`

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

जानकी (बाँके), २२ असोजः बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडाँैका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिनुभयो ।
सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन् । भारत सरकारको तर्फबाट आज पनि सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौँ पठाइने प्रजिअ रिजालले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।

“उच्च अदालतको फैसला चित्त बुझ्यो भने नेपाल सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ”, उनले भने, “उच्च अदालतको फैसला चित्त बुझेको हुनाले क्रिकेटर लामिछानेको मुद्दामा पुनरावेदन नगर्ने निर्णय भएको छ ।”

महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो । उक्त मुद्दाको गत साउन ४ गते पूर्णपाठ सार्वजनिक भएको थियो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारणसमेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला–२६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी कार्ड राजन राणाले गरेको बकक्रमका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरू समेतबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।”

फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ । त्यस्तै उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभइ सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ ।

फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादीउपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।” पीडित प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ ।

अदालतले मिसिल संलग्न सिसीटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी  पाँच लाख भराउने र गौशाला–२६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो ।

सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटनमा गएकी थिइन् । सो अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो ।

गौशाला–२६ माथिको बलात्कारको अभियोगमा लामिछानेविरुद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । उक्त मुद्दामा सरकारी पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि उच्च अदालत पाटनको फैसलामा यथावत रहनेछ ।

मन्त्रीहरु बाढीपहिरोे प्रभावित क्षेत्रमा

काठमाडौँ, २२ असोजः मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिनुहुने भएको छ ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्काेट, सिन्धुपाल्चोकको चौतारा, ललितपुरको गोटीखेलका लागि प्रस्थान गर्नुभएको छ ।

उहाँहरुले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल गर्नुहुने छ ।

मृतको सङ्ख्या दुई सय ४६

यसैबीच, बागमती प्रदेश बढी प्रभावित भई यही असोज १० देखि १२ गतेसम्म भएको बाढीपहिरामा परी दुई सय ४६ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएकामा ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न तीव्र रूपमा प्रयास भइरहेको प्रवक्ता तिवारीलेलाई बताउनुभयो ।

आउँदो तीन महिना हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ, २२ असोज : जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

वर्षाको आकलन

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।

अधिकतम तथा न्यूनतम तापक्रम

यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

लेखनाथ (कास्की), २२ असोज : पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो । यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ ।

दसैँमा पुनःनिर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनःनिर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो । पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी  दिनुभयो । 

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले रु दुई करोड र पुरातत्व विभागले रु २५ लाखगरी कूल रु दुई करोड २५ लाखको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो । समितिले रु १० करोडको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो । अबको छ महिनाभित्र मन्दिर पुनःनिर्माणको काम  सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो । तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उहाँले बताउनुभयो । 

फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ । स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको रु चार करोड ७० लाख समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ । 

कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव धु्रव बरालले बताउनुभयो । “मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ”, सचिव बरालले भन्नुभयो, “प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ ।” 

मन्दिर पुनःनिर्माणका क्रममा सकेसम्म त्यहीका ढुङ्गा र काठ प्रयोग गर्ने भनिएको भए पनि ढुङ्गा काम नलाग्ने अवस्थामा रहेको र काठ भने केहीमात्रामा प्रयोगमा आएका सचिव बरालले बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि मन्दिरमा आउने दर्शनार्थीले  दान सहयोग गरिरहेको उहाँले सुनाउनुभयो । 

तालबाराही मन्दिरबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने त्यहाँबाट पर्यटकीय सराङकोट, पुम्दीभुम्दी,  कास्कीकोट दरबारसमेत दृष्यावलोकन गर्न सकिन्छ । स्थानीयवासी वासु त्रिपाठीले मन्दिरको पुनःनिर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । पोखराको गहना फेवाताल र तालबाराही मन्दिरको अवलोकन र दर्शन गर्न देशविदेशबाट धार्मिक पर्यटक आउने भएकाले पुरानै स्वरुपमा मन्दिर चाँडो सम्पन्न गर्नुपर्ने त्रिपाठीले सुझाव दिनुभयो । तालबाराही मन्दिरमा दर्शन गर्न बाराही घाटबाट डुङ्गा चढेर जानुपर्ने हुन्छ । 

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

गोरखा, २२ असोजः यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो । केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये छ जना महिला र सात पुरुष रहेका जानकारी दिनुभयो । केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।

लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको छ ।

मध्यपूर्वको तनावका कारण तेलको मूल्य ८० डलरभन्दा माथि पुग्यो

इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीमा मध्यपूर्वमा लडाइँ फैलिन डरले सोमबार लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।

ग्रिनविच मिनटाइम (जिएमटी) १५२५ (पेरिसमा साँझ ५ः२५) तिर ब्रेन्ट नर्थ सी तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो ।

यसको अमेरिकी समकक्षी नोभेमबर डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) दुई दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो । 

सनथ जयसूर्या श्रीलङ्काको पूर्णकालीन प्रमुख प्रशिक्षकमा नियुक्त

सनथ जयसूर्यालाई सोमबार श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । उहाँले टि–२० विश्वकपबाट श्रीलङ्काको तुरुन्त बहिर्गमनपछि राजीनामा दिनुभएका क्रिस सिल्भरवुडको स्थान लिनुहुनेछ ।

पचपन्न वर्षीय जयसूर्या जुनदेखि अन्तरिम प्रशिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो र हालैको सफलताहरूपछि सन् २०२६ मार्चसम्मका लागि उहाँ पूर्णकालीन प्रशिक्षकका रूपमा नियुक्त हुनुभएको हो । उहाँका यी सफलतामा इङ्ग्ल्यान्ड टेस्ट म्याच जित र घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध २–० को टेस्ट शृङ्खला जित समावेश छन् । 

जयसूर्याको नेतृत्वमा श्रीलङ्काले २७ वर्षमा पहिलो पटक भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलासमेत जितेको थियो । 

श्रीलङ्काका पूर्वकप्तान जयसूर्याले आफ्नो नियुक्ति साकार भएको बताउनुभयो । “मलाई थाहा छ, यो चुनौतीपूर्ण काम हो तर म चुनौती लिन र टोलीसँग अघि बढ्न चाहन्छु”, उहाँले कोलम्बोमा पत्रकारहरूसँग भन्नुभयो, “मेरो खुशी व्यक्त गर्न मसँग शब्दहरू छैनन् ।”

उहाँका लागि तत्कालको चुनौती भनेको आगामी सातादेखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र तीन टि–२० खेलका लागि आफ्ना खेलाडीहरूलाई तयार पार्नु रहेको छ । 

“खेलाडीहरूलाई प्रशिक्षकसँग धेरै भरोसा र आत्मविश्वासको आवश्यकता पर्नेछ”, जयसूर्याले भन्नुभयो, “उनीहरूले जुनसुकै बेला मसँग सम्पर्क गर्न सक्नेछन् र मसँग कुनै पनि विषयमा छलफल गर्न सक्नेछन् ।”

उहाँले खेलाडीहरूले उनीहरूकै मातृभाषामा कुरा गर्न सक्ने भएकाले आफू विदेशी प्रशिक्षकहरूभन्दा फाइदामा रहेको बताउनुभयो । 

उहाँलाइई सर्वकालीन महान एकदिवसीय अन्तर्राष्ट्रिय ब्याट्सम्यानहरूमध्ये एकका रूपमा हेरिन्छ र श्रीलङ्काको सन् १९९६ को विश्वकप विजयमा उहाँको महत्त्वपूर्ण भूमिका थियो । 

