`

मन्थलीमा शनिबारदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालन

मन्थली (रामेछाप), १५ असोजः जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्टेशनबाट वितरण गरिएको जिल्लाका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो ।

न्यू खिम्ती सवस्टेशनबाट मन्थली सवस्टेशनसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् खम्बा करिब ५२ घण्टाको मर्मतपश्चात् सोमबार साँझदेखि सेवा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण मन्थली मन्थली शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वैकल्पिक रुपमा जनकपुर ढल्केवर मन्थली जोडिएको लाइनको पनि मर्मत जारी रहेको छभने मन्थली सवस्टेशनबाट जिल्लाका विभिन्न भागमा वितरण गरिएको ११ केभीको वितरण लाइन पनि सञ्चालनको प्रयास भइरहेको छ ।  

विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लामा टेलिफोन, इन्टरनेट र खानेपानी सेवासमेत अवरुद्ध भएको थियो । विद्युत् सेवा सञ्चालन गर्न प्राधिकरणका कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय निकायका साथै रामेछापका ‘सहयोगी मन’का सदस्यहरुले सहयोग गर्नुभएको स्थानीय समाजसेवी विपीन भट्टराईले जानकारी दिनुभयो ।  

स्थलगत रिपोर्टः राजमार्गमा दृष्य एक, पीडा अनेक

मलेखु (धादिङ), १५ असोजः सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुप¥यो । झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुप¥यो ।

झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन ।

राजमार्गको घुम्तीघुम्तीमा झरेको पहिराले यात्रा जोखिमपूर्ण बनेको छ । चार दिनसम्म निरन्तर परेको वर्षापछि पाइलैपिच्छे झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट पूर्वपश्चिमका जिल्ला जाने सवारी छोड्नु अघि पहिरो पन्छाएर भ्याउने लक्ष्यसहित तीनै तहका सुरक्षा निकाय लागिरहेका बताउँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले छ सबै पहिरो सफा गरिसक्न अझ केही समय लाग्ने जानकारी दिनुभयो । 

राजमार्गका विभिन्न क्षेत्रमा रोकिएका सवारीसाधन सोमबार बिहानदेखि काठमाडौँ प्रवेश गरेका छन् । काठमाडौँतर्फ जानका लागि चार दिनदेखि सडकमा रोकिएका सयौँ सवारीसाधनलाई दिनभरि लगाएर प्रहरीले काठमाडौँ प्रवेश गराएको हो । “नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ”, सिलवालले भन्नुभयो, “जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनजर गरेर पनि साना तथा हल्का सवारीलाई धादिङको गल्छीबाट नुवाकोटको छहरे हुँदै काठमाडौँ पुग्ने सडक प्रयोग गर्न सहजीकरण गरिएको हो ।”

गल्छीबाट माथिल्लो क्षेत्रमा रहेका साना तथा हल्का सवारीसाधनलाई भने धार्के शीतापाइला सडकखण्डबाट काठमाडौँ प्रवेश गराइएको छ । अतिआवश्यकीय सामग्री (पशुचौपाया, दूधजन्य, मासुजन्य, तरकारी, खाद्यान्न) बोकेका सवारीसाधन र यात्रुवाहक बसलाई भने नौबिसे–नागढुङ्गा सडकखण्डको प्रयोग गरी काठमाडौँ प्रवेश गराइएको छ । 

नबिग्रिने सामान बोकेका मालवाहक तथा ठूला लामो दूरीका सवारीलाई भने खुला स्थानमा सुरक्षित भएर बस्न सहजीकरण गरिएको प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले राससलाई जानकारी दिनुभयो । पहिरोको आसपासमा रोकिएर बसेका सवारीसाधनको सङ्ख्या धेरै भएकाले सोमबार दिनभर काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई काठमाडौँतर्फ रोकेर अलपत्र परेका सवारीको उद्धार गरिएको उहाँले बताउनुभयो । काठमाडौँबाट पूर्वपश्चिम जाने सवारीसाधनलाई सोमबार साँझदेखि मात्रै नागढुङ्गा नौबिसे सडकबाट छोडिएको छ ।

राजमार्गको यात्रामा ढुक्क छैनन् चालक र यात्रु

सडकमाथि भित्ताबाट खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, पन्छाउँदै गरेको पहिराले साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण छ । दुईपाङ्ग्रे सवारीलाई भने निकै कष्ट छ । निरन्तर पहिरा जाने क्रम रहेकाले पनि सवारी चालक र यात्रु यात्रामा ढुक्क छैनन् । 

पहिरो खसेको, गुड्दागुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेका यात्रुको अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ । ‘हामी काठमाडौँ त पुग्छौँ नी ?, हामीलाई कुन बाटो ठीक होला ? भनेर नसोध्ने सायदै भेटिएनन् । त्रासको मानसिकतामा रहेका यात्रु निकै आत्तिएका देखिन्थ्ये ।’

गत शुक्रबार काठमाडौँबाट गोरखा जान निस्किए पनि पहिरोमा रोकिएर बल्ल गन्तव्यतर्फ हिँड्न लागेका माइक्रोबसका चालक विशाल श्रेष्ठ भन्नुहुन्छ, “हामी चालक डरैडरमा हिँडिरहेका छौँ ।” झ्याप्ले खोलाको पहिरो नजिक दुई दिन रात बिताएर सोमबार नुवाकोटको बाटो हुँदै धादिङको गल्छी निस्किनुभएका श्रेष्ठले राजधानी प्रवेश गर्ने सडकको कहाली लाग्ने पीडा सुनाउनुभयो । 

“धादिङको गल्छी, नुवाकोटको छहरे हुँदै काठमाडौँ आवतजावत गर्ने सडक पनि सवारी चापले त्यति सुरक्षित छैन । “बाटोमा ट्राफिक कतै भेटिँदैन । गाडीको सङ्ख्या अत्यधिक छ । साँघुरो बाटो, धेरै गाडी, तछाडमछाडसँग दौडिँदा दुर्घटनाको जोखिम छ”, श्रेष्ठले भन्नुभयो । 

नुवाकोटको बाटो प्रयोग गरेर पृथ्वी राजमार्ग आइपुगेका चालकको अनुभव पनि फरक छ । सोमबार दिउँसो काठमाडौँबाट नुवाकोटको छहरे हुँदै धादिङ जाँदै गर्नुभएका सरकारी सवारीका चालक विजयराज गिरी ‘रोशन’ भन्नुहुन्छ, “सवारीको चाप नहुँदा नुवाकोटको बाटो ठिकै होला तर, अहिले जोगिएर हिँड्नै मुस्किल छ ।” पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा आएको भए पनि राजमार्ग क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनका लागि अझै समस्या रहेको उहाँले बताउनुभयो । 

त्रिभुवन राजपथको झ्याप्ले खोला क्षेत्र, पृथ्वी राजमार्गको थाक्रे, गल्छी, गजुरीको जहरे, घाटबेंसी, बेनीघाटको चराँैदी र जोगिमारा क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो । दुईतर्फी सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने बताउँदै पहिरा पन्छाउने काम भइरहेकाले ठाउँठाउँमा यात्रुले जामको सामना गर्न बाध्य रहेका उहाँले उल्लेख गर्नुभयो । 

लामो समयसम्म जाममा बसेका यात्रुले शौचालयको प्रयोग गर्न नपाउँदा पनि सास्ती बेहोर्नु परेको छ । बिजुलीका खम्बा ढलेर विद्युत् अवरुद्ध हुँदा सञ्चार सम्पर्कविच्छेद हुने स्थानमा पुग्दा यात्रुलाई समस्या छ । बस्ती नभएका ठाउँमा सवारी रोकियो भने यात्रुले किनेर पनि खान पाउँदैनन् भने बजार क्षेत्रमा रोकिएका सवारीका यात्रुले महँगो मूल्य तिर्न बाध्य छन् । 

“हवाइजहाज चढ्न पैसाले धान्दैन । गाडी चढ्यो मरिन्छ की बाँचिन्छ पत्तो छैन”, पोखरा जाने सवारीमा भेटिनुभएकी तुलसा रेग्मीले भन्नुभयो, “सरकारले सबै काम छोडेर राजमार्गको यात्रा सुरक्षित गराइदिए हामीजस्ताको कल्याण हुने थियो ।”

दुईतर्फी बाटो सञ्चालन गर्ने क्रममा ठाउँठाउँको जाम छिचोल्दै आइपुगेका एम्बुलेन्स चालक र बिरामीका आफन्त निकै आक्रोसित देखिन्थे । ट्राफिक व्यवस्थापन नभएकाले आवश्यकताभन्दा बढी जाममा बस्नुपरेको उनीहरुको गुनासो थियो । सवारी र यात्रु सडकमा अलपत्र नपरोस्, यात्रामा कसैलाई अप्ठ्यारो नपरोस्, परिहाले समयमै उद्धार होस् भन्नाका लागि सशस्त्र प्रहरीलेसमेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ । 

सोमबार दिउँसो गल्छी गाउँपालिका–२ घाटबेंसीको पहिरो पन्छाउने क्रममा भेटिनुभएकी सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेंसीका प्रहरी नायब उपरीक्षक लक्ष्मी थपलियाले सम्भावित जोखिम कम गर्न चौबिसै घण्टा सडकमा खटिरहेको बताउनुभयो ।

यसै हप्ताबाट दसैँको रौनक सुरु हुँदैछ । सडकको अवस्था दयनीय छ । जहाजको टिकट महँगो छ । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप बढ्नै बाँकी छ । चाडपर्वको मुखमा हरेक वर्ष ठूलाठूला दुर्घटना भएका उदाहरण प्रशस्तै छन् । सडक दुर्घटनाबाट हुने क्षति कम गर्न सबैक्षेत्र र निकायको समन्वय अनिवार्य देखिन्छ ।

स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति

कमलामाई (सिन्धुली), १५ असोजः वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति भएको हो ।

सिन्धुलीकोे सुनकोशी गाउँपालिका–१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ लुगी जोड्ने पक्की पुल पूर्ण रुपमा बगाएको सुनकोसी–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कुशेश्वर दुम्जास्थित खैरनीघाटको पुल रोशी र सुनकोसी नदीमा आएको बाढीले बगाउँदा खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रीलाई सास्ती भएको छ । 

खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले पक्की पुलसँगै सुनकोसी–५ रामटारबाट खाँडादेवी–३ सित्खा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको बताउँदै सुनकोसीबाट खाँडादेवी जोड्ने बेलघारी झोलुङ्गे पुल र चैनपुरबाट पुछिघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो । यी पुलमा क्षति हुँदा सिन्धुलीसँगको सम्र्पक टुटेको उहाँले बताउनुभयो । 

उपाध्यक्ष घिसिङले भन्नुभयो, “रामेछापलाई सिन्धुलीसँग जोड्ने एउटा पक्की र एउटा झोलुङ्गे पुल बाढीले पूर्ण रुपमा बगाएको छ । दुई वटा झोलुङ्गे पुल आवतजावत गर्न नमिल्ने गरी क्षति भएका छन् ।” यसले खाँडादेवीबाट नियमित सिन्धुली पढ्न जाने ३५ जना विद्यार्थीको पठनपाठन प्रभावित बनेको उहाँले जानकारी दिनुभयो । सिन्धुली आउन प्रयोग गर्दै आइएको पुल बाढीले बगाउनुका साथै नदीमा पानीको बहाव ठूलो भएकाले समस्या सिर्जना भएको उहाँले बताउनुभयो । 

