`

श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने

चितवन, १७ असोजः श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

“शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भन्नुभयो, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।”

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ ।

उहाँका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौँ-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री

काठमाडौँ, १७ असोजः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताउनुभएको छ ।

आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “कुनै पनि घाइतेहरु उपचारबाट वञ्चित हुनुपर्दैन । उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ ।”

उहाँले विपद्को बेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढङ्गले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताउनुभयो । मन्त्री पौडेलले घाइतेले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने जानकारीदिनु दिनुभयो ।

विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सम्बन्धमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसिसकेको उहाँले बताउनुभयो ।

उहाँले बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको जनाउनुभयो । यसका लागि स्थानीय र प्रादेशिक तहसँग समन्वय गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।

हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन् जसमा १३ जना डिस्चार्ज भइसकेका छन् भने केहीको शल्यक्रिया गरिएको छ ।

स्थलगत रिपोर्ट: विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ?

काठमाडौँ, १७ असोजः “तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?” बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो ।

“होइन नी हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको ।” यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भन्नुभयो, “ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी ।” काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले बाटो निहालिरहनुभएको रहेछ उहाँ । तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भन्नुभयो, “अरु पनि आउँछन् यसरी नै । सोधेर जान्छन् । तर कोही राहत लिएर आउँदैनन् ।”

सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उहाँको गुनासो छ । “आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्”, माझी भन्नुहुन्छ, “अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु ? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन् । रुन्छन् । के गर्नु ?” बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो । न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उहाँले भन्नुभयो, “बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो ।”

सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो की भन्ने आशा लाग्दोरहेछ । अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला ? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउनुहुन्छ उहाँ । “अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला । तर मुख्य खानेकुरै भएन”, उहाँ भन्नुहुन्छ, “नखाएर कति दिन बिताउन सकिएला ?”

अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नी झैँ लाग्छ, उहाँलाई । “अरु ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नी”, माझी भन्नहुन्छ, “पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला । बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ तर कसैले पत्याएनन् ।” कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उहाँ सुनाउनुहुन्छ । “भए पनि एक्कासी महँगो बनाएका छन्”, माझी भन्नुहुन्छ ।

सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै हुनुहुन्थ्यो । केही थान भाँडा भेटिएछ । अरु त सबै भेलसँगै बगाएर लगेछ । “कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,” उहाँ भन्नुहुन्छ, “सबै लग्यो बाढीले । धन्न ज्यान त बच्यो ।”

माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहनुभएको छ । “बाढीले ज्यान त बचायो । खान नपाएर मर्न चाहिँ नपरोस्”, उहाँ भन्नुहुन्छ, “बच्चा छ । भोकाउँछन्, रोइहाल्छन् । के गर्नु ।” आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, “पत्रकार अन्टी हाम्रो त घरै बगायो । मेरो किताब, कापी, लुगा सबै बगायो नी ।”

फूलबारीमार्गकै नदी किनारामा बस्दै आउनुभएको छ, गङ्गा थापा पनि । उहाँले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गर्नुभएको थिएन । “रातको ३ बजेको थियो, शौचलालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ । तीन छोराछोरी र श्रीमान्लाई पनि ब्युँझाए । भागाभाग भयो”, थापा भन्नुहुन्छ, “एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नी । धन्न भाग्यले बाँचियो ।”

मानिसबाहेक सबै चिजहरु बगाएर लगेपछि उहाँलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ । अरुको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आउनुभएको थापाको लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाहे भइरहेको गुनासो सुनाउनुहुन्छ । उहाँको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहनुभएको र डोलेश्वर स्कुलको पेटीमा बास बस्नुभएको उहाँको भनाइ छ । “यस्तो आपत्त आइपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेको थिइन । नसोचेकै भयो,” थापा भन्नुहुन्छ, “जे भयो भयो । अब बाँच्नेलाई मुख्य त खाने र बस्ने व्यवस्था मिले हुन्थ्यो ।”

वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैँ लाग्छ । “हामी भएको ठाउँमा कोही नआउन् । रित्तो हात त कोही पनि नआए नी हुन्थ्यो झैँ लाग्छ । राहत लिएर चाहिँ कोही किन आउँदैनन् ?” इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्नुहुन्छ । “सोमबार वडा कार्यालायले भात खुवाउने भन्ने सुनेर गयौँ । जाँदा त खाने कुरा नै सकिएको रहेछ । अनि भोकभोकै फर्किनुप¥यो”, उहाँले भन्नुभयो, “आज यही स्थानीय क्लबले खुवाएको थियो । कत्ति खुसी लाग्यो । खान नपाउँदाको पीडा नपाउनेलाई मात्रै थाहा हुन रहेछ ।”

ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टी साइडमा टेकमाया श्रेष्ठको घर छ । शुक्रबार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो । के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ । भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उहाँ सुनाउनुहुन्छ । “यत्ति धेरै क्षति हुन्छ भन्ने साचेको पनि थिएनौँ । डुङ्गाले उद्धार गरेपछि हामी भक्तपुर छोरीको घरमा गयौँ,” उहाँ भन्नुहुन्छ, “तर खाइनखाइ १० वर्ष अगाडि जोडेको यो घरको ऋण तिर्न पाएको छैन, दुई दिनसम्म त घरै बगायो कि भन्ने चिन्ताले सतायो । धन्न बाँकी रहेछ ।” माथि उल्लेख गरेका पात्रहरुको भन्दा उहाँको माग फरक छ, “सरकारले यो हिलो सबै छिटो सफा गरिदियोस् र हामीलाई पानी उपलब्ध गराइदियोस् ।”

ललितपुरका यी क्षेत्रहरु मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ । नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पिडितहरुले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ । “कतै हाम्रो मान्छे हराएको छ, खोजिदिनुस्, कतै मान्छे पुरिएको छ, शव निकालिनुस्, कतै पानी आएन त कतै राहत आएन भन्ने सर्वसाधारणको गुनासो हुन्छ, फोन आइरहन्छ”, उहाँ भन्नहुन्छ, “हाम्रो क्षेत्र पनि ठूलो छ नी छ त, हामी बस्तीबस्ती हिँडिरहेका छौँ, सबै ठाउँमा पुग्नै भ्याइएको छैन ।”

उहाँका अनुसार गोेदावारी नगरपालिकामा मात्रै हालसम्म गत शुक्रबार र शनिबारको मनसुनी विपद्बाट २३ जानाको मृत्यु भएको छ भने बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी छ । “यहाँ कति क्षति भयो भन्ने कुरा आँकलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पीडितलाई तत्काल राहतका लागि जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरु र समाजसेवीहरुसँग राहतका लागि आग्रह नै गरिसकेका छौँ ।”

उपप्रमुख अधिकारीले विपद्पछिको उद्धार तथा राहतका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको बताउनुभयो । “चाँडोभन्दा चाँडो राहत व्यवस्थापनका लागि लागि हामीले समन्वय गरिरहेका छौँ, सर्वसाधारणको गुनासा सम्बोधनका गर्न लागिपरेका छाँै,” उहाँले भन्नुभयो ।

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेल मानिखेललगायतका क्षेत्रहरुलाई पनि बाढी पहिरोकै कारण तहसनहस बनाएको छ । हराबरा क्षेत्र एक्कासी बगरमा परिणत भएको छ । बाढी, पहिरोका कारण बाटो नै पुरिदिएपछि उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि जान समेत नसकिने अवस्था भएको बताउनुहुन्छ, ललितपुरस्थित महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट । “न बाटो छ, न सम्पर्क छ,” उहाँले भन्नुभयो, “यहाँ त राहत व्यवस्थापनका लागि पनि निकै गाह्रो भइरहेको छ ।”

युवा अभियन्ता तथा इन्जिनीयर लक्षुमनप्रसाद घिमिरेले ललितपुरको दक्षिण भेगका पिडितहरुलाई राहतका लागि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अभियान नै चलाउनुभएको छ । तर बाटोको कारण त्यहाँको अवस्थासमेत थाहा नहुँदा अत्यासै लाग्ने गरेको समेत बताउनुहुन्छ उहाँ । “राहत लिएर जान बाटो नै छैन, त्यहाँ सम्पर्क समेत कोहीसँग हुन सकिरहेको छैन,” उहाँ भन्नुहुन्छ, “पहल भइरहेको छ, बाटो सहज भएपछि राहत लिएर जानेछौँ ।”

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत विरणका काम सुरु भइसकेको जानकारी दिनुभयो । “हामीले पहिरोको कारण यातायात सञ्चालन हुन नसकेको क्षेत्रहरु ललितपुरको दक्षिण भेगका महाङ्ककाल र बागमती गाउँपालिकामा हेलिकप्टरमार्फत राहत वितरण गरेका छौँ,” उहाँले भन्नुभयो, “स्थानीय तहसँगको समन्वयमा धमाधम राहत वितरणको काम भइरहेको छ ।”

समयमा नै खाद्यान्न तथा स्वच्छ खानेपानी पिडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने बताउनुहुन्छ, जनस्वास्थ्यविद् डा.समिर अधिकारी । “कतिजनाले खानापछि खाने औषधि प्रयोग गर्न सक्नुहुन्छ, खानै नपाए औषधि कसरी खाने ? सुत्केरी तथा बिरामीलाई अझै शरीरमा पौष्टिक तत्व नपुगेर असर परिरहेको हुनसक्छ”, उहाँ भन्नहुन्छ, “लामो समय खाली पेट बस्दा ग्यास्ट्रिक हुने, शरीर कमजोरी बन्दै जाने, रक्तचाप कम हुनेलगायतका समस्या आउने र मानिसको ज्यानै पनि जान सक्छ ।”

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी पनि नागरिकको मौलिक हकका रुपमा रहेको गास, बास र कपासको आवश्यकता तत्काल पूरा नगरे उनीहरुको नैसर्गिक अधिकार हनन् हुने बताउनुहुन्छ । “समयमा नै राज्यले नागरिकलाई बचाउनका लागि राहत र उद्धार गर्नुपर्छ, बाँच्न पाउने हक नागरिकको मौलिक हक हो”, उहाँले भन्नुभयो, “कोही राहत नपाएर भोकै मर्नुपर्ने अवस्था नआओस् । यसतर्फ सरकार र नागरिक सबैले गम्भीर हुनुपर्छ ।”

बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

दमौली (तनहुँ), १७ असोजः हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा रु एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको छ ।

वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ । देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा हानी भएको छ । देवघाट गाउँपालिका–२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा रु ५० हजार बराबरको क्षति भएको छ । पहिराबाट बोडी बीउ क्षति हुँदा रु एक लाख क्षति भएको छ । बाढीले धानखेतमा क्षति हुँदा रु दुई लाख ४० हजार बराबरको क्षति भएको केन्द्रले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली, तरकारी क्षति हुँदा रु ८६ लाख ७० हजार ५७० बराबरको क्षति भएको छ । बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिराले धानमा क्षति हुँदा रु १५ लाख ९१ हजार ८०० बराबरको क्षति भएको छ । ऋषिङ गाउँपालिकास्थित पहिराले कोदोमा क्षति हुँदा रु ६० हजार र सुन्तलाबोट ढल्दा रु ९६ हजार बराबरको क्षति भएको छ ।

सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

जलेश्वर, १७ असोजः जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ ।

मन्दिरका पूजारी उपेन्द्र पाठकका अनुसार दसैँमा मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ । त्रिशूली शक्तिपीठमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत भारतको सीतामढी र मधुवनी, दरभङ्गा र मुज्जफरपुरबाट पनि दर्शनार्थी आउने गरेका छन् । त्रिशूली मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव सुरु

गण्डकी, १७ असोजः पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो ।

नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको गुप्तकालीमा दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर पूजाआराधना गर्ने प्रचलन छ । विधिपूर्वक कोतघरमा प्रवेश गरी नवमीसम्म नित्य दुर्गा सप्तशती पाठ गरिन्छ । फूलपातीका दिन रामघाटबाट लगेको फूलको डोली विधिवत् गुप्तकालीमा प्रवेश गराएर नवपत्रिकाले पूजा गरिन्छ ।

फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरिनेछ । अष्टमीको मध्यरातमा कालरात्रि पूजा र नवमीमा पञ्चबलि दिइन्छ । यस अवसरमा नगरा बजाउने, सत्रौँ शताब्दीका ढाल, तरबार र तोप प्रदर्शन गरिन्छ । विन्ध्यावासिनी मन्दिरमा पनि महोत्सव सुरु भएको छ ।विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०६४ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवभर देवीभागवत ज्ञान महायज्ञ पनि हुँदैछ ।

बाढीपीडितको उद्दार र राहतमा क्रयाशिल हुन कार्यकर्तालाई रवि लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरुसंग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभइ वास्तविक रुपमा नै पीडितलाई सहयोग गर्ने गरि उद्दार र राहत लगाएतका काममा थप क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहेर नागरिकको सेवामा लाग्नुपर्ने उहाले बताउनुभयो । प्राकृतिक प्रकोपका घटना भएसकेपछि आफुले राज्यका निकायसंग जानकारी लिन खोज्दा जानकारी नपाएको उहाले गुनासो गर्नुभयो ।

उहाले प्रतिपक्षीमा बसेर सरकारको विरोध गर्ने नभई दुखको अवस्थामा सरकारलाई सघाउने काम सवैको भएको धारणा राख्नुभयो । लामिछानले रास्वपाले गर्ने कामले तीनै तहको सरकारको सहयोगी भएर नागरिकको घर सडकमा जाने जिकिर गर्नुभयो ।

उहाले चाडपर्वका बेला नागरिकलाई कुनै किसिमको समस्या हुन नदिन नागरिकलाई महशुस हुने गरि पार्टीले काम गर्ने बताउनुभयो ।

मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै

महोत्तरी, १७ असोजः प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ ।

मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।

मिथिलाका देवी शक्तिपीठहरुमा कन्याकुमारीहरुले आज धार्मिक महत्वका नदी र सरोवरबाट माटाका नयाँ  घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् । 

महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१  स्थित राजदेवीस्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको छ । रातु, मरहा, दुधमती नदी र पुरन्दर, वरुण, भार्गव, लक्ष्मीसागर र ध्रुवकुण्डसहितका सरोवरबाट नयाँ घडामा जल भर्न बिहानैदेखि झाँकी र बाजागाजासहितको कलशयात्रा भएका छन् । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता छ । 

कलशयात्रामा कन्याकुमारीहरुले भरेका घडाको जलबाट घटस्थापनाको कलश स्थापना गरिन्छ । घटस्थापना गरिएसँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिन्छ । बर्दिबासको हटियाचोक, जलेश्वरको महेन्द्रचोक र हाटेचौर, भङ्गाहाको सीतापुरबजार, गौशालाबजार, लोहारपट्टीसहितका जिल्लाका ३० भन्दा बढी ठाउँमा दुर्गा मेलाको आयोजना भएको छ । नवरात्रको प्रारम्भसँगै जिल्लाका सबैजसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् । 

दशहरा पर्व सुरु भएसँगै मिथिलामा मङ्गल धुन गुञ्जिएको । बस्तीबस्तीमा देवी भजन भइरहेको छ । दशहराको आगमनले मिथिलावासीमा हर्ष छाएको छ । साथै बजारमा चहलपहल पनि बढेको छ ।

एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक

काठमाडौँ, १७ असोजः उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा थोमस प्रिन्जले बुधबार साँझ यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत प्रिन्जले हालैको बाढीपहिरामा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै जर्मन सरकार र जर्मनीका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्नुभयो । त्यसअघि दिवङ्गत भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलको यसै वर्ष सम्पन्न जर्मनीको राजकीय भ्रमणले जर्मनी र नेपालबीचको सम्बन्धलाई अझ घनिभूत ल्याउने मद्दत मिलेको बताउनुभयो । उहाँले दुई देशबीचको यो सम्बन्ध भविष्यमा अझ घनिभूत हुने विश्वास व्यक्त गर्नुभयो । 

समारोहमा सांसद, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका जर्मनीका नागरिक, जर्मनीसँग सम्बन्धित उद्योग–व्यवसायका प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । 

बङ्गलादेशका मोबाइल फोन प्रयोगकर्ताहरूमा वृद्वि

बङ्गलादेशमा यस वर्षको अगस्टको अन्त्यमा मोबाइल फोन प्रयोगकर्ताको कूल सङ्ख्या १९ करोड २० लाख पुगेको देशको दूरसञ्चार नियामकको पछिल्लो तथ्याङ्कले देखाएको छ । बङ्गलादेश दूरसञ्चार नियामक आयोग (बिटिआरसी) को तथ्याङ्कअनुसार दक्षिण यस एसियाली देशमा सन् २०२४ को अगस्टमा ग्राहकको सङ्ख्या १९ करोड २४ लाख ३० हजार पुगेको छ ।

   हाल बङ्गलादेशमा चार मोबाइल कम्पनी छन् र तीमध्ये तीन विदेशी समर्थित सेल फोन अपरेटरहरू छन् ।

   अगस्टको अन्त्यमा मोबाइल अपरेटरहरू ग्रामीण फोन, रोबी एक्जिएटा, बङ्गलालिङ्क डिजिटल कम्युनिकेसन र टेलिटक बङ्गलादेशका ग्राहकहरूको सङ्ख्या क्रमशः आठ करोड ५८ लाख, पाँच करोड ८३ लाख, चार करोड २४ लाख र छ करोड ५३ लाख रहेको बिटिआरसीको तथ्याङ्कले देखाएको छ ।      बङ्गलादेशमा सन् २०२३ को अन्त्यमा १९ करोड आठ लाख मोबाइल फोन ग्राहकहरू थिए ।

भारत सन् २०२८ सम्ममा १० खर्ब डलरको डिजिटल अर्थतन्त्र हब बन्ने

सरकारको डिजिटल पहलहरूसँगै भारतको वित्तीय परिवेश पछिल्ला केही वर्षहरूमा आमूल परिवर्तनबाट गुज्रेको छ । आस्क क्यापिटलको हालैको प्रतिवेदनले गहिरो इन्टरनेट प्रवेश पहुँच, कुशल र सस्तो फोर जी र फाईभ जी सेवाहरू जस्ता सक्षमकर्ताहरूका साथै सरकारी डिजिटल पहलहरूसँगै भारत सन् २०२८ सम्ममा १० खर्ब अमेरिकी डलरको डिजिटल अर्थतन्त्र बन्ने तयारीमा रहेको बताएको छ ।

युपीआई जस्ता घरेलु प्राविधिक आविष्कारहरूबाट लाभ उठाउँदै भारत वास्तविक समयको भुक्तानीको विश्वव्यापी उदाहरण बनेको छ । भारतको डिजिटल रूपान्तरण आर्थिक विकासको लागि ‘गेम चेन्जर’ हुनेछ ।    विगत केही वर्षहरूमा स्मार्टफोनको बढ्दो प्रयोगसँगै भारतीय अर्थतन्त्रको डिजिटलीकरणले नगदरहित कारोबार र अनलाइन खरिदलाई प्रोत्साहित गरेको छ ।

इन्डियन काउन्सिल फर रिसर्च अन इन्टरनेशनल इकोनोमिक रिलेसनसका अनुसार डिजिटल क्षमतामा भारतको स्कोरले डिजिटलीकरणको समग्र समग्र स्तरमा जापान, बेलायत र जर्मनी जस्ता विकसित राष्ट्रहरूलाई उछिनेको छ ।

प्रधानमन्त्री जन धन योजना र प्रत्यक्ष लाभ हस्तान्तरण योजना जस्ता सरकारी पहलहरूले देशमा विश्वव्यापी पहुँच र विस्तारित वित्तीय समावेशीकरणमा मद्दत गरेका छन् ।

मोबाइल र ब्रोडब्यान्डको बढ्दो पहुँचले वित्तीय समावेशीकरणलाई राम्रो बनाउने र नयाँ डिजिटल सेवाहरूलाई बढावा दिनेछ ।

किफायती डाटा, स्मार्टफोन प्रयोगकर्ताहरूको बढ्दो सङ्ख्या र ई–कमर्सको वृद्धिले भारतको डिजिटल रूपान्तरणलाई चलाइरहेको छ ।

सन् २०२४ मार्चसम्म भारतीय दूरसञ्चार नियामक प्राधिकरणको तथ्याङ्कअनुसार भारतमा लगभग एक अर्ब २० करोड टेलिकम ग्राहकहरू रहेको छ । इन्टरनेट ग्राहकहरूको सङ्ख्या सन् २०२३ मार्चमा ८८ करोड १० लाखबाट बढेर सन् २०२४ मार्चको अन्त्यमा ९५ करोड ४० लाख पुगेको छ । यसमध्ये करिब आधा ग्रामीण क्षेत्रका छन् । पछिल्लो एक वर्षमा सात करोड ३० लाखभन्दा बढी इन्टरनेट ग्राहक र सात करोड ७० लाखभन्दा बढी ब्रोडब्यान्ड ग्राहक थपिएका छन् ।

फोर जी र फाइभ जी प्रविधिहरू अपनाउँदा वायरलेस डाटा प्रयोगको कूल मात्रा वर्ष २०२२–२३ मा एक लाख ६० हजार ५४ पिबीबाट २१ दशमलव ६९ प्रतिशतले बढेर सन् २०२३–२४ मा एक लाख ९४ हजार सात सय ७४ पिबी पुगेको छ ।

सन् २०१४ मा भारतको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा चार दशमलव पाँच प्रतिशत योगदान गर्ने डिजिटल अर्थतन्त्रले सन् २०२६ सम्ममा जिडिपीमा २० प्रतिशत योगदान दिने अपेक्षा गरिएको छ ।

युपीआईले सन् २०२७ सम्म भारतमा कूल खुद्रा डिजिटल भुक्तानीको ९० प्रतिशत योगदान गर्ने अपेक्षा गरिएको छ ।

भारतीय रिजर्व बैंक (आरबिआई) ले एकीकृत ऋण इन्टरफेस (युएलआई) सुरु गर्ने योजना बनाइरहेको छ । यसले विशेषगरी साना र ग्रामीण ऋणीहरूको लागि ऋण प्राप्त गर्न सरल बनाउँछ ।

स्वास्थ्य सेवा र शिक्षा जस्ता क्षेत्रहरूले डिजिटल भारत पहलबाट ठूलो प्रेरणा पाएका छन् । आयुष्मान भारत डिजिटल मिशन जस्ता स्वास्थ्य सेवा योजनाहरूले देशको एकीकृत डिजिटल स्वास्थ्य पूर्वाधारलाई समर्थन गर्न आधार निर्माण गरिरहेका छन् । 

प्रतिवेदनले भारतमा डिजिटल भुक्तानी एक परिवर्तनको विन्दुमा पुग्न लागेको र सन् २०२६ सम्ममा एक सय खर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ ।   भारतीय अर्थतन्त्रको वृद्धि आविष्कार र सरकारको डिजिटलीकरणमा जोड दिएर अझ समावेशी  बन्दैछ र प्रतिभाको ठूलो समूहको माध्यमबाट भारतलाई सन् २०२८ सम्ममा दश खर्ब अमेरिकी डलरको डिजिटल अर्थव्यवस्था बन्ने दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ ।

इरानको मिसाइल आक्रमणलाई इजरायलले कसरी प्रतिक्रिया जनाउनेछ ?

