`

चीनमा पहिलो उच्च भोल्टेज एसी / डीसी हाइब्रिड पावर ग्रिड परियोजना सुरु

चीनले बुधबार जियाङ्सु प्रान्तमा आफ्नो पहिलो उच्च भोल्टेज अल्टरनेटिङ्ग करेन्ट (एसी) र डाइरेक्ट करेन्ट (डीसी) हाइब्रिड पावर ग्रिड परियोजनाको निर्माण सुरु गरेको छ ।
यस परियोजनाले ह्वाईआन र दान्याङका दुई शहरहरूलाई जोड्नेछ । लगभग २२८ किलोमिटर डीसी प्रसारण लाइनहरू अवस्थित पावर ग्रिडमा थप्नेछ । यसको दुवै छेउमा दुई प्लस–माईनस दुई सय केभी कन्भर्टर स्टेशनहरू निर्माण गरिने छ ।

सन् २०२६ मा सम्पन्न भएपछि उक्त आयोजना सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।चीनको वर्तमान मुख्य पावर ग्रिड मुख्यतया एसी पावर ग्रिडहरू मिलेर बनेको छ । यद्यपि, एसी ट्रान्समिशनको तुलनामा समान भोल्टेज स्तरमा डीसी प्रसारणले ठूलो मात्रामा पावर पठाउन सक्छ ।

एक पटक सञ्चालनमा आएपछि उक्त परियोजनाले जियाङ्सुमा उत्तर–देखि–दक्षिण पावर ट्रान्समिशनको दबाबलाई उल्लेखनीय रूपमा कम गर्नेछ । यस परियोजनाले हाइब्रिड ग्रिड प्रविधिहरूको प्रयोगलाई थप विस्तार गर्ने र स्वच्छ, कम कार्बन, सुरक्षित र कुशल ऊर्जा प्रणालीको विकास गर्न मद्दत गर्नेछ ।चीनले भर्खरै हाइब्रिड एसी / डीसी पावर ग्रिडहरू सहित प्रमुख ऊर्जा क्षेत्रहरूमा उन्नत प्रविधिहरू प्रवर्द्धन गर्ने योजना जारी गरेको छ ।

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको माइतीघरमण्डलामा प्रदर्श

काठमाडौँ, ९ असोजः आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् । ‘एशिया दलित राइटस् फोरम’को आयोजनामा भएको उक्त प्रदर्शनमा दलित समुदायलाई आर्थिकरुपमा सबल बनाउन राज्यले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने माग राखिएको छ ।

प्रदर्शनमा एशिया दलित अधिकार मञ्चका महासचिव भक्त विश्वकर्माले सामाजिक न्यायबिना आर्थिक समानता सम्भव नहुने र सामाजिक सुरक्षा, स्वास्थ्यको अधिकार, वातावरणीय न्याय, जातीय विभेदको अन्त्य नभएको भन्दै दलित समुदायको अधिकारका लागि एकीकृत आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

प्रदर्शन कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका कार्यक्रम व्यवस्थापक अभिषेक साह, जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा, दलित सेवा सङ्घका सञ्जुसिंह विश्वकर्मा, राष्ट्रिय नेपाल दलित कल्याण सङ्घ सिरहाका अध्यक्ष मोहन पासवान, र दलित महिला केन्द्र नेपालकी अध्यक्ष लक्ष्मी परियारलगायतका वक्ताहरुले आफ्ना धारणा राख्नुभएको थियो ।

प्रदर्शनकारीले जातीय विभेद, सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार, खाद्य सङ्कट र वातावरणीय समस्याको समाधानका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने मागसहितका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

 एशिया दलित अधिकार मञ्चकासँगै गैरसरकारी संस्था महासङ्घ, नेपाल, दलित गैरसरकारी संस्था महासङ्घ, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ, दलित महिला सङ्घ, समन्यायिक समाज नेपाल, राष्ट्रिय दलित नेटवर्क, जागरण मिडिया, समता फाउण्डेशनलगायत सङ्घसंस्थाले पनि प्रदर्शनमा एक्यबद्धता जनाउँदै भाग लिएका थिए ।

प्रदर्शनकारीले आर्थिक न्यायबिना सामाजिक न्याय सम्भावना नरहेकाले दलित समुदायको आर्थिक उत्थानका लागि राज्यको ठोस नीति र कार्यान्वयनको माग गरेका छन् ।

जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन। कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए।

बुधवार लोमश शर्माको आधिकारिक युटउब च्यानल ‘लोमश शर्मा’ बाट सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ। गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन। प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन। डेब्यु भए तापनि उनले भिडियोमा तारिफयोग्य काम गरेका छन। भिडियोमा लोमश, रुविना र जुनाको काम पर्फेक्ट छ।

लोक भाकामा बनेको गीतको भिडियोमा दुई जोडी (रुविना–लोमश र जुना–प्रमोद) को प्रेम देखाईएको छ। गीत अर्गानिक र सुमधुर छ भने भिडियो ए–वान बनेको छ। भिडियोमा चारै जना कलाकारको प्रेम र रोमान्ससँगै मेहेनत झल्किन्छ । भिडियोमा रमणीय दृश्यहरु कैद गरिएको छ। उक्त दृश्यहरु सैलुङको हो। रोचकको कुरा के हो भने, सैलुङमा खिचिएको यो पहिलो म्युजिक भिडियो हो। यसअघि कसैले पनि सैलुङको सुन्दरतालाई क्यामरामा कैद गरेका थिएनन जुन यस भिडियोमार्फत लोमशले गरेका छन। भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ। नेपालमा हत्तपत्त एरी क्यामराको प्रयोग गरिदैन। नेपालमा एरी क्यामराबाट खिचेको पनि यो पहिलो भिडियो हो। यसैबाट पनि लोमशले यो भिडियोका लागी कति मेहेनत गरेका छन भन्ने दर्सिन्छ।

गीतमा शब्द र संगीत प्रल्हाद सुवेदीले भरेका छन। विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन। भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक लोमश शर्माले स्वयंमले गरेका छन । यो गीतलाई पनि दर्शकले मन पराउने र पहिलाका गीतहरुलाई झैँ दर्शकले साथ र माया दिनेमा शर्मा विश्वस्त छन।

भिडियोको बजेट १० लाख रहेको लोमशको भनाइ छ। कार्यक्रममा बोल्दै उनले भने,‘गरेको कामहरुमा कुनै पनि कम्प्रमाइज नगरौँ भन्ने हाम्रो सोच हो। त्यसैले १० लाखको बजेटमा एउटा म्युजिक भिडियो बनाएका छौ। सैलुङमा गएर एरी क्यामराले खिचेका छौ। दर्शकले माया गर्दिनुहुन्छ भने क्वालिटीमा कुनै घटबढ गर्दैनौ। दर्शक नै हाम्रो लागी भगवान हुन।’

कबिराज गहतराजले कोरीयोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ। अग्नी थापा र दिपेन्द्र पण्डितले मिलेर निर्माण गरको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन। कलाकारले झैँ उनले पनि यो भिडियोमा आफ्नो ज्यान भरेका छन। पौडेलले यो भिडियोलाई३ दिन लगाएर खिचेर छन।

जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का

रसुवा ९ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्मार्फत गरिब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको बताउनुभएको छ । रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा आज स्याफ्रुबेँसीमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिसँगको भेटमा उहाँले गरिब र विपन्न वर्गलाई जलविद्युत्को शेयर सुनिश्चित गर्न सरकार लागिरहेको बताउनुभयो ।

“स्थानीयवासीका लागि १० प्रतिशत शेयर भनिएको छ, उक्त शेयरमा गरिब तथा विपन्न वर्गको पहुँच अहिलेसम्म पुग्न सकेको छैन, उनीहरूलाई शेयरमा पहुँच पुर्‍याएर जीवनस्तर उकास्नका लागि सरकारले काम गर्छ,” उहाँले भन्नुभयो । 

रसुवा जिल्लामा  मङ्गलबार र बुधबार भएको  स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले चालु रहेको ६० मेगावाट माथिल्लो त्रिशूली वान, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र तथा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनको अभावमा संरचना तयार भई उत्पादन बाँकी रहेको एक सय ११ मेगावाट रसुवागढी र ४२ दशमलव पाँच मेगावाट साञ्जेन जलविद्युत् आयोजना तथा निर्माणाधीन २१६ मेगावाट अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको थियो । 

निरीक्षणमा रसुवा आइपुग्नुभएका मन्त्री खड्कालाई चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीले कर्मचारीहरूको समस्याका बारेमा जानकारी गराएका थिए । 

