`

संसदीय समितिका निर्देशनले दुविधामा उद्योग मन्त्रालय !

काठमाडौँ, १५ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुपारीको उत्पादन र निकासीका विषयमा संसदीय समितिहरूका फरकफरक निर्देशनले दुविधा थपेको बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा मन्त्री भण्डारीले राष्ट्रियसभा र प्रतिनिधिसभाअन्तर्गतका समितिहरूले दिएको निर्देशनको कार्यान्वयन गर्न भइरहेको असहजताप्रति समितिलाई जानकारी दिनुभयो ।  

“संसदीय समितिप्रति सरकार जवाफदेही छ । निर्देशन लागू गर्न तयार छौँ, तर फरकफरक समितिबाट मन्त्रालयलाई फरकफरक निर्देशन आउँछ, हामीले कसको निर्देशनलाई मान्ने ?”, मन्त्री भण्डारीले समिति सभापति कमला पन्तको ध्यानाकर्षण गराउनुभयो । 

समिति सभापति पन्तले समितिबीच अन्तर समन्वय र सहकार्य गरेर एकै विषयमा दिने निर्देशनप्रति सचेत हुने आश्वासन दिनुभयो । 

दुई वर्षअघि यस समितिले डिएनए परीक्षणबाट नेपालमा उत्पादित भएको भनी प्रमाणित सुपारीलाई मात्र निर्यातको अनुमति दिन निर्देशन दिएको थियो । परीक्षणमा भएको अलमलका कारण अहिले निर्यात रोकिएको छ । 

यता प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले यही वर्ष सुपारीलाई सहज निर्यात गर्न कायम रहेको समस्याको अविलम्ब निराकरण गरी सुपारीखेतीसँग सम्बन्धित सहकारी सङ्घको समन्वयमा निकासीको आवश्यक प्रबन्ध मिलाउन मन्त्रलाई निर्देशन दिएको थियो । उक्त समितिले अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गरी उत्पत्ति र गुणस्तरको प्रमाणीकरणको प्रक्रियालाई सहज बनाउन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

नेपालमा उत्पादित सुपारी निर्यातसम्बन्धी विषयमाथिको छलफलमा मन्त्री भण्डारीले अन्यत्रभन्दा नेपाली सुपारी महँगो हँुदा औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थका रूपमा सुपारी आयात खुला गर्ने निर्णय रहर नभएको धारणासमेत राख्नुभयो । 

सरकारले एक साताअघि राजपत्रमा सूचना प्रकाशित गर्दै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र मरिच पैठारी व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ का प्रक्रिया पूरा गरी आयात गर्न पाउने गरी आयात खुला गरेको थियो । उहाँले यसबारे थप स्पष्ट पार्दै उद्योगी र उत्पादन सङ्घबीच मूल्य समायोजन मिलाउन सुझावसमेत दिनुभयो  । 

मन्त्री भण्डारीले देशभित्रै उत्पादन हुने सुपारीको मूल्य समायोजन भए औद्योगिक प्रयोजनका लागि अनुमति दिन सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको सुपारी सडाएर बाहिरको आयात गर्न चाहेको हो र ! अन्यत्रबाट आयात गर्ने रहर हैन । उद्योगी र उत्पादन सङ्घबीच मूल्य समायोजन मिलाउनुहोस् त्यो खरिद गर्न हामी अनुमति दिन्छौँ ।”

बैठकमा समिति सदस्य उर्मिला अर्याल, जीतजङ्ग बस्नेत, डा अञ्जान शाक्य र भुवनबहादुर सुनारले सुपारी नगदेबाली बजार व्यवस्थापनका लागि जोड दिनुभयो । उहाँहरूले देशभित्रको माग र आपूर्ति सन्तुलनमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै कालो बजारी रोक्न सुझाव दिनुभयो । 

‘सुपारीको डिएनए परीक्षण गर्न सक्षम छौँ’

राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा भानुभक्त पोखरेलले नेपाल कृषि अनुसन्धान परिषद्ले सुपारीको ‘डिएनए’ परीक्षण गर्न सक्षम छ भन्नुभएको छ । 

बैठकमा विश्वासनीय रुपमा उत्पादनको प्रमाणपत्र जारी गर्नेका लागि वा डिएनए परीक्षण सम्भव भए नभए विषयमा सांसदहरूले चासो व्यक्त गर्नुभएको थियो । प्रमुख कृषि वैज्ञानिक डा पोखरेलले सुपारीको डिएनए परीक्षण देशभित्रै सम्भव भएको बताउनुभयो ।  

“सुपारीको डिएनए परीक्षण गर्न समस्या छैन । यसको जात, उत्पत्तिदेखिको इतिहास छुट्याउन सक्छौँ, त्यसमा शङ्का छैन”, उहाँले भन्नुभयो, “नेपालभित्र, नार्कबाटै परीक्षण सम्भव छ । हामीसँग डिएनए जीन बैंकदेखि विशेषज्ञहरू उपलब्ध हुनुहुन्छ, परीक्षण गर्नसक्ने हैसियतमा छौँ ।”

सो विषयमा मन्त्री भण्डारीले मन्त्रालयले परीक्षणमा सहजीकरण गर्न तयार भएको प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा मुख्यतः इलाम, झापा, मोरङ र सुनसरीलगायत १५ जिल्लामा सुपारीखेती गरिन्छ । सरकारसँग पछिल्लो समय यकीन तथ्याङ्क छैन । आर्थिक वर्ष २०६९/७० मा देशभित्र ११ लाख पाँच हजार ७६ मेट्रिकटन उत्पादन भएको सरकारी तथ्याङ्कले देखाउँछ ।  

नेपालमा मोहित्नगर, श्रीदुर्गा, कालिका र पूजा जातका सुपारी लगाइने चलन छ । सुपारीको खेतीबाट प्रतिहेक्टर प्रतिवर्ष रु सात लाखसम्म आम्दानी हुने र यसबाट ३० देखि ४० वर्षसम्म आम्दानी लिन सकिने उत्पादकहरू बताउँछन् । 

नेपालमा इन्डोनेशिया, थाइल्याण्ड र मलेसियाबाट सुपारी आयात हुने गर्छ । आयातमा भन्सार दर बढाउने र नियमन गर्ने गरिए पनि तुलनात्मक रुपमा निर्यात भने न्यून रहेको आपूर्ति मन्त्रालयले जनाएको छ । आव २०७०/७१ मा मात्रै रु छ अर्बको सुपारीको आयात गरिएको थियो । सोही आर्थिक वर्षमा रु चार अर्ब बराबरको सुपारी निर्यात भएको थियो । 

माओवादी केन्द्रद्वारा विपद्पछिको पुनःनिर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ

काठमाडौँ, १५ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालैको विपत्तिमा परेका नागरिकको सहयोग, पुनःस्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा एक कार्यक्रमका बीच अभियान शुभारम्भ गर्नुहुँदै विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन युद्धस्तरमा काम गर्न निर्देशन दिनुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका उहाँले सङ्कटका बेला पक्षविपक्ष नभनी पुनःस्थापनामा जुट्नुपर्ने बताउनुभयो । “विसं २०७२ को भूकम्पका बेला पनि मैले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको थिए । यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा बल्खुको जागरण टोलमा चार सय १७ घरका झण्डै चार हजारभन्दा बढी नागरिक प्रभावित भएको जानकारी दिइएको थियो ।

अध्यक्ष दाहाललगायत पार्टी नेताहरूले आजै भक्तपुरको हनुमन्तेखोला तथा आसपासका क्षेत्रमा भएको क्षतिको अवलोकन गर्नुभएको थियो । “हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसकारण सयौँ किसानले लगाएको करोडौँको तरकारीमा पनि क्षति पुगेको छ । अब यस विषयमा पनि सरकारले काम गर्नुपर्छ”, अवलोकनपछि उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालसँगै माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, नेताहरू हितमान शाक्य, दिलीप प्रजापतिलगायत पनि प्रभावित क्षेत्रको अवलोकनाका लागि पुग्नुभएको थियो ।

चाप अत्यधिक भएपछि नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

मलेखु (धादिङ), १५ असोजः गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।

निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिनुभयो ।काठमाडौँबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको बुझिएको छ ।

फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत

काठमाडौँ, १५ असोज : नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली यसभिस विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

खेलमा कर्णालीले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै खेलको दोस्रो र तेस्रो सेट भने गण्डकीले आफ्नो पक्षमा पार्‍यो । गण्डकीले खेलको दोस्रो सेट २५–२२ र २५–१७ ले आफ्नो पक्षमा पा¥यो । त्यसपछिको दुई सेटमा पुनरागमन गर्दै कर्णालीले प्रतियोगितामा जित हासिल गर्‍यो । 

कर्णाली खेलको चौथो सेट २५–१९ र पाँचौँ तथा अन्तिम निर्णायक सेट १५–१२ ले आफनो पक्षमा पार्दै जित हासिल गर्‍यो । 

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिस रहेका छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता रहेको छ ।    सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । फाइनल खेल यही असोज १९ गते हुनेछ । 

विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल

ललितपुर, १५ असोजः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आज ललितपुर महानगरपालिका–१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उहाँले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “ यस्तो दुःखको घडीमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले पनि सक्नेजति नेता कार्यकर्तामार्फत र बाँकी कामका लागि सरकारलाई आग्रह गरेर पीडितका समस्या समाधानको पहल गर्छ”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले बाढीपीडितका समस्या समाधान गरी पीडितले सहज रूपमा दसैँ मनाउने वातावरण बनाउन सरकारले द्रुतगतिमा पुनःस्थापनाका काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बाढीपीडितहरूले खानेपानी, विद्युत्लगायत अत्यावश्यक सेवा चाँडै आपूर्तिका लागि सहजीरण गरिदिन आग्रह गरेका थिए । स्थानीयले भनेका थिए, “बाढीले तहसनहसको अवस्था छ । त्यसैमा खोलाले बगाएर ल्याएका पशुको दुर्गन्धले झनै समस्या भएको छ । हालसम्म पनि कतिपय घरधुरीमा पानी र विद्युत् अवरुद्ध भएकाले सरकारले यसको व्यवस्थापन चाँडै गरिदिनुपर्‍यो ।”

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको रु ५० लाख

कर्णाली, १५ असोज : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट पीडित भएका नागरिकको राहत सहयोगका लागि रु ५० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

प्रवक्ता शाहका अनुसार बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी, आजको बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशसभाको चालु अधिवेशन आज असोज १५ गते राति १२ बजेदेखि अन्त्य गर्न कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शाहले बताउनुभयो ।

बाँदर, बदेल र दुम्सीले उठिबास भएको भन्दै नियन्त्रणका लागि ध्यानाकर्षण

काठमाडौँ, १५ असोज : सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालले आवश्यकताभन्दा धेरै वन्यजन्तुको विस्तारले उपभोक्ताको उठिबास भएको उल्लेख गर्र्दै यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी वन संरक्षणसँगै आवश्यकताभन्दा धेरै बाँदर, बँदेल, दुम्सीलगायत वन्यजन्तुले कृषि बालीमा क्षति पुर्‍याएपछि स्थानीय उपभोक्ताको उठिबास भएको जनाउँदै नियन्त्रणका लागि आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले बढी भएका वन्यजन्तुको व्यवस्थापन गर्नुपर्ने र कम सङ्ख्यामा भएका वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताउनुभयो । यसैगरी महासङ्घले सङ्घीय कानुनविपरीत तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा हुनेगरी प्रदेश सरकारले प्रदेशको आर्थिक कानुन बनाई सामुदायिक वन उपभोक्ता समूहमा लगाउँदै आएको गैरकानुनी कर हटाउन माग गरेको छ ।

अध्यक्ष भण्डारीले भन्नुभयो, “सामुदायिक वनका कार्ययोजना तर्जुमाका क्रममा स्थानीय तहसँग गरिने परामर्श, सामुदायिक वनको वन पैदावार सङ्कलनसम्बन्धी योजना कार्यान्वयन र सामुदायिक वनमा आधारित पर्यापर्यटनका कार्यमा स्थानीय तहबाट अवरोध सृजना नगरी सहयोग र सहकार्यका लागि आह्वान गर्दछौँ ।”

महासङ्घले वन नियमावली, २०७९ मा गरिएका विभिन्न व्यवस्थाप्रति असहमति जनाउँदै सामुदायिक वन अभियानलाई अवरोध गर्ने प्रावधान संशोधनको माग गरेको छ । उपभोक्ता समूहको साधारणसभाको सहमति विना सामुदायिक वनमा विकास आयोजनाका नाममा अतिक्रमण गरी भौतिक संरचाना बनाउने काम गरिएको भन्दै अध्यक्ष भण्डारीले उक्त काम रोक्न आग्रह गर्नुभयो ।

उहाँले दिगो वन व्यवस्थापनको मापदण्ड तत्काल स्वीकृत गरी लागू गर्न अनुरोध गर्दै आर्थिक वर्ष २०८१/८२ लाई कार्ययोजना परिमार्जन वर्ष घोषणा गरी सोहीअनुसार आर्थिक र प्राविधीक सहयोग उपलब्ध गराउन तिनै तहका सरकारलाई आह्वान गर्नुभयो ।

बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ?

