`

इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा

इजरायलले आफ्नो मुलुकमाथि इरानको क्षेप्यास्त्र आक्रमणको विशेष रूपमा निन्दा गर्न असफल भएको आरोप लगाउँदै बुधबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको छ ।

“जो कोहीले पनि इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न सक्तैन, ऊ इजरायली भूमिमा पाइला टेक्न योग्य छैन”, विदेशमन्त्री इजरायल काट्जले एक वक्तव्यमा भन्नुभयो, “उहाँ आतङ्कवादी, बलात्कारी र हत्यारालाई समर्थन गर्ने इजरायलविरोधी महासचिव हुनुहुन्छ ।”

काट्जका अनुसार गुटेरेसले हमास, हिजबुल्लाह, हुथी र अब विश्वव्यापी आतङ्कवादको मातृशक्ति इरानका हत्याराहरूलाई समर्थन गर्नुहुन्छ र आउने पुस्तासम्म संयुक्त राष्ट्रसङ्घको इतिहासमा उहाँलाई एउटा दागका रूपमा सम्झिइनेछ ।

मङ्गलबार राति इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’ को निन्दा गर्दै यस क्षेत्रमा ‘एकपछि अर्को बढ्दो द्वन्द्व’ को आलोचना गर्नुभयो । “यो रोक्नै पर्छ, हामीलाई पूर्ण रूपमा युद्धविरामको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

इजरायल संयुक्त राष्ट्रसङ्घको कडा आलोचक रहँदै आएको छ । अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायल र राष्ट्रसङ्घबीचको सम्बन्ध झन बिग्रिएको छ ।   गुटेरेसले गाजा र लेबनान दुवैमा लडाइँ रोक्न युद्धविरामका लागि बारम्बार आह्वान गर्नुभएको छ । 

उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ, १६ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितका राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

यसैगरी, उपराष्ट्रपतिको कार्यालयअन्तर्गत उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञहरू (सल्लाहकारहरू) र प्रमुख स्वकीय सचिवबाट पाँच–पाँच दिन तथा सहसचिवदेखि अधिकृत वा सो सरहको कर्मचारीबाट तीन–तीन दिनको पारिश्रमिक बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलोमात्रामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उहाँले घाइते भएकाहरुको निःशुल्क उपचार र विपद् प्रभावित क्षेत्रमा हैजा, डेङ्गुजस्ता रोग फैलिन नदिन आवश्यक उपाय अवलम्बन गर्न, विस्थापित परिवारका लागि पुनर्वासको व्यवस्था गर्न तथा राहत सामग्रीलगायत  खाद्यान्नको व्यवस्थापन एवं अवरुद्ध लोकमार्गहरू यथाशीघ्र खुलाई आगमन सहज बनाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल

काठमाडौँ, १६ असोज : यातायात सहजरुपमा सञ्चालन गर्न गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरुसँग छलफल गर्नुभएको छ । उहाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग÷सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गर्नुभएको हो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर सङ्घ÷सङ्गठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

“विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ”, उहाँले भन्नुभयो, “बिपी राजमार्गअन्र्तगत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।”

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो । “अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भयो”, उहाँलेले भन्नुभयो, “हामीले सवारीसाधन जाँच गर्ने लगायतका विषयमा पनि छलफल गरेका छौँ ।”

सो अवसरमा मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी सक्रिय रहेको बताउनुभयो । “पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायत स्थानमा पहिराको जोखिम रहेका क्षेत्रमा ट्राफिक प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “चाडवाडका बेला आएको विपद्को सामना गर्दै सहज यात्राका लागि गम्भीर भएर लागिपरेका छौँ ।”

सङ्क्रमण रोकथाका उपाय पहिल्याउनका लागि स्वास्थ्यमन्त्रीद्वारा सर्वपक्षीय छलफल

काठमाडौँ, १६ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बाढी, पहिरो र डुबानजस्ता विपद्पछि फैलन सक्ने सङ्क्रामक रोग रोकथामका उपाय पहिल्याउनका लागि राज्यका तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीसँग आज छलफल गर्नुभएको छ ।

मन्त्रालयमा भएको विशेष बैठकमा उहाँले बाढी, पहिरो पछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेङ्गुलगायत सङ्क्रामक रोग लाग्न नदिन आआफ्नोतर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोग गर्न आग्रह गर्नुभयो ।

विपद्का समयमा स्वास्थ्यकर्मीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्यकर्मीले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्‍याएको भूमिका सराहनीय छ, अब यसपछि फैलनसक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौँ ।” उहाँले खानेपानीको शुद्धता बढाउन र कुनै पनि सङ्क्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठ्यारो फुकाउन मन्त्रालय लाग्ने उहाँको भनाइ थियो ।

बैठकमा खानेपानीमन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध खानेपानी दिनका लागि शुुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गर्नुभयो ।

बैठकमा बाढी, पहिरोबाट बढी प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कोसी, मधेस तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै खानेपानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो ।  

मन्त्री पौडेलले दुईवटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सङ्घीय राजधानी उपत्यकामा जनसङ्ख्या पनि बढी रहेको र अहिले सङ्क्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर सङ्क्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताउनुभयो । यसका लागि प्रदेश र महानगरहरूसँग हातेमालो गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानीका स्रोत प्रदूषित भएकाले आफूहरूले ट्याङ्करबाट किनेरै शुद्धीकरणका उपाय अपनाइ खानेपानी वितरण गरिरहेको जानकारी गराउनुभयो ।

बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यमन्त्रीको निर्देशनअनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा सङ्क्रमण रोक्न नदिन आवश्यक थप कदमहरू चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी

काठमाडौँ, १६ असोज : नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिगमा कर्णाली एसभिएस विजयी भएको छ । आज भएको खेलमा उसले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उक्त खेलमा कर्णालीले ललितपुर क्विन्सलाईे ३–० सोझो सेटमा पराजित गरेको हो । आजको खेलमा कर्णालीले ललितपुरलाई पहिलो सेटमा २५–२२ अङ्कले पराजित ग¥यो । दोस्रो सेट पनि २५–२२ अङ्कले नै जित्यो । खेलको अन्तिम निर्णायक सेटमा कर्णालीले ललितपुरलाई २९–२७ अङ्कले हरायो ।

कर्णालीले यसअघि मधेस युनाइटेडलाई ३–१ र गण्डकी थन्डर्सलाई ३–२ सेटले पराजित गरेको थियो । जितसँगै कर्णालीले आठ अङ्क जोडेको छ । तीन खेल खेलेको ललितपुरको ६ अङ्क छ । प्रतियोगितामा ललितपुर  पहिलो पटक पराजित भएको हो । ललितपुरले यसअघि काठमाडौँ स्पाइकर्स र मधेसलाई समान ३–१ सेटले हराएको थियो ।     इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् । 

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर, १६ असोज : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गर्नुभएको छ ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार, संवैधानिक प्रक्रिया पूरागरी प्रदेशसभा बैठकको अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत प्रकाश चापागाईंले राससलाई बताउनुभयो ।

प्रदेशसभाको गत असोज ६ र ७ गते बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो । 

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा

काठमाडौँ, १६ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु भएको सम्मेलनअन्तर्गत आयोजित ‘एसिडी बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो, “अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रुपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।”

विश्व शान्ति, स्थिरता तथा समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रुपमा अँगाल्नुपर्ने मन्त्री डा राणाको भनाइ थियो । सो बिजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड न्यू बिजनेस मोडल’ विषयक सत्रमा उहाँले भन्नुभयो, “आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआइ एक प्रकारको ‘गेम चेञ्जर’ का रुपमा आएको छ । यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।”

मन्त्री डा राणाले एआइ अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षालगायतका लागि प्रभावकारी साधन बनेको बताउनुभयो । यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पाेरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्द्धनका लागि प्रयोग गर्नसक्ने उहाँको सुझाव थियो । कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन तथा सेवाको विस्तारमा एआइले सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

यसको प्रयोगबाट बजारको विश्लेषण एवं अनुसन्धान, उत्पादनका लागि दक्षताको सुधार एवं सूचना प्रणालीमा सहयोग पुग्ने मन्त्री डा राणाको भनाइ थियो । उहाँले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भए पनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गर्नुभयो । कतिपय डाटा तथा तथ्याङ्कको गोपनीयता, गलत अर्थात् भ्रमपूर्ण सूचनाको प्रसार तथा रोजगारीमा आउन सक्ने गिरावटलाई यसका मुख्य चुनौतीका रुपमा लिने गरिएको उहाँको भनाइ छ ।

नेपाल वर्तमान संविधान जारी भएसँगै दिगो शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्न आवश्यक कानुन परिमार्जन गरेका छौँ । नेपाल सरकारले ऊर्जा, उत्पादन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको छ । एआइ नेपालमा लगानीको एक नयाँ क्षेत्र बन्न सक्छ ।”

सो बिजनेस समिटमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध नेपाली उद्योगी तथा व्यवसायीसँग समन्वय गरी नेपालमा लगानी गर्न मन्त्री डा राणाले विश्वका लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ उपस्थित सम्पूर्ण उद्योगी, व्यवसायी एवं लगानीकर्तालाई म यो आग्रह गर्न चाहन्छु कि अहिले नेपालमा लगानीको उचित अवसर र वातावरण छ । त्यसैले नेपालमा विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् ।”

मन्त्री डा राणा कतारको दोहामा आजदेखि सुरु भएको एसियन कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुग्नुभएको हो । उहाँ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी भएर मङ्गलबार दोहा पुग्नुभएको हो ।

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

काठमाडौँ, १६ असोज : ‘न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरलरूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ ? – यो समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई सोध्नुभएको प्रश्न हो ।

 समितिका सदस्य कार्कीको जस्तै प्रश्न अर्का सदस्य ईश्वरी घर्तीको पनि छ । उहाँको प्रश्न थियो, “न्याय महँगो भयो, सर्वसाधारणले कसरी न्याय पाउने ? समितिका सदस्य डोरप्रसाद अर्यालको प्रश्न पनि कार्की र घर्तिसँग मिल्दो छ, “न्याय महँगो छ, गरिबले कसरी न्याय पाउने ? समितिका सदस्य आनन्दप्रसाद  ढुङ्गानाको भनाइ थियो, “जनताको आङ्काक्षाविपरीत न्यायालयले निर्णय गर्न भएन ।” त्यस्तै, समितिका अर्का सदस्य लीलानाथ श्रेष्ठको पनि भनाइ उस्तै छ, “सर्वोच्च अदालत न्याय पाउने अन्तिम आशा र भरोसाको केन्द्र हो, त्यसले न्याय मर्न नदिनेगरी निर्णय गर्नुपर्छ ।”

 समितिका सदस्यहरूको कही न कही न्याय पाउने प्रक्रिया सरल, सहज हुनुपर्‍यो र न्यायालयबाट हुने निर्णयमा धनी र गरिब भनेर छुटिनु भएन भन्नेमा नै केन्द्रित थियो ।

समितिका सदस्यहरूको प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश राउतले भन्नुभयो, “विपन्नले न्याय नपाउँदा कति प्रताडना हुन्छ, मैले महसुस गरेको छु, संवैधानिक सीमाभित्र रहेर काम गर्छु, निश्कलङ्क छवि राखेर निष्पक्ष रूपमा काम गर्छु ।” उहाँले निष्पक्ष न्याय दिन सकियोस् भनेर नै सधै संवेदनशील र सचेत हुने गरेको स्पष्ट पार्नुभयो ।

 सिंहदबारस्थित प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइका क्रममा समितिका सदस्यहरू जीवन परियार, सुनिता बराल, प्रकाश अधिकारी, जनार्दन शर्मालगायतले बार र बेच्नबीच राम्रो सम्बन्ध नभएको र न्यायपरिषद् नियमावलीको विषयमा जिज्ञासा राख्नुभएको थियो । जवाफमा प्रस्तावित प्रधानन्यायाधीश राउतले भन्नुभयो, “यसबारेमा म अध्ययन गरेर वैधानिक निकास खोज्छु ।”

