`

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

नासा र स्पेसएक्सले शनिबार अमेरिकी राज्य फ्लोरिडाबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा नयाँ चालक दल परिवर्तन मिसन प्रक्षेपण गरेका छन् । ‘क्रु–९’ नाम दिइएको यो मिशनले नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोस्मोस अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभलाई आइएसएसमा लैजाँदैछ । यो स्पेसएक्ससँग नासाको नवौँ व्यावसायिक चालक दल परिवर्तन मिशन हो ।

   स्पेसएक्सको फाल्कन ९ रकेटले शनिबार स्थानीय समयानुसार दिउँसो १ः१७ मा फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट ड्रागन अन्तरिक्ष यानमा सवार चालक दललाई प्रक्षेपण गर्यो । नासाका अनुसार अन्तरिक्ष यानलाई साँझ ५ः३० मा आइएसएससँग डक गर्ने तालिका रहेको छ । 

   नासाका अनुसार क्रु–९ सदस्यहरूले रगत जम्ने अध्ययन, अन्तरिक्षमा उब्जाइएका बोटबिरुवाहरूमा चिसोपनको प्रभाव र अन्तरिक्ष यात्रीहरूमा दृष्टि परिवर्तनसम्बन्धी दुई सयभन्दा बढी वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछन् ।

   अन्तरिक्ष यान अर्को फेब्रुअरीमा क्रु–९ का अन्तरिक्षयात्रीहरूसँगै फर्किने अपेक्षा गरिएको छ । साथै नासाका अन्तरिक्षयात्रीहरू सुनी विलियम्स र बुच विल्मोर पनि पृथ्वीमा फर्किने अपेक्षा गरिएको छ । उनीहरू जुनमा बोइङ स्टारलाइनरमा स्टेशनमा उडेका थिए र त्यसबेलादेखि अन्तरिक्षमै अलपत्र परेका छन् । 

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौँ, १४ असोजः अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।

मधेस प्रदेशमा बाढीबाट पाँचजनाको मृत्यु, ९६ परिवार विस्थापित

जनकपुरधाम- अविरल वर्षाका कारण मधेस प्रदेशको विभिन्न नदी तथा खोला नालामा आएको बाढीबाट ठूलो जनधनको क्षति पुर्याएको छ । बिहीबार र शुक्रबार खासै क्षति नभए पनि शनिबार भने ठूलो क्षति भयो । मधेस प्रदेशका आठ जिल्लाका बासिन्दालाई सुरक्षित तथा सतर्क रहन सङ्घीय सरकार, मधेस प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेको थियो ।

बाढीबाट मधेस प्रदेशमा एक बालिकासहित पाँच जनाको मृत्य भएको छ । बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन् । आठजना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो । आठ जिल्लामा बाढीबाट रु ५६ लाख बराबरको क्षति भएको र नौवटा पशुचौपाया मरेका छन् । महोत्तरीमा दुई, सप्तरीमा एक र रौतहटमा एकबालिकासहित दुई जनाको मृत्यु भएको छ । सर्लाही र पर्सामा गरी दुईजना बेपत्ता भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–८ कुरामारीका १६ वर्र्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ । त्यस्तै बर्दिवास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिगंलाई खैरमारा खोलाले बगाउँदा मृत्यु भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दैआएका आठ वर्र्षीय प्रिन्सकुमार साहको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्र्षीय राज मुखियाको स्थानीय खोलामा माछा मार्न जाने क्रममा डुबेर मृत्यु भएको छ । रौतहटको पर्रोहा नगरपालिका–७ की १४ वर्र्षीया आशाकुमारी साह कानुको भकुवा खोलामा नुहाउन जाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ सक्रोलका १५ वर्षीय मुकेश महतोलाई सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा खोलामा बेपत्ता भएका एक व्यक्तिको परिचय खुल्न सकेको छैन् । त्यस्तै आठ वटा जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक र सर्लाहीमा एक, र बारामा तीन जना घाइते भएका छन् । प्रहरी उपरीक्षक बोहोराका अनुसार बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । साथै बाढीमा फसेका ३५ जनाको उद्दार गरिएको प्रहरी उपरीक्षक बोहोराले जानकारी दिनुभयो । रौतहटको गौरबजार जलमग्न भएको थियो । गौर कारागारमा बागमती खोलाको बाढी पसेपछि १२ थुनुवा÷कैदीलाई जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा सुरक्षित राखिएको छ ।

मधेस प्रदेशमा सर्लाही तथा रौतहट जिल्लामा बाढीले अत्यधिक क्षति भएको छ । मधेसको राजधानी जनकपुरधामसहित ग्रामिण क्षेत्र जलमग्न रहेको थियो । महोत्तरीको रातो नदी र विग्ही नदीलगायतका नदी तथा खोलामा आएको बाढीले जलेश्वरलगायत खैरा, रतबारा, वनचौरी, पर्सा, तिलगढ, वलवा, मरईलगायतका ग्रामिण क्षेत्र जलमग्न भएको थियो । सर्लाही जिल्लामा बागमती नदी, मनुष्मारा, झाँझ र लखनदेही नदीमा आएको बाढीले वरहथवा, धनकौल, सिसौटीया, रामनगर, गोरइता, खैरवा, वहुअर्वा, वलरा, सुदामा, हथियोल, लक्ष्मीपुर र जव्दीटोलमा बाढी पसेरक्षति पुर्याएको थियो ।

सर्लाहीको वसवरिया र मानपुरमा रहकोको वाँधलाई कटानगर्दे बागमती नदीमा आएको बाढीले गाउँ पसेको र त्यहाँका एक सय घर परिबारलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सर्लाही १० नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।

यस्तै सर्लाहीको वलरा नगरपालिका–१ छन्कीटोला तथा वलरा वडा नं २ हथियौलमा पनि ५० भन्दाबढी परिवार बाढीको कारण डुबानमा परेका वलराका नगरप्रमुख रामाशङ्कर कुशवाहाले बताउनुभयो । बागमती तथा लालवकैयामा आएको बाढीले मौलापुर, कटहरिया, राजदेवी, दुर्गा भगवती गाउँपालिका क्षेत्रको बाँध कटान गरेको रौटहट जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी पर्सा जिल्लाको विन्धवासिनी गाउँपालिकामा तिलावे खोलामा एप्रोचसँग जोडिएको तटबन्ध भत्किँदा पुल जोखिममा छ । सप्तरीको सकलपुरा, तिहाठी हनुमाननगरलगायतका सीमावर्ती क्षेत्रमा कोशी, महुली तथा खाँडो नदीमा आएको बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै सिरहा जिल्लामा हुलाकी सडक तथा पुललाई क्षतिपर्याएको जनकपुरधाम हुलाकी सडक निर्देशनालयले जनाएको छ ।

बाढीबाट प्रभावित तथा असुरक्षित रहेकालाई सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले आवश्यक सहयोग तथा समन्वय गरेको थियो । यसअघि २०५० सालमा बागमती नदीमा आएको बाढीले सर्लाही जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।

सडकको डिल भासिएर खसेको थियो झ्याप्ले खोलाको पहिरो

मलेखु (धादिङ)- ‘पहिरो’को पर्यायवाची नाम जस्तै बनेको छ ‘झ्याप्ले खोला’ । नौबिसे नागढुङ्गा हुँदै यात्रा गर्ने पूर्वपश्चिमका यात्रुबीच पनि यो नाम चर्चित छ ।

हाल पहिरो गएको भन्दा केही मिटर पर एउटा खोल्सा छ । त्यहाँ एक धारोबाट पानी बग्छ । बिहीबार राति पहिरो खसेको अघिल्लो र पछिल्लो भित्ताबाट हरेक बर्खामा पहिरो गइरहन्थ्यो । सबैले ‘झ्याप्ले खालाको पहिरो !’ अथवा ‘झ्याप्ले खोलाको जाम !’ भन्थे । चालकले पनि त्रासैत्रासमा सवारी हुँइक्याउँथे ।

यो पटक भने झ्याप्ले खोलाको पहिरोले ठूलो रुप लियो । माथिल्लो सडकको डिल भासिएर तल्लो सडकमा थुप्रिन पुग्यो । माथिल्लो सडक भन्नाले नौबिसे नागढुङ्गा सडक कै सिरान हो । जुन स्थान नागढुङ्गाबाट थारै तल पर्छ । त्यो स्थान पनि भौगोलिक रुपले कमजोर छ । सडक विस्तारको क्रममा छेउकुना भस्काइएको छ । छेउपट्टि ग्याबिन जाली र मेसिनरी वाल लगाइँदै छ । कुनापट्टि भित्ता खारिएको छ । त्यहि भित्ता खारेर माटो फालिएकै डिलबाट सुरु भएको पहिरो बगेर तल्लो सडकसम्म पुगेको हो ।

