`

चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने

चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ–१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको चिनियाँ अन्तरिक्ष विभागले जनाएको छ ।

यस हप्ता जारी गरिएको विभागको अक्टोबर मिशन योजनाअनुसार, चीनको परिक्रमा गर्ने टियाङगोङ अन्तरिक्ष स्टेशनमा चढेका शेन्झाउ–१८ चालक दलले यसै महिना अन्तरिक्षमा आफ्नो छ महिना अभियान पूरा गरी पृथ्वीमा फर्किनेछन् ।

शेन्झाउ–१८ चालक दलमा तीन पुरुष रहेका छन् । चालक दललाई अप्रिल २५ मा अन्तरिक्षमा पठाइएको थियो ।

शेन्झाउ–१८ दल नियमित र व्यवस्थित कार्य–जीवन सन्तुलन कायम राख्न प्रयासरत छन् । यद्यपि, उनीहरूको समय प्रायः वैज्ञानिक प्रयोग, डाटा सङ्कलन र नयाँ टोलीको आगमनको लागि तयारी र हस्तान्तरण कार्य सहितको भारी कार्यभारले ओगटेको छ ।

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउदै नासाको ‘साइकी मिशन

नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ । यो मिसनको महत्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ ।

गत वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।

प्रक्षेपण भएको लगभग एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको छ ।

नासाका अनुसार यो उपलब्धी मानवले एक दिन लेजरकोमाध्यमबाट मंगल ग्रहमा र त्यहाँबाट पृ्थ्वीमा सुञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो ।

बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण

जानकी (बाँके), १९ असोजः खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइएको हो ।

“शुक्रबार खजुराको गिजरा सामुदायिक वनको जङ्गलबाट चितुवालाई नियन्त्रणमा लिएका छौँ”, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताले भन्नुभयो, “चितुवाले समस्या पारेको जनगुनासो आइरहेको थियो । वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिएका हौँ ।”

सोही गाउँपालिका–६ का वीरेन्द्र पुन मगरकी साढे दुई वर्षीया छोरी लक्ष्मी पुन मगर गत भदौ ३० गते बेलुका घरको आँगनबाट एक्कासि हराएकी थिइन् । खोजी गर्दा घटनाको दुई दिनपछि नजिक रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरीर खाएको अवस्थामा बालिकाको शव फेला परेको थियो । उक्त घटना घटेको १८ दिनपछि सोही ठाउँबाट शुक्रबार भाले चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख गुप्ताले बताउनुभयो ।

खेजीका क्रममा नाबालिकालाई जङ्गलमा मृत अवस्थामा फेला परेकामा स्थानीयले सोही चितुवाले उनलाई मारेको हुनसक्ने अनुमान गरेका थिए । एउटा चितुवा नियन्त्रणमा दिए पनि बच्चा खाने चितुवा यही हो भन्ने यकिन हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताले बताउनुभयो । “कुन चितुवाले लगेर मा¥यो भन्ने पुष्टि हुन सकेको छैन । बच्चाको ‘पोष्टमार्टम रिपोर्ट’ पनि अझै आइपुगेको छैन”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा भएको कुरा पुष्टि नहुँदै यकिनका साथ भन्न सक्दैनौँ ।”

उक्त चितुवा नियन्त्रण गर्न कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरासमेत जडान गरेको थियो । चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीलाई नौ दिनसम्म गिजरा वन क्षेत्रमा परिचालन गरिएको थियो ।

ठाउँठाउँमा क्यामेरा जडान गरी जङ्गलमा आहारा राखेर खोरमा फसाउन सफल भएको डिभिजन वन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ । चितुवाको स्वास्थ्य परीक्षण गरेपछि उक्त चितुवालाई कहाँ छाड्ने भन्ने विषमा सम्बन्धित पक्षबीच छलफल गरी निर्णय गरिने डिभिजन वन प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

उजाड अवस्थामा रहेको खाली जमिनमा वृक्षरोपण गरेर करिब तीन दशकअघि यहाँका स्थानीयले वन संरक्षण गर्दै आएका हुन् । वन, जङ्गल बढ्दै गएपछि स्थानीयले गिजरा सामुदायिक वन उपभोक्ता समूह स्थापना गरेका थिए । अहिले उक्त वन क्षेत्र विभिन्न वन्यजन्तुको बासस्थान बनेको छ ।

राँझा सबडिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत राजबहादुर चौधरीले चितुवालाई नियन्त्रणमा लिन निकै सास्ती बेहोर्नु परेको बताउनुभयो । “धेरै दिनको प्रयासपछि चितुवालाई नियन्त्रणमा लिन सक्यौँ”, उहाँले भन्नुभयो, “यसलाई नियन्त्रणमा लिएसँगै स्थानीयमा केही सहजता महसुस भएको पाएका छौँ ।”

खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले चितुवा नियन्त्रणमा लिन खटिएका सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई राज्यले आवश्यक राहत तथा क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबैले सजगता अपनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

‘चाडपर्वको नजिक बाढीपहिरोको घटनाले यातायात क्षेत्र समस्यामा’

काठमाडौँ, १९ असोजः यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् ।

नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निकट गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको नजिक भएका विपद्जन्य घटनाले नेपालको यातायात क्षेत्र समस्यामा परेका बताएका हुन् ।

व्यवसायी सङ्घसङ्गठनले बाढी र पहिरोबाट निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै हराएकाको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन् । घाइतेको उपचार, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यातायात सङ्घसंस्थाहरुले बाढीपहिराको घटनाले चाडपर्वको सम्मुखमा व्यवसायीको नियमित गतिविधिमा असर पुग्नाका साथै बिपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सार्वजनिक सवारीसाधन र मजदुर अलपत्र परेको बताउँदै तत्काल अलपत्र सवारीसाधन तथा यात्री उद्धार गर्नुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीहरुले दसैँ अगावै समस्या समाधान गर्ने पहलकदमी लिनाका साथै यातायात व्यवसायी तथा मजदुरलाई तत्काल राहत पुग्ने किसिमको वित्तीय सहयोगको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षसमेत गरेका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष श्रीप्रसाद मैनाली र गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

चाडबाडलाई लक्षित गरी पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी, १९ असोजः दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका महानगरका उपप्रमुख एवं उपभोक्ता संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार पोखरा–२ को भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, पोखरा–३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा–८ मा रहेको सहारा ट्रेडिङमा अनुुगमन गरिएको हो ।

अनुुगमनका क्रममा म्याद गुु्ज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुुच्छालगायत गरी रु ११ हजार एक सय ७९ बराबरको सामग्री जफत गरी नष्ट गरिएको संयोजक गुरुङले जानकारी दिनुभयो । ती पसलमा प्याकेजिङ अनुमति पत्र नलिई सामान प्याकेजिङ गरेको, व्यवसाय नवीकरण नगरेको, नापतौल दर्ता नभएको पाइएको उहाँको भनाइ छ ।

अनुुगमन गरिएका आठ वटै पसलका सञ्चालकलाई यही असोज २१ ग्ते महानगरमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताउनुभयो । चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको गरेको छ । बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दी रुपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने अधिकृत सापकोटाले बताउनुभयो ।

तिहारसम्मै बजार अनुगमनलाई तीव्रता दिइने महानगरले जनाएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतका प्रतिनिधि सहभागी छन् ।

‘बाढीपहिरोबाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड’

जनकपुर (धनुषा), १९ असोजः नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले अतिवृष्टि तथा अनावृष्टि भई बाढीपहिरो जस्ता मनसुनजन्य विपद् हुनुको प्रमुख कारक चुरे पर्वतको विनाश रहेको बताउनुभएको छ ।

नेपाल भारत खुला सीमा संवाद समूह धनुषाद्वारा जनकपुरधाममा आयोजित ‘बाढ–विपद् आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएको यादवले प्रत्येक वर्ष आउने बाढी तथा पहिरोको प्रमुख करण चुरे पर्वत विनाश भएकाले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो ।