गण्डकी, १५ असोज : मनसुनीयामको आखिरितिर भएको अधिक वर्षापछि निम्तिएको विपद्ले केही दिनयता मुलुक आक्रान्त छ । गृह मन्त्रालयका अनुसार बाढी, पहिरा र डुबानका घटनामा परी हालसम्म दुई सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, एक ५८ जना घाइते भएका छन् । भौतिक क्षतिको विवरण यकीन हुन सकिरहेको छैन । सडक, पुललगायत पूर्वाधार क्षेत्रमा रु २५ अर्बभन्दा बढीको नोक्सान पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

विपद्का कारण घरबास गुमेपछि कैयौँ परिवार विस्थापित हुन बाध्य भएका छन् । बाढी, पहिराले ठाउँठाउँमा क्षतिग्रस्त बनेका राजमार्ग पूर्ववत् अवस्थामा फर्कन अझ केही समय लाग्ने देखिएको छ । चाडबाडको मुखमा सर्वसाधारणको आवातजावत सहज बन्न सकिरहेको छैन । यसबीच सरकारले मङ्गलबारदेखि बिहीबारसम्म तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्कापछि मानवीय गतिविधि कति जिम्मेवार छन् त ? 

यो प्रश्नमा विज्ञहरूले पछिल्लो समय बाढीपहिराका घटना बढ्दै जानुमा प्राकृतिक मात्र नभई मानवीय कारण पनि दोषी रहेको औँल्याएका छन् । विपद् जोखिम न्यूनीकरण विज्ञ डा वसन्तराज अधिकारीले अव्यवस्थित विकास, प्रकृति दोहन आदि कारणले वातावरणीय सन्तुलन खल्बलिन गई विपद्जन्य घटना दोहोरीरहेको बताउनुभयो । उहाँले केही दिनअघिको वर्षाले ल्याउने सम्भावित विपद्बारे पूर्वसूचना र चेतावनी दिइए पनि राज्यका संयन्त्र र सर्वसाधारणले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताउनुभयो । 

“खोला छेउछाउ नबस्नु, रातिमा यात्रा नगनूु भनेर सरकारले नै सूचित त गरेको थियो, तर त्यसको संवेदनशीलतालाई हामीले कम बुझ्यौँ कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “खोला किनारमा बस्ती नबसाउन त विज्ञहरुले नै पटकपटक सुझाउँदै आएका छन्, सरकारले पनि मापदण्ड बनाएको छ, तर त्यो समस्या अहिले पनि ज्यूँकात्यूँ छ ।” त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशकसमेत रहनुभएका डा अधिकारीले काठमाडौँ उपत्यकामा बाढी र डुबानका घटना हुनुमा नदी अतिक्रमण पनि एउटा कारकका रुपमा रहेको बताउनुभयो ।

धेरै वर्षपछिको अधिक वर्षा र त्यहीँमाथि एकै ठाउँमा लगातार वर्षा हुँदा विपद्को जोखिम बढी हुने उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा मापन हुनुले चरम मौसमी घटना बढ्दै गएको देखाएको डा अधिकारीले उल्लेख गर्नुभयो । विविधतापूर्ण भौगोलिक अवस्थितिका कारण नेपालमा वर्षाले पु¥याउने क्षतिमा पनि भिन्नता देख्न सकिने उहाँको भनाइ छ । “नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ कास्कीको लुम्ले हो, अब त्यहाँको भू–बनोटले वर्षालाई झेलिसक्यो, तर उसैगरी तराई या पूर्वी पहाडी जिल्लामा वर्षा भयो भने त्यसले बढी क्षति पु¥याउँछ ।”

डा अधिकारीले विकास आयोजनाका इञ्जिनियरिङ डिजाइनलाई ‘प्याराडाइम सिफ्ट’ गर्ने बेला भएको बताउनुभयो । उहाँले पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनमैत्री ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । “पहिले बनाएका सडक, पुलले अब थेग्न छाडिसके, वर्षा हुँदा पुलमाथिबाटै खोला बग्ने स्थिति आयो”, उहाँले भन्नुभयो, “परिवर्तित अवस्थाअनुसार विकासका कामलाई अगाडि बढाउनुपर्छ ।” जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर नेपालको हिमालय क्षेत्रमा परेको र हिमताल विष्फोट, हिमपहिरो आदिले कुनै पनि बेला विपद् निम्तनसक्ने हुँदा तटीय क्षेत्रमा सजगता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालले विकास गतिविधिमा वातावरणीय पक्षको बेवास्ता गर्दा वर्षाका कारण क्षति बढी भएको बताउनुभयो । सडक निर्माण गर्दा भिरालो जमिनको संवेदनशीलतालाई खल्बलाएर जथाभावी डोजर चलाउँदा पहाडी भेगमा पहिराका घटना बढिरहेको उहाँले बताउनुभयो । “बाढीमा पानी मात्र नभई अत्यधिक लेदो बगेको हुँदा त्यसले तल्लो तटीय क्षेत्रमा शृङ्खलाबद्ध रुपमा असर बढाउँदै लगेको देखिन्छ”, अर्यालले भन्नुभयो, “खोला तथा नदीमा भइरहेको उत्खननका कारण पनि लेदोको बहाव बढ्ने र नदीको सतह खल्बलिँदा बाढी अनियन्त्रित हुने गरेको छ ।”

पहाडी पाखामा सडक बनाउने नाममा बिनाअध्ययन मनपरी ढङ्गले भू–सतह खोतल्दा पहाडै बग्नेगरी ठूला पहिरा गइरहेको उहाँको भनाइ छ । अर्यालले हालैको वर्षा र त्यसले निम्ताएको विपद्मा मानवीय कृयाकलाप पनि जिम्मेवार रहेको बताउनुभयो । दुई मौसमी प्रणालीको संयोजनबाट वर्षा भएको हुनाले यसलाई जलवायु परिवर्तनसँग जोडिहाल्न भने नमिल्ने उहाँले बताउनुभयो । “आरीघोप्टे वर्षा हुनु मुनसुनी प्रकृया नै हो, तर यसबाट सिर्जित विपद्जन्य घटनामा मानवीय कारण पनि जोडिएको छ”, उहाँले भन्नुभयो ।

अर्यालले जलवायु परिवर्तनका कारण वर्षाको चक्रमा फेरबदल भने देखिन थालेको बताउनुभयो । कम वर्षा र हिमपात हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रुपमा उच्च वर्षा हुँदा बाढी, पहिरोका घटना बढिरहेको उहाँको भनाइ छ । गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको घटना त्यसकै एक उदाहरण रहेको उहाँले बताउनुभयो । 

कमजोर भू–बनोट, वनस्पतिविहीन नाङ्गो र भिरालो जमिन भएकाले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढी, पहिरो तथा लेदो बग्ने समस्या निम्त्याउने अर्यालले बताउनुभयो । जलवायु परिवर्तन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको उहाँले बताउनुभयो । 

हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशीत घटना हुनसक्नेमा विज्ञहरुको चिन्ता छ । “विश्वको औसत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, अर्यालले भन्नुभयो, “विश्वको औसत तापमान १ दशमलव ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दशमलव ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने अनुमान रहेको अध्ययनले देखाएको छ ।”

‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदिप्त गिरीले बालुवा, गिटी उत्खननका नाममा नदीनालामाथि भइरहेको चरम दोहनले बाढी, पहिराका घटनामा सहयोगी भूमिका खेलेको बताउनुभयो । गाउँघरमा चलिरहेको डोजेरे विकास प्रवृत्ति पनि प्रकृति र पर्यावरणका लागि हानिकारक सावित भइसकेको उहाँको भनाइ छ । गिरीले नदीनालामाथि भइरहेको मानवीय अतिक्रमण नरोक्ने हो भने मानवजाति र प्रकृतिमाथि नै सङ्कट निम्तने खतरा रहेको बताउनुभयो । 

“नदीनाला धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएका छन्, यिनलाई जोगाऔँ”, गिरीले भन्नुभयो, “नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन गर्नसकेमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ ।

जम्मु–कश्मीर निर्वाचन : साँझ छ बजेसम्म ६५ दशमलव ४८ प्रतिशत

जम्मु र कश्मीरको केन्द्र शासित प्रदेशमा अन्तिम चरणको मतदानमा मङ्गलबार साँझ छ बजेसम्म ६५ दशमलव ४८ प्रतिशत मतदान भएको छ । भारतको निर्वाचन आयोगद्वारा साझा गरिएको तथ्याङ्कअनुसार उधमपुरले ७२ दशमलव ९१ प्रतिशतको उच्चतम मतदान प्रतिशत रेकर्ड गरेको छ । त्यसपछि साम्बा ७२ दशमलव ४१ प्रतिशत, कठुआ ७० दशमलव ४३ प्रतिशत, जम्मू ६६ दशमलव ७९ प्रतिशत, बान्दीपोरा ६३ दशमलव ३३ प्रतिशत र बारामुला ५५ दशमलव ७३ प्रतिशत रहेका छन् ।

भारतीय संविधानको धारा ३७० खारेज भएपछि जम्मू कश्मीरमा यो पहिलो निर्वाचन हो ।यहाँ ४० निर्वाचन क्षेत्रमध्ये २४ जम्मू डिभिजनमा र बाँकी कश्मीर उपत्यकामा छन् । अन्तिम चरणमा काङ्ग्रेसका पूर्व उपमुख्यमन्त्री तारा चन्द र मुजफ्फर हुसेन बेगसहित कम्तीमा चार सय १५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह (भाजपा), विपक्षी दलका नेता राहुल गान्धी र जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरू फारुक अब्दुल्ला, ओमर अब्दुल्ला र मेहबुबा मुफ्तीलगायत उच्च–प्रोफाइल नेताहरूले हप्तासम्म व्यापक प्रचार प्रसार गर्नुभएको थियो ।