श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले केही विदेशी प्रशिक्षकहरूलाई छोटो सूचीमा राखिए पनि जयसूर्यालाई रोज्ने निर्णय गरेको बताउनुभयो । 

सनथलाई दिइएको पारिश्रमिकको प्याकेज विदेशी प्रशिक्षकलाई दिइने प्याकेजसँग तुलना गर्न योग्य रहेको उहाँले बताउनुभयो । यद्यपि उहाँले कति पारिश्रमिक दिइएको भन्नेबारे विवरण दिनुभएन । 

जयसूर्याले खेलको तीन ढाँचामा श्रीलङ्काका लागि पाँच सय ८६ पटक प्रतिनिधित्व गर्दै ४२ शतक र चार सय ४० विकेट लिनुभएको छ । सन् २०११ मा उहाँले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । 

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक तुर्कमेनिस्तानमा आयोजित एक मञ्चमा इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग वार्ताका लागि भेट गर्नुहुने एक वरिष्ठ सहयोगीले सोमबार बताएका छन् । पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले दुई नेताबीच आश्गाबातमा तुर्कमेन कविको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुँदा भेट्ने कार्यक्रम रहेको पत्रकारहरूलाई बताउनुभयो ।

“यो बैठकले द्विपक्षीय मुद्दाको छलफलका साथै अवश्य नै मध्यपूर्वमा तीव्र रूपमा बढेको तनावपूर्ण स्थितिको छलफलका लागि पनि महत्त्व राख्दछ”, उहाँले भन्नुभयो ।

मध्य एसियाली मुलुकहरूका नेताहरू १८औँ शताब्दीका कवि मग्तिमगुली पिरागीको ३००औँ जन्मजयन्ती मनाउन भेला भइरहेका छन् ।

रुसी राष्ट्रपति पुटिनको उपस्थिति पहिले घोषणा गरिएको थिएन । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले गत साता पेजेश्कियन र प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफसँग वार्ताका लागि इरानको भ्रमण गर्नुभएको थियो । 

पुटिन र पेजेश्कियानबीचको वार्ता इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई लक्षित गरी व्यापक बमबारी गरिरहेको र रुसले केही नागरिकलाई निकालिरहेको बेला हुन लागेको हो । 

रुसको इरानसँग घनिष्ठ सम्बन्ध छ र पश्चिमी सरकारहरूले तेहरानमाथि मस्कोलाई ड्रोन र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाएका छन् । इरानले आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।   पेजेश्कियानले उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन यसै महिना रुसको भ्रमणका क्रममा पुटिनसँग वार्ता गर्दै हुनुहुन्छ । 

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँचको मृत्यु

दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । आइएएफको ९२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार सहरको मरिना समुद्री तटमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए ।

   द्रविड मुन्नेत्र कझगमका सांसद कनिमोझी करुणानिधिले सोमबार भन्नुभयो, “आइएएफको प्रर्दशनपछि गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको मृत्युको खबर अत्यन्तै दुःखद् र पीडादायी छ ।” 

चेन्नाईको मरिना समुद्र तटमा आयोजित सैन्य उडान साहसिक कार्यक्रमको प्रत्यक्षदर्शी जनता भीड र चर्को गर्मीबाट पीडित थिए ।       नयाँदिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडिटिभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रममा दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।

स्थानीय सरकारका चिकित्सा तथा परिवार कल्याणमन्त्री मा सुब्रमण्यमले कार्यक्रममा खानेपानी आपूर्ति, चिकित्सा टोली र भीड नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।  

दशहरा पर्वको छैटौँ आज मिथिलामा ‘बेलनौत’ गरिँदै

महोत्तरी, २२ असोजः मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा हो ।

मिथिला क्षेत्रमा दशहारा (बडादसैँ) पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्न हिन्दू मैथिलले तयारी गरेका छन् ।

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् । मिथिलामा आँखा उघारिएपछि प्रतिमा पूर्ण सजीव भएको मानिने बर्दिबास–२ का बासिन्दा मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता दिनेश झा बताउनुहुन्छ ।

सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिने गरिएको मैथिल परम्पराका जानकार महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ ।

दशहरा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्ती–बस्तीमा जसो देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मिथिलाका बासिन्दा जुटेसँगै पर्वको चहलपहल निकै बढेको छ । पर्वविशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् । यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल फल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ ।

जनजाति महासङ्घद्वारा रोशी गाउँपालिकाका बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौँ- नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपीडितलाई रु पाँच लाख ५५ हजार पाँच सय आर्थिक सहयोग गरेको छ ।

महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगर नेतृत्वको टोलीले आज काभ्रेपलाञ्चोकको रोशी पुगेर बाढीपहिरोबाट भएको क्षतिको अवलोकन गरी त्यसको पुनःनिर्माण र पीडित नागरिकको राहतका लागि गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई उक्त रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईँ, मधु आचार्य र गणेश लामा, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं प्रदेशसभा सदस्य तीर्थ लामालगायतको सहभागीता रहेको थियो ।
महासङ्घको अगुवाइमा यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाढीपहिरो गएपछि घरबारबिहिन बनेका रोशीका स्थानीयवासीको स्वास्थ्य जाँचसमेत गर्दैआएको महासङ्घकी केन्द्रीय सदस्य पशुपति गुरुङले जानकारी दिनुभयो ।

राजधानीका शक्तिपीठलाई झिलीमिली बत्तीले सिँगारियो

काठमाडौँ-शारदीय नवरात्रका अवसरमा राजधानीका शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ । राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो । रातमा शक्तिपीठ सिँगार्दा आकर्षक देखिएको मैतीदेवीका स्थानीयवासी इन्दिरासिंह श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

विभिन्न दाताको सहयोगमा राजधानीका शक्तिपीठलाई झिलिमिलि बनाइएको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । नवरात्रका अवसरमा विभिन्न शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । यो समयमा देवीको पूजा, आराधना एवं दर्शन गरेमा मनोकामनाा पूरा हुने धार्मिक विश्वास छ ।

जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का

काठमाडौँ- उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिनेगरी मन्त्रालयले छलफल अघि बढाएको बताउनुभयो । उहाँले कुनैपनि जलविद्युत् आयोजना बनाउँदै गर्दा प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको तर पैसा नहुने वर्ग शेयर लगानी गर्नबाट वञ्चित हुने भएकाले उनीहरुले पनि १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताउनुभयोे ।

“कुनै आयोजनाहरु विकास हुँदै गर्दा स्थानीयले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेपनि हुनेले लगानी गर्ने र नहुनेले लगानी गर्न नसक्ने अवस्था रहकाले पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन भन्नेबारे मन्त्रालयले छलफल गरिरहेको छ । तल्लो वर्ग समृद्ध नभइ मुलुक समृद्ध हुन सक्दैन”, मन्त्री खड्काले भन्नुभयो । 

 ‘नेपालको पानी, जनताको लगानी’ भन्ने अघिल्ला सरकारले गरेका निर्णयलाई फाउण्डेसनको रुपमा लिएको उहाँले बताउनुभयो । मुलुकको विकासका लागि सकारात्मक कुरालाई समावेश गरेर जाने मन्त्री खड्काले उल्लेख गर्नुभयो । उहाँले सरकारले अबको १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । “योमध्ये १३ हजार पाँच सय मेगावाट विद्युत् नेपालमा नै खपत गर्ने र १५ हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने योजनाका साथ सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

