`

दोलखामा झगडापछि एक युवकको मृत्यु

दोलखा, २१ असोज : यहाँको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको छ ।

विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो । स्थानीयका अनुसार दुई दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग झगडापछि ठकुरी बिरामी परेका थिए ।

उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकामा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्पतालको प्रारम्भिक ‘एक्सरे रिपोर्ट’मा मृतकको छातिको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

मृतकको शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको छ । ठकुरीसँग झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे अनुसन्धान भइरहेको र शव परीक्षण रिपोर्ट पश्चात मृत्युको कारण खुल्ने प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताउनुभयो ।

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा, २१ असोज : रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बूलगायतका सवारीसाधन दोलखा हुँदै जाने चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ ।

चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुङ्गा–चरिकोट (२२ किमी) कम्तीमा एक घण्टा, चरिकोट–किर्नेटार (३९ किमी) कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट–जिरी (५६ किमी) कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट–सिँगटी (३९ किमी) का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ ।

यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताउनुभयो । खरिढुङ्गा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेल उद्घाटन गर्नुभयो ।

यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुङ्गा मन्थली, सोलुखुम्बूलगायत सवारीसाधन दोलखा हुँदै गुड्न थालेका हुन् ।

नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने

काठमाडौँ, २१ असोज : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उडान गर्ने भएको छ ।

दसैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ उद्धार उडान गर्ने निर्णय गरेको हो । निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रलाई समस्या परेकाबेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उहाँले बताउनुभयो ।

   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने/आउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाई भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो ।

   निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आए.ए. १७ ३३ विमान काठमाडौँबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ । भैरहवाबाट काठमाडौँ उडान नम्बर आर.ए १७४३ १२ः ३० बजे भर्नेछ । यो गन्तव्यमा काठमाडौँ–भैरहवा रु सात हजार र भैरहवा–काठमाडौँ रु तीन हजार आठ सय ९० निर्धारण गरिएको छ ।

प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल

काठमाडौँ, २१ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट क्षमताको विद्युत् उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटोछरितोका रुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रका पूर्वाधार विकास आयोजना कार्यान्वयनमा वन, वातावरण र जग्गा प्राप्तिसँग जोडिएका समस्याको पहिचान गरी समाधानका उपायमाथि विमर्श गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियागत ढिलाइ र नीतिगत अस्पष्टताका कारण तोकिएको समयमा लक्ष्य हासिल नहुने र लागत बढ्ने स्थिति अन्त्य गर्न निर्देशन दिनुभयो । उहाँले उत्पादन बढ्दो रहेको स्थितिमा विद्युत्् व्यापारमा विविधिकरण गर्दै बङ्गलादेशमा बिजुली निर्यात गर्न भारतको ‘डेडिकेटेड ट्रान्समिटर लाइन’ बनाउने र बङ्गलादेश हुँदै अरु मुलुकमा पनि निर्यात गराउने गरी लाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आयोजनाका मुआब्जा र प्रसारणलाइनका विवाद मिलाउन तथा नेपाल विद्युत् प्राधिकरणलाई औचित्यता र कार्यक्षेत्रका आधारमा व्यवस्थितरूपमा सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो । “यस क्षेत्रमा भइरहेको अनियमितता र चलखेललाई राज्यले देखेर पनि कारबाही गर्न नसक्ने स्थिति हुनुहुँदैन । शक्ति वालाले के भन्छ भनेर हाम्रो संयन्त्र चल्ने होइन,”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “शक्ति र बलका आधारमा होइन, नियम, काुनन, समयको माग र मुलुकको आवश्यकतामा चल्नुपर्छ ।”

आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गराई खपत र निर्यात गरी मुलुकलाई वार्षिक रु २ दशमलव ६५ खर्ब आय हुने कार्ययोजनाको लक्ष्य रहेको छ । यसले आठ लाख ६५ हजार एक सय १८ लाई रोजगारी उपलब्ध गराउने प्रक्षेपण गरिएको छ । कार्ययोजना कार्यान्वयनका क्रममा उत्पादन, प्रसारणलाइन र वितरणका लागि करिब ४६ दशमलव पाँच अर्ब अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । हाल मुलुकको विद्युत् क्षमता तीन हजार दुई सय ४३ मेगावाट रहेको छ ।

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा २०७२ फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत्् विकास दसकसम्बन्धी अवधारणापत्र र कार्ययोजना स्वीकृत भई कार्यान्वयनको आएको थियो । सोही कार्ययोजनाको जगमा विसं २०७५ जेठ १ गतेदेखि मुलुक लोडसेडिङमुक्त भएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता – रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको

काठमाडौँ, २१ असोज : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

गाउँगाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको बताउँदै उहाँले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रपति पौडेलले हालै गएको बाढीपहिरोबाट प्रभावितको राहत तथा पुनःनिर्माणका कामलाई तीव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले अहिले देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले दुई ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गर्नुभएको थियो ।

सो क्रममा प्रधानन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराउनुभएको थियो । महासभामा नेपालले समुद्रसतह उठेकोदेखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा विभिन्न महत्त्वपूर्ण ‘साइडलाइन’ वार्ता गरेको पनि जानकारी गराउनुभएको थियो ।

सो भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायतको पनि सहभागीता थियो ।

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो, १८ जना बेपत्ता

काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ । 

नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सोमबारसम्म  एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको छ ।

एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाममा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ ।

आपतकालीन राहत, पुनःनिर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनःनिर्माणलाई गति दिन निर्देशन दिएको प्रवक्ता तिवारीले  बताए ।

विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद  र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

नवरात्र सुरु भएसँगै वारि सुनसान, पारि भीडभाड

वीरगञ्ज (पर्सा), २१ असोजःनवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ ।

सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’हरू सुनसानजस्तै देखिन्छन् । वीरगञ्ज महानगरपालिका–९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमा भन्दा रक्सोल बजारमा २० देखि ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायःजसो सबै उतै खरिद गर्न जाने बताउनुहुन्छ ।

“वीरगञ्जमा भन्दा रक्सोलमा खाद्यान्नदेखि लत्ताकपडा सस्तो हुने भएकाले उतै जाने गर्छाैँ, यहाँ त गाह्रोसारो परेका बेलामात्र हो किनमेल गर्ने त”, उहाँले भन्नुभयो । वीरगञ्जमा भन्दा सीमावर्ती बजार रक्सोलमा खाद्यान्न र लत्ताकपडालगायत सामान सस्तो मूल्यमा पाइने भएकाले पनि यहाँको बजारमा खासै चहलपहल देखिन्न ।

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता चाडपर्वका बेलामा पनि वीरगञ्जको भन्दा रक्सोलको सीमावर्ती बजारमा नै भीडभाड हुने बताउनुहुन्छ । “यहाँका अधिकांश सर्वसाधारण खाद्यान्न र लत्ताकपडालगायत सामान खरिद गर्न रक्सोल जाने गर्छन्”, उहाँले भन्नुभयो, “वीरगञ्जमा भन्दा सस्तो मूल्यमा पाइने भएकाले पनि रक्सोल सधैँ गुल्जार भइरहने, वीरगञ्ज भने सुनसानजस्तै हुने परिपाटीको विकास हुँदै आइरहेको छ ।”

