`

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै, बञ्जिजम्प र जीपलाइनका लागि अग्रिम टिकट बुकिङ

पर्वत, २८ असोज : पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन् । विभिन्न सङ्घ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन् ।

कुश्मा बजार क्षेत्रमा बञ्जीजम्प, जीपलाईन, अग्ला र लामा झोलुङ्गे पुल रहेका छन् । त्यसैले यहाँ बढीजसो आन्तरिक पर्यटकलाई घुम्न आएका हुन् । दसैँ सकिएसँगै यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । अरु समयमा भन्दा दसैँतिहार जस्ता चाडवाडमा पर्यटक बढी भित्रिने गरेका छन् ।

कुश्माका पर्यटकीय स्थलमा पछिल्लो समय आन्तरिकका साथै बाह्य पर्यटक पनि घुम्न आउन थालेका होटल व्यवसायी सुरेश केसी बताउनुहुन्छ । “पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

पर्यटक आगमन बढ्न थालेपछि कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । मुस्ताङ, उपल्लो मुस्ताङ, कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि यहाँ चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । मुस्ताङ जाने पर्यटकले बास बस्न यहाँका होटल बुकिङ गर्ने गरेका उहाँले बताउनुभयो ।

बञ्जिजम्प र जीपलाइनका लागि समेत एक हप्ता अघिदेखिनै टिकट बुकिङ भइरहेको सञ्चालकहरुले बताएका छन् । शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको समयमा यहाँ पर्यटकको चहलपपह बढी हुने गरेको छ ।

क्यानडाका राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमप्रति भारतको असन्तुष्टि

गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ।

सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानडाबाट जारी अनुसन्धानमा भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू घटनामा संलग्न रहेको आशङ्काको घेरामा राखिएको भनेर कूटनीतिक पत्र प्राप्त भएको छ।”

सन् १९९७ मा क्यानडामा बसाइँ सरेर सन् २०१५ मा नागरिकता लिएका निज्जरले भारतबाट अलग्गिएर खालिस्तान नामको छुट्टै सिख राज्य हुनुपर्ने पक्षमा वकालत गर्नुभएको थियो ।

उहाँलाई भारतीय अधिकारीहरूले आतङ्कवाद र हत्याको षडयन्त्र गरेको आरोपमा ‘अत्यधिक खोजीको सूची’मा राखेर खोजी गरिरहेको थियो ।

सन् २०२३ को जुन महिनामा भ्यानकुभरको एक सिख मन्दिरको पार्किङ स्थलमा भएको निज्जरको हत्यामा संलग्न भएको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

भारतले हत्यासँग जोडिएको आरोपलाई ‘निरर्थक’ र ‘राजनीतिक लाभका लागि भारतलाई बदनाम गर्ने रणनीति’ भनेको छ ।

गत वर्ष भारतले क्यानाडाका नागरिकहरूको भिसामा केही समयका लागि रोक लगाएको थियो र ओटावालाई कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउन बाध्य पारेको थियो।

भारतीय विदेश मन्त्रालयले भनेको छ, “भारतीय कुटनीतिज्ञविरुद्ध आरोप लगाउने क्यानडा सरकारको पछिल्लो प्रयासको जवाफमा भारतलाई थप कदम चाल्ने अधिकार सुरक्षित छ ।”

क्यानडामा करिब सात लाख ७० हजार शिखहरू बसोबास गर्छन् र यो क्यानडाको जनसङ्ख्याको लगभग दुई प्रतिशत हिस्सा हो।

सन् २०२३ को नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक रिपब्लिकमा बस्दै आएका एक भारतीय नागरिकमाथि पनि अमेरिकी भूमिमा यस्तै प्रकारको हत्याको योजना बनाएको आरोप लगाएको थियो ।

अभियोजकहरूले अदालतको कागजातमा उक्त योजनामा भारत सरकारका एक अधिकारीको पनि संलग्नता रहेको उल्लेख गरेका छन्।

फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ ।

सरकारका प्रवक्ता माउड ब्रेजनले आइतबार प्रसारक बीएफएमटिभीसँग भन्नुभयो, “आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको छ । प्रधानमन्त्री मिचेल बार्नियर प्रशासनले नयाँ विधेयक सन् २०२५ को सुरुमा संसद्मा पेश हुने आशा गरेको छ।

फ्रान्सले महिनौँ लामो विवादपछि अध्यागमनसम्बन्धी कानुन पारित गरेको एक वर्ष नबित्दै ब्रेजनको यो घोषणा आएको हो र नयाँ प्रस्तावले तीन समूहमा विभाजित नेसनल एसेम्बलीको तल्लो सदनमा नयाँ तनावलाई बढावा दिइरहेको छ ।

बार्नियरका पूर्ववर्ती तथा हाल राष्ट्रपति इमानुएल म्याक्रोँको पुनर्जागरण पार्टीका संसदका नेता गेब्रियल अट्टलले सोमबार नयाँ कानून ‘पूर्ण प्राथमिकता’ जस्तो नदेखिएको बताउनुभएको छ ।

उहाँले फ्रान्स इन्टरसँग भन्नुभयो, “बेबल कानूनको लागि कानूनको बनाउनु कुनै अर्थ छैन। अहिलेको प्राथमिकता भनेको फ्रान्समा प्रवेश गर्ने र बाहिरिनेलाई राज्यले वास्तवमै नियन्त्रण गर्न सक्ने गरी कार्य गर्नु हो।”

अति दक्षिणपन्थी नेसनल ¥याली (आरएन) का नेता जोर्डन बर्डेलाले सोमबार उक्त योजनाको स्वागत गर्दै भन्नुभयो, “संसद्मा हामीबिना केही पनि गर्न सकिँदैन।”

आप्रवासन नीति र सीमा नियन्त्रणलाई कडाइ गर्ने सरकारको योजना यस ग्रीष्मऋतुमा भएको विधायिकी निर्वाचनपछि फ्रान्सेली राजनीतिमा दक्षिणपन्थी परिवर्तनको द्योतक हो जसको परिणामस्वरूप त्रिशंकु संसद बनेको छ ।

गत सेप्टेम्बरमा पेरिसकी एक छात्राको बलात्कार र हत्याको घटनाले मोरक्कोका एक व्यक्तिलाई संदिग्ध आक्रमणकारीको रूपमा नामित गरेपछि आप्रवासनसम्बन्धी फ्रान्सेली बहसलाई थप चर्काएको छ।

बाढीले दुई करोडको तरकारी बाली क्षति

इनरुवा (सुनसरी), २८ असोज : यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो ।

“बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ”, प्रमुख सिंहले भन्नुभयो ।

स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताउनुभयो । बाढीले ५० हेक्टरमा लगाएको रु एक लाख ८० हजार बरावरको उखुबालीमा क्षति भएको उहाँले बताउनुभयो ।

जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीलाई

अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ ती अर्थशास्त्रीहरूलाई पुरस्कृत भएकोे समितिले जनाएको छ। उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको अनुसन्धानका लागि पुरस्कृत गरिएको हो। यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्।

अर्थशास्त्र विधाको पुरस्कार समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भन्नुभयो, “देशहरूबीचको आयमा विशाल भिन्नतालाई कम गर्नु हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो।”

