लीका पहिलो उच्च कूटनीतिज्ञ हुनुहुन्छ ।

विदेश मन्त्रालयका एक अधिकारीका अनुसार जयशङ्करको विमान स्थानीय समयानुसार अपराह्न ३ः३० बजेतिर राजधानी इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण भएको थियो । सरकारी टेलिभिजनले उहाँलाई फूलको गुच्छा प्रदान गरिरहेको देखाएको छ तर स्वागत टोलीमा कुनै वरिष्ठ मन्त्रीहरू संलग्न थिएनन् ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी हुन् । दुई मुलुकबीच दीर्घकालीन राजनीतिक तनाव छ । सन् १९४७ मा भारतीय उपमहाद्वीपको विभाजनपछि दुवै मुलुकले तीन वटा युद्ध र अनेकौँ साना झडपहरू लडेका छन् ।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित काश्मीरको सीमित स्वायत्तता खारेज गर्नुभएपछि सम्बन्धहरू विशेषगरी कटु बनेका छन् । हिमाली क्षेत्र काश्मीर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा दाबी गर्छन् र एकअर्कालाई त्यहाँ उग्रवाद भड्काएको आरोप लगाउँछन् ।

मोदीको सन् २०१९ को उक्त कदमलाई भारतभर उत्सवका रूपमा मनाइयो तर पाकिस्तानलाई द्विपक्षीय व्यापार निलम्बन गर्न र नयाँदिल्लीसँगको कूटनीतिक सम्बन्ध घटाउन प्रेरित गर्यो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसै महिना जयशङ्करको भ्रमणको एजेन्डा कडाइका साथ एससिओको कार्यतालिकाअनुसार हुने र यसमा व्यापार, मानवीय र सामाजिक मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम रहेको बताउनुभएको थियो ।

“भारतीय विदेशमन्त्रीले द्विपक्षीय बैठकका लागि अनुरोध गर्नुभएको छैन, न त हामीले उहाँलाई निमन्त्रणा नै दिएका छौँ”, पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार भन्नुभयो ।

हालैका सातामा राजधानीमा भएका नागरिक अशान्ति र पाकिस्तानका अन्य स्थानमा भएका आतङ्कवादी आक्रमणहरूपछि सम्मेलनको अवधिमा स्थिरता र सुरक्षाको छवि प्रस्तुत गर्न इस्लामाबाद उत्सुक छ ।

भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराज सन् २०१५ मा अफगानिस्तानसम्बन्धी शिखर सम्मेलनका लागि पाकिस्तान भ्रमण गर्ने अन्तिम व्यक्ति हुनुहुन्थ्यो । मोदीले पनि त्यही वर्ष आफ्नो पहिलो कार्यकालका लागि पद सम्हालेको केही समयपछि पाकिस्तानको आकस्मिक भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणले सम्बन्धमा सुधारको सानो आशा जगाएको थियो ।

एससिओ चीन र रुसले स्थापना गरेको १० मुलुकको समूह हो । चीन र रुसले यस गठबन्धनलाई मध्य एसियाली मुलुकहरूसँग आफ्नो सम्बन्ध गहिरो बनाउन र क्षेत्रमा प्रभाव विस्तार गर्न प्रयोग गरेका छन् ।

यद्यपि उनीहरूले हालै यस सङ्गठनलाई पश्चिमको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेका छन् । यस समूहले विश्व जनसङ्ख्याको ४० प्रतिशत र कूल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गर्दछ तर यसका सदस्यहरूको विविध राजनीतक प्रणाली छ र उनीहरूबीच खुला असहमति पनि छ ।

पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारी गत वर्ष गोवामा भएको एससिओ बैठकका लागि जानुभएको थियो । यो पनि एउटा दुर्लभ भ्रमण थियो । गोवा बैठकमा उहाँ र जयशङ्कर मौखिक विवादमा संलग्न हुनुभएको थियो ।

यो सन् २०१६ पछि पाकिस्तानी वरिष्ठ अधिकारीको पहिलो आधिकारिक भ्रमण थियो तर दुई विदेशमन्त्रीले एकअर्कासँग बैठक गरेका थिएनन् ।

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।

रूसलाई ड्रोन तथा क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानले रूसलाई क्षेप्यास्त्र तथा ड्रोन हस्तान्तरण गरेको आरोपमा इरान माथि युरोपेली सङ्घ र बेलायतले लगाएको प्रतिबन्धको कडा निन्दा गर्नु भएको छ ।

इरान माथि लगाएको प्रतिवन्धलाई अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानूनी सिद्धान्त र मानव अधिकारको विपरित रहेको आसय व्यक्त गर्दै जारी गरिएको विज्ञप्तिमा बाघाईले प्रतिबन्ध आधारहीन रहेको उल्लेख गर्नु भएको छ ।

आरोप र प्रतिवन्ध आधारहिन रहेको बताउदै बाघाईले द्वन्द्व सुरु भएदेखि नै इरानले युद्ध र द्वन्द्वको विरोध गर्दै रूस र युक्रेनबीचको मतभेदको कूटनीतिक समाधानका लागि आह्वान गर्दै आएको बताउनु भएको छ ।

गाजा र लेबनानमा भएको नरसंहारमा इजरायललाई हतियार उपलब्ध गराउन बेलायत र जर्मनी लगायत केही युरोपेली देशहरूको संलग्नतालाई औंल्याउदै उहाँले ती देशहरू प्यालेस्टिनी र लेबनानी जनता विरुद्ध इजरायलले गरेको “अपराध“ मा सहयोगी रहेको बताउनु भएको छ ।