तल्लो सडक र माथिल्लो सडकबीचको ठाडो दुरी ‘गुगल अर्थ’ले दिएको मापनअनुसार एक सय ८० मिटर छ । ढिस्को भासिएर जङ्गल मढार्दै झरेको पहिरो सडकमा गुडिरहेका सवारीमाथि बजारिन पुगेको हो । घटनास्थल पुगेर फर्कनुभएका धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे भन्नुहुन्छ, “माथिल्लो सडकको डिलबाट नै पहिरो झरेको देखिन्छ र ढुङ्गा गुडिरहेकै सवारीमाथि पहिरो खसेको अनुमान लगाउन सकिन्छ । किनकी पहिरोमा पुरिएका सवारीबाट कोही पनि निस्किएर बाँचेको भेटिएन ।”

ढुङ्गामुढासहित डाँडै भासिएर खसेको लेदो तल्लो सडकमा करिब १० फिटभन्दा बढी उचाइमा थुप्रियो । पहिरोले सवारी पुरिएको पत्ता लगाउनै मुस्किल प¥यो । ढुङ्गामुढा र लेदोसहितको पहिरोले लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर भ्यान)लाई सडकमै पुरेको र ना ४ ख २२७० नम्बरको बस र बा २ ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस)लाई सडकबाट तल खसालेर पुरेको अवस्थाबाट निकालिएको उद्धारमा संलग्न धुनिबेसी नगरपालिका–९ का वडा सदस्य विक्रम जंग रानाले बताउनुभयो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनास्थलभन्दा अगाडि काठमाडौँतर्फ बिहीबार बेलुका सानो पहिरो झ¥यो । त्यही पहिरोले गर्दा गाडी जाम लाग्यो । अहिले दुर्घटना भएको स्थान अरुभन्दा फराकिलो ठाउँ भएकोले धेरै सवारी त्यहीँ रोकिराखिएका थिए । जहाँ धेरै सवारी रोकिएको थियो । त्यही ठाउँमा सडक माथिबाट गेग्रानसहितको लेदो खसेको सडक छेउमा पसल गर्दै आउनुभएकी कमला ढकालले सुनाउनुभयो । सवारीको जाम लागिरहेकै देखेर सुतेको र बिहान करिब ०४ बजे ब्यूँझिदा पहिरोले गाडी पुरिएको देखेको उहाँको भनाइ छ ।

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट आज साँझसम्म ३५ जनाको शव निकालिएको छ । जसमध्ये पुरुष २५, महिला नौ र एक बालक छन् ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बसका १३, गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसका आठ र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसका १४ यात्रु रहेको प्रहरीले जनाएको छ । तर सबैको सनाखत नसकिएकोले कुन सवारीमा को थिए भन्ने प्रहरीले यकिन गर्न सकिएको छैन । सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टमपछि सनाखत गरेर उनीहरूको शव आफन्तलाई बुझाउने तयारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर सोमबार पुनःउद्धार जारी राख्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

पहिरोले सवारी पुरिएको स्थान काठमाडौँको कलङ्कीबाट १५ किलोमिटर दुरीमा पर्छ  । यो क्षेत्रमा विसं २०५५ र २०५९ मा समेत पहिरो गएर धनजनको क्षति भएको थियो ।

स्वास्थ्यमन्त्री पौडेलसँग स्वास्थ्य उपकरण माग

नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम)-यहाँस्थित पृथ्वीचन्द्र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट (मेसु) डा मोहम्मद नुरुल होदाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य उपकरणको माग गर्नुभएको छ ।

बर्दघाटस्थित ट्रमा सेन्टरको शिलान्यास कार्यक्रममा आउनुभएका स्वास्थ्यमन्त्री पौडेलले जिल्ला अस्पतालको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो । निरीक्षणको क्रममा अस्पतालका मेसु डा होदाले चार स्वास्थ्य उपकरणको माग गर्नुभएको हो । अस्पतालमा स्वास्थ्यसम्बन्धी उपकरणको अभाव छ । अस्पतालमा आवश्यक चिकित्सक जनशक्ति उपलब्ध भए पनि उपकरणको अभावमा सेवा दिन नसकिएको डा होदाको गुनासो छ । 

उहाँले भन्नुभयो, “अस्पतालका लागि चार उपकरण माग गरिएको छ । अर्थोपेडिक (हाडजोर्नी शल्यक्रिया) का लागि सि–आमन, जेनरल एनेस्थेसिया, लेप्रोस्कोपी शल्यक्रिया र कान शल्यक्रिया उपकरण गरि चार उपकरण माग गरिएको छ ।” अस्पतालमा अर्थोपेडिकको उपकरण भए पनि पुरानो भएकाले अर्को माग गरिएको, उहाँले बताउनुभयो । 

अस्पतालको नयाँ भवनबाट सेवा प्रभावकारी बनाउन उपकरण आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार आकस्मिक शल्यक्रिया (ईमर्जेन्सी ओ.टी.) र अतिरिक्त शल्यक्रिया (सिडियोल ओ.टी.) को सेवा सञ्चालनको तयारी भइरहेको छ । 

अस्पतालको २४घण्टा सेवा थप प्रभावकारी बनाउन आवश्यक तयारीमा जुटेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताउनुभयो । अस्पतालमा अहिले अर्थोपेडिक सर्जन, जनरल सर्जन र इएनटी सर्जनलगायत चिकित्सक रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय थप सेवासहित व्यवस्थापन पक्ष सुधार भएकाले अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक वर्षा

काठमाडौँ, १४ असोज – काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार बर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

काठमाडौँ विमानस्थलको वर्षामापन केन्द्रले दुई सय ३९ दशमलव सात मिलिमिटर बर्षा भएको जनाएको छ । बुढानिलकण्ठमा एक सय ७८ दशमलव तीन मिलिमिटर, जितपुरफेदीमा एक सय ७८ दशमलव तीन मिलिमिटर, नागार्जुनमा दुई सय पाँच दशमलव चार मिलिमिटर वर्षा भएको मापन गरिएको छ । 

ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले एक सय ९४ दशमलव पाँच मिलिमिटर वर्षा भएको मापन गरेको छ । 

ललितपुरको गोदावरीमा तीन सय ११ दशमलव छ, खुमलटारमा दुई सय ९४ दशमलव चार मिलिमिटर, टिकाथलीमा दुई सय ६४ मिलिमिटर वर्षा हुँदा खोकनामा दुई सय ९७ दशमलव तीन मिलिमिटर र चापागाउँमा तीन सय २३ दशमलव पाँच मिलिमिटर बर्षा भएको रेकर्ड गरिएको छ । औसतमा २४ घण्टामा के कति मात्रामा पानी प¥यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौँ उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् । 

असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । एकैपटक आरीबाट घोप्ट्याए जसरी वर्षा हुँदा ठूलो जनधनको क्षति हुन पुगेको हो । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा चार सय १० मिलिमिटर मापन गरिएको छ । यस्तै काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा तीन सय ३१ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । 

विगतमा जुलाई, अगस्टमा धेरै वर्षा हुने गरेको थियो । पछिल्ला वर्षहरुको विवरणअनुसार सेप्टेम्बरमा बढी वर्षा हुने गरेको छ । विभागका अनुसार पछिल्ला सात वर्षको विवरण हेर्ने हो मनसुनको सुरुवाती चरण र अन्त्यतिर रेकर्ड ब्रेक गर्ने खालको वर्षा हुन थालेको छ । यो जलवायु परिवर्तनको असरका रुपमा लिन सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ । 

विभागले उपलब्ध गराएको विवरण अनुसार सन्धिखर्कमा एक सय ९६ दशमलव छ, चितवनको गोविन्दबस्तीमा दुई सय ६४, धादिङको गजुरीमा दुई सय ६१ दशमलव दुई, झापाको चन्द्रगढीमा दुई सय ५६, काभेपलाञ्चोकको पाँचखालमा दुई सय ३२ दशमलव पाँच, धुलिखेलमा दुई सय २४ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । नुवाकोटको ककनीमा एक सय ६९ दशमलव दुई, सिन्धुपाल्चोको बाहुनेपाटीमा एक सय ९० दशमलव छ, मकवानपुरको दामनमा चार सय १० मिलिमिटर वर्षा भएको छ । पाल्पाको बल्ड्याङगढीमा दुई सय ५२, पाँचथरको फिदिममा एक सय ७२, तनहुँको सखरमा दुई सय १४ र तनहुँको खैरनीटारमा दुई सय ५२ दशमलव तीन मिलिमिटर बर्षा मापन भएको छ ।  

वर्षाको प्रवृत्तिमा आएको बदलाव, पूर्वतयारी र जोखिम न्यूनीकरण गर्ने उपायको खोजी गर्न नसक्दा ठूलो क्षति हुन पुगेको  तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सावधानी अपनाउनु नै अहिलेको प्रमुख कार्यभार हुन जान्छ । 

पूर्वानुमानमा सफलता

यसपटक विभागले गरेको पूर्वानुमान करिब मिल्न गएको छ । विभागले असोज १२ गते बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको पूर्वअनुमान गरेको थियो । त्यसअघि विभागले असोज ७ गते नै विशेष बुलेटिनमार्फत असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षा धेरै हुने भएकाले सचेतता अपनाउन आग्रह गरेको थियो । 