“पुरस्कार विजेताहरूले यसलाई प्राप्त गर्नका लागि सामाजिक संस्थाहरूको महत्त्वलाई कारण मानेका छन्,” स्वेन्सनले भन्नुभयो । अर्थशास्त्रतर्फ अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन जना महिला छन्। सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो।

मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका मृत फेला

फुङ्लिङ (ताप्लेजुङ), २८ असोज : ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् ।

बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।  

यही असोज १८ गते पौडी खेल्ने क्रममा शेर्पासँगै स्थानीय ११ वर्षीय सन्देश बराइली पनि बेपत्ता भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

बनियानी (झापा), २८ असोज : झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ । मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २५ सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
“यसअघिका मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको थियो”, उहाँले भन्नुभयो । 

धनुषामा दसैँ बजारमा तीन करोडको कारोबार

महेन्द्रनगर (धनुषा), २८ असोज : दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ ।

गत वर्ष करिब सात÷आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आउनुभएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गर्नुभयो ।

करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आउनुभएका ६० वर्षीय बलराम साहले भन्नुभयो, “यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।” उहाँले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गर्नुभयो । दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दसैँ मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ ।

घटस्थापनादेखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमीदेखि अष्टमीसम्म रहने गरेको सङ्घकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताउनुभयो । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा विगत ४८ वर्षदेखि जनकपुरमा दसैँ बजार लाग्दै आएको छ ।

ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ

उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ । आणविक हतियार सम्पन उत्तरले सोललाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका प्रचार पर्चाहरू खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ । सोलको सेनाले यसअघि नै उडानहरूको पछाडि आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ ।

सामान्यतया बेलुनद्वारा लामो समयदेखि प्रचार सामग्री र अमेरिकी मुद्रा उत्तरतर्फ पठाउँदै आएका कार्यकर्ता समूहहरूमा दक्षिणका स्थानीयहरूको अनुमानहरू केन्द्रित छन् । यद्यपि उत्तरले सोललाई आधिकारिकरूपमा दोषी ठहर गर्दै आइतबार राति पहिले नै युद्धको स्थितिमा रहेका आठ तोपखाना ब्रिगेडलाई ‘पूर्ण रूपमा गोली चलाउन तयार रहन’ भनेको छ र प्योङयाङमा हवाई निगरानी चौकीहरू सुदृढ पारेको घोषणा गरेको छ । “हाम्रो सेनाले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ र उत्तरको उक्साहटका लागि पूर्ण रूपमा तयार छ”, दक्षिणको संयुक्त प्रमुखहरूको कार्यालय (जेसिएस) का प्रवक्ता ली सियोङ–जुनले पत्रकार सम्मेलनमा भन्नुभयो ।

हालैका दिनहरूमा प्रचार ड्रोनहरूले राजधानीको हवाई क्षेत्रमा तीन पटक प्रवेश गरेको प्योङयाङले दाबी गरेको छ । साथै नेता किम जोङ उनकी शक्तिशाली बहिनीले तिनीहरू नरोकिए ‘भयानक विपत्ति’ को धम्की दिनुभएको छ । सोमबार एक वक्तव्यमा किम यो जोङले भन्नुभयो, “ड्रोन उडानहरू हाम्रो राज्यका लागि क्षमा नहुने दुर्भावनापूर्ण चुनौती थियो ।” उहाँले यस्तै तीनवटा लगातार वक्तव्य जारी गर्दै दक्षिण कोरियाली सेनालाई उत्तर कोरियाली हवाई क्षेत्रको कथित उल्लङ्घनको पुनारवृत्ति रोक्न उपायहरू अपनाउन आग्रह गर्नुभएको छ । जेसिएसले सोमबार सोलका सेना सीमापार पठाउनका लागि जिम्मेबार रहेको न पुष्टि गरेको छ न त अस्वीकार नै गरेको छ बरु उत्तरको दाबीलाई ‘लज्जास्पद’ भनेको छ ।

“उत्तरले प्योङयाङको आकाशमा ड्रोनको उत्पत्तिसमेत पुष्टि गर्न सक्तैन तर दक्षिणलाई दोष लगाइरहेको छ– त्यसैबेला दक्षिणतर्फ १० पटक ड्रोन पठाएको विषयमा मुख बन्द गरेर बसेको छ”, प्रवक्ता लीले भन्नुभयो, “यो लज्जास्पद दाबीबाहेक केही होइन ।” सोलको एकीकरण मन्त्रालयले ड्रोन दाबीहरू उत्तरद्वारा आन्तरिक एकता बढाउने प्रयास हुनसक्ने बताएको छ । मन्त्रालयलका प्रवक्ता कु ब्योङ–सामले उत्तरले ‘उक्साहट गर्न वा हाम्रो समाजमा चिन्ता र भ्रम सिर्जना गर्न’ का लागि बहाना खोजिरहेको हुनसक्ने बताउनुभयो ।

नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध

वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा आतिशबाजीमा पूर्ण प्रतिबन्ध लगाउने जानकारी सोमबार त्यहाँको प्रशासनले गराएको छ ।

यो प्रतिबन्ध दीपावलीका समय भारतीयहरूका लागि अत्यधिक लोकप्रिय रहेको पटाकाको प्रयोगमा यस अघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्ये कडा आदेश हो । भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाउने प्रयास गरेको भएपनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ।

दिल्ली प्रदूषण नियन्त्रण समितिले एक वित्रप्ति जारी गर्दै भनेको छ, “सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।”

यो निर्देशन ‘उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हित’ लाई ध्यानमा राख्दै गरिएको समितिले जनाएको छ ।

यो निर्णय झिलीमिली बत्ती बाल्दै पटाका पड्काएर भारत बर्षमा मनाउने हिन्दूहरूको अति लोकप्रिय चाडमध्ये एक दिपावलीको दुई हप्ताअघि आएको हो ।

धेरैले आतिशबाजीलाई उत्सवको अभिन्न अङ्गको रूपमा लिन्छन्।

यो पर्व अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो र हिन्दू देवी लक्ष्मीको आराधना गरिने उत्सव हो।

करिब तीन करोड जनसङ्ख्या रहेको महानगरमा यसअघि लगाइएको प्रतिबन्धलाई नियमित रुपमा बेवास्ता गरिएको थियो ।

हिन्दू धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ ।

नयाँदिल्लीमा हरेक शरद ऋतुमा धुवाँ र धुलोका कारण बढी प्रदूषित हुनेगरेको छ ।

नयाँदिल्लीले शहरमा प्रदूषण बढ्नुको कारण मुख्यतया छिमेकी क्षेत्रका किसानहरूले छापो पोल्नु (पराली जलाउनु) पनि भएको बताउने गरेको छ । दीपावली (दिवाली) को आसपास आतिशबाजीमा वृद्धिले प्रदूषणको समस्यालाई जटिल बनाउँछ।

फोक्सोको माध्यमबाट रक्तप्रवाहमा प्रवेश गर्ने पीएम २.५ प्रदूषकको रूपमा चिनिने क्यान्सर पैदा गर्ने सूक्ष्म कणहरूको स्तर नयाँदिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको खतरा सीमाभन्दा ३० गुणा बढीसम्म हुने गर्छ ।

सन् २०२० मा ल्यान्सेटको एक रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा करिब १७ हजार ५०० जनाको मृत्यु भएको थियो ।

विगतमा, आतिशबाजी राज्यको सीमा पार गरेर तस्करी गरिन्थ्यो वा लुकीछिपी उपलब्ध हुन्थे । शहरमा प्रशासनले पटाकाको प्रयोगमा कडाई गरेपछि मध्यरात वा बिहान सबेरै सुरक्षाकर्मीको आँखा छलेर पट्काइन्थ्यो ।

तर यस वर्ष, दिल्लीका शहरका अधिकारीहरूले राज्य प्रहरीलाई प्रतिबन्ध लागू गर्न आग्रह गर्दै उनीहरूलाई ‘दैनिक कार्यप्रगति रिपोर्ट’ पेश गर्न निर्देशन दिएका छन् ।

यो प्रतिबन्ध सन् २०२४ को अन्त्यसम्म जारी रहनेछ ।

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?