गत सेप्टेम्बर १८ मा भएको पहिलो चरणको मतदानमा ६१ दशमलव १३ प्रतिशत मत खसेको थियो । साथै दोस्रो चरणको सेप्टेम्बर २५ मा भएको मतदानमा ५६ दशमलव ३१ प्रतिशत मतदान भएको थियो । संविधानको धारा ३७० खारेज भएपछि पश्चिम पाकिस्तानी शरणार्थी समुदायले पहिलो पटक विधानसभा चुनावमा मतदान गर्ने अधिकार प्रयोग गर्दैछन् ।

यी चुनावका लागि नेसनल कन्फरेन्स (एनसी) र काङ्ग्रेसले गठबन्धन बनाएका छन् भने अन्य प्रमुख दावेदारमध्ये पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) र भारतीय जनता पार्टी (भाजपा) छन् ।

मतगणना अक्टोबर ८ मा हुनेछ ।

सूर्यविनायकले पहिरोमा परेर ज्यान गुमाएका मृतकको परिवारलाई जनही एक लाख दिने

भक्तपुर, १५ असोज : सूर्यविनायक नगरपालिकाले गत शनिबारको पहिरोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ । गत शनिबारको पहिरोमा परेर सूर्यविनायक–९ पलाँसे बस्ने नौ महिनाकी गर्भवती २४ वर्षीया दमिला शाही, बमकी चार वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाही र सोही वडाको पाटी भञ्ज्याङ नैचालका ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको ज्यान गएको थियो ।

अविरल वर्षापछि गत शनिबार गएको बाढी तथा पहिरोले पुर्‍याएको क्षतिबारे अध्ययन एवं निरीक्षण गर्न सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडा नं १ देखि १० सम्मका वडाध्यक्षहरू, पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने, प्राविधिक टोलीसहित इञ्जिनियरलगायत कर्मचारी टोलीले आज नगर क्षेत्रभित्रका बाढी, पहिरोका विपद्ग्रस्त क्षेत्रको अध्ययन अनुगमनपछि नगरपालिकामा आएर राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नगर प्रमुख थापाले भन्नुभयो, “पहिरोमा परेका मृतक परिवारलाई नगरपालिकाको तर्फबाट रु एक–एक लाख गरी पाँच लाख मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने आज निर्णय गरेका छौँ, घाइतेको भक्तपुर अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । आवश्यकताअनुसार सहयोग र राहत प्रदान गर्छौं ।”

प्रमुख थापाले तत्काल पहिरो रोकथामका लागि तारजाली, प्लाष्टिकलगायत सामग्री उपलब्ध गराउने र थप राहतका लागि सम्बन्धित निकायमा पहल गरिने बताउनुभयो । विद्युत् तथा टेलिफोन विच्छेद भएका ठाउँमा सञ्चालन गर्न लगाएको बताउँदै उहाँले सडक मर्मत एवं पहिरो पन्छाउने काम आइतबारदेखि नै सुरु भएको बताउनुभयो ।

नगरप्रमुख थापाले भन्नुभयो, “हामी अहोरात्र खटिएर भए पनि एक साताभित्र सबै सडकमा यातायात सञ्चालन गर्नेछौँ, त्यसका लागि सबै सडकमा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । एक साताभित्र भक्तपुर र काभ्रेपलाञ्चोकसँग जोडिएको सबै सडक सञ्चालन गर्न सबै वडाध्यक्षलाई निर्देशन दिएको छु, हामी सबै मिलेर छिटोभन्दा छिटो नगरलाई सहज अवस्थामा फर्काउछौँ ।”

तत्काल सडक खुलाउने, यातायात र आवतजावत सहज बनाउने, पहिरो पन्छाउने, घरमा पुगेको क्षतिको अवस्था र सहयोग पु¥याउने, पहिरो रोकथामका लागि आवश्यक सामग्री वितरण गर्ने काम सुरु गरिसकेको बताउँदै उहाँले दीर्घकालीन रुपमा तीन तहकै सरकारको बजेटले पुनःनिर्माण गर्ने बताउनुभयो ।

नगरपालिकाले निर्माण गरेको शिव शर्किट मात्रै होइन, यहाँका थुप्रै पर्यटकीयस्थल घ्याम्पेडाँडा, रानीकोट, अनन्तलिङ्गेश्वर भ्यूटावर, मानेभञ्याङ, आशापुरी, नैचाल जाने मुख्य नाका पहिरोले बन्द भएको छ । बाढी पहिरोले आवास, सडक, पुललगायत भौतिक संरचनामा पनि नोक्सानी पुर्‍याएको र पुनःनिर्माणका लागि करोडौँ बजेट खर्चिनुपर्ने अवस्था आएको नगर प्रमुख थापाले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख भट्टराईले सिङ्गो स्थानीय सरकार गाउँगाउँ पुगेर क्षतिको अवस्था जानकारी लिएको बताउँदै जनताले स्थानीय सरकारको अनुभूति गर्नेगरी नगरपालिकाले आफ्नो काम सुरु गरिसकेको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकाले सबै वडाबाट वडागत रुपमा नै क्षतिको विवरण सङ्कलन गरिसकेको बताउँदै सोहीअनुरुप अत्यावश्यक कामको थालनी गरिसकेको बताउनुभयो । उहाँले पहिरोले अवरुद्ध सडक स्काभेटर प्रयोगगरी खुलाउने काम भइरहेको, पुरिएका खानेपानीको मुहानको संरक्षण थालनी गरिने, बाढी र पहिरोका कारण कुनै पनि सङ्क्रमणजन्य रोगको महामारी फैलिन नदिन सर्तकता अपनाउने, त्यस्तो भएमा नगर अस्पतालमा उपचार गरिने प्रवक्ता सापकोटाले बताउनुभयो ।

सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन

काठमाडौँ, १५ असोज : खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीबाट ललितपुरको सैँबुमा ल्याइने सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरी खानेपानी आयोजनाको अध्ययनसम्बन्धी हालसम्मको प्रगति प्रस्तुति कारण तथा छलफलबारे आज आयोजना गरेको कार्यक्रममा उहाँले सिस्नेरी खानेपानी आयोजनाका काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “उपत्यकावासीका १२ महिना पानी खान पाउने सपना पूरा हुन सकेका छैनन्, अब हामीले सिस्नेरीको पानी उपत्यकामा पुर्‍याएर यहाँका जनताको सपना सकार गर्नु आवश्यक छ, सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउनुहोस् ।” उहाँले सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्रालयको पूर्ण सहयोग रहने आश्वासन समेत दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “तपाईंहरू सिस्ने खोपानी आयोजनाका बाँकी गर्नुपर्ने काम अगाडि बढाउनुस्, मन्त्रालयको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुन्छ ।” काठमाडौँमा पानीको निकै अभाव हुँदै गएको र मेलम्चीको पानी यहाँका जनतालाई पुर्‍याउन नसकेको बताउँदै उहाँले भन्नुभयो, “विभिन्न समस्याका कारण हामीलाई काठमाडौँ उपत्यकाका नागरिकलाई पानी उपलब्ध गराउन निकै समस्या हुँदै आएको छ, यो बेलामा हामीले सबै कुराको आट गरेर जनतालाई पानी दिन सक्नुपर्छ ।”

राज्यले नागरिकका हकमा दीर्घकालीन खानेपानीका योजना बनाउनसक्ने भएकाले खानेपानीका आयोजनाका विषयमा आउने नकारात्मक टीकाटिप्पणीका बारेमा कुनै प्रवाह नगरी आफ्नो काममा निरन्तर लागिपर्न मन्त्री यादवले आज कर्मचारीलाई निर्देशन दिनुभयो ।

उपत्यकाबाट करिब १९ किमी दूरीमा रहेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा बाँध बनाइ कोगटे खोलाको पानी समेतलाई जम्मा गरी पम्पका माध्यमबाट पानी प्रशोधन केन्द्रसम्म पुर्‍याउने काम अन्तिम चरणमा रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवविक्रम राणाले जानकारी दिनुभयो । 

राणाका अनुसार सिस्नेरी खानेपानी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन इआइएको स्कोपिङ कागजात तथा टिओआर, वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । पाइपलाइन, पानी प्रशोधन केन्द्र, सम्भावित बाँध निर्माणस्थल, पम्प स्टेसन, इन्टेक आदिका लागि टोपोग्राफिकल सर्भे, ड्रोन सर्भे, हाइड्रो मेट्रोलोजिकल सर्भे, जियो–प्राविधिक सर्भे, भौगर्भिक अनुसन्धान सर्भे, पहुँचमार्ग सर्भे, इलेक्टिसिटी पावर सर्भे सकिएको छ । 

बाँध निर्माणका लागि आवश्यक विस्तृत अध्ययन गर्न बाँधको ‘टिओआर’ तथा लागत ‘इष्टिमेट’ तयार गरिएको छ भने आयोजनाको वातावरणीय असर अध्ययन (इआइए) का लागि ‘टिओआर’ तथा लागत ‘इष्टिमेट’ प्राप्त भएको र यस आर्थिक वर्षभित्र परामर्शदाता छनोट प्रक्रिया अघि बढाउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

काठमाडौँ, १५ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण विपद्ले सिर्जना गरेको विषम परिस्थितिमा राहत तथा उद्धारमा सहयोग गर्न सरकारी तथा निजी क्षेत्र सबैलार्ई आह्वान गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिराले ठूलो धनजनको क्षति पुर्‍याएको उल्लेख गर्दै उद्धार पुनःस्थापना र पुनःनिर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै राजनीतिक दल, तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, गैरसरकारी तथा सामुदायिक संस्था र स्वयंसेवक एवं आमनागरिकको सहयोगको अपेक्षा गर्दछु ।”

उहाँले विपद्बाट भएको क्षतिको विस्तृत क्षति मूल्याङ्कन गरी पुनःनिर्माण तथा पुनःलाभका कार्यक्रमको कार्ययोजना तत्काल तर्जुमा गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

 “विपद्को पूर्वसूचना सरकारले विभिन्न माध्यमबाट जारी गर्ने गरिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उक्त सूचनालाई सबै पक्षबाट गम्भीरतापूर्वक लिइ जनधनको क्षति न्यूनीकरण गर्नमा सहयोग पु¥याउनुहुन सबैमा अनुरोध गर्दछु ।”

 प्रधानमन्त्री ओलीले आसन्न चाडबाडका समयमा यात्रालाई सहज र सुलभ बनाउन निजी क्षेत्रका सम्बद्ध व्यवसायीसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात व्यवस्था मिलाइने उल्लेख गर्नुभयो ।

सरकारले विपद्बाट प्रभावित घरपरिवारलाई राहत उद्धारलगायत विषयमा प्रदेश, स्थानीय तह एवं सम्बद्ध पक्षसँग आवश्यक समन्वय तथा सहजीकरण प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा विपद्बाट बढी प्रभावित जिल्लामा सम्वद्ध मन्त्रालयका कर्मचारी समावेश गरी स्थलगत टोली परिचालन गरेको छ ।

प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्बाट मानवबस्ती, पूर्वाधार, कृषिबाली तथा पशुपन्छीमा भएको क्षतिको प्रारम्भिक लेखाजोखा एक महिनाभित्र सम्पन्न गरी जनजीवनलाई सामान्य बनाउन प्रदेश तथा स्थानीय तहसँगसमेत समन्वय गरी आवश्यक कार्यसम्पन्न गरिने बताउनुभयो ।

“विभिन्न स्थानमा अवरुद्ध भएको टेलिफोन एवं विद्युत् सेवा सञ्चालन गर्न क्षतिग्रस्त संरचनाको पुनःनिर्माण एवं पुनःस्थापना गर्ने काम भइरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस कार्यलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरिनेछ ।”

