`

उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह

विराटनगर, १३ असोजः कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद््लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी इन्चार्जसमेत रहनुभएका राईले प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो आह्वान गर्नुभएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै उहाँले प्रदेशका विभित्र स्थानमा भएको जनधनको क्षतिले आफूलाई दःुखी तुल्याएको उल्लेख गर्दै घाइतेको उपचार र बेपत्ताको तीव्र खोजी गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “घाइतेको उद्धार, उपचार, बेपत्ताको खोजी तथा मृतकका परिवारलाई राहत एवं पुनःस्थापनाका लागि तीनै तहका सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।”

मौसमअनुकूल भएसँगै आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन

काठमाडौँ, १३ असोजः मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ ।

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।

रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा साउण्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ ।

अष्ट्रेलियाको सिडनीमा आयोजित एक वृहत सांगीतिक कार्यक्रममा यो गीतको भिडियो गायक ढकालले सार्वजनिक गरेका छन् । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सविना थपलिया फिचरिङ छन् ।

भिडीयोमा दिलिप रायामाझीले परदेशिएका नेपालीको भौतिक र मानसिक दुखः पीडालाई ज्वलन्तरूपमा प्रस्तुत गरेका छन् । उनी यो गीत आफ्नो जीवनमा समेत धेरै हदसम्म मेल खाएको ठान्छन् । उनले भने, ‘देशको माया त धेरै हुन्छ तर यथार्थमा त्यो मायाले पेट नभर्ने रहेछ, यस्तै पिडामा समाज र परीवारसँग बिछोडिएका नेपाली चाँडो जन्मभूमी फर्केर पुनर्मिलनको वातावरण बनोस् ।’

परदेशिएका नेपालीहरुमा समर्पित गीतमा घर छोडेर परदेशिए पछिको पीडालाई यथार्थपरकरुपमा चित्रण गरेको छ । नेपालमा तयार भएको अडियोको भिडियो नेपाल र अमेरिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

भिडियोमा घनेन्द्र रसाईलीको निर्देशन, राजेन्द्र विष्टको छायांकन, र सुक कालिकोटेको प्रोडक्सन डिजाइन छ । भिडियोको पोस्ट प्रोडक्सन ड्रागन प्रोडक्सनमा गरिएको छ भने प्रकाशन संयोजन नेपाल म्यूजिक एसोसिएशनका अध्यक्ष तथा साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले गरेका छन्।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रीय नियोग यूएसएड्को मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । गीतकार खड्काले नेपालको हरेक परिवारका कोही न कोही सदस्य विदेशमा रहेकाले सम्बन्धित व्यक्ति तथा परिवारका लागि गीतले छुने बताए । ‘यो गीत गायक रामकृष्ण ढकाल कै लागि लेखिएको हो । गायक र संगितकार दुबैले गीतको शब्द र भाबहरुमा पूर्ण न्याय दिनुभएको छ । गीतमा आम दर्शक तथा श्रोताहरुले आफ्नै वा आफ्ना नजिकका मान्छेहरूको कहानी पाउनेछन्’, उनले भने ।

विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रहि नेपाल लगायत विभिन्न देशहरुको कार्य अनुभव बटुलेका खड्काले नियमितरुपमा साहित्य र संगीतको क्षेत्रमा कलम चलाउने गरेका छन् । एक दर्जनको हाराहारीमा गीत रेकर्ड गराईसकेका गीतकार खड्काको पछिल्लो गीत ‘तिमी जे बन उदाहरण बन’ को भिडियो एआई प्रविधिमा तयारी पारिएको थियो ।

फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

काठमाडौं । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो ।

निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ । पोखरेलका अनुसार फिल्म अक्टोबर ११ शुक्रबार(अमेरिका)का दिन अमेरिकाको टेक्स, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायतका सहरमा सय बढी शोमा फिल्म प्रदर्शन हुनेछ ।

फिल्मका निर्देशक वसन्त निरौलाले फिल्मको पोस्टर, टिजर, गीत र पछिल्लो पटक टिकटकमा सार्वजनिक क्लाइमेक्स दृश्यले फिल्मप्रति विदेशमा बस्ने नेपालीको चासो ह्वात्तै बढेको बताए । ‘अन्य देशहरुमा पनि फिल्म बिक्रीका लागि कुराकानी भइरहेको छ । फिल्मको प्रचार सामाग्रीले राम्रो हाइप लिएकाले हामी उत्साहित छौं’, उनले भने ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

कञ्चनपुरमा हात्तीको आक्रमणमा रानाको घटनास्थलमा नै मृत्यु

कञ्चनपुर, १३ असोजः हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताउनुभयो । उहाँ हात्ती धपाउन जानुभएको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उहाँले दिनुभयो ।

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

इनरुवा (सुनसरी), १३ असोजः बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो ।

इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिनुभयो । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उहाँले बताउनुभयो ।

करेन्ट लागेर मृत्यु

बराहक्षेत्र नगरपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नो सवारी साधन ‘सिटी सफारी चार्ज’गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय भिखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । विद्युत् ‘सर्ट’ भई निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन् ।

बाढीबाट खुर्कोट बसपार्क डुबेको छभने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छभने धानबाली नष्ट भएको छ ।

सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्कोट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए ।

बिपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेका तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने उनले बताए ।

प्रभावित क्षेत्रका विपद्मा परेका नागरिकलाई राहत र उद्धारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ ।

भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए ।

माओवादी केन्द्रका अध्यक्षद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, १३ असोजः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुनेछ ।

‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’

लेखनाथ (कास्की), १३ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट भएको बताउनुभएको छ । पदयात्रा गर्न विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घअन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराद्वारा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा शनिबार यहाँ आयोजित रुसी नागरिक युरी रोडिचेभद्वारा खिचिएका हिमालहरुको फोटो प्रदर्शनी एवं पुस्तक सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले हिमाली क्षेत्रको महत्व विश्वभर प्रचारप्रसार गर्न जरुरी भएको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनकै कारण नेपालका हिम शृङ्खलामा हिउँ पग्लिने क्रम बढिरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असरलाई कम गरी हिमालहरुको संरक्षण गर्नतर्फ सरकार र पर्यटन सम्बद्ध संस्थाहरुले ध्यान दिन जरुरी भएको बताउनुभयो । 

पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको भन्दै मुख्यमन्त्री पाण्डेले पर्यटनबाट नै गण्डकी प्रदेशको समृद्धि सम्भव हुने बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको विकास र प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । “अधिकाशं विदेशी पर्यटक हिमाली क्षेत्रको पदयात्राकै लागि नेपाल आउने गरेकाले यहाँको पदमार्गको प्रचारप्रसार विदेशमा गर्न जरुरी छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । 