के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमबार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै चन्द्रमामध्ये एक युरोपा जान तयार छ ।

युरोपा क्लिपर मिसनले अमेरिकी अन्तरिक्ष एजेन्सीलाई चन्द्रमाको बारेमा नयाँ विवरण पत्ता लगाउन अनुमति दिनेछ । यसमा वैज्ञानिकहरूले यसको बर्फिलो सतहमुनि तरल पानीको महासागर हुनसक्ने विश्वास गरेका छन् ।

फ्लोरिडाको केप क्यानाभरलबाट शक्तिशाली स्पेसएक्स फाल्कन हेभी रकेटमा ‘सोमबार, अक्टोबर १४ भन्दा अघि नहुने’ गरी प्रक्षेपण तालिका बनाइएको नासाले विज्ञप्तिमा बताएको छ । “युरोपा पृथ्वी बाहिर जीवन खोजी गर्ने सबैभन्दा आशाजनक स्थानमध्ये एक हो”, नासाकी अधिकारी जिना डिब्रासियोले गत महिना पत्रकार सम्मेलनमा भन्नुभयो ।

मिसनले सीधै जीवनको सङ्केतहरू खोज्ने छैन बरु ‘के युरोपामा जीवन उपस्थित हुन दिने तत्वहरू छन् ?’ भन्ने प्रश्नको जवाफ खोज्नेछ । यदि छ भने अर्को मिसनले त्यसपछि यसको पत्ता लगाउने प्रयास गर्न यात्रा गर्नुपर्नेछ ।

“यो हाम्रा लागि मङ्गल ग्रहजस्तै अर्बौं वर्षअघि बसोबासयोग्य हुनेसक्ने संसारको अन्वषेण गर्ने अवसर होइन”, युरोपा क्लिपर कार्यक्रमका वैज्ञानिक कट निबुरले गत महिना पत्रकारहरूसँग भन्नुभयो, “तर एउटा संसार जो अहिले नै बसोबासयोग्य हुनसक्छ ।”

यान अन्तरग्रहीय अन्वेषणका लागि नासाले अहिलेसम्म डिजाइन गरेको सबैभन्दा ठूलो हो । बृहस्पतिसमम पुग्ने कमजोर प्रकाश समात्न डिजाइन गरिएको ३० मिटर चौडा यसका विशाल सौर्य प्यानलहरू पूर्ण रूपमा विस्तारित हुन्छन् ।

आदिम जीवन

युरोपाको अस्तित्व सन् १६१० देखि थाहा भए पनि पहिलो नजिकका तस्बिरहरू सन् १९७९ मा भोयेजर यानहरूले लिएका थिए । यसले सतहमा रहस्यमय रातो रेखाहरू क्रस गरेको देखाएको थियो ।

बृहस्पतिको बर्फिलो चन्द्रमामा पुग्ने अर्को यान सन् १९९० को दशकमा नासाको ग्यालिलियो यान थियो । उक्त यानले चन्द्रमामा एउटा महासागर हुने सम्भावना अधिक रहेको पत्ता लगाएको थियो ।

यसपटक युरोपा क्लिपर यानले क्यामेराहरू, एउटा स्पेक्ट्रोग्राफ, राडार र चुम्बकीय शक्तिहरू मापन गर्न एउटा म्याग्नेटोमिटरसहित परिष्कृत उपकरणहरू बोक्नेछ ।

मिसनले युरोपाको बर्फिलो सतहको संरचना, यसको गहिराइ र यसको महासागरको लवणतासमेत निर्धारण गर्न प्रयास गर्नेछ ।

जीवनका लागि आवश्यक पानी, ऊर्जा र केही रासायनिक यौगिकहरू जस्ता तीन तत्व उपस्थित छन् कि छैनन् भनेर बुझ्नु पनि यस मिसनको उद्देश्य हो । यदि यी अवस्थाहरू युरोपामा अवस्थित छन् भने जीवन आदिम ब्याक्टेरियाका रूपमा महासागरमा पाइन सक्ने मिसनकी उपपरियोजना वैज्ञानिक बोनी बुरट्टीले बताउनुभयो ।

“यदि युरोपा बसोबासयोग्य छैन भने ? भन्ने प्रश्नले हामीले किन यस्तो सोच्यौँ र यो किन त्यहाँ छैन ? भन्नेबारे प्रश्नहरूको समृद्धि खोल्नेछ”, नासाकी सहयोगी प्रशासक निक्की फक्सले भन्नुभयो ।

४९ फ्लाइबा

यानले बृहस्पतिसम्मको यात्रामा दुई अर्ब ९० करोड किलोमिटर यात्रा गर्नेछ र सन् २०३० अप्रिलमा आइपुग्ने अपेक्षा गरिएको छ । मुख्य मिसन अर्को चार वर्षसम्म चल्नेछ । यानले युरोपामाथि ४९ वटा नजिकका फ्लाइबाहरू बनाउनेछ र सतहबाट २५ किलोमिटर माथिसम्म आइपुग्नेछ । यसले प्रत्येक पासमा करोडौँ छातीको एक्स–रे बराबर तीव्र विकिरणको सामना गर्नेछ ।

करिब एक दशकदेखि पाँच अर्ब २० करोड डलरको मिसनमा करिब चार हजारले काम गरिरहेका छन् । नासाले सङ्कलन गरिने डाटाको महत्त्वले यो लगानीलाई न्याय दिने बताएको छ ।

“यदि हाम्रो सौयमण्डलमा दुई बसोबासयोग्य संसार (युरोपा र पृथ्वी) को घर हुन पुग्यो भने यस नतिजालाई यस आकाशगङ्गाका अर्बौं अन्य सौयमण्डलमा विस्तार गर्दा त्यसको अर्थ के हुन्छ भनेर सोच्नुहोस्”, युरोपा क्लिपर कार्यक्रमका वैज्ञानिक निबुरले भन्नुभयो, “युरोपामा ‘के जीवन छ ?’ भन्ने प्रश्नलाई एकातिर राख्दा, बसोबासयोग्यताको प्रश्नले आफैँमा आकाशगङ्गामा जीवनको खोजीका लागि एउटा विशाल प्यारा–डाइम खोल्छ ।”

युरोपा क्लिपरले युरोपियन स्पेस एजेन्सी (इएसए) को ज्युस यानसँगै काम गर्नेछ । उक्त यानले बृहस्पतिका अन्य दुई चन्द्रमा गानिमेड र क्यालिस्टोको अध्ययन गर्नेछ ।

