`

असोज ९ गतेदेखि भक्तपुरमा कार मेलाको आयोजना हुने

काठमाडौँ । भक्तपुरमा फ्युचर इभी कार्निभल एक्सपो अर्थात कार मेलाको आयोजना हुने भएको छ । भोली बुधबार अर्थात असोज ९ गतेदेखि दशैँलाई लक्षीत गरेर आयोजना हुन लागेको मेला शनिबारसम्म चल्नेछ । फ्यूचर्स मोटर्स प्राली भक्तपुरका म्यानेजिङ डाईरेक्टर गोबिन्द घिमिरेका अनुसार मेलामा ८ वटा ब्राण्डका केवाईसी, किगं कंग, नेटा, रिडारा, डायोन, जेएसी, एक्सप्यागं ब्राण्डका कारहरु हुनेछन् ।

म्यानेजिङ डाईरेक्टर घिमिरेका अनुसार बुधबार बिहान मेलाको उद्घाटन हुनेछ भने मेला साँझ ६ बजेसम्म संचालन हुनेछ । म्यानेजिङ डाईरेक्टर घिमिरेका अनुसार मेलाका आर्कषणहरुमा ६ लाख सम्मको छुट अफर ल्याइएको छ भने मेलामा टेस्ट ड्राइभको पनि सुबिधा रहेको छ ।

एउटै प्ल्इाटफर्ममा सबै इलेक्ट्रिक गाडी छानीछानी हेर्ने मौका मेलाको मुख्य आर्कषण हुनेछ भने मेलामा नयाँ कार लिने र पुरानो कार साट्ने सुनौले अफर पनि रहेको छ । मेलामा फुड, ड्रिगंसदेखि बच्चाबच्चीहरुलाई खेल्ने स्थानको पनि व्यबस्था गरिएको छ । मेला भक्तपुरको राधे राधेसँगैको हेरिटेज पार्टी प्यालेसमा आयोजना गरिएको छ । जुन भक्तपुरको भाटभटेनीसँगै रहेको छ ।

सर्लाहीमा कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

मलङ्गवा (सर्लाही), ८ असोजः सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय बब्लु अन्सारीकी छोरी दुई वर्षीया आईसा खातुनको कुलोमा डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर अगाडि खेल्दै गरेकी खातुनलाई नदेखेपछि परिवारले आज दिउँसो प्रहरीमा खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले खोजतलास गर्दा घरदेखि एक सय ५० मिटर दक्षिणतर्फ कुलोको पानीमा डुबेर मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा हिजो करेन्ट लागेर दुई वर्षीय एक बालकको मृत्यु भएको थियो ।

संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया

वीरगञ्ज (पर्सा), ८ असोज : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधनमार्फत मधेशी, दलित, जनजाति र मुस्लिम समुदायको अधिकारको दायरालाई अझै फराकिलो पार्दै लैजाने बताउनुभएको छ ।

यहाँस्थित पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन कार्यक्रममा मन्त्री चौरसियाले भन्नुभयो,“मधेशी समुदायको अधिकार स्थापनाका लागि आफूले प्रतिनिधित्व गरेको पार्टी नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ”,उहाँले भन्नुभयो,“सरकारको प्रमुख साझेदारको हैसियतले आगामी दिनमा पनि समानुपातिक समावेशिताका सवाललाई रक्षा गर्न हाम्रो पार्टी र सरकार कटिबद्ध भएर लाग्नेछ ।”

मन्त्री चौरसियाले परिवर्तन र पटक–पटक जनअधिकार खोस्ने प्रयासका विरुद्ध सङ्घर्ष गरेर आएका पार्टी कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन सरकारले जनअधिकारलाई थप सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने धारणा राख्नुभयो ।

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नादनसिंह क्षेत्रीले पर्साका ग्रामीण क्षेत्रका जनतालाई कृषिमा सहुलियत र थप अनुदान बढाउनुपर्छ भन्नेमा आफूहरू रहेको बताउनुभयो । “यस विषयमा प्रदेश सरकारले मात्रै चाहेर हुँदैन । सङ्घीय सरकारले यहाँका कृषकको जीविकोपार्जन र कृषिलाई आत्मनिर्भर गराउने योजना ल्याउन जरूरी भएको छ । यस कार्यमा प्रदेश सरकार सङ्घीय सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले नेपाली कांग्रेस नेतृत्वमा रहँदा पर्सा जिल्लामा सडक र अन्य पूर्वाधार निर्माण गरेर जनतालाई सहज ढङ्गले यात्रा गर्ने वातावरण बनाएको दाबी गर्नुभयो ।
मधेश प्रदेशसभा सदस्य कृष्णप्रसाद यादवले केन्द्र र प्रदेशमा कांग्रेसकै नेतृत्वमा कृषि मन्त्रालय रहेकाले कृषि क्षेत्रलाई थप चलायमान र उत्पादनमूलक बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वमन्त्री उमाकान्त चौधरीले कांग्रेसले स्थापनाकालदेखि नै मधेशको हित र विकासमा काम गर्दै आइरहेको र अब थप भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा सदस्य अनिल रुगताले औद्योगिक नगरी वीरगञ्जमा आर्थिक गतिविधि सुस्त हुनुले देशको अर्थतन्त्रको अवस्था देखाउने र यसलाई चलायमान गराउने गरी सरकारले आवश्यक काम गर्न जरूरी रहेको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुङ्गाना सुनकोशी मरिण डाइभर्सन सिँचाइ आयोजनाले मधेसको कृषि र उत्पादन वृद्धिमा आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चुरे क्षेत्रलाई अतिक्रमणबाट जोगाउँदै मरुभूमीकरण हुनबाट रोक्न सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

इरानका राष्ट्रपति पेजेस्कियन ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमण गर्ने, राष्ट्रपति पुटिसँग भेट्ने तयारी

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले ब्रिक्स शिखर सम्मेलनमा भाग लिन अर्को महिना रुसको भ्रमण गर्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी रहेको सरकारी प्रवक्ताले मङ्गलबार बताउनुभएको छ ।

अक्टोबर २२ देखि २४ सम्म कजानको भोल्गा उपत्यका सहरमा हुने ब्रिक्स शिखर सम्मेलनमा पेजेस्कियनले जुलाईको अन्त्यमा पदभार सम्हालेपछि रुसको पहिलो भ्रमण हुनेछ ।

ब्रिक्स सन् २००९ मा पाँच प्रमुख उदीयमान अर्थव्यवस्था ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको नाम जोडेर स्थापना गरिएको क्षेत्रीय सङ्गठन हो । हाल यो इरानसहित केही मध्यपूर्वी देशलाई समावेश गर्न विस्तार गरिएको छ ।

“राष्ट्रपतिले ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भ्रमण गर्नुहुनेछ”, इरानी सरकारका प्रवक्ता फातेमा मोहाजेरानीले सञ्चारकर्मीलाई बताउनुभयो , “उहाँले रुसका राष्ट्रपतिसँग द्विपक्षीय बैठक पनि गर्नुहुनेछ ।”

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न महानिरीक्षक राईको निर्देशन

काठमाडौँ, ८ असोजः निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, त्यस्ता गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न पनि निर्देशन दिनुभयो । उहाँले चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गर्नुभयो । “चाडपर्व लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणका लागि थप सक्रिय भई काम गर्नुस् । नागरिक सेवा चुस्त बनाउँदै प्रहरीप्रति थप भरोसा र विश्वास बढाउने गरी केन्द्रित हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्यलगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

यसपटकको चाडपर्वमा उपत्यकाबाट १८ लाख मानिस बाहिरिने अनुमान

काठमाडौँ, ८ असोज : यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भन्नुभयो, “यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।”

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उहाँले बताउनुभयो । प्रवक्ता खड्काले भन्नुभयो, “सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।”

खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उहाँले बताउनुभयो । प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसीयारी पुर्‍याउन र यात्रुलाई पनि सजगरहन आग्रहसमेत गर्नुभयो ।

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा

वीरगञ्ज (पर्सा), ८ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा क्रमशः आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ ।

पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभुत अस्पताल भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले सङ्घीयतालाई थप बलियो बनाउँदै नागरिकहितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । “मुलुक सङ्घीय संरचनामा गइसकेपछि सोही ढाँचाअनुसार नै क्रमशः शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुँदै गइरहेको छ । सरकारले आधारभूत सेवालाई जनस्तरसम्म पु¥याउनको लागि अधिकतम प्रयास गर्दै आइरहेको छ, जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको छ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो,“अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो । यी दुवै कुराको सम्बोधनका लागि सरकारले ध्यान दिइरहेको छ । यो विगतदेखि नै सरकारको नीति हो ।”