काठमाडौँ, २२ असोज : राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् ।

सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन् । हिउँदमा यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परैजाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ डाँछीका स्थानीय राममाया नगरकोटी खानेपानी लिन गोकर्णेश्वर नगरपालिका वडा नं १ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुःखेसो पोख्नुहुन्छ । खानेपानी लिनका लागि करिब आधा घण्टाको पैदल यात्रा गरेर जाने र आधा घण्टा पैदल यात्रा गरी आउने एवं कहिले त पानीका लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उहाँ बताउनुहुन्छ ।

धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको नगरकोटीको अनुभव छ । यस्तो समस्या भोग्ने नगरकोटी मात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरागरी अर्को कार्यकालको आधा समय बितिसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन । 

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । 

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरेपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विछ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्नुहुन्छ ।

विसं २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । नगर प्रमुख हुँदा उहाँले मुहानवासीले खानेपानी नपाए मेलम्ची र वाग्मतीको पानी सहरमा वितरणका लागि नपठाइ वाग्मतीमा बगाउने चेतावनी दिनुभएको थियो । तर अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले बेवास्ता गरेको स्थानीय घनेन्द्र लामाको गुनासो छ ।

यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित हुनुभएकी शान्ति श्रेष्ठले छ महिनाअघि खानेपानी मन्त्रीलाई दिनुभएको ज्ञापनपत्रमा गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २, ३ र ४ नं वडामा भएको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नं ५ भन्दा माथिका वडालाई मात्र समेटेकामा स्थानीयवासीको गुनासो छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा पनि स्थानीयवासीले समस्या भोग्नुपरेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् । 

मेलम्ची खानेपाली राजधानी ल्याउन अवरोध गरेका हेलम्बुवासीसँग सोमबार सम्झौता भएपछि आजदेखि नै पानी राजधानी पथान्तरण हुने खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्चीको पानी राजधानी आएपछि खानेपानी नपाए आन्दोलनमा उत्रनुको विकल्प नहुने स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौँ, २२ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ तीन पैसा र बिक्रीदर नौ रुपैयाँ सात पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ एक पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।   वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

सिन्धुलीमा गाडी दुर्घटना यसरी भएको थियो

कमलामाई (सिन्धुली), २२ असोज : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा प¥यो ।

काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान ‘लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो । घटनास्थलमा कोलाहल मच्चियो । गाडीभित्र रहेकाहरु कोही बचाऊ ! बचाऊ ! त कोही रुवाबासी गर्न थाले । दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे । घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे । प्रहरी र स्थानीय नागरिकले उनीहरुको उद्धार गरेका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्का तथा सशस्त्र प्रहरी बल, सिन्धुलीका प्रहरी नायब उपरीक्षक बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धारमा  सघाएका थिए ।  घटनास्थलमै पुग्नुभएका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो । 

साङ्ग्रिला विकास बैंकको एटिएम र गाडी टिकटका आधारमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहचान खुल्यो । अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । 

तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् ।  अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ । गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउनुहुन्छ । हात र कम्मरमा चोट रहेका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उहाँको अस्पतालमा उपचार भइरहेको छ । 

तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडाँैबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप थियो, विस्तारै आयौँ । हेटौँडा बजारमा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि सडक खुला रहेछ, सवारीसाधन त्यत्ति चलेका थिएनन् । चालकले गाडीको गति बढाउनुभयो ।”

उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाउनुभएको थियो । उहाँलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) मा पल्टेको गाडी काठमाडाँैको चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो ।

ब्यूँतियो कालिका देवीलाई खुसी पार्न ‘रोट’ चढाउने प्रचलन

गलकोट (बागलुङ), २२ असोज : कालिका देवीलाई खुसी पार्न ‘रोट’ चढाउने प्रचलन आधुनिकतासँगै हराएको थियो । तयारी मिठाइ तथा नरिवल चढाउने प्रचलन बढेपछि रोट चलाउने प्रचलन हटेको थियो ।

दुई दशक अगाडिसम्म घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने प्रचलन रहेपछि पछिल्लो समय त्यो परम्परा घटेको थियो । बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्ने आउनेहरुले अक्षता र फूलपातीसँग रोट चढाउने चलन क्रमशः हट्न थालेको २० वर्ष हुन थालेपछि पछिल्लो समय कालिका मन्दिरमा तयारी रोट किनेर चढाउन थालिएको पाइएको छ ।

मन्दिर पुगेका अधिकांशले नरिवल र तयारी मिठाइ कालिकालाई चढाउन लगे पनि केही दर्शनार्थीले मन्दिर छेउमै उत्पादन गरिएको तयारी रोट किनेर चढाउन लैजान थालेका छन् । मनोकामना पूरा भए रोट चढाउन आउँछु भनेर भाकल गरेका भक्तजनले घरबाट रोट नलिएर मन्दिर गेटमा तयारी बनेको रोट किनेर लैजाने प्रचलन रहेको छ । एक दशकयता आयातीत प्रसादले रोटलाई विस्थापित गर्ने अवस्थामा पुगेपछि पाँच वर्षयता कालिका मन्दिरमा रोट बनाउने पसल खुलेको छ । 

रोटको प्रसाद चढाउँछु भनेर भाकल गर्नेले पछिल्लो समयमा नरिवल, खसीबोका, परेवा, कुखुरा र हाँसलगायतको बलि दिने चलन बढेर गएको छ । तर विस्थापित भइसकेको रोट चढाउने परम्परा ब्युँताउनका लागि तयारी रोट उत्पादन गर्ने पसल सञ्चालनमा ल्याएपछि मन्दिरमा आउने दर्शनार्थीमध्ये केहीले रोट लगेर चढाउन थालेका छन् । 

पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि रु ५० लाखभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ । कालिका दर्शन गर्न आउने जोकोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले एकाएक चर्चामा आएको छ । कालिका मन्दिरको गेटमै नरिवल बिक्री गरे जस्तै रोट पनि बिक्री हुन थालेपछि यसकाबारेमा चासो मात्र होइन छुटेको परम्परा पुर्नताजगी भएको छ । चामल, ल्वाङ, सुकमेल, नरिवल र शुद्ध घ्युबाट तयार गरिने रोट पछिल्लो समय मन्दिरको गेटमै किन्न पाइने भएपछि सहज भएको छ । 

बागलुङ नगरपालिका–१ रामरेखाका डम्मर मल्ल ठकुरीले पछिल्लो पाँच वर्षदेखि कालिका दर्शन रोट पसल नै सञ्चालन गरेर रोट पकाएर बिक्री गर्दै आउनुभएको छ । कालिका मन्दिरको मण्डपमै चढाइने शुद्ध र चोखो मानिने रोट दर्शनार्थीको आँखै अगाडि बनाइन्छ । फूलप्रसाद र नरिवलसँगै आजभोलि रोट पनि उत्तिकै बिक्री हुने गरेको छ । 

पोहोर सालसम्म बुढापाकाले मात्र रोट किनेर चढाउने गरेको भए पनि यसपटकको नवदुर्गामा भने युवायुवतीले पनि रोट चढाउन लगेको डम्मरले बताउनुभयो । रोट बनाउन सुरु गरेपछिका हरेक वर्ष कालिका भगवती मन्दिरमा रोट चढाउने भक्तजन बढ्दै गएको उहाँको भनाइ छ । 