इरानबाट भएको व्यापक मिसाइल आक्रमणको जवाफ दिने इजरायलको प्रतिज्ञाले पूर्ण क्षेत्रीय युद्ध रोक्ने उपायहरूका लागि कूटनीतिज्ञहरूको छटपटीलाई बढाएको छ । एएफपीले इरानको गणना, इजरायलको विकल्प र तनाव बढ्ने आशङ्काबारे पाँच विशेषज्ञसँग कुराकानी गरेको छ ।

इरानले किन मिसाइल आक्रमणको आदेश दियो ?

इरानले गत वर्षभर इजरायलद्वारा गरिएका अपमानहरूको शृङ्खलाको सामना गरेको मानिएको छ । यसले मध्यपूर्वभर सहयोगीहरू बनाउने उसको रणनीतिलाई विफल बनाएको छ । 

‘प्रतिरोध धुरी’ भनेर चिनिने इरान समर्थित गठबन्धनमा प्यालेस्टिनी समूह हमास, लेबनानमा हिजबुल्लाह, यमनका हुथी विद्रोहीहरू तथा इराक र सिरियामा अन्य शिया मुस्लिम सशस्त्र समूहहरू संलग्न छन् । 

हमासले अभूतपूर्व आक्रमण गरेपछि इजरायलले गत अक्टोबरदेखि गाजामा हमासविरुद्ध आक्रमण जारी राखेको छ । हमासका राजनीतिक नेता इस्माइल हानियाको जुलाईमा तेहरानमा हत्या गरिएको थियो । 

लेबनानमा पेजर विस्फोट र हवाई आक्रमणले हिजबुल्लाहरूलाई गम्भीर रूपमा कमजोर बनाएको छ । एक इरानी जनरलसहित हिजबुल्लाहका नेता हसन नसरल्लाहको गत साता बेरुतको उपनगरमा इजराली मिसाइल आक्रमणमा मृत्यु भएको थियो । 

अप्रिलमा सिरियाको राजधानी दमास्कसमा इरानको वाणिज्य दूतावासमा इजरायली आक्रमण भएपछि तेहरानले पहिलो पटक जवाफी कारवाही गर्दै इजरायलमाथि तीन सय मिसाइल र ड्रोन प्रहार गरेको थियो । तीमध्ये करिब सबैलाई रोकिएको थियो । 

इरानमा काम गरेको इतिहास भएका अमेरिकी सैन्य गुप्तचर अनुभवी के. क्याम्पबेलका अनुसार मङ्गलबारको आक्रमणमा थप दुई सय मिसाइल प्रहार भए । तर पनि सैन्य प्रभाव कम भयो र यसको अर्थ ती मूलतः ‘प्रतिकात्मक’ थिए ।

“सबै हवाई सुरक्षा प्रणालीमा संतृप्ति विन्दु हुन्छ र इरान जानीजानी इजरायली हवाई सुरक्षा संतृप्ति विन्दुभन्दा तल रहेको देखिन्छ”, क्याम्पबेलले भन्नुभयो ।

वासिङ्टनस्थित थिङ्क–ट्याङ्क सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका मध्यपूर्व विशेषज्ञ जोन अल्टरम्यानले भन्नुभयो, “इरानले ठूलो क्षेत्रीय युद्ध चाहन्छ जस्तो मलाई लाग्दैन ।”

इजराइलले कस्तो प्रतिक्रिया दिन सक्छ ?

इजरायल र यहुदी विरोधी भावनाबारे पुस्तक लेख्नुभएका लेखक तथा राजनीतिक विश्लेषक जेम्स डेमिन–डे लिसेले इजरायलले आफ्नो फाइदालाई थप बढाउन प्रयास गर्नसक्ने बताउनुभयो ।

“आफ्ना प्रतिनिधिहरू नष्ट भएकाले इरान अहिले पूर्ण रूपमा कमजोर भएको छ”, उहाँले भन्नुभयो, “हामीले अब एउटा निकै नाटकीय शक्ति परिवर्तन भएको देख्न लागेका छौँ, यस मामिलामा हामीले इजरायलले इस्लामिक शासन ढाल्ने आशाका साथ इरानविरुद्ध निर्णायक आक्रमण गरेको देख्नेछाँै जस्तो मलाई लाग्छ ।”

इजरायलका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले बुधबार इरानका आणविक सुविधाहरूमा अझ लक्षित सैन्य आक्रमण गर्नुपर्ने तर्क गर्नुभयो । 

यद्यपि इजरायल पहिला नै गाजा र दक्षिणी लेबनानसहित दुई मोर्चामा लडिरहेको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा ४१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने दक्षिणी लेबनानमा इजरायली सेनाले मङ्गलबार हिजबुल्लाहलाई लक्षित गर्न स्थल अभियान सुरु गरेको थियो । 

तेस्रो युद्ध भड्किने जोखिम छ ?

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका अल्टरम्यानले भन्नुभयो, “इजरायलले पछिल्लो दुई सातामा धेरै सफलता हासिल गरेको छ र यसलाई उनीहरू जोखिममा पार्न चाहँदैनन् ।” उहाँले इजरायलले ‘लाभ सुरक्षित गर्ने वा परिणाम दिइरहेको रणनीतिमा दोब्बर गर्ने भन्ने दुई प्रवृत्तिबीच रोज्नुपर्ने’ बताउनुभयो । 

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार मध्यपूर्वबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने तय गरेको छ । तथापि राष्ट्रसङ्घलाई व्यापक रूपमा अप्रभावकारी र विभाजित मानिन्छ । 

इजरायलमाथि सम्भावित प्रभाव राख्ने एकमात्र विदेशी शक्ति संयुक्त राज्य अमेरिका भए पनि राष्ट्रपति जो बाइडेनको प्रशासनले आफूसँग सापेक्ष भाव मात्र भएको देखाएको छ । 

नसरल्लाहको हत्याको भोलिपल्ट वक्तव्य जारी गर्दै बाइडेनले ‘हिजबुल्लाह, हमास, हुथी र अन्य कुनै पनि इरान समर्थित आतङ्कवादी समूहहरू विरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकार’ का लागि अमेरिकी समर्थन दोहोर्याउनुभयो । 

यद्यपि उहाँले गाजामा युद्धविरामका लागि दबाब पनि दिइरहनुभएको छ र लेबनानमा कुनै पनि इजरायली स्थल आक्रमणको विरोधमा आफू रहेको घोषणा गर्नुभएको छ । तथापि त्यो व्यर्थ भयो ।

इजरायली राजनीतिक विश्लेषक तथा पूर्व पत्रिका सम्पादक जोर्डन बार्किनले भन्नुभयो, “राष्ट्रपति बाइडेनले सम्भवतः वार्ता गर्न हस्तक्षेप गर्नुहुनेछ तर उहाँको प्रभाव धेरै हुनेछ भन्नेमा मलाई शङ्का छ ।”

अमेरिकाको इरानसँग प्रत्यक्ष सम्बन्धको अभाव छ । यसको अर्थ तनाव कम गर्न कुनै पनि कूटनीतिक कदमका लागि युरोपेली वा मध्यपपूर्वी संलग्नता आवश्यक हुनेछ । 

“सबै कुरा इजरायली प्रतिक्रियामा निर्भर हुनेछ र सबै कुरा अमेरिकी प्रशासनको सल्लाह तथा प्रयासहरूमा निर्भर हुनेछ, यस समयमा उनीहरूको युद्धमा फस्ने कुनै चासो छैन”, जेनेभास्थित अरब तथा भूमध्यसागरीय विश्व अध्ययन तथा अनुसन्धान केन्द्रका निर्देशक हस्नी आबिदीले भन्नुभयो । 

नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

खोटाङ-जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको आँैल्याएपछि प्रशासनले सार्वजनिक सूचना प्रकाशन गरेर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

खोटाङ तथा आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । “खोटाङ भएर दूधकोशी र सुनकोशीगरी दुई वटा नदी बहने गरेको छ । नदी तथा तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन सबैको सूचना जारी गरिएको छ”, उहाँले भन्नुभयो, “जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि आज साँझ जिल्ला सुरक्षा समितिको बैठक बस्यौँ । बैठकलगत्तै सार्वजनिक सूचना गरेर उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेका छौँ ।”

दश स्थानीय तह रहेको खोटाङमा यसअघि यही असोज १२ गतेसम्म परेको भारी वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका एक सय ३५ जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले ३३ वटा घर पुरिँदा विस्थापित बनेका उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । 

यही असोज १० गतेदेखि तीनसम्म लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले दुई जना स्थानीयवासी घाइते हुनुका साथै ३८ वटा घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी तथा पहिरोका कारण करोडौँको क्षति भएको जिल्लामा मानवीय क्षति नभए पनि १८ वटा पशुचौपाया पुरिएर मरेको प्रहरीले जनाएको छ । 

जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षतिमात्र रु ७९ लाख ९९ हजार बढीको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बाढी तथा पहिरोले जिल्लामा सञ्चालित विकासे योजना खानेपानी, सिँचाइ, विद्युत्लगायतमा समेत ठूलो क्षति पुगेको कार्यालय प्रमुखहरुले बताएका छन् । 

भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट,  जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको छ । विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँच वटा झोलुङ्गे पुलहरु शनिबार दिउँसो आएको बाढीले बगाएको हो । 

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्कविच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्कविच्छेद भएको हो । 

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

विद्युत् प्राधिकरणसँग सहकार्य गरेर भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी : प्रमुख दाहाल

चितवन- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताउनुभएको छ । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ बुधबारदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताउनुभयो ।

स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेशन बनाउन लागेको बताउनुभयो ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ ।”

कार्यक्रममा एशोसिएशनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेशन, अटोल्याण्ड, मोटर्स स्पोर्सका लागि ट्रयाक निर्माणमा महानगरपालिकाको सहयोगको अपेक्षा गर्नुभयो । एशोसिएशनले पहिलो पटक सबैको साथ र सहयोगबाट चितवनमै यो कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युतीय मोटरले देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरे, च्याम्बिर अर्फ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराई, एशोसिएशनका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठलगायतले जिल्लामा पहिलो पटक यति ठूलो कार्यक्रम गर्न पाएको बताउनुभयो ।