सभापति देउवाले आधारभूत अस्पताललाई जनतालाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न अनुरोध गर्नुभयो । उहाँले अस्पतालले पालिकाका मात्र नभइ अन्य क्षेत्रका बिरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने विश्वा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले जनहितका काम गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको सरकारले स्थायित्व र संविधान संशोधनका लागि सरकार बनेको बताउनुभयो । “संविधान संशोधनका विषयमा जनताको घर–घरमा सल्लाह र सुझाव लिएर प्रक्रिया अघि बढाउनेछौँ”, उहाँले भन्नुभयो, “जनअधिकार रक्षा र संवर्धनका लागि सबैसँग समन्वय र सहमतिका आधारमा उपयुक्त ढङ्गले अगाडि बढ्न आवश्यक छ । यसमा हामी सचेत छौँ ।”

म्यान्माकी पूर्वनेता आङ सान सु कीलाई भ्याटिकन क्षेत्रमा शरण दिने प्रस्ताव

पोप फ्रान्सिसले हिरासतमा रहनुभएकी म्यान्माकी पूर्वनेता आङ सान सु कीलाई भ्याटिकन क्षेत्रमा शरण दिने प्रस्ताव गर्नुभएको इटालेली सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । “मैले आङ सान सु कीको रिहाइको माग गरेँ र रोममा उहाँको छोरालाई भेटेँ, मैले उहाँलाई हाम्रो क्षेत्रमा शरण दिनका लागि भ्याटिकनलाई प्रस्ताव गरेको छु”, पोपले यसै महिनाको सुरुमा एसियाको भ्रमणका क्रममा जेसुइट (रोयल क्याथोलिक समाजका सदस्य) हरूसँगको बैठकको विवरणअनुसार भन्नुभयो ।

कोरिएरे डेला सेरा दैनिकले प्रकाशित गरेको इटालेली पादरी एन्टोनियो स्पाडारको लेखमा सेप्टेम्बर २ देखि सेप्टेम्बर १३ सम्म इन्डोनेसिया, पूर्वी टिमोर र सिङ्गापुरमा भएका यी निजी बैठकहरूका अंश दिइएको छ ।
“हामी म्यान्माको अवस्थाबारे चुप लागेर बस्न सक्तैनौँ, हामीले केही गर्नुपर्छ”, पोपले भन्नुभयो, “तपाईंको देशको भविष्य शान्तिपूर्ण हुनुपर्छ, सबैको मर्यादा र अधिकारको सम्मान तथा सामान्य हितमा योगदान दिन सबैलाई सक्षम बनाउने लोकतान्त्रिक प्रणालीको सम्मानमा आधारितहुनुपर्छ ।”

भ्रष्टाचारदेखि कोभिड महामारी प्रतिबन्धको सम्मान नगरेको जस्ता आरोपहरूमा ७८ वर्षीया सु कीले २७ वर्षको जेल सजाय भोग्दै हुनुहुन्छ । 

सन् २०१५ मा उहाँको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले म्यान्माको २५ वर्षपछि भएको पहिलो लोकतान्त्रिक निर्वाचन जितेको थियो । सन् २०२१ मा सैन्य कू हुँदा उहाँलाई पक्राउ गरिएको थियो र स्थानीय सञ्चारमाध्यमका अनुसार हिरासतमा उहाँ स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ । 

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता सु कीलाई कुनै समय मानवाधिकारको प्रतीकका रूपमा प्रशंसा गरिन्थ्यो ।

तर सन् २०१७ मा मुलुकको मुख्य रूपमा रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सेनाको दमन रोक्न केही नगरेको आरोप लागेपछि उहाँ अन्तर्राष्ट्रिय समर्थकहरूको नजरमा बदनाम हुनुभयो ।
छिमेकी मुलुक बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीहरूका अनुसार यो दमन संयुक्त राष्ट्रसङ्घको चलिरहेको नरसंहारको विषय हो र उत्पीडन अहिले पनि जारी छ । 

मुख्य रूपमा बौद्ध धर्मावलम्बी म्यान्मा सन् २०२१ को कूदेखि अशान्त छ । यहाँ जुन्ता सरकार स्थापित जातीय विद्रोही समूहहरू र नयाँ प्रजातन्त्र समर्थक शक्तिहरू दुवैसँग लडिरहेको छ । 

चन्दको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कञ्चनपुर, ८ असोज- भिमदत्त नगरपालिका-१० सुकासाल बस्ने ४२ वर्षीय करन चन्दको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७ सय ७० रूपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ८ असोज- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ताप्लेजुङ फुङलिङ नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २९ वर्षीय प्रज्ञान उप्रेती र मकवानपुर थाहा नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विश्वराज रूम्बा रहेका छन् ।

पक्राउ मध्ये प्रज्ञानले १ जना पीडितबाट ५ लाख रूपैयाँ र विश्वराजले १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रज्ञानलाई काठमाडौं कोटेश्वरबाट र विश्वराजलाई कलंकीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ’

प्रतिक्षित फिल्म “मिसिङ्गः केटी हराएको सूचना” को पहिलो गित “हेर्दै जाउँ” रिलिज भएको छ। ट्राइ-सिटी पिक्चर्स प्रालिले निर्माण गरेको फिल्म “मिसिङ्गः केटी हराएको सूचना” यहि कात्तिक ३० गते नेपालभरका सिनेमा घरहरुमा सार्वजनिक प्रदर्शनमा आउँदैछ।

लोकप्रिय र मधुर संगित तथा मधेशको रोमान्चक दृश्यहरु रहेको गितको भिडियोमा मुख्य कलाकारहरु नाजिर हुसेन र सृष्टि श्रेष्ठले मधेशको रहनसहनको अनुभव लिएको देख्न सकिन्छ।
हेर्दै जाउँ शिर्षकको गितमा रोहित जोन क्षेत्री र सितुसीत बस्नेतको सुमधुर आवाज रहेको छ भने यसको लेखन र कम्पोजिसन दुबै दिपेन्द्र गौचनले गरेका छन्।यो गित म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” निर्देशन गरेका हुन्।

उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउन तयार भएका छन्।

गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ। गौचनको सन २०२५ को भिजनमा नेपाली सिनेमालाई एक फस्टाउँदो, विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने समावेश छ। नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्र, मिसिङः केटी हराएको सूचना, यही दृष्टिकोणको प्रमाण हो।यस चलचित्रमा पहाडी समुदायकी युवती र मधेसी समुदायका युवाको रहनसहन र मेलमिलाप र दैनिक दिनचर्याको बारेमा मिठो कथा कोरिएको छ।

चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता/जेसी) रहेकी छन भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन/र्याम्बो) रहेका छन् । त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन् । यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, र म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।तपाईँ पनि “मिसिङ्गः केटी हराएको सूचना” यो रोमान्चक गितको अनुभव लिनुहोस्-

https://www.youtube.com/watch?v=HK7XK9LYBAI

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म

गुल्मी, ८ असोजः जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ ।

वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् ।
गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ । जङ्गलबाट टिपेर ल्याएका चिजको गाउँमा खासै महत्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जङ्गलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् ।

उनीहरूले जङ्गलबाट टिपेर ल्याएको निहुरोलाई स–साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्याउँछन् । एउटा डोकामा एक सय ५० मुठासम्म अटाउँछन् । यसरी एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म ल्याइपुर्याउँदा साना मुठाको रु ३० देखि ठूला मुठाको रु ५० सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका–५ कीे चन्द्रकली कुमाल बताउनुहुन्छ । “दिनभर जङ्गलमा जानुपर्यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नु पर्छ, जङ्गलमा जुका लागेर हैरान हुन्छ, जङ्गलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति”, उहाँले भन्नुभयो ।

चन्द्रकलीमात्र होइन, उहाँजस्तै जङ्गलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुग्नुभएकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घर खर्च चलाउन ठूलो राहत पुगेको छ ।” बर्खाको समयमा जङ्गलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्याउन त्यति सहज भने छैन । तर पनि उहाँहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जङ्गलबाट टिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन् ।

गुल्मीको निहुरो सदरमुकाम तम्घासमात्र होइन, अर्घाखाँचीदेखि बुटवलका बजारका तरकारी पसलसम्म पुग्ने गर्दछ । यहाँको निहुरोको बजारमा राम्रो माग छ । विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका उपभोक्ताका लागि पहाडको लेकबाट टिपेर ल्याएको अग्र्यानिक निहुरो खोजीखोजी लैजाने गर्दछन् । यसबाट अचार, तरकारी र चुकौनीलगायत परिकार बनाउन सकिने र निकै स्वादिलो हुने भएका कारण बजारमा यस्ता तरकारीको माग हुने गरेको छ ।

निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले रु २० देखि ३० हजारसम्म आम्दानी गर्छन । सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानी परेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन । आजभोलि कोसेलीका रुपमा समेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौँसम्म पठाउने गरिन्छ ।

