`

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौँ-नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी भैरहवा र पोखरा हवाई इन्धन डिपोबाट बिक्री हुने अन्तर्राष्ट्रियतर्फको इन्धनको मूल्य प्रतिकिलोलिटर क्रमशः अमेरिकी डलर ९१ र ७६ घटाएको हो । 

निगमले यसअघि भैरहवा र पोखरास्थित हवाई इन्धन डिपोबाट अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर आठ सय ६० लिँदै आएको थियो । मूल्य घटेसँगै भैरहवास्थित डिपामा हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ६९ र पोखरास्थित डिपोमा प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ८४ कामय भएको छ । 

गत साउन २८ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत ‘नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ कार्यान्वयन गर्न ती दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । 

आश्विन शुक्ल सप्तमीः कालरात्रिको पूजा आराधना गरिँदै

काठमाडौँ, २४ असोजः बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसँै घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई ‘कालरात्रि’ भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले दुवै दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको हो । यसैगरी छैटौँ दिन मङ्गलबार स्कन्दमाता र सातौँ दिन बुधबार कात्यायनी देवीको पूजा आराधना गरियो ।

आश्विन शुक्ल सप्तमीका दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गापक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दसैँमा गाउँ नै रमाइलो….

म्याग्दी, २४ असोजः खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।

अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भन्नुहुन्छ, “अघिपछि गाउँघरमा उतिसारो युुवा हुँदैनन् । पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ । चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । ”

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । यो विसं २०६८ भन्दा करिब सात हजारले कमी हो ।

गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ । अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ ।

तीमध्येका एक हुनुहुन्छ, धवलागिरी गाउँपालिका–४ खिवाङका होमबहादुर पुन । दसैँ मनाउन अमेरिकाबाट आठ वर्षपछि जन्मथलो फर्किनुभएका उहाँ भन्नुहुन्छ,“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर नरमाइmलो लाग्थ्यो । उकालीओराली गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र ! सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुुन्छ । यहाँको मौलिक संस्कृति, आफन्त साथीभाई र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ ।”

बेलायतबाट दश वर्षपछि जन्मथलो आउनुभएका अन्नपूर्ण–७ घराम्दीका धनबहादुर पाइजा दसैँमा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दसैँको विषेश महत्व हुुने बताउनुहुन्छ । “बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गेपिङ हालेका छौँ । तीन दिन लगाएर जङ्गलबाट ल्याएको काठको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै छ”, उहाँले खुसी हुँदै भन्नुभयो ।

हाल यहाँका बाटाघाटा र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरिएका छन् । प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।

‘उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै,
आधिबेहरीसँग लड्दै,
खोला नदी सागर तर्दै,
दुःख पीडा बिर्सदै म आए,
परदेशबाट फर्कि आए
आफ्नै गाउँ फर्कि आए
नयाँ नयाँ सपना ल्याए……’ रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ ।

उपराष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमाडौँ, २४ असोजः उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताउनुभयो । “आनन्द, खुशी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।

उपराष्ट्रपति यादवले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गर्नुभयो । यस्ता पर्वलले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुष्ण राख्न सहयोग पुग्ने भन्नुहुँदै उहाँले नेपालीका महत्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गर्नुभएको छ । “भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, वडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ । विजयादशमी सामाजिक मात्र नभइ राष्ट्रिय महत्व बोकेको पर्व पनि हो । यसले कुप्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ,“संसारमा अन्याय र अत्याचार गर्नेहरूको सँधै पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सँधै विजय हुने शिक्षा पनि यसले दिन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।”

उहाँले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाउँ पुगोस् भनि कामनासमेत गर्नुभएको छ । यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने उपराष्ट्रपति यादवको विश्वास छ ।

     उपराष्ट्रपति यादवबाट टीका तथा प्रसाद प्रदान हुने समय निर्धारण 

           यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान हुने समय तोकिएको उहाँको सचिवालयले जनाएको छ । 

उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते दसैँका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपरान्ह २ः३० बजेदेखि ४ः०० बजेसम्मको समय तोकिएको जनाएको हो । सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोशाक लगाएर आउन अपिलसमेत गरेको छ ।

दसैँमा प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या

पाल्हीनन्दन (नवलपरासी ब सु प), २४ असोजः अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको प्रतापपुर गाउँपालिका‐६ कठहवाका मुुसहर समुदायलाई भने खासै दसैँ लागेको छैन । स्थानीय रामनरेश मुसहरले भन्नुभयो,“घरमा अन्न छैन, खल्तीमा सुको छैन अनि कसरी दसैँ लाग्नु हजुर !”

छरछिमेकमा दसैँको रौनक छाउँदा आफूहरू भने दुई छाकको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहेको उहाँको भनाइ छ । “छिमेकी बस्तीमा हुने खानेले दुुर्गा मुुर्ति बनाएर बाजासहित धुुमधामका साथ दसैँ मनाइरहेका छन् । स्थानीय बजारमा नयाँ-नयाँ लुुगा, खानेकुरा, भाँडाकुँडा किन्नेको भीडभाड छ”, रामनरेशले भन्नुभयो,“दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने हामीहरूलाई भने दसैँमा कसैले काम नदिने भएकाले चुलो कसरी बाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।”

उनका अनुसार दसैँमा सबैले नयाँ लुगा लगाउँछन्, मन परेका परिकार खान्छन्, हामीलाई पनि खान र लाउन मन लाग्छ, तर पैसा छैन समस्या भनेको चरम गरिबीछ अरुजस्तै खान लाउनको लागि पैसा चाहिन्छ पैसा नभएपछि हामी मनलाई मारेर आ‐आफनो घरमा बसिरहेका छौँ ।