यसैगरी, गोलञ्जोर गाउँपालिका, सिन्धुली र मन्थली गाउँपालिका, रामेछाप जोड्ने दुई वटा पुल बगाएको छ । गोलञ्जोर–७ खुर्कोटस्थित एउटा पक्की र एउटा झोलुङ्गे पुल सुनकोसीमा आएको बाढीले बगाएको हो । मन्थलीतर्फ पक्की पुलको एउटा स्पान बगाएको र सोही पुल नजिकै रहेको झोलुङ्गे पुल पूर्ण रुपमा बगाउँदा रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बुसँगको सम्पर्क टुटेको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  

बाढीले पुल बगाउँदा रामेछापबाट आउने तरकारी तथा फलफूल ल्याउन नसकिँदा खुर्कोट बजार क्षेत्रमा ताजा तरकारीको अभाव भएको होटल व्यवसायी मनोजकुमार श्रेष्ठले बताउनुभयो । जताततै सडक अवरुद्ध हुँदा होटल व्यवसाय ठप्प भएका उहाँको गुनासो थियो । 

फिक्कल गाउँपालिका, सिन्धुलीअन्तर्गत रहेका दुई वटा झोलुङ्गे पुल पूर्ण रुपमा बगाएको छभने तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष राज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार फिक्कल–४ खाङ्साङबाट चम्पादेवी गाउँपालिका–१ ओखलढुङ्गा जोड्ने र फिक्कल–६ सुनकोसी गाउँपालिका–१ ओखलढुङ्गा जोड्ने पुल पूर्ण रुपमा बगाएको हो । 

फिक्कल–४ सुनकोसी–२ जोड्ने, फिक्कल–५ सुनकोसी–१ जोड्ने र फिक्कल–५ सुनकोसी–२ जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको उपाध्यक्ष बरालले जानकारी दिनुभयो । आवागमनको धेरै चाप हुने पुल बाढीले बढाउँदा दैनिक उपभाग्य वस्तु ओसारपसार तथा आवातजावत गर्ने यात्रुलाई समस्या परेको उहाँको भनाइ छ । पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन नसकेका उहाँले जानकारी दिनुभयो ।

सिन्धुली हुँदै रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजाने कठिन भएको छ । बाढीपहिरोले बगाएका तथा क्षति गरेका संरचना जतिसक्दो चाँडो पुनःनिर्माण गरिदिन सुनकोसी गाउँपालिका–१ गोइरीकी कृष्णमाया तोलङ्गे तीनै तहका सरकारसँग आग्रह गर्नुभयो । “तीन दिन परेको पानीसँगै आएको बाढीपहिरोले कतै पुल तथा सडक बगाएको, कतै सडक भासिएको छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकार र सरोकार भएकाले यथाशीघ्र क्षति भएका संरचनाको मर्मत गर्नुका साथै बाढीपहिरो पीडितलाई राहत तथा उद्धारको काममा अग्रुरता दिनुपर्छ ।”

बाढीपहिरोले बगाएका तथा क्षति गरेका पुल र भत्किएका सडक पुनःनिर्माण गरेर सञ्चालनमा आए दुःखजिलो जीवन निर्वाह गर्न सकिने तोलङ्गेले बताउनुभयो । विपद्को समयमा सबै एकजुट भएर सहकार्य र समन्वय गरी प्रभावित नागरिक र क्षेत्रका पक्षमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १५ असोजः पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो ।

सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ । 

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।  

यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सड्कको मर्मत सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिनुभयो । सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको उहाँले बताउनुभयो । आज बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले जानकारी दिनुभयो ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १५ असोजः नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ८० रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १५ पैसा र बिक्रीदर चार रुपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ आठ पैसा र बिक्रीदर २० रुपैयाँ १७ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ४९ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।     वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव

काठमाडौँ, १५ असोजः खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधि, सङ्घीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधिसँगको छलफलमा मन्त्री यादवले मेलम्चीका बाढी, पहिरोपीडितका मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “सङ्घर्ष समितिका जायज मागप्रति हामी चिन्तित छौँ, । मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छु ।” खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको एक हप्तादेखि आफूले मेलम्ची पीडितका विषयमा जानकारी लिइ यस विषयलाई गम्भीरताका साथ लिएको उहाँले जानकारी गराउनुभयो ।

मन्त्री यादवले मेलम्चीका बाढीपीडितका समस्या समाधान गर्ने विषयमा आफूले अनौपचारिक रुपमा मन्त्रिपरिषद्मा कुरा उठाएको र प्रधानमन्त्री, गृहमन्त्रीसँग पनि छलफल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीपीडितका मुद्दाप्रति मन्त्रालय सकारात्मक छ । छलफल र समन्वयमार्फत समस्या समाधान गर्नुपर्छ ।”

मेलम्चीपीडितका समस्या समाधान गर्न कति सम्भव छन्, राज्यले तत्काल के के गर्न सक्छ ? उक्त विषयमा गृहकार्य गरी एउटा समिति बनाउनुपर्ने भन्दै यसका लागि मन्त्रालयले पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय यहाँहरुका जायज माग पूर्ति गर्न लागिरहेको छ । छलफलमार्फत सबैको हित हुने गरी समिति गठन गरी काम अगाडि बढाउने छौँ ।”

जनाताले आफ्ना जायज माग सम्बोधन गराउन सरकारविरुद्ध सडक सङ्र्घष गर्नुपर्ने अवस्था आउने विषय उपयुक्त नभएको बताउनुहुँदै मन्त्री यादले भन्नुभयो, “सरकारले समस्याको सही समाधान गर्नुपर्छ । समस्या कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न तपाईंहरुलाई मन्त्रालयमा बोलाएको हुँ । काठमाडौँवासीलाई पानी खुवाउने महान् कार्यमा यहाँहरुको सहयोग आवश्यक छ । सहजीकरण गरिदिनुहुन्छ भन्ने आशा लिएको छु ।”

विसं २०७८ पुस २२ गते बसेको सरकारको मन्त्रिपरिषद् बैठकले (मेलम्ची खानेपानी आयोजना) पुनःनिर्माणसम्बन्धी योजना स्वीकृत गरेको थियो । सोअनुसार भौतिक पूर्वाधार मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास तथा भवन निर्माण मन्त्रालयबाट आफ्नो विषयगत क्षेत्रमा पूर्वाधार पुनःस्थापना तथा पुनःनिर्माण गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद्बाट पारित भएको उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायले इमान्दारितापूर्वक कार्यान्वयन गर्न यादवले आग्रह गर्नुभयो । छलफलमा सहभागी भएका मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधिहरुले आफ्ना मागका विषयमा सरकारले सुनुवाइ गर्नुपर्ने भन्दै तत्काल पानी काठमाडौँ पठाउन सहयोग गरिने बताउनुभएको थियो । 

बागमती प्रदेश सरकारले विपद् प्रभावितको निःशुल्क उपचार गर्ने

बागमती, १४ असोज : बाढीपहिरो लगायतका विपद् प्रभावितको बागमती प्रदेश सरकारले निःशुल्क उपचार गर्नेभएको छ । बागमती प्रदेश सरकारको प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् प्रभावित नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशको १३ वटै जिल्लाको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिलाई रकम पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित जिल्लाका मृतक परिवारलाई राहत उपलब्ध गराउने गरी जिल्ला विपद् व्यवस्थापन समितिमा रकम पठाउने निर्णय गरेको छ । 

बैठकले विपद्बाट बढी प्रभावित काभ्रेपलाञ्चोकलाई रु ६० लाख, धादिङलाई रु ५० लाख, ललितपुरलाई रु ३० लाख, काठमाडौँ र सिन्धुपाल्चोकलाई रु २० लाख, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर र भक्तपुरलाई रु १०÷१० लाख राहत वितरणका लागि उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो । 

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० को दफा ३ अनुसार खोज उद्धार तथा प्रतिकार्यका लागि कार्यविधिको दफा ५(१) अनुसार १३ वटै जिल्लाका विपद् व्यवस्थापन कोषमा रु पाँच÷पाँच लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सो बैठकले अवरुद्ध सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तहसँग समन्वय गरी कामअघि बढाउने र सोका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने

काठमाडौँ, १४ असोज : नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनः स्थापनाकार्यमा अग्रसरता लिने भएको छ ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टीको ‘बाढी पहिरो पीडित राहत तथा पुनःस्थानपना समन्वय समिति’को आज बसेको बैठकले उपरोक्त कार्यका लागि आवश्यक समन्वय गर्ने समेत निर्णय गरेको पार्टीका कावा मुख्यसचिव डा प्रदिप पराजुलीले जानकारी दिनुभयो ।

बैठकले बाढी पहिरो ग्रस्त क्षेत्रमा भएको जनधनको क्षति र बाढी पहिरोको कारण नागरिकले भोग्नुपरेको कठिनाई, उद्धार, राहत, सुरक्षा र पुनःस्थानपनालगायत विषयमा अबिलम्ब काम गर्न पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सुझावपत्र बुझाउने निर्णय गरेको छ ।

यसैगरी बाढी पहिरो वढी प्रभावित प्रदेशका प्रदेश सरकारलाई उद्धार, राहत र पुनःस्थानपनाका सन्दर्भमा थप क्रियाशील बनाउन कांग्रेस प्रदेश कार्यसमितिको तर्फबाट ध्यानाकर्षण गराइने र त्यसका लागि पार्टी केन्द्रले, प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

बाढी र पहिरोबाट पीडित परिवारको सुरक्षा गर्न, तत्काल राहत उपलब्ध गराउन र अस्थायी आवास निर्माण एवं पुनःस्थापनाकार्यलगायत प्रभावकारी ढङ्गले काम गर्न गराउन कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकारलाई क्रियाशील बनाउने बैठकको निर्णय छ ।

कांग्रेसले नेपाल लोकतान्त्रिक इन्जिनियर्स एशोसिएशन (सिडेन)को संयोजनमा डिपान तथा सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित विज्ञ समूह गठन गरी बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

यसैगरी नेपाल विद्यार्थी सङ्घको संयोजनमा बाढी पहिरोले क्षति बनाएका र प्रभावित क्षेत्रमा वसोवास गर्ने परिवारका लागि तत्काल राहत आवश्यक भएको स्थान पहिचान गरी स्थानीय प्रशासन र स्थानीय सरकारसँग समेत समन्वय गरी राहत सामग्री उपलब्ध गराइने छ । नेपाल महिला सङ्घको संयोजनमा बाढी पहिरो ग्रस्त र प्रभावित समुदायमा सचेतना र तहगत सरकारसँग समन्वय गरी स्वास्थ्य शिविरलगायता कार्यक्रम सञ्चालन गर्ने बैठकको निर्णय छ ।

बैठकले नेपाल तरुण दलको संयोजनमा लोकतान्त्रिक खेलकुद सङ्घसँग समेत समन्वय गरी वाढीले भत्काएका संरचनाको व्यवस्थापन तथा वाढी र नदिजन्य फोहोर पसी निजी तथा सार्वजनिक स्थानमा भएका अवरोध हटाई आवश्यक स्थानमा स्थानीय सरकारसँगको समन्वयमा अस्थायी आवास संरचना निर्माण गर्ने निर्णय गरेको कावा मुख्यसचिव डा पराजुलीले बताउनुभयो ।