प्रधानमन्त्री ओलीले जलविद्युत् उत्पादन अवरुद्ध भएका विद्युत् गृह पुनःसञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइने र सामान्य प्रकृतिका क्षतिको हकमा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने जानकारी गराउनुभयो । उहाँले क्षतिग्रस्त विद्युत् प्रसारण लाइनका संरचनालाई ‘इमर्जेन्सी रेस्टोरेशन टावर’मार्फत प्रतिस्थापन गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विपद्पश्चात् हुनसक्ने अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न निजी क्षेत्रसमेतको समन्वयमा बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाइने छ ।”

विपद्मा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको प्रबन्ध गरिसकिएको र विपद्पश्चात् फैलिनसक्ने सम्भावित रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी गरिएको प्रधानमन्त्रीले बताउनुभयो । साथै, यसका लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रभावित क्षेत्रमा आवश्यकतानुसार स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले बाढी, पहिरोबाट अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी संरचनाहरूको तत्काल मर्मतसम्भार गरी खानेपानी प्रणालीलाई पुनःस्थापना गरिने जनाएको छ ।

“बाढी, पहिरोबाट अवरुद्ध भएका मुलुकभरका रणनीतिक सडकलाई थप तदारुकताका साथ यथाशीघ्र सञ्चालन गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका लागि पहिरोबाट अवरुद्ध सडक खोल्ने तथा पुल बगेका महत्त्वपूर्ण सडकमा बेलिब्रिज जडान गरिनेछ, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सनजस्ता वैकल्पिक माध्यमबाट तत्काल यातायात सञ्चालन गर्ने प्रबन्ध गरिनेछ ।”

प्रधानमन्त्री ओलीले विपद्का घटनासम्बन्धी सूचनाको प्रवाह, बाढी, पहिरो र डुबानमा परेका व्यक्तिको खोज, उद्धार तथा घाइतेको औषधि उपचार र अवरूद्ध सडक सञ्चालनका लागि अहोरात्र खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, आमसर्वसाधारण र सञ्चारकर्मीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विभिन्न स्थानमा अवरुद्ध भएको टेलिफोन एवं विद्युत् सेवा सञ्चालन गर्न क्षतिग्रस्त संरचनाको पुनःनिर्माण एवं पुनःस्थापना गर्ने काम भइरहेको जानकारी गराउँदै यस कार्यलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरिने बताउनुभयो ।

यसैगरी, प्रधानमन्त्रीले जलविद्युत् उत्पादन अवरुद्ध भएका विद्युत्गृह पुनः सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइने र सामान्य प्रकृतिका क्षतिको हकमा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने बताउनुभयो । क्षतिग्रस्त  विद्युत् प्रसारण लाइनका संरचनालाई इमर्जेन्सी रेस्टोरेशन टावरमार्फत प्रतिस्थापन गरिने उहाँको भनाइ छ ।

सरकारले विपद्पश्चात् हुनसक्ने अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न निजी क्षेत्रसमेतको समन्वयमा बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने जनाएको छ ।

बाढी, पहिरोबाट २१ जिल्ला प्रभावित भएका छन् । जसमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडाँै, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अतिप्रभावित भएका छन् । सरकारी तथ्याङ्कअनुसार यस घटनामा हालसम्म प्राप्त विवरणअनुसार दुई सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, एक ५८ जना घाइते भएका छन् । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइ सकिएको सरकारले जनाएको छ ।

 त्यस्तै, भौतिक क्षतिको प्रारम्भिक आँकलनअनुसार हालसम्ममा खानेपानीका संरचनामा रु तीन अर्ब ५५ करोड, सडक संरचनामा रु दुई अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा रु चार अर्ब र सिँचाइ पूर्वाधारतर्फ रु एक अर्बको क्षति भएको अनुमान छ ।

यसैगरी ३७ वटा राजमार्ग अवरूद्ध भएकामा नौ वटा राजमार्गमा अवरोध हटाई सञ्चालनमा ल्याइएको छ भने सञ्चालनमा रहेकामध्ये कूल ६६७ दशमलव ९३ मेगावाट जडित विद्युत् क्षमताको १६ वटा जलविद्युत् आयोजना, कूल एक हजार १३९ दशमलव १९ मे.वा जडित विद्युत् क्षमताको १८ वटा निर्माणाधीन जलविद्युत् आयोजना  र पाँच वटा प्रमुख प्रसारण टावरमा क्षति भएको छ । 

त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको तीन सय १२ साइटमा क्षति भएको छ । कृषि तथा पशुपन्छीतर्फ रु छ अर्बको क्षति भएको सरकारको अनुमान छ ।

खोज तथा उद्धार कार्यमा ३० हजार सात सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिएको र तत्काल उद्धारका लागि हेलिकप्टरसमेत प्रयोग भएको छ । विपद्को घटनापश्चात् तत्काल सम्बद्ध निकायलाई क्रियाशील बनाउनुका साथै विभिन्न तहका बैठक बसी एवं सर्वदलीय बैठकसमेत गरी विपद्मा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन प्रयास भएका छन् ।

सरकारले बाढी, पहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारलाई राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै उक्त कार्यलाई यथाशीघ्र सम्पन्न गरिने जनाएको छ ।

 “विपद् प्रभावित व्यक्तिहरूको खोज उद्धारको कार्य दुई दिनभित्र सम्पन्न गरिनेछ, उद्धार गरिएका र सुरक्षित स्थलमा राखिएका व्यक्तिलाई सुरक्षित घरफिर्तीको व्यवस्था तत्काल सम्पन्न गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रभावित घरपरिवारलाई आवश्यकताका आधारमा राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट निरन्तरता दिइनेछ ।”

प्रधानमन्त्री ओलीले विपद्मा घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि लाभग्राही पहिचान गरी तत्कालै अनुदान रकम वितरण गरिने बताउनुभयो । उहाँले बाढी, पहिरो तथा डुबानबाट ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो । साथै उहाँले सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

मधेस प्रदेश प्रमुखसमक्ष प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर (धनुषा), १५ असोजः मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष प्रदेश लोकसेवा आयोगले पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आज प्रदेश प्रमुखको कार्यालयम आयोजित कार्यक्रममा आयोगका अध्यक्ष शिवराम यादवले आर्थिक वर्ष २०८०÷२०८१ म सम्पन्न काम कारबाहीसहितको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । 

प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भण्डारीले कर्मचारीको छनोट, बढुवासहितको कार्यमा प्रदेश लोकसेवा आयोगले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आयोगले काम गर्दा सामना गर्नुपरेको कठिनाइ सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गर्ने बताउनुभएको छ ।

प्रतिवेदनमा स्थानीय तहको कर्मचारीसम्बन्धी ऐन बने पनि नियमावली नबन्दा कर्मचारीको पदपूर्तिसम्बन्धी काम अगाडि बढ्न नसकेकाले चाँडै नियमावली ल्याउनुपर्ने, आयोगले आह्वान गरेको विज्ञापनमा आवेदन दिनेको सङ्ख्या ५० दशमलव ७१ प्रतिशतले घटेको उल्लेख छ । आयोगले गत आवमा कूल एक सय ८९ पदमध्ये खुला तथा समावेशीतर्फ एक सय छ, अन्तरसेवातर्फ ११ र बढुवातर्फ ७२ पदका लागि विज्ञापन गरेको थियो । ती विज्ञापनमा प्रदेश निजामती सेवातर्फ महिला दुई हजार चार सय एक र पुरुष सात हजार नौ सय ३२ गरी १० हजार तीन सय ३३ जनाले आवेदन दिएका प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आयोगकाअनुसार विज्ञापनमा एउटा पदका लागि औसतमा ८८ जनाले दर्खास्त भरेका थिए । जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा बढी १ दशमलव ४७ प्रतिशतले दर्खास्त भरेका थिए । दर्खास्त दिनेमध्ये ७३ दशमलव ९३ प्रतिशत बेरोजगार रहेकासमेत आयोगले जनाएको छ ।

आयोगले आव २०७९÷८० र २०८०÷८१ को गरी दुई सय २२ पदका लागि लिखित परीक्षा सञ्चालन गरेको थियो । आव २०७७÷७८, २०७८÷७९ र २०७९÷८० सम्म एक सय ४९ पदका लागि एक सय ४६ जना उम्मेदवार सिफारिस गरेको जनाइएको छ ।    

जसमा स्वास्थ्य सेवातर्फ ४२, प्रशासन सेवातर्फ ३२, कृषि सेवातर्फ २६, वन सेवातर्फ २०, इञ्जिनियरिङतर्फ १३, शिक्षा सेवातर्फ ११, तथ्याङ्क सेवातर्फ एक र विविध सेवातर्फ एक जना रहेका विवरणमा उल्लेख छ  । आव २०८०÷८१ मा आह्वान गरेका विज्ञापनका पदमा सिफारिस हुन बाँकी रहेको आयोगले जनाएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं, १५ असोज- बाँके, नेपालगंज उपहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने २२ वर्षीय बिशाल थारूलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनको उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भासीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित भारत लखिमपुर पलिया बस्ने २८ वर्षीय बलराम सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित मोरङ उर्लावारी नगरपालिका-३ बस्ने २८ वर्षीय सनम धिमाललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी, झापा भद्रपुर नगरपालिका-५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ मिलिग्राम सहित भद्रपुर नगरपालिका-५ देवी बस्ती बस्ने २१ वर्षीय राहुल ठाकुरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, पथरीशनिश्चरे नगरपालिका-९ पुलचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ सय क्याप्सुल र स्पासपेन ५ सय क्याप्सुल सहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय नबिन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-१ मनहरा टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कमल रिजाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशबीच भेटवार्ता

काठमाडौँ, १५ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग एशियाली विकास बैंक दक्षिण एशियाली विभागका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।

भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो    मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताउनुभयो । आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने उहाँले बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न एडिबीलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

भेटमा उपमहानिर्देशक माल्भिसिनीले तनहुँ जलविद्युत् आयोजना र दूधकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नका लागि आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले नेपालमा विकास निर्माणको वातावरण सुनिश्चित गरे एशियाली विकास बैंकले धेरै क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।   भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नाउड काउकोइसलगायतको सहभागिता थियो । 

रुवान्डामा मार्बर्ग भाइरसबाट तीन सयभन्दा बढी सङ्क्रमित, आठको मृत्यु

रुवान्डाभर अत्यधिक सङ्क्रामक मार्बर्ग भाइरस फैलिएको छ । भाइरसले मुलुकभरमा तीन सयभन्दा बढी सङ्क्रमित भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

अल जजिराका अनुसार रुवान्डाले यस भाइरसको प्रकोप घोषणा गरेको छ । भाइरसको हाल कुनै अधिकृत खोप वा उपचार छैन । भाइरसले मुलुकका ३० मध्ये सात जिल्लालाई प्रभावित गरेको छ ।

रुवान्डाका स्वास्थ्यमन्त्री साबिन एन्सान्जिमानाले भाइरसको फैलावट रोक्न मद्दत गर्न सम्पर्क ट्रेसिङ (खोजी) र परीक्षण बढाइरहेको जानकारी दिनुभयो । रुवान्डाका अधिकारीहरूले पहिलो पटक मुलुकलाई सङ्क्रमित बनाएको भाइरस रोक्न प्रकोप नियन्त्रण प्रयासलाई तीव्र पारिरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो समर्थन बढाइरहेको र भाइरसको फैलावट रोक्न सहयोग गर्नका लागि रुवान्डाका अधिकारीहरूसँग काम गरिरहेको सङ्गठनका महानिर्देशक महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा बताउनुभयो ।