एक्स्पोमा २८ वटा स्टल रहेका छन् । ती स्टलमा २५ भन्दा बढी कम्पनीका कार, जीप, मोटरसाइकललगायत सवारीसाधन रहेका छन् । यही असोज १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने छन् । एशोसिएशनले यसअघि भुटान र भारतसम्म मोटर र्‍याली, देवघाट हलेसी माउन्ट एभरेष्ट र्‍याली, मोटर जिमखाना जस्ता कार्यक्रम गरिसकेको छ ।

वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवतजावत

मन्थली (रामेछाप), १७ असोजः मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधबार साँझबाट खुलेको छ ।गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौँ आवतजावत गर्ने गरिन्छ ।

वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो । सडक खुलाउन जिल्लाका सबै राजनीतिक दल, सङ्घीय र प्रदेशका पूर्व तथा वर्तमान सभा सदस्य, स्थानीय प्रशासन, स्थानीय तह, समाजसेवीलगायत सबैको पहल रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुुभयो ।

सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ । यसअघि खुर्कोटको पुल निर्माण नहँुदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाडाँै आवतजावत गर्थे । काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपथ्र्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडाँैका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ ।

जलसतह घट्दै जाँदा कोशी ब्यारेजमा चहलपहल

राजविराज (सप्तरी), १७ असोजः सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम होस् या चाडपर्वका बेला सधैँजसो चहलपह हुने यस स्थानमा पुनः पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताउनुभयो ।

कोशी पुलमा दसँै सुरु भएदेखि यहाँ विभिन्न ठाउँबाट वनभोज मनाउन आउनेको धेरै भीड लाग्ने गरेकामा यस वर्ष पनि सोही अवस्था कायमै रहने विश्वास जागेको उहाँको भनाइ छ । “विशेषगरी कात्तिक, मङ्सिर, पुस, माघ र फागुनमा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “कोशी ब्यारेजको अवलोकन र भम्रण गर्न बढी भारतको विहारबाट आउने गर्दछ ।”

केही दिनअघि कोशी ब्यारेजमा भेटिनुभएका भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले बाढीले यहाँको अवस्था त्रस्त रहे पनि विस्तारै सहज बन्दै गएको र भारतबाट पनि यहाँ अवलोकन गर्न आउनेको सङ्ख्या बढ्न थालेको सुनाउनुभयो । “म यहाँ पहिलोपटक आएको हो वास्तवमै राम्रो रहेछ । यहाँको हावापानी पनि निकै राम्रो छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेको भए यहाँ धेरै मान्छे आउँथे । यहाँका जनता र सरकारलाई फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो ।

सोही ठाउँका शम्भु यादवले कोशी ब्यारेजको अवलोकन गर्न सुपोलबाट धेरैजसो विद्यार्थी घुम्न आउने गरेको बताउनुभयो । नजिकै रहेको कोशी क्षेत्रमा उनीहरू वनभोज, घुम्नघाम र रमाइलोका लागि आउने गरेको उहाँको भनाइ छ । “वर्षाका कारण केही दिन पहिले निकै समस्या भयो । हामीले सोचेका थियौँ, अब त तहसनहसका अवस्था पो आउँछ कि तर त्यस्तो भएन । फेरि चहलपहल देख्दा खुसी लागेको छ”, उहाँको भनाइ थियो ।

झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा, गाउँ नै शोकमा,परिवारमा पूरै अन्धकार

बरहथवा (सर्लाही), १७ असोज : गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए ।

आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त । त्यही दिनबाट यो परिवारले सधैका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहरा पनि गुमायो । घरको जेठोबाठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए । ‘‘परिवारको दुःख हटाउछु चिन्ता नगर्नु भनेर सधैँ मलाई सम्झाउँथ्यो”, बुबा भरत साहले भक्कानिँदै भन्नुभयो, ‘‘धेरै पढेर ठूलो मान्छे बन्ने, दुई जना दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो । त्यो पूरा नहुँदै अस्तायो ।”

छोराको शोक बारेर बसेका भरतले छोराको मृत्युसँगै आफ्नो परिवारको बिचल्ली भएको बताउनुभयो । “घरको एउटा खम्बा ढल्यो, अब कसले यो घरको काँध थाम्छ ?’’, गहभरि आँसु पार्दै भरतले भन्नुभयो ।

४५ वर्षीय बुबा भरत सामान्य किराना पसल चलाउनुहुन्छ । परिवारको लालनपालन तथा छोराछोरीको शिक्षादीक्षाको एकमात्र आधार यही किरान पसल हो । थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्छ । ‘‘छोराले राम्रो पढ्दै गएकाले अब दुःखको दिन गयो भन्ने लागेको थियो तर एकाएक बज्रपात पर्यो । घटना भएको दिनदेखि घरमात्र होइन, गाउँ नै शोकमा छ । परिवारमा पूरै अन्धकार छाएको छ । आमाको राम्रोसँग होस आएको छैन”, उहाँले सुनाउनुभयो ।

वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए । कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गर्नुभयो । गत शैक्षिकसत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११–१२ पढ्न उहाँ काठमाडौँ जानुभयो । दिदी विभाकुमारी साहसँगै बसेर उहाँले काठमाडौँको नयाँबानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहनुभएको थियो ।

क्याम्पसले उहाँलाई एसइईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र चितवन आएर फर्कँदै हुनुहुन्थ्यो । शुक्रबार बिहान विद्यालय पुगेर कागजात सङ्कलन गरेपछि साँझ माइक्रोबसमार्फत काठमाडौँ फर्कँने क्रममा राति १ः२५ बजेको समयमा काठमाडौँमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उहाँ त्यसपछि भने सधैँका लागि सम्पर्कविहीन हुनुभयो । ‘‘फोनमा भाइलाई कहाँ आइपुग्यौँ भनेर सोधेको थिएँ । दिदी म आउँदै छु, रातको समय जङ्गलको बीचमा जाममा परेको छु । जाम खुल्यो भने छिट्टै आइपुग्छु, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो । किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे तर, फोन लाग्दै लागेन”, दिदी विभाले भन्नुभयो,“कुनै कारणले फोन बन्द भयो कि ? भन्ने लाग्यो । भोलिपल्ट बिहानसम्म भाइको कुनै अत्तोपत्तो भएन । लगातार पानी परिरहेका थियो । बाढी र पहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्यो कि भन्ने आसमा खोजी सुरु गर्यौँ । बुबाआमालाई पनि सबै कुरा खबर गरिदिए । दिउँसोबाट झयाप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ । सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले ।”

आइतबारबाट वसन्तका बुबा र भिनाजु पनि खोजीमा निस्किए । चितवनदेखि नै पहिरो खसेको ठाउँमा सोधीखोजी गर्दै जाँदा झयाप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौँ लगेकाले उतै जान सल्लाह दिए । बुबा भरतले सुनाउनुभयो,“पहिराले बाटो क्षतविक्षत भएकाले तत्काल जान सकिएन । काठमाडौँमा भएका आफन्तलाई पठायौँ । सोमबार बिहान छोराको शव पहिचान भयो । उफ!”

एकछिन निशब्द हुनुभएका उहाँले आँसु पुछ्दै उहाँले भन्नुभयो,“त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगँे कुनै होस छैन । मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो । बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो ।”

बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु

काठमाडौँ, १७ असोजः हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा  अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १७ असोजः देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप,एकैदिन ३५ हजार बढीले गरे हवाईयात्रा

काठमाडौँ, १७ असोजः मनसुन सकिनै लाग्दा एक्कासी परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध भए । केही दिन काठमाडौँ आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भोग्नुपर्यो । सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटनाले जनजीवन अस्तव्यस्त भएको छ ।

दसैँको मुखमा आ–आफ्नो गन्तव्यमा जान हौसिएका नागरिक सडक अवरुद्ध हुँदा निराश छन् । सडक यातायात सहज नभएको र हवाई यातायात पनि सबैको पहुँचमा नभएकाले थप सास्ती व्यहोर्नुपरेको धेरैको गुनासो छ । काठमाडौँबाट भोजपुर जाने प्रतिक्षामा रहेका अनिल अधिकारीले सडकबाट जाने अवस्था नरहेको र हवाई टिकट पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “एक सातादेखि एयरलाइन्समा धाइरहेको छु, टिकट छैन भनेर फर्काउने गरेका छन् । एयरलाइन्सले फूलपातीसम्म सबै सिट अग्रिम बुकिङ भइसकेको भनिरहेका छन् । खै, यसपटक कसरी घर जाने होला !”

सडकमार्ग असहज भएकाले यात्रुहरू महँगो भए पनि हवाईजहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको गुनासो गर्छन् । काठमाडौँबाट धनगढी जान टिकटका लागि धेरै प्रयास गरे पनि हालसम्म आफ्नो समस्या समाधान नभएको कोटेश्वरका अमित सुनारले बताउनुभयो । काठमाडौँबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । सीमित उडान हुने तुम्लिङटार र सुर्खेत विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती हुने गरेको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैलाले सीमित उडानका कारण दसैँका लागि सबै टिकट सकिएको बताउनुभयो । फूलपातीदेखि विजयादशमीसम्म भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा टिकट पाउन मुस्किल रहेको उहाँले बताउनुभयो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सबैजसो गन्तव्यको ‘अकुपेन्सी फुल’ भएको छ । उहाँले जहाज सङ्ख्या कम भएकाले पनि यात्रुको माग धान्न नसकिएको बताउनुभयो । विगत वर्षहरूमा पनि दसैँ, तिहार छठलगायत महत्त्वपूर्ण चाडपर्वमा हवाईयात्रीको चाप हुने गरेको थियो । यसपटक अविरल वर्षापछिको बाढी पहिरोलगायत विपत्तिका घटनाले सडकमार्ग अवरोध हँुदा हवाई उडानमा थप चाप बढ्न गएको जनाइएको छ ।

एकैदिन ३५ हजार बढीले गरे हवाईयात्रा

 बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड थामिनसक्नु छ । गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भीडभाड देख्न सकिन्छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार यही असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् । असोज १५ गते दुवैतर्फ गरी पाँच सय ११ उडान भएका छन् । उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको छ । समयमा आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’मा बस्नुपर्ने बाध्यता छ । उडान सङ्ख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् ।

फ्लाइट राडरका अनुसार मङ्गलबार र बुधबार करिब एक घण्टा विमान होल्ड भएका थिए । यसकारण आन्तरिकतर्फका एयरलाइन्सले पटकपटक उडान समय परिवर्तन गर्नुपरेको छ ।

दसैँमा रात्रिकालीन हवाई उडान

सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनुभयो । उहाँले चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनुभयोे ।

मन्त्री पाण्डेले भन्नुभयो, “बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरालगायत विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छु ।” साथै उहाँले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ः३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने उल्लेख गर्नुभयो ।

मनसुन लम्बियो

यसपालि मनसुन लम्बिएर दसैँसम्मै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यसपटक मनसुन सरदर मितिभन्दा थप केही दिन पर धकेलिने बताउनुभयो ।

भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले भारतको उत्तरपूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्यटन व्यवसायी मर्कामा

 पर्यटकीय सिजन सुरु भएसँगै बाढीपहिरोको विपत्तिले अरु सबै क्षेत्रजस्तै पर्यटन व्यवसायी मर्कामा परेका छन् । चाडपर्व सुरु भएकाले पदयात्रा, पर्वतारोहणलगायत गतिविधिमा रमाउने पर्यटकलाई गन्तव्यमा पुग्न समस्या भएकाले मनसुनजन्य विपद्का घटनाले पर्यटनमा समस्या सिर्जना गरेको होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताउनुभयो ।  पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भइरहेकाले यसबाट पर्यटकीय पूर्वाधारमा लगानी गरेका व्यवसायी बढी मर्कामा पर्ने उहाँको भनाइ छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले अहिलेको विपद्जन्य घटनाले पर्यटन व्यवसायीलाई झस्काएको बताउनुभयो ।

सबैको सहयोगले बाढीपीडितको पीडामा मलहम लाग्दैछ !