समितिमा सदस्यहरूले अदालतमा विचौलिया रोख्नुपर्ने, सबैको पहुँचमा न्याय पुर्‍याउनुपर्ने, न्याय प्रक्रियामा सेवाग्राहीलाई राम्रो व्यवहार गर्नुपर्ने, न्याय हुनेगरी निर्णय गर्नुपर्नेलगायत विषयमा सवाल राख्नुभएको थियो । प्रस्तावित न्यायाधीश राउतले पञ्चवर्षीय र आफ्नो कार्ययोजनाअनुसार काम गर्ने बताउनुभयो । उहाँले न्यायालय सुधार र न्यायका उपभोक्तालाई राम्रो व्यवहार गर्न सबै निकायमा निर्देशन दिने समितिसमक्ष प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना

संसदीय सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा नेपालको संविधान, न्याय प्रशासनसम्बन्धी प्रचलित कानुन, न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना, न्यायपालिका तथा न्याय प्रशासनको सुधारका लागि काम गर्ने उल्लेख छ ।

   विसं २०६१ मा न्यायपालिकामा रणनीतिक योजना लागू गर्दाको अवस्थामा अदालतमा जम्मा मुद्दाको वार्षिक लगत एकलाख सातहजार छ सय ४१ थान रहेकामा २०८१ असार मसान्तमा आइपुग्दा सो तीन लाख, ६९ हजार दुई सय नौ पुगेको छ । त्यतिबेला मुद्दाको वार्षिक फछ्र्यौट ५३ हाजार आठ सय १२ थान रहेकामा अहिले दुई लाख, आठ हजार, एक सय ८४ थान रहेको छ । यस हिसाबले अदालतको कार्यबोझ तीन गुणाले बढेको र फर्छ्योटसमेत सोही अनुपातमा वृद्धि भएको छ । सर्वोच्च अदालतमा अहिले करिब २५ हजार मुद्दा रहेका छन् ।

न्यायालय सुधारका योजनामा न्यायपालिकाको पाँचौँ रणनीतिक योजनाले सर्वोच्च अदालतको मुद्दा फर्छ्योट तथा पुराना बक्यौता मुद्दाहरूको न्यूनीकरण सम्बन्धमा निर्धारण गरेका लक्ष्य हासिल गर्नेगरी मुद्दा व्यवस्थापनका उपयुक्त एवम् प्रभावकारी उपायहरूको अवलम्बन गरिने रहेको छ ।

 सर्वोच्च अदालतमा मुद्दाको कार्यबोझ कम गर्न अदालतहरूको क्षेत्राधिकारसम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जनका लागि अध्ययन गरी कार्यान्वयन गर्ने, संवैधानिक इजलासको कार्यसञ्चालनको प्रभावकारिताका लागि इजलासको सञ्चालन र कारबाही प्रक्रियालगायत विषयमा अध्ययन गरी कार्यान्वयन गर्ने रहेको छ ।

 पुराना बक्यौता मुद्दा लक्ष्यबमोजिम फर्छ्योट गर्न पेशीलगायत बक्यौता मुद्दाको व्यवस्थापनसम्बन्धी विशेष कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने, मुद्दाको प्रकृति, विषयवस्तु र मुद्दामा रहेको विवादित बिषयको गाम्भीर्यताका आधारमा बहसको समय निर्धारणलगायत सुनुवाई व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरूको अवलम्बन गर्ने रहेको छ ।

 भौगोलिक विकटतालाई प्राथमिकतामा राखी अदालतमा भिडियो कन्फरेन्सिङमार्फत बहसलगायत मुद्दाको कारबाही र सुनुवाइ गर्ने कार्यलाई क्रमशः विस्तार गर्ने, मुद्दाको कारबाहीको अवस्थासम्बन्धी जानकारी एसएमएस तथा मोबाइल एप्समार्फत मुद्दाको पक्षलाई उपलब्ध गराउने कार्यलाई थप प्रभावकारी बनाउने रहेको छ ।

 कार्ययोजनामा वैतनिक कानुन व्यवसायी तथा स्वेच्छिक निःशुल्क कानुनी सेवा (प्रोवोनो) लाई थप प्रभावकारी बनाई लक्षित वर्गलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक कार्यक्रमको निर्माण र कार्यान्वयन गरिने उल्लेख छ ।

 पीडित न्याय प्रणालीको प्रवर्द्धनका लागि उपयुक्त कार्यक्रमको निर्माण र कार्यान्वयन गरिने, मुद्दाको कारबाहीका क्रममा अपराधपीडितको सुरक्षा, सूचना, गोपनीयता, आत्मसम्मान, निःशुल्क कानुनी सहायतासम्बन्धी हकको व्यावहारिक कार्यान्वयनको लागि दिग्दर्शन बनाई लागू गर्ने रहेको छ ।

 त्यस्तै, पीडितले पाउने अन्तरिम राहत तथा क्षतिपूर्ति रकम भराउने कार्यलाई शीघ्र, सहज र सम्मानजनक बनाउन सोसम्बन्धी प्रक्रियालाई सरलीकृत गर्ने, न्याय प्रणालीलाई लैङ्गिकमैत्री तथा सामाजिक समावेशी बनाउन उपयुक्त रणनीतिहरू अख्तियार गरी प्रभावकारी कार्यान्वयन गरिने रहेको छ ।

 न्यायपालिकामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणसम्बन्धी रणनीतिको निर्माण गरी लागु गर्ने, अदालतका भौतिक संरचना र कार्यवातावरण लैङ्गिकमैत्री बनाई लैङ्गिक हिंसा वा दुव्र्यवहार हुन नपाउने व्यवस्था गर्ने र न्यायपालिकामा कार्यरत महिला न्यायाधीश तथा महिला कर्मचारीको व्यावसायिक क्षमता तथा नेतृत्व विकासका लागि कार्यक्रम सञ्चालन गर्ने रहेको छ ।

 न्यायाधीश नियुक्तिमा संविधानको भावनाअनुरूप समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्ने, न्यायाधीशको नियुक्ति संविधान र कानुनबमोजिम निर्धारित अवधिभित्र सम्पन्न गरी अदालतहरूमा न्यायाधीशको कमी हुन नपाउने अवस्था सुनिश्चित गर्ने, न्यायाधीशउपर परेका उजुरीहरूको छानबिन र कारबाही सोसम्बन्धी कार्यविधिका आधारमा शीघ्रतापूर्वक सम्पन्न गर्ने उल्लेख छ ।

 संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

मधेस प्रदेशमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

जनकपुरधाम, १६ असोज : तीन दिनको अविरल वर्षात्सँगै गएको बाढीले अहिलेसम्म मधेस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या आठ जना पुगेको छ । बाढीमा बगेका थप दुई जनाको शव भेटिएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।

साथै एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । साथै बाढीका कारण आठ जना घाइते भएका र उनीहरू सामान्य उपचारपछि घर फर्किएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार महोतरीमा दुई जना र सप्तरीमा एक जना, सर्लाहीमा दुई जना, पर्सामा एक जना र रौतहटमा एक बालिकासहित दुई जनागरी आठ जनाको मृत्यु भएको छ ।  

महोत्तरीको गौशाला नगरपालिका–८ कुरामारीका १६ वर्षीय रोहित साह, महोत्तरीको बर्दिवास नगरपालिका–११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङ्ग, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया, रौतहटको पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह कानु, सर्लाहीको बलरा नगरपालिका–३  लक्ष्मीपुरका  महावीर ठाकुरका १२ वर्षीय छोरा अङ्कित ठाकुर, सर्लाही–१ हथियोलका ३७ वर्षीय पवन गिरी तथा पर्साका सखुवाप्रर्सौनी गाउँपालिका–२ का विनोद दासका १७ वर्षीया छोरी राधिकाकुमारीको मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

यसैगरी सर्लाहीको सोती खोलाले बगाएर बेपत्ता भएका बागमती नगरपालिका–९ सक्रोलका १५ वर्षीय मुकेश महतोको खोजी जारी छ । तराईका आठ वटा जिल्लामध्ये रौतहटमा तीन जना, सिरहामा एक जना र सर्लाहीमा एक जना र बारामा तीन जना घाइते भएको उपचारपछि सामान्य अवस्था रहेको र घर फर्किएका छन् ।

सो कार्यालयका प्रहरी उपरीक्षक बोहोराका अनुसार बाढीका कारण ९६ घरपरिवारका चार सय ८८ जना विस्थापित भएका थिए । बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको थियो । विस्तारै प्रदेशका जनजीवन सामान्य हुँदै गएको छ । 

दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौँ, १६ असोज : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले आज जारी गरेको नयाँ बरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए ।

नयाँ बरियतामा अलराउन्डरतर्फ इङग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन् । ऐरीको दुई सय ३० रेटिङ छ भने लिविगंस्टोनको दुई सय ५३ रहेको छ ।

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरियतामा ब्याटिङतर्फ ऐरी विश्व बरियतामा ४३औँ स्थानमा रहेका छन् । यसअघि उनी ४५औँ स्थानमा रहेका थिए । अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा रहेका छन् । टी–ट्वान्टी टिम बरियतामा नेपाल १७औँ स्थानमा रहेको छ ।

त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरियतामा नेपालका आसिफ शेख ८२औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त बरियतामा ८७आँै स्थानमा छन् ।

‘बेहुली फ्रम मेघौली’लाई इतिहासकै उच्च शो

काठमाडौं – फिल्म ‘बेहुली फ्रम मेघौली’ले हालसम्मकै उच्च शोसहित प्रदर्शन हुने भएको छ । वितरकको भनाइअनुसार यस फिल्मले पहिलो दिन नै ३४० सो पाएको हो । काठमाडौं तथा मोफसलका मल्टिप्लेक्स र सिंगल थिएटरमा गरी शो सङ्ख्या ३४० पुगेको हो । यसअघि ठूला ब्यानरका फिल्मले पनि यो सङ्ख्यामा ओपनिङ शो पाएका थिएनन् . गीत र ट्रेलरले यो फिल्म दर्शकको चासोमा परेको छ ।

साथै, यो साता प्रदर्शन हुने एक मात्रै फिल्म भएकाले यसले उच्च शो पाएको हो ।शुक्रबार र शनिबारको वर्षाले अघिल्लो साता प्रदर्शन आएका दुई फिल्म हलबाट उतारिएको छ । यस फिल्मले उच्च शो पाउनुको अर्को कारण यो पनि हो । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय र लगानी छ । निश्चिलको फिल्ममा ‘केही हुन्छ’ भन्ने दर्शकको बुझाइ रहेका कारण पनि ‘बेहुली फ्रम मेघौली’लाई फरक दृष्टिले हेरेको पाइन्छ ।यस फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धारा भुसाल, विजय बराल र सिमरन खड्का लगायतको अभिनय छ ।

पूर्वानूमान वर्षाको असर :टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौँ, १६ असोजः केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड (एनसेल) को मात्र करिब रु २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

“एनटिसीको करिब रु १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब रु साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ”, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले रासससँग भन्नुभयो । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उहाँले बताउनुभयो ।

बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ । 

पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी दिनुभयो । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उहाँले बताउनुभयो । 

संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा लेखिएका महिलाका अधिकारका बुँदा पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । सञ्चारिका समूहले आज आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपालको राजनीतिमा रहिआएको नातावाद र कृपावादको संस्कार बदल्नका लागि पनि संविधान पूर्णरूपमा कार्यान्वयन गर्दै लैजानुपर्ने बताउनुभयो ।

“नेपालको जस्तो खुल र बहुलवादी समाजमा महिला नेतृत्व विकासको प्रचुर सम्भावना छ”, मन्त्री गुरुङले भन्नुभयो, “योसँगै पुरुषवादी संस्कार र संस्कृतिमा रुपान्तरण ल्याउन जरुरी छ ।”