डब्लुएचओले तान्जानिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, केन्या र दक्षिण अफ्रिका जस्ता अफ्रिकी मुलुकहरूमा मार्बर्गको प्रकोप देखिएको बताएको छ ।

रुवान्डास्थित डब्लुएचओको कार्यालयका अनुसार भाइरस नियन्त्रण गर्न आपत्कालीन चिकित्सा आपूर्तिहरू तयार गरिँदैछ । त्यस्तै केन्याको नैरोबीमा रहेको डब्लुएचओको आपत्कालीन प्रतिक्रिया केन्द्रबाट आगामी दिनहरूमा रुवान्डाको राजधानी किगालीमा डेलिभरीका लागि सङ्क्रमण रोकथाम र नियन्त्रण आपूर्तिहरूको खेप तयार गरिँदैछ ।

जर्मनीको मार्बर्ग र सर्बियाको बेलग्रेडका प्रयोगशालाहरूमा रोकको प्रकोप फैलिएपछि दुर्लभ मार्बर्ग भाइरस पहिलो पटक सन् १९६७ मा पहिचान गरिएको थियो । त्यहाँ बाँदरहरूमा अनुसन्धान गर्दा सम्पर्कमा आएपछि मानिसहरू मरेका थिए ।

यो भाइरस फलफूल खाने चमेराबाट मानिसहरूमा सर्छ र सङ्क्रमित व्यक्तिहरूको शारीरिक तरल पदार्थ, सतहहरू र सामग्रीहरूको प्रत्यक्ष सम्पर्कबाट मानिसहरूमा फैलिन्छ ।

डब्लुएचओका अनुसार मार्बर्ग भाइरसका लक्षणहरूमा ज्वरो, मांसपेशीमा दुखाइ, पखाला, वान्ता र केही मामिलामा अत्यधिक रक्तस्राबका कारण सङ्क्रमितको मृत्यु हुन्छ ।

यस भाइरसले रक्तस्राबी ज्वरो निम्त्याउँछ र यसको मृत्युदर ८८ प्रतिशतसम्म हुन्छ । यो इबोला भाइरस रोग लगाउने भाइरसको परिवारमा पर्छ ।

इजरायलले लेबनानबाट सेना फिर्ता गर्नुपर्छ– रुस

रुसले इजरायललाई दक्षिणी लेबनानबाट आफ्ना सेना ‘तत्काल’ फिर्ता गर्न आग्रह गरेको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाह लडाकूहरू विरुद्ध ‘स्थल आक्रमण’ सुरु गरेको बताएपछि रुसले उक्त आग्रह गरेको हो ।

इजरायलले लेबनानमा एक साताको तीव्र हवाई आक्रमण गरेपछि स्थल आक्रमण गर्ने घोषणा गरेको थियो । हवाई आक्रमणमा सयौँ मानिस मारिएका थिए भने हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको पनि मृत्यु भएको थियो । क्रेमलिनले यी सैन्य कारबाहीहरूको पनि निन्दा गरेको छ ।

“रुस लेबनानमाथिको आक्रमणको कडा निन्दा गर्दछ । इजरायली अधिकारीहरूलाई तत्काल युद्धविराम गर्न, लेबनानी क्षेत्रबाट आफ्ना सैनिकलाई फिर्ता गर्न र मध्यपूर्वमा द्वन्द्व समाधान गर्न शान्तिपूर्ण उपायहरूको वास्तविक खोजीमा संलग्न हुन आह्वान गर्दछ”, रुसी विदेश मन्त्रालयले एक वक्तव्यमा भनेको छ, “हामी सशस्त्र आक्रमणको शिकार भएको मित्र राष्ट्र लेबनानको नेतृत्व र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछौँ ।”

चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा हस्तक्षेप’ को विरोध

इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ । साथै बेइजिङले बढ्दो तनावप्रति ‘अत्यधिक चिन्तित’ रहेको बताएको छ ।

इजरायली सेनाले मङ्गलबार दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै स्थल आक्रमण सुरु गरेको बतायो । यसले सयौँ मानिसहरूको ज्यान लिएको एक साताको तीव्र हवाई आक्रमणपछि द्वन्द्वलाई अझ बढाएको छ ।

यद्यपि लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाले इजरायली कारबाही ‘स्थलगत घुसपैठ’ नभएको बताएको छ भने इरान समर्थित हिजबुल्लाहले कुनै पनि सैनिकले सीमा पार गरेको कुरालाई अस्वीकार गरेको छ ।

क्षेत्रीय टकरावलाई रोक्न अन्तर्राष्ट्रिय आह्वानका बाबजुद इजरायलले दक्षिण बेरुत, दमास्कस र गाजालाई लक्षित गरेको बेला यी दाबीहरूलाई तत्काल प्रमाणित गर्ने कुनै उपाय थिएन ।

“चीन लेबनान र इजरायलबीच विद्यमान अवस्थाबारे अत्यन्त चिन्तत छ र सम्बन्धित सैन्य कारबाहीका कारण क्षेत्रीय तनाव अझ बढ्नेबारे चिन्तित छ”, चिनियाँ विदेश मन्त्रालयले मङ्गलबार एक वक्तव्यमा भन्यो, “चीन लेबनानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घनको विरोध गर्दछ र द्वन्द्वलाई बढाउने तथा क्षेत्रीय स्थितिलाई थप उत्तेजित पार्ने यस्ता कार्यको विरोध गर्दछ ।”

बेइजिङले वक्तव्यमा इजरायलसँग ‘परिस्थितिलाई शान्त पार्नका लागि ठोस कदम चाल्न’ आग्रह गरेको छ ।

उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह

काठमाडौँ, १५ असोजः नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विपद्का बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई आग्रह गरेको छ ।

विभाग प्रमुख अब्दुल सत्तारले आज एक विज्ञप्ति जारीगरी असोज १० गतेदेखि तीन दिनसम्म देशभर परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै यस घडीमा विभागमा आबद्ध सङ्घ, प्रदेश र स्थानीय तहमा क्रियाशील शुभेच्छुक संस्थाका प्रतिनिधिलाई राहत तथा उद्धारमा सक्रिय रहन आग्रह गर्नुभएको हो ।

यसैगरी दुःखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था मिलाउन, बेपत्ता भएकाको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । विभागले यस विषम परिस्थितिमा सुरक्षा निकाय, सडक विभागको समन्वयमा अवरुद्ध राजमार्ग, सहायक मार्ग तथा पुलको चाँडो मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

संयोजक सत्तारले नेपालीको पर्व विजयादशमीको पूर्वसन्ध्यामा भएको यस अकल्पनीय घटनाले जनतामा त्रास उत्पन्न भएकाले जनतालाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा लाग्न सरकारलाई आग्रह गर्नुभयो ।

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार भए साढे पाँच सय उडान

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।

मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् ।

आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताउनुभयो । एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ ।

यसअघि अघिल्लो वर्ष दसैँका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।

विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताउनुभयो । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उहाँले बताउनुभयो । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् ।

वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो ।

एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए ।

दाउन्नेमा भासिएको सडकको एकतर्फी खुल्यो

नवलपरासी (बर्दघाट सुस्तापश्चिम- पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ । सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ः०० बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो । सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत सुरु गरेका जनाइएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ, १५ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो ।

उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो ।

इटहरीकि रेनुका श्रेष्ठ बनिन् पहिलो ‘मिसेस पुर्बेली आईकन’

इटहरी/ पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन् । इटहरीको लायन्स क्लबमा असोज १२ गते शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ उपस्थित थिइन् ।

प्रमुख अतिथी मिना श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भईन् । उनले मिसेस पर्सनालिटीको सबटाईटल हात पारिन् ।

यस्तै सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाईजर च्वाइस अवार्ड जित्न सफल भईन् । उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर जितिन् भने उनले ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाईटल समेत हात पारिन् । यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाईटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरिन् ।

ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बुले मिसेस ग्लामरको सबटाईटल जितिन् । प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए । ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, फोटो तथा भिडियोग्राफर रिकेश ब्रजाचार्य र मेकअपमा उर्बि श्रेष्ठ रहेकी थिए ।

रिमै’को छायांकनको लागि नेपाल आइन ‘कबड्डी’ शृखंलाकी मैंया

कबड्डी शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ सिनेमा रिमैको छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताउँछिन् ।

‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा क्रसरोड नामक सिनेमामा काम गरेकी थिए । त्यो सिनेमा अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुने सिनेमालाई बिर बहादुर घलेले मिर्नण गर्दैछन् । सिनेमाको असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । सिनेमामा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।

‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमाको दशैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ ।

बाढीपहिरोले निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा

ढोरपाटन (बागलुङ), १५ असोजः भारी वर्षाका कारण पहिरोले एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित सबस्टेशनको पर्खाल बगाउँदा साढे एक करोडको क्षति भएको हो । यसै वर्ष सञ्चालन गर्नेगरी निर्माणाधीन सबस्टेशनको पर्खालसहित विद्युतीय पोलसमेत बगाएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशन आयोजानका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । पर्खाल भत्किएपछि सबस्टेशनको भवनसहित अन्य संरचनासमेत उच्च जोखिममा परेको उहाँको भनाइ छ ।

असार पहिलो साता नै सञ्चालनमा ल्याउनेगरी आयोजना कार्यालयले काम अगाडि बढाए पनि बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण अहिलेसम्म सञ्चालनमा आउने थिएन । स्थानीयवासीले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन सकेको थिएन । ९९ प्रतिशत सबस्टेशनको काम सकिए पनि पहिरोले पुनःनिर्माण गर्नुपर्ने स्थिति आएको प्रमुख चौधरी बताउनुहुन्छ ।

आयोजना चौधरीले भन्नुभयो, “सबस्टेशनको पर्खाल भत्किएर त्यसभन्दा तलको खोला थुनिएको रहेछ, अहिले खुलेको छ, पहिरोले पक्की पर्खाल बगाउँदा ठूलो क्षति भएको छ, झण्डै रु एक करोड ५० लाख बढीको क्षति हुँदा सबस्टेशन सञ्चालन गर्न केही समय लाग्ने छ, पहिरो गएको ठाउँमा फेरि काम गर्नुपर्यो ।”

कपिलवस्तुको मोतिपुरबाट सुुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने एक सय ३२ केभीको सबस्टेशन २०७८ सालदेखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सबस्टेशनको निर्माण भएको छ । विसं २०७६ मा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुई वर्षपछि मात्र काम सुरु भएको थियो ।

मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन २०७८ चैत १२ गते परीक्षण गरी सुरु गरिएको भन्दै गुल्मीको तम्घासको सबस्टेशन असार ७ गतेदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिनुभयो । गुल्मीको पौँदीअमराई र बागलुङको बुर्तिबाङ सबस्टेशन एकैपटक सञ्चालन गरिने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पौँदीअमराईबाट बुर्तिबाङसम्मको १४ किलोमिटरको दूरीमा ४१ वटा टावर निर्माण गर्नुपर्ने भन्दै हालसम्म २६ वटा निर्माण भइसकेको र अझै केही निर्माण गर्न बाँकी छन् ।

