`

विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

काठमाडौँ, १० असोजः देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो ।

गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो । त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २० खर्ब ९२ अर्ब २२ करोड बराबर पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रु १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति रु दुई खर्ब आठ अर्ब ७९ करोड छ ।

चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ दशमलव सात महिनाको वस्तु आयात र १३ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।

जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल

काठमाडौँ, १० असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

इन्डोनेसियाको जकार्तामा आयोजित एसिया प्रशान्त क्षेत्रीय पाँचौँ मन्त्रिस्तरीय बैठकमा मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनका कारण असर परिरहेकाले यसबाट कृषि र स्वास्थ्य क्षेत्र बढी प्रभावित भएका बताउनुभयो । उहाँले जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वकालत गर्दै आएको स्मरण गर्नुभएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले भन्नुभयो, “एक संसद् सदस्यको हैसियतमा नीतिगत तहबाट जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न नेपालमा जलवायु संसद् गठन गर्न सधैँ वकालत गर्दै आएको थिएँ । अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको हैसियतमा वर्तमान र भावी पुस्ताको स्वास्थ्य जोगाउन आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाउँदछु ।” नेपाल स्वास्थ्य क्षेत्रमा राष्ट्रिय अनुकूलन योजना विकास गर्ने दक्षिण एसियाको पहिलो देश भएको उहाँले उल्लेख गर्नुभयो । 

मन्त्री पौडेलले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू गरिरहेको बताउँदै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अनुसन्धान एवं अध्ययन तथा जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरणसँगै स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधिता र वातावरणीय दिगोपन कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो । 

“स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्त्वलाई ध्यानमा राखेर नेपालले अनुकूलनका साथै न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै आएको छ । सरकारले एक हजार चार सय स्वास्थ्य संस्थामा स्वास्थ्य फोहर व्यवस्थापनका लागि ‘नन बर्न टेक्नोलोजी’ प्रयोग गर्ने प्रतिबद्धतासहित दोस्रो राष्ट्रिय निर्धारित योगदान योजना पेस गरेको छ”, उहाँले भन्नुभयो ।

कोप–२६ मा जलवायु अनुकूल कम कार्बन स्वास्थ्य प्रणाली निर्माण गर्न प्रतिबद्धता जनाएको स्मरण गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमार्फत हुने ग्रिन हाउस ग्यास उत्सर्जनको आधारभूत मूल्याङ्कन गर्न नेपाल सफल भएको जानकारी दिनुभयो । सबै ५१ देश र क्षेत्रहरूमा सदस्यता खोल्ने प्रावधानको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “नेपाल यस क्षेत्रीय फोरमको पूर्ण सदस्य बन्न इच्छुक छ ।”

जलवायु परिवर्तन र वायु प्रदूषणका कारण हुनसक्ने स्वास्थ्य जोखिमबारे नागरिकलाई सचेत गराउन जनचेतना अभियान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पौडेलले जलवायु स्वास्थ्य शिक्षालाई विद्यालयतहका पाठ्यक्रम र सामुदायिक कार्यक्रमहरूमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो । 

वातावरण, कृषिसम्बन्धी खाद्य सुरक्षा र पशुधन र मानव स्वास्थ्यका मुद्दाहरूलाई सम्बोधन गरिने स्वास्थ्य ‘एजेन्डा’मा नेपालको समर्थन रहने बताउँदै मन्त्री पौडेलले जकार्ता घोषणापत्रमा प्रस्तुत गरिएका कार्यहरूप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता, यी बिषयमा छलफल

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौँ, १० असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैै छ ।

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् ।सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक, को हुन आम्ची ?

म्याग्दी, १० असोजः पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो । यहाँ करिब एक सय ५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन् ।

हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने व्यक्ति) ले स्वास्थ्य सेवा दिँदै आएका छन् । छेन्तुङमा रहेको ‘पूर्वपरम्परागत चार चिकित्साशास्त्र विद्यालय’लाई स्थानीयबासी ‘अस्पताल’ भन्छन् ।

विगत ३५ वर्षदेखि छेन्तुङमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–७ ताकमका ८३ वर्षीय विष्णुबहादुर थापाले आम्ची विद्यालयमै औषधि उपचार गर्दै आएको बताउनुभयो । “यहाँ स्वास्थ्य चौकी छैन । नजिकको बुर्तीबाङ अस्पताल पुग्न पनि गाडीमा दुई घण्टा लाग्छ”, साविक ताकम गाउँ विकास समितिका पूर्वप्रधानपञ्च थापाले भन्नुभयो “गाउँमै आम्ची विद्यालय भएकाले स्वास्थ्य संस्थाको आवश्यकता महसुस भएको छैन ।”

ढोरपाटन उपत्यकाको स्वास्थ्य चौकीबाट खोपसम्बन्धी सेवा दिन आउने गरेपनि सामान्य समस्याको उपचार आम्ची र जडिबुटीबाट हुने थापाले बताउनुभयो । स्वास्थ्य समस्या लिएर आउनेलाई आम्चीले लक्षणअनुसार जडिबुटी दिन्छन् ।

जटिल किसिमको उपचारका लागि अस्पतालमा जाने गरे पनि सामान्य बिरामी पर्दा एलोपेथिक चिकित्सापद्धति र औषधिको विकल्पमा आम्चीबाट परामर्श तथा जडिबुटी प्रयोग गर्ने गरिएको स्थानीय रमती विश्वकर्माले बताउनुभयो । जडिबुटीको प्रयोगबाट अनय असर नहुने भएकाले आम्चीको सेवामा पूर्णविश्वास रहेको उहाँको भनाइ छ ।

नेपालको हिमाली क्षेत्रमा तेह्रौँ शताब्दीमा सुुरु भएको यो उपचार पद्धति ढोरपाटनका साथै मुस्ताङको उपल्लो क्षेत्र, डोल्पालगायत जिल्लामा प्रचलनमा छ । छेन्तुङको आम्ची विद्यालयमा डोल्पा, मुगु, पूर्वीरुकुम, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लाका २० जना बालबालिका अध्ययनरत रहेका विद्यालयका व्यवस्थापक धेनी लामाले बताउनुभयो । “पढाइसँगै लेकमा जडिबुटीका बोट बिरुवा पहिचान, सङ्कलन, प्रसोधन गरी जडिबुटी बनाएर उपचारका लागि प्रयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो,“अध्ययनसँगै आम्चीहरूले स्थानीयबासीलाई सेवा पनि दिने गरेका छन् ।”

दुई हजार पाँच सय घरपरिवारको बसोबास रहेको ढोरपाटन उपत्यकाको टोल टोलमा पुगेर आम्चीले उपचारका साथै निःुूल्क औषधि वितरण गर्दै आएको व्यवस्थापक लामाले बताउनुभयो । समुदाय र दाताको सहयोग जुटाएर ५० वर्षदेखि छेन्तुङमा आम्ची विद्यालय सञ्चालन हँुदै आएको उहाँले जानकारी दिनुभयोे ।

तीन वर्ष आम्ची अध्ययन गरेकी डोल्पाकी छेमा ल्यामुले पछिल्लो तीन महिनादेखि छेन्तुङमा स्वयम्सेवकका रूपमा काम गर्दै आउनुभएको छ । “यही पढेर व्यवहारिक ज्ञान, सिप हाँसिल गरेकाले केही समयलाई स्वयम्सेवा गरेकी हुँ”, उहाँले भन्नुभयो, “अब आफ्नै गाउँमा गएर सेवा गर्ने रहर छ ।”

भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीको न्यून उपस्थिति हुने डोल्पाका बस्तीमा स्थानीय तहले समेत आम्चीलाई मान्यता दिएकाले रोजगारीसँगै सेवा गर्न पाइने ल्यामुले बताउनुभयो । आम्ची प्राविधिक शिक्षा पनि भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले २० वर्षअघि सम्बन्धन दिएको थियो । दुई वर्ष नौ महिना पढ्नुपर्ने आम्ची सामुदायिक स्वास्थ्य सहायक सरह हुन्छ ।

पहिलो वर्ष आम्चीको परिचय, दोस्रो वर्ष बच्चा जन्मने प्रक्रियादेखि मृत्युसम्मको अवस्थाबारे जानकारी तथा औषधि दिने तरिका सिकाइन्छ भने बाँकी नौ महिना जडिबुटीको पहिचान र औषधि बनाउने तरिका कार्यक्षेत्रमै सिकाइन्छ । तिब्बती भाषा नजानेको आम्ची हुन नसक्ने भएकाले विद्यालयले आधारभूत तिब्बती भाषासहित शिक्षा दिइरहेको छ । कक्षा ८ उत्तीर्णले मात्र आम्ची पढ्न पाउँछन् । बुद्ध शिक्षामा आम्ची, विज्ञान, सङ्गीत, कला र ज्ञानलाई बढी महत्व दिने गरिन्छ ।

को हुन आम्ची ?

