`

महाआरती सुरु भएपछि बढे मौलाकालिका आउने भक्तजन

नवलपुर (नवलपरासी)- गत साउनबाट सुरु गरिएको सन्ध्याकालीन महाआरतीले मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा प्रत्येक मङ्गलबार साँझ हुने आरती हेर्न नवलपुर, चितवन र तनहुँलगायतका स्थानबाट आउने भक्तजनको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका कार्यवाहक अध्यक्ष खगराज कँडेलले जानकारी दिनुभयो ।

“नेपालका विभिन्न जिल्लासहित भारतबाट  समेत यहाँ आउने भक्तजनको सङ्ख्या वृद्धि भएको छ”, उहाँले भन्नुभयो । सुरुआतमा साउनमा सोमबार गरिएको महाआरती भदौबाट हरेक हप्ताको मङ्गलबार आयोजना हुँदै आएको थियो । 

“मन्दिरमा ६० जनासम्मलाई बास बस्न र खानका लागि धर्मशाला निर्माण गरिएको छ । मङ्गलबार बास फोन गरेरै भक्तजनहरु आउनुहुन्छ”, उहाँले भन्नुभयो, “धर्मशालामा बस्न र खान शुल्क लाग्दैन ।” उहाँले केही दिन पहिलो बाढीपहिरोका कारण भने यहाँ आउने भक्तजनको सङ्ख्या कम भएको बताउनुभयो ।

भारतको कर्णाटक राज्यको बैङ्ग्लोरबाट यहाँ आउनुभएका राजेश गोयलले यहाँको महाआरती निकै राम्रो रहेको प्रतिक्रिया दिनुभयो । आफूहरु पाँच जनाको समूहमा नेपालका धार्मिक क्षेत्र भ्रमणका लागि आएको उल्लेख गर्दै उहाँहरु मौलाकालिकाको महिमा सुनेर प्रत्यक्ष अवलोकनका लागि आएको बताउनुभयो । 

“यहाँबाट देखिने प्राकृतिक दृश्य, हावापानी र आस्थाका कारण यो ठाउँ राम्रो लाग्यो”, गोयलले भन्नुभयो, “हामी यहाँबाट देवघाट, पशुपतिनाथसहितका धार्मिक क्षेत्र घुम्नका लागि जानेछौँ ।” 

मौलाकालिका मन्दिरमा हुने सन्ध्या आरतीलाई लक्षित गर्दै मौलाकाली केबलकारले मङ्गलबार साँझ ५ बजेपछि टिकटमा ५० प्रतिशत छुट दिएको छ । मौलाकालिका केबलकार प्रालिका प्रबन्धक सुरज पौडेलका अनुसार मन्दिरसँग सहकार्य गरेर सन्ध्या आरती अवलोकनलाई लक्षित गर्दै भक्तजन बढाउने उद्देश्यले टिकटमा छुट दिइएको हो । 

हाल केबलकारको दुईतर्फी साधारण टिकट मूल्य रु पाँच सय ५० रहेकोमा मङ्गलबार साँझ यात्रुले रु दुई सय ७५ मै दुईतर्फी यात्रा गर्न पाउने पौडेलले बताउनुभयो । “यो छुट सुविधाले आमसर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा यात्रा गर्ने अवसर मिलेको छ”, पौडेलले भन्नुभयो, “साथै दर्शनार्थीलाई सन्ध्या आरतीसँगै मन्दिरबाट देखिने सन्ध्याकालीन दृश्यावलोकन गर्न पनि मन्दिर जान प्रेरित गर्नेछ ।” 

घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न निर्देशन दिनुभएको छ । मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको पानी वितरण सुरु गर्दै मन्त्री यादवले मेलम्चीको पानी वितरणको अनुगमन एवं जाँच गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामीले ठूलो चुनौती पार गरेर काठमाडौँबासीका लागि पानी ल्याएका छौँ, पानी वितरणमा प्राविधिक समस्या भए मलगायत मन्त्रालयका कर्मचारीलाई जानकारी दिनुहोला ।”

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)को जिम्मेवारी जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा उपभोक्ताको घरमा पुग्नुपर्नेमा मन्त्री यादवले जोड दिनुभयो । 

अर्को वर्षात नआएसम्मका लागि काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खान पाउनेमा विश्वास व्यक्त गर्दै उहाँले प्रत्येक दुई दिनमा पानी वितरण गरिने भए पनि हाललाई प्रत्येक एक दिनमा पानी वितरण गरिने बताउनुभयो । 

मन्त्री यादवले मेलम्चीका सङ्घर्ष समितिका जायज माग दसैँ लगत्तै सम्बोधन गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घर्ष समितिले हाललाई आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । उहाँहरुका माग दसैँपछि सम्बोधन गरिनेछ ।”


खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आजदेखि मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएसँगै अहिले बितरण सुरु गरिएको हो । 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इञ्जिनियर रत्न लामिछानेले बताउनुभयो ।

दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रुपमा मनाइँदै

पाटन (ललितपुर- दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रुपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ ।

स्थानीय नरोत्तम श्रेष्ठका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिनदेखि हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री सङ्कलन गर्छन् । 

“हरेक दिन खोलामा नुहाएर आएर उखुको लौरो टेक्दै गाउँ परिक्रमा गरेर पूजा सकाउनुपर्छ, त्यस समयमा उनीहरु राति थकालीको घरमा सुत्छन्”, उहाँले भन्नुभयो, “उनीहरुले छालाको समान तथा पहिरन प्रयोग गर्दैनन्, लसुन प्याजसमेत खाँदैनन्, रुद्रायणि मन्दिरको मूल पुजारीलाई थकाली भन्छन्, त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने चलन छ ।”

यसरी घटस्थापनाको दिनदेखि दुई दिनसम्म सङ्कलन गरेको पूजा सामग्रीले आश्विन शुक्ल तृतीयाका दिन पूजा गरिसकेपछि रुद्रायणि विद्यालय नजिकै चौरमा रहेको सिकालीको मूर्तिमा राँगाको आलो रगत चढाइन्छ । यसका लागि खोकनामा रहेका तीन वटा जात्रा चलाउने तीन वटा गुठीहरुले एकएक वटा राँगो दिन्छन् । यसरी दिएका राँगाको बली दिइ आलो रगत सिकाली मन्दिरमा चढाउन लगिन्छ । शुक्ल तृतीयाका दिन गरिने नित्य पूजा कसैले पनि हेर्न नमिल्ने बताउनुहुन्छ श्रेष्ठ । “पूजा अवधिमा चराचुरुङ्गी वा मानिस केहीले देख्यो भने असफल हुन्छ भन्ने किम्बदन्ती छ । त्यसैले हेर्न दिँदैनन्”, उहाँले भन्नुभयो ।

यो ललितपुर महानगरपालिका–२१ मा पर्ने खोकनामा मनाइने सबैभन्दा ठूलो जात्रा हो । स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई  तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा आज बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएको विश्वास गरिन्छ ।

महानगर वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मआज रुद्रायणि स्कुलअघि राँगाको बली दिएर कुमार केटाहरूले सिकाली मन्दिर रहेको सिकाली चौरमा पूजा सामग्री लिएर गएका हुन् । भोलि सामूहिक भोजसँगै जात्रा सम्पन्न हुन्छ । 

