`

बाढी पूर्वसूचनाका लागि जोगबुढा र महाकाली नदीमा गेज मिटर स्थापना

Nepal One HD २२ वैशाख २०८२ ६:२३
समाज

दोधारा चाँदनी (कञ्चनपुर)- जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढी पूर्वसूचनाका लागि तयारी तीव्र थालेको छ । यसै क्रममा कार्यालयले कञ्चनपुरको महाकाली र दोधारा चाँदनीको कुतियाकवरस्थित जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर स्थापना गरेको छ ।

यहाँको चौधर नदीमा बाढी पूर्वसूचनाका लागि चेतावनी र खतरा तहको सर्वेक्षण गरिएको फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार शाहले जानकारी दिनुभयो । “महाकाली नदी र जोगबुढा नदीमा गेज मिटर स्थापना भइसक्यो । बाढी पूर्वसूचनाका लागि चौधर नदीमा चेतावनी र खतरा तहको सर्वेक्षण गरिएको छ”, उहाँले भन्नुभयो ।

शाहका अनुसार यस चौधर नदीमा गरिएको कार्यले यहाँको बेदकोट, भीमदत्त र बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित क्षेत्रका समुदायलाई सहज हुनेछ । गत वर्षको बाढीले यस क्षेत्रमा चार मिटरभन्दा बढी बाढी आएर क्षति गरेकाले यस वर्ष नदीमा पूर्वसूचना प्रणाली स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “यसले बाढी प्रभावित क्षेत्रका बासिन्दाले मोबाइलमा जलसतह कति पुग्यो भनेर हेर्न सक्छन्”, उहाँले भन्नुभयो, “त्यहीअनुसार पूर्वतयारीमा जुट्न यहाँका बासिन्दालाई सहज हुनेछ । जसले गर्दा भौतिक र मानवीय क्षति कम हुन्छ ।” कार्यालय प्रमुख शाहले मनसुनभन्दा पहिले नै सबै नदीमा पूर्वसूचना प्रणाली जडान गरिसक्ने बताउनुभयो ।

पछिल्लो समय जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना प्रणालीले गर्दा क्षति कम हुने गरेको छ । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढाले विभागबाट मोबाइलमा आउने सूचनाले पूर्वतयारीमा लाग्न सहज हुने गरेको बताउनुभयो । “पहिला बाढी कति आयो भनेर महाकाली नदीमा हेर्न जानुपथ्र्यो । पछिल्लो समय विभाग, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाबाट मोबाइलमै सूचना आउँछ । त्यसले गर्दा पूर्वतयारी गर्न सजिलो हुन्छ”, उहाँल्े भन्नुभयो ।

बुढाले जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर स्थापनाले थप सजिलो हुने बताउनुभयो । “अब नदीमा कलर हेरेर हामी खतराको तह थाहा पाउने छौँ, नदीको सतह हेर्न जानुपर्ने बाध्यता अब हुँदैन”, उहाँले भन्नुभयो, “बाढीबाट बच्नका लागि यहाँ दुई वटा सेभ हाउस छन् यसले धेरै सजिलो भएको छ ।” तीन तिर जोगबुढा नदी र एकातर्फ महाकाली नदीले घेरेको कुतियाकवर बाढीले सबैभन्दा बढी प्रभावित हुने ठाउँ हो ।

स्थानीय सागर थापाले विभागले निकाल्ने सूचना धेरै हदसम्म मिल्ने गरेकाले धेरै सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो सयम प्रहरी, नगरपालिका र विभागबाट बाढीको अपडेट समयमै मोबाइलमा थाहा पाउने भएकाले जोखिम कम हुँदैछ । बाँकी स्थानमा पनि पूर्वतयारी स्वरूप भइरहेका गतिविधिले आगामी वर्षायाममा थप सहन हुने अपेक्षा गरेका छौँ ।”

जल तथा मौसम विज्ञान विभागले यहाँका विभिन्न नदीमा पूर्वसूचना प्रणाली जडान गरेर नदीको जल सतहबारे जानकारी दिँदै आएको छ ।


प्रतिक्रिया