उच्च सतर्कता अपनाउन विभागले सूचित गर्दै २७ जिल्लालाई उच्च जोखिमको सूचीमा समेत राखेको थियो । विभागले सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला, मझौला र साना नदीमा जलसतह बढ्ने अनुमान गरेको थियो । यस्तै धानबाली नकाट्न र यात्रा गर्दा सावधानी अपनाउन, पूर्वतयारी गर्न सचेत गराएको थियो । 

‘मास एसएमएस’ लाई व्यापक गर्ने तयारी

विभागले हाल पठाउँदै आएको मास एसएमएस सेवालाई थप विस्तार गर्ने भएको छ । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कर्माचार्यले एसएमसएस सेवालाई वडा तहसम्म पु¥याउने तयारी गरिएको जानकारी दिनुभयो । विभागले बाढीको सूचना एकैपटक जोखिम बढी भएको क्षेत्रमा पठाउने गरेको छ । अब त्यसलाई विस्तार गरेर वडा तहसम्म पु¥याउने र पूर्वसूचना प्रणालीलाई थप विस्तार गर्न लागेको उहाँको भनाइ छ । बर्षा बाढीको सूचना पठाउने गरिएका थप विपद्को जोखिमको बारेमा पनि जानकारी दिने गरी विभागले तयारी गरिरहेको छ । 

पूर्वसूचना उपलब्ध गराउने लक्ष्यका साथ मोबाइल एपको कामसमेत प्रारम्भ भएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिनुभयो । “हामीले आगामी दिनमा पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाउन मोबाइल एप निर्माण गर्ने तयारी गरेका छौँ । यसबाट पूर्वसूचना प्रणाली थप व्यवस्थित हुनेछ”, उहाँले भन्नुभयो । यसपटक विभागले समयमै सचेत गराएका कारण थप क्षति हुनबाट जोगिएको भए पनि सबै स्थानमा पूर्वसूचना पुग्यो वा पुगेन भन्ने बारेमा आवश्यक अध्ययन गर्ने जनाएको छ । 

कञ्चनपुरमा भएको थियो अति भारी वर्षा

विभागका अनुसार गत असार २३ र २४ गते कञ्चनपुरमा अति भारी वर्षा भएको थियो । कञ्चनपुरको दोधारा वर्षामापन केन्द्रमा छ सय २४ मिलिमिटर, हनुमाननगर वर्षामापन केन्द्रमा पाँच सय ७३ दशमलव छ मिलिमिटर र सुन्दपुर वर्षामापन केन्द्रमा पाँच सय ५५ दशमलव आठ मिलिमिटर बर्षा मापन गरिएको थियो । 

यस वर्ष गत जेठ २८ देखि पूर्वी नेपालबाट सुरु भएको मनसुन गत असार १४ गतेदेखि २४ गतेसम्म सक्रिय भएको थियो । त्यसक्रममा सूदूरपश्चिम प्रदेशको दक्षिण पश्चिम भूभागमा गत असार २३ र २४ गते अति भारी वर्षा भएको थियो । त्यसो त विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने जनाएको थियो । 

वायुमण्डलीय तथ्याङ्क, भूउपग्रहबाट लिइएको तस्बिर तथा मौसम ‘मोडल’ बाट प्राप्त भएको मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट त्यस दिन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण पश्चिम भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो । उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुवैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको विभागले जनाएको थियो । 


विभागको विसं २००३ (सन् १९४७) देखिको तथ्याङ्कअनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको विवरणमा गत असारको बर्षा हालसम्मकै उच्च हो । विभागका अनुसार, विसं २०७४ साउन २९ गते हेटौँडा केन्द्रमा सबैभन्दा धेरै पाँच सय १६ दशमलव दुई मिलिमिटर वर्षामापन भएको गरिएको थियो । भूसंरक्षण विभागको विवरणअनुसार, विसं २०५० साउन ५ गते मकवानपुर जिल्लाको टिस्टुङ वर्षामापन केन्द्रमा पाँच सय ४० मिलिमिटर बर्षा मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आशिंकदेखि साधारणतया बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागमा एक दुई स्थानमा हल्का वर्षा हुनेछ । 

कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

विद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा

दमौली (तनहुँ), १४ असोजः बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।

वर्षासँगै आएको पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नुपरेको हो । पहिरोले सडकसमेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो । 

नाल्दीमा गाडिएको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विद्युत् खम्बा ढलेर प्रयोग गर्न नसकिने गरी क्षति भएको रेग्मीले बताउनुभयो । बाढीपहिरोले जिल्लाका अन्य ठाउँमा समेत विद्युत् खम्बामा क्षति पुगेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार भानु नगरपालिकाको शेपाबगैँचा, व्यास नगरपालिकाको छाब्दीबाराही, घाँसीकुवा, कमलाबारी, करङकाठलगायत ठाउँमा पहिरोले विद्युत् खम्बामा क्षति पुगेको छ । 

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १४ असोज : नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  एक पैसा र बिक्रीदर २० रुपैयाँ १० पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ पाँच पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।    वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

खोटाङ, १४ असोजः अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ ।
मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । “बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन”, उहाँले भन्नुभयो, “दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन्भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।”

बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ । 

बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका एक सय ३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्”, उहाँले भन्नुभयो, “जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन । अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र रु ७९ लाख ९९ हजार बढीको क्षति भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।” 

बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ । खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क  गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ । विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो । 

फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को  उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो । 

‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ, १४ असोज : क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।

ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् । त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए । उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए । आसिफ शेख र अनिल शाहले समान २७/२७ रन बनाए । आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए । अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे ।

त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए । बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए ।
त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल मङ्गलबार क्यानडासँग खेल्नेछ ।

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ, १४ असोज : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।

समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताउनुभयो । टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिनुभयो । 

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ः१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताउनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उहाँले सुनाउनुभयो ।

वर्षाका कारण सप्तरीको कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा

राजविराज (सप्तरी), १३ असोजः अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा परेका छन् । नगरपालिका–१, बैरवामा वर्षाका कारण २८ घरमा पूर्ण क्षति भएको छभने करिब सात सय घर डुबानमा परेका छन् । वर्षाका कारण स्थानीय रफिद मंसुरीको घर र भान्सा भत्किएको छ । स्थानीय सामाजिक अभियन्ता भोला पासवानकानुसार यहाँ सात सय घर प्रभावित भएका छन् । यहाँका सरदार, खङ्ग, राम, मुस्लिम तथा यादव टोल डुबानमा परेका उहाँले बताउनुभयो ।

यस्तै, कञ्चनरुप नगरपालिका–२ स्थित यादव बस्ती र मुस्लिम बस्तीका करिब सय बिघा जमिनमा लगाइएको धानबाली नष्ट गरेको छ । त्यहाँ करिब तीन सयभन्दा बढी घरमा पानी पसेको स्थानीय मोइम शेखले जानकारी दिनुभयो । यी ठाउँमा कोशी नदी, सुन्दरी खोला तथा मोहुली नदीमा आएको बाढी पसेको जनाइएको छ ।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालयसमेत डुबानमा परेको छ । कार्यालयको परिसर तथा विभिन्न कोठामा पानी पसेको प्रमुख प्रशासकीय अधिकृत किशोर रामले जानकारी दिनुभयो । कार्यालय डुबानमा परेपछि दैनिक कामकाज प्रभावित भएको उहाँले बताउनुभयो ।

फिफा क्लब विश्वकप स्टेडियमहरूको घोषणा

फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ ।

   कूल ३२ क्लबले मर्सिडिज बेन्ज स्टेडियम (एटलान्टा), बैङ्क अफ अमेरिका स्टेडियम (शार्लोट), टिक्युएल स्टेडियम (सिनसिनाटी), रोज बाउल स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी), जिइओडिआइएस पार्क (न्यासभिल), क्याम्पिङ वर्ल्ड स्टेडियम (ओर्लान्डो), इन्टर एन्ड को स्टेडियम (ओर्लान्डो), लिङ्कन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लुमेन फिल्ड (सिएटल) र अडी फिल्ड (वासिङ्टन, डि.सी.) मा प्रतिस्पर्धा गर्नेछन् । साथै न्यूयोर्कको मेटलाइफ स्टेडियमले फाइनल खेल आयोजना गर्नेछ । 

   प्रतियोगिता सन् २०२५ जुन १५ मा सुरु हुनेछ र फाइनल खेल जुलाई १३ मा हुनेछ ।       “फुटबल हाल विश्वमा सबैभन्दा लोकप्रिय खेल हो । सन् २०२५ मा क्लब फुटबलका लागि नयाँ युग सुरु हुनेछ । फिफाले संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो, समावेशी र योग्यतामा आधारित विश्वव्यापी क्लब प्रतियोगिता आयोजना गर्नेछ”, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भन्नुभयो ।    बत्तीस टोलीमध्ये दुई टोलीको अझै पुष्टि हुन बाँकी रहेकाले फिफाले डिसेम्बरमा एउटा दक्षिण अमेरिका र अर्को संयुक्त राज्य अमेरिकाबाट ड्र गर्नेछ । 

हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ

लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले आइतबार बताएको छ ।

इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको बताएको छ । हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी आएको छैन । साथै आक्रमण कहाँ भएको थियो भन्नेबारे पनि जानकारी भएको छैन । 

हालैका साताहरूमा इजरायली आक्रमणहरूमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यहरूलगायत धेरै वरिष्ठ कमान्डरहरू मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि थिए । 

हिजबुल्लाहलाई उसका पेजर र वाकी–टाकीहरूमा गरिएको परिष्कृत आक्रमणको लक्ष्य बनाइएको थियो । उक्त आक्रमणका लागि व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो । 

लेबनानाको स्वास्थ्य मन्त्रालयका अनुसार लेबनानका ठूला क्षेत्रहरूमा गरिएको इजरायली हवाई आक्रमणबाट दुई साताभन्दा कम सयममा एक सय ५६ महिला र ८७ बालबालिकासहित एक हजार ३० जनाको ज्यान गएको छ । 

पछिल्ला आक्रमणका कारण लेबनानमा लाखौँ मानिस आफ्नो घरबाट भाग्न बाध्य भएका छन् । वातावरणमन्त्री नासिर यासिनले करिब दुई लाख ५० हजार मानिस आश्रयस्थलहरूमा रहेको सरकारले अनुमान गरेको बताउनुभयो । त्यसको तीनदेखि चार गुणा मानिस साथीहरू वा आफन्तहरूकहाँ बसिरहेका छन् वा सडकमा शिविर बनाएर बसेका छन् । 

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट र मिसाइलहरू प्रहार गरेको छ तर अधिकांशलाई रोकिएको छ वा खुला क्षेत्रहरूमा खसेका छन् । यसबाट उत्तरी इजरायलमा केही हताहत र सामान्य क्षति भएको छ । 

काउक सन् १९८० को दशकदेखि नै हिजबुल्लाहका अनुभवी सदस्य थिए । उनले सन् २००६ मा इजरायलसँगको युद्धमा दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य कमान्डरका रूपमा सेवा गरेका थिए । उनी प्राय स्थानीय सञ्चारमाध्यममा देखा पर्थे र राजनीति तथा सुरक्षा विकासमा टिप्पणी गर्थे । साथै वरिष्ठ लडाकूहरूको अन्त्येष्टिमा श्रद्धाञ्जलि दिन्थे । अमेरिकाले सन् २०२० मा उनीविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो ।

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणले गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट, मिसाइल र ड्रोनहरू प्रहार गर्न थालेको थियो । हिजबुल्लाह र हमास दुवै इजरायलविरुद्ध इरान समर्थित ‘प्रतिरोधको धुरी’ का हिस्सा मान्ने सहयोगी हुन् । 

इजरायलले हवाई आक्रमणहरूमार्फत जवाफ दिएको छ र द्वन्द्व लगातार युद्धको सङ्घारमा पुग्दा क्षेत्रव्यापी द्वन्द्वको आशङ्का बढेको छ ।

इजरायलले उत्तरमा रहेका समुदायहरूबाट करिब एक वर्षअघि खाली गरिएका आफ्ना करिब ६० हजार नागरिकलाई फिर्ता ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।

हिजबुल्लाहले भने गाजामा युद्धविराम भएको अवस्थामा मात्र आफ्नो रकेट प्रहार रोक्ने बताएको छ । अमेरिका, कतार र इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच महिनौँको अप्रत्यक्ष वार्ताका बाबजुद अझै पनि युद्धविराम सम्भव भएको छैन । 

बाढीले काठमाडौँमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

काठमाडौँ, १३ असोजः अविरल वर्षाका कारण आएको बाढीले काठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने भएको छ ।खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पु¥याएका ठाउँमा आज अनुगमन तथा निरीक्षण गर्नु भई खानेपानी आपूर्तिका लागि आवश्यक कार्य गर्न निर्देशन दिएअनुसार काम अगाडि बढेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्छौं । भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ ।”

यसैगरी, ललितपुरको फर्पिङ जलविद्युत् गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको पौडेलले बताउनुभयो । 

काठमाडौँको महाङ्काल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मतसम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ । 

पार्टीको कार्यक्रम स्थगित गरी उद्धार र राहतमा लाग्न एमालेको निर्देशन

काठमाडौँ, १३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बाढीपहिरो र डुबानबाट प्रभावित भएका जिल्लामा निर्धारित कार्यक्रमहरू स्थगन गरी उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको छ ।

आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीले निर्धारित कार्यक्रमहरू स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको एमालेका महासचिव शङ्कर पोखरलेले बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले विपद्को यस दुःखद घडीमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई राहत, बेपत्ताको अविलम्ब खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधोपचार गर्न र घरबारविहीनको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको उहाँले उल्लेख गर्नुभयो ।

बैठकले बडादसैँ नजिक आइरहेकाले बाढीपहिरोबाट भत्किएका पुल र बाटो तत्काल बनाउन सरकारसँग आग्रह गरेको छ । महासचिव पोखरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चाडपर्व नजिक ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परेको छ । पुल, सडक भत्किएका छन्, विद्युत् लाइन र खानेपानी अवरुद्ध भएका छन् । यस अवस्थालाई मध्यनजर गरी अवरुद्ध सडक खोल्न, मर्मत गर्न, नेपाललाई तिब्बतसँग जोड्ने अरनिको राजमार्गअन्तर्गको लार्चा पुल, बिपी राजमार्ग, मदन भण्डारी राजमार्गलगायत देशभर विभिन्न ठाउँका पुल बाढीले बगाएको हुँदा पुनःनिर्माण गर्न, जनजीवनलाई सहज बनाउन नेपाल सरकारका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।”

उहाँले बाढीपहिरो र डुबानले जसरी जनजीविकाको क्षति गरेको छ, त्यसैगरी ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालय डुबानमा परी निकै ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ । पार्टी कार्यालयसमेत सञ्चालनमा ल्याउन अप्ठ्यारो परिरहेकाले पार्टीको विपत् व्यवस्थापन विभाग र केन्द्रीय कार्यालयको संयोजनमा पार्टीका स्वयंसेवक परिचालन गरी कार्यालय भवन र परिसरको सफाइ गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली कतारको दोहा प्रस्थान,सोमबार काठमाडौँ पुग्ने

बोस्टन (अमेरिका), १३ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उहाँ हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन आइपुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेललगायतले बिदाइ गर्नुभएको थियो । उहाँ सोमबार काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ ।

बाढीपहिरो र दुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता

काठमाडौँ, १३ असोजः बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्भने एक सय ११ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत केहीबेर अघि जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी बताउनुभयो । “यसका साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ । सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेकाले छ”, उहाँले भन्नुभयो । 

प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसमेत विपद् प्रभावितको खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेको पनि मन्त्रालयले जनाएको छ ।

ललितपुरमा विपद्मा परी मृत्यु भएका ३० जनाको शव भेटियो, अझै सात बेपत्ता

पाटन (ललितपुर), १३ असोजः अविरण वर्षासँगैको विपद्मा परी ललितपुरमा हालसम्म ३० जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीकानुसार खोज तथा उद्धारका क्रममा शनिबार २० र आज हालसम्म १० जनाको १० जनाको शव फेला परेको हो ।

शवलाई आनन्दवन अस्पताल, चापागाउँ र पाटन अस्पताल लगनखेलमा राखिएको उहाँले जानकारी गराउनुभयो । खोजतलासका क्रममा आज नेपाल प्रहरीले ललितपुर महालक्ष्मी–८ शङ्खादेबी बस्ने ५६ वर्षीया लीला थापाको शव फेला पारेको छ । त्यस्तै, झापा घर भई बैभब पावर नेपाल प्रालिको स्टोरमा काम गर्ने २८ वर्षीय सुवास पाण्डेको शव ललितपुर महानगरापालिका–३ मनमोहन पार्कमा फेला पारेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । महालक्ष्मी नगरपालिका–९ लुभू खोलाको छेउमा पहिरोमा बेपत्ता भएका सुर्खेत घर भई हाल लुभू बस्ने २४ वर्षीया हरिकला थापा मगर, निजको छोरी ३० महिनाकी सिम्रिका थापा मगर र निजको ससुरा ५० वर्षीय शिव थापा मगरको शव फेला परेको छ ।

त्यस्तै, बागमती गाउँपालिका–५ भालुखोला बस्ने ६४ वर्षीया माइली श्रेष्ठ, गोदावरी नगरपालिका–७ देवीचौर छोटेडाँडामा ४५ वर्षीय जयमान न्यासुर तामाङ, ४० वर्षीया कान्छीमाया तामाङ, २० वर्षीया बात्सल्या तामाङ र नाम नखुलेकी दुई महिनाकी बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । एकै परिवारका उनीहरू पुरिएको अवस्थामा फेला परेका थिए । 

शनिबार भएको खोज तथा उद्धारका क्रममा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी–९ चुनिखेल घर भई हाल सोही ठाउँ बस्ने वर्ष ४८ वर्षीया सुशीला लिम्बूको शव भेटिएको प्रहरीले जनाएको छ । 