गौर (रौतहट), १७ असोजः अविरल वर्षाका कारण देशभर बाढीपहिरो र डुबानले समस्या भयो । त्यसको असर रौतहटमा पनि प¥यो । यहाँ सयौँ नागरिक विस्थापित भए । कैयौँको घरमा रहेका खाद्य सामग्री कामै नलाग्ने गरी डुबानमा पर्दा हातमुख जोर्नसमेत निकै समस्या भएको छ ।

यसरी विपद्को पीडामा रहेकाहरूको सहयोगका लागि हाल यहाँस्थित सबै सरोकारवालाहरूले सहयोगी हात अगाडि बढाउँदा केही भए पनि राहत मिलेको छ । तीन तहका सरकार, जिल्लास्थित राजनीतिक दल, उद्योगी–व्यावसायी एवं नागरिक समाजको सहयोग र सहकार्यमा बाढी प्रभावित रौतहटवासीलाई राहत सहयोग उपलब्ध गराउने काम तीव्र रूपमा भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका राष्ट्रसेवक कर्मचारीले प्राप्त जिम्मेवारीअनुसार राहत सामग्री सहयोग, उद्धार तथा शान्ति सुरक्षाको काममा अहोरात्र खटिएको भनी जिल्लामा सर्वत्र प्रशंसा भएको छ । यसैगरी अविरल वर्षाका कारण डुबानमा परी भत्किएका सडक निर्माण तथा मर्मतसम्भार, ढल, सिँचाइ–कुलो र खानेपानी व्यवस्थापन तथा झाडापखला, हैजाजस्ता रोगबाट जनतालाई जोगाउन सम्बद्ध सरकारी निकायका बीच समन्वयात्मक ढङ्गबाट काम भइरहेको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी बताउनुहुन्छ ।

जिल्लास्थित प्रमुख राजनीतिक दल तथा तिनका भ्रातृ सङ्घसस्थाका तर्फबाट सरकारी संयन्त्रको सहयोगमा प्रारम्भिक क्षतिको विवरण सङ्कलन, राहत सहयोग, उद्धार तथा चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं रौतहट इन्चार्ज अजय गुप्ता बताउनुहुन्छ ।

यसैगरी नेपाली कांग्रेसका नेता एवं जिल्ला सभापति कृष्णकुमार यादव बाढी प्रभावित स्थानीय जनताको सुखदुःखमा साथ दिन पार्टीले निर्देशन दिएबमोजिम आआफ्नो कार्यक्षेत्रमा कांग्रेसजन अहोरात्र खटिरहेको बताउनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (मोओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र आम जनता पार्टीका नेताहरूले पनि विद्यमान असहज परिस्थितिमा विचारभन्दा माथि उठी बाढी प्रभावित जनतालाई राहत सहयोग उपलब्ध गराउन आआफ्ना पार्टीपङ्क्तिलाई परिचालन गरिसकेको बताएका छन् । उहाँहरूले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई दृष्टिगत गरी प्राथमिकताका साथ राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरिएको बताउनुभएको छ ।

यसैगरी मधेस प्रदेश सरकारले बाढीपीडितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्राथमिकीकरणका आधारमा मातहतका जिल्ला तथा पालिकाका पीडितलाई सहयोग उपलब्ध गराउने जनाएको छ । स्थानीय पालिकाहरूले पनि बाढी प्रभावितलाई निःशुल्क रूपमा खानाको प्रबन्ध, दालचामलसहित खाद्यान्न, त्रिपालसहित चिकित्सक एवं स्वास्थ्यकर्मीको व्यवस्था गरेका छन् । जिल्लास्थित पालिका तथा वडाहरूको संयोजन तथा सहयोगमा बाढीपीडित जनतालाई अनुकरणीय साथ सहयोग प्राप्त भइरहेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य रेवन्त झा बताउनुहुन्छ ।

कटहरिया नगरपालिका प्रमुख जयप्रकाश जयसवालले प्रभावित परिवारका घरघरमा गई धनमाल, पशुचौपाया, धानबालीमा भएका क्षतिको विवरण सङ्कलन गरी राहत सहयोग उपलब्ध गराउन जुटिरहेको बताउनुभयो । नगरपालिकाको वडा नं १ भसेडवामा बाढी प्रभावित करिब एक सय ५०, वडा नं २ को जमुनिया छेदीचोक टोलमा ६१ र वडा नं ४ मा दुई सय ५० परिवारलाई कटहरिया नगरपालिकाले दालचामल, त्रिपाललगायत राहत सामग्री उपलब्ध गराएको नगरप्रमुख जयसवालले जानकारी दिनुभयो ।

यसैगरी बाराको पचरौता नगरपालिका प्रमुख जलन्धर सिंह (कुर्मी), एमाले मधेस प्रदेश कमिटी सदस्य एवं रौतहटका पूर्वसांसद् बबन सिंह र एमाले जिल्ला उपाध्यक्ष रुपेश पटेलको सहयोगमा पचरौता नगरपालिकाका उपप्रमुख, वडाध्यक्षसहित चिकित्सक एवं स्वास्थ्यकर्मी सम्मिलित टोलीले स्थानीय पालिका तथा वडा कार्यालयको सहकार्यमा बाढी प्रभावित राजदेवी नपा वडा नं ८ को लक्ष्मीपुर, दुर्गा भगवती गापा वडा नं ५ को बडहर्वा र परोहा नपा वडा नं ३ को तेजापाकड टोलका जनतालाई निःशुल्क खाना तथा स्वास्थ्य सेवा उपलब्ध गराउनुभएको छ ।

रौतहटमा अविरल वर्षाबाट दुई जनाको मृत्यु हुनुका साथै करिब दुई हजार परिवार प्रभावित भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

विशेषगरी वाग्मती नदीलगायत अन्य खोलानाला प्रभावित क्षेत्रमध्ये गढीमाई नगरपालिकाको धरमपुर र समनपुर, कटहरिया नपाको जमुनिया र छेदीचौर, गौर नपाको सब्गाढाको लच्कालग, इस्नाथ नपाको बैरियालगायत क्षेत्र बाढीबाट बढी प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लास्थित सरकारी निकायका अतिरिक्त सर्वदलीय एवं सर्वपक्षीय संयन्त्र बाढी तथा डुबानबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलनसहित राहत सामग्री सङ्कलन तथा सहयोग र उद्धारमा जुटिरहेका छन् ।

उहाँ भन्नुहुन्छ, “प्राकृतिक विपद्को दुःखद् घडीमा बाढीपीडित परिवारले राहत सहयोगको अपेक्षा गरिनु स्वाभाविक हो । स्रोतसाधन तथा आवश्यकतालाई दृष्टिगत गरी पीडित परिवारलाई यथाशक्य छिटो सहयोग उपलब्ध गराइनेछ । उदारतापूर्वक सक्दो सहयोग गरी बाढीपीडित परिवारजनका पक्षमा ऐक्यबद्धता जनाउन सबैसँग अनुरोध गर्दछु ।”

चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँर दुई जनाको ज्यान बचाए

पाटन (ललितपुर), १७ असोजः गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा हुनुहुन्छ । चर्चामात्र होइन हाल उहाँलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।

यसैक्रममा आज ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो । सम्मान कार्यक्रममा उहाँले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताउनुभयो । खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उहाँले सुनाउनुभयो । “ठूलो खोला थियो, काठ तथा अन्य सामान पनि बगाएर ल्याएको थियो, मान्छेलाई खोलाले बगाउँदै नजिकै ल्यायो, मन थाम्न सकिन, श्रीमती र छोरीले नजाऊ बगाउँछ भन्दै थिए तर उनीहरू र आफ्नो प्रवाह नगरी हामफालेर बचाएँ”, चनिकलाले भन्नुभयो ।

उहाँले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्व थाहा पाएको धारणा राख्नुभयो । तामाङले आफूले कल्पनामा पनि यस्तो सम्मान पाइएला भन्ने नसोचेको भन्दै महानगरप्रति आभार व्यक्त गर्नुभयो । “मलाई कुनै सम्मानको आश थिएन तर पनि नगद रु एक लाखसहित तपाईँहरूले गर्नुभएको यो सम्मानप्रति म निकै खुसी छु”, उहाँले भन्नुभयो । ललितपुर महानगरले चनिकलाललाई नगद रु एक लाख र सम्मानपत्र प्रदान गरेको थियो ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चनिकलालले गरेको यो महत्त्वपूर्ण मानवीय कार्यको जति प्रशंसा गरेर पनि अपूरो हुने भन्दै ठूलो जोखिम मोलेर दुई जनाको ज्यान बचाएकामा धन्यवाद भन्नुभयो । “बहादुरीपूर्वक जुन काम गर्नुभयो, त्यो ज्यादै प्रशंसायोग्य छ, तपाईँको बहादुरीले दुई जनाको ज्यान बच्यो, यो सम्मानभन्दा पनि ठूला हो । तपाईँले गर्नुभएको काम भविष्यमा पनि सम्झिरहने छौँ”, उहाँले भन्नुभयो ।

सम्मान कार्यक्रममा ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, सामान्य प्रशासन महाशाखा प्रमुख देवप्रसाद गुरागाईँलगायतको उपस्थिति थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५३ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चाडपर्वमा सुरक्षाका लागि एक हजार प्रहरीसहित तालिमप्राप्त कुकुर परिचालन

जानकी (बाँके), १७ असोजः चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएका छन् । भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ ।

दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । “चाडपर्वको समयमा अपराध र गैरकानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्”, उहाँले भन्नुभयो ।

विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । यसअघि दैनिक आठदेखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइने योजना बनाइएको हो । चाडपर्वको बेला १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आकलन छ । बाँकेमा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ । त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाका घटनालाई कम गर्नेगरी सुरक्षा योजना तयार गरिएको प्रहरी उरीक्षक कार्कीेले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज भन्सार जमुनाहा नाका, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा सहायता कक्ष स्थापना गरिने छ । चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसको चहलपहल बढी हुने भएकाले गाउँमा समेत सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानमा सादा पोशाकमा पनि प्रहरी परिचालन, सूचना सङ्कलन तथा उच्च निगरानी सुरु गरिएको कार्कीले जानकारी दिनुभयो ।