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २३ असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विश्व हुलाक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता भएको समेत बताउनुभयो ।

“सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ”, मन्त्री गुुरुङले सन्देशमा भन्नुभएको छ ।
उहाँले आन्तरिक हुलाक सेवामा समेत विविधिकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री गुरुङले निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायतका मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपाल हुलाकले छिटो छरितो ढङ्गबाट चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिनुभएको हो ।

उहाँले चालु आर्थिक वर्षबाट नेपाल हुलाकको संरचनागत रूपान्तरण गरी एक स्थानीय तह एक हुलाक कार्यालयको अवधारणा बमोजिम नै हुलाक कार्यालयको पुनसंरचनाको कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “विश्वव्यापी रूपमा हुलाक सेवाका सेवाग्राहीलाई गुणस्तरीय हुलाक सेवा प्रदान गर्ने विषयमा विश्व हुलाक सङ्घसँग सहकार्य गर्न नेपाल हुलाक सदैव प्रतिबद्ध छ ।”

विश्वकै दोस्रो पुरानो अन्तर्राष्ट्रिय संस्थाको रूपमा सन् १८७४ अक्टोवर ९ मा स्थापित विश्व हुलाक सङ्घको स्थापना भएको थियो । हरेक वर्ष अक्टोबार ९ तारिखमा विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घकोे विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाका एक सय ५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने एक सय ५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

विसं १९३५ मा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरू भएको थियो । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ ।

दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिक प्रदर्शनी सञ्चालन गरिएको छ । यस्तै विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम छ । दिवसको पूर्वसन्ध्यामा विभागले मङ्गलबार नै कार्यालय परिसर सरसफाइको कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

मनसुन क्रमशः कमजोर हुँदै

काठमाडौँ, २३ असोज : जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही र मधेस प्रदेशलगायत बाँकी प्रदेशका केही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

म्याग्दी, २३ असोज : उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो ।

“मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उहाँ जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ । 

तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । 

पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । 

चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि सङ्ख्यामा वृद्धी भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताउनुभयो । “बर्खा रोकिएपछि  मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउने पनि बढेका छन्”, उहाँले भन्नुभयो “याममा दैनिक दुईदेखि तीन सय जनासम्मले स्नान गर्छन् ।” 

बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु ५० र विदेशीलाई रु एक सय ५० शूल्क तोकिएको छ । 

कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ रु ५६ लाख २५ हजार तीन सय ७७ मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा रु ५५ लाख नौ सयमा ठेक्का लगाएको थियो । 

भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ । सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष रु २८ लाख ७६ हजार पाँच सय पाँचमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ । भुरुङ्ग–तातोपानीदेखि पाउद्धार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुङ्गे पुल निर्माण भएको छ । 

उनीहरुले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ । 

कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ ।

कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । होटलमा एक दिनमा पाँच सयभन्दा बढी बास बस्न सक्ने क्षमता छ । 

यसअघि कुण्डको कुनातर्फबाट खोलिएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्साङ्कन परिवर्तन गर्न स्थानीयबासी, जनप्रतिनिधि र सरोकारवालाहरुले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरी कुण्डभन्दा तलपट्टीबाट सडकको नयाँ नक्साङ्कन गरिएको छ ।  

डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म सातको मृत्यु

गण्डकी, २३ असोज : डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो ।

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो । अधिकृत शर्माले गत जुलाईयता डेङ्गुको सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो । जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४, बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने सुझाव दिइएको छ ।

डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

काठमाडौँ, २३ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ ।

मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ छ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।   वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

मन्थली (रामेछाप) २३ असोजः रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले  जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिनुभयो ।  
कूल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

काठमाडौँ, २३ असोजः यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बिपी राजमार्गको चारसयवेसी खण्ड पूर्णरुपमा अवरुद्ध छ ।

सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रविसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोदावरीको लेले–टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ ।

रोशीस्थित बिपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ । उक्त विपद्मा परेर अहिलेसम्म दुई सय ४६ जनाको मृत्यु भइसकेको छ । अझै १८ जना जना बेपत्ता छन् ।

आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २३ असोज : आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । 

दुवै दिन सूर्योदय कालमा चौँथी तिथि परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने शास्त्रीय नियम भएकाले त्यसैअनुसार गरिएको हो । आश्विन शुक्ल षष्ठीका दिन मङ्गलबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । 

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

   दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।  काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, दक्षिणकाली, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

राजधानीका अधिकांश शक्तिपीठमा दिनभर नै भक्तजनको घुइँचो हुने गरेको छ । बेलुकी आरतीदेखि नै शक्तिपीठमा दीपावली गरिएकाले दर्शनका लागि बेलुकी मनिदर धाउने भक्तजन पनि बढ्न थालेका छन् ।

चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

गण्डकी, २२ असोजः पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ ।
होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको जानकारी दिनुभयो । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई उहाँले अनुरोध गर्नुभयो ।

भ्रमण र पदयात्राका लागि पोखरा र सिङ्गो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो । “पर्यटन क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीहरूको सामाना गर्दै यस क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सङ्घको सत्प्रयास निरन्तर अगाडि बढिरहेको छ । यस छुट अभियानले आन्तरिक पर्यटनकहरूलाई आकर्षित गरी सो प्रयासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो । 

सङ्घका महासचिव राजेन्द्र ढकालले भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, हवाई दुर्घटनालगायत कारणले सिथिल भएको पर्यटन क्षेत्र हालैको वर्षापछिको बाढीपहिरो तथा डुबानले थप प्रभावित भएको धारणा राख्नुभयो । उहाँले केही दिनअघिको विपत्तिका कारण परेको असर हाल सामान्य बन्दै गएकामा ३० प्रतिशतसम्म छुटको कार्यान्वयनले त्यसलाई थप सहज बनाउँदै लग्ने अपेक्षा व्यक्त गर्नुभयो । 

सङ्घका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नति काम पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गको अवस्थासमेत सुरक्षित नै रहेकाले पोखरा भ्रमणक लागि सबैलाई आह्वान गर्नुभयो ।

पोखरामा रहेका होटेल क्षेत्रले १५ हजार जनाभन्दा बढीलाई रोजगारी दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दसैँमा मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बिक्री

म्याग्दी, २२ असोज : यसपालीको दसैँ पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङ्ग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख पशु चिकित्सक लालमणी अर्यालले उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपाली भेडाच्याङ्ग्राको बिक्री बढेको बताउनुभयो । “घटस्थापनाको दिनदेखि शुरु भएको स्वास्थ्य परीक्षण गरेर च्याङ्ग्रा बजार पठाउने काम मङ्गलबार सकिएको छ,” उहाँले भन्नुभयो, “कृषकले तौलअनुसार प्रतिगोटा रु २८ हजारदेखि ३७ हजारका दरले च्याङ्ग्रा बिक्री गरेका छन् ।”