रुसी नागरिक रोडिचेभले २१ वर्षको समय खर्चिएर नेपालका हिमाली क्षेत्रको तस्बिर खिचेर रुसका विभिन्न ठाउँमा प्रदर्शन गरी त्यहाँका आठ करोड जनतालाई नेपालका हिमालहरुका बारेमा जानकारी दिएकामा मुख्यमन्त्री पाण्डेले उहाँको प्रशंसा गर्नुभयो । नेपालका हिमालहरुको महत्व नेपालीले भन्दा पनि विदेशीहरुले बुझेको उल्लेख गर्दै उहाँले हिमालहरुको विदेशमा प्रचार गरी बढीभन्दा बढी पर्यटक नेपाल ल्याउन जरुरी भएको बताउनुभयो । 

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश संस्कृति र प्रकृतिले धनी भएकाले यहाँ पर्यटनका सम्भावनाहरु प्रशस्त रहेको बताउनुभयो । गण्डकी प्रदेश नेपालकै उत्कृष्ट पर्यटकीयस्थल भएकाले प्रदेश सरकारले पर्यटनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले विविधताको धनी गण्डकी प्रदेशको पर्यटन विकासमा सङ्घ र प्रदेश सरकारले ध्यान दिन जरुरी भएको बताउनुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनको असरकै कारण हिमालहरुमा हिउँ पग्लन थालेको र त्यसलाई कसरी कम गराउन सकिन्छ भन्ने बारेमा सोच्ने बेला आएको बताउनुभयो । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका संस्थापक हरिध्वज तुलाचनले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

रुसी नागरिक रोडिचेभले आफूले हिमालका चित्र खिच्दा निकै दुःख पाएको र अहिले ती तस्बिर हेर्दा खुसी लागेको बताउनुभयो । चौरासी वर्षीय रोडिचेभले २१ वर्षको  समयावधिमा ३२ पटक नेपाल आएर नेपालका हिमालहरुको तस्बिर खिच्नुभएको थियो । उहाँका १४० हिमालका चित्र पुस्तक र फोटो यहाँ सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएका छन् ।

हरियाणामा विस्फोट हुँदा तीन जनाको मृत्यु, सात घाइते

हरियाणाको सोनीपत जिल्लामा शनिबार एउटा घरमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
विस्फोट जिल्लाको खारखोडा क्षेत्रको रिधौ गाउँमा भएको हो ।

यो घर अवैध पटाका कारखानाको रूपमा प्रयोग भइरहेको अधिकारीले जनाएका छन् ।“हामीले घटनास्थलबाट पटाकामा प्रयोग हुने सामाग्री फेला पारेका छौँ । केही व्यक्तिहरूले सिलिन्डर विस्फोट भएको बताएका छन् । एफएसएल टोलीलाई थप अनुसन्धानका लागि जानकारी गराइएकोे छ,” सोनीपतका सहायक प्रहरी आयुक्त जीत सिंहले मिडियालाई भन्नुभयो ।”

उहाँले थप्नुभयो,“तीनजनाको शव निकालिएको छ भने सातजना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ भने पटाका कारखाना रहेको घरका धनीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।”

बाढी पहिरोमा परी हालसम्म एक सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौँ, १३ असोज : बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।

उत्तरी गोरखाको साम्दोमा हिमपात, रोकिए पर्यटक

गोरखा- उत्तरी गोरखामा भारी हिमपात परेको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा हिमपात भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

हिमपातका कारण यस क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ । “शुक्रबार साँझदेखि साम्दो र आसपासका क्षेत्रमा परेको हिमपात करिब डेढ फिटसम्म जमेको छ”, उहाँले भन्नुभयो, “हिमपात परेपछि अहिले यस क्षेत्रमा चिसो एक्कासि बढेको छ, जसले जनजीवन प्रभावित भएको छ ।”

सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) साम्दोका प्रमुख प्रहरी निरीक्षक विश्व त्रिपाठीले स्थानीयवासी घरबाहिर निस्कन कठिनाइ भएको छभने लार्केपास पदमार्गमा पुगेका पर्यटकलाई आवाजजावतमा समस्या भएको बताउनुभयो ।

बाढीपहिरोमा परेका जनताको उद्धारमा जुट्न माओवादी केन्द्रको अपिल

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको छ । विज्ञप्ति जारी गरी विपत्को समयमा मानवीयताको उच्च प्रदर्शन गर्दै समस्यामा परेका नागरिकहरूको सहयोगका लागि सक्रियतापूर्वक जुट्न पार्टीले अपिल गरेको हो ।

“दुई दिनयता परेको भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनेको छ, मनसुनजन्य विपत्तिका कारण आज धेरै मानवीय क्षति भएको छ । धेरै घाइते र सम्पर्क बाहिर रहेका प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । एकपछि अर्को गर्दै देशभरबाट दुःखद खबर आउने क्रम जारी छ । त्यसैले यो विपत्को समयमा उच्च सतर्कतासहित उद्धारमा खट्न अपिल गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ,“जल तथा मौसम विज्ञान विभागलगायतका सम्बद्ध निकायहरूले एक हप्ता अघिदेखि नै यस किसिमको बर्सात र सम्भावित क्षतिको पूर्वानुमान गरेको भए पनि पूर्वतयारीमा आवश्यक ध्यान दिन नसक्दा ठूलो जनधनको क्षति भएको छ । विपत्तिपूर्ण घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नु आवश्यक छ ।”

यस्तै, दसैँ, तिहार, छठलगायत चाडपर्वलाई ध्यानमा राखेर बन्द रहेका सडकमार्ग यथासक्य छिटो खुलाउन सरकारको ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौँ, १३ असोजः नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाउनुभएको छ ।

नेपाल–फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिबार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उहाँले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्थितिमा फ्रान्स सरकार र फ्रान्सेली जनता नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहनुभूति एवं ऐक्यबद्धता प्रकट गर्दछौँ भन्नुभयो ।

फ्रान्सका विभिन्न शैक्षिक प्रतिष्ठानमा माध्यमिक शिक्षादेखि विद्यावारिधिसम्मको अध्ययन गर्न चाहने नेपालीलाई लक्ष्यित गरी आयोजित शैक्षिक प्रदर्शनीले फ्रान्स र नेपालबीचको सम्बन्धलाई शिक्षाका माध्यमबाट अझ उन्नत बनाउने विश्वास व्यक्त गर्नुभयो । जेहेन्दार विद्यार्थीलार्ई आफ्नो देशले छात्रवृत्तिको व्यवस्था पनि गरेकाले त्यसबाट नेपाल लाभान्वित हुने विश्वास राजदूत कोर्टेभालले व्यक्त गर्नुभयो र

त्यस अवसरमा त्रिभुवन र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं प्रशासकका साथै ‘क्याम्पस फ्रान्स’ का दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूको उपस्थिति थियो ।