यस्तै, महाङ्काल गाउँपालिका–३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङ्तानको घर पुरिँदा निजका दुई वर्षीय छोरा संयम सिङ्तानको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ छम्पीस्थित भैँसेपाटी–टीकाभैरव सडकमा माथिबाट पहिरो खस्दा बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भई हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गोदावरी नागरपालिका–३ मा ३५ वर्षीय पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र निजकी २० वर्षीया छोरी मेन्सिलाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२५ तालिम केन्द्र नजिक ६६ वर्षीया ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रीना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, ललितपुर महानगरपालिका–१४ कान्तिपुर कोलोनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीमा पहिरोका कारण एकै परिवारका २२ वर्षीया सुम्निमा घलान र १५ वर्षीय समीर घलानको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ लेले महतगाउँमा पहिरोले ३८ वर्षीया शर्मिला महतको मृत्यु भएको पुष्टि भएको छ । गोदावरी नगरपालिका–७ देवीचौरमा पहिरोले अनिल रुम्बा गोठ पहिरोले पुरिन जाँदा हाल नाम वतन नखुलेका करिब ३० वर्षीय शेर्पा भन्ने व्यक्तिको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो । 

यस्तै, गोदावरी नगरपालिका–६ टिकाभैरवमा पहिरोमा परी ५० वर्षीय भाइकृष्ण खड्का तथा सोही वडाका एकै घरका ५५ वर्षीय प्रलाद थापा र ३० वर्षीय सुमन थापा, बागमती गाउँपालिका–१ घुसेलमा पहिरोका कारण ५० वर्षीय केशव न्यौपाने, गोदावरी नगरपालिका–१० न्यौपानेगाउँस्थित एससिआरसी होस्टेल पछाडि पहिरो जाँदा होस्टेलमा बस्ने ७ वर्षीय सुजन राईको मृत्यु भएको छ ।

यहाँ अझै सातजना बेपत्ता रहेका नेपाल प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार रौतहट घर भई जिल्ला ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने ५ वर्षीय सेतु शाह, ओखलढुङ्गा घर भई ललितपुर बस्ने ४० वर्षीय देवराज कार्की, रौतहट गौर गाउँपापालिका–६ घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने ३२ वर्षीय बिकाउ शाह, ललितपुर महाङ्काल गाउँपालिका–३ गोटीखेल बस्ने एकै परिवारको उमेर नखुलेको ईश्वर तिमल्सिना, निजको आमा (नाम नखुलेको) र निजको श्रीमती गोमा तिमल्सिना बेपत्ता रहेको जनाएको छ । त्यस्तै, ललितपुर गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीये विवेक सिंह पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

ललितपुरमा विपद्मा परी घाइते भएका तीन बिरामीको आज हेलिकप्टरबाट उद्धार

पाटन (ललितपुर), १३ असोजः ललितपुरमा विपद्मा परी घाइते भएका तीन बिरामीको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर ललितपुरको महाङ्काल गाउँपालिका–२ मानिखेल रिगिनडाँडाका श्यामप्रसाद तिमल्सिना, गोदावरी नगरपालिका–७ देविचौरका ठूली रुम्बा र सञ्जु रुम्बाको उद्धार गरिएको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले जानकारी दिनुभयो ।

विपद्का घटना घटेको करिब ४० घण्टापछि जिल्लाको दक्षिणी भेगमा रहेको गाउँपालिकामा हेलिकप्टर लगेर घाइते बिरामीको उद्धार गरिएको हो । यसअघि आजै बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा तत्कालै बिरामीको उद्धारका लागि हेलिकप्टर पठाउन माग गरिएको थियो ।

यहाँ तीनवटा स्थानीय तहहरूमा सडक, विद्युत् र सञ्चार प्रणालीमा क्षति हुँदा समस्या भएको छ । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयवासीले धनजन र मानवीय क्षति ब्यहोर्नु परे पनि राहत र उद्धारका लागि सञ्चार समन्वयसमेत हुन कठिन भइरहेको समन्वय प्रमुख फुयालले जानकारी दिनुभयो । 

कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई

काठमाडौँ, १३ असोजः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सातै प्रदेशका कृषि हेर्ने मन्त्रालयलाई बाढीपहिरो तथा डुबानका कारण कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न आज पत्राचार गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले आज विज्ञप्ति जारी गरी असोज १० गतेदेखिको भारी वर्षाका कारण बाढीपहिरो र डुबानले सिँचाइ पूर्वाधार, बालीनाली, पशुपन्छी, खाद्यान्न, बीउबीजन, गोठ, खोरलगायत संरचनामा भएको क्षति विवरण माग गरिएको जानकारी दिनुभयो । मन्त्रालयले सबै स्थानीय तहका कृषि एवं पशु शाखालाई पनि विवरणका लागि पत्राचार गरेको छ । 

कृषि क्षेत्रमा भएको विवरण सङ्कलनपछि मन्त्रालयले आवश्यक काम गर्ने विज्ञप्तिमा उल्लेख छ । क्षतिमा परेका किसानलाई प्राविधिक सहयोग गर्न पनि प्रदेशका कृषि हेर्ने मन्त्रालय र स्थानीय तहका कृषि एवं पशु सेवा शाखालाई आग्रह गरिएको जनाइएको छ । आजै कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिनुभएको थियो ।

मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख खापुङलाई विपद्का घटनाबारे जानकारी

विराटनगर, १३ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका विभित्र स्थानमा गएको बाढी पहिरो र डुबानका विषयमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई जानकारी गराउनुभएको छ ।

विपद्सम्बन्धी घटनाहरु र विपद् व्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलका सन्दर्भमा तथा कोशी प्रदेश सरकारबाट सम्पादन भएका काम कारबाहीका सम्बन्धमा आज कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले शनिबार कोशी ब्यारेज तथा बराह क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो । सोही क्रममा कोशी प्रदेशमा राहत, पुनःस्थापना र उद्धारका लागि तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो । सो अवसरमा मुख्यमन्त्री कार्कीले उद्धार, राहत र पुनः स्थापना गष्र्न प्रदेश सरकार सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनुभयो ।

बाढी, पहिरो र डुबानका कारण प्रदेशमा ज्यान गुमाएका नागरिकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन कोशी प्रदेशको मन्त्रिपरिषद्को अहिले बैठक चलिरहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

अझै हल्का वर्षाको सम्भावना

काठमाडौँ, १३ असोजः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने भए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जानकारी गराएको छ । विभागकानुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

महाशाखाका मौसमविद् शान्ति कँडेलले मौसममा सुधार हुँदै गए पनि मङ्गलबारसम्म मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो । “मङ्गलबारसम्म हल्का वर्षा भए पनि विपद्् निम्ताउने किसिमको ठुलो वर्षाको सम्भावना तत्कालका लागि छैन”, उहाँले भन्नुभयो । 

महाशाखाले आगामी तीन दिनसम्मको मात्रै मौसमी अवस्था पूर्वानुमान गर्दै आएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ । 

बुलेटिनमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिमा भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यसैगरी कोशी र गण्डकी  प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

“मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ” बुलेटिनमा भनिएको छ, “राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।”

कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु माहाशाखाले अनुरोध छ । कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाको अनुरोध छ । 

माओवादी अध्यक्ष दाहालद्वारा नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान

काठमाडौँ, १३ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ । आज तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उहाँले सम्मान गर्नुभएको हो ।

तामाङले शनिवार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी छ वर्षीया मेघनालाई उद्धार गर्नुभएको थियो । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल प¥याएको अवस्थामा तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष दाहालले साहसी काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा तमाङलाई बधाई तथा धन्यवाद दिनुभयो । सङ्कटको बेला नै बहादुरको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताउनुभयो । “यस घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको छु । तपाईको हाल देशविदेशमा चर्चा भइरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो,“ तपाई आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुसी लागेको छ ।”

काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ ।

त्यस अवसरमा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकामा खुसी लागेको बताउनुभयो । आफू बिहान खोला हेर्न आएको बेला मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको उहाँले बताउनुभएको थियो । तामाङले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको सुनाउनुभयो ।

यसैबीच माओवादी केन्द्र एसिया सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख बराबरको सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र नेता टिबी पाठकले रु पाँच लाख बराबरको चेक अध्यक्ष दाहाललाई हस्तान्तरण गर्नुभयो ।

निगमले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने

काठमाडौँ, १३ असोजः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ ।

काठमाडौँबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका गि टिकट लिएका तर अवरिल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुले अक्टोबर ११ तारिखसम्म यात्रा गर्न चाहेमा थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको हो ।

प्रवक्ता रमेश पौडेलले निगमको अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था मिलाइएको र यथाशीघ्र सम्पर्क गरी सो सेवा लिन सूचना जारी गरिएको बताउनुभयो । निगमले अन्तर्राष्ट्रियतर्फ भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

 
 
 
 

 
 
 
 

प्राकृतिक विपदः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

काठमाडौँ । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए ।

उनले भने, ‘हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौँ । थप क्षति भएको हुन सक्छ । बाढीका कारण झण्डै एक हजार एक सय मेगावाट विद्युत् उत्पादन रोकिएको छ । कूल एक हजार १० मेगावाट जडित क्षमताको १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।’