हेवा खोलाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ

ताप्लेजुङ, १४ असोज : शनिबारको घनघोर वर्षासँगैको आएको बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको झण्डै ४५ मिटर लामो बेलिब्रिज बगाएपछि यातायातमा कठिनाइ भएको छ ।

ताप्लेजुङ जिल्लाका लागि “लाइफलाइन” का रुपमा रहेको उक्त पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन् । ढुवानीका सवारीसाधनहरु ठप्प छन् ।

फिदिम–ताप्लेजुङ चल्ने छोटो दुरीका यात्रु बोक्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन् । तर दुवैतर्फका गाडी हेवा खोलासम्म मात्र पुग्छन् । हेवा खोलामा पुगेका यात्रुले केहिबेर हिँडेर त्यहाँ रहेको झोलुङ्गे पुल हँुदै वारपार गर्नुपर्छ र अर्को गाडी चढ्नुपर्छ ।

अर्कातर्फ राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण बाटो अवरुद्ध हुँदा इलाम, झापा जाने यात्रु थप मारमा परेका छन् । मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर यातायात सहज तुल्याउन प्रयास गरिरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

यता फिदिम नगरपालिका र पाँचथरका सुरक्षा निकायले हेवा खोलामा यात्रुको सहजताका लागि मोटरसाइकलसम्म वारपार गराउन मिल्ने गरी बाँसको फड्के बनाउन थालेका छन् ।

धरानबाट ताप्लेजुङ र पाँचथर पुग्ने छोटो दूरीको निर्माणाधीन तमोर करिडोरको सडक समेत अवरुद्ध छ । ठाउँठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ भने मोटरेबल पुल नभएका खोलाहरुमा सवारीसाधन ओहोरदोहोर गर्ने अवस्था छैन । निर्माणकै क्रममा रहेको करिडोर सञ्चालनमा आएपनि यस अन्तर्गतका धेरैवटा खोलामा पुल बनिसकेका छैनन् ।

सोमबार केही यात्रुबाहक र सामान बोकेका साना सवारीसाधन दोभान, हाम्पाङ, तेह्रथुमको सक्रान्ती, म्याङ्लुङ हुँदै धरान गएका छन् भने धरानबाट उक्त ठाउँहरू हुँदै सवारीसाधनहरु ताप्लेजुङ पनि आएका छन् ।

आठराई त्रिवेणी गाउँपालिका हुँदै तेह्रथुम जोड्ने उक्त सडकलाई तत्कालका लागि वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भन्दै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमू सहितको टोलीले सोमबार सडकको अनुगमन गरेको छ । “वैकल्पिक रूपमा यस क्षेत्रका तीन वटा सडकलाई प्रयोग गर्न सकिन्छ । यीमध्ये कुन सहज हुन्छ भन्ने एकिन गर्न र मर्मत गर्नुपर्ने ठाउँको पहिचान गर्न अनुगमन गरिरहेका छाँै, तेह्रथुमतर्फ पनि समन्वय गर्दैछौँ,” अध्यक्ष पोमूले भन्नुभयो ।

हेवा खोलाको पुल गत वर्षको असारमा समेत बाढीले बगाउँदा महिनौं सास्ती भएको थियो । सडक विभागले उक्त समयमा बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालनमा आएको थियो । शनिबार आएको बाढीले त्यही बेलिब्रिज बगाएको हो । साधारणतया यात्रुले असहज रूपमा विभिन्न विकल्प अपनाएर यात्रा गरे पनि ताप्लेजुङबाट तराईतर्फ उपचारका लागि जानुपर्ने बिरामी, वृद्धवृद्धा, अशक्तलाई समस्या हुने देखिएको ताप्लेजुङ निवासी हरिकुमार लिम्बूले बताउनुभयो ।

पुल बगेसँगै ढुवानीका साधन केही बीचैमा अलपत्र परेका छन् भने ताप्लेजुङ हिँड्न लोड भएका केही साधन झापामै रोकिएको ताप्लेजुङ ढुवानी सेवाका कुमार तामाङले बताउनुभयो । ढुवानी सेवा मार्फत् झापादेखि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ताप्लेजुङ आउने गरेको छ भने यहाँबाट अलैँची लगायतका सामान लैजाने गरिएको छ ।

ढुवानी सेवा ठप्प हुँदा सामान्यतया समस्या भएपनि तत्काल ताप्लेजुङमा दैनिक उपभोग्य सामानको भने अभाव नरहेको उद्योग वाण्ज्यि सङ्घ ताप्लेजुङले जनाएको छ । सङ्घले तत्काल उपभोग्य सामग्रीको मौज्दात पर्याप्त रहेको निष्कर्ष सहित शनिबार नै कृत्रिम अभाव सिर्जना र मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ भने उपभोक्तालाई समेत आत्तिएर सामान खरिद नगर्न भनेको छ ।

“बजारमा करिब दुई हप्तालाई पुग्ने गरि दैनिक उपभोग्य सामानको मौज्दात देखिएको छ, कृत्रिम अभाव सिर्जना नगर्न, मूल्यवृद्धि नगर्न सबै व्यवसायीलाई सूचना गरेका छौँ । दुई हप्ताभन्दा लामो समयसम्म सडक अवरुद्ध भए त्यसपछि समस्या होला,” सङ्घका सचिव खेम केसीले भन्नुभयो ।

पुल नहुँदा यातायातमा कठिनाइ हुने र लामो समय ढुवानीका साधन चल्न नसक्ने अवस्था आए समस्या हुन सक्ने भन्दै सर्वसाधारणले भने चिन्ता व्यक्त गरेका छन् । चाडबाड सुरु भएको साथै पाथीभरा मन्दिरको दर्शनका लागि आउने भक्तजनका लागि ठूलै समस्या हुने भएकाले तत्काल समस्या समाधानमा ध्यान दिन आवश्यक भएकामा स्थानीयको जोड छ ।

यता पहिरोले काबेली करिडोर विद्युत् प्रशारण लाइनमा क्षति भई विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ समेत अन्धकारमा छ । पहिराले काबेली करिडोर एकसय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढालेकाले विद्युत् अवरुद्ध भएको हो । उक्त टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङ अन्धकारमा परेका छन् ।

विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण सहित व्यवसायीहरू पनि मारमा छन् । यही समयमा ताप्लेजुङका निजी विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेकाले बालबालिकालाई समस्या भएको अभिभावकले बताएका छन् । यस्तै स्थानीय सञ्चारमाध्यम रेडियोहरूले समेत आफ्नो प्रसारणको समय कटौती गरेका छन् ।

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

काठमाडौँ, १४ असोज : यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ ।

गृहमन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिनुभयो । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।  

खोज तथा उद्धारकार्य जारी रही आज नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, विरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धारकार्यलाई आवश्यकतानुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ । 

संयुक्त राष्टसङ्घीय निकाय र लजिष्टिक क्लष्टरका साझेदार संस्थासँग बैठक गरी राहत सामग्रीको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको तथा सबैखाले राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गरिने उहाँले आज साँझ जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।  

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्ग सूचारु गर्ने, तत्काल सूचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायबाट विपद्् प्रभावितलाई आपतकालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ ।”

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने

काठमाडौँ, १४ असोज : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका प्रेस संयोजक गोपाल झापालीले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चाल गर्न सडक तथा पुल सुधार र मर्मत गर्न सो रकम लाग्ने जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार हालसम्म यातायात अवरुद्ध रहेका राजमार्गको सङ्ख्या १४ र स्थान ४२ रहेका छन् । जसमध्ये अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी कोरिडोरलगायत छन् । 

  हालसम्म क्षति भएका पुलको सङ्ख्या पाँच रहेको मन्त्रालयले जनाएको  छ । जसमध्ये सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिङटार र अरनिको राजमार्गको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुल रहेको छन् । लार्चा र हेवा खोलाको दुई बेलिब्रिजमा पनि क्षति पुगेको जनाइएको छ । 

मन्त्रालयका अनुसार हालसम्म भएका प्रयासमध्ये पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ–खण्डको विभिन्न स्थानमा अवरोध हटाई एकतर्फी यातायात सञ्चालन भएको छ । 

घर फर्किने सुरसारमा छन् सुकुम्वासी बस्तीका सर्वसाधारण

काठमाडौँ- बाढीबाट विस्थापित थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीका धेरै परिवार वर्षा रोकिएसँगै घर फर्किरहेका छन् । बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बस्ती डुबानमा परेको थियो । बाढीले विस्थापित कतिपय परिवारले बस्ती छेउकै गुह्ेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आश्रय लिए । बाँकीले आफन्तको सहारामा रात बिताए ।

विद्यालयमा आश्रय लिइरहनु भएका ५३ वर्षीया मङ्गलबहादुर मगर आइतबारदेखि घर फर्किएर सरसफाइमा जुट्नुभएको छ । डुबानमा परेको घरको छानो छ, तर छानोमुनिको कोठाहरु हिलाम्मे छन् । हिलो सुक्न नपाइ घरभित्र बस्न सक्ने स्थिति छैन । बाढीले बगाएर बचेका हिलाम्मे लत्ताकपडा, भाँडा, फर्निचर र खाद्यान्न बागमती किनारामा लहरै सुकाइएका छन् । 

घर फर्किने तयारी गरिरहनुभएका उहाँलाई वर्षातसँगै फेरि बाढीको त्रासले छाडेको छैन । “एक दशक पुग्न लाग्यो यो बस्तीमा बसेको । तर पहिलो पटक यति बिघ्न बाढीको सामना गर्नुप¥यो । मेरो परिवारको अन्त जाने ठाँउ छैन । बसौँ, बाढीको डर छ”, हिलाम्मे कपडाहरु बागमतीकै पानीले धुँदै उहाँले भन्नुभयो, “चाडपर्व नजिकिँदै गर्दा घरको अन्य महत्वपूर्ण सामग्रीसँगै खाद्यान्न पनि बग्यो ।” 

बुवालाई सफाइमा सहयोग गरिरहनुभएका मगरका कक्षा १ र ४ मा पढ्ने दुई छोरीले पनि गुनासो सुनाउनुभयो, “हाम्रो किताब र झोला झिज्यो । आज स्कुल जान पाएनौँ ।” थापाथलीको सुकुम्बासी बस्तीमा एक सय ३६ परिवार बसोबास गर्दै आएका छन् । 

आज काठमाडौँवासी नियमित दैनिकीमा फर्किँदै गर्दा सुकुम्वासी बस्तीका परिवार पनि सामान्य दैनिकीमा फर्किने तयारीमा देखिन्थे । सुकुम्वासी बस्तीमा वर्षौँदेखि बस्दै आउनुभएका गोपाल पौडेलको परिवारले भने डुबान भइसकेपछि पनि घर छोडेनन् । बस्तीमा पौडेल परिवार कोठाभित्रको हिलो सुकाउन र सफाइमा व्यस्त हुनुहुन्छ । 