“रोट चलाउने परम्परा हराइसकेको थियो, घरमा बनाएर ल्याउन भक्तजनलाई समस्यासमेत भएको पाइएको थियो, तर त्यसैलाई मध्यनजर गर्दै तयारी रोट बनाउन थालेको हो”, ठकुरीले भन्नुभयो, “अहिले मन्दिर आउनेमध्ये केहीले रोट खोजेरै चढाउन लैजान्छन् ।” अहिले चामलको पिठोमा चिनी, नरिवल, बदाम, काजुजस्ता वस्तु मिसाएर घ्युमा रोट पकाउने गरिन्छ । व्यापारिक रुपमा बनाइएका रोट चार सयका दरले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

जोखिमपूर्ण तरिकाले छतमा खचाखच यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु (धादिङ), २२ असोज : जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । 

खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर रु २० हजारसम्म जरिवाना गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।  

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढङ्गबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन् ।

केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारेपछि र यात्रुवाहक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई जिपलाई रु २०÷२० हजार जरिवाना गरिएको छ । क्षमताभन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३–०१–०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिनुभयो । चालकसहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जनाभन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ, २२ असोज : आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । 

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन सोमबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । नवरात्रको छैटौँ दिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यस वर्ष भने चौँथी तिथि वृद्धि भई दुई दिनको सूर्योदयकालमा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यीनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ ।

चाडपर्वमा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता

कास्की, २१ असोज : गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ तिहार लगायतका चाडपर्वमा यात्रुहरूसँग नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका छन् । व्यवसायीले चाडपर्वको समयमा तोकिएको भन्दा बढी भाडा नलिने सहमत भएका हुन् ।

प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाबीचको बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट सङ्ख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित छ वटा निर्णय गरेको छ ।

यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दुरीमा चल्ने सवारीसाधनले यात्रु टिकट अनिवार्य काट्नुपर्ने, उपभोक्ताको अधिकारलाई ध्यान दिएर व्यावसायिक मूल्य–मान्यतालाई कायम गर्दै तोकिएको भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात सेवालाई प्रभावकारी बनाउने, यातायात कार्यालयले आआफ्नो कार्यक्षेत्रमा अनुगमन गर्ने निर्णय बैठकले गरेको मन्त्री केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विमानस्थलमा ट्याक्सीले बढी भाडा लिने गुनासोबारे ट्राफिक प्रहरी खटिएरै अनुगमन गर्ने निर्णय भएको छ । उहाँले भन्नुभयो, “विमानस्थलमा ट्याक्सीले धेरै भाडा लिएको गुनासो धेरै छन् । त्यहाँ ट्राफिक प्रहरी खटेर त्यसको अनुगमन गर्नुहुन्छ । चाडपर्वको बहानामा दुःख दिने काम राम्रो होइन । यो समयमा यातायात सेवालाई सहज बनाउनु सरकार मात्र होइन व्यवसायीको पनि दायित्व हो ।”

यसैगरी बाढीपहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने समस्या रहेको र प्रदेश सरकारका संरचना आफ्नो कार्यक्षेत्रभित्र रहेर त्यसलाई समाधान गर्न चाडपर्वको अवधिमा पनि सक्रिय रहन सरकारको ध्यानाकर्षण गरिएको पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिका अध्यक्ष योगन्द्रबहादुर केसीले बताउनुभयो । उहाँले बाढीपहिरो जस्ता दुर्घटनाले पछिल्ला दिनमा बसमा यात्रुको चाप कम रहेको बताउँदै  चालक–सहचालकलाई प्रशिक्षण, समय–समयमा अनुगमन, सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी संयोजक केदार पौडेलले राजमार्गमा खाल्डाखुल्डी धेरै रहेकाले त्यसलाई समाधान गरिदिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । कम जनघनत्व भएका ठाउँमा गाडी चलाउँदा निकै घाटा रहेको भन्दै उहाँले सरकारले सहुलियतको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख एवं प्रहरी उपरीक्षक जनकबहादुर शाहीले लामो दुरीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने बताउनुभयो । “आफूहरुले चालक राखे/नराखेको विषय कडाइका साथ अनुगमन गर्नेछौँ । लामो दुरीमा निस्कनुअघि आफ्ना सवारीमा अनिवार्य यान्त्रिक परीक्षण आवश्यक हुन्छ,” शाहीले भन्नुभयो । सवारीले बढी भाडा लिएर दुःख दिएमा १०३ वा १०० मा फोन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । 

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिएका छन्।

गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० जना नेपालीसहित एक हजार दुईसय जनाले इजरायलमा ज्यान गुमाएका थिए।

आतंकवादी हमलाको शिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मृतिमा काठमाडौंस्थित इजरायली राजदूतावासले सोमबार आयोजना गरेको स्मृतिसभामा उनले आतंकवादका जुनसुकै रुप र त्यसका प्रकटीकरणको नेपाल निन्दा गर्छ भने। उनले जुनसुकै समस्याको समाधान वार्ताका माध्यमबाट खोजिनुपर्नेमा जोड समेत दिए।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हमासको कब्जामा अहिले पनि एक सय एक मानिस रहेका तथा उनीहरूको मुक्तिका लागि हरसम्भव प्रयास भइरहेको जानकारी दिँदै हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधै सम्झने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘तपाईंका सन्तान हाम्रो देशमा अतिथि भएर आउनुभएको थियो, त्यो दुःखद् दिनपछि उहाँहरु इजरायली परिवारका सदस्य हुनुभयो। हामी तपाईँहरुलाई निरन्तर सहयाग गर्छौँ ।’

व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग

दमौली (तनहुँ), २१ असोज : यहाँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । देशभरका विपत्तिमा सहयोग पु-याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले हालै आएको वर्षाबाट प्रभावित नगरपालिकाअन्तर्गत सबै वडाहरुको विवरण सङ्कलन गरी प्रभावित घर, खानेपानी र सडक संरचना पुनःस्थापना गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । 

बैठकले नगर क्षेत्रभित्र बढ्दो डेङ्गीको सङ्क्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परस्पर सद्भाव र सकारात्मक सोचका साथ दसैँ मनाउन आग्रह गरेको छ । 

प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार

काठमाडौँ, २१ असोज : प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारवाहीका लागि प्रहरीमा पठाउँदै आएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो ।

काउन्सिलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन महिनायता हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफ्वाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारवाही तीव्र पारिएको जनाएको थियो ।

गत चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारवाही गर्दै आएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युबसहित विभिन्न अनलाइन सञ्चारमाध्यमलाई भएका कारवाहीबारे जनाइएको छ ।

काउन्सिलले साउन यता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने तीन वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ । त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुनेछन् । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टीभिअन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् । यो आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता भएका छन् भने दुईसय ६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको छ ।

पत्रकारिताको मूल्य मान्यताअनुरुप पत्रकारिता गर्ने उद्देश्यका साथ सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउने उद्देश्यका साथ काउन्सिलले कार्यविधि बनाई काम गर्दै आएको छ । हाल युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासा बढ्दै गएको सन्दर्भमा कार्यविधि बनी नियमन गर्न थालिएको काउन्सिलले जनाएको छ ।

विज्ञप्तिमा मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचासंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने पाँच वटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिइ सचेत गराइएको, अरु पाँच वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको उल्लेख छ । त्यस्तै, चार वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ ।

विधिवतरुपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटकपटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ । त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाइएको छ । विभिन्न खालका कारवाहीमा परेका सबै सञ्चारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ ।

स्रोत प्राप्ति र परिचालनका लागि संयुक्त पहल गर्ने निर्णय

काठमाडौँ, २१ असोज : राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारसम्बन्धी अन्य संवैधानिक आयोगबीच स्रोत प्राप्ति र परिचालनका लागि संयुक्त पहल गर्ने निर्णय भएको छ ।

मानवअधिकार आयोग र अन्य आयोगबीच समन्वय र सहकार्यको सम्बन्धमा नीतिगत कार्य गर्ने उच्चस्तरीय समन्वय समितिको बैठक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष एवं समितिका संयोजक तपबहादुर मगरको संयोजकत्वमा बसेर उक्त निर्णय गरेको हो ।

“बैठकमा स्रोत प्राप्ति र परिचालनका लागि संयुक्त पहल गर्ने, नीतिगत निर्णयका विषयमा साझा धारणा निर्माण गर्ने, आयोगको सिफारिस कार्यान्वयनका लागि सामूहिक पहल गर्ने विषयमा निर्णय भएको छ,” आयोगका प्रवक्त डा टीकाराम पोखरेलद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “आयोगको संरचनात्मक सुधारका लागि अध्ययन गर्ने, कानुनी संशोधनका विषयमा साझा धारणा निर्माण गर्ने, सबै संवैधानिक आयोगको सम्पर्क मन्त्रालय एउटै हुने व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको छ ।”

बैठकमा आयोगले पेश गरेको वार्षिक प्रतिवेदनउपर संसद्मा छलफल हुने व्यवस्थाका लागि पहल गर्ने र आयोगको कर्मचारी दरबन्दीका विषयमा साझा धारणा निर्माण गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मुस्लिम आयोगका अध्यक्ष समिन मियाँ अन्सारी, उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशी, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, मधेशी आयोगका सदस्य जीवछ साह सहभागी हुनुहुन्थ्यो ।

काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी

काठमाडौँ, २१ असोज : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्ककाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो ।

खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो । तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो ।

नेपालले उज्वेकिस्तानसङ पहिलो सेट १९–२५ले गुमायो भने खेलको दोस्रो सेट १४–२५ ले पराजित भयो ।

यस्तै नेपालले तेस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्‍यो । तर, खेलको चौथो सेटमा नेपाल उज्वेकिस्तानसङ १५–२५ ले पछि पर्‍यो । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । हिजो भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो ।

यही असोज २६ गतेसम्म कोलम्बोमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ, २१ असोज : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट रु चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग प्राप्त भएको छ ।

आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट रु एक करोड, प्रभु बैंकबाट रु एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट रु एक करोड, एभरेष्ट बैंक लिबाट रु ५० लाख, प्राइम बैंकबाट रु ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्सबाट रु २५ लाख, प्रमु महालक्ष्मीबाट रु २५ लाख, प्रभु क्यापिटलबाट रु २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट रु १० लाख, इनर्जी ट्रीबाट आठ लाख एकहजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट रु पाँच लाख नौहजार तीनसय ९० गरी जम्मा चार करोड ७९ लाख १० हजार तीन सय ९० उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

धुलिखेल, २१ असोज : गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्राहमा बसेर काम नगर्न आग्रह गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई आज सम्बोधन गर्दै मन्त्री लेखकले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकाले विपद्लाई राजनीतिकरण नगर्न आग्रह गर्नुभयो ।

सबै मिलेर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा परेकालाई राहत दिन सक्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले विपद्का बेलामा सबै मिलेर व्यवस्थित ढङ्गले काम गर्नुपर्छ भन्नुभयो । खोजि र उद्धारको काम निरन्तर चलिरहने बताउँदै उहाँले अहिलेको अवस्था विस्तापित भएका, घर ध्वस्त भएर सुत्ने, खानेपानी, औषधी लुगाफाटोको व्यवस्था हुन नसकेकालाई राहतको व्यवस्था गर्ने चरणमा रहेको बताउनुभयो । “हामी अहिले अत्यावश्यक मानवीय सेवा सञ्चालन गर्नुपर्ने अवस्थामा छौँ,” उहाँले भन्नुभयो, “राहत, अवरुद्ध सडक सञ्चालन गर्ने, दूरसञ्चार सेवा, विद्युत्, स्वास्थ्य सेवालगायतका कामलाई प्राथमिकता दिएर काम गर्न जरुरी छ ।”

वितद् व्यवस्थापनका लागि चार वटा तह रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सङ्घमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सङ्घमा विपद् व्यवस्थापन परिषद् र प्रदेशमा कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र पालिकास्तरमा स्थानीय विपद् व्यवस्थापन समितिले सबैले आ–आफ्नो तहबाट समन्वयकारी भूमिका निर्वाह गरेर समस्याको समाधान गर्ने काम भइरहेको बताउनुभयो ।

विपद्मा परेका परिवारलाई दुई लाख राहत दिने भनेर सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि सम्बन्धीत पालिकाले विवरण उपलब्ध गराएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल वितरण गर्ने र घर पूर्णरुपमा क्षति भएर अर्को बस्नयोग्य घर नभएकालाई स्थानीय तहले पहिचान गरेर सिफारिस गरेर पठाएको आधारमा तीन दिनभित्रमा अस्थायी घर निर्माणको लागि पहिलो किस्ता २५ हजार उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै खाद्यन्नको लागि पाँच जनासम्मको परिवार भएकालाई १५ हजार र त्यसभन्दा बढी भएमा ३० हजार रुपैयाँका दरले उपलब्ध हुने मन्त्री लेखकले जानकारी गराउनुभयो । त्यसका लागि स्थानीय तह, प्रदेश र सङ्घले आ–आफ्नो काम तत्काल गर्न उहाँले निर्देशन दिनुभयो ।

सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने क्रममा काभ्रेपलाञ्चोकका केही पालिकामा मात्रै भएको र अरु पनि पालिका र वडाभित्र मात्रै भएको अवस्थामा त्यसलाई पनि समेट्नु पर्ने माग राखिएकामा मन्त्री लेखकले त्यसलाई प्रमुख जिल्ला अधिकारीबाट सिफारिस गरेर पठाउन आग्रह गर्नुभयो । “अहिलेसम्म जति घोषणा भएका छन्, त्यसबाहेक थप पालिकालाई पनि विवरण प्राप्त भएपछि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सकिने भनेर निर्णय गरेको हुनाले छुटेकालाई प्रक्रियामार्फत आएको खण्डमा त्यसलाई समावेश गरिनेछ,” उहाँले भन्नुभयो । उहाँले खाद्यन्न पुर्‍याउन बाटो नभएका पालिकामा पुर्‍याउनका लागि हेकिप्टरमार्फत व्यवस्थापन हुने जानकारी दिनुभयो । त्यससँगै गर्नुपर्ने क्षेत्रगत काम (विद्युत्, सडक, सञ्चार, खानेपानी र स्वास्थ्य)लाई तीव्रता दिन सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो ।