आमन्त्रण गोल्डकपलाई निर्माता ज्योतिराज राईले दिए ८ लाखको सुन र चाँदि जडित ट्रफी

काठमाडौंँ । फिल्म निर्माता तथा नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले ‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित रनिङ ट्रफी प्रदान गरेका छन् ।

आइतबार इटहरीको बेलबारीमा आयोजित एक बिशेष समारोहबिच उनले गोल्डकपका लागि रनिङ ट्रफी आफैले निर्माण गरेर आयोजकलाई प्रदान गरेका हुन् । एल एक्स सिटी फुटबल क्लब अध्यक्ष बीक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले ट्रफि बुझेका थिए ।
निर्माता राईले उक्त ट्रफी आफ्ना स्व. बुवा मेजर एन.बि. रुङमाहाङ राईको स्मृति निर्माण गरिएको हो । ट्रफि निर्माणमा उनलाई परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानू राईले साथ दिएका छन् ।

कार्यक्रममा राईले ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी गराए । ‘खेलाडीहरुको हौसलाका लागि मैले ट्रफि बनाएको हो’, राइले भने ‘आगामी दिनमा पनि जे सक्छु खेलाडीको हौसलाका लागि सहयोग गर्छु ।’ उनले २०४८÷०४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेल आयोजना गरेको स्मरण गरे ।

निर्माता राईबाट प्राप्त ट्रफी तीन पटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मुल्य अनूरूपको रकम प्रदान गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा ट्रफी बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइ र निर्माता राईको हातबाट अनावरण समत भयो ।

‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरङको बेलबारी नगरुपालिका – ११ लक्ष्मी खेल मैदानमा असोज ११ गतेदेखि १९ गतेसम्म आयोजना हुदैछ । प्रतियोगिताको आयोजना एल एक्स सिटी फुटबल क्लबले गर्दैछ । खेलकुदले स्थानीय खेलाडी र खेलकुदप्रेमीहरूलाई प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ ।

झापाको विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर (झापा), ८ असोजः झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो ।

प्रहरीका अनुसार गएराति उक्त मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आज विहान बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

भारत फोर–जी प्रविधि विकास गर्ने छ मुलुकमध्ये एक– सिन्धिया

केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा फोर–जी प्रविधि विकास गरेका विश्वका छ मुलुकमध्ये भारत एक बनेको बताउनुभएको छ ।

मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको कार्यकालको पहिलो एक सय दिनका उपलब्धीहरू सुनाउने क्रममा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको उद्देश्य बिएसएनएलका लागि विदेशी प्रविधि समावेश गर्ने फोर–जी विकास गर्नु थियो । साथै, भारतलाई प्रविधि उपकरण उत्पादकका रूपमा पनि स्थान दिनु थियो । यसले हाम्रो क्षमता र दृढ सङ्कल्प झल्काउँछ, जुन प्रधानमन्त्रीको दृष्टिकोणसँग मेल खान्छ ।”

आज आफ्नो फोर–जी प्रविधि स्थापना गर्ने विश्वव्यापी छ मुलुकमध्ये भारत एक रहेको उल्लेख गर्दै उहाँले ‘हामीलाई यो आत्मनिर्भरता हासिल गर्न विश्वको छैटौँ राष्ट्र बनाएको छ’ भन्नुभयो । 

“पछिल्लो सय दिनमा हामीले सात हजार दुई सय ५८ टावर खडा गरी सञ्चालनमा ल्याएका छौँ । हामीले नौ हजार पाँच सय ६० गाउँमा पूर्ण सञ्चार सेवा प्रदान गरेका छौँ र हाम्रो दोस्रो केन्द्रीत पूर्वाधार क्षेत्र हो”, उहाँले भन्नुभयो ।

अनुसन्धान र सिक्स–जी इकोसिस्टमअन्तर्गत देशका विभिन्न संस्थामा ८१ वटा फाइभ–जी प्रयोगशालाहरू स्थापना गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश : चालु आवको बजेटमा कृषि क्षेत्र प्राथमिकता

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षकोे बजेटमा ‘पर्यटन पूर्वाधार : समृद्ध प्रदेशको आधार’ भन्ने नारासहित पर्यटन पूर्वाधार विकासका योजनाहरूलाई समेटेको छ ।

आइतबार प्रदेशसभाले पारित गरेको सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रममा पर्यटन पूर्वाधार विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन गुरुयोजना बमोजिम होटेल, लज, हिल स्टेसन, डाउन हिलसाइड रुट, स्काई साइकल, बञ्जी जम्प, होमस्टे, जिपलाइन प्याराग्लाइडिङ, र्‍याफ्टिङलगायत पर्यटनको पूर्वाधारको निर्माण गर्ने विषय समेटिएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रको सहभागितामा नै पर्यटन महोत्सव तथा खप्तड क्षेत्रमा खेलकुद पर्यटनसम्बन्धी प्रतियोगिताहरू आयोजना गरिने जनाइएको छ । प्रादेशिक पर्यटन महोत्सवका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशमा रहेका बडिमालिका, खप्तड, रामारोशन, मालिकार्जुन, गोदावरी धाम, शुक्लाफाँटा, शैलेश्वरी मन्दिर, बेहँडाबाबा, अजयमेरु कोट, उग्रतारा मन्दिर, टीकापुर पार्क, शुर्मादेवी, मेलौली भगवति, बैद्यनाथ धामलगायत पर्यटकीय पूर्वाधारको विकास, विस्तार र प्रवर्द्धन गरिने बजेट वक्तव्यमा उल्लेख छ । यसका लागि रु १३ करोड ५०लाख बजेट विनियोजन गरिएको छ ।

बजेट कार्यक्रममा देवाटन धार्मिक पर्यटन र पर्यापर्यटनको लागि पर्यटक सर्किट निर्माण र ‘झुसे दमाई सांस्कृतिक सङ्ग्रालय’को सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका र डोटीको पूर्वीचौकी गाउँपालिकाअन्तर्गत नक्षत्र बाटिका र कैलालीको गौरीगङ्गामा ‘हर्बल पार्क’ निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ ।

अन्तर्राष्ट्रिय सीमानाका त्रिनगर र गड्डा चौकीका साथै कैलालीको कर्णाली चिसापानी क्षेत्रमा पर्यटन सहायता केन्द्र सञ्चालन एवं व्यवस्थापन गरिने जनाइएको छ । पर्यटन विकासको माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरणका माध्यमबाट आर्थिक विकासमा टेवा पुर्‍याउन धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्र र राष्ट्रिय र प्रादेशिक महत्त्वका तालतलैयको संरक्षण एवं प्रवर्द्धन गरिने विषय बजेट कार्यक्रममा समेटिएको छ ।

कला, संस्कृति वेशभूषा, रहनसहन, परम्परा झल्किने गरी धार्मिक, सांस्कृतिक, पुरातात्विक र ग्रामीण पर्यापर्यटन प्रवर्द्धन गर्न प्रदेशस्तरमा एकीकृत सांस्कृतिक सङ्ग्रालय स्थापना निर्माण थालनी गरिने जनाइएको छ । सम्भाव्यताका आधारमा आवश्यक ‘नमूना होमस्टे’ सञ्चालनका पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।

बजेटले प्राथमिकता दिएको कृषि, मत्स्य, पशुपन्छी र सहकारी शीर्षकतर्फ ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश सरकारको अभियान,’ ‘पढ्दै कमाउँदै कृषि कार्यक्रम’, ‘हत्केलामा कृषि सेवा,’ ‘कृषक र कृषक प्राविधिकसँगसँगै अवधारणा’, ‘कृषि उत्पादनको मूल आधार माटो हो’, ‘हातमा ठेला निधारमा पसिना खेतवारीमा फसल,’ ‘खेतबारी नराखौँ बाँझो अन्नबाली फलाऔँ मिलाई चाजोपाजो’ ‘मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम’ आदि नारासहित कृषि गतिविधि सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ ।

यस्तै कृषिको उत्पादन लागत घटाई आम कृषकको आम्दानी वृद्धि गर्नमा टेवा पुर्‍याउन कृषकलाई कृषि ऋणको ब्याज र विद्युत् महशुलमा सहुलियतको व्यवस्थासमेत मिलाउने विषय पनि समेटिएको छ ।

बजेटले लिएका उद्देश्य पूरा गर्न प्रदेशमा रोजगारी र स्वरोजगारी सिर्जन गरी गरिबी न्यूनीकरण गर्ने, कृषि पशुपन्छी र पर्यटन क्षेत्रको विविधिकरण, आधुनिकीकरण, व्यवसायीकरणलाई मूख्य प्राथमिकता दिएको छ । शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवामा सुधार, ऊर्जा, यातायात तथा सडकलगायतका भौतिक पूर्वाधारको विकास आदिलाई पनि प्राथमिकता दिइएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेकोे रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट आइतबारको प्रदेशसभा बैठकले पारित गरेको हो । यसअघि गएको असार १ गते प्रस्तुत गरिएको चालु आर्थिक वर्षको बजेट छलफल भएर पारित हुन नपाउँदै तत्कालीन सरकार अल्पमतमा परेपछि उक्त बजेट अलपत्र परेको थियो । बजेट पारित नहुँदा प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको थियो ।

बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म

म्याग्दी, ८ असोजः म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो ।

शनिबार र बिदाका दिनमा समेत दैनिक १३ घण्टे ओपिडी सेवा विस्तार भएपछि सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा अञ्जु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बेनी अस्पतालको ओपिडी सेवाबाट ७३ हजार नौ सय ३० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । यसअघि आव २०७९/८० मा ५० हजार दुई सय ८१ र आव २०७८/७९ मा ४० हजार एक सय १० जनाले ओपिडी सेवाबाट स्वास्थ्योपचार गराएका थिए ।

अस्पतालले सोमबार आयोजना गरेको वार्षिक समीक्षामा अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा थापाले साँघुरो भौतिक पूर्वाधार र सीमित स्रोत, साधनका बीच विस्तार भएको ओपिडी सेवाले बिरामीलाई सहजता मिलेको बताउनुभयो । गत वर्ष सात हजार पाँच सय ७२ जनाले अस्पतालको आकस्मिक सेवा लिएका छन् भने दुई हजार दुई सय ६५ जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरेको उहाँले बताउनुभयो । त्यस्तै गत वर्ष कुल तीन सय ७० महिला बेनी अस्पतालमा सुत्केरी भएकामा ९६ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष बेनी अस्पतालमा ९८ जनाको मुख्य शल्यक्रिया गरिएको छभने नौ हजार छ सय ३६ जनाले युएसजी सेवा लिएका छन् । चार हजार १३ जनाले इसिजी सेवा लिएकामा १५ हजार आठ सय ९५ जनाले एक्सरे सेवा पाएका छन् । अस्पतालको सुविधासम्पन्न भवन निर्माणधीन अवस्थामा रहेकाले भौतिक पूर्वाधार र जनशक्ति अभावका बीचमा सेवा विस्तार गरी बिरामीलाई सहजता प्रदान गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

उहाँले अस्पतालमा मेसिन उपकरणको बन्दोबस्त गर्ने काम भइरहेको भए पनि भवनको पूर्वाधारले पूर्णता नपाउँदा सेवालाई थप विस्तार र स्तरीकरण गर्न समस्या भएको जानकारी दिनुभयो । विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भए पनि अस्थायी भौतिक संरचना थप गरेर अहिले ७८ बेड पुर्याइएको छ । अस्पतालमा स्वीकृत दरबन्दी कुल ५९ रहे पनि हाल जम्मा २६ जनाको मात्रै पदपूर्ति भएको छ ।

अस्पतालको सेवालाई सञ्चालन गर्न अस्थायी र करारमा समेत नियुक्त गरेर हाल अस्पतालमा एक सय २० जना कार्यरत रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । बेनी अस्पतालमा मानसिक रोग, महिला तथा प्रसूति रोग, जनरल फिजिसियन, बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग, जनरल सर्जरीलगायत विशेषज्ञ सेवाका साथै मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस सेवा सञ्चालन हुँदै आएको छ ।

अतिरिक्त समयको सेवा प्रभावकारी

अस्पतालले सञ्चालन गरेको अतिरिक्त समयको सेवा प्रभावकारी बनेको छ । बिहान, बेलुकी र सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा सेवा पाएपछि कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको हो । अस्पतालको अतिरिक्त समयको सेवाले मजदुर, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थीलाई निजी क्लिनिक जानुपर्ने समस्या हटेको बेनीका रिमा क्षेत्रीले बताउनुभयो ।

“सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानुुपरेन”, उहाँले भन्नुुभयो “कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ, धेरै लाइन बस्नुु पनि परेन ।”

अतिरिक्त समय सेवा दिन थालेपछि सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका निमित्त प्रमुख डा थापाले बताउनुभयो । “अतिरिक्त समय सेवा प्रवाह सञ्चालन गरेपछि सेवाग्राहीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २४ हजार जनाले बढेको छ”, उहाँले भन्नुभयो “बहिरङ्ग विभागको सेवा लिने करिब ४० प्रतिशत अतिरिक्त समयका सेवाग्राही छन् ।”

पचास शय्या क्षमता भए पनि ७८ शय्या बराबरको सेवा दिँदै आएको बेनी अस्पतालमा म्याग्दीका साथै पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका बासिन्दाले सेवा लिँदै आएका छन् । अस्पतालको सामाजिक सेवा एकाइबाट निःशुल्क र सहुलियत रूपमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या पनि बढेको छ । एकाइमार्फत आव २०७९/८० मा चार सय ७६ जनाले सेवा लिएकामा यो सङ्ख्या आव २०८०/८१ मा बढेर एक हजार एक सय ८६ जना पुगेको अस्पतालका सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्तले बताउनुभयो ।

एकाइमार्फत महिला स्वास्थ्य स्वयंसेविका, गरिब, असाहय, परिचयपत्रबाहक अपाङ्ग, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित, गरिब तथा विपन्न, विपद् प्रभावित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी र जनजातिले निःशुल्क वा सहुलियतमा सेवा पाउँछन् ।

“स्वास्थ्य बीमा बोर्डले औषधापचारबापतको रकम समयमा भुक्तानी नगर्दा र ५० शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा चुनौती सिर्जना भएको छ” व्यवस्थापन समिति अध्यक्ष सुवेदीले भन्नुभयो, “ठेकेदारले यसै वर्ष दुईवटा भवनको बल्क हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।”
–––

गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

वालिङ (स्याङ्जा), ८ असोज : गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।

स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी आँधीघाटमा निर्माण भइरहेको पुलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सन्तोष कँडेलले बताउनुभयो । “दुई प्रदेशका स्याङ्जा र पाल्पा जिल्लालाई जोड्नेगरी कालीगण्डकी नदीका दुई ठाउँमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो”, उहाँले भन्नुभयो, “मूल्य अभिवृद्धि करसहित रु ५५ करोडमा एउटै ठेक्कामार्फत दुईवटा पुलको निर्माण भइरहेको छ ।”

आँधीघाट र बाँसटारीमा दुई पुल निर्माण भइरहेको छ । आँधीघाटमा निर्माण भइरहेको पुल दुई सय २० मिटर लम्बाइको हुनेछ । दुईवटा फुटपाथसहित पुल साढे १० मिटर चौडाइको हुने भएको हो । एक दशमलव पाँच मिटर चौडाइका फुटपाथ पुलको दुवै किनारामा निर्माण गरिने भएको हो । सम्झौता भएको मितिले पुल निर्माणकार्य तीन वर्षमा सक्नुपर्ने भए तापनि कोभिडलगायतका महामारीका कारण समयावधि थप गरी २०८२ को चैतसम्म रहेको उहाँले बताउनुभयो । “हालसम्म आँधीघाटको पुलको भौतिक प्रगति ८५ प्रतिशत छ”, उहाँले भन्नुभयो, “काम तीव्रगतिमा अगाडि बढेकाले सम्भवतः २०८२ को नयाँ वर्षदेखि नै पुल निर्माण सम्पन्न भई सवारीसाधन चल्न सक्छन् ।”

चारवटा स्पान रहने निर्माणाधीन पुलको तीनवटा स्पान निर्माण सम्पन्न भएको छ । एउटा स्पान निर्माणको काम अहिले जारी छ । आँधीघाटमा हाल झोलुङ्गे पुलबाट वारपार गरिरहेका यात्रीलाई पक्की पुल निर्माण सम्पन्न भएसँगै सहज हुने भएको हो । आँधीघाटमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै स्याङ्जाको चापाकोट पाल्पाको रामपुर–१० बर्दलेस्थित कालीगण्डकी करिडोरमा जोडिने छ । अहिले आँधीघाटमा रहेको झोलुङ्गे पुलबाट पैदलयात्री तथा मोटरसाइकल वारपार गर्दै आएका छन् ।

नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते

त्रिवेणी (नवलपरासी), ८ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

खोटाङ, ८ असोज: सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । 
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो आएपछि अनिवार्य टिकट दिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।

दसैँतिहार तथा छट पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले हरेक यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै यात्रा गर्ने÷गराउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

जिल्लामा सञ्चालित कतिपय जिपले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने, टिकट नदिने जनगुनासो आएकाले अनिवार्य टिकटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “हरेक यात्रुको टिकट काटे÷नकाटेको, सवारीसाधनले तोकिएभन्दा बढी शुल्क लिए÷नलिएको विषयमा जयराम, दिक्तेललगायत पोष्टमा प्रहरीले चेकजाँच गर्नेछ”, उहाँले भन्नुभयो ।