“पसलको सामान बाढीले बगायो । बचेका सामानको सुरक्षाका लागि बाढीको पहिलो दिनदेखि यहीँ बसेका छौँ”, पौडेलले भन्नुभयो, “असहज पक्कै छ । तर बस्तीका आधा परिवारले घर छाडेका छैनन् ।”

टेकु, थापाथली, त्रिपुरेश्वर आसपासका बस्तीका परिवार पनि बाढीपछि घर फर्किने तयारीमा छन् । त्रिपुरेश्वर र सानेपा जोड्ने बागमती पुल नजिकैको वंशीघाटमा किराना पसल गर्दै आउनुभएका वीजबहादुर मोक्तानको परिवार सरसफाइमा जुटेका छन् । 

विगत ३५ वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएको बताउने मोक्तानको परिवारले अझै आफन्तको घरमा बास लिइरहेको छ । मौसममा सुधार आएसँगै बाढी पसेको घरको सरसफाइमा उहाँको परिवार जुटेको हो । बस्तीमा बाढी पस्ने त्रास भएपनि बास सार्ने विकल्प नभएको उहाँको भनाइ छ । 

“दुई तीन महिनाअघि पानीको प्रवाह बढेर घरको दैलोसम्म आएको थियो । तर अहिले घर डुबानमा पर्ने गरी आयो । हामीले आफूलाई जसोतसो बचायौँ”, मोक्तानले भन्नुभयो, “बहुत डर लागेको छ । तर यहीँ बसेर आधा जीवन बितिसक्यो, अहिले कहाँ जाने ?”  मोक्तान परिवारसँगै सुकुम्वासी बस्तीमा करिब एक सय ९७ घरपरिवार छन् । केही परिवार घर फर्किसकेका छन् भने बाँकी फर्किने तयारीमा छन् । 

काभ्रेमा अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो

काठमाडौँ, १४ असोज : काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमटिरपूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ महिला ४९ पुरुष र तीन बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको हो ।

यस्तै काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल ल्याइएका ४२ महिला, ३३ पुरुष र आठ बच्चा गरी ८३ जनालाई काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

‘हेर्दाहेर्दै खाना बनाउदै गरेकी श्रीमती पहिरोमै पुरिइन्…म बाँच्न सफल भएँ’

काठमाडौँ, १४ असोज : राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन ।

रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ । इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ ।

चिन्तित मुद्रामा रिमालले भन्नुभयो, “म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे ।” आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी ?

रिमालको दायाँपट्टीको करङ फुस्किएको छ । उहाँको उक्त भाग चलेको छैन । मङ्गलबार अपरेशन हुने भनिएको छ । चौरी देउराली गाउँपालिका–६ काभ्रेका रिमाललाई शनिबारको उक्त कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ । उहाँलाई समय ठ्याक्कै याद छैन, सायद बिहानको ११ बजेको हुनुपर्छ । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन् । रिमाल छेउकै घरको बार्दलीमा बसिरहनुभएको थियो । बिहीबारदेखि परेको अविरल वर्षाले राम्रो सङ्केत दिइरहेको थिएन । एक्कासी माथिबाट आएको पहिरोले घर पु¥यो । हेर्दाहेर्दै श्रीमती पुरिइन् ।

पहिरोमा परेको दुई घण्टासम्म उहाँले उद्धारका लागि गुहार गर्नुभयो । हारगुहार गर्दागर्दै बेहोस हुनुभयो । चार घण्टापछि होस खुल्दा उहाँले आफूलाई एकैपटक अस्पतालका बेडमा पाउनुभयो ।

आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताउनुभयो । गला अवरुद्ध पार्दै उहाँले भन्नुभयो, “विसं २०४६ सालमा त्यो घर बनाएको हो । यो पालि यस्तै भयो ।”

ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेसाले सवारी चालक हुनुहुन्छ । शनिबार लगातार वर्षा भइरहेको थियो । गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उहाँलाई हुत्याएर पानीमा लग्यो । तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो । उहाँकी श्रीमती सीताले आइतबार दिउँसो ३ बजेतिर थप उपचारको लागि उहाँलाई ट्रमा ल्याएको बताउनुभयो । सुजनलाई हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ ।

हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ । उहाँहरूमध्ये छ जना उपचारपछि घर फर्कनुभएको छ । सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामछोप, दोलखा, काभ्रेबाट आएका छन् । उहाँले भन्नुभयो, “चोटपटक लागेका ‘जटिल केश’ नै आएका छन् । ‘रिफरल केश’ पनि छन् । हालसम्म एक जनाको सर्जरी भएको छ भने तीन जनाको सर्जरी गर्ने तयारीमा छौँ ।”

त्यसैगरी वीर अस्पतालमा हालसम्म एक जना मात्र घाइतेको उपचार भएको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा सुरेशन नेपालले जानकारी गराउनुभयो ।

पाटन अस्पतालमा हालसम्म १० जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ । तीन जना डुबेका घाइते र सात जना पहिरोमा परेका उपचार गरिएको अस्पालका निर्देशक डा रवि शाक्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”

सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोको घटनाबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपद्बाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ । उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकश्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

गाजा युद्ध सुरु भएयता गाजा पट्टीका दुई–तिहाइ भवन क्षतिग्रस्त

सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएयता गाजा पट्टीका दुई–तिहाइ भवन क्षतिग्रस्त वा नष्ट भएको संयुक्त राष्ट्रसङ्घले सोमबार बताएको छ ।
राष्ट्रसङ्घीय उपग्रह केन्द्र (युएनओएसएटी–युनोस्याट) ले आफ्नो क्षति मूल्याङ्कनलाई अद्यावधिक गर्दै सेप्टेम्बर ३ र ६ मा सङ्कलन गरिएका रिजोल्युसनका तस्बिरहरूले स्पष्ट रूपमा बिग्रँदो अवस्था देखाएको बताएको छ ।

“यो विश्लेषणले गाजा पट्टीमा कूल संरचनाको दुई–तिहाइ भवन क्षतिग्रस्त भएको देखाउँछ”, युनोस्याटले भनेको छ, “गाजा पट्टीमा क्षतिग्रस्त भवनहरूको उक्त ६६ प्रतिशतले कूल एक लाख ६३ हजार सात सय ७८ संरचनालाई समेटेको छ ।”

जुलाईको प्रारम्भका तस्बिरहरूको आधारमा अन्तिम मूल्याङ्कनले प्यालेस्टिनी क्षेत्रका ६३ प्रतिशत संरचना क्षतिग्रस्त भएको निर्धारण गरेको थियो ।

सोमबारको अद्यावधिकले क्षतिमा अहिले ‘५२ हजार पाँच सय ६४ संरचना नष्ट भएको, १८ हजार नौ सय १३ गम्भीर रूपमा क्षतिग्रस्त भएको, ३५ हजार पाँच सय ९१ सम्भवतः क्षतिग्रस्त संरचना रहेको र ५६ हजार सात सय १० मध्यम रूपमा प्रभावित’ भएको बताएको छ । 

गाजा सहर विशेष रूपमा प्रभावित भएको युनोस्याटले बताएको छ । गाजा सहरमा ३६ हजार छ सय ११ संरचना नष्ट भएका छन् । 

युनोस्याट र राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले गाजा पट्टीका करिब ६८ प्रतिशत स्थायी बाली क्षेत्रमा सेप्टेम्बरमा ‘स्वास्थ्य र घनत्वमा उल्लेखनीय गिरावट’ देखिएको बताएका छन् । 

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

काठमाडौँ, १४ असोज : नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा ललितपुर क्वीन्सले काठमाडौँ स्पाइकर्सलाई पराजित गर्दै प्रतियोगितामा विजयको सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौँलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलमा पहिलो सेट ललितपुरले काठमाडौँमाथि २५–२० ले जित्यो ।

 खेलको दोस्रो सेट भने काठमाडौँले आफ्नो पक्षमा पा-यो । काठमाडौँले ललितपुरमाथि २५–२१ को जित निकाल्यो । त्यसपछिको खेलमा ललितपुर नै विजयी भयो । ललितपुरले खेलको तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै जित हासिल ग-यो ।  

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्वीन्स, मधेस युनाइटेड, चितवन शक्ति,  गण्डकी थन्डर्स र टिम कर्णाली छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ । 

सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । फाइनल खेल यही असोज १९ गते हुनेछ । उक्त प्रतियोगिताका लागि टिकट दर ‘भिआइपी’तर्फ रु एक  हजार पाँच सय र साधारणतर्फ रु एक हजार निर्धारण गरिएको छ ।

स्थलगत रिपोर्ट : दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले

चितवन, १४ असोज : तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ–मुग्लिन सडकले भने यसपटक ठूलो विपत्ति झेल्नु परेन । वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि आइतबार बिहानसम्म स्थानीय प्रशासनले यो सडकखण्डमा आवतजावत बन्द ग¥यो । विगतमा एकै पटक पहिराले दुई वटा बस त्रिशूलीमा खसालेको घटनाबाट पाठ सिकेर प्रशासनले समयमै सावधानी अपनायो ।

तीन दिनसम्मको वर्षाले नौ किलोमा सडक भासिएको थियो भने केराबारी, टोपीखोला, घुमाउने र सिमलतालमा माथिबाट खसेको पहिरो समयमै पन्छाएर आइतबारदेखि सडक नियमित सञ्चालनमा आयो । सडक बन्द गरिएको समयमा अत्यावश्यक सवारीसाधन आधा घण्टाभन्दा बढी रोकिनु परेको थिएन ।

राजधानी काठमाडौँ आवतजावत बन्द भए पनि यो सडकखण्ड आइतबार बिहानबाटै नियमित सञ्चालनमा छ । सोमबार यो सडकखण्ड यात्रा गर्दा सवारीसाधनहरु बिना अवरोध सरर हुइँकिरहेका देखिन्थे ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटमा भेटिनु भएका बा प्र.०३–००१च ०३४२ नम्बरका बोलेरो चालक नवीन गुरुङ मुग्लिन कटेपछि आनन्दको श्वास फेरेको बताउँदै हुनुहुन्थ्यो । काठमाण्डौँबाट आज बिहान सबेरै हिँड्नुभएका गुरुङले काठमाडौँको सितापाइलाबाट रामकोट हुँदै धार्के निस्केर आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो सडक छिरेपछि खासै दुःख छैन ।”

सोही सडक हुँदै नारायणगढतर्फ आउँदै गर्नुभएका बा.प्र.०३–२६ च ४१६१ नम्बरको बोलेरो चालक आशिष गुरुङ काठमाडौँबाट आउँदा पृथ्वी राजमार्गले निकै दुःख दिएको गुनासो गर्नुभयो । बिगत समयमा नारायणगढ–मुग्लिन सडकखण्डले दुःख दिने गरेको भन्दै अहिले भने निकै सहज भएको बताउनुभयो ।

गोरखाबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ७५७ नम्बरको बसका चालक श्यामबहादुर हुमागाईं नारायणगढ–मुग्लिन सडकखण्ड सहज भएको बताउँदै आजै गोरखा फर्किने बताउनुभयो । दासढुङ्गामा भेटिनुभएका उहाँले अन्यत्र ठूलो क्षति भए पनि यो सडकखण्डमा पहिरोले धेरै समस्या नदिएको बताउनुभयो ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा ०१०२९ च ४५९४ नम्बरको विद्युतीय (इभी) माइक्रो गाडीका चालक नकुल पराजुली मुग्लिन कट्दासम्म कुनै समस्या नभएको बताउनुहुन्छ । लेवाटारमा गाडी चार्ज गरिरहनुभएका पराजुलीले ठूलो वर्षा भएपनि सडकमा दुःख नपाएको बताउनुभयो ।

