`

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना

काठमाडौँ, २६ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमार्फत उहाँले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उहाँले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गर्नुभएको छ ।

“विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

आज दिनभरको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, २६ असोजः मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू–भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन ।

“आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन ।”

मौसमविद् झाले वर्षा भएपनि दसैँको टीका विथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ ।

कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।

न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाडौँमा सामान्य चिसो बढेको छ । अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज काठमाडौँको अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।

आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

काठमाडौँ, २६ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ ।

विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गर्नुभयो । “जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गर्नुभएको छ ।

“विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उहाँले भन्नुभएको छ, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”

प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो । “प्रकोपले किसानको अन्नबालि नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौँ । भत्किएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।”

उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गर्नुभयो । “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँहरुको आशु पुछ्ने, उहाँहरुको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।”

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौँ, २६ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ । उहाँले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।

राष्ट्रपतिले दाइका हातबाट टीका लाउने
राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउनुहुने भएको छ । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुहुने भएको हो । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुहुनेछ ।

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नुहुनेछ । सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

काठमाडौँ, २६ असोजः बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ ।

लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । अहिले पनि नेपालका धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।
यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ । यिनै मन्त्रले आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ । नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै

खोटाङ, २५ असोज : बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन् । यही असोज ११ रु १२ गते आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ परिवार विस्थापित भएका छन् ।

सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनकोशीमा आएको बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका उनीहरुका लागि अहिले दसैँ न तिहार भएको छ ।”

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाट र ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा सात÷सात परिवार विस्थापित भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा दुई, रावाबेँसी गाउँपालिका–६ हौँचुरमा एउटा परिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोले विस्थापित भएकाहरूमध्ये चन्द्रबहादुर राई छिमेकी सुनिल राईको घरमा, टेकुराम राई छिमेकी भीमबहादुर माझीको घरमा र सुमित्रा राईले काठमाडौँमा दसैँ मनाइरहेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ बहादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

“बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएपछि पीडितका लागि वडासँगको समन्वयमा खाने र बस्ने व्यवस्था मिलाइएको छ । दसैँ, तिहार तथा छठ पर्व सकिएपछि आवास निर्माणको पहल गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो ।

बाढीपहिरो पीडितलाई तत्कालका लागि स्थानीय सरकारले सामान्य खाने तथा बस्ने व्यवस्था मिलाए पनि दीर्घकालीन योजना बनाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो । बाढीपहिरो पीडित परिवारका लागि मात्र नभई यस वर्षको दसैँ, तिहार तथा छठ पर्व समग्र जिल्लावासीका लागि खल्लो भएको छ । जागिर तथा अध्ययनका लागि राजधानी काठमाडौँलगायत सहर बजारमा बसोबास गर्दै आएका आफन्त सडक अवरुद्धका कारण धेरैजसो यस वर्षको दसैँ तथा तिहारमा घर फर्कन पाएनन् ।

बाढीले दिक्तेल–गाईघाट सडकमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

बाढी तथा पहिराले अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएको छैनन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

त्रिशूली नदीमा बाढीले क्षति पु-याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा, २५ असोज : त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मतका लागि आवश्यक सबै सामग्री खरिद गरेर मर्मत गरिएको हो । “सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो”, अध्यक्ष थापामगरले भन्नुभयो ।

स्थानीय समुदायसमेतको सहयोगको पुलको मर्मत गरेसँगै नागरिकलाई पुलबाट आउजाउ सहज भएको छ । “बाढीले पुलको लट्ठामा क्षति पु¥याएको थियो,” उहाँले भन्नुभयो, “टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्नेगरी पुल सञ्चालन गरिएको छ ।”

कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुङ्गे पुललाई यहीँ असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको थियो । मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ ।

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना

काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ । उहाँसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभयो ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

महानवमी : विधिपूर्वक गरियो सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौँ, २५ असोज : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।

दोस्रो दिन असोज १८ गते शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज १९ गते शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौथो दिन असोज २० गते आइतबार र पाँचौँ दिन असोज २१ गते सोमबार पनि कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले दुई दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको हो । छैटौँ दिन असोज २२ गते मङ्गलबार स्कन्दमाताको पूजाआराधना गरियो ।

सातौँ दिन आश्विन शुक्ल षष्ठीका दिन असोज २३ गते बुधबार कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । असोज २४ गते बिहीबार आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो ।

दुर्गा पक्षको आठौँ दिन अर्थात् आश्विन शुक्ल अष्टमीका दिन आज बिहान महागौरी देवीको विशेष पूजाआराधना गरिएको थियो । आजै आश्विन शुक्ल नवमी तिथि पनि परेकाले आज सिद्धिदात्री देवीको पनि पूजाआराधना गरिएको हो । दुर्गापक्षको नवौँ दिन एवं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष असोज २६ गते शनिबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः३६ को साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

सिद्धिदात्री देवीको स्वरुप

मुमुक्षुहरुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुट्कारा पाउने विश्वास गरिन्छ ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । दसैँको नवौँ दिन आज शक्तिपीठमा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको थियो । महाअष्टमीसँगै महानवमीका अवसरमा आज शक्तिपीठ एवंं घरघरमा बलिसहित पूजाआराधना गरी नेपालीले आजको दिनलाई विशेष रुपमा मनाएका छन् ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

