`

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

काठमाडौँ १८ असोजः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

कृषि विकास बैंकबाट रु एक करोड ५० लाख, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैंकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट रु ५१ लाख रकम हस्तान्तरण भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सहयोगकर्तालाई धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत ‘मैजारो’ सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार यो गीत युट्युब च्यानलमार्फत रिलिज गरेको हो । गीतको शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीले दिएका छन् ।

गीतले मुख्य पात्रहरूका जीवनकथा बोकेको छ । विशेष गरी गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ । भिडियोमा प्रमुख कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली र बलाकलाकार स्वायम् केसीको अभिनय रहेको छ ।

गीतमा पूर्ण बहादुरलाई श्रीमतीले छाडेपछि गाउँगाउँमा सारङ्गी बजाउँदै आफ्नो पीडा सुनाइरहेको देख्न सकिन्छ । उनी गीतसँगै पीडा मात्रै सुनाउँदैनन् सँगै रहेको सानो छोरोप्रतिको जिम्मेवारी रहेको पनि देखाउँछन् । यसले गीत र संवादमार्फत सिनेमाको कथा गीतले संकेत गरेको छ ।

सारङ्गीको धुनसँगै गीतमा प्रेम र पीडाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ ।

यसअघि चलचित्रका अन्य दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भइसकेका छन् ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

संगीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।

चाडबाड मनाउन घर फर्कनेको सीमानाकामा भीड

वेदकोट (कञ्चनपुर-कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको भीड नै लाग्न थालेको छ ।

दसैँको खर्च जोहो गरेर घरपरिवारसँग चाडबाड मनाउनका लागि स्वदेश फर्किन पाउँदा उहाँहरू खुसी व्यक्त गर्नुहुन्छ । दुई वर्षपछि दसैँ मनाउने क्रममा घर फर्कँदै गर्नुभएका बाजुराका हिरण्य गिरीले चाडबाडको समय घर फर्कन पाउँदा खुसी लागेको बताउनुभयो ।

“दुई वर्ष परिवारसँग दसैँतिहार मनाउन पाइनँ । यसपटक थोरै पैसा बचाएर चाडबाड मनाउन घर जाँदैछु”, गड्डाचौकी नाकामा भेटिएका गिरीले भन्नुभयो, “स्वदेशमा काम पाइँदैन, दसैँतिहार मनाएर फेरि भारततिर जान्छु ।” स्वदेशमा गतिलोे आम्दानी गर्ने अवस्था भए भारत नजाने उहाँ बताउनुहुन्छ ।

गिरी विगत पाँच वर्षदेखि भारतको दिल्लीमा गाडी चलाउँदै आउनुभएको छ । स्वदेशमा गतिलो कमाइ नभएपछि घरखर्च चलाउन भारत जानुपरेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै सुर्खेतका हर्कबहादुर थापाले भारतको सिम्लामा काम गर्न थालेको दश वर्षभन्दा बढी भइसक्यो । उहाँ भारतमा स्याउ टिप्ने काम गर्नुहुन्छ । हर्कबहादुरसँगै गाउँका अन्य पनि सिम्लामा स्याउँ टिप्ने काम गर्नुहुन्छ । चाडबाड र खेतीपातीका लागि घर फर्किएको उहाँले बताउनुभयो । “अरुबेला बाहिर गएर जति दुःख गरे पनि चाडबाडमा सधँै घर पुग्छु”, उहाँले भन्नुभयो, “घरपरिपारसँग चाडबाड मनाउन पाउँदा निकै खुसी लाग्छ ।”

चाडबाड सुरु भएसँगै गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेको चाप बढ्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताउनुभयो । गड्डाचौकी नाका भएर दैनिक तीन–चार सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

भारतबाट आउने नेपाली नागरिकका लागि नाकामा सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सहायता कक्षमा भारतबाट आउनेलाई शुद्ध पिउने पानी र प्राथमिक स्वास्थ्योपचार गर्ने गरिएको छ ।

हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी

बागमती, १८ असोजः त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् ।

बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । हेटौँडा–काठमाडौँ जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुईवटा मेसिन चलाइएको छ ।

भुटानद्वारा भारतीय कम्पनीसँग विशाल नवीकरणीय ऊर्जा सम्झौतामा हस्ताक्षर

ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।

आठ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्ठित मुलुक भुटान चीन र भारतको बीचमा छ र विकासभन्दा ‘कुल राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने नीतिका लागि परिचित छ ।     यद्यपि उक्त नीतिले सरकारलाई व्यापक बेरोजगारीको समस्या समाधान गर्न सहयोग प्रदान गरेको छैन र यसले हजारौँ युवालाई मुलुक छाड्न प्रेरित गरेको छ । 

विद्युत् परियोजना यो प्रवृत्तिलाई उल्ट्याउने व्यापक प्रयासको एउटा हिस्सा हो । यसमा आर्थिक वृद्धि गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास समावेश छ । योमध्ये धेरै चर्चित विशेष आर्थिक क्षेत्र ‘गेलेफु माइन्डफुल सिटी’ पनि समावेश छ ।

“भुटान ऊर्जा स्रोतमा धनी छ र भारतको मागले यो साझेदारीलाई अझ महत्त्वपूर्ण बनाउँछ”, भुटानको सरकारी स्वामित्वको ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्ट (डिएचआई) का प्रमुख कार्यकारी उज्ज्वलदीप दाहालले बुधबार राति एक वक्तव्यमा भन्नुभयो । 

यो परियोजनाले भारतीय अर्बपति अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स समूहलाई डिएचआईसँग मिलेर भुटानमा सात सय ७० मेगावाट जलविद्युत् र पाँच सय मेगावाट सौर्य परियोजनाहरू निर्माण गर्न प्रतिबद्ध गरेको छ ।

साकार भएमा यी परियोजनाहरू भुटानको हालको दुई हजार चार सय ४४ मेगावाट जडित क्षमताको आधाभन्दा केही बढी हुनेछ । भुटानको हालको दुई हजार चार सय ४४ मेगावाटको ९९ प्रतिशतभन्दा बढी जलविद्युत् हो । 

सम्झौतामा लगानीको लागत तथा चम्खार्चु–१ नामक जलविद्युत् परियोजना कहिले सम्पन्न हुनेछ भन्ने कुरा खुलाइएको छैन । सम्झौताले आगामी दुई वर्षभित्र सौर्य प्लान्ट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । 

संयुक्त विद्युत् उत्पादनको केही भाग भुटानको मुख्य कूटनीतिक र व्यापारिक साझेदार भारतमा निर्यात गरिनेछ । 

“हामी हरियाली भविष्यमा योगदान पुर्याउँदै भुटानमा सबैभन्दा ठूलो भारतीय खेलाडी बन्ने आशा गर्छौं”, अनिल अम्बानीले वक्तव्यमा भन्नुभयो, “यो साझेदारीमा म भुटानलाई भारतका एक अर्ब ४० करोड जनतामा आफ्नो खुशी निर्यात गर्न पनि आह्वान गर्दछु ।” परियोजनाको निर्माण कहिले सुरु हुनेछ र यसको कूल अनुमानित बजेट कति हुनेछ भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन । 

भक्तजनको भीडभाड हुने पाथीभरामा नवरात्रमा पनि सुनसान पाथीभरा

ताप्लेजुङ, १८ असोजः हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।

बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए ।

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् ।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए ।
–––

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु,एकसय ७७ जना घाइते

काठमाडौँ, १८ असोजः हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख प्रदान

काठमाडौँ, १८ असोजः नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको छ ।

एनसिसीएस र समूहमा आबद्ध शिक्षक तथा कर्मचारीका तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको समूहका निर्देशक सन्तोषराज मास्केले बताउनुभयो ।

साथै उहाँले देश दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको उहाँले बताउनुभयो ।

बङ्गलादेशमा नेपालले उसुमा जित्यो चार स्वर्ण पदक

काठमाडौँ-नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा चार स्वर्ण पदक जितेको छ । बङ्गलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले थप पाँच रजत र एक कास्यपदक पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेकी हुन् । पुरुष ४८ केजीमुनि विराज सुनार तथा ५६ केजीमुनि निश्चल तामाङले स्वर्ण हात पारे ।