यो सडक पूर्ण रुपमा सञ्चालनमा आएपनि काठमाडौँ प्रवेश गर्ने सडकमा अझै समस्या हुँदा यहाँ सवारीको चाप निकै कम देखिन्छ । पोखरा, बेसीशहर, गोरखा, बाग्लुङ लगायतका ठाउँबाट आएका सवारीसाधन धेरै भए पनि काठमाडौँबाट आएका सवारीसाधन निकै कम छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मा यो वर्षातमा नारायणगढ–मुग्लिन सडकले दुःख नदिएको बताउनुहुन्छ । उहाँको भनाइमा एक ठाउँमा सडक धसिएको र केही ठाउँमा साना पहिरा खसेको बताउनुहुन्छ । नौ किलोमा दुई फिट सडक भासिएको थियो । झण्डै १० मिटर लामो भागको आधा सडक भासिएपछि एकतर्फी सडक सञ्चालनमा आएको थियो । त्यसलाई ग्राभेल हालेर मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

सडक खण्डको केराबारी, टोपेखोला, घुमाउने र सिमलतालमा साना पहिरा खसेको भए पनि धेरै दुःख नदिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नारायणगढ–मुग्लिन सडक बढीमा आधा घण्टाभन्दा धेरै रोकिनु परेन ।” अहिले पनि उच्च सावधानीका साथ काम गरिरहेको शर्माको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समयमै आवागमन बन्द गराएर हुन सक्ने जोखिमबाट बच्न सकिएको बताउनुहुन्छ । नारायणगढ–मुग्लिन सडकमा यो वर्षामा खासै पहिरो खसेको छैन । रातको समयमा कुनै अप्रिय घटना नहोस् भन्नका लागि समयमै सावधानी अपनाइएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चालक र यात्रुको उच्च दबाबका बाबजुद हामीले सवारी रोकेर सावधानी अपनायौँ ।”

सो सडकमा द्रुत उद्धार टोली तयारी अवस्थामा राखेर काम भइरहेको उहाँ बताउनुहुन्छ । डिभिजन सडक कार्यालय, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, सशस्त्र प्रहरी लगायत सबै तम्तयार अवस्थामा रहेर सडक सहज सञ्चालनमा जुटेको उहाँको भनाइ छ ।

सवारीसाधनलाई नियमन कडाइका साथ गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०० र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५१ मा उल्लेख भएअनुसार यात्रुवाहक सवारी चालकले चलानीमा यात्रुको पूरा विवरण भरेर प्रहरी पोष्टमा बुझाउनुपर्ने हुन्छ । यो व्यवस्था भए पूर्ण रुपमा लागू नभएकोमा मङ्गलबारबाट कडाइका साथ लागू गर्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार चालकलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएर ट्राफिक नियम पालना गर्न लगाइँदै छ ।

चाडपर्वको क्रममा सवारी चाप निकै बढ्ने भएकाले खाद्यान्न बाहेकका सामग्री बोकेका १४ चक्काभन्दा बढीका सवारीलाई प्रस्थान बिन्दुमै रोक्न पत्राचार गरिएको छ । यो सडक हुँदै यसरी सामग्री बोकेर आउने सवारीसाधन भैरहवा र वीरगञ्जबाट आउने गर्दछन् ।

यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् । राजधानीको लाइफलाइनका रुपमा नारायणगढ–मुग्लिन सडकखण्डलाई लिने गरिन्छ । गएको असार २८ गते यसै खण्डको सिमलतालमा दुई वटा बस पहिराले बगाउँदा धेरैले ज्यान गुमाउनुपरेको थियो । कतिपय अझै बेपत्ता छन् । बस अझै फेला परेको छैन । त्यतिबेला पनि पहिले पहिरो नखसेको ठाउँमा अकस्मान लेदो बगेर दुर्घटना भएको थियो ।

चाडपर्व नजिकिएसँगै पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।


सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा  एक, डिजेलमा  दुई, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा  ४५, मट्टीतेलमा  दुई रुपैयाँ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली  ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । 


इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ,अचानो झिँगाले भरिएको र फोहरको डङ्गुर

जनकपुर, १४ असोज : जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । मापदण्ड विपरीत सञ्चालित मासु पसलको कारण स्थानीय माछा बजार, रेल्वे स्टेशन, पिराडी चोक लगायतको स्थान दुर्गन्धित बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी प्रभाकर झाका अनुसार मासु पसल अनुगमन गर्ने क्रममा अधिकांश पसलको दर्ता नरहेको पाइएको हो ।

उहाँले मासु काट्ने अचानो झिँगाले भरिएको, जताततै फोहरको डङ्गुर जस्ता समस्या देखिए पनि ऐन अभावमा कारबाही गर्न नसकिएको बताउनुभयो । “जनकपुरधाम उपमहानगरपालिकामा रहेकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अवैध छन्”, उहाँले भन्नुभयो ।

यहाँ सञ्चालनमा रहेको मासु पसलको यकिन तथ्याङ्क नभए पनि अधिकांश पसल अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेको झाले बताउनुभयो । उपमहानगरपालिकाभित्र अनुमानित एक सयभन्दा बढी सङ्ख्यामा मासु पसल सञ्चालनमा छन् । सोमध्ये केही खुला रुपमै बिक्री वितरण हुँदै आएको छ । “कारबाही गर्ने अधिकार स्थानीय तहलाई छ तर मासु जाँच ऐन २०५५ परिमार्जन नभएकोले कारबाही गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । 

ऐन परिमार्जनबारे तीनै तहको सरकारबीच छलफल भएको प्रमुख झाले जानकारी दिनुभयो । सरसफाइ अभावमा विभिन्न प्रकारका सरुवा रोग फैलिने सम्भावना बढेको उपभोक्ता हित संरक्षण मञ्च धनुषाका अध्यक्ष बटुकनाथ झाको गुनासो छ । 

अखाद्य वस्तु खुवाएर जनताको स्वास्थ्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नभएकोले सम्बन्धित निकाय तत्काल गम्भीर हुन जरुरी रहेको सामाजिक अभियन्ता अमितकुमार ठाकुर बताउनुहुन्छ । 

“माछामासु पसल उपभोक्ताको हित विपरीत सञ्चालनमा छन् । यसले सिधै मानव स्वास्थ्यमा असर परिरहेको छ”, ठाकुरले भन्नुभयो, “स्थानीय सरकारले बजार अनुगमनलाई तीव्रता दिनुका साथै माछामासु पसलका लागि व्यवस्थित बजार र पशुवधशालाको व्यवस्था गर्नुपर्छ ।” भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा सञ्जिवकुमार ठाकुरले न्यूनतम मापदण्ड पूरा नगरी माछा तथा पशुपक्षीका मासु बिक्री गर्ने पसल सञ्चालनमा रहेको स्वीकार गर्नुभयो ।

नगरपालिकाले नियमित अनुगमन गरेर न्यूनतम मापदण्ड पूरा नगर्ने मासु पसललाई कारबाही गर्न अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । “हामीले नियमित अनुगमन गर्दै आएका छौँ, तर प्रभावकारी नभएकाले उपभोक्ता सचेत हुनुको विकल्प छैन”, डा ठाकुरले भन्नुभयो । 

अस्वस्थकर मासु खुवाएर जनताको स्वास्थ्यमा खेलबाड गर्ने मासु व्यापारी तथा व्यवसायीको पसल बन्द हुनुपर्ने अर्का पशु विज्ञ डा पवनकुमार झा बताउनुहुन्छ ।

बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारबाट कुनै कमी हुने छैन : प्रधानमन्त्री

काठमाडौँ, १४ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताउनुभएको छ ।

अमेरिकाको न्यूयोर्कमा ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारी एवं जनस्तरबाट विपद्मा परेकाको उद्धार जारी छ । सरकार उहाँहरूको साथमा छ । म उहाँहरूलाई विश्वास दिलाउँछु कि यस विपद्मा सहयोग गर्न, राहत पर्‍याउन र उद्धार गर्न सरकारबाट कुनै कमी हुने छैन ।”

उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले विपद्का समयमा अपनाइएको सुझबुझ र धैर्यताका लागि देशवासीलाई धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो । उहाँले विपद्मा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले ठूलो जनधनमा क्षति पुर्‍यायो । धेरै जनताको मृत्यु भयो । धेरै अझै बेपत्ता हुनुहुन्छ । कयौँ घाइते हुनुहन्छ । म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा प्रधानमन्त्री ओलीबाट भएका कार्यक्रमबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भन्नुभयो, “प्रधानमन्त्रीको यस भ्रमणका सबै कार्यक्रम फलदायी भएका छन् ।”

महासभाको साइडलाइनमा विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग भेटघाट गरी द्विपक्षीय तथा बहुपक्षीय हित र चासोका विषयमा छलफल तथा कुराकानी भएको थियो ।

प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिन तयार गरिएको विज्ञप्तिमा वाचन गर्दै प्रवक्ता राईले महासभामा सम्बोधन तथा सो अवसरमा विभिन्न द्विपक्षीय महत्त्वपूर्ण भेटवार्ता भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा तथा ‘समिट अफ द फ्युचर’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही असोज ४ गते न्यूयोर्क प्रस्थान गर्नुभएको थियो ।

असोज ६ र ७ गते संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ‘समिट अफ द फ्युचर’ सम्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रको समूहको अध्यक्षको हैसियतमा त्यस समिटको मुख्य सत्रमा सम्बोधन गर्नुभएको थियो ।

“मैले समिटले पारित गरेको ‘प्याक्ट फर द फ्युचर, ग्लोबल डिजिटल कमप्याक्ट र डिक्लेरेसन्स अन फ्युचर जेनरेसन्स’लाई अतिकम विकसित राष्ट्रहरूका समूहले स्वागत गरेको उल्लेख गरे,” प्रधानमन्त्री ओलीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, “सम्बोधनको क्रममा मैले यी सहमतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव राखेको छु । जसबाट अतिकम विकसित राष्ट्रहरूले भोगी रहेको गरिबी, भोकमरी, असमानता एवं जलवायु परिवर्तनलगायत समस्याको पनि समाधान हुने विश्वास व्यक्त गरेको छु ।”

त्यसैगरी प्रधानमन्त्री ओलीले असोज ६ गते ‘समिट अफ द फ्युचर’को ‘साइडलाइन’ मा आयोजित अन्तरक्रिया संवादको पनि अध्यक्षता गर्नुभएको थियो । उक्त सत्रमा ३७ सदस्य राष्ट्रसहित बिभिन्न संस्थाका ५० जनाले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले महासभाको छलफलमा सहभागी हुँदै असोज १० गते महासभालाई सम्बोधन गर्नुभएको थियो । “सम्बोधनमा मैले नेपालमा अभ्यास गरिँदै आएको परिपूर्ण लोकतन्त्र तथा यसका आधारभूत पक्षहरू मानव अधिकार, लैगिङ्क समानता, कानुनको शासन, सामाजिक न्याय र सामाजिक सुरक्षाको विषयमा प्रकास पारेँ,” प्रधानमन्त्री ओलीले विज्ञप्तिमा भन्नुभएको छ, “हामीले आफ्नो मौलिक शान्ति प्रक्रियामा प्राप्त गरेका उपलब्धिको बारेमा बताउँदै त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन आवश्यक परिपूरण तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको लागि जोड दिएँ ।”