बाढीपहिरोले खोटाङमा २७ घर पुरिए

खोटाङ- अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७ घर बगाएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरोले २७ वटा घर पूर्णरुपमा बगाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँले बाढीपहिरोका कारण हालसम्म मानवीय क्षति नभए पनि दुईजना घाइते भएका, आठवटा पशुचौपाया पुरिएका बताउनुभयो । “बाढीपहिराले हालसम्म मानवीय क्षति नभए पनि जिल्लामा ठूलो क्षति गरेको छ । अझै पनि वर्षा भइरहेकाले सतर्कता अपनाउन र बाढीपहिरोबाट विस्थापितको उद्धारमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएका छन्”, प्रजिअ कार्कीले भन्नुभयो ।

पहिरोले घरबारविहीन भएका स्थानीयलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जनाइएको छ । पहिरोले घर बगाएपछि करोडौँको क्षति व्यहोरेका स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउन सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटार पुल बगाएको छ । पुल बगाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुलसमेत बगाएपछि यातायात अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण जिल्लाका सबै सडक अवरुद्ध भएको जनाइएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

भीषण बाढीले दूधकोशी तथा सुनकोशी आसपासका स्थानीय बासिन्दा जोखिममा परेका छन् । सुनकोशीमा ४० वर्षयताकै ठूलो बाढी आएको हलेसी तुवाचु नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष फौदराज राईले जानकारी दिनुभएको छ ।

धार्मिक तीर्थस्थल देवघाटधाम बाढीको जोखिममा

दमौली (तनहुँ), १३ असोज : बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ । त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा परेका हुन् । वर्षाका कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशूली र कालीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुगेको छ ।

कालीगण्डकीमा आएको बाढीले देवघाट गाउँपालिका–५ साँढेबगरस्थित महादेव आधारभूत विद्यालय डुबानमा परेको प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिनुभयो । बाढीले विद्यालय भवन डुबाएका कारण विद्यालयको सबै काजगात नष्ट भएको उहाँले बताउनुभयो ।

यस्तै त्रिशूलीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशूलीमा पानीको सतह अत्यधिक बढेपछि शनिबार बाढी पुल नाघेर बगेको थियो । केही घण्टा उक्त पुलमा आवतजावत समेत बन्द गरिएको थियो ।

बाढीका कारण देवघाट गाउँपालिका–५ र चितवनको १७ किलोस्थित बगन्दी जाने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीको बाढीले गलेश्वर आश्रम जोखिममा छ । गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ । त्रिशूली र कालीगण्डकीमा आएको बाढीले देवघाटस्थित वेणी सङ्गमा रहेका मठमन्दिर, कुटी र चितवनतर्फ रहेका धर्मशाला डुबानमा परेका देवघाट गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक

काठमाडौँ, १३ असोज : निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’को फस्ट लुक सार्वजनिक गरिएको छ । उक्त चलचित्र आगामी पुस ५ गतेदेखि सार्वजानिक प्रदर्शनमा आउने भएको छ ।

चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा तयार गरिएको उक्त चलचित्रलाई दर्शकले साथ दिने विश्वास व्यक्त गर्नुभयो । पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । 

मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या तथा त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे विषयमा चलचित्र निर्माण गरिएको हो । चलचित्र ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशिला आचार्य र निर्माण सहायक रामगोपाल थापा रहेका छन् । “आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश चलचित्रमा दिने प्रयास गरेका छौँ”, निर्देशक भट्टराईले भन्नुभयो । 

भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र झिल्कोमा सामाजिक पारिवारिक विषयवस्तुको कथा रहेको निर्माण टोलीले जानकारी दिएको छ । “झिल्को आजको कथा हो । आजको समाज डिजिटल समाजका रुपमा निर्माण भइसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेका बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौ ँ? ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छ ? आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्या बन्दै गएको दुव्र्यसनी डिजिटल दुव्र्यसनी हो । यही संवेदनशील विषय झिल्कोको कथा हो”, निर्देशक भट्टराईले भन्नुभयो । 

चलचित्र झिल्कोको छायाङ्कन गत वर्ष चैतदेखि थालिएको थियो । यसअघि सती प्रथाको कथामा चलचित्र ‘झोला’ निर्माण गरेका भट्टराईले झोलापछि दाइजोविरोधी चलचित्र ‘भोर’ निर्माण गर्नुभएको थियो । झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पार्नुभएको हो । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, सम्पादन निमेश श्रेष्ठ, गीत आनन्द अधिकारी, सङ्गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्मा, गायन शिव परियार र निशा देशार, मुख्य सहायक निर्देशन आकाश उखेडा, निर्माण नियन्त्रक दिलिप पन्त, सहायक निर्देशन अनिश बुढाथोकी, सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायाङ्कन विवेक लामाको रहेको छ ।

आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने, सतर्क रहन आग्रह

काठमाडौँ, १३ असोज : देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ ।

ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिनुभएको छ । उहाँले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताउनुभयो ।

महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १३ असोज : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडीस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  र बिक्रीदर २० रुपैयाँ ०९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

इनरुवा (सुनसरी), १३ असोज : सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् । 

सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ । लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो । नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड चार लाख १८ हजार दुई सय ८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड पाँच लाख सात हजार ६ सय ९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौँ, १३ असोज : टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सवै विकेट गुमाएर एक सय नौ रन मात्र बनाउन सक्यो ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए ।

बलिङतर्फ क्यानडाका कलिम सानाले चार विकेट लिए । यस्तै साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए । यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाए । 

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए । नेपालले दोस्रो खेल अब आज राति ओमानसँग खेल्नेछ ।

सर्लाहीमा सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका १० जनाको उद्धार

बरहथवा (सर्लाही), १३ असोज : सशस्त्र प्रहरी बलले सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार गरेको छ । शनिबार अविरल वर्षासँगै आएको बाढीमा सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित एकादशी खोलाको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको हो ।

सबै जनालाई उद्धार गरी उनीहरुको घरमा पुर्याइएको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । खेतीपाती गर्न तथा खोलामा माछा मार्न गएका उनीहरू एकादशी खोलामा पानीको सतह बढेपछि थुनिएका थिए । बसवरिया–२ की ४८ वर्षीया पटिया देवी, २२ वर्षीया कमरिया देवी, ४५ वर्षीया अकिरा देवी, तीन वर्षीय शिवु सहनी, चार वर्षीय शिवम् कुमार, ५४ वर्षीया धनसी सहनी, ५० वर्षीय हरि मुखिया, ५० वर्षीय विलाश सहनी, ५५ वर्षीय नबल सहनी र ५० वर्षीया दुखियादेवी सहनी रहेका प्रहरीले जनाएको छ ।

बाढीसँगै खोलामा माछा मार्न गएका उनीहरू एकातर्फबाट बागमती र अकोतर्फबाट एकादशी खोलाको बाढीले बीच भागमा थुनिएका सशस्त्र प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ, १३ असोज : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।  