तामाकोसी नदीको कटानका कारण खिम्ती लामो साँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको त्यस अवसरमा जानकारी दिइयो ।

सोही प्रसारण लाइन भएर काठमाडौँका लागि बिजुली ल्याउने गरिएको छ । यस्तै दोलखा, रामेछापका विभिन्न आयोजनाको आठ सय मेगावाट बराबरको बिजुली प्रवाह गर्ने टावरसमेत जोखिममा परेका छन् ।

मन्त्री खड्काले क्षति पुगेका आयोजनाको पुनः निर्माणका लागि तत्काल आवश्यक पहल गरिने जानकारी दिए । पहिलो चरणमा क्षतिको सम्पूर्ण विवरण सङ्कलन गर्ने, पुनः निर्माण र पुनः स्थापना कार्यलाई विशेष ध्यान दिइनेछ । यसका लागि सरकारका सबै संयन्त्र परिचालन गर्नेछौँ” उनले भने।

यस्तै, प्रसारण लाइनतर्फ काबेली कोरिडोरअन्तर्गतको दमक गोदक एक सय ३२ केभी प्रसारण लाइन, खिम्ती लामो साँघु एक सय ३२ केभी, सोलु करिडोरमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकानुसार बाढी पहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ ।

सो आयोजनाको बाँध स्थलमा रहेको नियन्त्रण कक्ष भवनमा क्षति पुगेको छ । यस्तै, बालुवा थिग्राउने पोखरीलगायतका संरचनामा क्षति पुगी विगत तीन दिनदेखि बन्द रहेको सो आयोजनाको सम्पूर्ण विवरण सङ्कलन गर्नसमेत हालसम्म समस्या रहेको उनले बताए ।

‘काबेली करिडोरमा समस्या आउँदा इलाम र पाँचथरमा बिजुली प्रवाहका लागि समस्या भएको छ । झापाबाट वैकल्पिक व्यवस्था गरेर बिजुली उपलब्ध गराउने प्रयास भइरहेकाले आज अबेरसम्म सो कार्य सम्भव हुने विश्वास छ’, कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

यस्तै, सिँचाइतर्फ  एक अर्ब ३५ करोड बराबरको क्षति पुगेको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ ।

रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ । कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा सामान्य क्षति हुँदा रु. पाँच करोड बराबर क्षति भएको अनुमान गरिएको छ ।

माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना

काठमाडौँ, १३ असोज : यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।

काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सकड सवारीसाधनले भरिभराउ थिए । रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । त्यही बेला शनिवार बिहान ४ः०० बजे  नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो । ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।

स्थानीय नानु लामाले भन्नुभयो, “पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन । पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ ।”

लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । “केही समयपछि प्रहरी आए । त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उहाँले भन्नुभयो ।

नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारीसाधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउनुहुन्छ । 

यात्रुहरु परिवारजनलाई खोज्दै

घटनास्थलको दृश्य कारुणिक देखिन्छ । सवारीसाधन क्षतविक्षत भएका छन् । शवहरु पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन । शवहरु गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन् । 

यात्रुका आफन्तहरु उनीहरुको अवस्थाबारे बुझ्न आइपुगेका छन् । उनीहरु आफन्तको खोजीका लागि हारगुहार गरिरहेका छन् । उनीहरु आँसु रोक्न सकिरहेका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धारमा सक्रिय छ । केही सवारीसाधनबाट शव निकालिएको छ भने गोरखाबाट आएको सवारीसाधन पुरिएकै अवस्थामा छ । निकाल्ल्ने काम जारी थियो । उद्धार कार्य जारी छ । अहिलेसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  

सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने

काठमाडौँ, १३ असोजः अविरल वर्षाका कारण गएको बाढीपहिराले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याइने भएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीपहिरामा परी प्रभावित भएका र घाइते भएकालाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, मन्त्रीलगायत उपस्थित हुनुहुन्थ्यो बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यस्तै, बाढिपहिरोबाट घरवास गुमाएका पीडितको पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने, सङ्घीय राजधानीलाई बाँकी भू–भागसँग जोड्ने सबैजसो राजमार्गमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल बाटो खुलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसैगरी ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाईन र विद्युत् गृहको मर्मतसम्भार गरी विद्युत् आपूर्ति र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सञ्चालन गर्ने, बाढीपहिरोका कारण क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मतसम्भार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताउनुभयो ।

मौसममा क्रमिक सुधार आइरहेको भए पनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितिमा जनस्वास्थ्यका सवाल अहम हुने भएकाले विपद्पछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक विधी प्रयोग गरी प्रभावित क्षेत्रमा औषधि उपचार र आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

बैठकले विपद्को चपेटामा परेका नागरिक र आउँदै गरेको चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँसलगायत अत्यावश्यक दैनिक उपभोग्य सामान सूपथ मूल्यमा सजिलै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । साथै बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायका भवन, विद्युत् संरचनालगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले सङ्कलन गरी पुनःनिर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने बैठकको निर्णय छ ।

विपद्को घडीमा सबै राजनीतिक दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने तथा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आमनागरिक र संघसंस्थालाई अपिल गर्ने निर्णय गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभयो ।

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको सुझाव

काठमाडौँ, १३ असोजः प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उहाँहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराउनुभएको हो । उहाँहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताउनुभयो ।

सरूवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पानीजन्य रोगहरू (जस्तै झाडापखाला, हैजा आदि) तथा किटजन्य रोग (जस्तै डेङ्गु, मलेरिया आदि)को सङ्क्रमण बढ्नसक्ने हुनाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुख्यतः पानीजन्य रोगहरु झाडापखाला, हैजाको जोखिम बढेको छ । हैजा अहिले पनि पूर्णरुपले हटिसकेको अवस्था छैन ।” उहाँले मनसुनको समयमा किटजन्य रोगको जोखिम बढी हुने बताउनुभयो । 

बाढी र पहिरोले सङ्क्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँ–ठाउँमा पानी जम्ने हुनाले डेङ्गु, मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्ने उहाँको भनाइ छ । “स्क्रब टाइफसको पनि समस्या पनि छ । समयमै उद्धार नपाएकाहरुलाई बाहिर बस्नुपर्ने हुनसक्छ, रुघाखोकी सर्नसक्ने सम्भावना छ,“ उहाँले भन्नुभयो ।

घाइतेको निःशुल्क उपचार गर्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूले उद्धार गरिएका घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन आग्रह गरेको हो ।

मन्त्रालयका  प्रवक्ता डा प्रकाश बुढाथोकीले उद्धार गरिएका घाइतेको स्वास्थ्य संस्थाहरूले निःशुल्क उपचार गर्ने र उपचारको रेकर्ड राखेर पछि सोधभर्ना गरिने व्यवस्था गरेको बताउनुभयो । 

उहाँले भन्नभयो, “पानी पर्न रोकिएपनि महामारीको जोखिम छ । पानी तथा किटजन्य रोगहरू बढ्नसक्ने जोखिम भएकाले सबै सरोकारवालाले उच्च सतर्कता अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन गरिन्छ ।” 

डा बुढाथोकीले मन्त्रालयले जनस्वास्थ्यको सुरक्षा व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशस्थित सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको बताउनुभयो ।

मन्त्रालयले सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरूले आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न, प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सिकीय समूहलाई तयारी अवस्था राख्न आग्रह गरेको छ ।

त्यसैगरी हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्न गराउन, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायसँग समन्वय गर्न र स्रोत साधनको अध्यावधिक गर्न÷गराउन, आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रलायले भनेको छ ।

आपतकालीन अवस्थामा स्वास्थ्य संस्था जानुपरेमा तालिम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको हटलाइन नम्बर १०२ मा सम्पर्क गर्न समेत मन्त्रलायले अनुरोध गरेको छ ।

सिड्नीमा गुञ्जिँए गायक रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन् । शनिवार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरे । ‘बिहान उठ्ने वितिकै’ गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्नो चर्चित गीतहरू ‘बाचुन जेलिलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’’ लगायतका गीत प्रस्तुत गरेका थिए ।

उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्याण्डसँग प्रस्तुत गर्दा उपस्थित दर्शकले प्रत्यक्ष नारायण गोपाल सुनेको प्रतिक्रिया दिए । अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर ‘ए माया जदौ’ गाउँदा उपस्थितले नाचेर साथ् दिए । सन् २००९ देखि नै आफूले अष्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गायक ढकालले बताए ।

‘अष्ट्रेलियामा मैले सधै मायाँ पाउनु गरेको छु, यसलाई धन्यवाद भन्ने म सँग शब्द छैन । मैले यहाँ ट्रयाक र ब्याण्ड गरी दुई चरणमा आफ्ना गीत प्रस्तुत गरँे । यसपटकको अष्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु’, उनले भने ।

कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए । ‘एउटा कलाकारको धर्म नै उसको कर्म हो । नेपालमा एकजना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु । उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्दार कार्य भइरहेको छ । तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु’, उनले भने ।

पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीतमार्फत उपस्थितलाई बाध्न सफल भए । आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको बताए ।

