`

देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित

काठमाडौँ, १२ असोज : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ ।

त्रिविले आज सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बिएड, बिबिएस र बि.एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ ।

“उक्त परीक्षाहरू यही भदौ २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेगरी तोकिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, त्रिविले भनेको छ । साथै त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही भदौ २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ ।  

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध

काठमाडौँ, १२ असोजः सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी गराउनुभयो ।

उहाँले बाढी पहिरोमा परेकालाई विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपरेकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको बताउनुभयो ।

देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएकाले विद्यालय बन्द गर्नुपरेको प्रवक्ता भट्टराईले बताउनुभयो । मन्त्रालयले भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरिएको छ ।

काठमाडौँ उपत्यकामा २२ वर्षपछि वर्षाको ‘रेकर्ड ब्रेक’

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ शनिबार बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।

मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि जानकारी दिए ।

उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

शनिबार साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौँमा  १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ ।

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा शनिबा साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छभने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छभने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ ।

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको क्षति

काठमाडौँ, १२ असोजः नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै मौसममा बदली आउने र जोखिम निम्त्याउने भन्दै सचेत रहन आग्रह गरिसकेको थियो तर पनि यसपटक देशव्यापी रूपमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएको छ । विपद् बाजा बजाएरै आएजस्तो भएको छ यसपटक ।

विभागकानुसार यस वर्षको मनसुन करिब अन्त्यको चरणमा पुग्नै लाग्दा देशव्यापी रूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण यसपटक राजधानी काठमाडौँ उपत्यका पनि निकै प्रभावित भयो । यहाँ अधिकांश नदी तटीय क्षेत्र जलमग्न छन् । बागमती, विष्णुमति, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेका छ । आज साँझपख एकैछिन घाम लागे पनि प्रभावितमा खुसीको सञ्चार भयो ।

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हजारौँ मानिस प्रभावित भई एकैपटक उद्धार गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे नै भयो । उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बाढीका कारण उपत्यकाका नदी तटीय क्षेत्रका अधिकांश तरकारी बजार, सार्वजनिकस्थल, विद्यालय, सडक पूर्वाधार, बल्खु आसपासका अधिकांश थोक बजारमा बाढी पसेको छ । बिहीबार रातिदेखिको वर्षाका कारण यहाँको जनजीवन प्रभावित मात्रै भएको छैन, उपत्यका प्रवेश गर्ने सडक नाका, मुख्य राजमार्ग अवरुद्ध छन् ।

काठमाडौँ उपत्यकामा ३४ जनाको निधन भएको छभने १७ जना बेपत्ता छन् । यहाँ दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकानुसार ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको निधन भएको छ । काठमाडौँमा एक हजार तीन सय १५ जनाको उद्धार गरिएको छ । उद्धार तथा खोजका लागि चार हजार पाँच सय १० जना प्रहरी परिचालन गरिएका छन् ।

यस्तै, स्थानीयस्तरमा पनि युवाले स्वतःस्फूर्त रूपमा उद्धार तथा खोजकार्य गरेका थिए । ललितपुरको नख्खु खोलामा आएको बाढीमा फसेकालाई स्थानीय युवाले उद्धार गरेको विषय दिनभर नै सामाजिक सञ्जालमा चर्चामा रह््यो ।

वर्षाका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा राजधानी काठमाडौँको आधाभन्दा बढी स्थान प्रभावित भए । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषकानुसार वर्षाका कारण अवरुद्ध भएको बिजुली आपूर्ति सहज बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ । अत्यधिक मात्रामा पानी जमेका स्थानमा पोल तथा तार व्यवस्थापनमा समस्या भए पनि प्राधिकरणले आवश्यक प्राविधिक उपकरणसहितको जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, मुलुककै सबैभन्दा ठूला जलविद्युत् उत्पादन केन्द्रका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको बाँधस्थल तथा बालुवा थिग्य्राउने पोखरीमा क्षति पुगेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो ।

नियमित बिजुली प्रवाहमा समस्या आउँदा दूरसञ्चार सेवा प्रवाहमा समेत सामान्य असर देखियो । फोन गर्दा नसुनिने, बोल्दा बोल्दै काटिनेजस्ता समस्या आज देखिएका थिए । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मातहत निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर विपद्को समयमा दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले आज बेलकनदेखि वर्षाको स्तर विस्तारै कम हुँदै जाने बताउनुभयो । उहाँकानुसार नदीमा जलस्तर क्रमशः कम हुँदै जाँदा जोखिम पनि कम हुनेछ । जलस्तर कम हुँदै जाँदा खोज, उद्धार र राहतमा जुटन सहज हुनेछ । “समग्रमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ । चौबिस घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । मुलुकभर एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह पार गरेको थियो”, शाखा प्रमुख पराजुलीले भन्नुभयो ।