सबस्टेशन निर्माणका लागि पाँच वर्ष अगाडि ठेक्का प्रक्रिया गरी ४० करोडमा मुडभरी÷जोशी÷गौरा जेबीलाई जिम्मा लिएको थियो । लाइन विस्तारका लागि रु ८३ करोडको लागतमा सिक्माकोन÷एमएसपील जेभीलाई जिम्मा दिइएको थियो । कपिलवस्तुबाट बुर्तिबाङ ८६ किलोमिटर दूरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुने प्रमुख चौधरी बताउनुहुन्छ ।

बाढीपहिरोः काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता

काभ्रेपलाञ्चोक, १५ असोजः केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो ।

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।

यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ । बेथानचोक गाउँपालिकामा मृतक सातमध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरमा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ ।

भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो । पाँचखाल नगर तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन । बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो ।

बाढीपहिरोले खानेपानी आपूर्तिमा समस्या

अविरल वर्षाका कारण बाढीपहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल, बनेपा र पनौती नगरमा खानेपानी आपूर्तिमा कठिनाइ भएको छ । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी पानी नियमित हुन नसकेको नेपाल खानेपानी संस्थान बनेपा शाखाले जनाएको छ ।

धुलिखेल र बनेपा नगरमा सञ्चालित एकीकृत खानेपानीको मुहान पनौतीको रोशी तथा बनेपाको शशिपानीमा खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेको हो । संस्थानका सूचना अधिकारी होमप्रसाद चौलागाईँका अनुसार बनेपामा ल्याइरहेको दुवै मुहान तथा ‘मिनरल’ आयोजनासमेत बन्द भएको छ ।

दुवै नगरको मुहान र पाइप लाइनमा क्षति भएका कारण खानेपानीको आपूर्तिमा समस्या भएको चौलागाईँले बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुनःनिर्माणबारे प्रक्रिया थालिने छ । आवश्यक मर्मतकार्य सम्पन्न नहुञ्जेल खानेपानी आपूर्तिमा समस्या भएको संस्थानले जानकारी गराएको छ ।

एकीकृत खानेपानी आयोजनाको करिब दुई किलोमिटर पाइप बगाएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । उहाँले क्षतिग्रस्त एकीकृत खानेपानी आयोजना पुनःनिर्माण गर्न समय लाग्ने भएकाले केही दिनमै विकल्पमा खानेपानी उपलब्ध गराउन प्रक्रिया थालिएको बताउनुभयो ।

धुलिखेल नगरमा विसं २०४७ देखि सञ्चालित खानेपानी आयोजनाको खारखोलास्थित मुहान–इन्टेकमा बाढीपहिरोले क्षति पुर्याउँदा तीन दिनदेखि खानेपानी वितरण रोकिएको छ । पनौतीमा गएको पहिरोका कारण विभिन्न स्थानमा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण अवरुद्ध भएको आयोजनाले सूचनामार्फत जानकारी गराएको छ ।

स्थानीय तहद्वारा राहत घोषणा

विपद्पछि खोज, उद्धार तथा राहतका लागि धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् । धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढीपहिरोबाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन रु एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि नगरले मानवीयलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिकसहितको टोली परिचालन गरेको छ ।

यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरले घाइतेलाई निःशुल्क उपचार गरिरहेको छ ।

बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही रु ३० हजार, घाइतेलाई रु २० हजार, पूर्ण क्षति भएको घरलाई रु १० हजार, गोठलाई रु पाँच हजार, उच्च जोखिममा परेका घरलाई रु पाँच हजार, पूर्ण रूपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई रु १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई रु १० हजार र बाछाबाछी बाख्राको हकमा भने प्रतिगोटा रु पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट रमेश बिकले डेब्यु गर्दै

काठमाडौं-गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन्। बुढाथोकीले आइतबार चलचित्रको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।

चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लाई टंक बुढाथोकी निर्माण तथा निर्देशन गर्दैछन् । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यस चलचित्रमा बिनय अधिकारी सह निर्माता रहने छन् ।

सामाजिक कथामा बन्ने यस चलचित्रबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीलाई डेब्यु गर्दैछन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट नेपाली रजतपटमा नब नायक रमेश बिकको डेब्यु हुदैछ । निर्देशक टंक बुढाथोकीले चलचित्रमा बिकलाई अनुबन्धित गरेको जनाकारी दिए । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्।

तिहार लगतै छायांकनमा जाने चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नायिका लगायत अन्य कलाकारहरु केहि दिनमा फाइनल गर्ने तयारी छ।

इथियोपियापर्यटन सप्ताहमा सहभागि भएका नेपाली कलाकारलाई भव्य स्वागत

काठमाडौं– नेपाली कलाकारहरुको एक समुह अफ्रिकी मुलुक इथियोपिया पुगेको छ । इथियोपियो पर्यटकीय शहर ओरोमियामा जारी ‘ओरोमिया टुरिजम वीक’ मा सहभागिता जनाउने क्रममा आधा दर्जन नेपाली कलाकारहरु आइतवार मध्य राति इथियोपिया पुगेका हुन् ।

धौलागिरी एड्भान्चर ट्राभल्स एण्ड ट्रेक प्राइभेट लिमिटेडका अध्यक्ष आङ कामी शेर्पाको नेतृत्वमा त्यहाँ पुगेका नेपाली कलाकारहरुमा गायक अजित घिसिङ तामाङ, अभिनेत्री बीना राउत, नृत्य कलाकार मदन भण्डारी, अभिनेता सरोज प्रजा तथा नृत्य कलाकार निमा कुमारी स्याङ्तान छन् ।

उनीहरुलाई आइतवार राति ओरोमियामा भव्य स्वागत गरिएको गायक अजित घिसिङले जानकारी गराएका छन् । विमानस्थलबाट बाहिरिएपछि उनीहरूलाई स्वागत गरिएको हो । नेपाली कलाकारहरुलाई विमानस्थलमा अन्तर्राष्ट्रिय लेखक हाम्जा वोरियो, ओरिमिया टूरिजम कमिशनका कमिश्नर लेलिसा ढुंगा तथा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा गायक अजित घिसिङ स्थानीय सञ्चार माध्यमसंग कुराकानी गर्दै इथियोपियाको सरकारले नेपाली कलाकारहरुलाई पर्यटन सप्ताहमा निम्त्याएको धन्यवाद व्यक्त गरेका छन् ।

इथियोपियाको ओरोमियामा आयोजना भैरहेको ‘ओरोमिया टूरिजम विक’ मा सहभागिता जनाउन उनीहरू त्यहाँ पुगेका हुन् । गत सेप्टेम्बर २५ देखि नै प्रारम्भ भएर अक्टोबर १० सम्म ञ्चालन हुनेछ ।

यूनेस्कोबाट मान्यता प्राप्त उक्त टूरिजम विकलाई ओरोमिया टूरिजम कमिशन तथा इथियोपियाको पर्यटन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेका हुन् । पर्यटन महोत्सवमा नेपाली कलाकारहरुले नेपाली सांस्कृतिक प्रस्तुतिसमेत दिनेछन् ।सांस्कृतिक आदान–प्रदान गर्ने उदेश्यले नेपाली कलाकारहरु सहभागि हुन लागेको उक्त कार्यक्रमका आधिकारिक सदस्यहरुमा आङ कामी शेर्पा, उर्गिन मिङ्गुम तामाङ, गीता कुमारी शाही तथा स्मारिका शाही रहेका छन् ।

प्रकाश सपूतको प्रतिक्षित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ‘दाहिने हातैमा’मा बोलको गीत रुचाए दर्शकले

प्रकाश सपूत, विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ लगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । ‘दाहिने हातैमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सिनेमाका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ

। रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टट्दिै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ । गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ । लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतले समेटेको छ । मायालुको बखान गरेको गीतले मायाको छेउमा पुग्दा सपनीबाट ब्युझिएको प्रष्ट पार्दै ड्रिम सिक्वेन्स भएको जानकारी दिएको छ ।

यो गीत सुनाउँदै गर्दा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ । यसअघि, चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

चलचित्रको थिम पोस्टरले नै उत्सुकता जगाएको सिनेमाको टिजर सार्वजनिक भएपछि हाइप बढाएको छ । टिजरले नै प्रतिक्षित बनाएको चलचित्रको गीत पनि मर्मस्पर्शी रहेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यसैबिच निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ।

आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन। कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए। गीतमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ। गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन।

प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन। डेब्यु भए तापनि उनले भिडियोमा तारिफयोग्य काम गरेका छन। गीतमा शब्द र संगीत प्रल्हाद सुवेदीले भरेका छन। विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन। भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक लोमश शर्माले स्वयंमले गरेका छन ।

https://www.youtube.com/watch?v=vfdz1zMBmNk

कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु

गोदावरी (कैलाली), १५ असोज : मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्युु भएको बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थलगत रिर्पोटः बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित

राजविराज (सप्तरी), १५ असोजः केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।

वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटानसमेत हुने गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाका कारण वस्ती डुबानमा नै रहेको अवस्था छ । राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ । ”

सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ जानका लागि १० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको र कुनोली बजारमा पुग्न एक घण्टा लाग्ने गरेको उहाँले बताउनुभयो ।वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा पैदल आवतजावत गर्न पनि अपठ्यारो हुने गरेको स्थानीयवासी बिन्दुलाल मुखियाले बताउनुभयो ।

भारतबाट कुनौली हुँदै आएका मालवाहक सवारी भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही हो । सडक अवरुद्ध हुँदा सरकारले उठाउने राजस्वमा त असर पर्छ नै स्थानीयलाई समेत जोखिम थपिएको छ । दुई वर्षअघि आएको बाढीले सडक भासिदा दुई जना बेपत्ता भएका थिए । कटानका कारण गाउँका बासिन्दालाई सदरमुकाम राजविराज पुग्न पनि कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

तिलाठी कोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्र सडक कटानको समस्या तीन दशकभन्दा बढी समयदेखि रहेको बताउनुहुन्छ । उहाँले खाँडो र जीता नदीको बहाव सही तरिकाले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले यात्रीलाई सास्ती दिँदै आएको जानकारी दिनुभयोे । यद्यपि सरकारले गम्भीरता नदेखाएपछि यहाँका स्थानीय बासिन्दालाई वर्षायाममा यस्ता समस्या भोग्नुपर्ने नियति नै बनेको छ । “यो समस्या हरेकपटक वर्षायाममा आउँछ तर राज्यले गम्भीरता देखाउँदैन”, उहाँले भन्नुभयो, “यसले राजविराज भन्सार कार्यालयको राजस्व सङ्कलनमा पनि निकै गिरावट आउँछ, यो समस्या जति चाँडो समाधान हुन्छ, स्थानीयसँगै राज्यका लागि त्यति नै फलदायी हुन्छ ।”

तिलाठीस्थित राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले राजविराज जोडिने कुनौलीको पूर्वी भेगसम्मको बीच बाटोमा रहेको पुल र सडक जीता खोलाले बगाएर क्षति गर्दा राजस्व सङ्कलनमा धेरै गिरावट आएको बताउनुभयो ।

उहाँले राजविराज भन्सारसम्म सवारीसाधन आउन नसकेका कारण आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको बताउनुभयो । कार्यालयसम्म आउने बाटो जीर्ण र समय–समयमा बाढीले सडकमा क्षति गरेको सडक पुनःनिर्माण नभएका कारण राजस्व सङ्कलन प्रभावित भएको सूचना अधिकारी भगत बताउनुहुन्छ । उहाँले भन्नुभयो, “साउनमा रु ६७ लाख २३ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा २३ लाख ८८ हजार सङ्कलन भएको र भदौमा रु ६३ लाख ५५ हजार लक्ष्य रहेकामा रु १९ लाख ३८ हजार राजस्व असुली भयो ।”