यसै सन्दर्भमा इरानको राष्ट्रिय हित, सुरक्षा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न रूस लगायत अन्य देशहरूसँग सैन्य सहयोगमा संलग्न हुने “अपरिहार्य“ अधिकारलाई प्रकाश पार्दै
युरोपेली सङ्घको “अवैध र अन्यायपूर्ण“ प्रतिबन्धहरू विरुद्ध जवाबी प्रतिक्रिया दिने अधिकार सुरक्षित रहेकोसमेत बाघाईले उल्लेख गर्नु भएको छ ।

इरानको आणविक वा तेल सुविधामा आक्रमण नगर्ने अमेरिकालाई इजरायली आश्वासन

इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा तेल सुविधालाई लक्षित नगर्ने आश्वासन दिएको अमेरिकी सञ्चारमाध्यमले सोमबार जनाएको छ ।

गत अक्टोबर १ मा इरानले इजयायलमा गरेको क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा इजरायलले प्रतिआक्रमण गर्ने वाचा गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ह्वाइट हाउसलाई इजरायली प्रतिआक्रमणले सैन्य साइटहरूलाई मात्र लक्षित गर्ने आश्वासन दिनुभएको एक अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बिडेन र नेतान्याहूबीच भएको फोनवार्ता साथै अमेरिकी रक्षा सचिव लोयड अस्टिन र उहाँका इजरायली समकक्षी योव ग्यालान्ट बीचको कुराकानीमा यो प्रतिज्ञा भएको एक अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको थियो ।

क्षेत्रीय युद्धको थप विस्तारबाट बच्न र विश्वव्यापी ऊर्जाको मूल्यवृद्धिको चिन्ताको बीचमा राष्ट्रपति बाइडेनले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न चेतावनी दिनुभएको हो ।

कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानाडा सम्बन्धमा दरार

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाउनुभएपछि भारत र क्यानाडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ भन्दै अस्वीकार गरेको छ ।

सन् २०२३ मा ब्रिटिस कोलम्बियामा खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरको हत्याको अनुसन्धानको सम्बन्धमा क्यानडाले सोमबार छ जना भारतीय कूटनीतिज्ञ तथा  अधिकारीहरूलाई निष्कासन गरेको थियो ।

यसैगरी भारतले पनि भारतबाट क्यानाडाका कार्यवाहक उच्चायुक्त स्टेवार्ड रस ह्विलर, उपउच्चायुक्त प्याट्रिक हेबर्टलगायत छ जना क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय घोषणा गरेको छ ।

रोयल क्यानेडियन माउन्टेड प्रहरी आयुक्त माइक डुहेमले सोमबार भारत सरकारका एजेन्टहरूले गरेका केही आपराधिक गतिविधिका बारेमा जानकारी प्राप्त भएको दाबी गर्नुभएको छ ।

उहाँले क्यानाडाका सम्बन्धित निकायले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै हत्या र हिंसाजन्य आपराधिक कार्यहरूमा उनीहरूको संलग्नता रहेको आरोप लगाउनुभयो ।

सोमबारको विज्ञप्तिमा भारतले क्यानाडाको कूटनीतिक सञ्चारलाई अस्वीकार गर्दै भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू अनुसन्धानमा ‘चासोका व्यक्तिहरू थिए’ यसलाई ‘निराधार आरोपहरू’ र तथा जस्टिन ट्रुडो सरकारको राजनीतिक एजेन्डाको हिस्सा भनेको छ ।  

विदेश मन्त्रालय (एमइए) ले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको भारतप्रतिको शत्रुता लामो समयदेखि रहेको उल्लेख गर्दै क्यानाडा सरकारले आतङ्ककारीलाई ‘क्यानाडामा भारतीय कूटनीतिज्ञ तथा नेताहरूलाई उत्पीडन र धम्की दिने ठाउँ प्रदान गरेको’ जनाएको छ ।

सन् २०२३ मा हरदीप सिंह निज्जरको हत्यापछि भारत–क्यानाडा सम्बन्ध थप चिसिएको छ भने नियमितका घटनाको शृङ्खलाले दुई राष्ट्रबीचमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरलाई सन् २०२३ जुन १८ मा ब्रिटिस कोलम्बियाको गुरुद्वारा बाहिर गोली हानिएको थियो ।

जि–२० शिखर सम्मेलनका क्रममा ट्रुडोसँगको वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडामा भएका भारतविरोधी गतिविधिहरूबारे चिन्ता व्यक्त गर्दै खतराहरूको सामना गर्न एक आपसमा सहयोग गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

सन् २०२३ को सेप्टेम्बर १८ मा ट्रुडोले हाउस अफ कमन्समा गुरुद्वारा बाहिर हरदीप निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको खुलासा गर्नुभएको थियो । 

त्यसपछिको समयमा भारतले यस मुद्दामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ । विदेश मन्त्रालयले लिखित जवाफ दिँदै क्यानडाले भारतविरोधी तत्वलाई निरन्तर स्थान दिएको जनाएको छ ।

क्यानाडाले हालसम्म निज्जरको हत्याको दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रस्तुत गरेको छैन ।   ट्रुडोले गत जुनमा निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाउनुभएपछि भारतले क्यानाडामा आफ्नो भिसा सेवा पनि निलम्बन गरेको थियो ।

उत्तरी लेबनानमा भएको घातक इजरायली आक्रमणको जाँच गर्न राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले मङ्गलबार उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान’ को माग गरेको छ । उक्त आक्रमणमा २२ सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

“बाह्र महिला र दुई बालबालिकासहित २२ जना मारिएको हामीले सुनेका छौँ” सोमबारको आक्रमणबारे पत्रकारहरूलाई बताउँदै संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भन्नुभयो, “यी तथ्यलाई ध्यानमा राख्दा हामीलाई युद्धको कानून र विभेद, अनुपात र समानुपातिकताका सिद्धान्तहरूका सम्बन्धमा वास्तविक चिन्ता छ, हाम्रो कार्यालयले यस घटनाको तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान आह्वान गर्दछ ।”