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् । 

आज दिउँसो सर्वदलीय बैठक बस्ने

काठमाडौँ, १३ असोज : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई  उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । 

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उहाँको सचिवालयले जनाएको छ । 

अहोरात्र  सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत र पुनःस्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी आफैं पनि लागिरहेका उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपद्मा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गर्नुभएको छ । मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ । 

एमाले नेता तथा कार्यकर्तालाई उद्धारमा जुट्न आग्रह

काठमाडौँ, १२ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई बाढीपहिरोको उद्धारमा परिचालन हुन आग्रह गर्नुभएको छ ।

उहाँले आज विज्ञप्ति जारी गर्दै अस्वाभाविक रूपमा भएको वर्षापछि बाढी तथा पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको भन्दै यस विपद्मा पार्टी कमिटी, जनप्रतिनिधि र जनवर्गीय सङ्गठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गर्नुभएको छ । कार्यवाहक अध्यक्ष पोखरेलले विपद्को उद्धारमा पार्टी पङ्क्ति तत्परताका साथ जुट्ने समेत बताउनुभयो ।

यसैगरी उहाँले उद्धार तथा राहत कार्यमा जुट्न सरकारसँग विशेष आग्रह गर्नुभएको छ । “सरकारका सबै अङ्गहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन, सम्बन्धित मन्त्रालय र निकायको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक छ । यस दिशामा यथोचित ध्यान दिन सरकारसित विशेष आग्रह छ । साथै बाढीपहिरोमा परी बेपत्ताहरूको अविलम्ब खोजी र घाइतेहरूको उपचारमा सरकारको ध्यान दिन आग्रह छ”, विज्ञप्तिमा भनिएको छ । साथै अन्य सबै पार्टी तथा सामाजिक सङ्गठन÷ संस्थाहरूलाई पनि यस काममा परिचालित हुन अनुरोध गरिएको छ । यस्तै, आमनागरिकलाई पनि आवतजावतमा विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

विपद् अपडेट : ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ ।

यसअघि शनिबार साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्लो विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेका जानकारी दिए  । अरु ३६ जना घाइते भएका छन् ।

उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो ।

बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक , काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् ।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् । त्यसैगरी प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ४९४ जनाको उद्धार गरिएको छ ।

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ १२ असोजः अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ । विगत दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिनुभयो ।

यस्तै, रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली दुई जलविद्युत् आयोजनाको भौतिक संरचना र उपकरणमा क्षति पुगेको छ । प्रवक्ता घोषकानुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत पाँचजना सम्पर्कविहीन छन् ।

यस्तै, खिम्ती लामोसाँघु प्रसारण लाइनमा क्षति पुगेको छ । उक्त प्रसारण लाइनको ७ नम्बर टावर बाढीले बगाउँदा काठमाडौँ आउने विद्युत् लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । यसैगरी दमकदेखि गोदकसम्मको प्रसारण लाइनमा समेत क्षति पुगेको छ । उक्त प्रसारण लाइनअन्तर्गतको ५१ नम्बर टावर बाढीले बगाएको हो ।

बाढीले सोलु करिडोर, कोशी कोरिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको प्रवक्ता घोषले बताउनुभयो । नेपालमा उत्पादित विद्युत्गृहहरूमा बाढीपहिरोले क्षति पुगेपछि भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

अधिकांश विद्युत् कम्पनीहरूले बाढी बढ्न थालेपछि विद्युत्गृहमा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारेका छन् । यसअघि शुक्रबार राति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अविरल वर्षाका कारण ठूलो धनजनको क्षति हुनेतर्फ सचेत रहँदै खोलाको किनारामा बस्ने तथा पहिरोको वरपर बस्ने बासिन्दालाई सर्तक रहन आग्रह गर्नुभएको थियो । उहाँले खोलामा निर्माण भइरहेका जलविद्युत् आयोजना तथा सिँचाइ आयोजनामा कार्यरत मजदुर, कर्मचारी तथा इन्जिनियर सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको थियो ।

नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएकामा दुई दिनको बाढीपहिराले क्षति पुगेपछि अहिले एक हजार ३०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

वर्षाका कारण समस्यामा परेका पर्यटकको उद्धार गर्न पर्यटनमन्त्रीको नौबुँदे निर्देशन

काठमाडौँ, १२ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा समस्यामा परेका पर्यटकको उद्धार गर्न निर्देशन दिनुभएको छ ।

आज मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकले विभिन्न नौबुँदे निर्देशनात्मक आदेश जारी गरेकोे मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

पर्यटकको तत्काल उद्धार गर्न पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने, आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ । हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने, वायुसेवा कम्पनीका हेलिकप्टर र र्‍याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरण अधिकतम परिचालन गर्नेगरी तयारी अवस्थामा राख्नाका साथै र्‍याफ्टिङसम्बन्धी संस्थाहरूले उद्धारमा गरेको प्रशंसनीय कार्यलाई निरन्तरता दिने लगायतका निर्देशन जारी गरिएको छ ।

साथै सबै विमानस्थल सञ्चालनयोग्य अवस्थामा नै रहेको हुँदा मौसमको अनुकूलता हुने बित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई अधिकतम क्षमतामा सञ्चालन गर्ने, मौसम तथा उडानसम्बन्धी पूर्वसूचनालाई सबैको जानकारीका लागि निरन्तर प्रवाह गर्नेे, होटल एसोसिएसन अफ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई होटल एवं डाइनिङ सेवा सहुलियत र नियमित शुल्कमा नै सहज ढङ्गबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, १२ असोज : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ । केही दिनदेखि देशभर भइरहेको अविरल रुपमा भएको वर्षा र सोका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

बैठकले ती सेवा निरन्तरताको सम्बन्धमा कुनै समस्या भएमा वा अन्य निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएकामा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मन्त्रालयमा जानकारी गराउन पनि निर्देशन दिएको छ । 

मन्त्रालयले विपद् प्रतिकार्य, उद्धार तथा राहतका सम्बन्धमा नेपाल सरकारबाट भएका निर्णयसम्बन्धी विषयवस्तु प्रभावकारी र नियमित रुपमा प्रचारप्रसार गरी जनतालाई समयमै सुसूचित गर्ने÷गराउने निर्णयसमेत गरेको छ । 

बैठकमा मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका सूचना प्रविधिविज्ञ डा शालिग्राम पराजुली, नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, रेडियो नेपालका कार्यकारी निर्देशक अम्मरध्वज लामा र दूरसञ्चार सेवा प्रदायक संस्था ‘एनसेल’का सिआरओ विशालमणि उपाध्याय र इन्टरनेट सेवा प्रदायक संस्था ‘इस्पान’का प्रमुख कार्यकारी अधिकृत सुवास खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको शनिबार पुष्टि गरेको छ ।हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको जनाएको हो ।

हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हिजबुल्लाहका महासचिव सैयद हसन नसरल्लाहले आफ्ना महान्, अमर शहीद कमरेडहरूसँग सामेल हुनुभएको छ। उहाँको मृत्यु भएको छ ।”नसरलाहले तीन दशकभन्दा बढी समयदेखि हिजबुल्लाह समुहको नेतृत्व गर्नुभएको थियो ।

इजरायली सेनाले लामो समयदेखि यो आक्रमणको योजना बनाइरहेको बताएको थियो । इजरायलले ६४ वर्षीय नसरुल्लाहलाई कैयौँ इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर्‍याएको छ ।

इजराइलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या भएको दाबी गरेपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली आक्रमणबारे आलोचना गर्नुभएको थियो ।

वर्षौंदेखि इरानले हिजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएको आरोप इजरायलले लगाउँदै आएको छ । खामेनीले आफ्नो वक्तव्यमा हसन नसरल्लाहको नाम नलिइकन सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “एकातिर लेबनानमा निहत्था मानिसहरूको हत्याले कट्टरपन्थी यहूदीहरूको बर्बर स्वभावलाई फेरि एकपटक उजागर गरेको छ। अर्कोतर्फ, यी आक्रमणहरूले इजरायली नेताहरूको नीति कति अदूरदर्शी र मूर्खतापूर्ण छ भन्ने पनि प्रमाणित गरेको छ।”

अयातुल्लाह अली खामेनीले लेबनान र हिजबुल्लाहका जनताको साथमा उभिन र ‘दमनकारी शासनको सामना गर्न’ उनीहरूलाई समर्थन गर्न सबै मुसलमानहरूलाई आग्रह गर्नुभएको छ ।
सन् २००६ मा समूह र इजरायलबीच अन्तिम पटक युद्ध भएयता हिजबुल्लाहको गढमा इजरायली लडाकू विमानले शनिबार रातिसम्म बेरुतको दक्षिण र बाहिरी इलाकामा आक्रमण गरेका थिए ।

सन् २००६ यता नसरल्लाह सार्वजनिक रुपमा विरलै देखिनुभएको थियो ।सन् १९९२ मा अब्बास अल मुसावीको हत्यापछि उहाँ ३२ वर्षको उमेरमा हिजबुल्लाहको महासचिवमा निर्वाचित हुनुभएको थियो।

पहिरोमा पुरिएका ६ विद्यार्थीको शव हेलिकप्टरबाट काठमाडौँ लगियो

मकवानपुर, १२ असोज : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना विद्यार्थीको शव फेला परेको छ । पहिरोमा बेपत्ता भएका सबैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार ४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिने र स्थानीय बत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए । आज बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधको दुईवटा ढोका खोलेर पानी बाहिर पठाएको थियो । 

कुलेखानीको बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आएका कारण बत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ । 

चौतीस जना विद्यार्थी पनि हेलिकप्टरमै काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । सिस्नेरी खोलामा जलसतह बढेसँगै विद्यार्थीलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरोमा परी एन्फा एकेडेमीका ६ जना विद्यार्थी बेपत्ता भएका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भने प्रेस विज्ञप्तिमार्फ बेपत्ता विद्यार्थी भन्दै नाम सार्वजनिक गरेको छ ।

एन्फाको विज्ञप्तिअनुसार मकवानपुरका हेटौँडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका बिकल रेग्मी, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी रहेका छन् । अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललितकुमार घलानका छोरा हुन् । जिल्ला संयोजक घलानले सामाजिक सञ्जालमा छोरालाई बचाउन नसकेको बताएका छन् ।

सिस्नेरीखोलामा आएको बाढीले स्थानीयको ३० वटा घर बगाएको सिस्नेरी प्रहरीले जानकारी दिएको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र अहिले आफन्तकामा शरण लिएर बसिरहेको सिस्नेरी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार मकवानपुरको बागमती गाउँपालिका–३ फापरबारीस्थित रहरसिंह थिङको छोरी २० वर्षीया फूलमाया थिङलाई आफ्नै घर भत्किँदा घरले चेपिएर निधन भएको छ ।

हेटौँडाबाट बागमती हुँदै सिन्धुली जाने धरानचतरा मार्गको बागमती पुलमा बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ । बागमती पुलको छेउमा करिब सय मिटर सडक खोलाले बगाएको बताइएको छ । हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पहिरोका कारण अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक सापकोटाका अनुसार त्रिभुवन राजपथ, कान्तिराजपथमा पनि पहिरो आएपछि यातायात अवरुद्ध बनेको छ । 

प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता

बोस्टन (अमेरिका), १२ असोजः प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट हावर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन आइपुग्नुभएका प्रधानमन्त्री ओली र लुकबीच भेटवार्ता भएको हो । उहाँहरुबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको थियो ।

वर्षाका कारण भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी

भक्तपुर, १२ असोजः अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्तीहरू डुबानमा पर्दा करोडाँैको क्षति भएको छ ।

मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्र पूर्ण रूपमा डुबानमा परेको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाले हालेको बनाएको ढलमा नगरपालिकाले सिन्टिटार, बोडे, निकासेरन, बाहखाबजारलगायतको ढल मिसाई दिएपछि ढल फुटेर बस्तीमा पसेको थियो । 

आज बिहान ७ बजेपछि हनुमन्ते खोलाको बहाव करिडोर पार गरेर बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्रको वडा नं ५ सङ्गम कोलोनी, वडा नं ९ को राधेराधे क्षेत्र पूर्ण रूपमा डुबानमा परेको छ । यहाँका करिब ५०० घरभित्र पानी पसेर सयौँ परिवार विस्थापित भएका छन्भने भुइँतलाका सम्पूर्ण सामान डुबेर क्षति भएको छ । सयौँ पसलभित्र सात फिटसम्म पानी पर्दा करोडौँको सामानहरू क्षति पुगेको छ । राधेराधेबाट भाटभटेनी क्षेत्र राधेराधे निकोसेरा सडक क्षेत्रमा पाँच फिट उचाइसम्म पानी पुगेपछि यातायात अवरुद्ध भएका छन्भने व्यापारिक निकाय ठप्प भएका छन् । 

बिहान ८ बजे आएको सशस्त्र प्रहरीको टोलीले राधेराधे क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । यस क्षेत्रमा रहेका करिब १०० घरपरिवार सुरक्षित स्थानमा सरेका छन्भने कतिपय आफन्तकामा र कतिपय होटलमा गएको स्थानीय प्रदीप कार्कीले जानकारी दिनुभयो । यहाँको अवस्था भयाभव भएको छ । 