कुनोली बजार आवतजावतका लागि पुल नभएका कारण पनि राजस्व सङ्कलमा कमी आएको उहाँले बताउनुभयो । यस्तै राजविराज भन्सारदेखि पूर्वतर्फको पुलसमेत बाढीले बगाउँदा नेपाली दैनिक उपभोग्य सामानमा किन्न निर्भर रहने कुनोली बजार जानसमेत समस्या छ । राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वमा भारतीय सिमानामा रहेको कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नेहरूको भीड लाग्ने गर्दछ ।

दसैँतिहारका बेला बजार जाने नेपाली तिलाठीबाट दक्षिण खोला तरेर कुनोली बजार जाने बाटोमा समेत पुल नभएकाले सास्ती खेपिरहेको हनमाुननगर कङ्कालनी नगरपालिका–१४ का वासुदेव मण्डलले बताउनुभयो । कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नका लागि जिल्लाको राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, डिवन र तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया, सकरपुरा, रम्पुरा, मल्हनिया र तिलाठीका सर्वसाधारण जाने गर्दछन्

मध्यपूर्वमा इजरायल पुग्न नसक्ने कुनै ठाउँ छैन– नेतान्याहू

लेबनानमा हिजबुल्लाहविरुद्ध भएका आक्रमणहरूबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार इरानलाई मध्यपूर्वमा कुनै स्थान इजरायलको पहुँच बाहिर नरहेको नयाँ चेतावनी दिनुभएको छ । अङ्ग्रेजीमा दिनुभएको भिडियो वक्तव्यमा उहाँले इरानी जनतालाई सम्बोधन गर्दै उनीहरूको सरकारले उनीहरूलाई ‘रसातल नजिक’ ल्याइरहेको चेतावनी दिनुभयो ।

“गुज्रिँदै गरेको हरेक क्षणसँगै शासनले तपाईं महान फारसी जनतालाई रसातल नजिक ल्याइरहेको छ”, इरानी जनतालाई चेतावनी दिँदै नेतान्याहूले भन्नुभयो, “इजरायल पुग्न नसक्ने मध्यपूर्वमा त्यस्तो कुनै ठाउँ छैन, एउटा सानो समूह धर्माधिकारीहरूलाई तपाईंको आशा र सपनाहरू कुल्चन नदिनुहोस् ।”

इजरायलले हालैका दिनहरूमा सिरिया, यमन र इराकमा समेत रहेका इरान समर्थित लडाकूहरूको समूहको नेटवर्क ‘प्रतिरोधको धुरी’ विरुद्ध लेबनानमा व्यापक हवाई आक्रमणहरू गरिरहेको छ ।

बेरुतमा शुक्रबार भएको इजरायली आक्रमणमा लेबनानी लडाकू समूह हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्यु भएको थियो । इरानले हिजबुल्लाहलाई वर्षौंदेखि हतियार र आर्थिक सहयोग प्रदान गर्दै आएको छ । 

इरानले शुक्रबार हिजबुल्लाहका नेतासँगै मारिएक कुद्स फोर्सका शीर्ष कमान्डर अब्बास निलफोरौशनको हत्याको बदला लिने वाचा गरेको छ । कुद्स फोर्स इरानको रिभोल्युसनरी गार्डको विदेशी अभियान शाखा हो । 

भिडियो वक्तव्यमा नेतान्याहूले भविष्यको आशा व्यक्त गर्दै ‘जब इरान अन्ततः स्वतन्त्र हुनेछ’ यो ‘मानिसहरूले सोचेभन्दा धेरै चाँडो आउनेछ’ भन्नुभयो । 

“सबै कुरा फरक हुनेछन्, हाम्रा दुवै मुलुक इजरायल र इरान शान्तिमा रहनेछन्, इरान पहिलाको जस्तै समृद्ध हुनेछ”, उहाँले भन्नुभयो । 

इरानको विदेश मन्त्रालयका प्रवक्ताले इजरायलसँग सिधै सामना गर्न आफ्ना लडाकूहरू पठाउने इरानको कुनै योजना नरहेको बताएको केही घन्टापछि नेतान्याहूको टिप्पणी आएको हो । 

“इस्लामिक गणतन्त्र इरानका अतिरिक्त वा स्वयंसेवक बलहरू पठाउने कुनै आवश्यकता छैन”, लेबनान र प्यालेस्टिनी क्षेत्रका लडाकूहरूसँग ‘आक्रमणविरुद्ध आफ्नो रक्षा गर्ने क्षमता र शक्ति छ’ भन्दै विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भन्नुभयो । 

सरकारी वेबसाइटका अनुसार यसअघि सोमबार इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नसरल्लाहलाई ‘श्रद्धाञ्जलि दिन’ तेहरानमा हिजबुल्लाहको कार्यालयको भ्रमण गर्नुभएको थियो । 

राज्यको सबै मामिलामा अन्तिम अधिकार राख्नुहुने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले नसरल्लाहको मृत्यु ‘खेर नजाने’ प्रतिज्ञा गर्नुभएको छ ।

वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको बरफ क्षेत्र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सोनी काउन्टीको पुरोग काङ्गरी ग्लेशियरको हिस्सा हो ।

   ग्लेशियरहरूले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी समावेश गर्दछन् । यसअघि वैज्ञानिकहरूले गुलियाबाट तीन सय आठ दशमलव छ  मिटरको बरफको कोर ड्रिल गरेका थिए । यो सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको थियो ।

   वैज्ञानिकहरूले हाल पुरोग काङ्गरी ग्लेशियरबाट बरफको कोर निकालिरहेका छन् । उनीहरूले यो पुरानो बरफ रहेको विश्वास गरेका छन् । 

   “वर्तमानमा विश्वभरका हिमनदीहरू पग्लिँदै गएका छन् । एक पटक तिनीहरू पग्लिएपछि तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउनेछन्”, सिएएसका विदेशी शिक्षाविद् र अमेरिकन एकेडेमी अफ साइन्सेसका सदस्य लोनी थम्पसनले भन्नुभयो, “त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकाल्नु र संरक्षण गर्नु महत्त्वपूर्ण छ ।”

दुई सय वर्ष पुरानो रानीपौवाको धर्मशाला जीर्ण

म्याग्दी, १५ असोजः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन ।

तीर्थयात्रामा जाँदा खाने र बस्ने सामानसँगै लैजानुपर्दथ्यो । दिनभरि पैदलयात्रा गर्ने तीर्थयात्री साँझ–बिहान धर्मशालामा खाना पकाएर खाने र बस्ने गर्दथे । तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले आफ्नी रानीको इच्छाअनुसार विसं १८६३ मा मुक्तिनाथ मन्दिर नजिकै धर्मशाला बनाउन लगाउनुभएको थियो ।

रानीको नामबाट धर्मशाला निर्माण भएकाले सो ठाउँ रानीपौवाको नामले परिचय बनाएको छ । राजा गिर्वाणयुद्धले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका वसन्त बोगटीलाई मुक्तिनाथमा धर्मशाला निर्माणको जिम्मेवारी दिनुभएको थियो ।

बोगटीले पर्वतको कुश्मा नजिकैको छमर्केको जङ्गलबाट सालको काठ म्याग्दीको हिस्तान घराम्दीका भरिया लगाएर मुक्तिनाथ लैजानुभएको इतिहास छ । रानीपौवा निर्माण गर्ने जिम्मेवारी पूरा गरेबापत गिर्वाणयुद्धले वसन्त बोगटीलाई म्याग्दीको राखु पिप्लेमा तीन सय एक रोपनी जग्गा बक्सिस दिनुभएको थियो ।

सो जग्गामा तुलफूल लगाएर मुक्तिनाथ जाने आउने तीर्थयात्रीलाई खुवाउने र उत्पादित खाद्यान्न हरेक वर्षको जेष्ठी पूर्णिमाका गायत्री मन्दिरमा साधुसन्तलाई भोजन गराउने चलन अझै पनि छ । दुई सय १८ वर्षअघि ढुङ्गा, माटो र काठको प्रयोग गरेर निर्माण भएको दुईतले सो धर्मशालामा दैनिक पाँच सय जना बास बस्न सक्ने क्षमता रहेको हेरचाहकर्ता गोविन्द आचार्यले बताउनुभयो ।

“होटलमा बस्न सक्ने क्षमता र इच्छा नभएका तीर्थयात्रीहरू अझै पनि धर्मशालामा बास बस्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “मर्मत अभावका कारण धर्मशालाको भवनमा पानी चुहिन थालेपछि समस्या भएको छ ।” बडादसैँ र चैतेदसैँको सोह्र श्राद्धको समयमा तीर्थयात्रीको धर्मशालामा भीड हुन्छ । अन्य समयमा साधुहरूले धर्मशालामा आश्रय लिन्छन् ।

पानी धेरै पर्न थालेकाले माटोको छाना चुहिन थालेको र विसं २०७२ को भूकम्पले पर्खाल चर्किएकाले धर्मशालाको भवन जीर्ण बनेको आचार्यले बताउनुभयो । रानीपौवाको धर्मशालामा गत भदौसम्म प्रहरी चौकी पनि थियो । नयाँ भवन निर्माण भएपछि प्रहरी चौकीको कार्यालय धर्मशालाबाट सारिएको छ ।

स्वामी कमलनयनाचार्यले संरक्षण गर्नुभएको धर्मशालामा निःशुल्क भोजन र आवास सुविधा छ । मुक्तिनाथ र दामोदरकुण्डका तीर्थयात्रीका लागि दाताबाट दाल, चामल, तरकारी सहयोग जुटाएर मुस्ताङको रानीपौवाको साथै यारा, कागबेनी, जोमसोम, म्याग्दीको गलेश्वर, बागलुङको कुडुले, पञ्चकोट, पोखराको रामघाट, नवलपुरको त्रिवेणी र काठमाडौँमा धर्मशाला सञ्चालन भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले रानीपौवाको धर्मशाला मर्मतका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ९० लाख बजेट प्राप्त भएको बताउनुभयो । सो बजेटबाट धर्मशालाको ऐतिहासिक र मौलिकता ननासिने गरी मर्मतको काम गर्ने तयारी भएको उहाँले बताउनुभयो । माटोको छानोमाथि जस्तापाता राख्ने र पानी चुहिनबाट बचाउने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

बाढी–पहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौँ, १५ असोजः केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।

नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

वाशिङ्टनडिसी (अमेरिका), १५ असोजः नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम)सम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा)मा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौताअनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिने जनाइएको छ ।

उक्त सम्झौतापश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिकाबीचको सामूहिक चासोका विविध विषयमा छलफल गर्नुभएको थियो । स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित हुनुहुन्थ्यो ।

परराष्ट्रमन्त्री राणा आजै वाशिङ्टनबाट दोहा प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसियाली सहकार्य संवादको समिटमा भाग लिनुहुनेछ ।

देशभर पानी परीक्षणका लागि टोली खटाउन खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौँ,- खानेपानीमन्त्री प्रदीप यादवले पानीबाट विभिन्न रोग फैलिन सक्ने भएकाले देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरोले खानेपानीका मुहानमा बाढी एवं ढल पसेकाले पानीबाट विभिन्न रोग फैलन सक्नेतर्फ ध्यान दिँदै पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

उहाँले बाढीका कारण देशभर पानीका मुहानमा क्षति हुनुका साथै मुहानमा धमिलो पानी छिरेकाले पानी शुद्धिकरणका लागि आवश्यक ‘ब्लिचिङ पाउडर’, पीयूष, ‘एक्वा ट्याब’ वितरण गर्न निर्देशन दिनुभएको मन्त्री यादवका निजी सचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।