सेप्टेम्बरमा लेबनानमा आक्रमण गरेयता इजरायलका धेरै आक्रमण अहिलेसम्म मुख्यतया हिजबुल्लाहले आफ्नो शक्ति आधार निर्माण गरेको दक्षिणी क्षेत्रका शिया मुस्लिम बहुल क्षेत्रहरूमा केन्द्रित भएका छन् । 

सोमबार उत्तरमा भएको आक्रमण स्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार उक्त आक्रमणले ईसाई बहुल गाउँको प्रवेशद्वारमा रहेको एउटा आवासीय भवनलाई ध्वस्त पारेको थियो । 

भग्नावशेषमा शरीरका अङ्गहरू छरिएका थिए, रेडक्रसका स्वयंसेवकहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका थिए भने एम्बुलेन्सहरूले घाइतेहरूको उद्धार गरिरहेका थिए । 

हिजबुल्लाहले करिब एक वर्षदेखि इजरायलसँग सीमापार गोलाबारी गर्दै आएको थियो । उक्त समूहले गाजामा इजरायलको विनाशकारी स्थल र हवाई आक्रमणको जवाफमा आक्रमण गरेको बताउँदै आएको छ । 

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले गाजाबाट इजरायलमा अचानक आक्रमण गरेपछि गाजा युद्ध सुरु भएको थियो । 

इजरायल–लेबनाा सीमामा करिब दैनिक गोलाबारीका कारण गत महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहरूलाई कुल्चने प्रतिज्ञा गरेपछि नाटकीय रूपमा तनाव बढ्नुअघि नै दुवैतर्फका दशौँ हजार मानिस विस्थापित भएका थिए । 

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ, २९ असोज : नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनामा जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडाँै आइपुग्ने एन्फाले जनाएको छ ।

सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ । प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ रु तीन सय र भीआइपीतर्फ रु पाँच सय तोकिएको छ । त्यस्तै नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ रु पाँच सय र भीआईपीतर्फ रु एक हजार कायम गरिएको छ । यसैगरी प्रतियोगिताको खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ ।

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस

चितवन, २९ असोजः यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा सङ्क्रमण देखिएको छ ।

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई सङ्क्रमण गर्छ । सोही सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । सङ्क्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

यो रोगबाट सङ्क्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताउनुभयो । यस रोगको सङ्क्रमणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा सङ्क्रमित जनावरसँग टाण रहने जस्ता सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

अत्तरिया (कैलाली), २९ असोजः धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।

सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिनुभयो । डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो रु पाँच छुट दिएर बिक्री गरिरहेको उहाँले बताउनुभयो । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उहाँले जानकारी दिनुभयो ।

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ, २९ असोज : दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक दश÷दश प्रतिशत कमाएका छन् । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ३२, समृद्धि फाइनान्स कम्पनी छ दशमलव ८४, एनआइबिएल समृद्धि फण्ड–२ का शेयरधनीले छ दशमलव ७४ प्रतिशत कमाएका छन् ।

मध्य सोलु जलविद्युत् कम्पनीका लगानीकर्ताले १०, युनाइटेड मोदी जलविद्यु्त कम्पनीका पाँच दशमलव २५, युनिलिभर नेपाल लिमिटेड तीन दशमलव ८५, सामुदायिक लघुवित्त वित्तीय संस्था तीन दशमलव ६२ र एनआइसी एसिया सेलेक्ट फण्ड–३० का शेयरधनीले तीन दशमलव १९ प्रतिशतले घाटा बेहोरेका छन् ।

ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र

ढोरपाटन (बागलुङ), २९ असोजः बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न थालिएको हो । सडकको ट्र्याक खुलेको छ वर्षपछि विसं २०७६ मा ग्राभेलिङ गरिए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन ।

ग्राभेल गरेको सडक लामो समयसम्म कालोपत्र नहुँदा हिलाम्मे र धुलाम्मे बन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो । यो सडक म्याग्दीसँग जोडिने सडक हो । तमानखोला पहिलो पटक कालोपत्र सडकले जोडिन थालेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । पालिकाको बजेटले निकै कम हुनेहुँदा सडक कालोपत्र गर्न नसकिएको जनाउँदै प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढाएको उहाँले बताउनुभयो ।

सडक निर्माण भएको यत्तिका वर्षसम्म यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको अध्यक्ष बुढामगरले बताउनुभयो । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पुल चार वर्ष अगाडि मात्रै बनेपछि अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात सञ्चालन हुने उहाँको भनाइ छ ।

अध्यक्ष बुढामगरले भन्नुभयो, “भौगोलिक हिसाबले तमानखोला मिलेको छैन, यहाँ सानो विकासका लागि ठूलो बजेट खर्च गर्नुपर्छ, पालिकाको स्रोत र साधन निकै कम छ, यद्यपि आधारभूत विकास भने गरिरहेका छौँ, सडक कालोपत्र गर्न त हामीले चाहेर पनि सकिँदोरहेनछ, एक किलोमिटर सडक कालोपत्र गर्न लाखौँ रकम चाहिँदोरहेछ । यति लामो सडक कालोपत्र गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दोरहेनछ ।”

सडक कालोपत्रका लागि पूर्वधार विकास कार्यालय बागलुङले बालेपत्र आह्वानगरी एसी कन्स्ट्रक्सनलाई जिम्मा लिएको छ । निर्माण कम्पनीलेले सडक कालोपत्रका लागि रु १२ करोड ७४ लाखमा जिम्मा पाएको हो । यस वर्ष गण्डकी प्रदेश कार्यालयले तीन करोडमात्रै बजेट विनियोजन गरेको छ । बहुवर्षे ठेक्काअन्तर्गत रहेको यो आयोजना विसं २०८३ साउन १९ गते सक्नेगरी जिम्मा पाएको एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैले बताउनुभयो । काम यसै सातादेखि सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा

नवलपरासी, २९ असोजः धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशिल बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ । तत्कालीन सम्राट अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ ।

विश्व बौद्ध धम्म सङ्घ नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट अशोकले पुज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाउनुभएको थियो । यसपछि गौतम बुद्धको जन्मस्थल लुुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको बताइएको छ । सोदिनलाई अशोक विजया दशमीको नामबाट बुुझिने जनाइएको छ ।

भगवान् गौतमबुद्धको अष्टधातुुलाईु आठ भागमा वितरण गरेकोमध्ये रामग्राम स्तूप पनि हो । यसलाई उत्खनन गर्न आउने क्रममा त्यहाँका नागवंशीले उत्खनन गर्न नदिएपछि फर्केका थिए । कार्यक्रममा अधिवक्ता मनोजकुमार नागवंशीले रामग्राम स्तूपालाई उत्खनन गर्न नदिनका लागि नागवंशीले आफ्नो ज्यानसमेत दिन त्यार भएपछि सम्राट अशोकले फर्केका थिए बताउनुभयो ।

अध्यक्ष बालचनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरावल–७ का वडाध्यक्ष हेयात खान धुनिया लागायतको उपस्थिति रहेको थियो ।

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

कैलाली (टीकापुर), २९ असोजः विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।

टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।”

घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ ।

जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ । एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन । “गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ”, उहाँले भन्नुभयो, “त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ ।”

गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउनुहुन्छ । “गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन”, उहाँ भन्नुहुन्छ, “तडकभडक नगरेको राम्रो हो । तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।”

सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचादीको कारोबार नरहेको बताउनुहुन्छ । “सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ”, उहाँले भन्नुभयो, “सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।”

सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन स्वास्थ्य संस्थामा शिशु स्वागत घर

म्याग्दी, २९ असोजः म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो । सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन शिशुु स्वागत घर सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिनुभयो ।

“सुुत्केरी हुने मिति नजिकिएपछि गर्भवती र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक÷एक वटा कोठामा शिशुु स्वागत घर बनाएका छौँ”, उहाँले भन्नुभयो, “शय्या, विस्तारा, भाँडाकँुडा र सरसफाइका सामग्री, ग्यासको व्यवस्था गाउँपालिकाले गरेको छ ।” सात वटा वडाका स्वास्थ्यचौकीमा शिशु स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु पाँच लाख बजेटबाट सामग्री खरिद गरिएको थियो ।

धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पूरै दिन हिँड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवती घरमै जोखिम मोलेर सुुत्केरी हुुनुपर्ने बाध्यता छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा धवलागिरिमा ९१ जना सुुत्केरी भएका थिए । जसमध्ये तीन जना जोखिम मोलेर घरमै सुुत्केरी भएका हुुन् । जोखिम मोलेर घरमै सुुत्केरी हुने अवस्था अन्त्यगरी मातृृशिशुु मृत्युुदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिशु स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले बताउनुभयो ।

स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गर्भवतीलाई जटिलता भएमा समयमै अस्पताल पु¥याउनका लागि समन्वय गर्न पनि सहज हुने उहाँले बताउनुभयो । धवलागिरिका सातवटै स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ ।

सुुरक्षित प्रसूति सेवामा पहुँच बढाउनका लागि सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन भएको छ । सो कार्यक्रममार्फत स्वास्थ्य संस्थामा तोकिएको मितिमा गर्भ परीक्षण गराउने र सुरक्षित प्रसूति सेवा लिनेलाई कुखुरा, अण्डा, पोषिला खानेकुरा उपहार दिने गरिएको उपाध्यक्ष रेशम पुनमगरले बताउनुुभयो ।

साहासिक पदयात्राका लागि थोराङ्ला पास, दसैँ तिहारको बिदामा पर्यटकहरुको चहलपहल

म्याग्दी, २९ असोजः शदर यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै गरेका चौरी, याक, भेडाच्याङग्रा र घोडाका बथान ।

विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहासिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको आकर्षण हो । थोराङ्ला झञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहासिक गन्तव्यका रुपमा लिइन्छ ।

शरद यामको सुरुवातसँगै मनाङदेखि थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको उपल्लो मनाङका होटल व्यवसायी समेत रहनुभएका जिल्ला समन्वय समिति मनाङका सदस्य घ्याचो गुरुङले बताउनुभयो ।

“थोराङ्ला र तिलिचो ताल घुम्न आउने मुख्य याम शरद र वसन्त नै हो”, उहाँले भन्नुभयो, “पहिले पथप्रर्दशक र भरिया बाहेक अधिकांश विदेशी पर्यटक मात्र आउने थोराङ्ला पदयात्रा पछिल्लो समय नेपालीहरुको पनि रोजाइमा परेको छ ।” थोरङ्ला ला भनेको तिब्बती भाषामा पास हो । शाब्दिक रुपमा यात्राको उच्च बिन्दु हो ।

दसैँ तिहारको बिदामा थोराङ्ला र तिलिचो घुम्नका लागि देशका विभिन्न ठाउँबाट कर्मचारी, व्यापारी, विद्यार्थीहरुको टोली आउने क्रम बढेको गुरुङले बताउनुभयो । सडक यातायात, आवास तथा होटलको व्यवस्था, पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा विस्तार, डिजिटल मार्केटिङ र भ्रमणसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले घुम्नैपर्ने गन्तव्यमा सूचीकृत गरेका कारण अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आकर्षण बढेको हो ।