त्यसैगरी प्रधानमन्त्रीले जलवायु परिवर्तन तथा यसले गर्दा नेपालको हिमालमा पारेका प्रभावहरू र त्यसका निराकरणका उपायहरू, हिमाली राष्ट्रहरूका समस्याको समाधानका लागि विश्व समुदायको यथोचित ध्यानाकर्षण गराउनुभएको थियो । विकासशील मुलुक र खासगरी नेपाललगायत अतिकम विकसित मुलुकमा दिगो विकासका लक्ष्यको प्राप्तिमा गम्भीर बाधा एवं चुनौति देखापरेको बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि पर्याप्त आर्थिक तथा प्राविधिक सहयोगका लागि अवश्यक साधनस्रोतको व्यवस्थाका हुन विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।

अतिकम विकसित तथा भूपरिवेष्टित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले ती राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिनुभएको थियो । सम्बोधनको क्रममा उहाँले समकालीन विश्वका प्रमुख मुद्दा, मानवअधिकार, आतङ्कवाद तथा निशस्त्रीकरणबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको बडापत्रमा निहीत सिद्धान्त र उद्देश्यप्रति नेपालको अटुट प्रतिबद्धता दोहोर्‍याउँदै त्यसले विश्वशान्ति, मानव अधिकार तथा विकासका क्षेत्रमा खेलेको भूमिकाको सराहना गरेको छु । बढ्दो भूराजनीतिक प्रतिस्पर्धा, हतियारको होडबाजी, विश्वभरी बढ्दो द्वन्द्व र यो संवेदनशील समयमा बहुपक्षीयता थप सुदृढीकरण हुनुपर्ने तथा संयुक्त राष्ट्रसङ्घको सुधार तथा पुनःसंचनामा जोड दिएको छु ।”

त्यस्तै असोज ९ गते प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित समुद्री सतह बढ्दा हुने चेतावनी विषयक उच्चस्तरीय बैठकको मुख्य सत्रमा पनि सम्बोधन गर्नुभएको थियो । सो सत्रमा उहाँले भन्नुभएको छ, “मैले जलवायु परिवर्तनले हिमालको पर्यावरणमा ल्याएका गम्भीर चुनौतिमध्ये अत्यधिक मात्रामा हिउँ पग्लिने कारणबाट समुद्रतटको जनजीवन तथा मुलुक सङ्कटमा परेको बताउँदै हिमालदेखि समुद्रसम्मको एकीकृत अवधारणाबाट नै समस्याको समाधान गर्न सक्ने सुझाव अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको छु । समुद्र सतह बढ्नु परिणाम हो, हिमाल पग्लिनु कारण हो । त्यसैले कारणलाई सम्बोधन गर्नुपर्नेमा मैले जोड दिएको छु । ”

प्रधानमन्त्री ओलीले असोज ९ गते साँझ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले आयोजना गर्नु भएको ‘रिसेप्सन’ मा सहभागी हुँदा अमेरिकी राष्ट्रपतिसँग नेपालका बारेमा संक्षिप्त कुराकानी भएको थियो ।

यसैगरी असोज ९ गते संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित जलवायु जोखिम मञ्च विषय बैठकमा उहाँले जलवायु परिवर्तनका कारकहरूले नेपालजस्ता अति प्रभावित मुलुकलाई बढिभन्दा बढी आर्थिक र प्राविधिक सहयोग प्रदान गर्नु पर्नेमा जोड दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले असोज ५ गते राष्ट्र सङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै नेपालको शान्ति प्रक्रियामा भएको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घको सहयोग, संयुक्त राष्ट्रसङ्घको विकास र सुदृढीकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालको योगदानको विषयमा छलफल गर्नुभएको थियो ।

असोज १० गते प्रधानमन्त्री ओलीले महासभाको ७९औँ सत्रका अध्यक्ष फिल्मेन याङसँग द्विपक्षीय भेटवार्ता गरी ७९औँ सत्रका लागि तोकिएका प्राथमिकता तथा नेपालसँगको सहकार्यका विषयमा छलफल गर्नुभएको प्रवक्ता राईले वाचन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

महासभामा संसारभरबाट ७० राष्ट्रप्रमुख र ४८ सरकारप्रमुख र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री तहसमेतमा गरी एक सय ८९ राष्ट्रको प्रतिनिधित्व भएको थियो ।

असोज ६ गते प्रधानमन्त्री ओली र छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटघाट हुनुका साथै नेपाल र भारतबीचको बहुआयामिक द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

असोज ६ गते प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री दासो छिरिङ्ग तोग्बेसँग, असोज ९ गते बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाकार मोहम्मद युनुससँग तथा असोज १० गते पाकिस्तानका प्रधानमन्त्री मोहम्मद सहबाज सरिफसँग भेटवार्ता भएको थियो । यी मुलुकसँग रही आएको मित्रवत सम्बन्ध तथा बहुपक्षीय विषयमा आपसी सहकार्यलाई थप सुदृढ गर्ने बारेमा उहाँले छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसँग असोज १० गते छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका स्टेट काउन्सीलर एवं परराष्ट्रमन्त्री वाङ्ग यीले द्विपक्षीय भेट गरी नेपाल–चीनबीचको बहुआयामिक द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ एवं विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।

असोज ६ गते मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले भेटघाट गर्नुका साथै उहाँबीच नेपालको शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा भएको प्रगतिको बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँग असोज ५ गते महासभाका दौरान भूपरिवेष्ठित मुलुक, अतिकम विकसित मुलुक एवं साना टापु मुलुकका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालका उच्च प्रतिनिधि तथा उपमहासचिव रबाब फतिमाले शिष्टाचार भेट गर्नु भएको थियो ।

असोज ७ गते प्रधानमन्त्री ओलीले न्यूयोर्कस्थित कोलम्बीया विश्वविद्यालयमा नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको यात्रा विषय कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यसैगरी, असोज ११ गते उहाँले बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा सङ्क्रमणकालीन न्याय र जलवायु न्यायमा नेपालको दृष्टिकोण विषयमा सम्बोधन गर्नुभएको थियो । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल उपस्थित हुनुहुन्थ्यो ।

पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौँ, १४ असोज : केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कानुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । बाढीपहिराका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ । विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन् ।

बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सात÷सात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक÷एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन् ।

काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ । यस्तै सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ । कोशीको पाँचथरमा छ, सोलुखुम्बुमा पाँच, धनकुटा र झापामा तीन÷तीन, सुनसरी र इलाममा दुई÷दुई, तेह्रथुम र ओखलढुङ्गामा एक÷एक, मधेसको महोत्तरीमा दुई र रौतहटमा एक तथा लुम्बिनीको रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

बाढीपहिरोबाट २०४ को मृत्यु

विपद्का घटनामा परी देशभर दुई सय चार जनाको मृत्यु भएको भने ८९ जना घाइते भएका छन् । अझै ३३ जना हराइरहेका छन् । कोशीमा २३, मधेसमा तीन, उपत्यकामा ८२, बागमतीमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ । पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ । यस्तै विभिन्न जिल्लामा पाँचवटा पक्की पुल सात वटा झोलुङ्गे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ । विपद् प्रभावित तीन हजार चार सय एक जनाको हालसम्म उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ ।

अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु

भद्रपुर (झापा), १४ असोज : जिल्लाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ ।
गएराति बिर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको न्यौपानेको आज बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय टिकाराम रायको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मेची नदीको बीचमा शव भेटियो

भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलस्थित मेची नदीको बीच भागमा एक व्यक्तिको शव भेटिएको छ । प्रनाउ चन्दका अनुसार कालो पाइन्ट लगाएको, शरीरको माथिल्लो भागको कपडा नभएको आधा शरीर पुरिएको घोप्टो अवस्थामा शव फेला परेको बताउनुभयो ।     प्रहरीका अनुसार उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक

काठमाडौं । अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रुपमा देख्न सकिन्छ । नम्रता केसी को कोरियोग्राफी तथा प्रहिल कार्की निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईँको छायांकन, माधव वेलवासेको सम्पादन छ ।गायिका रानी शाक्यले यसअघि दर्जनौ गीतहरु दर्शकमाझ ल्याइसकेकी छिन् ।

नेपाली सेनाद्धारा बाढीपहिरो प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार

काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदमा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ ।

गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभे्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी आज बेलुकीसम्म सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

‘बिपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका पाँच सय ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घाइतेलाई अस्पतालसम्म पुरयाइएको छ’, प्रवक्ता तिवारीले भने, ‘निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ ।’

गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए । ‘हवाइ उद्धार अन्तिम अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘आवश्यकताअनुसार भोलि पनि हवाइ उद्धार हुन्छ ।’

सेनाको टोलीले उद्धारसँगै हवाइ साधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउँदै आएको छ । गृह मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन र राहत वितरण भइरहेको जनाइएको छ ।

विपद्का घटनामा सुरक्षाकर्मीले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढीको सकुशल उद्धार गरेको जनाएको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार बेलुकीसम्म विपद्मा परी दुई सय नौ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार विपद्का कारण अवरुद्ध राजमार्ग सुचारु गर्ने क्रम जारी छ । कतिपय बढी प्रभावित राजमार्गमा वैकल्पिक सडक सञ्चालनको तयारी भइरहेको छ ।

वर्षासँगै आएको बाढीले इमाडोलका उद्योगहरुमा क्षति ,करोडौँको भौतिक सम्पत्ति नष्ट

ललितपुर, १४ असोज : अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पु-याएको छ । यस क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र रु एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ । कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पु-याएको छ ।

उहाँले भन्नुभयो, “केही मेसिनहरू पूर्णरूपमा नष्ट भएका छन् भने केही मर्मत हुने सम्भावना न्यून छ । दसैँका लागि बजार पठाउन तयार पारिएका र अन्तिम चरणका अर्डरहरूसमेत बाढीले सखाप बनायो ।” 

कारखानामा २० वर्षदेखि काम गरिरहनुभएकी लक्ष्मी प्रधानले बाढीले पु-याएको नोक्सानीप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कोरोनापछि बल्लतल्ल कामले गति लिँदै थियो । बेलैमा काम सकेर दसैँमा घर झापा जाने तयारीमा थिएँ तर, एकाएक पानी पसेर कारखानाका सबै सामान बर्वाद बनायो ।” पहिलोपटक आफूले यस्तो विपत्ति देखेको पनि उहाँको अनुभव छ ।

“पहिला अलिअलि पानी बगेर आउँथ्यो तर, यसपल्ट सामान मात्रै होइन, मान्छे नै बगाउने गरी पानी बढ्दा डर लाग्यो”, गएको दुई वर्षदेखि काम गर्दै आउनुभएका अर्का कामदार गोकुल दुलालले आफ्नो अनुभव सुनाउनुभयो । 