‘सञ्चारिका टक्स सिरिजः टुगेदर वि लिड’ शीर्षकमा महिला नेतृत्वको विषयमाथि गरिएको समूहगत छलफलमा मन्त्री गुरुङले महिला नेतृत्वको अवस्था र सम्भावनाबारे धारणा राख्नुभएको हो । उहाँले रहेक राजनीतिक पार्टीभित्र महिला सहभागिता माथि सबैले सामूहिक रूपमा प्रश्न उठाउनुपर्नेमा जोड दिनुभयो ।

साथै राजदूत नियुक्ति, मन्त्रिमण्डल गठन, न्यायलयलगायत राज्यका विभिन्न अङ्गमा महिला नेतृत्वको कमी रहेको उहाँले उल्लेख गर्नुभयो । “राज्यका सबै तहमा अनिवार्य एक तिहाइ महिला सहभागिता हुनुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “नेतृत्व र समावेशीको सवालमा हामीले प्रश्न गर्न सक्नुपर्छ ।” 

न्यायलयमा महिला नेतृत्व निकै कम भएको औँल्याउँदै सञ्चारमन्त्री गुरुङले राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनुपर्छ भनेर संविधानमा उल्लेख छ, तर उपपदमा महिला मात्रै हुनुपर्छ भन्ने धारणा गलत भएको स्पष्ट पार्नुभयो ।

सकारात्मक विभेद अवलम्बन गरेर महिला र पुरुषको सहभागितामा बढावा दिन सकिने बताउँदै मन्त्री गुरुङले समावेशीका मुद्दामा एकरूपता आवश्यक रहेको बताउनुभयो । उहाँले नेतृत्व विकासमा क्षमता अभिवृद्धिका पक्षमा जोड दिनुपर्ने अबको महिला आन्दोलनको मुद्दा रहेको सुनाउनुभयो ।

ताप्लेजुङका वडाध्यक्ष दिलप्रसादले हङकङबाट पठाए राजीनामा

फुङ्लिङ (ताप्लेजुङ), १६ असोजः विगत ११ महिनादेखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ ।

वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो ।

विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उहाँले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गर्नुभएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

काठमाडौँ, १६ असोजः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।

समोसामा कीरा भेटिएपछि होटललाई २० हजार जरिवाना

सिरहा, १६ असोजः ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले. रु २० हजार जरिवाना गरेको छ ।

लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो ।
उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छभने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका रु एक लाख २५ हजार छ सय ८० मूल्यका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छभने ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।

एक्सले बोल्ड फन्ट पोस्टहरूको दृश्यता सीमित गर्ने

एक्सका मालिक एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्मका प्रयोगकर्ताहरूलाई आफ्ना पोस्टहरूमा बोल्ड फन्टहरूको अत्यधिक प्रयोग नगर्न सल्लाह दिनुभएको छ ।

उहाँले यस्ता पोस्टहरू अब मुख्य टाइमलाइनमा प्रमुख रूपमा नदेखाइने बताउनुभयो । उहाँले एक पोस्टमा आफ्नो निराशा व्यक्त गर्दै भन्नुभयो, “कुनै पनि कुरा बोल्डमा हेर्नका लागि तपाईंले पोस्ट विवरणहरूमा क्लिक गर्नुपर्नेछ ।”

यो परिवर्तन तुरुन्तै प्रभावकारी हुनेछ । यसको मतलब बोल्डमा ढाँचा गरिएको कुनै पनि पाठ मुख्य फिडमा प्रत्यक्ष दृश्यबाट लुकाइनेछ ।

प्रयोगकर्ताहरूले अब बोल्ड टेक्स्ट हेर्नका लागि व्यक्तिगत पोस्टहरूमा क्लिक गर्नुपर्नेछ । यो अपडेट वेब प्रयोगकर्ताहरूमा लागू हुँदैन । तर हालै आइओएस र एन्ड्रोइड एप प्रयोग गर्नेहरूलाई विस्तार गरिएको छ ।

यो नयाँ नियम प्रयोगकर्ताहरूलाई उनीहरूको पोस्टहरूमा गुणस्तर कायम राख्नका लागि घोषणा गरिएको छ ।

यस नयाँ नियमका साथ एक्सले आफ्ना प्रयोगकर्ताहरूका लागि दृश्य अनुभव वृद्धि गर्ने र प्लेटफर्मको सामग्रीको अखण्डता कायम राख्ने लक्ष्य राखेको छ ।

मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

म्याग्दी, १६ असोजः मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ ।

आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ता¬ङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिनुभयो ।

“सम्झौता गरेको निर्माण कम्पनीले तेताङतर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको छ”, उहाँले भन्नुभयो, “रानीपौवा–झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन सुरु भएको छ ।” यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले रु १० करोड बजेट विनियोजन गरेको छ । विसं २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड ६० लाख बजेट विनियोजन गरेको छ ।

योे कालीगण्डकी करिडोरको कागबेनी–छुसाङ खण्डको वैकल्पिक सडक हो । कागबेनीबाट मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तीर्थयात्रीलाई यही सडक भएर उपल्लो मुस्ताङको यात्रा गर्न सहज हुनेछ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज हुने भएकाले यो सडकलाई प्राथमिकता दिएको हो ।

एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा

भोजपुर, १६ असोजः टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ ।

किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवीस्थानको विकास गर्दै एकीकृत पर्यटकीय क्षेत्र निर्माणको अवरधारणाअनुसार काम भइरहेको छ । त्यसनिम्ति विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम थालिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ७७ लाखको लागतमा भौतिक संरचनाको विकास गरिएको वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले बताउनुभयो । पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायत संरचना निर्माण गरिएका उहाँले बताउनुभयो । विसं १९४४ मा स्थापना गरिएको पाँचधारे पोखरीको संरक्षण, सिंहदेवीस्थानमा सांस्कृतिक भवन निर्माण गरिएको छ ।

पाँचधारे पोखरीको मौलिकता परिवर्तन नगरी जीर्णोद्धार तथा संरक्षणको काम गरिएको छ । पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम थालिएको तथा पर्यटकको सहजताका लागि हाल निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसम्म पुर्याउने लक्ष्य छ ।

किरातेश्वर ढुङ्गेबगैँचा किरातहरूको आस्था केन्द्र र पाँचधारे पोखरीको धार्मिक महत्व रहेको स्थानीय अधिराज राईले बताउनुभयो । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह््य पर्यटकको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । पाँचवटा मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने तथा पोखरीका माछा कसैले खाए त्यसले बाधा हुने उहाँले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

कर्णाली, १६ असोजः कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ः०० बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिनुभयो । सभामुख गुरुङले चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको बताउनुभयो ।

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

सवारीसाधनको चाप हुने बिपी राजमार्ग सुनसान

कमलामाई (सिन्धुली- यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ । राजमार्ग छेउका होटल व्यवसाय ठप्प जस्तै छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढीपहिरोले क्षतविक्षत छ । रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ । कतै चिराचिरा परेको छ ।  

गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा मात्रै ४० ठाउँमा लेदोमाटो, गेग्रान र ढुङ्गामाटो खसेको छ । नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा खसेको पहिरो पूर्ण रुपमा पहिरो हटाउन सकिएको छैन । सडकमाथिबाट खसेको पहिरो थुप्रो लागेको छ ।

राजमार्गका ठाउँठाउँमा सडकमाथिबाट बेलाबेलामा ढुङ्गा, लेदोमाटो झरिरहन्छ । कतिपय भिरका रुखहरु सडकतर्फ नै ढल्किएका देखिन्छन् । जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको छ । 

महोत्तरीको बर्दिवादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको कूल एक सय ६० किलोमिटर लामोे राजमार्गलाई चार खण्ड (पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी,तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर) मा विभाजन गरेर निर्माण गरिएको थियो । 

यसमध्ये तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ ।

राजमार्गको दुई खण्ड एकतर्फी सञ्चालन, एक खण्ड खुलाउने प्रयास

बिपी राजमार्गको पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी बाढीपहिरोले क्षति गरेको थिएन । यो खण्ड दुईतर्फ नै सञ्चालनमा छ । दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी सडकको माथिल्लो बारा, तल्लो बारा क्षेत्रको सात ठाउँमा सानाठूला पहिरो खसेको थियो । दुई ठाउँमा खसेको ठूलो पहिरो एकतर्फ पन्छाएर सडक सञ्चालन गरिएको छ ।

तेस्रो खण्ड खुर्कोट–नेपालथोकको विभिन्न भागमा कतै पहिरो पन्छाएर र भत्किएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । 

कानढुङ्ग्रीमा डाइभर्सन निर्माण

बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि सोही सडकको भित्तातर्फ डाइभर्सन बनाएर एकतर्फी सडक सञ्चालन गरिएको छ । शनिबारसाँझसम्म सञ्चालनमा रहेको सडक आइतबार बिहान कालोपत्रसहित धसिएर नदीमा खसेको थियो । सोही सडकको भित्तापट्टीबाट ५० मिटर डाइभर्सन सडक बनाएको हो । खुर्कोट–नेपालथोक खण्डको ३२ ठाउँमा माथिबाट खसेको ढुङ्गामाटो पहिरो र लेदोमाटो एकतर्फ पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको छ । 

नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै

बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको काभ्रे र सिन्धुलीको सिमाना छेउ नेपालथोक देविस्थानमा रोशी र घ्याम्पे खोलाले बगाएको सडक सञ्चालन गर्न आजदेखि ट्र्याक खोल्ने काम सुरु भएको छ । 

सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालका अनुसार एस्काभेटरको सहयोगमा खोलालाई पूर्वतर्फ डाइभर्ट गरी अस्थायी ट्र्याक खोल्ने काम सुरु गरिएको हो । बाढी बगाएको एक सय मिटर सडकलाई रोशी खोलालाई डाइभर्ट गरेर अस्थायी ट्र्याक निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । 

उहाँ अनुसार यो ट्र्याक खुलेपछि काभ्रेको मङ्गलटारसम्म सवारी सञ्चालन हुने र भकुण्डबेंसी देखि रोशी खोलासम्मको १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्र्याक खोल्नुपर्ने हुन्छ । बर्दिवासदेखि धुलिखेलसम्मको तीन खण्डको ११० किलोमिटर सडकमा यातायात सञ्चालन गर्न सकिने र ५० किलोमिटर पुनःनिर्माणको चरणमा रहेको उहाँले बताउनुभयो ।

नेपालथोकबाहेक यो खण्डमा छ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण रुपमा क्षति गरेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । रोशीगाउँपालिकाको कालढुङ्गा र बोक्सीकुनामा २०० मिटरभन्दा बढी सडकमा पूर्ण रूपमा क्षति भएको छ ।

थली बेसीमा पनि रोशीखोलाले २०० मिटर र नार्के पुल नजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ । रोशी खोलामा बाढी घटेकाले खोलालाई डाइभर्सन गरेर अस्थायी सडक निर्माण गर्न स्थानीयले सुझाएका थिए ।

विसं २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिकमार्गका रूपमा विकास गरेको थियो । 

राजमार्ग पूर्ण रुपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ । यद्यपि दसैँअघि नै राजमार्ग पूर्ण रुपमा सञ्चालनमा ल्याउने प्रयासस्वरुप जिल्लाका जनप्रतिनिधिसहित सरोकारवाला सबैपक्ष जुटेका छन् । 

बाढीपहिरो र डुबानबाट मधेसमा पाँच अर्ब बढीको क्षति

धनुषा, १६ असोजः हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ ।

अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ ।

मङ्गलबारसम्मको प्रारम्भिक विवरणानुसार विपद्बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिनुभयो । कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ । मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ ।

मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा रु पाँच अर्ब ३३ करोड ७५ लाखको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ । प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ ।

यसैगरी चार हजार तीन सय ९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा रु एक करोड ३२ लाख, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा रु ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा रु तीन करोड ४० लाखको क्षति भएको अनुमान गरिएको छ ।

कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार तीन सय हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा रु २३ करोडको क्षति अनुमान गरिएको जनाउनुभयो । डुबानका कारण १४ हजार दुई सय पाँचवटा पशुपक्षी मर्दा रु ७६ लाख बराबरको क्षति भएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ । रौतहटमा १० हजार दुई सय ४३ हेक्टरको धान बाली प्रभावित हुँदा रु एक अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा नौ हजार तीन सय ६७ हेक्टरको धान बाली नोक्सान हुँदा रु एक अर्ब २२ करोड ४० लाख ४० हजार, बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।

यसैगरी सर्लाहीमा छ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा रु ६९ करोड, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ । पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ । मधेसमा १४ हजार दुई सय पाँच पशुपक्षी मरेका छन्भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन् । धनुषामा सात सय हेक्टर बालीमा क्षति भएको छ ।

‘विश्व इन्टरनेट सम्मेलन’ एआईमा केन्द्रित हुने

अगामी नोभेम्बरमा हुने ‘विश्व इन्टरनेट सम्मेलन’ (डब्लुआइसी) आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा केन्द्रित हुने आयोजकहरूले बताएका छन् ।

   शिखर सम्मेलनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, डिजिटल अर्थतन्त्र, एआई टेक्नोलोजिकल इनोभेसन र गभर्नेन्स जस्ता विषयहरूमा २० भन्दा बढी उप–मञ्चहरू आयोजना गर्नेछ ।

   डब्लुआइसीले शिखर सम्मेलनका क्रममा एआईमा एक विशेष समिति गठन गर्ने आयोजकहरूले बताए ।   यस वर्षको कार्यक्रमले डब्लुआइसी विशिष्ट योगदान पुरस्कारसहित नयाँ गतिविधिहरू पनि प्रस्तुत गर्नेछ । यसले विश्वव्यापी इन्टरनेट क्षेत्र र सम्बन्धित क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्ति र उद्यमहरूलाई सम्मान गर्नेछ ।    शिखर सम्मेलन नोभेम्बर १९ देखि २२ सम्म पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा हुने भएको छ ।

वेब टेलिस्कोपले पत्ता लगायो प्लुटोको सबैभन्दा ठूलो चन्द्रमामा कार्बन डाइअक्साइड

जेम्स वेब टेलिस्कोपको प्रयोग गर्ने वैज्ञानिकहरूले प्लुटोको सबैभन्दा ठूलो चन्द्रमा चारोनको जमेको सतहमा कार्बन डाइअक्साइड पत्ता लगाएको मङ्गलबार प्रकाशित अनुसन्धानले खुलासा गरेको छ ।

अर्को रासायनिक हाइड्रोजन पेरोक्साइडसँगै कार्बन डाइअक्साइडको खोजले हाम्रो सौर्यमण्डलको रहस्यमय बाहिरी भागमा रहेका बरफिलो संसारहरूलाई प्रकाश पार्नसक्छ । 

प्लुटो लामो समयदेखि सूर्यको नवौँ ग्रहका रूपमा चिनिन्थ्यो । तर काइपर बेल्ट भनिने नेप्च्युन परको क्षेत्रमा अन्य यस्तै वस्तुहरू देखिएपछि यसलाई सन् २००६ मा पुड्को ग्रहमा घटुवा गरिएको थियो । 

डोनट आकारको काइपर बेल्टमा लाखौँ बरफिलो संसारहरू रहेको मानिन्छ । 

अमेरिकी राज्य कोलोराडोमा साउथवेस्ट रिसर्च इन्स्टिच्युटकी सिल्भिया प्रोटोपापाले भन्नुभयो, “यी वस्तुहरू समय क्याप्सुलहरू हुन् जसले हामीलाई सौर्यमण्डलको निर्माण बुझ्न सक्षम बनाउँछन् ।”

प्रोटोपापाका अनुसार चारोनले यी संसारहको दुर्लभ झलक दिन्छ किनकि प्लुटोसहित अन्य काइपर बेल्ट वस्तुहरू विपरीत यसको सतह मिथेन जस्ता अत्यधिक अस्थिर बरफले अस्पष्ट छैन ।

प्रोटोपापा प्लुटोका पाँच चन्द्रमामध्ये सबैभन्दा ठूलोमा वेबको नयाँ खोजहरूको वर्णन गर्ने नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित नयाँ अध्ययनकी प्रमुख लेखिका हुनुहुन्छ ।

पजलको टुक्रा

फ्रान्सको चौडाइ र प्लुटोको आधा आकारको चारोन पहिलो पटक सन् १९७८ मा पत्ता लागेको थियो । सन् २०१५ मा नासाको यु होराइजन अन्तरिक्ष यानले चारोनलाई पार गरेपछि यसले चारोनको सतह मुख्यगरी पानीको बरफ र अमोनियाले ढाकिएको पत्ता लगायो । यसले चन्द्रमालाई यसको रातो र खैरो रूप दिएको मानिन्छ । 

यानले ग्रहको सतहमुनिको सामग्री कहिलेकाहीँ क्रेटरहरूमार्फत उजागर भइरहेको पनि देखायो । यसबाट पृथ्वीमा जीवनका लागि आवश्यक ग्यास कार्बन डाइअक्साइड चारोनको सतहमा पनि हुनसक्छ भन्ने वैज्ञानिकहरूलाई थाहा भयो । 

प्लुटो र चारोनसहित काइपर बेल्टका वस्तुहरू प्रोटोप्लानेटरी डिस्कबाट बनेको मानिन्छ । प्रोटोप्लानेटरी डिस्क ग्यास र धुलोको वृत्त हो । यसले करिब चार अर्ब ५० करोड वर्षअघि शिशु सूर्यलाई घेरेको थियो ।

पृथ्वीको निर्माणमा पनि योगदान गरेको प्रोटोप्लानेटरी डिस्कमा कार्बन डाइअक्साइड समावेश भएको मानिन्छ । तर न्यू होराइजले चारोनमा ग्यास पत्ता लगाएन । 

प्रकाशको लामो तरङ्ग लम्बाई मापन गर्ने र गहिरो जाँच गर्न अनुमति प्राप्त गर्ने भएकाले वेब टेलिस्कोपले अब यो ‘खुला प्रश्न’ को जवाफ दिने प्रोटोपापाले बताउनुभयो । 

“कसैले काल्पनिक रूपमा चारोनको सतहमा पाइला टेक्ने हो भने कार्बन डाइअक्साइडको ठोस रूप सतह पानीको बरफ र शुष्क बरफ मिश्रण हुनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अझ आश्चर्यजनक रूपमा वेब टेलिस्कोपले हाइड्रोजन पेरोक्साइड पनि पत्ता लगाएको छ । 

अध्ययनअनुसार पृथ्वीमा कहिलेकाहीँ कीटाणुनाशकका रूपमा प्रयोग गरिने रसायनको उपस्थितिले चारोनको बरफिलो सतह टाढाको सूर्यबाट आउने अल्ट्रा–भायोलेट प्रकाश र सौर्य हावाद्वारा परिवर्तित भएको सुझाव दिएको छ । 

“चारोनमा यी रसायनहरू पत्ता लगाउनु र छुट्ट्याउनु यी टाढाका संसारहरूका बारेमा थप जानकारी पत्ता लगाउने खोजमा अर्को ‘पजलको टुक्रा’ हो र बदलामा हाम्रो सौर्यमण्डलको जन्म भयो”, प्रोटोपापाले भन्नुभयो ।

बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडौँ, १६ असोजः हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले राससलाई बताउनुभयो ।

पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ असोज ः काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबार पहिलो चरणको राहत वितरण गरेको छ । नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जारालगायतको टोलीले वडा कार्यालयसँगको समन्वयमा सम्बन्धित ठाउँमा पुगेर वितरण गरेको हो ।

नगरप्रमुख भण्डारीले पनौती नगरपालिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र रोशी भूमेडाँडा आसपासमा भएको बताउनुभयो । प्रारम्भिक विवरणअनुसार तीन सय परिवार घरबारविहीन भएको उहाँको भनाइ छ । रोशी खोलामा गएको बाढीका कारण धेरै कटान भएर धेरै धनजनको क्षति भएको छ । 

विपद्पछिको पहिलो कार्य राहत वितरण र पहुँचमार्गलाई अगाडि बढाएको उहाँले बताउनुभयो । सोही क्षेत्रबाट काभ्रे उपत्यका एकीकृत खानेपानीको मुख्य पाइपलाइन लगेकोमा ११ किलोमिटरभन्दा बढी ठाउँमा क्षति पुगेको कारण खानेपानी समस्यामा रहेको जनाएको छ ।

नगरउपप्रमुख गीता बञ्चाजाराले भूमेडाँडा रोशी आसपासका नागरिक एउटा घरबाट अर्को घरसम्म पनि जान सक्ने अवस्था नरहेकाले कारण यहाँका खानेपानी, बिजुली र राहत र उद्धारका काममा लागेको बताउनुभयो । पहिलो चरणमा पीडित परिवारलाई चामल, दाल, नुन, तेल र साबुनलगायतका सामग्री वितरण गरिएको छ । 

दाताबाट सङ्कलन भएको र नगरपालिकाबाट थप गरी वडा कार्यालयमार्फत नगरपालिकाको वडा नं. १, २, ३, ४ र १२ का गरी एक सय ५१ परिवारलाई राहत वितरण गरेको नगरपालिकाले जनाएको छ ।

भूमेडाँडाका हरिबहादुर मुल्मिले घरबार बगाउनेदेखि पाकेको धानखेतमा धेरै क्षति भएको कारण नागरिकले धेरै पीडा खेप्नुपरेको बताउनुभयो । सो क्षेत्रका नागरिकले बस्ने, खानेलगायतका राहतलाई समयमा प्राप्त गर्न नपाएको गुनासो गरेका छन् । गत बिहीबारदेखि गरेको अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढीले आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ ।

मङ्गलबार नै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सबै सङ्घ÷संस्थालाई मानवीय सङ्कटको यस अवस्थामा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न अपिल गर्नुभएको छ । बाढीपहिरोमा परी पनौती नगरपालिका क्षेत्रभित्रका २० जना व्यक्तिको निधन भएको, धेरै व्यक्तिहरू घाइते अवस्थामा रहेको, पाँच सय घर पहिरोमा परी पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

साथै सात सय १३ घर आंशिकरूपमा क्षतिग्रस्त रहेका, पहिरोमा परी दुई हजारभन्दा बढी सङ्ख्यामा पशुधनको क्षति भएको, अधिकांश सडक बाढीले बगाएको तथा पहिरोमा पुरिएको अवस्थामा रहेको अवस्था छ । 

वैकल्पिक मार्ग दिक्तेल–काठमाडौँ बस सेवा

खोटाङ, १६ असोजः खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।

दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा असोज–१६ गतेदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन हुने भएको हो । 

क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । 

“केही दिनअघिको भीषण वर्षाका कारण बाढी तथा पहिरो जाँदा मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ । दसैँअघि दिक्तेल–घुर्मी–खुर्कोट सडक पुनःसञ्चालनमा आउने सम्भावना छैन”, उहाँले भन्नुभयो, “सडक अवरुद्धका कारण दसैँ तथा तिहार मान्न घर फर्कने हजारौँ यात्रु काठमाडौँमा रोकिएका छन् । उनीहरुको सुविधाका लागि वैकल्पिक मार्गमा काठमाडौँसम्म बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो ।”  

दिक्तेलबाट काठमाडौँ तथा काठमाडौँदेखि दिक्तेलसम्मको एकतर्फी भाडाप्रति व्यक्ति रु दुई हजार पाँच सय तोकिएको खोटाङ यातायात प्रालिले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँ पुग्नका लागि दिक्तेल–घुर्मी–खुर्कोट–काठमाडौँभन्दा दोब्बर लामो हुने जनाइएको छ । 

लामो दूरी भए पनि चाड मान्न घर फर्कने यात्रुहरुको बाध्यतालाई मध्यनजर गरेर खोटाङ यातायात प्रालिले दिक्तेल–घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने भएपछि राहत मिल्ने अनुमान गरिएको छ । 