सरदर मूल्यअनुसार मुस्ताङ, डोल्पा र मुगुका कृषकले रु २६ करोड ४० लाख मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री गरेका केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । पाँच सय भेडा (च्यालु) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत सहरमा मुस्ताङी भेडाच्याङ्ग्रा बिक्री भइरहेका छन् ।

जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिने भएकाले दसैँतिहारमा हिमाली च्याङ्ग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुनेगर्छ ।

यसपाली गत वर्षको तुलनामा मूल्य सस्तीएकाले च्याङ्ग्राको बिक्री बढेको व्यापारी टसी छेवाङ गुरुङले बताउनुभयो । “गत वर्ष खोरमै प्रतिगोटा रु ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका थियौँ, यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेर ल्याएका छौँ,” उहाँले भन्नुभयो “ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटेको हो ।”

गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा रु ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली रु ४५ हजारभन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।

मुुस्ताङको बारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताउनुभयो ।
विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु भएको छ ।

महानगरपालिका, कार्यपालिकाको आजको बैठकमा पशुपति गौशाला धर्मशाला सञ्चालन कार्यविधिको मस्यौदाका बारेमा छलफल सुरु भएको प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे भनी पत्राचार गरेपछि मंगलबार कार्यपालिका बैठक बसी कार्यविधिको मस्यौदाका बारेमा छलफल सुरु गरेको उनले बताए ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आइतबार मन्त्रालयमा बसेको बैठकले पशुपति गौशाला धर्मशाला महानगरपालिकालाई सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ । निर्णय लगत्तै कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई पत्राचार गरेपछि कार्यविधि निर्माण गर्न लागिएको हो ।

महानगरपालिकाले दसैँपछि नै गौशाला धर्मशाला सञ्चालन गर्ने तयारी गरेको छ । महानगरपालिकाको संस्कृति, पर्यटन एवं सम्पदा समितिको प्रमुखसमेत रहेका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतको संयोजकत्वमा पशुपति गौशाला धर्मशाला सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको थियो । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको थियो ।

कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनःबहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिले दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको बताए । यससँगै कोष र समितिबीच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय सदर भएको छ ।

अब मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं ८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा कोषमै फिर्ता भएको सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

अदालतको फैसलाले पशुपतिनाथको सम्पत्ति फिर्ता भएकामा उनले खुसी व्यक्त गरे । “वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि भगवान् श्री पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला प्रयोग भएको थियो । हाम्रो लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको पशुपतिनाथको सम्पत्ति फिर्ता भएको छ । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिने छ,” सदस्य सचिव थापाले भने ।

सम्झौतापत्रमा के थियो ?

श्रीपशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक कार्यको प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो । सम्झौतापत्रमा सेवा समितिले वार्षिक ५१ हजार तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र श्रीपशुपतिनाथमा पर्वपर्वमा छाडिएका साँढेलाई परम्पराअनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख छ ।

मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको छ । समितिले व्यावसायिक प्रयोजनकै लागि दुध उत्पादन गर्न जर्सी गाई पालेर दुध बेच्ने गरेको छ । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटै सटर मासिक ३५ हजारसम्म लिएर भाडामा लगाएको छ ।

सम्झौतापत्रमा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिकातर्फबाट महासचिव शिव भगवान् अग्रवालले हस्ताक्षर गरेको कोषले जनाएको छ ।

कोषका सदस्य सचिव वसन्त चौधरीको पालामा यो सम्झौता भएको थियो । स्वार्थ बाझिने गरी सम्झौता गराएका चौधरीले आफूनिकट मारवाडी सेवा समितिलाई भगवान् पशुपतिनाथको सम्पत्ति कौडीको भाउमै सुम्पिएकामा स्थानीयवासीले पनि बिरोध गर्दै आएका थिए ।

सम्झौताअनुसार समितिले अहिले पनि वार्षिक ५१ हजार कोषलाई बुझाउँदै आएको छ । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर, सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको थियो ।

पशुपति गौशाला धर्मशाला पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीका लागि र नन्दीको व्यवस्थापन गर्नका लागि सञ्चालन गरिएको बताउँदै सदस्य सचिव थापाले अदालतको फैसलापछि धर्मशाला व्यवस्थितरूपमा सञ्चालन हुने जानकारी गराए । यसैअनुसार महानगरपालिकालाई सञ्चालन गर्न दिने निर्णय परिषद्बाट गरिएको उनले बताए ।

गायीका रेखा जोशी र सुनारको स्वरमा ‘आँसुभेल’

काठमाडौँ, २२ असोज : चर्चित गायीका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा सर्जक पुष्पजङ्ग कुँवरले ‘आसुँको भेल’ देउडा गीत बजारमा ल्याउनुभएको छ ।

वैदेशिक रोजगारीको पीडामा आधारित गीत श्रव्यदृश्यसहित आज ‘पुष्प जङ्ग कुवँर’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको सर्जक कुवँरले जानकारी दिनुभयो । महेन्द्र विकको शब्द तथा कृष्ण बाजुरलीको लय तथा सङ्गीत रहेको छ । यस्तै श्रव्यदृश्यमा सर्जक कुवँर र निरु बिष्टको मोडलिङ तथा दिनेश ठकुल्लाको निर्देशन रहेको छ ।

गीत मुख्य गरी वैदेशीक रोजगारीका क्रममा विदेशीयको श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पीरव्यथा समेटिएको छ ।

मैत्रीपूर्ण खो खोमा भारत विजयी

काठमाडौँ, २२ असोज : नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा आज भारत विजयी भएको छ । पुरुषको चार खेलको श्रृङ्खलामा भारत ४–० ले विजयी भयो ।

नेपाल खो खो सङ्घको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मा¥यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, भारतीय खो खो महासङ्घका महासचिव एमएस त्यागी, आयोजक खो खो सङ्घका अध्यक्ष प्रदीप महर्जन, खो खो सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

दैलेखमा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख, २२ असोजः चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते हुनुभएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिनुभयो । गाडीमा २३ जना सवार रहेकामा अन्य सबै सकुशल रहेको उहाँले बताउनुभयो ।

गाजामा भएको इजरायली हमलामा १७ जनाको मृत्यु

इजरायली सेनाले गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आक्रमणमा गर्दा कम्तिमा १७ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार बताएको छ ।

“नागरिक सुरक्षा टोलीले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविरमा इजरायली सैन्य विमानबाट क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु भएका अब्दुल हादी परिवारको तीन तले घरबाट बालबालिकासहित १७ जनाको शव निकालेको छ भने अन्य घाइतेहरुको उद्धार गरेको छ“, विभागका प्रवक्ता महमुद बासलले एक विज्ञप्तिमा बताउनुभयो ।

बसालले मृतकको शव र अन्य घाइतेलाई नुसिरात शिविरको अल–अवदा अस्पताल र देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा लगिएको बताउनुभएको छ । गाजाको मध्य र उत्तरी भागमा मङ्गलबार बिहानदेखि थुप्रै हवाई आक्रमणहरू भएको बासलले बताउनुभएको थियो ।