उहाँ घरका ठूला मान्छेले आफ्नो बाध्यता बुझे पनि बालबालिकाले भने अरूको जस्तै राम्रो लाउने र मिठोमसिनो खाने चाहना राख्दा सम्झाउनै समस्या भएको बताउनुहुन्छ । “चाडपर्वमा अरूले रमाइलो गर्छन् तर हामीलाई यो समय किन आउँदो हो भन्ने लाग्छ । चरम गरिबीका कारण यस्ता चाडबाड हामीलाई गिज्याउन मात्रै आएजस्तो लाग्छ । बालबच्चाको चाहना पूरा गर्न नसक्दा सधैँजसो निराश भएरै पर्वहरू बित्छन्”, उहाँले दुःखेसो पोख्नुभयो ।

पूर्वमन्त्री हृदयेश त्रिपाठीको गाउँ नजिकै रहेको यो बस्तीमा झण्डै ४२ मुसहर परिवार बस्छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै दैनिकी ज्यालामा काम गर्नु हो । चाडपर्वमा प्रायःजसो काम ठप्प हुने हुँदा उनीहरूले काम पाउने कुरा पनि भएन । त्यसैले थप समस्या हुने गरेको छ । “हामीले कमाएको पैसाले त राम्रोसँग खान पुग्दैन, चाडपर्व त कसरी मनाउनु”, स्थानीय ईन्द्रावती मुसहर भन्नुहुन्छ, “दसैँमा मात्रै होइन, कुनै पनि चाडपर्व हाम्रा लागि दशा बनेर आउँछन् । आज कमाएर आजै खाने हाम्रा लागि सधैँ यस्तै कहर हुन्छ ।”

आफूहरूले स्थानीय सरकारलाई दीगो जीविकोपार्जनका लागि कुनै व्यवस्था गरिदिनका लागि आग्रह गरे पनि सुनुवाइ नभएकाले सधैँ एउटै नियती भोग्नु परिरहेको ईन्द्रावतीले सुनाउनुभयो । “आफूहरूको गरिबीबारे यहाँका स्थानीय जनप्रतिनिधिलगायत सबैलाई थाहा छ । हामीले बेलामौकामा उहाँहरूलाई जानकारीसमेत गराएका हुन्छौँ, खै, अहिलेसम्म सुनिदिने कोही भएनन्”, उहाँले पीडा पोख्नुभयो,“सित्तैमा दिन पनि भनेका छैनौँ, हाम्रो सीपअनुसारको काम दिए पनि हुन्थ्यो । अरू बेला नभए पनि चाडपर्वका बेला हामीलाई र हाम्रा बालबच्चालाई राम्रो लगाउने, मिठो खाने रहर हुन्छ नि! तर सधैँ सपनामै सिमित हुन्छ ।”

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव भने अति गरिब र विपन्न समुदायको लागि पालिकाले आर्थिक सहयोगका लागि बजेट विनियोजन गरेकाले सो रकमबाट दसैँका लागि खाद्यान्न सहयोग गर्ने तयारी भइरहेको बताउनुहुन्छ । “दसैँको अवसरमा उनीहरूलाई खाद्यान्नलगायत सामग्री वडा कार्यालयमार्फत वितरण गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।

यहाँका मुसहर समुदायको आफ्नो नाममा जग्गासमेत छैन । उनीहरूले पुस्तौदेखि उखडा जग्गामा फुसको छाप्रो बनाएर गुजारा गर्दै आएका छन् । अरू समय ज्यालादारीमा काम गरेर जीविको चलाए पनि चाडपर्वमा कुनै काम नपाइँदा समस्या हुने गरेको छ ।

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

गलकोट (बागलुङ), २४ असोजः नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन यस बेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त देखिन्छन् ।

परम्परा धान्नकै लागि भए पनि यहाँका स्थानीयले रातोमाटोले घर पोत्ने चलन छाडेका छैनन् । दसैँ नजिकिएसँगै दिनहुँजसो यहाँका रातोमाटो पाइने स्थानमा स्थानीयको भीड नै लागेको देखिन्छ । केहीले आफ्नै घरका लागि त केहीले व्यावसायिक रूपमा नै रातो माटो खनेर बिक्रीसमेत गर्ने गरेको पाइन्छ ।

काठेखोला गाउँपालिका–१ पाला निवासी कमला भण्डारी दसैँ आउँदा सेतो कमेरो, पहेलो र रातो माटोले घर सजाउने चलन अझै गाउँ घरमा कायमै रहेको बताउनुहुन्छ । बजारका घरमा रेडिमेट रङ्ग लगाउने चलन भए पनि परम्परागत माटोले बनेका घरमा अझै रातोमाटोले पोत्ने चलन रहेको उहाँको भनाइ छ । “धेरै घर त सिमेन्टका बनिसके, त्यस्तो घर बनाएकाहरूले रेडिमेट रङ प्रयोग गर्छन् तर गाउँमा रहेका परम्परागत घरमा भने माटो नै चाहिन्छ, दसैँमा घर चोख्याउन भए पनि रातोमाटो प्रयोग हुन्छ,” भण्डारीले भन्नुभयो “अहिले त रातोमाटोसमेत व्यावसायिक रूपमा बिक्री गर्न घर–घरमै लैजाने गरेको छ । मैले त स्थानीय माटो पाइने ठाउँबाट जोहो गरेकी छु ।”

घर लिपपोतका लागि बागलुङ नगरपालिकाको खहरे, बोक्सेलगायतका स्थानमा रातोमाटो पाइने गरेको छ । विगतको तुलनामा माटो लिन आउनेहरू सङ्ख्या पातलिँदै गए पनि प्रचलन भने कायमै रहेको स्थानीय बताउछन् ।

हुन त घरको पिढी र बाहिरी भित्तामा अन्य रङ लगाए पनि भित्री भाग वा पूजा गर्ने ठाउँमा मात्रै किन नहोस् रातोमाटोले लिप्ने प्रचलनसमेत छ । “घरको कुनै न कुनै भागमा रातोमाटोले नपोतेसम्म चोखो हुँदैन, सिमेन्टकै घरमा पनि जमरा राख्ने स्थानलाई गोबर र रातोमाटोले पोतेर चोखो बनाउनुपर्छ भन्ने मान्यता अझै छ”, स्थानीय गमकुमारी पुनले भन्नुभयो, “अघिपछि भन्दा दसैँको समयमा रातोमाटोको महत्व बढी छ, घरमा रातोमाटोले पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ ।”