मनाङदेखि थोराङ्ला हुँदै मुस्ताङ भ्रमण गरेर फर्किएकी काठमाडौँकी जुली श्रेष्ठले मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउँदा रमाइलो महसुस भएको अनुभव सुनाउनुभयो । यात्रामा अन्नपूर्ण प्रथम द्वितीय र चौथो धौलागिरिको साथै माछापुछ्रे, मनास्लु गङ्गपूर्ण तिलिचो चुचुरो अन्य हिमाल देख्न सकिन्छ ।

“तिलिचो यात्रा हुँदै थोरङ्ला पास गरेर मुक्तिनाथ झर्नु साहसिक यात्रा हो”, श्रेष्ठले भन्नुभयो, “अन्नपूर्ण सर्किटमा थोरङला सबैभन्दा उच्च स्थान भएकाले जोखिमपूर्ण पनि छ ।” चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुक्तिनाथ झर्न सकिन्छ । लामो अवधिको पदयात्रा गर्न चाहनेले लमजुङको बेशीसहरदेखि नै यात्रा सुरु गर्न सक्छन् ।

धेरैजसो पदयात्रीहरु गाडीबाट चामे पुगेर त्यहाँदेखि हिँड्ने गर्छन् । चामेबाट अपर पिसाङ र मनाङमा बास बस्ने गर्छन् । यहाँ बास बरेर पदयात्रीहरुले शरीरलाई त्यहाँको वातावरणसँग अनुकूलता मिलाउन सकिन्छ । माथिल्लो मनाङदेखि करिब चार घण्टाको पैदलयात्रा गरेर चार हजार ३६ मिटर उचाइको याकखर्क पुगिन्छ । छिनछिनमा बादल र घाम लाग्ने याकखर्कमा चौरीगाईको खर्क छन् । यहाँ इन्टरनेट सुविधा भएका होटल र लज पनि छन् ।

याकखर्कदेखि सात दशमलब तीन किलोमिटर यात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार चार सय ५० मिटर उचाइमा रहेको थोराङ्ला फेदीमा पुगिन्छ । थोराङ्ला फेदीदेखि चारदेखि पाँच घण्टा यात्रा गरेपछि चार हजार आठ सय छ मिटर उचाइको थोराङ्ला हाइक्यापमा पुगिन्छ ।

होटलहरुको सुविधा भएको हाइक्यापमा बास बसेका पर्यटकहरु बिहान उज्यालो नहुँदै थोराङ्लातर्फको यात्रामा निस्कन्छन् । दिउँसो हावाहुरी चल्ने र मौसम खराब हुने भएकाले बिहानै थोराङ्ला पुग्नका लागि रातिनै यात्रा गर्नुपर्ने पथप्रर्दशक सन्देश अधिकारीले बताउनुभयो ।

हाइक्याम्पदेखि थोराङ्ला हुँदै करिब १३ घण्टाको यात्रा गरेपछि तीन हजार सात सय ६२ मिटर उचाइमा अवस्थित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथमा पुगिन्छ ।

सन् १९७० मा पदयात्राका लागि खुल्ला गरिएको थोराङ्लामा पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकहरु पनि आकर्षित भएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए । उक्त आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार दुई सय ४२ जनाले थोराङ्ला पार गरेका थिए । चालु आर्थिक वर्षको असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने पर्यटकको सङ्ख्या एक हजार सात सय ८१ जना रहेको एक्याप जोमसोमका प्रमुख रेग्मीले बताउनुभयो ।

अन्य ठाउँमा सडकका कारण पदमार्गहरु विस्थापित भएपनि थोराङ्लामा सडक पुग्ने सम्भावना नरहेकाले यसको दीर्घकालीन पर्यटकीय सम्भावना रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङको भनाइ छ । गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले थोराङ्लादेखि मुक्तिनाथ झर्ने मुस्ताङ तर्फको पदमार्ग स्तरोन्नति गरिरहेको उहाँले बताउनुभयो ।

घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

घोडाघोडी (कैलाली), २९ असोजः विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताउनुभयो ।

घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि रु १० तिर्नुपर्छ । टिकट काट्नका लागि पनि दसैँको दिन त हम्मेहम्मे परेको जनाउँदै उहाँले दैनिक पछिल्लो समय आन्तरिक पर्यटक सङ्ख्या बृद्धि भैराखेको बताउनुभयो ।

पर्यटकको चहलपहल बढेसँगै ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा फोटोग्राफर २५ भन्दाबढी छन् । दसैँभन्दा अगाडि दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँदै फोटोग्राफर लक्ष्मण सुनारले भन्नुभयो, “दसैँको दिनदेखि ह्वात्तै पर्यटक बढेका छन् । दिनको पाँच हजारसम्म आम्दानी हुने गरेको छ ।”

आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन् । घुम्न आउने पर्यटकले खाजाखादा व्यापार व्यवसायमा वृद्धि भएको होटेल व्यवसायी राजु अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चाडपर्वको समयमा मात्रै नभई अन्य समयमा पनि घोडाघोडीमा पर्यटक आइरने वातावरण बनाउनसके हामीलाई आम्दानीको दिगो स्रोत बन्न सक्थ्यो ।”

घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ । घोडाघोडी तालको छेउ हुँदै सहायकर्तालअन्तर्गत रहेको ओजुवातालसम्म पर्यटक पुग्ने गर्दछन् ।

दसैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाह बताउनुहुन्छ ।

उहाँकाअनुसार पहिलेभन्दा अहिले घोडाघोडी क्षेत्र व्यवस्थितहुँदै गएको छ । पर्यटकका लागि पैदलमार्ग स्थापना भएका छन् । घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ त्यसैले पनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्वजलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचीकृत भएको थियो ।

चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेञ्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो ।