सन् २०२५ मा नयाँ आप्रवासन कानूनको खोजीमा फ्रान्सेली सरकार

दक्षिणपन्थी सरकारले आप्रवासनमा कडाइ गर्न खोजिरहेको बेला फ्रान्सेली अधिकारीहरूले आगामी नयाँ वर्ष नयाँ आप्रवासन कानून अपनाउन खोजिरहेको एक प्रवक्ताले बताएका छन् ।

“नयाँ कानूनको आवश्यकता पर्नेछ”, सरकारी प्रवक्ता मौद ब्रेगेओनले आइतबार बिएफएमटिभी प्रसारणलाई भन्नुभयो । आप्रवासन नीति र सीमा नियन्त्रण कडा पर्ने सरकारको योजना संसद्मा कुनै पनि पक्षको पूर्ण बहुमत नभएको अवस्था सिर्जना गरेको यस गृष्मको विधायकी निर्वाचनहरूपछि फ्रान्सेली राजनीतिमा आएको दक्षिणपन्थी परिवर्तनको प्रतीक हो ।

मिसेल बार्नियरको सरकारले सन् २०२५ को सुरुमै संसद्मा विधेयक पेश गर्ने आशा गरेको छ ।सेप्टेम्बरमा पेरिसका एक विद्यार्थीको बलात्कार र हत्याको घटनाले फ्रान्सेली आप्रवासन बहसलाई अझ बढी उत्तेजित बनाएको छ । उक्त घटनामा एक मोरक्केलीलाई संदिग्ध आक्रमणकारीका रूपमा नामकरण गरिएको थियो ।

सरकारले निष्कासन आदेश राम्रोसँग लागू गर्न खतरनाक मानिएका कागजातनभएका आप्रवासीहरूको हिरासतको अवधि बढाउन खोजेको छ । विचाराधीन विकल्पमध्ये एउटा अधिकतम हिरासत अवधिलाई ९० दिनबाट बढाएर दुई सय १० दिन पुर्याउने हो । यो अहिले आतङ्कवादी अपराधहरूका लागि मात्र सम्भव छ ।

“हामी अन्य प्रावधान विचार गर्ने सम्भावनालाई अस्वीकार गर्दैनौँ”, ब्रेगेओनले भन्नुभयो, “फ्रान्सेलीहरूको सुरक्षाको कुरा आउँदा कनै वर्जित विषय हुनुहुँदैन ।”गत डिसेम्बरमा फ्रान्सले पहिले नै एउटा आप्रवासन कानून पारित गरेको थियो । अति–दक्षिणपन्थी र दक्षिणपन्थी सांसदहरूको समर्थन प्राप्त गर्न विधेयकलाई कडा बनाइएको थियो ।

तर मुलुकको सर्वोच्च संवैधानिक अख्तियारले धेरैजसो नयाँ संशोधनहरूलाई अस्वीकार गर्यो । पछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले कानूनमा हस्ताक्षर गर्नुअघि नै उक्त विधेयकलाई हटाइएको थियो । संवैधानिक परिषद्ले अस्वीकार गरेका उपायहरूले नयाँ आप्रवासन विधेयकको आधारका रूपमा काम गर्ने सरकारी स्रोतले बताएको छ । “तिनीहरूमध्ये केही परिमार्जित हुनसक्छन् र केही थप हुनेछन्”, स्रोतले भन्यो ।

सरकारको सबैभन्दा कट्टरपन्थी सदस्य गृहमन्त्री ब्रुनो रेटाइल्लोले आप्रवासनमा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले पदमा आएको केही दिनमै ‘कानूनको शासन न अपरिवर्तनीय छ न त पवित्र नै’ भन्दै विवाद उत्पन्न गर्नुभएको छ ।

इजरायलद्वारा लेबनानमा रहेका शान्तिसेनामाथि गरिएको आक्रमण ‘अस्वीकार्य’– इयु

युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गर्नुभएको छ ।

“इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्”, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।”

हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् ।

इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ ।

“धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन्”, बोरेलले भन्नुभयो, “उनीहरूको काम धेरै महत्त्वपूर्ण छ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन आह्वान गर्नुभयो । युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ ।

तीन महिनामा ६ गैँडा मरे

चितवन, २८ असोज : चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।

एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैँडा रहेका छन् ।

देशकै महत्वपूर्ण शक्तिपीठ सुपा देउराली पुग्ने सडकको विस्तार

अर्घाखाँची, २८ असोजः देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्नेछन् ।

गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि ‘रक एन्चोज’ प्रयोग गरेर ‘ड्रिल’ गरेर ‘आरसिसी’ ढलान गरी सडक विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो । “लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको सडकको चौडाइ मुस्किलले साढे चार मिटर हुँदा यातायात आवगमनमा निकै कठिनाइ रहेको थियो”, इन्जिनियर पाण्डेले भन्नुभयो, “हाल सडक डिभिजन शिवपुरबाट सडक स्तरोन्नति भई करिब नौ मिटर चौडाइ बनाइएको छ ।”

जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण गोरुसिङ्ङे–सन्धिखर्क सडकको लाहुरे बजारदेखि सुपा मन्दिरसम्म करिब तीन सय मिटर खण्ड कडा चट्टान र भिरालोका कारण साँघुरो भई यातायात आवागमनमा निकै कठिनाइ ब्यहोर्नु परेको अवस्था थियो । सडक डिभिजन कार्यालयबाट रक एन्चोर्जसहित पर्खाल निर्माणको काम सम्पन्न भएको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ ।

सडक विस्तारसँगै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको सिमानामा रहेको सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो । सुपा देउराली नजिकै रहेको नरपानीको डाँडाबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरु देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् भने भारतको उत्तर प्रदेश, विहारबाट समेत आउने धार्मिक पर्यटकहरुको सङ्ख्या ठूलो रहेको सचिव खनालको भनाइ छ । यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हँुदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रमा लैजाने कार्ययोजना नगरपालिकाले बनाएर काम अगाडि बढाएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने जनविश्वास रहेको पाइन्छ । यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ ।

तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

सिमकोट, (हुम्ला), २८ असोज : सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन ।

तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताउनुभयो । आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उहाँले बताउनुभयो । दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।

“मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ । अब यात्रुको चाप विस्तारै बढ्छ”, प्रमुख लामाले भन्नुभयो । नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उहाँको भनाइ छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।

खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा

काठमाडौँ, २८ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि दोहोरो परेका र छरिएका योजनाका लागि विनियोजित बजेट एकीकृत गरेर स्रोतको व्यवस्थापन गर्न सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो, “अनावश्यक दोहोरो, तेहोरो परेका र कार्यान्वयनमा जान नसक्ने योजनाका लागि हालिएको सबै बजेट कटौती गर्नुपर्छ र एकै ठाउँमा केन्द्रीकृत गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विपद्को अवस्थामा नागरिकलाई म एक्लो छैन, साथमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ । घोषणा गर्ने, काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनु भएन ।”