बैठकमा सङ्घीय सांसद सूर्यमान दोङले विपद्को बेलामा काम गरिरहेको सुरक्षा निकायलाई आवश्यक व्यवस्थापन गर्न नसकिएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवस्थापनको सवालमा कतै बस्ति नै व्यवस्थापन गर्नुपर्ने, सडक सञ्जालको तत्काल व्यवस्था, विद्युत् नभएर सबैजसो पालिका अन्धकारमय भएको सबै काममा सरकार गम्भीर भएर लाग्नुपने बताउनुभयो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सडक, विद्युत्, सञ्चार पूरै बन्द रहेको कारण सबैतवरबाट पालिका खेबरजस्तै भएको बताउनुभयो । सडक सञ्जालको लागि खोपासी–तालढुङ्गा, च्याल्टी–तालढुङ्गा र सुकमफेदी–तालढुङ्गा तीन वटा नै नाका पूर्णरुपमा बन्द रहेकाले समस्याग्रस्त रहेको उहाँले सुनाउनुभयो । खुलेखानी ड्यामबाट बगेको पानीले वाग्मती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा वस्ती पूर्णरूपमा बगाएको, बाढीपहिरोबाट ३० वटाभन्दा बढी खानेपानीको संरचना, तीन सय किलोमिटरभन्दा बढी स्थानीय सडक क्षति, सिँचाइका २५ र विद्यालयको पाँच वटा र लघुजलविद्युत्का साट वटा संरचना ध्वस्त भएको पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गर्नुभयो ।

विपद् क्षेत्रका जनताले दसैँका लागि चामल र चिउराको बन्दोबस्ति गर्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष थिङले स्थिति भयाभह रहेकामा स्थानीय चौकीमा रहेको सुरक्षाकर्मी बाहेक थप सुरक्षा जनशक्ति नपुगेको, जिल्लाका कुनै पनि राजनीतिक नेतृत्व नपुगेको तथा सञ्चार सम्पर्क विहीन भएकाले त्यहाँको तथ्य सूचना अहिलेसम्म आउन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले बिपी राजमार्ग वैकल्पिक बाटोबाट नार्केसम्म पुगे पनि भरपर्दो नभएको र क्षतिको विवरण ल्याउन वल्लो घरदेखि पल्लो घरसम्म जान नसक्ने स्थिति रहेको बताउनुभयो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोक जिल्लालाई पूरै सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री तीर्थबहादुर लामा, कञ्चनचन्द्र बादे श्रेष्ठ, रुक्कु चौलागाई, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष भोला अर्याल, नेकपा (एमाले)का अध्यक्ष राजन भुर्तेललगायतले विपद्का समयमा सरकारले गम्भीर भएर उद्धार, खोज, राहत, अस्थायी बासस्थान तथा पुनःबासको लागि ध्यान दिन आग्रह गर्नुभयो । काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा भइरहेको विपद् व्यवस्थापनको गतिविधि र गरिरहेको प्रगतीको बारेमा जानकारी दिनुभएको थियो ।

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ, २१ असोज : यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उहाँको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित उहाँको परिवारलाई स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।

अविरल वर्षासँगैको पहिरोबाट विस्थापित उहाँको परिवारलाई तत्काल खाने बस्ने व्यवस्था नगरपालिका र वडा कार्यालयले गरेको छ । घरमाथिबाट खसेको पहिरोले ढुङ्गामाटोको तीन तले घरसँगै घरमा भएका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार पूर्णरुपमा विस्थापित भएको हो ।

असोज–१२ गतेको पहिरोले उहाँको जस्तै जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने ३३ परिवार घरबारविहीन भएका छन् । बाढीपहिरोबाट विस्थापित उनीहरुलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गराएको छ तर सधैँ उपलब्ध गराउन सक्ने अवस्था छैन । 

बाढीपहिरो पीडित परिवारका लागि यसवर्षको चाडपर्व खल्लो भएको छ । उनीहरुका लागि सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री उपभोग गरिसकेपछि के खाने, के लाउने भन्ने टुङ्गो छैन । 

बाढीपहिरोले जिल्लामा ठूलो क्षति पु-याएको जिल्ला विपद् व्यवस्थापन समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व लक्षित गरी अवरुद्ध सडकहरु पुनःसञ्चालनमा ल्याउन पहल गरिरहेका छौँ । तर, दसैँअघि सञ्चालनमा आउने सम्भवना कम देखिन्छ । यद्यपि, सम्बन्धित निकायलाई खबरदरी गरिरहेका छौँ ।” 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राजकुमार राईका चार छोरा र दुई छोरी छन् । जेठा छोरा गाईघाट, जेठी छोरी धरान तथा माहिला, कान्छा छोरा र कान्छी छोरी काठमाडौँ बस्छन् । साहिला वैदेशिक रोजगारीमा छन् । उनीहरुमध्ये कान्छोले मात्रै दशैँमा बुबाआमाको हातबाट टीका थाप्न पाउने हुनुभएको छ । कान्छो छोरो प्रदीप असोज–१२ गते अघि नै घर आउनुभएको थियो ।  

सडक तथा पुल बगाएपछि छोराछोरीहरु यस वर्ष चाड मान्न घर आउन नपाएको दीपेन्द्रले बताउनुभयो । बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षति मात्र रु एक करोडभन्दा बढी मूल्य बराबरको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

चाडको समयमा आएको यो वर्षको बाढीपहिरोले जिल्लामा व्यापार/व्यवसायमा असर परेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । “चाडपर्वको अवसरमा करोडौँको व्यापार हुनुपर्ने हो । धेरै मानिस बाटोको कारण आउनै सकेनन् । अधिकांश युवापुस्ता बाहिरी जिल्लामा बसोबास गर्छन् । घरमा बुढापाकामात्र छन्”, उहाँले भन्नुभयो, “सहर गएका छोराछोरी आउन नपाएपछि बुढापाकामा चाडपर्वको उमङ्ग छैन । छोराछोरी घर आउन नपाएपछि बुढापाकाले केका लागि सामान खरिद गरोस् र हाम्रो व्यापार होस् ।” 

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ । 

वर्षाका कारण अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौँ, २१ असोज : खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकारभेटघाटमा उहाँले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई दसैँभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो ।

“काठमाडौँवासी पानीका लागि निकै तड्पिएका छन्, मेलम्चीका नागरिकसँग आग्रह गरेर दसैँ अगाडि काठमाडौँवासीका घरमा पानी पुर्‍याउँछौँ”, मन्त्री यादवले भन्नुभयो, “ विपद्को समयमा सबै नागरिकले एकजुट भएर आफूसँग भएको चिज प्रदान गर्नु नै धर्म हो ।”

काठमाडौँमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीबासीका घरमै पुगेर अनुरोधसमेत गर्ने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीबासीका समस्या के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मसहित सिङ्गो मन्त्रालय तयार छ । मेलम्ची खानेपानीको अवरोध खुलाउन र काठमाडौँका पानी ल्याउन म उहाँहरूको घरैमा पुग्छु ।”

यसैगरी मन्त्री यादवले मेलम्चीका पीडित नागरिकका जायज मागलाई सम्बोधन गराउन आफू हरतरह लागि परेकाले मेलम्चीवासीको मागको सहमति नजिक पुगेको जानकारी दिनुभयो । बाढीपहिरोका कारण पछिल्लो समय मुलुकमा असहज परिस्थिति रहेको भन्दै उहाँले परिस्थिति बुझ्न र काठमाडौँमा पानी पठाउन मेलम्चीवासीसँग आग्रह गर्नुभयो ।