मन्त्री यादवको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभाग गुणस्तर सुधार तथा सेवा नियमन शाखÞाको समन्वय र सहजीकरणमा काठमाडौँका विभिन्न ठाउँमा ब्लिचिङ पाउडर, पियूष, एक्वा ट्याब वितरण थालिएको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अनुगमन तथा निरीक्षण गर्नु भई मन्त्री यादवले पानीको धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी काठमाडौँका पानी ट्याङ्कीमा खानेपानी आपूर्ति गर्न निर्देशन दिनुभयो । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा बागमती नदीको पानीमा बढेको धमिलोपनका कारण प्रशोधन प्रक्रिया अवरुद्ध भएको थियो । 

बाढीले गर्दा कीर्तिपुरस्थित सुन्दरीघाटको ‘इलेक्ट्रोमेकानिकल’ शाखामा रहेका महत्वपूर्ण उपकरण डुबेर क्षति पुगेको छ । मन्त्रालयको प्रारम्भिक आँकलन अनुसार, बाढीले रु एक अर्ब भन्दा बढीको सम्पत्तिमा क्षति पु-याएको छ ।

फोक्सिङटार पुलः १० वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो

खोटाङ-सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । विसं २०६९ चैत २३ गते सम्झौता भई १० वर्षपछि विसं २०७३ चैत २२ गते निर्माण सम्पन्न भएको थियो ।

खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारमा निर्माण भएको उक्त पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै शनिबार आएको बाढीले बगाएको छ । खोटाङका नागरिकको दैनिकीसँग जोडिएको उक्त पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको हो । 

पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । सम्झौताको १० वर्षपछि निर्माण भएको पुल शनिबारको बाढीले बगाएपछि आवागमनमा पुनः समस्या हुने उहाँले उल्लेख गर्नुभयो । 

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको उक्त मोटरेबल पक्की पुल एक सय २० मिटर लामो थियो । 

फोक्सिङटारस्थित पुल बाढीले बगाएपछि जिल्लाको विकास १० वर्ष पछाडि धकेलिएको अध्यक्ष आचार्यले बताउनुभयो । “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भ्यिाइन्थ्यो । पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो”, उहाँले भन्नुभयो, “पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले समयमा ध्यान दिएर यथाशीघ्र वैकल्पिक व्यवस्था गर्नु आवश्यक छ ।”
दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको उक्त सडक कालोपत्रको काममा ठेकेदार कम्पनीले लापरबाही गर्दा अलपत्र परेको स्थानीयले आरोप लगाएका छन् । 

मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङबाट फोक्सिङटार (२७ किलोमिटर) देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ । 

भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्नेगरी विसं २०७३ असार–३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दा उक्त सडक कालोपत्र सम्पन्न नभएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष आचार्यले बताउनुभयो ।

देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार खण्डको करिब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । रु ५५ करोड ८७ लाखमा विसं. २०७७ साउन १० गतेभित्र कालोपत्र सक्नेगरी विसं २०७३ साउन ११ गते सो खण्डको सम्झौता भएको थियो । 

तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा सोही मार्ग प्रयोग गरिने गरिएकामा निर्माण ठप्प हुँदा सास्ती हुँदै आएको अध्यक्ष आचार्यको भनाइ छ । 

सुरुदेखि काममा ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नगरी हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । 

“पछिल्लो समय थपिएको समयावधि गत वर्षको चैत मसान्तमा सकिएको हो । ठेकेदार कम्पनीको लापरबाहीले सडक कालोपत्रको काम बीचैमा छाडेर अलपत्र पारेपछि अहिले कुनै पनि सवारीसाधन सञ्चालन हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “अवरुद्ध काम पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म सम्बन्धित निकायले चासो दिएको देखिँदैन । यसको प्रत्यक्ष असर समग्र जिल्लावासीमा परेको छ ।”

सडकको काममा ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि एकमहिना काम ठप्प बनाएका थिए । कालोपत्रमा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक, होटल र पसलको भुक्तानी पाउँन नसकेका वडाध्यक्ष राईले जानकारी दिनुभयो ।  

“ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । थपिएको सम्झौता मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग गरिएका औजार लिएर ठेकेदार कम्पनी निर्माणस्थलबाट हिँडिसकेका छन्”,। उहाँले भन्नुभयो । अहिले बाढीले फोक्सिङटारमा निर्माण गरिएको पुल बगाएपछि आवागमनमा थप सास्ती हुने उहाँको भनाइ छ ।

पहिराेले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा पानी वितरण प्रभावित

दमौली (तनहुँ), १५ असोज : बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित मुहान नजिकको मुख्य पाइपलाइनमा क्षति पुगेपछि पानी वितरण प्रभावित भएको हो ।

पाइपलाइन मर्मत भइरहेकाले केही दिन पानी वितरणमा समस्या आउने खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाका बेला यसअघि पनि यहाँ बाढीपहिरोको समस्या थियो । मुख्य पाइपमा ठूलो क्षति पुगेकाले अझै केही दिन पानी वितरण गर्न सकिँदैन ।”

गत भदौ पहिलो सातापनि वर्षासँगैको बाढीपहिरोले व्यास–१३ निउरोघारीमा पाइपलाइन क्षति हुँदा एक सातासम्म पानी वितरण प्रभावित भएको थियो । हड्खलेले भन्नुभयो, “पहिरोले यहाँ बेलाबेलामा दुःख दिने गरेको छ । प्रत्येक महिनाजसो बाढीपहिरोले पाइपलाइन क्षति भइरहेको छ ।”

उक्त खानेपानी संस्थाले व्यास–१३ का दुई हजार छ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको हो । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कुल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको जनाएको छ । 

समितिले नगर विकास कोषको सहयोगअन्तर्गत रु तीन करोड ८१ लाख ऋण लगानीमा आयोजना निर्माणको सम्झौता गरेको थियो । 

खानेपानी तथा सरसफाइ क्षेत्र सह–लगानी आयोजनाअन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग रु तीन करोड ८१ लाख ऋण सहयोगमा सम्झौता गरिएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो । 

व्यास–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा सङ्घीय सरकारको ७० प्रतिशत अनुदान रकम, नगर विकास कोषबाट २५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत रकम उपभोक्ता समितिबाट बेहोर्ने गरी निर्माण थालिएको उहाँले जानकारी दिनुभयो । 

उक्त आयोजनाले सन् २०३३ सम्ममा छ हजार तीन सय ७८ परिवारलाई मुहान स्रोत र सम्पवेल पम्पिङमार्फत् चौबिसै घण्टा खानेपानी पु¥याउने लक्ष्य राखेको छ । 

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प

ढोरपाटन (बागलुङ), १५ असोजः बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्म सडक पुगे पनि हिउँदको समयमा यातायात सञ्चालन हुन्छन्, बर्खाको करिब चार महिना ठप्प हुन्छन् । बर्खामा सबैभन्दा कम तमानखोला गाउँपालिकामा सवारीसाधन सञ्चालन हुने गरेका स्थानीय बताउँछन् ।


तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गा दोभान बजारबाट वडा नं १ को स्याउला, पहिरागाउँ, वडा नं ३ को तमान, ४ को हिले लाम्मेला, वडा नं ५ को खुङ्खानीथास्पुरी र वडा नं ६ को नर्जाखानी, भित्रिवनपात्लेलगायत गाउँमा पुग्ने सडक ठप्प भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । जिल्लाका ग्रामीण सडकमा स्थानीय खोलामा पानीको बहाव नघट्दासम्म सञ्चालनमा आउनसक्ने स्थिति नरहेको उहाँले बताउनुभयो । 

असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारीसाधन सञ्चालनमा आउने बुढामगरले बताउनुभयो । “तीन वर्ष अगाडिसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्र बोङ्गा दोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो । ढोरपाटन नगरपालिका–४ हुन्द्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

अहिले पालिकाको केन्द्रबाट वडा नं २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नं ३ को तमान गाउँ पुग्नका लागि बुर्तिबाङबाट खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्रबाट भने हुन सक्दैन । सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच वटा मोटरेबल पुलको आवश्यकता पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नं ५ को खुङ्खानी पुग्न तीन, पहिरा पुग्न तीन, स्याउला र हिजा पुग्न एउटा पुल आवश्यक छ । अहिलेसम्म एक स्थानमा पुल बने पनि अरु स्थानमा पुल नबन्दा स्थानीय मर्कामा परेका अध्यक्ष बुढामगरले बताउनुभयो । 

“तमान खोलामा छरिएर रहेका गाउँ र बस्ती पनि छरिएका छन्, सबैतिर सडकको पहुँच पुगे पनि स्रोतसाधनको अभावले खोलामा पुल बनाउन सकिएको छैन । यहाँ करिब एक दर्जन पुल निर्माण हुनुपर्ने हो, सबै पुल बनाउन पालिकासँग बजेट छैन”, अध्यक्ष बुढामगरले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छौँ, बर्खाको करिब तीन महिना गाउँमा गाडी नचल्दा स्थानीयले समस्या भोग्नुपरेको छ ।”

जिल्लाको बडिगाड गाउँपालिकामा यस वर्ष पहिराले सडकमा ठूलो क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । यस वर्षको वर्षाले ग्रामीण सडक भत्किँदा करिब रु १५ करोडको क्षति भएको उहाँले बताउनुभयो । 

पालिकाले बर्खाले बिगारेको सडक मर्मतका लागि रु ६० लाख विनियोजन गरे पनि उक्त बजेटले केही ठाउँमा मात्रै सडक सञ्चालनमा ल्याउन सकिने अध्यक्ष अधिकारीले बताउनुभयो । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँ गाउँ, मालारानी, आरुपाटा, निगल पानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएका उहाँले जानकारी दिनुभयो ।

“यो वर्ष बडिगाडमा बाढीपहिरोले सडकमा ठूलो क्षति पु¥याएको छ, चाडवाड नजिक आइरहेका छन् । वर्षा नरोकिँदा सडक मर्मतमा समस्या भइरहेको छ । दुई साता अघि पानी पर्न कम भएपछि अवरुद्ध सडक खुलाउने तयारी गरे पनि अहिले पुनः वर्षा भएर सम्भव भएन्”, अध्यक्ष अधिकारीले भन्नुभयो, “असारको दोस्रो हप्तादेखि बडिगाडका ग्रामीण सडक बन्द छन् । चाडबाड दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिन भएको छ, हामी सडक सञ्चालन गर्न प्रयासरत छौँ ।”

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । तीन महिनादेखि गाउँमा आउने सडक पूर्ण रुपमा बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएको तमानखोला गाउँपालिका–६ का पूर्णबहादुर छन्त्यालले बताउनुभयो । हिउँदको समयमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा ठप्पै हुने बताउँदै दशक अगाडि गाउँमा सडक नपुग्दा पैदल हिँडेरै बजार पुगेर सामान ल्याउने गरेको उहाँले स्मरण गर्नुभयो । 

छन्त्यालले भन्नुभयो, “दसैँ आयो, बर्खा नलाग्दै बजारबाट ल्याएको सामान सबै सकिन थाल्यो । पानी निरन्तर परिरहेकाले खोलाको पानी घटेको सम्भावना अझै छैन, बर्खामा स्थानीयले धेरै समस्या भोग्नुपरेको छ ।” सडक मर्मत गरी आवागमन सहज बनाउन उहाँले सरोकार भएका निकायलाई आग्रह गर्नुभयो ।