`

नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरि मनाइयो

नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो।

कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए ।

नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए । जसको उदाहरण बलुन नेपालमार्फत हट एयर बलुनमा उड्न पाउनु समेत रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे ।

लोकप्रिय नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन्। “म यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छु”, उनले भनिन् ‌।

बलुन नेपाल प्रा लिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागेको हो।

क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । ‌कार्यक्रममा बलुनमा उड्न चाहने पर्यटकका लागि कम्पनीको आधिकारिक वेबसाइटमार्फत अग्रिम बुकिङ समेत खुला गरिएको छ ।

साथै गैर आवासीय नेपाली समाज (एनआरएनए)बाट पनि यस कार्यक्रमको प्रवर्द्धन हुँदैछ। जसका लागि कम्पनीका निर्देशक समेत रहेका बेलायतका दीपककुमार श्रेष्ठ र रोबर्ट विश्वकर्माले समन्वय गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक सबिन महर्जनले जानकारी दिए ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । जसमा बेलुन नेपालको तर्फबाट ५ वटा हट एयर बलुन सञ्चालन गरिनेछ। स्पेन, फ्रान्स, अमेरिका, युके, लाटभिया, जर्मनी, लाओस, अस्ट्रिया, कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा देश सहभागी हुने गरी तयारी भइरहेको कम्पनीका निर्देशक बिबि ढकालले जानकारी दिए ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।

महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरूले अपेक्षा गरेको उनले बताए ।

कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिवल प्रभावकारी हुने उनको भनाइ छ।

महोत्सवमा बलुनभित्रै डिजे सेसन पनि रहनेछ जसलाई मुख्य आकर्षणको रूपमा समावेश गरिएको कम्पनीले जनाएको छ। रातिको समयमा पनि बलुन उडाएर बेलुन ग्लो लगायतका हट एयर बेलुनसम्बन्धी खेलमार्फत मनोरञ्जन दिलाइने कम्पनीले बताएको छ।
सन २०१८ बाट बेलुन नेपालले हट एयर बेलुन उडान सेवा पोखराबाट दिँदै आएको छ।

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौँ, २० असोजः विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।यही असोज २३ गते सङ्घका देशभर रहेका सञ्जालमार्फत बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले जानकारी दिनुभयो ।

सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रबाट १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय विश्वभरि नै बालबालिकामा दृृष्टिदोषको समस्या बढिरहेकाले पनि यसपटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्व दृष्टि दिवस मनाउन गइरहेका छौँ ।”

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब सात लाख बालबालिका अझैपनि दृष्टिदोषको उपचारबाट बञ्चित रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा सङ्लग्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको छाता सङ्गठन इन्टरनेसनल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)ले संयुक्त रूपमा यो दिवस मनाउन सुरु गरेका हुन् । यस वर्ष ‘बालबालिको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ अक्टोवर १० तारिख (असोज २४ गते) का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण

जुम्ला, २० असोजः जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि यहाँका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताउनुभयो । “यो दसैँमा नुनको अभाव हुने छैन, ” उहाँले भन्नुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको प्रमुख थापाले जानकारी दिनुभयो ।

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु,१९ जना बेपत्ता

काठमाडौँ, २० असोजः हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

“बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ”, उहाँले भन्नुभयो ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताउनुभयो ।
 

पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

मङ्गलबारे (इलाम), २० असोज : पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ ।

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनको मेक्सिकोकी राष्ट्रपति शिनबामलाई बधाई

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्लाउडिया शिनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपति भएकोमा फोन गरी बधाई दिनुभएको ह्वाइट हाउसले शनिबार जनाएको छ ।फोनवार्तामा दुवै नेताले उाीहरूको देशको ‘प्रगाढ सम्बन्ध’ को चर्चा गर्नुका साथै दुवै देशको समृद्धि र सुरक्षालाई अगाडि बढाउने बलियो र सहयोगात्मक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धतामा जोड दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति बाइडेनले गत जुनमा शानदार जित हासिल गर्नुभएकी मेक्सिकोकी शिनबामलाई यसै साताको सुरुमा भएको राष्ट्रपतिपदको सपथग्रहण समारोहमा आफ्नी पत्नी जिल बाइडेनलाई न्यानो स्वागत गरेकोमा आभार प्रकट गर्नुभएको थियो ।
मेक्सिको सिटीका पूर्व मेयरसमेत रहनुभएकी मेक्सिकोकी राष्ट्रपति शिनबामले मङ्गलबार पद तथा गोपनीयताको सपथ लिनुभएको थियो भने जिललाई उक्त समारोहमा अमेरिकी प्रथम महिलाका रूपमा आमन्त्रण गरिएको थियो ।

बाइडेन दम्पतीले नोभेम्बरमा हुने चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक उम्मेदवारका रुपमा समर्थन गरेका छन् ।यदि उहाँ विजयी हुनुभयो भने उहाँ अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ ।

अमेरिकी निर्वाचनमा मेक्सिकोसँगको अमेरिकी सीमाबाट आउने आप्रवासीको आगमन मुख्य मुद्दा बनेको छ ।विश्वको सबैभन्दा बढी स्पेनी भाषी देश मेक्सिकोमा १२ करोड ९० लाख मानिस बसोबास गर्छन् र स्वतन्त्र भएदेखि अहिलेसम्म ६५ जना पुरुष राष्ट्रपति भइसकेका छन् ।

ललितपुरमा आइपुग्यो दक्षिणकालीको खानेपानी

काठमाडौँ-खोपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गर्नुभएपछि दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ ।

मन्त्री यादवले गर्नुभएको प्रयासपछि भैँसेपाटीको ट्याङ्कीमा अहिले पानी झर्न सुरु भएको काठमाडौँ उपत्यका खोनेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीले जनाएको छ । दक्षिणकाली नगरपालिका र स्थानीयसँग गरिएका कतिपय प्रतिबद्धता भने पूरा गर्न बाँकी रहेकाले दशैँलगत्तै पूरा गर्नुपर्ने सहमति भएको केयुकेएलले जनाएको छ ।

मन्त्री यादवको आग्रहसँगै दक्षिणकाली नगरपालिकाले आज साँझदेखि ललितपुरका नागरिकका लागि दक्षिणकालीको कुटुरी मुहानबाट पानी पथान्तरण गरेको हो । अहिले पानी केयुकेएल भैँसीपाटीको खानेपानी टयाङ्कीमा अइपुगेको खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलदेवी शाक्य बज्रचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तत्काल दसैँसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने तथा पूर्णिमाको पर्सिपल्ट पुनः बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललिपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के–के काम गर्न सकिन्छ सो विषयमा सम्झौतापत्र तयार गरी हस्ताक्षर गर्ने सहमति भएपछि पानी आएको हो ।”

ललितपुरमा रहेको केयुकेएलको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाँडै यहाँका नागरिकलाई पानी वितरण सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताउनुभयो ।

खानेपानीमन्त्री यादव आज दक्षिणकाली नगरपालिका पुग्नु भई आफू राज्यको प्रतिनिधि भएकाले दक्षिणकालीमा बाढीपहिरोलगायत विपद्बाट नागरिकले भोग्नुपरेका पीडा तथा खानेपानीका समस्या समाधान गर्न प्रयासरत रहने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री यादवले बाढीपहिरोले दक्षिणकालीका खानेपानीका मुहानमा भएका क्षतिको मर्मतसम्भार गर्न तत्काल योजनाबद्ध रुपमा काम थाल्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताउनुभयो । बाढीले भत्काएका र बिगारेका खानेपानीका मुहान मर्मत यथाशीघ्र गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
ललितपुरमा दक्षिणकालीको पानी लगिए पनि यहाँका नागरिकका समस्यालाई सम्बोधन नगरिएको भन्दै स्थानीय पानी पठाउन रोक्दै आएका थिए ।

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले काम गरिरहेको छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले आवश्यक तयारीका साथ काम गरिरहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपश्चात् विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर सेवा प्रवाहका बारेमा बुझ्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग पनि सेवाबारे जानकारी लिनुभएको थियो । त्यस क्रममा परिवारका सातजना गुमाएका माइला तामाङप्रति सहानुभूति प्रकट गर्नुहुँदै उहाँले उपचार सेवामा कुनै कमी भए आफूलाई भन्न आग्रह गर्नुभयो । जवाफमा तामाङले भन्नुभयो, “उपचार पाइरहेको छु तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन, सरकारले उपचारपछि जाने ठाउँ खोजिदिए हुन्थ्यो ।”

मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने र बाँकी सहयोगका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी उहाँले धुलिखेल अस्पताललाई उपचारमा पु¥याएको सहयोगका लागि धन्यवाद दिनुभयो । अब प्रदूषित पानी तथा फोहरका कारण सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहँदै रोकथामका लागि सचेतना फैलाउन जरुरी रहेको मन्त्री पौडेलको भनाइ थियोआग्रह गर्नुभयो । “हामीले एउटा सङ्कट त भोग्यौँ, अब विपद्पछिको स्वास्थ्य सङ्कट आउन नदिन सजग बनौँँ । सबै मिलेर सम्भावित सङ्कटको सामना गर्न तयारी अवस्थामा रहन आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुले पु¥याएको सेवाको प्रशंसा गर्नुका साथै पनौती–१२ भूमिडाँडा कलातीमा पहिरोबाट भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।

एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन

किमाथाङ्का (सङ्खुवासभा), २० असोजः सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको रु ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।

विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जाबापतको रु ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडीसी)मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो ।