केन्द्रीय सदस्य गुप्ता सरकारले भारतबाट आयातित वस्तुमा अत्यधिक मात्रामा कर लगाउँदा पनि अवैध ढङ्गले चोरी, तस्करी गरेर सामान भित्रिने प्रवृत्ति बढेको बताउनुहुन्छ । “खुला सीमाको कारणले एकातर्फ क्यारिङ गरेर भन्सार छली गरेर सामान भित्र्याउने प्रवृत्ति पनि रोकिएको छैन । अर्कातर्फ सीमावर्ती बजारबाट सर्वसाधारणले दैनिक उपभोग्य सामान पनि खरिद गर्दै आइरहेका छन्”, उहाँले भन्नुभयो, “सरकारले भन्सार महसुलदर सीमावर्ती बजारभन्दा १०–१५ प्रतिशतमात्र फरक गराउने हो भने अवैध रूपमा भित्रिने वस्तु तथा सामानको आयात रोक्न सकिन्थ्यो ।”

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा सामानबाहेक अन्य वस्तु तथा सामान ल्याउन कडाइ गर्दै आइरहेको दाबी गर्नुभयो । “पहिलाभन्दा अहिले धेरै सुधार भइसकेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो डेढ महिना क्यारिङबाट सामान ओसारपसार गर्नेमा कमी आएको छ ।”

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा रु ४३ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् रु ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व सङ्कलन भइसकेको छ । असोजभरिमा रु १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा असोज १५ गतेसम्मको अवधिमा भने रु छ अर्ब ९५ करोड राजस्व सङ्कलन भइसकेको छ ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई असोजका लागि मात्र रु चार अर्ब ८३ करोड २० लाख ४८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । तर असोजका १५ दिनका अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले दसैँमा विदेशी मदिराजन्य पदार्थको आयात भएसँगै राजस्व सङ्कलन उत्साहजनक रहेको बताउनुभयो ।

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

मुग्लिन (चितवन), २१ असोजः वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुग्नुभएका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गर्नुभयो । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उहाँको गुनासो छ । घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी हुनुभयो, त्यत्ति नै थकित पनि देखिनुहुन्थ्यो । सञ्चरीमायामात्र होइन इच्छाकामना –३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिनुभयो ।

कुरिनटारमै रहेको अर्काे प्रभु बैकमा पनि आइतबार उस्तै भीड थियो । वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहनुभएको थियो । बिहानैदेखि आएर कागजपत्र बुझाउनुभएका इच्छाकामना २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउसो भत्ता रकम लिन पाउनुभएन । बैंकमा सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भीड थियो ।

माछापुच्छ«े बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आउनुभएका इच्छाकामना – १ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताउनुभयो । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उहाँको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने माग गर्नुभयो ।

इच्छाकामना वडा नं १ र २ बाट कुरिनटारमा रहेको बैंकसम्म गाडी रिजर्भ गरेर भत्ता लिन आएको उहाँले बताउनुभयो । आवतजावत गर्न जनही रु सात सय गाडी भाडामा मात्र खर्च हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “झण्डै तीन घण्टाको बाटो गाडी रिजर्भ गरेर यहाँ भत्ता रकम लिन वृद्धवृद्धा आउनुभएको छ, भाडामात्र रु सात सय लाग्छ, वडामै भत्ता वितरण गरेको भए उक्त रकम बच्ने र यहाँ आएर यसरी लाइन बस्नुपर्नेे थिएन ।”

इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन ।” अशक्तहरूका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप सहज बनाउन बैंकसँग छलफल गर्नेे बताउनुभयो ।

माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गर्नुभयो । उहाँले वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बैंकसम्म आउन नसक्नेलाई वडाको सिफारिसमा हकवालाले भत्ता रकम बुझ्न पाउने व्यवस्था गरेका छौँ, दसैँका बेला भएकाले सबै वृद्धवृद्धा एकैपटक आउँदा केही समस्या भएको हो ।” यो समयमा अन्य सेवाग्राहीको समेत भीड लाग्ने गरेकाले केही असहज भएको उहाँको भनाइ छ ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताउनुभयो । गाउँपालिकाले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ । इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती व्यहोर्दै आइरहनुभएको छ । सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने यहाँका ज्येष्ठ नागरिकहरूको माग छ ।

आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै

काठमाडौँ, २१ असोजः देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छभने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ । ती प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ ।

यसैगरी आज राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ती प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै , हवाई टिकट पाउन मुस्किल

काठमाडौँ, २१ असोज : बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।

दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् ।

दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दसैँको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौँ बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन् । कति नरमाइलो लागेको छ”, दसैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् ।

यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौँबाट अछाम जानका लागि काठमाडौँको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्ष दिनको चाड घर जानैपर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदैछु”, उहाँजस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य भएका छन् ।

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा, २१ असोज : प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो ।

पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुङ्गा छापिएका हुन्थे । सबैका आँगनको पर्खाल एउटै स्वरुपका ढुङ्गाले उठाइएका हुन्थे । बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए । तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ ।

विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुङ्गाका अधिकांश घर एकै झट्कामा भत्काइदियो । घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन् । ढुङ्गाले बनेका घर भुकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा प-यो ।

उनीहरुले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए । परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घले बताउनुहुन्छ । ‘‘बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लाग्यो । पुरानो घरको मौलिकतालाई सम्झिरहेका छौँ, तै पनि हामीसँग कुनै विकल्प भएन’’, उहाँ भन्नुहुन्छ ।

अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ । ‘‘भौगोलिक बनावटअनुसार स्थानीयस्तरमा पाइने सामग्रीबाट बनेको घर नै उपयुक्त हुने रहने छ भन्ने लाग्छ । आधुनिक घर चिसो हुँदा स्वास्थ्यमा असर परेको अनुभूति छ,’’ घलेले भन्नुभयो । 

भूकम्पको कहाली लाग्दो क्षति सम्झँदा कतिपयलाई त्यतिबेला अहिलेको जस्तो पक्की घर भइदिएको भए धेरैले ज्यान गुमाउनपर्ने थिएन की भन्ने लाग्छ । अर्का स्थानीयवासी सुकबहादुर गुरुङ भन्नुहुन्छ, ‘‘भूकम्पका बेला अहिले जस्तो पक्की घर भए धेरैको ज्यान बच्ने थियो कि । मौलिकताभन्दा सुरक्षित हुने घर नै राम्रो होला ।’’

भूकम्पपछि बारपाकमा निजी घर पुनःनिर्माण सकिएको छ । छिटपुट बाहेकले परम्परागत घर बनाएका छैनन् । थोरैले बनाए पनि ढुङ्गाको छानोको सट्टा टिनको छानो राखेका छन् । भूकम्पले बारपाकको मौलिकता र चिनारी खोसेको छ । 