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार ‘नेपालकै पहिलो बर्ड सेञ्चुरी घोषणा गरेपछि पनि यहाँ पर्यटकको सङ्ख्या बढेको छ । घोडाघोडीमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थाले पनि पर्यटक लामो समयसम्म अडिनसक्ने वातावरण नरहेको पर्यटन व्यवसायी डबल शाहको भनाइ छ ।

पर्यटकलाई अबेरसम्म टिकाइराख्ने अवस्था सृजना गर्नसके पर्यटनका क्षेत्रमा घोडाघोडीमा राम्रो अवसर रहेको शाहले बताउनुभयो । एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ ।

एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविकमार्गका रूपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताउनुभयो ।

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडादसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानुजयन्तीमा समेत बिदा दिएको थियो ।

मुलुकको समृद्धिका लागि एकजुट हुनुपर्छः अध्यक्ष यादव

राजविराज (सप्तरी) – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार अन्त्य गरी मुलुकको समृद्धि र विकासका लागि सबै एकजुट हुन आह्वान गर्नुभएको छ ।

जसपा नेपालले सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित सितापुरमा आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले गरिबी, बेरोजगारी र भ्रष्टाचार हटाइ समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको दाबी गर्नुभयो ।

“मुलुकको शिक्षा क्षेत्रको अवस्था नाजुक छ, कुनैपनि मुलुकको विकास र समृद्धिका लागि त्यो देशको जनता शिक्षित हुनुपर्छ, त्यसैले शिक्षामा लगानी बढाउन जरुरी छ”, उहाँले भन्नुभयो । शिक्षाको गुणस्तर राम्रो नहुँदा मुलुकको गरिबी र बेरोजगारी बढेको उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले विभिन्न सङ्घर्षबाट मधेसी, आदिबासी जनजाति, थारु, मुस्लिम, दलित तथा महिलालगायतले प्राप्त गरेको अधिकारलाई रक्षाका लागि एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारसँग छलफल

कञ्चनपुर, २९ असोजः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारको पुनःस्थापनका लागि गठित जग्गा समस्या समाधान आयोगले आफ्नो काम अगाडि बढाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जग्गा समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष पूर्वन्यायाधिश जयानन्द पनेरुले सोमबार विस्थापित परिवार बस्दै आएको ढक्का शिविरमा पुगेर जानकारी लिने काम गर्नुभएको छ ।

निकुञ्ज विस्थापित सङ्घर्ष समितिका पदाधिकारीसँग आयोगका अध्यक्ष पनेरुले छलफल गरी समस्या समाधानका लागि आवश्यक राय लिने काम गरिएको छ । आयोगका पूर्वअध्यक्ष पूर्वन्यायाधिश ठाकुरप्रसाद शर्माले प्रमाणित गरेका एक हजार चार सय ८० विस्थापित परिवारसँगै विभिन्न समयमा गठन भएका आयोगका प्रतिवेदन अध्ययन गरी तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाइने अध्यक्ष पनेरुले जानकारी दिनुभयो ।

“विगतका आयोगका प्रतिवेदन अध्ययन गर्छौं”, उहाँले भन्नुभयो, “वास्तविक निकुञ्ज विस्थापित परिवारको पहिचान गरी पुनःस्थापन र मुआब्जाका लागि सिफारिससहित प्रतिवेदन बुझाउछौँ”, निकुञ्ज विस्थापित परिवारको सहकार्यमा प्रतिवेदन बुझाइने उहाँले बताउनुभयो ।

निकुञ्जपीडित सङ्घर्ष समितिका सचिव गोविन्द नेपालीले तत्कालीन आयोगका अध्यक्ष पूर्वन्यायाधिश ठाकुरप्रसाद शर्माले बुझाएको प्रतिवेदन त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उहाँले वास्तविक र प्रतिवेदनमा समावेश हुनबाट छुटेका विस्थापित परिवारलाई प्रमाणित गरी पुनःस्थापन गर्नुपर्ने बताउनुभयो ।

विगतका आयोगले पुनःस्थापनका लागि छनोट गरेका हैसियत बिग्रेका वनको जग्गामा पुनःस्थापन गराउनुपर्ने उहाँको माग थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षका वार्डेन सूर्य पाण्डेले विसं २०५८ मा विगतमा गर्न बाँकी रहेका परिवारलाई बस्दै आएको क्षेत्रको जग्गा नापजाँचगरी पुनः स्थापन गर्नुपर्ने, पुनःस्थापनका लागि भएका आन्दोलनका क्रममा विस्थापित परिवारले कब्जा गरेको जग्गा पीडित परिवारलाई वितरण गर्नुपर्ने र बाँकी रहेका वास्तविक निकुञ्ज विस्थापितलाई उचित मुआब्जा दिनुपर्ने उहाँले बताउनुभयो ।

निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवार कष्टपूर्ण रुपमा विभिन्न शिविरमा बस्दै आएका छन् । निकुञ्ज विस्थापित परिवारसँगै आयोगका अध्यक्ष पनेरुले सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह विष्ट, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानालगायतसँग छुट्टै रुपमा भेटघाट गरी निकुञ्ज विस्थापितको समस्याबारे रायसुझाव लिने काम गर्नुभएको छ ।

सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

काठमाडौँ, २९ असोजः चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मार्नुभयो ।

उहाँले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराउनुभयो । “धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुशी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले रासससँगको कुराकानीमा भन्नुभयो, “चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरुभन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुशी र गौरबको अनुभूति हुदो रहेछ ।”

शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रच्नुभएको हो । “जे जस्तो भएपनि चीनमा गएर देशको झण्डा फैलाउन पाउँदा निकै खुशी लागेको छ”, उहाँले भन्नुभयो, “विदेश गएपछि मात्रै नेपालको महत्व थाहा हुन्छ । युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झण्डा फहराउन पाउदाँ बढी भावनात्मक भइँदो रहेछ ।”

अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउछ । शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पु¥याएन । एक पटक विश्वभरको ध्यान उहाँतर्फ केन्द्रित भएको छ । करिब २० दिनको अथक सङ्घर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बन्नुभएको छ ।

दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधबार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औँं अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पार्नुभएको हो ।

सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसक्नुभएकी दावाले नयाँ कीर्तिमान कायम गर्नुभएको हो । आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताउनुभयो । “जानेको यही क्षेत्र (माउन्टेन गाइड) नै हो, पहिलाभन्दा बढी अनुभव भएको छ, बाँकी जीवन यही क्षेत्रमै सक्रिय रहने योजना छ । भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना छ ।”

दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरुलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पु¥याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न हुनुहुन्छ । उहाँ सन् २०१८ देखि विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोल्याक्स घडी ब्रान्डको दूतका रुपमा पनि आबद्ध हुनुहुन्छ ।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुनुहुन्छ । उहाँले १४ वर्षअघि यो रेकर्ड हात पार्नुभएको थियो ।

दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुनुहुन्छ । हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन सङ्घले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ । उहाँको नाममा मकालु हिमालमा २० घण्टामा स्पिड क्लाइम्बिङ (महिला) को र्कीतिमान पनि छ । दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसक्नुभएको छ ।

महिला आरोहणलाई प्रोत्साहन गर्न दावाको आरोहणले योगदान पुग्ने यस क्षेत्रका विज्ञहरुको विश्वास छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कीर्तिमानी आरोही दावा याङजुमको सफलताले महिला पर्वतारोहीलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

“पर्वतारोहणमा कायम भएका नयाँ कीर्तिमानले नेपालको पर्यटन विश्वबजारमा प्रवर्द्धनमा मद्दत पुग्नुका साथै बढीभन्दा बढी आरोहीलाई हिमाल आरोहणमा आकर्षण गर्न पनि प्रोत्साहन मिल्छ”, उहाँले भन्नुभयो । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहणको पछिल्लो कीर्तिमानले नेपाल गन्तव्यको प्रवद्र्धनका साथै आरोहीलाई थप आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली आरोहीको विश्वकीर्तिमानले पर्वतारोहणमा सकारात्मक प्रभाव पर्छ, यसले गर्दा पर्वतारोहणमा आरोहीको चासो बढ्ने र हामीले पनि गर्न सकिने रहेछ भनेर मनोबल बढ्नेछ, नेपालको पर्यटन प्रवद्र्धनका साथै स्वदेश तथा विदेशमा आरोहणको चासो बढाउछ । युवापुस्तालाई आरोहणमा आकर्षण गर्न पनि मद्दत पुग्नेछ ।”

निमा रिञ्जी शेपाको नयाँ कीर्तिमान
कान्छा आरोही निमा रिञ्जी शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान बनाउनुभएको छ । १८ वर्षीय शेर्पाले आठ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोही बन्नुभएको हो । शेर्पाले सिसापाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल हुनुभएको छ । रिञ्जी शेर्पाले असोज १६ गते विहान सिसापाङ्मा हिमालको सफल आरोहण गर्नुभएको थियो । शेर्पाले ‘ह्यासट्याग शेर्पा पावर’ प्रोजेक्ट परियोजनामार्फत आठ हजार मिटरमाथिका १४ वटा हिमाल चढ्ने परिकल्पना गर्नुभएको थियो ।

कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत
तिब्बतको सिसापाङ हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर काठमाडौँ फर्किएका कीर्तिमानी आरोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । चीनको सिसापाङ हिमाल आरोहण गरेर स्वदेश फर्किएका पर्वतारोहीलाई नेपाल पर्वतारोहण सङघ (एनएमए) को नेतृत्वमा विमानस्थलमा विशेष स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा पर्वतारोहण सङ्घसहित नेपाल नेसनल माउन्टेन गाइड एसोसियसन, मगर सङ्घ, गुरुङ सङ्घ, शेर्पा टुरिजम इन्टेप्रेनर एसोसियसन अफ नेपाल, सेभेन समिति ट्रेक, एलिट एक्पेड, इमाजिन नेपाल, यम्बु थामिचा किदुगलगायतका सङ्घसंस्थाका पदाधिकारी र सदस्य सहभागी थिए ।

यसैबीच कीर्तिमानी आरोहीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत तथा सम्मान गर्नुभएको छ । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पा, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति थियो ।

सिसापाङमा आरोहण गरेर विश्वकै कान्छो आरोही बन्न सफल १८ वर्षीय निमा रिञ्जी शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्न सफल दावा याङ्जुम शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु ५०औँ पटक आरोहण गर्न सफल तथा बिना अक्सिजन विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु छोटो समयमा आरोहण गर्ने निर्मल पुर्जालाई स्वागत गरिएको छ ।

त्यस्तै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरु सफल आरोहण गर्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित नौ जना नेपाली पर्वतारोहीहरुलाई आज स्वागत गरिएको थियो ।

मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

काठमाडौँ, २९ असोज : आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेको देखिन्छ । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भएपनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहन्छ ।

यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसै समापन हुन्छ ।

यस वर्षको दसैँमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

म्याग्दी, २९ असोजः यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्”, उहाँले भन्नुभयो, “सरदर मूल्यअनुुसार रु १६ बराबरको च्याङग्रा बिक्री भएका छन् ।”

गत वर्ष सात हजार भेडाच्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् ।

जडीवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ ।

बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा रु १० हजार कम मूूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो ।