उक्त रकम जिल्ला प्रशासन कार्यालयले हालसम्म जम्मा गरेको छैन । खाँदबारी नगरपालिका–४ छयाङ्कुटीबाट चिचिला गाउँपालिका–२, दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) छुट मुआब्जाको माग गर्दै पीडितले पटकपटक आन्दोलन गर्दै आएका छन् ।

लगानी बार्डले गत कात्तिक २१ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विकासकर्ता अरुण तेस्रो निर्माणको जिम्मा पाएको एसएपिडीसीमार्फत धरौटी खातामा राख्न निर्देशन दिएको थियो ।

उक्त रकमबापतको रु ५३ करोडको बैंक ग्यारेन्टेड चेक जिल्ला प्रशासन कार्यालयले एक वर्षसम्म धरौटी खातामा जिम्मा नगरेको अरुण तेस्रो प्रवेशमार्ग केन्द्रीय सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बैंक ग्यारेन्टेड चेक एक वर्षसम्म धरौटी खातामा जम्मा नगरी रकम जम्मा भएको भनेर झुक्याउँदै आएको उहाँले बताउनुभयो । अरुण तेस्रो प्रवेशमार्ग पीडितले रकम नपाएको भन्दै सर्वोच्च अदालतको आदेशका कारण आन्दोलन गर्न समेत नपाएको उहाँले बताउनुभयो । रु ५३ करोड रकम पछि सङ्घीय सरकारबाट शोधभर्ना हुनेगरी एसएपिडीसीले सरकारलाई दिन सहमत भएको थियो । सरकारले गरेको निर्णय कार्यान्वयन नहुँदा पीडित झन् पीडित भएका सङ्घर्ष समिति संयोजक राईले उल्लेख गर्नुभयो ।

विसं २०८० वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकको छुट मुआब्जा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

हाल आयोजनाको करिब ७५ प्रतिशत काम सकिएको छ । गत जेठ २२ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य सुरुङको ‘ब्रेक थु्र’समेत गरिसक्नुभएको छ । प्रवेशमार्गका पीडितले अहिलेसम्म मुआब्जाबापतको रकम पाउन नसकेको गुनासो गरेका छन् ।

मन्त्रिपरिषदको गत कात्तिक १६ गते बसेको बैठकले एक महिनाभित्र अर्थात् मङ्सिर १८ देखि मुआब्जा रकम वितरण सुरु गर्ने निर्णय गरेको भए पनि एक वर्षसम्ममा छुट मुआब्जाबापतको रकम वितरण सुरु हुन नसकेको सङ्घर्ष समिति संयोजक राईले बताउनुभयो ।

उक्त आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेबिएन)ले गरिरहेको छ । फ्याक्सिन्दाबाट पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११.८४ किलोमिटर सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । पिडिएअनुसार यस परियोजनाबाट रु एक सय ६० करोड स्थानीयलाई शेयर दिइने छ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत (रु ८० करोड) र पहिलो उत्पादन वर्ष सकिएपछि, दोस्रो उत्पादन वर्षको अन्त्यअघि बाँकी ५० प्रतिशत शेयर वितरण गरिनेछ । शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ ।

रु एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छभने विभिन्न शीर्षकमा रु तीन खर्ब ४८ आर्थिक लाभ मिल्ने छ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । अरुण तेस्रो परियोजनामा नेपाली–भारतीयसहित झण्डै चार हजार कामदार कार्यरत छन् ।

बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

कलैया (बारा), २० असोजः जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

केन्द्रका प्रमुख राजनारायण साहले डुबानमा कुन–कुन बालीमा के–कति क्षति भएको बारेमा किसानसँग तथ्याङ्क लिने काम भइरहेको जानकारी दिनुभयो । केन्द्रका प्रचार अधिकृत रामजीवन ठाकुरले यस वर्ष कुल बर्खेधान ४६ हजार २० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको जानकारी दिनुभयो ।

मधेस प्रदेश कृिष विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ । सोमध्ये बारामा मात्र कुल छ हजार चार सय ७२ हेक्टर डुबानमा पर्दा रु ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

महोत्तरी, २० असोजः चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालय छ । किसानलाई रु २० करोड ३३ लाख १५ हजार ८११ अनुदान दिइएको छ ।

कार्यालयप्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खोता खोल्न थालेका छन् । “रकम दाखिलाको क्रम जारी छ,” उहाँले भन्नुभयो ।

मा आएको खबरले किसान दङ्ग छन् । “ दसैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु”, भङ्गाहा–४ का उखु किसान अरुण गिरी भन्नुहुन्छ, “ हामीलाई दसैँ उपहार पाएजस्तै भएको छ ।” गिरीजस्तै बर्दिबास—९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्वअघि अनुदान रकम पाइँदा राहत मिलेको बताउनुभयो ।

महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्षअघिमात्र सञ्चालनमा आएको सिद्धिविनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ् गर्न सकेन । एभरेष्ट चिनी उद्योगले भने २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५११ क्विन्टल चिनी उत्पादन गरेको थियो ।

गत वर्ष उखुको मूल्य उद्योगले रु ५४० र सरकारले अनुदान बापत ७० गरी प्रति क्विन्टल रु ६१० कायम गरेको थियो । किसानले प्रतिक्विन्टल रु ७५० हुनपर्ने माग गरेका थिए ।

सरकारले पछिल्ला तीन वर्षयता उखुको अनुदान रकममा प्रति क्विण्टल रु पाँच बढाएर रु ७० पु¥याएको हो । उखुको समयमा नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएका यहाँका किसान उखुखेति विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले राससलाई बताउनुभयो । हाल यहाँ दश हजार बिघामा उखुखेती भएको छ । उहाँले उखु उत्पादक किसानको सहभागितामा प्रत्येक वर्ष ‘क्रसिङ् सिजन’अगावै को मूल्य निर्धारण हुनुपर्नेमा जोड दिनुभयो ।

मनसुन क्रमशः क्षीण हुँदै

काठमाडौँ, २० असोजः जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।

वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : अध्यक्ष नेपाल

जनकपुर, २० असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

“अविरल वर्षा र बाढीका कारण देशवासी आक्रान्त छन् । सरकारले प्राथमिकताका आधारमा विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छ”, शनिबार धनुषाको लालगढमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा उहाँले भन्नुभयो ।

बाढी र पहिरोले घरबारविहीन बनेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको काम गम्भीरतापूर्वक गर्नुपर्ने सुझाव दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले वर्षाको सम्भावना अझै बाँकी रहेकाले जनता तथा सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

बाढीपहिरो जस्ता विपद्बाट जनधनको सुरक्षा गर्न पूर्वतयारी कम हुँदा धेरै क्षति भएको बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, “कुनै ठाउँमा पहिरो जान सक्ने कुनै ठाउँमा भुस्खलन हुनसक्ने, कुनै ठाउँमा तटबन्ध अझै तोड्न सक्ने सम्भावना भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न सरोकार भएका सबे सचेत हुनु जरुरी छ ।”

मधेस प्रदेशको तीन ठाउँमा उपनिर्वाचन हुन लागेका बताउँदै अध्यक्ष नेपालले पार्टीका जिल्लाजिल्लामा पनि अधिवेशन गरेर केन्द्रीय अधिवेशनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले उपनिर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

दसैँका लागि यस वर्ष दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

दाङ, २० असोज : दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौँ पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने गरिएको छ । दाङबाट शुक्रबार एक सय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ ।

जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताउनुभयो । उहाँका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमाडौँ पठाइएको हो ।

जिउँदो खसी प्रतिकेजीको रु पाँच सय ६० र बोका प्रतिकेजीको रु पाँच ४० को दरमा खरिद गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष चार सयमात्र खसीबोका जिल्लाबाट माग भएकाले सोही अनुसार पठाइएको हो ।

गत वर्ष दाङबाट खाद्यले सात सय ५६ वटा खसीबोका खरिद गरी काठमाडौँ पठाएको थियो । यस वर्ष भने वर्षाले गर्दा खरिदबिक्री कम हुनसक्ने आकलन गर्दै चार सय मात्र पठाइएको प्रमुख सुनारले बताउनुभयो ।

अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), २० असोजः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।

पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डले सीपमूलक शिक्षा दिन सक्यौँ भने मात्र शिक्षित युवालाई स्वदेशमा रोक्न सकिने धारणा राख्नुभयो । विश्वविद्यालयले गर्ने अनुसन्धानको विषय नयाँ–नयाँ हुनुपर्ने भन्दै उहाँले विश्वविद्यालयले दिने शिक्षा गुणस्तरीय र सीपमूलक भएमा यसवा स्वरोजगार बन्न सक्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालय सीमित स्रोत र साधनमा सञ्चालन हुँदै आएको बताउँदै उहाँले सधैँ सरकारले बजेट दिन नसक्ने हुँदा विश्वविद्यालय आत्मनिर्भरतातर्फ अगाडि बढ्नसमेत उहाँले सुझाव दिनुभयो ।

समयमा भवन निर्माण सम्पन्न गरी प्रभावकारी व्यवस्थापनसहित काम गरी अगाडि बढ्न उहाँले विश्वविद्यालय परिवारलाई आग्रह गर्नुभयो । विश्वविद्यालयमा राजनीति हुन नहुने भन्दै उहाँले विद्यार्थीका चाहना पूरा हुनेगरी शिक्षामा केन्द्रित हुन सबैलाई सुझाव दिनुभयो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बजारको मागलाई ध्यान दिँदै विश्वविद्यालयले आफ्ना पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्राविधिक र सीपमूलक शिक्षाले देशको बेरोजगारीलाई कम गर्न सकिने भनाइ उहाँको छ ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले विज्ञान र प्रविधिलाई अगाडि बढाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको उक्त विद्याविद्यालयले राजनीतिभन्दा माथि उठेर गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विसं २०७६ देखि सञ्चालनमा आएको यस विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको दाबी गर्नुभयो । रु १० करोड ९२ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त विश्वविद्यालयको मुख्य प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न हुने जनाइएको छ ।

‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’

काठमाडौँ, २० असोजः सिन्धुपाल्चोकबाट सङ्घीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले केही दिनअघिको बाढीपहिरोबाट प्रभावित जिल्लाका सबै स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’को सूचीमा समावेश गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सङ्घीय सांसद माधव सापकोटाको नेतृत्वमा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, सरल सहयात्री पौडेल, अमृता नेपाल र कुमारी तामाङले शनिबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमार्फत सङ्कटग्रस्त क्षेत्रको सूची पुनरावलोकन गरी बढी क्षति भएका अन्य पालिकालाई पनि समावेश गर्न सरकारसँग माग गर्नुभएको हो ।

यही असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न १४ जिल्लाका ४१ वटा स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । यससँगै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषित भएको छ ।

यही असोज ११ र १२ गतेको भारी वर्षासँगैको बाढी र पहिरोबाट सिन्धुपाल्चोकका लिसङ्खु पाखर, सुनकोशी र जुगल गाउँपालिकामा मानवीयसहित ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै उहाँहरूले सङ्कटग्रस्त क्षेत्र घोषणासम्बन्धी सूची पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

“बलेफी, चौतारा साँगाचोकगढी, पाँचपोखरी थाङ्पाल र बाह्रबिसेमा ठूलो भौतिक क्षति तथा मेलम्ची र हेलम्बु विपद्बाट गुजिरहेका छन्, अरनिको लोकमार्गसहित सहायक राष्ट्रिय लोकमार्ग छियाछिया भएका छन्”, ध्यानाकर्षणपत्रमा भनिएको छ, “सिन्धुपाल्चोकका सन्दर्भमा सङ्कटग्रस्त क्षेत्र घोषणा अपूर्ण र बिनातयारी गरिएको देखिन्छ । सरकारले अहिले गरेको निर्णयप्रति हाम्रो गम्भीर आलोचनासहित आपत्ति छ ।”

सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७७ असोजमा सिन्धुपाल्चोक र बागलुङ र २०७८ साउनमा पुनः सिन्धुपाल्चोक र मनाङ जिल्लालाई नै ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको तथ्य स्मरण गराउनुभएको छ ।

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

दमौली (तनहुँ), २० असोज : विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो ।

शुक्लागण्डकी–४ दुलेगौडाबाट लिलाचोकसम्मको खण्डमा धमाधम स्तरोन्नति भइरहेको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । उहाँले तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो ।

नगरप्रमुख पण्डितले भन्नुभयो, “नगरपालिकाको सबै ठूलो आयोजनाको काम सम्पन्न गर्न अनुगमनसँगै खबरदारी गरिरहेका छौँ । यो खण्ड कालोपत्रपछि यहाँका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।”

यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले विसं २०८० चैत २५ गते सम्झौता गरेको थियो । विश्व बैंकको सहयोग र सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी)अन्तर्गत उक्त मोटरमार्ग सात दशमलव एक किलोमिटर दूरी कालोपत्र गर्न थालिएको नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईले जानकारी दिनुभयो । उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ ।

उहाँले भन्नुभयो, “१५ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाका रूपमा छनोट गरेको थियो ।”

भट्टराईका अनुसार शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ । “उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ”, उहाँले भन्नुभयो, “उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ भने अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ ।”

दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक–एक मिटरको नाला निर्माण हुनेछ ।

शुक्लागण्डकी–४ दुलेगौडाबाट शुक्लागण्डकी–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ ।

यसैगरी विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिलाई तीव्र पारिएको छ । यो सडकले व्यास– ७, ९, १० र ११ जोड्छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डअन्तर्गत १० दशमलव ५५ किमी दूरी कालोपत्र हुनेछ । उक्त सडक स्तरोन्नति गर्न गत वैशाख १६ गते निर्माण कम्पनीसँग रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ म सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद विसं २०८२ असारसम्म रहेको छ ।

दश मलमलव ५५ किमी उक्त खण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उक्त सडकले व्यास–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास–९ कुमालगाउँ, व्यास–७ समता स्कुल, कलेस्तीलगायत ठाउँ जोड्नेछ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४ रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २० असोजः गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी लाभग्राहीको सङ्ख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो ।

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिनुभयो । गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रममा उहाँले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा गर्ने प्रस्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले विपद्मा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतक परिवारमा श्रद्धाञ्जलि तथा पीडित परिवारमा समवेदना पनि प्रकट गर्नुभयो । उहाँले घाइतेहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

गृहमन्त्री लेखकले अहिले मृतकका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेर जिल्लाहरुमा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका जानकारी दिनुभयो । उहाँले उद्धार, राहत र पुनःस्थापनामा सरकारी गम्भीर भएर लागेको उल्लेख गर्नुभयो ।

यही असोज १० देखि  १२ गतेसम्म आएको मनसुनी वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छभने अझै १९ जना हराइरहेका छन् । अर्बाैंको भौतिक संरचनामा क्षति पुगेको छ । अहिले पनि बिपी राजमार्गलगायत कति राजमार्ग सञ्चालन हुन सकेका छैनन् ।

भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ, २० असोजः भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको छदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ । उहाँ यही असोज १४ गते नेपाल आउनुभएको थियो ।

भ्रमणका क्रममा उहाँले पोखराको पनि भ्रमण गर्नुभएको थियो । त्यहाँ भूतपूर्व सैनिक ¥यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । त्यस्तै, उहाँले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (इसिएचएस) पोलिक्लिनिकको भ्रमण गर्नुभएको थियो ।

मेजर जनरल देवगनले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा उहाँहरुबीच नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।

मेजर जनरल दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गर्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने

भक्तपुर, २० असोजः नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो ।

भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।

नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।

दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौँ, २० असोजः नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा चिनिनुहुन्छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गापक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर (गोदावरी), १९ असोज : ‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान हासिल गर्नुभएको छ ।
नेदरल्याण्डमा सम्पन्न सो प्रतियोगितामा विश्वका विभिन्न नौ देशका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा झाले ‘समूह इकोग्रब’ बाट भाग लिनुभएको थियो ।

काठमाडौँ फरेस्टी कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थी आशीर्वादले नेतृत्व गर्नुभएको उक्त समूहले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको उहाँका भाइ अभिनमले जानकारी दिनुभयो । 

‘समूह इकोग्रब’का तर्फबाट आशीर्वादले आफ्नो परियोजनामा कालो सैनिक झिङ्गाको अनुसन्धानमा आधारित ‘इनोभेटिभ’ समाधान प्रस्तुत गर्नुभएको थियो । यो अनुसन्धानले खाद्य प्रणालीमा टिकाउ र दिगो समाधान खोज्नमा सहयोग पु¥याउने विश्वास लिइएको छ । 

कालो सैनिक झिङ्गाको प्रयोगले फोहोर व्यवस्थापन र पोषक तत्व पुनः प्राप्त गर्न मद्दत गर्दछ । जसले वातावरणीय र कृषिसम्बन्धी समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

यस प्रतियोगितामा हासिल गरेको सफलतापश्चात, ‘इकोग्रब’ समूह युवा खाना प्रयोगशाला कार्यक्रमको तयारीमा जुटेको छ । यो कार्यक्रम अक्टोबर २०२५ मा इटलीको रोममा आयोजना हुनेछ । जहाँ जित हासिल गरेका टोलीहरू आफ्नो परियोजनालाई थप विस्तार गर्न र कार्यान्वयन गर्न अवसर प्राप्त गर्नेछन् ।

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

काठमाडौँ, १९ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारसँग भेटघाट गरी राज्यको राहत कोषबाट सहयोगका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका यहाँका सातजनाका परिवरसँग भेटघाट गरी उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्नाका साथै मृतकप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । त्यसअवसरमा उहाँले नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई रु ५०/५० हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवाले पीडित परिवारलाई तत्काल आवश्यक खाद्यन्न, भाँडाकँुडा वितरण गर्नाका साथै दुःखको घडीमा नगरपालिकाले प्रभावित परिवारलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

काभ्रेमा विपद्मा परी ७५ जनाको मृत्यु हुनुका साथै विभिन्न भागमा धेरै भौतिक क्षति भएको छ । यहाँका भुम्लु, रोशी, बेथानचोक, तिमाल, चौरी गाउँँपालिकामा सवारीसाधन, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवासमेत अवरुद्ध छ ।

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार

इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ जना नागरिकलाई उद्धार गरेको छ ।लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा शनिबारसम्ममा एक हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।यसै साता इजरायलले इरान समर्थित हिजबुल्लाहको पकड रहेको दक्षिणी लेबनानको केही भागमा आफ्नो सेनाले ‘स्थलगत आक्रमण’ गरेको बताएको थियो ।

इजरायलले हालै लेबनानसँगको आफ्नो उत्तरी सीमाको सुरक्षामा आफ्नो ध्यान केन्द्रित गरेको छ । यहाँ हिजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेयता दैनिकजसो भिडन्त हुनेगरेको छ।

रूस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका विभिन्न देशले पनि लेबनानबाट आफ्ना नागरिकलाई हटाउने अभियान सुरु गरेका छन् ।बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीन सरकारको संगठन र व्यवस्थाअन्तर्गत लेबनानबाट हालसम्म दुई समूहमा २१५ जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ ।”