यस्तै, पार्टीका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिले रसुवाको ऊर्जा विकासमा भएका समस्या, सिँचाइका समस्या र भूक्षयको समस्याका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले जलविद्युत्को प्रचुर सम्भावना बोकेको रसुवामा रहेका जलविद्युत् केन्द्रको उचित प्रयोग गरी रसुवावासी जनतालाई लाभ दिन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले रसुवाका स्रोत र साधनमार्फत समृद्ध रसुवा निर्माण गर्न कांग्रेसको सधैँ साथ र सहयोग रहेको बताउनुभयो । कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङले रसुवाको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

मन्त्री खड्कासँगै जलविद्युत् केन्द्रको अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत रसुवा आउनुभएको छ ।

परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता

काठमाडौँ, ९ असोज : संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको भेटमा नेपाल– कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्पारिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो ।

त्यसैगरी उहाँहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल– कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

परराष्ट्रमन्त्री डा देउवाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो ।

भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि उहाँले सराहना गर्नुभएको थियो ।

मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गर्नुभएको थियो । नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्येको दक्षिण कोरिया प्रमुख देश हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो ।

नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, सुरक्षा परिषद्मा उम्मेदवारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्रमन्त्रीले आग्रह गर्नुभएको थियो ।

त्यसैगरी, मन्त्री देउवाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्नुभयो । त्यस क्रममा उहाँहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारेमा कुराकानी भएको थियो । साथै परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, र सुरक्षा परिषद्मा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गर्नुभयो ।

सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा

धरान (सुनसरी), ९ असोजः सुनसरी निर्वाचन क्षेत्र नं १ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सङ्घीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको छ ।

गत भदौ १३ र १७ गतेको भीषण वर्षाले कोशी राजमार्गमा भएको क्षति, धरान उपमहानगरपालिका–१३ भएर बग्ने खहरेखोलाको बाढीबाट भौतिक पूर्वाधारमा भएको हानी, पुनःनिर्माणलगायत जनसरोकारका विषय सम्बोधनका निम्ति तत्काल सहायता जुटाउने उद्देश्यले प्रतिनिधिमण्डल राजधानी पुगेको हो ।

प्रतिनिधिमण्डले मङ्गलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर जनसरोधकार विषयलाई गम्भीर रूपमा लिएर समस्या समाधानका निम्ति अनुरोध गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा सदस्य भीमज्वाला राईले बताउनुभयो । टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र खानेपानीमन्त्री प्रदीप यादवलाई बेग्लाबेग्लै भेटेर धरानवासीका समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री दाहालले प्रतिनिधिमण्डलसँगको भेटमा सडक विभागका कार्यकारी निर्देशक रामहरि पोखरेललाई राखेर समग्र योजनाको टिप्पणी गर्न लगाई प्राथमिकताका आधार काम सुरु गर्न निर्देशन दिनुभएको सदस्य राईले बताउनुभयो । कोशी राजमार्ग र मदन भण्डारी राजमार्ग सरकारको पहिलो प्राथमिकतामा रहेको र सहरी क्षेत्र र खहरेले पुर्याएको क्षतिका बारेमा प्रदेश र स्थानीय सरकारसँग सङ्घीय सरकारले समन्वय गर्ने जानकारी मन्त्री दाहालले दिनुभएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यद्वय अशोक राई र सुशीला श्रेष्ठ, कोशी प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र विजय राई र धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायत स्थानीय सम्मिलित प्रतिनिधिमण्डलले सर्दु जलाधार जग्गा संरक्षणका नाममा २०७८ साल पुस १५ गतेदेखि रोक्का गरिएको चार सय सात बिघा जग्गाभित्र परेका धरान–१५ बाँझगरा ९ (क) र घोपा ७ (घ) र (ङ) को जग्गा फुकुवा गर्न तथा धरान उपमहानगरपालिका–१३ का वडावासीको निजी जग्गा पनि जलाधारका नाममा रोक्का गरिँदा तीन हजार परिवार समस्यामा परेकोबारे जानकारी गराएको थियो ।

प्रतिनिधिमण्डलको आग्रहपछि मन्त्री अधिकारीले पुराना कानुनका कारण जनताले पीडा खेप्नुपरेको भन्दै यसलाई क्रमशः समाधान गर्ने बताउनुभएको थियो । अविरल वर्षाका कारण धरान–१३ स्थित गौरामार्ग खानेपानी संरचनामा रु ४० लाख बराबरको क्षति भएको, धरान उपमहानगरपालिका–४ को सेर्केबाट शिवधारासम्मको दुई हजार सात सय मिटर क्षेत्रमा बिछ्याइएको ६३ एमएमको सबै बगाएकाले आवश्यक व्यवस्थाका लागि मन्त्री यादवसमक्ष अनुरोध गरेको थियो ।

गगटे तालमा मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

घोराही (दाङ), ९ असोजः घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ ।

बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गर्नुभएको छ । उहाँको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ ।

मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालनबाट प्रशस्त आम्दानी हुने गएकोे उहाँले बताउनुभयो । “मेरो सानो रिसोर्ट पनि भएकाले बोटिङ गर्न आउनेहरू त्यहाँ पनि पुग्छन् यसले व्यवसाय प्रवर्द्धन भएको छ”, उहाँले भन्नुभयो । सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेका, गर्मीका बेला दैनिक २५–३० जना बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट आफूले मासिक रु एक लाख ५० आम्दानी गर्दै आएको उद्यमी ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो व्यवसायमा स्थानीय दुई जनालाई रोजगारी दिएको छुभने घरका पाँच जनाले पनि काम गर्दै आएका छौँ ।” बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति रु एक सय शुल्क लिने गरेको जानकारी दिँदै उहाँले यसमा हालसम्म रु एक करोड १० लाख लगानी गरेको र भविष्यमा व्यवसाय विस्तार गर्ने योजना सुनाउनुभयो ।

गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जना पक्राउ

काभ्रेपलाञ्चोक, ९ असोजः बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो

विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ ।

बागलुङमा बन्यो छ करोड लागतमा पाँच शय्याको अस्पताल भवन

बलेवा (बागलुङ), ९ असोजः काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गर्नुभयो ।

दुईतले भवनमा सना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु छ करोड १२ लाख लागतमा उक्त भवन निर्माण भएको हो ।

“भवनको जिम्मेवारी लिएका छौँ, स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ”, अध्यक्ष कँडेलले भन्नुभयो, “पाँच शय्याको अस्पताल सञ्चालन गर्ने योजना छ, जनशक्ति व्यवस्थापनपछि अस्पताल सञ्चालनमा गरिने छ ।”

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकामा नेपाल टेलिकमको सुविधा विस्तार

म्याग्दी, ९ असोज : चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ ।बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताउनुभयो ।

एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।

पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छः उपराष्ट्रपति यादव

काठमाडौँ, ९ असोजः उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताउनुभएको छ ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न यस पर्वले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जितिया पर्व तराई–मधेसका आमाहरुले निर्जल÷निराहार २४ घण्टासम्म उपवास बसी सन्तानको सुख, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

“हामीले मनाउने पर्वहरु यस्तो उत्सव हुन्, जसले वर्षौंदेखि प्रचलनमा रहेका हाम्रा मूल्यमान्यतालाई वर्तमानसम्म दृढताका साथ एउटा कडीका रुपमा जोडेर राख्न सहयोग गरेको छ । पर्व–त्योहारहरुले हाम्रो अन्तःचेतनालाई जगाउँदै हाम्रो आत्मविश्वास पनि बढाउँदछ । यसले हाम्रो आध्यात्मिक मूल्यलाई बल प्रदान गर्दै हाम्रा पारिवारिक सम्बन्धको रागात्मकतालाई थप सुदृद्ध र बलियो बनाउनुका साथै सामाजिक संरचनालाई थप प्रगाढ बनाउनमा सघाउँदछ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

जितिया कठिन व्रतको संयम त हुँदै हो, यो केही प्रचलित र लोकमान्यताहरुलाई जीवन्त बनाउने माध्यम पनि हो । यसो त जितिया पर्वलाई सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि गरिने पर्व भनिए पनि यो तीन दिनसम्म गरिने फरकफरक लोक–अनुष्ठान र लोकमान्यताको मौलिक परम्परा र प्रथा हो । यसमा प्रकृति, धर्म र संस्कृतिको अनौठो समायोजन भएको पाइन्छ ।

उपराष्ट्रपति यादवले सांस्कृतिक र धार्मिक महत्व बोकेको जितिया पर्व तराई–मधेसका भूइँमान्छे, मूल आदिवासी, रैथाने जातजातिकाहरुले आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिराँैलाको पात, तोरीको पिना, चिनी÷सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ । 

‘नियत सफा राखौँ, आचारण सुधारौँ’ : मुख्यमन्त्री आचार्य

लुम्बिनी, ९ असोज : लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकतामा ९९ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले पद सम्हालेपछि भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनालाई स्वीकृत गर्नुभएको हो । रणनीतिक योजनालाई यही असोजभित्र मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयन गर्ने योजना छ ।