बाढीले इमाडोलमै रहेको अर्काे प्रिन्टिङ प्रेसलाई पनि ठूलो नोक्सान पारेको छ । प्रेस सञ्चालक कृष्णमान श्रेष्ठ भौतिक सम्पत्तिको नोक्सानीले चिन्तित हुनुहुन्छ । करिब रु एक करोड ५० लाख बराबरको सम्पत्ति नोक्सान भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि कहिल्यै यति ठूलो बाढी आएको थिएन । पानीले कारखाना र गोदाममा रहेका सबै सामान काम नलाग्ने बनाइदियो । भाग्यवश घर बग्नबाट भने जोगियो ।” 

शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएका पीडित अहिले आआफ्नो सरसामान स्याहार्न जुटिरहेका छन् । यहाँका बासिन्दा आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन् ।

लुम्बिनी प्रदेशमा विपद्बाट एक करोड ४३ लाख बराबरको क्षति

लुम्बिनी, १४ असोज : लुम्बिनी प्रदेशमा विपद्बाट रु एक करोड ४३ लाख बराबरको क्षति भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरो तथा डुबानका ३२ वटा घटना भएको जनाइएको छ । यस अवधिमा अधिक वर्षा, बाढीपहिरो तथा डुबानका घटना घटेका हुन् ।

विपद्मा परेर तीनको मुत्यु, दुई घाइते र एक बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिनुभयो । बाढीमा परेर रुपन्देहीमा दुई र पानीमा डुबेर बाँकेमा एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षति भएको छ । तीन वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । सात वटा गोठमा क्षति पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो । 

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट

आर्थिक सङ्टकमा परेको श्रीलङ्काको अर्थतन्त्रमा ३९ वर्षमा पहिलो पटक उपभोक्ता मूल्यमा गिरावट आएको सरकारी आँकडाले सोमबार देखाएको छ । आँकडाअनुसार सेप्टेम्बरको मुद्रास्फीति ऋणात्मक शून्य दशमलव पाँच प्रतिशतमा झरेको छ ।

जनगणना तथा तथ्याङ्क विभागको आँकडाले अगस्टमा शून्य दशमलव पाँच प्रतिशत मुद्रास्फीति रहेकामा सेप्टेम्बरमा खाद्य र गैर–खाद्य वस्तु दुवै वस्तुको मूल्यमा गिरावट आएर अपस्फीति भएको देखाएको छ । यसअघि सन् १९८५ अक्टोबरमा ऋणात्मक दुई दशमलव एक प्रतिशतको अपस्फीति दर्ता गरिएको थियो । 

दुई वर्षअघि श्रीलङ्कामा अभूतपूर्व आर्थिक सङ्कटको चरम अवस्थामा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत पुगेको थियो । खाद्यान्न, इन्धन र औषधिको चरम अभावलले महिनौँसम्म विरोध प्रदर्शन हुँदा अन्ततः तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षले अस्थायी रूपमा मुलुक छाड्न र सन् २०२२ जुलाईमा पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो । 

उहाँका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले दुई अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को राहत प्याकेज प्राप्त गर्नुभयो र अर्थतन्त्रलाई स्थिर बनाउन कर र मूल्य वृद्धि गर्नुभयो ।

यसै महिनाको प्रारम्भमा राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे पराजित हुनुभयो । निर्वाचनमा विजयी अनुरा कुमारा दिसानायकेले आइएमएफ कार्यक्रमलाई जारी राख्ने तर यसले लागु गरेका केही कठोर मितव्ययी उपायलाई खुकुलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियाे प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने

काठमाडौं । अभिनेताद्वय बिजय बराल र प्रकाश सपूत अभिनित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियाे प्रतियोगिता गर्ने भएको छ । चलचित्रको निर्माण टिमले ‘मेरो “बा” को संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियाे प्रतियोगिता आयोजना गरेको हो।

प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियाे बनाएर पठाउनुपर्नेछ। सहभागीहरुले आफुले बनाएको भिडियाे आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।

सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियाे बनाई [email protected] मा पठाउनुपर्नेछ। साथै, सहभागीहरुले भिडियाे सामाजिक संजालमा पोस्ट गर्दा अनिवार्य रुपमा #PURNABAHADURKOSARANGI, #KARTIK15, #7SEASCINEMA, #MEROBAKOSANGARSHA, #VIDEOCOMPETITION साथै fb.com/7seascinema अथवा fb.com/7seasentertainment लाई ट्याग गर्नुपर्नेछ।

सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ। प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ।

विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियाे बनाएर पठाउने २० जनाले चलचित्रको २/२ वटा टिकट फ्री पाउनेछन् । सहभागीहरुले भिडियाे कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय

काठमाडौँ, १४ असोज : वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । सङ्घको आज बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो ।

 ‘यस विपद्को घडीलाई तथा सर्वसाधारणको हितलाई ध्यानमा राख्दै सङ्घले भदौ १३ गते जारी गरेको ‘अपर फेयर’ माथिल्लो भाडादरको टिकट सडक सञ्जाल सञ्चालन नभएसम्म कायम राख्ने निर्णय गरेको छ’ सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 हवाई भाडा महङ्गो भएको नागरिकस्तरबाट गुनासो आएपछि सङ्घको आइतबारको बैठकले सोमबार, मङ्गलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय गरेको थियो । 

 अध्यक्ष कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज होस् भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गर्नुभयो । बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध हुदाँ हवाइ उडानमा यात्रुको चाप बढेको छ ।

 आइतबार र सोमबार उडान चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि

काठमाडौँ, १४ असोजः बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ । वर्षा र बाढीको प्रभावले फलफूल तथा तरकारी भित्र्याउन नसकिएपछि राजधानीमा अभाव हुँदै गएको थियो । फलफूल तथा तरकारीको परिमाण भित्र्याउने क्रम आजदेखि बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्र्याइएको थियो । आइतबार एक सय ७९ टन फलफूल र तरकारी भित्र्याइएको थियो । आज दिउँसोसम्म चार सय ५० टन फलफूल तथा तरकारी भित्र्याइएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । राजमार्ग खुलेर सवारी चल्न थालेपछि राजधानी ल्याइने फलफूल तथा तरकारीको परिमाण वृद्धि हुन थालेको हो । तरकारी फलफूल भित्र्याउने क्रम बढेसँगै मूल्य पनि घट्ने समितिले जनाएको छ । सामान्य अवस्थामा राजधानीमा छ सय देखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्र्याइने गरेको उहाँले बताउनुभयो ।

पूर्वी एवं मध्य नेपालमा तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएपछि राजधानीमा फलफूल तथा तरकारी ल्याउन कठिनाइ भएको हो । थोरै परिमाणमा मात्र ल्याइएपछि फलफूल र तरकारीको मूल्य वृद्धि भएको थियो ।

सवारी खुलेसँगै जाममा बसेका सवारीसाधन भित्रने क्रम बढेको छ । जाममा फसेका सवारीले बोकेका तरकारी केही मात्रामा बिग्रिएको जनाइएको छ । मङ्गलबारदेखि भने ताजा तरकारी र फलफूल राजधानी भित्र्याइने समितिले जनाएको छ । राजधानीमा धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, मधेश प्रदेशका केही जिल्लाबाट फलफूल तथा तरकारी ल्याउने गरिएको छ । मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी ल्याउने गरिएको समितिले जनाएको छ ।

म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती

म्याग्दी, १४ असोजः जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जाँै र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो ।

प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो । “लोप हँुदै गएको परम्परागत जाँै र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ ।”

परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जाँै र उवाखेती गरिने भएको छ । परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताउनुभयो ।

किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।

झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । जौँ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जाँै र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ ।

जाँै हिन्दू धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।

अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो

बागमती, १४ असोजः वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक आज बिहानबाट खुलेका छन् ।

यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोका कारण थानकोट–कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो । अवरुद्ध अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

बाढी सम्बन्धी सन्देश दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस

काठमाडौँ, १४ असोज : जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल टेलिकम र एनसेलबाट उक्त एसएमएस पठाइएको हो ।

जल तथा मौसमविज्ञान विभागका बाढीविद् विनोद पराजुलीले एनसेलबाट करिब २१ लाख ७२ हजार र नेपाल टेलिकमबाट १९ लाख २१ हजार मोबाइल एसएमएस सर्वसाधारणलाई पठाइएको जानकारी दिनुभयो । “प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले सर्वसाधारणलाई मोबाइल एसएमएस पठाउन नेपाल टेलिकम र एनसेलसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो”, उहाँले भन्नुभयो, “असोज ११ र १२ गते गरी दुई दिनमा मात्रै विपद्को जोखिम भएको क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई एसएमएस पठाएका थियौँ  ।”

हाल जल तथा मौसम विज्ञान विभागले मनसुनजन्य विपत्तिबाट जोगाउन वार्षिक ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले बताउनुभयो । “हामी प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “यस्तो विपद् ल्याउने किसिमको वर्षा हुन्छ भनेर हामीले मौसमी बुलेटिनमा प्रकाशित गरिसकेका थियौँ । विपद्पछि पनि पूर्व सूचना दिन एसएमएस पठाएका थियौँ । कयौँले थाहा पाएर पनि हेल्चेक्र्याइँ गरेका कारण मानवीय क्षति भएको छ ।”

उहाँका अनुसार बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ को व्यवस्था गरिएको छ । नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन निःशुल्क एसएमएस प्रवाह गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर (एमओयू) भएपछि एसएमएस प्रवाह गर्न सहज भएको उहाँको भनाइ छ । 

अमेरिकाबाट दोहा हुँदै स्वदेश फर्कँदै प्रधानमन्त्री ओली

काठमाडौँ, १४ असोजः प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४ः०० बजे स्वदेश फर्कँदै हुनुहुन्छ । महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो ।

महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत हुनुहुन्छ ।

बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग

काठमाडौँ, १४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अविरल वर्षाबाट प्रभावितलाई उद्धार, राहतमा थप क्रियाशील हुन आफ्ना स्थानीय तहका पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अविरल वर्षापछि बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा स्वयंसेवक संस्थासँग समन्वय गरेर काम गर्न नेता कार्यकर्ता सबैलाई विशेष अपिल गर्नुभएको छ । अध्यक्ष नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा नागरिकको ज्यान गएको, नागरि सम्पर्कविहीन भएका र घाइते भएका जनाउँदै प्राकृतिक विपदबाट नागरिकका घर क्षतिग्रस्त भएका तथा भौतिक सम्पत्ति नष्ट हुँदा पार्टीलाई मर्माहत तुल्याएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा उहाँले बाढी पहिरोमा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घी सरकारसंग आग्रह समेत गर्नुभएको छ । विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । बाढीपहिरो र डुबान प्रभावितका नागरिकहरूको उद्धार तथा बिचल्लीमा परेकाहरूको बस्ने र खाने व्यवस्था मिलाउन, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन, अवरुद्ध सडकको तत्काल मर्मतसम्भार गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत सम्भावनालाई जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गर्नुभएको छ ।