आजै कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपत्कालीन समन्वयात्मक बैठकले वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेको छ । बैठकले अवरुद्ध भएका सबै सडक अविलम्ब खोल्ने, मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मनसुनको अवधि लम्बिदै गएको तथा पानी पर्ने प्रवृत्तिसमेतमा परिवर्तन भएको सन्दर्भमा जोखिम न्यूनीकरणका लागि सचेतना वृद्धि र पूर्वतयारीको कामलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्ने जानकारहरूको भनाइ छ । मौसम पूर्वानुमान प्रणाली विश्वसनीय र भरपर्दो बन्दै गएको सन्दर्भमा पूर्वतयारीको कामलाई गति दिनु अत्यावश्यक भइसकेको उहाँहरूको मत छ ।

जलवायु एवम् वातावरण विषयका जानकार डा पपुुलर जेन्टल मनसुनको दुई वा तीन महिनामा नै कूल वर्षाको ८० प्रतिशतभन्दा बढी वर्षा हुँदै आएको सन्दर्भमा सावधानी अपनाउनु नै पहिलो शर्त भएको बताउनुहुन्छ । विकास र वातावरणबीचको सन्तुलन बिग्रन जाँदा नदी तटीय क्षेत्रमा बढी जोखिम परेको उहाँको भनाइ छ । “हाम्रो विकास नदी किनारमा केन्द्रीत छ । सोही कारण नदीको प्राकृतिक प्रवाहमा अवरोध उत्पन्न हुनपुगेको छ । यसलाई ध्यान दिनैपर्छ”, उहाँले भन्नुभयो, “प्रि मनसुन र पोष्ट मनसुन क्रमशः घट्दै गएको अवस्थामा एकैपटक धेरै वर्षा हुँदा जनधनको ठूलो क्षति हुन पुगेको तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सुरक्षित हुने उपायको खोजी गरिनुपर्छ ।”

मौसम पूर्वानुमानलाई थप व्यवस्थित र आममानिसको तहसम्म पुग्ने बनाउनुपर्नेमा डा जेन्टलको जोड छ । “विभागले यसपटक गरेको पूर्वानुमान शत्प्रतिशत मिलेको छ । धान नकाट्न, यात्रा नगर्न आग्रह गरिएको थियो । त्यसैले आममानिसमा सूचना पुग्न सकेन कि भन्ने प्रश्न रहेको छ”, उहाँको भनाइ छ,“पूर्वसूचनालाई ध्यान नदिँदा वा वास्ता नगर्दासमेत जनधनको क्षति हुन पुगेकाले आगामी दिनमा यसलाई सुधार गर्नुपर्छ । घाम लागेपछि हामी क्रमशः विपद्को क्षति बिर्सदै जान्छौँ । अर्को वर्ष उस्तै पुनरावृत्ति हुन्छ तर अब यस्तो हुनुहुँदैन ।”

मनसुन नेपालका लागि प्राणवायु जत्तिकै महत्वपूर्ण छ । खेतीपाती एवम् मुलुकको अर्थतन्त्रसमेत मनसुनसँग प्रत्यक्ष जोडिएकाले जोखिम कम गर्दै पूर्वतयारीलाई विशेष प्राथमिकतामा राख्नु जरूरी भइसकेको धेरैको भनाइ छ ।

सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा

सिरहा, १२ असोजः लगातारको वर्षासँगै सिरहाको लहान नगरपालिका–४ स्थित सुन्दरपुरमा बलान नदीमा आएको बाढी बस्तीमा पसेको छ । पानीको बहाव उच्च हुँदा नदीले तटबन्द भत्काएर बस्ती पसेको हो ।

घरका सामान र लत्ताकपडा नजिकैै रहेको मदरसामा सारिएको पीडित मो. सदरुर मियाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक्कासि बाढी बस्ती प्रवेश गरेपछि ज्यान जोगाउन मानिसहरूको भागाभाग भयो । बाढी अलि कम भएपछि बाँकी रहेका भाँडाकँुडा र लत्ताकपडा मदरसामा सारिएको छ ।” रातभर कसरी बस्ने भन्ने चिन्तामा रहेको उहाँले बताउनुभयो ।

वर्षा जारी रहे वडा कार्यालयसँग समन्वय गरी बस्तीका मानिसहरूलाई राति नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी बस्ती पसेपछि सुन्दरपुर र इस्लामपुरका करिब ७० घरपरिवार बिचल्लीमा परेका छन् । प्रभावितहरूलाई सार्वजनिक हलमा खानेबस्ने व्यवस्थासहित सार्ने तयारी गरिएको वडा नं ४ का वडाअध्यक्ष रामनाथ पण्डितले जानकारी दिनुभयो ।

आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका लागि तयार रहन निर्देशन दिनुभएको छ ।

मन्त्री पौडेलले भनेका छन्, “देशभरका सबै अस्पतालका आपत्कालीन कक्षलाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धिगरी सहयोग गर्नका लागि चौबिसै घण्टा तयार रहन अनुरोध गर्दछु ।”

मन्त्री पौडेलले औषधोपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपत्कालीन औषधोपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ ।