यसैबीच इलाका प्रहरी कार्यालय कोहलपुरले चाडपर्वका बेला लागुऔषध ओसारपसार बढ्ने आशङ्का भएकाले कोहलपुरमा तालिमप्राप्त कुकुर परिचालन गरेर जाँचमा तीव्रता दिइएको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चाडपर्वका मानिसको भीड बढी हुनेहुँदा लागुऔषधको ओसारपसार बढ्ने आशङ्का रहेकाले यस्ता कार्य नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौँ, १७ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत ९ः१६ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिनुभयो ।

दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।

नौ दिन नौ दुर्गाको पूजा

यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।

विजयादशमीको साइत असोज २६ गते ११ः३६ बजे

नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।

असोज २६ गते देवी विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ः३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

हनुमानढोकाको दसैँ घरमा विशेष पूजा

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गादेवीको पूजाआराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताउनुभयो ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाआराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा बलिसमेत दिने गरिन्छ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।

नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने

काठमाडौँ, १७ असोजः लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिनुभयो ।

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो । दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको आज सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो ।

प्रवक्ता चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुनेछ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर हुनेछ । आज (बिहीबार) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको प्रवक्ता चटौतले जानकारी दिनुभयो ।

यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बङ्गलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी बैठकअगावै टुङ्गो लगाउने सहमति भएको छ ।

नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरिनेछ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गरिनेछ । वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बङ्गलादेशको समान कार्य गर्ने संस्थाबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने र हस्ताक्षर गर्ने विषयमा पनि दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा सहमति भएको छ ।

यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नो तर्फबाट पहल गरिनेछ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेशले खरिद गर्ने सम्बन्धमा बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) बीच हुने विद्युत् व्यापार सम्झौताका सन्दर्भमा बङ्गलादेशले नेपाली अधिकारीलाई जानकारी गराएको थियो ।

विसं २०८० को जेठ १ गते नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव चटौत तथा बङ्गलादेशको विद्युत् ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव डा साइद मासुम अहमद चौधरीको सहअध्यतामा बसेको संयुक्त कार्य समूहकोे छैटौँ बैठकले तय गरेको कार्यप्रगति पेस गरिएको थियो । त्यसमा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण तथा विकास प्रक्रिया अगाडि बढाउने, प्रसारण प्रणालीको विकास गर्नेलगायत विषयमा समावेश थिए ।

गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिए पनि अन्तिममा स्थगित भएको थियो । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित भएको जनाइएको छ । बङ्गलादेशको अन्तरिम सरकारले बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल भइरहेको थियो । नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ ।

यस्तै, कुल छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । यो अर्को महत्त्वपूर्ण विषय हो । प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गरिने जनाएको छ । प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ ।

नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बङ्गलादेश जानेछ । प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । प्रसारण लाइनको ढल्केबर–मुजफ्फरपुरबीचको प्राविधिक चुहावट भने प्राधिकरणले नै व्यहोर्ने छ ।

साङ्केतिक रूपमा नै भए पनि बङ्गलादेशमा बिजुली बिक्री हुनु नेपालको सफलताका रुपमा लिइएको छ । भारतपछि उपक्षेत्रीय रूपमा नेपालको बिजुली अन्यत्र पुग्नु आफैँमा महत्त्वपूर्ण हुने सरकारको बुझाइ छ । प्राधिकरणले भारतीय कम्पनी एनभिभीएनलाई बिजुली उपलब्ध गराउने छ । सोही कम्पनीले नेपाली बिजुली बङ्गलादेश पुर्याउने छ । प्राधिकरणले चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली बङ्गलादेशमा निर्यात गर्ने बताउँदै आएको छ ।

बङ्गलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । गत साउन १३ मा नेपाल, भारत र बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो । यस्तै, नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकको समेत आयोजना गरिएको थियो । बङ्गलादेशको राजनीतिक परिवर्तनले सो कार्यक्रम स्थगन हुन पुग्यो । यी दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । सम्झौता कार्यान्वयन भएमा प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ ।

बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली लैजान इच्छा व्यक्त गरेको छ । विद्युत् बिक्रीसम्बन्धी सम्झौताका विषयमा पटकपटक छलफल भए पनि अन्तिम निष्कर्ष भने निस्कन सकेको छैन ।

यस्तै सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले गरिसकेको छ । सोही बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो ।

दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत् ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । हाल प्राधिकरणले भारतलाई मात्रै बिजुली निर्यात गर्दै आएको छ ।

टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित

काठमाडौँ, १७ असोजः क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो ।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

पाटन (ललितपुर), १७ असोजः ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप ग¥यो । सात मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो”, उहाँ भन्नुहुन्छ ।

दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनीजति खेत थियो भन्नुहुन्छ, वडाध्यक्ष नारायण भोम्जन । “धानसहित खेत लगिहाल्यो, सबैतिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लैजानसक्ने अवस्था छैन, सबैको घरमा रासन सकिन लाग्यो । सबैतिर बेहाल छ”, अध्यक्ष भोम्जनले भन्नुभयो,“वडामा क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । तत्कालै राहत दिनुपर्ने नौ परिवार छन्, सुकुम्बासी बस्तीका पाँच घर बगायो, अरु पाँच घर पनि चर्केका छन्, बस्न मिल्दैन । यहाँ दुई दर्जनजति निजी घरमा क्षति पुगेको छ ।”

बागमती गाउँपालिकाको वडा नं १, २, ४, ६ र ७ बागमती नदी किनारमा पर्छन् । यहाँका अरू वडामध्ये आश्रङले धेरै क्षति ब्यहोर्नुपरेको छ । अविरल वर्षासँगको बाढीले वडा नं ५ इकुडोलको पक्की पुल बगाएको छ । गाउँपालिकाबाट वडा कार्यालयसम्म पुग्ने सडक ५० भन्दाबढी स्थानमा भत्किएको छ । कलवन भन्ने ठाउँमा स्थानीय रणबहादुर दर्लामीको घर तथा यहाँको झोलुङ्गे पुल खोलाले बगाएको छ ।

यस्तै, कान्तिलोकपथको बगुवाको सवारीसाधन आवतजावत गर्ने पुल नै बागमतीले बगाएको छ । वर्षाले निम्त्याएको विपत्तिका कारण ललितपुरको दक्षिणी भेगमा रहेका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन बनेका छन् । विपत्तिका कारण महाँकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजन र मानवीय क्षति ब्यहोर्नुपरेको राहत र उद्धारका लागि सञ्चार समन्वय नहुँदा समस्या भइरहेको छ । यहाँका बिरामीलाई उपचारका लागि लिनुपर्दा हेलिकप्टको प्रयोग बाध्यात्मक बनेको छ । त्यसैले त आइतबार र सोमबार हेलिकप्टरबाट प्युटार र गोटिखेलबाट बिरामीलाई पाटन अस्पताल पुर्याइयो । बुधबार हेलिकप्टरबाट राहत सामग्री यहाँ ल्याइएको थियो । “लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युत्का खम्बाहरू ढलेका छन् । जसका कारण पाटनबाट गाउँपालिकासम्म आउन असहज भएको छ”, महाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले भन्नुभयो ।

बाढीपहिरोबाट गोटीखेलको हिलसाइज अङ्ग्रेजी माध्यमिक विद्यालय, वैतर्णीधाम मन्दिर, वन कार्यालय भवन, टुङ्गन इलाका प्रहरी चौकी बगाएको छ । अवरुद्ध रहेको कान्तिलोकपथ खुलाउनका लागि डोजर प्रयोग गरेर सडक सफा गर्ने काम भइरहेको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । “अहिले तीनपाने भञ्ज्याङसम्म एकतर्फी सडक सञ्चालन हुन्छ, डोजर प्रयोग गरेर सफा गर्यौँ, अब छपेलीसम्म सफा हुन्छ”, उहाँले भन्नुभयो ।

ठोस्ने खोलामा आएको बाढीका कारण कोञ्ज्योसोम गाउँपालिकाका–३ दल्चोकीको सिलिङ्गेबेसी २२ वटा घर बगाएको उपाध्यक्ष राजनप्रसाद घिमिरेले जानकारी गराउनुभयो । “पालिकाभित्र ४० घर बगाएको र पुरिएको छ, वडा नं २ शङ्खुमा चार घर, सिलिङ्गेबेसीमा २२ घर र वडा नं १ चौघरेमा एक घर क्षति भएको छ । तीन जनाको ज्यान गएको छ”, उहाँले भन्नुभयो ।

दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका बाढीपहिरोेमा परेर १३ जनाले ज्यान गुमाएको र अझै पाँच जना बेपत्ता रहेको महाँकाल गाउँपालिका उपाध्यक्ष डोल्मामाया लामाले बताउनुभयो ।    “बाढीपहिरोले मानवीय क्षतिका साथै धेरै भौतिक क्षति भएको छ, यहाँ शुक्रबारदेखि कार्यालय खुल्न सकेको छैन, प्रमुख प्रशासकीय अधिकृत नै पालिका कार्यालय पुग्न सक्नुभएको छैन”, उहाँले भन्नुभयो । 

बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

काठमाडौँ, १७ असोज: केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ ।

प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिनअघि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ । वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको जानकारी दिइएको छ । बाढीपहिरोबाट सेनाका केही व्यारेकमा क्षति भएको जनाइएको छ ।

बाढीपहिरोका घटनालगत्तै नेपाली सेनाले प्रभावित क्षेत्रमा तत्कालै परिचालन भइ खोजी, उद्धार र राहत सामग्री वितरण कार्यमा सक्रियताका साथ काम गर्दैआएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राजमार्गका होटलमा रात्रिकालीन छड्केः एक रिसोर्टलाई २० हजार जरिवाना

मलेखु (धादिङ), १७ असोजः पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खानेकुरा खुला छाडेकाले झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को उपदफा ३९ को १ को ‘क’ बमोजिम जरिवाना तिराएको हो । पुनः यस्तो भेटिएमा कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेसमेत अनुगमन टोलीले चेतावनी दिएको छ ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणि पुरीसहितको अनुगमन टोलीले पृथ्वी राजमार्गअन्तर्गत पर्ने गजुरी गाउँपालिकाको आदमघाट र मलेखु क्षेत्रका होटल तथा रिसोर्ट र खाद्यान्न पसलको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरूलाई सचेत गराइएको र कार्यविधिअनुसार बिक्री गर्न निर्देशन दिइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालले जानकारी दिनुभयो ।

चाडपर्वको बेला जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिएको अर्यालले बताउनुभयो । चाडपर्वका बेला उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान बिक्री गर्नेलगायत कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको उहाँको भनाइ छ ।

चाडपर्वको मौका छोपेर विशेषतः पृथ्वी राजमार्गअन्तर्गत जिल्लामा सञ्चालित होटलले खाना, खाजाको मूल्य बढी लिने गरेको यात्रीहरूले गुनासो गर्दै आइरहेका छन् ।