प्रदेशमा सुशासन कायम गर्ने तथा त्यसनिम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र गठन गरिने छभने नैतिकता तथा सदाचारिता प्रवर्द्धनलाई जोड दिइएको छ । व्यावसायिकता अभिवृद्वि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा, पारदर्शिता, सामाजिक जवाफदेहीतालाई समेटिएको छ ।

रणनीतिमा उत्तरदायित्व प्रवर्द्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समन्वय, सहकार्य तथा साझेदारीलाई विषयगत क्षेत्रका रूपमा तोकिएको छ । सार्वजनिक प्रशासनका सबै क्षेत्रमा नैतिकता प्रवर्द्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी शासकीय क्रियाकलाप सञ्चालन गर्ने योजना प्रस्ताव गरिएको छ ।

कर्मचारी तथा जनप्रतिनिधिको पेशागत क्षमता अभिवृद्विका कार्यक्रम सञ्चालन, सार्वजनिक पदाधिकारीको नेतृत्व विकास, सार्वजनिक सेवालाई स्वच्छ बनाउने, सार्वजनिक गतिविधिमा नागरिकको सहभागिता, सशक्तीकरण, वित्तीय अनुशासन कायम गर्ने, आयोजना छनोट तथा कार्यान्वयनलाई वस्तुनिष्ठ बनाउने विषयलाई रणनीतिमा विशेष प्रथाथमिकता दिइएको छ ।

भ्रष्टाचारविरुद्ध रचनात्मक क्रियाकलाप

रणनीतिक योजनाअनुसार माध्यमिक तहका विद्यार्थीमा नैतिक मूल्यमान्यता तथा भ्रष्टाचारविरुद्धका विषयबारे सघन रूपमा जानकारी दिने र त्यसलाई ‘प्रजेक्ट वर्क’ का रूपमा समावेश गरिने छभने जनप्रतिनिधि तथा कर्मचारीको तालिम तथा क्षमता विकासका कार्यक्रममा नैतिकता प्रवरद्धन हुनेगरी पाठ्यक्रम, तालिम सामग्री तयार गरिनेछ ।

त्यसैगरी, सार्वजनिक सेवामा अध्यात्मसम्बन्धी ज्ञान र पूर्वीय दर्शनको प्रभाव आन्तरिकीकरण गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा प्रदेशस्थित अन्य धार्मिक एवं आध्यात्मिक संस्थासँग सहकार्य गरी कर्मचारी तथा जनप्रतिनिधिमा योग, ध्यान, सकारात्मक सोच विकासका व्यावहारिक अभ्याससहितका कार्यक्रमहरू सञ्चालन गर्ने, सदाचार र नैतिकता प्रवर्द्धनका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्ने, खोज पत्रकारिताका माध्यमबाट अनियमितता उजागर गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन

आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै आफ्नो मन्त्रीमण्डल गठन गर्नुभएको छ । पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले सप्ताहन्तमा भएको राष्ट्रपति चुनावमा ठूलो जीत हासिल गरेपछि सोमबार पदभार ग्रहण गर्नुभएको हो ।

श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा हाल उहाँको पार्टीको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले लाखौं साधारण श्रीलङ्कालीलाई प्रभावित पारेको र आइएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उहाँप्रतिको समर्थन बढेको थियो।

उहाँको कार्यालयले मङ्गलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।
चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित हुनुभएको अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित हुनुहन्छ ।
उहाँ र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नुहुनेछ र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नुहुनेछ ।
“हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ”, पार्टीका सदस्य नमल करुणारत्नेले मङ्गलबार सञ्चारकर्मीलाई बताउनुभयो, “त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ ।”

श्रीलङ्काको सङ्कट दिसानायकेका लागि एउटा अवसर साबित भएको छ । उहाँ ३८ अन्य उम्मेद्वारलाई हराएर राष्ट्रपति निर्वाचित हुनुभएको हो ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले सोमबार दिसानायकेलाई बधाई दिँदै उद्धार कार्यक्रमबारे छलफल गर्न तयार रहेको बताएको छ ।
“श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ”, वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले बताउनुभयो ।

बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

गलकोट (बागलुङ), ९ असोजः बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो ।

बागलुङको धौलागिरि अस्पतालमा छ जना डेङ्गुका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् । स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।

डेङ्गी सङ्क्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताउनुभयो । डेङ्गीका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ । 

धौलागिरि अस्पतालको प्रयोगशालामा मात्रै दुई सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यस्तै गलकोट नगर अस्पतालमा ७६ जना, बुर्तिवाङ स्वास्थ्यचौकीमा २८ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा दुई जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्याले जानकारी दिनुभयो । 

जिल्ला सदरमुकाम बागलुङ बजारको सपना प्रयोशालामा एक सय, केसी प्रयोशालामा एक सय केयर डाइनेष्टिक प्रालिमा ७७, बागलुङ प्रयोगशालामा ५६, न्यूरो केयर क्ल्निकमा ५०, झरना मेडिकल प्रयोगशामा ३५, गोल्डेनगेट प्रयोशालामा २५, धौलागिरि प्रयोशालामा १० र सफल पोलिक्ल्निक प्रालिमा सात जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनाइएको छ । 

अन्नपूर्ण क्षेत्र सरसफाइ अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

गण्डकी, ९ असोजः पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ ।

“मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौँ”, आयोजना प्रमुख डा रवीन कडरियाले भन्नुभयो, “पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ ।” स्थानीय होटल व्यवस्थापन समिति, आमा समूहलगायत क्लब परिचालन गरेर फोहर व्यवस्थापन गरिएको हो ।

सङ्कलन भएको फोहरलाई पोखरामा ल्याई प्रशोधन गर्ने ‘एक्याप’को योजना छ । अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ ।

‘एक्याप’भित्र पर्ने स्थानीय तहले पनि सरसफाइ अभियानलाई प्राथमिकता दिएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकाभित्र प्लाष्टिक झोला लैजान प्रतिबन्ध लगाइएको छ । ‘एक्याप’ भित्रने पर्यटकलाई ‘मेटाकार्ड’मार्फत फोहर व्यवस्थापनसम्बन्धी सन्देश दिन थालिएको छ । घान्द्रुक, सिकलेस, धम्पुसलगायत सांस्कृतिक पहिचानका गाउँमा पनि सरसफाइ अभियान सुरु भएको ‘एक्याप’ले जनाएको छ ।

सात हजार छ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखमा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका प्रमुखस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्र्रा सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । ती मध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । चार वर्षअघि अन्तर्राष्ट्रिय ‘ट्राभल साइट’ लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दश गन्तव्य सूचीमा समावेश गरेको थियो ।

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

म्याग्दी, ९ असोजः विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो ।

समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ ।

लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ । माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङ पहिचान र विशेषता हो । 

लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य लाक्पा वाङदी गुरुङका अनुसार यो करिब छ सय वर्ष पुरानो बस्ती हो । “यस्तो बस्ती सायद कहीँकतै अस्तित्वमा नरहेकाले लोमान्थाङ विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो भन्ने हामी दाबी छ”, उहाँले भन्नुभयो, “मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ विश्वभरका मानिसहरुका लागि कौतुहलताले भरिएको गन्तव्य पनि हो ।”

माटोको पर्खालभित्र प्राचीन बस्ती

दुई सयभन्दा बढी घरधुरी रहेको लोमान्थाङ बस्ती माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले घेरिएको छ । दुई सय ८० मिटर उत्तर–दक्षिण र एक सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । पर्खाल बाहिरका बस्ती पछि बसेको हो । 

लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा÷मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ । विसं १४९७ मा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषणगरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका वडा सदस्य गुरुङले सुनाउनुभयो । 

यहाँ लोवा समुदायका विष्ट, गुरुङ र दलित समुदायको बसोबास छ । माइला छोरा लामा र माइली छोरी भुमा बस्ने यहाँको चलन रहिआएको छ । संस्कारगत कार्यमा लामा र झुमाको भूमिका हुन्छ । व्यापार, पशुपालन र खेती किसानी यहाँका बासिन्दाको आम्दानीको स्रोत हो । पछिल्लो समय यहाँका बासिन्दाहरु जापान, युरोप, अमेरिका देश जानेक्रम बढेको छ । 

यहाँ कुनै पनि प्रकारको मुद्दा नभएका व्यक्तिलाई बुद्धिमान र ऋण नभएकालाई साहुका रुपमा चिनिन्छ । अधिकांश मुद्दा, झै–झगडा परिवार वा गाउँभित्रै मुखियाबाटै हुने गरेको छ । महिलाले बख्खुको अगाडि पाङ्देन र पछाडि केदेन लगाउँछन् । अगाडिपट्टिको पाङ्देन विवाहितले मात्र प्रयोग गर्छन् । विवाहको सङ्केत नै पाङ्देन हो । गाउँमा कसैको घर निर्माण गर्दा गाउँलेले दुई÷तीन दिन बिनाज्याला सहयोग गर्ने परम्परा अझै पनि कायमै छ । 