मध्यपुरथिमिकै मनोहरा खोला र हनुमन्ते खोलामा आएको बाढीका कारण मनोहरा बस्ती पूर्ण रूपमा डुबानमा परेको छ । जडीबुटीस्थित सुकुम्वासी बस्ती पूर्ण रूपमा डुबानमा परेको छभने जडीबुटी आँखा अस्पताल क्षेत्रको बस्ती डुबानमा परेको छ । 

त्यस्तै, भक्तपुरको हनुमन्ते खोलाले ग्यासको बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्यास लिक भएर चुहिँदै बुलेट बगेको पछि स्थानीयहरू त्रसित भएका छन् । वर्षाका कारण भनपा–६ भीमसेनस्थानमा रहेको सिद्धिस्मृति अस्पतालमा पानी पस्दा सबै सेवा नै बन्द भएको छ । भक्तपुरको सिद्धिस्मृति अस्पताल डुबानमा परेपछि बिरामीलाई उद्वार गरी अन्यत्र अस्पताल पठाउन नेपाली सेनासहितको सुरक्षा टोली बोटसहित परिचालन गरिएको छ । इवामुरा अस्पतालमा पनि पानी पसेर आकस्मिकलगायत सेवाहरू प्रभावित भएका छन् ।

भक्तपुरको सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रुपमा डुबानमा परेका छन् । त्यहाँका विद्यालय, व्यापारिक केन्द्र र बस्तीहरू डुबानमा पर्दा लाखौँको क्षति भएको छ । 

त्यस्तै, सूर्यविनायक क्षेत्रको सूर्यविनायक–२ स्थित गोदावरी खोला किनारका बस्ती र घरमा पानी पस्दा भक्तपुरको बालकोट र ललितपुर महालक्ष्मी नगरपालिकाको सिमानाका क्षेत्रहरू पूर्ण रुपमा डुबानमा परेका छन् । त्यस क्षेत्रका पशुपक्षी बगाएको छ । सूर्यविनायक –१० को भङ्गालमा गणेश दुलाल र भरत दुलालको घर पहिरोले पुरिएर चौपायासमेत पुरिएपछि मानवीय क्षति रोक्न प्रहरीको उद्धार टोली पुगेको छ । भक्तपुरको पलांसे नजिकै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

सूर्यविनायक नगरपालिका–५ गडेधारा टोलमा स्थानीय घट्टेखोला पस्दा ४० घर डुबानमा परेको छन् । एक महिनाअगाडि परेको वर्षाका कारण पनि डुबानमा परेर लाखौँको क्षति भएको यस क्षेत्रमा राति १ बजेदेखि डुबानमा परेर स्थानीयले घर छाडेर आफन्तको पुगेका छन् । यस क्षेत्रमा लाखौँको क्षति भएको स्थानीयवासी एवं गैरसरकारी संस्था महासङ्घ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले जानकारी दिनुभयो । 

मोर्डन चोकमा घट्टेखोलाको पानी पसेर अधिकारी टोलमा र हिनचोक टोलमा लगभग ३० घर डुबानमा परेको छ । दधिकोट तर्खगालस्थित नाङ्ग्गे पाखाबाट पहिरो आउँदा थिमि, गाम्चा र तर्खगालको सडक अवरुद्ध भएको छ । हनुमन्ते खोलाको बाढी पसेर  मथिनपा–३ चारदोबाटोमा रहेको अन्नपूर्ण तरकारी बजार र मथिनपा–३ कौशलटारमा रहेको सागबारी टोल डुबानमा परेको छ । 

सुनपा–२ कौशलटारबाट बालकोट जाने बाटोमा फर्निचर कारखानामा नौजना मानिस फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको टोलीले उद्धार गरेको छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जिल्लभरि खटिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, बालकोट नयाँ बस्ती, हनुमन्ते खोला आसपासका बस्ती पूर्ण रूपमा डुबानमा परेका छन्भने कतिपय भुइँतलाका मानिसहरु उद्धारको पर्खाइमा छन् । वर्षाका कारण चाँगुनारायण नगरपालिका–६ नगरकोट बाख्री गाउँमा तेलकोटदेखि बाख्री गाउँ हुँदै नगरकोट जाने बाटोमा पहिरो जाँदा हरिगुरु मार्ग पूर्ण रूपले अवरुद्ध तथा भक्तपुर नगरकोट सडक समेत पहिरोले अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले धेरै ठाउँ डुबानमा परेको र पहिरो गएको जानकारी आइरहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी उद्धारमा खटिएको जानकारी दिँदै क्षतिको विवरण पनि सङ्कलन कार्य जारी रहेको बताउनुभयो ।

भक्तपुर विपद् अपडेट : पहिरोमा परेर पाँचजनाको मृत्यु, ४१ जनाको उद्धार

भक्तपुर, १२ असोजः अविरल वर्षाका कारण आज भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसे र वडा नं ८ नैचालमा पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ । पलाँसेस्थित मगरगाउँमा पहिरोले जस्ताको टहरा पुरिँदा कालीकोट सानी त्रिवेणी नगरपालिका–१ घर भई हाल सूर्यविनायक–९ पलाँसे बस्ने गणेश बमको एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।

पहिरोमा एकाघरका बमकी ९ महिनाकी गर्भवती श्रीमती २४ वर्षीया दमिला शाही, बमकी ४ वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको छ ।    

त्यसैगरी, सूर्यविनायक नगरपालिका–९ नैचाल पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु भएको छ । पहिरामा ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको मृत्यु भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । 

त्यस्तै, बालकोट गोदाबरी खोलाले बगाएको ३९ वर्षीया लालु सरदार र गुण्डु बस्ने ४१ वर्षीया सानु तामाङलाई गुण्डुस्थित धोवी खोलाले बगाउँदा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक मोहनीमणि अधिकारीले जानकारी दिनुभयो । उहाँले कौशलटार हनुमन्ते खोलाका जोखिममा रहेका बस्तीका १३० जनालाई उद्धार गरी स्थानीय जनप्रेमी स्कुलमा राखिएको छ ।

भक्तपुरको जगाती आदर्शस्थित सिद्धि स्मृति अस्पतालमा उपचाररत दुईजनाको उद्धार गरी भक्तपुर अस्पताल लगिएको छ । भक्तपुरका विभिन्न स्थानको र पहिरोको जोखिममा रहेका २० महिला र २१ पुरुष, बालबालिका गरी ५६ जनाको सकुशल उद्धार गरिएको सहायक प्रजिअ निरौलाले जानकारी दिनुभयो ।

जिल्लामा विपद्का घटनामा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ३५०, सशस्त्र प्रहरी बलका १७१ र नेपाली सेनाका ११७ जना सुरक्षाकर्मी परिचालनन गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले वर्षाका कारण डुबान, बाढी पहिरोको जोखिम थप बढेकाले अति आवश्यक काममा बाहेक घरबाट ननिस्कन र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । बाढीको अवलोकन गर्ने क्रममा उहाँले सबै पुलहरु उच्च जोखिममा परेकाले नदीका पुलहरूमा नबस्न पनि आह्वान गर्नुभयो । 

जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत खोज तथा उद्धार, राहत सामग्री वितरणलगायत कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका करिब एक हजार स्वयंसेवक परिचालन गरिएको पनि प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो । 

रेडक्रसले २० परिवारलाई राहत वितरण गरेको रेडक्रसका जिल्ला सभापति परशुराम पाण्डेले जानकारी दिनुभयो । उहाँका सूर्यविनायक नगरपालिका–१, ४, ५ र ८ मा गैरखाद्य सामग्री वितरण गरिएको गर्नाका साथै लत्ताकपडा, खाना पकाउने भाँडावर्तन, ओढ्ने मण्डी, त्रिपाल, प्लास्टिकको बाल्टिनलगायत सामग्री वितरण गरेको जानकारी दिनुभयो । चाँगुनारायणका विभिन्न वडामा त्रिपाल र पहिरो रोक्न प्लास्टिक वितरण गरिएको पाण्डेले बताउनुभयो ।

अविरल वर्षाले भक्तपुरको हनुमन्ते र खस्याङखुसुङलगायत खोलामा आएको बाढीका सडक र बस्तीमा पसेपछि भक्तपुरको जगाती च्यामासिंह सडक, भक्तपुरको मुख्य सडक अरनिको राजमार्ग र सल्लाघारी पेप्सीकोला, बालकोट सडक, राधेराधे निकोसेरा सडक अवरुद्ध भएका छन् । पानीको बहाव घटेपछि ११ बजेदेखि अवरुद्ध यी सडकहरू अहिले सञ्चालन हुन थालेका छन् । 

त्यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुरोधमा उद्योग वाणिज्य सङ्घले १० बोरा चामल, नुन, तेल र दाल राहतका लागि उपलब्ध गराएको हो । उक्त सामग्री तत्काल पीडितलाई वितरण गरिने सहायक प्रजिअ निरौलाले बताउनुभयो ।

वर्षाका कारण भक्तपुरमा सिद्धि स्मृति अस्पताल, इवामुरा अस्पताल, शान्ति निकेतन माध्यमिक विद्यालय, तारा माध्यमिक विद्यालय, ग्लिटर फ्युचर स्कुल, राम मन्दिर, हनुमानघाट, जामे मस्दिज, बाराही क्षेत्र, राधेराधे, कमेराटार सङ्गम कोलोनी क्षेत्र, बालकोट, हनुमन्त, गोदावरी र मनोहरा खोला निकाराका बस्ती, गडेधारा बस्तीलगायत एक हजारभन्दा बढी घर, पसल तथा व्यापारिक केन्द्रलगायत जिल्लाका १६ वटा वस्तु डुबानमा परेका छन् । 

डुबानमा पसेका अधिकांश घरका भुइँतलामा आठ फिटसम्म उचाइमा पानी र हिलो पसेपछि खाद्यान्न, लत्ताकपडा, टिभी, ‘फ्रिज’, ओछ्यान तथा व्यापारिक केन्द्र एवं पसलहरुभित्र पानी पस्दा सामग्री डुबेर करोडौँको क्षति पुगेको छ । एक तला घर हुनेहरू आफन्त र होटलमा पुगेका छन्भने अन्य माथिल्लो तलामा छिमेकीकामा सहायता माग्न पुगेका छन् ।

गाई फार्महरू र बङ्गुर फार्महरू डुबान तथा पहिरोमा पर्दा कतिपय बगाएको छभने कतिपय पहिरोले पुरिएका छन् । कति पशुचौपाया मरे भन्ने किन तथ्याङ्क नआएपछि ५० भन्दा बढी मरेको अनुमान गरेको छ ।

देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित

काठमाडौँ, १२ असोज : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ ।

त्रिविले आज सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बिएड, बिबिएस र बि.एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ ।

“उक्त परीक्षाहरू यही भदौ २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेगरी तोकिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, त्रिविले भनेको छ । साथै त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही भदौ २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ ।  

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध

काठमाडौँ, १२ असोजः सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी गराउनुभयो ।

उहाँले बाढी पहिरोमा परेकालाई विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपरेकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको बताउनुभयो ।

देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएकाले विद्यालय बन्द गर्नुपरेको प्रवक्ता भट्टराईले बताउनुभयो । मन्त्रालयले भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरिएको छ ।

काठमाडौँ उपत्यकामा २२ वर्षपछि वर्षाको ‘रेकर्ड ब्रेक’

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ शनिबार बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।

मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि जानकारी दिए ।

उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

शनिबार साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौँमा  १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ ।

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा शनिबा साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छभने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छभने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ ।

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको क्षति

काठमाडौँ, १२ असोजः नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै मौसममा बदली आउने र जोखिम निम्त्याउने भन्दै सचेत रहन आग्रह गरिसकेको थियो तर पनि यसपटक देशव्यापी रूपमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएको छ । विपद् बाजा बजाएरै आएजस्तो भएको छ यसपटक ।

विभागकानुसार यस वर्षको मनसुन करिब अन्त्यको चरणमा पुग्नै लाग्दा देशव्यापी रूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण यसपटक राजधानी काठमाडौँ उपत्यका पनि निकै प्रभावित भयो । यहाँ अधिकांश नदी तटीय क्षेत्र जलमग्न छन् । बागमती, विष्णुमति, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेका छ । आज साँझपख एकैछिन घाम लागे पनि प्रभावितमा खुसीको सञ्चार भयो ।

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हजारौँ मानिस प्रभावित भई एकैपटक उद्धार गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे नै भयो । उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बाढीका कारण उपत्यकाका नदी तटीय क्षेत्रका अधिकांश तरकारी बजार, सार्वजनिकस्थल, विद्यालय, सडक पूर्वाधार, बल्खु आसपासका अधिकांश थोक बजारमा बाढी पसेको छ । बिहीबार रातिदेखिको वर्षाका कारण यहाँको जनजीवन प्रभावित मात्रै भएको छैन, उपत्यका प्रवेश गर्ने सडक नाका, मुख्य राजमार्ग अवरुद्ध छन् ।

काठमाडौँ उपत्यकामा ३४ जनाको निधन भएको छभने १७ जना बेपत्ता छन् । यहाँ दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकानुसार ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको निधन भएको छ । काठमाडौँमा एक हजार तीन सय १५ जनाको उद्धार गरिएको छ । उद्धार तथा खोजका लागि चार हजार पाँच सय १० जना प्रहरी परिचालन गरिएका छन् ।