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ, २४ असोजः यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको रु दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको रु ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको रु २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको रु २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको रु छ करोड ६५ लाख र रसुवागढी नाकामा रु चार करोड बराबरको क्षति भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिनुभयो ।

दशैंको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइँदै

काठमाडौँ, २४ असोजः आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,” उहाँले भन्नुभयो ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताउनुभयो ।

यस्तै, हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीब्र हुने गर्दछ ।

फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौँ, २४ असोजः भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ ।

रु ३८ करोडभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साझ हस्तान्तरण गर्नुभयो । प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग गरेको त्यस अवसरमा जानकारी दिइयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २४ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २ पैसा र बिक्रीदर नौ रुपैयाँ ७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १५ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

‘विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन’

काठमाडौँ, २३ असोजः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

 प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गर्नेे हुँदा हाल भइरहेका राति १० बजेदेखि बिहान ८ बजेसम्मका  सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृिद्ध गर्ने उद्देश्यले आगामी कात्तिक २३ गतेदेखि लागू हुनेगरी करिब छ महिना हालको उडान समय १४ घण्टामा सीमित हुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यताबमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको हो ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठकाअनुसार विमानस्थलको पश्चिमतर्फ समानान्तर  ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार हुनेछ ।

प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न÷नगराउन सम्बद्ध पक्षलाई आग्रह गर्दै प्राधिकरणले कुनै उड्डयनसँग सम्बन्धित सेवा प्रदायक कम्पनीले कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी काम गरेमा कारबाही गरिने जनाएको छ । साथै प्राधिकरणले विमानस्थलमा अहोरात्र खटेर २४सै घण्टा हवाई सेवा प्रदान गर्ने सम्पूर्ण उड्डयनकर्मी तथा राष्ट्रसेवकमा धन्यवादसमेत व्यक्त गरेको छ ।

प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई प्राधिकरणले विशेष अनुरोध गरेको छ ।

‘सुशासन प्रवर्द्धनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’ : मुख्य सचिव अर्याल

काठमाडौँ, २३ असोज : नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी एवं सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।आज तराई विकास तथा सञ्चार केन्द्रले यहाँ आयोजना गरेको सुशासन प्रवर्द्धनमा नीति निर्माण तहका पदाधिकारीहरुको भूमिका विषयक छलफल तथा विजया दशमी २०८१ को शुभकामना आदानप्रदानमा बोल्दै मुख्य सचिव अर्यालले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सुशासन प्रवर्द्धन तथा नीति निर्माण तहमा हाम्रो भूमिका सकारात्मक छ । अहिले सञ्चार माध्यममा आएका कुरा पाठकले झट्टै विश्वास गर्ने भएकाले सुशासन प्रवर्द्धनमा कलम चलाएको खण्डमा हामीलाई अझ सहज हुन्छ ।”

मुख्य सचिव अर्यालले प्राविधिक तथा वातावरणीय परीक्षणविना ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडकलगायतका संरचनाका कारण यसपटक बाढीपहिरोबाट ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । प्राविधिक तथा वातावरणीय परीक्षणविना धादिङको झ्याप्ले खोलामाथि सडक बनाइएका कारण ठूलो मानवीय क्षति भएको उहाँको भनाइ थियो । यसैगरी दसैँ, तिहार लगायतका मुख्य चाडपर्वका समयमा केही वर्गले दैनिक उपभोग्य वस्तुमा महँगी बढाउने, गाडीको भाडा दोब्बर बढाउने गरेको गुनासो आएकाले त्यस्ता व्यक्तिलाई कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

यसैगरी बाढीपहिरोका कारण क्षति पुगेका ठाउँमा कमाण्ड पोष्ट खडा गरेर सडक सञ्चालन भइरहेको सचिव शर्माले जानकारी दिनुभयो । सडक खुलाउने काममा खटिएका टिमलाई दसैँको टीकाको दिनबाहेक अन्य दिन बिदा नदिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा अमात्यले सुशासन प्रवर्द्धनको अनुभूति हुने काममा सरकारले जोड दिनुपर्ने बताउनुभएको थियो ।

सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद

वीरगञ्ज (पर्सा), २३ असोज : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवा नयाँवस्तीस्थित भारतबाट भन्सार छली ल्याएर घरमा लुकाइछिपाइ राखेको तीन वटा गोदामबाट सो परिमाणमा लत्ताकपडा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले भन्सार छली गरेर तीन वटा घरमा लुकाइ राखेको अवस्थामा लत्ताकपडा बरामद भएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले बरामद लत्ताकपडा र डिसी प्रोटिन पाउण्डर बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियतापछि भन्सार छली गरिएका सामान तथा बिलबिजक नभएका सामानको बरामदी ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले गत आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएको र भन्सार छलीका सामान बरामद गरेको थियो । जसमध्ये सशस्त्र प्रहरी बल पर्साले रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो ।

सोही अवधिमा बिलबिजक अनुसार नभएका रु १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य बराबरका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सशस्त्र प्रहरीले आव २०७९/८०मा भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य बराबरको सामान बरामद गरेको थियो । प्रहरीले बरामद गरेको सामग्रीमा सबैभन्दा धेरै पेयपदार्थ, लत्ताकपडा, प्याज र मेसिनरी पार्टपुर्जा रहने गरेको छ ।

दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन

काठमाडौँ, २३ असोज : खानेपानीमन्त्री प्रदीप यादवले दसैँलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा आयोजना गरिएको वडादसैँको शुभकामना आदानप्रदानमा मन्त्री यादवले भन्नुभयो, “हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।”

उहाँले हाल विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै नागरिकका समस्या समाधान गर्न सबै राष्ट्रसेवक कर्मचारी अग्रसर हुन आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “विपद्मा विभिन्न परिस्थितिको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ । जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ ।”

काठमाडौँ उपत्यकामा हिजो मङ्गलबारदेखि वितरित मेलम्चीको पानी पुगेको क्षेत्र र पानी अपुग भएको क्षेत्रबारे निरन्तर अनुगमन गरी पानी वितरण गर्न मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