“लेबनानस्थित चिनियाँ दूतावासले लेबनानमा आफ्नो उद्धार अभियान जारी राखेको छ र त्यहाँ रहेका चिनियाँ नागरिकलाई सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ,” विज्ञप्तिमा भनिएको छ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई कहाँ लगिएको हो भन्ने बारे मन्त्रालयले केही बताएको छैन ।लेबनानी अधिकारीहरूका अनुसार सेप्टेम्बर २३ मा इजरायली बमबारीमा वृद्धि भएयता लेबनानमा एक हजार ११० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि चीनले बुधबार विश्वशक्ति राष्ट्रहरूसँग द्वन्द्वलाई थप अगाडि बढ्न नदिन पहल गर्न आग्रह गरेको थियो ।

ऋण गरेर हात्तीको आक्रमणबाट ज्यान गुमाएका जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

बरहथवा (सर्लाही), १९ असोज : गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सर्लाही, हरिपुर नगरपालिका–७, निवासी जदु सिंहका परिवार अहिले विचल्लीमा छ । आर्थिकरूपमा अत्यन्त विपन्न परिवारको एक मात्र भरोसा जङ्गली हात्तीको आक्रमणबाट गुमेपछि सिंहको छ जनाको परिवार सङ्कटमा परेको हो ।

“जदु घरको एकमात्र कमाउने सदस्य हुनुहुन्थ्यो ।” उहाँका बुवा ७० वर्षका पञ्चलाल सिंहले रासससँग भन्नुभयो, “श्रीमती दुई छोरा, एक छोरी र हामी बुढाबुढीको लालनपालन उसैले गरेको थियो । हाम्रो विचल्ली भयो, घरबार धान्ने एकमात्र छोरालाई हात्तीले मारिदियो, अब कसको सहारामा बाच्नु ?”

जदुले केही वर्ष पहिला जेठी छोरीको चितवनमै विवाह गरिदिनुभएको थियो । बाँकी १९ र छ वर्षका दुई छोरा र १६ वर्षकी एक छोरी, श्रीमती र आमाबुवाको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा थियो । आफूको औषधी खर्चमात्र मासिक रु. तीन हजार बढी लाग्ने आमा पहुनिया देवीले दुखेसो पोख्नुभयो ।

“छोराको किरिया कर्म गर्नसमेत ऋण माग्नुपरेको छ,” उहाँले भन्नुभयो, “अब हामीलाई कसले हेर्छ ?” जदुको परिवारसँग सम्पत्तिको नाममा एउटा काठको सानो घर बाहेक केही छैन । बुबाको किरियामा १९ वर्षका छोरा रित्तिक बस्नुभएको छ । घरको अवस्था कमजोर भएका कारण आफूले पढ्न नपाएको उहाँले गुनासो पोख्नुभयो । रितिकले ट्रकमा सहचालकको रुपमा काम गर्दै आउनुभएको छ । अहिले सीप सिक्न बसेको कारणसमेत आफ्नो कमाइ नभएको उहाँको भनाइ छ ।

घटनापछि गाउँबाट पुगेका युवाले आपसमा सहयोग गरेर शनिबार जदुको शव गाउँ ल्याएर अन्तिम संस्कार गरेको परिवारको भनाइ छ । एउटा भएको छोरासमेत हात्तीले खोसेको भन्दै आमा पहुनिया देवी डाँको छाडेर रुनुभयो । छोराले १६ वर्षसम्म सेवा गर्दा पछि सौराहास्थित हात्ती प्रजनन केन्द्रले उसको सेवाको कदर नगरेको परिवारको गुनासो छ ।

खगेन्द्रसँगै कतार जाने जदुको सपना अधुरै

जदु चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौरहाको हात्ती प्रजनन केन्द्रका अनुभवी माउते हुनुहुन्थ्यो । सौरहाको हात्ती प्रजनन केन्द्रमा जदुले २०६५ सालदेखि करारमा सेवा सुरु गर्नुभएको उहाँका बुवा पञ्चलालले बताउनुभयो । “२० वर्षको उमेर गाउँका एक जना आफन्तसँग पछि लागेर सौराहामा काम गर्न गएको हो,” उहाँले भन्नुभयो, “हात्तीले बच्चा पाएको बेलामा लामो समय घर आउन पाउँदैन थियो ।”

जदुले हात्ती प्रजनन केन्द्रमा काम गर्न थालेका १६ वर्ष भएको थियो । “हात्तीको स्वभावदेखि हरेक कुरामा उहाँ जानकार हुनुहुन्थ्यो ।” केन्द्र प्रमुख मनपुरण चौधरीले भन्नुभयो, “बिहीबार साँझ तरकारी लिएर स्याहार केन्द्रतर्फ आउँदै गर्दा उहाँलाई गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्यो । उहाँको घटनास्थलमै ज्यान गयो । केन्द्र शोकमा छ । हाम्रो अपुरणीय क्षति भएको छ ।”

यही २०८१ वैशाख ११ गते नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणमा आउनुभएको मौकामा एक जोडी हात्ती उपहार दिने घोषणा गरेको थियो । हात्ती कतार जाने भएपछि खगेन्द्र प्रसादलाई जन्मेदेखि रेखदेख गर्ने, तालिम दिने जदु पनि सँगै कतार जाने तय भएको थियो । कतारका अमिरलाई सौरहामा जदुले तालिम दिनुभएको खगेन्द्र प्रसादले नै माला लगाइ ढोग तथा नमस्कार गरी भव्य स्वागत गरेको थियो ।

हात्ती विधिवतरुपमा हस्तान्तरण भए पनि प्रकृयागत कुराका कारण तत्काललाई पठाउने काम भने रोकियो । तत्कालका लागि हात्ती कतार नलगिने भएपछि उहाँको कतार जाने चाहना रोकिएको थियो ।

खगेन्द्रप्रसाद र रुद्रकलीसँगै सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरबाट छ जना कतार जाने तयारी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो । आफूले हुर्काएको खगेन्द्रसँगै कतार जाने कुराले जदु पनि उत्साहित हुनुहुन्थ्यो । कतार जाने तयारीबारे उहाँले घरमासमेत बताउनुभएको आमा पहुनिया देवीले बताउनुभयो । जदुले आफू कार्यरत रहँदा दर्जनौँ हात्तीका छावा हुर्काउनु भएको थियो ।

“हात्ती लिएर कतार जान्छु, भनेको थियो,” उहाँले भन्नुभयो, “पैसा पनि राम्रो कमाइ हुन्छ भन्दै खुसी भएको थियो । मेरो बाबुलाई हात्तीले मारिदियो ।” छोराको मृत्यु पछि परिवारको हात मुख जोर्नेसमेत कुनै उपाए छैन । कसरी काजकिरिया टार्नु, तीन नाती नातिनाको लालनपालन विवाहदान कसरी गरौँ । हजुरबुबा पञ्जलालले भन्नुभयो, “म दमको रोगी छु, हिडडुलसमेत सक्दीन कसलाई गुहार्नु ?”बिहीबार गोविन्दे हात्तीको आक्रमणमा परेका दुई जना मध्य अर्का एक जना माउते भने, भागेर बाच्न सफल हुनुभएको थियो ।

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन (नवलपरासी ब.सु.प), १९ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

गएराति बर्दघाट‐४ स्थित दाउन्ने जङ्गलको खुुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुनसकेको थिएन । सडक मर्मतपश्चात् आज बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिप्परजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुुयालले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको र सडक मर्मत कार्य भइरहेको जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन

काठमाडौँ, १९ असोजः वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ । सङ्खुवासभाको चैनपुरमा जन्मेर पन्तले आफ्नो जीवनमा गरेका सङ्घषबारे लेखेको उक्त पुस्तकको आज उहाँले विमोचन गर्नुभयो ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले मातृभूमिलाई माया गरेर आफ्नो जीवनमा गरेका सङ्घर्षलाई आगामी पुस्ताका लागि मार्गदर्शन बन्ने बताउनुभयो । “माओवादी द्वन्द्वकालमा धेरै मानिसहरू आफ्नो जन्मभूमि छाडेर विभिन्न स्थानमा हिँडेको अवस्थामा लेखकले आफ्नो जन्मभूमिलाई सम्झेर पुस्तक लेख्नु अरूका लागिसमेत प्रेरणाको स्रोत बनेको छ”, मन्त्री खड्काले भन्नुभयो ।

आफ्नो भूगोललाई सम्झेर लेखिएको पुस्तकले समाजप्रति उत्तरदायी बन्न पुस्तकले प्रेरणा प्रदान गरेको उहाँको भनाइ थियो । मन्त्री खड्काले मानिस भएर जन्मेपछि केही न केही सम्झने कुरा छाडेर जाँदा नयाँ पुस्तालाई खोज र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक शाक्यले आफ्नो जीवनका भोगाइ र ग्रामीण जीवनशैलीलाई पुस्तकमार्फत प्रकाशनमा ल्याएको बताउनुभयो । एक सय ५० वर्षपहिले ललितपुरको पाटनबाट बसाइँ सरेर सङ्खुवासभाको चैनपुरमा पुगेको शाक्य परिवारले गरेको योगदानलाई समेत पुस्तकमा समावेश गरिएको उहाँको भनाइ थियो ।

दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

काठमाडौँ, १९ असोजः हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ । वर्षभरिको दुःख बिसाउने, विछोडिएका आफन्तजन जमघट भएर उत्साह र उमङ्ग साट्ने यो पर्वमा यसपटक धेरै परिवारको ओत लाग्ने छानोसमेत छैन । त्यसैले धेरैका लागि यो दसैँ उमङ्गविहीन हुने भएको छ ।