त्यस्तै पुरुष ६५ केजीमुनि सौगात चन्द, महिला ४८ केजीमुनि अनिता तामाङ, महिला ५६ केजीमुनि मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनि सुभाङ्गी राज्यलक्ष्मी गौतमले रजत जित हात पारे । रुफस केसीले पुरुष थाइची छ्वानमा कास्यमा चित्त बुझाइन् ।

सोही प्रतियोगितमा सहभागी तेक्वान्दो टोलीले दुई स्वर्ण, चार रजत र आठ कास्यपदक जितेको छ । महिला ६८ केजीमुनि ऋषिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋषिका र युनिशा निरौलाले पहिलो स्थान हात पारे ।

पुरुष ४५ केजीमुनि आदित्य पराजुली, पुरुष ६८ केजीमुनि पङ्कज विक, महिला ४२ केजीमुनि इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत जिते । पुरुष ४८ केजीमुनि दिपन सापकोटा, ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनि सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम् पोखरेल र पङ्कज विक, महिला एकल पुम्सेमा आदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र सुभम् पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कास्य पाए ।

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु, एक जना भागेर बाँच्न सफल

भरतपुर, १८ असोजः चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भन्नुभयो । जग्दुका साथमा रहनुभएका एक जना भने भागेर बाँच्न सफल हुनुभएको छ ।

कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, १८ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा देशका पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्लादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी, बागमती, र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकीका साथै अन्य प्रदेशका केहीस्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सम्भावित क्षतिबाट जोगिन उक्त प्रदेशका सर्वसाधारणमा अनुरोध गरेको छ ।

नेपालगञ्जमा ऐतिहासिक रामलीला सुरु

राँझा (बाँके), १८ असोज : नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि सुरु भएको छ ।
यहाँस्थित रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख विष्टले रामलीला मञ्चन नेपालगञ्ज सहरको सांस्कृतिक पहिचान भएको बताउनुभयो ।

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । नेपालगञ्जको सांस्कृतिक परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार आएका छन् । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँका सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको समितिका सदस्य नन्दलाल बैश्यले बताउनुभयो ।

अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँछन् माझी समुदाय

बागलुङ- हिन्दुको महान् पर्व बडादसैँको पहिलो दिन बिहीबार घरघरमा जमरा राखी घटस्थापना गरियो। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्ग्याउने प्रचलन छ।

घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ। तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन्।

उनीहरूले अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँदै आएका छन्। देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौंदेखि जमराबिना नै दसैँ मनाउने गरेको पाइएको छ।

माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताए। पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो। करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छाडिएको आफूलाई बाबुबाजेले बताउँदै आएको स्थानीय कृष्णले बताए।

खनियाबास र मालढुंगामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । ‘जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमारा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउछ,’ कृष्ण माझीले भने, ‘जमरा नराखेपनि दसैँलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाहरूले बताएका थिए।’

स्थानीय देउकुमारी माझीले भनिन्,‘जमरा राख्दा अनिष्ट भएको, छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएको भनेर जमरा राख्न छाडिएको हो रे, हामीहरूले पनि पुर्खाको कुरा मान्दै आएका छौँ। घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको बाबुबाजेहरूले बताउँदै आएको र हामीले त्यही सुन्दै आएको हो, दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा मागेर टीकासँग लगाउन थालिएको छ, यहाँका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन् ।’ जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर अनिष्ट रोकिएको उनको भनाइ छ।

दसैँको दिन टीका जमरा लगाए पनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन छ। घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ। माझी समुदायले आफ्नो परम्पराका रूपमा वर्षौँदेखि यसलाई लिँदै आएका छन्।

दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन्। माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि राख्न नहुने मान्यता स्थापित भइसकेको छ। पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुंगा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन्।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १६ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बाढीपहिरोले बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर

धुलिखेल, १८ असोज : नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताउनुभयो । दसैँ पर्व नजिकिँदै गर्दा घरमा खानालाउनसमेत समस्या रहेका नागरिकका लागि तत्काल बाटो खुलाएमा सहजता हुने उहाँको अपेक्षा थियो ।

रोशी गाउँपालिका–७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले राज्यले त्यसमा पहिला ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो । बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतका समस्यामा रहेको उहाँले सुनाउनुभयो । रोशी गाउँपालिका–७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताउनुभयो ।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिराले गाउँबस्तीदेखि सडक, पुल र विद्युत्को पोल ढालेपछि अहिले यातायात, विद्युत् र सञ्चार सेवा टुटेको छ । विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन् । सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दैछन् ।

बाढीपहिराका कारण यहाँका नागरिक जीवन कष्टकर बन्दै गएको छ । त्यस्तै कष्टकर जीवन जिउन बाध्य हुनेमा रोशीखोला आसपासका धेरै नागरिक छन् । यहाँका पसलमा उपलब्ध चाउचाउ र बिस्कुट पनि किन्न सक्ने अवस्था छैन । त्यसो त पसलेले नयाँ सामान ढुवानी गरेर बेच्न सक्ने अवस्था पनि छैन । रोशीमा गएको बाढीपहिराले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारीसाधन अहिले ठप्प छ । राजमार्गका दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पुर्याएको छभने अधिकांश ठाउँमा पुरिएको अवस्था छ ।

बिपी राजमार्ग अहिले सुनसान छ । राजमार्गमात्र सुनसान छैन, त्यस आसपासका बस्तीमा समेत सुनसान छाएको छ । बाढीपहिराले सडक, विद्युत्को पोल, खानेपानी पाइपलगायत भौतिक संरचना ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्योपचारमा समस्या परेको छ । त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेका सयौँ रोपनी खेतीयोग्य जमिनसँगै लगाएको बालीसमेत बगाएको छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकाले समुदाय र पालिकाबीचको सम्बन्ध नै टुटेको अवस्था रहेको बताउनुभयो । यस्तो अवस्थाकै बीचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै अवरुद्ध बाटो खुलाउनेदेखि राहत तथा स्वास्थ्योपचारमा केन्द्रित भएर काम गरिरहेको उहाँले बताउनुभयो । पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडि नै खुलाउनेगरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडि बढाएको उहाँले बताउनुभयो । एकातिर विपद्मा परी नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र बिरामी परेका नागरिकले समयमा नै उपचार नपाएर आक्रान्त बनेका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले सडक खुलाउन निरन्तर आफूहरू स्काभेटरलगायत उपकरणसहित अस्थायी रूपमा वैकल्पिक बाटो बनाउने क्रममा रहेको बताउनुभयो । अहिले बिपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडाबाट रोशी गाउँपालिका–१२ को बर्खिखोला सिन्धुलीको सिमानासम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गरी काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । पछिल्ला तीन दिनमा मङ्गलटारबाट बुलढुङ्गासम्म चार किलोमिटर बाटो बनिसकेको जनाइएको छ ।

सडक, विद्युत् र सञ्चार सम्पर्क टुटेको जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा कोशीपारिको भुम्लु र चौँरीदेउराली गाउँपालिकाले क्षति पुगेको सडकखण्ड मर्मत गरी सवारीसाधन सञ्चालनका लागि काम अगाडि बढाएको छ । महाभारत गाउँपालिकाको जनमुक्ति लोकमार्गको चारकिल्ला भूमिचुली–राजबास हुँदै बिपी राजमार्ग जोड्ने र चारकिल्ला गाउँपालिका केन्द्र देवीटार गोकुले खण्डसम्म खोल्ने प्रयास जारी रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । खानीखोला गाउँपालिकाले पालिका केन्द्र तालढु्गाबाट जिल्ला सदरमुकाम जोड्ने सडकखण्डअन्तर्गत खोपासी–तालढुङ्गा सडक खुलाउने प्रयास भइरहेको अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । बिपी राजमार्गको धुलिखेल–भकुण्डे–चौकीडाँडा र काभ्रेभञ्ज्याङ–फूलबारी–नमोबुद्ध–दाप्चा सडकखण्ड सञ्चालन भइसकेको उहाँले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाहरूको अझै उद्धारको काम जारी रहेको बताउनुभयो । त्यससँगै सर्वदलीय बैठक, सहयोगी निकायलगायतसँग बैठक बसी विभिन्न १० वटा क्लस्टर निर्माण गरी खानेपानी, स्वास्थ्य, खाद्यान्न, कृषि, बाटो, बिजुली, सञ्चारलगायत क्षेत्रमा काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेकामा सोहीअनुसार काम अगाडि बढेको बताउनुभयो । जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल, बेथानचोक, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका अतिप्रभावित क्षेत्र रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीले पुस्तक बगायो, स्कुल डुबायो कहाँ कसरी पढ्ने ?