झयाप्ले खेलामा पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

मलेखु (धादिङ), १२ असोज : धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ ।

आज बिहान बुटवलबाट काठमाडाँैतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

बसमा चालकसहित १२ जना रहेको बताइएको छ । “बस   मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिनुभएको छ । अहिलेसम्म यात्रुहरु कोहि पनि सम्पर्कमा छैनन्”, उहाँले भन्नुभयो ।

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।

तिलाठी कोइलाडीका दुई सय घर डुबानमा

राजविराज(सप्तरी), १२ असोजः अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँका करिब दुई सय घर डुबानमा परेका छन् । यहाँ दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाको लोनियाँ, सकरपुराको बरसाइन, बनरझुला, कुशाहा र रम्पुरा मल्हनियासहित आधा दर्जन गाउँका दुई सय बढी घर डुबानमा परेका गाउँपालिकाका विप्द व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

उहाँकानुसार पालिकाको वडा नं ७ लपटोलीयाँ सरदार बस्तीमा जिता खोलाको बाढी पस्दा १५ घर डुबानमा परेको छ । सोही गाउँपालिका–५ को बरसाइनमा एक सय घर डुबानमा परेका छन् । यस क्षेत्रमा जिता, कोशी, मोहुली खोलामा आएको बाढी पसेर ती घर डुबानमा परेका जनाएको छ ।

यस्तै, वडा नं ३ सकरपुरामा समेत एक सय घर डुबानमा परेका छन् । होचो जमिन र पानी निकासी हुने बाटो नभएकाले डुबान भएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रमा किसानले लगाएका धान बालिमा समेत ठुलो क्षति पुगेको छ ।

सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, मोहुली, जिता, त्रियुगा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीकै कारण हरेक वर्ष अधिकांश गाउँ डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाइर कृष्णासवरण, महेदवा, तिरहुत र रुपनी गाउँपालिकाका दर्जनौँ बस्ती प्रत्येक वर्ष डुबानमा पर्ने गरेका छन् ।

यसैबीच मधेस र कोशी प्रदेशको सीमामा पर्ने कोशी नदिमा पानीको बहाब बढिरहेकाले सर्तक रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । कोशी ब्यारेजमा पानीको बहाब बढेका कारण ५६ वटै ढोका खोलिएका छन् ।

खोलामा आएको बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

जलेश्वर, १२ असोज : महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छभने बालिकाको जीवितै उद्धार गरिएको छ ।

आज दिउँसो करिब १ बजे स्थानीय नारायण साहका छोरा १६ वर्षीय रोहन साह र नागेन्द्र महतोकी छोरी ११ वर्षीया करिना महतो सोनी खोलामा आएको बाढी हेर्न गएको बेला उनीहरूलाई खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो ।  

बाढीले बगाएकी बालिका करिनालाई ५०० मिटर तल झाडीबाट प्रहरीले जीवितै उद्धार गरेको छभने किशोर रोहनको आज दिउँसो ४ बजे मृत्यु भएको अवस्थामा साढे तीन किलोमिटर तल खोलामै शव परेको थियो । त्यसैगरी, जिल्लाको बर्दिबास नगरपालिका–११ स्थित खयरमारा नदीमा अन्दाजी २१ वर्षीय पुरुषको शव माथिबाट बाढीले बगाएर ल्याएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिनुभयो ।

उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्दा एक हजार पाँच सय घर उच्च जोखिममा

उदयपुर (गाईघाट), १२ असोजः अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी नदीको बाढी पस्दा करिब एक हजार ५०० घर बाढीको उच्च जोखिममा परेका छन् ।

बेलका नगरपालिका प्रमुख अशोक कार्कीकानुसार वडा नं ३ को भाटेपुल क्षेत्र र वडा नं ८ को लाहुरेखोचमा बाढी पसेपछि ती परिवार उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । यसरी जोखिममा परेका करिब एक सय ५० जनालाई आजै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर अन्य सारिएको बेलका नगरपालिकाले जनाएको छ ।

यस्तै, बेलका—३ को श्रीलङ्का टापु र चिचिलिया टापु क्षेत्रमा पनि बाढी पस्न थालेपछि हाल सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धारको प्रयास भइरहेको नगरप्रमुख कार्कीले जानकारी दिनुभयो ।

नगर उपप्रमुख जिरा राईले सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गइरहेकाले वडा नं १, २, ३, ५, ६, ७, ८ लगायतका वडा बढी जोखिममा परेका बताउनुभयो । प्रभावित क्षेत्रका जनतालाई सुरक्षा निकायको सहयोगमा उद्धार कार्य गरी नजिकैको विद्यालय तथा क्याम्पसमा राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै नगरको वडा नं ८, २ र ३ का नदी तटीय क्षेत्रका होटल, रिसोर्टसमेत डुबानमा पर्न थालेका छन् । हाल नगरको चिलिया र श्रीलङ्का टापुलाई नदीको बाढीले घेरेको कारण यहाँका नागरिकको उद्धार गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।

काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन

काठमाडौँ, १२ असोजः काठमाडौँ बाहिरका विभिन्न आठ विमानस्थलमा आज राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँबाहिरका आठ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै खुलाएको हो । यसअघि वर्षा कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान साँझ ६ बजेसम्मका लागि खुलाइएको थियो । आइएफआर उडान हुने विमानस्थलमा रातिसम्म उडान सञ्चालन गरिएको हो । “साँझ ६ बजेसम्म काठमाडौँबाहिराका छ विमानस्थलमा मात्रै उडान खुलाइएको थियो । ६ बजेपछि काठमाडौँबाट सबै आइएफआर उडानयोग्य विमानस्थलमा उडान सञ्चालन गर्न दिने निर्णय भएको छ”, प्रवक्ता भुलले भन्नुभयो ।

आइएफआर विधिबाट चन्द्रगढी, विराटनगर, सिमरा, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा उडान भइरहेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

यो उडानले दुई दिनदेखि गन्तव्यमा पुग्न नपाएका सयौँ यात्रु लाभान्वित हुनेछन् । आन्तरिक उडान प्रभावित हुदाँ विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भीड बढेको छ । उडान खुलेपछि ठूलो सङ्ख्यामा यात्रुहरू विमानस्थल पुगेको जनाइएको छ ।

प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि सबै आन्तरिक उडान स्थगित गरेको थियो । आज दिउँसो साढे १२ बजेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ आन्तरिक हवाई उडान प्रभावित भएको थियो । अन्तर्राष्ट्रियतर्फ पनि केही विमान ‘होल्ड’ र ‘डिले’ भएका थिए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने सङ्घारमा छ । नेपालमा जुन १२ मा मनसुन भित्रिएर अक्टोबर २ मा बाहिरिने भए पनि यो वर्ष मनसुन केही ढिला गरी बाहिरिने पूर्वानुमान गरिएको छ ।

प्राधिकरणका सूचना अधिकारी भुलले महाशाखसँग प्राधिकरणले समन्वय गरेर हवाई उडान निर्धारण गरिरहेको जानकारी दिँदै मनसुन पूर्वबाट पश्चिमतर्फ लागिरहेकाले अहिले खासगरी काठमाडौँबाट पूर्वी भेगको ‘इनरुट वेदर’ बिग्रिएकाले उडानमा समस्या भइरहेको छ । तुलनात्मक रुपमा पश्चिम क्षेत्रमा मौसम सहज भएकाले उडान अवरोध भएको छैन ।

उहाँले मौसममा सुधार नआएसम्म ‘भिजुअल फ्लाइट रुल्स’ (भिएफआर) उडान र उद्धार उडान बाहेकका अन्य हेलिकप्टरको उडान स्थगित गरिएको बताउनुभयो । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपद्को घडीमा सुरक्षित भएर बस्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ, १२ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीउधनको सुरक्षामा लाग्न आफू मातहतका निकायलाई आग्रह गर्नुभएको छ । मन्त्री खड्काले आज एक प्रेस विज्ञप्ति जारी गरी बिहीबारदेखि मुलुकभर परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पु¥याएको भन्दै थप क्षति हुन नदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायलाई क्रियाशील रहन अनुरोध गर्नुभएको हो ।

“ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका सम्पूर्ण कार्यालय तथा कर्मचारी साथीहरूलाई यो विपत्को समयमा राहत तथा उद्धारको कार्यमा खटिन तथा  जनताको जीउधनको सुरक्षामा अहोरात्र खटिन अनुरोध गर्दछु,” मन्त्री खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उहाँले अझै पनि निरन्तर वर्षा भइरहेको हुँदा प्रकोपको भय कायमै रहेकाले सुरक्षित भएर बस्न सबैलाई आग्रहसमेत गर्नुभयो । मन्त्री खड्काले थप क्षतिलाई न्यूनीकरण गर्न र क्षति हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो । 

दुई दिनदेखि परेको अविरल वर्षाका कारण मुलुकका अधिकांश भागमा बाढी र पहिराको प्रकोपले ठूलो मात्रामा जनधनको क्षति पु¥याएको छ । राष्ट्रिय राजमार्ग, सहायक मार्ग, पुल, तथा बस्तीलाई पहिरो एवम् बाढीले बगाएर अवरुद्ध भएका छन् । विकासको आधुनिक पूर्वधारका रूपमा रहेका जलविद्युत् आयोजनाहरूमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

मन्त्री खड्काले नेपालीहरूको महान् पर्व दसैँको पूर्वसन्ध्यामा आएको यो अकल्पनीय प्राकृतिक प्रकोपले आम नागरिकको दैनिक जीवनमा गम्भीर असर परेको बताउनुभयो । उहाँले आम नागरिक हरुलाई सुरक्षित स्थानमा बस्न साथै बाढी डुबान नहुने उच्च स्थानमा गएर बसिदिन आग्रह गर्नुभएको छ ।

  मन्त्री खड्काले यस विषम परिस्थितिमा सुरक्षाका तीनवटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालयका कर्मचारीहरूलाई राहत तथा उद्धार र प्रतिकार्यमा अहोरात्र खटिनसमेत आग्रह गर्नुभएको छ ।

विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

काठमाडौँ, १२ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी गराउनुभयो । प्रदेश, जिल्ला र स्थानीय तहका दु्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ । 

प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ । 

हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्नसमेत अनुरोध गरिएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई चौबिसै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन आग्रह गरिएको छ । 

प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्तिन सक्ने पानीजन्य रोगहरू पखाला, हैजा तथा कीटजन्य रोगहरू डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ । 

मन्त्रालयले आपत्कालीन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको हटलाइन १०२ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।   यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित

मलेखु (धादिङ), १२ असोजः पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीवार साँझदेखि अविरल वर्षाका कारण अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले राजमार्गको नौबिसे मुग्लिन खण्ड झण्डै ३० घण्टादेखि अवरुद्ध छ ।पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान पनि राजमार्गमै थुप्रिएको छ ।

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने खत्रीपौवामा आज बिहानै पहिरोमा पुरिएको तीनवटा सवारीसाधन अझै निकाल्न सकिएको छैन । पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । “पानी निरन्तर परिरहेको छ, पहिरो खस्नेक्रम पनि रोकिएको छैन । दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोमा पुरिएका गाडीको स्वरुप मात्रै देखिएको छ । सवारीमा मानवीय क्षति भए नभएसमेतको यकिन गर्न सकिएको छैन”, मिश्रले भन्नुभयो, “पूर्ण रूपले पानी नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना निकै कम छ ।”

वर्षात र पहिराले बिजुली र इन्टरनेटको टावरमा क्षति पुगेकोले टेलिफोन र प्रहरीको सेटसमेतले काम नगर्दा रिपोर्टिङमा प्रहरीलाई नै समस्या परेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।
नौबिसे नागढुङ्गा खण्डको खत्रीपौवाबाहेक पृथ्वी राजमार्गअन्तर्गत सोही खण्डका ठाउँठाउँमा पहिरो झरेको छ । थाक्रे गाउँपालिकाको सात किलो, खयरघारी र बेनिघाट गाउँपालिका–३ सलाङ्घाटमा सबैभन्दा ठूलो पहिरो छ ।

गल्छी र गजुरीको माथिल्लो क्षेत्र र बेनिघाटको जोगिमारा क्षेत्रमा स–साना धेरै पहिरा गएका छन् । आज अपरान्हदेखि वर्षात् केही कम भए पनि ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्ग सञ्चालन गराउन कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडकखण्ड भने एकतर्फी खुलेको छ । यहाँ १७ किलोमिटर दुरीमा ६ स्थानमा पहिरो गएको थियो । अहिले सबै स्थानबाट एकतर्फी सवारी चल्नेगरी पहिरो पन्छाइएको छ । नीलकण्ठ नगरपालिका–८ र सिद्दलेक गाउँपालिका–१ को ठाउँठाउँमा पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गमा दैनिक १३ हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्याङ्क छ ।

पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, आठ घाइते

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

मारी पेट्रोलियम कम्पनी लिमिटेडका कर्मचारी बोकेको चार्टर्ड हेलिकप्टरमा शेवा क्याम्प जाँदै गर्दा प्राविधिक समस्या भई प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा दुर्घटनाग्रस्त भएको उत्तरी वजिरिस्तानको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

दुर्घटनामा छ जना यात्रुको घटनास्थलमै मृत्यु भएका र अन्य आठ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको छ । घटनालगत्तै उद्धारकर्ता र सुरक्षाकर्मी घटनास्थलमा पुगेर राहतकार्य सुरू गरेका थिए ।

अवरुद्ध सडक अविलम्ब खुलाउने, घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौँ, १२ असोजः सरकारले लगातारको वर्षासँगैको बाढीपहिराबाट अवरुद्ध सडक अविलम्ब सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको आपत्कालीन समन्वयात्मक बैठकले अवरुद्ध सडक खुलाउनका लागि भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले बिजुली, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकले मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले बाढीपहिरा तथा डुबानका कारण यातायात प्रभावित भएकाले हाल सञ्चालित विभिन्न परीक्षाहरू तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो । बैठकले तीन दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण आएको बाढी पहिरोबाट भएको हानीनोक्सानीको मूल्याङ्कन गरेको उहाँले बताउनुभयो ।

वर्षाका कारण काठमाडौ उपत्यकामा पुनः मेलम्चीको पानी आउने दिन अनिश्चित

काठमाडौँ, १२ असोज : मेलम्ची खानेपानी विकास समितिले दसैैँअघि नै काठमाडौ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा बिहीबारदेखिको वर्षाले सो कार्य थप अनिश्चित भएको छ ।

समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले राजधानीमा पानी ल्याउन प्राविधिक काम सकेकामा बिहीबारदेखिको वर्षाले अनिश्चित भएको बताउनुभयो । उहाँले मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा भने ठूलो क्षति भएको नदेखिएको राससलाई जानकारी दिनुभयो ।

समितिले मुहानस्थलमा राम्रो सुरक्षा व्यवस्था मिलाएकाले ठूलो क्षति नभएको तर सुरुङभित्र कुनै क्षति भएका बारे अध्ययन गर्न भने केही दिन लाग्ने कार्यकारी निर्देशक लामिछानेले सुनाउनुभयो । “मेलम्ची नदीमा भने धेरै बाढी गएको छ । त्यसको प्रभाव सुरुङभित्र कति पर्‍यो भनी प्राविधिक अध्ययन हुन बाँकी छ । यो अध्ययन सकेपछि मात्र राजधानीमा मेलम्चीको पानी आउने दिन निश्चित गर्नेर्छौं”, उहाँले भन्नुभयो ।

मेलम्ची नदीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउने र त्यसपछि राजधानीवासीले राहत पाउने विश्वास गरिएको छ । मेलम्चीको पानी वर्षामा बन्द गरी हिउँदमा मात्र ल्याउने गरिएको छ ।

बाढी, पहिरो अपडेट : ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौँ, १२ असोज : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।

वर्षाजन्य विपद्बाट भएको क्षतिप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

काठमाडौँ, १२ असोज : देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।अविरल वर्षाका कारण व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिकोे क्षति भएकामा उहाँले दुःख व्यक्त गर्नुभएको हो । “मानिसहरु बेपत्ता र घरवारविहीन भई विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । सम्पूर्ण पीडितको यो संवेदनशीलताप्रति कांग्रेसका तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु”–सभापति देउवाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय एवं भौतिक क्षति रोक्न तीन वटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

 स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले निदेश समेत दिनुभएको छ । दलका साथीलाई व्यवस्थित ढङ्गले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै उहाँले यो विपत्तिको सामना संयम् र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा सभापति देउवाले अपिल गर्नुभएको छ । प्राकृतिक विपत्तिमा जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि उहाँले गर्नुभएको छ ।

विपद् प्रतियकार्यमा तदारुकताका साथ जुट्न सुरक्षा निकायलाई मुख्यमन्त्री सिंहको आग्रह

महेन्द्रनगर (धनुषा), १२ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको वर्षाका कारण प्रदेशका विभिन्न नदीको जलस्तर वृद्धि भई बाढी तथा डुबान भइरहेकाले विपत् प्रतिकार्यमा जुट्न सुरक्षा निकायलाई आग्रह गर्नुभएको हो ।

आज पूर्वपश्चिम राजमागअन्तर्गत बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि मुख्यमन्त्री सिंहले नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्तावाहिनी मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धवोजीलाई टेलिफोन गरी यस्तो आग्रह गर्नुभएको हो । उहाँले जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मानवीय तथा भौतिक क्षति हुन नदिन सबै खालका उद्धार कार्यमा जुट्न आग्रह गर्नुभयो ।

प्रदेशमा कार्यरत दुवै अधिकारीले सप्तकोशी र बागमती नदीबाहेक अन्य नदीको जलस्तर खतराको चिह्नभन्दा माथि पुगिनसकेको मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँहरूले तटबन्धलगायत संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबानको जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य सङ्कटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको जानकारी गराउनुभयो ।

सप्तकोशी र बागमतीको बहाव खतराचिह्नभन्दा माथि पुगिसकेको र अन्य नदीमा समेत जलस्तर बढिरहेकाले उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई समेत आग्रह गर्नुभएको छ । उहाँले विपद् व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारी अधिकारी तथा स्वयंसेवी संस्थाहरूसमेतलाई बाढीपानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आह्वान गर्नुभएको छ ।

आज बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिंहले पाँच हजार ५०० क्युसेक पानीको बहाव पुगेको र त्यो स्थिति खतराचिह्नभन्दा पाँच सयले बढी भएको, कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेको जानकारी पाएकाले जलस्तरमा थप वृद्धि हुने हुँदा नदी तटीय क्षेत्र रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्यसेक छ । प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । बाराको जितपुर सिमरा नगरपालिका–१२ स्थित लालबकैया नदीको तटबन्ध भत्किन लागेको खबर प्राप्त भएपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोली त्यस ठाउँमा पुगी बाँध मर्मत कार्य भइरहेको जनाइएको छ ।
 

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

इनरुवा (सुनसरी), १२ असोज : कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिनुभयो । अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उहाँले अनुरोध गर्नुभएको छ ।  

सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले साँझ ५ः०० बजे प्रतिसेकेन्ड पाँच लाख ५७ हजार क्युसेक नाघेको छ । पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उहाँले बताउनुभयो । यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोढा समेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । 

काठमाडौँ उपत्यकामा बाढीपहिराबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

काठमाडौँ, १२ असोज : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडाँै उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरा तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ । 

काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडाँैमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । 

ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता

काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।

प्रधानमन्त्रीको उपस्थितिमा मातृ-शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता

बोस्टन (अमेरिका), १२ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुग्नुभएका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गरेपश्चात् उक्त सम्झौता भएको हो । सम्झौताअनुसार मातृ–शिशु स्वास्थ्यमा प्रतिष्ठानमार्फत योगदान गर्न ग्रामीण स्वास्थ्य फेलोसिपलगायतका कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ । 

यस्तै धनयोगा फाउण्डेशन  र प्रतिष्ठानबीच पनि सम्झौता भएको छ । सम्झौताअनुसार प्रतिष्ठानले डाइबिटिज केन्द्र स्थापना गर्ने सहमति भएको छ । सम्झौतामा वर्नहार्टका तर्फबाट डा क्रिस्टिना भे सेन्गर र प्रतिष्ठानकातर्फबाट डा मङ्गल रावलबीच हस्ताक्षर भएको हो । 

हावर्ड विश्वविद्यालयमा नेपालको कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण र सम्बोधन भएको हाे । सम्बोधनपछि नेपाली समुदायका चिकित्सकसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका साथै निरोगी नेपाल अभियानलाई सघाउन आग्रह गर्नुभयो । 

उहाँले प्रतिभा पलायनको अवस्था अन्त्य गर्न सरकार तत्पर रहेको र चिकित्सकलाई सकेसम्म नेपाल फर्कन र नसके पनि विदेशमै रहेर स्वदेशमा सेवा दिन आग्रह गर्नुभयो । उहाँले आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालको परमपरागत चिकित्सा पद्धति प्रभावशाली रहेको तथ्य औँल्याउँदै नयाँ नयाँ अनुसन्धान र उपचार पद्धतिलाई नेपालमा भित्र्याउन सहयोग गर्न आग्रह गर्नुभयो ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास प्रमुख प्रा डा माइकल फ्युटले नेपालको प्रधानमन्त्री विश्वविद्यालयमा पहिलो पटक आइपुग्दा आफूहरुमा पनि उत्साह पैदा भएको बताउनुभयो ।

अविरल वर्षाका कारण बागमती प्रदेश बढी प्रभावित

काठमाडौँ, १२ असोजः मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ ।

बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बिपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन् ।

अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा भने सामान्य पानी परेको छ । 

कोसी प्रदेशका धनकुटालगायत क्षेत्रमा केही क्षतिको विवरण प्राप्त भएको मन्त्रालयको भनाइ छ । पश्चिमतर्फ कालीगण्डकी करिडोर पनि अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन स्थानीयको सहयोगमा सुरक्षाफौज र सडक विभागले काम पनि गरिरहेको छ । मानवीय र भौतिक क्षतिलाई न्यून गर्न मन्त्रालयको प्रयास केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ । मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ वटा नदीले खतराको सीमा पार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा रहेका छन् । 

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ, १२ असोजः गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको हो । 

दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गर्नुभएको छ । बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुनेछ ।

निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित

काठमाडौँ, १२ असोजः निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ । 

आज विहान जजिरा एयरको विमान काठमाडौँ विमानस्थलमा अवतरण ग¥यो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान भर्खरै अवतरण भएको छ ।

वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो । हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनका साथै धेरै उडान डिले भएका थिए । 

‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो । शुक्रबार थाइ एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इण्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो ।

विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी तीनसय १६ उडान तालिका रहेकामा दुईसय ३८ हाराहारी उडान रद्द भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आन्तरिक उडान अहिलेसम्म कतैपनि नभएको बताउनुभयो । “काठमाडौँ विमानस्थल खुलेपनि आन्तरिकतर्फ अहिलेसम्म कतैपनि उडान भएको छैन, मौसम र गन्तव्य हेरेर उडानको थप निर्णय हुन्छ”, उहाँले भन्नुभयो ।

धादिङबेसी मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प

मलेखु (धादिङ), १२ असोजः जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ । नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।

पहिरोले ढुङ्गा र रुखहरु खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो । 

बाढीपहिरोमा परी हालसम्म छ जनाको मृत्यु, सात जना बेपत्ता

काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।

बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।

काठमाडौँको नदी करिडोरका सडक बन्द

काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ ।

प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । “नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”, उहाँले भन्नुभयो ।
मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।

पहिरोले स्याफ्रु–रसुवागढी खण्ड अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए

रसुवा, १२ असोजः निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् ।

काठमाडौँबाट रसुवागढी जाँदै गरेका र  केरूङबाट काठमाडौँका लागि मालवस्तु बोकी आएका मालवाहक सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

सडक मार्ग खोल्ने प्रयास गरिए पनि धेरै स्थानमा आएको पहिराका कारण ठाउँठाउँमा हिलोमाटोको लेदोसमेत भरिएको उहाँले बताउनुभयो ।

आज बिहानैदेखि काम सुरू गराइने प्रजिअ खनालले जानकारी दिनुभयो ।

सडकमार्ग अवरूद्ध भएका कारण मानसरोवर कैलाशको धार्मिक यात्रा सम्पन्न गरी फर्केका यात्रु टिमुरेमा रोकिएको सीमा सुरक्षाकर्मीले जानकारी दिएका छन् । चीनबाट आयात भएका दर्जनौँ विद्युतीय सवारीसाधन सडक बन्द भएपछि टिमुरेमै रोकिएका छन् ।

पहिरोका कारण टिमुरे बजार एवं रसुवागढीको सीमावर्ती क्षेत्रमा विद्युत् तथा टेलिफोन विच्छेद भएको छ । भारी वर्षाका कारण बाढीपहिराको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । कुनै समस्या भए सुरक्षा अङ्ग वा स्थानीय तहका जनप्रतिनिधिलाई जानकारी गराई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालय र जिल्लास्तरीय  सुरक्षा निकायमा खबर गरिदिन अनुरोध गरिएको प्रजिअ खनालले बताउनुभयो । 

विद्यालय जाने बालबालिकालाई एक्लै नपठाउन र  सहज स्थान भए पनि रातिको समयमा सवारीसाधन नचलाउनसमेत जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ । भारी वर्षाकै कारण ग्रामीण क्षेत्रको अधिकांश सडक बन्दहुँदा बडादसैँका लागि खाद्यान्न ढुवानीमा असहज भएको छ । 

आजदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु

काठमाडौँ, १२ असोजः सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै मुलुकको सङ्घीय राजधानी काठमाडौँसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् ।

 अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् । सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको बताउनुभयो ।

उहाँले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेको बताउनुभयो । उहाँले आज पनि राजमार्ग हुँदै सार्वजनिक यातायात आवतजावत गर्ने परिस्थिति नहरेको उल्लेख गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुभयो । “राजमार्ग बिग्रिएका कारण काठमाडौँ आवतजावत गर्न सार्वजनिक सवारीसाधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँ भन्नुहुन्छ ।

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह

धरान (सुनसरी), १२ असोजः निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । 

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।  

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।

पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु,तीन जना भागेर बाँच्न सफल

पाँचथर, १२ असोजः पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।

पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

देशभर फैलिएको डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन

काठमाडौंँ, १२ असोजः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि नीति तथा योजना तयार पार्न कार्यदल गठन गरेको छ । मन्त्रालयले शुक्रराज सङ्क्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको नेतृत्वमा शुक्रबार तीन सदसीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्यसचिव तोकिएका छन् । देशैभर  अस्पतालमा डेङ्गीका बिरामी बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि तदारुकता देखाउनुभएको थियो । उहाँकै निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ । 

कार्यदललाई अल्पकालीन तथा दीर्घकालीन रूपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ । यसैगरी, समुदायस्तरमा डेङ्गी  नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारीसमेत कार्यदलले पाएको छ । 

कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

बागमती, १२ असोजः अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिनुभयो ।

“जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो”, प्रजिअ चिलुवालले भन्नुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताउनुभयो ।

कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो ।

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

काठमाडौँ, १२ असोजः चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

आज पनि बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ, १२ असोजः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आजराति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

विभागले केही स्थानमा भारी तथा अति वर्षा तथा हावाहुरीकोसमेत सम्भावना रहेकाले ती क्षेत्रमा पहिरो जोखिम छ ।

साथै भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १२ साउन : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ २८ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  र बिक्रीदर २० रुपैयाँ ९ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ २ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो

गोरखा, १२ असोजः त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिनुभयो । “साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो,” उहाँले भन्नुभयो, “सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।”

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उहाँको भनाइ छ । ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।

विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा

वासिङटन, डिसी, १२ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालमा आइपरेका अनेकन विपत्तिको घडीमा विदेशी भूमिमा रहेका नेपालीले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो ।

न्युयोर्कमा जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको छलफलमा मन्त्री राणाले भन्नुभयो, “विदेशमा बस्ने नेपालीले भूकम्प, कोरोना महामारी तथा अन्य कतिपय अवस्थामा उल्लेखनीय सहयोग गर्नुभएको छ ।”

मन्त्री राणाले एनआरएनभित्र देखापरेका विभिन्न विवादका कारणले केही असर परेको भए पनि डायस्पोरा समेट्ने गरी मन्त्रालयमा एउटा अलग्गै इकाइ बनाएर काम गर्ने बताउनुभयो । उहाँले अमेरिकामा रहेका नेपालीलाई केकसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सल्लाह र सुझाव पेस गर्न आग्रह गर्नुभयो । 

संविधानले दिएका हकअधिकारको कार्यान्वयका लागि आफूले पहल गर्ने बताउँदै मन्त्री राणाले विदेशमा रहेका नेपालीले हासिल गरेको सीप, प्रविधि र पुँजीलाई आफ्नो मातृभूमीको रुपान्तरणमा प्रयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट र एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसीले यहाँ रहेका नेपालीका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।