सार्वजनिक सवारीसाधनले बढी भाडा लिए वा टिकट नदिएको पाइए तत्काल प्रहरीलाई खबर गर्न यात्रुलाई प्रजिअ कार्कीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिएको वा टिकट नखिएको खण्डमा प्रचलित कानुन अनुसार कारबाही गर्नेछौँ । यसका लागि मातहतका सबै प्रहरी परिचालन गरेका छौँ ।”

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाबाट छुट्ने जिप तथा बसको पुरानो भाडा दर कायम गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सहभागी यातायात व्यवसायी सङ्घका प्रतिनिधिले चाडपर्वको समयमा एकतर्फी मात्रै यात्रु हुने जानकारी दिँदै भाडादर वृद्धिको प्रस्ताव राखेका छन् । 

दसैँतिहार तथा छठ पर्वलाई लक्षित गर्दै ग्रामीण सडक मर्मत गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको बताउँदै प्रजिअ कार्कीले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी, दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड तथा दिक्तेल–गाईघाट खण्ड तत्काल मर्मत गरी आवागमन सहज बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा दसैँतिहार तथा छठका लागि खाद्यान्न, लत्ताकपडा, दलहन, तेलहनलगायत दैनिक उपभोग्य सामान सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग वाणिज्य सङ्घले पहल गर्ने निर्णय भएको छ । 

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयबाट निर्णय प्रभावकारी कार्यान्वयन भए÷नभएकोबारे जानकारी लिन नियमित बजार अनुगमन गर्ने निर्णय भएको प्रजिअ कार्कीले उल्लेख गर्नुभयो । उहाँका अनुसार चाडपर्वको समयमा हुनसक्ने चोरीलगायत आपराधिक घटनालाई निरुत्साहित गर्न सुरक्षा व्यवस्था कडा बनाउने निर्णय पनि भएको छ । 

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

न्युयोर्क (अमेरिका), ८ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पार्नुभयो ।

‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाहरूबिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभयो ।

“नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन । बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हाँसिल गर्न सक्नेछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ । भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ । त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ ।”

उहाँले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठुला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने सङ्कल्प लिएको जानकारी दिनुभयोे । “नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक हामीसँग अरु कुनै अभिष्ट छैन । समृद्धिको यात्रामा हामी पूर्ण कटिबद्ध रहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यसैगरीप्रधानमन्त्री ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्दै लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाउनुभयो । उहाँले नेपालले पहिलेदेखि नै लिडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाइसहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र हालै संसद्मा खाद्य सुरक्षासम्बन्धी विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका पत्नी डा जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलावीका राष्ट्रपतिलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

धवलागिरि हिमाल आरोहणका लागि १४ जनालाई अनुमति

म्याग्दी, ८ असोजः यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।  

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहनुभएका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । 

पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट रु चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ । 

शरद्मा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।  

शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो । 

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् । सरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ । 

गत वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनीहरुले रु ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ । 

मिथिलाञ्चलमा आजदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु

जलेश्वर (महोत्तरी), ८ असोजः मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।

श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ‘ओगठन’ (दरखाने), आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण (समापन) विधि गरिन्छ । 

तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा खा विधि सम्पन्न भई आज भोलि दिनभरि उपवास बसेर भोलि साँझ व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिनुभयो ।

व्रत बस्नुअघि सोमबार महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्यपदार्थ) र पिना प्रसादका रुपमा चढाएर परिवारका सबै सदस्यलाई खुवाएर आफूले खाएका उहाँले बताउनुभयो ।

सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको पण्डित पाठकले जानकारी दिनुभयो ।

व्रतको पहिलो दिन सोमबार पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ (कोदो) भनिन्छ । आज बिहानै काग कराउनुअघि पहिल्यै व्रती (बर्तालु) महिला ओगठन सम्पन्न गर्नुपर्ने हुन्छ । ओँगठनपछि उपवासको क्रम सुरु हुने भन्दै यसलाई पर्वको मुख्य अंश र मुख्य जितिया भन्ने गरिएको पण्डित पाठकले बताउनुभयो । 

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्व रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो । 

सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले बताउनुभयो । “यसले मिथिलाका महिलाको सांस्कृतिक भूमिका, महत्व र आस्था उजागर गर्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पितृ पक्षमा मनाइने यो पर्वमा महिलाले दिवङ्गत पितृको सम्झनामा पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र मानिने उहाँको भनाइ छ ।

“राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै जनालाई दैत्यबाट फिर्ता ल्याइदिएको जनविश्वाससहित महिलाले शालिवहानलाई ‘जितुमाहन’ नामकरणगरी राजाको सम्झनामा उपवास बस्न थालेका पौराणिक कथन रहेको छ”, प्राध्यापक रायले भन्नुभयो ।

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने

काठमाडौँ, ८ असोजः आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । 

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली

न्युयोर्क (अमेरिका), ८ असोजः प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सो राज्यमा करिब एक लाख नेपाली रहेको छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरिएको थियो । महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाउनुभयो । “तपाईंहरु ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ”, उहाँले भन्नुभयो ।

क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरुले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ । उक्त समितिले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई पनि भेटेर सोही माग राख्नुका साथै क्यालिफोर्निया भ्रमणको निमन्त्रणा दिएको छ ।

शिष्टताको परिचय दिन आग्रह

प्रवासी नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घको सहभागिता र अमेरिका भ्रमण सफलताको कामना गर्दै नेपालको समृद्धि र विकासका लागि प्रवासमा रहेका नेपालीले पनि भूमिका खेल्ने जनाएका थिए । उनीहरुले दोहोरो नागरिकताका समस्या र नेपालको संविधान संशोधनका सवालबारे पनि विचारविमर्श गरेका थिए । 

प्रधानमन्त्री ओलीले नेपालीहरु जहाँ रहे पनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिँदै गैरआवासीय नेपाली सङ्घभित्र पनि विवाद भइरहने स्थिति अन्त्य हुनुपर्ने बताउनुभयो । “नेपालीहरु जहाँ भए पनि यस्तै हो भन्ने प्रभाव पार्नु हुँदैन । साना स्वार्थले बुझ्दै नबुझी नराम्रा व्यवहार गर्न पुग्छन्, तिनीहरुलाई सम्झाइबुझाइ गरेर सही मार्गमा ल्याउनु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने बताउनुभयो ।

‘गणतन्त्र मास्ने कुरा हुन सक्दैन’

राजनीतिक प्रसङ्गमा सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता, सङ्घीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा हेरफेर नहुने भन्दै संविधानलाई परिस्कृत बनाउने क्रममा संशोधन आवश्यकपर्ने बताउनुभयो । उहाँले संविधान संशोधनको विषयमा दलहरुबचि आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको उल्लेख गर्नुभयो ।

टेक्ससमा पनि महावाणिज्यदूतावास खोल्न माग

यसैगरी नेपाली सोसाइटी अफ टेक्सस र नेप्लिज अर्गनाइजेशन अफ टेक्सस एण्ड सायदेन युनाइटेड स्टेट्सले प्रधानमन्त्री ओलीलाई भेटेर टेक्ससमा पनि नेपाली महावाणिज्यदूतावास खोल्न माग गरेका छन् । ती संस्थाले त्यहाँ कन्सुलर कार्यालय खोल्नका लागि निःशुल्क कार्यालय उपलब्ध गराउने अवगत गराएका छन् । प्रधानमन्त्री ओलीले त्यसबारे आवश्यक छलफल गर्ने बताउनुभएको थियो ।

नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह

यसैगरी क्यानडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन् । हाल भारतमा गएर नेपालीले क्यानाडाको प्रवेशाज्ञा लिनुपर्नेलगायत समस्या भएकाले नेपालमा दूतावास खोल्नुपर्ने उनीहरुको आग्रह थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ८ असोज: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ०३ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ३० पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३० पैसा र बिक्री दर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०४ पैसा र बिक्री दर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७४ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ८९ पैसा र बिक्री दर १९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ १३ पैसा र बिक्री दर १७ रुपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ १९ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५३ रुपैयाँ ९५ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ५४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

वासिङ्टन डिसी (अमेरिका), ८ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पु¥याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।

सर्लाहीमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

बरहथवा (सर्लाही), ७ असोजः यहाँको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डब्लुटिओले अमेरिकी विद्युतीय सवारी अनुदानमा चीनको उजुरी हेर्ने

बेइजिङले वासिङ्टनमाथि अनुचित प्रतिस्पर्धा गरेको आरोप लगाएपछि विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार विद्युतीय सवारी (इभी) का लागि दिइने अमेरिकी अनुदानबारे अनुसन्धान गर्न एउटा विज्ञ समूह गठन गर्न सहमति जनाएको छ ।

अमेरिकाले चीनको उजुरीलाई कडा भाषामा निन्दा गर्दै चीनले ‘निष्पक्ष, प्रतिस्पर्धी र पारस्परिक रूपमा लाभदायक व्यापार प्रणालीलाई कमजोर गर्ने आफ्ना गैर–बजार नीति र अभ्यासहरूबाट ध्यान मोड्न’ खोजेको दाबी गरेको छ ।

विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनले सुरुमा मार्चमा यो मुद्दा डब्लुटिओमा ल्याएको थियो । मुद्दामा चीनले अमेरिकी मुद्रास्फीति कटौती कार्यक्रम (आइआरए) मा ‘नयाँ ऊर्जा सवारीका लागि भेदभावपूर्ण सहायता नीतिहरू’ जारी गरेको उल्लेख गरेको थियो र यसमा विद्युतीय कार र हाइब्रिड सामेल छन् ।

सन् २०२२ मा अमेरिकाले ऊर्जा परिवर्तन क्षेत्र र अमेरिकी भूमिमा निर्मित विद्युतीय कारहरूलाई सहयोग गर्न ठूलो राहत कार्यक्रमको घोषणा गरेको थियो ।

अमेरिकाले उक्त ऐन जलवायु सङ्कटसँग लड्न र ‘अमेरिकी अािर्थक प्रतिस्पर्धाको लगानी गर्ने’ उपकरण भएको दाबी गरेको छ ।

चीनले आफ्ना उद्योग नीतिहरू अनुचित नभएको बताएको छ र आफ्ना कम्पनीहरूको संरक्षणका लागि जवाफी कारवाही गर्ने बारम्बार धम्की दिएको छ ।

चीनका अनुसार आइआरएले ‘निष्पक्ष प्रतिस्पर्धालाई विकृत गर्दछ, विश्वव्यापी नयाँ ऊर्जा वाहन उद्योग र आपूर्ति शृङ्खलालाई गम्भीर रूपमा बाधा पुर्याउँछ र डब्लुटिओ नियमहरूको उल्लङ्घन गर्दछ ।’

जेनेभास्थित डब्लुटिओका एक अधिकारीका अनुसार वासिङ्टनले जुलाईमा मुद्दाका लागि डब्लुटिओ प्यानलको पहिलो अनुरोधलाई रोकेको थियो तर दोस्रो अनुरोधलाई सोमबार बैठकमा स्वीकार गरेको थियो ।

डब्लुटिओ नियमअन्तर्गत कुनै पनि विवादमा विवादका पक्षहरूले पहिलो अनुरोधलाई रोक्न सक्छन् तर पक्षहरूले दोस्रो अनुरोध गरे भने त्यो करिब निश्चित रूपमा स्वीकृत हुन्छ ।

“विश्वव्यापी प्रभुत्वका लागि चीनले स्वच्छ ऊर्जा क्षेत्रलाई लक्षित गर्छ भने त्यसबेला चीनको उजुरी विशेष रूपमा पाखण्डी हो”, एक अमेरिकी प्रतिनिधिले सोमबारको बैठकमा भने, “वर्तमान डुब्लुटिओ नियमहरूलाई हाम्रो समयको सबैभन्दा आवश्यक विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्न सदस्यहरूलाई कारवाही गर्न रोक्ने रूपमा बुझ्न सकिँदैन ।”

अमेरिकाले मे महिनामा चीनबाट आयात गरिएका विद्युतीय सवारीहरूमाथि भन्सार महसुल चार गुणा बढाएको घोषणा गरेको थियो ।

गुल्मीमा सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी, ७ असोजः सुक्खा पहिरोमा परी यहाँको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता हुनुभएको छ । ६९ वर्षीया टनि पुन आईतबारदेखि बेपत्ता हुनुभएको हो । घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो । त्यसपछि उहाँ बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ । उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुक्खा पहिरो गएको छ । उहाँ अझै सम्पर्कमा नआउनुभएकोले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन

काठमाडौँ, ७ असोज : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा आजदेखि काठमाडौँको नक्सालमा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ ।

‘रामायण ः साझा धरोहर’ शीर्षकको उक्त प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभयो ।

उहाँहरूले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताउनुभयो । सो क्रममा उहाँहरूले प्रदर्शनीको अवलोकनसमेत गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको र यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्ता प्रदर्शनीनले एक अर्काको कला सिर्जनाको सिकाइसमेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उहाँको भनाइ छ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताउनुभयो ।

यही असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् । भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहनुभएको यस प्रदर्शनीमा कलाकारले रामायणसम्बन्धी चित्र सिर्जना गर्नुभएको छ ।

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर, ७ असोजः मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि चिकित्सक, नर्सको तलबभत्ता दिन समस्या परेकाले सेवानै बन्द गर्नु पर्ने अवस्थामा पुगेको बताउनुभयो ।

नेपाल कोरिया नगरपालिका अस्पतालको स्वास्थ्य बीमा वापतको रु २१ करोड ५७ लाख रुपैँया भुक्तानी प्राप्त गर्न बाँकी रहेकाले दैनिक नौ सय बिरामीलाई सेवा दिँदै आएको अस्पतालले बीमा रकमकै कारण सेवा बन्द हुन अवस्थामा पुगेको र मेडिकल उपकरणसमेत खरिद गर्न नसकेको उहाँले बताउनुभयो ।

मेसु डा रौशनले दसैँअघिसम्म पैसा नआए कर्मचारीलाई दसैँको मुखमा तलब र दसैँभत्ता दिन नसक्ने बताउनुभयो ।

ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो

काठमाडौँ, ७ असोजः ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकरणमा सक्रियता देखाएसँगै लामो समयदेखिको विवाद टुङगिएको हो ।

अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गरेको ढल्केबरदेखि सीतामढीको ४००/२२० केभी डबल सर्किट प्रसारण लाइनको दुई किलोमिटर बढी लामो प्रसारण लाइनले चर्चेको जग्गा (राईट अफ वे)मा विवाद भएपछि मन्त्री खड्का आफैले सरोकारवालासँग बसेर समस्याको समाधान गर्नुभएको हो ।

समस्या समाधानसँगै लाइन निर्माण तत्काल सुचारु गर्ने सहमतिसमेत भएको छ । मन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको तर्फबाट ढल्केबर सवस्टेशनमा जडान गर्नुपर्ने ४००/२२० केभी (३१५ एमभीए) को ट्रान्सफर्मर जडान सुरु गरिसकेकामा १५ दिनभित्र (टेस्टिङ कमिसनिङ)लगायत सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।

उक्त ट्रान्सफर्मर जडान भएपछि नेपालले एक हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्न पाउने गरी नेपाल र भारतबीच संयुक्त प्राविधिक संयन्त्रको बैठकमा यसअघि सहमति भइसकेको छ ।

मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले उक्त समस्या समाधान हुनु अरुण तेस्रो जलविद्युत आयोजनाका लागिमात्र नभएर अन्तरदेशीय विद्युत व्यापारका दृष्टिकोणले ठूलो उपलब्धि भएको बताउनुभयो ।

अरुण तेस्रोबाट उत्पादित विद्युतको २१ दशमलव नौ प्रतिशत अंश नेपाल सरकारले निःशुल्क पाउने व्यवस्था भएकोमा सो बिजुली नेपालभित्र खपतका लागि आवश्यक नपरेमा यसै प्रसारण लाइनबाट भारत निर्यात गर्न सकिनेछ । उहाँले आजै ढल्केब र सव–स्टेशनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । देशकै सबैभन्दा ठूलो ढल्केबर सव–स्टेशन ४०० केभीको ‘जीआईएस’ प्रविधिबाट निर्माण गरिएको छ ।

मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले उक्त सवस्टेशनको निरीक्षण गर्नुभएको थियो ।

जोशीलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

गण्डकी, ७ असोजः सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा आइतबार पक्राउ पर्नुभएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।

जोशीलाई कास्की जिल्ला अदालतको इजलासले अनुसन्धानका लागि आज पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो । काठमाडौँबाट पक्राउ पर्नुभएका जोशीलाई आइतबार नै पोखरा ल्याइएको र आज अदालतमा उपस्थित गराइएको थियो ।

जोशीलाई अदालतमा उपस्थित गराउँदा सहकारी पीडित पनि अदालत परिसर पुगेका थिए । त्यसअघि पीडितले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

कृषिमन्त्री अधिकारीसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ, ७ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्ध मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तमा आधारित रहेको स्मरण गर्नुभयो । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागि परेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोग अपेक्षा राखेको बताउनुभयो ।

नेपालका कृषिजन्य उत्पादनलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।” सो अवसरमा राजदूत श्रीवास्तवले नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा भारत सरकार सहयोग र सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ

काठमाडौँ, ७ असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउनेदेखि समाजलाई सुसूचित गर्न सञ्चार क्षेत्रले जोखिममा रहेर पनि काम गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले बेथिती र विसङ्गतिविरुद्ध आवाज उठाउने पत्रकारिता क्षेत्रको संरक्षण गर्न राज्यले ध्यान दिइरहेको बताउनुभयो ।