सांस्कृतिक राजा, ऐतिहासिक दरबार र गुम्बा

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् । राजपरिवारका सदस्यहरुको उपस्थितिमा चाडपर्व, सभासमारोह र विशेष कार्यक्रम हुने स्थानीयवासी कर्म आङ्गेलले बताउनुभयो । “सांस्कृतिक रुपले हाम्रो समाजमा राजा अस्तित्वमै छन्”, उहाँले भन्नुभयो, “महत्वपूर्ण कार्यक्रम सांस्कृतिक राजपरिवारका सदस्यहरुको उपस्थितिमा हुन्छ ।”  

लोमान्थाङका अन्तिम तथा २५औँ पुस्ताका राजा जिग्मे परवल विष्टको विंस २०७३ मङ्सिरमा मृत्यु भएको थियो । विसं १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यका रूपमा रहेको लोमान्थाङ विसं १८४६ मा बृहत् नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले तत्कालीन तेह्रौँ राजा वाग्याल दोर्जे परवललाई नेपालमा गाभिएको आश्रित राज्यका रूपमा लालमोहर लगाइदिएका थिए ।

नेपाल एकीकरणपछि आंशिक अधिकारसहित स्वतन्त्र छाडिएका चार रजौटामध्ये लोमान्थाङमा पनि एक रजौटा रहे । नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने २०७४ देखि भुरे राजा÷रजौटाको शासनलाई अन्त्य गरेको हो । मुलुकमा राजतन्त्रको अन्त्यसँगै तत्कालीन मुस्ताङी राजाले पनि आफ्नो भूमिका राजाका रूपमा नरहेको घोषणा गरेका थिए । गणतन्त्रपछि राज्यबाट प्राप्त हुँदै आएको सुविधा रोकिएको थियो । 

मुस्ताङी राजा आमे पालले इसं १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । ढुङ्गा, माटो र काठले बनेको यो दरबार विसं २०७२ को भूकम्पका कारण चर्किएपछि मर्मत गरिएको थियो । बाहिरबाट हेर्न सकिने विशाल दरबारभित्र पस्न भने रोक लगाइएको छ । 

यही दरबारबाट तत्कालीन मुस्ताङी राजाले राज्य सञ्चालनका गतिविधि गर्दथे । १५औँ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङ्का र मूर्तिहरु छन् । 

वार्षिक तीन हजार पर्यटक

सन् २०२४ को सेप्टेम्बर २२ सम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो । वर्षको अन्तसम्म पर्यटक आगमनको सङ्ख्या तीन हजार नाघ्ने अनुमान गरिएको छ । लोमान्थाङ अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएको छ । 

सन् २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए । सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । 

सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ । 

उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ । 

तथ्याङ्कअनुसार मुस्ताङ भित्रने कूल पर्यटक सङ्ख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जादैनन् । आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउँदै हतारहतार फर्कनुपर्ने समस्या छ । विदेशीको तुलनामा केही बढी नेपालीहरु उपल्लो मुस्ताङ घुम्न गए पनि उनीहरुको आधिकारिक तथ्याङ्क छैन ।

सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । 

मौलिक सम्पदा, संस्कृतिको संरक्षण र प्रवर्द्धनगरी पर्यटन विकासका लागि पहल गरिए पनि अर्धनिषेधित क्षेत्र र महँगो प्रवेश शुल्कका कारण समस्या भएको अध्यक्ष गुरुङले बताउनुभयो ।  निषेधित क्षेत्रका कारण विदेशी सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो । 

बिदा र चाडपर्वका समयमा घुम्न आउने नेपालीहरुले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ । लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक चार सय जना पर्यटक बास बस्नसक्ने क्षमता रहेकोे मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताउनुभयो । लोमान्थाङमा सडक यातायातको सुविधा पुगेको छ । 

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

काठमाडौँ, ९ असोजः बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।

दसैँका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीमा काठमाडौँ छाड्ने र भित्रनेको सङ्ख्या पनि लाखौँमा हुने गरेको छ । तर के लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त ? जानकारहरु सडकको अवस्था राम्र्रो नभएको बताउँछन् । कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ । तर दसैँसम्म ती काम पूरा हुनेमा उनीहरुको शङ्का छ । विशेषगरी काठमाडौँ भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । सडक बिग्रेको अवस्थामा छ । अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ । तर पनि दसैँसम्म पूरा हुने अवस्था भने देखिन्न ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसक्नुभएको छ । मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ । विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताउनुभयो ।

“खानेपानी तथा विद्युत्का कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरुकै हो”, उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दसैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्नका लागि सडक सुधारको योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । 

“मन्त्री दाहालको संयोजकत्वमा सातै प्रदेशका सरकारका सम्बन्धित मन्त्रीसहितको समिति बनेको छ, समितिको छलफल पनि भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकार सडक सुरक्षालाई लिएर गम्भीरताका साथ काम गरिरहेको छ ।”

उहाँका अनुसार दसैँसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ । ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो । “यात्रुको सुरक्षित र सहज यात्राका लागि यातायात व्यवसायीहरु, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय तह र नेपाल प्रहरीलगायतसँग छलफल भइसकेको छ”, उहाँले भन्नुभयो, “चाडपर्व लक्षित सडक सुरक्षा व्यवस्थापन गर्न अनुगमन कार्य चुस्त बनाउने हाम्रो योजना छ ।”

चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताउनुभयो । “सडक सुरक्षामा मानवीय पक्ष पनि जिम्मेवार हुन्छ । मानिसले आफ्नो दायित्व पूरा गरेमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ, त्यसैले नागरिकका तहबाट पनि सहयोगको अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि रु छ अर्ब बजेट विनियोजन गरेको जनाइएको छ । सडक विभागका अनुसार विभाग मातहत मुलुकभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ । जसमध्ये सात हजार २६ किलोमिटर सडक मर्मतसम्भार हुने विभागका सूचना अधिकृत अमित शर्मा भुसालले जानकारी दिनुभयो ।

पटके मर्मतसम्भार हुने (तत्काल मर्मत गर्ने) सडक पाँच हजार सात सय ४६  किलोमिटर रहेको र आवधिक र पुनर्वासबाहेक मर्मत गर्नुपर्ने सडक छ हजार किलोमिटर रहेको उहाँको भनाइ छ । “दसैँअघि तीन हजार आठ सय ५६ किमी सडकलाई खल्डारहित बनाउने योजना छ । जसमध्ये सोमबारसम्म सात सय ७२ किमीमा काम भइसकेको छ ।” उहाँका अनुसार सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि एक सय ११ वटा ठेक्का लगाइएकामा हालसम्म जम्मा चार वटा ठेक्का सम्पन्न भइसकेका छन् । 

उहाँका अनुसार काठमाडौँ भित्रने प्रमुख मार्गमा नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण भत्किएका सडक निर्माणको काम भने दसैँ अगाडि पूरा हुने अवस्था छैन । “नागढुङ्गा सडकखण्ड ममर्त नभइ स्तरोन्नति गरिने भएकाले दसैँ अगाडि यो आयोजना पूरा हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “मुग्लिङ–पोखरा सडकखण्डको पनि काम सकिने अवस्था नभएकाले यात्रामा केही असहजता भने हुने अनुमान छ ।”

पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको सवारीसाधन गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा बर्सेनि यात्रुले दुःख पाउने गरेको बताउनुभयो । “दिगो सडक निर्माणका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्छ, त्यसबाहेक भौगोलिक अवस्थाबारे पनि राम्रो अध्ययन तथा अनुसन्धान आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत गर्नेको सङ्ख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । 

“सडक राम्रो नहुनु, सवारीसाधनको चाप बढी हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारगरी यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारीसाधन सञ्चालन गर्नुलगायतका कारण दसैँमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ”, उहाँले भन्नुभयो, “दुर्घटना रोक्नका उपत्यका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दसैँमा सजकताका साथ जाँचमा कडाइ  गर्ने योजना छ ।”

पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्न

महोत्तरी, ९ असोजः बर्दिवासमा आयोजित स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन छैटौँ राष्ट्रिय सम्मेलन पाँचबुँदे घोषणापत्र र नौ बुँदे अपिल जारी गर्दै मङ्गलबार साँझ सम्पन्न भएको छ । विश्वव्यापी जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायको अधिकार र आवश्यकतामा आधारित समतामूलक नीति र कार्यका लागि सम्मेलनले जलवायु न्यायको वकालत गरेको छ ।

जारी घोषणापत्रमा मुलुकका सबै भूभागमा जलवायु परिवर्तनको असरले बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ । सम्मेलनले कार्बन उत्सर्जन न्यूनीकरणको लक्ष्य प्राप्त गर्न जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्न जोड दिएको छ । जलवायु परिवर्तनको असरले सबैभन्दा बढी जोखिममा परेका व्यक्ति र समुदायको जीवन र जीविकोपार्जनको सुरक्षा गर्न अहिलेसम्मका प्रयत्न अपर्याप्त रहेको ठहर गर्दै सम्मेलनले यस दिशामा राज्यका निकायको विशेष पहलकदमीको माग गरेको छ । 

यसैगरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धीअन्तर्गत अनुकूलनका लागि भइरहेका प्रयत्न र वार्ताहरु महत्वपूर्ण हुने सम्मेलनको ठहर छ । जलवायु अनुकूलन सिकाइ अभ्यास गरिरहेका किसान समूहहरु, यस क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्थाहरु र स्थानीय तहका जनप्रतिनिधि सम्मिलित सम्मेलनको मङ्गलबार बिहान मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गर्नुभएको थियो । मुख्यमन्त्री सिंहले जलवायु अनुकूलनको अभ्यासलाई जीवन पद्धतिसँग जोड्न अपरिहार्य भएकामा जोड दिनुभयो । 

सम्मेलनले मुलुकमा जलवायु अनुकूलन कार्यक्रमको विस्तारका लागि यससम्बन्धी अभ्यास मानिस केन्द्रित र जलवायु न्यायको सिद्धान्तका आधारमा अवलम्बन गर्न सम्बद्ध सबैपक्षलाई आग्रह गर्दै नौबुँदे अपिल जारी गरेको छ । 

जसमा जलवायु सङ्कटभित्र गरिबी र असमानतासम्बन्धी चुनौती समाधान गर्न अनुकूलन कार्यक्रम हस्तक्षेपकारी हुनुपर्ने उल्लेख छ । खासगरी यससम्बन्धी नीति आधारभूत तहका जनतालाई हेरेर बनाइन सम्बद्धपक्षको ध्यानाकर्षण गराइएको छ ।

सम्मेलनका सहभागीले जलवायु अनुकूलन कार्यक्रमको प्रभावकारिताका लागि चुरे संरक्षणका स्पष्ट खाकासहितको मार्गचित्र आवश्यक रहेको सुझाएका छन् ।

सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यसँग सम्बन्धबारे छुट्टाछुट्टै कार्यपत्रमाथि सघन छलफल गरिएको थियो । 

सत्रमा अध्येता तथा विज्ञहरु जगदीश भट्ट, सुमन चापागाईं र सोहनलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । प्रस्तुत कार्यपत्रमाथि जलवायु विज्ञ अजय दीक्षित र प्रवीणमान सिंहसहितले टिप्पणी गर्दै थप सुझाव दिनुभयो ।

सम्मेलन जलवायु परिवर्तनका असर र अनुकूलनका प्रयत्नबारे बुझ्न निकै सहयोगी भएको धनुषाको मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीले बताउनुभयो । सम्मेलन जलवायु अनुकूलन अभ्यास र वातावरण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका १४ सामाजिक सङ्घसंस्थाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

सिन्धुपाल्चोक र रसुवामा सञ्चालित दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले आज रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौँ बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । 

नुवाकोटको पैरेबेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०/१३२/३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेको उहाँले बताउनुभयो । 

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्रीबी हब २२०/१३२/३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत् काठमाडौँको मातातीर्थ सवस्टेशनमा पु¥याइनेछ ।   

चिलिमेदेखि त्रिशूली हबसम्मको २८ किलोमिटरको प्रसारण लाइनमध्ये २० किलोमिटरको डबल सर्किट लाइन (५१ वटा टावर) र आठ किलोमिटरको चार सर्किट लाइन (२४ वटा टावर) छन् । चार सर्किट लाइन रहेको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युत्लाई त्रिशूली थ्री बी हबसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत् प्रवाह गरिनेछ ।

प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेसन निर्माण भए तापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा (६०० मिटर),  मैलुङबेंसी (१२३५ मिटर) र हाकु (१४०० मिटर)मा तार तान्ने काम भइरहेको छ ।

मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाइन निर्माणलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत् आयोजनाको टेस्टिङ कमिसनिङसमेत सम्पन्न गर्न निर्देशन दिनुभयो । 

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जितिया पर्वको शुभकामना

काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गर्नुभएको छ ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताउनुभएको छ ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवान्को पूजा आराधना गर्दै मनाइने पर्व हो ।

यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रकृति पूजामा आधारित यसपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

v

सभापति देउवाद्धारा जितिया पर्वको शुभकामना

काठमाडौँ, ९ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

जितिया पर्वका अवसरमा उहाँले सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी र आफ्नो  व्यक्तिगततर्फबाट सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्नुभयो ।  यो पर्व नेपालको तराईमा विशेष गरेर थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने गरिन्छ ।

साथै उहाँले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गर्नुभएको छ ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली

काठमाडौँ, ९ असोजः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको चल्ने सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

जसपा नेपालद्वारा पदाधिकारी एवं सदस्यको जिम्मेवारी बाँडफाँट

काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय विभागहरुको जिम्मेवारी बाँडफाँट गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार जसपा नेपालले १७ वटा विभागहरु गठन गरेको छ । जसमध्ये पाँच वटा विभागमा प्रमुख तोकिएको छ । जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, आर्थिक विभाग प्रमुखमा बलराम महतोलाई जिम्मेवारी तोकेको छ ।

यसैगरी युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुखमा विदेश्वरप्रसाद यादव र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा जितेन्द्र यादवलाई तोकेको छ भने अन्य विभागहरुमा प्रमुख, उपप्रमुख तोक्न बाँकी छ । 

जसपा नेपालका २७ विभागमध्ये १७ विभाग गठन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव लालबाबु राउतले जिम्मेवारी बाँडफाँटलगायत अन्य निर्णयसहितको परिपत्र जारी गर्नुभएको छ । 

जसपा नेपालको प्रथम महाधिवेशन सम्पन्न भएपश्चात पहिलोपटक बसेको केन्द्रीय कार्यकारिणी समितिले सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठनलगायतको निर्णय गरेको हो ।

सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली १६ महिनादेखि फरार

गण्डकी- कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार हुनुहुन्छ । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उहाँ सपरिवार सम्पर्कविहीन हुनुभएको थियो ।

प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उहाँ अझै पक्राउ पर्न सक्नुभएको छैन । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

“अध्यक्ष देवकुमार नेपालीसहित सात जना सञ्चालक अझै फरार हुनुहुन्छ, रेड क्रनर नोटिस नै जारी गरेर उहाँको खोजी भइरहेको छ”, प्रहरी उपरीक्षक कँडेलले भन्नुभयो, “सहकारीका कार्यवहाक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना पुर्पक्षका लागि थुनामा हुनुहुन्छ, एक जना धरौटीमा रिहा हुनुभएको छ ।” उक्त सहकारी संस्थामा भएको बचकर्ताको रकम अपचलन सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ । इमेज बचतकर्ता सङ्घर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले अध्यक्ष नेपालीले आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने जनाउँदै आए पनि विश्वासिलो वातावरण तयार नभएको बताउनुभयो ।

“उहाँले संसदीय छानबिन समितिलाई पनि बचत फिर्ताका लागि सहजीकरण गरिदिने आशयसहितको बयान हुलाकमार्फत पठाउनुभएको हामीले थाहा पायौँ”, उहाँले भन्नुभयो, “अहिले पनि उहाँले सरकारले सहज वातावरण बनाएमा आफ्नो तीन अर्ब बराबरको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु भनिरहनुभएको छ, यसमा सरकारले पनि गम्भीरतापूर्वक लिन जरुरी छ ।”

समितिका अध्यक्ष कार्कीले रकम फिर्ता नभएमा बचतकर्ताको बिचल्ली हुने भन्दै अध्यक्ष नेपालीलाई जतिसक्दो छिटो पैसा फिर्ता गर्न आग्रह गर्नुभयो । “अझै पनि सहकारी सञ्चालकले टार्दै जाने र सरकारले पनि उचित समाधान ननिकाल्ने हो भने सहकारी पीडितहरुको अवस्था जटिल बन्न सक्छ”, उहाँले भन्नुभयो ।

सहकारीका अध्यक्ष नेपालीले सामाजिक सञ्जालमार्फत आइतबार एक विज्ञप्तिमार्फत मिलापत्र गरी बचतकर्ताको रकम फिर्ता दिन आफू तयार रहेको जनाउनुभएको छ । अध्यक्ष नेपालीले बागलुङ, कास्की, काठमाडौँलगायत ठाउँमा रहेको रु तीन अर्ब बराबरको घरजग्गालगायत भौतिक सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने बताउँदै आउनुभएको छ ।

उहाँले बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा खोल्नुभएको थियो । नेपाली नै अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन हुँदै आएको थियो । दुवै जिल्लाका सयौँ शेयर सदस्य र बचतकर्ताको रकम उक्त सहकारीका सञ्चालकले अपचलन गरेका हुन् ।

प्रधानमन्त्री ओली र युएसएआडीका प्रमुख पावरबीच भेटवार्ता

न्युयोर्क (अमेरिका)- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआडी)का प्रमुख सामन्थ पावरबीच भेटवार्ता भएको छ ।

सयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,  नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो । 

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको मुख्यालयको महासभाका शक्ति राष्ट्रका प्रमुखहरुको सम्बोधनका समयमा सभामा भाग लिनुभएको थियो ।

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

न्युयोर्क (अमेरिका) ९ असोजःसंयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।

उहाँहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

न्युयोर्क (अमेरिका) ९ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।

उहाँहरुबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । 

केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्री दर एक सय ७९ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ४९ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४४ पैसा र बिक्री दर ९१ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८८ पैसा र बिक्री दर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ६६ पैसा र बिक्री दर एक सय चार रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २८ पैसा र बिक्री दर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०७ पैसा र बिक्री दर चार रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ १६ पैसा र बिक्री दर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९३ पैसा र बिक्री दर २० रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ १६ पैसा र बिक्री दर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ३९ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ९९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सामाजिक सञ्जाल एक्स’मा खाता ब्लक हुने फिचरमा परिवर्तन

सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ ।

अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने छैनन् । उनीहरूसँग सार्वजनिक रूपमा प्रकाशित गरिएका पोस्टहरूमा भने पहुँच हुनेछ ।

कम्पनीको स्रोतहरूका अनुसार यी परिवर्तनहरू प्रतिबन्धित प्रयोगकर्ताहरूले ब्लक हुनबाट जोगिन वैकल्पिक खाताहरू सिर्जना गर्ने, अनावश्यक अन्तरक्रिया गर्नर जस्ता समस्यालाई घटाउन ल्याइएको हो ।

सञ्जालका प्रमुख एलोन मस्कले लामो समयदेखि ’ब्लकिङ’ लाई खारेज गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।यस परिवर्तनको उद्देश्य अवरुद्ध प्रयोगकर्ताहरूलाई उनीहरूले पहिले देख्न नसक्ने कुनै पनि हानिकारक सामग्री पहिचान गर्न र रिपोर्ट गर्ने क्षमता दिनु हो ।

साथै, यो परिवर्तनले प्रयोगकर्ताहरू बीच व्यापक बहस उत्पन्न गर्ने अपेक्षा गरिएको छ । केही प्रयोगकर्ताहरूले यसलाई अवरुद्ध प्रयोगकर्ताहरूको गोपनीयता भङ्ग हुने आलोचना गरेका छन् । ।

रेल यातायातको लागि विश्वव्यापी हब बन्ने टर्किएको लक्ष्य

टर्किएले एसिया र युरोपलाई जोडन पुल निमार्ण गरेर रेलमार्ग यातायातको लागि विश्वव्यापी हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको टर्किए यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताउनुभएको छ ।

“हामी हाम्रो उच्च–गति र परम्परागत रेल प्रणालीलाई सन् २०५३ सम्म विस्तार गर्ने योजनाको साथ अगाडि बढिरहेका छौं”, उरालोग्लुले भन्नुभयो ।

हाल १४ हजार किलोमिटरमा फैलिएको उच्च–गति रेलवे नेटवर्कमा आठ हजार ५५४ किलोमिटर नयाँ रेलमार्ग थपिने उहाँले बताउनुभयो ।

टर्किएले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पर्क सुधार गर्न रेलवे, बन्दरगाह, औद्योगिक केन्द्र र लजिस्टिक हबबीच एकीकरण गराउने लक्ष्य राखेको उरालोग्लुले जोड दिनुभयो ।

साथै, उहाँले माल ढुवानी र यात्रु यातायातला लागि रेल क्षेत्रको रणनीतिक महत्वबारे प्रकाश पार्नुभएको छ ।

मन्त्रालयले रेललाई एयरपोट र बन्दरगाहहरूसँग जोडेको छ र हाम्रो लक्ष्य देशभर रेलको सुविधालाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन

काठमाडौँ, ८ असोजः आईसीसी विश्वकप क्रिकेट-२ अन्तर्गत नेपाल र ओमान बीचको खेलका लागि टस् हुन सकेको छैन । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस् हुन नसकेको हो ।

क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले आज चौथो खेल खेल्न लागेको हो । विश्वकप क्रिकेटमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग दुई र ओमानसँग एक खेल पराजित भएको थियो ।
त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै, नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो भने तेस्रो खेलमा पनि क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

द भ्वाइसकी सामना घतानीले ल्याइन् भाग्य खोटो छ

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ५ की प्रतियोगी सामना घतानीले नयाँ गीत भाग्य खोटो छ सार्वजनिक गरेकी छिन् । भ्वाइसको ब्याटर राउण्डसम्म पुगेकी सामनाले आफ्नो युट्युव च्यानल सामना घतानीमार्फृत गीतको भिडिओ सार्वजनिक गरेकी हुन् ।

गीतमा शब्द कसम खातीको रहेको छ भने कम्पोज रबिन भुसालले गरेका छन् । एरेन्जको काम बिशाल निरौलाले गरेका छन् । भिडिओमा सामना आफै फिचर्ड छिन् भने भिडिओ जोन राईले सम्पादन गरेका हुन् । गीतलाई लिएर गायिका सामना उत्साहित छिन् । गीत निकाल्न खासै हतार नगर्ने सामनाले यो गीत पनि पाँच महिनापछि सार्वजनिक गरेकी हुन् । सामनाले अहिलेसम्म तीन वटा गीत गाइसकेकी छिन् । यस अघि उनले केहि कभर गीत गाएकी छिन् ।

‘सानैदेखी संगीत मन पर्ने भएकाले रियालिटी शो हुँदै यहा सम्म आएकी हुँ । नशा नशामा संगीत भएपछि छोड्न सकिदैन ।’ गायिका सामनाले भनिन् ।’ अहिले सार्वजनिक गीतलाई दर्शक तथा स्रोताले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा लिखित जवाफ माग

काठमाडौँ, ८ असोजः सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर गरिएकोे बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा लिखित जवाफसहित कारण देखाउ आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज उक्त रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफसहित कारण देखाउ आदेश गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश गरेको हो ।

वनमन्त्री शाही र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ८ असोजः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भुटान बीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्री ठकुरीको निजी सचिवालयले जनाएको छ । भेटमा नेपाल र भुटानको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउनेबारे कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री ठकुरीले उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय र क्षेत्रीय सम्बन्ध अझ विस्तार हुने बताउनुभएको थियो । उहाँले भुटानले पछिल्लो समय जलविद्युत्, ऊर्जा, प्राकृतिक स्रोेत संरक्षण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकामा भुटानको प्रशंसासमेत गर्नुभएको थियो । “हामी सार्कमा आबद्ध छौँ, पर्वतीय क्षेत्रका मुद्दाबारे हाम्रो साझा अवधारणा छ । नेपाल र भुटानले पर्यापर्यटन, जलविद्युत्, पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रै सहकार्यको सम्भावना छ ।”

यसैगरी भुटानका मन्त्री छिरिङले नेपाल र भुटान जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएकाले जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझा मुद्दासहित प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

भारतको मध्य प्रदेशकामा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु, तीन घाइते

भारतको मध्य प्रदेशको दमोह जिल्लामा मङ्गलबार साँझ ट्रकले अटोरिक्शालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।जिल्लाको ‘देहट’ (ग्रामीण) प्रहरी चौकीको क्षेत्राधिकारमा पर्ने सामन्ना गाउँ नजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई थप उपचारका लागि जबलपुर लगिएको एक प्रहरी अधिकारीले भन्नुभयो ।

“दमोह जिल्लाको सामन्नामा १० जना बोकेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राथमिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि जबलपुर मेडिकल कलेज लगिएको छ”, दमोहका प्रहरी उपरीक्षक (एसपी) श्रुतकीर्ति सोमवंशीले बताउनुभयो ।

“अहिलेसम्म हामी घटनास्थलमा ट्रक र अटोको ठक्करको निशान जाँच गरिरहेका छौँ । होसमा आएपछि घाइतेको बयान लिइने छ । त्यसपछि दुर्घटनाको कारण पत्ता लगाउन सक्नेछौँ । ट्रकको चालक हाम्रो हिरासतमा छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

यसैबीच, कलेक्टर सुधीर कुमार कोचरले भन्नुभयो, “एक लापरवाह ट्रकले अटोरिक्सालाई ठक्कर दियो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल ल्याइएको थियो र प्राथमिक उपचार पछि उनीहरूलाई थप उपचारका लागि जबलपुर लगिएको छ ।”

मुख्यमन्त्री मोहन यादवले पीडितलाई आवश्यक आर्थिक सहयोगको घोषणा गर्नुभएको छ ।मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो,“दमोह जिल्लाको दमोह–कटनी राज्य राजमार्गमा ट्रक र अटो ठोक्किँदा धेरैको ज्यान गएको खबर सुन्दा दुःख लागेको छ । यसमा लापरवाही गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिइएको छ । यो भयानक सडक दुर्घटना हो ।”

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौँ, ८ असोज : महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ ।

महान्यायाधिवक्ता रमेश बडाललेबडालले आज मातहातका सरकारी वकिल कार्यालयलाई त्यस्तो निर्देशन दिनुभएको हो । उहाँले अभिभावकको मञ्जुरी नलिइ भागेर विवाह गरेका बालबालिकाको हकमा बालकलाई शरीर बन्धक तथा अपहरण, जवरजस्ती करणी र एकीकृत कसूरजस्ता विषयमा जाहेरीपर्ने र अभियोजन गर्नेगरेको अभ्यास देखिएकाले त्यस्तो नगरी जुन विषयमा अपराध गरेको हो त्यो विषयमा मात्र सजाय गर्ने निर्णय गरी दिर्नेशन दिइएको जानकारी दिनुभयो ।

“अठार वर्ष मुनिका बालबालिकाले बाबुआमाको मञ्जुरी नलिइ प्रेम विवाह गरेको अवस्थामा त्यो बालकलाई धेरै विषयमा बहु मुद्दा लगाउने गरेको देखियो,” महान्यायाधिवक्ता बडालले भन्नुभयो, “मायामा परेर भागेर विवाह गरेको बालकलाई शरीर बन्धक, जवरजस्ती करणी, अपहरणजस्ता धेरै विषयमा मुद्दा लगाउन हुँदैन, जुन विषयमा अपराध गरेको हो, त्यो विषयमा मात्र मुद्दा लगाउनुपर्छ ।”

सर्वोच्च अदालतबाट २०७९ कात्तिक २८ सङ्गीता (परिवर्तित नाम) जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्तोषकुमार यादव भएको अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा ‘जबरजस्ती करणी  र बालविवाहमा हुन सक्ने करणीको उद्देश्य, पृष्ठभूमि, तयारी, कार्य र मान्यतामा नै आधारभूतरूपमा फरक रहन जाने हुनाले जबरजस्ती करणीलाई बालविवाहको सन्दर्भमा उमेर मात्रको सीमाबद्ध गर्न सकिने अवस्था रहँदैन’ भनी व्याख्या भएको छ ।

बालबालिकाको सर्वोत्तम हितलाई संरक्षण गर्नु नेपाल सरकारको कर्तव्य भएको हुँदा यस्तो अवस्थामा अनुसन्धान र अभियोजन गर्दा अधिक अपराधिकरण गरी नाबालकलाई धेरै मुद्दा चलाउने भन्दा सुधार गर्नेगरी अनुसन्धान र अभियोजन गर्नु उचित हुने भएकाले उक्त निर्देशन सबै सरकारी वलिक निकायलाई दिइएको हो ।

बालविवाह बाहेक अन्य विषय बालविवाहको परिणामस्वरूप सृजना भएको परिस्थितिको कारण उत्पन्न भएको र अन्य कसूर गर्ने गराउने मनसाय राखी कार्य भएको रहेनछ भने अधिक अपराधिकरण नहुनेगरी बालविवाहको कसूरमा मात्र अनुसन्धान र अभियोजनको कारवाही अगाडि बढाउन निर्देशित गरिएको छ ।

महान्यायाधिवक्ताबाट सरकारी वकिलसम्बन्धी नियमावली, २०७७ को नियम ४२ (१) बमोजिम निर्देशन हुन आवश्यक देखिएको उक्त निर्णय गरी मातहतका निकायलाई निर्देशन दिने निर्णय भएको हो ।

कानुनअनुसार मिलापत्र गर्न सकिने

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ को उपदफा (२) तथा नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० बमोजिम मिलापत्र गराउन सकिने कानुनी व्यवस्था छ । 

निर्देशनमा भनिएको छ, “मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गतको सर्वसाधारणको ठगी, अनुचित लेनदेन, सर्वसाधारणको सम्पत्तिको हानिनोक्सानी, आपराधिक विश्वासघात, सर्वसाधारणको सम्पत्तिको हानिनोक्सानीका विषयमा ठेक्का वा करारको काममा फरक पार्नेसम्बन्धी मुद्दा, सर्वसाधारणको सम्पत्ति हानिनोक्सानी भएको मुलुकी अपराध संहिता, २०७४ दफा २८५ बमोजिमको आपराधिक उपद्रबसम्बन्धी मुद्दा कानुनबमोजिम मिलापत्र गराउन सकिनेछ ।”

त्यस्तै महान्यायाधिवक्ता कार्यालयले २०८० साउन ११ को निर्णय बमोजिम जारी भएको नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० को दफा ११ खारेज गरी मिलापत्र हुने मुद्दामा अभियोग माग दाबी वा फैसलामा नै प्रत्येक प्रतिवादीको हकमा विगो रकम यकिन भएको रहेछ भने आफ्नो दायित्वमा रहेको विगो रकमको हकमा पीडित र सम्बन्धित प्रतिवादीले मिलापत्र गर्न चाहेमा यस्ता प्रतिवादीको हकमा आंशिक मिलापत्र गराउन सकिने निर्णय गरेको छ ।

त्यसैगरी सर्वोच्च अदालतबाट नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिव्यकुमार श्रेष्ठ समेत भएको बैकिङ्ग कसूर मुद्दामा अभियोगपत्र दायर हुँदा कर्जा चुक्ता भइसकेको देखिएको अवस्थामा समेत उक्त कार्य बैंकिङ कसूर अन्तर्गतपर्ने उल्लेख छ ।

गम्भीर कसूर कायम गरी सजायका लागि माग दाबी गरेको कार्य न्यायोचित समेत नदेखिने भनी प्रतिवादीहरुले अभियोग दाबीबाट सफाई पाउने गरी फैसला भएको सन्दर्भमा ऋण लिएका व्यक्तिले ऋण चुक्ता नगरेको कारणले उत्पन्न भएको बैंङ्किग कसूर वा सहकारी ऐन अन्तर्गतको कसूरको सम्बन्धमा मुद्दा दायर हुनुभन्दा अगाडि तिर्नुपर्ने साँवा, ब्याजभुक्तान गरेको प्रमाण पेश गरेकोमुद्दामा सामान्यतया अभियोजन नगर्ने उल्लेख छ । 

यस्ता मुद्दामा अभियोजन गरिएको भए पनि सम्बन्धित बैंक वा वित्तिय संस्था वा सहकारी संस्था वा पीडित व्यक्ति र प्रतिवादीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ (२) तथा  नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० बमोजिम प्रक्रिया पूरागरी मिलापत्र गर्न चाहेमा मिलापत्र गर्न सकिने व्यवस्था छ । 

फरार शब्दको सट्टा ‘अनुपस्थित लेख्ने’

 मुद्दाको अनुसन्धानको क्रममा कुनै आशङ्कित उपर पक्राउ पूर्जी जारी नभएको वा अनुसन्धानको क्रममा हिराशतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा त्यस्ता व्यक्तिलाई अभियोगपत्रका साथ उपस्थित गराउन नसकेकोमा अभियोगपत्रमा निजको हकमा फरार प्रतिवादी भन्ने वाक्यांशको सट्टामा ‘अनुपस्थित प्रतिवादी’ भनी उल्लेख गर्ने निर्देशन भएको छ ।

“प्रहरी वा सरकारी निकायले बोलाएको बेलामा उपस्थित भएको छ, तर कुनै कारणवस एक दिन उपस्थित हुन सकेन भने फरार लेख्ने चलन छ,” महान्यायाधविक्ता वडालले भन्नुभयो, “फरार शब्द लेख्नुभन्दा अनुपस्थित प्रतिवादी लेख्नु राम्रो हुन्छ, सुधारकै प्रयत्नका लागि यो गरिएको हो ।”

खाता रोक्का गर्दा दायित्व जति मात्रै रोक्ने

महान्यायाविक्ताले कुनै अभियोग लागेका मानिसको बैंक खाता पूरै रोक्का गर्ने भएकाले जति मागदावी हो त्यति मात्र रोक्का गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