हुन त बाढिपहिरो र डुबान प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहत सामग्री वितरण कार्य काम भइरहेका छन् । यस कार्यमा सरकार मातहतका निकाय र विभिन्न गैरसरकारी सङ्घसंस्थाहरु निरन्तर जुटिरहेका छन् तर काठमाडौँ उपत्यकाको ललितपुर जिल्लाभित्रकै स्थानीय तहहरूमा अझै पनि पर्याप्त राहत सामग्री पुर्याउन कठिनाइ भरहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । “हामी सुगम भनिएको ललितपुर जिल्लामा छौँ तर विपद्को समयमा हामीलाई त्यो महसुस हुन सकेको छैन”, ललितपुरको महाङ्काल गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेले भन्नुभयो ।  

बाढीपहिराले क्षतिग्रस्त भएको आठ दिनपछि बल्ल गाउँपालिकामा मोबाइल फोनको नेटवर्क टिप्न थालेको छ ।  विपद्ले अस्तव्यस्त बनेको गाउँपालिका क्षेत्रमा नेटर्वक नहुने र फोन नलाग्ने समस्याले केही दिनसम्म गाउँपालिकाबाहिर सम्पर्कविच्छेदको समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । “यहाँ धेरै नै दर्दनाक अवस्था छ । सञ्चारमा देखिएको अवरोधले हाम्रो गाउँपालिकामा भएको क्षति बाहिर आउन सकेको छैन । जसले गर्दा पीडितको पीडाबारे सञ्चार गर्न सकिएन । त्यसैले सहयोगीको साथ पनि समयमा पाउन सकिएन”, उपाध्यक्ष गोलेले समस्या व्यक्त  गर्नुभयो ।  

छ वडा रहेको यस गाउँपालिकामा बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी वडा नं २ विपद्बाट प्रभावित भयो । यहाँ घर, गोठ, विद्यालय, चर्चित धार्मिकस्थल वैतरणीधाम क्षतिग्रस्त हुन पुग्यो भने अन्य भौतिक क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । व्यक्ति र परिवारमा परेको पीडाको व्यथा त छँदैछ, त्यसैमा सडक बाटोमा पुगेको क्षतिबाट गाउँपालिकावासीले थप सास्ती भोग्नुपरेको छ । “प्रकोपमा सबै गुमाएर एउटा ज्यान मात्र बाँचेकाहरु पनि छन् । उहाँहरूसँग अब केही बाँकी छैन । उहाँहरुलाई गाँस, बास र कपासको व्यवस्था मिलाउन लागिपरेका छौँ । दातृ निकायको सहयोगका लागि अपिल गरिरहेका छौँ । आवतजावतका लागि गाउँपालिकाले मर्मसम्भार गरी अवरुद्ध बाटो सञ्चालनमा ल्याएको छ”, उपाध्यक्ष गोलेले भन्नुभयो, “गाउँपालिकासँग आफ्नै आन्तरिक स्रोत छैन । सङ्घ र प्रदेश सरकारबाट आएको निश्चित योजनाको बजेट कार्यान्वयन गर्ने अवस्थामा मात्रै छौँ । जेनतेन बाटो खुलाइएकाले अब सहयोगी सङ्घसंस्थाहरूले राहत सामग्री उपलब्ध गराउने अपेक्षा गरेका छौँ ।”

यहाँको कोन्ज्योसोम गाउँपालिकामा पनि विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले जनजीवन अझै सामान्य हुनसकेको छैन । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले विपद्का समयमा भोगेको पीडाबाट अझै राहत महसुस भइनसकेको बताउनुभयो । “खोनपानी ट्याङ्की र पाइपलाइन क्षतविक्षत भएका छन् । कृषि, तरकारी, दुग्धजन्य उत्पादनमा क्षति पुगेको छ”, उहाँद्वारा सहयोगका लागि जारी गरिएको अपिलमा भनिएको छ, “विपद्पश्चात् पनि जनजीवन सामान्य हुनसकेको छैन । विद्युत् सेवा र सञ्चार सम्बन्ध टुटेका कारण थप समस्या भएको छ ।”

यस गाउँपालिका क्षेत्रमा तीनजनाको मृत्यु भएको थियो । बाढीका कारण पालिकाका पाँचवटा वडामा करिब १५० घर पूर्ण तथा एक सयभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । पालिकाभित्रका मुख्य तथा वैकल्पिक सडक पूर्ण रूपमा क्षतिग्रस्त छन् । विद्यालय, पसल, पानीघट्ट, विद्युत् पोल, माछा फर्म, कल्भर्ट, साँघु र प्रहरी चौकीमा समेत क्षति पुगेको छ । पालिकामा भएको सम्पूर्ण क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ । 

यस्तै, गोदावरी नगरपालिका पनि विपद् प्रभावितलाई उद्धारपछि राहत वितरणमा जुटिरहेको छ । सँगसँगै प्रभावितलाई पुनःस्थापना र पुनःनिर्माणको योजना बनाउने काम भइरहेको तर दसैँअघि सम्म पुनःनिर्माण गर्नसक्ने अवस्था नरहेको उपप्रमुख मुना अधिकारीले बताउनुभयो । “अहिले हामीले प्रभावित र प्राविधिकको राय सङ्कलनको काम गरिरहेका छौँ । तत्पश्चात् पुनःनिर्माणबारे योजना बनाएर काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “हामीले आफ्नो स्रोतसाधनले भ्याएसम्मको काम गर्छौं । बाँकी कामका लागि सङ्घीय र प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्थालाई आग्रह गर्छौं ।”  

बाढीपहिरोका कारण यस नगरपालिका– वडा नं ७, ५, ६, ३ र १० मा बढी क्षति भएको छ । विपद्का कारण २० जनाको मृत्यु भएको छ । वडा नं ७ मा अझ बढी समस्या छ । यहाँ झन्डै ३०० परिवार विस्थापित भएको नगरपालिकाले अनुमान गरेको छ । “यो पालिका पहाडी भूभागसँग जोडिएको छ । दुर्गम ठाउँ छ । विगतदेखि नै पहिरोको जोखिम  रहेका स्थानमा यसपटक निकै क्षति भयो । बाटोघाटा अवरुद्ध छन्”, उपप्रमुख अधिकारीले भन्नुभयो, “शुक्रबारदेखि प्रायः जस्तो वडामा ‘ट्र्याक’ खोलेर एकतर्फी सडक सञ्चालनमा आएका छन् । कतिपय वडामा सडक अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन बाँकी छ । टीकाभैरवको अवस्था नाजुक छ । घर, विद्यालय, पुललगायत सडक पहिराले क्षतिग्रस्त छ ।” 

यहाँ नगरपालिकाले विभिन्न गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर प्रभावितहरूलाई खाद्यान्न, म्याट्रेस, त्रिपाल, लत्ताकपडा वितरण गरिएको जनाएको छ ।    

दक्षिणकालीका स्थानीय तहलाई मन्त्री यादवको आग्रह : ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस्

काठमाडौँ, १९ असोज : खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । दक्षिणकाली नगरपालिकामा आज आयोजना गरेको जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन छलफल कार्यक्रममा मन्त्री यादवले हालैको बाढीपहिराले खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेको र ललिपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

खानेपानीको प्यासामा कोही तड्पाई रहेका छन्भने त्यसलाई आफूसँग भएको पानी दिनु सबैको कर्तव्य हुने भएकाले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकले ललितपुर क्षेत्रका नागरिकलाई पानी आपूर्ति गर्ने विषय एउटा मानवीय धर्मको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा हाम्रा कर्मचारी, केयुकेएलका कर्मचारी एवं प्रतिनिधिबाट केही समस्या भएको होला । त्यसैले अहिले दक्षिणकालीका नागरिक ललितपुरमा पानी पठाउन रुष्ट भएका हुन सक्छन् । तपाईँका समस्या के हुन् ? समाधानका लागि म पहल गर्नेछु । कृपया म हात जोडेर भन्छु । ललिपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस् ।”

बाढीपहिरोलगायत समस्याले अहिले देश बिपद्मा र समस्यामा परेकाले हामी सबै नेपालीले एक अर्कालाई मानवीय सहयोग गर्नका लागि एकजुट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो । “अविरल वर्षाका कारण गएको बाढी पहिराले देशका २१ जिल्ला प्रभावित भएका छन् । हामी बिपद्को घडिमा छौँ, नागरिक पानीका लागि तड्पिइ रहेका छन् । तपाईरूसँग पानी छ । अहिले नागरिकलाई पानी दिन तपाईहरूको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो ।

यसैगरी मन्त्री यादवले केही दिन पहिले गएको बाढीपहिरोका कारण दक्षिणकालीमा खानेपानीको क्षेत्रमा भएका तथा अन्य समस्याका विषयमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरोले भएको क्षतिका विषयमा सरकारद्वारा आवश्यक सहयोग गर्ने निर्णय भएको छ । सम्पूर्ण क्षतिको लागत तयार गर्नुहोला, मैले जतिसक्दो चाडो समस्या समाधान गराउन पहल गर्ने छु ।” 

दक्षिणकालीमा खानेपानीका भएका क्षतिको मर्मत सम्हारका लागि तत्काल काम थाल्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेकाले बाढीले भत्काएका र बिगारेका खाने पानीका मुहानका काम सूचारु हुनेमा ढुक्कसमेत हुन मन्त्री यादवले सबैमा आग्रह गर्नुभयो । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्या सम्बोधन गर्न आफूले सङ्घीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणकालीमा बाढीपहिरोका कारण भएका क्षतिका समस्या समाधन गराउन हामी हाम्रातर्फबाट सङ्घीय सरकारसँग सहजीकरण गछौँ, पानी पठाउन तपाईहरु सहयोग गर्नुस् ।”