“प्रत्येक वर्ष बाढी आउँछ, यस वर्ष अरु वर्षको तुलना बढी क्षति पु¥याएको छ”, संसदीय दलका नेता यादवले भन्नुभयो, “अब सबै मिलेर खाली जमिनमा वृक्षारोपण गर्ने, चुरे पर्वतको संरक्षण गर्ने, अवैध बालुवा तथा गिट्टी उत्खनन रोक्नेलगायत काम गरेर बाढीपहिरो जस्ता विपद्बाट बच्न सक्छौँ । मनसुनजन्य विपद्का समस्या चुरेको विनाशले नै भएको हो ।”

पूर्वमन्त्रीसमते रहनुभएका नेता यादवले सङ्घीयतापछि भएको प्रदेशहरुको सीमाङ्कनमा कमी रहेको औँलयाउँदै प्रदेशको विभाजन गर्दा पहाड र तराईका जिल्ला समेटेर गर्नुपर्नेमा जोड दिनुभयो । आफू सङ्घीय सांसद रहेको बेला चुरे क्षेत्रको अनुगमन गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “राजमार्ग छेउमा रहेका अधिकांश वनजङ्गल अतिक्रमण गरी बस्ती बसालिएका छन्, रूखबिरुवा कम हुँदै गएका छन्, यसले विनाश निम्ताइरहेको छ ।”

नेता यादवले चुरिया पर्वतमा हराभरा खेती भइरहेको भन्दै यस्ता अतिक्रमण तत्काल हटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नदीको प्राकृतिक स्वरुप बिग्रने गरी गरिएको अवैध उत्खननले चुरे क्षेत्रको क्षति हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेता यादवले नेपाल भारत सीमा क्षेत्रको सुरक्षाका लागि दुवै देशका सरकार, सरोकार भएका निकाय, नागरिक समाज तथा अभियन्ताले सहकार्य र समन्वय गर्दै चुरे समस्याको समाधान गर्न नीतिगत रुपमा योजनाबद्ध काम गर्नुपर्न उल्लेख गर्नुभयो ।

नेपाल भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले बाढीको समस्या र नेपाल भारतबीचको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालबाट बग्ने छ हजारभन्दा बढी नदीनाला उत्तर भारतसम्म पुग्ने गरेका र सुक्खायाममा गङ्गा नदीको जलप्रवाहमा ७० प्रतिशत योगदान नेपालका नदीनालाले दिने गरेको उक्त कार्यपत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष झाले चुरे दोहनका कारण पहाडमा अधिक वर्षा हुने गरेको भन्दै पानीको अत्यधिक चाप अनियन्त्रित भई बाढीपहिरो जस्ता विपद् आउने गरेका बताउनुभयो । बर्खायामभन्दा पहिले बाढी नियन्त्रणका लागि संयुक्त रुपमा काम गर्न भारत सरकारसँग समन्वय गर्न उहाँले नेपाल सरकारलाई अनुरोध गर्नुभयो ।

नागरिक समाजका अगुवा मुरली मनोहर मिश्राले प्राकृतिक स्रोतसाधनको अवैध दोहनका कारण यस्ता विपद् आउने गरेका बताउनुभयो । उद्योग वाणिज्य सङ्घ जनकपुरधामका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले राजनीतिक दल एकजुट भई नदी दोहन, अव्यवस्ति बस्ती तथा सडक विस्तार रोक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार श्यामसुन्दर शशि, जनकपुधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साह, शिक्षक सत्रुधन साह, सञ्जय सिंह, विनोद ठाकुर, सन्तोषलाल कर्ण, प्रा डा वीरेन्द्रलाल कर्ण, प्राध्यापक ईश्वरकान्त झालगायत व्यक्ताले बाढीपहिरोलगायत मनसुनजन्य विपद्बाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

दसैँका बेला सडक अवरुद्ध हुँदा जनतालाई सास्ती, एक सातादेखि बुद्धसिंह मार्ग अवरुद्ध

दमौली (तनहुँ), १९ असोजः एक सातादेखि पहिराले अवरुद्ध भएको तनहुँको बुद्धसिंह मार्गमा पहिरा पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षासँगै पहिरा आउँदा विभिन्न ठाउँ अवरुद्ध भएको थियो अवरुद्ध सडक सञ्चालन गर्न पहिरा पन्छाउने काम सुरु गरिएको हो ।

हालसम्म व्यास नगरपालिका–१४ मास्दीघाटबाट बन्दीपुर गाउँपालिका–६ खहरेसम्मको पहिरा पन्छाइएको स्थानीय अगुवा सिद्धान्त थापा मगरले जानकारी दिनुभयो । बन्दीपुरस्थित नाल्दीघाटमा ठूलो पहिरा गएको र सानो जेसिभी भएकाले पहिरा पन्छाउन समस्या भएको उहाँले बताउनुभयो ।

“नाल्दीघाटबाट साराङघाटसम्म सडक खुलाउन बाँकी छ । ठूलो क्षमताको जेसिभी ल्याएर बाँकी खण्ड खुलाउने प्रयास गरिरहेका छौँ”, मगरले भन्नुभयो, “यो विपद्को घडीमा स्थानीय सरकार र पूर्वाधार कार्यालयले संवेदनशील भई सहकार्य र समन्वय गर्नुपर्छ ।”

दसैँका बेला सडक अवरुद्ध हुँदा यहाँका जनताले सास्ती खेपेका छन् । “ठाउँठाउँमा गएको पहिराले हिँड्डुल गर्न समस्या भएको छ । कोही बिरामी भयो भने स्वास्थ्य संस्थासम्म लैजान सक्ने अवस्था छैन । दसैँका लागि किनमेल गर्न जाने सर्वसाधारणलाई सास्ती भएको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ ।

उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात् बाटो अझ छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ सात पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ पाँच पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ आठ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ सात पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

कञ्चनपुर, १९ असोजः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।

निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उहाँले बताउनुभयो ।

बस्तीभन्दा झन्डै तीन–चार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट लागेर वा विषादीका कारण मरेको भन्नेबारे पशु चिकित्सकको टोलीले चेकजाँच गर्दा त्यस्तो केही पनि फेला नपारेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिनुभयो ।

निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको गस्ती टोलीले हात्ती मृतावस्थामा फेला पारेको उहाँले बताउनुभयो । “सेनाको टोलीले दैनिक निकुञ्ज क्षेत्रमा गस्ती गर्छ”, उहाँले भन्नुभयो, “त्यही क्रममा शुक्रबार दिउँसो पडाव क्षेत्रमा हात्ती मृतावस्थामा देखेपछि निकुञ्ज कार्यालयमा खबर गरेको हो ।”

हात्तीको मलद्वारबाट गोवर र आन्द्रा निस्केको अवस्थामा रहेको पाइएको जानकारी दिँदै निकुञ्जका सूचना अधिकारी ऐरले पशु चिकित्सकले चेकजाँच गर्दा पेटभित्र ग्यास भरिएर त्यसो भएको जनाएका बताउनुभयो । हात्ती गर्भवती भने नरहेको उहाँको भनाइ छ । हिन्दू परम्पराअनुसार सरोकार भएकाहरुको रोहवरमा हात्तीको सद्गत गरिएको उहाँले राससलाई जानकारी दिनुभयो ।

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड, ‘लिफ कोलिजन’मा सम्झौता गर्दै

काठमाडौँ, १९ असोजः विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्र्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ ।

नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र रु एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैङ्कसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउनेगरी सम्झौता भएको थियो । अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैङ्कले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी÷जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ । “यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ”, प्रवक्ता ढुङ्गानाले भन्नुभयो ।

कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो ।

उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिनुभयो । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ । सहसचिव पुडासैनीले भन्नुभयो, “नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब तीन करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ ।”

‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल

पहिलो चरणको कार्बन व्यापारपछि नेपालका तर्फबाट ‘उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम’ (लिफ कोलिजन) सम्बन्धी प्रस्ताव पेस भई सन् २०२१ नोभेम्बर ३ मा हस्ताक्षर भएको थियो । लिफ कोलिजन बजारमुखी तथा नतिजामा आधारित संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नर्वे र दक्षिण कोरियासहित २६ निजी कम्पनीको साझेदारी संयन्त्र हो ।

घाना, ब्राजिल र कोष्टारिकाले यसमा कार्बनको मूल्य निर्धारण गरी सम्झौता गरिसकेका छन् । नेपालले आगामी नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलनका बेला त्यस्तो सम्झौता गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । यसमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशस्थित वनमा सञ्चित कार्बन बिक्री गर्नका लागि आवश्यक तयारीसम्बन्धी क्रियाकलाप सञ्चालन गरिएको सहसचिव पुडासैनीले जानकारी दिनुभयो ।

नेपालले सन् २०२८ सम्मका लागि हुने यस सम्झौताअनुसार उक्त तीन प्रदेशमा तीन दशमलव दुई मिलियन हेक्टर वन क्षेत्रमा सात मिलियन टन कार्बन सञ्चिति गरिनेछ । यस कार्बन सञ्चितिबापत नेपालले एक सय मिलियन अमेरिकी डलर रकम प्राप्त गर्नेछ । यस सम्झौतामा कार्बनको मूल्य निजी कम्पनीसँग प्रतिटन २५ डलर र सार्वभौम मुलुकसँग १० डलर प्रतिटन निर्धारण हुनेछ ।

कार्बन व्यापारसम्बन्धी विज्ञ तथा मन्त्रालयका पूर्वसहसचिव पुरुषोत्तम घिमिरेले कार्बन व्यापारका सम्बन्धमा वन मन्त्रालयले निजी क्षेत्रलाई स्वागत गरेर अघि बढ्न सके मात्र सफलता प्राप्त हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कार्बन व्यापार गर्र्न निजी क्षेत्रलाई नल्याई सम्भव हुँदैन । निजी क्षेत्रलाई यसमा अनुमति दिइसकेपछि कानुनी दायरामा राखेर नियमन गर्दा हुन्छ, बाँकी काममा भने स्वतन्त्रता दिनुपर्छ । हरेक पटक मन्त्रालयले काममा हस्तक्षेप गर्न हुँदैन ।” निजी क्षेत्रका जग्गामा वन जङ्गल उत्पादन गरेर कार्बन व्यापारका लागि प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।

‘रेडप्लस’ के हो ?

पृथ्वीको सबैभन्दा बाहिरी सतहमा रहेर पृथ्वीबाट परावर्तन भई बाहिर निस्किने तापिए किरणहरुलाई रोक्ने र पृथ्वीको तापक्रम क्रमिक रुपमा बढाउन भूमिका खेल्ने ग्यासहरुलाई हरितगृह ग्यास भनिन्छ । हरितगृह ग्यासहरुमा सबैभन्दा बढी भूमिका खेल्न सक्ने ग्यासका रुपमा कार्बनडाइअक्साइड ग्यासलाई मानिएको छ ।

त्यस्तै, जलवायु परिवर्तनको मुख्य कारण पनि विभिन्न स्वरुपमा रहेको हरितगृह ग्यासहरु वायुमण्डलमा प्रवेश गर्नुलाई मानिएको छ । वन विनाश तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने, वनको प्रभावकारी संरक्षण गर्ने र यसको दिगो व्यवस्थापनमार्फत कार्बन सञ्चिति क्षमता अभिवृद्घि गराउने कार्य गरेबापत विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रहरुबाट प्रोत्साहनस्वरुप प्राप्त हुने भुक्तानीको अवधारणालाई समग्रमा रेडप्लस भनिएको हो ।

यस कार्यक्रमअन्तर्गत वन विनाशका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन क्षयीकरणका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन कार्बन सञ्चितिको संरक्षण, वनको दिगो व्यवस्थापन र वन कार्बनको सञ्चितिमा अभिवृद्धि गर्ने कार्य गरिन्छ ।

नेपालले पनि रेडमार्फत सन् २००८ देखि विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ । सन् २०१८ मा तयार भएको राष्ट्रिय रेड रणनीति कार्बन व्यापार तथा रेडप्लस कार्यक्रमको कोसेढुङ्गा हो । रेडप्लस कार्यक्रमको सिलसिलामा नेपाल तयारी चरणबाट कार्यान्वयन चरणमा प्रवेश गर्न लागेको छ ।

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ, १९ असोजः देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ, १९ असोजः बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो ।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उहाँले सुनाउनुभयो ।

नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ । बडादसैँका दिनबाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

एभरेस्ट महिला भलिबल लिग : ललितपुरले चितवनलाई हरायो

काठमाडौँ, १८ असोजः एभरेस्ट महिला भलिबल लिगअन्तर्गत आजको खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा ललितपुरले चितवनलाई ३–१ सेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै ललितपुरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

खेलमा पहिलो सेट १९–२५ ले गुमाएको ललितपुरले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पा¥यो । ललितपुरले चितवनमाथि दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१६, तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । 

यस जितसँगै पाँच खेलमा १० अङ्क जोडेको ललितपुर दोस्रो स्थानमा उक्लिएको छ । अब लिग चरणको अन्तिम खेलमा कर्णाली यसभिएसले काठमाडौंँ स्पाइकर्सलाई सोझो सेटमा पराजित गरे ललितपुर फाइनल पुग्नेछ । 

यसअघि काठमाडौँ र मधेस युनाइटेडलाई समान ३–१ को सेटमा हराएको ललितपुर कर्णालीसँग ३–० तथा गण्डकीसँग ३–२ को सेटमा पराजित भएको थियो । हारसँगै पाँच खेलमा सात अङ्क जोडेको चितवनले चौथो स्थानमा रहेर लिग अन्त्य गरेको छ ।

यसअघि गण्डकी र मधेशलाई समान ३–१ को सेटमा हराएको चितवन काठमाडौँसँग ३–१ तथा कर्णालीसँग ३–२ को सेटमा पराजित भएको थियो ।

चितवन शक्ति र ललितपुर क्विन्सको खेल दिउँसो ३ः४५ बजे हुने तय भएको थियो तर ट्यालेन्ट हन्टबाट कर्णाली एसभिएस, गण्डकी थन्डर्स र काठमाडौँ स्पाइकर्सले नियमविपरीत खेलाडी छनोट गरेको भन्दै चितवन र ललितपुर कोर्टमा उत्रिन अस्वीकार गरेपछि खेल निर्धारित समयभन्दा ढिलो सञ्चालन भएको थियो । 

कोर्टमा उत्रिन अस्वीकार गरेपछि आयोजक इन्फिनिटी ड्रिम्सले दुवै टोलीका व्यवस्थापक, प्रशिक्षक र कप्तानसँग छलफल गरेपछि खेल सञ्चालन भएको थियो । काठमाडौँले ट्यालेन्ट हन्टबाट रितिका भट्ट र कर्णालीले सितासेन ठकुरीलाई छनोट गरेको थियो । तर यी दुवै खेलाडीले यसअघि नै राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेको भन्दै चितवनले आपत्ति जनाएको थियो ।

पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश

काठमाडौँ, १८ असोजः यहाँ जारी एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सङ्कटा महिला फुटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले सङ्कटामाथि २–१ गोलअन्तरको जित निकालेको हो । 

पुलिसका लागि अनुष्का शेर्पाले तेस्रो मिनेटमा गोल गर्दै खाता खोलिन । त्यसपछि खेलको सातौ मिनेटमा पुलिसकी समीक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुके पनि त्यस लगत्तै गोल गर्न सफल भइन् । 