विपद्का बेलामा सबै मिलेर पीडितलाई सहयोग गरौँ : अध्यक्ष दाहाल

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ असोज : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले विपद्का बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका–१२ भूमेडाँडा रोशी बजार क्षेत्रको स्थलगत निरीक्षण गर्दै अध्यक्ष दाहालले विपद्का बेलामा सबै मिलेर जनताका पक्षमा काम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । भुमेडाँडा रोशी बजार क्षेत्रका बाढी प्रभावित स्थानीय नागरिकको अवस्थाका बारेमा जानकारी लिनुहुँदै उहाँले सत्ता र प्रतिपक्ष भनेर एकअर्कालाई दोषारोपण गर्नुभन्दा  सबै मिलेर जनताको पीरमर्कामा मल्हमपट्टी लगाउनेगरी खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा केन्द्रित हुन सबैमा आग्रह गर्नुभयो । 

रोशी बजार क्षेत्रमा मानवीय र भौतिक क्षति बढी नै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका पीडाबारे जानकारी लिन तथा दसैँ, तिहारको मुखमा जनताको घाउमा मल्हमपट्टी के–कसरी लगाउन सकिन्छ भनेर बुझ्न आएको बताउनुभयो । विगतमा विनाशकारी भूकम्पका बेलामा पनि आफू प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई सक्दो सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले सरकारलाई जनताका पक्षमा काम गर्न आग्रह गर्दै सरकारले थालेका सकारात्मक काममा आफ्नो पार्टीले साथ दिने बताउनुभयो ।

“मौसमविद्हरुले अविरल वर्षा हुँदैछ है भनेर सचेत गराएका थिए । सरकारलाई पूर्वानुमानअनुसार खोज, उद्धार र राहतको सबै तयारी गर्न आग्रह गरेको थिए । अहिले क्षति भइसकेपछि पनि खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्नका निम्ति ढिला गर्न हुँदैन”, अध्यक्ष दाहालले भन्नुभयो । यसबारेमा सरकार र राजनीतिक दलहरुबीच छलफल गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले रोशी क्षेत्रमा बढी क्षति हुनुको कारण यहाँका खानी र क्रसर उद्योग रहेको उल्लेख गर्दै क्रसर उद्योग र खानीबारे नीतिगतरुपमा नै सोच्नुपर्ने सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट जिल्लाको समग्र मानवीय र भौतिक क्षतिका विषयमा जानकारी लिनुका साथै धुलिखेल अस्पतालमा उपचाररत बिरामीलाई भेटेर उहाँहरुको उपचारका बारेमा भइरहेको प्रयास र बिरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अध्यक्ष दाहालक साथमा यहाँ आउनुभएका सांसद सूर्यमान दोङले खोज, उद्धार, राहत र अस्थायी बासस्थान निर्माणका साथै पुनःस्थापनाका लागि काम गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले तत्काल ठाउँ ठाउँमा खाद्यान्न, स्वास्थ्य, खानेपानी र पुनःस्थापनाका लागि विद्युत्, सञ्चार र सडक सञ्जालको आवश्यक रहेकाले बिपी राजमार्गलाई अस्थायीरुपमा सञ्चालन गर्न आवश्यक पहलकदमीका साथ काम भइरहेको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले तत्कालका लागि खानेपानी, खाद्यान्नको अभाव र क्षति भएकालाई अस्थायी बासस्थानका लागि सङ्घीय सरकारले पहल गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले अस्थायी रुपमा बाटो जोड्न उपकरण ठाउँ ठाउँमा भए पनि इन्धन पु¥याउन गाह्रो भइरहेकाले त्यसका लागि पहलकदमी लिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाको उद्धारको काम जारी रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जिल्लामा हालसम्ममा घाइते तथा अन्य समस्यामा परेका गरी सात सय ७१ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत र अन्य तीन हजार दुई सय ९९ जनाको समेत उद्धार गरिएको, ६ सय घर जोखिममा रहेकामा त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको, राहत तथा स्वास्थ्योपचारको व्यवस्था गर्ने लगायतका काम भइरहेको जानकारी दिनुभयो । 

यही असोज ११ र १२ गते आएको बाढी पहिरोबाट हालसम्म जिल्लामा ६९ जनाको मृत्यु, ७२ जना घाइते तथा सातजना बेपत्ता भएका सहायक प्रजिअ पौडेलले बताउनुभयो । घाइतेमध्ये ५० जना उपचारपछि घर फर्किसकेका छन्  बाइस जना अझै अस्पतालमा उपचाररत छन् । जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् ।

एमाले उद्योग विभागको टोलीसँग भियतनामका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, १६ असोज : नेकपा (एमाले) को उद्योग, वाषिज्य तथा आपूर्ति विभागका प्रतिनिधिसँग भियतनामको पूर्वगृहमन्त्रीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलले आज उद्योग, व्यापार, परियोजना सञ्चालन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल गरेको छ ।

भियतनाम नेपाल फ्रेन्डसीप एसोसिएसनका अध्यक्ष एवं भियतनाम सरकारका पूर्वगृहराज्यमन्त्री त्रान आन तान नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विभागका प्रमुख पूर्वमन्त्री मोतीलाल दुगढ नेतृत्वको प्रतिनिधिहरूसँग छलफल गरेको हो । टोलीमा भियतनामका पूर्वगृहमन्त्री त्रान भान तानको सहभागिता रहेको छ ।

भियतनाम र नेपालबीचको सम्बन्धलाई थप सुदृढ गराउने, लगानी, पर्यटन र व्यापर प्रवर्द्धन एवं जनस्तरको सम्बन्ध विस्तारका विषयमा दुई प्रतिनिधिमण्डलबीच छलफल भएको थियो । नेपाल पिस एण्ड सोलिडारिटी काउन्सिलको निमन्त्रणमा आएको टोलीले विभिन्न राजनीतिक दलका नेता, सरकारी प्रतिनिधि तथा यस विषयमा सरोकार राख्ने व्यक्तिहरूसँग छलफल गर्ने काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँले ट्रेड एण्ड कमर्स, पर्यटन प्रवर्द्धन र सिधा हवाई सेवाका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा आज छलफल भएको जानकारी दिनुभयो । पूर्वमन्त्री एवं विभागका प्रमुख मोतिलाल दुगढले समसामयिक तथा आर्थिक र व्यापारिक विषयमा छलफल भएको बताउनुभयो ।

नेपाल सम्भाव नै सम्भावनाको देश भएको बताउँदै संयोजक अधिकारीले भन्नुभयो भन्नुभयो, “तपाईहरू आउनुहोस्, नेपालमा लगानी गर्नुस्, हामीलाई मौका दिनुहोस् नेपाललाई विकास गनका लागि आफ्नो नाफा लिएर जानुस् ।” उहाँले भियतनामको प्रतिनिधिमूलक टोलीलाई नेपाल सम्भाव नै सम्भावना भएको देश भएको जानकारी गराउनुभयो । नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताउँदै उहाँले पोखरा, लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तथा अझ धेरै पूर्वाधार निर्माणको चरणमा रहेको जानकारी गराउनुभएको थियो ।

“नेपालका जस्तो हिमालय विश्वमा कही पनि छैन, खेलकुद पर्यटनको अथाह सम्भावना छ”, संयोजक अधिकारीले थप्नुभयो, “यहाँ अन्तरराष्ट्रियस्तरका रङ्गशाला बनाएर बाहिरका खेल स्नुकर, क्रिकेट, हक्की, फुटबल, टेनिस यहाँ गरायौँ भने यहाँ धेरै पर्यटन वृद्धि हुन्छ ।” उहाँले अन्य पर्यटनको सम्भावनालाई केन्द्रित गरेर विकास गर्नसके वार्षिक एक करोड पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताउनुभयो ।

टोलीसँग उहाँले नेपाललाई शैक्षिक तथा मेडिकल हर्ब रुपमा विकास गर्नसकिने जानकारी गराउनुभयो । “तपाईहरु अन्तरराष्ट्रियस्तरको अस्पतालमा लगानी गर्नुहोस्, धेरै सम्भावना छन्, स्कुल र कलेज खोल्न सक्नुहुन्छ, सूचना प्रविधिमा लगानी गर्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “नेपाली धेरै सहयोगी छन्, तपाइँहरुलाई सरकारले संरक्षण गर्छ । आउनुहोस् ।”

विगतका समयमा राजनीतिक अस्थिरता रहे पनि अहिले ठूला राजनीतिक दल कांग्रेस–एमालेको नेतृत्वमा सरकार गठन भई स्थायी सरकार बनेकाले लगानीमा कुनै जोखिम नरहेको जानकारी गराउनुभएको थियो । दुगढले उहाँहरूबाट पनि नेपालले धेरै सिक्ने अवसर प्राप्त गर्न सकिने पनि बताउनुभयो ।

टोलीको नेतृत्व गर्दै आउनुभएका भियतनाम–नेपाल फ्रेन्डसिप एशोसिएशनका अध्यक्ष एवं भियतनाम सरकारका पूर्वगृहराज्यमन्त्री तानले आफू दोस्रो पटक नेपाल आएको जानकारी दिँदै लगानी गर्न भियतनामका व्यवसायी इच्छुक रहेको जानकारी दिनुभयो । उहाँले नेपालमा पर्यटन, जलविद्युत आयोजना, न्यू टेक्नोलोजी तथा सफ्वेयर, स्कुल, मानव श्रोतसानस व्यवस्थापनका विषय सम्भावनायुक्त रहेको जानकारी प्राप्त गरेको र त्यसका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

छलफलमा नेकपा एमाले सामाजिक सेवा विभागकी संयोजक, संविधानसभा सदस्य कल्पना चापागाईँले टोलीलाई नेपाल लगानीका लागि उपयुक्त सम्भावना भएको देश रहेको जानकारी गराउँदै यसरी हुने भेटघाटले आपसी जनस्तरको सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने बताउनुभयो ।

विपद् व्यवस्थापनमा केन्द्रित हुन तीनै तहका सरकारलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौँ, १६ असोज : राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपाको उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुलीको नेतृत्वमा सङ्घीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षण पत्रमा बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको परिवारलाई राहत, बेपत्ताको खोजी, घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।

घरबारविहीनलाई सहज अस्थायी बसोबास र खानपिनको व्यवस्था, अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापनलगायत विषयमा तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको रास्वपा नेता पराजुलीले जानकारी दिनुभयो ।

विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता

काठमाडौँ, १६ असोज : पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।

हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थलगत रिपोर्ट : बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

मलेखु (धादिङ), १६ असोज : साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा सवारीको चाप बढेको हो । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झण्डै ९० प्रतिशत सडक क्षत्विक्षत छ । 

चौकीडाँडा भन्ने ठाउँमा करिब एक सय ५० मिटर सडक पूरै खोलाले कटान गरेको छ । बिपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै जिल्ला, मधेस प्रदेशको अधिकांश जिल्ला जाने सवारीसाधनले अहिले पृथ्वीराजमार्ग प्रयोग गरिरहेका छन् ।

झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप त छँदैछ त्यसमाथि बिपी राजमार्गमा चल्ने सवारी पनि थपिँदा पृथ्वीराजमार्ग झन व्यस्त बनेकाले सम्भावित दुर्घटना हुन नदिन ६० जना प्रहरी थपगरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

साना तथा मझौला सवारीलाई मात्रै चल्ने अनुमति भएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलाले सडकको नामनिसाना नरनेगरी बगाएपछि पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुङ्गा मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका हुन् । सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, झापालगायत आवतजावत गर्ने सवारीले काठमाडाँैको नागढुङ्गा, धादिङको नौबिसे, चितवनको मुग्लिनबाट नारायणगढ र मकवानपुरको हेटौँडा हुँदै महोत्तरीको बर्दिवास पुगेर आआफ्नो गन्तव्यतिर लाग्ने गरेका छन् ।