अनुसन्धानको क्रममा प्रचलित कानुनबमोजिम बैंक खाता वा सम्पत्ति रोक्का राखिएकोमा, अभियोगपत्रमा त्यस्ता बैंक खाता वा सम्पत्तिबाट पीडितलाई विगो वा क्षतिपूर्ति भराइ पाउने वा जफत गरिपाउने माग दाबी लिनुपर्ने अवस्था रहनेछ भने अनुसन्धानका क्रममा रोक्का राखेको बैंक खाता वा सम्पत्ति अभियोगपत्र दायर गर्दाकै बखत वा पक्षको अनुरोधमा अनुसन्धान गर्ने निकायमा फुकुवाको लागि लेखी पठाउने भनिएको छ ।

 साथै रोक्का राखेको सम्पत्ति वा बैंक खाताबाट पीडितलाई विगो वा क्षतिपूर्ति भराई पाउने माग दाबी लिइएको रहेछ भने विगो वा क्षतिपूर्ति भराइ पाउने माग दाबी लिइएको हदसम्मको बैंक खातामा रहेको रकम वा सम्पत्ति रोक्का राखी अन्य सम्पत्ति फुकुवाका लागि अनुसन्धान गर्ने निकायमा लेखी पठाउन निर्देशनमा भनिएको छ ।

“कुनै अभियोग लाग्ने बित्तिकै पूरै बैंक खाता रोक्का गर्ने गरेको देखियो, “महान्यायाधिवक्ता बडालले भन्नुभयो, “त्यो गर्दा अन्याय हुने भएकाले जति मागदावी हो, त्यति मात्रै रोक्का गर्न जरुरी छ, बार र सरोकारवालासँग छलफल गरेर यो निर्णय लिएको हो ।”

महान्यायाधिवक्ता बडालले सरकारी नेपाल सरकारवादी हुने मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम पुनरावलोकन गर्ने वा नगर्ने अन्तिम निर्णय सम्बन्धित नायब महान्यायाधिवक्ता गर्ने निर्णय गर्नुभएको छ ।

नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा सम्बन्धित अदालतबाट अभियोग माग दाबी बमोजिम सबै प्रतिवादीको हकमा कसूर ठहर भई सजाय भएको तर जफतको मागदावी लिइएका साधन वा सम्पत्ति जफत नहुने वा सो विषयमा फैसलामा नबोलेकोमा सो हदसम्म पुनरावेदन गर्नुपर्ने अवस्था नभएमा पुनरावेदन नगर्ने अन्तिम निर्णय उच्च सरकारी वकिल कार्यालयको सहन्यायाधिवक्ता वा सो हैसियतमा काम गर्ने सरकारी वकिलले गर्ने समेत निर्णय भएको छ ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी तथा डाँकासम्बन्धी कसूर) बमोजिमको कसूरमा सम्बन्धित अदालतबाट अभियोग मागदाबी बमोजिम सबै प्रतिवादीको हकमा कसूर ठहर भई सजाय भएको तर मागदाबी लिइएको विगोमध्ये बरामद भएको विगो मात्र भराउने गरी फैसला भएकोमा सो हदसम्म पुनरावेदन गर्नुपर्ने अवस्था नभएमा पुनरावेदन नगर्ने अन्तिम निर्णय उच्च सरकारी वकिल कार्यालयको सहन्यायाधिवक्ता वा सो हैसियतमा काम गर्ने सरकारी वकिलले गर्ने महान्यायाधिवक्ताले गर्नुभएको छ ।

साथै, महान्यायाधिवक्ताले अभियोजन गर्दाका बखत प्रचलनमा रहेको कानुनबमोजिम जरिबानावा क्षतिपूर्तिको मागदाबी लिइएकोमा फैसला हुँदाको बखत त्यस्तो कानुन निष्क्रिय÷खारेज भएको कारण जरिबाना वा क्षतिपूर्ति भराउने ठहर नभएको वा सो सम्बन्धमा फैसलामा नबोलेको अवस्था भएकोमा पुनरावेदन नगर्ने अन्तिम निर्णय उच्च सरकारी वकिल कार्यालयको सहन्यायाधिवक्ता वा सो हैसियतमा काम गर्ने सरकारी वकिलले गर्ने समेत निर्णय गर्नुभएको छ । महान्यायाधिवक्ताले आज पत्रकार भेटघाट गरी उक्त निर्णय गरेको र मातहातका निकायलाई निर्देशन समेत दिइसकेको जानकारी दिनुभयो । 

स्थिरताका लागि कांग्रेस-एमाले नेतृत्वमा सरकार गठन : मन्त्री पाण्डे

लेखनाथ (कास्की), ८ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीतिक, आर्थिक एवं सामाजिक अस्थिरतालाई ठिक ठाउँमा ल्याउन दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्वमा सरकार गठन भएको बताउनुभएको छ ।

कांग्रेस गण्डकी प्रदेश कार्यालय पोखरामा आज आयोजित कार्यक्रममा उहाँले विसं २०८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी एमाले भए पनि देशलाई अस्थिरताबाट जोगाउन कांग्रेसले मिलेर सरकार बनाउनुुपरेको बताउनुभयो । “देशलाई सङ्कटबाट मुक्त गर्न दुई पार्टीबीच सहकार्य भएको हो । त्यसैले जनतालाई राहत दिने गरी सरकारले काम गर्नुपर्छ भनेर लागिरहेका छौँ । देशलाई सही दिशामा डोर्‍याउन सरकार सचेत र संवेदनशील भई अन्य पार्टीलाई पनि सँगै लिएर जान्छ”, मन्त्री पाण्डेले भन्नुभयो ।

विविधतापूर्ण संस्कृति र प्राकृतिक रूपमा सम्पन्न नेपालमा पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै मन्त्री पाण्डेले यसका लागि सरकार क्रियाशील रहेको धारणा राख्नुभयो ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उहाँले जानकारी दिनुभयो । “दुई वटा विमानस्थल चलायमान गर्न विमानस्थलबाट लिँदै आएको प्रतिव्यक्ति रु तीन हजार कर छुट गरिएको छ । अब नेपाली आकास सुरक्षित छ भन्ने सन्देश दिन सबै मिलेर काम गर्न जरूरी छ”, मन्त्री पाण्डेको भनाइ थियो ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपालमा धार्मिक पर्यटकको सम्भावना रहेकाले भएकाले सोहीअनुसार पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी

गोदावरी (कैलाली), ८ असोज : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको नीजि क्षेत्रले देश निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र यसमा थप सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले अर्थतन्त्रमा थप भूमिका खेल्ने गरी उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नु सरकारको दायित्व रहेको धारणा राख्नुभयो । “देशमा सञ्चालित ठुला, मझौला र कुटिर उद्योगीलाई प्रोत्साहन नगरेसम्म रोजगारीका अवसर सिर्जना गर्न सकिँदैन । त्यसैले रोजगारीका अवसरसँगै आत्मनिर्भर बन्ने खालका उद्योगलाई प्रोत्साहन गर्न सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो ।

सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर ४१ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । “चाडपर्वका बेला नागरिकले सहज र सहुलियत दरमा उपभोग्य सामान पाउन भन्ने उद्देश्यले सरकारले यस्ता पसल सञ्चालन गर्दै आएको छ । यसबाट लाभ लिन मेरो आग्रह छ”, उहाँको भनाइ थियो,“साथै चाडपर्वको मौका पारेर हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीब्रता दिइएको छ । उपभोक्ताको हकअधिकार सुनिश्चितताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन सुरक्षा निकायलगायत सरोकार भएका निकाय गम्भीर भएर लाग्नुपर्ने आवश्यकता छ ।”

मन्त्री भण्डारीले सुदूरपश्चिममा औद्योगिक क्रियाकलाप विकासका लागि सरकार प्रतिबद्ध रहेको र कञ्चनपुरको दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनाको काम सोहीअनुसार अगाडि बढ्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ, ८ असोज : प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । उहाँले आज मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।

गत भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको थियो । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।

“मैले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतमा हस्ताक्षर गरेको थिएँ । ती प्रतिबद्धताअनुसार कार्यसम्पादनमा बाधा–अड्चन नआउनेगरी, आयोजनाहरू समयमा सम्पन्न हुनेगरी कार्यसम्पादन सम्झौता अक्षरश पालना हुने विश्वास लिएको छु,” कार्यसम्पादन सम्झौतापछि सिंहले भन्नुभयो । उहाँले मन्त्रालयको कामलाई जनताले अनुभूति गर्नेगरी अगाडि बढाउन पनि सम्झौताबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनाबद्ध सहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनाबद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्नेगरी कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री

लुम्बिनी, ८ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देशमा सुशासन कायम गर्नका लागि राजनीतिक नेतृत्वमा इमान्दारिता चाहिने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथिको छलफलमा उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारिता जरुरी पर्ने बताउनुभयो । “राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ ।

नियत बेठीक छैनभने ‘ब्यूरोक्रायट’ले पनि साथ दिन्छ । मैले साथ पाइरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ”, उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वमा समस्याहरू छन् । सबै कुरा सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढिरहेको छ ।”

कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागिता थियो । लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल सुरु गरेको हो ।