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफू सदैब तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न हामी सदैब तयार छौँ, आजैदेखिण् पानी सञ्चालन गरी दिन म तपाईँलाई विषेश अनुरोध गर्दछु ।”

आजै मन्त्री यादवले फर्पिङ र दक्षिणकाली क्षेत्रको अवलोकन भ्रमण गरेर पानीको स्रोत र वितरण प्रणालीको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिनुभएको थियो । भ्रमणका क्रममा हालैको अविरल वर्षाले ल्याएको बाढीले क्षति पुर्‍याएका सुन्दरीजल पानी प्रशोधन केन्द्र, फर्पिङ जलाशय (हेड पण्ड), पेनस्टक पाइप, कुटुरी मूल र फर्पिङ पम्प हाउसमा भएको क्षतिको विवरण लिँदै ती क्षेत्रमा पानी आपूर्तिमा देखिएका समस्या समाधान गर्न आवश्यक कदमको बारेमा स्थानीय जनप्रतिनिधिसँग गहन छलफल पनि गर्नुभएको थियो ।

खानेपानीको स्रोतको उत्पादन क्षमता बढाउँदै वितरणलाई अझ प्रभावकारी बनाउन, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गर्नका लागि रहेका राजनीतिक र प्राविधिक चुनौतीको समाधान गर्न आफू प्रतिवद्ध रहेको जानउनु हुँदै मन्त्री यादवले आफ्नोे लक्ष्य स्थायी र दिगो समाधानमार्फत हरेक नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुभएको बताउनुभयो ।

सो कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डङ्गोल, जनप्रीतनिधिलगायतका आम नागरिकले बाढीबाट खानेपानीका क्षेत्र तथा आम नगरिकका भएका क्षतिलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नु पर्ने, दक्षिणकाली क्षेत्रका मुहानबाट खानेपानी लैजाँदा सङ्घीय सरकारले दक्षिणकाली नगरपालिकालाई वार्षिक बजेटमार्फत थप बजेट पठाउनुपर्ने माग राख्नुभएको थियो ।

आफ्ना मागका विषयमा राज्यले सम्बोधन गरे दक्षिणकालीबाट ललितपुरमा पानी पठाउनका लागि आफूहरू जतीबोला पनि तयारसमेत रहेको उहाँहरूले प्रतिबद्धता जनाउनुभएको थियो ।

आगामी उपनिर्वाचनबाटै माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छः अध्यक्ष दाहाल

काठमाडौँ, १९ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को आमनिर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।

पार्टी सम्बद्ध दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उहाँले देशव्यापी रुपमा एकल प्रतिस्पर्धामा जानेगरी पार्टीले तयारी थालेको र त्यसको सुरुआत आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । अध्यक्ष दाहालले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानले पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको र त्यसैको बलमा आगामी निर्वाचनमा जनमतबाट पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले जनताको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनपरिचालनसँग जोडेर अगाडि बढ्न पार्टीपङ्क्तिलाई अपिल गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जित सङ्कट समाधानका लागि पार्टीले महत्वपूर्ण पहलकदमी लिएको र यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आग्रहसमेत गर्नुभयो । “जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ राख्दैन । बाढीपहिरोका कारण सिर्जना भएको सङ्कट समाधानका लागि हाम्रो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको छ । त्यसैले मुलुक र जनताको पक्षमा काम गर्नु पनि एकप्रकारको आन्दोलन नै हो । यसमा सबैले सक्दो सहयोग गरौँ”, उहाँले भन्नुभयो,“जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको छ । भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा हामीले सत्तापक्ष र विपक्षको आँखाले कहिल्यै हेरेनौँ । अहिले पनि त्यही आवश्यकता छ ।”

कार्यक्रममा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

खोटाङ, १९ असोज : अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आज खुलाइएको हो ।

हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “अवरुद्ध सडक खुलाउन दिनरात नभनी दुईवटा डोजर प्रयोग गरेका थियौँ । तीन दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडी पार गराइएको छ”, उहाँले भन्नुभयो, “पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो । पहिरो पन्छाएर सडक खेलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।”

सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ तथा तराईका विभिज्ज जिल्लाबाट खोटाङ आएका साना तथा ठूला यातायातका सवारी साधन (गाडी) जयरामघाट, डौँठेखेला र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटारलगायतका ठाउँमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बीच सडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए । 

दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडक पटकपटक अवरुद्ध हुँदै आएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मतकार्य शुरु गरिएको छ । 

मध्यपहाडी लोकमार्ग बाहेक जिल्लाका सबै स्थानीय तहसँग जोडिएका अन्य सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । दसँैतिहार मान्न राजधानी काठमाडौँ तथा तराईका विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दालाई सहजरुपमा घरसम्म पुग्ने वातावरण मिलाउन जिल्लाका दशवटै स्थानीय तहले अवरुद्ध सडक मर्मत सुरु गरेपनि अहिलेसम्म सम्भव भएको छैन । 

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन १५ दिनअघि पहल थालिए पनि अविरल वर्षाका कारण सम्भव नभएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । दसँैतिहारअघि सबै ग्रामीण सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसमेतले आग्रह गरेको थियो । 

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएपछि दसैँतिहार मान्न विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीसमेत मारमा परेका छन् । 

ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि अधिकांश यातायातका सवारी साधन दिक्तेल बजारमै थन्क्याएर राखिएका छन् । कमाइ हुने समयसमेतमा अवरुद्ध सडकका कारण यातायातका सवारी साधन थन्क्याएर राख्नुपर्दा व्यवसायीलाई ठूलो क्षति भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । तस्वीर उपलब्ध छ । 

बडादसैँको तेस्रो दिनः गरियो चन्द्रघण्टा देवीको पूजाआराधना

काठमाडौँ, १९ असोज : नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । यो नेपालको राष्ट्रिय पर्वका रुपमा स्थापित भएको छ ।

गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो

काठमाडौँ, १९ असोज : विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोड्नुभएको छ ।

गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच आज पाँचबुँदे सहमति भएसँगै उहाँले अनशन तोड्नुभएको हो । गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले उहाँलाई जुस पिलाएर अनशन तोडाउनुभएको हो ।

समारोहमा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गर्नुभएको भन्दै मन्त्री लेखकले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “आमाहरू, तिनका सन्तानहरूको जीवन जोगाउनका लागि जुन तपस्या गर्नुभयो र हामीलाई झक्झक्याउनुभयो र हाम्रो ध्यान गम्भीरतापूर्वक आकर्षण गराउनुभएको छ, तपाईंलाई धन्यवाद छ ।”

गृहमन्त्री लेखकले अहिले सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुनुहुँदैन र सबै पीडामा रहेकाहरूको उद्धार गर्नुपर्छ भनेर उहाँले राख्नुभएको माग जायज भएको पनि बताउनुभयो । हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको कुरालाई समावेश गरी अघि बढ्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले तोकतान्त्रिक ढङ्गले गरिएको दीपक सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिनुभयो ।

उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गर्दै आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत, साधन तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थान गरी थप प्रभावकारी बनाउनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिनुभयो । 

हिजोको छलफलबाट सहमति गरी आज औपचारिक रुपमा हस्ताक्षर भएको जानकारी गराउँदै उहाँले सहमतिसँगै आजैका मितिबाट सिलवालको अनशन पनि अन्त्य भएको जानकारी दिनुभयो । 

कार्यक्रममा एक महिना अनशन बस्नुभएका सिलवालले आफ्नो माग हवाई एम्बुलेन्स नै रहेको जानकारी दिँदै अहिलेको हवाई उद्धार प्रभावकारी नभएकोतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सके हरेक प्रदेशमा एक÷एकवटा नसके कम्तीमा पनि चार ठाउँमा हवाई एम्बुलेन्स राख्न जरुरी रहेको औँल्याउनुभयो ।

उहाँलाई सहयोग गर्दै आउनुभएका पूर्वप्रदेश सांसद नरोत्तम वैद्यले तत्काल कार्यविधि संशोधन गरेर हवाई उद्धार प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यो सहमति कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिनुभयो । 

खान समर्थकको प्रदर्शनका कारण पाकिस्तानको राजधानी ठप्प

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामाबादको सामान्य जनजीवन प्रभावित बनेको छ । पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि धाँधलीको आरोप लागेको फेब्रुअरीको चुनावमा खानलाई उम्मेदवारी दिनबाट रोक लगाइएको थियो ।

निर्वाचनपछि खानविरूद्ध लगाइएका दर्जनौं कानुनी अभियोगहरूमा अदालतले खानलाई सफाई दिएको छ । तर पूर्व प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले नियमित प्रदर्शनका साथ सरकारको प्रदर्शनमाथि रोक लगाउने निर्देशनको अवज्ञा गरेको छ।

उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको उनको पावरबेसबाट पिटिआई कार्यकर्ताहरू शुक्रबार इस्लामाबादतर्फ जान थालेका छन् तर उनीहरूलाई कन्टेनर अवरोध र अश्रुग्यासको झोँकाको सामना गर्नुपरेको छ।

अक्टोबर १५ मा सुरु हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनअघि सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आवश्यकता औंल्याउँदै शनिबार साना र छरिएर रहेका काफिलाहरूले इस्लामाबादमाथि दबाब दिएका थिए।

“मलाई हाम्रा सबै जनताप्रति गर्व छ”, खानले शनिबार दिउँसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको सन्देशमा भनिएको छ, “हिजो बाहिर (सडकमा) निस्कँदा र अविश्वसनीय बाधाहरू पार गर्दै तपाईंले अविचलित लचिलोपन र साहस देखाउनुभयो।”

