युक्रेनमा ‘कठिन वार्ताहरू’ आउने क्रेमलिनको भनाइ


क्रेमलिनले आइतबार युक्रेन द्वन्द्वको द्रुत समाधानको अपेक्षालाई कम आकलन गर्दै वार्ताहरू भरखर सुरु भएको र ‘कठिन वार्ताहरू’ आउने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षभन्दा बढीको लडाइँको द्रुत अन्त्यका लागि दबाब दिनुभएकाले रुस र युक्रेनका प्रतिनिधिमण्डलले आगामी ४८ घण्टामा साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गर्ने तयारी गरेका छन् ।
“हामी यस मार्गको सुरुआातमा मात्र छौँ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले रुसी सरकारी टेलिभिजनलाई भन्नुभयो ।सम्भावित युद्धविराम कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा धेरै उल्लेखनीय ‘प्रश्न’ र ‘सूक्ष्मताहरू’ रहेको उहाँले बताउनुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण र तत्काल ३० दिने विरामका लागि अमेरिकी–युक्रेनी संयुक्त आह्वानलाई अस्वीकार गर्नुभएको छ । यसको सट्टा उहाँले ऊर्जा सुविधाहरूमा मात्र आक्रमण रोक्न प्रस्ताव गर्नुभएको छ ।
“आगाडि कठिन वार्ताहरू छन्”, पेसकोभले सामाजिक सञ्जालमा प्रकाशित अन्तर्वार्तामा भन्नुभयो ।
उहाँले संयुक्त राज्य अमेरिकासँगको वार्तामा रुसको ‘मुख्य’ ध्यान सन् २०२२ को कृष्ण सागर अनाज सम्झौताको सम्भावित पुनः सुरुआतका बारेमा छलफल गर्ने पनि हुने बताउनुभयो । उक्त सम्झौताले कृष्ण सागरमा युक्रेनी कृषि निर्यातका लागि सुरक्षित यातायात सुनिश्चित गरेको छ ।
“सोमबार हामी मुख्य रूपमा तथाकथित कृष्ण सागर पहल पुनः सुरु गर्ने राष्ट्रपति पुटिनको सम्झौतामा छलफल गर्न चाहन्छौँ र हाम्रा वार्ताकारहरू यस समस्या वरपरका सूक्ष्मताहरूबारे छलफल गर्न तयार हुनेछन्”, पेसकोभले भन्नुभयो ।
पश्चिममाथि रुसको आफ्नै कृषि उत्पादन र मलको निर्यातमा लगाइएको प्रतिबन्धलाई सहज बनाउन असफल भएको आरोप लगाउँदै सन् २०२३ मा टर्की र संयुक्त राष्ट्रसङ्घले मध्यस्थता गरेको सम्झौताबाट मस्को बाहिरिएको थियो ।