उनले भने,‘गायक ढकाललाई प्रत्यक्ष सुन्न सिड्नीवासी अधैर्य थिए, उनीहरूको उपस्थिति बाक्लो देखियो । उहाँलाई प्रत्यक्ष सुन्न् परिवारकै उपस्थिति देखिएको थियो, जहाँ बच्चादेखि वृद्धसम्म थिए । अर्थात् उहाँलाई सुन्न सवै वर्गका दर्शक देखिए ।’

गायक ढकालले यसपटकको दसैँ अष्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए । उनले न्युक्यासल, एडिलेड लगायतका सहरमा आफ्नो प्रस्तुती तय भईसकेको जानकारी दिए । सोही कार्यक्रममा गायक ढकालले नेपाली सङ्गीतलाई विश्वभर चिनाउन गरेको योगदान र सङ्गीतमा दिएको निरन्तरताको कदर गर्दै आयोजक श्रेष्ठ, ए टू जेट क्लिनिङ सप्लाएर्स, क्लिनिङ् एण्ड हस्पिटालिटीका प्रमुख कृष्ण थापा र चलचित्र निर्माता सुभाष थापाले सम्मान गरेका थिए ।

उक्त अवसरमा गायक ढकालले आफ्नो गीत ‘जीवनको हिसाब’ वल्र्ड प्रिमियर गरे । कार्यक्रममा उपस्थित दर्शकलाई आफ्नो भिडियोको पहिलो दर्शक बनाएका ढकालले गीतमा आर्थिक अभावका कारण जीविकोपार्जनका निमित परदेशिन बाध्यभएका नेपालीको कथा प्रस्तुत गरिएको बताए ।

‘यस गीतमा अहिलेको समसामयिकता प्रस्तुत गरेका छौँ । विदेशमा रहेकाले यसको कुनै न कुनै पक्षसँग जोडिनु हुन्छ जस्तो लागेको छ । यसको शब्द भाव अनुसार नै भिडियोसमेत तयार गरेका छौँ’, उनले भने ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा मनोज खड्काको शब्द र डेनी निरौलाको सङ्गीत रहेको छ । धनेन्द्र रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा दीलिप रायमाझी, सविना थपलिया, मनोज खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको थियो ।

स्पेनको क्यानरी टापूमा हराएका ४८ आप्रवासीको खोजी पुनः सुरु

उद्धार टोलीहरूले आइतबार स्पेनको क्यानरी टापू नजिकै कम्तीमा ४८ आप्रवासीको खोजी पुनः सुरु गरेका छन् । आप्रवासीहरू अघिल्लो दिन उनीहरूको डुङ्गा पल्टिएर हराएका थिए । डुङ्गा पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

सामुद्रिक उद्धार टोलीहरूले एल हिएरो टापू नजिकै पानीमा उनीहरूको खोजी गरिरहेका छन् तर जीवित फेला पार्ने आशा अत्यन्त कम छ । अफ्रिकाको सामुद्रिक तटमा हुने यस्ता प्रकारका विपत्तिहरूमा यो पछिल्लो घटना हो । 

स्पेनको सामुद्रिक उद्धार संस्थाका अनुसार खोजी अभियान पुनः सुरु गरिएको छ । क्यानरी क्षेत्रका अध्यक्ष फर्नान्डो क्लाभिजोले शनिबार राति पत्रकारहरूलाई ४८ जनाको मृत्यु भएको अनुमान गरिएको बताउनुभयो । “आगामी दुई वा तीन दिनमा धेरै शव बग्दै आउने सम्भावना छ”, उहाँले भन्नुभयो । 

मौरिटानियाको नौआदिबौबाट करिब आठ सय किलोमिटर टाढाबाट यात्रा सुरु गरेको उक्त डुङ्गा एल हिएरो नजिकै पल्टिएको थियो । दुर्घटना हुँदा २७ आप्रवासीको उद्धार गरिएको थियो भने नौ शव फेला परेको थियो । 

आप्रवासीहरूले आफैँ आपत्कालीन सेवामा फोन गरपछि उद्धारकर्मीहरू उनीहरूलाई सहयोग गर्न पुगेका बेला उक्त त्रासदी भएको स्पेनी अधिकारीहरूले बताएका छन् । अस्थिर डुङ्गाको एकभागमा आप्रवासीहरू झुम्मिएपछि डुङ्गा पल्टिएको थियो । 

आप्रवासीहरू दुई दिनदेखि खाना र पानीबिना रहेकाले उनीहरूको हडबडाहटलाई बढाएको हुनसक्ने क्यानरी टापू प्रिफेक्चरका प्रमुख एन्सेल्मो पेस्टानाले ला एस्ताका बन्दरगाहरूमा पत्रकारहरूलाई बताउनुभयो ।

स्पेनी सरकारको स्रोतहरूका अनुसार डुङ्गामा पहिला घोषणा गरिएको ८४ जनाको सट्टा ९० जना यात्रु भएको हुनसक्ने बताइएको छ । यसबाट हराएकाहरूको सङ्ख्या ५० भन्दा बढी हुनसक्छ । 

सेनेनगल नजिकै सेप्टेम्बरको सुरुमा ३९ आप्रवासीको मृत्यु भएको घटनापछि यो विपत्ति आएको हो । सेनेगल नजिकै आप्रवासीहरूको डुङ्गा क्यानरीतर्फ यस्तै यात्रामा डुबेको थियो । आप्रवासीहरूले क्यानरीबाट मुख्य युरोप पुग्ने आशा गर्दछन् । 

हालैका वर्षहरूमा पश्चिम अफ्रिकाबाट अटलान्टिक हुँदै युरोप पुग्ने प्रयासमा अत्यधिक भीड र प्राय जीर्ण डुङ्गाहरू मार्फत यात्रा गर्दा हजारौँ आप्रवासीको मृत्यु भएको छ । 

अविरल वर्षाका कारण कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

विराटनगर, १३ असोजः हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्राप्त जानकारीअनुसार असोज ११ गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठजना बेपत्ता भएका छन् । यस्तै चौपायातर्फ ६४ मरेका, एक घाइते र पंक्षीतर्फ एक हजार २०६ मरेका छन् । भौतिक संरचनातर्फ १९ पक्की घरमा पूर्ण, ५८ मा आंशिक क्षति र अन्य घरतर्फ ३९ मा पूर्ण, ३३ आंशिक तथा १३ गोठ, छ सरकारी कार्यालय, चार सवारी साधन, १३ वटा पुल तथा कल्र्भटमा क्षति हुनुका साथै पाँच सय ४२ घरधुरी प्रभावित भएका कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको सूचना अधिकारी दाहालले बताउनुभयो । उहाँकानुसार बेपत्तामध्ये पहिरोले चार र खोलाले चार जनालाई बगाएको हो ।

बाढीपहिराले गर्दा सोही अवधिमा चार सय नौ परिवारका एक हजार ६५० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छभने यहाँ उच्च जोखिममा रहेका घर तथा कार्यालयको सङ्ख्या एक हजार ९२ रहेको र ५९ वटा बाटो अबरुद्ध रहेको सूचना अधिकारी दाहालले जानकारी दिनुभयो ।

अविरल वर्षाले इलाममा एक, पाँचथरमा पाँच, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच गरी १४ जनाको मृत्यु भएको छ । यस्तै, घाइते हुनेमा झापामा दुई, पाँचथरमा पाँच, धनकुटामा दुई, तेह्रथुममा एक, खोटाङमा एक गरी १३ जना रहेका छन् । झापाका दुई, पाँचथरका पाँच, मोरङका एकजना बेपत्ता भएका जनाइएको छ ।

यस्तै, सबैभन्दा बढी झापामा तीन सय चार, मोरङमा एक सय २०, सुनसरीमा ४९, धनकुटामा २३, तेह्रथुममा ११ र उदयपुरमा २१ घर प्रभावित भएका छन् । झापामा पाँच सय २३, मोरङमा चार सय ८७, सुनसरीमा तीन सय ५८ र खोटाङमा एक सय १९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

बाढीपहिरो र डुबानमा परेका नागरिकलाई थप क्षति हुन नदिन प्रदेशभरिमा एक हजार ९२ सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसक्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गरिएको थियो ।प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी दाहालले बताउनुभयो ।

पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान

भोजपुर, १३ असोजः कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराउनुभएको छ । उहाँले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर उपलब्ध गराउनुभएको हो ।

प्रकाशले आफ्नै पुख्र्याैली गाउँमा कृषि पेसामा आबद्ध हुने इच्छा व्यक्त गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका पूर्वमुख्यमन्त्री राईले कृषि गर्न आवश्यकपर्ने जग्गासहति गोरु र हाते ट्र्याक्टर उपलब्ध गराएको बताउनुभयो । उहाँले हजारौँ युवा विदेश गइरहेको वर्तमान अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेतीकिसानी गर्ने इच्छा गरेकाले आवश्यक सहयोग गरेको उल्लेख गर्नुभयो ।

पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई गाउँमा एक उदाहरणीय कृषक बनेर काम गर्नसमेत आग्रह गर्नुभयो । प्रकाशलाई उहाँले एक महिना अघि रु एक लाख नगद पनि सहयोग गर्नुभएको थियो ।