लाहोरमा शनिबार पनि विरोध प्रदर्शन भएको थियो, तर पूर्वी मेगासिटीलाई राजधानीसँग जोड्ने मुख्य मोटरमार्ग अवरुद्ध गरिएको थियो।

यसैबीच, एम्नेस्टी इन्टरनेसनलले सञ्चार कटौती र सडक अवरोधले जनताको अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, शान्तिपूर्ण भेला हुने र हिँडडुल गर्ने अधिकारको हनन गरेको जनाएको छ ।

“यो प्रतिबन्ध पाकिस्तानमा विरोध प्रदर्शन गर्ने अधिकारमाथिको चिन्ताजनक दमनको एक हिस्सा हो,” अधिकारवादी समूहले भनेको छ।

सामाजिक सञ्जाल एक्सलाई पनि चुनावपछि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । मतदानको दिन मोबाइल इन्टरनेट पनि काटिएको थियो र पिटिआईले निर्वाचनमा व्यापक रूपमा अनियमितता भएको आरोप लगाएको थियो।

खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रूपमा पाकिस्तानको नेतृत्व गर्नुभएको थियो भने उहाँलाई पाकिस्तानको राजनीतिक ‘किङमेकर’ मानिएको शक्तिशाली सैन्य संस्थापनसँग सम्बन्ध विच्छेद भएपछि संसद्मा अविश्वासको प्रस्ताव ल्याई अपदस्थ गरिएको थियो ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र सशस्त्र लडाकू समूहबीच भएको झडपमा छ सैनिक र त्यति नै सङ्ख्यामा सशस्त्र आक्रमणकारीको मृत्यु भएको सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त घटना प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको र त्यहाँ दुई पक्षबीच गोली हानाहान भएको इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) नामक सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

भक्तपुर, १९ असोजः नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा आज बिहानदेखि भेला सुरु भएको हो ।

महासङ्घको सदस्यता विवादका कारण पटकपटक तोकिएको निर्वाचन मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूसहितको भेलाले समस्या समाधानका उपाय खोज्नेबारे छलफल सुरु भएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । सदस्यतासम्बन्धी विवाद समाधानका लागि महासङ्घका ५३ जिल्लाका अध्यक्षहरूले राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएका थिए ।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा विभिन्न जिल्लाबाट सहभागी प्रदेश तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छभने विपद्का कारण भेला हुन नसकेका अध्यक्षहरूसँग ‘भर्चुअल’ माध्यमबाट छलफल एवं परामर्श गरिएको छ । राष्ट्रिय भेलामा पूर्वकेन्द्रीय अध्यक्षहरु डा सुरेश आचार्य, डा महेन्द्र बिष्ट, तारानाथ दाहाललगायतको सहभागिता रहेको छ । 

भेलामा निर्वाचन मिति, सदस्यता विवाद सुल्झाउनेबारे फरक फरक प्रस्तावहरूमाथि छलफल भइरहेको महासचिव पुरीले जानकारी दिनुभयो । जिल्ला अध्यक्षहरूका तर्फबाट पत्रकार महासङ्घ भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापतिले जिल्ला शाखाले सर्वसम्मत पारित गरेर प्रदेशले अनुमोदन गरेको नामावलीलाई मान्यता दिनुपर्ने, विधान विपरीत स्थानान्तरण गरिएका सदस्यता स्वतः रद्द हुनुपर्ने, पुस २० गते निर्वाचन गर्नुपर्ने प्रस्ताव भेलामा राख्नुभएको छ ।

स्थानीय सरकार प्रमुख भन्छन् : –सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ

नारायण न्यौपाने, काठमाडौँ । बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका मुहान मर्मत गर्ने, विच्छेद भएको विद्युत् आपूर्ति सञ्चालन गर्नेलगायत कार्यलाई स्थानीय सरकारहरूले प्राथमिकतामा राखेका छन् ।


यस पटक बाढीपहिरोबाट बढी प्रभावित काभ्रे र सिन्धुलीका स्थानीय जनप्रतिनिधिले मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडक मर्मत गरेर जनतासँग पहुँच स्थापित, विद्युतका ढलेका पोल मर्मतसम्भार गर्ने तथा क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरणजस्ता आधारभूत सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको प्रतिक्रिया दिएका छन् ।


बाढी प्रभावित क्षेत्रमा भएका क्षति तथा राहत र पुनःनिर्माणका विषयमा केन्द्रित रही राससका प्रतिनिधिले राखेको जिज्ञासा उनीहरूले आ–आफनो क्षेत्रमा मानवीय तथा भौतिक पूर्वाधारमा भएका क्षतिको विवरण सङ्कलन तथा राहत वितरणलगायतका  प्राथमिकताबारे व्यक्त गरेको धारणाको सम्पादित अंशः


सडक पहुँच पहिलो प्रथमिकतामा राखेको छुः  दिनेश लामा, अध्यक्ष रोशी गाँउपालिका


मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडकमा यातायात पहुँच स्थापित, ढलेका विद्युत् पोलको मर्मतसम्भार, क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको छ ।


बाढी प्रभावित क्षेत्रमा सडकको पहुँच स्थापित नभएसम्म केही नहुँदो रहेछ । विद्युतको ट्रान्सफर्मर ढुवानी, ढलेका पोल फेर्न बाटो नभई बोकेर लैजान सकिएन । त्यसकारण पहिले बिपी राजमार्ग र त्यसपछि पालिका जाने भित्री सडक दसँैअघि नै जसरी पनि सञ्चालन गरौँ भनेर अघि बढेका छौँ । बाढीपहिरोमा रोशी गाउँपालिका मात्रै १२ को मृत्यु भएको छ ।


भौतिक पूर्वाधारतर्फ दश शय्याको अस्पताल, पक्की र झोलुङ्गे पुल बगेका छन्भने औद्योगिक ग्रामको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएको छ । त्यहाँको भर्खरै तयार भएको चिस्यान केन्द्र पनि बाढीले बगाएको छ । तामाङ समुदायको जीवन्त झल्कने रोशीको तटीय क्षेत्रमा रहको डम्फु सङ्ग्रहालय र पार्क पनि बगेको छ ।


बाढी र पहिरोबाट पालिकाभित्र १२ वटा विद्यालय भवनमा क्षति पुगेको छ । एक दर्जन पक्किीसहित करिब ३०० घर पूर्ण क्षति भएका छन् । रोशी खोलाभित्रका धान उत्पादनमा मुलुकमै कहलिएका फाँटमा बढी पसेर सखाप भएको छ । बारीका कान्ला भत्किएर भित्राउन ठिक्क परेका मकैमा नोक्सानी पुगेको छ । रोशीलगायत खोला र खहरले धानबालीमा पुर्याएको क्षतिको आंकलन गर्न सकिने अवस्था नै छैन । एउटै व्यक्तिकै १५ रोपनीसम्म खेत रोशीले कटान गरेको छ, पुरेको छ ।


निजी सम्पत्ति र सडक बाहेक सार्वजनिक सम्पतिको क्षति मात्रै पनि अर्बाैं मूल्य बराबरको छ । राजमार्ग छाडेर अस्पताल, औद्योगिकग्राम, डम्फु पार्कमा भएको नोक्सानी जोड्दा अर्बको क्षति अनुमान गर्न सकिन्छ । निजी सम्पत्ति पनि सोही हाराहारीमा नोक्सानी भएको छ ।


प्राकृतिक विपद्पछि आउँदै गरेका दसँैलगायत चाडबाड यस पटक खल्लो हुने भएको छ । कतिपय स्थानमा चामलसमेत पु¥याउन सकिएलाजस्तो लाग्दैन । तथापि कोसिस भने जारी छ । तुलनात्मक रुपमा बाढीले फलामे साँगु, नारायणटार र नार्केमा बढी तहसनहस बनाएको छ ।


कृषिमा क्षेत्रमा भएको क्षतिमा ध्यान केन्द्रित गर्छौँ : दीपा दहाल (बोहरा), अध्यक्ष, सुनकोशी


बाढीपहिरोपछिको अवस्था निकै जटिल छ । स्थानीय तह र सङ्घसंस्थाबाट पीडित परिवारलाई राहत पु¥याउने काम तदारुकताका साथ भइरहेका छन् । विपद्मा स्थानीय तह र ती संस्था सारथी भएर जनताका घरदैलोमा पुगेका छन् । छिमेकी पालिका कमलामाई, दुधौली र मरिणले केही आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।


रेडक्रस, रिलिफ र वर्डभिनका प्रतिनिधिले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहेका छन् । उनीहरूमध्ये कसैले खानेपानी, कसैले स्वास्थ्य, कसैले आवासमा सहयोग पुर्याएका छन् ।  अप्ठेरोमा परेका व्यक्ति र समाजका लागि कुनै न कुनै माध्यमबाट सहयोग पुर्याउन स्थानीय सरकार प्रदेश र सङ्घ सहकार्य गर्दै अगाडि बढेको छ । साथै त्यसका लागि सङ्घ र प्रदेश सरकारबाटै शीघ्र सहयोग, समन्वय र योजनाको अपेक्षा गरिएको छ ।


बाढीबाट क्षतिग्रस्त जग्गाजमिन, घरजग्गा, खेतीबाली, पुलपुलेसा, खानेपानी, सडकमा बढी क्षति पुगेको छ । गड्तिर भेगका कैयौँ फाँटमा बाढी पसेर बाली नष्ट भएको छ । माटो थुप्रिएका ठाउँमा केही समयपछि त्यसलाई सम्याएर उब्जाउ गर्न सकिएला तर बगाएर लगेका स्थानमा भने गम्भीर समस्या हुन्छ । स्थानीय तहका सबै पदाधिकारी बसेर अब कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । सङ्घीय र प्रदेश सरकारले कृषिमा नै बढी ध्यान दिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग छ ।