बरहथवा (सर्लाही), १८ असोज : गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे । आफू पढ्ने गरेको श्री प्राथमिक विद्यालय डुबाएपछि उनी थप चिन्तामा छन् । “स्कुलले दिएको पुस्तक नयाँ नै थियो, बाढीले बगाएर लग्यो । अब फेरि स्कुलले दिने हो कि होइन ?”, उनलाई चिन्ता छ ।

विपन्न परिवारका महतोलाई किताब किनेर दिन सक्ने अवस्थामा परिवार छैनन् । बाढी र डुबानले घरमा पनि पूर्ण क्षति पुर्‍याएको छ । रामकुमारसँगै अध्ययन गर्ने साथी वीरेन्द्र पनि विद्यालयको कपी किताब बगाएको गुनासो गर्न आइपुगे । “मेरो त स्कुलको पोशाकसमेत बाढीले लगेछ”, उनले भने, “अब स्कुल कसरी जाने ? बुबाआमासँग किन्न पैसा नभएको उनको गुनासो थियो ।”

शनिबार पसेको बाढीले उनीहरू जस्तै हजारौँ बालबालिकाको शैक्षिक भविष्य अन्योलमा परेको छ । अधिकांश विपन्न परिवारका बालबालिकाको विद्यालयका पुस्तक, पोशाकलगायत सामग्री बाढीमा डुबेको छभने केहीको बाढीले बगाएको छ । विद्यालय पानीमा डुबेका कारण कहिलेसम्म स्कुल जान नपाइने हो ? भन्ने चिन्ता बालबालिकाले व्यक्त गरिरहेका छन् ।

बाल कक्षामा धेरै क्षति

जिल्लाको रामनगर गाउँपालिका र बलरा नगरपालिकामा गरी दुई दर्जन बढी विद्यालयमा पानी पसेर क्षति गरेको छ ।

अधिकांश विद्यालयमा बाल विकास कक्षामा पानी पसेर क्षति गरेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जानकारी दिनुभयो । “बालबालिकाको सुविधाका लागि ठूलो रकम खर्च गरेर ओच्छाएको कार्पेट, म्याटलगायत सामान पूर्ण रूपमा काम नलाग्ने भएका छन्”, उहाँले भन्नुभयो, “सिकाइ सामग्रीसमेत बगाएका छन्, बाँकी पनि काम लाग्ने अवस्थामा छैनन् ।”

नगरको वडा नं १, २, ३ र ४ का प्राथमिक विद्यालयमा चारदेखि पाँच फिटसम्म पानी जमेको नगरप्रमुख कुशवाहाले जानकारी दिनुभयो । विद्यालयमा पानी जमेका कारण बालबालिकाको पठनपाठन नै प्रभावित बनेको बलरा नगरपालिका–१ स्थित प्राथमिक विद्यालय सेडवाका प्रधानाध्यापक जङ्गबहादुर सहनीले बताउनुभयो । “अहिले चाडबाडको छुट्टी छ, तर महिनौँसम्म पठनपाठन हुने अवस्था छैन”, उहाँले भन्नुभयो ।

विद्यालयसम्म पुग्न सकिने अवस्था नरहेको स्थानीय विनय यादवले बताउनुभयो । विद्यालय डुबानमा पर्दा विपन्न दलित, मुसहरलगायत समुदायका बालबालिका मर्कामा परेका हुन् । शैक्षिक सामग्रीसमेत बगाएका कारण बालबालिकासँगै अभिभावक समेत चिन्ता व्यक्त गरिरहेका नगरप्रमुख कुशवाहाले बताउनुभयो ।

पालिकाले समेत क्षति विवरण सङ्कलन गरेर व्यवस्थापन गर्ने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग यस विषयमा सहयोगका लागि अपिल गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख कुशवाहका अनुसार विभिन्न वडाका गरी १८ वटा विद्यालय डुबानमा परेका छन् । सबै विद्यालयमा फेरि बालबालिकाका लागि बसाइ व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

यस्तै रामनगर गाउँपालिकामा पनि विभिन्न वडामा गरी नौवटा विद्यालयमा बाढी पसेर डुबाएको छ । विद्यालय पूर्ण रूपमा क्षति नभए पनि आंशिक क्षति पुगेको पालिका अध्यक्ष राजाबाबु यादवले बताउनुभयो । विद्यालयसम्म पुग्ने अवस्था नहुँदा तत्काललाई पर्व बिदा दिइएको उहाँको भनाइ थियो । “अहिले पठनपाठन गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “पर्व पनि परेकाले बिदा दिएका छौँ, अब पानी सुकेपछि पठनपाठन सुरु हुन्छ ।”

बाढीले शैक्षिक सामग्री बगाएको र लामो समय विद्यालय जाने क्रम रोकिँदा बालबालिका फेरि विद्यालय बाहिर पुग्ने चिन्ता रहेको उहाँको भनाइ थियो । अर्कातर्फ विद्यालयको अवस्था पूर्ववत बनाउन ठूलो धनराशि खर्च गर्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो ।

बल्लतल्ल विद्यालय आउन बानी परेका उनीहरू फेरि नआउने हुन् कि ? भन्ने चिन्ता विद्यालयका शिक्षकशिक्षिकाले समेत व्यक्त गर्नुभयो । बाढी तथा डुबानका कारण जिल्लामा ठूलो क्षति पुगेको हुनसक्ने शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिनुभयो । पालिकाहरूसँग क्षति विवरणका लागि ताकेता गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ता डुबानमा

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), १८ असोज : भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो ।

सुुस्तालाई नेपालबाट टुक्र्याउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्यायले दाबी गर्नुभयो । उहाँका अनुसार सुस्तालाई भारतले तीनतिरबाट घेरेको छ । भारतले आफ्नो क्षेत्रका नदीमा तटबन्ध नगर्दा बर्सेनि सुस्ता गाउँ डुबान पर्ने गरेको अध्यक्ष उपाध्यायले स्पष्ट पार्नुभयो ।

अविरल वर्षा हुुँदा नरायणी नदीको पानी सुस्ता गाउँमा पसेपछि सुस्ता डुबानमा परेको हो । भारतले तटबन्ध गर्यो भने सुस्तामा बाढी नआउने अध्यक्ष उपाध्यायले बताउनुभयो । सुस्ताको भूमिको विषयलाई लिएर बारम्बार भारतीय सुरक्षाकर्मीसँग विवाद हुने गरेको छ ।

बाढी तथा डुबानका कारण मानवीय र पशुचौपाया क्षति नभए पनि चामल, गँहु, दाललगायत खाद्य सामग्री क्षति भएको स्थानीय अजाद खानले बताउनुभयो । त्यस्तै बाढी तथा डुबानका कारण ४० प्रतिशत धानबाली नष्ट भएको मुनसी हरिजनले बताउनुभयो । उहाँका अनुसार जबसम्म भारतले आफ्नोतर्फ तटबन्ध गर्दैन, तबसम्म सुस्तावासी बाढीबाट पीडित भइरहन्छन् । उहाँले भन्नुभयो, “नेपाल–भारत दुवैले आ–आफ्नोतर्फ तार र ढुङ्गाबाट तटबन्ध गर्न जरुरी छ ।”

सुस्ता गाउँमा बाढी पसेपछि दुई सय घर डुबानमा परेको थियो । नारायणीको बाढी सुरुमा थारू बस्तीमा पसेको सुुस्ता विओपीका सशस्त्र प्रहरी बल नेपालका निरीक्षक मानबहादुर खड्काले बताउनुभयो । बाढीका कारण मानवीय र पशुचौपाया क्षति नभए पनि फुसको घर भत्किए बस्ने अवस्था नभएको सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बताउनुभयो । उहाँका अनुसार सुस्तामा रहेका सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो ।

सुस्ताका अधिकांश स्थान डुबानमा परेर त्यहाँका स्थानीयवासी आश्रयस्थलमा बास बसेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिनुभयो । फुसको घर भत्किएर अहिले पनि बस्ने अवस्था नभएको उहाँ बताउनुहुन्छ ।