यस पटकको बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुमा मानवीय क्रियाकलाप नै बढी जिम्मेवार रहेको औँल्याउँदै नेता बाँस्कोटाले जथाभावी अतिक्रमण गरेर खोलाकै छेउ र पानीको मुहानमै खानी चलाउने कुरा सम्पूर्ण हिसाबले रोकिनुपर्ने बताउनुभयो । “यसमा कसैको दबाब र प्रभावमा पर्नु हुँदैन । नागरिकको रक्षा पहिलो सर्त हुनुपर्छ”, उहाँले भन्नुभयो ।

(यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित काभ्रेपलाञ्चोक जिल्लामा भएको क्षति, राहत उद्धार र पुनःनिर्माणसम्बन्धी विषयमा केन्द्रित रहेर पूर्वसञ्चारमन्त्री बाँस्कोटासँग राससले गरेको कुराकानीको सम्पादित अंशः)

विपद्को अवस्थाभन्दा तीन महिनाअघि सरकारले के ग¥यो भनी अहिले प्रश्न गर्नुपर्ने बेला छ । यसै साल पनि अरनिको राजमार्ग, बनेपाबाट पूर्व जाने बिपी राजमार्ग, पनौती–रोशी खण्डको माथिल्लो भागको खानी र पानीका विषय मैले बारम्बार सदनमा आवाज उठाएँ । संसद्मै निरन्तर आवाज उठाउने मध्ये म एक हुँ । तर सरकारले आगो लागेपछि कुवा खन्ने काम ग-यो । बाढीपहिरो आउँछ कि आउँदैन, सरकारलाई थाहा छ कि छैन ? छ । आको पनि छ, आउँछ भन्ने पनि थाहा छ । समाधान के हो भन्ने थाहा भए पनि पूर्वतयारी गरेन । सांसदहरुले सदनमा उठाइरहेको गम्भीर मुद्दामा कुनै पूर्व सतर्कता अपनाइएन । सांसदले सदनमा सार्वजनिक खपतका लागि बोल्छन्, तिनका कुरा सुन्नु पर्दैन भन्ने सरकारको दृष्टिकोण रह्यो । तथापि, घटनापछिको उद्धारमा सरकार र नागरिक राम्रोसँगै लागेको पाइयो ।

बिपी राजमार्गलगायत ५० भन्दा बढी प्रमुख राजमार्ग क्षतिग्रस्त भए । राज्यलाई यो थाहा छ कि नेपालमा हिउँदमा चिसो तथा कहिलेकाहीँ हिमपहिरोको सिकार पनि हुन्छ । फागुन–चैतमा आगलागीका घटना व्यापक बढ्छ, गत वर्ष जङ्गल पनि सिद्धियो । यति ठूलो डढेलो लाग्यो, यसमा सरकारले के ग-यो । एकातिर वातावरण संरक्षण गर्न आवाज उठाउने, तर काम चै केही नगर्ने कुरालाई सन्तोषजनक रुपमा लिन सकिन्न । बाढीपहिरो, आगलागी, आँधीहुरी तथा हिमपात र हिमपहिरोले ल्याउने जोखिम जुनसकुै शासन व्यवस्थामा पनि पटकपटक भोगेकै विषय हो । नागरिकप्रति जवाफदेही सरकार भएका बेलामा यस्तो हुनु हुँदैनथ्यो । अहिले यति बलियो गठबन्धनको सरकार बनेको छ । योभन्दा बलियो गठबन्धन सरकार सायदै बन्ला वा नबन्ला । तर केही यस्ता मुद्दा छन्, जसप्रति राजनीतिले असर गर्नु मिल्दैन ।

अब पहिलो प्राथमिकता भनेको क्षतिग्रस्त सडकहरु खुलाउने र ‘कनेक्टिभिटी’ जोड्ने, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन गर्ने, खानेपानी समस्या तत्काल समाधान गर्ने हुनुपर्छ । उद्धार र राहतको काम लगभग सकिएको छ । यसमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद भन्नुपर्छ । सबैभन्दा पहिलो समस्याका रुपमा बाटो रहेको छ । दोस्रो समस्या खानेपानी, विद्युत् र सञ्चार तत्काल सञ्चालन गर्नुपर्छ । मुख्यकुरा बस्ती हो । पहाडी भूभागमा भीर पहरामा पनि बसोबास छ । त्यहाँ हरहमेसा पहिरोको त्रास भइरहन्छ ।

जुन बस्ती असुरक्षित हुन् भनेर गोरखा भूकम्पका बेला पहिचान भएका थिए, ती बस्तीका निम्ति कार्यक्रम आए पनि कार्यान्वयन भएनन् । अब पुनः स्थापना कसरी हुन्छ ? भन्ने प्रमुख मुद्दा हो । काभ्रेकै पनि कुरा गर्ने हो भने यकिन तथ्याङ्क आउन बाँकी छ । त्यो तथ्याङ्क आइसकेपछि एक हजार पाँच सयदेखि दुई हजार परिवार सुरक्षित स्थान बस्तीमा सार्नुपर्छ । ‘जहाँको चपरी, त्यहाँको दुवाली’ हुनुपर्छ । मेरै नगरपालिका मण्डनदेउपुर, भुम्लु गाउँपालिका र पनौती नगरपालिकाका केही बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने देखिन्छ ।

सार्वजनिक र पर्ती जग्गा, सरकारी वन वा सामुदायिक वन जहाँ बस्ती निर्माण सुरक्षित हुन्छ, त्यो ठाउँमा बस्ती बसाल्न तत्कालै कार्ययोजना बनाउनुपर्छ । सरकारले चाहेको अवस्थामा काम गर्न सक्छ । त्यसका लागि बजेट के गरी प्रबन्ध गर्ने त ? भन्दा दोहोरिएका बजेट कटौटी गर्नुपर्छ । सरकारले सक्छ भने अनावश्यक दोहोरो, तेहोरो परेका र कार्यान्वयनमा जान नसक्ने योजनाका लागि हालिएको सबै बजेट कटौती गर्नुपर्छ र एकै ठाउँमा केन्द्रीकृत गर्नुपर्छ । बस्ती पुनःस्थापना जति सम्भव छ, सरकारले जमिन दिनुपर्छ । बस्न नमिल्ने बस्ती सार्नुप¥यो । त्यो बस्तीमा सरलीकृत ढङ्गले एकीकृत बस्ती बनाउने योजना हुनुप-यो ।

विपद्का बेला नागरिकलाई म एक्लो छैन, मेरो साथमा सरकार छ भन्ने अनुभूति दिलाउनु सक्नुपर्छ । नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश आम नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ । घोषणा गर्ने काम केही पनि नगर्ने कुराका कुनै अर्थ छैन । बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनुभएन । यसका लागि सरोकारवाला मन्त्रालयको एकीकृत योजना चाहिन्छ । हरेकका अलग–अलग होइनन्, एकीकृत योजना हुनुपर्छ ताकि खर्च पनि कटौती होस् । किनभने भूकम्पका बेलामा पुनःनिर्माण प्राधिकरण गठन भएको थियो । अहिले पनि स्थायी जस्तै निकाय चाहिने भयो । ‘डुप्लिकेसन’ नहुने गरी काम गर्नुपर्छ । जहाँ बस्ती ठूलै छ, त्यहाँ चलाउन पर्दैन । त्यो ठाउँमा रहेको तथ्याङ्क यकिन हुनुप¥यो ।