यस विपद्बाट सुनकोशी गाउँपालिकामा तीन अर्ब नौ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मानवीयसँगै बाटो, बाली, विद्युत् र खानेपानीमा बढी क्षति भएको छ । पालिकाभित्र १३ वटा विद्यालयमा पूर्णरुपमा क्षति भएका छन् । दसँै लगत्तै कसरी विद्यालय सञ्चालनमा ल्याउने भन्ने अहिले गम्भीर  प्रश्न उठेको छ । यो ठूलो समस्या हो ।


बाढीले मुहान बगापछि गाउँमा खानेपानीको गम्भीर समस्या देखिएको छभने बाटो पनि त्यस्तै छ । रोग र महामारीको डर र भय पनि उत्तीकै छ । बाढीले गाउँपालिकाभित्रका ३७ वटा लिफ्टिङ खानेपानी आयोजनामा क्षति पुर्याएको छ । मुहान सफा गरी पानी वितरण गरिए पनि उपलब्ध पानी गुणस्तरीय र शुद्धताको प्रश्न रहन्छ । यस पटक दसैँलगायत चाडपर्व अघिल्ला वर्षजस्तै हर्षाेल्लास नभई खल्लो हुने स्वतः पूर्वानुमान गर्न सकिन्छ ।


बाढीसँगैको लेदो माटो पन्छाउन निकै समस्या भइरहेको छ । प्रभावित भेगमा शौचालय जाने पानी छैन । हामीले पहिला सडकको पहुँच स्थापित गर्ने, खानेपानी आपूर्ति गर्ने, विद्युत् सञ्चालनको कामलाई एकैसाथ लिएर जानेगरी प्राथमिकता निर्धारण गरिएका छौँ । विद्युत् प्राधिकरणले यस क्षेत्रमा द्रूत गतिमा काम गरिरहेको छ । केही दिनमै अब विद्युत आपूर्ति हुन सक्छ ।


सुनकोशी गाउँपालिकाभित्र १०६ घरमा बाढीपहिरोले नोक्सानी पु¥याएको छ । स्थानीय तहले १० वर्षसम्म भित्र आधारभूत रुपमा सबै काम सम्पन्न गर्ने कार्यतालिका निर्धारण गरेको थियो । तर यस पटकको बाढीले त्यो योजना चकनाचुर बनाइदियो । फेरि शून्यदेखि सुरु गर्नुपर्ने अवस्था आएको छ ।


बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने भयोः शङ्करराज बराल अध्यक्ष, गोलञ्जोर गाउँपालिका


खुर्कोट बजारमा सुनकोशी बाढी पसेर ३५ भन्दा बढी घर र पसल डुबान परे । पुरिएका भौतिक संरचनाभित्र र वरपरको बालुवा हटाउने र घर सफा गर्ने कार्य स्थानीय तह तथा नेपाल प्रहरी खटिरहेको भइरहेका छन् । बाढीले बगाएको सुनकोशीको पुलको स्थानमा बेलिबृज जडानका लागि नेपाली सेनाबाट अध्ययन भइरहेको छ ।


पहिलो चरणकोे तत्कालीन मानवीय सहायता करिब ८५ घरपरिवारलाई वितरण गरियो । पुरिएर नोक्सानी भएका धान खेत सम्याउने र मिलाउने काम स्थानीय सरकारबाट हुनुपर्छ भन्ने जनताको माग छ । जनअपेक्षाअनुरुप नै त्यो काम गर्ने प्रतिबद्धता स्थानीय तहले जनाएका छन् ।


सुनकोशीबाट खानेपानी र सिँचाइका लागि लिफ्ट गरिएका आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ । त्यसको सरसफाइ र मर्मत कार्यमा तत्काल केही समस्या भएको छ । विकल्पका रुपमा पाइपको व्यवस्थापन गरी अघि बढ्ने प्रक्रिया भने सुरु भइसकेकोे छ । बाढीले गाउँपालिकाभित्रका १६ भन्दा बढी लिफ्ट आयोजनामा नोक्सानी पु¥याएको छ । त्यसबाट खुर्काेटको बजार क्षेत्र, हैवारबँेसी, बलेनीलगायत क्षेत्र खानेपानीबाट बढी प्रभावित छन् ।


यस पटकको विपद्बाट पालिकाभित्र गड्तिर भेगका करिब ८५ घर क्षति भएको प्रभारम्भिक तथ्याङ्क आएको छ । बाढीबाट गड्तिर भेग मात्र नभई महाभारत क्षेत्रका घरहरू पनि जोखिममा छन् । अलिकति पानी पर्ने बित्तिकै घर लड्ने, बग्ने र पहिरोमा पर्ने सम्भावना निकै ठूलो छ । त्यस्ता सङ्कटउन्मुख घरको सङ्ख्या डेढ समय माथि रहेका छन् ।


बाढीबाट बढी प्रभावित खुर्काेट बजारमा व्यपार–व्यवसाय गर्ने व्यक्ति स्थानीय नभई अन्य जिल्लाका भएकाले उनीहरूलाई हामीले तीन दिन मेस चलाएर खाना खुवाइयो । पहिलो चरणको राहत पाएपछि उहाँहरू आफ्ना स्थायी बसोबास भएको ठाउँमा फर्किएका छन् । बाँकी रहेका व्यक्ति पनि बजार वरपर रहेका आफ्ना पुराना घर सफा सुग्घर गर्दैछन् । यस पटकको दसैँ त्यही पुरानै घरमा मनाउनेजस्तो देखिएको छ ।


भौतिक पूर्वाधारका क्षेत्रमा बढी नोक्सान भनेको खुर्काेट बजार नै हो । दसैँ नजिक बाढी आएकाले व्यापारीले धेरै सामान खरिद गरेर राखेका थिए । त्यसमा ठूलो नोक्सानी भयो । डुबानमा परेका घर बस्न योग्य छैनन् । बढीपहिरोबाट पालिका भित्रका खेतमा लगाएको धानबाली पुरिएर नोक्सानी भएको छ । धानबाली नै खतम भएकाले वर्षभर के खाने भन्ने किसानलाई चिन्ता छ । खेत सफा गर्दिएर अर्काे बालीनाली लगाउने वातावरण बनाउने र यातायात सञ्चालन गर्नुपर्ने चुनौती छ ।


अर्कातर्फ बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने गरी भत्किएको छ । अहिले तत्कालका लागि मध्यपहाडी सडक आयोजनाको सहयोगमा अहोरात्र खटिएर साना गाडी छिचोल्ने ढङ्गबाट मात्र राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई

काठमाडौँ, १९ असोजः यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मीप्रसाद भट्टराई (लक्ष्मण गाम्नागे) लाई प्रदान गरिएको छ । भैरव पुरस्कार गुठीले आज यहाँस्थित जोरपाटीमा आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि नगद रु एक लाख ११ हजार १११ रहेको छ । सोही कार्यक्रममा भैरव वाङ्मय पुरस्कार कोशकार एवं नेपाली भाषा साहित्यको शुद्धीकरण अभियानी चूडामणि गौतमलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि पनि नगद रु एक लाख एक हजार १११ रहेको छ ।

यसैगरी, रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वका बारेमा क्रमशः प्राडा रामप्रसाद ज्ञवाली, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली र मेनका पोखरेलले प्रकाश पार्नुभएको थियो । पुरस्कृत व्यक्तित्वत्रय गाम्नागे, गौतम र गिरीले नेपाली हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं संविधानसभा सदस्य रामेश्वर फुयाँलले साहित्यकारले समाजमा भएको वास्तविकतालाई ऐनाका रूपमा देखाउनुपर्ने बताउनुभयो । काठमाडौँको उत्तरपूर्वी भेग साहित्यको उर्वर भूमि भएकाले यहाँ धेरै साहित्यिक क्रियाकलाप हुने गरेको उहाँले सुनाउनुभयो ।

वरिष्ठ पत्रकार विजय चालिसेले हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । आफूलाई साहित्य क्षेत्रमा अघि बढाउन पनि अर्यालको योगदान रहेको चालिसेले चर्चा गर्नुभयो ।
कार्यक्रममा गुठीका अध्यक्ष रोचक घिमिरे, सचिव वसन्त रिजाललगायतले संस्थाले प्रत्येक वर्ष हास्य व्यङ्ग्य साहित्य र कला क्षेत्रमा योगदान गर्नेलाई भैरव अर्यालका नामको पुरस्कार वितरण गर्ने गरिएको जानकारी गराउनुभएको थियो ।

भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले राज्यको ‘गारो हिल्स’ क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

मेघालयका मुख्यमन्त्री कोनराड सङ्गमाले बाढीको अवस्थाको समीक्षा गर्दै जिल्ला प्रशासनलाई स्थानीय सरकारसँग सहयोग लिन र प्रभावित क्षेत्रमा राहत कार्य सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।

पश्चिम गारो हिल्स जिल्ला दलु–३ र दक्षिण गारो हिल्स जिल्ला ग्यासुआपारा–७ मा बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीहरूका अनुसार स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) का कर्मचारीहरूले प्रभावित क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् ।
पाँच जिल्लाका प्रभावित क्षेत्रमा व्यापक क्षति भएको जनाइएको छ ।पानी बढेपछि काठका पुल भत्किएका छन् । बगेका पुल तत्काल पुनर्निर्माण गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ ।

मेघालयको पश्चिमी गारो हिल्सबाट बगेको वर्षाको पानीले छिमेकी आसम राज्यको मानकाचरमा बाढी आएको र धेरै गाउँहरू डुबानमा परेको रिपोर्टहरूमा उल्लेख गरिएको छ ।