खेलको ७३औँ मिनेटमा सङ्कटाकी सेलेना अनिमाले एक गोल फर्काए पनि हार टार्नका लागि त्यो पर्याप्त भएन । यस खेलसँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन् । 

प्रतियोगिताको दोस्रो चरणमा पाँच टोली प्रवेश गरेका छन् । दोस्रो चरणको सुपर लिगमा आजको विजेता नेपाल पुलिसक्बलसँगै एपिएफ, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । 

विश्व कराते च्याम्पियनसिपमा एरिका सहभागी हुँदै

काठमाडौँ, १८ असोजः एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको एकल प्रतिनिधित्व गर्दै गुरुङ सहभागी हुन लागेकी हुन् ।

एरिकाले यु–२१ उमेर समूहको महिलातर्फ ६८ केजीमाथि तौलसमूहमा यही असोज २३ गते प्रतिस्पर्धा गर्नेछिन् । प्रतिस्पर्धाको सेमिफाइनल र फाइनल यही असोज २७ गते हुनेछ । 

क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा एक सय १३ राष्ट्रका एक हजार नौ सय ९५ खेलाडीको सहभागिता रहने नेपाली टोलीका प्रशिक्षक समेत रहेका १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कुशल श्रेष्ठले जानकारी दिनुभयो । 

एरिकाको यो छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँच वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई कूल आठ पदक दिलाएकी छन् । त्यसमा चार स्वर्ण, तीन रजत र एक कांस्यपदक छ । एरिकाले यो सफलता एक वर्षमा हासिल गरेकी हुन् ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । त्यस्तै, एरिकाले १९औँ एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण र चीनको हाङझावमा भएको २०औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत पद जितेकी थिइन । 

प्रतियोगितामा सहभागी हुने एरिकासहित चार सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले आज शुभकामना दिँदै विदाई गर्नुभयो । 

इटाली जाने टोलीमा एरिकासँगै तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् । नेपाली टोली भोलि इटाली प्रस्थान गर्नेछ । 

सदस्य–सचिव घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिकाले सहभागी हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना प्रदान गर्नुभयो । 

अध्यक्ष लामाले नेपाल करातेमा एसियालीस्तरमा पदक जितेर इतिहास रचिसकेको उल्लेख गर्दै नेपालले यसपटक करातेको विश्व च्याम्पियनसिपमा पदक जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।

झाझ खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु

बरहथवा (सर्लाही), १८ असोज : जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । आज साँझ बसवरिया गाउँपालिका–४, गोनर्वा निवासी सुरेन्द्र भण्डारीको १० वर्षीय छोरा चन्दनको नुहाउने क्रममा झाझ खोलामा डुबेर ज्यान गएको हो ।

नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका बालकको तत्काल उद्धार गरेर अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बरहथवा नगरपालिकास्थित हनुमन्त अस्पतालमा पुर्‍याएपछि बालकलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको हो । बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दिवाकर गणेशले जानकारी दिनुभयो । घटनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख

मकवानपुर, १८ असोजः यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी र बत्सलादेवी माविका विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समिति मकवानपुरले पहिरोमा परी मृत्यु भएका छ जना विद्यार्थीका परिवारलाई जनही रु दुई लाखका दरले राहत रकम हस्तान्तरण गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । 

हेटौँडा उपमहानगरपालिका–१२ का १४ वर्षीय अनुपम घलान, मकवानपुरगढीका १४ वर्षीय साइमन योञ्जन, सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ, सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौँ कलङ्कीका ११ वर्षीय प्रियान्स आचार्य, बारा निजगढका १४ वर्षीय विकल रेग्मीको पहिरोमा पुरिएर मृत्यु भएको थियो । 

प्रजिअ चिलुवालले सिस्नेरी, फाखेल र बकैया गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित परिवारबारे शनिबारदेखि स्थलगत अध्ययन सुरु गर्ने र राहत रकम हस्तान्तरण गरिने जानकारी दिनुभयो । 

उहाँका अनुसार बाढीपहिरो प्रभावित पाँच जनासम्मको परिवारलाई प्रतिपरिवार रु १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएमा रु २० हजारका दरले नगद हस्तान्तरण गरिनेछ । 

कुर्दिस्तानमा दशैँ धमाका मच्चाउने तयारीमा गायक बिजय लामा, लगत्तै अमेरिकाको कार्यक्रममा जाने

काठमाडौँ । गायक बिजय लामा सांगीतिक प्रस्तुतिका लागि कुर्दिस्तान जाने भएका छन्। दशैँ धमाका शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि गायक लामा त्यसतर्फ पहिलो पटक जान लागेका हुन्।

१८ अक्टोबरमा हुने कार्यक्रमका लागि आँफू त्यसतर्फ जान लागेको गायक लामाले जानकारी दिए। प्रवासी नेपाली एकता समाजको आयोजनामा कुर्दिस्तानमा आयोजना हुन लागेको यो १४ औँ प्रस्तुती हो। कार्यक्रम न्यू रोज हलमा लाइभ हुने आयोजकले जनाएको छ।

त्यस्तै गायक लामा कुर्दिस्तानको कार्यक्रम सके लगत्तै अमेरिकामा आयोजना हुने फस्ट गोल्डन नेपाली फिल्म अवार्डका लागि अमेरिका जाने छन्। गत वर्ष घोषणा गरिएको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आगामी नोभेम्बर १६ अर्थात मंसिर १ गते अमेरिकास्थित सन फ्रान्सिस्कोमा आयोजना हुँदैछ।

कार्यक्रममा गायक लामाका अलावा अभिनेताद्वय शिव श्रेष्ठ, सुनिल थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला लगायतका कलाकारहरु पनि सहभागी हुनेछन्।

पपुलर अवार्डका रुपमा आयोजना हुन लागेको यो कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाइएको छ । साथमा केही कलाकारलाई विशेष योगदान सम्मान समेत प्रदान गर्ने आयोजकको तयारी छ।

इजरायलसँग बढ्दो द्वन्दकाबीच पहिलो चरणको सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा

चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र एजेन्सी र लेबनानका मन्त्रीले बताउनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक हनान बाल्खीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो “आज बिहान दशौं हजार मानिसको उपचार गर्न पर्याप्त ३० मेट्रिक चिकित्सा सहायता सामग्री लिएर एउटा विमान बेरुत अवतरण गरेको छ”, “आज र भोलि थप विमान सहायता समग्री लिएर आउनेछन् ।”

एएफपीको आधिकारिक तथ्याङ्कअनुसार सेप्टेम्बर २३ देखि इरान समर्थित हिजबुल्लाह लडाकुलाई लक्षित गरी भएको इजरायली आक्रमणमा लेबनानमा १ हजार १०० भन्दा बढी मानिस मारिएका छन् भने सयौं घाइते भएका छन् ।

पहिले नै आर्थिक र राजनीतिक संकटमा रहेको सानो भूमध्यसागरीय देशबाट बढ्दो हिंसाका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएको लेबनानी अधिकारीले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर)द्वारा आयोजित र संयुक्त अरब इमिरेट्सद्वारा वित्तपोषित सहायता प्राप्त गर्न स्वास्थ्यमन्त्री फिरास अबियाद शुक्रबार बेरुत एयरपोर्टमा पुग्नुभएको थियो ।

“यो सहायता लेबनानमा इजरायली आक्रमणबाट घाइते भएकाहरुको उपचारका लागि महत्त्वपूर्ण हुनेछ”, उहाँले बताउनुभयो ।

मिथिलाञ्चलको गाउँगाउँमा झिझिया नाचको रौनक

जलेश्वर, १८ असोज : महोत्तरीसहित नेपाल र भारतको क्षेत्रमा पर्ने सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा बनाइएको दुर्गा भवानीको प्रतिमा अगाडि गए रातिदेखि झिझिया नृत्यको सुरुआत भएको छ । यससँगै मैथिली गीत सङ्गीतले सङ्गीतमय हुँदै अहिले सम्पूर्ण मिथिलाञ्चलको गाउँ गाउँमा झिझिया नृत्यको रौनक देखिएको छ ।

“तोहरे भरोसे बरहम बाबा झिझिया बनैलियो हे, बरहम बाबा झिझिया पर होइनौ न सहाय अबोधवा बालक तोहर किछियो नै जनैछो हे ।”

“चल चल गे गैनिया कदम तर, तोहर बेटा के खैबौ बरहम तर” “माछ मार गेले गे डैनिया बाबाके पोखरिया, माइर लेले कोतरी मछरिया गे”

लगायतका झिझिया नृत्यका गीतहरूले अहिले सम्पूर्ण मिथिलाको गाउँगाउँ झुमेको छ भने मिथिलाको प्रत्येक गाउँगाउँमा अहिले रातिको बेला झिझिया नृत्यको रौनक देख्न सकिन्छ । हिजो बडादसँैंको सुरुआत भएसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई–मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुबनी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा गएराति पहिलो झिझिया नृत्य नाचियो भने अहिले सम्पूर्ण मिथिलाञ्चलभर झिझिया नृत्यको रौनक छाएको छ ।

सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा झिझिया नृत्य महोत्तरीलगायत मिथिलाञ्चलभरि नाचिने गरिएको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झा बताउनुहुन्छ । यस नृत्यमा पूर्णरूपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी दुर्गा स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ । झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफ्ना सन्तानको सुरक्षा गर्नु रहेको छ ।

झिझियाको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ । समाजमा प्रचलित आमविश्वास अनुसार गाउँकी बोक्सी महिला जादूमन्त्र सिकेर त्यसको सिद्धिका लागि गाउँका जन्मजात, बालबालिकालाई कुनै कारणीद्वारा मारेर मसानमा त्यही मरेको बच्चालाई ज्यूँदो पारी नाङ््गै नृत्य गर्छ ।

विजया दशमीका अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिला नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुआत गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आफ्ना शाखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ ।

झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको जलेश्वर–८ कै अर्का पण्डित अनिल पाठकको भनाइ छ । झिझिया लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्षेत्रलगायत भारतीय क्षेत्र बेनीपट्टि, मधुवनी, जयनगर, सीतामढी, सहरसा आदि क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसको निहीत विशेष अर्थलाई सङ्केत गर्छ । महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्यो भने त्यो नाच्ने महिला ठहरै हुन्छ, भन्ने जनविश्वास रहेको झिझिया नाच्ने जलेश्वर–८ की महिला अकलीदेवी बताउँछिन् ।

यसमा देवी स्तुति गरिएको र बोक्सीलाई गाली गरिएको गीत प्रस्तुत गरिने चलन रहेको छ । यसमा पाँच देखि २५ जना महिलाको टोली हुन्छ जसमध्ये एक वा दुई जनाको टाउकोमा घैँटो राखिएको हुन्छ । एक विशेष ताल र आरोह अवरोहमा गाइने गीतको बोलसँगै टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै दुवै हातले गीतको भाउमा ताली बजाउँछन् । महिला यस लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन भइरहेका हुन्छन् । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ । झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ ।

मिथिलामा झिझिया नृत्युको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । ग्राग्रीमाथि आगोको डल्ला लिएर नृत्यगर्नु आफैँमा साहास र कलाको अलौकिक प्रदर्शन हो झिझिया नृत्य । समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्रै नभइ सहरमा समेत प्रचलनमा छ र यसलाई निरन्तरता दिइँदैछ । नृत्य प्रदर्शन गर्ने कला पनि हेर्नेयोग्य हुन्छ । चार÷पाँचवर्षका बालबालिकादेखि लिएर किशोरी र अधबैसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् ।

टाउकोमाथि राखिएको घैँटो र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो । खासगरी यसरी नृत्य गर्दा बोक्सीको शक्ति क्षीण हुन्छ भन्ने जनविश्वास छ । नृत्यको बेलामा बोक्सीलाई सक्दो गाली गरिन्छ ।

बोक्सीलाई आधार मानेर यस संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वास बाहेक अरु केही मान्न नसकिने भन्नेको पनि कमी छैन । तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढ्दा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिनसक्ने कुरा जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।

आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह

काठमाडौँ, १९ असोजः राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न तीन तहको सरकारलाई आग्रह गरेको छ ।

आयोगले आम उपभोक्ताको अधिकारमा संवेदनशील भई चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको हो ।

“हवाई यातायातलाई सर्वसाधारणको पहुँचयुक्त बनाउन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आयोग तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

आयोगले देशमा हालै घटेका बाढीपहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनले तोकिएको मूल्यभन्दा बढी भाडा लिएको, दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको तथा हवाई यातायातको भाडामा सर्वसाधारणको पहुँच पुग्न नसकेको नाएको छ ।

आयोगले हालैको भारी वर्षाबाट उत्पन्न बाढीपहिरो र डुबानवाट देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको यस सङ्कटको अवस्थामा व्यावसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलम लगाउनु व्यावसायिक क्षेत्रको पनि दायित्व रहने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “चाडपर्वमा हुनसक्ने अत्यधिक मूल्यवृद्धि, कालाबजारी, खाद्यान्नमा मिसावट, म्याद गुज्रिएका खाद्यान्नको बिक्री जस्ता उपभोक्ता अधिकार विपरीतका क्रियाकलापलाई नियन्त्रण गर्न सरकारी निकायबाट अनुगमन तथा नियमन हुनुपर्नेमा प्रभावकारी अनुगमन हुन सकेको देखिदैन ।”

यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल

काठमाडौँ, १८ असोजः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पछिल्लो समयमा यातायात क्षेत्रमा देखिएका समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्र««फिक प्रहरीलाई आज एक सय थान ‘स्मार्टफोन’ हस्तान्तरण गर्दै लाइसेन्स (चालक अनुमतिपत्र) वितरणमा भइरहेको ढिलाइलगायत यातायातको क्षेत्रमा देखिएका समग्र समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबको केही दिनभित्रैमा सवारीचालक अनुमति पत्र लिनका लागि भइरहेको ढिलाइ समस्या समाधान हुनेछ, अब लाइसेन्स लिनका लागि कोही पनि लाइनमा बस्नुपर्ने छैन ।”

उहाँले ट्र«ाफिक प्रहरीलाई स्मार्टफोन प्रयोगमा ल्याउन निर्देशन दिँदै त्यस सम्बन्धमा देखिएका समस्या आफूले समाधान गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकाभित्र हुने ट्राफिक जाम र सडकमा देखिएको समस्या समाधानको प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले काठमाडौँ उपत्यकाभित्र परीक्षणका लागि मात्रै स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्रण गरिएको र यो क्रमैसँग बागमती प्रदेशका सबै जिल्लामा प्रयोगमा ल्याउने योजना सुनाउनुभयो ।

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताएकी छिन् ।

शुक्रबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताएकी हुन् ।

मन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएकी हुन् ।

मन्त्री डा राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिनेगरी उपस्थित भएको पनि जानकारी दिइन् ।

उनले भनिन् ‘यहाँ हामीले जसरी नेपालमा यो भएन, त्यो भएन भन्ने गरेका छौँ वास्तवमा त्यस्तो अवस्था पनि होइन । तथ्य र तथ्याङ्कहरुमा हेर्दा नेपालको अवस्था नाजुक छैन । हामी दिगो विकास लक्षको प्राप्तिमा ४७ प्रतिशतसम्म प्रगति गरेका छौँ । तर कतिपय देशको त अहिले पनि १७ प्रतिशत मात्र प्रगति भएको पनि देखिएको छ । हाम्रो अवस्थालाई हामीले सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्छ ।’

एक प्रश्नमा उनले हालै विकसित परिस्थितिका कारण लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे नेपाल सरकार जानकार रहेको, अहिलेसम्म सबै नेपाली सुरक्षित रहेका र नेपाल फर्कन चाहनेका लागि दूतावासमार्फत् हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिइन् ।

उनी क्यानडाको टोरन्टोमा गत सेप्टेम्बर १९–२० मा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएकी थिइन् । सो बैठकका क्रममा उनले विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

त्यसपछि उनी संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभा र समिट अफ द फ्युचरमा सहभागी भिन्न । सो कार्यक्रमपछि कतारको दोहामा बुधबार र बिहीबार आयोजित एसिडीको तेस्रो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर सहभागी भएकी थिइन् ।

यी महत्वपूर्ण बैठकहरुमा नेपालको कूटनीतिक सम्बन्धको दायरा विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरु अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेका समस्याहरु विश्व समुदायलाई सुनाउने र नेपाललाई आवश्यक सहयोगका लागि अपिल गर्ने काम गरेको पनि उनले सुनाइन् ।

त्यसैगरी नेपालमा शान्ति प्रक्रिया, महिला सशक्तीकरण एवं प्रजनन अधिकारका क्षेत्रमा भएका प्रगतिबारे पनि उनले ती फोरमहरुमा जानकारी दिएकी थिइन् ।

आफूले यसपटक अतिकमविकसित मुलुकहरूका तर्फबाट जि–२० का विदेशमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै यी मुलुकहरूलाई हाल प्राप्त सहयोग थप अभिवृद्धि गर्न अनुरोध गर्नुका साथै प्रमुख अन्तर्राष्ट्रिय सङ्घसंस्थामा अतिकमविकसित मुलुकको प्रतिनिधित्व बढाउन समेत जरुरी रहेको कुरा उठाएको उनले बताइन् ।

साथै भूपरिवेष्ठित विकासशील देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै यी देशहरूका विकास चुनौतीहरू सामना गर्न वैदेशिक सहयोग, वैदेशिक लगानी, वैदेशिक व्यापार प्रवद्र्धनसम्बन्धी सहयोग तथा पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारी हुनुपर्ने विषयमा जोड दिएको जानकारी पनि उनले दिइन् ।

त्यस्तै पिस बिल्डिङ् कमिसनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधित विधेयक पारित गरेको र नेपाल दिगो शान्तिका लागि सदैव प्रतिबद्ध रहेको जानकारी गराएको उनले बताइन् ।

महासभाकै दौरानमा विभिन्न फोरमहरुमा सहभागी भएर उनले महिला प्रतिनिधित्व, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि नेपालको प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

महासभाका दौरानमा इन्डोनेसिया र सर्बियाका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल र ती देशबीच कूटनीतिक र विशेष (अफिसियल) राहदानी वाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरेकी थिइन् ।

यसैक्रममा उनले वासिङ्टन पुगी नेपाल र अमेरिकाबीच  द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरेकी थिइन् । राष्ट्रसङ्घको साइडलाइनमा उनले राष्ट्रसङ्घका उपमहासचिवहरु, विभिन्न देशका मन्त्री तथा विदेशमन्त्रीहरुसँग पनि भेटवार्ता गरेकी थिइन् ।

त्यसपछि उनी कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गरेकी थिइन् ।

सो सम्मेलनको ‘साइडलाइड’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता  थियो ।

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौँ, १८ असोजः देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको बताउनुभयो । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी
डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ ।

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

उपत्यकामा दुई हजारभन्दा बढी

उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

राहत रकम उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण

जनकपुर, १८ असोज : मधेस प्रदेशका सत्ता गठबन्धन दलले अविरल वर्षाका कारण हालै भएको क्षतिमा सहयोगका लागि राहत रकम उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको सत्ता गठबन्धन दलको बैठकमा बाढीपहिरो र डुबानका कारण प्रभावित परिवारलाई सहयोगका लागि प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आवश्यक रकम सहयोग गर्न सुझाव दिनुभयो ।

बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्तिका पद सङ्ख्या, अवस्था, कामकाजको प्रभावकारितालगायत विषयमा आवश्यक अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्नेगरी एक समितिसमेत गठन गरेको छ ।

मधेस प्रदेशसभा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जयसवाल, नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्य रहेका छन् ।

तमिलनाडुको विद्यालयहरुमा लगातार दोस्रो दिन बमको धम्की

तमिलनाडुको तिरुचिरापल्ली जिल्लामा दोस्रो दिन पनि धेरै विद्यालयहरूलाई बम विस्फोटको धम्की प्राप्त भएको प्रहरी अधिकारीले शुक्रबार पुष्टि गरेका छन् ।

त्रिची बम डिस्पोजल टोली र स्निफर कुकुरहरू बम खोज्न विद्यालयहरूमा तैनाथ गरिएको थियो । यसअघि बिहीबार प्रहरीले उक्त क्षेत्रका आठ वटा विद्यालयमा इमेलमार्फत बमको धम्की आएको जानकारी दिएका थिए । त्रिची बम डिस्पोज टोलीले क्षेत्रमा कुनै पनि खतराको लागि जाँच गरिरहेको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

हात्तीको आक्रमणमा परी मृत्यु भएका राना परिवारलाई राहत रकम हस्तान्तरण

कञ्चनपुर, १८ असोज : लालझाडी गाउँपालिका–४ डाँडाजाइमा हात्तीको आक्रमणमा परी मृत्यु भएका ५९ वर्षीय रामदल रानाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

सामुदायिक वन समन्वय समिति (सिएफसिसि) कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले राहत स्वरूप रु २५ हजार मृतककी श्रीमती चन्द्रावती रानालाई घरमै पुगेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

समन्वय समितिमा आबद्ध संरक्षणकर्मीहरूले बनाएको कोषबाट राहत रकम उपलब्ध गराइएको र सो कोषबाट अन्यलाई पनि नगद सहयोग गरिँदै आएको उहाँले बताउनुभयो ।

राहत रकम हस्तान्तरण गर्नुहँुदै अध्यक्ष जोशीले लालझाडी जैविकमार्ग मासिदा हात्तीले प्रत्येक वर्ष मानवीय क्षति पु¥याउँदै आएको बताउनुभयो । उहाँका अनुसार हात्तीको आक्रमणमा परी हालसम्म यहाँ १२ जनाले ज्यान गुमाइसकेका छन् ।
वडाध्यक्ष बहादुर सिंह रानाले विसं २०६४ सालदेखि निरन्तर रूपमा हात्तीले बर्सेनि मानवीय, भौतिक क्षतिसँगै स्थानीय किसानको अन्नबालीमा नोक्सानी पु¥याउँदै आएको बताउनुभयो । हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गरिने बताउनुभयो ।

लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउनका लागि कागजी प्रकृयामा सहयोग गरिने बताउनुभयो ।

असोज १२ गते राति उखुबारीमा कुरुवा बसेका बेला जङ्गली हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको थियो ।

रास्वपाद्वारा सरकारलाई ध्यानाकर्षण 

काठमाडौँ, १८ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिरोबाट प्रभावित नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नं नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग माग गरेको छ ।

रास्वपाको उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोरप्रसाद अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आज ध्यानार्कषणपत्र बुझाउँदै अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’को विकल्पबारे अवगत गराउनुभएको हो ।

प्राकृतिक विपद्ले पृथ्वी राजमार्गअन्तर्गत नागढु्ङ्गादेखि मुग्लिनसम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै सांसद अर्यालले तत्काल सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिन आग्रह गर्नुभयो ।

“यी क्षेत्रत नचल्ने समस्या भएकाले यात्रुहरु आफन्तजनसँग सम्पर्क विच्छेदको अवस्थामा छन्”, ध्यानार्कषणपत्रमा भनिएको छ, “यसका लागि तुरून्त सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिनहुन अनुरोध छ ।”

डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ

पाटन (ललितपुर), १८ असोज : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ सफल पार्न नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल टेलिकमको जावलाखेलस्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको आज निरीक्षण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दक्षिण एसियामा नेपालमा सूचना प्रविधिको महत्त्वपूर्ण सम्भावना भएको क्षेत्र भएको बताउनुभयो । नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले व्यवसायिकता एवं सेवाको गुणस्तर पनि सुधार्नुपर्ने बताउनुभयो ।

“फोन राम्रोसँग टिप्दैन भनेर गुणस्तरमा धेरैले प्रश्न उठाइरहेका छन्, कभरेज कम भयो भन्ने छ, यसमा सुधार हुनुपर्छ, टेलिकमले कभरेज, गुणस्तरमा जोड दिनुपर्छ, सबै काम सफल पार्न टेलिकमको भूमिका हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “टेलिकम्युनिकेसनमा निजी क्षेत्र व्यापार गर्न आउने हो । हामीले त कम जनशक्ति भएको ठाउँमा पनि जोड दिनुपर्छ, स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म सुशासन कायम गर्नका लागि टेलिकमको भूमिका महत्त्वपूर्ण छ ।”

मन्त्री गुरुङले यसै वर्ष उपत्यकाको सबै मन्त्रालय र कार्यालयमा ‘इगभर्नास्’ सुरु गरिने बताउँदै यो सेवा सुरु भएसँगै जनताको धेरै खर्च कटौती हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले पूर्वाधार पुर्‍याइ दिनुपर्‍यो, हालसम्म पनि स्थानीय तहका १६ वटा वडामा नेपाल टेलिकमको सेवा पुगेको छैन । एउटा स्थानीय सेवा पुर्‍याउन पनि धेरै मेहिनत गर्नुपर्छ, गरियो भने दुई तीन वर्षमा डिजिटल नेपाल पूरा गर्न सक्छौँ ।”

सूचना प्रविधि दशक घोषणा भए पनि बजेटले नसमेटेको बताउँदै मन्त्री गुरुङले आगामी दिनमा आवश्यकता अनुरूप खर्च व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नीति विना कार्यक्रम हुँदैन, कार्यक्रमका लागि बजेटबिना सम्भव हुँदैन, अब आवश्यकताअनुसार मिलाउँदै जाने हो । कानुन नियम नमिलेको छ भने पनि भन्नुहोला, सबै मिलेर सफल पार्नुपर्छ ।”

दिगो विकास लक्ष्य पूरा गर्ने सन्दर्भमा टेलिकमको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले हातले मात्रै काम गरेर दिगो विकास लक्ष्य पूरा हुन सक्दैन भन्नुभयो । नेटवर्क सञ्चालन प्रणालीको निरीक्षणका क्रममा सञ्चार सचिव राधिका अर्याल, टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित टेलिकमका प्राविधिक कर्मचारीको उपस्थिति रहेको थियो ।

केन्द्रीय तहबाट देशैभरिका नेटवर्कहरू सञ्चालन भएन भएको, समस्या के भएको छ भन्ने हेर्ने र मोनिटरिङ कक्षको निरीक्षणका क्रममा मन्त्री गुरुङ समक्ष टेलिकमका उपप्रबन्धक रवीन्द्र खैँजुले नेटवर्किङ प्रणाली र सञ्चालन मोनिटरिङको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

ललितपुरका तीन गाउँपालिका क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुन सकेन

ललितपुर (गोदावरी), १८ असोज : असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले दक्षिण ललितपुरका तीन गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँ विद्युत्का खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेकाले आठ दिनदेखि विद्युत् अवरुद्ध भएको हो ।

महाङ्काल गाउँपालिकाका धामी, टुङ्गुन र मसानखोलामा आएको बाढीले सय केबिएको ट्रान्सफर्मर बगाउनुका साथै १५ वटा विद्युत्का पोल काम नलाग्ने गरी क्षति पु¥याएको छ । कोञ्ज्योसोम र बागमती गाउँपालिकामा पनि बाढीले विद्युत्का पोल बगाएको र क्षति पुगेको छ ।

ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द बजगाईंले यहाँ ७८ वटा पोल बाढीले बगाएको र सडकबाटो अवरुद्ध हुँदा पोल दुवानीमा समस्या भएकाले समयमै सेवा सञ्चालन गर्न नसकिएको बताउनुभयो । “यहाँ सडकबाटो समेत अवरुद्ध भएकाले आवश्यक सामग्री ढुवानी गर्न नसक्दा समस्या भएको छ । यसकारण महाङकाल र बागमती गाउँपालिका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न एक हप्ताभन्दा बढी समय लाग्न सक्ने प्राविधिकहरूको भनाइ छ । हामी सकेसम्म चाँडै सेवा सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौँ, १८ असोजः विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन कार्यकारी समितिले पछिल्लो विपद्बाट प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उक्त सिफारिस गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले विपद्तबाट झण्डै चार दर्जन पालिका प्रभावित भएको जानकारी गराउँदै सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि सोहीअनुसार पुनःनिर्माण तथा पुनःस्थापनको काम अघि बढ्ने बताउनुभयो ।

यही असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । साथै बाढीपहिरोमा परेका १७ हजारभन्दा बढीको उद्धार गरिएको छ । उक्त विपदबाट रु २५ अर्बभन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ ।

विपद्बाट १४ वटाभन्दा बढी जिल्लाका पालिका प्रभावित भएका छन् । प्राधिकरणले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, सङ्खुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका बढी पालिका प्रभावित भएको जनाएको छ ।

तिब्बतको गुडविल फाउन्डेसनद्वारा बाढीपीडितलाई राहत प्रदान

काठमाडौँ, १८ असोजः चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुडविल फाउण्डेशन (जीडब्लुएफ)ले नेपालका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ । फाउन्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीआरडीएफ)को सहयोगमा राहत सामग्री वितरण गरेको हो । ‘चुनौतीहरूको सामूहिक सामना गर्दै, सँगसँगै कष्टहरू पार गरौँ’ नामक राहत अभियानअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममार्फत सीआरडीएफका कर्मचारीहरुले काठमाडौँका बाढिपीडितलाई राहत प्याकेज वितरण गरे ।

राहत प्याकेजमा दैनिक प्रयोग हुने सामग्रीहरू टुथपेस्ट, टुथब्रस, तौलिया र साबुन, पानी भण्डारणका लागि बाल्टिन र गाग्री, सेनेटरी प्याड, आपतकालीन खाद्य सामग्री (चामल, पीठो, तेल, र कम्प्रेस्ड बिस्कुट), तथा तातोपन र लामखुट्टेबाट बच्नका लागि सिरक, डसना, सिरानी र झुल समावेश छन् ।

गुडविल फाउन्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टसँग मिलेर ‘बाढी राहत सहयोग अभियान’ सुरु गरेको जनाएको छ । यो अभियानलाई विभिन्न चरणमा निरन्तरता दिने फाउण्डेशनको भनाइ छ ।

यसअघि जीडब्लुएफले कोरोना महामारीको समयमा सन् २०२० मा ‘महामारी नियन्त्रण’ परियोजनाअन्तर्गत नेपाललाई पाँच लाख ५० हजार सुरक्षात्मक मास्क र ७५ वटा अक्सिजन जेनेरेटरहरू प्रदान गरेको थियो ।

मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड

काठमाडौँ, १८ असोज : खानेपानीमन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा आज यहाँ आयोजित फोहर पानी निगरानी प्रयोगशालाको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले जतिसक्दो छिटो वैकल्पिक स्रोतका रूपमा रहेको सिस्नेरी खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुरमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।”

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभयो । शुद्ध पानी पिउन पाउने जनताको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले फोहोर पानीसँग सम्बन्धित प्रयोगशालालाई आवश्यक जनशक्ति र उपकरणसहित प्रभावकारी र सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो ।काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिनुभयो ।

यसैबीच, यसैबीच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्वपूर्ण उपकरणको मर्मतको प्रगति अवलोकन गर्नुभएको छ । उहाँले बाढीले क्षति पुर्‍याएका क्षतिग्रस्त अत्यावश्यक उपकरण तत्काल मर्मतसम्भार गर्न निर्देशन दिनुभयो ।

त्यस अवसरमा खानेपानी उहाँले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको समेत अवलोकन गर्नुभएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

काठमाडौँ १८ असोजः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

कृषि विकास बैंकबाट रु एक करोड ५० लाख, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैंकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट रु ५१ लाख रकम हस्तान्तरण भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सहयोगकर्तालाई धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत ‘मैजारो’ सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार यो गीत युट्युब च्यानलमार्फत रिलिज गरेको हो । गीतको शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीले दिएका छन् ।

गीतले मुख्य पात्रहरूका जीवनकथा बोकेको छ । विशेष गरी गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ । भिडियोमा प्रमुख कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली र बलाकलाकार स्वायम् केसीको अभिनय रहेको छ ।

गीतमा पूर्ण बहादुरलाई श्रीमतीले छाडेपछि गाउँगाउँमा सारङ्गी बजाउँदै आफ्नो पीडा सुनाइरहेको देख्न सकिन्छ । उनी गीतसँगै पीडा मात्रै सुनाउँदैनन् सँगै रहेको सानो छोरोप्रतिको जिम्मेवारी रहेको पनि देखाउँछन् । यसले गीत र संवादमार्फत सिनेमाको कथा गीतले संकेत गरेको छ ।

सारङ्गीको धुनसँगै गीतमा प्रेम र पीडाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ ।

यसअघि चलचित्रका अन्य दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भइसकेका छन् ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

संगीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।

चाडबाड मनाउन घर फर्कनेको सीमानाकामा भीड

वेदकोट (कञ्चनपुर-कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको भीड नै लाग्न थालेको छ ।

दसैँको खर्च जोहो गरेर घरपरिवारसँग चाडबाड मनाउनका लागि स्वदेश फर्किन पाउँदा उहाँहरू खुसी व्यक्त गर्नुहुन्छ । दुई वर्षपछि दसैँ मनाउने क्रममा घर फर्कँदै गर्नुभएका बाजुराका हिरण्य गिरीले चाडबाडको समय घर फर्कन पाउँदा खुसी लागेको बताउनुभयो ।

“दुई वर्ष परिवारसँग दसैँतिहार मनाउन पाइनँ । यसपटक थोरै पैसा बचाएर चाडबाड मनाउन घर जाँदैछु”, गड्डाचौकी नाकामा भेटिएका गिरीले भन्नुभयो, “स्वदेशमा काम पाइँदैन, दसैँतिहार मनाएर फेरि भारततिर जान्छु ।” स्वदेशमा गतिलोे आम्दानी गर्ने अवस्था भए भारत नजाने उहाँ बताउनुहुन्छ ।

गिरी विगत पाँच वर्षदेखि भारतको दिल्लीमा गाडी चलाउँदै आउनुभएको छ । स्वदेशमा गतिलो कमाइ नभएपछि घरखर्च चलाउन भारत जानुपरेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै सुर्खेतका हर्कबहादुर थापाले भारतको सिम्लामा काम गर्न थालेको दश वर्षभन्दा बढी भइसक्यो । उहाँ भारतमा स्याउ टिप्ने काम गर्नुहुन्छ । हर्कबहादुरसँगै गाउँका अन्य पनि सिम्लामा स्याउँ टिप्ने काम गर्नुहुन्छ । चाडबाड र खेतीपातीका लागि घर फर्किएको उहाँले बताउनुभयो । “अरुबेला बाहिर गएर जति दुःख गरे पनि चाडबाडमा सधँै घर पुग्छु”, उहाँले भन्नुभयो, “घरपरिपारसँग चाडबाड मनाउन पाउँदा निकै खुसी लाग्छ ।”

चाडबाड सुरु भएसँगै गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेको चाप बढ्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताउनुभयो । गड्डाचौकी नाका भएर दैनिक तीन–चार सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

भारतबाट आउने नेपाली नागरिकका लागि नाकामा सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सहायता कक्षमा भारतबाट आउनेलाई शुद्ध पिउने पानी र प्राथमिक स्वास्थ्योपचार गर्ने गरिएको छ ।

हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी

बागमती, १८ असोजः त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् ।

बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । हेटौँडा–काठमाडौँ जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुईवटा मेसिन चलाइएको छ ।

भुटानद्वारा भारतीय कम्पनीसँग विशाल नवीकरणीय ऊर्जा सम्झौतामा हस्ताक्षर

ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।

आठ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्ठित मुलुक भुटान चीन र भारतको बीचमा छ र विकासभन्दा ‘कुल राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने नीतिका लागि परिचित छ ।     यद्यपि उक्त नीतिले सरकारलाई व्यापक बेरोजगारीको समस्या समाधान गर्न सहयोग प्रदान गरेको छैन र यसले हजारौँ युवालाई मुलुक छाड्न प्रेरित गरेको छ । 

विद्युत् परियोजना यो प्रवृत्तिलाई उल्ट्याउने व्यापक प्रयासको एउटा हिस्सा हो । यसमा आर्थिक वृद्धि गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास समावेश छ । योमध्ये धेरै चर्चित विशेष आर्थिक क्षेत्र ‘गेलेफु माइन्डफुल सिटी’ पनि समावेश छ ।

“भुटान ऊर्जा स्रोतमा धनी छ र भारतको मागले यो साझेदारीलाई अझ महत्त्वपूर्ण बनाउँछ”, भुटानको सरकारी स्वामित्वको ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्ट (डिएचआई) का प्रमुख कार्यकारी उज्ज्वलदीप दाहालले बुधबार राति एक वक्तव्यमा भन्नुभयो । 

यो परियोजनाले भारतीय अर्बपति अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स समूहलाई डिएचआईसँग मिलेर भुटानमा सात सय ७० मेगावाट जलविद्युत् र पाँच सय मेगावाट सौर्य परियोजनाहरू निर्माण गर्न प्रतिबद्ध गरेको छ ।

साकार भएमा यी परियोजनाहरू भुटानको हालको दुई हजार चार सय ४४ मेगावाट जडित क्षमताको आधाभन्दा केही बढी हुनेछ । भुटानको हालको दुई हजार चार सय ४४ मेगावाटको ९९ प्रतिशतभन्दा बढी जलविद्युत् हो । 

सम्झौतामा लगानीको लागत तथा चम्खार्चु–१ नामक जलविद्युत् परियोजना कहिले सम्पन्न हुनेछ भन्ने कुरा खुलाइएको छैन । सम्झौताले आगामी दुई वर्षभित्र सौर्य प्लान्ट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । 

संयुक्त विद्युत् उत्पादनको केही भाग भुटानको मुख्य कूटनीतिक र व्यापारिक साझेदार भारतमा निर्यात गरिनेछ । 

“हामी हरियाली भविष्यमा योगदान पुर्याउँदै भुटानमा सबैभन्दा ठूलो भारतीय खेलाडी बन्ने आशा गर्छौं”, अनिल अम्बानीले वक्तव्यमा भन्नुभयो, “यो साझेदारीमा म भुटानलाई भारतका एक अर्ब ४० करोड जनतामा आफ्नो खुशी निर्यात गर्न पनि आह्वान गर्दछु ।” परियोजनाको निर्माण कहिले सुरु हुनेछ र यसको कूल अनुमानित बजेट कति हुनेछ भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन । 

भक्तजनको भीडभाड हुने पाथीभरामा नवरात्रमा पनि सुनसान पाथीभरा

ताप्लेजुङ, १८ असोजः हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।

बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए ।

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् ।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए ।
–––

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु,एकसय ७७ जना घाइते

काठमाडौँ, १८ असोजः हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।