प्रत्यक्षदर्शी एवं उद्धारकर्ताले जबलियामा इजरायली सैन्य कारबाही जारी रहेको बताएका छन् । पछिल्लो दिनमा इजरायली सेनाले जबलियामा गरेको हवाई आक्रमणमा लगभग २० जनाको मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको थियो । सेनाले यस क्षेत्रमा रहेको हतियार भण्डारण सुविधा पनि ध्वस्त पारेको छ ।

गाजाले भोगेको विनाश लेबनानमा दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट जोगिन लेबनानमा बढ्दो द्वन्द्वलाई तत्काल रोक्न आह्वान गरेका छन् ।संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का लागि लेबनानको निर्देशक म्याथ्यू होलिङ्गवर्थले लेबनान कार्यालयको जिम्मेवारी लिनुअघि गाजामा डब्लुएफपीको सञ्चालनको समन्वय गर्न छ महिना काम गरेको बताउनुभयो ।

“म उठेदेखि सुत्ने बेलासम्म मेरो दिमागमा हामी पनि यस्तै विनाशको चक्रमा पुग्न सक्छौं भन्ने कुरा चलिरहेको छ । हामीले त्यसो हुन दिनुहुँदैन,” उहाँले बताउनुभयो ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि गाजामा भएको इजरायली हमलामा ४१ हजार ९०० जना भन्दा बढी मानिसको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश आमनागरिक रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानमा भएको इजरायली बमबारीले दुई हप्ताभन्दा कम अवधिमा एक हजार १०० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।

संयुक्त राष्ट्र अधिकार कार्यालय अधिकारी जेरेमी लरेन्सले भन्नुभयो, “हामीले गाजामा देखेका विनाशका ढाँचाहरू लेबनानमा देखिरहेका छौं । गाजामा जस्तै विनाश लेबनानका मानिसहरूका लागि विश्वास बाहिर छ । हामी यसलाई फेरि हुन दिन सक्दैनौं ।”

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

फिक्कल (इलाम), २२ असोज : पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि आज मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो ।

अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताउनुभयो । चार पाङ्ग्रे ठूला सवारी साधन र मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।

“सडक पुनःनिर्माणपछि अहिले साँझ ६ बजेदेखि साना सवारी साधन सञ्चालन गर्न दिएका छौँ, ठूला सवारी साधनको हकमा भने भोलि दिउँसो सडकको अवस्था बुझेर मात्र सञ्चालन गर्न दिइनेछ,” प्रमुख ढकालले भन्नुभयो, “राजमार्ग सञ्चालनमा आएसँगै बीच बाटोमा रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।” उहाँले राजमार्ग अन्तर्गतको इलाम–राजदुवाली खण्डमा भएको सडक अवरुद्ध सबै सफा पारिसकिएको र सवारी आवातजावत सहज भइरहेको बताउनुभयो ।

चार दिनसम्म लागेर सडक डिभिजन कार्यालय इलामले बाटो खुलाएको हो । पहिरोले चुँडाएको सडकमा ग्याबिङ जालीसहितको वाल लगाएर एवं माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाएको हो ।

पहिरोले सडक चुँडिएपछि गत शुक्रबार दिउँसो ४ बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारी साधन माईखोला वारी र पारीबीच बाटोमै रोकिएका थिए । माईखोला पारीका सवारी साधनले माईखोलासम्म यात्रु ल्याउने र वारीका सवारी साधनले वारीसम्म यात्रु लैजाने गर्दै आएका थिए । सडक सञ्चालन भएसँगै अहिले सबै गन्तव्यतर्फ लागेका छन् ।

जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

मलेखु (धादिङ), २२ असोज : सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ ।

कृष्णभिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको छैन । त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डको वास्तविक अवस्था यही हो । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाही भन्नुहुन्छ, “जो कोही पनि सहजै यात्रा गर्न सक्नुहुन्छ । कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन हामी चौबिसै घण्टा तपाईको साथमा छौँ ।”

एक साताअघि चार दिन निरन्तर परेको वर्षात्का कारण पाइलैपिच्छे झरेको पहिरो र गेग्रानले सडक कतै धुलाम्मे छ । भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ । सडक विस्तारको काम गर्ने क्रममा भित्ता खारेको स्थानबाट खसेर सडकमा फिँजारिएको माटोले घाम लाग्दा धुलो उड्नु र पानी पर्दा हिलो हुनुलाई यतिबेला सामान्य मान्नुपर्छ । हरेक चालक होसियार भएर सवारी नियमको पालना गर्ने हो भने सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन सकिन्छ ।

दुईपाङ्ग्रे मोटरसाइकल–स्कुटरदेखि चार पाङ्ग्रे कार जिपसँगै ठूला यात्रु बस र दस, बाह्र, चौध पाङ्ग्रे ट्रकसम्म सबै किसिमका सवारी यही सडकमा चलेको छ । राजमार्ग एक मिनेट पनि खाली छैन । दसैँ मनाउन घर फर्किनेको भीडले पृथ्वी राजमार्ग रातदिन नै व्यस्त छ । गृह मन्त्रालयबाट जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मेवारी लिएर कार्यालय प्रवेश गर्नुअघिदेखि नै सडकको जाम हटाउन र जोखिमपूर्ण स्थानको निरीक्षणमा खटिनुभएका प्रहरी उपरीक्षक शाही बताउनुहुन्छ, “यस्तो अवस्थामा सडक छेउकुनामा डोजर चलाएर कुदिरहेका सवारीलाई पर्खाउन सक्ने अवस्था छैन ।”

त्रिभुवन राजपथको सिक्रेखोलादेखि नागढुङ्गासम्म यतिबेला अत्यधिक धुलो छ । साना सवारीले झ्यालढोका बन्द गरेर हिँड्छन् । तर, मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । रातिको समयमा भने ठूला सवारीका चालक पनि अनुमानको भरमा सवारी चलाउन बाध्य छन् । पानी पर्‍यो भने त्यही धुलो लेदो हिलोमा परिणत भएर चिप्लो हुने निश्चित छ । फाटिएका सडक भासिनसक्ने खतरा पनि उस्तै छ ।

धुलोले रङ्मङगिएको बेला जथाभावी उछिन्न खोज्ने र दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर पीपलमोड, झ्याप्ले खोला, गणेश मन्दिरलगायत अप्ठ्यारा स्थानमा ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रुपमा ‘डयुटी’ गरिरहेको छ ।

साना तथा हलुका अधिकांश सवारीले धार्के–सीतापाइला सडक प्रयोग गरिरहेका छन् । धादिङको गल्छीबाट नुवाकोटको गँगटे, छहरे हुँदै काठमाडौँ प्रवेश गर्ने र त्यही सडक प्रयोग गरेर काठमाडौँबाट बाहिरिने सवारीको सङ्ख्या पनि कम छैन । पछिल्लो समय चित्लाङ र पालुङ भएर हेटौँडा निस्कने सडक मर्मत भएपछि पनि नागढुङ्गा नौबिसे सडकलाई सवारीको भार केही कम भएको छ । सवारीको भार कम भएसँगै जामको चुनौती पनि कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रूपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ । जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनगर गरेर पनि साना तथा हलुका सवारीलाई धादिङको वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले सुझाव दिने गरेको छ । सडकमाथि भित्ताबाट सडकमा खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, सफा गर्दै गरेको पहिरोले नौबिसे नागङ्गा खण्डमा जस्तै पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा पनि साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण नै छ ।

नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा भएका सबै पहिरो गन्न सकिने अवस्था छैन । करिब ५० भन्दा बढी स्थानमा पानी परेपछि गाडी छेकिने किसिमको पहिरो छ । यसअघि सवारी छेकिनेगरी पहिरो झरेका स्थान, निर्माणाधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुवैतर्फ ट्राफिक प्रहरी र जनपथ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले समेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ ।

पृथ्वी राजमार्गमा दैनिक कति सवारी गुड्छन् ?