पुरानो शैलीका घरमा अगाडि र पछाडि दुवैतर्फ आँगन थिए । भुइँ तल्लाको बीच भागमा अँगेना हुन्थे । अहिले बनेका सिमेन्टका घरमा चुल्हो कहाँ राख्ने भन्ने नै निश्चित छैन । परम्परागत घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने बुझाउन नसक्दा बारपाकलाई पुरानै शैलीमा पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयको मत छ । 

पुनःनिर्माणका क्रममा मौलिकता जोगाउने ठोस योजना नबन्दा समस्या भएको बारपाक सुलिकोट गाउँपालिका–१, का वडाध्यक्ष धनबहादुर घले बताउनुहुन्छ । ‘‘बाउबाजेले स्थापना गरेको पुरानो डिजाइनको घरहरु जोगाउन सकेनाँै । भूकम्पपछि परिवर्तनसँगै चल्नुपर्छ भन्ने धेरैको कुरा भयो । कतिपयले पुराना चिनारी जोगाउनुपर्छ नभनेका होइनन् तर पुनःनिर्माण गर्दा मौलिक चिनारी बचाउन सकिएन’’, उहाँले भन्नुभयो । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँगको समन्वयमा बारपाकलाई पुरानै शैलीमा फर्काउन प्रयास गरिएपनि सफल हुन सकेन । वडाध्यक्ष घले भन्नुहुन्छ, ‘‘बारपाकमा पुराना डिजाइनका घर कहीँ छैन् । अब बारपाक परम्परागत बारपाक रहेन । अब सार्वजनिक ठाउँमा संरचना निर्माण गर्दा पुरानै मोडलमा निर्माण गर्ने योजना छ ।’’

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले ढुङ्गाको पुराना घर नबने पनि बारपाकको सुन्दरता नहराएको बताउनुभयो । ‘‘बारपाकले नयाँ स्वरुप र सुन्दरता पाएको छ, पुराना शैलीका घर नबने पनि पुनः निर्माणले यहाँको सौन्र्दयता बढाएको छ । थुप्रै पर्यटकीय आर्कषणले साँच्चै बारपाक सिँगारिएको छ’’, उहाँले भन्नुभयो । 

बारपाक लाहुरेहरुको गाउँ हो । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ । 

विष्णु खत्रीको ‘दसैँ आइसक्यो’ सार्वजनिक

काठमाडौँ, २१ असोज : आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन
तिरेरै गाछैन पोहोर सालकै ऋण
दसैँ आइसक्यो,
रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो । यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ‘दसैँ आइसक्यो’ गीत सार्वजनिक गर्नुभएको छ । गीतमा गरिबीका कारण दसैँ मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको छ ।

विष्णु खत्री नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने लय÷शब्द स्वयं गायक खत्रीकै छ । गीतको सङ्गीत संयोजन कृष्ण विकले गर्नुभएको छ ।  

गायक खत्रीले यस अघिका दसैँहरुमा ‘दसैँमा आउ प्यारा’, ‘दसैँ तिहार आउँदा’, ‘सुनको जलप’, ‘माया अपार’, ‘रिनै रिनको’, ‘मेरो यस्तै चाल छ’, ‘दसैँ तिहार गाउँमा’ र ‘चचहुई’ लगायतका दसैँसम्बन्धी लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको थियो । 

आज बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ, २१ असोज – दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

 सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । 

 ‘कर्मशील युवा ः समुन्नत सहर’ नाराका साथ यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको विश्व बसोवास दिवस २०८१ मूल तयारी समितिले जनाएको छ । यस अवसरमा आज सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

दिगो विकास लक्ष्यको लक्ष्य एक दशमलव एकले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ । दिगो सहरीकरण र समृद्ध अर्थतन्त्रलाई मूलमन्त्र मानेर मन्त्रालय तथा विभागले सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, सहरी करिडोर आयोजना, नयाँ सहर आयोजनामार्फत विभिन्न स्थानीय तहमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु कार्यान्वयन गर्दै आएका  छन् । त्यसै क्रममा यस वर्षको नाराले समुन्नत सहर निर्माणमा कर्मशील युवा वर्गलाई जागरुक बनाउने विषय अघि सारेको छ ।

दिवसका अवसरमा आज यस क्षेत्रका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला आयोजना गरिएको विभागले जनाएको छ । यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले विविध कार्यक्रम आयोजना गरेको दिवस मूल समारोह समितिले जनाएको छ । यस वर्षको नारामा आधारित रही सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल कार्यक्रम आयोजना हुने जनाइएको छ ।

 राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालका नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ । समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदान ७६ दशमलव एक प्रतिशत रहेको विभागले जनाएको छ ।

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी, २१ असोजः गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ ।

सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताउनुभयो ।

“जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।”

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुुकसाम्बामा बेलीब्रिज बनाउन चालुु आर्थिक वर्षमा रु ८५ लाख विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीनवटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन स्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताउनुुभयो ।

सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । रु २२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताउनुभयो ।

“हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्”, उहाँले भन्नुभयो, “छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चाँैरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन् ।” डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ ।

सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडासदस्य छिरिङपासाङ गुरुङले बताउनुभयो । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।

बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काभ्रेपलाञ्चोक, २१ असोजः गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।

आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताउनुभयो । उहाँका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो ।

बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताउनुभयो । उहाँका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले बताउनुभयो ।

पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । “हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ”, उहाँले भन्नुभयो । उहाँले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताउनुभयो ।

संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताउनुभयो ।

गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्यामध्ये ३१ दशमलव ५६ प्रतिशत हो । तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

बिरिङ खोला किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

बनियानी (झापा-झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए । उनको खोजी गर्ने क्रममा कङ्काल भेटिएको हो ।    प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई नियन्त्रणमा लिएको छ । 

बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी पहिराबाट सिन्धुपाल्चोकमा बस्ती, खानेपानी र सडकलगायत पूर्वाधारमा ठूलो क्षति

चौतारा (सिन्धुपाल्चोक),- गत असोज ११ र १२ गतेको अविरल वर्षाले सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ । यहाँ विपद्मा परी १३ जनाले न्यान गुमाएका छन् भने सबै मुख्य, सहायक र ग्रामीण सडक क्षतिग्रस्त भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिकाअनुसार यहाँ कृषकले लगाएको बालीनालीको क्षतिको विवरण सङ्कलनको काम तत्काल अगाडि बढाउने र गुठीको जग्गामा लगाएको अन्नबालीमा क्षति पुगेकाले यस वर्षको कुत मिनाहा गर्न अनुरोधसहित सिफारिस गर्ने निर्णय भएको छ ।

बाढीपहिरोबाट जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकाका सबै सडक पूर्ण अवरुद्ध भएकामा हाल मर्मसम्भारपछि आंशिक रूपमा सञ्चालनमा आएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाका अधिकांश बस्ती जोखिममा छन्भने वडा नं १, २ र ३ मा अझै सडक सञ्चालन हुन सकेको छैन ।