मेलम्चीका स्थानीयवासीले राखेका जायज मागलाई सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने मन्त्री यादवले जानकारी दिनुभयो । सोही क्रममा मन्त्री यादवले केही दिन पहिले आफू दक्षिणकालीका नागरिकका घरैमा पुगेर विन्ती बिसाएपछि ललितपुरमा खानेपानी सहजरूपमा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

मेलम्चीका स्थानीयवासीले विपद्को यस घडीमा काठमडौँमा पानी पठाउने विषयमा अवस्य साथ दिने आशा रहेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले विपद्को घडि छ । यो समय आन्दोलन गर्ने बेला होइन, अहिले भनेको एक अर्कालाई सहयोग गर्ने समय भएकाले मेलम्चीवासीले पानी पठाउन अवस्य सहयोग गर्नुहुन्छ ।”

हालैको अविरल वर्षाका कारण गएको बाढीपहिरोले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको र खानेपानीमा मात्रै करिव साढे रु तीन अर्बको क्षति पुर्‍याएको मन्त्री यादवको भनाइ छ । बाढीकै कारण काठमाडौँका महाङ्काल मैदानमा भएका मेसिनरी वस्तुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्पलगायत मेसिनरी सबै सामान ध्वस्त भएकाले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौँ २१ असोज : महिलाका मुद्दालाई साझा सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को संयुक्त कार्य योजना तयार भएको छ ।

काठमाठौँमा आज आयोजित छलफलमा तीन वटै संस्थाले महिलाका साझा मुद्दामा अभियान सुरु गर्ने जानकारी दिएका छन् । यसै अभियानका क्रममा कात्तिक ९ गते पूर्व सांसदबीच उपत्यका भेला गरिने भएको छ ।

विसं २०६४ सालदेखि अहिलेसम्म निर्वाचित सांसदको उपत्यका भेला गर्ने कार्यतालिका रहेको नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिनुभयो । उहाँले महिलाको सवाल समाजदेखि सदनसम्म बलियो बनाउने अभियानमा राजनीतिक दलका महिला भातृ सङ्गठन एक भएर अभियाननै चलाउन सुरु गरिएको बताउनुभयो ।

माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकार)का अध्यक्ष अमृता थापाले राजनीतिक आस्था र सक्रियता जहाँ भए पनि महिलाका मुद्दा स्थापित गर्न नारी आन्दोलनमा एकरूपता अनिवार्य रहेको सुनाउनुभयो ।

नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घका अध्यक्ष उषा राउतले महिलाका मुद्दामा पार्टीभन्दा माथि उठेर अभियान चलाउनु जरुरी रहेको बताउनुभयो । छलफलमा सहभागी संविधानसभा सदस्य डा विन्दा पाण्डेले कात्तिक ९ गते हुने भेला माथि प्रकाश पार्नुभयो ।

विसं २०६४ साल यता निर्वाचित भएका उपत्यकामा उपलब्ध हुने सांसदको भेला गरेर महिलासँग सम्बन्धीत राजनीतिक, आर्थिक, सामाजिक विषयमा अन्तक्रिया गर्ने बताउनुभयो । उहाँका अनुसार नेपालको महिला आन्दोलनको साझा मुद्दा, निर्वाचनसम्बन्धी एकीकृत कानुन माथि छलफल, निर्वाचनमा महिलाको अवस्था, मिसन २०८४ मा ५० प्रतिशत महिला उम्मेदवारको राजनीतिक उपस्थीति हुनुपर्ने विषयमा सांसदको भूमिका कस्तो हुने भन्ने लगायत मुद्दामाथि छलफल हुनेछ ।

संविधानसभा सदस्य सुनिलबाबु पन्तले महिला आन्दोलनले समाजमा विद्यमान लैङ्गिक असमानता हटाउन सक्ने सम्भावनाबारे बिचार राख्नुभयो ।

इजरायलले ‘नरसंहार’ को मूल्य चुकाउनेछ– एर्दोगान

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमबार हमासले अक्टोबर ७ मा गरेको आक्रमणको जवाफमा भएको युद्धको पहिलो वार्षिकीमा गाजामा भएको ‘नरसंहार’ का लागि इजरायलले मूल्य चुकाउने प्रतिज्ञा गर्नुभएको छ ।

“इजरायलले ढिलो वा चाँडो एक वर्षदेखि गरिरहेको र अझै जारी रहेको यस नरसंहारको मूल्य चकाउनेछ भन्ने भुल्नु हुँदैन”, उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो ।

हमाससहित प्यालेस्टिनी मुद्दाको प्रखर समर्थक एर्दोगानले प्राय इजरायलमाथि हमला गर्नुभयो र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई ‘गाजाका कसाई’ भन्दै नाजी जर्मनीका एडोल्फ हिटलरसँग तुलना गर्नुभयो ।

“जसरी हिटलरलाई मानवताको गठबन्धनले रोकेको थियो, नेतान्याहू र उहाँको हत्या नेटवर्कलाई पनि त्यसरी नै रोकिनेछ’, उहाँले भन्नुभयो, “गाजा नरसंहारको कुनै हिसाब नराखिने संसारमा कहिल्यै शान्ति प्राप्त हुनेछैन ।”

हमासलाई प्राय स्वतन्त्रता सेनानीको रूपमा प्रशंसा गर्ने एर्दोगानले ठिक एक वर्षमा सम्पूर्ण विश्वको आँखा अगाडि जे नरसंहार भएको छ ‘त्यो वास्तवमा सम्पूर्ण मानवता र भविष्यका लागि मानवताको सबै आशाहरू हो’ भन्नुभयो ।

गाजा र अहिले लेबनानमा भएको द्वन्द्व रोक्न अन्तर्राष्ट्रिय प्रणालीको असफलताको पनि आलोचना गर्दै उहाँले भन्नुभयो, “इजरायलको नरसंहार, कब्जा र आक्रमणको नीति अब अन्त्य हुनुपर्छ ।”

पश्चिम बङ्गालमा कोइला खानीमा विस्फोट हुँदा सात जनाको मृत्यु, कैयौँ घाइते

पूर्वी भारतको पश्चिम बङ्गाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट दुई सय १७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गङ्गारामचक माइनिङ प्राइभेट लिमिटेडको कोलरीमा विस्फोट भएको हो ।

प्रहरीका अनुसार डिटोनेटरसहितको ट्रक अनलोडिङका लागि कोलरीमा आउँदा एक्कासि डिटोनेटर विस्फोट भएको थियो ।

“सुरुमा कोइला खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । पछि थप दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ”, एक प्रहरी अधिकारीले भन्नुभयो, “घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो ।”

एम्ब्रोस र ग्यारी रुभ्कन चिकित्सातर्फको नोबेल पुरस्कारबाट सम्मानित

’माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको भूमिकाका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित भएका छन् ।

उनीहरूले एक मिलिमिटर लामो एक प्रकारको जुकामा कोष उत्परिवर्तन किन भयो र कहिले भयो भनेर निर्धारण गर्न अनुसन्धान गरेका थिए ।

सन् १९९३ मा दुई लेखमा प्रत्येक कोषलाई सान्दर्भिक निर्देशनहरू मात्र चयन गर्न अनुमति दिने आनुवंशिक प्रणालीको नियमनसम्बन्धी उनीहरूको आधारभूत निष्कर्ष प्रकाशित भएको थियो।

आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौंदेखि एक महत्वपूर्ण लक्ष्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल (जूरी)ले बताएको छ। यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भयो भने यसले क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोगहरूको जोखिम निम्त्याउन सक्छ।

निर्णायक मण्डलले भनेको छ, “उनीहरूको अभूतपूर्व खोजले आनुवंशिक प्रणालीको नियमनको पूर्ण रूपमा नयाँ सिद्धान्त प्रकट ग¥यो जुन मानवसहित बहुकोशीय जीवहरूको लागि आवश्यक साबित भयो।”

यो जोडीले माइक्रोआरएनए पत्ता लगाउन र जिनको नियमनमा यसको भूमिकाको खोजीमा सहकार्य गरेको थियो ।

७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुनुहुन्छ भने ७२ वर्षीय रुभ्कुन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुनुहुन्छ ।

सन् १८९६ मा वैज्ञानिक अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा स्टकहोममा आयोजित एक औपचारिक समारोहबीच उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी १.१ करोड स्विडिस क्रोन रहेको छ ।

एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम गर्नेछ ।

एडीबीले महाराष्ट्र दिगो जलवायु–प्रतिरोधी तट संरक्षण र व्यवस्थापन परियोजनाले तटीय क्षयीकरण र नदी किनार संरक्षण समाधानहरू गर्ने बताएको छ ।

तटीय चट्टानहरू,समुद्र तट संरक्षण र वृक्ष रोपणको पुनःस्थापना र समुन्द्री तटलाई स्थिर बनाउन आवश्यक कार्य यो परियोजनाको जिम्मेवारी हो ।

बैङ्कले तटीय पूर्वाधार व्यवस्थापन एकाइ स्थापना गरेर तट व्यवस्थापन योजनामा महाराष्ट्र समुद्री बोर्डको क्षमता निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।

यस परियोजनामार्फत् लैङ्गिक समानता र सामाजिक समावेशीकरण, तटीय व्यवस्थापन र जीविकोपार्जनका गतिविधिहरूमा क्षमता निर्माणलाई सहयोग गर्ने जनाइएको छ ।

दोलखामा झगडापछि एक युवकको मृत्यु

दोलखा, २१ असोज : यहाँको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको छ ।

विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो । स्थानीयका अनुसार दुई दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग झगडापछि ठकुरी बिरामी परेका थिए ।

उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकामा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्पतालको प्रारम्भिक ‘एक्सरे रिपोर्ट’मा मृतकको छातिको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

मृतकको शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको छ । ठकुरीसँग झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे अनुसन्धान भइरहेको र शव परीक्षण रिपोर्ट पश्चात मृत्युको कारण खुल्ने प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताउनुभयो ।

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा, २१ असोज : रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बूलगायतका सवारीसाधन दोलखा हुँदै जाने चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ ।

चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुङ्गा–चरिकोट (२२ किमी) कम्तीमा एक घण्टा, चरिकोट–किर्नेटार (३९ किमी) कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट–जिरी (५६ किमी) कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट–सिँगटी (३९ किमी) का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ ।

यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताउनुभयो । खरिढुङ्गा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेल उद्घाटन गर्नुभयो ।

यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुङ्गा मन्थली, सोलुखुम्बूलगायत सवारीसाधन दोलखा हुँदै गुड्न थालेका हुन् ।

नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने

काठमाडौँ, २१ असोज : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उडान गर्ने भएको छ ।

दसैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ उद्धार उडान गर्ने निर्णय गरेको हो । निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रलाई समस्या परेकाबेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उहाँले बताउनुभयो ।

   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने/आउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाई भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो ।

   निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आए.ए. १७ ३३ विमान काठमाडौँबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ । भैरहवाबाट काठमाडौँ उडान नम्बर आर.ए १७४३ १२ः ३० बजे भर्नेछ । यो गन्तव्यमा काठमाडौँ–भैरहवा रु सात हजार र भैरहवा–काठमाडौँ रु तीन हजार आठ सय ९० निर्धारण गरिएको छ ।

प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल

काठमाडौँ, २१ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट क्षमताको विद्युत् उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटोछरितोका रुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रका पूर्वाधार विकास आयोजना कार्यान्वयनमा वन, वातावरण र जग्गा प्राप्तिसँग जोडिएका समस्याको पहिचान गरी समाधानका उपायमाथि विमर्श गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियागत ढिलाइ र नीतिगत अस्पष्टताका कारण तोकिएको समयमा लक्ष्य हासिल नहुने र लागत बढ्ने स्थिति अन्त्य गर्न निर्देशन दिनुभयो । उहाँले उत्पादन बढ्दो रहेको स्थितिमा विद्युत्् व्यापारमा विविधिकरण गर्दै बङ्गलादेशमा बिजुली निर्यात गर्न भारतको ‘डेडिकेटेड ट्रान्समिटर लाइन’ बनाउने र बङ्गलादेश हुँदै अरु मुलुकमा पनि निर्यात गराउने गरी लाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आयोजनाका मुआब्जा र प्रसारणलाइनका विवाद मिलाउन तथा नेपाल विद्युत् प्राधिकरणलाई औचित्यता र कार्यक्षेत्रका आधारमा व्यवस्थितरूपमा सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो । “यस क्षेत्रमा भइरहेको अनियमितता र चलखेललाई राज्यले देखेर पनि कारबाही गर्न नसक्ने स्थिति हुनुहुँदैन । शक्ति वालाले के भन्छ भनेर हाम्रो संयन्त्र चल्ने होइन,”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “शक्ति र बलका आधारमा होइन, नियम, काुनन, समयको माग र मुलुकको आवश्यकतामा चल्नुपर्छ ।”

आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गराई खपत र निर्यात गरी मुलुकलाई वार्षिक रु २ दशमलव ६५ खर्ब आय हुने कार्ययोजनाको लक्ष्य रहेको छ । यसले आठ लाख ६५ हजार एक सय १८ लाई रोजगारी उपलब्ध गराउने प्रक्षेपण गरिएको छ । कार्ययोजना कार्यान्वयनका क्रममा उत्पादन, प्रसारणलाइन र वितरणका लागि करिब ४६ दशमलव पाँच अर्ब अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । हाल मुलुकको विद्युत् क्षमता तीन हजार दुई सय ४३ मेगावाट रहेको छ ।

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा २०७२ फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत्् विकास दसकसम्बन्धी अवधारणापत्र र कार्ययोजना स्वीकृत भई कार्यान्वयनको आएको थियो । सोही कार्ययोजनाको जगमा विसं २०७५ जेठ १ गतेदेखि मुलुक लोडसेडिङमुक्त भएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता – रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको

काठमाडौँ, २१ असोज : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

गाउँगाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको बताउँदै उहाँले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रपति पौडेलले हालै गएको बाढीपहिरोबाट प्रभावितको राहत तथा पुनःनिर्माणका कामलाई तीव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले अहिले देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले दुई ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गर्नुभएको थियो ।

सो क्रममा प्रधानन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराउनुभएको थियो । महासभामा नेपालले समुद्रसतह उठेकोदेखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा विभिन्न महत्त्वपूर्ण ‘साइडलाइन’ वार्ता गरेको पनि जानकारी गराउनुभएको थियो ।

सो भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायतको पनि सहभागीता थियो ।