`

प्रधानमन्त्री ओली र लाओसका प्रधानमन्त्री सेनोक्साइबीच भेटवार्ता

न्युयोर्क (अमेरिका)- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबीच भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढाउन थाल्यो खाद्य पदार्थको अनुगमन

काठमाडौँ, ११ असोजः नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ ।

विभागको दुईवटा टोलीले बिहीबार काठमाडौँ उपत्यकाका नौ स्थानमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राससलाई जानकारी दिनुभयो । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको पनि उहाँले बताउनुभयो । उक्त पसललाई देखिएका कमजोरी सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्राप्ति फुड प्रडक्ट्स सिनामङ्गल–९ काठमाडौँमा बिक्री वितरणमा राखिएको घ्यूको गुणस्तरमा शङ्का लागेपछि बिक्री बन्द गरी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । सो पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलित घ्यूको नमूनाको विश्लेषण प्रतिवेदन न्यूनस्तरको पाइएको छ । सो घ्यू जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको र सञ्चालकलाई सो सम्बन्धमा विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ । 

टिथ्री थकाली समूह सिनामङ्गल–९ काठमाडौँमा स्थलगत निरीक्षणका क्रममा भेटिएका उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ नष्ट गरिएको छ । कमी–कमजोरीसम्बन्धी थप जानकारीका लागि सञ्चालकलाई सात दिनभित्र दर्ता प्रमाणपत्रसहित विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ ।

बेकर्स बेकरी उद्योग काठमाडौँ महानगरपालिका–३१ बानेश्वरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन पनि विभागले निर्देशन दिएको छ । कोलकाता स्वीट्स प्रालि, कामनपा–३१ बानेश्वर, काठमाडौँमा फ्रिजमा भेटिएको बिनालेबलका ढुसी परेको एक केजीको १५ प्याकेट खुवा नष्ट गरिएको थियो । बिनालेबल विवरणका खाद्य पदार्थको बिक्री वितरण नगर्न पनि विभागले सो पसललाई निर्देशन दिएको जनाइएको छ ।

मिठोमसिनो थकाली रेस्टुरेन्ट प्रालि मध्यपुरथिमि नपा–१, भक्तपुरलाई फ्रिजमा खाद्य पदार्थ लेबल लगाएर व्यवस्थित तवरले भण्डारण गर्न निर्देशन दिइएको छ । चिल हाउस प्रालि मध्यपुरथिमि नपा–२, भक्तपुरमा लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिएको विभागले जनाएको छ ।

सिफान स्टोर, मध्यपुरथिमि नपा–१, भक्तपुरमा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरी कमीकमजोरी सुधार्न निर्देशन दिएको प्रवक्ता महर्जनले बताउनुभयो । जय माँ दुर्गा किराना पसल मध्यपुरथिमि नपा–१, भक्तपुरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको पनि उहाँले सुनाउनुभयो । चाडपर्व लक्षित बजार अनुगमनलाई अझै तीव्रतासाथ अघि बढाउने विषयमा गृहकार्य भइरहेको पनि विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ११ असोजः देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि  छ ।

यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो र डुबानको  जोखिमका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन ती भेगका सर्वसाधारणमा विभागले अनुरोध गरेको छ ।

प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह

न्युयोर्क (अमेरिका) ११ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर)सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउने बताउनुभयो । 

उहाँले नयाँ एन्टिबोयटिक्स, वैकल्पिक उपचार र नवप्रवर्तनात्मक समाधानका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको र स्वास्थ्य पूर्वाधार, विकास र अनुसन्धानमा पर्याप्त लगानी गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा

वशिङ्टनडिसी (अमेरिका)ः ११ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताउनुभएको छ ।

राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानून बनाएको उल्लेख गर्नुभयो । फोरमले यस वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनःमूल्याङ्कनः समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो ।

मन्त्री राणाले भन्नुभयो, “अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्दछ ।”

आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणालाई पुनःमूल्याङ्कन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउन जरुरी रहेको उहाँको भनाइ थियो । मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनुपर्नेमा सुझाव दिनुभयो । 

नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार र संस्कृतिको मूल्य मान्यताका आधारमा शान्ति पूर्ण र हिंसारहित समाज निर्माण ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, ११ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४० पैसा र चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा कायम छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ
०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३ रुपैयाँ २४ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २० रुपैयाँ ०६ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा कायम छ ।

आजका लागि कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५९ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ८६ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री

न्युयोर्क (अमेरिका) ११ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गर्नुभएको हो ।

उहाँले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गर्नुभयो ।

सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराउनुभयो ।

“दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।” 

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताउनुभयो । उहाँले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गर्नुभयो ।

महासभामा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ । 

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

काठमाडौँ, ११ असोजः जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।

आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।

असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

वाशिङ्टनडिसी (अमेरिका), ११ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।


भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।उहाँले लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताउनुभएको थियो ।

विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा

वशिङ्टनडिसी (अमेरिका), ११ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यहाँ आउनुभएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, “हामीहरुको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरुको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो ।” जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो उहाँको भनाइ थियो ।

अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरुको क्षयीकरण बढिरहेको उल्लेख गर्दै उहाँले यसलाई सम्बोधन गरेर मानवीय सङ्कट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

मन्त्री राणाले एशियाली देशहरुले यस्ता समस्यासँग जुध्न कसरी रणनीति बनाएर सामना गर्न सक्छौ भन्ने कुराले एशियाली सहकार्य संवादको उपादेयिता हुने विषय मापन गर्दछ भन्नुभयो । हामीहरुको दृष्टिकोण र प्रतिबद्धताले एशिया र विश्वलाई चुनौतीहरुको सामना गर्ने माध्यम बन्न सकोस भन्ने मन्त्री राणाको भनाइ थियो । नेपाल सन् २०१६ देखि एशियाली सहकार्य संवादसँग जोडिदै आएको छ ।

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता

न्युयोर्क (अमेरिका), ११ असोजः प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गर्नुभएको हो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुुहुन्थ्यो ।

पुटिनको ‘लापरवाहीपूर्ण’ आणविक हतियारको धम्की इयुद्वारा अस्वीकार

युरोपेली सङ्घ (इयु) ले बिहीबार रुसमाथि ठूलो हवाई आक्रमणको जवाफमा आणविक प्रतिक्रिया दिने अधिकार दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई ‘लापरवाहीपूर्ण र गैरजिम्मेबार’ भन्दै अस्वीकार गरेको छ ।

पुटिनले बुधबार अद्यावधिक आणविक सिद्धान्तको घोषणा गर्नुभयो । युक्रेन र उसका पश्चिमी समर्थकहरूका सन्दर्भमा आणविक शक्तिहरूद्वारा समर्थन गरिँदा यसले रुसलाई गैर–आणविक राज्यहरूविरुद्ध आणविक हतियारको प्रयोगलाई अनुमति दिनेछ ।

इयुका विदेश नीति प्रवक्ता पिटर स्टानोले पत्रकारहरूसँग भन्नुभयो, “पुटिनले आफ्नो आणविक शस्त्र भण्डारसँग जुवा खेलिरहेको यो पहिलो पटक होइन, हामी अवश्य यी धम्कीहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछौँ ।”

पुटिन स्वयंले स्वीकृत गर्नसक्ने रुसको आणविक नियमहरूको प्रस्तावित विस्तार युक्रेनले पश्चिमी सहयोगीहरूबाट रुसभित्र गहिरो लक्ष्यहरूमा आक्रमण गर्न लामो दूरीका हतियारहरू प्रयोग गर्न अनुमति मागिरहेको बेला आएको हो । 

रुसका हवाई अड्डा र सैन्य पूर्वाधारहरूलाई निशाना बनाउन आवश्यक रहेको किएभले बताउँदै आएको छ । किएभका अनुसार ती हवाई अड्डा र सैन्य पूर्वाधारलाई रुसले युक्रेनमाथि आक्रमण गर्न प्रयोग गर्छ । अमेरिका र अन्य पश्चिमी मुलुकहरू भने थप तनाव बढाउनबाट सावधान रहेका छन् ।

यसअघि बिहीबार क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले योजनाबद्ध परिवर्तनहरूलाई पश्चिमका लागि ‘विशिष्ट सङ्केत’ का रूपमा हेर्नुपर्ने बताउनुभयो । 

पश्चिमी शक्तिहरूले पुटिनमाथि युक्रेन द्वन्द्वका क्रममा खतरनाक आणविक आक्रमण गर्ने आरोप लगाएका छन् । पुटिनले मस्कोको आणविक हतियार तैनाथ गर्ने इच्छाबारे धेरै पटक स्पष्ट धम्की दिनुभएको छ । 

“यो पुटिनका तर्फबाट अत्यन्त गैरजिम्मेबार र अस्वीकार्य व्यवहारको निरन्तरता मात्र हो”, पछिल्लो धम्कीबारे स्टानोले भन्नुभयो । उक्त धम्की विश्वका धेरै नेताहरू न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएको बेला आएको थियो ।  “पुटिनको अडान अझ बढी ‘लापरवाहीपूर्ण’ थियो किनभने यो संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको नेताबाट आएको थियो”, उहाँले भन्नुभयो ।

काठमाडौँ नगर प्रहरीलाई सशस्त्र प्रहरीद्वारा तालिम

ककनी (नुवाकोट), १० असोजः यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल, युएन शान्ति स्थापना शिक्षालयले काठमाडौँ नगर प्रहरीलाई शान्तिसुरक्षा र भीड नियन्त्रणसहित व्यावसायिक जिम्मेवारीसँग सम्बन्धित एक महिनाको आधारभूत तालिम प्रदान गरेको छ ।

काठमाडौँ महानगरपालिकाले गत असारमा नयाँ भर्ना लिएका नगर प्रहरीमध्ये ३९ महिलासहित एक सय १० जनालाई पहिलो चरणमा तालिमका लागि त्यहाँ पठाएको थियो । शिक्षालयले शान्तिसुरक्षा, भीड नियन्त्रण, अनुशासन, व्यावसायिक जिम्मेवारी, समन्वय, सहकार्य र रणनीतिक अभ्यासका विषयमा तालिम प्रदान गरेको हो ।

शिक्षालय परिसरमा आज आयोजित दीक्षान्त कार्यक्रममा बलका वरिष्ठ उपरीक्षक एवं शिक्षालयका समादेशक राजेन्द्र खड्काले छोटो अवधिको आधारभूत भए पनि नगर प्रहरीका हैसियतले कार्यक्षेत्रमा खटिइ जिम्मेवारी बहन गर्दा तालिममा सिकेका ज्ञान फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगरपालिकाको अनुरोधमा शिक्षालयले पहिलो पटक नगरप्रहरीलाई यो तालिम प्रदान गरेको हो । महानगरपालिकाले आगामी एकमहिनाभित्रै एक सय तीन जनाको दोस्रो समूह पनि त्यहाँ पठाउने टुङ्गो गरेको छ ।

महानगरपालिकाको सुरक्षा नेतृत्वले छोटो अवधिको तालिम भए पनि आफ्ना नयाँ भर्ना सुरक्षा जनशक्तिलाई कार्यक्षेत्रमा गर्नुपर्ने शान्तिसुरक्षालगायत मामिलामा प्रदान गरिएको शिक्षा महत्वपूर्ण रहेको भनी प्रशंसा गर्नुभयो ।

महानगरपालिकाले मुख्य कार्यालय, मीनभवन, टेकु र बसपार्कलगायतका स्थानबाट नगर प्रहरी परिचालन गर्दै आएको छ । पछिल्लो समय स्थानीय सरकारले करार र स्थायी दरबन्दी कायमगरी आ–आफ्ना नगर प्रहरी राख्ने अभ्यास छ । स्थानीय तहको अनुरोधमा त्यस्ता नगर प्रहरीलाई गृह मन्त्रालयसँग स्वीकृत लिइ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट तालिम प्रदान गरिँदै आएको छ ।

एन्फा महिला लिग फुटबल: सुदूरपश्चिमलाई पराजित गर्दै कोशी दोस्रो चरणमा

काठमाडौँ, १० असोजः राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै कोशी शीर्ष अन्तिम पाँचभित्र रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो । कोशीले नौ खेलबाट १४ अङ्क जोड्यो । सुदूरपश्चिम भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै दोस्रो चरण पुग्ने पाँचै टोलीको टुङ्गो लागेको छ । कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आज कोशीको जीतमा समीक्षा मगरले दुई गोल गरिन् भने ममता राउत र खुस्मा राईले समान एक एक गोल गरे । ममताले खेलको २४औँ मिनेटमै गोल गरिन् । त्यस्तै कोशीकी अर्की खेलाडी समीक्षाले खेलको ५३ र ६५औँ मिनेटमा दुई गोल गरिन् । 
यस्तै खेलको ८५औँ मिनेटमा खुस्माले अर्को गोल गर्दै कोशीलाई ४–० को जीत दिलाइन् । 

सुस्ता झोलुङ्गे पुलले स्थानीय जनताको दैनिक जीवन सहज बनाउँछ : मन्त्री सिंह

नवलपरासी पश्चिम, १० असोज : प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुस्तामा निर्माण भएको झोलुङ्गे पुलले सर्वसाधारणको दैनिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन वृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन समारोहमा उहाँले सुस्ता झोलुङ्गे पुलले सर्वसाधारणको दैनिक जीवन सहज बनाउने बताउनुभयो । 

नदी तरितराउको अभावमा वर्षौंदेखि सुस्ता गाउँका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाका भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भई सहज हुने मन्त्री सिंहले बताउनुभयो । 

“झोलुङ्गे पुलको अभावमा राज्यले प्रदान गर्ने सेवासुविधा लिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने, लामो समय लाग्ने, निम्न माध्यमिक तहभन्दा माथिल्लो शिक्षाका लागि नारायणी नदीको दायाँ किनारातर्फ वा सदरमुकाम तर्फका अन्य स्थानमा डेरागरी बस्नुपर्ने बाध्यता रहेकामा यस झोलुङ्गे पुलको निर्माणले त्यस्ता समस्याको समाधान गरेको छ”, उहाँले भन्नुभयो, “त्यसैगरी, स्वास्थ्य सुविधाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । सुस्ताक्षेत्रमा उत्पादन हुने उखु, केरा तथा अन्य कृषिउपजले सहज बजार पाउने अवस्थाको सिर्जना भएको छ भने अन्य क्षेत्रबाट ल्याउनुपर्ने कृषि तथा अन्य सामग्री ओसारपसारमा सहज हुने अवस्थाको सिर्जना भएको छ ।”

त्यसैगरी, नेपालकै सबैभन्दा लामो र आकर्षक झोलुङ्गे पुल हेर्न नेपाल र छिमेकी मित्रराष्ट्रबाट पर्यटक आउने सम्भावना रहेकाले यस क्षेत्रको पर्यटकीय विकासको सम्भावनासमेत उहाँको भनाइ छ । 

“यस क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुग्ने आशा गर्न सकिन्छ, सुस्ता गाउँपालिका–५ को नारायणी नदीपारी रहेको विकट र राज्यको सेवासुविधाबाट पृथक रहेको सुस्ता गाउँलाई राज्यको सेवा, सुविधामा पहुँच पुर्‍याइएको छ”, मन्त्री सिंहले भन्नुभयो, “यस कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने यस गौरवको झोलुङ्गे पुल आयोजना निर्माण सम्पन्न गरेकामा सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजन तथा यस झोलुङ्गे पुलका निर्माण व्यवसायी श्री त्रिशूली/आश्रय जेभीलाई म हार्दिक बधाई दिन चाहन्छु ।”

बर्दघाट सुस्ता (नवलपरासी पश्चिम) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ज्यानै जोखिममा पारेर ढुङ्गाका भरमा नदी वारपार गर्ने बासिन्दाका लागि सुस्ता झलुङ्गे पुलले उनीहरूको जीवनका सहजता ल्याउने बताउनुभयो । उहाँले सुस्तावासीलाई विद्युतीय सुविधा उपलब्ध गराउन यस क्षेत्रमा राष्ट्रिय प्रसारण जडान भएको जानकारी दिनुभयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले यस झलुङ्गे पुलले आगामन सहजताका लागि सहयोग पुग्ने बताउनुभयो । यो भौतिक पूर्वाधारको परियोजना मात्रै नभएर नयाँ विकासको ढोका खोलेको उहाँको भनाइ छ । भौगोलिक विकटताका क्षेत्रमा गुणस्तरीय विद्युत् पुगेसँगै उद्योगधन्दा सञ्चालनका लागि विद्युत्ले सहयोग गरेको उहाँले विश्वास व्यक्त गर्नुभयो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले झोलुङ्गे पुल नहुँदा यहाँका जनताले सास्ती बढी खेप्नुपरेको भन्दै अब सुस्ता झोलुङ्गे पुल निर्माणले जनजीवन सहज बनाउने बताउनुभयो । 

सांसद विनोद चौधरीले जनताले निरन्तर रुपमा पुल निर्माणका लागि लागिपर्नुभएको भन्दै पुलले सुस्ता क्षेत्रको अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताउनुभयो । “पुल निर्माण भएसँगै आर्थिक विकासको ढोका खुलेको छ”, चौधरीले भन्नुभयो । 

सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने

काठमाडौँ, १० असोज : सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले उक्त निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकबाट एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउने अधिवक्ताहरुमा पूर्वमहान्यायाधिवक्ता डा दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा, ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्कासहित एक सय ५९ हुनुहुन्छ ।

खानेपानीमन्त्री यादव र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री छिरिङबीच भेटवार्ता

काठमाडौँ, १० असोज : नेपालका खानेपानीमन्त्री प्रदीप यादव र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच भेटवार्ता भएको छ ।
‘इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ द्वारा आयोजित दोस्रो हिन्दूकुश हिमालय मन्त्रिस्तरीय शिखर सम्मेलनमा सहभागी हुन नेपाल आइपुग्नुभएका मन्त्री छिरिङ र यादवसँग आज सिंहदरबारस्थित मन्त्रालयमा भेट भएको हो ।

भेटमा मन्त्री यादवले नेपाल र भुटानबीच प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूपरिवेष्टित हिमाली भूगोल, विकास चुनौती र जलवायु परिवर्तनका साझा मुद्दामा सहकार्यको सम्भावना औँल्याउनुभयो । उहाँले भन्नुभयो, “दुवै देशले पानी प्रशोधन र ढल व्यवस्थापनका क्षेत्रमा प्रभावकारी अनुभव र प्रविधि आदानप्रदान गर्न सक्छन् ।”

मन्त्री यादवले पानीको गुणस्तर अनुगमन र नदी तथा खोलामा प्रदूषकको मूल्याङ्कन गर्ने संयुक्त कार्यक्रम सञ्चालन गर्न नेपाल र भुटानबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।  उहाँले विशेषगरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने पानी प्रशोधन प्रणाली र गुरुत्वआधारित प्रविधिजस्ता कम लागतका समाधान प्रवर्द्धन गर्न सहकार्यको प्रस्ताव राख्नुभयो । 

भुटानले वातावरणमैत्री ढल व्यवस्थापनमा गरेको प्रगति प्रशंसा गर्दै मन्त्री यादवले यस क्षेत्रका दिगो प्रविधि नेपालमा पनि भित्र्याउन सकिने जिकिर गर्नुभयो । उहाँले ढलबाट बायोग्यास उत्पादनजस्ता विधिबाट दुवै देशले नवीकरणीय ऊर्जामा योगदान गर्न सक्ने सम्भावना औँल्याउनुभयो ।

भुटानी मन्त्री छिरिङले नेपाल र भुटानबीचको व्यापार सिधा हुनुपर्ने जोड दिँदै भारतको बाटो हुँदै व्यापार गर्दा भुटानी उत्पादन महँगो हुने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा भुटानको चामल र आलु लोकप्रिय भएको तर महँगो पर्ने समस्या समाधानका लागि सिधा व्यापारको आवश्यकता औँल्याउनुभयो । 

मन्त्री छिरिङले धार्मिक पर्यटनमा भुटानी नागरिकलाई नेपाल भ्रमणका लागि सहजता प्रदान गर्नुपर्ने धारणा राख्नुभयो । नेपालको जलविद्युत् विकास, पर्यापर्यटन, र स्वच्छ पानी व्यवस्थापनको क्षेत्रमा भुटानसँग सहकार्य गर्ने प्रस्ताव राख्दै उहाँले भुटानी अनुभवबाट नेपालले महत्त्वपूर्ण पाठ सिक्नसक्ने बताउनुभयो । 

भेटका क्रममा भुटानी मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन र जलस्रोत क्षेत्रको प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । भुटानको अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको सफल यात्राका लागि मन्त्री यादवले भुटानी समकक्षीलाई बधाई ज्ञापन गर्दै, भुटानको अनुभवले नेपाललाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

आगामी चार दिन भारी वर्षाको सम्भावना, शुक्रबार र शनिबार रात्रिबस नचलाउन आग्रह

काठमाडौँ, १० असोज : राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा यही असोज ११ र १२ गते रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी र भारी वर्षाको पूर्वानुमान गरेको जानकारी दिँदै प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।

विभागले कोसी प्रदेशको झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ मधेसको सिरहा, सप्तरी र पर्सा तथा बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लामा भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ ।

यस्तै गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा पनि वर्षा हुने अनुमान गरेको छ ।

प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान सबैमा अनुरोध गरेको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको बैठकले खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही सतर्क रहन तथा विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्नसमेत निर्देशन दिएको छ ।

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता

काठमाडौँ, १० असोजः खानेपानीमन्त्री प्रदीप यादव तथा सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज मन्त्रालयमा खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहितको आर्थिक वर्ष २०८१/८२ का लागि कार्यसम्पादन करार सम्झौता गरिएको छ ।

खानेपानी मन्त्रालयको कार्यक्षेत्रबमोजिमको कार्यसम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ११ बमोजिम नेपालको संविधानद्वारा प्रदत्त खानेपानी तथा सरसफाइको अधिकारअनुरुप उक्त कार्यसम्पादन करार सम्झौता भएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भएको उक्त कार्यसम्पादन करार सम्झौतामा सबैलाई पर्याप्त, गुणस्तरीय र भरपर्दो रुपमा खानेपानीको आपूर्ति व्यवस्था गर्न, ह्रास हुँदै गएका सतहगत र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्न, खानेपानी तथा सरसफाइका संरचनालाई जलवायु परिवर्तन अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लैजान, अव्यवस्थित सहरीकरणका कारण खानेपानी तथा सरसफाइको सेवामा परेको चापलाई व्यवस्थित गर्ने जनाइएको छ ।

यसैगरी परिवर्तित संस्थागत संरचनाका सन्दर्भमा खानेपानी तथा सरसफाइ क्षेत्रको व्यवस्थित विकासका लागि सरकारका तीनवटै तहमा क्षमता अभिवृद्धि गर्न, सहर तथा बस्तीमा उपयुक्त आर्थिक तथा प्राविधिक उपायद्वारा मानवसिर्जित मलमूत्रलगायत औद्योगिक र कृषिजन्य फोहर पानीको सङ्कलन, प्रशोधन गरी उचित व्यवस्थापन गर्दै दिगो विकासको क्षेत्रगत लक्ष्य प्राप्तगरी विसं २१०० सम्म सबैलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ । 

कार्यसम्पादन सम्झौतामा पहिलो सय दिन (२०८१ कात्तिक ६ गतेसम्म) को अवधिमा सम्पन्न गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धिमा मनसुनका कारण बन्द रहेको मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने, १७ करोड लिटर मेलम्चीको पानी प्रतिदिन काठमाडौँ उपत्यकामा पठाउने, न्यूरोड–ठमेल क्षेत्रको थप ३० किमी पाइपलाइनको कार्यात्मक ग्यारेन्टीलगायत रहेको मन्त्रालयले जनाएको छ ।

रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी : यातायातमन्त्री दाहाल

धनुषा, १० असोजः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

यहाँको मिथिला नगरपालिका–१० लालगढमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले विजलपुरादेखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने रेल सेवाका लागि आवश्यक भौतिक संरचना जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन नसकेको बताउनुभयो । मन्त्री दाहालले भन्नुभयो, “जग्गाको यथार्थ म आफैँ गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।”

उहाँले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्तिले जग्गा खाली गर्न सहमत भएमा क्षतिपूर्ति दिन सकिने बताउनुभयो । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ छ ।

मन्त्री दाहालले कमला पुल तयारगरी हुलाकी सडक सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । “कमला पुल नबन्द भएको समस्या मन्त्रालयलाई थाहा छ । समस्या कसरी समाधान गर्ने विषयमा स्थलगत अनुगमनगरी निकास खोज्न आएका छौँ”, उहाँले भन्नुभयो । 

उहाँले कमला नदीमा रहेको पुरानो पुललाई मर्मत गर्ने या नयाँ पुल बनाउने विषयमा प्रविधिकले अध्ययन गरिरहेको जानकारी दिनुभयो । “पुलमा राज्यको लगानी भइसकेको छ”, मन्त्री दाहालले भन्नुभयो, “प्राविधिक रुपले परीक्षण गरी पुल मर्मत हुने भए मर्मत गर्ने र नहुने भए विकल्पतर्फ अगाडि बढ्ने हो ।” 


मन्त्री दाहालले दसैँ तिहार लक्षित गरेर सडकलाई सहज बनाउने अभियान थालिएको बताउनुभयो । दुई साताभित्र निर्माण भइरहेको सडकमा सहज रुपमा आवतजावत गर्नसक्ने बनाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । मन्त्री दाहाल जनकपुर रेल र कमला पुलको स्थलगत अनुगमन गर्न प्राविधिकसहित धनुषा आउनुभएको छ ।

राजेश हमालले गरे ‘डिएनए’ ब्राण्डको न्युरोड शोरुमको उद्घाटन

काठमाडौँ ।कपडाको नेपाली ब्राण्ड ‘डिएनए’को न्युरोड शोरुम उद्घाटनमा अभिनेता राजेश हमाल पुगेका छन् । काठमाडौंको न्युरोडस्थित रन्जना कम्प्लेक्सको चौथो तल्लामा सुरुवातमा आएको ‘डिएनए’ अर्थात डेनीम न्यु एज ब्राण्डको शोरुमको रिबन काटेर औपचारिक उद्घाटन गर्दै हमालले नेपाली ब्राण्डलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘नेपाली उत्पादनलाई हामीले प्रोत्साहन गर्नुपर्छ । यो पनि नेपाली उत्पादन भएकाले म यहाँ उपस्थित भएको हुँ ।’ हमालले कुरागर्दै भने । ‘म अहिलेसम्म धेरै ब्राण्डसँग जोडिएको छु । त्यसमा अधिकांश नेपाली ब्राण्ड नै छन् ।’

शोरुमका प्रतिनिधि सुमन पोख्रेलले नेपाली युवाहरु मिलेर डिएनए सुरुवात गरेको र आगामी दिनमा बिदेशी बजारसम्म पुर्याउने लक्ष्य राखेको बताए । उनले अहिले डिएनएमा पुरुषहरुका पोशाक उपलब्ध रहेको जानकारी गराए । पोख्रेलले भनेका छन्, ‘विश्वमा छरिएर रहेका नेपालीमाझ यस ब्राण्डलाई विस्तार गर्दै लैजाने हाम्रो उद्देश्य छ । अहिले मुख्य शहरहरु पोखरा, चितवन, इटहरी, धरान, बिराटनगर, विर्तामोड, बुटवल, नेपालगंज लगायतका शहरहरुमा हामी बिस्तार भइसकेका छौं ।’

नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ

काठमाडौँ, १० असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको बताउनुभएको छ ।

साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा आज यहाँ आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उहाँले नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा सुरु भए तापनि दुई देशबीच शताब्दीयौँदेखिको सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज हाम्रो सम्बन्ध समानता, सार्वभौमसत्ता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रही थप सुदृढ भएको छ । पूर्वाधार र प्रविधिका क्षेत्रमा सहकार्यदेखि सांस्कृतिक र शैक्षिक आदानप्रदानसम्म, हाम्रो सम्बन्ध विभिन्न क्षेत्रमा फैलिनेक्रम जारी छ ।”

मन्त्री गुरुङले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु-याउन समय समयमा दुईदेशका राष्ट्रप्रमुख एवं उच्चस्तरीय भ्रमण नियमित रुपमा भइरहेको उल्लेख गर्दै यस प्रकारको भ्रमणले नेपाल र चीनबीचको शताब्दीयौँदेखिको मैत्रीपूर्ण सम्बन्ध झन् विकसित भइरहेको बताउनुभयो ।

“डिजिटल रूपान्तरण, नवप्रवर्तन र मिडिया टेक्नोलोजीको पूर्वाधार विकास र ज्ञानको आदानप्रदानलगायत क्षेत्रमा सहकार्य हाम्रा दुई राष्ट्रहरूको भविष्यका लागि महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “म विश्वस्त छु कि यस शिखर सम्मेलनले दुवै देशका सञ्चारकर्मीका लागि पारस्परिक लाभ, ज्ञान आदानप्रदान र अवसरको नयाँ ढोका खोल्नेछ ।”

पौराणिककालदेखि आजपर्यन्त चीन नेपालको महत्वपूर्ण व्यापारिक साझेदार रहँदै आएको बताउँदै मन्त्री गुरुङले नयाँ चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव मनाइरहँदा यसविचमा चीनले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत, विज्ञान र सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा चामत्कारिक विकास गरेको र आफूलाई विश्व अर्थतन्त्रको नेतृत्वदायी मुलुकका रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो । त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालले लाभ लिँदै आएको उहाँको भनाइ थियो ।

गलत सूचना, विकृति र घृणित अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । उहाँले स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिताको विकासलाई सरकारले आफ्नो मुख्य उदेश्यका रुपमा राख्दै पुराना नीति कानुनलाई परिमार्जन गरी समयसापेक्ष कानुन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो । सरकारले मिडिया सशक्तीकरण र सञ्चारकर्मीको व्यक्तिगत तथा व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संसार अहिले ठूलो विकास, परिवर्तन र समायोजनको समयमा रहेकाले अभूतपूर्व अवसर र चुनौतीको सामना गर्दै, सबै देशका मिडियाले समयको प्रवाहसँग अनुकूलनका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले हालका वर्षमा नेपाल र चीनका मिडियाहरूले आफ्नो विशेषता र क्षमताको पूर्ण उपयोग गर्दै, विकासको सहकार्य र सामूहिक लाभको समावेशी धारणा व्यापक रूपमा फैलाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले साँचो र सटिक, समग्र र विश्वसनीय समाचार सूचनाको प्रसारमा सामाजिक जिम्मेवारीका रूपमा महत्वपूर्ण भूमिका निभाएको छ र नेपाल–चीनबीचको सहयोग र अन्तरक्रियाको सशक्त आधारलाई निरन्तर सुदृढ पार्नमा योगदान दिएको छ । म नेपालमा चीनको दूतावासकोतर्फबाट, नेपाल–चीन सम्बन्धको विकासमा लामो समयदेखि चासो र समर्थन गर्ने दुई देशका मिडिया साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।”

कार्यक्रममा साउथ एसिया नेटवर्क टेलिभिजनका अध्यक्ष होउ झिहोङले दुई देशबीचका सञ्चारमाध्यमको सहकार्यमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै अझ प्रगाढ बनाउन नेपाल–चीन मैत्री सम्बन्धको विकासमा नयाँ ऊर्जा थप्न र राम्रो भविष्य सिर्जना गर्न सबैलाई कडा परिश्रमका लागि आग्रह गर्नुभयो ।

नेपाल चाइना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था मिडियाका प्रधान सम्पादक किशोर श्रेष्ठले दुई देशबीचका सम्बन्धमा थप प्रगाढ बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसबाट सूचना, सञ्चार र प्रविधिको सहयोगमा आदानप्रदान हुने धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनमा विभिन्न नेपाली तथा चिनियाँ सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी एवं गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न चिनियाँ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।

सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार

इनरुवा (सुनसरी), १० असोज : कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बस खसेको छ ।
बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो ।सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । बसमा १७ यात्री सवार रहेको प्रहरीले जनाएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन फरार व्यक्ति दुबईबाट पक्राउ

काठमाडौँ, १० असोजः नेपाल प्रहरीको टोलीले ठगीसम्बन्धी कसुर र जबर्जस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरु पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया भूपेन्द्र बोहरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कवीर बुढाथोकी तथा जबर्जस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन फरार व्यक्तिलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ दुबईमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ ।”

पक्राउ परेकामध्ये भूपेन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । 

यसैगरी काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७० साउन २४ गते कवीर बुढाथोकी र गएको असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

भूपेन्द्रलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कवीर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन

काठमाडौँ, १० असोज : काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको वार्षिक जर्नल, चौथो संस्करण प्रकाशन भएको छ । नेपाली सेनाको जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति, महारथी अशोकराज सिग्देलले उक्त जर्नलको विमोचन गर्नुभयो ।

राष्ट्रिय गौरव एवं रणनैतिक महत्त्व बोकेको यस आयोजनाको वार्षिक रूपमा प्रकाशन हुँदै आइरहेको जर्नलको चौथो संस्करणमा आयोजनासम्बन्धी हालसम्मको प्रगति, चुनौती र समाधानका लागि चालिएका कदम एवं भविष्यका कार्ययोजनाहरूसँग सम्बन्धित शोध समावेश गरिएको छ ।

आयोजनाले उत्कृष्ट तीन सोधकर्तालाई आजै पुरस्कृत गरेकोे छ । प्रथम हुने समूह सन्देश लम्साल, पुरुषार्थ खतिवडा, रोजी प्रधानाङ्ग, प्रदीपकुमार श्रेष्ठ र अनिल मरासिनीलाई रु ५१ हजार नगद राशिसहित सेनाले पुरस्कृत गरेको छ ।  

यस्तै, द्वितीय हुने दिवस गौतम र वसन्त लेखक रु ३१ हजार नगदसहित पुरस्कृत हुनुभएको छ । यस्तै, प्रणव यादव र रुवी अधिकारी रु २१ हजारसहित पुरस्कृत हुनुभएको हो । यस जर्नलमा निर्माण कार्यमा संलग्न विषयविज्ञ, प्राविधिक, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी एवं विशेषज्ञ समेतका २२ वटा विभिन्न सोधकार्य समावेश गरिएको छ ।

महारथी सिग्देलले शुभकामना सन्देशमार्फत दु्रतमार्गको ‘ट्र्याक’ खोल्ने कार्य कुशलताका साथ सम्पन्न नेपाली सेनाले विभिन्न कठिनाइका बाबजुद निर्माण कार्यमा प्रगति हासिल गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा थप तदारूकताका साथ कार्य गर्दै आयोजनाले समयमा नै गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

  साथै यस जर्नल देशको पहिलो दु्रतमार्ग सडक आयोजना भएको तथा सेनाले गरेका पूर्वाधार विकास निर्माणका कार्यहरूमा अभिरुचि राख्ने शोधकर्ता, पत्रकार एवं आम जनसमुदायमा उपयोगी सामग्री हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोजना प्रमुख (प्राउर) कमल विक्रम शाहले  निर्धारित समयमा नै  निर्माण सम्पन्न गर्ने योजनाअनुसार देशको प्रथम दु्रतमार्ग सडक आयोजना निर्माणमा सेना अहोरात्र खटिँदै आएको बताउनुभयो । “हालसम्म दु्रतमार्गको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ”, उहाँले भन्नुभयो, “साथै प्रारम्भिक चरणका सम्पूर्ण कार्य सम्पादन गरी दु्रतमार्ग निर्माणको भौतिक प्रगति ३५ दशमलव ८५ प्रतिशत हासिल भइसकेकाले आयोजना निर्माण सम्बद्ध सबैको साथ, सहयोग र समन्वयमा निर्दिष्ट समयमा नै सम्पन्न हुनेम विश्वास लिएको छु ।”

द्रुततमार्ग एवं भौतिक पूर्वाधार निर्माणमा आधारित शोधकार्यलाई स्थान दिई प्रकाशन हुन लागेको यस जर्नलले नेपालको यातायात संरचना र विकासको महत्वपूर्ण पक्षलाई उजागर गर्ने उहाँहरूले विश्वास व्यक्त गर्नुभयो । नेपाली सेनालाई मन्त्रिपरिषद्को २०७४ साल वैशाख २१ गतेको निर्णयबाट दु्रतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । आयोजना ०८३ साल चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने योजना लिएको छ ।

सेनाले हालसम्म एक हजार ४११ किलोमिटर लम्बाइको ३२ वटा सडक आयोजनाहरू सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । सेनाद्वारा पाँचवटा सडक आयोजना निर्माणाधीन रहेको छ । 

दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो

खोटाङ, १० असोजः माछा मार्ने क्रममा दूधकोसीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो ।

मगर मङ्गलटारमै पर्ने कुखुरेबेँसीबाट बेपत्ता भएका थिए । बेपत्ता भएका मगरलाई स्थानीयवासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो । 

केही दिनदेखि परेको अविरल वर्षाले नदीमा धमिलो बाढी आउँदा ‘भिजिबिलिटी’ कम भएकाले खोजी गर्न कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मङ्गलटारका वडाध्यक्ष गन राईले जानकारी दिनुभयो । “कोसीमा बाढी आइरहेको छ । गोताखोर टोली आएलगत्तै खोजी तीव्र पारिएको थियो”, उहाँले भन्नुभयो, “घटनास्थलदेखि जयरामघाटसम्म खोज्यौँ । कोसीमा धमिलो बाढी आउनेक्रम नरोकिएकाले फेला पर्ने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो ।”

शोधनान्तर स्थिती ४० अर्ब ९० करोडले बचतमा

काठमाडौँ, १० असोज : चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सो बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, शोधनान्तर स्थिती बचतमा रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । यस्तै, चालु खाता रु ३० अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह रु ७९ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) रु दुई अर्ब ६५ करोड रहेको थियो ।

चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात नौ दशमलव छ प्रतिशतले घटी रु १२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा आठ दशमलव सात प्रतिशतले कमी आएको थियो । यस्तै, कूल वस्तु आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आई रु एक खर्ब २८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा एक दशमलव छ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात चार दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ प्रतिशत र शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

यस्तो छ ‘सारंग’ को फस्र्टलुक

काठमाडौं,१० असोज ।बाल मनोबिज्ञान,बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्र्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । फिल्म ०७ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउने छ ।

पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा,बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्मलाई टि फल्क फिल्मस्ले बितरण गर्ने छ । फिल्ममा समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसी,बिश्व स्याङ्वो, प्रभातजंगलगायतको समेत अभिनय रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्,संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने बिश्वास निर्देशक तामाङको छ ।

निखिल उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट

अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । दरबारमार्गमा अवस्थीत आवरण स्कीन एण्ड हेयर क्लिनिकमा सर्जन डा.रुपक घिमिरेले निखिलको नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र विशेषज्ञ डा.हरुको निगरानीमा निखिलले कपाल रोपेका हुन् ।

फिल्मको छायाँकनमा जादाँ लाईट, क्म्यामेराको किरणसंगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवा, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले सुनाए ।

डा. घिमिरेसंग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन् आवरणमा अनुभवी सर्जन डा.हरु संगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफु हेयर ट्रान्सप्लान्ट गर्न तयार भए ।
हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिना पछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन् । आवारण बजारमा रहेका अन्य हेयर ट्रान्सप्लान्ट क्लिनिकहरु भन्दा सर्भसुलभ समेत रहेको बताएका छन् ।

पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित

बैतडी, १० असोजः पहिरोले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

गएराति १२ बजे खसेको पहिराले घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोले मानवीय र पशुचौपायामा कुनै क्षति नभए पनि अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पुरिएका छन् । 

पहिरो आउन सङ्केत पाएपछि घरका सबै मान्छे गाउँलेको घरमा बसेका थिए । पहिरोले घर पुरिएपछि सुरेन्द्रको नौ जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् ।   प्रहरीको टोली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण पार्टीप्रति जनआकर्षण बढ्यो :अध्यक्ष दाहाल

काठमाडौँ, १० असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गर्नुभएको छ ।

पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेगरी लाग्नुपर्ने बताउनुभयो ।

सरकारको नेतृत्व गर्दा ठूलाठूला भ्रष्टाचार र अनियमितताका विरुद्ध जेहाद नै छेडेको दाबी गर्दै उहाँले बाँसबारी जग्गा प्रकरण, बालुवाटार जग्गा फिर्तालगायत विषयमा लडाईं लडिएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासमै सरकारकोतर्फबाट ठूलो कारबाही गरिएको जानकारी दिँदै उहाँले विचौलिया र दलालविरुद्ध उभिँदा सरकारबाट बाहिर पठाइएको जिकिर गर्नुभयो ।

सरकारबाट बाहिरिँदा विजयी भावमा जनताकासामु जाने अवसर प्राप्त भएको जानकारी दिँदै अध्यक्ष दाहालले नेपाली जनतालाई विश्वासमा लिएर आगामी निर्वाचनमा २०६४ कै जस्तो अवस्थामा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी)लाई बाघ सङ्गठनको सङ्ज्ञा दिँदै उहाँले भन्नुभयो, “हामीलाई अहिले सङ्ख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइलाई रक्षात्मक पोजिसनमा धकेलेका छौँ । हामी जीतका पक्षमा छौँ ।” उहाँले भ्रष्टाचारविरुद्ध अभियान चलाएपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौँ । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहीँ न कहीँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ । हामीले त्यसको घेरा तोड्दै आएका छौँ ।”

प्रतिनिधिसभामा दुई ठूला दल मिलेर जनताको बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले सडकबाट प्रतिक्रियावादी शक्तिलाई झुकाउन सकिने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको पहिलो सरकारले मध्यपहाडी राजमार्ग, उत्तरु दक्षिण करिडोर र मदन भण्डारी राजमार्गजस्ता पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिँदै तीमध्ये केही आयोजना सफलताको नजिक पुगेको बताउनुभयो ।

दोस्रो प्रधानमन्त्रीत्वकालमा इतिहासमै पहिलो पटक विद्युत्भार कटौती अन्त्य गरेको र नेपाली नागरिकलाई उज्यालो प्रदान गरेको तथा तेस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम गरेको तथ्यलाई नेपाली जनताकामाझ लैजान उहाँले विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउने दाबी गर्नुभयो । उहाँले आगामी केन्द्रीय समितिको बैठकले नयाँ इतिहास कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।   

मुलुकमा देखापरेको राजनीतिक जटिलता हल गर्नेगरी सो बैठकले निर्णय गर्ने भन्दै अखिल (क्रान्तिकारी) को सम्मेलनले ठूलो अर्थ राख्नेसमेत स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले यसपटक विद्यार्थी सङ्गठनले पार्टीको नीति, विधि र प्रक्रियाभित्र रहेर स्वच्छ स्वयत्तताको अभ्यास गर्न आग्रह गर्नुभयो । जिल्ला, प्रदेश सम्मेलनमा कतै निर्वाचन एवं कतै सहमतिका आधारमा नेतृत्व चयन भएको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उहाँले सकेसम्म सहमति नभए निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताउनुभयो । 

“हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्ति कारबाहीमा परेको पहिलोपटक हो”, उहाँले भन्नुभयो, “सामाजिक न्यायका क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौँ श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौँ नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।” उहाँले आर्थिक समृद्धिको सवालमा लिएका महत्त्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्नेक्रम सुरु भएको बताउनुभयो ।

तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको महासभा हुँदै कोप–२८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरक रूपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताउनुभयो । आफूले अल्पविकसित राष्ट्रको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको बताउनुभयो ।

उहाँले पछिल्लो सरकारको नेतृत्व गदौ शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताउनुभयो । त्रिविमा मेरिटोक्रेसी लागू गर्ने, वर्षौंदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सङ्घीय शिक्षा ऐन सदनमा पु¥याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले ठूलाठूला शक्ति राष्ट्रहरूको अस्वस्थ प्रतिस्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताउनुभयो । भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वव्यापी रूपमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गर्नुभयो ।

विदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने वामपन्थीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नसक्ने उल्लेख गर्दै उहाँले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले एक्काइसौँ शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताउनुभयो ।

अब धेरै विषय केन्द्रीय समिति बैठकले टुङ्ग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित अगाडि बढ्नेगरी नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उहाँले स्पष्ट गर्नुभयो । माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि ऊर्जा हुने बताउनुभयो । उहाँले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि ऊर्जाको अवसरका रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधिमा जाने भएपछि जो जितेर आउँछ उही सङ्गठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनैखालको गुटबन्दी गर्न विद्यार्थीलाई निर्देशन दिनुभयो ।

अखिल(क्रान्तिकारी)का इञ्चार्ज हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाटै नेतृत्व चयन गरिने बताउनुभयो । उहाँले निर्वाचनको प्रक्रियाबाटै नेतृत्व चयन हुनेमा निश्चित रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय एवं विश्वविद्यालयमा सुधारका लागि दाहाल नेतृत्वको सरकारले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयमा भइरहेको दलगत भागबण्डाको अन्त्यगरी मेरिटोक्रेसीका आधारमा पदाधिकारी चयन गर्न आफूहरु अखिल(क्रान्तिकारी) सँगै रहेको बताउनुभयो । विद्यार्थी आन्दोलनमा देखापरेको विश्वासको सङ्कट र चुनौतीलाई सम्बोधन गर्न पनि नयाँ आधारमा अगाडि बढ्नपर्नेमा उहाँले जोड दिनुभयो । 

साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन

काठमाडौँ, १० असोज : वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धतालाई कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयले सर्कुलर जारी गरेको छ । मन्त्रालय र मातहतका निकायलाई उक्त प्रतिबद्धता वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्न निर्देशन दिइएको हो ।

यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले उक्त साझा सङ्कल्प पारित गरी कार्यान्वनय गर्न नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ बमोजिम निर्देशन दिएको थियो । सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धताको पूर्णपाठ यसप्रकार छः

सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता

२०८१ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमतिमा व्यक्त राष्ट्रियहितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धिलगायत जनचाहनालाई संबोधन गर्ने सङ्कल्पका साथ यो नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

१. राष्ट्रिय हितको रक्षा तथा स्वतन्त्र परराष्ट्र नीति

नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा वाह्य सम्बन्ध सञ्चालनको मूलमन्त्र हुनेछ ।

राष्ट्रहितलाई सर्वोच्च प्राथमिकतामा राखेर दुवै छिमेकीसहित सबै मित्र राष्ट्रहरूसँगको बहुआयामिक कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र व्यापारिक सम्बन्धलाई अझ घनिष्ट र प्रगाढ बनाउँदै सार्वभौमिक समानताका आधारमा सन्तुलित, विश्वासिलो, सुसङ्गत र पारस्परिक हित एवं समान लाभमाथि आधारित विदेश सम्बन्ध सञ्चालन गरिने छ । छिमेकी मित्र राष्ट्रहरूसँग द्विपक्षीय चासोका विषयहरू असल छिमेकीपनको मर्म र कूटनीतिक माध्यमबाट गरिनेछ ।

संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, विश्व शान्तिका मान्यता, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा न्यायमा आधारित स्वतन्त्र, तटस्थ र असङ्लग्न परराष्ट्र नीति अवलम्बन गरिनेछ । नेपालको विकास आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर छिमेकीलगायत मित्र राष्ट्रहरू तथा बहुपक्षीय विकास साझेदारहरुसँग आर्थिक कूटनीतिमार्फत् वैदेशिक सहायता अभिवृद्धि गरी बलियो आर्थिक साझेदारी विकास गरिनेछ ।

२. संविधानको रक्षा, कार्यान्वयन र संशोधन

ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान निर्माण गर्न निर्णायक भूमिका खेलेका पार्टीहरुको हैसियतले यस संविधानको रक्षा, कार्यान्वयन र विकासको मुख्य दायित्व पनि हाम्रै हो भन्ने जिम्मेवारीबोधका साथ संविधानको पूर्ण र सफल कार्यान्वयन गरिनेछ ।

सङ्घीयता कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्दै राज्यका निकायबीच अन्तर–समन्वयलाई प्रभावकारी बनाइनेछ । सङ्घीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी समायोजनलगायत बाँकी ऐनलाई अविलम्ब निष्कर्षमा पुर्‍याइनेछ ।

संविधान कार्यान्वयनको समग्र अवस्था, प्राप्त उपलब्धि र कमीकमजोरी तथा बाँकी कामहरुका सम्बन्धमा वस्तुनिष्ठ समीक्षा गरिनेछ । समीक्षाका निष्कर्ष तथा प्राप्त अनुभवहरुका आधारमा राजनीतिक स्थायित्वको मुख्य राष्ट्रिय चासो र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर राजनीतिक पार्टीहरु, नागरिक समाज, बौद्धिक समुदाय, संविधानविद् र आम जनतासँग समेतको छलफल, संवाद र परामर्शबाट बृहत्तर सहमतिका आधारमा संविधान संशोधन गरी संविधानप्रतिको जनताको स्वामित्व र अपनत्व थप विस्तार गरिनेछ ।

संविधान संशोधनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय र समावेशी शासन प्रणालीलगायत २०६२/६३ को जनआन्दोलनका उपलब्धि तथा संविधानका आधारभूत स्तम्भहरुलाई थप संस्थागत र सुदृढ गरिनेछ ।

३. सुशासन र गुणस्तरीय सेवा प्रवाह

लोकतान्त्रिक मूल्यमान्यता, संविधानको मार्गदर्शन, विधिको शासन, जवाफदेहिता, स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा मानवअधिकारको सम्बद्र्धन र प्रवद्र्धनका आधारमा सरकार सञ्चालन हुनेछ ।

सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय सुधार, सुशासन प्रवद्र्धन र अनुकूल व्यावसायिक वातावरण निर्माणमा वाधा पु¥याइरहेका कतिपय असान्दर्भिक नीति तथा कानुनहरु परिमार्जन गरिनेछ । सार्वजनिक सेवालाई छरितो, प्रभावकारी र सुलभ बनाउन आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्ने नीति कार्यान्वयनमा ल्याइनेछ ।

भ्रष्टाचार, आर्थिक अनियमितता, अख्तियारको दुरुपयोग जस्ता सार्वजनिक चर्चामा रहेका सबै काण्डहरुको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरिनेछ । विधिको नजरमा सबै समान हुने सिद्धान्त र जुनसुकै ओहदाको भए पनि भ्रष्टाचारीहरु अवश्य दण्डित हुन्छन् भन्ने मान्यता स्थापित गरिनेछ । सार्वजनिक ओहदालाई जनसेवाका माध्यमका रुपमा विकास गर्न सार्वजनिक प्रशासनमा जवाफदेहिता सुनिश्चित गरिनेछ ।

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित संवैधानिक अङ्ग तथा अनुसन्धान तथा अभियोजनको दायित्व बोकेका संस्थाहरुको क्षमता अभिवृद्धि गरिनेछ । संविधान र कानुनले तोकेको दायित्व निष्पक्ष, भयरहित र बिना दबाब एवं प्रभाव सम्पन्न गर्न अनुकूल वातावरण निर्माण गरिनेछ । सङ्गठन संरचनामा कायम रहेको दोहोरोपना हटाई चुस्त र मितव्ययी बनाइनेछ ।

संसदीय छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सहकारी क्षेत्रको नियमनका लागि अधिकारसम्पन्न नियामक निकाय गठन गर्नेलगायत कदमहरुका माध्यमबाट सहकारी समस्याको समाधान गरिनेछ । सहकारी बचतकर्ताहरुको रकम अपचलनमा सङ्लग्न दोषीहरुलाई कानुनी कारबाही गर्दै बचतकर्ताहरुको रकम सुरक्षित फिर्ता हुने कुरा सुनिश्चित गरिनेछ । लघुवित्त संस्थामा देखिएका समस्या समाधान गरिने छ । साथै अनुचित लेनदेनसम्बन्धी समस्याको कानुनबमोजिम शीघ्र समाधान खोजिनेछ ।

४. गतिशील अर्थतन्त्र र विकास

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित भइसकेको पृष्ठभूमि र त्यसले सिर्जना गरेको सीमालाई समेत ध्यानमा राख्दै सुधारका हरसंभव उपाय अवलम्बन गरिनेछ । दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चत गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपुरक हुने गरी सञ्चालन गरिनेछ ।

उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखापरेका शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गरिनेछ । आर्थिक क्रियाकलापलाई तीव्रता दिन पूँजीगत खर्च गर्ने क्षमता वृद्धि गरिनेछ ।

निजी क्षेत्रलाई आर्थिक वृद्धिका उत्तोलक (ग्रोथ इञ्जिन) का रुपमा आत्मसात गर्दै त्यसको आत्मविश्वास, भरोसा र उत्साहलाई बढाउने तथा सरकार अभिभावक र प्रभावकारी सहजकर्ता हो भन्ने विश्वास दिलाउने गरी काम गरिनेछ । पुँजी बजारप्रतिको आमनागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता र पारदर्शीतालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गरिनेछ ।

आन्तरिक, बाह्य र गैरआवासीय नेपालीहरु समेतको लगानी वृद्धि गर्न नीतिगत, कानुनी र संरचनागत सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गरिनेछ । लगानी वृद्धिका लागि विकास फाइनान्सिङका समय सापेक्ष वित्तीय ढाँचाहरु उपयोगमा ल्याइनेछ ।

राष्ट्रिय आवश्यकता, सार्वजनिक ऋणको अवस्था, सर्तहरुलगायत पक्षलाई ध्यानमा राखेर बाह्य आर्थिक सहायता र ऋण परिचालन गरिनेछ ।

उत्पादन र उत्पादकत्व वृद्धि, वितरण र उपभोगको शृङ्खला (इको सिस्टम) कायम गरिनेछ । स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहनमार्फत् राष्ट्रिय पुँजीको विकास गरिनेछ । स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्न सक्ने प्राथमिकता प्राप्त वस्तुहरुको सूची तयार गरी लगानी वृद्धि गरिनेछ र यस्ता वस्तुहरुमा मुलुकलाई क्रमशः आत्मनिर्भर बनाइनेछ ।

सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रको श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुने समयसीमालाई ध्यानमा राख्दै त्यसको व्यवस्थित तयारी र त्यस उपलब्धिलाई दिगो राख्न आवश्यक अर्थनीति, वैदेशिक सहायता नीति, व्यापार नीति, पारवहन नीति लगायत तर्जुमा गरिनेछ ।

कृषि, पर्यटन, उर्जा र सूचना प्रविधिको क्षेत्रलाई आर्थिक वृद्धिका संवाहकका रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने (हाइग्रोथ) व्यवसायका रुपमा विकास गरिनेछ । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्न आवश्यक नीतिगत र संस्थागत सुधारमार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी किसानको आयस्तरमा सुधार गरिनेछ । बहुलता, विविधता र बहुसांस्कृतिक विशेषता तथा प्राकृतिक सौन्दर्यलाई नेपालको पहिचान, गौरव र सम्पदाको रूपमा स्थापित गर्दै पर्यटनको समग्र विकासमार्फत् आर्थिक विकास र रोजगारीमा टेवा पुर्‍याउने नीति लिइनेछ ।

आर्थिक वृद्धिदर बढाउन, आमनागरिकको जीवन सहज तुल्याउने, इन्धनमाथिको परनिर्भरता न्यून गर्न, औद्योगीकरणमा सहयोग पु¥याउन, व्यापार घाटा कम गर्न र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत् वातावरणमा सुधार ल्याउन विद्युत् उत्पादन, विस्तार र विद्युतीकरणको नीतिलाई थप प्रभावकारी बनाइनेछ ।

सूचना प्रविधिको सम्भावनालाई अधिकतम सदुपयोग गर्दै युवा रोजगारी र स्वरोजगारी तथा निर्यात व्यापारको माध्यमका रुपमा विकास गरिनेछ । आधुनिक सञ्चारमार्फत् जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने, प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने काम गर्ने नीति लिइनेछ ।

विकासका आयोजनाहरु घोषणा हुने तर पर्याप्त बजेट र जनशक्तिको अभावलगायत कारणले वर्षौंसम्म पूरा नहुने अवस्था अन्त्य गरिनेछ । थालेका परियोजनाहरु समयमै सक्ने, प्रस्तावित योजनाहरुको प्राथमिकीकरण गर्ने, आवश्यकता, प्राथमिकता र पर्याप्त तयारीका आधारका मात्र नयाँ योजना स्वीकृत गर्ने, तदनुरुप स्रोत विनियोजन गर्ने र राज्यको कोष अनुत्पादक, छरिएका र दोहोरोपन भएका क्षेत्रमा दुरुपयोग हुन नपाउने सुनिश्चित गर्दै आर्थिक अनुशासनलाई बलियो बनाइनेछ ।

राष्ट्रिय पूर्वाधारमा अन्तर–निकाय समन्वयको समस्या समाधान गरिनेछ । पूर्वाधार विकासमा रहेको दोहोरोपन र भौगोलिक तथा प्रादेशिक असन्तुलन हटाइनेछ । यातायात र सडकलाई आर्थिक विकासका पूर्वाधार, आपूर्ति व्यवस्थाको मेरुदण्ड, उत्पादन र पर्यटन केन्द्रहरुसँगको सञ्जाल निर्माण, सेवाप्रवाह, नागरिकहरु बीचको अन्तरसम्बन्ध तथा आर्थिक अन्तरआबद्धताको मुख्य माध्यमका रुपमा विकास गरिनेछ ।

विकास व्यवस्थापन गर्ने निकायहरुको क्षमता अभिवृद्धि गरिनेछ । सम्पन्न कामको भुक्तानी समयमै गरिनेछ ।
राष्ट्रिय गौरवका, राष्ट्रिय प्राथमिकताप्राप्त र रणनीतिक महत्वका भनेर घोषणा गरिएका कार्यक्रमहरुको समग्र प्रगति तथा महत्वको पुनरावलोकन गर्दै समयमै सम्पन्न गर्न आवश्यक कदम चालिनेछ ।

खेल क्षेत्रलाई राष्ट्रको छवि अभिवृद्धिको प्रभावकारी माध्यम र युवाहरुको ऊर्जा विकासको आधारका रुपमा स्थापित गर्दै खेल, खेलाडी र खेल पूर्वाधारमा लगानी अभिवृद्धि गरिनेछ ।

पहाड र ग्रामीण क्षेत्रमा चुनौतीपूर्ण बनेको बसाइँसराइँको क्रमलाई न्यून गर्न विभिन्न राजगार्गहरुका समानान्तर कृषि उत्पादन करिडोर निर्माण गरिनेछ ।

५. सामाजिक न्याय र मौलिक हकको कार्यान्वयन

नेपालको संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेका स्वास्थ्य, खाद्य, आवास र खानेपानीको अधिकार सुनिश्चित गरिनेछ । खाद्य सुरक्षाको प्रत्याभूतिमार्फत् भोकमरी अन्त्य गरिनेछ । खानपिनको बानीमा सुधार गर्दै स्वस्थ, सन्तुलित र पोषणयुक्त खानालाई प्रोत्साहन गरिनेछ ।

भूमिमा किसानहरुको सहज पहुँच स्थापित गर्न, भूमिको वैज्ञानिक व्यवस्थापनमार्फत् सही सदुपयोग गर्न र आवाससम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सुकुम्बासी, मुक्त कमैया, हलिया, अव्यवस्थित बसोबासी, पुस्तौंदेखि गुठी जग्गा कमाइरहेका किसान र श्रमिकहरुका समस्या समाधान गरिनेछ ।

श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवं असल औद्योगिक श्रम सम्बन्धलाई श्रम नीतिका आधारभूत मान्यताका रुपमा स्थापित गरिनेछ । स्वदेशको रोजगारीलाई आकर्षक र मर्यादित बनाइने छ । वैदेशिक रोजगारीलाई सुरक्षित र सीप सिक्ने (स्कील गेन) माध्यम बनाउने नीति लिइनेछ ।

शिक्षालाई सबैको समान पहुँचमा पुर्‍याउन, राष्ट्र, समाज तथा जीवनसँग अझ गहिरो गरी जोड्न र समय अनुरुप गतिशील हुन सक्ने गुणस्तरीय र सीपमूलक शिक्षा नीति अवलम्बन गर्दै उद्यमशील र शिक्षित युवा उत्पादनको नीति लिइनेछ । राष्ट्रिय जनशक्ति प्रोफाइल निर्माण गरेर मुलुकको आर्थिक विकास र समृद्धिका लागि आवश्यक जनशक्तिको योजनाबद्ध विकास गरिनेछ ।

गुणस्तरीय स्वास्थ्यसेवाको पहुँच बढाउन स्वास्थ्य बीमाको विस्तार, पूर्वाधार र जनशक्ति निर्माण र स्वास्थ्यचेतनाको शृङ्खला निर्माण गरेर निरोगी नेपालको अवधारणालाई सार्थक तुल्याइनेछ ।

लैङ्गिक समानता, सामाजिक समावेशिता र समानता प्रत्याभूत गर्ने एवम् यस क्षेत्रमा प्राप्त उपलब्धिलाई अझ दिगो, परिणाममुखी र सार्थक तुल्याइनेछ । प्रविधिको दुरुपयोगमार्फत् विस्तार भइरहेको महिला हिंसालाई अन्त्य गर्न प्रभावकारी कानुनी र संरचनागत प्रबन्ध गरिनेछ ।

दलित समुदायलगायत पछाडि पारिएका समुदाय, क्षेत्र, अपाङ्गता भएका नागरिकलगायत लागि संविधानले सुनिश्चित गरेको सामाजिक न्याय प्रत्याभूत गरिनेछ । बेसहारा, सडक बालबालिका र सडक मानवहरुको ससम्मान पुनःस्थापना गरिनेछ ।

प्रत्येक पाँच जना नेपालीमध्ये एकजना निरपेक्ष गरिबीको रेखामुनि रहेको विद्यमान पीडादायी अवस्थालाई अन्त्य गर्न यस असीको दशकलाई गरिबी अन्त्यको दशकका रुपमा अगाडि बढाइनेछ ।

६. युवा साझेदारी

राजनीति, सार्वजनिक सेवा, आर्थिक विकासलगायत सामाजिक जीवनका हरेक क्षेत्रमा युवाहरुको साझेदारीलाई प्रोत्साहन, सम्बद्र्धन र संरक्षण गरिनेछ । उनीहरुलाई समृद्धिका संवाहकका रुपमा अगाडि बढाउँदै सर्वतोमुखी विकासका लागि वातावरण निर्माण गरिनेछ ।

युवाहरुमा उद्यमशीलताको विकास गर्न आवश्यक परामर्श, सीप विकास, स्टार्टअप, उत्पादित वस्तुहरुको बजारीकरण र संरक्षणका लागि एकीकृत नीति निर्माण गरी कार्यान्वयन गरिनेछ । आधुनिक प्रविधिहरुले विस्थापन गर्न सक्ने रोजगारीका क्षेत्र र यसले प्रदान गर्न सक्ने नयाँ अवसरहरुको सूक्ष्म अध्ययन गर्दै नयाँ सिकाइ, सीप र जनशक्तिको विकास गरिनेछ ।

नवप्रवर्तनलाई प्रवद्र्धन गर्न आवश्यक कानुनको यथाशीघ्र निर्माण गरी कार्यान्वयन गरिनेछ ।

देशभित्र र बाहिरका विभिन्न प्रविधि कम्पनीहरुसँग नेपाली युवाहरुलाई जोड्न र स्वदेशमै रोजगारी निर्माणका लागि पहल गरिनेछ । विदेशबाट फर्किएका युवाहरुले आर्जन गरेको सीप, ज्ञान, अनुभव र स्रोतको अधिकतम् सदुपयोग गर्ने नीति लागू गरिनेछ ।

७. सङ्क्रमणकालीन न्याय, दिगो शान्ति र सामाजिक सद्भाव

भर्खरै प्रमाणीकरण भएको बेपत्ता व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधित ऐनका आधारमा शान्ति प्रक्रियाका बाँकी कामलाई निर्धारित समयसीमाभित्रै टुङ्ग्याउन तत्काल निष्पक्ष र सक्षम आयोग गठन गरिनेछ ।

पीडितको चासो र सरोकारलाई केन्द्रमा राखी सत्य स्थापित गर्दै न्याय, क्षतिपूर्ति, परिपूरण, र मेलमिलापका माध्यमबाट द्वन्द्वसिर्जित पीडाको सम्बोधन गरिनेछ । सशस्त्र द्वन्द्वको पुनरावृत्ति नहुने कुरा सुनिश्चित गर्न आवश्यक प्रबन्ध गरिनेछ ।

विविधता, बहुलता र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतालाई महत्वपूर्ण सामाजिक पुँजी, नेपालको पहिचान र सफ्टपावरका रुपमा आत्मसात गर्दै यसलाई थप सुदृढ गरिनेछ । सबैखाले सङ्कीर्णता, अतिवाद र राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सामाजिक सद्भावलाई प्रवद्र्धन गरिनेछ । राष्ट्रगौरवको भावनालाई सम्बद्र्धन गरिनेछ ।

८. विविध

जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्ने, वातावरणको सुरक्षा गर्ने र हरित अर्थतन्त्रको विकास गर्ने नीति लिइनेछ । ‘सगरमाथा संवाद’ जस्ता राष्ट्रिय र अन्य अन्तर्राष्ट्रिय मञ्चमार्फत् जलवायु परिवर्तनका कारण निर्मित सङ्कटका बारेमा विश्वलाई सुसूचित गराउने, नेपाल जस्ता पर्वतीय मुलुकका सरोकारबारे अन्तर्राष्ट्रिय लबिङ गर्ने र वातावरण अनुकूलनमा नेपालको योगदानलाई स्थापित गर्ने नीति लिइनेछ ।

जलवायु न्याय र जलवायु कोषबाट नेपालले पाउनुपर्ने न्यायोचित लाभका लागि कूटनीतिकलगायत विभिन्न पहल गरिनेछ ।

जाजरकोट र रुकुम (पश्चिम) मा पुनर्निर्माणको कामलाई तीव्रता दिँदै यसको समयबद्ध तालिका प्रकाशन गरी कार्यान्वयन गरिनेछ । बाढी, पहिरो, डुबान, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपत्तिबाट घरबार गुमाएकाहरुको पुनस्थापनाको स्वचालित पद्धति विकास गरिनेछ ।

सरकारमा सहभागी तथा सरकारलाई समर्थन गर्ने दलहरुसँग नियमित परामर्श गरी सरकारको कामलाई थप प्रभावकारी बनाइनेछ । महत्वपूर्ण राष्ट्रिय विषयहरु र सार्वजनिक सरोकारका गम्भीर प्रश्नहरुमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग नियमित संवाद गरिनेछ र सहमति निर्माणको प्रयाश गरिनेछ ।

समाजमा प्रायोजित ढङ्गले विस्तार गर्न खोजिएको नकारात्मक भाष्य, दूष्प्रचार, राष्ट्र र जनताको मनोबल खस्काउने प्रयास, भइरहेका उपलब्धिलाई समेत इन्कार गर्ने निषेधात्मक सोच र हीनभावनालाई अन्त्य गर्न तथ्यमाथि आधारित सकारात्मक बहस, रचनात्मक विमर्श र राष्ट्रको आत्मविश्वास बढाउने नीति लिइनेछ । यो मुलुक हामी सबैको हो, यसलाई समृद्ध, सबल र समुन्नत बनाउने दायित्व हाम्रो हो र हामी यसमा अवश्य सफल हुन्छौँ भन्ने भरोसा स्थापित गर्ने नीति अवलम्बन गरिनेछ ।

‘स्वास्थ्य क्षेत्र प्रदेश कर्णाली प्रदेश सरकारको प्राथमिकतामा’ : मुख्यमन्त्री कँडेल

कर्णाली, १० असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । चिङ्गाड गाउँपालिका–५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य क्षेत्र प्रत्यक्ष जनतासँग जोडिएको छ”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले थोरै कमजोरी गरे नागरिकको ज्यान खतरा हुन्छ ।”

स्वास्थ्यमा थोरै हेलचक्र्याइँले नागरिकको जीवन जोखिममा पर्नसक्ने भएकाले आफ्नो कर्तव्य र दायित्वलाई केन्द्रमा राखेर काम गर्न मुख्यमन्त्री कँडेलले स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यको भौतिक संरचना राम्रो बनेकाले यहाँका स्थानीयलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विकासका काममा तेरो र मेरो नभनेर समुदायमा रहेका सम्पूर्ण व्यक्ति एक ठाउँमा उभिन सके चाँडो र सहज रुपमा विकास गर्न सकिने भन्दै उहाँले आफ्नो गाउँठाउँलाई राम्रो बनाउन सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जस्तो कमजोर प्रदेशमा चुनावको समयमा दलबीच प्रतिस्पर्धा गर्ने मात्र होइन, विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्दछ ।”

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको केन्द्रमा स्वास्थ्य क्षेत्र रहेको बताउँदै उहाँले अबको केही समयमा यहाँको स्वास्थ्य क्षेत्रमा सुधारका सङ्केत देखिँदै जाने दाबी गर्नुभयो । सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका आयोजना प्रमुख कमलकुमार दर्लामीका अनुसार रु तीन करोड ६२ लाख नौ हजार नौ सय ५१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण भएको थियो ।

सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने मन्त्रीको खड्का घोषणा

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले आज विद्युत जडान भएका सुस्ता पश्चिमका करिव ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन्।

नेपाल विद्युत प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ गरिएको थियो।

सोही कार्यक्रममा उर्जामन्त्री खड्काले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भएर पनि लामो समयदेखि भरपर्दो र विश्वसनीय विद्युत सेवा उपयोगबाट वञ्चित रहेको सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार कार्य सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने बताए। उक्त शुभारम्भसँगै नवलपरासी जिल्लामा पूर्णरुपमा विद्युतीकरण भएको छ।

सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमित मात्रामा विद्युत सेवा उपलब्ध थियो। ३५० भन्दा बढी घरपरिवारले सौर्य ऊर्जाको प्रयोगबाट आफ्नो आवश्यकता पूरा गर्दै आएका थिए। सुस्तामा गण्डक सबस्टेशनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुङ्गे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ। मन्त्री खड्काले उक्त कार्यसँगै सुस्ता क्षेत्रका बासिन्दालाई गुणस्तरीय र विश्वसनीय विद्युत सेवा उपलब्ध गराउन सहयोग पुग्नुका साथै यहाँको औद्योगिक, पर्यटन, र आर्थिक गतिविधिमा पनि व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे।

‘हामीले एकसय किलोवाट क्षमताको सौर्य मिनीग्रिड प्रणालीलाई पनि राष्ट्रिय ग्रिडमा सफलतापूर्वक जोडेका छौँ, सुस्ता गाउँपालिका–५ मा निर्माण भएको यो परियोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘तराई मधेश समृद्धि कार्यक्रम’ र सुस्ता गाउँपालिकाको सहयोगमा विस २०७७ साल मंसिरदेखि सञ्चालनमा ल्याएका थियौँ,’ उनले भने।

उक्त परियोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोडीदिँदा यसको दीर्घकालीन दिगोपन सुनिश्चित भएको मन्त्री खड्काको भनाई छ उनले देशभर रहेका साना सौर्य ऊर्जा प्रणाली तथा लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गर्न सरकार योजनाबद्ध ढंगले लागेको बताए। राष्ट्रिय ग्रिडले नेपालको हरेक कुनासम्म सेवा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ थियो।

उर्जामन्त्री खड्काले सुस्तालाई राष्ट्रिय ग्रिडमा जोड्नु विद्युत पु-याउनु मात्र नभई विकास, समृद्धि र अवसरको उज्यालो बाटो तिर लैजानु पनि भएको बताए। सोही अवसरमा मन्त्री खड्काले नारायणी नदीमा तटबन्धको काम तत्काल सुरु गरिनेसमेत बताए।

यसैबीच, राष्ट्रपति पौडेलले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित नेपालकै सबैभन्दा लामो त्रिवेणी–महेशपुर (सुस्ता) एक हजार ५७१ मीटर झोलुङ्गे पुलको समेत उद्घाटन गरेका थिए।

शहरी विकास मन्त्रालयबाट निर्माण गरिएको उक्त कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवम् सहरीविकास मन्त्री प्रकाशमान सिंहले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट पुल बनेसँगै उक्त समस्याको समाधान भएको बताए।

बङ्गलादेशका पूर्व कप्तान शाकिबले मार्चपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

बङ्गलादेशका पूर्वकप्तान साकिब अल हसनले आगामी वर्षको मार्चसम्ममा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताउनुभएको छ ।शकिबसँगै पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं अन्य सदस्यमाथि प्रहरीले प्रदर्शनकारीमाथि गरेको घातक दमनमा दोषी ठहर गर्दै हत्याको आरोप लगाइएको छ ।

गत महिना विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा हसिनाको सरकार ढलेपछि ३७ वर्षीय शाकिब बङ्गलादेश फर्किनुभएको छैन । शाकिबले अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताउनुभएको छ ।

उहाँले दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्ट शृङ्खलाका लागि स्वदेश फर्कन चाहेको र यसबारे बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी)सँग सोधपुछ गर्नुभएको छ। “यो मेरो इच्छा हो, मैले बिसिबी र चयनकर्तालाई यो कुरा भनेको छु,” भारतविरुद्ध कानपुरमा शुक्रबार हुने दोस्रो टेस्टअघि शाकिबले पत्रकारसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “उनीहरू मसँग सहमत भए, उनीहरूले सम्भव भएसम्म सबै कुरा व्यवस्थित गर्ने प्रयास गरिरहेका छन्, ताकि म मिरपुरमा ती दुई ‘टेस्ट म्याच’हरू खेल्न बङ्गलादेश फर्कन सकूँ र त्यहाँबाट नै विश्राम लिन सकूँ ।”उहाँले भन्नुभयो, “यदि त्यसो भएन भने सायद यो मेरो अन्तिम घटना हो।”

अक्टोबर २१ देखि सुरु हुने दक्षिण अफ्रिका भ्रमण अझै अन्योलमा छ, गत महिनाको आन्दोलनपछि बङ्गलादेश पर्याप्त सुरक्षित छ कि छैन भनेर दक्षिण अफ्रिकाको पुरूषतर्फको खेल (प्रोटियाज) ले आँकलन गरिरहेका छन् ।शाकिबले गत जुनमा भएको विश्वकपपछि टी–२० खेलका लागि खेलबाट बिदा लिने समयको अनौपचारिक घोषणा गरिसकेको छु ।

उहाँले भन्नुभयो, “मैले जुनमा भएको विश्वकपबाट आफ्नो अन्तिम खेल खेलेको थिएँ। हामीले चयनकर्ता र बोर्डसँग यस विषयमा छलफल गरेका छौं। यो मेरो लागि निर्णय लिने सही समय हो र बिसिबीले केही नयाँ खेलाडीको खोजी गर्नेछ।”

शाकिबले आगामी फेब्रुअरीमा पाकिस्तानले आयोजना गर्ने च्याम्पियन्स ट्रफीका लागि ५० ओभरको आफ्नो अन्तिम खेल खेल्ने बताउनुभएको छ ।उहाँले भन्नुभयो, “एकदिवसीय खेलमा मैले आठ खेल खेल्न बाँकी छ र च्याम्पियन्स ट्रफी अन्तिम हुनेछ।”

शाकिब बङ्गलादेशी टोलीलाई आफ्नो समयमा अन्तर्राष्ट्रिय दावेदार बन्नको लागि उदयको प्रेरक शक्ति मानिनुहुन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अलराउन्डर वरीयतामा एकैसाथ तीनवटै फम्र्याटमा शीर्ष स्थानमा रहने उहाँ एक मात्र खेलाडी हुनुहुन्छ ।

शाकिबले यसै महिनाको सुरुमा पाकिस्तानमा आफ्नो टोलीको ऐतिहासिक टेस्ट शृङ्खलामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो र भारत जानुअघि इङ्ग्ल्यान्डको सरेको लागि काउन्टी क्रिकेट खेल्न जानुभएको थियो । उहाँले सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेयता ७० टेस्ट, २४७ एकदिवसीय र १२९ टी–२० खेल खेल्नुभएको छ ।

पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी

रूसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको शहर युक्रेन्स्क कब्जा गरेको बताएको छ । टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा रूसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गर्नुअघि १० हजारभन्दा बढी जनसङ्ख्या भएको युक्रेन्स्कलाई आफ्नो सेनाले मुक्त गरेको बताएको छ ।

युक्रेनका साना गाउँ र बस्तीहरूलाई नियन्त्रणमा लिने श्रृङ्खलामा यो सहर रूसका लागि हालैका हप्ताहरूमा भएको सबैभन्दा महत्त्वपूर्ण विजयमध्ये एक हो ।युक्रेन्स्क मस्कोले कब्जा गरेको दाबी गरेको क्षेत्रको राजधानी डोनेट्स्क सहरबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित छ ।

मस्कोका सेनाले सम्पूर्ण डोनेट्स्क क्षेत्रको नियन्त्रण प्राप्त गर्न खोजिरहेका छन् र शान्ति वार्ता सुरु गर्ने पूर्व शर्तका रूपमा किएभलाई उक्त क्षेत्र साथै लुगान्स्क, खेरसन र जापोरिझिया क्षेत्रबाट आफ्नो सेना फिर्ता लान माग गरेका छन् ।

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

वासिङ्टन डिसी, १० असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा व्यस्त हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको भ्रमण टोलीमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा यही ‘सेप्टेम्बर २१ तारिख’का दिन  क्यानाडाबाट न्युयोर्क आइपुग्नुभएका हो । उहाँ क्यानाडामा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएर न्युयोर्क आएपछि व्यस्त कार्यसूचीका बीच आन्तरिक भेटाघाट, छलफलमा खटिरहनुभएको छ । प्रधानमन्त्री ओलीले नेतत्व गर्नुभएको भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका हैसियतले डा राणा राष्ट्रसङ्घसम्बद्ध  विभिन्न कार्यक्रमका अतिरिक्त द्विपक्षीय एवं बहुपक्षीय भेटघाटमा व्यस्त हुनुहुन्छ ।

विशेषगरी नेपालका मुख्य विकास साझेदार देशका प्रमुख तथा प्रतिनिधिहरुसँगको भेटघाट तथा छलफल कार्यक्रमले  प्राथमिकता पाएको देखिन्छ । साथै न्युयोर्कमा रहँदा उहाँले विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्तासहित केही देशसँग नेपालका तर्फबाट समझदारी पनि गरिरहनुभएको छ ।

साधारणसभाका अवसरमा न्युयोर्कमा आयोजना भएका महिला सशक्तीकरण, प्रजनन स्वास्थ्य तथा महिला नेतृत्व, जलवायु परिवर्तन एवं अतिकम विकसित राष्ट्रहरुका फोरममा उहाँको सक्रिय सहभागिता रहेको छ । परराष्ट्रमन्त्री डा राणाले नेपालले संवैधानिक रूपमा व्यवस्था गरेको महिला अधिकारदेखि सरकारले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका साथै गत वर्षको अक्टोबरमा हमास विद्रोहीले अपहरण गरेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि विश्वको ध्यानाकर्षण गराइरहनुभएको छ ।

    मन्त्री डा राणाले महिलाको प्रजनन अधिकारसम्बन्धी फोरममा दिनुभएको सम्बोधनले यहाँ उपस्थित विश्वका महिलाहरुको ध्यानाकर्षण गर्न सफल भएको थियो ।  सम्बोधनका क्रममा नेपालमा महिलाको प्रजनन अधिकार तथा सुरक्षित मातृत्वका क्षेत्रमा गरेका कामको जानकारीले सहभागीहरू  निकै उत्साहित भएका थिए । विकसित देशहरुमा समेत अझै पनि गर्भपतनका कारण ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले हामीहरु हाम्रो संविधानमा नै महिलाको अधिकारका लागि संवेदनशील विषयलाई सम्बोधन गराउन सफल भएका छौँ भनेर उहाँले दिनुभएको जानकारी यहाँका धेरै महिला नेतृत्वका लागि प्रेरणा बनेको उनीहरुको भनाइ थियो ।

मन्त्री डा राणाले राष्ट्रसङ्घका उपमहासचिवहरुसँग विभिन्न विषयमा छलफल गर्नुभएको थियो । खासगरी राष्ट्रङसङ्घीय शान्ति स्थापना अभियानमा खटिने नेपाली सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउन उहाँले गर्नुभएका उच्चस्तरीय भेटवार्ताहरु महत्वपूर्ण रहेका छन् । उहाँले शान्ति मिसनसँग सरोकार राख्ने राष्टसङ्घका उपमहासचिव जाँ पिय लाख्वासँग भेट गर्दा पनि यी विषयलाई उच्च प्राथमिकताका साथ उठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अल्पविकसित देशहरुका तर्फबाट परराष्ट्रमन्त्री डा राणाले ‘जी २०’ का विदेश मन्त्रीहरुको बैठकमा पनि आफ्ना धारणा राख्ने अवसर प्राप्त गर्नुभएको थियो । विश्वका धनी राष्ट्रहरुका बीचमा उहाँले राख्नुभएको विचारले विकासशील राष्ट्रहरुका लागि लाभ पुग्ने अपेक्षा गरिएको छ । नेपालले कम विकसित देशहरुको समूहको अध्यक्षका हैसियतले उक्त फोरम प्राप्त गरेको हो ।

यसैगरी, मन्त्री डा राणाले ‘सोसलिष्ट इन्टरनेसनल’को फोरममा पनि आफ्नो मन्तव्य राख्दै सो सङ्गठनको मान्यताबमोजिम नै समानता तथा सामाजिक न्याय प्राप्त गर्ने अवसरबाट विश्वका कोही पनि  वञ्चित हुन नपर्ने धारणा व्यक्त गर्नुभएको थियो । जसलाई उपस्थित सहभागी नेताहरूले सरहाना गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागी विभिन्न देशका कूटनीतिज्ञ तथा उच्च पदस्थ अधिकारीहरुबीच भएका छलफलमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै नेपालको ‘एजेन्डा’मा उनीहरुको मत समावेश गराउने काम उहाँले गर्नुभएको छ । उहाँले आफ्ना प्रस्तुति राख्दा समयको पाबन्दीको ख्याल गर्दै बैठक, छलफल तथा भेटघाटमा उपलब्ध समयको अधिकतम सदुपयोग गरिरहनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा रहनुभएकी परराष्ट्रमन्त्री डा राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, स्पेनका प्रधानमन्त्री पेडो सान्चेज, कुवेतका राजकुमार तथा प्रधानमन्त्री शेख सवहसँग भेट गर्नुभएको थियो । यसैगरी नेपालको विकासमा महत्वपूर्ण साझेदारी गर्दै आएको देश फिनल्यान्डका विदेशमन्त्री भिल्ले ताविओसँग पनि भेट गरेर ५० वर्षको सम्बन्धलाई सिंहावलोकन गर्नुभयो ।

उहाँले इन्डोनेसिया र सर्वियासँग कूटनीतिक तथा सरकारी सेवाका पासपोर्ट वाहकलाई भिसा निःशुल्क दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने बुरुण्डीका विदेश मन्त्रीलाई भेटेर द्विपक्षीय सम्बन्धका विविध आयामहरुमा छलफल पनि गर्नुभयो । त्यस्तै, नेपाललाई हाल महत्वपूर्ण रोजगारीको गन्तव्य प्रदान गरिरहेको दक्षिण कोरियासँगको सम्बन्धका बारेमा त्यहाँका विदेशमन्त्रीसँग भेटेर छलफल गर्नुभयो ।

उल्लिखित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटका अवसरमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य र मानवअधिकार परिषद्मा नेपालले दिएको उम्मेदबारको पक्षमा सहयोग गर्न डा राणाले आग्रह गर्नुभएको छ । नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा उमेदवारी दिएर चर्चा कमाउने मात्र नभई जितका लागि अधिकतम कूटनीतिक पहल गर्नुपर्छ भन्ने सोचका साथ नेपालका पक्षमा मत मागिरहनुभएको परराष्ट्र मन्त्रालयको सचिवालयले जनाएको छ ।  

शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ, १० असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले ओरालो लागेर सात सय ४७ दशमलव ४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर रु चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको छ । 

नेप्सेका अनुसार विन नेपाल लघुवित्त नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर चार दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् । 

ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर सात दशमलव ६९, अपि पावर कम्पनी सात दशमलव ४६, थ्री स्टार हाइड्रोपावर छ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन् । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह

चितवन, १० असोजः कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सीमित स्रोत र साधनका बाबजुत पनि अस्पतालले गरेको प्रगतिको प्रशंसनीय रहेको बताउनुभयो ।

अस्पतालले गर्ने कार्यहरु नेपाल सरकारको नीतिअनुसार बिरामी मैत्री बन्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने सङ्कल्प र प्रतिबद्धता आएको छ, धन्यवाद दिन चाहन्छु ।” उहाँले थप्नुभयो, “अस्पतालबाट प्रदान गरिने सेवाहरुको विस्तृत विवरण प्रतिवेदनका रुपमा सार्वजनिक भएबाट अस्पतालका कार्यहरु नेपाल सरकारका नीतिअनुसार बिरामीमैत्री भएकोमा खुसी व्यक्त गर्दछु ।”

अस्पतालमा सबै प्रकारका रोगको उपचारका लागि आवश्यक पर्ने लिन्याक र सिटी सिमुलेटरको उपकरण खरिद गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उपप्रधानएवं सहरी विकासमन्त्री सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो अस्पताल क्यान्सर रोगको उपचराका लागि विदेसिनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको हो । यसलाई अझै सशक्त बनाउन आवश्यक रहेको छ ।”

सो अवसरमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले यो अस्पताल देशको लाइफलाइन अस्पतालका रुपमा रहेको बताउनुभयो । क्यान्सरको उपचारका लागि प्रथम विन्दुका रुपमा रहेका जनाउँदै उहाँले सवल र उत्कृष्ट उपचारले रोग निको हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले उत्कृष्ट सेवा बिस्तार र जनताले सहज उपचार पाउनुपर्छ ।”

नेपाली समाजमा क्यान्सर रोग लागेपछि लुकाएर राख्ने र समयमा उपचारका लागि नआउने प्रचलका कारण मानिसहरुको मृत्यु हुने गरेको उहाँको भनाइ थियो । जनतामा जनचेतना जगाउन सके उपचारका लागि खर्चिलो नहुने उहाँको भनाइ छ । प्रमुख देवकोटाले थप्नुभयो, “सबल मानसिकता र उत्कृष्ट उपचारले रोग निको हुन्छ ।”

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा रहेका क्यान्सर रोगका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको उपचार यस अस्पतालमा हुने गरेको बताउनुभयो । बीस प्रतिशत नेपालका अन्य अस्पतलाहरुमा र २० प्रतिशत छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारका लागि जाने गरेको उहाँले जानकारी दिनुभयो । भविष्यमा यस अस्पताललाई ७०० शय्याको बनाउने योजना रहेको डा पौडेलको भनाइ छ ।

 अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा एक लाख ६६ हजार २०० बिरामीले उपचार गराएको यस अस्पतालमा गत आर्थिक वर्ष २०८०÷८१ मा एक लाख ८८ हजार ५१४ जनाले सेवा लिएका छन् । जसमध्ये ६ हजार ७९५ नयाँ क्यान्सरका बिरामी रहेको उहाँले बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २५ वर्षदेखि क्यान्सर रोग लागेर अहिले निको हुनुभएका बिष्णुप्रसाद पोडेल, अञ्जनी स्मृति अक्ष्यकोषका दाता तीर्थराज पराजुलीसहित चिनियाँ टोलीका लिडरलाई सम्मान गरिएको थियो ।

एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब बढी विप्रेषण

काठमाडौँ, १० असोजः चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोडको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार नौ सय २८ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार छ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार एक सय ५२ र १६ हजार चार सय २३ थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु एक खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब २८ अर्ब २१ करोड थियो ।