सुनकोशी गाउँपालिका क्षेत्रमा रहेको सिन्धु विच रिसोर्ट पूर्ण क्षति भएको छभने तीनजनाले ज्यान गुमाएका छन् । यहाँ १३ घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय सडकहरु आंशिक सञ्चालनमा ल्याइए पनि पूर्व सञ्चालनको प्रयास जारी छ । गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले  विस्थापितका लागि राहत सामग्री र जोखिममा रहेकालाई त्रिपाल वितरण गरिएको बताउनुभयो । 

यस्तै, बलेफी गाउँपालिकामा बाढी पहिरोबाट २७ घर प्रभावित बनेका गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङ जानकारी दिनुभयो । उहाँका अनुसार आनन्द माध्यमिक विद्यालयमा आंशिक र वडा नं ३ जाने सडकमा पूर्ण क्षति भएको छ । अँधेरी-मांखासहित पालिकाभित्रका मुख्य सडक अवरुद्ध छन् । वडा नं ४ को तल्लागाउँमा पाँच घर र वडा नं ५ को लामाचौरका १० घर अझै उच्च जोखिममा रहेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकामा पनि सबै वडामा सडक सञ्चालनको प्रयास भइरहेको उपप्रमुख सीता थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बन्देउ–चौतारा सडक बाढी पहिरोपछिको ४८ घण्टाभित्र सञ्चालनमा आएको र अन्य सडक सञ्चालनको प्रयास जारी रहेको छ । यहाँ ६० परिवार विस्थापित भएका छन्भने पाँच सय सात परिवार प्रभावित भएका छन् । १५ वटा सरकारी संरचनामा क्षति पुगेको छ । १७ सामुदायिक भवन र एक हजार ६१३ रोपनी कृषि क्षेत्रमा क्षति पुगेको छ । ५९ पशुचौपाया मरेका छन् । ६१ वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । चार सय ९८ घरधुरीमा खानेपानीको लाइन विच्छेद भएको उपप्रमुख थापाले बताउनुभयो ।

जिल्लामै सबैभन्दा बढी मानवीय क्षति भएको जुगलमा भौतिक क्षति पनि उत्तिकै भएको गाउँपालिका अध्यक्ष रेशम स्याङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ दुई झोलुङ्गे पुलमा पूर्ण क्षति भएको छभने दुईवटा जोखिममा रहेका छन् । विस्थापितका लागि तत्काल राहत सामग्री, खाद्यान्न र मृतकका लागि राहत उपलब्ध गराइएको छ ।

इन्द्रवती गाउँपालिका अध्यक्ष झम्क नेपाल पालिका क्षेत्रमा ४० घरमा पूर्ण क्षति र ९३ घर उच्च जोखिममा र आठ घरमा आंशिक क्षति पुगेको बताउनुहुन्छ । तीमध्ये २४ परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । यहाँ एक हजार ४०० रोपनी अन्नबाली लगाएको जमिनमा क्षति पुगेको, २१ सिँचाइ आयोजना, २६ खानेपानी परियोजना र आठ सामुदायिक संरचनामा क्षति पुगेको अध्यक्ष नेपालले बताउनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो नगर क्षेत्रमा २२ घरमा पूर्ण, ३५ घरमा आंशिक क्षति पुगेको बताउनुभयो । यहाँस्थित फट्टेको बस्ती सार्नुपर्ने अवस्थामा रहेको उहाँको भनाइ छ । यस्तै, यहाँ २८ खानेपानी आयोजना, १७ सिँचाइ कुलो, चार गोठ र तीन विद्यालयमा बाढीपहिराले क्षति पु¥याएको छ । मेलम्ची–काठमाडाँै, मेलम्ची–हेलम्बु र मेलम्ची–पाँचपोखरी सडक पूर्ण सञ्चालनमा आउन नसकेको अध्यक्ष तामाङले बताउनुभयो ।

पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले पालिकामा गत असार ३० गतेको बाढीले व्यापक क्षति पु¥याएको र हालैको बाढीपहिरोले थप समस्या सिर्जना गरेको बताउनुभयो । उहाँका अनुसार यहाँ २४ परिवार विस्थापित भएका छन् । नदी तटीय क्षेत्रमा रहेका सात बस्तीका एक सय ३५ परिवार उच्च जोखिममा रहेका छन् । नगर क्षेत्रमा यसअघि नै एक सय ८४ पुनःनिर्माण लाभग्राही रहे पनि पुनःस्थापना गर्न नसकिएको अवस्थामा फेरि प्रभावित परिवारको सङ्ख्या थपिएकाले निकै समस्या भएको अध्यक्ष ह्योल्मोको भनाइ छ । “हाम्रो नगर क्षेत्रमा दुई पानीघट्ट, एक हजार ६०० रोपनी खेतीयोग्य जमिन, दुई निर्माणाधीन पक्की पुलसहित रु ७९ लाख बराबरको अन्नबालीमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो,“पाँच झोलुङ्गे पुल, विभिन्न ठाउँमा गरी चार किलोमिटर सडक, तीन विद्यालय, दुई खानेपानी आयोजनामा गत असार ३० गतेको बाढीले क्षति पु¥याएको र पुनः निर्माणका क्रममा असोज १३ गते पुनः क्षति भएको छ ।”

एक सातादेखि अवरुद्ध हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी

ताप्लेजुङ- एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भएको छ । गत शनिबारको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यातायात अवरुद्ध छ ।

सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ‘ह्युम पाइप’ प्राप्त गरी शनिबार बिहानैदेखि काम भइरहेको छ । यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जानआउन सर्वसाधारणलाई सास्ती भएको छभने ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने भक्तजनको सङ्ख्या घटेको छ । गत वर्ष पनि बाढीले यहाँको पक्की पुल बगाएको थियो । त्यसपछि सडक विभागले बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन गरेको थियो ।

पाँचथरको फिदिम नगरपालिका र सुरक्षा निकायले फड्के निर्माण गरेर पैदल यात्राका लागि बाटो खोलेका छन् । यातायात अवरुद्ध हुँदा सबैभन्दा धेरै ताप्लेजुङको जनजीवन प्रभावित भएकाले तत्काल यातायात सञ्चालन गर्न पाँचथरसहित सम्बन्धित निकायसँग सहकार्य र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । 

ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान गर्न माग

काठमाडौँ-ब्रिटिश गोर्खा भूतपूर्व सैनिक सङ्गठन (बिगेसो) ले ब्रिटिस गोर्खा सैनिकले भोग्दै आएको समस्या समाधान गर्न माग गरेको छ ।सो सङ्गठनले पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेको हो ।

२० महिना अघि सर्वोच्च अदालतले अन्यायपूर्ण प्रावधान हटाएर अरु सैनिक सरह समान सेवा सुविधा दिलाउन नेपाल सरकारले पहल तथा कार्यान्वयन गर्न आदेश दिएको थियो । सङ्गठनका अध्यक्ष पदमसुन्दर लिम्बूले आफूहरुले अदालतको आदेश कार्यान्वयनका लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । उहाँले यो विषय देशको राष्ट्रिय स्वाधीनता र मानव अधिकारसँग सम्बन्धित भएको उल्लेख गर्नुभयो ।

सङ्गठनका प्रमुख सल्लाहकार परी थापाले भन्नुभयो, “हामीले नेपालका सम्बन्धित निकायदेखि राष्ट्रिय मानवअधिकार आयोग समक्ष पनि अदालतको आदेश तथा सैनिकहरुको समस्याबारे जानकारी दिइसकेका छौँ ।” अधिवक्ता फडिन्द्र कार्कीले फैसला कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशीहरुले नेपालीलाई जे गरेपनि हुन्छ भन्ने सोच राख्नु गलत हुने बताउँदै भन्नुभयो, “नेपालको सर्वोच्च अदालतले राम्रो फैसला गरेको छ त्यसलाई कार्यान्वयन गराउन हामी अन्तर्राष्ट्रिय निकायमा जान बाध्य हुनेछौँ ।” 

उर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र उर्जा सचिव सुरेश आचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुलुकको उर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी बनाउन उर्जा मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता भएको हो ।

 सम्झौता कार्यक्रममा उर्जामन्त्री खड्काले केही आयोजना ढिलो निर्माण हुँदा राज्यले ठूलो नोक्सानी व्यहोर्नु परिरहेकाले समयमै आयोजना सम्पन्न गर्न सबै आयोजना प्रमुखले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले उर्जा क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय आम जनतामाझ बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

 “केही व्यक्तिमात्र सक्षम भएर मुलुकको विकास हुँदैन, तल्लो तहका मानिसलाई धनी हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,” मन्त्री खड्काले भन्नुभयो ।

  उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले देश विकासका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको महत्त्वपूर्ण भूमिका भएकाले इमानदार भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले विपद्को सामना गरिरहेको मुलुकलाई समृद्ध बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।

  मन्त्रालयका सचिव सुरेश आचार्यले उर्जा क्षेत्रको विकासका लागि तत्काल र दीर्घकालीन योजनालाई बुँदागत रुपमा कार्यान्वयनमा लैैजानुपर्ने बताउनुभयो । सम्झौतामा उर्जा क्षेत्रको विकासका लागि बाधक ऐन कानूनलाई समयानुकुल परिमार्जन गर्दै आयोजनालाई समयमै सम्पन्न गर्ने विषय समावेश गरिएको सचिव आचार्यले जानकारी दिनुभयो ।

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

दोधारा चाँदनी (कञ्चनपुर)- कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उहाँको अवस्था भने अझै अज्ञात छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा पर्नुभएको हो । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन हुनुभएको थियो ।

उहाँको खोजीका लागि इजरायलस्थित नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । भाईको अवस्था पत्ता नलाग्दा आफ्नो परिवार विक्षिप्त बनेको उहाँका दाइ किशोर जोशीले बताउनुभयो । “हामीले पटक पटक मन्त्री, प्रधानमन्त्रीलाई भेटेरै भाईको अवस्था पत्ता लगाइदिन आग्रह गरेका छौँ तर हालसम्म प्रगति भएको छैन”, उहाँले भन्नुभयो ।

नेपाल विद्यार्थीसँग कञ्चनपुरले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विपिनको खोजीकार्य चाँडो गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सङ्घका केन्द्रीय सदस्य इन्द्र साउँदले उहाँको परिवार विपिन आउने आशामा बसेकाले यथाशीघ्र खोजी गरिदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो । ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी सापकोटाले ज्ञापनपत्र यथाशीघ्र प्रधानमन्त्री कार्यालय पठाउने जानकारी दिनुभयो ।–––

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौँ, २१ असोज : हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।

उनीहरुले यही  असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिइ जानुभएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिनुभयो  । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बिएमएस) मा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन् । उक्त तहको पाठ्यक्रमअनुसार विद्यार्थीहरुले हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘¥यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, उद्धारलगायतका सीप सिकेका छन् ।

प्रत्येक विद्यार्थीले फरक–फरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन् । मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन सुरु हुने चरणदेखि, हिमाल आरोहणमा प्रयोग हुने सामग्रीको परीक्षण, ‘लिभ नो ट्रेस’, ‘ट्रेल’ मा रहेको फोहोरको अवस्था तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) को भूमिका, आरोहणको क्रममा हुने ‘बडि वेट लस’, थोरङ हिमचुलीको हिउँको अवस्था, गाँसवास व्यवस्थापन तथा थोरङ हिमचुलीको ‘प्रोफाइलिङ’ सम्पन्न गरिएको उक्त प्रयोगात्मक आरोहणका प्रमुख प्रशिक्षक शेर्पाले जानकारी दिनुभयो । आरोहणमा पेम्बासँगै अर्का प्रशिक्षक नरबहादुर अस्थानीसमेत सहभागी हुनुहुन्थ्यो ।

पिक प्रोमोसन प्रालि नामक कम्पनीले गाँसवास तथा आरोहण अनुसन्धानको व्यवस्थापनको जिम्मा लिएको थियो । उक्त कम्पनीका प्रबन्ध निर्देशक आङबाबू शेर्पाले विद्यार्थीले गरेको यो अध्ययन आरोहण ऐतिहासिक भएको प्रतिक्रिया दिनुभयो । 

‘प्लस टु’ पछि पढ्न पाइने बिएमएस अर्थात ‘ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ का विद्यार्थीहरुले पढाइ सक्ने वित्तिकै रोजगारी पाउने गरेको र हाल ९० प्रतिशत रोजगार रहेको एकेडेमीले जनाएको छ । हाल बिएमएस तहमा विभिन्न ट्रेकिङ कम्पनीमा कार्यरत, इन्जिनियर र चार जना पाइलटसमेत अध्ययनरत छन् । 

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौँ, २१ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ एक पैसा र बिक्रीदर नौ रुपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ पाँच पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काठमाडौँ, २१ असोज : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।

 आज बिहान ०६ ः १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । 
घटस्थापनादेखि आज

पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

 दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ ।

बोस्नियामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु, दर्जनौँ घाइते

बोस्निया र हर्जगोभिनामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएको अल जजिराले शनिबार जनाएको छ ।
हर्जेगोविना–नेरेत्वा क्यान्टन सरकारका प्रवक्ता डार्को जुकाले जबलानिका क्षेत्रमा आएको बाढी र पहिरमा परी १३ जनाको मृत्यु भएको शनिबार पुष्टि गर्नुभएको हो ।

रातभरको निरन्तर वर्षाले शनिबार उद्धार कार्यमा अवरोध भएको बोस्नियाली सञ्चारमाध्यमले जनाएको छ । अचानक आएको बाढीपहिरोबाट बच्न मानिसहरुसँग आफ्नो घरबाट बाहिर निस्कने समय समेत नभएको अल जजिराले उल्लेख गरेको छ ।

आकस्मिक बाढीले देशभर व्यापक प्रभाव पारेको छ। बोस्नियाको केन्द्रीय निर्वाचन आयोगले प्रभावित नगरपालिकामा सप्ताहन्तका लागि निर्धारित स्थानीय चुनाव स्थगित गर्ने निर्णय गरेको छ, तर अन्य स्थानहरूमा मतदान जारी राख्ने निर्णय गरेको छ । वैज्ञानिकका अनुसार बोस्नियाको सुख्खा जमिनले बाढीको पानी अवशोषणमा बाधा पुर्याएको अल जजिराले उल्लेख गरेको छ ।

खुर्कोटमा नेपाली सेनाद्धारा बेलिबृज जडान सुरु

काठमाडौँ, २० असोज : सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्काेटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ ।

सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय  मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो । सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ । पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ ।

एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश

फ्रान्सबाट बेलायत जाने प्रयासमा एकैदिनमा ९ सय ७३ आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरेका छन् भने यात्राको क्रममा अन्य चार जनाको मृत्यु भएको बेलायतको गृह मन्त्रालयले आइतबार जनाएको छ । मन्त्रालयद्वारा शनिबार प्रकाशित तथ्याङ्क यस वर्षको एकैदिनमा च्यानल पार गर्ने आप्रवासीको सबैभन्दा बढी सङ्ख्या हो ।

गैरकानुनी रुपमा बेलायत प्रवेश गर्नका लागि ओभरलोड डुङ्गामा खतरनाक यात्रा गर्दा दुर्घटना भई दुई वर्षीय बालक र तीन वयस्कको मृत्यु भएको हो ।

यो घटनापछि यस वर्ष च्यानल पार गर्ने प्रयासमा मृत्यु हुने आप्रवासीको सङ्ख्या ५१ पुगेको पास–डे–क्यालाइस क्षेत्रका लागि फ्रान्सेली अधिकारी ज्याक बिलान्टले बताउनुभयो ।

बेलायतको गृह मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा २६ हजार ६०० भन्दा बढी आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरिसकेका छन् ।

बेलायतका गृहमन्त्री यभेट कुपरले शनिबार गैरकानुनी रुपमा च्यानल पार गर्ने क्रममा धेरै मानिसहरूले ज्यान गुमाइसकेको बताउनुभयो । “आपराधिक तस्करहरुको गिरोहले यस्ता जोखिमपूर्ण यात्रा आयोजना गर्छन“, उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको थियो, “मानिसहरू बाँच्छन् वा मर्छन् भन्ने कुराले उनीहरुलाई कुनै फरक पर्दैन ।”

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

काठमाडौँ, २० असोज : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट रु पाँच करोड हस्तान्तरण भएको छ ।

यसैगरी नेपाल बैङ्क लिमिटेडबाट रु दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु एक करोड, एनएमबी बैङ्कबाट रु ५१ लाख, नेपाली कांग्रेसबाट रु ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रु ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

‘मिडियाको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्छ’ : पूर्वमन्त्री डा महत

त्रिशूली (नुवाकोट), २० असोजः नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले आमसञ्चारमाध्यमको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

नुवाकोटको बट्टारस्थित नुवाकोट एफएमको वार्षिकोत्सव कार्यक्रममा आज उहाँले सामाजिक सञ्जालको भीडमा जनतालाई भ्रमबाट मुक्त गराउन मिडियाको भूमिका सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषणमा महत्वपूर्ण हुने बताउनुभएको हो ।

“निरन्तर गलत तथ्यलाई प्रवाह गर्दा जनताले त्यसलाई नै सत्य होला भनेर बुझ्न सक्छन्, अहिले यसैको प्रभावले सरकारको कामकारबाही र जनताका मुद्दा ओझेलमा पर्दै आइरहेका छन्”, प्रवक्ता डा महतले भन्नुभयो, “परिवर्तन र आधुनिकताको नाममा हुने गलत क्रियाकलापविरुद्ध मिडियाको भूमिका अझ बढी सान्दर्भिक हुन्छ । त्यसैले मिडियाले आफूलाई परिवर्तन गर्दै जनअपेक्षाअनुसार काम गर्ने र जनताले पनि सत्य सूचनाका लागि मिडियामा विश्वास गर्ने अवस्था निर्माण गर्नुपर्छ ।”

विकास निर्माण, सामूहिक एकता र नागरिक अधिकार तथा दायित्वलाई स्मरण गराउँदै जिम्मेवारी बोधका साथ अगाडि बढ्न आमसञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने प्रवक्ता डा महतको भनाइ थियो ।

अत्यावश्यक सामग्री अभाव हुन नदिन ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गरौँ : कांग्रेस

काठमाडौँ, २० असोज : नेपाली कांग्रेसले विपद् प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्न, पानी, औषधि, इन्धनलगायत सामग्री अभाव हुन नदिन सरकारले सम्बन्धित निकायलाई प्रभावकारी परिचालन गर्न जरुरी रहेको सुझाव दिएको छ । यसका लागि स्थानीय तहको नेतृत्वमा सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा क्रियाशील राजनीतिक दलहरू र सङ्घसंस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गरेर कार्यसम्पादन व्यवस्थित गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माण सम्बन्धमा कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३४बुँदे सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको हो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस शीर्षनेतासहित  बुझाएको सुझाव तथा ध्यानाकर्षणपत्रमा विपद्को सामना गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन अभियान व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

“तीनै तहका सरकार र निजी क्षेत्र, नागरिक समाज, स्वदेशी तथा विदेशी गैरसरकारी सङ्घसंस्था, गैरआवासीय नेपाली समुदायसँग समन्वय र परिचालन गरेर सङ्कटग्रस्त घोषणा गरिएका क्षेत्र र प्रभावित क्षेत्रमा विपद्पछिको उद्धार, राहत र पुनःस्थापना कार्य द्रुत गतिमा व्यवस्थित ढङ्गले गरौँ”, सुझावपत्रमा उल्लेख छ ।

कांग्रेसले नागरिकको यात्रामा आवश्यक सहजीकरण, समन्वय र सहयोग गर्न, अवरुद्ध सडक मर्मतसम्भारको कार्य तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगत गरी अविलम्ब बेलिबृज जडानको कार्य अघि बढाउन आग्रह गरेको छ । त्यस्तै, कांग्रेसले अत्यावश्यक खाद्यान्न अभाव हुन नदिन तथा मिसावट र कालोबजारी नियन्त्रण गर्न सबै तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन गर्र्नुपर्नेमा जोड दिएको छ ।

विपद् प्रभावितका लागि ५० लाख सहयोग

कांग्रेसले विपत्तिको बेला सबै विमति थाती राखेर सबै दल, निजी क्षेत्र, सङ्घसंस्था र व्यक्तिले राज्यकोषलाई सहयोग गर्न जरुरी रहेको उल्लेख गरेको छ । कोभिड–१९ महामारी र जाजरकोट भूकम्पको समयमा जस्तै यो प्राकृतिक विपद्लगत्तै कांग्रेसले आफ्ना सांसदहरूको १५ दिनको तलबसहित रु ५० लाख राज्यकोषमा जम्मा गरिसकेको छ । 

पार्टीले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा आफूले सक्ने सहयोग गर्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली नागरिक र सङ्घसंस्थालाई आह्वानसमेत गरेको छ ।

“प्रधानमन्त्री विपद् व्यवस्थापन कोषबाट प्रदान गरिने आर्थिक सहयोग रकम स्थानीय सरकारलाई उपलब्ध गराएर पारदर्शी प्रक्रियामार्फत व्यवस्थित रुपले उद्धार र राहतको कार्य सञ्चालन गरौँ”, ध्यानाकर्षणपत्रमा उल्लेख छ । पार्टीले विपद्मा घाइते भएकाको सम्पूर्ण उपचार राज्य कोषबाट गर्ने सरकारको निणर्यको स्वागत गर्दै राज्यको यो प्राथमिक जिम्मेवारीलाई व्यवस्थित रुपले सम्पादन गर्न आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले झनै जटिल स्थिति सामना गर्नु परेको तथ्य दृष्टिगत गरी अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा, औषधि, सुरक्षालगायतको अलग र विशेष व्यवस्थाका लागि स्थानीय तह तथा संयन्त्रलाई विशेष जिम्मेवारीसहित विशेष रुपले प्रेरित र परिचालित गर्नुपर्ने कांग्रेसको सुझाव छ ।

अल्पकालीन कार्ययोजनाअन्तर्गत विपद्पछि पुनःस्थापना र पुनःनिर्माण कार्यका लागि स्थानीय सरकारसँग समन्वय तथा विज्ञहरूसँग परामर्श गरेर राष्ट्रिय योजना आयोग र प्रदेशका आयोगहरूको सक्रियतामा विश्वसनीय प्रतिवेदन दुई हप्ताभित्रै तयार गर्नुपर्ने कांग्रेसको सुझावपत्रमा उल्लेख छ । आउँदो हिउँद दृष्टिगत गरेर प्रभावितलाई जतिसक्दो चाँडो आवास प्रबन्ध गर्न जरुरी र अस्थायी आवास निर्माण गर्न चाहने नागरिकलाई अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार स्थानीय वडाको सिफारिसमा स्थानीय सरकारमार्फत नगद दिने व्यवस्था गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

बालबालिकाको मनोविज्ञानमा प्राकृतिक प्रकोपबाट परेको नकारात्मक असर कम गर्न उद्धार र राहतको प्राथमिक चरणलगत्तै शिक्षण संस्थाहरू सञ्चालन गर्न तथा मनोवैज्ञानिक कक्षा अतिरिक्त रुपमा राख्न स्थानीय सरकारमार्फत पहल र समन्वय गर्नुपर्ने भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह

क्षति भएका कृषिबाली, पशुपक्षी र क्षति व्यहोरेका कृषकको क्षतिको अवस्था विश्लेषण गरी किसानलाई निश्चित क्षतिपूर्ति उपलब्ध गराउँदै उपयुक्त बालीको उत्पादन क्रियामा पुनः सक्रियताका लागि स्थानीय सरकारमार्फत प्रेरित र सहजीकरण गर्नुपर्ने सुझावपत्रमा उल्लेख छ ।

कांग्रेसले संविधान र कानुनप्रदत्त अधिकार कार्यान्वयन विपद्अघि तथा पछि कुन तहको सरकारले के गर्ने भनेर एउटा ‘विपद् व्यवस्थापन निर्देशिका’को प्याकेज खाका निर्माण गरेर त्यसलाई अक्षरशः कार्यान्वयनमा ल्याउने साझा राष्ट्रिय सङ्कल्प जरुरी रहेको सुझाएको छ । विपद्सम्बन्धी पूर्वसूचनालाई नागरिक तहमा स्थानीय सञ्चारमाध्यममार्फत स्थानीय भाषामा सम्प्रेषण गर्ने, स्थानीय सरकार, दल र स्वयंसेवी संस्थामार्फत घरसम्मै पु¥याउन अभिप्रेरित गर्नुपर्ने सो पार्टीले उल्लेख गरेको छ ।

कांग्रेसले भविष्यका सम्भावित विपद् दृष्टिगत गरेर निश्चित हदसम्मको विपद् झेल्न सक्ने गरेर सम्भावित भूगोलका सडक, पुल, जलविद्युत् आयोजना, सिँचाइ, खानेपानीजस्ता पूर्वाधार बलियो रुपमा खडा गर्न सोही अनुसारको मापदण्ड र कार्ययोजना लागू गर्न सम्बन्धित निकायलाई निर्देशित र परिचालित गर्नुपर्ने जनाएको छ ।

सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु

काठमाडौँ, २० असोजः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आजदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले राससलाई जानकारी दिनुभयो । खसी, बोकाको प्रतिकेजी रु छ सय ७० मूल्य तोकिएको छभने त्यसमा रु १० सहुलियत दिई रु छ सय ६० मा बिक्री वितरण सुरु गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, च्याङ्ग्राको प्रतिकेजी रु एक हजार २३० मूल्य तोकिएको छ । यसमा पनि रु १० सहुलियत दिई रु एक हजार २२० मा बिक्री वितरण सुरु गरिएको जनाइएको छ । चाड बडादसैँ, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कम्पनीले सुरु गरेको सुपथ मूल्य पसल पनि जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

इजरायलद्वारा सिरियामा रहेको इरानी अटोमोबाइल कारखानामा आक्रमण

सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा इजरायली क्षेप्यास्त्रले प्रहार गरेको सिरियन मानव अधिकार संस्थाले जनाएको छ ।

इजरायलले होम्सको दक्षिणी ग्रामीण इलाकामा रहेको हस्या औद्योगिक क्षेत्रस्थित कारखानामा हवाई आक्रमण गरेको हो । आक्रमणको समयमा कारखाना खाली भएकाले आक्रमणको कारण पुष्टि हुनसकेको छैन ।

सिरियाको सरकारी टिभीले हस्याको एउटा कारखानाबाट विस्फोटको आवाज सुनिएको र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएको छ । इजरायलले इरान र लेबनानको हिजबुल्लाहसँग जोडिएका स्थानलाई लक्षित गर्दै सिरियामा बारम्बार हवाई आक्रमण गरिरहेको छ ।

श्रीलङ्काको पर्यटन आयमा वृद्धि

श्रीलङ्कामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा करिब ६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैङ्क अफ श्रीलङ्का (सीबीएसएल) को तथ्याङ्कले देखाएको छ ।श्रीलङ्काले सन् २०२४ को पहिलो नौ महिनामा पर्यटनबाट दुई अर्ब ३५ करोड डलर आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड डलर रहेको थियो ।

यस दक्षिण एसियाली देशले गत सेप्टेम्बरको महिनामा मात्र पर्यटन क्षेत्रबाट १८ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको सीबीएसएल तथ्याङ्कमा उल्लेख भएको छ यसैबीच, श्रीलङ्कामा गत सेप्टेम्बरमा एक लाख २२ हजार १४० जना पर्यटक भ्रमण गरेका थिए । यो सन् २०२३ को सेप्टेम्बर महिनाको तुलनामा नौ दशमलव ११ प्रतिशतले बढी हो ।

श्रीलङ्कामा पहिलो नौ महिनामा कुल १४ लाख ८० हजार पर्यटक भ्रमण गरेका छन् भने यस वर्षको अन्त्यसम्म २३ लाख पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ ।
पर्यटन श्रीलङ्काको लागि प्रमुख विदेशी राजस्व स्रोत हो ।

रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

त्रिवेणी (रुकुमपश्चिम), २० असोजः रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् ।

शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आज रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका छन् ।

उपनिर्वाचन र आम निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्छ : अध्यक्ष दाहाल

चितवन, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छाँै भन्ने आधार देशभरि घुमेर देखेको छु”, उहाँले भन्नुभयो । फरक प्रसङ्गमा उहाँले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।    अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।” 

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप र आबद्ध कम्पनीले पाँच करोड हस्तान्तरण गरेको छ । सो रकमको चेक आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएकामध्ये सबैभन्दा बढी हो ।

यसैगरी, आजै नेपाल इन्सुरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले  ५० लाख, एनएमबी बैङ्कका अध्यक्ष मनोज गोयलले  ५१ लाख र मेटलाइफ इन्सुरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले  २५ लाख हस्तान्तरण गरे ।

उक्त रकमसहित आइतबारसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम  १० करोड २६ लाख पुगेको छ । सहयोग गर्ने सबै संस्थालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताए ।

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए।

‘नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो’, उनले भने ‘अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पुर्‍याउन प्रयत्न गर्नेछु, न्यायिक सुधार अनिवार्य सर्त हो, त्यसको विकल्प छैन, आन्तरिक रूपमा पनि कटिबद्ध र प्रतिबद्ध छौँ, न्यायपालिकाको साख र विश्वसनीयता अझै बढाउन लाग्नेछु ।’

नेपालको न्यायालयको ३२ औँ प्रधानन्यायाधीशका रूपमा राउतले करिब १८ महिना न्यायालयको नेतृत्व गर्ने छन् । प्रधानन्यायाधीश राउत २०८२ चैत १८ गते उमेर हदका कारण सेवाबाट अवकाश पाउनेछ । उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए।

विसं २०१७ चैत १८ गते उदयपुरमा जन्मेका प्रधानन्यायाधीश राउतले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन् । उनले २०३९ सालदेखि २०७२ सालसम्म ३३ वर्ष कानुन व्यवसायीका रूपमा काम गरेका थिए । कानुन व्यवसायीका रूपमा काम गर्दा उनी नेपाल बार एसोसिएसनको अध्यक्षसमेत भएका थिए।

विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छ: मन्त्री गुरुङ

काठमाडौँ, २० असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् व्यवस्थापनमा सरकार संवेदनशील भएर लागिरहेको बताउनुभएको छ ।

यही असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनपश्चात् उहाँले विपत्का कारण घरबारविहीन भएकोहरू आवास व्यवस्थापन तथा अत्यावश्यक सहयोग प्रदान गर्न सरकार लागिरहेको बताउनुभयो ।

मन्त्री गुरुङले बैठकले जल तथा मौसम विज्ञान नीति, २०८१ स्वीकृत गर्नेदेखि अविरल वर्षाका कारण प्रभावित १२ जिल्लाका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेलगायत २१ बुँदे निर्णय गरेको जानकारी गराउनुभयो ।

बैठकले यही असोज २२ देखि २४ सम्म थाइल्यान्डको बैङ्ककमा २०८१ आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको त्यस अवसरमा जानकारी दिइयो ।  यस्तै, नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७८ चैत्र २४ गतेको निर्णयानुसार नेपाल राष्ट्र बैङ्कका गभर्नरउपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१÷८२ का लागि अधिकृतस्तरका २८ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने, नेपाल विद्युत् प्राधिकरण रामेछाप उपवितरण केन्द्रका लागि करिब सात रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । 

सरकारले राजस्व न्यायाधीकरण विराटनगरको कानुनी सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र राजस्व न्यायाधीकरण नेपालगञ्जको कानुनी सदस्य तथा अध्यक्ष पदमा उच्च अदातल तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने निर्णय गरिएको छ । साथै वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत दिपालयका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ । 

गृह मन्त्रालयअन्तर्गत आव २०८१÷८२ का लागि अधिकृतस्तरका २१ अस्थायी दरबन्दी स्वीकृत गर्ने र मन्त्रालयलाई सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, अपराधसम्बन्धी राष्ट्रिय अभिखेल व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण ९पहिलो संशोधन० निर्देशिका, २०८१ स्वीकृत गर्ने, नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिने, बुटवल उपमहानगरपालिकालाई उजीरसिंह रङ्गशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, आगामी कात्तिक १३ र १४ सम्म कोलम्बियामा आयोजना हुने हाई लेभल सेग्मेन्ट अफ द युएन बायोडाइभर्सिटी कन्फरेन्स २०२४ मा सहभागी हुन वन तथा वातावरणमन्त्रीलाई स्वीकृति प्रदान गर्ने, यही असोज २३ देखि २५ सम्म अजरवैजारमा आयोजना हुने ‘हाई लेभल मिनिस्टेरियल डाइलग अन द न्यू कलेक्टिभ क्वान्टिफाइड गोल अन क्लाइमेट फाइनान्स र प्रि–कोेप इनफर्मल मिनिस्टेरियल मिटिङ’ मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

यस्तै, अजिरकोट गाउँ कार्यपालिकाको कार्यालय, गोरखालाई प्रशासनिक भवन निर्माणका लागि छ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने, व्यावहारिक विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषसम्बन्धी विधेयक तर्जमा गर्न सैद्धान्तिक स्वीकृति दिने, वैदेशिक रोजगार ९छैटौँ संशोधन० नियमावली, २०८१ स्वीकृत गर्ने, सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा प्राडा ठाकुरप्रसाद दुवाडीलाई मनोनय गर्ने, यही असोज २१ देखि २३ सम्म भारतको नयाँदिल्लीमा सञ्चालन हुने ‘सेभेन्टी–सेभेन्थ सेसन अफ द डब्लुएओ रिजनल कमिटी फर साउथ–इस्ट एसिया’ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने, यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने पनि सरकारले निर्णय गरेको छ ।

टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ ।

विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ २० असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले हालै उत्पन्न विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत विरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षपश्चात् उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विपद् न्यूनीकरण र त्यसको सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नसपर्ने र यस कार्यको अगुवाइ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विपद्को पूर्वतयारी र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्नुपर्ने र यसमा सबै पक्ष साझा दायित्वका साथ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट गर्नुभयो ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।