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत खोटाङबाट पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक भने, दसैँ, तिहार तथा छठ पर्वअघि सञ्चालन नहुने निश्चित भएको छ । यही असोज–१२ गते शनिबार दिउँसो आएको बाढीले सुनकोसीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि दिक्तेल–गाईघाट सडकखण्ड भएर पूर्वी तराई जोड्ने यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो । 

बाढी तथा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–जयरामघाट सडकखण्डको अवरोध भने हटाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र महादेवस्थान बर्खेटारको पहिरो हटाइएपछि सोमबार साँझदेखि दिक्तेल–कटारी–बिराटनगर यातायात सञ्चालनमा आएको हो ।

पहिरो पन्छाइएसँगै दिक्तेल–घुर्मी–कटारी हुँदै विराटनगरसम्मको बस मङ्गलबारदेखि नियमित रुपमा सञ्चालन गरिएको खोटाङ यातायात प्रालिका महासचिव हिङ्माङले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको अवरोध हटाउनेबारे अध्ययन गर्न प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोली चखेवा पुगेको छ । 

बाढी तथा पहिरोले अवरुद्ध जिल्लास्थित ग्रामीण सडक पनि खुलिसकेका छैनन् । अवरुद्ध सडक दसैँ, तिहार तथा छठ पर्वअघि नै पुनः सञ्चालनमा ल्याउनेगरी सम्बन्धित स्थानीय तहले काम गरिरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ ।  

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

कास्की, १६ असोजः गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गर्नुभएको हो ।

मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ र गुणस्तीय सेवा प्रवाहका लागि आवधिक योजना बनाएर आफूले काम सुरुआत गरेको बताउनुभयो । “स्वास्थ्य क्षेत्रको आधारभूत तहदेखि सुधारका कामलाई तीव्रता दिन्छौँ, मन्त्रालयको सिङ्गो टिम कार्ययोजना कार्यान्वयनका लागि प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशको स्वास्थ्य नीति, बजेट, प्रदेशको सम्भावना, अन्तर्राष्ट्रिय मान्यता आदिको गहन अध्ययन गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरिएको छ ।”

योजना कार्यान्वयनका लागि स्रोतको प्रबन्ध गर्न सङ्घ सरकार, विकास साझेदारलगायतसँग सहकार्य गरिने मन्त्री पाठकले बताउनुभयो । कार्ययोजनामा कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् । 

अल्पकालीन योजनातर्फ चिकित्सक एवं स्वास्थ्यकर्मी प्रोत्साहनसम्बन्धी कार्यविधि र  प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन कार्यविधि तयार गरिने मन्त्री पाठकले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरिने उहाँको भनाइ छ । निजी स्वास्थ्य संस्था दर्ता, नवीकरण र अनुगमनसम्बन्धी कार्यविधि संशोधन गरिने कार्ययोजनामा उल्लेख छ । 

प्रदेशभित्र औषधिको गुणस्तर जाँचको प्रबन्ध मिलाइने मन्त्री पाठकलले बताउनुभयो । पूर्ण संस्थागत सुत्केरी अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र पाठेघर खस्ने समस्या तथा फिस्टुला रोगको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो । 

गण्डकी र धवलागिरि आयुर्वेद औषधालयमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी अन्तरङ्ग सेवा व्यवस्थित गरिने भएको छ । मन्त्री पाठकले सर्ने रोग क्षयरोग, कुष्ठरोग र नसर्ने रोगको मधुमेह, उच्च रक्तचापलगायतका समुदायस्तरमा ‘स्क्रिनिङ’ गरिने मन्त्री पाठकले बताउनुभयो । प्रदेश सरकार मातहतका अस्पतालमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उहाँले बताउनुभयो । 

मध्यकालीन योजनाअन्तर्गत कानुनी सुधारतर्फ अस्पताल व्यवस्थापन समिति गठन आदेशको संशोधन एवं पुनःलेखन गरिने छ । सेवा करारमा स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन कार्यविधि संशोधन गरिनेछ । 

भौतिक पूर्वाधारतर्फ लमजुङ, स्याङ्जा र दमौली अस्पतालको नयाँ भवन निर्माण सुरु गरिने कार्ययोजनामा जनाइएको छ । गण्डकी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिने उल्लेख छ । 

धवलागिरि अस्पताल, मातृशिशु मितेरी र लमजुङ अस्पतालमा मातृशिशु प्रतिक्षा गृह सञ्चालन गरिने जनाइएको छ । धवलागिरि अस्पताल, दमौली, मध्यविन्दु र स्याङ्जा अस्पतालमा ट्रमा केयर सेन्टरको स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाइने मन्त्री पाठकले बताउनुभयो । 

दीर्घकालीन योजनामा स्वास्थ्य क्षेत्रको विशेषता र संवदेनशीलतालाई ध्यान दिई सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्न पहल गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको कुल बजेटमा १० प्रतिशत हुने गरी व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने लक्ष्य लिइएको छ । अस्पतालमा आवासगृह व्यवस्थापन, प्रदेशमा क्यान्सर, मुट र मृगौला रोगको विशिष्टीकृत अस्पतालको स्थापना गरिने उल्लेख छ । 

बिरामीको आकस्मिक उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्थापन गरिने मन्त्री पाठकले बताउनुभयो । निजी क्षेत्रले लगानी गर्न सक्ने जनस्वास्थ्यका क्षेत्र तथा परियोजना पहिचान गरी स्वास्थ्य क्षेत्र लगानी खाका तयार गरी लागू गरिने उहाँले बताउनुभयो । 

त्यस अवसरमा मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले सीमित स्रोतसाधनका बावजुत मन्त्रालय मातहतका निकायले उत्कृष्ट सेवा प्रवाह गरिरहेको दाबी गर्नुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले सङ्घ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपल प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिने बताउनुभयो ।

तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै

महोत्तरी, १६ असोजः आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ ।

मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ । यसअनुसार आज महोत्तरी जिल्लाका धार्मिक महत्वका नदी, सरोवर र कुण्डहरुमा एकाबिहानै तर्पण दिनेहरु भरिभराउ छन् ।

पितृपक्ष सम्पन्न गर्न आज महोत्तरीका रातु, माण्डवीगङ्गा (मरहा) र बाँकेलगायतका नदी तट र धार्मिक महत्वका सरोवरहरुमा तर्पण गर्न पुगेका छन् । जलेश्वरका वरुण, पुरन्दर र भार्गव सरोवरमा तर्पण र महालय (पार्वण, पितृपक्षमा गरिने विशेष विधिको श्राद्ध) श्राद्ध गर्नेहरुलाई सङ्कल्प गराउन पुरोहितहरुलाई भ्याइनभ्याइ छ ।

यसैगरी धमौरास्थित ध्रुवकुण्ड , मटिहानीस्थित लक्ष्मीसागर, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथधाम र बर्दिबास–५ स्थित टुटेश्वरधाममा तर्पण दिने र श्राद्ध गर्ने पुगेका छन् ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई मैथिल बोलिचालीमा ‘सोलहसराद’ र ‘पितरपक्ष’ पनि भन्ने गरिन्छ ।

औँसीका दिन यसअघि रोकिएका श्राद्ध पनि गर्नसकिने हिन्दू मैथिल परम्पराको कर्मकाण्डीय विधान रहेको बर्दिबास–२ का बासिन्दा पुरोहित ब्राह्मण महेशकुमार झा बताउनुहुन्छ ।

दसैंैं, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि अघि नान्दीमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होसभन्ने गरिने कामनाजस्तै दसैंं, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्डका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । पितृपक्षमा श्राद्ध गर्न नसक्नेले कात्तिक १ कार्तिककृष्ण औँसीमा श्राद्ध गर्नसक्ने धर्मसिन्धुलगायत ग्रन्थमा उल्लेख छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने चलन छ ।
पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भन्ने हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख छ । सोह्रश्राद्धमा श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, देह त्याग गरेको तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथिमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित छन् ।
पितृपक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता पनि छ ।

आज काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दसैँ सुरु हुँदैछ ।

स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले

रसुवा, १५ असोजः पछिल्लो समयको भारी वर्षाका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ । आइतबार र सोमबारको प्रयासबाट दर्जनौँ हलुका सवारीसाधन र मालबाहक कन्टेनर मङ्गलबार दिउँसो १ बजेदेखि गन्तव्यतर्फ प्रस्थान गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किमी दुरीमा दर्जनौँ स्थानमा गएको पहिरोसुरक्षा निकायको सहयोगमा सडक विभागको डोजरले हटाएको थियो । क्षतिग्रस्त राजमार्ग मर्मत सुधार गरि छिटोभन्दा छिटो सवारीसाधन सञ्चालन गराइएको विभागको भनाइ छ । वर्षासँगै जिल्लाका विभिन्न स्थानमा अनगिन्ती पहिरा गए पनि कुन ैपनि मानवीय क्षति नभएको प्रजिअ खनालले जानकारी दिनुभयो ।

सामान लिनका लागि तिब्बतको केरूङतर्फ जान लागेका ४० वटा कन्टेनर डिब्बा राजमार्गमा पहिरो खसेका कारण स्याफ्रुबेँसीको आसपास नै रोकिएका थिए भने मालसामग्री बोकी केरूङबाट नेपाल भित्रिएका दुईसय कन्टेनर रसुवागढी भन्सार हातामा रोकिएका थिए । अहिले भने सबै सवारीसाधन क्रमिक रूपमा ओहोरदोहोर भइराखेका छन् । 

रसुवागढीमा रोकिएका कन्टेनरहरूमा दसैँ लक्षित लत्ताकपडा, जुत्ता, चप्पल, रोलकपडा, थर्मस, इलेक्ट्रोनिक्सका सामग्रीका साथै स्याउ, लसुन तथा अदुवा समेत रहेका थिए।रसुवागढी नाकाबाट दसैँका लागि ४६ डिब्बा तयारी पोशाक, ११ ट्रक स्याउ, दुई ट्रक हलुवावेद र दुई ट्रक अनार समेत मितेरी पुलबाट नेपाल भित्रिसकेको शसस्त्र प्रहरी बल २० नं गुल्मले जनाएको छ ।

पानी पर्नासाथ जुनसुकै बेला अवरूद्ध हुने अवस्थामा रहेकोस्याफ्रुबेँसी–रसुवागढी मार्गको लिङलिङ इलाकामा भने छेउतर्फ भोटेकोसीले कटान गरेको र कुनातर्फ चिप्लो पहरा निस्केका कारण सो स्थान मजबुत बनाउन केही समय लाग्नेछ ।  वर्षा थपिए पुनः बिग्रन सक्ने र वर्षा रोकिए निर्वाद रूपले सवारी सञ्चालनहुने विभागले जनाएको भनाइ छ । राजमार्गको दायाँबायाँ अधिकाँश स्थान भिरपाखो भएका कारण सुरक्षाको स्थितिलाई मध्यनजरराखी रातको समयमा सवारीसाधन नचलाउन प्रहरी प्रशासनले अनुरोध गरेको छ ।   

छिटो राजमार्ग खुलाउने सरकारको निर्देशनलाई सिरोपर गर्दै ज्यानको पर्वाह नगरी सोमबार दिनभर प्रजिअ खनाल र जिल्ला प्रहरी प्रमुख केशव भट्टराई डोजरसँगै हिँडेका कारण पहिरो पन्छाउने कार्यमा द्रुतता आएको थियो । 

टेलिफोन, विद्युत् र इन्टरनेट सेवा सञ्चालन नहुँदा दुई दिनसम्म रसुवागढी भन्सारको जाँचपास कार्य प्रभावित भएको थियो । 

केरुङतर्फ तिब्बती भागमा सडकमा क्षति

भारी वषाँसँगै आएको पहिराले रसुवागढीस्थित मितेरी पुलदेखि तिब्बतको केरूङ खण्डको चिनियाँ राजमार्ग भने बन्द भएको सीमा सुरक्षाकर्मीले बताएका छन् । चिनियाँ भागको ठोङ्सा नजिकको पहिराले सडकमा ठूलो क्षति भएको छ, तर चिनियाँ पक्षले मर्मतको कार्य अगाडि नबढाएको स्थानीय प्रशासनको भनाइ छ । त्यही कारण केरुङ जाने प्रतिक्षामा रहेका ट्रकहरु रसुवागढीमै रोकिएका छन् । 