“न्यूनतम पारिश्रमिकसमेत नपाउने स्थिति झेलेर पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेका छन्, पत्रकार हरेक हिसाबले जोखिममा छन्, यद्यपि, आफ्नो जिम्मेवारी पूरा गरिहएका छन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रको सुरक्षा गर्ने दायित्व राज्यको हो र हामीले अब नीति र कानुन बनाएर पत्रकारिता जगत्लाई सहज बनाउन लागेका छौँ ।” सार्वजनिक सेवा प्रसारण ऐनलाई चाँडै नै कार्यान्वयनमा ल्याइने जानकारी गराउँदै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालको समायोजनलाई व्यवस्थित बनाइने बताउनुभयो ।

मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा दुवै निकायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “मन्त्रालयले यसवर्ष कानुन निर्माण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ, कानुन निर्माणमा सबैको साथ जरुरी छ”, उहाँले भन्नुभयो ।

पाँच पत्रकारलाई हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार

सो अवसरमा यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी होम कार्की, प्रकाश तिमल्सिना र श्याम श्रेष्ठ तथा नेपाल टेलिभिजनकर्मी दुर्गाकुमारी भट्ट र विपिन श्रीवास्तवलाई प्रदान गरिएको छ । मन्त्री गुरुङले पुरस्कृत पाँच पत्रकारलाई संयुक्त रुपमा रु एक लाख र ताम्रपत्र प्रदान गर्नुभयो । युद्धग्रस्त मुलुक इजरायलमा पुगेर कान्तिपुरकर्मीले स्थलगत ‘रिपोर्टिङ’ गरेका गरेका थिए भने नेपाल टेलिभिजनकर्मीले दार्चुलाको दुर्गम अपी हिमाल क्षेत्रको स्थलगत रिपोर्टिङ गरेका थिए ।

पुरस्कृत कान्तिपुरकर्मी कार्कीले इजरायलबाट हमास–इजराइल युद्धको रिपोर्टिङ गर्दाको अनुभव सुनाउनुभयो । “हामीले अन्धाधुन्द गोली र मिसाइल बज्रिरहेको अवस्थामा पत्रकारिता गर्यौं”, उहाँले भन्नुभयो, “ज्यानकै असुरक्षा हुँदा पनि पत्रकारले रिर्पोटिङ नगरी बस्न मनले मान्दो रहेनछ, युद्ध क्षेत्रमा पुगेर रिर्पोटिङ गर्नु आफैँमा जोखिम थियो ।”

पुरस्कार छनोट समितिमा रहनुभएका राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले विषयको छनोट, परिवेश, दृश्य र त्यसको प्रभावसमेतलाई मूल्याङ्कन गरेर पुरस्कार छनोट गरिएको बताउनुभयो । “पत्रकारिता आफैँमा जोखिमपूर्ण हुन्छ,” उहाँले भन्नुभयो, “यस पुरस्कारले हरेक पत्रकारलाई जोखिम मोल्न सक्ने ऊर्जा प्रदान गर्न मद्दत गर्छ ।”

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले जोखिमपूर्ण क्षेत्रमा खटिइएर पत्रकारिता गर्न पुरस्कारले ऊर्जा प्रदान गर्ने बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल तामाङले सकेसम्म जोखिम मोलेर पत्रकारिता गर्नुपर्ने स्थिति राज्यमा सिर्जना नहोस् भन्ने कामना गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीले सदस्य शुद्धीकरणका विषयले महासङ्घको निर्वाचन लम्बिएको जनाउँदै चाँडै नै निर्वाचन गराउन प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ टेलिभिजन शाखाका अध्यक्ष दीपकजङ्ग हमालले राज्यले सुरक्षित पत्रकारिता गर्ने कानुनी आधार सिर्जना गराउन आग्रह गर्नुभयो ।

पत्रकार महासङ्घ, नेपाल टेलिभिजन शाखाले २०६४ सालदेखि पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा रु एक लाख राशीको उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कार छनोट समितिमा झासहित वरिष्ठ सञ्चारविद् मन्टेश्वरी राजभण्डारी, नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाह, समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र प्रतिष्ठान अध्यक्ष हमाल सदस्य हुनुहन्थ्यो ।

सो अवसरमा नेपाल टेलिभिजनका ज्येष्ठ कर्मचारी सरस्वती शर्मा र सुधीरकुमार मिश्रसमेतलाई सम्मान गरिएको थियो ।

घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण

फुङ्लिङ (ताप्लेजुङ) ७ असोजः आज यहाँको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वहरूको ज्यान गएको थियो ।

संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी, र वन्यजन्तु विशेषज्ञहरू यस दुर्घटनामा परेका थिए । उहाँहरूको योगदानको स्मरण गर्दै, असोज ७ लाई सरकारले राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । घुन्सा हेलिकप्टर दुर्घटना वातावरणीय संरक्षणको मुद्दामा एक महत्वपूर्ण मोड बनेको छ ।

वि.सं. २०६३ असोज ७ गते विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा सहभागी हुन विशिष्ट व्यक्तित्वहरूको टोली घुन्सा पुग्नुभएको थियो । यो परियोजना हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा एक महत्वपूर्ण कदम थियो । कञ्चनजङ्घा देशकै एक प्रमुख संरक्षण क्षेत्र हो । जहाँ दुर्लभ वनस्पति, जनावर, र जैविक सम्पदाको संरक्षण हुँदै आएको छ । 

परियोजना हस्तान्तरण कार्यक्रमपछि सहभागीहरू काठमाडौँ फर्किन हेलिकप्टर चढेका थिए । तर दुर्भाग्यवशः फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. चन्द्र गुरुङ, वन्यजन्तु संरक्षण विज्ञ डा. तीर्थमान मास्के, वनमन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, र अन्य विशिष्ट व्यक्तित्वहरूले ज्यान गुमाएका थिए ।

दुर्घटनाबारे छानबिन गर्न तत्कालीन सरकारले जनकेशरीराज पण्डितको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको प्रमुख कारण मौसम प्रतिकूलता देखाइएको थियो । घुन्सा क्षेत्र हिमालयको उचाइमा पर्छ । जहाँ मौसम आकस्मिक रूपमा परिवर्तन हुन सक्छ । अनुसन्धानले प्रतिकूल मौसमले हेलिकप्टरको उडानमा अवरोध पु¥याएको र त्यसैले दुर्घटना निम्त्याएको निष्कर्ष निकालेको थियो । 

छानबिन समितिले मौसमजन्य कारणलाई प्राथमिक कारण भने पनि यस घटनाले नेपालमा हवाई सुरक्षासम्बन्धी प्रश्न उठेका थिए । भौगोलिक बनावट र मौसमका कारण उच्च पहाडी क्षेत्रहरूमा हवाई सुरक्षाको चुनौतीबारे बहस भएका थिए । यस घटनाले नेपालमा उड्डयन सुरक्षाका मापदण्डहरू सुधार गर्न र उच्च हिमाली क्षेत्रहरूको उडानमा विशेष ध्यान दिनुपर्ने कुरालाई अगाडि ल्याएको थियो ।

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरू नेपालको संरक्षण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरू हुनुहुन्थ्यो । तीमध्ये प्रमुख व्यक्तित्वहरूमा डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, र गोपाल राई थिए ।

डा. हर्क गुरुङ भूगोलविद् मात्र नभएर नेपालको दिगो विकास, सामाजिक न्याय, र संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व हुनुहन्थो । उहाँले नेपालको भौगोलिक र सामाजिक संरचनाको गहिरो अध्ययन गर्नुभएकोे थियो । उहाँले हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा धेरै काम गर्नुभएको थियो । डा. चन्द्र गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ब्ऋब्ए) को नेतृत्वगर्दै संरक्षणको नयाँ मोडेल प्रस्तुत गर्नुभएको थियो । यो परियोजनाले स्थानीय समुदायसँग मिलेर काम गर्ने र उहाँहरूलाई संरक्षणको जिम्मेवारी दिने अवधारणालाई अघि ल्यायो, जसले संरक्षण र दिगो विकासलाई सँगसँगै अगाडि बढाउने प्रयास गरेको थियो । गोपाल राई, जो तत्कालीन्  वन राज्यमन्त्री हुनुहुन्थो  । उहाँले नेपालको वन संरक्षण, जैविक विविधताको समृद्धि, र वातावरणीय व्यवस्थापनमा सरकारको भूमिका सुदृढ बनाउन महत्वपूर्ण काम गर्नुभएको थियो । उहाँ वन्यजन्तु संरक्षण र राष्ट्रिय निकुञ्जहरूको व्यवस्थापनमा नीति निर्माणमा संलग्न हुनुहन्थो । 