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल

काठमाडौँ, २९ असोजः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील तुल्याउन विभिन्न अवसर प्रदान गरिरहेको बताउनुभएको छ ।

अन्तर–व्यवस्थापिका सङ्घको १४९औँ महासभालाई सोमबार स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै उहाँले सबै नागरिकको प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुने गरी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको संसद सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले यसले सन् २०१५ मा लागू गरिएको दीगो विकासका लक्ष्य हासिल गर्न रुपान्तरणकारी क्षमता समेत राख्ने धारणा व्यक्त गर्नुभयो ।

सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशभित्र र देशहरुबीच ठूलो अन्तर रहेको बताउँदै उहाँले भन्नुभयो, “अझैपनि साढे दुई अर्बभन्दा बढी मानिसको सूचनामा पहुँच छैन । तसर्थ हामी एकजुटभई चूनौतिको सामना गर्न र विज्ञान प्रविधि र नवप्रवर्तनका उपलब्धिमा सवैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ ।”

उहाँले विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समुदायकाहितमा सदुपयोग तथा यसबाट सिर्जना हुनसक्ने गोपनीयता भङ्ग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रचारजस्ता जोखिम र चूनौतिलाई सामना गर्न कानून निर्माण तथा सरकारका कामको अनुगमन गर्ने सवैधानिक जिम्मेवारीमा रहेका विश्वका व्यवस्थापिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नपर्छ भन्नुभयो ।

अध्यक्ष दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अनुसन्धान, विकास, स्रोत परिचालन र युवाको सहभागीता बढाउनका लागि अन्तर्राष्ट्रिय सहयोग र सहकार्यको वातावरण सिर्जना गर्न तथा यसको आवश्यक नियमन गर्दै विश्वका सवै प्रविधिमा समान पहुँच स्थापित गर्न जरुरी रहेको धारणा ब्यक्त गर्नुभयो ।

विकास र विकसित देशहरुबीचको विज्ञान र प्रविधिका क्षेत्रमा देखिएको खाडल पुर्न व्यवस्थापिकाहरुबीच नीति निर्माण र कार्यन्वयन तथा उत्कृष्ट अभ्यास आदान प्रदान गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले सङ्घले आफनो कार्ययोजनामा ‘एआई’लाई समेट्नुका साथै विज्ञान र प्रविधिसम्बन्धी कार्य समूह गठन गरी यसको सदुपयोगसम्बन्धी आचारसंहिता निर्माणको प्रयास गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, भ–ूराजनीतिक तनाव, गरिबी, असमानतालगायतका प्रमुख चूनौतिको सामनाका लागि विचारविमर्श र योगदान गर्न अन्तर्राष्ट्रिय व्यवस्थापिका सङ्घ एक महत्वपूर्ण मञ्चका रुपमा रही आएको छ । ”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ ।

आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ पैसा र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ १ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३ पैसा र बिक्रीदर चार रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २ड पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५६ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २९ असोजः देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।

गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद अधिकारीले भन्नुभयो, “पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।”

महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उहाँको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा  ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरु विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रौतहटको चन्द्रनिगाहपुरका ४४ वर्षीय शत्रुराज सिलवाल, १५ वर्षीय भीमकुमार थापा, पाल्पाका ३६ वर्षीया ममता नेपाली, १५ वर्षीया आशिका  नेपाली, चितवनको राप्ती नगरपालिका–११ का १० वर्षीया मुना लोप्चन,  मकवानपरको हेटौँडा उपमहानगरपालिका–४ का ४५ बर्षीया सुशीला पराजुली, चितवन राप्ति नगरपालिका–११ का ३० वर्षीया ममता तामाङ, ११ वर्षीया मनिषा तामाङ, ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का वर्षीय गणेश लामा, तनहुँको घिरिङ गाउँपालिका–२ का ३१ वर्षीया नन्दकली थापा, निजको छोरी नौ वर्षीया मिनाक्सी थापा, मोहत्तरीको बर्दिबास–५ का ३४ वर्षीय गोरेबहादुर परियार र ३० वर्षीय बिमलकुमार परियारको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

यस्तै पाल्पाको रामपुर नगरपालिका–९ का ३५ वर्षीय भीमबहादुर नेपाली, निजको छोरी १० वर्षीया अमिना नेपाली, ६ वर्षीय छोरा अङ्कित नेपाली,  चितवन राप्ति नगरपालिका–११ का ३५ वर्षीया शान्तिमाया थिङ, निजको छोरा १२ वर्षीय लख्वा दोर्जे तामाङ, निजको छोरी ११ वर्षीया सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी नगरपालिका– ९ का ५७ वर्षीय तिलक बिकको पुरानो मेडिकल कलेज चितवनमा भरतपुरमा उपचार भइरहेको छ ।

साथै रौतहटको चन्द्रनियापुर नगरपालिका–४ का २१ वर्षीया तारा गुरुङ, सोही ठाउँका २५ वर्षीय पुष्कर गुरुङ, चितवनको राप्ति नगरपालिका–११ का ३१ वर्षीय चित्र तामाङ, मकवानपुरको मनहरि गाउँपालिका–६ का  १८ वर्षीया सुहाना राई, महोत्तरीको बर्दिवास नगरपालिका–५ का ३३ वर्षीय बिनोदकुमार परियार र चितवनको भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय प्रभु सापकोटाको पनि पुरानो मेडिकल कलेज चितवन भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते बाराको निजगढ नगरपालिका–७ माझीटोल निवासी ३८ वर्षीय हरिकुमार माझी, सोही ठाउँका ३६ वर्षीय सम्झना माझी, चितवनको खैरेनी नगरपालिका–२ निवासी २९ वर्षीय प्रज्वल कुमाल र  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ निवासी ५४ वर्षीया सिता ढुङ्गानाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।