पूर्वमुख्यमन्त्री राई पत्नी जाङ्मु इन शेर्पाको पहलमा प्रकाशलाई मालपोत कार्यालय भोजपुरमा उक्त जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाका नाममा रहेको जग्गा प्रकाशका नाममा पास गरिदिएपछि आज एक कार्यक्रमकाबीच लालपुर्जा हस्तान्तरण गर्नुभएको हो ।

जग्गाको लालपुर्जासँगै कृषि सामग्री पाएपछि प्रकाशले राई दम्पतीले गर्नुभएको सहयोगले कृषिकर्ममा लाग्न थप हौसला मिलेको बताउनुभयो । जग्गा प्रदान कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, स्थानीय जनप्रतिनिधिसहित स्थानीयवासीको उपस्थिति थियो । परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहनुभएका तामाङ हेर्ने कथामार्फत सम्पर्कमा आउनुभएको थियो ।

कांग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाडौँ, १३ असोजः नेपाली कांग्रेसका सङ्घीय सांसदले विपद्को घडीमा राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले यही असोज ११ र १२ गतेको अरिवल वर्षाका कारण भएको बाढी र पहिरोबाट भएको अकल्पनीय जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै सो रकम नेपाल सरकारमार्फत प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । यस्तै प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बुढानिलकण्ठस्थित उहाँको निवासमा बसेको बैठकले देशभरि क्षतिग्रस्त सडक, पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, प्रहरी चौकीलगायत अति आवश्यक पूर्वाधार यथाशीघ्र पुनःनिर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।

यस्तै, बैठकले बाढी पहिरोमा परी घरबारविहीन भएकाहरूको यथाशीघ्र उचित पुनःस्थापनाको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । साथै सङ्घीय संसद्का सबै सदस्यलाई विपद् व्यवस्थापनमा आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आह्वान गरिएको उहाँले बताउनुभयो ।

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

काठमाडौँ, १३ असोजः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गर्नुभएको छ ।

समाजकल्याण परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री सुडीले आज परिषद्मा आकस्मिक बैठक आह्वान गरी देशभर बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न सबै सरोकार भएका निकायलाई अनुरोध गर्नुभएको हो ।

मन्त्री सुडीले नेपालले पछिल्लो केही समययता कल्पना नगरेको विपद्को सामना गर्नुपरेको भन्दै विगतमा बाढी नआउने क्षेत्रमा पनि अहिले बाढीपहिरो आएकाले ठूलो जनधनको क्षति हुनुका साथै कष्टको सामना गर्नुपरेको उल्लेख गर्नुभयो । 

“अहिले मुलुक बाढीपहिरोबाट आक्रान्त बनेको छ । यसले ठूलोमात्रामा जनधनको क्षति गरेको छ । क्षतिको अझै पूर्ण विवरण आउन बाँकी छ”, मन्त्री सुडीले भन्नुभयो, “सरकारले अहिलेसम्म सकेको प्रयासहरू गर्दै आएको छ । नेपाली सेना, प्रहरी, जनपथ सक्रिय रुपमा उद्धार तथा राहतको कार्यमा लाग्नुभएको छ । आजको दुर्भाग्यपूर्ण अवस्थामा तपाईहरू सबैलाई उद्धार तथा राहतमा लाग्न आग्रह गर्दछु ।”

यही असोज १० गतेदेखि परेको अविरल वर्षापछि भएको मानवीय तथा भौतिक क्षतिको घटनामा तत्काल आवश्यक उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउन समाजकल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको हो ।

परिषद्ले एक सूचना जारी गर्दै बाढीपहिराले ठूलोमात्रामा मानवीय तथा भौतिक क्षति हुन गई जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै आवश्यक उद्धार तथा सहयोगमा पु¥याउन आह्वान गरेको छ । परिषद्का उपाध्यक्ष नन्दलाल माझीले विपद्मा सबै एकजुट भएर सहकार्य गर्नुपर्ने बताउँदै जनताको कसरी सेवा गर्न सकिन्छ भन्ने लक्ष्यका साथ सहयोग गर्न सङ्घसंस्थालाई आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एआइएन)का अध्यक्ष शङ्करप्रसाद कलौनीले पहिलो चरणको उद्धार र राहतमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै विपद्को समयमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल गरी सहयोगका लागि आवश्यक योजना बनाइएको बताउनुभयो ।

उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह

विराटनगर, १३ असोजः कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद््लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी इन्चार्जसमेत रहनुभएका राईले प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो आह्वान गर्नुभएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै उहाँले प्रदेशका विभित्र स्थानमा भएको जनधनको क्षतिले आफूलाई दःुखी तुल्याएको उल्लेख गर्दै घाइतेको उपचार र बेपत्ताको तीव्र खोजी गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “घाइतेको उद्धार, उपचार, बेपत्ताको खोजी तथा मृतकका परिवारलाई राहत एवं पुनःस्थापनाका लागि तीनै तहका सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।”

मौसमअनुकूल भएसँगै आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन

काठमाडौँ, १३ असोजः मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ ।

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।

रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा साउण्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ ।

अष्ट्रेलियाको सिडनीमा आयोजित एक वृहत सांगीतिक कार्यक्रममा यो गीतको भिडियो गायक ढकालले सार्वजनिक गरेका छन् । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सविना थपलिया फिचरिङ छन् ।

भिडीयोमा दिलिप रायामाझीले परदेशिएका नेपालीको भौतिक र मानसिक दुखः पीडालाई ज्वलन्तरूपमा प्रस्तुत गरेका छन् । उनी यो गीत आफ्नो जीवनमा समेत धेरै हदसम्म मेल खाएको ठान्छन् । उनले भने, ‘देशको माया त धेरै हुन्छ तर यथार्थमा त्यो मायाले पेट नभर्ने रहेछ, यस्तै पिडामा समाज र परीवारसँग बिछोडिएका नेपाली चाँडो जन्मभूमी फर्केर पुनर्मिलनको वातावरण बनोस् ।’

परदेशिएका नेपालीहरुमा समर्पित गीतमा घर छोडेर परदेशिए पछिको पीडालाई यथार्थपरकरुपमा चित्रण गरेको छ । नेपालमा तयार भएको अडियोको भिडियो नेपाल र अमेरिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

भिडियोमा घनेन्द्र रसाईलीको निर्देशन, राजेन्द्र विष्टको छायांकन, र सुक कालिकोटेको प्रोडक्सन डिजाइन छ । भिडियोको पोस्ट प्रोडक्सन ड्रागन प्रोडक्सनमा गरिएको छ भने प्रकाशन संयोजन नेपाल म्यूजिक एसोसिएशनका अध्यक्ष तथा साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले गरेका छन्।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रीय नियोग यूएसएड्को मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । गीतकार खड्काले नेपालको हरेक परिवारका कोही न कोही सदस्य विदेशमा रहेकाले सम्बन्धित व्यक्ति तथा परिवारका लागि गीतले छुने बताए । ‘यो गीत गायक रामकृष्ण ढकाल कै लागि लेखिएको हो । गायक र संगितकार दुबैले गीतको शब्द र भाबहरुमा पूर्ण न्याय दिनुभएको छ । गीतमा आम दर्शक तथा श्रोताहरुले आफ्नै वा आफ्ना नजिकका मान्छेहरूको कहानी पाउनेछन्’, उनले भने ।

विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रहि नेपाल लगायत विभिन्न देशहरुको कार्य अनुभव बटुलेका खड्काले नियमितरुपमा साहित्य र संगीतको क्षेत्रमा कलम चलाउने गरेका छन् । एक दर्जनको हाराहारीमा गीत रेकर्ड गराईसकेका गीतकार खड्काको पछिल्लो गीत ‘तिमी जे बन उदाहरण बन’ को भिडियो एआई प्रविधिमा तयारी पारिएको थियो ।

फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

काठमाडौं । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो ।

निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ । पोखरेलका अनुसार फिल्म अक्टोबर ११ शुक्रबार(अमेरिका)का दिन अमेरिकाको टेक्स, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायतका सहरमा सय बढी शोमा फिल्म प्रदर्शन हुनेछ ।

फिल्मका निर्देशक वसन्त निरौलाले फिल्मको पोस्टर, टिजर, गीत र पछिल्लो पटक टिकटकमा सार्वजनिक क्लाइमेक्स दृश्यले फिल्मप्रति विदेशमा बस्ने नेपालीको चासो ह्वात्तै बढेको बताए । ‘अन्य देशहरुमा पनि फिल्म बिक्रीका लागि कुराकानी भइरहेको छ । फिल्मको प्रचार सामाग्रीले राम्रो हाइप लिएकाले हामी उत्साहित छौं’, उनले भने ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

कञ्चनपुरमा हात्तीको आक्रमणमा रानाको घटनास्थलमा नै मृत्यु

कञ्चनपुर, १३ असोजः हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताउनुभयो । उहाँ हात्ती धपाउन जानुभएको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उहाँले दिनुभयो ।