आम्ची हिमाली क्षेत्रका स्वास्थ्यकर्मी भएका पूर्वपरम्परागत चार चिकित्साशात्र विद्यालय छेन्तुङका व्यवस्थापक धेनी लामाले बताउनुभयो । उहाँकानुसार आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौँ वर्षदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । “आम्चीले अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन्, ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन्,” उहाँले भन्नुभयो “आफैँ उच्च हिमाली भेगमा पुगेर जडिबुटी खोज्ने र पहिचान गर्न सक्ने सिप उनीहरूमा हुन्छ ।”

सरकारको नीतिमा आम्ची

सरकारको नीतिमा आम्चीसम्बन्धी स्वास्थ सेवालाई सम्बोधन गरे पनि ऐन, नियम, कार्यविधि निर्माण हुन नसक्दा कानुनी अस्पष्टता छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गत होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा छ । यसको उद्देश्य हिमाली जिल्लामा परम्परादेखि प्रचलित सोवारिक्पा (आम्ची) उपचार एकाई स्थापनाका लागि सहजीकरण गर्ने, यस सेवाको सुदृढीकरणसम्बन्धी कानुन, नीति, गुणस्तर तथा मापदण्ड निर्माणमा सहयोग गर्ने उल्लेख छ ।

शाखाले उद्देश्यको कार्यान्वयन गरी आम्चीको प्रमाणपत्रको आधारमा लोक सेवा आयोगको परिक्षामा सहभागी हुन र सेवा प्रदान गर्न अनुमतिपत्रको व्यवस्था मिलाउनु सक्रियता देखाउनुपर्ने आम्ची अध्ययन गरेकी छेमा ल्यामुको आग्रह छ । “हिमाली क्षेत्रमा यस सेवाको अझै सान्दर्भिकता नै छ । त्यसैले त सरकारले पनि मान्यता दिएको होला ! त्यसैले यो विधा अध्ययन गरेकाहरूको भविष्य सुरक्षित बनाउन सरकारले आवश्यक काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी गुरुयोजनाबारे राष्ट्रियसभा संसदीय समितिको चासो, सरोकारवालासँग छलफल

लुम्बिनी, १० असोजः राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी विकास कोषको गुरूयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिनुका साथै सरोकारवालासँग छलफल गरेको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन गरेको लुम्बिनी गुरुयोजना कार्यान्वयनबारे समितिले छलफल गरेको हो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न बजेट अभाव भएको तथा बृहत्तर लुम्बिनी क्षेत्रको काम गर्नका लागि लुम्बिनी विकास कोष ऐन २०४२ संशोधनका लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा देखिएका चुनौतीसँगै गुरुयोजना विपरीत भएका काम, स्थानीयको मागका सम्बन्धमा पनि आफूहरुको ध्यान आकर्षण भएको बताउनुभयो ।

सभापति शेर्पाले लुम्बिनी र सगरमाथा नै नेपालको पहिचान भएकाले सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि सङ्घीय सरकारबाट बजेट आउन नसक्दा परियोजना पूरा गर्न कठिन भएको बताउनुभयो । उहाँले कोषका पदाधिकारी गुरुयोजना कार्यान्वयन, लुम्बिनीमा आध्यात्मिक गतिविधि वृद्धि गर्नका लागि लागिपरेको भए पनि कोषको ऐनका कारण पनि खुम्चिनु परेको बताउनुभयो ।

कोषका सदस्य–सचिव सानुराजा शाक्यले गुरुयोजनाको करिब ८५ प्रतिशत काम पूरा भएको तर स्रोत सुनिश्चित गरिएको बजेट प्राप्त नहुँदा कार्यान्वयमा समस्या भएको बताउनुभयो । उहाँले आव २०८०/८१ मा गुरुयोजनाको कामका लागि रु ४९ करोड भुक्तानीको दायित्व देखिएको तर रु ४४ करोड मात्रै बजेट निकासा भएको जानकारी दिनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले स्थानीयको माग बमोजिम स्थानीय, प्रदेश र सङ्घीय सांसदलाई सहभागी गराउनेगरी ऐन संशोधन गर्न सुभाव दिनुभयो ।

ढोरपाटनमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र बन्दै

गलकोट (बागलुङ), १० असोजः नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।

ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत यहाँ भ्रमण तथा अवलोकनमा आउने गरेका छन् । यसैलाई लक्षित गरी पर्यटन विभागले चालु आर्थिक वर्षमा सूचना केन्द्र निर्माण गर्न लागेको जनाइएको छ ।

ढोरपाटन नगरपालिका उप्रमुख धनबहादुर कायतले पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएपछि पर्यटन विभागले यहाँ पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ९ स्थित पाखाथरमा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो ।

कायातकानुसार पहिलो चरणमा रु चार करोड लागतमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसँग सम्झौता भएको छ । पूर्वाधार निर्माणसँगै पार्क, सङ्ग्रहालय तथा पर्यटकका लागि आवश्यक पर्ने अन्य जानकारी दिन उक्त केन्द्रले निर्माण गर्न लागिएको हो । “ढोरपाटनमा पछिल्लो समय १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन्, जसमध्ये पर्याप्त सूचना र पूर्वाधारको अभावमा पर्यटक अलमल भएको हामीले महसुस गरेका थियौँ”, उपप्रमुख कायतले, “पर्यटन विभागसँग गरिएको समन्वयले यहाँ सुविधासम्पन्न पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचना केन्द्रसँगै व्यवस्थित पार्क बनाइनेछ, सङ्ग्रहालयसमेत बनाइनेछ ।”

चालु आर्थिक वर्षमा रु चार करोड लागतमा उक्त पर्यटकीय पूर्वाधार केन्द्र निर्माण गरिने छ । पर्यटकीय पूर्वाधारसहित सूचना केन्द्र्र निर्माणका लागि जग्गाको व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगरपालिकाले बनाएको थियो ।

यस कार्यमा सङ्घीय सांसद् देविप्रकाश भट्टचनले यहाँ भित्रिएका पर्यटकलाई धेरैभन्दा धेरै ठाउँमा पु¥याउन, यहाँको पहिचान, कला तथा संस्कृतिको विषयमा आवश्यक जानकारी दिन नगरपालिकाको मागअनुसार सूचना केन्द्र निर्माण योजना अगाडि बढेको बताउनुभयो । नेपालकै एक मात्र सिकार आरक्ष भएकाले महङ्गो शुल्क तिरेर नाउर र झारलको सिकार गर्न यहाँ पर्यटक आउने गरेकाले उहाँहरूको सहजताका लागि सूचना केन्द्र उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

ढोरपाटनमा आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका र त्यसबाट रु १९ लाख राजश्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले जानकारी दिनुभयो । उहाँले पर्यटकलाई ढोरपाटन प्रवेशद्वार देउरालीमा केही जानकारी दिने गरिए पनि सूचना केन्द्र स्थापना भएमा थप प्रभावकारी हुने बताउनुभयो ।

वर्षासँगै खसेको पहिरोले कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध

बागमती, १० असोजः अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

परराष्ट्रमन्त्री र राष्टसङ्घका उपमहासचिवबीच भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गर्नुभएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्रीले लामो समयदेखि नेपालले शान्ति मिशन सहभागी भएर योगदान गरेको बताउँदै मिशनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको आव्हानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्रीले बताउनुभयो ।

परराष्ट्रमन्त्रीले बुधवार नै राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गर्नुभयो । उक्त भेटमा दिगो विकासका लक्ष्य,जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो । नेपालले अति कम विकसित देशहरुको विश्वव्यापी समन्वय समूहको अध्यक्षका नाताले अतिकम विकसित देशहरुको सामूहिक हितका खातिर एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभएको उक्त नियागले जनाएको छ ।

यसैबीच, परराष्ट्रमन्त्री देउवा र सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरुलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी

न्युयोर्क (अमेरिका), १० असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आउनुभएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी हुनुहुन्थ्यो ।

कञ्चनपुरमा जङ्गली हात्तीले पाक्नै लागेको धानबाली सखाप

कञ्चनपुर, १० असोजः शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ ।एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताउनुभयो । साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उहाँले बताउनुभयो ।

गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित, हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको वडा सदस्य जीवन पाण्डेयले जानकारी दिनुभयो । “स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीको सहयोगमा हात्तीलाई धान खेतबाटै निकुञ्जतर्फ फर्काउन सक्यौँ” उहाँले भन्नुभयो, “खेतबारीबाट हात्ती फिर्ता हुँदा नजिकै रहेका घरमा क्षति पुर्याउन सकेन । हात्तीको डरले खाद्यान्नदेखि महत्वपूर्ण कागजपत्र स्थानीयले आफन्तको घरमा सुरक्षाका लागि सारेका छौँ ।”

वडा सदस्य पाण्डेयकानुसार एक साताको अवधिमा गर्जमुनीमा दुईपटक र खजुवामा दुईपटक गरी हात्तीको बथान चारपटक किसानको खेतमा छिरेको छ ।

हात्तीले पाक्न लागेको धानबाली खाएर नोक्सान गर्न थालेपछि स्थानीय रातभर पालो मिलाएर जाग्राम बस्न थालेका छन् । हात्तीलाई खेतवारीमा छिर्नबाट रोक्नका लागि टिन ठटाउने, हो हल्ला गर्ने, जानकारी दिनका लागि साईरन बजाउने, आगो बाल्ने, पटाका पडकाउनेलगायत कार्य गर्न थालिएको वडाअध्यक्ष चक्रबहादुर खड्काले बताउनुभयो । “अप्रिय घटना नहोस् भनेर स्थानीयलाई सचेत पार्ने कार्यमा लागेका छौँ, हात्तीले धानबालीमा व्यापक नोक्सान गर्न थालेपछि निकुञ्ज कार्यालय र सुरक्षा निकायसँग पनि सहयोगका लागि अपिल गरेका छौँ”, उहाँले भन्नुभयो ।

हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रका वन क्षेत्रमा बस्ने र वर्षा घटदै गएपछि चुरे फेदीका बस्ती हुँदै समथर भू–भागमा पुगेर किसानको बालीनलीमा नोक्सानी पुर््याउने गर्दछ । प्रत्येक वर्ष हात्तीले मानवीय र भौतिक क्षति गर्दै आएको छ । तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट नगरपालिका क्षेत्रका चार जनाको ज्यान गइसकेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर

दमौली (तनहुँ), १० असोजः बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताउनुभयो ।

सडक ढलानका लागि आठ जना अदक्ष र चार जना दक्ष श्रमिकलाई रोजगारी दिइएको छ । सडक ढलान तथा कामदारको ज्यालाबापत रु चार लाख बजेट विनियोजन गरिएको छ । संयोजक गुरुङका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक तथा पानीको निकास निम्ति नाला निर्माण, चौतारा मर्मत, पैदलमार्ग निर्माण हुने गरेको छ ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चयन भएकाले न्यूनतम सय दिनको रोजगारी पाउँछन् ।

प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता

न्युयोर्क (अमेरिका)- प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीसँगको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

मिथिलानीहरूको ३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि जितिया पर्व सम्पन्न

जलेश्वर- मिथिलाञ्चललगायत मधेशका अधिकांश क्षेत्रमा मनाइने जितिया पर्व बुधबार मिथिलानीहरूको ३६ घण्टा लामो निर्जल र निराहारपछि सम्पन्न भएको छ ।

सन्तानको दीर्घजीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व यहाँ सोमबारदेखि नै धार्मिक विधिअनुसार सुुरु भएको थियो । मङ्गलबार बिहान ४ बजेदेखि बुधबार साँझ सवा ५ बजेसम्म व्रतालु महिलाहरू उपवास बसेका थिए ।

यसरी उपवास बसेका महिलाहरू (मिथिलानी) ले आज साँझ सवा ५ बजे पवित्र नदी, पोखरी र तलाउ तथा जलाशयमा नुहाएर अन्तिम पूजा गरी दही, चिउरा, अमोट, सख्खर र काँक्रोको प्रसाद चढाएर व्रत सम्पन्न गरेका छन् । यसरी व्रत समापन गर्ने विधिलाई मिथिलामा पारण भनिन्छ भने पारण गरेर व्रतालु महिलाहरूले आआफ्ना घरमा देवतालाई चढाएका प्रसाद ग्रहण गर्नुका साथै विभिन्न खानेकुरा खाने चलन रहेको छ ।

श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरि असोज ७ गते सोमबार ओंगठन, असोज ८ गते व्रत र असोज ९ गते आज जितिया व्रत पारण गर्ने उल्लेख छ । तिथिको हेरफेरअनुसार यसवर्ष मिथिलाञ्चलमा सोमबार नहा खा (नुहाएर खाने) विधिबाट सुरु भएको पर्वमा व्रतालु महिलाहरू मङ्गलबार बिहान ४ बजेदेखि बुधबार दिनभरि उपबास बस्ने प्रचलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो ।

अझै सम्पन्न भएन कालीगण्डकी कोरीडोर चराङ–छोसेर सडकखण्ड

म्याग्दी, १० असोज : चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन ।

छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर लामा सडक निर्माणको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताउनुभयो । “विसं २०७३ मा सुरु भएको सडकको कामले अझै पूर्णता पाएको छैन,” उहाँले भन्नुभयो “डेढ वर्षपछि गत आर्थिक वर्षको अन्तिममा कार्यक्षेत्रमा आएका व्यवसायीले सडक निर्माणको कामलाई गति दिन सकेका छैनन् ।”

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न विसं २०७३ मा तामाङ–गौरी–पार्वति–कोशी एण्ड न्यौपाने जेभीले रु २६ करोडमा ठेक्का लिएको थियो । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङ्को काम हुन बाँकी छ ।

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस खण्डको भौतिक प्रगति करिब ९२ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर विष्णु चापागार्इंले बताउनुभयो । सडक ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्य छ । सूचना अधिकारी चापागाईंले बाँकी कामलाई छिटो पूर्णता दिन ताकेता गरिएको बताउनुभयो ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७२÷७३ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो ।

जोमसोम–कोरला सडकको छ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ । यहाँ स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड बजेट विनियोजन भएको थियो ।

एमसिए नेपाल मार्फत तनहुँका पाँच पालिकामा एक सय ९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

तनहुँ, १० असोजः मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ ।जिल्लाको व्यास नगरपालिका र आबुँखैरेनी, बन्दीपुर, ऋषिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागिएको हो ।

सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने यहाँका विभिन्न ठाउँमा जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

उहाँकानुसार एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै बुटवल सवस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिनेछ ।

एमसिए नेपालले चार सय केभी न्यू दमौली सवस्टेसन निर्माणका लागि गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशित गरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँस्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन सकिने जनाएको छ ।

सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा (२) बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने पनि जनाइएको छ ।

मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत निरीक्षण गरिसकेको छ । मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।नेपाल–भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुने मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले जनाएको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि शेयर जस्तै किनबेच गर्न पाइने

काठमाडौँ, १० असोज : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजीबजारमा हुने शेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हो ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र इन्भेष्टर पोर्टलमार्फत् गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाईन कारोबार प्रणाली जस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्य खालका ऋणपत्रको निष्कासन तथा सञ्चालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘डोम्स’ र ‘इन्भेष्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको हो ।

सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने अर्को उपकरण ‘ट्रेजरी बिल्स’ को दोस्रो बजार कारोबार पनि ‘डोम्स’ मार्फत् गर्न सकिनेछ तर विकास ऋणपत्रको दोस्रो बजार कारोबार भने निष्कासनपछि सूचीकरणका लागि नेप्सेमा पठाइने र नेप्सेमा सूचीकृत दलाल (ब्रोकर) कम्पनीमार्फत् कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

आन्तरिक ऋण उठाउनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत गरेको वार्षिक कार्यतालिका तथा निष्कासन तालिकाअनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बन्द तथा निष्कासन गरिनेछ । गैरआवासीय नेपालीले पनि नागरिक बचतपत्र खरिद गर्न सक्नेछन् । “नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र खरिद गर्न चाहने व्यक्तिले पहिलोपटक इन्भेष्टर पोर्टलमा तोकिएको ढाँचामा विवरणहरू प्रविष्टि गरी रजिष्टर गरेर युजरनेम तथा पासकोड प्राप्त गर्न सक्नेछन्”, कार्यविधिमा भनिएको छ । यस्तो बचतपत्र निष्कासन गर्दा तोकिएको अवधिभित्र पहिलो निवेदकले पहिले पाउने प्रक्रियाबाट बाँडफाँट गरिने पनि कार्यविधिमा उल्लेख छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको व्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिनेछ । कार्यविधिमा यस्ता बचतपत्रको लागि निर्धारित व्याजको हिसाब गर्दा तीस दिनको एक महिना र तीन सय ६० दिन बराबरको एक वर्ष मानी गणना गर्नुपर्ने व्यवस्था गरिएको छ । व्याज भुक्तानी हुने मितिको एक कार्यदिन अगाडिदेखि भने दोस्रो बजार कारोबारबाट बचतपत्रको स्वामित्व हस्तान्तरण गर्न पाइने छैन ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई सरकारी ऋणपत्र तथा बचतपत्रको कारोबारका लागि बजार निर्माताका रूपमा इजाजत दिइनेछ । यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट जारी हुने बचतपत्रको बिक्री एजेन्टका रूपमा निश्चित प्रकृतिका कम्पनीलाई इजाजतपत्र दिन सकिने व्यवस्था पनि कार्यविधिमा राखिएको छ । “कार्यालयले बैंकबाट विप्रेषणको लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी र मनी ट्रान्सफर कम्पनीले बिक्री एजेन्टका रूपमा कार्य गर्न चाहेमा इजाजत दिन सक्नेछ”, कार्यविधिमा भनिएको छ ।

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, १० असोजः हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भागका केही स्थानमा हुरीको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क (अमेरिका), १० असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताउनुभएको हो । “धनी र गरिब मुलुकका बीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता रहेको छ । आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो,“प्राप्त स्रोत साधनबीच नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी सबैलाई आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्यका साथ काम गरिरहेको छ । हामी यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले मानिसलाई बिरामी भएपछि उपचार गर्ने भन्दा पनि बिरामी नै हुन नदिने गरी निरोगी नेपालको अभियान सञ्चालन गरिएको उल्लेख गर्नुहुँदै यो अभियान ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको एक अङ्ग भएको बताउनुभयो । “निरोगी नेपालको नीति र अठोटभित्र शुद्ध र सन्तुलित खानाका साथै बच्चैदेखि मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने सोच रहेको छ । विश्वमा आधुनिक चिकित्साको विकास हुनुपूर्व नेपालका पुर्खाहरूले परम्परागत र आयुर्वेदिक उपचार पद्धतिको विकास गरेका थिए”, उहाँले स्मरण गर्नुभयो ।

नेपालले मातृशिशु मृत्युदरमा उल्लेख गिरावट ल्याउनेलगायत सुधारका काम गरेको तर स्रोतसाधनको अपर्याप्तताका कारण हुनुपर्ने जति स्वास्थ पूर्वाधार विकास नभएको स्पष्ट गर्नुहुँै प्रधानमन्त्री ओलीको जिकिर थियो । “गुणस्तरीय र सहज जीवनयापनका लागि स्वस्थ्य रहनु अनिवार्य छ । त्यसैले दिगो विकासका लक्ष्यहरूको कार्यान्वयनका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भए पनि आधुनिक र पूर्वाधारसम्पन्न स्वास्थ्य सेवाका लागि अन्तर्राष्ट्रिय समुदायको साझेदारी आवश्यक छ”, उहाँले भन्नुभयो,“नेपालको स्वास्थ्य क्षेत्रमा सघाउन माउन्ट सिनाइ अस्पतालले तालिम, अनुसन्धान, स्रोत परिचालनमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आएकामा म धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

धुलिखेल अस्पतालका अनुसन्धान निर्देशक डा राजीव श्रेष्ठले नेपालमा ७० प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगका कारण हुने गरेको सन्दर्भमा एम्प्याथले मुटु, मिर्गाैला र क्यान्सरजस्ता रोगको उपचारमा विशेषज्ञ विधाहरू वृद्धि गरी सहकार्य गर्दै आएको जानकारी दिनुभयो ।

अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी

न्युयोर्क (अमेरिका), १० असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी हुनुभएको हो । न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ रहनुभएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।

आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो

काठमाडौँ, १० असोजः नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ ।

आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ । बुधवार अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा थियो ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ आठ पैसा छ । सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ३२ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

आजको विनियमयदरअनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा रहेको छ । यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३ रुपैयाँ ३५ पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ दुई पैसा र बिक्रीदर २० रुपैयाँ ११ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसामा कारोबार हुनेछ ।

आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय २९ रुपैयाँ २१ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६७ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

वाशिङ्गटन डिसी (अमेरिका), १० असोज : संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

न्युयोर्क (अमेरिका), १० असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताउनुभयो ।

समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुहुँदै उहाँले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । “हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ”, उहाँले भन्नुभयो,“ आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।”

यसैबीच प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गर्नुभएको छ । उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउनुहुँदै उहाँले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोडदार माग गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिनुभयो ।

विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक

अन्नपूर्ण (कास्की), ९ असोज : गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभएको छ । कास्कीको पोखरास्थित पुरानो पोखरा विमानस्थलमा विश्वखाद्य कार्यक्रम (डब्लुएफपी)ले निर्माण गरेको आपत्कालीन गोदाम घरको उद्घाटन कार्यक्रममा आज उहाँले विपद्मा मिलीजुली अगाडि बढ्नुपर्ने बताउनुभयो । मौसमको खराबीका कारण पोखरा आउन नसकेपछि गृहमन्त्री लेखकले गोदामघरको भर्चुअल रुपमा उद्घाटन गर्नुभएको थियो ।

“विपद् व्यवस्थापनको कार्यमा हामीले एकअर्कालाई सहयोग गर्नका लागि मिलीजुली अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “यस कार्यका लागि तीनैतहका सरकार, विकास साझेदार निजी क्षेत्र र मानविय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्था पुनःस्थापना, पुनःनिर्माणको चरणमा एक भएर अघि बढौँ । सम्भावित क्षति न्यूनीकरणका लागि हातेमालो गरौँ ।” 

जलवायु परिवर्तनबाट सिर्जित नकरात्मक प्रभावले गर्दा नेपालमा क्षतिको परिणाम बढ्दै गृहमन्त्री लेखकले बताउनुभयो । “सबैखालका प्राकृतिक एवं मानव सिर्जित विपद्को सामना गर्न पूर्वतयारीको आवश्यकता पर्दछ,” उहाँले भन्नुभयो, “पूर्व तयारीस्वरुप पछिल्लो आपतकालिन अवस्थामा विकास साझेदारका साथीहरूले सहयोग गर्दै आउनुभएको छ ।”

सरकारले आपतकालिन गोदामघर व्यवस्थापन कार्यविधि जारी तयारी गरिरहेका उहाँले बताउनुभयो । पोखरामा गोदाम घरमा स्थापनापछि तीन तहको सरकार, मानवीय सहायता कक्षमा कार्य गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू भण्डारण र वितरणमा जवाफदेही बन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । यसका लागि सरकारले जारी गर्न लागेको कार्यविधिले धेरै सहयोग गर्ने गृहमन्त्री लेखकले सुनाउनुभयो । 

गृहमन्त्री लेखकले वक्तव्य दिएर भर्चुअल रुपमा गोदामघरको उद्घाटन गर्नुभएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले प्रदेशले विपद् व्यवस्थापन कोष सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्दै राहत तथा उद्धारमा एकद्वार नीति अवलम्बन गर्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि युरोपियन युनियन (इयु)का राजदूत भेरोनिक लोरन्जोले विपद् जोखिमबाट हुने आपतकालिन अवस्थामा पोखरामा स्थापना गरिएको गोदामघर सहयोगी बन्ने धारणा राख्नुभयो । “पोखरा हिमालयले जती सुन्दर छ । त्यति नै जोखिम पनि छ”, उहाँले भन्नुभयो, “जोखिमबाट हुने आपत्कालीन अवस्थामा गोदामघरले सघाउनेछ ।” युरोपियन युनियन नेपालको विपद्जन्य घटनामा सधैँ साथ र सहयोग गर्न तयार रहेको राजदूत लोरेन्जोले बताउनुभयो । यसका लागि डब्लुएफपीका माध्यमबाट अघि बढिरहेको उहाँले सुनाउनुभयो ।

युरोपियन युनियनको एक लाख ६१ हजार अमेरिकी डलरको सहयोगमा बनेको उक्त केन्द्रको गत चैतमा कास्कीका तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शिलान्यास गर्नुभएको थियो । उक्त केन्द्रका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार रोपनी जग्गा उपलब्ध गराएको थियो । 

गोदाम घरमा राहत सामग्री, उद्धारका उपकरण, खाद्यान्न, जेनेरेटरलगायत सामग्री राखिएको गोदाम घर पोखराका बन्दोबस्ती सम्पर्क व्यक्ति रतिन्द्र खत्रीले बताउनुभयो । गण्डकीमा आइपर्ने मानवीय सङ्कटका बेला यो गादाम घर उपयोगी हुने उहाँको भनाइ छ ।विपद्को समयमा सङ्कलन हुने राहत सामग्रीको अभिलेख राख्ने, सहजीकरण गर्ने र उद्धार एवं राहत वितरणलाई छरितो बनाउनका लागि गोदाम घरमार्फत काम हुने खत्रीले बताउनुभयो । 

बीआरआई परियोजनालाई राष्ट्र र जनताको हितमा सदुपयोग गर्न गहन चिन्तन गरौँः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) लाई नेपाल राष्ट्र र जनताको अधिकतम् हितमा सदुपयोग गर्ने सन्दर्भमा गहिरो चिन्तन गर्न जरुरी रहेको बताएका छन् ।


चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)को सहकार्यमा नेपाल–चीनमैत्री युवा सङ्घ र फ्रेण्डसीप फोरम फर नेप्लिज जर्नालिष्टले बुधबार आयोजना गरेको ‘बीआरआई अवसर र चुनौती’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले उक्त परियोजनालाई नेपाल र नेपाली जनताको भाग्य र भविष्यसँग जोड्नुपर्ने बताए ।


“पूर्वाधार विकास, कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआइले जोड दिएको छ”, अध्यक्ष दाहालले भने, “सो परियोजनामार्फत नेपाल र चीनले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेमा आशावादी हुनसक्ने प्रशस्त सम्भावना छन् ।” उनले आगामी दिनमा ऊर्जा, सडक, पुल, रेल सम्पर्क विस्तारलगायत ठूला परियोजनामा नेपाल र चीनबीच साझेदारी हुने विश्वास व्यक्त गरे ।


अध्यक्ष दाहालले बीआरआई परियोजनाबाट दुवै मुलुकले प्रशस्त लाभ लिनसक्ने जनाउँदै त्यसका लागि दुवै पक्षबाट इमान्दारिता, निरन्तर प्रयास र उच्चस्तरको समझदारी आवश्यक रहेकामा जोड दिए ।

“नेपालले पूर्वाधार विकासका क्षेत्रमा बीआरआईमार्फत् सडक, रेलमार्ग, ऊर्जा र सञ्चार पूर्वाधारमा धेरै लगानी पाउन सक्छ । यसबाट नेपालको भौतिक पूर्वाधारमा गुणस्तरीय सुधार ल्याउन र व्यापारिक मार्गलाई थप सुलभ बनाउन मद्दत पुर्याउँछ”, उनले भने ।


बीआरआईले पूर्वाधार विकास, व्यापारिक सम्भावना विस्तार र क्षेत्रीय सम्पर्कका नयाँ अवसर प्रदान गर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले परियोजना कार्यान्वयनका क्रममा आउने चुनौतीलाई आपसी समझदारी र छलफलबाट समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।  नेपाली जनताको समृद्धिको चाहना पूरा गर्ने उद्देश्यका साथ नेपाल बीआरआई परियोजनामा सहभागी भएको जनाउँदै उनले आपसी सहयोगका क्षेत्र विस्तार गरी दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउन आफूहरू लालायित रहेको स्पष्ट पारे ।

नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले बीआरआई परियोजनामार्फत मुलुकको आर्थिक अवस्था सुदृढीकरण, रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण र नवप्रवर्द्धनलाई प्रोत्साहन गर्ने योजना छनोट गरिनुपर्ने बताए ।

“यो परियोजना मुलुकको आर्थिक अवस्था उकास्न सदुपयोग हुनुपर्छ, प्रत्येक वर्ष श्रम बजारमा आउने पाँच लाख युवा जनशक्तिलाई लक्षित गरेर योजना छनोट गर्नुपर्छ”, उनले भने, “नेपालमा ठूला परियोजनामा लगानी नजुटिरहेको अवस्थामा बिआरआइलाई स्रोतका रुपमा रुपान्तरण गर्नुपर्छ ।”


नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले चीनले अघि सारेको बीआरआई परियोजना मूलतः पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार तथा सामाजिक आर्थिक रुपान्तरणमा केन्द्रित रहेको बताए ।

नेपालमा सो परियोजना कार्यान्वयनमा ढिलाइ हुनुका पछाडि राजनीतिक मतभिन्नता प्रमुख देखिएको उल्लेख गर्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्रित्वकालमा कार्यान्वयन सम्झौता अघि बढाउने तयारी भए पनि तत्कालीन सत्ता घटकका कारण अन्योल पैदा भएको स्पष्ट पारे ।


नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जगन्नाथ खतिवडाले उक्त परियोजनाअन्तर्गत ऋण कि अनुदान सहायता कुन लिने भन्नेमा मुलुक स्पष्ट हुनुपर्नेमा जोड दिँदै मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्झौता गर्नुपर्ने बताए ।

“परियोजनामा सम्झौता भएपछि ३५ योजना छनोट गर्यौं, पछि त्यसलाई नौ वटामा झर्यौं, तीमध्ये दुई आयोजना अर्को छिमेकीको जिम्मा लगायौँ, बाँकी सात परियोजना पनि कार्यान्वनमा जान सकेका छैनन्”, उनले भने ।


वरिष्ठ कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले पछिल्ला समय बीआरआई परियोजना ‘चिनियाँ ऋणको पासो’ हो भन्ने भाष्य जबर्जस्त सिर्जना गर्न खोजिएको भए पनि वैदेशिक ऋणको तथ्य केलाउँदा त्यस्तो नभएको दाबी गरे । “चीनले सो परियोजनाका लागि सकभर अनुदान देओस्, नभए अन्य दातृ निकायका ब्याजदर भन्दा नबढ्ने गरी सहुलियत ऋण दिए पनि हुन्छ”, उनले भने, “सो परियोजना नेपाल र नेपालीको हितमा छ, तत्काल कार्यान्वयन प्रक्रियामा जानुपर्छ, कुनै बहानामा कार्यान्वनलाई ढिलाई गर्नु हुँदैन ।”


नेकपा (माले)का महासचिव सिपी मैनालीले पूर्वाधार निर्माणमा जोड दिएको सो परियोजना कार्यान्वयन गरेर जानु उपयुक्त हुने धारणा राखे ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले चीनसँग भएका सम्झौता तथा समझदारी कार्यान्वयमा नेपाल सरकार तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिँदै बीआरआई परियोजना नेपाल र नेपालीको हितमा अघि बढाइनुपर्ने बताए ।


बीआरआई चीनका राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सन् २०१३ मा सुरु गरिएको महत्त्वपूर्ण विश्वव्यापी परियोजना हो । यस परियोजनाले पूर्वाधार विकास, व्यापार विस्तार र अन्तरदेशीय सम्पर्क सञ्जाललाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

नेपाल र चीन दुवै देशले सन् २०१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका तर्फबाट बीआरआई परियोजना समझदारीमा हस्ताक्षर गरेका थिए ।

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट

काठमाडौँ, ९ असोज : इन्डोनेसियाको भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ ।मन्त्री पौडेल इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरूको १२औँ उच्चस्तरीय बैठक तथा पाँचौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेक्रममा त्याहाँ पुग्नुभएको हो ।

भेटमा उहाँहरूबीच नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । भेटमा मन्त्री पौडेलले नेपालका चिकित्सकहरूले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताउनुभयो ।

माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यहाँका मेडिकल अन्डरग्रयाजुएटलाई पोस्ट ग्रयाजुएट शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न प्रस्ताव गर्नुभएको थियो ।

जवाफमा मन्त्री पौडेलले यसबारे आवश्यक तयारीपछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरूको बैठकमा मन्त्री पौडेलले बिहीबार सम्बोधन गर्ने तालिका छ । मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ कार्यक्रमका लागि मंगलबार राती त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

आतिशीको नेतृत्वमा दिल्ली सरकारले कामदारहरूको न्यूनतम पारिश्रमिक बढाउने निर्णय

दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपैयाँ प्रति महिना बढाउने निर्णय गरेको छ ।दिल्लीका मुख्यमन्त्री आतिशी र श्रम मन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिनुभएको छ ।

आतिशीले भन्नुभयो, “पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सधैं गरिबहरूको विरुद्धमा काम गरेको छ । उदाहरणका लागि, जब सन् २०१६–२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउने कुरा ग¥यो, तब भाजपाले हामीलाई रोक्यो । अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको भाजपाले कडा विरोध ग¥यो तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्यायो ।”

अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक

अफगानिस्तानको तालिबान सरकार ब्रिक्स आर्थिक सम्मेलनमा सहभागी हुन उत्सुक रहेको मङ्गलबार सरकारको एक प्रवक्ताले बताउनुभयो । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित उदीयमान अर्थतन्त्रहरूको शिखर सम्मेलन अक्टोबर २२-२४ मा रुसको दक्षिणपश्चिमी सहर कजानमा हुनेछ ।

“विश्वको सबैभन्दा ठूला अर्थतन्त्र भएका ब्रिक्ससँग सम्बन्धित देशसँग हाल हाम्रो राम्रो आर्थिक र व्यावसायिक सम्बन्ध छ । हामी हाम्रो सम्बन्ध थप विस्तार गर्न र ब्रिक्सको आर्थिक सम्मेलनमा भाग लिन उत्सुक छौं “, सरकारका उप प्रवक्ता हमदुल्ला फितरातले भन्नुभयो । तालिबान अधिकारीहरूलाई कुनै पनि देशले आधिकारिक रूपमा मान्यता दिएको छैन तर चीन र रुसलगायत संस्थापक ब्रिक्स राष्ट्रहरूसँग भने यसको सम्बन्ध बढ्दै गएको छ ।

हालै इरान, संयुक्त अरब इमिरेट्स, इजिप्ट र इथियोपियालाई समावेश गरेर विस्तार गरेको सङ्गठनले तालिबान सरकारको टिप्पणीमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन ।
मस्को र बेइजिङ दुवैले अफगानिस्तानमा व्यावसायिक परियोजनामा लगानी गर्न र इस्लामिक स्टेट समूहको अफगानिस्तान शाखा ‘इस्लामिक स्टेट खोरासन’ विरुद्धको लडाइँमा तालिबान अधिकारीलाई सहयोग गर्न आफु तयार रहेको बताएका छन् ।

आइसिसी’को वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौँ, ९ असोजः अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीको नयाँ वरियताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो । क्यानडामा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमान र क्यानडाविरूद्धको खेलमा नेपाल जितविहीन बनेको थियो ।

नेपालभन्दा तल नामिबिया १८औँ स्थानमा छ भने ओमान १९औँ स्थानमा छ । त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) २०औँ स्थानमा छ । यसैगरी नेपालभन्दा माथि अमेरिका रहेको छ । अमेरिकाले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लेको हो । क्यानडाले चार स्थान सुधार गर्दै १५औं स्थानमा पुग्यो ।

नयाँ वरियताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । त्यसैगरी पाकिस्तान चौथो, न्यूजील्याण्ड पाँचौँ, श्रीलङ्का छैटौँ, इङ्ग्ल्याण्ड सातौँ, बङ्गलादेश आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज दशाँै स्थानमा छ । स्कटल्यान्ड एघार, आयरल्यान्ड बाह्र, जिम्बाब्बे तेह्र र नेदरल्याण्ड्स चौधौँ स्थानमा छ । 

त्यसैगरी आइसिसीले जारी गरेको ‘अलराउन्डर’तर्फको वरियतामा नेपालका सन्दीप लामिछाने २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औँ स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औँ स्थानमा उक्लिएका छन् ।

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ तथा सोमपाल कामी ५३औँ स्थानमा छन् । आइसिसीले जारी गरेको बलिङतर्फको वरियतामा भने सन्दीप ४८औँ स्थानमा यथावत् रहेका छन् । करणले चार स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औँ स्थानमा पुगेका छन् । यसैगरी कुशल भुर्तेल चार स्थान तल झर्दै ८०औँ स्थानमा रहेका छन् । 

सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक, ९ असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा सञ्चालन गर्ने बताउनुभएको छ । निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको आज अनुगमन निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आवश्यक बजेट व्यवस्थापनगरी पूर्ण रुपमा सञ्चालनमा ल्याउनेगरी योजना बनाउने बताउनुभयो ।

“मन्त्रालय अब सेक्युरिटी प्रेस पूर्ण रुपमा चलाउनेगरी अघि बढ्नेछ, प्रेस सञ्चालन गर्न देखिएका बिघ्नबाधा, तगारा जेजे छन् हटाउँदै अघि बढ्नेछौँ”, उहाँले भन्नुभयो । प्रेस उपकरण खरिदमा देखिएको विविध समस्याबारे अख्तियारबाट अनुसन्धान भइरहेको विषयलाई चाँडै टुङ्ग्याइ अघि बढ्ने उहाँले बताउनुभयो । 

मन्त्री गुरुङले निर्माणाधीन गोदाम भवनलगायत अन्य निर्माणाधीन संरचना पूरा गर्न अर्थ मन्त्रालयसँग समन्वयगरी चाँडै बजेट व्यवस्थापनमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै मुलुकमा सुरु गरिएको सेक्युरिटी प्रेस निर्माणलाई निरन्तरता दिनुपर्छ, यसका लागि अर्थ मन्त्रालयसँगको समन्वयमा चालु आर्थिक वर्षमा केही र आउँदो आवमा नीति कार्यक्रम बनाएरै बजेट विनियोजनगरी ‘फूलफेज’मा सञ्चालनमा ल्याइनेछ ।” उहाँले प्रेसमा रहेका मेसिनको संरक्षणगरी सञ्चालनार्थ जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो । 

मन्त्री गुरुङले उक्त प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याएपछि पहिलो चरणमा हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र छाप्नेगरी दोस्रो चरणमा राहदानी र बैंक नोट छाप्नेगरी योजना बनाइने बताउनुभयो । “क्रमशः नेपालीका लागि आवश्यक छपाइसँग जोडिएका सबै छपाई यही गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

सूचना प्रविधि पार्क (आइटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही वर्षअघि केन्द्रमा परिणत गरिएको थियो । उक्त प्रेसको भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम बजेट अभावमा एक वर्षदेखि रोकिएको थियो । केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे पनि रङरोगन र झ्याल–ढोका हाल्ने कामसमेत रोकिएको हो । केन्द्रमा आवश्यक गोदामघरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो । पचास मिटर लम्बाइ र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चापदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ ।

गत आर्थिक वर्षमा बजेट विनियोजन नभएका कारण थप भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम रोकिएको हो । केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमुना छपाइ गरिएको थियो । हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिनेछ । अघिल्लो आर्थिक वर्षको रु ७३ करोड बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरिद गरिएको हो । केन्द्रमा एक थान ‘डाई कटिङ मेसिन’ रहेको छ । अन्य तीन थान मेसिन जडान गर्न बाँकी रहेको जनाइएको छ । 

केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि पाँच वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई आइटी पार्कमा प्रेसको काम सुरु गरिएको हो । प्रेसको काम थाल्न आर्थिक वर्ष २०७६÷७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको सुरुआत गरिएको हो । केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो । 

पार्कभित्रै खानेपानीका लागि एक÷एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी निर्माण, छापाखानाका लागि आवश्यकपर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण सम्पन्न भइसकेका छन् । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट बार्षिक रुपमा बाहिरिने रु १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि दुई सय प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकतापर्ने जनाइएको छ । 

विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आइटी पार्क निर्माणकार्य सम्पन्न भई २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल दुई सय ५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई वटा ठूला व्यापारिक/प्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन थिए् । तत्कालीन समयमा दक्षिण एशियामै नमुना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । हाल एक कर्मचारीले प्रेस भवन रेखदेख गरेर बसेका छन् । 

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज (पर्सा), ९ असोजः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली कांग्रेस पर्सा कार्यालयको आज यहाँ समुद्घाटन गर्दै उहाँले सम्पूर्ण जातजाति, आदिवासी, मधेसी, महिला, थारु र मुस्लिमलगायत सबै समुदाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“सबै जातजाति, धर्म, संस्कृतिलाई मिलाएर अघि बढ्नु आजको आवश्यकता हो”, सभापति देउवाले भन्नुभयो, “यो कामका लागि नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्दछ । मलाई विश्वास छ । यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नेछौँ ।” 

कांग्रेसका सभापति देउवाले फरक प्रसङ्गमा पर्सा जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध निकै गहिरो रहेको स्मरण गर्नुभयो । “पर्सा जिल्ला एउटा यस्तो ऐतिहासिक जिल्ला हो । विसं २००७ को क्रान्ति यही ठाउँबाट सुरु भएको हो । थिरबम मल्ल सहिद भएको पनि पर्सा जिल्लामा नै हो”, उहाँले भन्नुभयो, “वास्तवमा भन्ने हो भने म सुदूरपश्चिमबाट काठमाडौँ आउँदाखेरी यही जिल्ला हुँदै आएको पनि छु । सुदूरपश्चिमबाट भारतीय रेल चढेर सुगौली हुँदै पर्सा आइपुगेको थिए । पर्सा जिल्लाबाट फेरि बस चढेर काठमाडौँ गएको व्यक्ति पनि हुँ ।” 

कांग्रेस सभापति देउवाले विद्यार्थी सङ्घको अधिवेशन गराउन पर्सा आउँदाखेरी यहाँको जेलमासमेत बस्नुपरेको स्मरण गर्नुभयो । “नेपाल विद्यार्थी सङ्घको अधिवेशन गराउन आउँदा जेलसमेत परेको थिए । यो जिल्ला मेरा निम्ति पनि निकै महत्त्वपूर्ण छ । यो जिल्लाको विकास र समृद्धिको लागि सबै साथीहरू एकताबद्ध भएर अघि बढ्नुहोला”, उहाँले भन्नुभयो, “यो जिल्लाको विकास र समृद्धिका लागि मेरोतर्फबाट गर्न सकिने सबै खालका सहयोग गर्न तयार छु ।”

कांग्रेस सभापति देउवाले पर्साका स्वर्गीय आत्मराज ओझा र दुखा सहनीको धेरै ठूलो त्याग र तपस्या रहेको पनि स्मरण गर्नुभयो । ‘‘उहाँहरुको योगदान र तपस्या निकै ठूलो छ । उहाँहरूकै स्मृतिमा भवन निर्माण गर्नु पक्कै पनि राम्रो कार्य हो”, उहाँले भन्नुभयो । 

कांग्रेस सभापति देउवाले विगतको तुलनामा अहिले सडक र बाटाघाटाको निर्माणमा कनेक्टिभिटिमा पनि सहज भएको बताउनुभयो । “नेपालमा यातायातको साधनको पहुँच वृद्धि भएसँगै एउटा जिल्लाबाट अर्काे जिल्ला मात्रै नभएर एउटा क्षेत्रबाट अर्काे क्षेत्रमा पनि जान पनि सहज भएको छ”, उहाँले भन्नुभयो, “पहिला जस्तो सीमित सडक छैन । अहिले यहाँबाटै पूर्वमा झापा र सुदूरपश्चिमको महेन्द्रनगरसमेत जान सकिने अवस्था भइसकेको छ ।” 

नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका वडा नं २४ मा निर्माण गरेको आत्मराम ओझा, दुख सहनी स्मृति भवनको उद्घाटन गरिएको हो । सोही भवनमा पार्टी कार्यालय सञ्चालन गरिनेछ । नेपाली कांग्रेस पर्साकाअनुसार सो भवन रु एक करोड २९ लाख लागतमा निर्माण गरिएको हो ।

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिमा समावेशगरी अघि बढाउने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयमा बुधबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले अर्थ मन्त्रालयले एक दिनमा गर्ने कार्यक्रममा पनि न्यूनतम साझा कार्यक्रममा उल्लेखित विषयलाई समावेशगरी कार्यान्वयन गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।

असोज २ गते कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको थियो । सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको न्यूनतम कार्यक्रम पारितगरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढाउनेलगायत विषय छन् । बैठकले एक सय दिनमा सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तरमन्त्रालय समन्वय, राजस्व परिचालन, पुँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेटको कार्यान्वयनलगायत विषयहरूलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ ।

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

काठमाडौँ, ९ असोजः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनुभएको छ । चीनको राजधानी बेइजिङमा आयोजित ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’ लाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताउनुभयो ।

नेपालको भौगोलिक अवस्थाअनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्त्व रहेको उल्लेख गर्दै उहाँले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

यातायात पूर्वाधार विकासबाट आमनागरिकको जीवनयापन र आवागमनमा सहजता पुग्नेमात्र नभई नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले मुलुकभित्र तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले व्यवस्थित सहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नमा पनि योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । 

अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी गराउनुभयो । यसका लागि विद्युतीय सवारीको आयातमा राजस्व सहुलियतसहित यससम्बन्धी पूर्वाधार निर्माणका कार्य अगाडि बढाइएको, मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने उहाँको भनाइ छ । 

आजदेखि सुरु भएको ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’को कार्यक्रममा नेपाललगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधिमण्डलको सहभागिता छ । नेपालकोतर्फबाट अर्थमन्त्री पौडेलसहित चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईलगायत अधिकारीहरू सहभागी हुनुहुन्छ ।

आशिका तामाङलाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी

भक्तपुर, ९ असोज : सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताउनुभयो ।

नगरपालिकाले आज पत्रकार सम्मेलनगरी वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्नेगरी विगत तीन वर्षदेखि सञ्चालनमा ल्याएको झोलुङ्गे पुल चढेबापत पैसा लिएको भन्दै यही असोज ७ गते अभियन्ता भन्ने तामाङको नेतृत्वमा गएको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको प्रवक्ता सापकोटाले  बताउनुभयो ।

“युट्युबलाई कमाई खाने भाँडो बनाउने उदेश्यले आफूलाई स्वघोषित सामाजिक अभियन्ता बताउने आशिका तामाङसहितको छ, सात जनाको टोलीले नगरपालिकाको सम्पत्ति माथि चक्कु, कैँची, पेञ्चिस, घनलगायत घरायसी हतियारको प्रयोगगरी ब्यानर च्यात्ने, टिकट जलाउने र झोलुङ्गे पुलको संरचना तोडफोडगरी भत्काएको छ”, नगरपालिकाका प्रवक्ता सापकोटाले भन्नुभयो, “त्यो ताण्डव सार्वजनिक सम्पत्ति माथि गर्न पाइँदैन, वास्तविकता र ऐन, कानुन नबुझी जनतालाई भ्रम फैलाएर तोडफोड गर्ने तामाङसहितको टोलीलाई तत्काल पक्राउगरी कारबाही गर्न नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ ।” 

पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले वडा नं ९ बाट १० मा प्रवेश गर्ने पुल एकमात्र विकल्पको बाटो होइन, पैदल जान पनि सहज भएको बताउनुभयो । उहाँले त्यो झोलुङ्गे पुल पर्यटन प्रवद्र्धनकै लागि बनाइएकाले शुल्क लिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि शिव सर्किट बनाउँदै छौँ, त्यो पुल त्यस क्षेत्रमा पर्यटक भित्र्याउन बनाइएको हो, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, चलचित्र, म्युजिक भिडियो, टिकटिकलगायत भिडियो निर्माण गर्ने उद्देश्यले नगरपालिकाले उक्त झोलुङ्गे पुल निर्माणगरी सञ्चालनमा ल्याएका हौँ ।” 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानुनसम्मत शुल्क लिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिए अनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौँ । पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ ।”

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिनेगरी ठेक्कामा लगाएको थियो । नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु ३४ लाखमा र आव ०८०/०८१ लागि रु ३९ लाखमा ठेक्का लगाएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । ठेक्काबाट सङ्कलित रकममा नगरपालिकाले रकम थप गरेर त्यस क्षेत्रमा थप पर्यटकीय संरचना निर्माण गर्दै आएको उहाँको भनाइ छ ।

नगर प्रमुख थापाले स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क गरिएको र सूर्यविनायकका बासिन्दाका लागि शुल्कमा ५० प्रतिशत छुट गरिएको जानकारी दिनुभयो । प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाको मङ्गलबार बसेको १७५औँ कार्यपालिकाको बैठकबाट निर्णयगरी जोहरी दिएको जनाएको छ । 

मनाङमा फस्टाउँदै बेमौसमीखेती,लमजुङ हुँदै अन्यत्र निकासी गर्न थालियो

मनाङ, ९ असोज : खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ फेरिँदै गएको छ । कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषिउपज उत्पादन हुन थालेका छन् । यहाँ विभिन्न प्रजातिको तरकारी उत्पादन हुन थालेपछि लमजुङ हुँदै अन्यत्र निकासी गर्न थालिएको छ ।

समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमामात्र नभई तीन हजार पाँच सय ४० मिटर उचाइमा पर्ने ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मूला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ ।तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

मनाङका चारवटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । अर्कोतर्फ चिन्ता पनि बढाएको छ । विश्वव्यापी तापक्रम वृद्धिले हिमपात कम भएर रैथाने बालीनाली लोप हुने अवस्थामा पुगेको छ । रैथाने बालीनालीको स्वाद र गुणस्तर खस्किँदै गएको किसानको चिन्ता छ ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ भन्नुहुन्छ, “पहिले टनेलमा तरकारीखेती गरिन्थ्यो । बाहिरबाट आयात गर्नुभन्दा यही थोरै भए पनि उत्पादन गर्ने गरेका थियौँ । अहिले टनेलबिना तरकारी उत्पादन हुन थालेको छ ।” उहाँका अनुसार हाल माथिल्लो मनाङमा  टनेलबिना बन्दाकोपी, काउली, गोलभेँडा, गाँजर, मूला, धनियाँलगायत तरकारीखेती हुँदै आएको छ । 

नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङ भन्नुहुन्छ, “अहिले त स्याउ मात्रै तीन÷चारथरी फल्न थालेको छ । पहिला जस्तो हिउँ पर्दैन । पानी र गर्मी अलि बढ्न थालेको छ । यस्तो हुँदा स्याउसहित अन्य बालीको स्वाद फेरिँदै गएको छ ।” आलुको स्वाद पहिलेको जस्तो नरहेको उहाँको अनुभव छ ।

स्याउ, मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, गहँु, कोदो, राजमा जस्ता कृषिउपज मनाङका रैथाने बालीनाली हुन् । समयअगावै फूलफूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयवासीले गर्न थालेका छन् । मनाङका अधिकांश किसान परम्परागत खेतीपाती छाड्दै व्यावसायिक स्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मी बताउनुहुन्छ । 

जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उहाँले भन्नुभयो, “रैथाने बालीको बीउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँग सहकार्यमा जुटेका छौँ ।”

मौसम परिवर्तनले कतिपय पुराना बालीको उत्पादकत्व घट्न थालेको अनुभव सुनाउने आगन्तुकले विकल्प खोज्दै आफ्ना भेगमा नयाँ फल÷बिरुवातर्फ चासो लिने गरेको केन्द्रकी बागवानी विकास अधिकृत शोभा शर्माले बताउनुभयो । “विगतमा स्याउ राम्रोसँग नफलेका ठाउँमा तापक्रम अनुकूल हुँदा फल राम्रो लाग्न थालेपछि स्याउका बिरुवाको माग बढ्न थालेको छ”, शर्माले भन्नुभयो । 

उपभोक्ता मूल्य सूचकाङ्क गणनाका आधार वर्ष फेरियो

काठमाडौँ, ९ असोज : नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क गणनाको आधार वर्ष फेरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर राष्ट्र बैङ्कले आधार वर्ष फेरेको हो ।
नयाँ मूल्य सूचकाङ्कमा एक सय ३६ नयाँ वस्तु थपिएको छ । राष्ट्र बैङ्कले आज पत्रकार सम्मेलन गरेर नयाँ सूचकाङ्कअनुसार पाँच सय २५ वस्तु कायम रहने जानकारी गराएको हो ।

यसअघि राष्ट्रबैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै आएको थियो । राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले नयाँ मूल्य सूचकाङ्कमा राष्ट्र बैङ्कको प्रयोगमा नआएका एक सय छ वस्तु हटाएर एक सय ३६ नयाँ वस्तु थप गरिएको जानकारी दिनुभयो । 

निर्देशक भट्टले भन्नुभयो, “यसअघि उपभोक्ता मूल्य सूचकाङ्कको बास्केटमा ४८० वस्तु रहेको थियो, अब नयाँ सूचकाङ्कमा ५२५ वस्तु कायम गरिएको छ ।” उहाँले अब कतिपय वस्तुहरूका समूहसमेत परिवर्तन गरिएको जानकारी दिनुभयो । 

नयाँ मूल्य सूचकाङ्कले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने भन्दै उहाँले अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने दावी गर्नुभयो । राष्ट्र बैङ्कले राष्ट्रिय तथ्याङ्क कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क विभागको सहयोगमा १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गरौँ भनेको निर्देशक भट्टले बताउनुभयो । नयाँ मूल्य सूचकाङ्क सार्वजनिक भएपछि तथ्याङ्कलाई थप पारदर्शी र यथार्थपरक बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिको तथ्याङ्क र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्नका लागि नयाँ तथ्याङ्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

“नेपाली  बजारका वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैङ्कले सार्वजनिक गर्ने तथ्याङ्क नमिल्ने भन्ने गुनासो आउनु स्वाभाविक हो, कहिलेकाहीँ कुनै घटनाले तथ्याङ्कअनुसार मूल्य मिल्दैन,” उहाँले भन्नुभयो, “जस्तो केही कारण काठमाडौँ छिर्ने मालवाहक सवारी साधन रोकियो कुनै पनि सामानको मूल्य बढ्न गई त्यसको ‘रिफलेक्सन’ राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिँदैन ।” 

वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि

वीरगञ्ज (पर्सा), ९ असोजः चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ । चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने तीन सय छ वटा जिप, कार र भ्यान आयात भएको थियो ।

आव २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४ दशमलव ८४ प्रतिशतले आयात घटेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको दुई महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको बताउनुभयो । 

“गत आवको तुलनामा चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इलेक्ट्रिक सवारीसाधन दुवैको आयात घटेको छ”, उहाँले भन्नुभयो, “इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज भन्सार नाका भन्दा उत्तरी नाकाबाट धेरै भित्रिएको छ । यो नाकाहुँदै सवारीसाधनको  समग्र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ ।”

चालु आव २०८१/८२ को भदौ मसान्तसम्ममा रु छ करोड एक लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन् । आव २०८०/८१ को सोही अवधिमा रु १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए । गत आवको तुलनामा चालु आवमा छ दशमलव ९० प्रतिशतले आयात घटेको हो ।

चालु आवको भदौ मसान्तसम्ममा रु छ करोड दुई लाख २६ हजार मूल्यपर्ने २८ वटा ट्रक, मिनीट्रक आयात भएको छ । गत आवको सोही अवधिमा रु १६ करोड ८० लाख ८१ हजार मूल्यपर्ने ६८ वटा ट्रक, मिनीट्रक आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ट्रक र मिनीट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो । 

चालु आवको दुई महिनामा आठ करोड दुई लाख ३२ हजार मूल्यपर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा रु नौ करोड ९३ लाख आठ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा  ५५ दशमलव ८१ प्रतिशतले आयात घटेको छ । 

चालु आवको भदौ मसान्तसम्ममा रु १७ करोड २४ लाख चार हजार मूल्यपर्ने ७६ वटा मिनिबस र माइक्रोबस आयात भएको छ । गत आवको सोही अवधिमा रु सात करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनीबस र माइक्रोबस आयात भएको थियो । चालु आवको दुई महिनामा गत आवको तुलनामा मिनिबस र माइक्रोबसको आयात एक २३ दशमलव ५३ प्रतिशतले बढेको छ ।

चालु आवको सुरुवाती दुई महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुईपाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ । चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज भन्सार हुँदै रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्यपर्ने रु १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्यपर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा मोटरसाइकलको आयात ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

भरतपुर महानगरमा खोला किनाराका भवन डोजर लगाएरभत्काउन सुरु

काठमाडौँ । चितवनको भरतपुर महानगरले खोलाको सिमानामा बनेका घर तथा भवन भत्काउन सुरु गरेको छ । भरतपुर महानगरले खोलाको सिमानाभित्र रहेका भौतिक संरचना हटाउन ३५ दिने सुचना निकालेको थियो । तर, बेवास्ता गरेकाले डोजर लगाएर भत्काउन सुरु गरेको महानगरकी मेयर रेणु दाहालले जानकारी दिइन् ।

उनले सार्वजनिक जग्गाहरूमा भौतिक संरचना निर्माण गर्ने र व्यवसाय सञ्चालनको लागि भाडामा दिने गरेको पाइएको दाबी गरेकी थिइन् । जसमा पुङ्गी खोलाको सिमाङ्कन महानगरको ११ नम्बर वडाको गणेश थानदेखि रामघाटसम्म करिब साढे ५ किलोमिटर क्षेत्रको खोला किनारको भवन भत्काउन लागिएको हो ।

महानगरले नारायणगढ बजारको मुटुमा रहेको लायन्स क्लबको भवन पुगी खोलाको क्षेत्रमा निर्माण भएकाले भत्काएको छ । करिब ५५ सालमा निर्माण भएको उक्त भवन लायन्स क्लबको आफ्नै भबन हो ।

उक्त खोलाको सिमाङ्कन नापी गर्ने क्रममा धेरै घरहरू परेका छन् । खोलाको सिमाङ्कन गर्ने क्रममा खोलाको वरपर कति मिटर छाड्ने भन्ने यकिन नभएको महानगरका नापी अधिकृत विकास देवकोटाले बताए ।

महानगरले रातो पुर्जा नभएको र खोलाको सिमाना मिचेर बनेका घर टहरा सबै हटाउने जनाएको छ । लायन्स चोकबाट परिचित उक्त स्थानको लायन्स क्लबको भवन भत्किएपछि लायन्सको अस्तित्व मेटिने चिन्ता व्यक्त गरिएको छ ।

मोरङमा इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुदा करोडौंको क्षति

मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुदा करोडौंको क्षति भएको छ । बुधबार दिउँसो मुनालपथमा रहेको इलेक्ट्रिक मोटरसाइकल र बाईक विक्री गर्ने भव्या इन्टरनेशनलमा आगलागी भएको थियो । कोशी राजमार्गमा पर्ने सो पसलमा इलेक्ट्रिक बाइक मर्मत गर्ने क्रममा आगलागी भएको बताइएको छ ।

आगलागीबाट इलेक्ट्रिक बाइक, स्कुटी, व्याट्री लगायतका सामग्रीहरु जलेको र करिब डेढ करोड रुपैया बराबरको क्षति भएको सो पसलका सञ्चालक मनिष बंशलले जानकारी दिनुभयो । नेपाल प्रहरी, नगर प्रहरी र नेपाली सेनाको सहयोगमा विराटनगर महानगरनगरपालिकाको ३ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने

काठमाडौं। २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शन भई सुपरहिट भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

‘सिनेमाघर’मा हालै रिलिज भएको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका छन् ।

यस चलचित्रमा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ। प्रेम शुभ ज्योतिषीय समयमा जन्मिएका थिए र भविष्यमा राजा हुने भविष्यवाणी गरिएको थियो। तर, यी सबैको बीचमा उनी आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीसँग जुध्न बाध्य हुन्छन्, जुन थियो उनको प्रेम।

‘प्रेम गीत ३’ रिलिजसँगै सिनेमाघर एपले नयाँ ठूलो अपडेट ल्याएको छ, जसअनुसार यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्महरूमा रहेकोमा अब चलचित्रहरू ल्यापटप र डेस्कटपमा वेब ब्राउजर मार्फत पनि हेर्न सकिनेछ । साथै, फोनपे क्युआर कोड मार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ। सिनेमाघरका सिइओ सागर खरेलका अनुसार, नेपाली भाषा विकल्प र २४ घण्टा प्राविधिक सहयोगको सुविधा पनि छिट्टै उपलब्ध गराइनेछ।