खजुरा (बाँके), २५ असोजः प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् ।

बडादसैँको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि रहेको बागेश्वरी मन्दिरका मुलपुरोहित महन्त चन्द्रनाथ योगीले बताउनुभयो । 

उहाँले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो काटेर चढाउने गरिएपनि अहिले जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताउनुभयो । महन्त योगीले देवीको मन्दिरमा पशुबली चढाउने परम्मपरा रहेको र केही भक्तजनले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषले नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेड्ने गर्छन् । हरेक वर्ष एक सयभन्दा बढी भक्तजनले जिब्रो छेड्ने गरेका छन् ।

यस मन्दिरमा बडा दसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ । 

मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास भएको छ ।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताए । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए ।

नौ महिनामा एक लाख पाँच हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे

म्याग्दी, २५ असोजः बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ ।

असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार छ सय १७ जना तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । सन् २०२३ मा एक लाख २१ हजार तीन सय ५२ जनाले भ्रमण गरेका थिए ।

उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार आठ सय ९६ जना पर्यटक भित्रएिका थिए । आठ हजार तीन सय ९७ जना मनाङ हँदै पाँच हजार चार सय मिटरकम अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ भित्रिएका हुन् ।

हाल मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिन्जा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको छ ।

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

धनुषाधाम, २५ असोजः जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ ।

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिवार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ ।

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिनुभयो । गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उहाँले बताउनुभयो ।

जनकपुरमा महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्री

महेन्द्रनगर (धनुषा), २५ असोजः मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करिब ६५ हजार किलो लड्डु बिक्री भई रु तीन करोड बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।

हंसराज मिठाइ पसलका सञ्चालक सन्तोष गुप्ताले विभिन्न शक्तिपीठमा प्रसादका रूपमा चढाउन बजारमा फरकफरक प्रकारका लड्डुको बिक्री भएको बताउनुभयो । यहाँ रिफाइन घ्यूवाला, शुद्ध घ्यूवाला, मोतीचुर, महीनदाना, गोंद, मेवालगायत लड्डु पाइने गरेको उहाँले जानकारी दिनुभयो । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री हुने गरेको गुप्ताले बताउनुभयो । 

जनकपुरधाम मुख्य बजार क्षेत्रमा दुई सयभन्दा बढी मिठाइ पसल रहेका छन् । बजारमा बुधबार साँझदेखि नै मिठाइ पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने बिहीबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

कटारी (उदयपुर), २५ असोजः सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताउनुभयो । “गएराति पहिरो गएको रहेछ, हाम्रो टोली त्यहाँ पुगिसकेको छ”, उहाँले भन्नुभयो, “स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरेका छौँ ।”

कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झण्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताउनुभयो । सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्नसक्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ । यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।

दसैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी, २५ असोजः म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो ।

“छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ”, उहाँले भन्नुभयो, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो ।”

लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ ।  

बेनीका फलफुल पसलहरुमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो । बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको ब्यापार दश गुणा बढी भएको बताउनुभयो । 

“अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “दसैको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन ।” विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ । 

घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा–२ की सुजता शर्माले बताउनुभयो । 

कृषक र व्यापारीहरुका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दसैँमा धेरै खपत हुने गर्छ । स्याउ ब्यापारी सिवाङ तामाङले दसैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताउनुभयो । दसैँमा माग उच्च हुुने भएकाले अघिनै टिपेर बजार पठाउने गर्छन् । चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ । 

बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दसैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताउनुभयो । 

चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुुनाहरुले कोसेलीको रुपमा स्याउ, स्याउको सुुकुटी, स्याउको मदिरा, ओखर, जिम्बुु, स्थानीय जातको सिमिको दाल किनेर लैजान्छन् । दसैँअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताउनुभयो । 

मुस्ताङका बगैचामा पाकेका स्याउले बास्नादार भएका छन् । किसान र व्यापारीहरुलाई स्याउ टिपेर बजार पठाउने चटारो छ । यसपाली उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिएपनि स्थानीय जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो । 

अनुकुल मौसम, बगैचा व्यवस्थापन, रोग, किराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढेको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढेको उहाँले बताउनुभयो । 

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिकटन स्याउ उत्पादन भएको र रु. ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ । 

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बनियानी (झापा), २५ असोजः झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताउनुभयो । 

दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य छ । मे८प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का २५ वर्षीय सञ्जिव गिरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ । उहाँको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आश्विन शुक्ल नवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौँ, २५ असोज : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।

दोस्रो दिन असोज १८ गते शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी देवी र तेस्रो दिन गत शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । सोमबार पनि चौथी तिथि वृद्धि भएकाले दुवै दिन कुष्माण्डा देवीकै पूजाआराधना गरिएको समितिले जनाएको छ । यस्तै, छैटौँ दिन मङ्गलबार स्कन्दमाता, सातौँ दिन बुधबार कात्यायनी देवी, आठौँ दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो । दुर्गा पक्षको आठौँ दिन आश्विन शुक्ल अष्टमीमा आज महागौरी र नवमी तिथि पनि परेकाले सिद्धिदात्री देवीको पनि विशेष पूजाआराधना गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष असोज २६ गते शनिबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः३६ को साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउने गर्छन् ।