बिपी राजमार्ग सञ्चालनमा हुँदा काठमाडौँबाट पाँच घण्टामा बर्दिवास पुगिने भए पनि नागढुङ्गा मुग्लिनको बाटो प्रयोग गर्नुपर्दा काठमाडौँबाट बर्दिवास पुग्न पूर्व जाने सवारीलाई कम्तीमा १३ घण्टा लाग्ने झापा जाँदै गरेको माइक्रोबसका चालक हरिबहादुर राईले बताउनुभयो । “टाइम कार्ड लागू गराएकै भए पनि बनेपा बर्दिवासको बाटो जान पाउँदा बर्दिवास पुग्न पाँच घण्टा जति लाग्थ्यो । नागढुङ्गाबाट मुग्लिन निस्किएर बर्दिवास पुग्न जाम भएन भने १३ घण्टा लाग्छ”, चालक राई भन्नुभयो, “पृथ्वी राजमार्गमा पनि जताततै पहिरोले गर्दा यसै जाम बढिरहेको छ, जोखिमसहित लामो समय लगाएर यात्रुलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ ।”

चार दिनसम्म परेको निरन्तरको वर्षात्ले छियाछिया बनेर जोखिमपूर्ण बेनेको सडकमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि अझ बढेको छ । लामो र छोटो दूरीका सवारीसाधनले राजमार्ग भरिभराउ भएका छन् । सामान्यतया दैनिक १३ हजार सवारी आवतजावत हुने पृथ्वीराजमार्गमा दसैँको रौनकले सवारी र यात्रुको चाप बढेको छ नै बिपी राजमार्गमा चल्ने सवारीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा सवारीको चाप अत्याधिक भएको हो ।

सवारी चाप बढेसँगै जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण स्थानमा आलोपालो गरी सवारी पास गराउँदै आएको छ । सडक विस्तारको निर्माण कार्यका कारण साँघुरो भएको राजमार्गमा ठाउँठाउँमा झरेको पहिरोले झनै समस्या थपेको हुँदा सडकको अवस्था हेरी सम्यमतापूर्वक सवारी चलाउन ट्राफिक प्रहरी चालकलाई सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

पहिरोसहित विभिन्न कारणले सडक एकतर्फी भएका स्थानलाई सवारी गुड्नसक्ने बनाउने र राजमार्गमा प्रहरीको उपस्थिति बढाएर सम्भावित दुर्घटना हुनबाट सचेत गराउने काम भइरहेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । “राजमार्गका केही स्थानमा अहिले पनि सवारी एकतर्फी छ । त्यस्ता स्थानमा जाम हुन नदिन प्रहरी निरन्तर खटिरहेको छ”, शाहीले भन्नुभयो ।

ठाउँठाउँको पहिरोका कारण राजमाग एकतर्फी छ । त्यसमाथि चालकहरूले लेन अनुशासन पालना नगर्दा झन धेरै जाम भइरहेको छ । पछिल्लो दिनको अवस्था हेर्दा ट्राफिक प्रहरीले मात्रै दसँैको सवारी आवागमन सञ्चालन गराउनसक्ने अवस्था नरहेको भन्दै नागरिक अगुवाहरूले थुप्रै सुझाव दिइरहेका छन् ।

सशस्त्र प्रहरी र सेनालाई जोखिम देखिएको राजमार्ग क्षेत्रमा परिचालन गरेर राजमार्गको व्यवस्थापन मिलाउनुपर्ने उहाँहरूको सुझाव छ । चालकको लापरबाहीले गर्दा पनि सवारी जाम र दुर्घटना बढिरहेकाले राजमार्गको हरेक एक किलोमिटरमा कम्तीमा एक जना प्रहरी खटाएर चालकलाई कटाइका साथ ट्राफिक नियम पालना गराउनुपर्ने नागरिक अगुवा नरेश खतिवडा सामाजिक सञ्जालमामार्फत सुझाव दिनुभएको छ ।

खतिवडाले स्टाटरमा लेख्नुभएको छ, “चारपाङ्ग्रे गाडी धार्के–शीतापाइला सडकबाट पठाउ, साना गाडी गल्छी–छरछरे–टोखा सडकबाट पनि पठाउन सकिन्छ । ठूला र हेभी गाडीहरूलाई  नौबिसे–नागढुङ्गा सडक निर्वाध प्रयोग गर्नसक्ने स्थिति बनाउँ । एम्बुलेन्स र सुरक्षा फौजलगायत गाडीहरू सुरुङ मार्ग हुँदै आवतजावत गर्ने व्यवस्था मिलाउ । साना तथा फोरह्विलर गाडीलाई त्रिशूली पारी गल्छी–घाटबेंसी परेवारटार सडक प्रयोग गर्न प्रेरित गर । पहिरोले दुःख दिइरहेको ठाउँमा स्काभेटर, लोडर तयारी अवस्थामा राख्न आग्रह गर्नुभयो । “ट्राफिक प्रहरी एकान्त र अप्ठ्यारो ठाउँमा गाडी रोकेर पैसा असुल्नमात्र राजमार्गमा छाडिएको हो भन्ने बुझाइ यात्रुको छ, यो अवस्था तुरुन्त सुधार गरेर राजमार्ग क्षेत्रका स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तित्वको भरपुर उपयोगगरी आमनागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने कुराको प्रत्याभूति दिलाउन सकिने खतिवडाले प्रष्ट पार्नुभएको छ ।

सडक मर्मत र यातायात सहज बनाउन भौतिक र रक्षामन्त्रीबीच छलफल

काठमाडौँ, १६ असोज : बाढीपहिरोले अवरुद्ध सडक मर्मतगरी यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच छलफल भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

मन्त्री दाहालको सचिवालयले दिएको जानकारीअनुसार चाडपर्वको बेला भएकाले जतिसक्दो चाँडो सडक मर्मत तथा निर्माणगरी यातायात सहज बनाउन रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ । बिपी राजमार्गका क्षतिग्रस्त विभिन्न स्थान मर्मतका लागि आवश्यकपरे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबीच छलफल भएको हो । 

छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो । सडक विभागले क्षतिग्रस्त सबै स्थानमा प्राविधिक तथा उपकरण परिचालनगरी सवारी आवागमन सहज बनाउने काम गरिरहेको जनाएको छ ।

जितु नेपालको बुढ्यौली गेटअपको पोस्टर भाइरल

काठमाडौं । कलाकार जितु नेपालको प्रमुख भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ रिलिजको तयारीमा छ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको सार्वजनिक पोस्टर, टिजर र गीतले फिल्म वृत्त र दर्शकमा बेग्लै हाइप बनाइसकेको छ । यही मेसोमा जितुको बुढ्यौली गेटअपको पोस्टर जितु आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

पोस्टरमा जितुलाई गोवद्र्धन पण्डितको रुपमा चित्रण गरिएको छ । जितुलाई बुड्यौली दर्शाउने चस्मा र सोही अनुरुपको पहिरनमा खुईलिएको तालुले चरित्र बुझाउने प्रयास गरिएको छ । उनको यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता पनि जगाएको छ ।

जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन । जितु यतिबेला फिल्मको प्रमोसनमा व्यस्त छन् । यही व्यस्तताबीच सार्वजनिक उनको गेटअपले कौतुहलता पैदा गरेको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

काठमाडौं, १६ असोज-काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएका ४२ वर्षीय राम शरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङ समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि रुपन्देहीका कृष्ण न्यूरेले जिते

काठमाडौं । राजधानीमा मंगलबार सम्पन्न पुरूष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि रुपन्देहीका कृष्ण न्यूरेले जितेका छन् । पछिल्लो समय अमेरिका बस्दै आएका न्यूरे यो प्रतियोगिताको लागि नेपाल आएर अडिसनमा सहभागि भएका थिए ।

ग्राण्ड फिनालेको लागि अन्तिम प्रतिस्पर्धामा छनोट भएका उत्कृष्ट २० सहभागीबाट विजेता घोषित गर्दा ‘टप फाइभ’ छानिएको थियो । विजेता बनेका न्यूरेले नगद पुरस्कार ७ लाख रुपैयाँ र विनर ट्रफी हात पारे भने थाइल्याण्डमा हुने ‘म्यान अफ दि इयर’ ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अबसर पनि आफ्नो पक्षमा पारेका छन् ।

विजेतालाई कार्यक्रमका ब्राण्ड एम्बास्डर तथा निर्णायक अभिनेता अनुपबिक्रम शाही, कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार, कार्यक्रम निर्देशक संसद शाह र कार्यकारी निर्देशक स्विकृति प्याकुरेल, निर्णायकद्वय राजभाइ सुवाल र करण वैधले पुरस्कारसहित ट्रफी प्रदान गरे ।

अन्तिम स्पर्धामा छनोट भएका पाँच जनामा मस्कुलिन म्यान अफ दि इयरको उपाधि उत्सव श्रेष्ठले पाए भने माइण्डफूल म्यान अफ दि इयरको उपाधि प्रविण आचार्यले पाउँदा मोडर्न म्यान अफ दि इयर अभिमन्यू खड्का, मास्टरली म्यान अफ दि इयर अनमोल भण्डारी र म्यानली म्यान अफ दि इयरको उपाधि विजेता बनेका कृष्ण न्युरेले नै हात पारे ।

उत्कृष्ट २० मध्येको सव- क्याटेगोरीमा मस्ट ट्यालेन्ट प्रवेश डंगोल, पब्लिक च्वाइस् अनमोल भण्डारी, मस्ट फोटोजेनिक ऋतिक श्रेष्ठ र वेस्ट वाक विधामा इश्वर छत्कुली उत्कृष्ट घोषित भए । देशका विभिन्न प्रमुख शहरहरूमा सम्पन्न अडिसनबाट छनोट भएका सय बढि सहभागीमध्ये अन्तिम स्पर्धामा चुनिएकाहरूबीच मंगलबार आयोजक संस्था यू क्यान फ्लाई फेशन प्रालीले फाइनल राउण्डबाट विजेता टुंगो लगाएको हो ।

कार्यक्रम सम्पन्न पश्चात कार्यकारी निर्देशक प्याकुरेलले नेपालको सर्वाधिक पुरस्कार राशी सहितको यो पहिलो प्रतियोगितालाई हरेक पक्षबाट सफल बनाउन सघाउने सम्पूर्णमा धन्यवाद दिँदै यो प्रकारको सफलताले भोलीको दिनमा थप उत्कृष्ट कार्यक्रम गर्ने उर्जा प्रदान गरेको बताइन् ।

मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

जनकपुर, १६ असोज : मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे आज घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । उहाँले वर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले विपद्का बेला मधेस प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद समेत दिनुभयो । उहाँले यसअघि बाढीबाट प्रभावित गाउँबस्तीमा पुनःस्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्य क्षेत्र बनाइ काम गर्दै आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थासँग आग्रह गर्नुभएको थियो ।

बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण सङ्कलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले त्यसअनुरूप राहत तथा पुनःस्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।