खानी र पानी एकै ठाउँमा चल्दैन । एकै ठाउँमा खानी र पानी चलाउने कुराले नै नदीको सतह माथि आउने, यसबाट दायाँबायाँको बस्ती र खेतीपाती सबै हान्दोरहेछ । अर्को कृषि क्षेत्रमा पनि ठूलो क्षति भएको छ । कृषि मन्त्रालय पनि उदासीन बस्न मिल्दैन । चौपायाहरु पनि मरेका छन्भने खेतीपानी पनि ध्वस्त भएका छन् । प्रभावित किसानलाई राहत दिन सरकारले युद्धस्तरमा काम गर्नुपर्छ । यो काम आउँदो वैशाख÷जेठसम्म सक्नेगरी योजना र बजेट व्यवस्था गर्नुपर्छ । समस्याहरुको यकिन गर्ने, समस्या समाधान हुने नीति लिने, योजना बनाउने र कार्यान्वयन प्रक्रियामा एकीकृत ढङ्गले काम गर्नुपर्छ ।

सरकारको हिसाबले रु १६/१७ अर्बको क्षति भएको छ । गोरखा भूकम्पको तुलनामा यो केही पनि होइन, तर यसको तीन गुणा बढीसम्म क्षति भएको मेरो अनुमान छ । प्रभावित नागरिकले आफैँले संरचना निर्माण गर्छ भने त्यसमा सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्छ । त्यसका लागि आवश्यक परे जमिनसमेत दिनुपर्छ । पहाडी भेकमा छरिएका बस्ती समस्या हुन् । यसलाई केन्द्रीकृत गर्नुपर्छ । कानुनमा संशोधन जरुरी छ । नजिकको समथर जग्गामा बस्ती र भिरालो जग्गामा खेती गर्ने व्यवस्था मिलाउनुपर्छ । विपद्बाट निरन्तर हुने क्षति न्यूनीकरणका लागि भविष्यसम्मको योजना चाहिन्छ ।

‘हाइवे’हरुमा नजिकैबाट अर्को परिपथ सडकहरु बनाउनुपर्छ भन्दा पनि सरकारले आवश्यक ध्यान दिएन । यदि त्यो भएको भए मुख्य राजमार्गहरु रोकिँदैनथे । यसमा सरकारको आवश्यक ध्यान पुगेन । जथाभावी अतिक्रमण गरेर खोलाकै छेउ र पानीको मुहानमै खानी चलाउने कुरा सम्पूर्ण हिसाबले रोक्नुपर्छ । कसैको दबाब र प्रभावमा पर्नुहुँदैन । नागरिकको रक्षा पहिलो सर्त बन्नुपर्छ ।

दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

टीकापुर, २८ असोजः दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् ।

कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा हुनुहुन्छ । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहनुभएको छ । “मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु”, उहाँले भन्नुभयो, “यसपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु ।”

कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा हुनुहुन्छ । “मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु ।”

कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै हुनुहुन्छ । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउनुहुन्छ । “के किन्ने भनेर योजना बनाउँदैछु । स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु”, उहाँले भन्नुभयो ।

हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ । “एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ”, उहाँले भन्नुभयो, “यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ ।”

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिनुहुन्छ । “मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ । यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

मन्थली । दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका—३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास सुरुवात गरेका हुन् ।

यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामोदुरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

उनले भने,“लामोदुरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई÷तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।”

उनका अनुसार यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दसैँ मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदीपकुमार सिंहले बताए ।

काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।

भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताए ।

काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ

कृष्णनगर (कपिलवस्तु), २८ असोजः कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ ।

आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिनुभयो ।।

चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा सङ्लग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला, २८ असोजः जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्यूनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य रु २४ हजार र न्यूनतम रु आठ हजार रहेकामा औसत रु १६ हजारमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य रु ५० हजार र न्यूनतम रु २६ हजारमा किनबेच भइरहेका राँगाभँैसी औसत रु ३८ हजारमा बिक्री भएका थिए ।

विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।
पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबार देखि जर्मन भ्रमणमा

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मन भ्रमण गर्ने अपेक्षा गर्नुभएको छ ।“उहाँ शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउँनुहुने स्रोतले जनाएको छ ।”

जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । अमेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उहाँले उक्त भ्रमण रद्द गर्नुभएको थियो ।

अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।

बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

चितवन – चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ ।

भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो । विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन् ।

रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताउनुभयो । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव, यस्ता छन् लक्षण

गण्डकी – चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताउनुभयो ।

“डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नुपर्दैन, डेङ्गुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्नु हुँदैन ।” कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उहाँको भनाइ छ ।

डेङ्गुबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँले बताउनुभयो ।

डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजारबढीमा डेङ्गुको संक्रमण पुष्टि भएको छ । डेङ्गुबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहँमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम् डेङ्गुको संक्रमण बढी फैलने गर्छ ।

उहाँले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रूपमा फैलिएको बताउनुभयो । डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो ।

चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उहाँको भनाइ छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५९ पैसा र बिक्रीदर ९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ पाँच पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७६पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६५ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडौँ, २८ असोजः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।

निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका छन् । सोहीअनुरुप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ ।

फ्लाई दुवईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।

महाप्रबन्धक तिवारिका अनुसार फलाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ । यसैबीच फलाइ दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरी सेवा सुविधाबारे जानकारी लिएकाले तयारीको कार्य अगाडि बढाउने महाप्रबन्धक तिवारीले बताउनुभयो ।

यस्तै जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।

फलाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो ।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । तर विभिन्न समस्या देखाएर बीचमा रोकेको थियो । अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ ।

त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले केहीदिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो । प्राविधिक टोलीलाई विमानस्थलकोतर्फबाट विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरु जस्तै बजार विश्लेषण, अन्य अपरेशनसँग सम्बन्धित अन्य फाइदाहरुको विस्तृत जानकारी गराइएको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । यद्यपि, यो एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुङ्गो लागेको छैन ।

यही असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो । एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ । नेपाल र थाइल्याण्डबीच पर्यटनलगायत विभिन्न हिसावले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्याण्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् ।

थाई एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्याण्डबीच हवाई सम्पर्क सञ्जाल मात्रै नभएर दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । “सरकारको कार्ययोजना अनुरुप आफू विमानस्थलको जिम्मेवारीमा आएपछि विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ”, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।

अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुङ्गानाले जजिरा एयरलाइन्स र फलाई दुबईले छिट्टै उडान गर्ने भएकाले सोही बमोजिम आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी तयारी अवस्थामा छौँ, प्राविधिक जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा ताकेता गरिएको छ । एयरलाइन्सको उडान सुरु भएपछि यात्रुलाई सहज ढङ्गले दिनुपर्ने हुन्छ, त्यसका लागि अध्यागमन कार्यालयले सबैखाले तयारी गरेको छ ।”

प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । केही प्राविधिक पक्ष व्यवस्थापन गर्न बाँकी छ । विमानस्थलमा २१ वटा यात्रुसेवा काउन्टर छन् । उपकरण जडान छन् केही अटोमेसनको काम बाँकी छ ।