सुुस्ता गाउँपालिका–५ स्थित सुुस्तातर्फ नरायणीमा तारले तटबन्ध गर्नका लागि त्यहाँको स्थानीय तहसँग पहल भइरहेको पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिकी अध्यक्ष स्किम श्रेष्ठले बताउनुभयो । सरावल गाउँपालिका–५, ६ र ७ मा एक हजार दुई सय बिघामा लगाइएका धान बाली डुबानमा रहेका नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताउनुभयो ।

दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

धनुषा, १८ असोजः “तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…”
दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका यस्ता गीतहरू गुन्जिन थालेको छ । यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक झाएको छ । जनकपुरधामका मठमन्दिर र दसैँका लागि बनाइएका भव्य पन्डालहरूमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् ।

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ । यसको छुट्टै धार्मिक महत्त्व छ । यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ ।

मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी भन्नुहुन्छ, “दसैँका बेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्रको अनुष्ठान गर्छन् । र सर्वसाधारणको ज्यान लिनसक्ने खालको शक्ति प्राप्त गर्छन् । त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिने गरिएको जनविश्वास रहेको छ । घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ ।”

कापडीले झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्नेबारे जानकारी दिँदै भन्नुभयो, “एउटा वा दुईवटा सफा घैँटो किनेर त्यसलाई सफासुग्घर गरी घैँटोभरि प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टितेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।”

बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ– ‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी बजर बान्हो दशो दुआरी मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।’

यसरी मन्त्रिएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैँटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँटोलका पुरोहित इन्द्रकान्त झाका अनुसार झिझियामा भएको प्वाल तन्त्रमन्त्र गर्ने बोक्सी (डाइन)ले गन्न सफल भइहाले भने उनीहरू तन्त्र सिद्धि गरी निकै शक्तिशाली हुनसक्ने जनविश्वास छ । त्यसैले झिझिया टाउकामा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्नेबित्तिकै दियो निभाएर झिझिया राख्ने गरिन्छ ।

अवकासप्राप्त शिक्षक तथा मैथिली संस्कृति जानकार तथा पुरोहित लालबाबु झा बताउनुहुन्छ, “महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रुपमा लिइन्छ । झिझिया नृत्य घटस्थापनादेखि सुरु भई दसैँसम्म प्रदर्शन गरिन्छ । गाउँघरमा भिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् ।”

प्रत्येकको घरघरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा दालचामल सहयोग दिने चलन छ । भिझियालाई तन्त्रमन्त्र र जादुटुनाको परिचायक पनि मानिन्छ । तर अन्धविश्वासभन्दा पनि सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षा तथा संस्कृतिविद् डा राजेन्द्र बिमल बताउनुहुन्छ, “यो मिथिलाको लोक महत्त्वको नृत्य हो । त्यसैले यसलाई अन्धविश्वासका रूपमा लिनुहुँदैन ।”

यो नृत्य सातौँ शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतका जानकारहरू बताउँछन् । झिझिया नृत्यको महत्त्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ । दसैँको आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली पनि गरिन्छ । बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुने जनविश्वास छ । झिझियालाई आजको दिनमा धार्मिक आस्थासँग जोडेर राख्न असजिलो छ तर यसको लोकसांस्कृतिक पक्षलाई संरक्षण संवर्द्धन गर्नु उचित देखिन्छ । यस नृत्यमा बोक्सीलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ ।

चलचल गे डैनिया कदम तर, तोरा बेटाके खैबौ बढमतर ।

विजयादशमीको आगमनसँगै मिथिलाञ्चलको गाउँटोलमा झिझिया नृत्य सुरु हुन्छ । मिथिला कला–संस्कृतिमा यो नाचको छुट्टै मौलिकता छ । तर पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीयवासी बताउँछन् । झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ । मिथिला नाट्य कला परिषद् (मिनाप)ले नेपाल–भारतका विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिइने गरेको छ ।

मिनापले केही वर्षयता झिझियाको एक हजारभन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरधामकै देवी चोकमा रहेका राजदेवी युवा क्लबले दसैँको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दसैँकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ ।

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो

काठमाडौँ, १८ असोज : त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो ।

त्यस्तै सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो । आजको खेलमा ओमानले दिएको ८३ रनको लक्ष्यलाई क्यानडाले १४ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । क्यानडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए । त्यस्तै दिलप्रित बजवाले १४ तथा नभनित धलिवालले ११ रन बनाए ।

ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान दुई–दुई विकेट लिए भने जिसन मक्सुदले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो । ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४४ बलमा तीन चौका र एक छक्काको सहायताले ३५ रन जोडेका हुन् । त्यसैगरी शाकिल अहमदले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ क्यानडाका अखिल कुमार र प्रभिन कुमारले समान तीन–तीन विकेट लिए भने हर्ष ठाकरले दुई विकेट लिए । त्यसैगरी सादविन जफरले एक विकेट झारे ।

राप्रपाद्वारा पार्टीका केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र मनोनयन

काठमाडौँ, १८ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गर्नुभएको छ ।

सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्नु भई पार्टी केन्द्रीय अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गर्नुभएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सङ्गठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता एवं उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रहनुभएको छ ।

यसैगरी पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी)को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहनुभएको जनाएको छ ।

महिला यु–१९ टि–ट्वान्टी विश्वकप : छनोट खेल नेपालले थाइल्याण्डसँग खल्ने

काठमाडौँ, १८ असोजः आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ ।

संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (युएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर छन् ।

विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छभने कात्तिक २४ गते घरेलु टोली युएईसँग खेल्नेछ । नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छभने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कात्तिक २८ मा युएईसँग खेल्नेछ ।चार टोली सहभागी रहने उक्त छनोटमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

काठमाडौँ, १८ असोजः नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

ब्रह्मचारिणी देवीको स्वरुप

संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । नवरात्रका अवसरमा शक्तिपीठ गई देवीको पूजाआराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

पशुपतिमा नवरात्री महोत्सव सुरु

काठमाडौँ, १७ असोजः वडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ आजदेखि सुरु भएको छ ।श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ ।

उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति महोत्सव उपयोगी हुने बताउनुभयो । उहाँले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यसअघि वनकालीलेखि बाग्मतीसम्म कलश यात्र गरिएको थियो । उद्घाटनको अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथो भजनकृतन गरिनेछ ।

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो : मन्त्री डा राणा

काठमाडौँ, १७ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ । कतारको दोहामा आयोजित एसिया कोर्पोरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री डा राणाले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू–राजनीतिक अवस्थालगायत कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारण विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्काे यस्तै समस्या बनेको छ । एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् ।”

अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नु परिरहेको तथा एसियाली क्षेत्रमा बढ्दो रुपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको मन्त्री डा राणाको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी अझै पनि सन् २०३० सम्म विश्वव्यापी दिगो विकासका लक्ष्य पूरा गर्नसक्ने अवस्थामा देखिएका छैनौँ । ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले हामी एसियाली देशहरु भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।”  

साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । जलवायु परिवर्तनको असरबाट विश्वका अतिकम विकसित, भू–परिवेष्टित, साना टापु राष्ट्रलगायत बढी समस्यामा परिरहेकाले तिनको समस्या समाधानका लागि विश्वका विकसित देशले ध्यान दिनुपर्ने र उनीहरुले यी देशहरुलाई गर्नुपर्ने प्रतिबद्धताबमोजिमको सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो । यी समस्याहरु हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसिडी भिजन २०३०’ को मान्यताअनुसार अघि बढ्न एसियाली देशहरुसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो, “एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसङ्ख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठयारो छैन । सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ ।”

नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रहिआएको र सन् २०१६ मा एसिडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरु पूरा गर्ने पक्षमा उभिँदै आएको उहाँले बताउनुभयो । भोलिका दिनमा पनि ‘एसिडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसिडीसँगै रहने मन्त्री डा राणाले बताउनुभयो ।    

साथै मन्त्री डा राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै एकता र सद्भाव कायम गर्न सहयोग पुगेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मानव सभ्यतासँगै विकास भएको खेलकुदले नागरिकबीच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशबीच मित्रताको वातावरणलाई प्रवद्र्धन गर्न सहयोग पु¥याएको छ ।”