विसं २०७२ मङ्सिर १५ गतेदेखि मालसामग्री आयात निर्यात सुरू भएको रसुवागढी नाकाबाट आयात भने अत्यधिक भइरहेको र निर्यात भने न्यून रूपमा भएको रसुवा भन्सारका कर्मचारीले बताएका छन् ।

उता, कैलाश मानसरोवर तीर्थयात्रा गरेर फर्किएका यात्रुहरु अहिले केरुङमा अलपत्र पर्न थालेका छन् । पछिल्लो समय हुम्लाको हिल्साबाट भन्दा रसुवागढी नाकाबाट यात्रा सहज हुने भएकाले कैलाश मानसरोवर जाने तीर्थयात्रु केरूङको मार्ग रोज्न थालेका छन् । कैलाश मानसरोवर जान चाहने यात्रुहरु राजधानी काठमाडौँदेखि रसुवाको टिमुरेसम्म आधाजसो मोटर र आधाजसो हेलिकप्टरमा पुग्ने गरेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

तिब्बत तर्फको केरूङ–रसुवागढी सडकखण्डमा ठाउँठाउँमा निकै ठूला पहिरा गएका कारण यातायात अवरुद्ध छ । कैलाश मानसरोवरको दर्शन गरेर फर्कने नेपाली र अन्य देशका नागरिकलाई नेपालतर्फ ल्याउन ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल मार्फत पहल भइरहेको प्रजिअ खनालले बताउनुभयो । चिनियाँ भागको क्षतिग्रस्त सडक पुनः निर्माणका लागि लामो समय लाग्ने केरूङबाट समकक्षीले जानकारी पठाएको प्रजिअ खनालको भनाइ छ । चिनियाँ अधिकारीले छिटो सडक नबन्ने बताएपछि रसुवागढी–केरूङ–रसुवागढीओहोरदोहोर हाललाई अनिश्चित भएको छ ।

अध्यागमनको तथ्याङ्क अनुसार चालू आवमा कम्तीमा सात हजार सात सय ४३ यात्रु कैलाश मानसरोवर गएका छन् ।

जिल्लाभित्रका सडक, विद्युत आयोजनामा क्षति

पछिल्लो मनसुनी वर्षाका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना, २० मेगावाट क्षमताको लाङ्टाङ खोला जलविद्युत आयोजनाका केही उपकरण र ती आयोजनाका मजदुर निवासमा क्षति पुगेको छ । 

नेपाल विद्युत् प्राधिकरणद्वारा निर्मित राष्ट्रिय प्रसारण लाइनको पहिरेबेँसीस्थित चार्जिङ सेन्टरको एक वटा फलामे खम्बामा क्षति पुग्नुका साथै चीन सरकारको सहयोगअन्तर्गत सुक्खा बन्दरगाह सँगै निर्माण भइरहेको भन्सार कार्यालयको भवन माथिबाट पहिरो आई भविश्यलाई जोखिम तुल्याएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बेत्रावती, मैलुङ, स्याफ्रुको याङयाङ तथा छोकल क्षेत्रका राजमार्ग समेत थुप्रै स्थानमा क्षति भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम सडक सुधार आयोजना मार्फत् भइरहेको छ । 

टिमुरे क्षेत्रमा गएको पहिरो सँगै आएको लेदोले एकवटा टहरो घर पुरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएकोछ । 

यस्तै रसुवाका अधिकाँश ग्रामीण सडक तहसनहस भएका छन् । नौकुण्डको सरमथली इलाकामा स्थानीयको पहलमा सुधारका काम अगाडि बढेको छ । डाडागाउँ, बृद्धिम, पुरानो तातोपानी, केराबारी, गतलाङ, हाकु, ब्रावल, थुमन समेतका क्षेत्रको सडक क्षति भएको र बडादसैँमा खाद्य सामग्री ढुवानी गरी चाडपर्वमा सहज रूपले ओहोरदोहोर गर्न गर्ने वातावरणका लागि समयमै ग्रामीण सडक मर्मत गरिदिन स्थानीय सरकारलाई अनुरोध गरिएको रसुवा नागरिक समाजले जनाएको छ ।

मेलम्चीका स्थानीय आपूर्तिकर्तालाई रकम दिलाउन पहल गर्ने मन्त्री यादवको प्रतिबद्धता

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी ९सिएमसी०लाई सामग्री आपूर्ति गर्ने स्थानीय आपूर्तिकर्ताले पाउनुपर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन पहल गर्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा स्थानीय आपूर्तिकर्ता तथा बाहुनपाटी स्थानीयसँगको छलफलका क्रममा मन्त्री यादवले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “सिएमसीले काम छोडेर गएपछि ठेक्का पनि तोडिएको छ, तपाईहरुले पाउनुपर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन म सहित सिङ्गो मन्त्रालय पहल गर्ने छ ।” यसैगरी मन्त्री यादवले मेलम्चीको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी ९सिएमसी० ले भाडा नदिएका कारण मेलम्ची क्षेत्रका जनताहरुलाई दुःख भएको विषयमा आफु निकै चिन्तित बनेको बताउनुभयो ।

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले सिएमसीले स्थानीय आपूर्तिकर्तालाई करिब चार वर्षको घरजग्गा भाडा र  आपूर्ति गरिएको सामग्रीको रकम दिन समेत बाँकी देखिएको बताउनुभयो । 

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौँ, १५ असोजः बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्ता बनायो । हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’ ।

सिन्धुपाल्चोकका निमा लामा पहिलो पटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गर्नुभएको थियो । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदा  गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले दिएको दुःख भूल्दै फेरि निर्माणमा जुटनुभएका लामालाई यस वर्षपनि गत वर्षकै पीडा दोहोरियो । गत वर्षको बाढीले आयोजनाको पाइप र अन्य निर्माण सामग्री बगाएको थियो । त्यो बेला झण्डै रु ४० करोड बराबरको क्षति भएको थियो । निर्माण व्यवसायीले बीमा नगर्दा क्षतिपूर्ति पाउन समेत समस्या भयो । 

उपकरणको भन्दा पनि मानव जीवनको क्षति ठूलो भयो । बेपत्ता भएका बर्दियाका कामदारको अवस्था हालसम्म पत्ता लागेको छैन । निर्माणमा संलग्न मजदुर छोराछोरी जस्तै प्रिय थिए । आफ्ना प्रिय मान्छेहरुलाई खोलाले निलेपछि निमाको आँखा धेरैदिन ओभानो भएन । “म धेरै दिनसम्म रोएँ । मलाई असाध्यै नरमाइलो लागिरह्यो । मेरो आयोजनामा काम गर्न आएका मजदुरको शव समेत हालसम्म फेला परेको छैन । फेरि त्यस्तै कहर यसपटक पनि आयोजनाले खेप्नु परेको छ”, उहाँले भन्नुभयो । 

बीमालगायत प्रत्येक मजदुरका परिवारलाई रु आठ लाख बराबरको राहत उपलब्ध गराइए पनि मानव जीवनको क्षतिपूर्ती कसरी हुँदो हो र ? निमा भन्नुहुन्छ, “आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन हण्डर ठक्कर व्योहोरेर पुनः आयोजना सुरु गर्दा नगर्दै समस्या दोहोरियो ।” 
गत वर्ष जनधन दुवैको क्षति भएको भएपनि यस वर्ष मानव क्षति भने भएन । यसैमा खुसी छन् निमा । चैनपुर सिद्धपोखरीदेखि आयोजनास्थल मुच्छेबुङसम्म पुग्ने पहुँचमार्गको छ किलोमिटर खण्डको दर्जनौ स्थानमा पहिरो गएको छ । नियमित काम हुन पाएको भए आगामी कात्तिक मसान्तसम्म आयोजनाबाट बिजुली उत्पादन हुने थियो । तर यसपटक पनि प्राकृतिक विपत्तिका सामू उहाँको केही लागेन । हेवामा गत वर्षको जस्तै बाढी आयो । क्षति पुर्‍यायो । बिजुली बाल्ने सपना पर धकेलियो । 

निमाले रासससँगको कुराकानीमा भन्नुभयो, “प्राकृतिक विपत्तिले दिनुसम्मको दुःख दियो ।” कुल छ मेगावाट क्षमताको सो आयोजना आकर्षकमध्येको एक हो । जलविद्युत् क्षेत्रमा लगानी गर्ने मनसाय राखेर ठूलो दुःखका साथ लागिपरेको भएपनि प्रकृतिसँग केही नलागेपछि उहाँ दुःखी देखिनुहुन्छ । 

सरकारी निकायले समन्वय नगर्दा भन्सारमा सामान रोकिने, निर्माणको काम गतिका हुन नसक्दा दिनप्रतिदिन लागत बढेको उहाँ सुनाउनुहुन्छ । बाढीका कारण सिभिल काम, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, बाँध, विद्युत् गृह, टेलरेसलगायतका संरचनामा क्षति पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार विद्युत् जोड्ने समय २०८० असार ३१ गते थियो । बाढीले ती सबै लक्ष्यमाथि तुषारापात गरिदिएको उहाँको भनाइ छ । अब त सरेर आगामी माघसम्म पुग्ने होला भन्ने चिन्तामा हुनुहुन्छ उहाँ । 

गत वर्षको बाढी र यस वर्षको बाढीले धेरै जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । गत वर्ष मात्रै निर्माणमा रहेका १८ वटा परियोजनामा क्षति पुगेको थियो ।  त्यसबाट मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण नदीहरुमा आएको बाढीका कारण ३६ आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ । यसपटकको बाढीले रु दुई अर्ब ५० करोड बराबरको क्षति पुर्‍याएको छ । क्षतिको विवरण सङ्कलन काम भइरहेकाले केही बढ्न सक्ने देखिन्छ । गत वर्षको बाढीले रु १० अर्ब बराबरको क्षति भएको इप्पानले दाबी गरेको  थियो । गत वर्ष पूर्वी नेपालमा मात्रै क्षति भएको भएपनि यस वर्ष धेरैतिर भएको अनुमान छ । 

इप्पानका अनुसार यस वर्षको बाढीबाट ३६ वटा आयोजना प्रभावित भएका छन् । त्यसमा सबैभन्दा बढी क्षति बाग्मती साना जलविद्युत् आयोजनाको भएको छ । सो आयोजनाको रु एक अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सो आयोजना २२ मेगावाट क्षमताको हो । यस वर्ष बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

पाँचथर पावरद्वारा प्रवर्द्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ । इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत् आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।

कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ को क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला ‘सी’ जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ ।

बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुई वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज र  खन्ने क्रममा रहेको पावर हाउस पुरिएको छ । 

तामाकोशीको क्षति ठूलो
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको क्षति यकिन हुन बाँकी छ । हाल प्राविधिकहरु आयोजना स्थल पुगेर मूल्याङ्कन गरिरहेको जनाइएको छ । बाँधस्थलमा अवस्थित ‘कन्ट्रोल रुम’मा पूर्ण रुपमा क्षति भएको छ । ‘सेटलिङ बेसिन’, ‘बक्स बेसिन’, ‘बक्स कल्भर्ट’मा बालुवा र ग्रेगान थुप्रिएको छ । बाढीका कारण दुई सुरक्षाकर्मी र दुई कर्मचारीलाई तामाकोशी नदीले बगाएको थियो ।

कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा बिजुली व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको छ । सो आयोजनाको बिजुली आन्तरिक रुपमा खपत गरेर अन्य आयोजनाको बिजुली भारत निकासी हुँदै आएको थियो । क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो समयसम्म आयोजना बन्द हुने अवस्था आए हिउँदमा बिजुली व्यवस्थापन गर्न गाह्रो हुने बताउनुभयो ।