नागढुङ्गाको चेकपोष्ट हुँदै दैनिक कति सवारी काठमाडौँ भित्रिन्छन् र कति बाहिरिन्छन् यकीन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वका बेला २० हजारसम्म सवारी आवतजावत हुने अनुमान छ । निजी सवारीबाहेक चौबिसै घण्टा सबै सवारीको नम्बरसहित तथ्याङ्क राख्ने महानगरीय प्रहरी प्रभाग नागढुङ्गासँग पनि नौबिसे नागढुङ्गा खण्ड हुँदै दैनिक कति यात्रुवाहक र मालवाहक सवारी आवतजावत गर्छन् भन्ने तथ्याङ्क छैन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खान भन्नुहुन्छ, “हामीसँग ठ्याक्कै तथ्याङ्क छैन । नागढुङ्गा र धादिङले नै यसको अनुमान लगाउन सक्छ ।”

तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ

बागमती, २२ असोज : तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्करभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा तीन क्विन्टल ९२ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्याङकर चालक मकवानपुरको मनहरि गाउँपालिका–९ ज्यामिरे निवासी २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

ट्याङकरभित्र गाँजा लगिइरहेको गोप्य सूचनाको आधारमा शरीर तथा ट्याङकर खानतलासी गर्दा ट्याङकरको पाँचवटा डिब्बामध्ये तीन नम्बर डिब्बाभित्र २५ वटा रातो प्लाष्टिकको पोका बनाएर लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद् भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

सरकारले थप ५७ वटा हिमालमा आरोहणका लागि खुलायो

काठमाडौँ, २२ असोजः सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो ।

पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो । सोही अनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो । यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन् । विभागले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो ।

पर्यटन विभाग निर्देशक राकेश गुरुङले थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा कूल चार सय ६१ हिमाल आरोहणका लागि खुला भएको बताउनुभयो । थप हिमाल खुलेसँगै पर्वतीय पर्यटनमा सकारात्मक सन्देश गएको उहाँको भनाइछ ।

एनएमएका अध्यक्ष निमानुरु शेर्पाले हिमाल खुलाउने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताउनुभयो । “हिमाल खोल्नु भनेको नयाँ गन्तव्य विकास हुनु हो,” उहाँले भन्नुभयो, “नेपालमा दुई हजार भन्दाबढी आरोहण योग्य हिमाल छन् तिनलाई क्रमशः आरोहणका लागि खुलाउदै जानुपर्छ ।”

अध्यक्ष शेर्पाले सकेसम्म आरोहण योग्य हिमाल खुलाएर बढीभन्दा बढी पर्यटक आकर्षण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले आरोहणका लागि खुला गरिएका हिमालसम्म सम्पर्क सञ्जालका लागि पूर्वाधार विस्तालगायतका काम पनि सँगै अघि बढाइनुपर्ने सुझाव दिनुभयो ।

आरोहण योग्य हिमाल क्रमशःखुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।

मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण सुभारम्भ

काठमाडौँ, २२ असोज : काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण सुभारम्भ गर्नुभयो ।

सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रशाद लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्री ज्यू र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ ।”

मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको शुद्ध पानी आइपुगेको छ, अब केही समयमै नागरिकका धाराधारामा पठाउछौँ ।”

खाने पानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका सङ्घर्ष समितिसँग वार्ता गरेको थियो ।

वार्तापछि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडाँै उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।

विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा त्यहाँको पानी वितरण हुन सकेको छैन । काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ ।

दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७÷१७ करोड लिटर पानी ल्याइनेछ । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन ।

मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार सात सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानी पोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा सात सय ६० किमिमध्ये करिब सात सय किमिपाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ । आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गर्नुभएको हो ।

“हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुरानापुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी रूपमा हुनुपर्छ । त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ । कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुनेनहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौँ ।”

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । यस्तै बैठकमा चालु तथा कार्यान्वयनको चरणमा रहेका, सम्झौता र मूल्याङ्कनका चरणमा रहेका विभिन्न परियोजनाबारे जानकारी गराइएको थियो । प्रधानमन्त्री ओली र प्रमुख कार्यकारी अधिकृत ज्ञवाली नियुक्त भएपछि बोर्डको यो पहिलो बैठक हो ।

बोर्डले सरकारको लगानीसम्बन्धी बजेट र खर्च घट्दो रहेको अवस्थामा निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्नुपर्ने, अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट प्राप्त प्रतिबद्धताबमोजिम काम हुनुपर्ने, स्वदेश र विदेशमा लगानी प्रवर्द्धनको काम गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्रलाई पूर्ण कार्यान्वयनमा ल्याइ छिटो छरितो काम गर्नुपर्नेमा जोड दिएको छ । यस्तै विद्यमान कानुन संशोधन गरी बोर्डलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने, प्रदेश र स्थानीय तहमा लगानी सहजीकरणका लागि विशिष्टीकृत केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकले बोर्डको चालु आर्थिक वार्षिकका लागि रु १८ करोड ८३ लाख बजेट तथा प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादन सम्झौता करारका सूचक स्वीकृत गरेको छ । बैठक लगत्तै बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अधिकृत ज्ञवालीबीच कार्यसम्पादन सम्झौता भएको छ । लगानी बोर्डले रु छ अर्बभन्दा माथि लगानी भएका परियोजना तथा २०० मेगावाटभन्दा माथि क्षमताका जलविद्युत् परियोजना सहजीकरण गर्दै आएको छ ।

विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक

पाटन (ललितपुर), २२ असोजः गृहमन्त्री रमेश लेखकले हालैको विपत्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताउनुभएको छ ।
आज ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुँदै उहाँले विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्छ । यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? कसैले नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो”, उहाँले भन्नुभयो,“सोही भावनाका साथ सरकार अत्यन्तै संवेदनशील भएर पुनःनिर्माणमा लाग्छ । प्रभावित नागरिकलाई अभिभावकत्व प्रदान गर्छ ।”

यस कार्यमा सत्ता पक्ष वा प्रतिपक्ष, राजनीतिक आस्था वा कुनै पूर्वाग्रह नराखी सबै मिलेर अगाडि बढ्ुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । “कुनै राजनीति, पक्ष—विपक्ष नभनी तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सबै मिलेर हामीले विपद्पछिको समस्या समाधान गर्न लाग्नुपर्छ । त्यसमा सरकारले सहजीकरण गरिरहेका छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रहसमेत गर्नुभयो । “लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तास्वरुप रु २५ हजार पठाउछौँ”, उहाँले भन्नुभयो । 