घुन्सा हेलिकप्टर दुर्घटनामा परेका महान् व्यक्तित्वहरूको योगदानको सम्मानमा सरकारले असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको हो । यस दिवसले देशभर जनचेतना फैलाउने काम गर्दछ । नेपालको जैविक विविधता, वन्यजन्तु, र वातावरणीय संरक्षणको मुद्दालाई प्राथमिकता दिने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

यहाँ घुन्सा दुर्घटनामा निधन भएका व्यक्तित्वहरूको स्मृतिमा विशेष कार्यक्रम गरिँदै आएको छ । भिन्तुना डाँडास्थित स्मारकमा सरसफाइ अभियान र श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । स्थानीय विद्यालय र समुदायहरूले वातावरणीय संरक्षणको महत्वबारे छलफल गर्दै जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गरेका छन् ।

अर्थमन्त्री पौडेल आज राति चीन जानुहुँदै

काठमाडौँ, ७ असोज : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति चीन प्रस्थान गर्नुहुने भएको छ । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनुहुनेछ ।

पहिला संविधान कार्यान्वनमा जोड गर्नुपर्छ, समस्या आए निर्क्योल गरेर संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ७ असोजः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरू गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा आज यहाँ भएको ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तरक्रियामा उहाँले जनताको अधिकार सम्बोधन गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।

“नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरूले औपचारिकरूपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यसैले यो उहाँहरूको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।”

वर्तमान संविधान शान्ति सम्झौताको अङ्ग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस एमालेका नेताले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीले संसद्मा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।”

कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको कथन छ ।

“सबैभन्दा पहिले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ र कार्यान्वयनमा समस्या आए, कुनकुन विषयमा फेर्नुपर्ने हो, त्यसको निक्र्याेल गरेर मात्रै संविधानको समीक्षा गर्न सकिन्छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर संविधान जसरी पनि कार्यान्वयन गर्नेतिर होइन, कमजोर बनाउनेतिर राजनीतिक नेतृत्वको माइन्डसेट बनेको छ । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरिदिएको रुपमा लिएका नेताहरूले अहिले कार्यान्वयनमा पनि इमान्दारिता देखाएका छैनन् । कार्यान्वयन नगर्ने तर संशोधन मात्रै भनेर औचित्यपूर्ण हुँदैन ।”

संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलको सहयोग नपाएको स्मरण गराउँदै उहाँले सङ्घीय निजामति ऐन संसद्सम्म पुर्‍याउन १८ महिना लागेको, बल्लबल्ल पु¥याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताउनुभयो ।

अहिलेको भन्दा अन्तरिम संविधान बढी प्रगतिशील रहेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “अन्तरिम संविधान माओवादीको रापतापमा बनेको थियो । माओवादीलाई कमजोर नबनाई संविधान बनाउँदा अन्तरिम संविधानभन्दा प्रगतिशील बन्ने डरले पहिलो संविधानसभा तुहाइयो ।”

दोस्रो संविधासनभाबाट पनि नबन्ने अवस्था रहेकोमा भूकम्पका कारण मुलुकमा सङ्कट सिर्जना भएपछि भूकम्पको पुनःनिर्माण र जनतलाई राहत दिने अनि संविधान निर्माणमा बिपक्षी नभई आफूले सत्तापक्षकै जस्तो भूमिकामा निर्माण गरेको स्मरण पनि उहाँले गराउनुभयो ।

संविधान निर्माण गर्दा आन्तरिक र बाह्य दुबै हिसाबले आफूले जोखिम मोलेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रै एकथरी साथीहरू अब क्रान्तिकारी संविधान नबन्ने भयो भनेर पार्टी विभाजन गरेर निस्कनुभयो । तर मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले त्यसरी भाग्न मिल्दैन्थ्यो । ठूलो जोखिम मोलेर भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुङ्गोमा पुर्‍याएरै छाडे ।”

शान्ति प्रक्रियाको एउटा विशिष्ट अङ्गका रूपमा रहेको संविधान संशोधनको बहस गर्दा शान्ति प्रक्रियाको एउटा पक्षसँग सरोकार नराखिएकाले संविधान संशोधनको चर्चामा गम्भीरता नदेखिएको उहाँले दोहोर्‍याउनुभयो ।

संविधान संशोधनमा जानुपर्ने अवस्था आयो भने विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट गर्नुभयो ।

“अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले समाजमा रहेका विज्ञबाट मन्त्री बनाउने र सांसदहरू मन्त्री बन्ने होइन, ऐन कानुन बनाउनतिर लाग्नेगरी बहस अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो “करोडौँ खर्च गरेर सांसद बन्ने, सांसद बनेपछि मन्त्री बन्नैपर्ने र मन्त्री बनेपछि चुनाव खर्च उठाउन लाग्ने अहिलेको पाराले अब अघि बढ्न सकिँदैन । राजनीतिकमा भ्रष्टाचारको जग निर्वाचन प्रणाली भएकाले पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।”

संविधान संशोधनको बहस संवेदनशील भएर धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ । अध्यक्ष दाहालले भन्नुभयो “संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली भत्कने र अराजकता निम्तने खतरा आयो भने मुलुक नयाँ द्वन्द्वको भूमरीमा फस्ने खतरा छ । यसमा बढी नै ध्यान दिनुपर्छ ।” संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एनपी साउदले मुलुकको आवश्यकता र कार्यान्वयनका क्रममा देखिएका कमजोरी र जटिलतालाई सुधार गर्ने तवरले संविधानको संशोधन गर्नेगरी सत्तागठबन्धनमा सहमति रहेको बताउनुभयो । उहाँले संविधान गतिशिल दस्तावेज भएकाले यसलाई संशोधन गर्नुपर्ने आवश्कता औँल्याउनुभयो ।

यस्तै, समावेशी आयोगलाई थप विस्तार गरेर धेरै अन्य आयोगलाई कम गर्नुपर्ने उहाँको कथन थियो । राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोडेर समानुपातिक र समावेशी प्रक्रियालाई थप व्यवस्थित गर्नुपर्ने नेता साउदको भनाइ छ ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले दुई पटक नेपालको संविधान संशोधन भइसकेकाले पुनःप्रक्रिया र विषयमा सहमति गरेर संशोधन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । कार्यान्वयनमा देखिएको कमजोरीलाई सुधार गरेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले प्रदेशमा मन्त्रीको सङ्ख्या घटाउनुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले समानुपातिक निर्वाचन प्रणालीले राजनीतिक अस्थिरता ल्यायो भयो सत्तागठबन्धनमा रहेका दलले झुट बोलेको बताउनुभयो । संविधान संशोधनको एजेण्डाबाट डराउनुपर्ने अवस्था नभए पनि आदिवासी, जनजाती र दलित समुदायले पाएको अधिकार खोसिने हो कि भन्ने चिन्ता भने लिनैपर्ने उल्लेख गर्नुभयो । उहाँले दलित, महिला, मधेश र पहिचानको पक्षमा संविधान संशोधन गर्ने कामका लागि नेतृत्व लिइदिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा राप्रपाका नेता रविन्द्र मिश्रले मुलुकको दीर्घकालीन हित र चासोलाई आत्मसात गर्दै सुन्दर भविष्यलाई हेरेर नयाँ बाटोमा जानुपर्ने बताउनुभयो । सो अवसरमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायतले संविधान संशोधनको आवश्यकता र महत्त्वका बारेमा धारणा राख्नुभएको थियो ।

धनुषाको हिरासत कक्षबाट फरार सात थुनुवा पक्राउ

जनकपुर, ७ असोजः जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार भएका नौ थुनुवामध्ये सात जना पक्राउ परेका छन् । लागूऔषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका हुन् ।

उनीहरुलाई धनुषाको लखौरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो ।

यसअघि आजै लखौरीबाट लागूऔषध मुद्दा आरोपी अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो ।

राति भेन्टिलेशन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए । आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर उनीहरु फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो । 

ऋझै धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया पक्राउ पर्न बाँकी रहेको बताइएको छ ।

एक साथ नौ जना थुनुवा हिरासत फोडेर फरार भएपछि  घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रवक्ता दिपक भारतीले घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिने बताउँदै प्रदेश प्रहरीले पनि छानबिन समिति बनाउने बताउनुभयो । घटनास्थलको प्रकृति हेर्दा भेन्टिलेशनको रड ह्याक्सो ब्लेडले काटेर थुनुवा फरार भएको देखिएको उहाँले बताउनुभयो । “थुनुवा कक्षमा रड काट्ने ह्याक्सो ब्लेड कहिले गयो, कसको लापरबाहीले गयो सबै छानबिन हुन्छ”, उहाँले भन्नुभयो । अहिले फरार रहेका दुई जनालाई पक्राउ गर्न जनपथ, सशस्त्र र दङ्गा प्रहरी परिचालन गरिएको प्रवक्ता भारतीले जानकारी दिनुभयो ।