इप्पानका अनुसार, गत वर्षको बाढीले सुपर हेवा खोला (६ मेवा) पिलुवा खोला (४मेवा), सवा खोला ‘बी’ (२१.५ मेवा), सवा खोला ‘सी’ (६.३ मेवा), इन्ग्वा खोला (९.७ मेवा), सुपर काबेली ‘ए’ (१३.५ मेवा), सुपर काबेली खोला क्यासकेड (१२ मेवा), काबेली (२१.९३ मेवा), काबेली ‘ए’ (३७.६ मेवा), हेवा खोला ‘ए’ (७.५ मेवा), इसुवा खोला (९७.५ मेवा), इसुवा क्यासमेड (४० मेवा), तल्लो इर्खुवा (१४.१ मेवा), माथिल्लो इर्खवा (१४.५ मेवा), सवा खोला ‘ए’ (१०.४ मेवा), माया खोला (१४.९ मेवा)मा समस्या पारेको थियो । ती सबै आयोजना निर्माधिन अवस्थामा थिए । 

बाढीका कारणले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा रहेका २३ वटा जलविद्युत् आयोजना प्रभावित भएका थिए । उक्त वर्ष हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला तथा नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । 

निजी क्षेत्रका ऊर्जा उत्पादकले निर्माण अवधिको ब्याज छुटदेखि पुनःनिर्माणमा प्रयोग हुने स्पेयर्स पार्टसको भन्सार दर एक प्रतिशत नै कायम गर्न माग गरेको भएपनि हालसम्म पूरा नभएको जनाइएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले भन्सार महसुल वृद्धि हुँदा मर्मतको उपकरण ल्याउन समस्या भएको गुनासो गर्नुभयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यही असोज १३ गते आयोजित पत्रकार सम्मेलनमा उपस्थित कार्कीले ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयमा फाइल पठाउने काम मात्रै भएको र गत वर्षको बाढीका कारण समस्यामा परेका आयोजनाको हालसम्म सम्बोधन हुन नसकेको बताउनुभएको थियो । गत वर्षको बाढीले ९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको सबै संरचना बगाएको थियो ।  अघिल्ला वर्षहरुको बाढीले क्षति पुर्‍याएर पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका आयोजना समेत प्रभावित भएका थिए ।

निजी क्षेत्रको माग
निजी क्षेत्रले आयोजनाको अनुमतिपत्रको म्याद थप, पुनरकर्जाको माग गर्दै आएका छन् । इप्पान अध्यक्ष कार्कीले यस वर्षपनि आफूहरुको माग पुरानै रहेको बताउनुभयो । जलविद्युत् आयोजनाका प्रवर्द्धकले बीमा गरेको भएपनि बीमाको दाबी भुक्तानीका लागि समस्या भइरहेको बताएका छन् ।

ऋण लगानी गर्दा कुनै एउटा संस्थाको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरण गरे जस्तै बीमामा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गत वर्षको जस्तो जलविद्युत् आयोजनामा मानवीय क्षति नभएपनि अन्य संरचनामा पुगेको क्षतिले समग्र अर्थतन्त्रमा समस्या ल्याउन सक्ने देखिन्छ ।  

पूर्वानुमानका कारण क्षति कम
यस वर्ष जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानका आधारमा आवश्यक सतर्कता अपनाउँदा गत वर्षको तुलनामा मानवीय क्षति नभएको देखिन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकाका अनुसार घनघोर वर्षा र बाढीको पूर्वानुमान जलविद्युत् आयोजनालाई जानकारी गराउँदा गराउँदै पनि क्षति भएको छ । पूर्वानुमान नगराएको भए यसपटक पनि गत वर्षको जस्तै ठूलो जनधनको क्षति हुने उहाँको दाबी छ ।

जलविद्युत् आयोजनामा रातको समयमा नबस्न, यातायातका सवारी साधन नचलाउन सरकारको तर्फबाट निर्देशन दिइएको थियो । त्यसकारण पनि आयोजनमा अन्य क्षति भएपनि मानवीय क्षति रोक्न सकिएको हो । 

११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर
यसवर्षको बाढीले एक हजार एक सय मेगावाट बराबरको विद्युत् उत्पादनमा अवरोध उत्पन्न भएको छ । जलविद्युत् आयोजनाका प्रसारण लाइन तथा वितरण प्रणालीमा जटिलता पैदा भएको छ । उत्पादन रोकिएका आयोजनाको क्षमता छ सय ५० मेगावाट बराबर छ । आपतकालीन अवस्थामा अधिकांश विद्युत् गृह बन्द हुन जाँदा प्राधिकरणलाई माग धान्न समेत कठिनाई भएको थियो । बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति भएको ऊर्जामन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ ।

बाढीका कारण पूर्वी नेपालको माग धान्ने काबेली करिडोरका आयोजनामा  क्षति पुगेको छ । सो प्रसारण लाइनको तीन वटा टावरमा क्षति पुग्दा झण्डै दुई सय मेगावाट बराबरको बिजुली प्रणालीभन्दा बाहिर रहेको छ । 

यस्तै, तामाकोशी करिडोरको बिजुली काठमाडौँ ल्याउने खिम्ती लामोसाँघु प्रसारण लाइनको एउटा टावर तामाकोशी नदीले बगाएको छ । सो प्रसारण लाइनमा समस्या आउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीभन्दा बाहिर छ । खिम्ती ढल्केबर २२० केभी क्षमताको एउटा टावरमा समस्या भएको छ । यस्तै, अविरल वर्षाका कारण सडक भासिएपछि  बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको प्राधिकरणले जनाएको छ ।  

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ । 
एउटा आयोजना बन्द हुँदा त्यसको असर अन्यत्र पर्दैन, तर एउटा टावरमा समस्या आउँदा ठूलो प्रभाव पर्न जान्छ । धेरै जलविद्युत् आयोजनाको बिजुली प्रवाह हुन नसक्दा माग व्यवस्थापन गर्न समस्या हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

गत वर्ष र यसपटकको बाढीको प्रकृति फरक भएपनि जलविद्युत् आयोजनामा क्षति पुगेको छ । पुनःनिर्माण र मर्मत गर्ने उपकरणको आयात र भन्सार शुल्क र मूल्य अभिवृद्धि करलगायतका विषयमा निजी क्षेत्र र सरकारी निकायबीच मतैक्य हुन सकेको छैन । 

खासगरी पहुँचमार्गमा पुगेको क्षतिका कारण निर्माण सामग्री लैजान समस्या पर्ने भएको छ । सडक र पुलमा यस वर्षको बाढीको क्षति बढी छ । त्यसबाट पनि आयोजनाको मर्मत सम्भार र निर्माणमा रहेका आयोजनाको समय लम्बिन जान्छ । त्यसबाट प्राधिकरणसँग भएको सम्झौताअनुसार तोकिएको समयमा बिजुली उपलब्ध हुन सक्दैन । ऊर्जामन्त्री खड्का पुनःनिर्माण, पहुँचमार्ग निर्माण र बीमालगायतका विषयमा अर्थमन्त्रालयसग छलफल गरेर आवश्यक निर्णय गरिने बताउनुहुन्छ । 

मुलुकको ऊर्जा क्षेत्रले बाढीपहिरो र वर्षाका कारण पछिल्ला केही वर्षदेखि क्षति भाग्नु परेको छ । विसं २०७४ साउनमा आएको अविरल वर्षाले प्राधिकरणको एक दर्जनभन्दा बढी सवस्टेशन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो । यस्तै, २०७८ सालको असारमा आएको बाढी तथा पहिरोले डेढ दर्जन आयोजनामा क्षति पुगेको थियो । कास्कीमा निर्माणका क्रममा रहेको ४४ मेगावाट क्षमताको सुपर मादीमा झण्डै रु एक अर्ब बराबरको नोक्सानी भएको थियो । मोदी नदीको बाढीका कारण बाँधस्थल, विद्युत्गृह, कामदार आवास गृह, लोडर एक्साभेटर, पेनस्टक पाइप, ककर्सर प्लान्टलगायतका उपकरण बगाएको थियो । 

त्यस वर्षको बाढीले सुपर दोर्दी, दोर्दी–१ मा समस्या पारेको थियो । रसुवागढीको टेलरेसबाट बाढी पसेको थियो । सोही बर्ष नै मेलम्चीमा आएको बाढीले तवाह नै मच्चाएको थियो । 

बीमा कम्पनीले जलविद्युत् आयोजनाको बीमा गरेको भएपनि भुक्तानी पाउन समस्या पर्दै आएको छ । गत वर्षको मात्रै दाबी भुक्तानी रु सात अर्ब बराबर छ । यस वर्षको समेत दायित्व थप भएको छ । भुक्तानी नहुँदा मर्मत सामग्री र उपकरण ल्याउन समस्या पर्दै आएको छ । आयोजना प्रवर्द्धकले हरेक वर्ष कूल लागतको दुई प्रतिशत रकम प्रिमियम वापत तिर्दै आएको आएको भएपनि दाबी भुक्तानीका लागि बीमा कम्पनीले अटेर गर्दै आएको गुनासो गर्दै आएका छन् । 

मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रमा बाढी तथा पहिरोले पुर्‍याएको समस्या समाधानका लागि आयोजनाको अध्ययन, डिजाइन र निर्माण पूर्व नै पूर्वानुमान गर्ने प्रणाली र कार्यशैलीमा सुधार गर्नु जरुरी रहेको  विज्ञहरु बताउँछन् । ठूलो लगानीका आयोजना अगाडि बढाउँदा वैज्ञानिक तथ्य र पूर्वानुमानलाई तथ्यमा आधारित हुनुपर्छ । जोखिम व्यवस्थापनको पूर्वतयारी पनि उत्तिकै महत्वपूर्ण हुने उहाँहरुको भनाइ छ । 

जलवायु र वातावरणका जानकार डा पपुलर जेन्टल विकास र वातावरणबीचको सन्तुलनको अभावमा समस्या पैदा भएको बताउनुहुन्छ । “हाम्रा भौतिक पूर्वाधार निर्माण नदी केन्द्रित भएको छ । एकापसमा सन्तुलनको अभाव छ । पूर्वानुमान र पूर्वतयारीको काम समेत प्रभावकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो । उहाँले विकास निर्माण र वातावरणबीच सन्तुलन कायम गरेर अगाडि बढ्दा मात्रै बाढीपहिराबाट जोगाउन सकिने बताउनुहुन्छ ।

बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

काठमाडौँ, १६ असोज : प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो ।

सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो । पशुचौपायाले अकालमा ज्यान गुमाए । बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो । नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, “विपत्ति बाजा बजाएर आउँदैन । तर यस पटकको अविरल वर्षापछिको बाढीपहिरो नेपालीका लागि बाजा बजाएर आएभन्दा पनि चर्को भयो । चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन । पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ । 

राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको कालीमाटी र बल्खु बजार अझै नियमित सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा नियमित सवारी नचल्दा भोक भोकै यात्रु पैदलयात्रा गर्न बाध्य छन् । जल तथा मौसम विज्ञान विभागले जानकारी दिँदा पनि कैयौँ नागरिकले अकालमा ज्यान गुमाएका छन् । 

काठमाडौँको बल्खु, नख्खु, बाग्मतीका किनार तथा भक्तपुरको हनुमन्तेलगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ । बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । 

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ । 

कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको कलिलै उमेरमा ज्यान गुमाउन बाध्य भए । पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए । बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ । हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै रु दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ । बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ । 

पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म दुई सय २४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन् ।  एक सय ५८ जना घाइते छन् । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ । कृषि क्षेत्रमा करिब रु छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ । कूल ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको रु तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ । 

भौतिक क्षतितर्फ खानेपानी संरचनामा रु तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा रु दुई अर्ब ५२ करोड, ऊर्जातर्फ रु चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ रु एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् ।  त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । त्यसमा सडकतर्फ रु एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ रु ८२ करोड र बेलीब्रिजतर्फ रु २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।  सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।

बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ । अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ । 

अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ । यस्तै लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ । ऊर्जा र जलस्रोततर्फ समग्रमा रु चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ । नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ । त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्याङ्कन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिनुभयो । 

यस्तै, खानेपानी आयोजनामा रु तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ । काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ । कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ । अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ ।

सरकारले खोज तथा उद्धारमा ३० हजार सात सय ३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ । बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ । विभिन्न स्थानमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ । 

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौँबाट बस छुटाइने

काठमाडौँ, १६ असोजः काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो ।

उक्त छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो । बैठकले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

बैठकपछि जारी विज्ञप्तिमा बाढीपहिरोबाट ज्यान गुमाउने यात्रु तथा यातायात मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस विपद्बाट ज्यान गुमाउने यातायात मजदुरको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । 

सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा गर्नै परे सावधानी एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

देशभरिका विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, यातायातको अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पु¥याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीमा अनुरोध गरिएको छ । 

वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने निर्णय पनि भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

यस्तै अत्यधिक वर्षाका कारणले ‘रेड जोन’मा परेका सडकखण्ड तथा सडकमा हेभी इक्युपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने तथा वर्षातको कारणले अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफूसँग भएका हेभी इक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धारमा सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि भएको छ । 

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौँ, १६ असोजः क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्‍यो ।

क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे खेलको पहिलो ओभरको पहिलो र पाँचौ बलमा चौका प्रहार गर्दै साहले राम्रो सुरुआत गरे । दोस्रो ओभरको पहिलो बलमा एक रन लिएर आशिफले साहलाई स्ट्राइक दिए । साहले दोस्रो ओभरको दोस्रो, चौथो र अन्तिम बलमा छक्का प्रहार गरे ।

नेपालले तेस्रो ओभरमा आशिफको एक चौकासहित छ रन बटुल्यो । चौथो ओभरमा एक चौथासहित नेपालको खातामा सात रन थपियो । पाँचौ ओभरमा आशिफले एक छक्का प्रहार गरे भने छैटौँ ओभरमा दुई चौकाको सहयोगमा १० रन बटुलेपछि नेपालले ‘पावरप्ले’मा नौ दशमलव ३३ रनरेटको औसतमा ५६ रन बनायो ।

पावरप्लेपछि नेपालको रनको गति सुस्त भयो । सातौ ओभरमा जम्मा चार रन आयो भने आठौ ओभरमा एक चौकाको सहयोगमा छ रन थपियो । नवौँ ओभरमा जम्मा चार रन थपिँदा नेपालले विना विकेट ७० रन बनायो ।

त्यसपछि नेपालले लय बिग्रियो । दसौँ ओभरको पहिलो बलमा हर्ष ठाकरले अनिल साहको विकेट लिए । त्यसपछि सोही ओभरमा नेपालले चार रन थप्यो । एघारौँ ओभरमा नेपालले दोस्रो विकेटका रुपमा आशिफलाई गुमायो । उनलाई साद विन जाफरले आउट गरे ।

नेपालको विकेट झर्ने क्रम १२औँ ओभरमा पनि जारी रह्यो । कप्तान रोहित पौडेल व्यक्तिगत चार रनमा हर्ष ठाकरको सिकार भए । लगातार तीन ओभरमा १० रन जोड्दा तीन विकेट गुमाएको नेपाल त्यसपछि दबाबमा पर्‍यो । तेह्रौँ ओभरमा जम्मा दुई रन आयो भने १४औँ ओभरमा नेपालले कुशल मल्लका रुपमा चौथो विकेट गुमायो । मल्लले व्यक्तिगत चार रन बनाउँदा प्रवीन कुमारले आउट गरे ।

नेपालले १५औँ ओभरमा चार रन र १६औँ ओभरमा छ रन मात्रै बटुल्न सक्यो । १७औँ ओभरको दोस्रो बलमा गुलसन झाले छक्का प्रहार गर्दै केही आशा जगाए । उक्त ओभरमा नेपालले नौ रन जोड्न सक्यो । तर १८औँ ओभरको तेस्रो बलमा नेपालले कुशल भुर्तेलका रुपमा पाँचौ विकेट गुमायो । सोही ओभरको अन्तिम बलमा गुलसनले व्यक्तिगत दोस्रो छक्का प्रहार गरे । नेपालले १९औँ ओभरमा एक चौकासहित १२ रन जोड्यो । अन्तिम ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरी व्यक्तिगत १३ रनमा आउट भए । त्यसपछि सोही ओभरको पाँचौ बलमा करण केसीको छक्काको सहयोगमा नेपालले उक्त ओभरमा ११ रन जोड्यो ।

पहिलो नौ ओभरमा सात दशमलव ४० को औसतले रन बनाएको नेपालले पारी सकिँदा छ दशमलव ९५ औसतमा १३९ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई मध्यमक्रममा समेट्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङ्गर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एक/एक विकेट झारे ।

एक सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि पहिलो दुई विकेट लिँदै ललित राजवंशीले केही आशा जगाए । राजवंशीले पाँच दशमलव एक ओभरमा पहिलो विकेटका रुपमा नवनित धालिवाललाई आउट गरे । धालिवालले १६ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन मात्रै बनाउन सके । क्यानडाले दोस्रो विकेट आठौँ ओभरको पाँचौ बलमा गुमायो । हर्ष ठाकरलाई व्यक्तिगत ११ रनमा रोक्दै पवेलियन फर्काए ।

त्यसपछि नेपालले १२औँ ओभरमा महत्वपूर्ण दुई वटा सफलता प्राप्त ग¥यो । उक्त ओभरको तेस्रो बलमा सोमपाल कामीले निकोलस किर्तनलाई व्यक्तिगत २६ रनमा आउट गरे । किर्तनले १४ बलमा दुई छक्का र एक चौका प्रहार गरे । सोही ओभरमा चौथो बलमा ओपनर दिलप्रित बाज्वा २५ रन बनाउँदै रन आउट भए ।

त्यसपछि क्यानडाको रनको गति सुस्त भयो । उसले १३औँ ओभरमा एक चौकासहित छ रन जोड्यो भने १४औँ ओभरमा जम्मा तीन रन मात्रै थप्यो । नेपालका लागि सन्दीप लामिछानेले १५औँ ओभरमा थप दुई सफलता दिलाए । उनले उक्त ओभरको पहिलो बलमा श्रेयस मोभालाई व्यक्तिगत आठ रन र सोही ओभरमा तेस्रो बलमा दिलोन हेलिङ्गरलाई खाता खोल्न नदिइ पवेलियन फर्काए ।

क्यानडालाई अन्तिम पाँच ओभरमा १० रनको औसतले ५० रन बनाउनुपर्ने थियो । सोह्रौँ ओभरमा क्यानडाले एक चौकासहित आठ रन र १७औँ ओभरमा एक चौकासहित नौ रन जोड्यो । त्यसैगरी १८औँ ओभरमा सोमपाल कामीले एक चौका र नो बलसहित १२ रन खर्चिए ।

उन्नाइसौँ ओभरमा बलिङका लागि आएका करण केसीले महत्वपूर्ण १८ रन दिए । केसीको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै साद विन जफरले खेललाई आफ्नो नियन्त्रणमा लिए । तेस्रो बलमा जफरले एक रन लिँदै स्ट्राइक रवीन्द्रपल सिंहलाई दिए । सिंहले सोही ओभरको चौथो बलमा छक्का प्रहार गर्दै क्यानडालाई जित नजिक पुर्‍याए ।

क्यानडालाई अन्तिम ओभरमा तीन रन आवश्यक भयो । अन्तिम ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन खर्चिए । त्यसपछि क्यानडाले वाइडमार्फत अतिरिक्त एक रन प्राप्त गर्दा स्काेर बराबरीमा पुग्यो । उक्त ओभरको तेस्रो बलमा जफरले विजयी रन प्रहार गरे ।

क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्‍यो । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई/दुई र सोमपाल कामीले एक विकेट लिए । अठार बलमा ३३ रन बनाउनुका साथै एक विकेट लिएका साद विन जफर प्लेयर अफ द म्याच घोषित भए । शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमानविरुद्ध खेल्नेछ ।

वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- आत्तिनु पर्दैन

काठमाडौँ, १६ असोजः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । “कोशी, बागमती र गण्डकी प्रदेशकै केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ”, उहाँले भन्नुभयो, “तर गत साता जस्तो लगातार झरी पर्दैन, कति सर्वसाधरणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन ।”

महाशाखाले आजसाँझ जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ ।

विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यस अवधिमा कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

साथै कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने माहाशाखाको अनुरोध छ ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २१ पैसा र बिक्रीदर १७ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५५ पैसा तोकेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।    वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार

काठमाडौँ, १५ असोज : नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका एक सय ९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा नौ सय ८९ जनाको सकुशल उद्धार गरेको छ ।

सेनाले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर, उदयपुर र झापालगायत जिल्लामा खोज तथा उद्धार गरेको जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यसअवधिमा करिब चार हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यसक्रममा ९६ वटा शव फेलापारी आवश्यक व्यवस्थापन गरेको छ । सेनाले हेलिकप्टरमार्फत सात सय ५१ जनाको उद्धार गरिएको तथा १४ वटा शव सम्बन्धित स्थानमा पुर्‍याइएको जानकारी दिएको छ ।

हवाई साधनमार्फत सेनाले सात हजार ५३ केजी राहत सामग्री र एक हजार चार सय ५० लिटर डिजेल ढुवानी गरेको पनि निर्देशनालयले जनाएको छ ।

बाढी, पहिरो प्रभावित विभिन्न स्थानमा स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी तथा केन्द्रीयस्तरबाट स्वास्थ्यकर्मी खटाइ प्राथमिक स्वास्थ्य उपचार प्रदान गरेकोे छ ।

कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति सरिक

काठमाडौँ, १५असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि उक्त देशका राजदूत तेयोङ पार्कले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुनुभयो ।

त्यस अवसरमा राजदूत तेयोङले हालैको बाढीपहिराबाट भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कोरिया सरकार र जनताका तर्फबाट हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्नुभयो ।

कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको चर्चा गर्दै राजदूत तेयोङले द्विदेशीय मैत्री एवं सहयोग विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालमा अधिकभन्दा अधिक लगानी भित्र्याउन आफू क्रियाशील रहेको बताउँदै सामसङ र हुन्डेजस्ता ठूला कम्पनीका उत्पादन नेपालमा प्रारम्भ भएसँगै नेपालीले स्वदेशमा नै रोजगारीका अवसर पाउन थालेका छन् भन्नुभयो ।

नेपालमा थप कोरियाली लगानी आकर्षित गर्न द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता अपरिहार्य भएको चर्चा गर्दै राजदूत तेयोङले नेपालसँग आफ्नो मुलुकले निर्माण साझेदारी, जलविद्युत् आयोजना निर्माण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, सडक, अस्पताल, व्यावसायिक भवन निर्माणलगायत भौतिक विकासका परियोजना कार्यान्वयन गरेको बताउनुभयो ।

रोजगार अनुमति प्रणालीअन्तर्गत सन् २००७ यता एक लाखभन्दा बढी नेपालीले कोरियामा रोजगारी पाएका तथा हाल कोरियामा ७० हजार नेपाली रहेका बताउँदै उनीहरूबाट जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको छ भन्नुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको लक्ष्यका साथै सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नत हुने र त्यसपछि यसको दिगोपना सुनिश्चित गर्न कोरियाले सक्दो सहयोग गर्ने राजदूत तेयोङले बताउनुभयो । समारोहमा कोरियाली संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग

काठमाडौँ, १५ असोज : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा रु दुई करोडको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा रु एक करोड ११ लाख ११ हजार एक सय ११ र युनिलिभर नेपाल लि द्वारा रु २० लाखको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पु¥याएको छ ।  प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आह्वान गरिरहनुभएको छ । उहाँले विपद् व्यवस्थापनमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थाप्रति आभारसमेत व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकोतर्फबाट राष्ट्रलाई परेको सङ्कटको समयमा सहयोग गरेर मानवीय दायित्व निर्वाह गर्नुहुने सबैलाई कृतज्ञता व्यक्त गर्दै विपद्को समयमा आमनागरिकलाई सुरक्षित रहन र सचेततापूर्वक सावधानी अपनाउन आह्वानसमेत गरिएको छ ।