बाढी पसेको क्षेत्रका कच्ची घरहरू माटो गलेर भत्किन थाले

बरहथवा (सर्लाही), १४ असोजः सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन् । शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो । खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार फिटसम्म पानी जमेपछि माटो गलेर घर भत्किएको स्थानीयको भनाइ छ ।

डुबानमा परेर घर भत्किएपछि बिचल्ली भएको यादवले गुनासो गर्नुभयो । लगातारको वर्षापछि बागमती, लखन्देही र झिम नदीको बाँध फुटेर गाउँमा पानी पसेको थियो । पानी पसेपछि गाउँका कच्ची घरहरू भत्किन थालेका हुन् । घर भत्किएपछि कतिपयले आफन्तका घरमा शरण लिएपनि अधिकांशले पानी जमेकै घरमा रात बिताएको रामनगर गाउँपालिकाका स्थानीयवासी जितेश यादवले जानकारी दिनुभयो । 

बागमती नदीको ड्याम फुटेर गाउँ पसेको पानीले १० भन्दा बढी कच्ची घरमा क्षति पुगेको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले जानकारी दिनुभयो । जिल्लाको रामनगर गाउँपालिका, बलरा नगरपालिका, बसवरिया, धन्कौल र ब्रह्मपुरी गाउँपालिकामा बाढी पसेपछि माटो गलेर ठूलो सङ्ख्यामा कच्ची घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

“क्षति भयो घर बगायो÷डुबायो भन्ने गुनासो आएको छ”, उहाँले भन्नुभयो, “तत्काल सम्बन्धित पालिकाहरूले व्यवस्थापन गरेका छन् । बाँकी विवरण सङ्कलनमा जुटेका छौँ । यकिन तथ्याङ्क आउन केही समय लाग्छ ।” 

बागमती नदीमा आएको बाढी पसेर बरहथवा नगरपालिका–१४ र १५ को हरपुर्वा गाउँ, बसवरिया गाउँपालिकाको १ र २ नं वडा मानपुर र ढापटोल, धन्कौल गाउँपालिका–५, स्थित महिनाथपुर, रामनगर गाउँपालिकाको नदी तटीय गाउँ, बलरा नगरपालिका–१ र २ स्थित छन्कीटोल र जयहथिऔल गाउँ डुबानमा छ । 

लखन्देही नदीमा आएको बाढीले चक्रघट्ट गाउँपालिकास्थित शिवनगर सक्रौल गाउँ र झिम नदीमा आएको बाढीले त्रिभुवन नगर गाउँका केही घरहरु डुबान परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मौसममा सुधार आएसँगै नदीमा बाढीको स्थिति पनि सुधार हुँदै

काठमाडौँ, १४ असोज : देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले सबै नदीहरुमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने जानकारी दिनुभयो । 

“बाढी आएका अधिकांश नदीहरुमा पानीको सहत घट्ने क्रममा छ, विस्तारै नदीमा पानीको सतह कम हुँदै जाने छ”, उहाँले भन्नुभयो, “अब मनसुन पनि सकिन लाग्यो, अहिलेको जस्तो विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम छ ।” 

पक्की पुल बगाएपछि रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

मन्थली (रामेछाप), १४ असोज : सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ ।

मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । खुर्कोटको पुल बाढीले बगाएपछि मन्थली–पकरवास–भीरपानी सडकखण्ड सुचारु गर्न जिल्लास्थित सरोकारवालाले पहल थालेका थिए । मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन सुचारु भएपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ 

आइतबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खुर्कोटको पुल बगाएसँगै जिल्लामा यातायात सुचारु गराउन वैकल्पिक सडक मन्थली–पकरवास–भिरापनी–सित्खा सडक तत्काल मर्मत गरी सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सडक सुचारु गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीय र गाँउपालिकाको टोली आइतबार साँझ अबेरसम्म खटिएका थिए । यसैबीच यातायात सेवा अवरुद्ध भएपछि तारा एयरले आइतबार देखि दैनिक मन्थली–काठमाण्डौ उडान सुरु गरेको छ । 

बाढीपहिराका कारण सदरमुकाम मन्थली लगायतका अधिकांश ठाउँमा विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानी सेवा अझै अवरुद्ध छन् ।

युरोपको प्रयोगशाला सिइआरएनले रुससँग सम्बन्ध तोड्दा करिब ५०० वैज्ञानिक प्रभावित हुने

युरोपको भौतिकशास्त्र प्रयोगशाला सिइआरएनले आइतबार नोभेम्बरको अन्त्यमा योजनाअनुसार रुससँगको सहकार्य तोड्दा रुसी संस्थानहरूसँग सम्बद्ध करिब पाँच सय वैज्ञानिक प्रभावित हुने बताएको छ ।

सिइआरएनको निर्णय लिने संस्थाले युक्रेनमा युद्धका कारण सन् २०२२ जुनमा रुस र उसको सहयोगी बेलारुससँगको सहकार्य सम्झौताहरू अन्त्य गर्ने निर्णय गरेको थियो । 

सिइआरएनका अनुसार यसरी बेलारुसको पाँच वर्षको सम्झौता गत जुन २७ मा समाप्त हुँदा नवीकरण गरिएको थिएन र रुससँगको सम्झौता नोभेम्बर ३० मा समाप्त भएपछि यसलाई अगाडि बढाइने छैन । 

कथित रूपमा यसले पहिले नै करिब १५ बेलारुसी वैज्ञानिकलाई सिइआरएनसँगको सहकार्यबाट रोकेको छ र चाँडै सयौँ रुसी वैज्ञानिकले पनि यस्तै परिस्थितिको सामना गर्नेछन् । 

“यो रुसी संस्थानहरूसँग सम्बन्धित आज पाँच सयभन्दा कम वैज्ञानिकमा लागु हुनेछ, तिनीहरूले यस्तो सहयकार्य रोक्नुपर्नेछ”, सिइआरएनका प्रवक्ता आर्नोड मार्सोलियरले भन्नुभयो । 

ती वैज्ञानिकहरू अहिलेसम्म विश्वभरका करिब १७ हजार शोधकर्ताहरूको समुदायमा समावेश थिए । तीमध्ये अधिकांश आफ्नै होस्ट संस्थान वा प्रयोगशालबाट काम गर्दै सिइआरएन सम्बद्ध प्रयोगहरू र तथ्याङ्क विश्लेषण कार्यहरूमा सहभागी हुन्थे । 

सिइआरएनको निर्णय लिने परिषद्ले गत डिसेम्बरमा रुससँगको सहयकार्य तोड्ने निर्णयलाई अन्तिम रूप दिँदा उसले जोड दिँदै ‘अन्य संस्थानहरूसँग सम्बद्ध रुसी राष्ट्रियताका वैज्ञानिकहरूसँगको सम्बन्धलाई प्रभावित नगर्ने’ बताएको थियो । 

करिब ९० रुसी अन्य प्रयोगशालामा सरेको अनुमान गर्दै मार्सोलियरले उनीहरूले आफ्नो सहयकार्य जारी राख्न सक्ने बताउनुभयो । 

उक्त निर्णयले मस्कोबाट एक सय १० किलोमिटर उत्तरमा रहेको डुबनास्थित ज्वाइन्ट इन्स्टिच्युट फर न्युक्लियर रिसर्च (जेआइएनआर) का कर्मचारीहरूलाई प्रभावित गर्नेछैन । 

रुसको बहिष्कारको अर्थ सिइआरएनले महत्त्वपूर्ण वित्तीय योगदान गुमाउनेछ । रुसले प्रयोगशालाको विशाल कण उत्प्रेरक लार्ज हाड्रोन कोलाइडरमा सञ्चालित प्रयोगहरूको वार्षिक सञ्चालन लागतको करिब चार दशमलव पाँच प्रतिशत अर्थात २७ लाख डलर योगदान दिँदै आएको थियो । 

साथै यसले एलएचसीको नाटकीय उन्नयनका लागि चार करोड फ्राङ्क योगदान गर्ने प्रतिज्ञा गरेको थियो । यो सन् २०२९ मा सञ्चालनमा आउनेछ र पत्ता लगाउन सकिने घटनाहरूको सङ्ख्या १० गुणा बढाउनेछ ।

अन्य सदस्य मुलुकहरूले रुसको बजेट योगदान पूरा गर्ने भन्दै मार्सोलियरले सिइआरएनले एलएचसी उन्नयनमा खाडल पूरा गर्ने बताउनुभयो । “यसका कारण कुनै ढिलाइ हुने अपेक्षा गरिएको छैन”, उहाँले भन्नुभयो । 

सन् २०२० देखि स्वच्छ ऊर्जाका लागि २० खर्ब डलर प्रत्यक्ष लगानी सहयोग विनियोजन

विश्वभरका सरकारहरूले सन् २०२० देखि स्वच्छ ऊर्जाका लागि प्रत्यक्ष लगानी समर्थनमा करिब २० खर्ब अमेरिकी डलर छुट्याएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) को नयाँ प्रतिवेदनले खुलासा गरेको छ ।

प्रतिवेदनको पहिलो संस्करण स्टेट अफ इनर्जी पोलिसी २०२४ ले यो सन् २००७–०८ को आर्थिक सङ्कटपछि प्रतिबद्ध रकमको करिब तीन गुणा रहेको बताएको छ । प्रतिवेदनले विनियोजन गरिएको प्रत्यक्ष सरकारी खर्चको करिब ८० प्रतिशत चीन, युरोपेली सङ्घ (इयु) र संयुक्त राज्य अमेरिकामा रहेको बताएको छ ।

प्रतिवेदनअनुसार नीतिनिर्माताहरूले हालैका वर्षहरूमा विभिन्न सङ्कटका कारण ऊर्जा सुरक्षामा ध्यान केन्द्रित गरेकाले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि सरकारी समर्थन र प्रोत्साहनहरू नयाँ उचाइमा पुगेका छन् ।

स्वच्छ ऊर्जाका लागि घरेलु उत्पादन प्रोत्साहनहरू सार्वजनिक लगानीको एक क्षेत्र हो । यो पर्याप्त रूपमा बढ्दै गइरहेको छ । यसले दशकको सुरुदेखि कूल सरकारी खर्चको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । यसमा कम उत्सर्जन सवारी साधनहरू, हाइड्रोजन र ब्याट्रीहरूले सबैभन्दा विनियोजन प्राप्त गरेका छन् । 

उपभोक्ता स्तरमा प्रतिवेदनले विश्वव्यापी ऊर्जा सङ्कटको उच्च विन्दुम अल्पकालीन सरकारी सहयोगको लागत नौ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको पत्ता लगाएको छ । 

“स्वच्छ ऊर्जाका लागि नीति र लगानी समर्थनको अभूतपूर्व स्तर यी प्रविधिहरूले उत्सर्जन घटाउने मात्र नभई ऊर्जा सुरक्षालाई पनि सुनिश्चित गर्न सहयोग पु¥याउँछ भन्ने मान्यता हो,” आइइएको दिगोपना, प्रविधि र दृष्टिकोण निर्देशक लौरा कोज्जीले भन्नुभयो । 

प्रतिवेदनको पहिलो संस्करणले विगत १२ महिनामा भएका सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरूलाई प्रकाश पार्दै देश र क्षेत्रअनुसार ऊर्जा नीतिहरूको सबैभन्दा व्यापक र नवीनतम विश्वव्यापी चित्र प्रदान गर्दछ ।