खेलकुद कूटनीतिलाई एसिडीको तेस्रो सम्मेलनको ‘थिम’का रुपमा अघि सारेकामा यसको नेतृत्वलाई धन्यवाद दिँदै एसिडी समूहको उन्नतिका लागि खेल कूटनीतिले आगामी दिनमा थप सहयोग पु¥याउने मन्त्री डा राणाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “खेलकुदले कुनै पनि व्यक्तिको सामाजिक पहिचानको निर्माण गर्दछ । खेलका माध्यमबाट सामाजिक एकता र सद्भाव निर्माण हुने गरेको छ । त्यसैले एसियाली क्षेत्रको सामूहिक विकासका उद्देश्य हासिल गर्नका लागि पनि खेलकुद कूटनीति अहिलेको एक सान्दर्भिक विषय हो ।”

मन्त्री डा राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने तथा खेलाडीलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने सुझाउनुभयो । त्यसैगरी द्वन्द्व प्रभावित क्षेत्रमा शान्तिका लागि सघाउन खेलकुदका कार्यक्रम आयोजना गर्नुपर्ने मन्त्री डा राणाले सुझाव दिनुभयो ।

हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि एयरलाइन्सले थपे उडान

काठमाडौँ, १७ असोजः हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।

श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौँ–भद्रपुर–काठमाडौँ र काठमाडौँ–नेपालगञ्ज–काठमाडौँमा एक–एक उडान थपेको छ । साथै असोज १८ गतेदेखि काठमाडौँ–जनकपुर–काठमाडौँ गन्तव्यमा एक उडान थपिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पु¥याइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । जसमा उक्त दिन १७ हजार चार जना यात्रुले उडान गरेका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । जसमा १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कुल ५९९, मङ्गलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् ।

विद्युत् व्यापारमा ऐतिहासिक फड्कोः मन्त्री खड्का

काठमाडौँ, १७ असोजः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको बिजुली बङ्गलादेश पु¥याउनेसम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताउनुभएको छ

नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बङ्गलादेश पुग्ने बाटो खुल्नु नै महत्वपूर्ण कदम भएको र यसले आगामी दिनमा थप आयाम विस्तार गर्ने उल्लेख गर्दै उहाँले त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा भएको बताउनुभयो ।

मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्न लागेकाले यो समारोह नै ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताउनुभयो । “आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बङ्गलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको छ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो”, ऊर्जा मन्त्री खड्काले भन्नुभयो ।

मन्त्री खड्काले बङ्गलादेशको नयाँ अन्तरिम सरकार र बङ्गलादेशीलाई मुलुक सुधारका एजेण्डामा सफलताको कामना गर्दै बधाई दिनुभयो । उहाँले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई ऊर्जा व्यापार सम्बन्धले जनस्तरमा थप सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा उत्पादित विद्युत् सीमापार प्रसारण लाइनबाट बङ्गलादेश पुग्नका लागि सहज बनाउन भारत सरकारको अटल एवं निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त भएका सन्दर्भमा १५ हजार मेगावाट निर्यातका लागि उपयोग हुने धारणा राख्नुभयो । त्यसमध्ये पनि पाँच हजार मेगावाट बङ्गलादेशका लागि नै भएको उहाँको कथन छ ।

ऊर्जामन्त्री खड्काले छिमेकी देशका सार्वजनिक र निजी क्षेत्रलाई नेपालको जलविद्युत् आयोजनामा लगानी गर्नसमेत आग्रह गर्नुभयो । उहाँले बङ्गलादेश, भुटान, भारत र नेपालमा ग्रिड पूर्वाधार एकीकृत गरेर जलविद्युत् विकासलाई गति दिन सकिने बताउनुभयो । आजको त्रिपक्षीय सम्झौताले फराकिलो बहुपक्षीय ऊर्जा साझेदारीको घोषणा गरेको उहाँको कथन छ  ।

बङ्गलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले दक्षिण एशियाको ऊर्जा सहकार्यका लागि आजको सम्झौता ऐतिहासिक कोशेढुङ्गा भएको बताउनुभयो । आगामी दिनमा यस प्रकारको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्दै उहाँले एक अर्काको पारस्परिक लाभ र साझा सहकार्यका लागि पनि सम्झौता महत्वपूर्ण रहेको धारणा राख्नुभयो । 

नेपालका लागि भारतका राजदूत नीवन श्रीवास्तवले दक्षिण एशिया उपक्षेत्रीय विद्युत् साझेदारीका लागि आफ्नो देश प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्युत् निर्यातका सन्दर्भमा नेपालका लागि आजको दिन महत्वपूर्ण रहेको बताउनुभयो । नेपालले भारतमा विद्युत् निर्यात गर्न थालेदेखिकै ठूलो उपलब्धि हासिल गरेको उहाँको भनाइ थियो । कूल ३० मेगावाटबाट सुरु भएको बिजुली निर्यातको यात्रा एक हजार मेगावाट बराबर पुगेको उल्लेख गर्दै उहाँले भारतीय कम्पनीहरु नेपालमा लगानीका लागि खोजिरहेको बताउनुभयो ।  सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडीलगायतको सहभागिता थियो । 

जनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन

बैतडी, १६ असोज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा निस्वार्थ भावले गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
बैतडीको पुर्चाैँडी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रदान गर्न दत्तचित्त भएर लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीले जनतालाई सेवा दिन कुनै कसर बाँकी राख्नुहँदैन । निस्वार्थ भावनाले जनताको सेवामा खटिनुपर्छ ।”

प्रदेश सरकार सुशासनका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले बिचौलियाका माध्मबाट कुनै पनि योजना तथा कार्यक्रम सञ्चालन नहुने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले सुशासनका क्षेत्रमा काम गरिरहेको छ । माग र आवश्यकताका आधारमा योजना छनोट भएका छन् ।”

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय शिवराज भट्ट र विक्रमसिंह धामी, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुवँर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम, उपप्रमुख मीना धानुकलगायतको सहभागिता रहेको थियो । विसं २०७७ मङ्सिरमा निर्माण थालिएको सो भवन रु ६ करोड ७६ लाखको लागतमा २०८१ वैशाखमा निर्माण सम्पन्न भएको हो ।

बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने

गण्डकी, १७ असोज : गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुुभयो । अघिल्लो साता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी, पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले बेपत्ताको खोजी, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

विपद्का कारण काठमाडाँै उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै मुख्यमन्त्री पाण्डेले विपत्तिको सामना सबै मिलेर गर्नुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको बताउनुुभयो । यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड सहयोग गरेको थियो । प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायत कार्यमा सङ्घीय सरकारसँग आवश्यक समन्वय गर्ने जनाएको छ ।

बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढार्इंको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहेको समिति गठन गरिएको हो । समितिले प्रदेशभर विपद्ले पु¥याएको क्षतिको मूल्याङ्कन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन प्रदेश सरकारसमक्ष पेस गर्ने छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

काठमाडौँ, १७ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गर्नुभएको छ । गोरखा म्युजिक काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो गीतको लोकार्पण गर्नुभएको हो ।

गीतको लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलस्रोतको धनी देश नेपालले पानीको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पानीको राम्रोसँग व्यवस्थापन गर्नसके मुलुकलाई प्रगतितर्फ डो¥याउन सकिने उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले अहिले मुलुक बाढी, पहिरोबाट आक्रान्त रहेको उल्लेख गर्दै सबै मिलेर विपद्मा सहयोग गर्नुपर्ने बताउनुभयो । दुःख र सङ्कट परेका बेला सङ्गीतले व्यक्तिलाई आनन्द दिने उहाँको भनाइ थियो ।

कार्यक्रममा गीतका रचनाकार तथा गायक बमबहादुर कार्कीले पानीको महत्व उजागर गरेर गीत लेखेको बताउनुभयो । “हामी पानी बिना एकछिन पनि रहन सक्दैनौँ । त्यसैले पानीलाई सम्झेर मैले गीत रचना गरेको हुँ”, उहाँले भन्नुभयो ।

उक्त गीतमा कार्कीसहित अर्जुन सुनाम र लोचन भट्टराईको स्वर तथा सङ्गीत बिवी अनुरागीको रहेको छ । गीतको श्रव्यदृश्यमा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर र सगुन कार्कीले अभिनय गर्नुभएको छ ।

घटस्थापनासहित जमरा राखी बडादसैँ सुरु

काठमाडौँ, १७ असोज : वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडादसँै सुरु हुन्छ । बिहान ०९ः१६ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौँ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व बडादसैँ सुुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ ।

बडादसैँको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको छ । पूजा कोठा वा दसैँ घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ ।

जौँको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँग समृद्धिको प्रतीक पहेँलो जमरा पनि लगाइन्छ । जमरामा जौँ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौँसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ ।

दुर्गादेवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।

पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना

दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

दसैँ घरमा घटस्थापनापछि दैनिक बली दिई विधिपूर्वक पूजा आराधना सुरु भएको छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेकाहरु दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।

पूजा कोठा वा दसैँ घरमा आज विधिपूर्वक राखिएको घडाको जलले विजयादशमीका दिन अभिषेक गरी समृद्धिको प्रतीक जमरासहित मान्यजनबाट दुर्गादेवीको प्रसादका रुपमा टीका लगाइन्छ । टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यो १५ दिनको अवधिलाई दुर्गा पक्ष पनि भनिन्छ ।

मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो

काठमाडौँ, १७ असोजः मध्यपहाडी राजमार्गअन्तर्गत खुर्काेट–घुर्मीखण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।

राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा आज दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाँउपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्काेटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन ल्याइएको हो ।

दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । खुर्काेट–घुर्मी खण्ड ६१ किलोमिटर लामो दूरीको छ ।

राजमार्ग सञ्चालनमा आए पनि यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुख्खा पहिरोको जोखिम कायम रहने भन्दै रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ । सो खण्डमा यात्रामा रहनेले उच्च सर्तकता अपनाउनुपर्ने उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।

सयौँको सङ्ख्यामा यस खण्डमा स–साना पहिरो झरेका छन् । हाललाई सामान्य रुपमा पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । यस खण्डअन्तर्गत सबै स्थानमा अहिले ठूला सवारीसाधन सहज रुपमा सञ्चालन गर्न चुनौतीपूर्ण बनेको पिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताउनुभयो । साना तथा मझौला सवारीसाधन, एम्बुलेन्सलगायत दुई पाङ्ग्रे सवारीलाई कुनै समस्या नरहेको उहाँले जानकारी दिनुभयो ।

उक्त राजमार्ग अवरुद्ध भएसँगै ओखलढुङ्गा, उदयपुर, सिन्धुली, सोलुखुम्बु र खोटाङलगायत क्षेत्रमा बन्द भएको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ । मध्यपहाडी राजमार्गको उक्त खण्ड भई सामान्य अवस्थामा दैनिक सयौँ तथा दसैँतिहारजस्ता चाडबाडमा हजारौँको सङ्ख्यामा साना तथा ठूला सवारीसाधन गुड्दै आएका छन् ।

राजमार्ग खुलाउने कार्यमा स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, सडक कार्यालय र स्थानीय प्रशासनबाट आवश्यक सहयोग र समन्वय भएको पिक्कल गाउँपालिकाका उपाध्यक्ष बरालले बताउनुभयो ।

लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख

इजरायलले हवाई हमला बढाई देशमा स्थलगत आक्रमणहरू सुरु गरेपछि लेबनानले आफ्नो स्वास्थ्य प्रणालीलाई निरन्तरता दिन कठिनाई भइरहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले मङ्गलबार चेतावनी दिनुभएको छ ।

हाल लेबनानमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको र अस्पताल बिरामी तथा घाइते मानिसहरुले भरिएको उल्लेख गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँका अनुसार लगातारका सङ्कटहरूले स्वास्थ्य प्रणाली कमजोर भएको छ भने आवश्यकताको सामना गर्न लेबनानले गरेको सङ्घर्षको डब्ल्यूएचओले मुल्याङ्कन गरिरहेको छ ।

इजरायलले गत महिना गाजामा भएको युद्धबाट आफ्नो ध्यान लेबनानतर्फ केन्द्रित गरेको थियो । इरान समर्थित हमासद्वारा अक्टोबर ७ मा भएको हमलापछि इजरायलले आफ्नो उत्तरी सिमाना सुरक्षित गर्न थालेको थियो ।

बेरुत र यसको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणसहितको लडाईमा गत हप्तादेखि एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । टेड्रोसले जेनेभामा अरब लिगका राजदूतहरूसँग भेटेर परिस्थितिबारे छलफल गर्नुभएको थियो ।
शरणार्थीसहित बिरामी, स्वास्थ्यकर्मी र नागरिकलाई सुरक्षित गरी उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

डब्ल्यूएचओले लेबनानी स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी अस्पतालहरूमा पर्याप्त चिकित्सा आपूर्ति सुनिश्चित गर्न र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिएको छभने सबैभन्दा कमजोरका लागि आवश्यक स्वास्थ्य सेवाहरू कायम राख्न सक्नुपर्ने उल्लेख गर्नुभएको छ ।

विदेशी प्रभाव कानूनको विषयमा इयुले हङ्गेरीलाई अदालतमा लग्यो

युरोपेली सङ्घ (इयु) ले बिहीबार विदेशी प्रभाव रोक्नका लागि बुडापेस्टले पारित गरेको कानूनहरूका विषयमा हङ्गेरीलाई युरोपेली अदालतमा लगेको बताएको छ । हङ्गेरीले पारित गरेको कानूनहरूलाई आलोचकहरूले सरकारी विरोधीहरूलाई चुप पार्ने प्रयास भनेका छन् ।

प्रधानमन्त्री भिक्टर ओर्बनको राष्ट्रवादी सरकारले गत वर्ष पारित गरेको कानूनले मौलिक अधिकार र अन्य नियमहरूको उल्लङ्घन गरेको युरोपेली आयोगले बताएको छ ।

“हङ्गेरीको ‘सार्वभौमिकताको रक्षा’ सम्बन्धी राष्ट्रिय कानूनलाई इयु कानूनको उल्लङ्घन मानेकाले युरोपेली आयोगले हङ्गेरीलाई अदालतमा पठाउने निर्णय गरेको छ”, इयुको शीर्ष कार्यकारी निकाय युरोपेली आयोगले भनेको छ ।

हङ्गेरीको कानूनले निर्वाचन अभियानहरूका लागि विदेशी आर्थिक सहयोगलाई अपराध मान्छ र व्यापक अनुसन्धान शक्तिहरू भएको नयाँ सार्वभौमिकता संरक्षण कार्यालय स्थापना गर्दछ ।

नयाँ कार्यालयलाई दिइएको व्यापक विवेकाधिकारले नागरिक समाज सङ्गठन, मिडिया आउटलेट र पत्रकारहरूलाई प्रतिकूल रूपमा प्रभावित गरेको आयोगले बताएको छ ।

आयोगले बुडापेस्टलाई दुई पटक पत्र लेखेपछि अदालतमा पठाउने निर्णय आएको हो । पहिलो पटक आफ्नो चिन्ता व्यक्त गर्न र त्यसपछि तिनीहरूलाई सम्बोधन गर्न अनुरोध गर्न पत्र लेखिएको थियो । तर ती दुवै पत्रलाई अस्वीकार गरियो ।

अदालतले कुनै पनि मुलुकलाई इयु कानूनहरूको पालना गर्न आदेश दिन र जरिवाना लगाउन सक्छ । यो कदमले इयु र ओर्बनबीचको तनाव अझ बढाउने सम्भावना छ । ओर्बन प्राय ब्रसेल्ससँग विवादमा हुनुहुन्छ ।

इयु र अन्य मुलुकहरू विशेषगरी संयुक्त राज्य अमेरिकाले हङ्गेरीमा मतदाताहरूलाई प्रभावित गर्न घरेलु विपक्षी समूहहरूलाई आर्थिक सहयोगका साथ समर्थन गर्ने गरेको बुडापेस्टले नियमित रूपमा दाबी गर्दै आएको छ ।

इजरायली आक्रमणको केही दिनमा सिरियामा इरानी सैन्य सल्लाहकारको मृत्यु

सिरियामा रहेको रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको यसै साताको सुरुमा दमास्कसमा भएको इजरायली आक्रमणमा चोट लागेपछि बिहीबार निधन भएको इरानी सञ्चारमाध्यमले बताएको छ ।

सैन्य ‘सल्लाहकार’ मजिद दिवानी ‘तीन दिनअघि दमास्कसमा भएको इजरायली आक्रमणमा घाइते भएको’ र बिहीबार उनको मृत्यु भएको तस्निम न्युज एजेन्सीले बतायो ।

सिरियाका साथै लेबनानमा हालैका इजरायली आक्रमणहरूमा आफ्नो पङ्क्तिमा धेरै मृत्युको घोषणा गरेको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्र्सले दिवानीको मृत्युको पुष्टि गरेको छैन ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स युद्ध अनुगमनकर्ताका अनुसार मङ्गलबार दमास्कस क्षेत्रलाई लक्षित गरी भएको इजरायली आक्रमणमा तीन सर्वसाधारण र तीन इरान समर्थित लडाकूसहित कम्तीमा छ जनाको मृत्यु भएको थियो ।

सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएयता इजरायलले सिरियामा धेरै आक्रमण गरेको छ र विशेषगरी सेनाको चौकीहरू र इरान समर्थित लडाकूहरूलाई लक्षित गरेको छ ।

इजरायली अधिकारीहरूले सिरियामा भएका व्यक्तिगत आक्रमणहरूबारे बिरलै टिप्पणी गरेको भए पनि उनीहरूले सिरियामा इरानको उपस्थिति विस्तार रोक्ने बारम्बार वाचा गरेका छन् ।

सिरियाली राष्ट्रपति बशर अल–असदको नजिकको सहयोगी इरानले भने सिरियामा आफ्नो लडाकू सेना नभएको बरु सैन्य सल्लाह र प्रशिक्षण प्रदान गर्ने अधिकृतहरू मात्र रहेको बताएको छ ।

इजरायललाई जिम्मेबार ठहर गरिएको शृङ्खलाबद्ध आक्रमणहरूपछि इरानले सिरियामा आफ्नो सैन्य उपस्थिति घटाएको बेलायतस्थित सिरियन अब्जर्भेटरीले अप्रिलमा बताएको थियो ।

अप्रिलमै भएको एक आक्रमणमा दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासलाई लक्षित गर्दा दुई जनरलसहित सात रिभोल्युसनरी गार्ड मारिएका थिए । त्यसपछि इरानले अप्रिल १३ र १४ मा इजरायलमाथि पहिलो पटक प्रत्यक्ष आक्रमण गर्दै क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गर्यो ।

यस साता तेहरान समर्थित लडाकू नेताहरूको हत्या भएपछि इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्रहरूसहित दोस्रो पटक आक्रमण गर्यो ।

गोरखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

गोरखा, १७ असोज : गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।

सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

मोटसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

महोत्तरीमा बाइस लाख रकमसहित दुई जना पक्राउ

जलेश्वर (महोत्तरी), १७ असोज : महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज रु १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो । ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी बुधबार प्रहरीले स्रोत नखुलेको रु १२ लाखसहित सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो । प्र२–०२–००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धन तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने

काठमाडौँ, १७ असोजः गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।

मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलव्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताउनुभयो । “विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवम् जोखिम कम गर्न अतिआवश्यक काम बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो, “असोज १२ गतेबाट अग्रिम टिकक बुकिङ गरेर यात्रुहरुलाई सुरक्षित ढङ्गले प्राथमिकता दिई यात्रुहरुलाई गन्तव्य स्थलमा पु¥याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको छ ।”

काठमाडौँबाट छुट्ने यात्रुबाहक बसलाई उज्यालो छँदै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको उहाँको भनाइ छ ।

मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी छ । प्रारम्भिकअनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र रु तीन अर्ब लाग्ने देखिएको छ ।

मन्त्रालयकासचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरुका आठ सय पाँच स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा सात सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको बताउनुभयो ।
“२९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ । अझैसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी छ”, उहाँले भन्नुभयो, “यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ ।”

यही असोज ११ र १२ गते आएको अबिरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरुमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा ठूलो जनधनको ठूलो क्षति भएको थियो ।

हाल अरनिको राजमार्गमा लार्चा–कोदारीकोपाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ् पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ ।

बिपी राजमार्ग चौकीडाँडा–कालढुङ्गा १८ किमिमध्ये करिव १२ किमि सडक पूर्णरुपमा बगेका कारण केही स्थानमा सवारी साधनहरु रोकिएको अवस्था छ ।

“रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिने छ”, सचिव शर्माले भन्नुभयो, “पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट–राकथुम ८० किमि खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ।”

शर्माका अनुसार कान्ति राजपथको घपेली–बगुवामा १३ किमि र बागमति पुलको दाँया–बाँया एप्रोच मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ ।

मेची राजमार्ग रमिते– फिदिमको आठ किमि, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । मन्त्रालयका अनुसार हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको तयारी भइरहेको छ । यी खण्डमा असोज १२ गतेदेखिनै सडक विभागमार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी खुलाउने प्रयास भइरहेको छ ।

सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत गरिँदै

इनरुवा (सुनसरी), १७ असोज : यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।

मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो । बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरुपमा घट्दै गएको छ । पानीको बहाव घटेपछि भत्किएका संरचनाको मर्मत सम्भार सुरु गरिएको प्रजिअ तिवारीले बताउनुभयो । कोशी ब्यारेजको मर्मत सम्भारको काम भारतीय पक्षले गर्न थालेको उहाँले बताउनुभयो । अहिले कोशी ब्यारेजमा पानीको बहाव घटेर प्रतिसेकेण्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।

बाढी पीडितका लागि पाँच करोड डलर सहयोगको घोषणा

संयुक्त राष्ट्रसङ्घले बुधबार नाइजेरियामा बाढी पीडितहरूको सहयोगको लागि पाँच करोड अमेरिकी डलर ऋण जारी गरेको छ ।

केन्द्रीय आपतकालीन राहत कोषबाट प्राप्त रकमले नाइजेरियाका बाढी प्रभावित बोर्नो र बाउची र उत्तरपश्चिम राज्यहरूमा आधारभुत आवश्यकतालाई सम्बोधन गर्न मद्दत गर्ने राष्ट्रसङ्घले एक विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।

बाढीले पश्चिम अफ्रिकी देश नाइजेरियाका ३६ राज्यमध्ये कम्तीमा ३१ राज्यमा १२ लाखभन्दा बढी मानिसलाई असर गरेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले जनाएको छ । त्यहाँ बाढीका कारण करिब एक लाख २७ हजार ५०० हेक्टरको बालीसमेत प्रभावित भएको छ ।

“नाइजेरियामा बाढीले निरन्तरको सङ्कटभित्र पनि थप सङ्कट सिर्जना गरेको नाइजेरियाका लागि संयुक्त राष्ट्रसङ्घीय संयोजक मोहम्मद मलिक फलले बताउनुभएको छ ।

“आर्थिक कठिनाईका कारण लाखौं मानिसहरूले बाढी अघि नै खाद्य असुरक्षाको सामना गरिरहेका थिए । यसको कारण गरीब परिवारमा अनिकालको लागेको छ । बाढीको चपेटामा परेका नाइजेरियाका धेरै राज्यहरूमा हैजा सङ्क्रमणका विरामी पनि भेटिएका छन् ।

गत महिना, बोर्नो राज्यको राजधानी, उत्तरपूर्वी शहर मैदुगुरीमा गम्भीर बाढी प्रकोपले कम्तिमा ३१ जनाको ज्यान लिनुका साथै चार लाख मानिसलार्ई विस्थापित बनाएको थियो ।

के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैङ्किङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ। वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन्।

सन् २०२१ मा जापानी वैज्ञानिक हिरोकी किटानोले ‘नोबल ट्युरिङ च्यालेन्ज’ को प्रस्ताव गर्दै अनुसन्धानकर्ताहरूलाई सन् २०५० सम्ममा नोबेल पुरस्कारका लागि योग्य अनुसन्धान गर्न सक्षम ‘एआई वैज्ञानिक’ निर्माण गर्न आमन्त्रण गर्नुभएको थियो ।

केही वैज्ञानिकहरू पहिले नै नोबेलको योग्य एआई सहकर्मी सिर्जना गर्न कडा मेहनत गरिरहेका छन्, यस वर्षको पुरस्कार विजेताहरू अक्टोबर ७ देखि १४ को बीचमा घोषणा गरिनेछ।

स्वीडेनको चाल्मर्स युनिभर्सिटीमा मेशिन इन्टेलिजेन्सका प्राध्यापक रोस किङका अनुसार वास्तवमा विश्वभर करिब १०० जना ‘रोबोट वैज्ञानिक’ छन् ।
सन् २००९ मा किङले एक अनुसन्धान पत्र प्रकाशित गर्दै उहाँ र उहाँका सहकर्मीहरूको एक समूहले स्वतन्त्र रूपमा वैज्ञानिक खोजहरू गर्ने पहिलो मेशिन ‘रोबोट साइन्टिस्ट एडम’ सार्वजनिक गरेका थिए ।

“हामीले एउटा रोबोट निर्माण ग¥यौँ जसले आफैंले नयाँ विज्ञान पत्ता लगायो, नयाँ वैज्ञानिक विचारहरू सिर्जना ग¥यो र तिनीहरूको परीक्षण ग¥यो र ती सही थिए भन्ने पुष्टि पनि ग¥यो,” किङले एएफपीसँग भन्नुभयो ।

त्यो रोबोट स्वायत्त रूपमा परिकल्पनाहरू स्थापित गर्न बनाइएको थियो । त्यसपछि यो परीक्षण गर्ने प्रयोगका लागि बनाइयो। यी प्रयोगशाला रोबोटहरूलाई प्रक्रियागत रूपमा सिक्न र दोहो¥याउने प्रयोगका कार्यक्रम निर्माणका लागि थियो ।

–‘उपलब्धि सामान्य भएपनि तुच्छ होइनन्’ –

‘आदम’ लाई खमीरको भित्री कार्यहरू अन्वेषण गर्ने जिम्मा दिइएको थियो र यसले पहिले जीवमा भएको जानकारीमा नआएका ‘जिनको कार्यहरू’ पत्ता लगायो।

रोबोट वैज्ञानिकका निर्माताहरूले आफ्ना प्रस्तुतिमा खोजहरू ‘सामान्य’ भएपनि तिनीहरू ‘तुच्छ’ थिएनन् भन्ने दाबी गरेका थिए। पछि, मलेरिया र अन्य उष्णकटिबन्धीय रोगहरूको लागि औषधीय स्रोतहरूको अध्ययन गर्न ‘इभ’ नामक दोस्रो रोबोट वैज्ञानिकको स्थापना गरिएको थियो।

किङका अनुसार अनुसन्धान र निचोड निकाल्न यस पहिलेका रोबोट वैज्ञानिकहरू नै औसत मानव वैज्ञानिकभन्दा धेरै अगाडि छन् । “रोबोट वैज्ञानिक खोजी गर्न कम पैसा लाग्ने हुन्छन् । उनीहरू २४ सै घण्टा काम गर्छन्”, उहाँले भन्नुभयो, “उनीहरू प्रक्रियाको हरेक विवरण रेकर्ड गर्न पनि बढी लगनशील छन्।”

तर उनीहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नोबेल योग्य वैज्ञानिकको नजिक हुनबाट धेरै टाढा रहेको किङले स्वीकार्नभएको छ । उहाँले भन्नुभयो,
“त्यसका लागि तिनीहरू ‘धेरै बुद्धिमान’ हुनुपर्छ र ‘जटिलभन्दा जटिल कुरा बुझ्न’ सक्षम हुनुपर्छ।”

– एआई पुरस्कारका लागि धेरै टाढा –

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका एसोसिएट प्रोफेसर इन्गा स्ट्रम्केले तत्कालका लागि वैज्ञानिक पेशा सुरक्षित रहेको बताउनुभयो।उहाँले एएफपीसँग भन्नुभयो, “वैज्ञानिक परम्परा चाँडै नै मेशिनले कब्जामा लिन सक्ने अवस्थामा छैन।”
“यद्यपि, यसको मतलब यो ‘असम्भव छ’ भन्ने होइन, यो ‘निश्चित रूपमा’ स्पष्ट छ कि एआईको विकास भइरहेको छ र विज्ञान कसरी सञ्चालन गरिन्छ भन्नेमा प्रभाव पर्नेछ।”

यो पहिले नै कसरी प्रयोगमा छ भन्ने एक उदाहरण गुगल डीपमाइन्डद्वारा विकसित एआई मोडेल अल्फाफोल्ड हो । यो उनीहरूको एमिनो एसिडको आधारमा प्रोटीनको त्रि–आयामी संरचनाको भविष्यवाणी गर्न प्रयोग गरिन्छ।

“हामीलाई थाहा थियो कि एमिनो एसिड र प्रोटीनको अन्तिम त्रि–आयामी आकारबीच केही सम्बन्ध छ र त्यसपछि हामी यसलाई पत्ता लगाउन मेशिनको सिकाइ प्रयोग गर्न सक्दछौं,” स्ट्रम्केले भन्नुभयो।

उहाँले यस्ता गणनाहरूको जटिलता मानिसका लागि असाध्यै गाह्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग यस्तो उपकरण छ, जसले कुनै
पनि मानिसले गर्न नसक्ने काम गरेको छ ।”

स्ट्रमकेका अनुसार, एकै समयमा, अल्फाफोल्डको मामलाले हालको एआई मोडेलहरू जस्तै तथाकथित तन्त्रिका नेटवर्कको कमजोरीहरूमध्ये एक पनि प्रदर्शन गर्दछ।“तिनीहरू ठूलो मात्रामा जानकारी सङ्कलन गर्न र जवाफको साथ आउनमा धेरै निपुण छन्, तर त्यो उत्तर किन सही छ भनेर व्याख्या गर्न तिनीहरूको ज्ञान धेरै राम्रो छैन।”

त्यसैले अल्फाफोल्डले भविष्यवाणी गरेको २० करोडभन्दा बढी प्रोटिन संरचना ‘अत्यन्त उपयोगी’ भए पनि यसले हामीलाई माइक्रोबायोलोजीबारे केही पनि सिकाउँदैन,” स्ट्रम्केले भन्नुभयो ।

– एआईद्वारा सहायता प्राप्त –

स्ट्रम्केका विचारमा विज्ञानले ब्रह्माण्डलाई बुझ्न खोज्छ तर यो केवल ‘सही अनुमान लगाउने’ बारेमा मात्र होइन । तैपनि, अल्फाफोल्डले गरेको अभूतपूर्व कार्यले विज्ञहरूलाई नोबेल पुरस्कारका लागि अग्रपङ्क्तिमा उभ्याएको छ।

गुगल डीपमाइन्डका निर्देशक जोन जम्पर र प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक डेमिस हसाबिस सन् २०२३ मा प्रतिष्ठित लस्कर अवार्डबाट सम्मानित भइसकेका छन् ।

सन् २०२४ मा हुने रसायनशास्त्रको नोबेल पुरस्कारका लागि यो जोडीलाई शीर्ष स्थानमा राखिएको एनालिटिक्स समूह क्लेरिभेटले अक्टोबर ९ मा घोषणा गरेको थियो ।

अनुसन्धान समूहका प्रमुख डेभिड पेन्डलबरीका अनुसार सन् २०२१ मा जम्पर र हसाबिसको एउटा शोधपत्रलाई हजारौं पटक उद्धृत गरिएको भए तापनि नोबेल जुरीले प्रकाशनपछि यति छिट्टै उक्त कामलाई पुरस्कार दिनु अस्वाभाविक हुनेछ।

साथै, एआईद्वारा सहायता प्राप्त अनुसन्धानले सबैभन्दा प्रतिष्ठित विज्ञान पुरस्कारहरू जित्न धेरै समय लाग्ने छैन भन्ने विश्वास पेन्डलबरीको रहेको छ।

पेन्डलबरीले एएफपीसँग भन्नुभयो, “आजकल अधिक आर्टिफिसियल इन्टेलिजेन्सको विकास भइरहेको छ । वैज्ञानिक गणनाका लागि तिनीहरूको अधिक प्रयोग भएको छ । अर्को दशकभित्र नोबेल पुरस्कारहरूका लागि एआइको दाबी रहनेछ भन्नेमा मलाई विश्वास लाग्छ ।”