“काठमाडौँ विमानस्थल मर्मतको क्रममा गौतमबुद्ध विमानस्थलमा भविष्यमा उडान सङ्ख्या बढ्नसक्छन् एयरलाइन्स पनि थपिने सम्भावना रहेकाले सोही अनुरुप व्यवस्थापकीय तयारी त गर्नुपर्छ । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको जनाइएको छ”, उहाँले भन्नुभयो ।

विमानस्थलमा अध्यागमनको सेवालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले हालै अध्यागमन विभागका महानिर्देशकसहितको टोलीले गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।

गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गर्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ ।

दुई विमानस्थल प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित विभिन्न चरणमा बैठक भएका छन् । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरुबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको जनाइएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ ।

पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विस २०८३ भदौसम्म नलिने जनाइएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । सोही विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो ।

आज दिनभरको मौसम : दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, २८ असोजः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २९ गते मङ्गलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण

काठमाडौँ, २६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गर्नुभएको छ । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसँैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो । सोही अवसरमा उहाँले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र ३ः३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्र छ ।

साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिनुहुने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीक र देवी दुर्गाले महिषासुर दैत्यलाई पराजित गरेको कथासँग जोडिएको छ । टीका लगाउँदा देवीको आशीर्वाद स्वरूप विजयशक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ । टीका लगाउनु धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक तथा यो परम्पराले नेपाली संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढाउने र दसैँको टीकाले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा भेला गराउने भएकाले यसको महत्व छ । दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्ने समेत विश्वास लिइएको छ ।

प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण

काठमाडौँ, २६ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।

साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिनुभएको उहाँको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।

काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौँ, २६ असोजः सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलङ्काको कोलम्बोमा हुने फाइन भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । हिजो भएको लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि नेपाललले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो ।

नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह चरणमा सबै खेलमा उज्वेकिस्तानले जीत हासिल गरेको थियो ।

श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।

पाइलट पढ्न विदेश गएका छोराको टीकाको अघिल्लो दिन जब शव आयो…

दमौली ।  तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए ।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए ।

यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको जनाइएको छ ।

कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भने, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला ! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।”

छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए । “आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्”, उनले भने ।

दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछ – सभामुख घिमिरे

काठमाडौँ, २६ असोजः सभामुख देवराज घिमिरेले दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै यस्तो बताउनुभएको हो । “असत्यमाथि सत्यको विजय दसैँको सबैभन्दा ठूलो सन्देश हो । यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको छ । दसैँले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ । समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ”, सभामुख घिमिरेले भन्नुभएको छ ।

पछिल्लो समय नेपाली हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायले समेत दसैँ मनाइरहेको सन्दर्भमा दसैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको उल्लेख गर्नुहुँदै उहाँले दसैँ नेपालीहरूको लोकचाडका रुपमा समेत स्थापित हुँदै गएको बताउनुभयो ।

शुभकामना सन्देशमा भनिएको छ, “परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिनेजस्ता दसैँका मौलिक विशेषता छन् । पछिल्लो समय हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायलेसमेत मनाइरहेका सन्दर्भमा दसैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको छ ।”

सभामुख घिमिरेले दसैँको पूर्वसन्ध्यामा असोज दोस्रो साता मनसुनी प्रभावका कारण देशभर बाढी, पहिरोले जनजीवन अस्तव्यस्त बनाएको सन्दर्भमा सुरक्षित र सावधानीपूर्वक यात्रागरी दसैँ मनाउनुहुन अनुरोध गर्नुभएको छ । “बाढी, पहिरोले यातायातलाई प्रभावित बनाएको छ भने ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था छ । तसर्थ, सुरक्षित र सावधानीपूर्वक यात्रागरी दसैँ मनाऔँ । चाडबाडले धेरै परिवारका लागि आर्थिक चुनौती ल्याउनेतर्फ सचेत गराउँदै मितव्ययी र स्वस्थ खर्च प्रणाली अपनाउन आह्वान गर्दछु”, उहाँले उल्लेख गर्नुभयो ।

संरक्षण सुरु भएपछि फेरि देखिन थाले चर्खे पिङ

गलकोट (बागलुङ), २६ असोजः बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दसैँमा चर्खेपिङ हालियो । खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै फर्निचर उद्योगमा तयार पारी चर्खेपिङ हाल्नुभएको हो ।

पन्ध्र वर्ष अघिसम्म दसैँमा सिगानामा मात्रै तीनदेखि चार वटा चर्खेपिङ हाल्ने चलन थियो । चर्खेपिङप्रति त्यो समयमा आकर्षण पनि उत्तिकै थियो । तर त्यसयता भने चर्खेपिङ हाल्ने चलन हराउँदै गएको थियो । तर यसपटक भने जिसीको सक्रियतामा चर्खेपिङ फर्किएको छ । लिङ्गे पिङ हाल्दै आएकोमा यसपटकदेखि चर्खेपिङ संरक्षण गर्न र पछिल्लो पुस्तालाई पिङको महत्व बुझाउन पनि चर्खेपिङ हालिएको जिसीले बताउनुभयो ।

रु तीस हजार लागतमा चर्खे पिङ तयार भएको उहाँले बताउनुभयो । पछिल्लो समयदेखिनै छाडेको चर्खेपिङ संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफ्नो न्यू सृजना फर्निचर उद्योगको तर्फबाट गाउँमा पिङ हालेको जानकारी दिनुभयो ।

“एक दशक यता बागलुङसहित धेरै स्थानमा यो चर्खेपिङ हराइसक्यो, सयममै यसको संरक्षण सुरु नगर्ने हो भने नयाँ पुस्ताका लागि यो दन्त्य कथा बन्नसक्छ, बाह्रा वर्षका बालबालिकाले सिगानामा पहिलोपटक चर्खेपिङ खेल्न पाएको प्रतिकृया आएको छ”, जिसीले भन्नुभयो, “कम्तीमा एक वडा एक चर्खेपिङ, एक टोल एक लिङ्गे पिङ हाल्ने अभियान चलाउन आवश्यक छ, पछिल्लो समय संरक्षणका लागि भएपनि मालिका, सिगाना, रेशलगायतका ठाउँमा चर्खेपिङ देख्न पाइएको छ ।”

यस्तै काठेखोला गाउँपालिका–७ रेश पिडाल्लामा यसपटक चर्खेपिङ हालिएको छ । त्यहाँका युवाहरुले पछिल्लो पुस्तामा हराउदै गएको चर्खेपिङ हालेका हुन् । बागलुङ नगरपालिका–५ स्थित साझखोलामा सामुदायिक वन र स्थानीयको सक्रियतामा चर्खेपिङ तीन वर्ष यता हालिँदै आइएको छ ।

चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिन्छ । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो ।चर्खेपिङ संरक्षण जरुरी भइसकेको साझखोलाका स्थानीय जुना न्यूरेले बताउनुभयो । एघार वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेको भनाइ छ ।

दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताका आधारमा दसैँतिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ ।

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका तीनवटै ‘प्याकेज’का काम दसैँमा निरन्तर सञ्चालन भइरहेको र हाल २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम गरिरहेका तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, “निर्धारित समयमा पूरा गर्न तीनै प्याकेजअन्तर्गतका कामलाई दसैँ बिदामा पनि नरोकी सञ्चालन गरिरहेका छौँ । सिफ्टमा आलोपालो मिलाएर दसैँलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई दसैँ मनाउन बिदा दिइएको छ ।”

