`

वीरगञ्ज महानगरद्वारा डुबान रोक्न नाला सफाइ

Nepal One HD ६ वैशाख २०८२ १८:४६
समाज

वीरगञ्ज (पर्सा), ६ वैशाखः वीरगञ्ज महानगरपालिकाले बर्सातको समयमा यहाँको बजार क्षेत्रमा हुनसक्ने सम्भावित डुबानलाई लक्षित गरेर नाला सरसफाइको काम अगाडि बढाएको छ । महानगरले घण्टाघर नजिकै रहेको जिल्ला हुलाक कार्यालयदेखि भन्सार कार्यालय क्षेत्रसम्मको मुख्य नाला सरसफाइको कामलाई तीव्रता दिएको जनाएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले बर्सातको समयमा डुबानको समस्या हुन नदिन नाला सफाइको कामलाई अघि बढाइएको जानकारी दिनुभयो । “मुख्य सडकको नालादेखि सहायक सडकका नाला पनि सरसफाइ हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाइको काम भइरहेको छ ।” 

महानगरका अनुसार छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको काम सकेर हाल दक्षिणतर्फ भन्सारसम्म सफाइको काम भइरहेको छ । 

महानगर प्रमुख सिंहले स्काभेटरले सफाइ गर्न सक्ने ठाउँमा त्यसले र नसक्ने ठाउँमा मानव जनशक्ति खटाएर सरसफाइ भइरहेको बताउनुभयो । सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ भए मात्रै वीरगञ्ज डुबानबाट बच्ने भएकाले सरसफाइलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । मुख्य नाला सफाइ गर्न चारवटा स्काभेटर र २५ जना सफाइकर्मी दैनिक खटिरहेका छन् ।


प्रतिक्रिया