यस्तै, स्थानीयस्तरमा पनि युवाले स्वतःस्फूर्त रूपमा उद्धार तथा खोजकार्य गरेका थिए । ललितपुरको नख्खु खोलामा आएको बाढीमा फसेकालाई स्थानीय युवाले उद्धार गरेको विषय दिनभर नै सामाजिक सञ्जालमा चर्चामा रह््यो ।

वर्षाका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा राजधानी काठमाडौँको आधाभन्दा बढी स्थान प्रभावित भए । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषकानुसार वर्षाका कारण अवरुद्ध भएको बिजुली आपूर्ति सहज बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ । अत्यधिक मात्रामा पानी जमेका स्थानमा पोल तथा तार व्यवस्थापनमा समस्या भए पनि प्राधिकरणले आवश्यक प्राविधिक उपकरणसहितको जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, मुलुककै सबैभन्दा ठूला जलविद्युत् उत्पादन केन्द्रका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको बाँधस्थल तथा बालुवा थिग्य्राउने पोखरीमा क्षति पुगेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो ।

नियमित बिजुली प्रवाहमा समस्या आउँदा दूरसञ्चार सेवा प्रवाहमा समेत सामान्य असर देखियो । फोन गर्दा नसुनिने, बोल्दा बोल्दै काटिनेजस्ता समस्या आज देखिएका थिए । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मातहत निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर विपद्को समयमा दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले आज बेलकनदेखि वर्षाको स्तर विस्तारै कम हुँदै जाने बताउनुभयो । उहाँकानुसार नदीमा जलस्तर क्रमशः कम हुँदै जाँदा जोखिम पनि कम हुनेछ । जलस्तर कम हुँदै जाँदा खोज, उद्धार र राहतमा जुटन सहज हुनेछ । “समग्रमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ । चौबिस घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । मुलुकभर एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह पार गरेको थियो”, शाखा प्रमुख पराजुलीले भन्नुभयो ।

आजै कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपत्कालीन समन्वयात्मक बैठकले वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेको छ । बैठकले अवरुद्ध भएका सबै सडक अविलम्ब खोल्ने, मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मनसुनको अवधि लम्बिदै गएको तथा पानी पर्ने प्रवृत्तिसमेतमा परिवर्तन भएको सन्दर्भमा जोखिम न्यूनीकरणका लागि सचेतना वृद्धि र पूर्वतयारीको कामलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्ने जानकारहरूको भनाइ छ । मौसम पूर्वानुमान प्रणाली विश्वसनीय र भरपर्दो बन्दै गएको सन्दर्भमा पूर्वतयारीको कामलाई गति दिनु अत्यावश्यक भइसकेको उहाँहरूको मत छ ।

जलवायु एवम् वातावरण विषयका जानकार डा पपुुलर जेन्टल मनसुनको दुई वा तीन महिनामा नै कूल वर्षाको ८० प्रतिशतभन्दा बढी वर्षा हुँदै आएको सन्दर्भमा सावधानी अपनाउनु नै पहिलो शर्त भएको बताउनुहुन्छ । विकास र वातावरणबीचको सन्तुलन बिग्रन जाँदा नदी तटीय क्षेत्रमा बढी जोखिम परेको उहाँको भनाइ छ । “हाम्रो विकास नदी किनारमा केन्द्रीत छ । सोही कारण नदीको प्राकृतिक प्रवाहमा अवरोध उत्पन्न हुनपुगेको छ । यसलाई ध्यान दिनैपर्छ”, उहाँले भन्नुभयो, “प्रि मनसुन र पोष्ट मनसुन क्रमशः घट्दै गएको अवस्थामा एकैपटक धेरै वर्षा हुँदा जनधनको ठूलो क्षति हुन पुगेको तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सुरक्षित हुने उपायको खोजी गरिनुपर्छ ।”

मौसम पूर्वानुमानलाई थप व्यवस्थित र आममानिसको तहसम्म पुग्ने बनाउनुपर्नेमा डा जेन्टलको जोड छ । “विभागले यसपटक गरेको पूर्वानुमान शत्प्रतिशत मिलेको छ । धान नकाट्न, यात्रा नगर्न आग्रह गरिएको थियो । त्यसैले आममानिसमा सूचना पुग्न सकेन कि भन्ने प्रश्न रहेको छ”, उहाँको भनाइ छ,“पूर्वसूचनालाई ध्यान नदिँदा वा वास्ता नगर्दासमेत जनधनको क्षति हुन पुगेकाले आगामी दिनमा यसलाई सुधार गर्नुपर्छ । घाम लागेपछि हामी क्रमशः विपद्को क्षति बिर्सदै जान्छौँ । अर्को वर्ष उस्तै पुनरावृत्ति हुन्छ तर अब यस्तो हुनुहुँदैन ।”

मनसुन नेपालका लागि प्राणवायु जत्तिकै महत्वपूर्ण छ । खेतीपाती एवम् मुलुकको अर्थतन्त्रसमेत मनसुनसँग प्रत्यक्ष जोडिएकाले जोखिम कम गर्दै पूर्वतयारीलाई विशेष प्राथमिकतामा राख्नु जरूरी भइसकेको धेरैको भनाइ छ ।

सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा

सिरहा, १२ असोजः लगातारको वर्षासँगै सिरहाको लहान नगरपालिका–४ स्थित सुन्दरपुरमा बलान नदीमा आएको बाढी बस्तीमा पसेको छ । पानीको बहाव उच्च हुँदा नदीले तटबन्द भत्काएर बस्ती पसेको हो ।

घरका सामान र लत्ताकपडा नजिकैै रहेको मदरसामा सारिएको पीडित मो. सदरुर मियाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक्कासि बाढी बस्ती प्रवेश गरेपछि ज्यान जोगाउन मानिसहरूको भागाभाग भयो । बाढी अलि कम भएपछि बाँकी रहेका भाँडाकँुडा र लत्ताकपडा मदरसामा सारिएको छ ।” रातभर कसरी बस्ने भन्ने चिन्तामा रहेको उहाँले बताउनुभयो ।

वर्षा जारी रहे वडा कार्यालयसँग समन्वय गरी बस्तीका मानिसहरूलाई राति नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी बस्ती पसेपछि सुन्दरपुर र इस्लामपुरका करिब ७० घरपरिवार बिचल्लीमा परेका छन् । प्रभावितहरूलाई सार्वजनिक हलमा खानेबस्ने व्यवस्थासहित सार्ने तयारी गरिएको वडा नं ४ का वडाअध्यक्ष रामनाथ पण्डितले जानकारी दिनुभयो ।

आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका लागि तयार रहन निर्देशन दिनुभएको छ ।

मन्त्री पौडेलले भनेका छन्, “देशभरका सबै अस्पतालका आपत्कालीन कक्षलाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धिगरी सहयोग गर्नका लागि चौबिसै घण्टा तयार रहन अनुरोध गर्दछु ।”

मन्त्री पौडेलले औषधोपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपत्कालीन औषधोपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ ।