`

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १२ साउन : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ २८ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  र बिक्रीदर २० रुपैयाँ ९ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ २ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो

गोरखा, १२ असोजः त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिनुभयो । “साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो,” उहाँले भन्नुभयो, “सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।”

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उहाँको भनाइ छ । ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।

विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा

वासिङटन, डिसी, १२ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालमा आइपरेका अनेकन विपत्तिको घडीमा विदेशी भूमिमा रहेका नेपालीले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो ।

न्युयोर्कमा जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको छलफलमा मन्त्री राणाले भन्नुभयो, “विदेशमा बस्ने नेपालीले भूकम्प, कोरोना महामारी तथा अन्य कतिपय अवस्थामा उल्लेखनीय सहयोग गर्नुभएको छ ।”

मन्त्री राणाले एनआरएनभित्र देखापरेका विभिन्न विवादका कारणले केही असर परेको भए पनि डायस्पोरा समेट्ने गरी मन्त्रालयमा एउटा अलग्गै इकाइ बनाएर काम गर्ने बताउनुभयो । उहाँले अमेरिकामा रहेका नेपालीलाई केकसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सल्लाह र सुझाव पेस गर्न आग्रह गर्नुभयो । 

संविधानले दिएका हकअधिकारको कार्यान्वयका लागि आफूले पहल गर्ने बताउँदै मन्त्री राणाले विदेशमा रहेका नेपालीले हासिल गरेको सीप, प्रविधि र पुँजीलाई आफ्नो मातृभूमीको रुपान्तरणमा प्रयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट र एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसीले यहाँ रहेका नेपालीका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ, १२ असोजः ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ ।

लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ । 

विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ ।

त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ । उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक

काठमाडौँ, १२ असोज : अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

बोस्टन (अमेरिका), १२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुग्नुभएका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालै संसदद्वारा पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने स्पष्ट गर्नुभयो ।

दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगसँग सम्बन्धित विधेयक संसद्बारा लगभग सर्वसहमतिका आधारमा पारित भएको बताउँदै उहाँले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका कामहरू अबका दिनमा अगाडि बढ्ने जनाउनुभयो । “नेपालको शान्ति प्रक्रिया हामी आफैँले नेतृत्व गरेको र राष्ट्रिय अपनत्व प्राप्त भएको एक मौलिक प्रक्रिया हो । वामपन्थी र लोकतान्त्रिक सबै राजनीतिक दलहरू मिलेर गरेको ‘शान्ति सम्झौता’ त्यस अर्थमा पनि अनुपम छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी शान्ति प्रक्रियाको अन्तिम किस्ताका कार्यहरूमा प्रवेश गर्दा पारित ऐनको प्रभावकारी कार्यान्वयनका लागि प्रक्रियामा हाम्रा साझेदारसहित अन्तर्राष्ट्रिय समुदायबाट समर्थन र प्रोत्साहनको स्वागत गर्दछौँ ।”

उहाँले द्वन्द्वकालका घाउहरू निको पार्न र सम्पूर्ण समाजलाई मेलमिलाप, शान्ति र सद्भावको भावनाका साथ अगाडि बढ्न मद्दत गर्न हिंसात्मक प्रक्रियाको अन्त्य गर्न कटिबद्ध रहेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले शान्तिका प्रवर्तक गौतम बुद्धको जन्मभूमि भएकाले नेपाल स्वाभाविक रूपमा अहिंसावादी, सहिष्णु र शान्तिपूर्ण समाज भएको अवगत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका विषयलाई पनि विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीमाझ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्री ओलीसँग राखेका प्रश्नहरूमा उहाँले जवाफ दिँदै नेपालका युवाहरू सधैँ विदेश मात्रै जान्छन् र नेपालको अर्थतन्त्र विप्रेषणका आधारमा मात्रै चल्छ भन्ने तथ्य सही नभएको बताउँदै स्वदेश फर्कने युवाको सङ्ख्यालाई पनि हेर्न आग्रह गर्नुभयो । उहाँले स्वदेशमा युवाहरूलाई रोजगारी र उद्यमशीलता वृद्धि गर्न ‘स्टार्ट अप’जस्ता कार्यक्रम अघि सारिएको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालका दुवै छिमेकीसँग सहकार्य र सन्तुलित सम्बन्धका माध्यमबाट नेपालको आर्थिक विकासमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संविधानमा निर्माणका बेला धेरैका माग र विषय एकै पटक सम्बोधन हुन नसकेको स्थितिलाई स्मरण गराउँदै आवश्यकता र औचित्यताका आधारमा यसबीचमा दुईपटक संविधान संशोधन भइसकेको र फेरि पनि गर्न सकिने स्पष्ट गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ, ११ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ ।

यसरी चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले उक्त कार्य गर्न निषेध गरिएको विमानस्थल प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेका छौँ ।

अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।”दसैँ नजिकिँदै गर्दा अहिले विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, बेलुन उडाउने कार्य बढिरहेका छन् ।

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

इजरायलले हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्वीकार गरेको अल जजिराले जनाएको छ। इजरायल र लेबनानबीच बढ्दो तनावको समयमा संयुक्त राज्य अमेरिकाले इजरायल–लेबनान सीमामा युद्धको वृद्धि रोक्न साथै लेबनान र गाजामा कूटनीतिलाई मौका दिन २१ दिनको युद्धविरामको आह्वान गरेको हो ।

यस योजनाका लागि अमेरिकी रक्षा सचिव लोयड जे अस्टिन, बेलायती रक्षा सचिव जोन हेली र अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्स आफ्नो समर्थन व्यक्त गर्नुभएको पेन्टागनले एक प्रेस विज्ञप्तीमा जनाएको छ ।

“लेबनान र उत्तरी इजरायलको अवस्था निकै चिन्ताजनक छ। इरान समर्थित आतङ्कवादी समूह लेबनानी हेजबुल्लाहले सन् २०२३ अक्टोबरमा हमासले गरेको आतङ्कवादी आक्रमणको भोलिपल्ट इजरायलमा रकेट प्रहार गर्न थालेको हो , अमेरिकी रक्षा सचिव लोयड जे अस्टिनले बताउनुभयो ।

तत्काल युद्धविरामको आह्वान गर्दै अस्टिनले भन्नुभयो “तत्काल २१ दिनको युद्धविरामले इजरायली र लेबनानी नागरिकलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने कूटनीति प्रयासका लागि समय प्रदान गर्नेछ । यस समयलाई गाजामा युद्धविराम गर्न र सबै बन्धकलाई घर ल्याउने सम्झौता र यसको कार्यान्वयन गर्न पनि प्रयोग गर्न सकिन्छ ।”

यसैबीच, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायलको सैन्य कारबाहीलाई समर्थन गरेकोमा संयुक्त राज्य अमेरिकाको कडा निन्दा गर्दै इजरायललाई हतियार आपूर्ति रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको अल जजिराले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा समितिका काम कारबाहीबारे जानकारी

काठमाडौँ, ११ असोज : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाअन्तगर्तका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिनुभएको छ ।

समिति सभापतिहरूका कार्यकक्षमा पुगेर उहाँले आज समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, कामकारबाहीलगायत विषयमा जानकारी लिनुभएको हो । अध्यक्ष दाहालसँगै राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, सचिव डा सुरेन्द्र अर्याललगायतको टोली विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहाल, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माको कार्यकक्षमा पुगेको थियो । 

त्यस अवसरमा अध्यक्ष दाहालले समितिका कामकारबाही सञ्चालनमा समस्या आए आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफूले पहल गर्ने बताउनुभयो । भेटमा समिति सभापतिहरूले प्राविधिक पक्ष, व्यवस्थापकीय समस्या तथा कामकारबाही गर्दा आइपर्ने चुनौतीबारे आफ्नो धारणा राख्नुभएको थियो ।

न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि

काठमाडौँ, ११ असोजः नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४ (पहिलो संशोधन २०८०) को खारेजी माग सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

 बारका महासचिव अञ्जिता खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा बारका मागलाई सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उक्त निर्णयप्रति गम्भीर असहमति र चिन्ता व्यक्त गरिएको छ ।

 “संविधानसम्मत उचित र जायज मागलाई पूर्णतया बेवास्ता गरी विरोध, घेराउ र नाराबाजीका बीचमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकाले उक्त निर्णयप्रति नेपाल बार एशोसिएशन गम्भीर असहमति र चिन्ता व्यक्त गर्दछ” विज्ञप्तिमा भनिएको छ ।  

 सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिको बैठकमा न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्ने सहमति भइ गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन हुनुपर्ने बारको माग छ । 

बारले गैरसंवैधानिक संशोधित नियमावलीको खारेजी गरेर मात्र न्यायाधीश नियुक्ति गर्न माग गर्दै आएको छ । बारको आन्दोलनकै बीच आज न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

देशलाई योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यकः मुख्यमन्त्री कँडेल

कर्णाली, ११ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशका लागि योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित शिव माध्यमिक विद्यालय धुलियाबिटको ४०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योग्य एवं सक्षम जनशक्ति उत्पादन हुन सकेमात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । “विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाहरुले गरिखाने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

आजको आवश्यकता भनेको प्रतिस्पर्धी एवं योग्य जनशक्ति, गुणस्तरीय शिक्षासहित संस्कारयुक्त नागरिक उत्पादन गर्नु रहेको बताउँदै मुख्यमन्त्री कँडेलले यसमा घर, विद्यालय र वातावरण सहि हुनुपर्नेमा जोड दिनुभयो । “विद्यालयले केवल सिकाउने मात्र होइन, सभ्य नागरिक पनि विकास गर्ने हो”, उहाँले भन्नुभया । 

देशलाई आवश्यक असल नागरिक निर्माण गर्न अभिभावक र विद्यालय परिवारको ध्यान जान आवश्यक रहेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकार लागेको बताउनुभएका मुख्यमन्त्री कँडेलले सरकारको कामलाई प्रभावकारी बनाउन शिक्षासँग सम्बन्धित सबै सरोकारवालाहरुको साथ सहयोग आवश्यक रहेको जनाउनुभयो । 

बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ११ असोज : बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ ।

यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले भोलि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालका विभिन्न ३२ वटा बाढी मापन केन्द्रमा जल सतह चेतावनी तहमा पुगेको जानकारी गराएको छ । प्राधिकरणले आजै सूचना जारी गरी कुलेखानीको ड्याम भरिनसक्ने र खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले तल्लो क्षेत्रका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरेको छ । 

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कुलेखानी बाँधदेखि तलका क्षेत्र र रौतहट सर्लाहीसम्मका बागमती तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), ११ असोज : उप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दिगो विकास लक्ष्यअनुरूप न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक रहेको बताउनुभएको छ ।

युरोपियन युनियनअन्तर्गत स्वीच एसिया परियोजनाको सहयोगमा विल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल कार्यक्रमले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय मूल्य र मान्यता, न्यून कार्बन उत्सर्जन गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको लक्ष्यअनुरूप ऊर्जा प्रभावकारी भवन निर्माणमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो । “यसमा आबद्ध ६० वटा पालिकाले आफ्ना नीति, योजना र बजेटमा कार्यान्वयन गर्दै यसका लागि अन्य पालिकालाई पनि उत्साहित गर्नुपर्छ, दिगो विकास लक्ष्यमा पुग्न जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्नुपर्छ, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न यो सान्दर्भिक छ”, उहाँले भन्नुभयो ।

कार्यवाहक प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालिरहनुभएका सिंहले १६औँ पञ्चवर्षीय आवधिक योजनाको लक्ष्य हासिल गर्न यस कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै सहज जीवनयापनमा विश्वका लागि उर्जा प्रभावकारी भवन प्रविधि उपयोगी हुने धारणा राख्नुभयो । यस प्रविधिबाट भवन निर्माण गर्नु सफा र ऊर्जा उपयोगी हुनुका साथै समृद्धिका हिसाबले पनि महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले यस परियोजनालाई महत्व दिएर पोखरा महानगरले ऊर्जा प्रभावकारी भवन निर्माण कार्यविधि २०८० निर्माण गरेको बताउनुभयो । महानगरले सरकारी भवन निर्माणमा हाल यो प्रविधि लागु गरेको जानकारी दिनुभयो ।

परियोजना प्रमुख डाइनिल नेयरले यो बागमती, गण्डकी र लुम्बिनीका ६० वटा पालिकामा लागू भइरहेको जानकारी गराउनुभयो । यसका लागि हालसम्म १२ वटा पालिकाले नियमावली निर्माण गरेका र पाँच पालिका निर्माणको तयारीमा रहेको जानकारी गराउनुभयो ।

वर्षाका कारण भरिँदै कुलेखानीको ड्याम, सतर्कता अपनाउन आग्रह

बागमती, ११ असोज : अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले आज साँझ सूचना जारी गर्नुहुँदै कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गर्नुभयो । मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध गरिएको उहाँले बताउनुभयो ।

काठमाडौँमा खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

काठमाडौँ, ११ असोजः काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् । हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

निरन्तरको बर्षाका कारण काठमाडौं उपत्यकामा अधिकाशं नदीमा बाढी

निरन्तरको बर्षाका कारण काठमाडौं उपत्यकामा अधिकाशं नदीमा बाढी आएको छ ।बर्षाका कारण बागमती, बिष्णुमती, धोविखोला, गोदावरी लगाएतका खोलानदीमा बाढी आएको छ । बाढीका कारण टेकु दोभन छेउछाउका बस्ती डुवानमा परेको छ ।

अबको तीन दिन देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरका उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ ।

विविधतापूर्ण संस्कृति नै हाम्रो पहिचान होः मन्त्री पाण्डे

काठमाडौँ, ११ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृति नै नेपालीको पहिचान रहेको बताउनुभएको छ ।

विश्व पर्यटन दिवसका अवसरमा आयोजित राष्ट्रिय सांस्कृतिक महोत्सवमा उहाँले भन्नुभयो, “हाम्रो देशको भूगोल त्यति ठूलो छैन तर संस्कृतिमा विविधतामा छ । विविधतापूर्ण संस्कृति नै हाम्रो पहिचान हो । संस्कृति सामाजको प्राण तत्व हो । भौतिक विकाससँग सांस्कृतिक विकास पनि गर्नुपर्छ ।” मन्त्री पाण्डेले लोपन्मुख अवस्थामा रहेका विभिन्न जातजातिका नृत्यलाई एकै ठाउँमा कोशेलीका रुपमा पस्किएकोमा खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा संस्थाका संस्थापक सदस्य दिप डाँगीले भन्नुभयो, “प्राकृतिक सम्पदालाई मात्र अघि सारेर पर्यटन प्रवर्द्धन हुन सक्दैन । यति धेरै साँस्कृतिक विविधता छ त्यसलाई व्यावसायिक रुपमा जोडेर लानुपर्छ । संस्कृति, भाषा, शैली, सभ्यतालाई जोगाउन सकेनौँ भने अस्तित्व नै खतरामा हुन सक्छ ।”

कार्यक्रममा विभिन्न जातजातिका लोकनृत्य प्रस्तुत गरिएको थियो । कोशी प्रदेशको सोलुखुम्बुको थुलुङ सामा राईको तोशी नाच, कर्णाली प्रदेशको जाजरकोट जिल्लाको खाँडो नाच, मधेस प्रदेशको पमरिया नाच कलाकारले प्रस्तुत गरेका थिए ।
यसैगरी लुम्बिनी प्रदेशको रोल्पाबाट पैसेरु नाच, सुदूरपश्चिमको दार्चुलाबाट छलिया नाच, गण्डकी प्रदेश म्याग्दीबाट पुन समुदायको पुख्र्यौली नाच, बागमती प्रदेशबाट तामाङ समुदायको म्हेन्दोमाया नाच, सुदूरपश्चिम बझाङको भारी खेललगायत झरझरी नाच, होली नाच, सिंगारु नाचहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत

काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहनुभएको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गर्नुभएको छ ।

मनोनयन हुनुभएका सदस्यमा प्रा डा कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ), पुजा पासवान (महोत्तरी), हरिसिंह केसी (धादिङ), त्रिबिक्रम पाण्डे (काठमाडौँ), राजन श्रेष्ठ (काठमाडौँ), किरण भट्ट (गोरखा), लालमणि भण्डारी (दाङ), खेमराज केसी (दैलेख) र तारामान रावल (कैलाली) रहनुभएको पार्टीका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो : १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा बिहीबार साँझ भारी वर्षाले पहिरो निम्त्याएको प्रान्तीय विपद् न्यूनीकरण विभागका प्रवक्ता इल्हाम वहाबले बताउनुभयो । “हिजो राति सुन खानीमा पहिरो गएको जानकारी हामीले प्राप्त गर्यौ । पहिरोमा दर्जनौ मानिक पुरिएका छन्, पीडितको खोजीकार्य जारी छ”, उहाँले भन्नुभयो ।

इल्हानले घटनामा १५ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको र उद्धारकर्ताले बेपत्ता भएका २५ जनाको खोजी गरिरहेको जानकारी गराउनुभएको छ । सोलोक जिल्ला विपद् विभागले विज्ञप्तिमार्फत परित्याग गरिएको “अवैध” खानीमा पहिरो गएको जानकारी गराएको छ ।

दुर्गम ठाउँमा रहेको यस क्षेत्रमा पुग्न नजिकैको गाउँबाट घन्टौँ पैदल हिँड्नुपर्ने भएकाले उद्धार कार्यमा बाधा पुरÞ्याइरहेको इल्हामले बताउनुभयो ।
“पहिरो गएको स्थान धेरै टाढा छ । यसले उद्धारका प्रयासमा बाधा पुरÞ्याएको छ”, उहाँले भन्नुभयो । सोलोक जिल्ला विपद् विभागले उक्त क्षेत्रमा मोबाइल फोनको पहुँच नभएकाले उद्धारकर्तालाई एकअर्कासँग कुराकानी गर्न गाह्रो भइरहेको बताएको छ ।

अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध,यात्रा नगर्न आग्रह

मनाङ, ११ असोज : मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

काभ्रेभिरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिनुभयो । “मनाङ पर्यटकीय क्षेत्र भएकाले यतिबेला पर्यटकको बढी आवतजावत हुन्छ तर सडक अवरुद्ध हुँदा स्थानीयका साथै पर्यटकलाई असर गरेको छ”, उहाँले भन्नुभयो ।

निरन्तर वर्षा भइरहेकाले जिल्लावासीलाई सचेत तथा सजक रहन आग्रह गरिएको प्रजिअ आचार्यले बताउनुभयो । “मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र भएकाले सचेत रहन जिल्लावासीलाई आग्रह गरिएको छ”, उहाँले भन्नुभयो, “अत्यावश्यक बाहेकका काममा लामो तथा छोटो दुरीको यात्रा नगर्नसमेत आग्रह गरिएको छ ।”

आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु

काठमाडौँ, ११ असोजः काठमाडौँमा आजदेखि चाडपर्वलक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले शुभारम्भ गर्नुभयो ।

प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर चाडपर्वलाई सुरक्षित बनाउन सकिनेमा जोड दिनुभयो । अभियानअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकलाई सम्मान कार्यक्रम र ‘नो भ्वाइलेसन, नो पेनाल्टी’ लेखिएका स्टिकर टासेर कार्यक्रम सुरु गरिएको हो ।

त्यसअवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममतापूर्वक कारबाही गरिने बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्कालेसबै चालक एवं सडक प्रयोगकर्ताले सडक र सवारी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहने र सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रहसमेत गर्नुभयो ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनलाई मात्रै ध्यान दिन सके धेरै कुरामा सुधार आउने बताउनुभयो । कार्यक्रमकै अवसरमा सात जना उत्कृष्ट चालक र दुई जना परिचालक बस होस्टेजहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यस अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई थान मोटरसाइकल हस्तान्तरण गर्नुभयो ।

राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत भएको छ : मुख्य सल्लाहकार रिमाल(अन्तरवार्ता)

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ । महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको सम्बोधन तथा द्विपक्षीय भेटवार्तामा व्यक्त विश्वशान्ति, मानव–पृथ्वीको रक्षा, जलवायु न्याय, गरिबी निवारण, लोकतन्त्र र आर्थिक रूपान्तरणका यात्रामा नेपालको प्रयासबारे अवगत भएको छ । विश्वशान्ति, जलवायु परिवर्तन र विकासबारे अन्तर्राष्ट्रिय समुदायसँगका अपेक्षाबारे नेपालले स्पष्ट धारणा राखेको छ । प्रस्तुत छ, राष्ट्रसङ्घको भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसँग राष्ट्रिय समाचार समिति (रासस) का विशेष प्रतिनिधि प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित अंशः

यसपटक राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता, सम्बोधन र विभिन्न भेटवार्ताको समग्र अवस्था कस्तो रह्यो ?

छोटो शब्दमा भन्नुपर्दा भ्रमण सफल भएको छ । सफल भनेपछि यसका केही आधारहरू मैले भन्नुपर्ने हुन्छ । अघिल्ला महासभाहरूका तुलनामा ‘फ्युचर अफ द समिट’ मा प्रधानमन्त्री ओलीबाट सम्बोधन हुनु नयाँ कुरा हो । यसको एउटा सत्रलाई अल्पविकसित मुलुकका अध्यक्षको हैसियतले अध्यक्षता गर्ने अवसर मिल्यो । यो एकप्रकारको उपलब्धि नै हो । ‘फ्युचर अफ द समिट’ र महासभामा भएको सम्बोधनमा प्रधानमन्त्रीले अल्पविकसित मुलुकका आवाजलाई प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्रीबाट सम्बोधन, अध्यक्षता र ‘साइडलाइन’ भेटवार्ताका क्रममा विभिन्न देशका शीर्षस्थ नेता, राष्ट्रसङ्घसहित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग ३५ भन्दा बढी भेटघाट भएका छन् । त्यत्तिकै सङ्ख्यामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भेटघाटमा सरिक हुनुभयो । यस्तै प्रधानमन्त्रीले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले आयोजना गरेको ‘लिड फ्रि’ सम्बन्धी कार्यक्रममा सम्बोधनका साथै ‘डिल फ्रि’ का लागि नेपालको प्रतिबद्धता राख्नुभएको छ । त्यस क्रममा उहाँले बालबालिका र युवाहरूको स्वास्थ्यमा असर परिरहेको विषय राख्नुभयो । विश्व बैंकका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको यो कार्यक्रम महत्वपूर्ण रह्यो, जहाँ अमेरिकी प्रथम महिलाले पनि सम्बोधन गर्नुभएको थियो ।

अर्काे सफलता भनेको प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको असरबाट हिमाली र साना टापु राष्ट्रले किन प्रभाव खेपिरहेका छन् भन्ने बारेमा नयाँ ढङ्गबाट जोड दिएर प्रस्तुति दिनुभएको छ । कार्बन उत्सर्जनबाट विश्वको तापक्रम बढ्ने, हिमाल पग्लने र समुद्री सतह वृद्धि हुने भएकाले हिमालदेखि समुद्रसम्मको एकीकृत सुरक्षाका विषय प्रधानमन्त्रीले राख्नुभएको छ । नेपालका सगरमाथा र अन्य हिमालहरूले आफैँमा पृथ्वीलाई ‘कुलिङ सिस्टम’ मा चलाइरहेको छ भन्ने कुरा राजनीतिक नेतृत्वको तर्फबाट आउनुले यसले अझ महत्व पाएको छ । समुद्र र हिमालको ‘इकोसिस्टम’ बारे उठाउँदै नेपालले भोग्नपरेका समस्याबारे नयाँ ढङ्गले उहाँले बोल्नुभएको छ । प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा धेरै देशका राष्ट्र तथा सरकार प्रमुखहरूले यसलाई चासो दिएका छन् । समुद्र सतहको तापक्रम र जलवायु परिवर्तनको असरसम्बन्धी मञ्चमा पनि प्रधानमन्त्रीले यो कुरा बोल्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले पनि ‘पलुटर मष्ट बी पेड’ भन्नुभएको छ । हामीले पनि त्यही भनेका छौँ । नेपालले कार्बन उत्सर्जनमा निकै कम योगदान गरे पनि नेपालले यसबाट भोग्नुपरेका असरको क्षतिपूर्ति पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ । हामीले देशको १७ प्रतिशत भूभाग हिउँ र ४६ प्रतिशत भूगोल जङ्गलका लागि छुट्याएका छौँ भन्यौँ । यसले समग्र पृथ्वीको ‘इकोसिस्टम’लाई सघाइरहेको छ । त्यसकारण कार्बन उत्सर्जनमा नगरेको गल्तीको भागिदारी हामीले भोग्नु नपरोस् भन्ने कुरा स्पष्ट राखेका छौँ ।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर) सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको छ । त्यहाँको माउन्ट सिनाइ अस्पतालमा पनि सम्बोधन गरी नेपालको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सहकार्यबारे प्रधानमन्त्रीले आह्वान र प्रोत्साहन गर्नुभएको छ । कोलम्बिया विश्वविद्यालयमा नेपालको लोकतान्त्रिक र आर्थिक रूपान्तरणका विषयमा बोल्नुभएको छ । हार्वड विश्वविद्यालयको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा बोल्दै हुनुहुन्छ । यसरी हेर्दा समग्रमा यस्ता महत्वपूर्ण सङ्लग्नताले यसपटक नेपाल महासभाका क्रममा देखिने गरी र सुनिने गरी प्रस्तुत भएको छ । त्यसैले पनि यो भ्रमण फलदायी रहेको छ ।

प्रधानमन्त्रीले विश्वमा देखिएका द्वन्द्वका विषयमा नेपालको असङ्लग्नताका विषय उठाउनुभएको छ । संवाद र कूटनीतिका विषय राख्नुभएको छ । यसको सन्देश के हो ?

हामीले मूलतः संवाद र कूटनीतिका माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भनेका हौँ । नृशंसकारी र विनासकारी विश्व युद्धबाट गुज्रिएर आएका हामी अहिले फेरि कठिन मोडमा उभिएका छौँ । मध्यएसिया, पूर्वीएसिया र अफ्रिकामा हतियारको होडबाजी र युद्ध चलिरहेको छ । त्यसमा कसले दोष गरेको भन्ने त उठ्छ तर हाम्रो प्रधानमन्त्रीले संवादको बाटोबाट जाऔँ भन्नुभयो । नरसंहारकारी बाटोबाट नजाऔँ भन्ने हो । युद्धकालमा जस्तो हतियार र बलले नियम कानुन थोपर्ने बाटोबाट होइन, संवाद र कूटनीतिको बाटोबाट जाऔँ भन्ने हाम्रो सन्देश हो । तटस्थ भन्ने त हुँदैन तर हामी द्वन्द्वरत पक्षको पक्षधरतामा नरहेर शान्तिका लागि सन्देश दिन सक्छौँ ।

नेपालको सफल शान्ति प्रक्रियाको मौलिक अनुभवलाई युद्धरत मुलुकले लिन सक्छन् भन्ने हाम्रो प्रधानमन्त्रीको सन्देश हो । अहिलेको २१औँ शताब्दीमा हतियार र युद्धबाट जित्न खोज्ने बाटोले मानवता र पृथ्वी रहँदैन भन्ने हो । त्यसकारण मध्यएसिया र पूर्वीएसिया, युरोप, अमेरिका र अफ्रिका जहाँ भए पनि संवाद र कूटनीतिबाट समस्या हल गरौँ भन्ने नेपालको धारणा रहेको बतायौँ । संवाद र कूटनीतिका लागि जोड दिएर के सहयोग गर्न सक्छौँ भन्ने हो । नेपालको मौलिक शान्ति र सद्भावबाट अरुले पाठ सिक्न सक्छन् भन्ने सन्देश दिएका छौँ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेस्ले पनि नेपालको सफल शान्ति प्रक्रियालाई विश्वले नमुनाका रूपमा लिनुपर्छ भन्नुभएको छ । उहाँले विश्व शक्तितर्फ अग्रसर दुई छिमेकी मुलुकका छिमेकी भएको नेपालले आफ्नो अस्तित्व जोगाउँदै दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध कायम गरिरहेकाले यो सन्देशबाट पनि दुनियाँले सिक्नुपर्छ भन्नुभएको छ । अहिले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित हुनु एक मौलिक उदाहरण हो । त्यसरी हामीले दिएको असङ्लग्नता र संवादको बाटो ठीक रहेछ भन्ने देखिएको छ । त्यसकारण नेपालले नैतिक मूल्यका आधारका साथै गौतम बुद्ध, शान्ति र सहनशीलताको देशका रूपमा आफूलाई चिनाउनुपर्छ भन्ने हो । नेपालीको खास चरित्र पनि अन्याय नसहने र मिल्नुपर्दा सबैसँग सहज रूपमा मिल्नसक्ने अद्भूत क्षमताको चरित्र पनि छ भन्ने हो । यो अवस्थाले पनि अहिले संवाद र कूटनीतिको विषय छलफलको विषय भएको छ ।

दुईपक्षीय र साइडलाइन भेटवार्ता तथा भारत र चीनसँगका भेटमा के के कुरा भए ? सार्कलाई गतिशील बनाउन केही पहल भयो कि ?

महासभाका क्रममा भेटवार्तामार्फत एकप्रकारले परिचयलाई पुनःस्थापित गर्ने गरिन्छ । त्यसका अतिरिक्त हामीसँग केही निश्चित एजेण्डा पनि थिए । स्वभाविक रूपमा सार्कलाई गतिशील बनाउने विषयमा सबैको चासो रहेको छ । नेपाल यसको अध्यक्ष भएका नाताले पनि यसलाई गतिशील बनाउन वैकल्पिक उपाय के गर्न सकिन्छ भन्नेबारे हामीले कुरा उठाएका छौँ । हामीले भारतसँग सार्क आवश्यक हो भने चलाऔँ, आवश्यक छैन भने यसको विकल्प के हुन सक्छ भनेर कुरा गरेका छौँ । पाकिस्तानले पनि यसमा चासो दिएको छ । बङ्गलादेशमा नयाँ सरकार छ, उसले सार्कलाई अघि बढाउन सहयोग नै गर्छ । भुटानको पनि त्यही चासो छ । हाम्रो प्रधानमन्त्रीले सबैलाई मिलाएर लाने कुरा गर्नुभएको छ ।

सार्कका कुनै सदस्य राष्ट्रबीचको विवादभित्र पस्ने कुरा त रहेन तर नमिलेका कुरालाई मिलाउन के गर्न सकिन्छ भन्ने हो । एउटै विषयमा अल्झिएर रहनुभन्दा पनि संवादबाट मिलाउने र मिल्न नसकिएका विषयलाई थाती राखेर सार्कलाई गति दिन सकिन्छ भन्ने हाम्रो प्रधानमन्त्रीले स्पष्ट धारणा राख्नुभयो । नेपाल र छिमेकीका छलफल हुनुपर्ने विषयमा पनि छलपल गरौँ भन्नुभएको छ । एउटै विषय सधैंका लागि राख्नु हुँदैन भन्नुभएको छ । अरू सबालमा पनि कुराकानी भएका छन् । जस्तो बङ्गलादेश हामीसँग बिजुली किन्न चाहन्छ, त्यसका लागि भारतको बाटो चाहिने भएकाले भारत र बङ्गलादेशको कुरा हुनुपर्ने विषय छ । भुटानले हामीले राखेको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बाट सिक्न चाहन्छौँ भनेको छ । अलल्पविकसितबाट स्तरोन्नति भइसकेको भुटानले खुसीलाई महत्व दिँदै आएको छ, हामीले सुखी भनेका छौँ । खुसी भनेको तत्कालका लागि अनुभव गर्ने र सुखी भनेको दीर्घकालीन विषय भएकाले यसमा भुटानले हामीसँग सिक्न चाहेको छ । हामीले पनि भुटानबाट के सिक्न सकिन्छ भन्ने विषयबारे छलफल भएको छ ।

चिनियाँ पक्षसँगका भेटमा पनि विभिन्न समयमा गरिएका भ्रमण आदानप्रदान र खासगरी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका विकास–निर्माणसँग सम्बन्धित सहमति र सम्झौता कार्यान्वयन हुनुपर्छ भन्नेमा जोड रहेको छ । नेपालमा कस्तो सरकार र व्यवस्था रहन्छ त्यो नेपालको कुरा हो भन्नेमा हाम्रो र चीनको समान धारणा रहेको छ । हामीले पनि नेपालको सरकार हाम्रो आवश्यकता र अनुकूलताका आधारमा बन्छ भनेका छौँ । त्यसर्थमा चीनका विदेशमन्त्रीले अहिलेको सरकारलाई हाम्रो शुभकामना छ भन्नुभएको छ ।

नेपाली समुदायलाई सम्बोधन गर्ने एउटा कार्यक्रम स्थगन हुनुले केही टिकाटिप्पणी सिर्जना भए नि !

कार्यव्यस्तताका कारणले त्यो कार्यक्रम रोकिएको हो । यसबारे सामाजिक सञ्जालमा उत्पन्न गराइएको अफवाहबारे त केही भन्न चाहन्न । एक ठाउँको फोटो खिचेर अर्काे ठाउँको भ्वाइसओभर गर्ने खालका विषय चर्चा गर्न योग्य विषय रहेन । त्यहाँ जान सकिएको भए हुन्थ्यो भन्ने हामीलाई पनि नलागेको होइन । मुलुकका दुई ठूला राजनीतिक दलको सरकार बनेको र एउटा दलको नेता प्रधानमन्त्री ओली र अर्काे दलका नेता एवं परराष्ट्रमन्त्री डा राणा अमेरिका आएका बेला यहाँ रहेका र बसोबास गर्ने नेपालीहरूलाई ठूलो भेलामार्फत सम्बोधन गरौँ भन्ने हाम्रो पनि चाहना हो । कार्यव्यस्तताका कारण त्यो सम्भव भएन तर साँझ–बिहानको समय निकालेर पार्टी कार्यकर्ताका साथै नेपाली समुदायका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले भेटघाट गरिरहनुभएकै छ । त्यसकारण सामाजिक सञ्जालमा गरिएका गलत टिप्पणीबारे धेरै चर्चा गर्नु आवश्यक छैन ।

निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

काठमाडौँ, ११ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचनमा पराजित भएका पूर्वपदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी सङ्गठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो ।

कार्य विभाजनका क्रममा नेताहरुको योगदान र सक्षमताको आधारमा विभागीय प्रमुख तथा जनवर्गीय इन्चार्जको जिम्मेवारी दिने तयारी भएको हो । पार्टी सङ्गठन गतिशील बनाउन नेताहरुको कार्यविभाजन गरी पार्टीका विभागलाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका ईन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गरिने जनाइएको छ ।

नेताहरूबीच थप छलफल गरी सङ्गठन सुदृढीकरणमा अनुभव अनुभवी, सक्षम नेताहरुलाई विगतको योगदानका आधारमा उपयुक्त जिम्मेवारी दिने विषयमा तल्लो तहदेखि नै सुझाव आएको सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

पूर्वपदाधिकारीमा उपाध्यक्षत्रय धनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुसाल चुनावमा प्रतिस्पर्धा नगरेकाले वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको छ । विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पदाधिकारीमा पराजित हुनुभएको थियो ।

हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो ।

महाधिवेशनले पुरानो पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित १०५ पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै जिल्ला पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

भद्रपुर (झापा), ११ असोजः झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।

उहाँका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ । “पानी निरन्तर परिरहेको छ”, उहाँले भन्नुभयो, “कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढदै गएको छ ।”

वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताउनुभयो ।

यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ का रवीन भट्टराई भने सकुशल छन् ।

वर्षाले उडान अवरुद्ध
झापाको चन्द्रगढी विमानस्थलमा गए रातिदेखिको अविरल वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । आज कुनै पनि उडान तथा अवतरण नभएको विमानस्थलका सूचना अधिकारी वीरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

आज दिउँसो केही समयका लागि विमानस्थल खुले पनि फेरि बन्द भएको उहाँले बताउनुभयो । विमानस्थल मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा विमानस्थलमा तीन सय दुई दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ, ११ असोजः चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।

यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार रु ११ अर्ब छ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ ।

त्यस्तै, एलपी ग्यास रु नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु दुई अर्ब ९४ करोड बराबरको मोटरसाइकल र रु दुई अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ ।

नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन् । विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै रु एक अर्ब ९९ करोड ९६ लाख सात हजार बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै रु एक अर्ब १४ करोड २४ लाख ३२ हजार बराबरको चिया निर्यात भएको छ । जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा कूल रु दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार बराबरको वैदेशिक व्यापारमा नेपालले रु दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार बराबर व्यापार घाटा व्यहोरेको छ । साउन र भदौ महिनामा रु दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात हुँदा रु २५ अर्ब नौ करोड ३१ लाख तीन हजार बराबरको मात्रै निर्यात भएको छ ।

पोखरामा विश्व पर्यटन दिवस मनाइयो

गण्डकी, ११ असोजः पर्यटन राजधानी पोखरामा ४५आैँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यहाँस्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले लगातार वर्षा भइरहे पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको बताउँदै कार्यक्रम भने केही प्रभावित भएका जानकारी दिनुभयो । 

परिषद्ले आज पोखरा विमानस्थलबाट पहिलो उडानमार्फत यहाँ आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेको थियो । लगातारको वर्षाका कारण उक्त कार्यक्रम गर्न नसकिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुुभयो ।

प्रत्येक वर्ष विश्व पर्यटन दिवसका अवसरमा पोखरामा हवाई र स्थल मार्गबाट आउने पर्यटकलाई पोखरामा स्वागत गर्दै विभिन्न प्याकेजसमेत उपलब्ध गराउने गरिएको छ । परिषद्ले आजै पर्यटन र शान्ति विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ ।

साथै नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्रभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सङ्कलन गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो । 

नाट्टा गण्डकी प्रदेशका तर्फबाट आजै स्थलमार्गबाट पहिलो पर्यटक सवारीसाधनमा यहाँ आउने पर्यटकलाई स्वागत एवं सम्मान गर्न लागिएको उहाँले बताउनुुभयो । 

कार्यक्रमका अवसरमा नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखराको लेकसाइडबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पर्यटक सवारीसाधन सहितको ¥याली प्रदर्शन गरेको छ । ¥यालीमा ६० वटा पर्यटक सवारीसाधन सहभागी गराइएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुुभयो । 

पोखरामा लगभग चार सय ५० को सङ्ख्यामा पर्यटक सवारीसाधनले सेवा प्रवाह गरिरहेका बताउँदै उहाँले नयाँ इम्बोष्ड नम्बरका नाममा यसको पहिचान हराउन नहुने सन्देश प्रवाहका लागि पनि ¥याली आयोजना गरिएको जानकारी दिनुुभयो ।

दिवसको पूर्वसन्ध्यामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा–१८ स्थित रिञ्जे नासा होमस्टेमा घरवास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो ।

ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले नयाँ पुल–मोरिया–लप्सीबोट हुँदै भुकदेउराली र त्यहाँबाट डाँडा कमेरे–फलाटे–ताङले–सरौँ सम्मको पदयात्रा कार्यक्रम आयोजना गरेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुुभयो । 

साथै अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा हिमालय फोटो प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिनुुभयो । आजै रेवान पोखराको आयोजनामा लेकसाइडमा सडक महोत्सव आयोजना गरिएको छ । 

पर्यटकलाई आकर्षित गर्न पुरानो भिसा प्रणालीमा फर्किँदै श्रीलङ्का

मुलुकको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौँ डलरको सम्झौतालाई निलम्बन गरेपछि श्रीलङ्काले पर्यटनलाई प्रोत्साहन गर्न अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना गरेको छ ।

मुलुकको अर्थतन्त्र सन् २०२२ को वित्तीय सङ्कटबाट विस्तारै बाहिर निस्कँदै गर्दा यो कदम मुलुकको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न लक्षित रहेको नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेको सरकारले बिहीबार राति बताएको थियो ।

पर्यटकहरूले अब भारतस्थित भिएफएस ग्लोबलले लिने २५ डलर शुल्क नतिरी अनलाइन भिसाका लागि आवेदन दिन सक्नेछन् । भिएफएस ग्लोबलले अप्रिलमा अघिल्लो सरकारबाट आउटसोर्सिङ सम्झौता जितेको थियो ।

अधिकारकर्मीहरूले अदालतमा सम्झौता पारदर्शी तरिकाले प्रदान नगरिएको आरोप लगाउँदै कन्सोर्टियमले १६ वर्षको अवधिमा दुई अर्ब ७५ करोड डलरसम्म कमाउन सक्ने बताए ।

अगस्टमा श्रीलङ्काको सर्वोच्च अदालतले अध्यागमन अधिकारीहरूलाई भिएफएसलाई प्रदान गर्नुअघि प्रयोग गरिएको उक्त अनलाइन प्लेटफर्ममा फर्कन आदेश दिएको थियो ।

राष्ट्रपति दिसानायकेको कार्यालयले बिहीबार वक्तव्यमा भनेको छ, “भिएफएस ग्लोबलले प्रदान गरेको भिसा सुविधाले धेरै मानिसलाई उल्लेखनीय कठिनाइ निम्त्याएको छ ।” साथै विदेशीहरूले भिसा प्राप्त गर्न चुनौतीको सामना गर्नुपरेको पनि कार्यालयले बताएको छ ।

सर्वोच्च अदालतको फैसलाको निर्णय पालना नगरेको आरोपमा बुधबार अध्यागमन प्रमुख हर्ष इलुकपिटियालाई पक्राउ गरिएको थियो ।

इलुकपिटिकियाले अप्रिलदेखि भिसा आवेदन प्रशोधन गर्न भारतको जिबिएस टेक्नोलोजी सर्भिस र आइभिएस ग्लोबल एफजेडसिओका साथै भिएफएस ग्लोबललाई साझेदारका रूपमा करोडौँ डलरको सम्झौता गर्नुभएको थियो ।

“हामीले भिएफएस ग्लोबसलसँग सम्बन्धित अनियमतिताहरूको अनुसन्धान गर्न तत्काल फरेन्सिक लेखापरीक्षण सुरु गरेका छौँ”, राष्ट्रपति कार्यालयले बिहीबार भनेको छ, “कुनै पनि विसङ्गति फेला परे कानूनी कारवाही गरिनेछ ।”

आउटसोर्सिङ सम्झौताअन्तर्गत श्रीलङ्कामा प्रवेश गर्ने कुनै पनि विदेशीले २५ डलर भिसा प्रशोधन शुल्क भुक्तानी गर्नुपर्थ्यो । यहाँसम्म कि श्रीलङ्काका साथै भिसा–मुक्त भ्रमणको व्यवस्था भएका मुलुकका नागरिकले पनि त्यति शुल्क तिर्नुपर्थ्यो ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार यस वर्षको पहिलो सात महिनामा करिब ११ लाख ९० हजार पर्यटक श्रीलङ्का आएका छन् । यो सन् २०२३ को सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी हो ।

चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौँ, ११ असोजः नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नाराका साथ काठमाडौँ प्रहरीले सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौँलाई विभिन्न १४ इलाकामा विभाजन गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रत्येक युनिटमा १०÷१० जनाको टोली बनाइ परिचालन गरिने काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले दसैँ, तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौँभित्र कुल तीन हजार सात सय ६५ जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । 

कुनै पनि घटना घटेमा घटनास्थलमा १० मिनेटभित्र पुग्ने गरी ‘इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम’ (ई–क्यूआरटी), सिआरभी र मोबाइल टोलीलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । घटनास्थलको तस्वीर तथा श्रव्यदृश्य लिन ‘गोप्रो क्यामेरा’, तैनाथीको अवस्था बुझ्न जिपिए र तत्काल प्रतिक्रियाका लागि आवश्यक सामग्रीसहित ई–क्यूआरटी टिमलाई परिचालित गरिएको छ । घटनास्थलमा थप प्रतिकार्यका लागि बढीमा ३० मिनेटभित्र यथेष्ठ प्रहरी तैनाथी हुने व्यवस्था मिलाइएको छ ।

प्रहरीले अपराध हुनसक्ने सम्भावित क्षेत्रमा पैदल, सवारी र ड्रोनमार्फत गस्ती गर्नेछ । प्रहरीले स्थानीयका खाली घर, आर्थिक कारोबार हुनसक्ने स्थान, सरकारी कार्यालय, भीडभाड हुने स्थान, गरगहना पसल, बसका टिकट काउन्टर, धार्मिकस्थल, बसपार्कलगायतलाई सुरक्षा क्षेत्रका रुपमा पहिचान गरेको छ । 

सम्भावित क्षेत्रमा सूचना सङ्कलनका लागि सादा पोसाकमा ३८ टोली परिचालित हुनेछन् । ‘सिल एण्ड सर्च’का लागि २८ तथा ‘एम्बुसिङ’ र निगरानीका लागि २२ टोली परिचालित गर्ने काठमाडौँ प्रहरीको तयारी छ । काठमाडौँ भित्रने नाकामा प्रत्येक दिन कुकुरमार्फत उच्च निगरानी गरिने, विभिन्न ३५ स्थानमा सुरक्षा व्यवस्थासम्बन्धी चेतना फैलाउन पर्चा वितरण गर्ने, काठमाडाँैका प्रमुख १२ स्थानका टिकट काउन्टरमा सहायता कक्ष सञ्चालन गरी सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन विविध कार्यक्रम गरिनेछ । 

बैंक तथा वित्तीय संस्थामा चोरी लुटपाट हुनसक्ने, सामान किनबेच हुने स्थानमा अत्यधिक भीडभाड भई किनबेच कार्यमा असुविधा तथा पसलहरुमा चोरी तथा लुटपाट हुन सक्नेतर्फ ध्यान दिँदै प्रहरीले निगरानी गर्नेछ । एटिएम बुथ तोडफोड गरी चोरी हुनसक्ने हुँदा सो क्षेत्रतर्फ गस्ती गरी सुरक्षा व्यवस्था मिलाइने प्रहरी नायब उपरीक्षक रजौरेले बताउनुभयो । 

चाडपर्वमा लुटपाट तथा कुटपिट, चोरी, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झै–झगडा, ट्राफिक नियमको उल्लङ्घन, आगजनी तथा विस्फोटन, महँगो भाडा असुलीलगायत आपराधिक गतिविधि हुनसक्ने भएकाले उच्च निगरानी राखिएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले जानकारी दिनुभयो । काठमाडौँलाई सुरक्षित सहर बनाउन आमनागरिकको सावधानी आवश्यक रहेको भन्दै उहाँले काठमाडाँैलाई सुरक्षित बनाउन प्रहरीले कुनै कसर नराखिने स्पष्ट पार्नुभयो ।

पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छ: महासचिव पोखरेल

काठमाडौँ, ११ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताउनुभएको छ । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला सङ्घको चौथो बैठकमा उहाँले सङ्गठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी सङ्गठनका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राख्नुभयो । उहाँले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्तीबस्तीसम्म लैजान आवश्यक रहेको उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले यसवर्ष पार्टीले ४० वर्ष मुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिनुभयो । यसैगरी उहाँले राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन आग्रह गर्नुभयो । “संविधान जारी भएको १० वर्षका सबल र दुर्बभ पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधान गर्ने गरी राजनीतिक समीकरण बनेको छ । यसरी बनेको सरकारले सामाजिक अराजकता, आर्थिक सङ्कट र शान्ति प्रक्रिया टुङ्ग्याउने कुरालाई समाधान गरेर अगाडि बढ्ने छ”, महासचिव पोखरेलले भन्नुभयो, ।

उहाँले ठुला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो । “पार्टी—पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता उचित होइन तर स्थायित्वका लागि दुई पार्टी मिल्नुपरेको हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले सरकारको काममा प्रभावकारी देखिन थालेको, राजस्व बढ्न सङ्कलन बढ्न थालेको, वैदेशिक लगानी र रेमिट्यान्स बढ्नु सरकारको कामको प्रभावकारिता रहेको बताउनुभयो । यसले मुलुक सङ्कटबाट मुक्त नभए पनि सुधारका सङ्केत देखिएको उहाँको भनाइ थियो ।

स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संविधान संशोधन गरेर हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतको सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष टुकाभद्र हमालले महिलाका अधिकारलाई संविधान संशोधनबाट थप सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने

चितवन, ११ असोजः अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो । अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिनुभयो ।

बेहुली फ्रम मेघौली’को अमेरिका राइट्स बिक्रि

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ । यतीबेला सिनेमाका सार्वजनिक प्रचार सामाग्री टिजर, ट्रेलर तथा गीतले दर्शकमाझ राम्रो हाईप बनाएको छ ।

सिनेमाको अमेरिका राइट्स बिक्रि भैसकेको छ । त्यसका साथै अष्ट्रेलिया, युरोप र मध्येपूर्वका देशहरुमा प्रदर्शन अधिकारको लागि कुरा भैरहेकाले केही दिनमा टुङ्गो लाग्ने जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनिले खरिद गरेको हो ।

सिनेमा दशैंको घटस्थापनाबाट नै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढि शहरमा रिलिज गरिने अमेरिका प्रदर्शन राइट्स किनेका कम्पनिहरुले जानकारी दिएका छन् ।


सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

दक्षिण भारतीय एक्सन निर्देशक स्टन्डर सामले सुरु गरे ‘बलिदान’को एक्सन दृश्यको छायाङ्कन

इटहरी। नेपाली चलचित्र ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। चलचित्रका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्ता सफल चलचित्रहरूमा एक्सन निर्देशन गरिसकेका छन् ।

यो चलचित्रको छायाङ्कन केही दिनदेखि नेपालका पूर्वी क्षेत्र इटहरी लगायतका स्थानहरूमा भइरहेको छ । चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार, अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायाङ्कन भइरहेका छन् । समीर भट्ट लगायतका कलाकारहरूका दृश्यहरू अहिले छायाङ्कन भइरहेको छ । मुख्य भूमिकामा समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय, र समाजका तथाकथित नाइकेहरूको विरुद्ध बलिदान दिनुपर्ने कथामा आधारित छ । निर्देशक सेनका अनुसार, ‘बलिदान’लाई प्राविधिक पक्षमा पनि उच्चस्तरीय बनाउन मुम्बईबाट लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू आयात गरिएको छ । सेनले भने, “कथामा नेपाली चलचित्रले धेरै प्रगति गरिसकेको छ । अब प्राविधिक रूपमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन सक्ने चलचित्र बनाउन हामी विशेष ध्यान दिएका छौँ ।”

‘आसुसेन फिल्म्स प्रा.ली.’ र सन्तोष सेनको प्रस्तुति रहने यो चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सह-निर्माताको भूमिकामा रहेका छन् ।

जोमसोम–कागबेनी सडक खण्डमा कालोपत्र

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।

जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्र्तगत जोमसोम-कागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए । कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ ।

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ ।

पच्चीस किलोमिटर लामो चराङ-छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।

‘जेरी अन टप’ मा अभिनेत्री सुरक्षा पन्तको प्रवेश

काठमाडौं । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘जेरी अन टप’को निर्माण टिम कास्टिङ लाइनअपलाई मजबुद बनाउँदै अघि बढेको छ । यसै साताबाट फ्लोरमा जान लागेको फिल्ममा अभिनेत्री सुरक्षा पन्तको प्रवेश भएको छ । निर्माण कम्पनि अनन्या फिल्मस् र अभिनेत्री पन्तबीच बुधबार सम्झौता भएको हो ।

निर्माता सरोज न्यौपानेले फिल्ममा पन्त अनुबन्ध भएको पुष्टि गरेका छन् । ‘महत्वपूर्ण भुमिकाको लागि सुरक्षा जी ‘जेरी अन टप’मा अनुबन्ध हुनुभएको छ, न्यौपानेले भने,’उहाँको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ ।’ न्यौपानेले अझै अन्य स्टारकास्ट पनि फिल्मसँग जोडिएको भन्दै त्यो सरप्राइज फ्लोरमा जाँदासम्म खुल्दै जाने बताए ।

यो फिल्मको प्रमुख कलाकारमा स्टार अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङ यसअघि नै अनुबन्ध भइसकेका छन् । कास्टिङ लाइनअपले फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको छनक दिन्छ । वर्षमा एक दुई फिल्म मात्र गर्दै आएका अभिनेता अनमोलले यो फिल्मको स्कृप्टलाई यसअघि नै उत्कृष्ट बोल्दै आएका छन् । ‘फर्की फर्की’पछि पर्दामा आउन लागेका अनमोल यतिबेला यो फिल्मको लागि पात्र सुहाउँदो अभिनयको लागि मेहनतमा व्यस्त छन् ।

निर्माता न्यौपानेले नेपाली फिल्ममा हालसम्म पर्दामा नदेखिएको कथावस्तुमा आफ्नो फिल्म निर्माण हुन लागेको भन्दै पछिल्लोक्रममा नेपाली दर्शकले रुचाउँदै आएको परिवेशमा फिल्म निर्माण हुने बताए । प्रयोग गर्न म फिल्म निर्माणमा आएको होइन् न्यौपानेले भने, ‘ दर्शकको रोजाई र चाख अनुसार ‘जेरी अन टप’ बन्छ, सम्पूर्ण दर्शक तथा फिल्म सुभचिन्तकहरूलाई आस्वस्त पार्न चाहन्छु ।’

नेपाली फिल्मवृत्तमा संभावनावान निर्देशकमा गनिएका ‘फर्की फर्की’ निर्देशक गुरुङले अघिल्ला फिल्मबाट नै आफुलाई प्रमाणित गरिसकेका छन् । गुरुङ र अनमोलसँगको दोस्रो सहकार्यले नेपाली रजतपटमा नयाँ आयाम दिने विश्वास निर्माण टिमको छ । ‘जेरी अन टप’को निर्माणमा अनन्या फिल्मस्’सँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् ।

‘जेरी अन टप’को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । यो फिल्मलाई काठमाडौँ,लुक्ला र वलिउडको ब्लकवस्टर फिल्म ‘थ्री इडियट्स’ छायांकन स्थल लद्धाक लगायतका स्थानमा खिचिँदैछ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री

न्युयोर्क (अमेरिका), ११ असोजः प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभएको हो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । 

सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ ।” नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको उहाँले प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबीचको विरोधाभासमा रहेको उल्लेख गर्नुभयो । साथै उहाँले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गर्नुभयो ।

“भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको, सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको, आणविक युद्धको भय समाप्त भएको छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो अर्थतन्त्र कमजोर छ, कोभिड–१९ महामारीका दीर्घकालीन प्रभावहरूसँग जुधिरहेको छ, उदारीकरण र विश्वव्यापीकरणले ल्याउनुपर्ने लाभ हामीले प्राप्त गर्नुभन्दा पहिले नै राष्ट्रवाद र संरक्षणवाद पुनः देखापरेको छ ।”

तीन सय वर्षको औद्योगिकीकरण र आधुनिकीकरण यात्रापछि पनि समृद्धि मुख्य रूपमा औद्योगिकीकरणका माध्यमबाट आर्थिक समृद्धि हासिल गरेका राष्ट्रमा नै केन्द्रित रहेको तथा गरिबी र अभाव अतिकम विकसित देशहरूमा व्यापक रहेको उहाँले उल्लेख गर्नुभयो । यस्तो विभेद हटाउन अर्थपूर्ण सहयोग र सहकार्यलाई बढावा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सामूहिक इच्छाशक्ति र एकीकृत कार्यद्वारा मात्र हामी यो प्रवृत्तिलाई उल्टाउन सक्छौँ र सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युग प्रारम्भ गर्न सक्छौँ ।” यस सन्दर्भमा महासभाको उक्त सत्रको विषयवस्तु ‘कसैलाई पछाडि नछाडिनेः वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानवीय प्रतिष्ठाको उन्नतिका लागि एकजुट भएर काम गरौँ’ भन्ने आदर्श वाक्य समयोचित भएको बताउनुभयो । 

उहाँले ‘समिट अफ द फ्युचर’ मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व व्यवस्था निर्माण गर्ने प्रतिबद्धता पुनःपुष्टि गरेको उल्लेख गर्नुभयो । वर्तमान र भावी पुस्ताको हितका लागि सम्मेलनले अनुमोदन गरेका तीन दस्तावेज कार्यान्वयन गर्ने दृढ सङ्कल्प सबैले प्रस्तुत गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

नेपालको सबै क्षेत्रको विकासका निम्ति लामो समयदेखि अघि सारिएको ‘कसैलाई पछाडि नछाडिने’ सिद्धान्त देश विकासको आधारशिला भएको बताउँदै उहाँले यो नेपालको संविधानमा समाहित रहेको तथा यसले समावेशिता, समानता, न्याय, समानुपातिक प्रतिनिधित्व, मानवअधिकार र समाजको सबैभन्दा कमजोर वर्गका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गरेर लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राखेको स्पष्ट गर्नुभयो ।

“म ‘सर्वसमावेशी लोकतन्त्र’मा मेरो दृढविश्वास छ, यसलाई नै मूलमन्त्र मानेर देशको नेतृत्व गर्ने मेरो सङ्कल्प छ । समान अधिकार, अवसरमा समान पहुँच, सामाजिक न्याय सुनिश्चित गर्ने, कमजोर समुदायहरूको संरक्षण, सबैका लागि सुरक्षा र मर्यादा कायम गर्नु लोकतान्त्रिक राज्यको दायित्व हो”, उहाँले भन्नुभयो, “हाम्रा दुई प्रमुख राजनीतिक दलहरूको सहकार्यबाट गठित वर्तमान सरकार हाम्रा जनताका लागि समावेशी र न्यायपूर्ण समृद्धि र आर्थिक रूपान्तरणलाई गति दिन दृढ छ । हामीले हाम्रो राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साकार पार्न आफूलाई समर्पित गरेका छौँ ।”

सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति हुने तयारीमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य हासिल गर्न मेहनत गरिरहेको जानकारी दिनुभयो । “सन् २०४३ सम्ममा हाम्रो विकसित देश बन्ने चाहना छ, यद्यपि हामी ठूलो आर्थिक चुनौतीको सामना गरिरहेका छौँ”, उहाँले भन्नुभयो । दिगो विकासका लक्ष्य हासिल गर्ने बाटोमा समस्या छन् । दिगो विकासका लक्ष्य हासिल गर्न २४ अर्ब अमेरिकी डलरको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले गत जुनमा अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए–२१) सम्मेलन आयोजना गरेको तथा त्यस क्रममा नेपालको चौतर्फी विकासका निम्ति अन्तर्राष्ट्रिय सहयोग वृद्धि गर्न निरन्तर आह्वान गरेको बताउनुभयो । 

जलवायु परिवर्तनका कारण हामी बसेको पृथ्वी, जनता र समृद्धिमा गम्भीर चुनौती खडा गरेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसबाट नेपाल विशेषगरी प्रभावित छ । हामी जलवायु परिवर्तनका प्रभावबाट सबैभन्दा कमजोर राष्ट्रहरूमध्ये एक हौँ, विश्वका सबैभन्दा प्रभावित २०औँ देशको रूपमा छौँ । प्राचीन हिमालयमा विशाल हिउँको भण्डार हराइरहेको छ, यो सबैभन्दा ठूलो चिन्ताको विषय हो । यो क्षतिले नेपालको सीमाभन्दा बाहिर रहेका अर्बौँ मानिसलाई पानीको उपलब्धतामा जोखिम उत्पन्न भएको छ ।”

नेपालले आफ्ना वन, पहाड र नदीमार्फत पृथ्वीको स्वास्थ्यमा ठूलो योगदान गरिरहेको बताउँदै यी प्रयासका बाबजुद जलवायु परिवर्तनको मारमा देश परिरहेको यथार्थ सुनाउनुभयो । उहाँले हरितगृह ग्यास उत्सर्जनमा नेपालको शून्य योगदान भए पनि जलवायु परिवर्तनका प्रभावबाट पिरोलिएकाले न्यायका लागि आह्वान गर्नुभयो ।

“हाम्रा हिमालय जलवायु र महासागरको पारिस्थितिकी प्रणालीलाई नियमन गर्न महत्त्वपूर्ण भूमिका छ, हिउँले भरिएका नदी महासागरमा बग्छन्”, यिनको महत्वलाई ध्यानमा राखेर जलवायु वार्तामा पर्वतीय मुलुकका विषयमा गम्भीर हुन अपरिहार्य भएकामा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो ।   नेपाल पेरिस सम्झौताप्रति प्रतिबद्ध रहेको बताउँदै उहाँले सन् २०४५ सम्ममा शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको र जुन विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले हो भन्नुभयो ।

जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको व्यापक र शृङ्खलाबद्ध प्रभावहरूलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सहयोगात्मक प्रयास आवश्यक हुने उहाँको भनाइ थियो  । अल्पविकसित देशहरूमा विशेषगरी अनुकूलनका लागि जलवायु–प्रतिरोधी उपाय र पूर्वाधारलाई समर्थन गर्न जलवायुजन्य ‘नोक्सानी’ कोषसहित पर्याप्त जलवायु वित्त आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो । जलवायु परिवर्तन एक विश्वव्यापी चुनौती भएकाले यसलाई घटाउन सबै देशको सहकार्य र सहयोगात्मक प्रयास हुनुपर्नेमा उहाँको जोड थियो । ‘लस एण्ड ड्यामेज फन्ड’को समुचित प्रयोगमार्फत दिगो एवं प्रभावकारी पूर्वाधार निर्माण गरी अल्पविकसित मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गरिनुपर्ने उहाँको कथन थियो ।

नेपाली भूमि महान् ऋषिमुनिहरूको ज्ञान र आशीर्वादले भरिपूर्ण रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भगवान् गौतम बुद्धका शिक्षाले विश्वव्यापी शान्ति, सुरक्षा र मेलमिलापको बाटोमा प्रेरित गरेको उल्लेख गर्नुभयो । आजभन्दा दुई हजार पाँच सय वर्षअघि गौतम बुद्धद्वारा प्रवर्तित प्रेम, सद्भाव, सहनशीलता र सहानुभूतिको मूल्य एवं मान्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाँले बताउनुभयो ।

विश्वभर निराशा, विभाजन, शङ्का, घृणा र वैरभाव बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संवाद र कूटनीतिक प्रयासबाट नै रुस–युक्रेन र मध्यपूर्वलगायत देशका द्वन्द्व समाधान गर्न सकिनेमा नेपाल विश्वस्त रहेको बताउनुभयो । प्रेम र करुणाबाट नै वैरभावलाई परास्त गर्दै दीर्घकालीन शान्ति खोज्न सकिनेप्रति उहाँले विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो । इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि दुवै पक्षले सामूहिक प्रयास थाल्नुपर्ने र अन्तर्राष्ट्रिय रूपमा मान्य सिमानाभित्र रहेर शान्ति एवं सुरक्षित रूपमा सहअस्तित्वको भावनाका साथ मिलेर बस्नुपर्ने नेपालको धारणा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुुभयो । लिबिया, सिरिया, सुडान, दक्षिण सुडान, यमन र अन्य क्षेत्रमा बढ्दो द्वन्द्वले मानवीय सङ्कट निम्त्याएकाले तिनको समाधानमा लाग्नु परम आवश्यक भएकामा जोड दिनुभयो । 

“विश्वभर शान्ति र स्थायित्व सुनिश्चित गर्न राष्ट्रसङ्घीय बडापत्रमा उल्लेखित सार्वभौम समानता एवं अहस्तक्षेपका सिद्धान्तलाई अक्षुण्ण राख्न आवश्यक छ । हामी हस्तक्षेप वा प्रतिबन्धको विरोध गर्दछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “निःशस्त्रीकरणका विषयलाई प्राथमिकता दिइनुपर्छ । नेपाल सबै प्रकारका आमविनाशका हातहतियारको पूर्ण निःशस्त्रीकरणको पक्षमा छ”, एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घको क्षेत्रीय शान्ति र निःशस्त्रीकरण अभियान नेतृत्व गर्ने राष्ट्रको रूपमा नेपालले विश्वव्यापी निःशस्त्रीकरणका लागि आवाज उठाइरहेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले प्रविधिमा समान पहुँचका लागि पनि विश्व समुदायसँग आग्रह गर्नुभयो । उहाँले अल्पविकसित र विकासशील देशहरूलाई समृद्धिको पथमा अग्रसर हुन प्रविधि हस्तान्तरण आवश्यक भएको उल्लेख गर्नुभयो । 

नेपालले सधैँ शान्तिपूर्ण, स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा पञ्चशीलका सिद्धान्त, राष्ट्रसङ्घीय बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा विश्व शान्तिका मूल्यमान्यताप्रति आफ्नो देश प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

“हामीले सबैसँग मैत्री र कसैसँग वैरभाव नराख्ने विश्वासका साथ वैदेशिक नीति सञ्चालन गरेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित परराष्ट्र नीति अवलम्बन गरेका छौँ । यस्तो हार्दिकता र रचनात्मक सम्बन्धलाई आफ्ना छिमेकी र विश्वभरका मुलुकसँग अझ सुदृढ तुल्याउने प्रतिबद्धता प्रकट गर्दछु”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने राष्ट्रका रूपमा नेपाल रहेको र विश्व शान्तिका लागि आफ्नो योगदानलाई अझ सुदृढ गर्न तयार रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाल उच्च नेतृत्वमा उचित प्रतिनिधित्व पाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । 

राष्ट्रसङ्घलाई अझ प्रभावकारी, लोकतान्त्रिक, पारदर्शी र उत्तरदायी बनाउन यसको प्रणालीमा थप सुधारको आवश्यकता रहेको उहाँले बताउनुभयो । राष्ट्रसङ्घले अवलम्बन गरेको बहुपक्षवादको अवधारणाबाट नै हाल विश्वले सामना गरेका सङ्कट समाधान गर्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

अतिकम विकसित राष्ट्र, भूपरिवेष्टित विकासोन्मुख देश र साना टापु विकासशील मुलुकजस्ता विशेष अवस्थामा रहेका राष्ट्रको आवाज र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । “सबै मानव अधिकारहरू विश्वव्यापी, अविच्छिन्न, अविभाज्य, अन्तरनिर्भर र परस्पर सम्बन्धित छन् भन्नेमा नेपालले विश्वस्त छ । यसै विश्वासका साथ हामी २४ वटा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी अभिसन्धिका सदस्य राष्ट्र हौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी लैङ्गिक समानतालाई प्रवर्द्धन गर्न र महिलाहरूका लागि समान अधिकार सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ । नेपालले महिला र बालिकाका सबै अधिकार, यौन र प्रजनन स्वास्थ्य अधिकारसहितको मौलिक हकका रूपमा प्राप्तिका लागि आवश्यक कानुनी व्यवस्था गरेका छौँ ।”

वैदेशिक कामदारहरूको सुरक्षा, सम्मान, मर्यादा, र अधिकारका विषय सधैँ नेपालको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सधैँ सुरक्षित र व्यवस्थित आप्रवासनको नेपालले पैरवी गर्ने बताउनुभयो । “हाम्रो संसार पूर्ण छैन, तर यो निराशाजनक पनि छैन । मानवजाति अझै पनि भावी पुस्ताको समृद्धि र खुसीमाथि सम्झौता नगरिकन अघि बढ्न सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “आज हामीले सामना गरिरहेका विश्वव्यापी चुनौती कुनै अर्को ग्रहबाट आएकाहरूले सिर्जना गरेका होइनन् । यी हाम्रै सिर्जना हुन्, हाम्रै कामका परिणाम हुन् । त्यसैले हामीले विश्वव्यापी समझदारी, विश्वास र सहयोगलाई बढावा दिएर यी समस्या समाधान गर्नतर्फ सोच्नुपर्छ ।” सबै देश र पक्षको सहकार्यबाट नै  न्यायपूर्ण, समावेशी र समान विश्वव्यवस्थाका साथै दिगो समृद्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले गर्नुभयो ।

“म यहाँ हाम्रो ग्रन्थ ‘महाउपनिषद्’ले इसापूर्व छैटाँै शताब्दीबाट नै देखाएको ‘वसुधैव कुटुम्बकम’ अर्थात् ‘सम्पूर्ण संसार एउटै परिवार हो’ भन्ने आदर्शलाई स्मरण गर्न चाहन्छु । हाम्रा लागि यो दर्शनमात्र होइन, हामी दैनिक जीवनमा पनि यसको पालन गर्छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही विश्वासका साथ नेपाल शान्ति, प्रगति र समृद्धिको साझा आकाङ्क्षालाई सुरक्षित गर्न प्रतिबद्ध छ ।

प्रधानमन्त्री ओलीले महासभाका अध्यक्ष र महासभाको ब्यूरोका अन्य सदस्यहरूलाई निर्वाचित भएकामा बधाई दिँदै उहाँहरूलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्न नेपालले सहयोग गर्ने बताउनुभयो । साथै उहाँले महासभाका पूर्वअध्यक्ष डेनिस फ्रान्सिसलाई ७८औँ सत्रको सफलतापूर्वक नेतृत्व गरेकामा धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले महासचिव एन्टोनियो गुटेरेसलाई विश्वव्यापी चुनौतीहरूको समाधानका निम्ति बहुपक्षीयतालाई सुदृढ पार्न निरन्तर समर्पणका साथ लागिपरेकामा आभार व्यक्त गर्नुभयो । उहाँले गत वर्ष नेपाल भ्रमण गरेर गौतम बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश तथा सगरमाथा क्षेत्रबाट हिमालको जलवायु विपत्तिमा परेको सन्देश दिनुभएको स्मरण गर्दै जलवायु परिवर्तनका दुष्प्रभावविरुद्ध लड्न विश्वका सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले बिहीबार एक विज्ञप्ति जारीगरी बैठक आइतबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने जानकारी दिनुभयो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

यसरी मनाइँदैछ ४५औँ विश्व पर्यटन दिवस

काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ ।

दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मूल समारोह समितिले राष्ट्रिय नाचघरमा आयोजना गर्ने औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहनेछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिध्यतामा कार्यक्रम हुनेछ । पर्यटनसम्बद्ध विशिष्ट व्यक्तित्वहरूबाट शुभकामना आदनप्रदान गरिनेछ ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने कार्यक्रम छ । यस्तै बिहान ठमेलमा प्रभातफेरी गरिनेछ । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हँुदैछ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताउनुभयो । पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाडौँमा बिहीबार सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे चेतना जगाउनु रहेको जानकार बताउँछन् ।

नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक छः पर्यटनमन्त्री

विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । “नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान छ । हाम्रो संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आबद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद् भ्रमणको अनुभूति हुने वातावरण सृजना गर्नु हामी सबैको कर्तव्य हो ।”

पर्यटनमन्त्री पाण्डेले तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कार्यहरू अगाडि बढाइएको जानकारी दिनुभयो । त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण भेगसम्म पुर्याउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त हुने बताउनुभयो । दिवसले नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

२५ विधामा सम्मान

दिवसका अवसरमा पर्यटन क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता लामिछानेले बताउनुभयो । यसमा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न २५ विधामा सम्मान गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

दिवसकै सन्दर्भमा पर्यटनको विकास प्रवर्द्धन कार्यक्रमलाई सघाउन र त्यस्ता कार्यक्रम देशैभर आयोजना गर्न र वर्षभरि पर्यटकीय गतिविधि सञ्चालन गर्ने मन्त्रालयले निर्णय गरेको छ । दिवसका अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) हालै रक्तदान कार्यक्रम गरेको थियो । दिवसलाई भव्य रूपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताउनुभयो ।

कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता  दिएको छ । 

सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउने क्रम जारी छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवर्द्धनमा विश्व पर्यटन दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “विश्व पर्यटन दिवसले देश, समाजलाई पर्यटनबाटै आर्थिक समृद्धिको महत्व अनुभूत गराउन प्रेरित गर्छ, पर्यटनको अध्ययन, अनुसन्धान र यसको सम्भावना र भावी रणनीति बनाउन पनि मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष शाहले पर्यटन क्षेत्रको सम्भावनाको अधिकतम उपयोग गरेर बढीभन्दा बढी लाभ लिनसक्नुपर्नेमा जोड दिनुभयो । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविधभाषा र वेशभूषाले भरिपूर्ण आफैँमा एउटा पर्यटकीय गन्तव्य हो । परम्परागत सांस्कृतिक सम्पदाको सङ्गम यहाँ हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

सिन्धुपाल्चोक, ११ असोजः कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । साथै देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गर्नुभयो ।

गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोगप्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गर्नुभयो ।

गाउँपालिकाको कृषि नीतिअन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालनसँगै यहाँका किसानलाई आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष रेनुका चौलागाईँ र तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापामगरलाई पनि गाडीको साँचो हस्तान्तरण गरिएको थियो । 

यसैबीच, कृषि उपज सङ्कलन केन्द्र सञ्चालक समितिले केन्द्रमा सङ्कलित उत्पादन उचित मूल्यमा किसानसँग खरिद गरी मेलम्चीबाट काठमाडौँसम्म पाँचपोखरीको पहिचानसहित बिक्री वितरण गर्ने वातावरण तय गरिदिन गाउँपालिका र अन्य सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको छ ।

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता

न्युयोर्क (अमेरिका-संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफको भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घको मुृख्यालयमा भएकोे भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओली र लाओसका प्रधानमन्त्री सेनोक्साइबीच भेटवार्ता

न्युयोर्क (अमेरिका)- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबीच भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।