सिद्धिदात्री देवीको स्वरूप

मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । सिद्धिदात्रीलाई नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी भन्ने गरिन्छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

   दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । 

कोत मन्दिरमा नवमीमा बली चढाइने राँगो मार हान्नका लागि पौने पाँच लाखको बोलकबोल

बेनी (म्याग्दी), २५ असोजः बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि रु चार लाख ७१ हजारको बोलकबोल भएको हो ।

बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गर्नुभएको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ । 

बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो । अन्तिममा लिखित रुपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो । 
सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुङ्गो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । 

गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै रु तीन लाख ३० हजार रकम तिरेर सरकारी मार हान्नुभएको थियो । यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा रु तीन लाख १५ हजार, २०७८ सालको दसैँको नवमीमा भगवतीमा रु तीन लाख, २०७६ सालको दसैँमा दुई लाख ८० हजारमा मार हानेका थिए ।

नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

भगवती कोत मन्दिरमा कालरात्रिमा कोटमन्दीरमा सर्वसाधारणको बीचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ । कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ । 

तत्कालीन बाइसे÷चौबीसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ । 

चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ: पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, २५ असोजः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताउनुभएको छ ।

विजयादशमी अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रका समग्र गतिविधिलाई समुन्नत बनाउँदै जनसमुदायमा सुख, समृद्धि र सामाजिक सद्भाव बढाउने कार्यमा विजयादशमीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भन्नुभएको छ, “नेपालीहरूको महान चाड एवम् पर्वका रूपमा मनाइँदै आएको विजयादशमीले हाम्रा परम्परा र संस्कृतिको छुट्टै पहिचान दिन्छ । भातृत्व, सद्भाव र परिवार समाजको मिलनको पर्व पनि हो विजयादशमी ।”

उहाँले दसैँको मुखैमा भएको वर्षा, बाढीपहिरा पीडित र प्रभावित व्यक्ति दुःख र पीडामा रहेकाले राहत र पुनःनिर्माणमा सरकार र सम्पूर्ण राष्ट्र संवेदनशील हुनु जरुरी रहेको बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश रेग्मीले आजको युगमा जुनसुकै कुरासँग जोडिने विषय विकास र समृद्धि नै भएकाले त्यसका लागि राजनीतिक स्थिरता, दृढ इच्छाशक्ति, नविनतम दृष्टिकोण र इमानदारितापूर्ण प्रयास महत्वपूर्ण विषय हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “शुभकामना आदानप्रदान गर्दै राग, द्वेषलाई पर राखेर रमणीय मौसमी प्रकृतिको उल्लासमय वातावरणमा शान्ति र समृद्धिको कामनाका साथ मनाइने पर्व हो विजयादशमी । त्यसैगरी मनाउँ त्यसैगरी रमाऔँ ।”  पूर्वअध्यक्ष रेग्मीले नवदुर्गा भवानीले सम्पूर्ण नेपालीजनमा शान्ति, सुख, समृद्धि प्रदान गरुन् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २५ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ २४ पैसा , युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा कायम छ । 

साथै साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२ रुपैयाँ नौ पाँच र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २५ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १७ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

गण्डकी, २५ असोजः दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ । 

कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्यस्थल नेपालमा छन् । 

बर्सेनि लाखौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्यस्थलको पदयात्रामा निस्कन्छन् । तपाईं पनि यसपालिको दसैँ बिदामा पदयात्राका लागि कुनै गन्तव्यस्थल रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे ‘टान’ गण्डकीका अध्यक्ष आचार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरिया र पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ । 

खर्चको जोहो
तपाईं कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको रु तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदयात्रा गन्तव्यमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पनि बोकेर जाँदा सजिलो हुन्छ ।

गन्तव्यस्थलको पूर्वअध्ययन
आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ ।

बन्दोबस्ती
याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभइहुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महँगो पनि पर्छ ।

गोल्डस्टारलगायत नेपाली ब्राण्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाका सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यही अनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ । 

एक्लै निहिँड्नुस्
नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनुहुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्धार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् ।

औषधि र हलुका खानेकुरा
पदयात्रामा निस्कदाँ प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकार एकैदिन धेरै हिँड्नुहुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकाहिँ आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदाम आदि साथमा राख्दा राम्रो हुन्छ ।

आश्विन शुक्ल अष्टमीः महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २५ असोजः बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो ।

दोस्रो दिन असोज १८ गते शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन असोज १९ गते शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन चौथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजा आराधना गरिएको हो ।

यस वर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा मङ्गलबार स्कन्दमाताको पूजा आराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन बुधबार कात्यायनी देवीको पूजा आराधना गरियो । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यसै दिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो ।

आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ । नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ ।

कोटभैरव मन्दिरमा फूलपाती भित्र्याइयो

गण्डकी, २४ असोजः पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित प्राचीन कोटभैरव मन्दिरमा फूलपाती भित्राइएको छ ।

नेपालका बाइसे चौबीसे राज्यको समयदेखि पूजाआजा हुँदै आएको मन्दिरमा प्राचीन परम्परालाई निरन्तरता दिँदै फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् पूजा व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुुभयो ।

मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनमा विधिवत् घटस्थापना गरी नियमित चण्डी पाठ गरिनुुका साथै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टीका तथा जमरा लगाउने गरिन्छ ।

फूलपातीका अवसरमा मन्दिरबाट फूलपातेलाई यहाँका बरमाझथर, बरपौवा, बरधारापानीलगायतका गाउँमा खटाएर फूलपाती ल्याइसकेपछि बाजागाजाका साथ मन्दिरमा लगेर भित्राउने प्रचलन छ ।

मन्दिरमा आजै मध्यरातमा कालरात्री विशेष पूजा गरिने अध्यक्ष महतले जानकारी दिनुुभयो ।

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम, २४ असोज : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ । कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा रु नौ लाख ६४ हजार छ सय ८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना रहेका र उनीहरूलाई कानुनबमोजिम कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताउनुभयो । प्रदेशका नौ जिल्लामा सामान्य अवस्थामा सात हजार पाँच सय प्रहरी परिचालित हुने गरेकामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि थप चार हजार गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

“चाडपर्वलाई लक्षित गरेर विगतका घटनाको समेत विश्लेषण गर्दै प्रदेशमा सुरक्षा योजना बनाएर लागु गरिएको हो । सुरक्षा योजनाअन्तर्गत सीमानाकामा सञ्चालनमा रहेका सहायता कक्षमा प्रहरी सङ्ख्या बढाइएको छ”, प्रहरी नायब महानिरीक्षक केसीले भन्नुभयो ।

सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विस्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन नाकामा सञ्चालित सहायता कक्षमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुरक्षा योजना लागु भएपछि पछिल्लो आठ÷दश दिनमा सीमा क्षेत्रबाट तस्करी भएर ल्याइएको झण्डै रु ५० लाख बराबरको मालसामान बरामद गर्न गरिएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

२० जिल्लाका ७१ पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ, २४ असोज : सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ (१) बमोजिक यही असोज १८ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि बाढीपहिरो प्रभावित ७१ पालिकालाई सङ्कटग्रस्त घोषणा गरी हालै राजपत्रमा प्रकाशित गरिएको उहाँले बताउनुभयो ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ती सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र हाल उच्च प्राथमिकतामा राखेर राहत सामग्री वितरण तथा पुनःस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राप्त विवरणअनुसार ओखलढुङ्गाका चार, पाँचथरका दुई, उदयपुरको एक, सोलुखुम्बुका तीन, खोटाङका तीन, इलामको एक, काभ्रेपलाञ्चोकका ११, ललितपुरका चार, दोलखाका तीन, सिन्धुलीका चार, सिन्धुपाल्चोकका पाँच, मकवानपुरका तीन, धादिङका पाँच, रामेछापका आठ, चितवनका तीन, रौतहटका पाँच, महोत्तरीका दुई, सर्लाहीका दुई, सप्तरी र सिरहाका एक÷एक पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

यही असोजको १० देखि र १२ गतेको भारी वर्षासँगै आएको बाढीपहिरो तथा डुबानबाट करिब रु ५० अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गृह मन्त्रालयका अनुसार विपद्मा परेर हालसम्म दुई सय ४६ जनाको मृत्यु भएको छभने १८ जना बेपत्ता छन् । क्षतिको विवरण सङ्कलन गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा बनेको समितिले आफ्नो काम तीव्र रुपमा अघि बढाइरहेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताउनुभयो ।

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

वीरगञ्ज (पर्सा), २४ असोज: वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ । पर्साको मालपोत कार्यालय नजिकै रहेको निशान भगवतीको मन्दिरबाट डोला, बाजागाजासहित गहवामाई मन्दिरमा ल्याएर फूलपाती भित्र्याइयो हो ।

नेपाली सेनाको श्रीजङ्ग गण, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रहरी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयको अगुवाइमा फूलपाती भिञ््याइएको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिनुभयो । ‘‘सरकारी निकायका साथै श्रद्धालु भक्तजनको उपस्थितिमा गहवामाई मन्दिर परिसरमा भव्य कार्यक्रमसहित फूलपाती भित्र््याइएको छ’’, उहाँले भन्नुभयो, ‘‘फूलपाती निकाल्ने साइत आज बिहान सात बजेर ११ मिनेटको रहेको थियो । केही समय ढिलो गरी फूलपाती भित्र्याइएको छ ।’’

मन्दिरमा आज विहानदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको थियो । यहाँ भाकल गर्नाले आफू र आफ्नो परिवारको मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । त्यसैले पनि नवरात्रको अवसरमा मन्दिरमा मधेश प्रदेशका आठ जिल्ला र छिमेकीमुलुक भारतको बिहार राज्यका दर्शनार्थीहरूको पनि भीडभाड लाग्ने गर्छ ।

अध्यक्ष साहले दुर्गामाताको शक्तिपीठ र दसैँघरमा फूलपाती भित्र््याएसँगै तराई मधेसमा दुर्गा भवानीलाई खोइच भर्ने चलन रहेको बताउनुभयो । ‘‘महिलाले व्रत बसेर दुर्गा भवानीको पूजाआराधना गर्ने चलन रहेको छ । दुर्गा भवानीलाई फलफूल तथा रोटी चढाएर पूजाआराधाना गर्ने गरिन्छ”, ’’, उहाँले भन्नुभयो । समितिले फूलपातीको अवसरमा पूजाआराधानाका लागि ५० हजारभन्दा धेरै दर्शनार्थीहरूको सहभागिता रहने जनाएको छ ।

दर्शनार्थीको उपस्थितिलाई मध्यनजर गर्दै मन्दिर आज रातभर खुल्ला गरिने, भोली अष्टमीका दिन बिहान ७ः३० बजे मन्दिरका चारवटा कुण्डमध्ये एउटा कुण्डमा बली दिइनेछ । अष्टमीमा सबैभन्दा पहिला पूजाआराधना सम्पन्न भएसँगै करिब सात हजारभन्दा धेरै बली चढाइने बताइएको छ ।

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौँ, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताउनुभयो ।  “देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वासका साथै लोकतन्त्रान्त्रिक गणतन्त्रन्त्रात्मक संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गरेका छौँ”, उहाँले भन्नुभयो ।  

उपमहासचिव ज्ञवालीले सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म हालैको विपद् र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेको र यसका कार्यमा सबैको थप सहयोग र सहकार्यको अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेलै अमेरिकाको फ्लोरिडा सामुन्द्रिक आँधीबाट आक्रान्त छ, साधनस्रोत सम्पन्न देश भएर पनि त्यहाँ विपद् व्यवस्थापनमा कमजोरी रहेको सुनिन्छ । त्यसैले हाम्रो सन्दर्भमा पनि वस्तुनिष्ठ ढङ्गले हेरिनुपर्छ । सरकारले इमान्दारपूर्वक काम ग¥यो वा गरेन, सरकारका निकाय परिचालित भए वा भएनन् भन्ने मुख्य कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दलका कार्यकर्ता आफ्नो सामथ्र्यले भ्याएसम्म खटेकै छौँ ।” 

बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत सहयोग र खोजी कार्यमा सम्पूर्ण जनसङ्गठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयम्सेवी भूमिकासहित सहयोगमा लाग्न निर्देशन दिएको छ । आगामी मङ्सिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न पार्टीले निर्देशन दिने निर्णयसमेत गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा २८ को मृत्यु

गाजाको एक विद्यालयमा बिहीबार भएको हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको प्यालेस्टिनी रेड क्रिसेन्टले बताएको छ । इजरायली सेनाले भने हमासको कमान्ड केन्द्रमा आक्रमण गरेको जनाएको छ ।

“प्यालेस्टिनी रेड क्रिसेन्ट टोलहरूले इजरायली कब्जामा रहेको दीर अल–बलाहको रफिदा विद्यालयलाई सेनाले लक्षित गर्दा २८ मृतक र ५४ घाइतेलाई सहयोग गरेका छन्”, संस्थाले भनेको छ । गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले वक्तव्यमा समान मृत्यु सङ्ख्या उपलब्ध गराएको छ ।

‘रफिदा विद्यालयको रूपमा पहिले प्रयोग भएको परिसरभित्र रहेको कमान्ड–एन्ड कन्ट्रोल केन्द्रबाट’ सञ्चालन गरिरहेका प्यालेस्टिनी लडाकूहरूलाई आक्रमणले लक्षित गरेको इजरायली सेनाले एक वक्तव्यमा बताएको छ । 

सेनाले मृतकको सङ्ख्या उपलब्ध नगराए पनि कमान्ड–एन्ड–कन्ट्रोल केन्द्र ‘आइडिएफ (सेना) सैनिक र इजरायल राज्यविरुद्ध आतङ्कवादी आक्रमणहरूको योजना बनाउन र कार्यान्वयन गर्न’ प्रयोग गरिरहेको बताएको छ । 

बिहीबारको आक्रमणमा गाजामा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएको इजरायली आक्रमणहरूको शृङ्खलामा पछिल्लो थियो । गाजामा एक वर्षभन्दा बढी समयदेखि लडाइँ जारी छ ।

गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार सेप्टेम्बर २६ मा उत्तरी गाजाको जबालिया शिविरमा अर्को विद्यालय–बनेको आश्रयस्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । इजरायली सेना हाल जबालियामा गहन अभियानमा संलग्न छ ।

इजरायली सेनाले हमासलाई हजारौँ गाजाबासीले आश्रय लिएका विद्यालयहरू भवनहरूमा लुकेको आरोप लगाएको छ । उक्त आरोपलाई हमासले अस्वीकार गरेको छ । 

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ । स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो ।”

लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उहाँको पहिलो उपन्यास हो ।  तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ । 

“धेरै विधालाई समेटेको यो धेरै समृद्ध र जटिल रचना हो”, एकेडेमी सदस्य अन्ना–कारिन पाल्मले पत्रकारहरूसँग भन्नुभयो, “हान काङले वास्तवमै तीव्र काव्यात्ममक गद्य लेख्नुहुन्छ जुन कोमल र निर्मम दुवै छ र कहिलेकाहीँ केही अतियथार्थवादी छ ।”

हानको सन् २०१४ को उपन्यास ‘ह्युमन एक्ट्स’ सन् १९८० मा दक्षिण कोरियाली सेनाद्वारा गरिएको नरसंहारबाट प्रेरित थियो र यो लोकतान्त्रिक विद्रोहबीच एक युवकको मृत्युको बारेमा छ । 

दुई वर्षपछि उहाँले ‘द ह्वाइट बुक’ प्रकाशित गर्नुभयो । उक्त पुस्तक जन्मेको केही घन्टापछि बितेकी उहाँकी जेठी बहिनीलाई समर्पित गरिएको छ । उक्त पुस्तकमा एकेडेमीले उहाँको ‘काव्यात्मक शैली’ बारे उल्लेख गरेको छ । 

एकेडेमीले हानको सन् २०१० को पुस्तक ‘द विन्ड ब्लोज, गो’ लाई ‘मित्रता र कलाकारिताको बारेमा जटिल उपन्यास भन्दै उपन्यासमा दुःख र परिवर्तनका लागि तीव्र चाहना प्रबल रूपमा उपस्थित छ’ भनी वर्णन गरेको छ । 

सन् २०१३ देखि सन् २०१७ सम्म पार्क गन–ह्येको राष्ट्रपति कालमा पार्कको सरकारको आलोचनाका लागि कालो सूचीमा राखिएका नौ हजारभन्दा बढी कलाकारमध्ये हान एक हुनुहुन्थ्यो । 

ती कलाकारहरूले उदारवादी विपक्षी दलहरूको समर्थन गरेका थिए भने पार्कको रूढिवादी सरकार र यसका नीतिगत असफलताहरूको आलोचना गरेका थिए । यसमा सन् २०१४ को सेवोल फेरी डुबेको घटनामा करिब तीन सय जनाको मृत्यु भएपछिको असफल उद्धार प्रयासहरू समावेश थिए । 

बिहीबारको हानको नोबेल पुरस्कार विजयले पुरस्कारको प्रतीक्षामा रहेकाहरूलाई आश्चर्यमा पारेको छ किनकि घोषणाअघिको अनुमानमा उहाँको नाम समावेश भएको थिएन । 

गत वर्ष यो पुरस्कार नर्वेली नाटककार जोन फोसेलाई दिइएको थियो । उहाँका नाटकहरू विश्वमा कुनै पनि समकालीन नाटककारका नाटकहरूमध्ये सबैभन्दा बढी मञ्चन गरिएका छन् । 

एकेडेमीलाई लामो समयदेखि आफ्ना चयनहरूमा पश्चिमी गोरा पुरुष लेखकहरूको अत्यधिक प्रतिनिधित्वका लागि आलोचना गरिएको थियो । 

स्विडिश एकेडेमीले सन् २०१८ को विनाशकारी मिटु प्रकरणपछि ठूलो सुधार गरेको छ र अधिक विश्वव्यापी तथा लैङ्गिक समानता भएको साहित्य पुरस्कारको प्रतिज्ञा गरेको छ । 

उक्त प्रकरणपछि एकेडेमीले हानसहित फ्रान्सकी एनी एर्नाक्स, अमेरिकी कवि लुइस ग्लक र पोल्यान्डकी ओल्गा टोकार्चुक गरी चार महिलालाई सम्मानित गरेको छ । पुरुषहरूमा अस्ट्रियाली लेखक पिटर हान्डके, तान्जानियाली लेखक अब्दुलराजाक गुर्नाह र नर्वेली फोसे सम्मानित हुनुभएको छ । 

नोबेल पुरस्कारमा डिप्लोमा, सुनको पदक र १० लाख डलरको पुरस्कार राशि समावेश छ । 

हानले डिसेम्बर १० मा स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफाबाट पुरस्कार प्राप्त गर्नुहुनेछ । उक्त दिन वैज्ञानिक एवं पुरस्कार संस्थापक अल्फ्रेड नोबेलको १८९६ को मृत्युको वार्षिकी हो । 

आश्विन शुक्ल सप्तमी: दसैँघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो

काठमाडौँ, २४ असोज : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । 

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजाआराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीे बताउनुहुन्छ ।  

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरूमा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनक अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्य सामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड देखिन्छ ।

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

गोरखा, २४ असोज : गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आज गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भ्यिाइएको उहाँले बताउनुभयो । गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेको फूलपाती लिन दसैँघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासीलगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए । ‘‘गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भ्यिाइएको हो”, मूलपुजारी भट्टराईले भन्नुभयो ।

फूलपाती भ्यिाउनु पूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दुकेहरूले हर्ष बढाइँ गर्दै र भारवाहकहरू फूलपानी पर्सने सिडीसम्म पुगेका थिए । गोरखा दरबारको सिडीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भ्यिाउने प्रचलन रहँदै आएको मूलपुजारी भट्टराईले बताउनुभयो ।

गोरखा दरबारमा हरेक वर्ष रवानबाट पश्चिम क्षेत्रका डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा दरबारको दसैँघरमा फूलपाती भ्यिाउने गरिन्छ । यसअघि आज बिहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो ।

बुद्धका एयरका पाईलट रंजन र साधना सरगमले मिठो हाँस्यौ बोलको गीतको भिडियो ल्याउँदै

काठमाडौँ । भारतीय गायिका साधना सरगमको स्वर रहेको कति मिठो हाँस्यौ बोलको गीतको भिडियो बजारमा आउने भएको छ । जसमा सिनियर पाईलट ,गायक रंजन सुबेदीले पनि गायिका साधना सरगमलाई साथ दिएका छन् । पेशाले सधै जहाज उडाउने भएपनी सानै देखि गाउनमा रुची राख्ने रंजन सुबेदीले गज्जबको प्रस्तुति दिएका छन् । गीतमा बाँचुन्जेलिलाई, मलाई पुगेन पुगेन यो बैसले,पहाडको छुक छुके रेल लगायतका हिट गीतका संगीतकार शिखर सन्तोषको संगीत सृजना रहेको छ ।

जसमा प्रख्यात रचनाकार बिजय सिवाकोटीको शब्द शृजना रहेका छन् । भिडियोमा कार्टून क्रुजका सरोज अधिकारी र आसमकी हिरोईन इशाको अभिनय रहेको छ । नेपाली फिल्मका प्रखात कोरियोग्रफर राम जी लामिछानेको निर्देशन रहेको गीतमा प्रसन्न कुवरको छायांकन र शान थापा को पोस्टर डिजाईन रहेको छ ।यसलाई म्युजीक नेपाल ले फूलपाती को दिन रिलिज गर्ने तयारी गरेको छ।

भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन् , मासुखान समस्या छैन : पशु चिकित्सक

कास्की, २४ असोजः पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । यसबाहेक दसैँमा खसीबोकाकोसमेत राम्रो बिक्रीवितरण हुने गर्दछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका अनुसार दसैँमा १५ हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा र खसीबोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो । यस वर्ष गत वर्षभन्दा तीन हजार बढी भेडा, च्याङ्ग्रा ल्याइँदैछ । गत वर्ष आठ हजार पाँच सय खसीबोका ल्याइकामा यस वर्ष घटेको छ ।

“हामीले लिएको तथ्याङ्कअनुसार यस वर्ष १९ हजारको हाराहारीमा पोखरामा खसीबोका र भेडाच्याङ्ग्रा पोखरामा बिक्रीका लागि ल्याइएको छ । मुस्ताङ र म्याग्दीस्थ्ति भेटेरिनरी अस्प्तालमा कति बाहिरिए भन्ने तथ्याङ्क र बजारमा व्यापारीसँग जानकारी लिएका छौँ”, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भन्नुभयो ।

पोखरामा मुख्यगरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा, च्याङ्ग्राको आयात हुने गर्दछ । त्यसबाहेक सुदूरपश्चिमका बझाङ, मुगु, बाजुरालगायत क्षेत्रबाट यहाँ बिक्रीका लागि ल्याउने गरिएको छ ।

पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी÷ बोकाको बिक्री घटेको बताउनुभयो । माग कम भएपछि आफूहरुले आयातसमेत घटाएको उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “अघिल्ला वर्षमा हामीले आठ÷नौ हजारजति खसीबोका ल्याउने गरेका थियौँ । तर अहिले माग छैन । पहिलाकोभन्दा आधामात्र ल्याएका छौँ ।”

पोखरामा तनहुँ, गोरखा, पाल्पा, अर्घाखाँची र नवलपरासीबाट मुख्यगरी खसीबोका आयात हुने गर्दछ । केही व्यापारीले दाङ र सुर्खेतबाट ल्याउने गरेका छन् । दसैँतिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडाच्याङ्ग्राको अनुगमन तथा स्वास्थ्य परीक्षणसमेत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगर पशुसेवा शाखाले संयुक्त रुपमा अनुगमन तथा भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरेका हुन् ।

पोखरा महानगरपालिका–१ सिमपानी तथा जौवारीमा पशु चिकित्सकसहितको प्राविधिक टोलीले नमुनाका रुपमा च्याङ्ग्राको परीक्षण गरेको हो । परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो ।

“सुरुआतमै रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ । मुस्ताङ र म्याग्दीमा परीक्षण गरेर पोखरा ल्याइन्छ । बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन् । अन्य समस्या देखिएको छैन”, उहाँले भन्नुभयो । पोखरा महानगर पशु शाखाका प्रमुख डा अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा, च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताउनुभयो ।

अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएको बाँके अन्य सङ्क्रामक रोग देखिएको छैन । “पोखरामा ल्याइएका भेडा, च्याङ्ग्रा स्वस्थ रहेका छन् । खर्कमा हुर्किएकाले समस्या देखिएको छैन”, पशुचिकित्सक विकले भन्नुभयो ।

नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्थाअनुसार पशु ढुवानीअघि दर्तावाल पशु चिकित्सकले जाँच गरेर स्वस्थ रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ । “जहाँबाट हिँडाइन्छ त्यहीँ नै स्वास्थ्य परीक्षण गरेर रोगी छ भने त्यहीँ रोकिन्छ”, पाण्डेले भन्नुभयो । दसैँको समयमा हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ । चिसो हावापानीमा हुर्किएका र जडीबुटीसमेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्दकसमेत रहेकाले रोजाइमा पर्ने गरेको छ ।

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : सभापति देउवा

काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ ।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताउनुभएको छ ।

दसैँको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको बताउनुभएको छ । “मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ”, उहाँले उल्लेख गर्नुभएको छ, “हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।”

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उहाँको भनाइ छ । विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताउँदै उहाँले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गर्नुभएको छ । सभापति देउवाले बडादसैँको पुनित अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

दुई महिनामा सात अर्ब ५५ करोडको विद्युत् निर्यात

काठमाडौँ-चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु सात अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ ।

प्राधिकरणले गत साउनमा रु तीन अर्ब ९९ करोड ५६ लाख र भदौमा रु तीन अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको हो । साउनमा ४९ करोड २८ लाख ६१ हजार र भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ ।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी रु ९९ करोड ५५ लाखको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा रु ६९ करोड ८ लाखको विद्युत् निर्यात गरिएको प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताउनुभयो । “चालू आवमा करिब रु ३० अर्बको विद्युत् निर्यात लक्ष्य राखेका थियौँ, बाढीपहिराले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ”, उहाँले भन्नुभयो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न प्राधिकरणले स्वीकृति पाएको छ । बाढीबहिरो जानुभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेकामा हाल दैनिक डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिराका कारण सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब सात सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । यही अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौँ-नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी भैरहवा र पोखरा हवाई इन्धन डिपोबाट बिक्री हुने अन्तर्राष्ट्रियतर्फको इन्धनको मूल्य प्रतिकिलोलिटर क्रमशः अमेरिकी डलर ९१ र ७६ घटाएको हो । 

निगमले यसअघि भैरहवा र पोखरास्थित हवाई इन्धन डिपोबाट अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर आठ सय ६० लिँदै आएको थियो । मूल्य घटेसँगै भैरहवास्थित डिपामा हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ६९ र पोखरास्थित डिपोमा प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ८४ कामय भएको छ । 

गत साउन २८ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत ‘नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ कार्यान्वयन गर्न ती दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । 

आश्विन शुक्ल सप्तमीः कालरात्रिको पूजा आराधना गरिँदै

काठमाडौँ, २४ असोजः बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसँै घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई ‘कालरात्रि’ भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले दुवै दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको हो । यसैगरी छैटौँ दिन मङ्गलबार स्कन्दमाता र सातौँ दिन बुधबार कात्यायनी देवीको पूजा आराधना गरियो ।

आश्विन शुक्ल सप्तमीका दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गापक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दसैँमा गाउँ नै रमाइलो….

म्याग्दी, २४ असोजः खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।

अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भन्नुहुन्छ, “अघिपछि गाउँघरमा उतिसारो युुवा हुँदैनन् । पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ । चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । ”

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । यो विसं २०६८ भन्दा करिब सात हजारले कमी हो ।

गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ । अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ ।

तीमध्येका एक हुनुहुन्छ, धवलागिरी गाउँपालिका–४ खिवाङका होमबहादुर पुन । दसैँ मनाउन अमेरिकाबाट आठ वर्षपछि जन्मथलो फर्किनुभएका उहाँ भन्नुहुन्छ,“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर नरमाइmलो लाग्थ्यो । उकालीओराली गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र ! सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुुन्छ । यहाँको मौलिक संस्कृति, आफन्त साथीभाई र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ ।”

बेलायतबाट दश वर्षपछि जन्मथलो आउनुभएका अन्नपूर्ण–७ घराम्दीका धनबहादुर पाइजा दसैँमा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दसैँको विषेश महत्व हुुने बताउनुहुन्छ । “बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गेपिङ हालेका छौँ । तीन दिन लगाएर जङ्गलबाट ल्याएको काठको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै छ”, उहाँले खुसी हुँदै भन्नुभयो ।

हाल यहाँका बाटाघाटा र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरिएका छन् । प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।

‘उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै,
आधिबेहरीसँग लड्दै,
खोला नदी सागर तर्दै,
दुःख पीडा बिर्सदै म आए,
परदेशबाट फर्कि आए
आफ्नै गाउँ फर्कि आए
नयाँ नयाँ सपना ल्याए……’ रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ ।

उपराष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमाडौँ, २४ असोजः उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताउनुभयो । “आनन्द, खुशी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।

उपराष्ट्रपति यादवले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गर्नुभयो । यस्ता पर्वलले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुष्ण राख्न सहयोग पुग्ने भन्नुहुँदै उहाँले नेपालीका महत्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गर्नुभएको छ । “भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, वडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ । विजयादशमी सामाजिक मात्र नभइ राष्ट्रिय महत्व बोकेको पर्व पनि हो । यसले कुप्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ,“संसारमा अन्याय र अत्याचार गर्नेहरूको सँधै पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सँधै विजय हुने शिक्षा पनि यसले दिन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।”

उहाँले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाउँ पुगोस् भनि कामनासमेत गर्नुभएको छ । यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने उपराष्ट्रपति यादवको विश्वास छ ।

     उपराष्ट्रपति यादवबाट टीका तथा प्रसाद प्रदान हुने समय निर्धारण 

           यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान हुने समय तोकिएको उहाँको सचिवालयले जनाएको छ । 

उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते दसैँका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपरान्ह २ः३० बजेदेखि ४ः०० बजेसम्मको समय तोकिएको जनाएको हो । सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोशाक लगाएर आउन अपिलसमेत गरेको छ ।