हिन्दूहरुको महान् पर्व विजया दशमी, शुभ दिपावली एवं छठपर्व आफ्ना घर परिवारसँग राम्रोसँग मनाउन तथा विजया दशमी सबैका लागि सुःखद् रहोस् भनी मन्त्री यादवले शुभकामना दिनुभयो ।

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन

काठमाडौँ २३ असोज : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को आज उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताउनुभयो । उहाँले पैसा भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यासायिकताको विकास हुनेगरी काम गर्नुपर्ने बताउँदै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थललाई राम्रोसँग चलाएपछि पर्यटन क्षेत्र थप मजबुद हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र तथा अप्ठ्यारा र अध्याँरा दिनमा भेटेका साथी भएको उल्लेख गर्दै आफूहरूले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनीतिक सहकार्य गरिएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटलका रूपमा रहेको सो रिसोर्टको अत्याधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । अध्यक्ष विनिता थापा खड्काले बीस रोपनी जग्गामा रु तीन अर्ब ५७ करोडको लगानीमा १०४ कोठाको सो रिसोर्ट निर्माण भएको जानकारी दिनुभयो ।
–––

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

काठमाडौँ, २३ असोज : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गर्दै निजी क्षेत्र, विज्ञहरु र सरोकारवालासँग छलफल गरी अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने सुझाव आयोगबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले उक्त सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो । आयोगका अध्यक्ष रामेश्वर खनालले सबै पक्षसँग परामर्श गरी सरकार, मन्त्री, सरोकारवाला र जनताले अपेक्षा गरेअनुसारको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका पदाधिकारीहरुले अर्थतन्त्रको समस्या, चुनौती पहिल्याइ ‘पोलिसी डिपार्चर’ गर्ने किसिमको प्रतिवेदन तयार पार्ने बताउनुभएको छ ।

गत सोमबार सरकारले अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहनुभएको आयोग गठन गरेको थियो । आयोगको कार्यकाल छ महिनाको तोकिएको छ ।

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौँ, २३ असोज : नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ ।गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ ।

नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन । उहाँका अनुसार अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि मात्रै पनि झण्डै डेढ अर्ब खर्च लागेको थियो ।

“देशभर ६६ लाख घरपरिवार छन् । त्यसमा ५० प्रतिशत अर्थात् ३३ लाख परिवारलाई नयाँ नोट सटहीको पहुँच नभए पनि आधाका लागि विभिन्न दरका नोट छाप्न छ अर्बसम्म खर्च हुन्छ ।”

यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी हाल चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको उक्त नीतिअनुरुप यस वर्षको दसैँतिहार लगायतका चाडबाडमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुनेछ ।

नयाँ नोट दसैँतिहारजस्ता पर्वमा मात्र अत्याधिक माग हुने तथा त्यसपछि बैकका ढुकुटीमा थुप्रिएर बस्ने भएकाले त्यस्ता जम्मा भएका नोटको सदुपयोग गर्ने र नोट छपाईका लागि लाग्ने फजूल गर्न राक्ने राष्ट्र बैँकले सुकिला नोटको प्रयोगलाई प्रोत्साहन गरेको हो ।

प्रत्येक वर्ष चाडबाडमा नयाँ नोट छापिने तथा घुमिफिरी ती नोट बैंकको ढुकुटीमा थुप्रिने क्रम बढेपछि बैँकले यस वर्ष चल्ने हदसम्म त्यस्ता नोटको सदुपयोग गर्ने निर्णयमा पुगेको निर्देशक भट्टराईको भनाइ थियो ।

पुराना नोट थिचिएर तथा ओसिएर स्वतः नष्ट हुँदै जाने भएकाले प्रयोग गर्न सकिने हदसम्म चलन चल्तीकै नोट उपयोग गर्न सकियोस् भनी यसपटक नयाँ नोट नछापिएको उहाँको भनाइ छ ।

राष्ट्र बैंकले चलनचल्तीकै नोट प्रयोगमा जोड दिएपछि सटहीमा हुने चाप कम हुनुका साथै नयाँ नोटका नाममा हुन सक्ने फजूल खर्चसमेत केही हदसम्म रोकिने अनुमान छ ।

गत वर्ष छापिएको भन्दा तीन गुणासम्म बढी नोट हाल बजारमा र बैंक ढुकुटीमा मौज्दात रहेकाले पनि नयाँ नोट निकाल्न नपरेको उहाँको तर्क छ । उहाँले भन्नुभयो, “नयाँ होस् पुरानो जेभए पनि नोटको मूल्य र महत्त्व एउटै हुन्छ । नयाँ भनेर राज्यलाई अतिरिक्त आर्थिक भार थप्न हुँदैन ।”

सफा र सुकिला नोट प्रयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले आगामी वर्षमा अहिले चलन चल्तीमा रहेकाभन्दा अझ सुकिला नोटले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : मन्त्री पौडेल

काठमाडौँ, २३ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पु¥याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवयश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गर्नुभयो । “विपद्पछि पानीको स्रोतमा हुने प्रदूषण र फोहरका कारण पखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेङ्गु र जापानिज इन्सेफ्लाइटिसजस्ता सङ्क्रमणबाट पीडित हुन नपरोस् । हामीले सचेतना र आवश्यक शुद्धीकरण तथा सरसफाइका सामग्री विपद् प्रभावित क्षेत्रमा पठाएका छौँ,” उहाँले भन्नुभयो । सम्बन्धित ठाउँमा ती सामग्री पुगे नपुगेको बारे स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।”

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले कष्ट भोगिरहनुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले बाढी पहिरोका कारण सिर्जित सङ्कटको चुनौतीबाट पार पाइ नसकेको बताउनुभयो । “हामीले विपद्का समयमा घाइतेको निःशुल्क उपचारको प्रयत्न गर्यौं । तर अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौँ । नागरिकको स्वास्थ्यको रक्षा गर्न आवश्यक हरेक प्रयत्नमा हामी तपाईंको साथमा छौँ ।”

तीनै तहका सरकारको सहकार्यमा स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न सङ्घीय सरकारले गरिरहेको र कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म तथा सङ्क्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उहाँले अनुरोध गर्नुभएको छ । मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइबीच आम नागरिकको सेवामा तल्लीन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा रु ६० लाख हस्तान्तरण

काठमाडौँ, २३ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले रु ५० लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रु १० लाख हस्तान्तरण गर्नुभयो । 

कर्पाेरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पाेरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पाेरेसनले जनाएको छ ।   

रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै

राँझा (बाँके), २३ असोजः नेपालगञ्जमा ऐतिहासिक संस्कृतिका रुपमा रहेको रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा सञ्चालन भइरहेको रामलीला मञ्चनको १५७औँ संस्करण हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । भारतको वृन्दावनबाट आएका कलाकारले गर्ने रामलीला मञ्चन हेर्न नेपालगञ्जवासी र टाढाटाढाबाट हरेक दिन राति सयौँको सङ्ख्यामा भक्तजन आउने गरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले बताउनुभयो ।

“रामलीला मञ्चनप्रति स्थानीयको रुचि र आकर्षण बढ्दै गएको छ, प्रत्येक दिन बढ्दै गएको भक्तजनको भीडबाट हामी उत्साहित छाँै”, उहाँले भन्नुभयो, “रामलीला नेपालगञ्जको सांस्कृतिक पहिचान भइसकेकाले छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् ।”

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार आएका छन् । नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

नेपालगन्ज–२१ पुरैना नयाँबस्ती निवासी सिर्जना थापाले आफूहरु प्रत्येक वर्ष सपरिवार रामलीला हेर्न आउने गरेको बताउनुभयो । सांस्कृतिक परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ । 

उहाँका अनुसार १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको १५३ र १५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । विसं १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको समितिका सदस्य नन्दलाल वैश्यले बताउनुभयो । 

कैलालीका किसानलाई पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ

कैलाली, २३ असोज : कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरुलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छाँै ।” केही दिनदेखि बादल लागेर पानी पर्ने जस्तो मौसम देखिन थालेपछि लगानी र परिश्रम खेर जाने हो की भन्दै यहाँका अधिकांश किसानका मनमा एक किसिमको चिन्ता हुन थालेको छ ।

खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्राउनका लागि थ्रिसेरको पालो कुर्नुपरेको दुखेसो पोख्नुभयो । धान थ्रिसेर गर्नका लागि पालो पर्खदासमेत धान थ्रिसेर गर्ने किसानको चापका कारण मेसिन नपाएरै फर्कनु परेको उहाँले बताउनुभयो ।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्रयाउने गरेका किसानसमेत यतिबेला मौषमी गड्बडीका कारण आधुनिक उपकरण प्रयोग गरि धान भित्रयाउन लागि परेका छन् ।

किसानहरु पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्रयाउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन । नेपालीहरुको महान चाड बडादसैँ सुरु भइसकेको छ । दसैँको टीकाको दिन आउन तीन दिन मात्रै बाँकी छ । तैपनि यहाँका किसान मौषममा गडबडी देखिन थालेपछि दशैँलाई व्यवास्था गर्दे उनीहरु खेतमा पाकेको धानबाली भित्र्याउँन आ–आफ्ना खेतमा साना देखि ठूला घरपरिवारका सबै सदस्यहरु जुटेको पाइन्छन् । केही थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइसका छन । किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन् ।

पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’

तनहुँ, २३ असोज : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरुको महानपर्व बडादसँैं नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ ।

तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु झाँगाझोली आउन छुटाउँदैनन् । विशेष गरी साँझको समयमा पर्यटकको चहलपहल बढ्ने गरेको स्थानीय शङ्रप्रसाद अधिकारीले बताउनुभयो । रातिको समयमा यहाँबाट गौरादेवी उद्यानको अवलोकन गर्न पर्यटक लालायित हुने गरेका उहाँको भनाइ छ ।

पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटरको दूरीमा झाँगाझोली रहेको छ । अधिकारीसहित तीनजनाले पर्यटकको आगमनलाई ध्यानमा राख्दै यहाँ करिब १७ रोपनी क्षेत्रफलमा रु दुई करोडको लगानीमा रिसोर्ट सञ्चालन गर्नुभएको छ ।

दसैँ बिदा भएसँगै व्यवस्थित बाल उद्यानमा रमाउन यहाँ आउने बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ । राति १० बजेसम्म पर्यटक यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् । विशेष गरी जिल्लाको ऋषिङ, घिरिङ, भीमाद, म्याग्दे शुक्ला स्याङजा, पोखरा कोलाहल भएकाले शान्त वातावरणमा रमाउन आउने गरेका छन् । “अहिले दिनमा तीन सयसम्म पर्यटक घुम्न आउने गरेका छन्”, अधिकारीले भन्नुभयो ।

झाँगाझोलीमा अर्गाानिक तरकारीखेती समेत सुरु गरिएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती थालिएको रिसोर्ट सञ्चालक उज्वल पौडेलले बताउनुभयो । यस क्षेत्रलाई घुम्न लायक स्थलको रुपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो । एकीकृत नमूना कृषितर्फ च्याउ र मौरी जडीबुटीको खेती थालिएको छ । बिहानको समयमा यस स्थानबाट देखिने हरियाली जङ्गलको मनमोहक दृश्य र खोलाको कलकल आवाज र शान्त एकान्तस्थलले पर्यटकलाई आनन्द दिलाउने गरेको छ ।

सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्र गर्न रु एक करोड विनियोजन गरेपश्चात ठेक्का सम्झौता भइसकेको छ । त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्र गर्न रु ५० लाख विनियोजन गरेको छ । सडक कालोपत्र गरिए यस क्षेत्रमा पर्यटकको आगमन अझै बढ्ने स्थानीयवासी बताउँछन् ।

बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ, २३ असोजः नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।

इतिहासकार दिनेशराज पन्तले फूलपाती भित्र्याउने चलन मुख्यगरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताउनुभयो । “खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ”, उहाँले भन्नुभयो ।

फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्ल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ ।

विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौँमा विजय गरेपछि काठमाडौँलाई राजधानी तोकियो । काठमाडौँबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए । गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ ।

गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौँ ल्याइने प्रचलन रहे तापनि दूरी, भौगोलिक कठिनाइलगायत विभिन्न समस्याका कारण २०औँ शताब्दीको मध्यतिरबाट काठमाडौँ लैजान रोकियो । विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरुवालाई काठमाडौँबाट करिब ३० किमी पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो ।

विसं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा विसं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडीमार्फत हनुमानढोका ल्याउन थालियो ।

गोरखादेखि धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित हनुमान ढोका दरबार हेरचाह अड्डाबाट मगर जातिका छ र शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) बाट दुई मगर पुजारी सहभागी भई ल्याउने प्रचलन छ । जीवनपुरदेखि काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ । शार्दूल जङ्ग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ ।

उक्त फूलपाती भित्र्याउने कार्यमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा सिङ्गारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई हनुमान ढोकास्थित नासाल चोकमा विधिपूर्वक दसैँ घरमा फूलपाती भित्र्याइन्छ ।

सेनाको सहभागितामा टुँडिखेलमा फूलपाती बढाइँ
 सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ । फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गरेको पाइन्छ ।

राज्यकालीन अवस्थादेखि मगर पुजारी, बाजागाजासहित शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) तथा नेपाली सेनाका अन्य युनिट सबयुनिट प्रत्यक्ष रूपमा सहभागी भई ऐतिहासिक फूलपाती भित्र्याउने कार्यले राष्ट्रिय पर्व संवद्र्धन र प्रवद्र्धनमा ठूलो भूमिका देखिँदै आएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी बताउनुहुन्छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ सकिएलगत्तै अत्यावश्यक बाहेकका जनशक्तिलाई दसैँको छुट्टी दिने परम्परा छ ।

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी), २३ असोजः सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गर्नुभएको थियो । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो“ आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए ।

दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ । ” उहाँले भारतको मदरासबाट मदरासी(चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाउनुभएको थियो ।

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उहाँले बताउनुभयो । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

बाढीले रु ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् । यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पु¥याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हँुदैआएको छ ।

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

काठमाडौँ, २३ असोजः अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।

अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ । नागढुङ्गा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरुले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ भित्रिँदा र बाहिँरिदा नागढुङ्गाको जाम छल्न सीतापाइला–धार्के सडक एउटा सशक्त विकल्प तयार हुने यातायात व्यवसायी बताउँछन् । अहिले उक्त सडकको प्रयोग गरेर कति सवारी साधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तत्थ्याङ्क नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ । नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौँतर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ । धार्के–सीतापाइला सडक कुल २४ किलोमिटरको भएको र सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो सडक २४ किमीको छ, सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ, यसको स्तरोन्नतिसहित चाँडै कालोपत्र गर्न सके नागढुङ्गा–नौबिसे सडकको जाम कम हुनेछ ।” नागढुङ्गा–नौबिसेको जाम छल्ने यो वैकल्किप सडक भएको स्थानीयवासी बताउँछन् । यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुङ्गासम्म हुने सवारी साधनको जाम कम हुने सहसचिव ढकालको भनाइ छ । यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कुवेत सरकारले तयार पारेको थियो । झन्डै रु १५ करोड खर्चिएर डिपिआर तयार गरिएको बताइएको छ ।

बुद्धसिंह मार्गको नाल्दीघाटको पहिरा अझै हटेन

दमौली (तनहुँ), २३ असोजः तनहुँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाटको पहिरो पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । यही असोज ११ र १२ गतेको वर्षापछि आएको पहिराले बुद्धसिंह मार्गका दर्जनाँै ठाउँमा सडक अवरुद्ध भएको थियो ।

अधिकांश ठाउँका पहिरा पन्छ्याइए पनि बन्दीपुर गाउँपालिकास्थित नाल्दीघाटको पहिरो पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपेका हुन् । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्युघर लगायतका स्थानमा सडक अवरोध भएको थियो ।

तीमध्ये नाल्दीको बाहेक अन्य पहिरो हटाइएको बुद्धसिंह मार्ग सरोकार समिति संयोजक सिद्धान्त थापा मगरले जानकारी दिनुभयो । नाल्दीको पहिरा हटाउन पटक–पटक माग गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । पूर्वाधार विकास कार्यालयले चेन डोजर नभएको हुँदा पहिरो हटाउन नसकिएको जवाफ दिएको उहाँले उल्लेख गर्नुभयो । 

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरा पन्छ्याई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीदेखि सँुढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

दमौलीदेखि सुँढेसम्म करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । 

मूल्य अभिवृद्धि करसहित रु ३४ करोड २७ लाख ५४ हजार ५६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । 

चितवनको घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डो¥याएर मुग्लिङ–नारायणगढ सडकसम्म ल्याउन सकिने जनाइएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे आँबुखैरेनी मुग्लिन हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ ।

एक बोतल पानी सय रुपियाँमा बेच्दा ….

कास्की, २३ असोजः तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो । सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

भोजपुुर, २३ असोजः कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो ।

आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताउनुभयो । “गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ”, राज्यमन्त्री राईले भन्नुभयो, “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”

नवरात्र सुरु भएसँगै छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

राजविराज (सप्तरी), २३ असोज : नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ ।

नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताउनुभयो । भारतबाट पनि धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् । घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन् ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २२ युवकको मृत्यु

रामपुर (पाल्पा), २३ असोज : पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताउनुभयो ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बेल्बासेले बताउनुभयो ।

मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रामपुर–१ हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन् । निजको सोही कलेजमा उपचार भइरहेको छ ।

काठमाडौँ उपत्यकाबाट दसैँ मनाउन दैनिक एक लाख बाहिरिँदै

काठमाडौँ, २३ असोजः काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।

नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो ।हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाँैडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु, २३ असोजः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।

हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उहाँले बताउनुभयो । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो । यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताउनुभयो ।

पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।”

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो ।

२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताउनुभयो ।

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

महेन्द्रनगर (धनुषा), २३ असोजः हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो ।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ ।

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु आठ करोड निकासा गरेको छ ।

महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

जलेश्वर (महोत्तरी), २३ असोजः यहाँ सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताउनुभयो ।

परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष आज बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताउनुभयो । बडादसैँको सप्तमीदेखि विजयादशमीका दिनसम्म चल्ने मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

भूतप्रेतले सताइएका हजारौँ पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले स्वस्थ हुने जनविश्वास रहेको अर्का पुजारी झगरु झा बताउनुहुन्छ ।

वर्षौँदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकैको कसबाट सताइएको हो भन्नेबारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदैहाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन र दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी रमेश झाले बताउनुभयो ।

विजयादशमीका दिनसम्म चल्ने मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत मुलुकका हेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटनासम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा माताका पुजारी घनश्यामले थप्नुभयो ।

घरघरमा भूतप्रेतबाट दुःख र पीडित भएका कारनी (पीडित)हरु आ–आफ्ना घरबाट रुँदै–कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको झाँक्री बताउँछन् । सोनामाई शक्तिपीठमा दर्जनौँ धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने २४सैँ घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरूको पीडा हरण गर्ने गरेको पुजारी रमेशले बताउनुभयो ।

माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत नलाग्ने विश्वास यहाँका जनताको छ । यस वर्ष मेलामा सहभागी हुन चाहने भक्तजनका लागि औरही नगरपालिकाले रात्रिबासका साथै भोजन र सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको जनाएको छ ।

पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो

काभ्रेपलाञ्चोक, २३ असोजः नवरात्रका अवसरमा पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन् ।

विसं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ । बुच्चाकोटमा रहेको पलाञ्चोक भगवतीले एक स्थानीय एक वृद्धलाई सपनामा आफ्नो मूर्ति उक्त स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको जनश्रुति छ । त्यसअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हाल मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र अर्को दिन बिहान उठाएर लैजाने प्रयास गर्दा उठाउन नसकेपछि स्थानीय ६० घरका मानिसले पनि उठाउन नसकेपछि सोही स्थानमा देवीको उक्त मूर्ति राखेर पूजा हुन थालेको हो ।

पलाञ्चोक भगवतीथानमा १९९० सालको भूकम्पमा खासै क्षति नभएको स्थनीय ज्येष्ठ नागरिकहरू बताउनुहुनछ । देवीको मूर्तिको शिर थोरै पश्चिमतिर ढल्किएको छ । विसं २०७२ को भूकम्पले पनि मन्दिरमा सामान्य क्षति भएको थियो । पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वासमा देशका विभिन्न स्थानका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् ।

सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव

किमाथाङ्का (सङ्खुवासभा), २३ असोजः जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ ।वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गर्नुभयो ।

डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताउनुभयो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् । चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा रोक लगाइएको हो । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ ।

महाआरती सुरु भएपछि बढे मौलाकालिका आउने भक्तजन

नवलपुर (नवलपरासी)- गत साउनबाट सुरु गरिएको सन्ध्याकालीन महाआरतीले मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा प्रत्येक मङ्गलबार साँझ हुने आरती हेर्न नवलपुर, चितवन र तनहुँलगायतका स्थानबाट आउने भक्तजनको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका कार्यवाहक अध्यक्ष खगराज कँडेलले जानकारी दिनुभयो ।

“नेपालका विभिन्न जिल्लासहित भारतबाट  समेत यहाँ आउने भक्तजनको सङ्ख्या वृद्धि भएको छ”, उहाँले भन्नुभयो । सुरुआतमा साउनमा सोमबार गरिएको महाआरती भदौबाट हरेक हप्ताको मङ्गलबार आयोजना हुँदै आएको थियो । 

“मन्दिरमा ६० जनासम्मलाई बास बस्न र खानका लागि धर्मशाला निर्माण गरिएको छ । मङ्गलबार बास फोन गरेरै भक्तजनहरु आउनुहुन्छ”, उहाँले भन्नुभयो, “धर्मशालामा बस्न र खान शुल्क लाग्दैन ।” उहाँले केही दिन पहिलो बाढीपहिरोका कारण भने यहाँ आउने भक्तजनको सङ्ख्या कम भएको बताउनुभयो ।

भारतको कर्णाटक राज्यको बैङ्ग्लोरबाट यहाँ आउनुभएका राजेश गोयलले यहाँको महाआरती निकै राम्रो रहेको प्रतिक्रिया दिनुभयो । आफूहरु पाँच जनाको समूहमा नेपालका धार्मिक क्षेत्र भ्रमणका लागि आएको उल्लेख गर्दै उहाँहरु मौलाकालिकाको महिमा सुनेर प्रत्यक्ष अवलोकनका लागि आएको बताउनुभयो । 

“यहाँबाट देखिने प्राकृतिक दृश्य, हावापानी र आस्थाका कारण यो ठाउँ राम्रो लाग्यो”, गोयलले भन्नुभयो, “हामी यहाँबाट देवघाट, पशुपतिनाथसहितका धार्मिक क्षेत्र घुम्नका लागि जानेछौँ ।” 

मौलाकालिका मन्दिरमा हुने सन्ध्या आरतीलाई लक्षित गर्दै मौलाकाली केबलकारले मङ्गलबार साँझ ५ बजेपछि टिकटमा ५० प्रतिशत छुट दिएको छ । मौलाकालिका केबलकार प्रालिका प्रबन्धक सुरज पौडेलका अनुसार मन्दिरसँग सहकार्य गरेर सन्ध्या आरती अवलोकनलाई लक्षित गर्दै भक्तजन बढाउने उद्देश्यले टिकटमा छुट दिइएको हो । 

हाल केबलकारको दुईतर्फी साधारण टिकट मूल्य रु पाँच सय ५० रहेकोमा मङ्गलबार साँझ यात्रुले रु दुई सय ७५ मै दुईतर्फी यात्रा गर्न पाउने पौडेलले बताउनुभयो । “यो छुट सुविधाले आमसर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा यात्रा गर्ने अवसर मिलेको छ”, पौडेलले भन्नुभयो, “साथै दर्शनार्थीलाई सन्ध्या आरतीसँगै मन्दिरबाट देखिने सन्ध्याकालीन दृश्यावलोकन गर्न पनि मन्दिर जान प्रेरित गर्नेछ ।” 

घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न निर्देशन दिनुभएको छ । मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको पानी वितरण सुरु गर्दै मन्त्री यादवले मेलम्चीको पानी वितरणको अनुगमन एवं जाँच गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामीले ठूलो चुनौती पार गरेर काठमाडौँबासीका लागि पानी ल्याएका छौँ, पानी वितरणमा प्राविधिक समस्या भए मलगायत मन्त्रालयका कर्मचारीलाई जानकारी दिनुहोला ।”

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)को जिम्मेवारी जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा उपभोक्ताको घरमा पुग्नुपर्नेमा मन्त्री यादवले जोड दिनुभयो । 

अर्को वर्षात नआएसम्मका लागि काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खान पाउनेमा विश्वास व्यक्त गर्दै उहाँले प्रत्येक दुई दिनमा पानी वितरण गरिने भए पनि हाललाई प्रत्येक एक दिनमा पानी वितरण गरिने बताउनुभयो । 

मन्त्री यादवले मेलम्चीका सङ्घर्ष समितिका जायज माग दसैँ लगत्तै सम्बोधन गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घर्ष समितिले हाललाई आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । उहाँहरुका माग दसैँपछि सम्बोधन गरिनेछ ।”


खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आजदेखि मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएसँगै अहिले बितरण सुरु गरिएको हो । 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इञ्जिनियर रत्न लामिछानेले बताउनुभयो ।

दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रुपमा मनाइँदै

पाटन (ललितपुर- दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रुपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ ।

स्थानीय नरोत्तम श्रेष्ठका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिनदेखि हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री सङ्कलन गर्छन् । 

“हरेक दिन खोलामा नुहाएर आएर उखुको लौरो टेक्दै गाउँ परिक्रमा गरेर पूजा सकाउनुपर्छ, त्यस समयमा उनीहरु राति थकालीको घरमा सुत्छन्”, उहाँले भन्नुभयो, “उनीहरुले छालाको समान तथा पहिरन प्रयोग गर्दैनन्, लसुन प्याजसमेत खाँदैनन्, रुद्रायणि मन्दिरको मूल पुजारीलाई थकाली भन्छन्, त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने चलन छ ।”

यसरी घटस्थापनाको दिनदेखि दुई दिनसम्म सङ्कलन गरेको पूजा सामग्रीले आश्विन शुक्ल तृतीयाका दिन पूजा गरिसकेपछि रुद्रायणि विद्यालय नजिकै चौरमा रहेको सिकालीको मूर्तिमा राँगाको आलो रगत चढाइन्छ । यसका लागि खोकनामा रहेका तीन वटा जात्रा चलाउने तीन वटा गुठीहरुले एकएक वटा राँगो दिन्छन् । यसरी दिएका राँगाको बली दिइ आलो रगत सिकाली मन्दिरमा चढाउन लगिन्छ । शुक्ल तृतीयाका दिन गरिने नित्य पूजा कसैले पनि हेर्न नमिल्ने बताउनुहुन्छ श्रेष्ठ । “पूजा अवधिमा चराचुरुङ्गी वा मानिस केहीले देख्यो भने असफल हुन्छ भन्ने किम्बदन्ती छ । त्यसैले हेर्न दिँदैनन्”, उहाँले भन्नुभयो ।

यो ललितपुर महानगरपालिका–२१ मा पर्ने खोकनामा मनाइने सबैभन्दा ठूलो जात्रा हो । स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई  तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा आज बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएको विश्वास गरिन्छ ।

महानगर वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मआज रुद्रायणि स्कुलअघि राँगाको बली दिएर कुमार केटाहरूले सिकाली मन्दिर रहेको सिकाली चौरमा पूजा सामग्री लिएर गएका हुन् । भोलि सामूहिक भोजसँगै जात्रा सम्पन्न हुन्छ । 

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २३ असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विश्व हुलाक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता भएको समेत बताउनुभयो ।

“सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ”, मन्त्री गुुरुङले सन्देशमा भन्नुभएको छ ।
उहाँले आन्तरिक हुलाक सेवामा समेत विविधिकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री गुरुङले निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायतका मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपाल हुलाकले छिटो छरितो ढङ्गबाट चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिनुभएको हो ।

उहाँले चालु आर्थिक वर्षबाट नेपाल हुलाकको संरचनागत रूपान्तरण गरी एक स्थानीय तह एक हुलाक कार्यालयको अवधारणा बमोजिम नै हुलाक कार्यालयको पुनसंरचनाको कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “विश्वव्यापी रूपमा हुलाक सेवाका सेवाग्राहीलाई गुणस्तरीय हुलाक सेवा प्रदान गर्ने विषयमा विश्व हुलाक सङ्घसँग सहकार्य गर्न नेपाल हुलाक सदैव प्रतिबद्ध छ ।”

विश्वकै दोस्रो पुरानो अन्तर्राष्ट्रिय संस्थाको रूपमा सन् १८७४ अक्टोवर ९ मा स्थापित विश्व हुलाक सङ्घको स्थापना भएको थियो । हरेक वर्ष अक्टोबार ९ तारिखमा विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घकोे विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाका एक सय ५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने एक सय ५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

विसं १९३५ मा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरू भएको थियो । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ ।

दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिक प्रदर्शनी सञ्चालन गरिएको छ । यस्तै विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम छ । दिवसको पूर्वसन्ध्यामा विभागले मङ्गलबार नै कार्यालय परिसर सरसफाइको कार्यक्रम समेत सम्पन्न गरेको थियो ।