रक्षामन्त्री मानवीर राईले विपद्बाट सर्जित समस्या समाधान गर्न मिलेर काम गर्दा छिट्टै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

स्थलगत निरीक्षणका क्रममा ललितपुर क्षेत्र नं १ का सङ्घीय सांसद उदयशम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, उपाध्यक्ष डोल्मामायाँ गोलेलगायतले यहाँको प्रभावित क्षेत्र, क्षति विवरण, पुनःनिर्माण र पुनःस्थापनाको आवश्यकताका बारेमा जानकारी गराउनुभएको थियोे ।

स्थलगत निरीक्षणका क्रममा आज सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको बाढीपहिरो प्रभावित ग्रामीण क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोलीदे अनुगमन गरेको हो । यसअघि गृहमन्त्री लेखकले आइतबार र सोमबार काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी विपद् प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको थियो ।

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

काठमाडौँ, २२ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ ।
राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म उहाँबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जङ्गी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई अपराह्न ३ बजेदेखि ३ः३० बजेसम्म टीका तथा प्रसाद प्रदान हुनेछ ।

यस्तै इच्छुक आमनागरिकका लागि अपराह्न ३ः३० बजे देखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गरिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । टीका ग्रहण गर्न आउने व्यक्तिका लागि मर्यादित पोशाक र प्रवेश गर्न प्रवेशद्वार नं १ तोकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख

काठमाडौँ, २२ असोज: खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष बिक्री वितरण भइरहेका खसीबोका र च्याङ्ग्रा उपभोक्ताको रोजाइमा परेका छन् । निजी क्षेत्रभन्दा सस्तो मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउँदा उपभोक्तासमेत मख्ख देखिन्छन् ।

कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा खसी किनेर डोहो¥याइरहनुभएकी घट्टेकुलो निवासी बिनु भुर्तेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष सस्तो र राम्रो खसी भेटिएको प्रतिक्रिया दिनुभयो । 

कम्पनीले यस वर्ष जीउँदो खसीबोकाको मूल्य प्रतिकिलो रु छ सय ७० तथा च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार दुई सय ३० कायम तोकेको छ । उपभोक्तालाई सो मूल्यमा प्रतिकिलो रु १० छुट दिइएको कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापा बताउनुहुन्छ । 

यस वर्षको दसैँलाई लक्षित गरेर विभिन्न स्थानबाट एक हजार चार सय खसीबोका तथा तीन सय वटा च्याङ्ग्रा भित्र्याउनेक्रम जारी छ । नवलपुरबाट विभिन्न सहकारीमार्फत पाँच सय, हेटौँडाबाट पाँच सय र दाङबाट चार सय खसीबोका तथा मुस्ताङबाट च्याङ्ग्रा खरिद गरिएको हो । हालसम्म छ सय ९३ खसीबोका तथा च्याङ्ग्रा बिक्री भइसकेका छन् । कम्पनीले यही असोज १९ गते चार सय खसीबोका तथा च्याङ्ग्रा काठमाडौँ भित्र्याएको थियो । असोज २० गतेदेखि थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट खसीबोका बिक्री भइरहेको छ ।  

गत वर्षको तुलनामा यस वर्ष खसीबोकामा प्रतिकिलो रु १० तथा च्याङ्ग्रामा प्रतिकिलो रु ३० कम मूल्य निर्धारण गरिएको छ । कम्पनीले भित्र्याएको खसीबोका तथा च्याङ्ग्राको मूल्य सस्तो तथा स्वस्थ्य भएका कारण पनि उपभोक्ताले रुचाएको सहायक विभागीय प्रबन्धक थापाले बताउनुभयो । “धेरै सङ्ख्यामा रहेका खसीबोका तथा च्याङ्ग्रा छानिछानी खरिद गर्नसक्ने भएका कारण पनि उपभोक्ताको आकर्षण बढेको हो”, उहाँले भन्नुभयो, “उपभोक्ताले खुसीका साथ रोजीरोजी खसीबोका खरिद गरिरहनुभएको छ ।”

बजार मूल्यलाई हस्तक्षेप गर्न पनि खसीबोका तथा च्याङ्ग्रा बिक्रीलाई कम्पनीले निरन्तरता दिइएको उहाँको भनाइ छ । कम्पनीले निर्धारण गरेको बिक्री मूल्यलाई आधार मानेर निजी क्षेत्रका व्यवसायीले पनि मूल्य तोक्ने हुँदा बजारमा मूल्य नियन्त्रण गर्न सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  कम्पनीले नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार, छठलगायत पर्वलाई लक्षित गरेर सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वमा खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुने, कृत्रिम अभाव तथा कालोबजारी बढ्ने अवस्थालाई ध्यानमा राखेर सहुलियत मूल्य पसल सञ्चालन गरिएको सहायक विभागीय प्रबन्धक थापाको भनाइ छ । “सहुलियत पसलमा विगतदेखि नै उपभोक्ताको निकै आकर्षण देखिँदै आएको छ”, उहाँले भन्नुभयो । 

यस वर्ष पनि ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल सञ्चालनमा आएको छ । बागमती प्रदेशमा छ वटा ‘आउटलेट’बाट उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले सूचना प्रविधिको उपयोग गर्दै अनलाइनबाट खाद्यान्नको अर्डर लिएर उपभोक्ताको भान्छासम्म पु¥याउँदै आएको छ । सहुलियत पसलमार्फत चामल तथा दालमा प्रतिकिलो रु पाँच र खाने तेलमा प्रतिलिटर रु सात छुट दिइको छ । कम्पनीले सुपथ मूल्य पसलमार्फत चामल, दाल, गेडागुडी, तेल, नुन, चिनी, ग्यास तथा दुग्धजन्य पदार्थलगायत ३० प्रकारका उपभोग्य वस्तु बिक्री भइरहेको जनाएको छ । यसरी बिक्री गर्ने उपभोग्य वस्तुको गुणस्तरमा प्रश्न नउठ्ने गरी व्यवस्थापन गरिएको जनाउनुहुँदै सहायक विभागीय प्रबन्धक थापा खाद्यान्न प्रशोधनका विभिन्न चरणमा प्राविधिक परीक्षण अनिवार्य गरिएको बताउनुहुन्छ । “कम्पनीका फुड टेक्नोलोजिस्टले खाद्यान्नको नमुना लिएर मापदण्ड पुगेको÷नपुगेको जाँच गर्नुहुन्छ, निर्धारित मापदण्ड पुगेका खाद्यान्न मात्रै कम्पनीले खरिद गर्छ”, उहाँले भन्नुभयो, “गुणस्तरमा प्रश्न नआउने गरी व्यवस्था गरेका छौँ, उपभोक्ता ढुक्क हुनुभए हुन्छ ।”

आश्विन शुक्ल पञ्चमी : गरियो स्कन्दमाताको पूजा आराधना

काठमाडौँ, २२ असोज : आश्विन शुक्ल पञ्चमीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनीमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् ।

पार्वतीले ऋषिलाई ऊँटको योनीमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु र मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन् । 

ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन् ‘ऋषिजी तपाइँ ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्त्व नबुझी मैले दिएको श्रापबाट मलाई ठूलो पश्चात्ताप छ, अब म तपाइँलाई पुत्रका रुपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वतीलाई नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । 

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन असोज १८ गते शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन पनि चौँथी तिथि वृद्धि भई सूर्योदयको समय कटाएकाले सोमबार पनि कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रको छैटौँ दिन आश्विन शुक्ल पञ्चमीमा आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको हो ।

  दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको थियो । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । नवरात्रको छैटौँ दिन आइपुग्दा शक्तिपीठमा पनि भीड बढ्न थालेको छ । काठमाडौँ उपत्यका र काठमाडौँ उपत्यका बाहिरका सबैजसो शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । बेलुकी आरतीका बेला पनि शक्तिपीठमा घुइँचो बढ्ने गरेको छ । शक्तिपीठमा रातभर झिलीमिली बत्ती बालिने भएकाले यसले पनि भक्तजनलाई बेलुकी मन्दिर जान प्रोत्साहित गर्न थालेको छ ।

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै

काठमाडौँ, २२ असोज : मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता यही अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैँफर्टमा हुँदैछ । इजिकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसिओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरू भोलि जर्मनी प्रस्थान गर्नेछन् ।

टोलीलाई आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङ्फु सङ्घका महासचिव भूपेन्द्र गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताउनुभयो ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट

काठमाडौँ, २२ असोजः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेइ नोभिकोभले शिष्टाचार भेट गर्नुभएको छ ।

आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत नोभिकोभले शिष्टाचार भेट गर्नुभएको हो । भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायत विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष दाहालले नेपाल–रुसबीच विगतदेखि नै सरकार र जनस्तरसम्म सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै दुई देशबीचको सहकार्यले आगामी दिनमा यस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको सङ्घीय संसद्मा नेपाल–रुस संसदीयमैत्री समूह गठन गरिएको र यस समूहले दुई देशबीचको संसदीय सम्बन्ध तथा अनुभव आदानप्रदान गर्न सहज हुने बताउनुभयो । नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाडौं–मस्को सिधा हवाइ सुविधा सञ्चालनका लागि पहल गर्न आग्रह गर्नुभयो ।

नेपालको कृषि, प्रविधि र ऊर्जाका क्षेत्रमा लगानीका लागि रुसी लगानीकर्तालाई प्रोत्साहित गर्न आग्रह गर्नुहुँदै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पु¥याउन बढीभन्दा बढी रुसी नागरिकले नेपाल भ्रमण गर्ने गरी वातावरण बताउन पनि अनुरोध गर्नुभयो । यस्तै, रुस–युक्रेन युद्धपछि नेपाली युवा विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो राख्नुहुँदै उहाँले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रहसमेत स्मरण गराउनुभएको थियो । त्यसअवसरमा राजदूत नोभिकोभले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आपसी हितका साथै सहयोग आदानप्रदान र सहकार्य बढाउँदै जानुपर्ने बताउनुभयो । 

उहाँले नेपालमा पर्यटनको सम्भावनाबारे चर्चा गर्नुहुँदै लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । नेपालले जलविद्युत् उत्पादनबाट राम्रो आम्दानी गर्नसक्ने र यस क्षेत्रमा लगानी गर्न रुसका लगानीकर्ता इच्छुक रहेको राजदूत नोभिकोभको भनाइ थियो । उहाँले जलविद्युत् उत्पादन, हवाइ सेवा विस्तार, अन्तरिक्षमा संयुक्त उडान, प्रविधिलगायत क्षेत्रमा रुसले नेपालमा काम गर्ने र यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाली विद्यार्थीहरूलाई रुसमा छात्रवृत्तिको व्यवस्था गरिएकाले हाल ४२ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको र केही समयमै छात्रवृत्तिको सङ्ख्या बढाएर दुई सयसम्म पु¥याउने योजना राजदूत नोभिकोभले जानकारी दिनुभयो । 

पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र

बैतडी, २२ असोजः दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ । दोगडाकेदार गाउँपालिकाको प्रायोजन तथा शुशितम युवा क्लबको आयोजनामा हुने प्रतियोगिता यही असोज २८ गतेदेखि सुरु हुँदैछ ।

प्रतियोगिता मिति नजिकिएसँगै तयारी तीव्र पारिएको आयोजक शुशितम युवा क्लबका सचिव जगदीशसिंह कार्कीले जानकारी दिनुभयो । वडा नं ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थित, खेलाडी टोली दर्तालगायतको काम जारी रहेको छ ।

प्रतियोगिताका लागि खेल टोली दर्ता खुल्ला गरिएको र सहभागी हुन चाहने टोलीले असोज २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने शुशितम युवा क्लबका सदस्य अशोक कार्कीले जानकारी दिनुभयो । खेलाडी टोली दर्ता शुल्क रु १२ हजार ५०० राखिएको छ ।

प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो । यस्तै, उपविजेता टोलीले रु ५५ हजार ५५५  ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीलाई सान्त्वनास्वरूप रु १०÷१० हजार, सर्वाेत्कृष्ट खेलाडीले रु ११ हजार १११, सर्वाेत्कृष्ट ब्याटर र बलरले समान रु सात हजार ७७७, उदीयमान खेलाडीलाई रु तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले रु एक हजार १११ पुरस्कार  पाउने जनाइएको छ । 

प्रतियोगितामा जिल्लाभित्र र बाहिरका टोली पनि सहभागी हुन पाउनेछन् । सहभागी हुने टोलीले चारजना विदेशी खेलाडी राख्न पाउने जनाइएको छ । खेल टेनस बलले खेलाइने र एलबिडब्लू आउट लागू नहुने आयोजकले जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो ।

फिल्म ‘ज्वाइँ साब’ मा ‘भगवान तामाङ’ चरित्रमा देखिँदै बुद्धि

काठमाडौं । कलाकार बुद्धि तामाङ अधिकांश फिल्ममा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन् । साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा बुद्धिको सक्रियता फिल्ममा बाक्लै देखिन्छ । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन् ।

बुद्धिका अनुसार दर्शकले ‘ज्वाइँ साब’मा उनलाई फिल्मका प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने पात्रका रुपमा हेर्न पाउनेछन् । ‘फिल्मका प्रमुख पात्र जितु नेपाल दाईलाई बुस्ट गर्ने, सपोर्ट गर्ने क्यारेक्टर छ । उहाँलाई उकास्दै उकास्दै माथि लैजाने चरित्र मेरो छ’, बुद्धि भन्छन् ।

बुद्धिको बुझाईमा फिल्म भनेको मान्छेलाई जसरी भए पनि मनोरञ्जन दिनु नै हो । ‘ज्वाइँ साब हेरिरहँदा मान्छेले मजा लिन्छन् । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भनेर कोही यो फिल्म हेर्छ भने इन्जोय गर्ने ठाउँ प्रशस्त छ । फिल्ममा सामाजिक, मनछुने र हँसाउने कथा छ’, बुद्धि खुल्छन् ।फिल्मको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवाले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धिले पनि सहभागिता जनाएका छन् । ‘यो प्रतिष्पर्धा एक असल ज्वाइँ बन्न के के नियम चाहिन्छ भन्ने प्रतिष्पर्धा हो । निकै चाखलाग्दो छ ।

तर त्यस्तो प्रतियोगितामा भाग लिन निकै गाह्रो’, बुद्धि भन्छन्, ‘आफ्नो ज्वाइँमा चाहिने गुण र क्षमता थाहा पाउन यो प्रतिष्पर्धा गरिएको हो । समाजलाई यस्तो प्रतिष्पर्धा नपच्ला तर, मलाई कस्तो मान्छे चाहियो भन्दा क्वालिफाइड मान्छे नै हो ।’बुद्धिले कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला फिल्म भन्दा ‘ज्वाइँ साब’ फरक रहेको बताए । ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ’, बुद्धि भन्छन् ।

निर्देशक वसन्त निरौलासँग बुद्धिको फिल्म ‘होलिडे’ पछि दोस्रो सहकार्य हो । उनले जितुसँग ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरेका छन् । फिल्म ‘कार्साङ’मा पनि बुद्धिले जितुसँग सहकार्य गरेका छन् ।वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

काठमाडौँ, २२ असोज : गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ ।

यसैबीच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको जनाइएको छ ।

कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ ।

चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै

काठमाडौँ, २२ असोजः दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट सो प्रतिवेदन बनाएको हो । ती क्षेत्रलाई मुख्य आधार एवं स्थानीयकरण गर्दै नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन् ।

अब नगरपालिकाले प्रतिवेदनलाई संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने तयारीसमेत थालेको छ । चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ । 

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशप्रसाद सिंह, संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिगर हाम्दी लगायतले संयुक्त रूपमा विश्व बसोबास दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ‘भिएलआर’ प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको चन्द्रागिरि नगरप्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन् । अब नगरपालिकाले प्रतिवेदनलाई संयुक्त राष्ट्रसङ्घमा शीघ्र प्रस्तुत गर्छ ।” सहरीकरणसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ ।

यसका लागि नगरपालिकाले दातृ निकायका सहकार्यमा ‘कोभिड–१९ पछिको आर्थिक–सामाजिक पुनरुत्थान र स्थानीय पहलमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना’ पनि सञ्चालन गरिरहेका छ । सहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत वर्गीकरण र दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन एकापसमा अन्तरसम्बन्धित हुने बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो, “सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने ध्येयलाई पूरा गर्न ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ प्रतिवेदनले सहयोग पुर्याउँछ । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्दै समुन्न नगर बनाउने हाम्रो प्रमुख ध्येय हो । यसैमा हाम्रा समग्र नीति, योजना तथा कार्यक्रम केन्द्रित छन् । ” उहाँले नगरपालिकाले भौतिक पूर्वाधारका साथसाथमा विशेष गरेर शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता क्षेत्रमा नयाँ ढङ्गबाट काम गरिरहेका जानकारी दिनुभयो ।

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

जानकी (बाँके), २२ असोजः बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडाँैका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिनुभयो ।
सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन् । भारत सरकारको तर्फबाट आज पनि सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौँ पठाइने प्रजिअ रिजालले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।

“उच्च अदालतको फैसला चित्त बुझ्यो भने नेपाल सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ”, उनले भने, “उच्च अदालतको फैसला चित्त बुझेको हुनाले क्रिकेटर लामिछानेको मुद्दामा पुनरावेदन नगर्ने निर्णय भएको छ ।”

महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो । उक्त मुद्दाको गत साउन ४ गते पूर्णपाठ सार्वजनिक भएको थियो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारणसमेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला–२६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी कार्ड राजन राणाले गरेको बकक्रमका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरू समेतबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।”

फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ । त्यस्तै उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभइ सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ ।

फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादीउपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।” पीडित प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ ।

अदालतले मिसिल संलग्न सिसीटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी  पाँच लाख भराउने र गौशाला–२६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो ।

सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटनमा गएकी थिइन् । सो अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो ।

गौशाला–२६ माथिको बलात्कारको अभियोगमा लामिछानेविरुद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । उक्त मुद्दामा सरकारी पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि उच्च अदालत पाटनको फैसलामा यथावत रहनेछ ।

मन्त्रीहरु बाढीपहिरोे प्रभावित क्षेत्रमा

काठमाडौँ, २२ असोजः मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिनुहुने भएको छ ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्काेट, सिन्धुपाल्चोकको चौतारा, ललितपुरको गोटीखेलका लागि प्रस्थान गर्नुभएको छ ।

उहाँहरुले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल गर्नुहुने छ ।

मृतको सङ्ख्या दुई सय ४६

यसैबीच, बागमती प्रदेश बढी प्रभावित भई यही असोज १० देखि १२ गतेसम्म भएको बाढीपहिरामा परी दुई सय ४६ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएकामा ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न तीव्र रूपमा प्रयास भइरहेको प्रवक्ता तिवारीलेलाई बताउनुभयो ।

आउँदो तीन महिना हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ, २२ असोज : जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

वर्षाको आकलन

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।

अधिकतम तथा न्यूनतम तापक्रम

यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

लेखनाथ (कास्की), २२ असोज : पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो । यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ ।

दसैँमा पुनःनिर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनःनिर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो । पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी  दिनुभयो । 

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले रु दुई करोड र पुरातत्व विभागले रु २५ लाखगरी कूल रु दुई करोड २५ लाखको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो । समितिले रु १० करोडको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो । अबको छ महिनाभित्र मन्दिर पुनःनिर्माणको काम  सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो । तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उहाँले बताउनुभयो । 

फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ । स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको रु चार करोड ७० लाख समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ । 

कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव धु्रव बरालले बताउनुभयो । “मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ”, सचिव बरालले भन्नुभयो, “प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ ।” 

मन्दिर पुनःनिर्माणका क्रममा सकेसम्म त्यहीका ढुङ्गा र काठ प्रयोग गर्ने भनिएको भए पनि ढुङ्गा काम नलाग्ने अवस्थामा रहेको र काठ भने केहीमात्रामा प्रयोगमा आएका सचिव बरालले बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि मन्दिरमा आउने दर्शनार्थीले  दान सहयोग गरिरहेको उहाँले सुनाउनुभयो । 

तालबाराही मन्दिरबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने त्यहाँबाट पर्यटकीय सराङकोट, पुम्दीभुम्दी,  कास्कीकोट दरबारसमेत दृष्यावलोकन गर्न सकिन्छ । स्थानीयवासी वासु त्रिपाठीले मन्दिरको पुनःनिर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । पोखराको गहना फेवाताल र तालबाराही मन्दिरको अवलोकन र दर्शन गर्न देशविदेशबाट धार्मिक पर्यटक आउने भएकाले पुरानै स्वरुपमा मन्दिर चाँडो सम्पन्न गर्नुपर्ने त्रिपाठीले सुझाव दिनुभयो । तालबाराही मन्दिरमा दर्शन गर्न बाराही घाटबाट डुङ्गा चढेर जानुपर्ने हुन्छ ।