आयोजनाका अनुसार प्याकेज-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रालि) नेपाल जेभीले काम गरिरहेको छ । यसअन्तर्गत बाँध खन्ने काम पूरा भई क्रङ्क्रिटको काम सुरु गर्न लागिएको छ ।

यसैगरी प्याकेज–२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका काम भइरहेका हुन् । प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्नगरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरण जडानलगायत काम भइरहेका छन् ।

यसैगरी प्याकेज–३ अन्तर्गत ९४ टावरमध्ये ७९ वटा टावरको फाउण्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठड्याइसकिएको छ । यहाँ वन क्षेत्रमा पर्ने काम भने नीतिगत निर्णय नहुँदा रोकिएको आयोजनाले जनाएको छ । यसको काम केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । आयोजनाको समग्रमा ६२ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैंक (एडिबि) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

काठमाडौँ, २६ असोजः “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने ।

दसैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो । शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए ।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ । दसैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन । “दसैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो”, रासससँगको कुराकानीमा उनले भने ।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो । तर दुई महिनाको लामो छुट्टीमा पनि दसैँ एक दिनले अट्न सकेन । “कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दसैँको महत्व थाहा नभएर पनि हुनसक्छ”, उनले भने ।

दसैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए । विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन् । महान पर्व दसैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ । “अरु दसैँमा घर आउँछन्, हामी दसैँमा छाड्नु परेको छ । यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु”, उनले भने । उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए ।

वैदेशिक रोजगारीका लागि दसैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन । प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन् । बुबा मलेसियामै काम गरिरहनुभएकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए ।

आमा सम्झना रम्तेलले आशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए । रम्तेलले भने, “बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दसैँका लागि कुर्न सकिएन”, उनले भने ।

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनल मै भेटिए । केही समयअघि बिदा लिएर घर आएका चौबेले दसैँमा आफै मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादै हुनुहुन्थ्यो । अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन् ।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दसैँको अघिल्लो दिन नै परेछ । नेपालमा अध्ययन गरेपनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन् । “प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइन । अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु”, उनले भनिन् ।

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौँ तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दसैँको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे । “परिवारका सबै सदस्य सँगै बसेर दसैँको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन”, उनले भने ।

महानवमीको दिन गाउँ तथा सहरमा दसैँ मनाइरहँदा उनीहरु जस्ता हजारौँले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे । उनीहरुलाई बिदाइ गर्र्न विमानस्थलसम्म पुग्नेहरुका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो ।

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

काठमाडौँ, २६ असोजः दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दशैंमा टन्न खानैपर्छ ?

पोषणविद्हरु भन्नुहुन्छ, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन ।” चिल्लो, पिरोे कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई नगर्ने उहाँहरुको भनाइ छ ।

पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो । पटक पटक प्रयोग गरिएको तेल हुनसक्छ, जुन हानिकारक छ । घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक पर्दैन ।”

दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ ।

पोषणविद् रुजु खड्काका अनुसार एकैचोटि पेटलाई बोझ हुने गरी कहिल्यै पनि खानु हुँदैन । “यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्छ,” उहाँले भन्नुभयो, “चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्छ ।”

पोषणविद् शाक्यले चाडपर्वमा कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विशेषगरी मासु एकैपटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ । त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ । मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ । पटक पटक तताउँदा हानिकारक तत्वहरु उत्पादन भइरहेका हुन्छन् । पोषक तत्व नष्ट भइरहको हुन्छ ।”

पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “थोरै तेलमा तारेको ठीकै हुन्छ । महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ ।”

पोषणविद्हरु चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्ने बताउनुहुन्छ । मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्यले बताउनुभयो ।

“औषधि समयमै लिनुपर्छ । मधुमेह भएकाले धेरै चिनीजन्य खानेकुरा खानुहुँदैन । व्यायाम पनि उत्तिकै आवश्यक छ । कम्तीमा आधा घण्टा व्यायाम गरेको राम्रो हो,” उहाँले भन्नुभयो ।

पोषणविद् खड्का पनि ज्येष्ठ नागरिकहरुमा पाचन शक्ति कमजोर हुने भएकाले सकेसम्म रातो मासु कम खानुपर्ने बताउनुहुन्छ । “रक्तचाप बढ्दा मुटुको समस्या आउन सक्छ । पानी पर्याप्त खाइएन भने मिर्गौलालाई चाप पर्न सक्छ । रक्सी सकेसम्म नखान सल्लाह दिन्छु । भुटेको चनाजस्ता प्रोटिनयुक्त चिज खाए राम्रो हुन्छ”, पोषणविद् खड्का भन्नुहुन्छ ।

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं, २६ असोजः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।

महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।

यही असोज २७ देखि कातिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सासदहरु सुनिता बराल र निशा डाँगी हुनुहुन्छ ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभासदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत हुनुहुन्छ । अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कातिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना

काठमाडौँ, २६ असोजः उपसभामुख इन्दिरा रानाले बडादसैँले सामाजिक, सांस्कृतिक एकता कामय राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बडादसैँ–२०८१ को अवसरमा शुभकामना आज शुभकामना सन्देश दिनुहुँदै उहाँले दसैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

उपसभामुख रानाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृक्तिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्न दसैँको विशेष महत्व रहेको बताउनुभयो ।

“दसैँ एकता र पुनर्मिलनको पनि चाड हो । मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रुपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक–सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार, संस्कृक्ति राज्यको अभिन्न अङ्गका रुपमा छन्”, शुभकामना सन्देशमा भनिएको छ ।

विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पतिको रूपमा रहनेछन् भन्दै उपसभामुख रानाले यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा नागरिकको अवस्था अझै पनि बदलिन सकेको भन्दै उहाँले नागरिकका अपेक्षा पूरा गर्न अविचलित भएर लाग्नु अहिलेको प्रमुख कार्यभार भएको उहाँको भनाइ छ ।

साथै उहाँले दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजा आराधना गरी दशौं दिन टिका जमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट आशीर्वाद लिई मनाइने हिन्दु धर्मावलम्बीहरूको महान चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरको रुपमा लिइने गरिन्छ ।

विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल

काठमाडौँ, २६ असोजः पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताउनुभएको छ ।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताउनुभयो ।

“देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी छ”, अध्यक्ष दाहालले भन्नुभएको छ, “यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।”

पूर्वप्रधानमन्त्री दाहालले दसैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन सबैमा अपील गर्नुभएको छ ।

विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको जनाउँदै अध्यक्ष दाहालले विश्व परिवेशमा सामाजिक पुनःमिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत दसैँ स्थापित हुँदै आएको बताउनुभयो ।

दसैँको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनःस्थापना प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पीडा र चुनौतीको बीचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को बिकल्प छैन भन्दै उहाँले भन्नुभएको छ, “प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकलाई पुनःस्थापना एवं पुनःवास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनःनिर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनःस्मरण गराउन चाहन्छु ।”

अध्यक्ष दाहालले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनःमिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ७९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ चार पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।